म के गरुँ ?

विष्णुप्रसाद शर्मा पराजुली

साभारः पुर्वाञ्ल दैनिक , माघ ७, २०७६
म के गरुँ ?

मेरा बा’का पालाका, पाका जुरे हल गोरु
मेरो थुम्काको (पर्वत) ठूलो पाटोको
बाँझो जोत्न नसक्ने भए ।
थोरै पराल, एक अँगालो कुट्मिरो
एक ताउलो तातो कुँडो ख्वाएर
रोपाईको हिलो सम्याउन मात्र जोत्न थालेको छु ।

‘मुस्ताङमा ट्र्याक्टर लगे,
तैले पनि ट्र्याक्टर किन् न, ठूले !’
मास्थिर जेठाबाले भन्नुभो ।
मैले अन्तर–कुन्तर सोँचेँ, धेरै गमेँ ।
मेरो बारीमा पेट्रोल पुग्दैन,
मेरो दुई थोपा पसिनाले ट्र्याक्टर चल्दैन
खेतालालाई पानी अड्कलेर दिन पर्छ,
लिप्पियाधुरा र सुस्ता हजुरबाका पालादेखि बाँझै छ ।

अस्ति भर्खर मात्र हो, मैले हजुरबालाई
तुलसीको मठमा सारेपछि
तुलसीको एक थुर्मी पानी घुटुक्क निल्दै भन्नु भा’थ्यो
‘ कागबेनीमा गएर तर्पण दिदा
लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्ता
नेपालखण्डे, नेपाल महात्मे भन्दै
लिपुलेकको जौ र सुस्ताको अक्षताले तर्पण दिनु म तृप्त हुनेछु । ’

त्यसैले मैले –
हुम्लाको यालबाङ लेकमा याकसँगै चर्न, भारी बोक्न र जोत्न सक्ने
सिवालिक, महाभारत श्रृङ्खलाका टारको बाँझो जोत्न सक्ने
तराईमा जोत्दै गाडा पनि तान्न सक्ने
एक हल बहर ल्याएँ,
कोदोको पिठो घिउमा मुछेर ख्वाएँ, पालेँ, हुर्काएँ
बलराम जस्तै बलिया बनाएँ र जोत्न थालेँ ।
अर्म–पर्म पाइन्छ भनेर गाउँलेले भरोसाको दियो बाले
मैले, सैपाल र कञ्चनजंगालेझैं शीर उँचो पारेँ ।

मानिसलाई झैँ, वर्षमा एक दिन
थप, चोखो–मिठो खान दिएर, माघीको मौका पारेर
काँधको जुँवा फुकालेर, जुँवाले रगडेको काँधको छालामा
चितवनको तोरीको तेल र सल्यानको बेसार दलेर
मेरा हल गोरुलाई स्पेनमाझैँ जुध्न छुट्टिनै दिएँ ।

औधि रमाए पनि
अरुलाई हँसाए पनि
ताली सबैको पाए पनि ।

तर, बिडम्बना !
मैले कसलाई सोधुँ ? कसलाई मनको बह पोखुँ ?
आजकल ती मेरा हलगोरु
जस्लाई मैले कुँडो दिदा मेरा पाखुरा र गाला चाट्थे
आज मलाई देख्दा– आँखा तरेर, मेरो छाती छेडने गरी
डरलाग्दो आवाज निकाल्दै, सिङ छड्कार्न थालेका छन् ।
टाट्नाको घाँस र कुँडो खाँदा पनि जुझ्छन्
जोत्न लिएर हिंड्दा सानो चौर देखे कि जुधिहाल्छन्
कहिलेकाही त मुलबाटोमा–
पानी–पँधेरो, घाँस–दाउरा, पाठशाला–अस्पताल जाने
बाटो बन्द गरेर दिनभर–दिनभर जुध्छन्
छुट्याउन खोज्छु, उल्टै मलाईनै सिङले उधिन्न खोज्छन्
अनि, मश्किलले साँझ मात्र टाट्नामा फर्कन्छन् ।

यिनले, मेरो भरोसाको मुटुलाई त घाइते पारी सके
सिङ्गो गाउँलाईनै –
चौबाटोमा डुक्रँदै, माघे संक्रान्तिमा मात्र होइन
औँशी–पूर्णिमा जुन तिथिमा पनि दिनभर –दिनभर
जुझेर बन्धक बनाए ।

मलाई हेर्नु न !
हजुरबाको इच्छा पुरा गर्नुनै छ,
लिपुलेखदेखि सुस्ताको बाँझो जोत्नुनै छ
सुस्ताको अक्षता र लिपुलेकको जौ लिएर
‘ लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्ता
नेपालखण्डे, नेपाल महात्मे’ भन्दै
कागबेनीमा गएर पितृ तर्पण दिनुनै छ ।

हजुरबा हुनुहुन्न,
अब तँपाईनै भुन्नुस् न
म के गरुँ ?
माघ ६ गते २०७६

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s