भैंसी मर्दा

संस्मरण : पर्वतको सदरमुकाम कुश्मा र बिहादी विशेष ।

धन्यवाद सहित साभार : अभिब्यक्ति पूर्णाङ्क २०२, भदौ–असोज २०७६

 

विष्णुप्रसाद शर्मा पराजुली

भित्री रुपमा मानिस चाहन्छ कि जीवनको गति कालीगण्डकी नदीझै लगातार, निरन्तर, निष्कण्टक बगिरहोस । पहाड झरेर गजधम्म बसेर नदी थुन्न खोजे पनि त्यसलाई भत्काएर नयाँ बाटो बनाएर अघि बढोस् । जोमसोसलाई नीलगिरिको आर्शिवाद र साथ भएझैँ जीवनलाई सुखको साथ होस् । जीवनको त्यस्तो लक्ष हुन पर्छ । अन्यथा, जीवन कर्कलाको डाँठ जस्तो लुलो हुन्छ । त्यो जीवन त हुन्छ । तर प्रेरणादायी हुदैन । जीवन प्रेरणादायी हुन पर्छ । जीवनलाई डोरेटोमा हिडाउन प्रतिवद्धता चहिन्छ । त्यो भएमा जीवन भडखालोमा जाकिदैन । 

 

सोँचे जस्तो र खोजे जस्तो हुदैन जीवन ।

वि.सं. २०३२ सालमा एसएलसीको परिक्षा दिन पर्वतको बिहादीबाट चामल, ध्यू , गेडागुढी, मस्यौरा, सिन्की बोकेर उतै ट्यूसन पढने गरी सदरमुकाम कुश्मानै जान पर्दथ्यो । त्यसबेला मैले आँखाले देखेको साँचो कुरा अनायस मुखबाट फुत्कँदा ‘परिक्षा दिन पाउदैनस्’ भन्ने धम्कि खाई तर्सेको प्रसंग वरपर रहेर यो संस्मरण पस्कन खोजेको छु ।

आजकल स–साना बालबालिकाले ‘डाक्टर, इन्जिनियर, पाइलट, सचिव, कर्णेल, कलाकार, भुगर्भविद, वैज्ञानिक’ बन्ने सोंचाइ राखेका हुन्छन् । आमाबाबुले चाहना पुरा गरिदिन प्रयास पनि गर्छन् । डाक्टर, इन्जिनियर, पाइलट कुन पहाड, नदी वा खोलाको नाम हो जस्तो थियो–मेरो लागि त्यसबेला मेरो जन्म थलो पर्वतको बिहादीमा । छ वर्षमा टेके पछि आमाले श्रीपञ्चमीको दिन सेतीखोला र कालीगण्डकीको संगम छेउ रहेको सेतीबेनी (हाल धार्मिक पर्यटकीय स्थल)मा लगेर संसारकै ठूलो शिला भनेर चर्चामा आएको शिला र ठूलो वर्णमालालाई ढोग्न लगाई अक्षराम्भ गरेको आलो संझना छ । त्यस पछि हजुरबाले धुलो सम्याएर त्यसमाथि सिन्कोले क, ख, लेखिदिएर पाटीमा लेख्न सिकाएको सम्झन्छु । पाँगमा संस्कृत पढ्ने अवसर पाएर पनि पिताजीले अक्षराम्भनै गर्नु भएन । आमाको त कुरै भएन–त्यसबेला ।

‘पढछु’ भन्ने कुरा विष्णु रुपको सेतीबेनी त्यो विशाल शिला जस्तै गजधम्म भएर मनमा बसेको थियो । त्यसबेला आज जस्तो घरघरमा रेडियो वा फेसबुक जस्ता सञ्चारका माध्यम नभएकाले गाउँका किसानका सन्तानले घाँसदाउरा, मेलापात, गाईवस्तु, खेतिपाति, बनपखेरा, हलोजुँवा, हली, कोदालो, नाम्लो, दाम्लो, दही, दुध, ध्यू बाहेक अन्य कुराहरु कताकति मात्र सुन्दथ्यौं । पोखरा पुगेर फर्केका गाउँले, लाहुरबाट फर्केका लाहुरे र नुन तेल लिएर आएका ढाक्रे, र रेडियो हुने गाउँका मानिसले ल्याएका कुरा चाखलाग्दा र अचम्मका समाचार हुन्थे । आज जस्तो आफ्नो राम्रो अनुहार पनि सुगाको जस्तो चुच्चो पारी फोटो खिँचेर फेसबुकमा राखेर अरुलाई देखउन मिल्ने कुराको त विश्वमा कल्पना नै गरिएको थिएन ।
अवसर र प्रविधिले साथ दिएको वर्तमान युगमा अहिलेका युवा–युवती र सरकारले ४० वर्ष पहिलेको तुलनामा आज ३ सय प्रतिशत बढि छिटो र गुणस्तरीय काम गर्नु पर्ने हो । तर नेपाल अलमलियो राजनीतिमा । नेपाल अलमियो नेताहरुको अदुरदिर्शीतामा । नेपाल अलमलियो अरुको चञ्गुलमा । नेपाल अलमलियो भ्रष्टाचार र अनैतिकतामा । पुरानो संस्कृति र संस्कार सबै पोलेर खायो । कहिल्यै कसैको अधिनस्थ नभएको नेपाललाई आज भीख माग्दै त्यहीँ भीख माथि भ्रष्टाचार गर्न प्रतिस्पर्धा गर्दैसमय विताएको छ । पुर्खाले संस्कृति र शिक्षाको संरक्षणकोलागि दानदिएको जमिन बेच्दै आज निर्यातित चिल्ला कारमा लर्कन तिनलाई लाज पटक्कै लागेको छन । समयलाई चिनेर उच्च प्रविधि र सूचनाको प्रयोग गरी चीन, सिंगापुर, सउदी अरेविया, मलेसिया, दक्षिण कोरियाले युरोपलाई उछिन्ने गरी आर्थिक विकास गरे । त्यसको पीर न त नेतालाई छ न त कर्मचारीलाई । नागरिकले के गर्ने ? सचेत पार्ने बाहेक उनले के गर्ने ?

पर्वतको बिहादी बारे सामान्य जानकारी यसभन्दा पहिलेको ‘गुरुका गालामा कालोमोसो’ र गुरु दक्षीणा’ संस्मरणमा दिएको छु । गुरुका गालामा कालोमोसे दायित्व माघ–फागुन २०७५ को अंकमा प्रकाशित भएको छ । आठवटा तत्कालिन गाउँपञ्चायतलाई पाएक पर्ने गरी वि.सं. २०२८ सालमा बिहादीमा नेपाल तारा माध्यामिक विद्यालय स्थापना भएको हो । पर्वतको सरदमुकामदेखि सुदुर दक्षिणमा रहे तापनि बिहादी भारतदेखि तिब्बत र तिब्बतबाट भारतसम्मको तीर्थ यात्रा एवँ ब्यापार गर्ने, त्यसभेगका बासिन्दाले नुनतेल गर्ने शहरबाटोमा पर्ने भएकाले बिहादीको नाम टाढाटाढासम्म फैलिएको थियो । रातामाटा नजिकको सालघारीको बनको झाङ फाँडेर उन्यु ल्याएर स्कुलका कोठा बारिएको थियो । प्रत्येक शुक्रवार बिद्यार्थीले उन्यु ल्याएर थुपार्नु पर्दथ्यौँ । खर र बाँसभने गाउँले किसानले ल्याउथे । उत्साहित हँुदै, खेल्दै, रमाउदै अँगालो भरी उन्यु ल्याउथ्यौँ । हाम्रो लागि त्यो रमाउने खेल जस्तै हुन्थ्यो –उन्युका तीखा छेस्काले घोचेर हाम्रा खुट्टा र पाखुरा रगताम्मे भए तापनि ।

बिहादी सचेत भएकाले राजनीति पनि खुब हुन्थ्यो । शिक्षकहरुको नियुक्ति र निस्कासन नपत्याउदो गरी छिट्छिटो हुन्थ्यो । तर पनि जिल्लाभरमा सबैभन्दा राम्रा भनेर चिनिएका योग्य शिक्षक त्यहाँ पुग्थे । कसैले पूmलका माला त कसैले कालोमोसो दलिएर फर्कन्थे । आन्तरिक राजनीतिले गुरुको कुनै गल्ति नहुदानहुदै पनि कालोमोसो समेत दलेर दिउँसै अँध्यारो बनाएर गुरुलाई फिर्ता पठाएको जस्तो त्यो अमर्यादित क्षण सम्झदा म आज पनि दुःखि हुन्छु–प्रत्यक्ष संलग्न नहुदा नहुदै पनि ।

कक्षा ६ देखि टेष्ट परिक्षासम्म म प्रथम भएको थिएँ । नेपाल तार माध्यामिक विद्यालयबाट एसएलसी दिने तेस्रो ब्याचका हामी थियौँ । गुरुहरुले मलाई एसएलसीमा ‘दोस्रो श्रेणीमा पास हुन्छ’ भन्ने अपेक्षा गरेका थिए । टेष्ट परिक्षा पछि गुरुहरुले सबैलाई टिका लगाएर ‘स्कुल, परिवार र गाउँको इज्जत राख्न मेहनतका साथ पढनु, परिक्षामा आत्मविश्वासका साथ लेख्नु’ भन्ने आर्शिवाद र निर्देशन दिएर विदा गर्नु भएको थियो । नयाँ स्कुल भएकाले सबैको मेहनत आवश्यक थियो ।

कुणादीकै टंक पराजुली र म कुश्माका भिमलाल गुरुङ (हाल रिटायर्ड नेपाल सरकारका पुर्व सह–सचिव) सँग ट्युसन पढ्न भनेर अरु साथीभन्दा पहिले कुश्मा जाने निर्णय ग¥यौँ । दिदीको घर बलेवा कैया जाने क्रममा ‘एउटो पैसो कैलेलाई बाग्लुङ बजार चैते दशैँलाई’ भन्ने उखाननै बनेको प्रख्यात चैते दशैँको मेला हेर्न बाग्लुङ बजार र त्यस्तै अवसरमा सदरमुकाम कुश्मामा पनि पुगेको थिएँ –एकपटक ।

एसएलसी दिन जाने बेलामा भारतबाट काका दुर्गाप्रसाद पनि आउनु भएको थियो । बा, काका र लेखनाथ दाई (टंकका पिताजी नाताले मेरा दाई), टंक पराजुली र म भएर बिहान ५ बजेनै दही र भात खाएर यात्रा शुरु गरेका थियौँ । हामीले किताबका झोला र आफ्ना कपडा बोक्यौँ । बा, काका र दाईले हाम्रो दुई महिनाको लागि चाहिने चामल, घिउ, गेडागुडी र अन्य सरसमान डोकोमा बोक्नु भएको थियो । बिहादीको फाँटको सिरानको बाटो बाच्छावट हुदै फोक्सिङको समीको रुख पुग्दा सलल बगेको कालीगण्डकीको नीलो पानीको लामो धार, कुर्घा, फलेवास, कार्कीनेटा सहित माछापुच्छ«े र हिउँचुली हिमालको श्रृङ्खला अती मनमोहक रुपमा देखिएको थियो (हिमालको नाम पछि थाह पाएको हुँ)।

कालीगण्डकी उपत्यकालाई विख्यात भुगर्भविद टोनी हेगनले संसारकै सबैभन्दा राम्रो उपत्यका भनेर लेखेकाछन् । देवघाटदेखि रीणी, कागबेनी, मुक्तिनाथ, दामोदरकुण्ड वा ल्होमान्थाङ जहाँबाट हेरे पनि कालीगण्डकी उपत्यकाको रुप, सभ्यता र त्यससँग जोडिएको धर्म र संस्कृतिले मानिसलाई लोभ्याउछ । दश हजार वर्ष पहिलेदेखि कालीगण्डकीको शिर नजिक ल्होमान्थाङ वरपरका गुफामा मानवको बसोबास भएको कुरा अनुसन्धानबाट थाह भईसकेको छ । त्यसैगरि वैदिक ग्रन्थहरुमा उल्लेख भए अनुसार जोमसोसभन्दा माथि कालीगण्डकीको तीरमा रहेको कागबेनी तीर्थ संसारकै सबैभन्दा ठूलो तीर्थ हो । यसलाई आजका दिनसम्म पनि प्रकृतिपुजक वोन, सनातनी हिन्दु, र वौद्धमार्गीहरुले मान्दै आएका छन् ।

चाहे हिमाल पुगेर दक्षिणको फाँट हेरौँ, वा तराई पुगेर आकाशलाई अँगालोमा बाँध्न तँछाड मछाड गरेका पहाड र हिमाल अनि उपत्यका हेरौँ नेपाल जस्तो सुन्दर संसारमा अरु कुनै मुलुक छैन । लामो नदीको धारको दुवैतिर गुल्मी, बाग्लुङ, पर्वतका खेतका गरा, बारीका पाटा, बन हुदै लेकतिर उचालीएको पहाड र हिमालले आकाश छोएको देखेर नै त नेपाल हेर्न लोभिएका –विदेशी पाहुना । सानैदेखि मामाघर जाँदा त्यहीं बाटो भएर हिंडेकाले भीरका बाबियोका गाँज, पहरा, खोला र झरना बाल्यकालका मित्र थिए –मेरा निम्ति । त्यहाँबाट फोक्सिङको भीर नाघेर खेतमा नपुगुञ्जेलको भीरको बाटो भने साच्चिकै मुटुका झोता हल्लाउने डरलाग्दो थियो र आज पनि उस्तै छ । त्यो भीरले बाच्छावटका महिला र घरमाईत गर्ने चेलीको ज्यान लिएको छ ।

म नेपालको पुर्वमा सोलुखुम्बुको आधार शिविरदेखि पश्चिममा हुम्लाको हिल्सासम्म उच्च हिमाली क्षेत्रको पैदल यात्रागरि सकेको छु । मैले हिंडेका र डरलाग्दो भनेर राखेका बाटोको कोटीमा फोक्सिङको यो भीरको बाटो पनि पर्दछ । फाँटको तल्लो बाटो त्यस्तो भीर छैन्, जुन सयौँ वर्ष पहिलेदेखि तिब्बत र भारतका ब्यापारी र धर्मगुरु त्यही मुल बाटो भएर हिंडे ।

दुर्लाङको नाङ्गो पातीचौर, घरमाईत गर्दा घाम नडुबुन भनेर पाती चढाउने ठाडो ढुङ्गााको थान, बाच्छा, कर्नास, कुर्घा, फलेवास हुदै कालीको तीरलाई कहिले किनार त कहिले केहि टाढा पार्दै रातको ८ बजे हामी सदरमुकाम कुश्मा पुग्यौँ । मुडकुवाको बरपिपलको चौतारीबाट ढुङ्गाका सिँढि ओर्लेर मोदीबेनी पुग्दा आङ् सिरिङग हुने गरी डर लागेको थियो । मोदीघाट वरपर घाटमा जलाइएका मृतात्माहरु ‘मशानको रुपमा ब्यूँतेर नाङ्गै हिडछन् र बटुवालाई तर्साउछन् ’ हजुरबाले भनेको कुरा त्यहाँ पुग्दा सम्झेर बाको हात समात्न पुगेको थिएँ । भोलीपल्ट भिमलाल सरको घरमा पुगेर ट्युसनको ब्यवस्था गरे पछि बा, काका र दाई बलेवा हुदै घर फर्कनु भएको थियो ।

सदरमुकाम भएको हुनाले मात्र कुश्मामा विहादी, ज्ञादी, फलेबासको तुलनामा मानिसको चहलपहल बढि हुन्थ्यो । अन्यथा, ति ठाउँको तुलनामा कुश्मा साँघुरो छ । पश्चिम र पुर्व तर्फ क्रमशः कालीगण्डकी र मोदी खोलाको झण्डै चार सय मिटर गहिरो खोँच र भीर, दक्षिणतर्फ ति दुई नदी र खोलाको भीर पछिको दोभान, उत्तरतिर बन सहितको पखेरोको बीचमा कुश्मा बजार रहेको छ । आधुनिक विकासकालागि सडक सञ्जाल वरदानै हुँदो रहेछ । पोखरा–बाग्लुङ राजमार्ग कुश्माको काख छिचोलेर गए पछि यस्को जीवनमा वैँशको उभार आयो । विहादी, फलेबास, ज्ञादी जस्ताको तस्तै रहे भने कुश्माले सानो शहरको रुप छोटो समयमा लिइनै हाल्यो ।

सडक सञ्जालमा जोडिए पछि भौतिक विकासका अवसर खुले । कुश्माको रुखो बारी बहुमुल्य घडेरीमा रुपान्ततिर भए भने हाम्रा खेतका गरा र बारीका पाट समयसँगै बाझोमा परिणत भए । कुश्मा बजार काली र मोदीका भीर, खोल्साखाल्सीसम्म पुगेको छ । हुनत पहाडी जिल्ला रुकुम, रोल्पा, जाजरकोट, दैलेख, डडेलधुरा, दोलखा, बझाङ, बाजुरा, मुगु, रसुवा, सिन्धुपाल्चोक, म्याग्दी, प्यूठान आदिका सदरमुकाम प्रायः सबै साँघुरानै छन् । तिनका तुलनामा कुश्माभने साँघुरो भए पनि समथर छ ।

त्यस क्षेत्रमा जाने आन्तरिक पर्यटकलाई एक रात वा एक बिहान किन नहोस कुश्मामा ओर्लेर कुश्मा–बलेवाको केवल कारको पुल, कुश्मा–ज्ञादी, कुश्मा–कैया र कुश्मा–मुडकुवाको नेपालकै अग्ला र लामा तीन झोलुङ्गे पुल र त्यहाँबाट देखिने प्राकृतिक दृश्य हेर्न बाध्य पारेका छन् । पुल नहेरी बाटो काटेर फुत्त हुईकिने हो भने बाग्लुङ कालिका र मुक्तिनाथको दर्शन गरेको फल प्राप्त नगरे जत्तिकै खल्लो महसुस हुने भएको छ । पर्वतको कुश्मा अहिले झोलुङगे पुल र काली र मोदीको अग्लो गल्छिले गर्दा विश्वमानै चिनिन थालेको छ । त्यसबाहेक ढुङ्गाले छाएका सुन्दर बस्ती नजिक हुनु, बन्जी जम्पिङ, कालीगण्डकी र्याफ्टिङ, घोडेपानी, पन्चासे, ढोरपाटन, धवलागिरि र अन्य धेरै क्षेत्रमा पुग्ने पदमार्ग पर्ने हुुँदा कुश्मामा चहलपहल अहिले निकै बढेको छ ।

हाम्रो बिहादी कुणादीको घरबाट देउराली पुग्न एक घण्टा ठाडो उकालो हिडन पर्छ । देउरालीमा दुधधार दिन हिउँदमा जान्थ्यौँ भने लुरिङकोट भने दशैँको नवमीको दिन बोकाको बलीदिन जान्थ्यौँ । नजिकै मगर गाउँ थियो । उनीहरुले बुनेका निगालोका डोका, थुन्से, सोली वेशीँका हाम्रा गाउँमा विक्री गर्थे र धान ल्याउथे । देउरालीबाट धवलागिरि र अन्नपुर्णको लामो धार देखिने भएकाले मलाई सानैदेखि हिमाल मन पथ्र्यो । हिमाल भने पछि हुरुक्क हुन्थे । मामाधर जाँदा धवलागिरि, गुर्जा र चुरे हिमाल त नजिकै देखिन्थे । म त्यसको नजिक पुग्न पाए कस्तो हुन्थ्यो होला भनेर रोमाञ्चित हुन्थेँ ।

घरबाट फलेवास, बलेवा, कुश्मा जाँदा पनि भन्ज्याङ, देउराली, पखेरा, गल्छेडोबाट हिउँचुली, अन्नपुर्ण दक्षिण र माछापुच्छे«ले मलाई हेरेर घरीघरी आँखा झिम्क्याउथे । त्यसबेला त्यतातिरका मानिसले सबै सेतो पहाडलाई पोखराको माछापुच्छ«े भन्दथे । कुश्माको पुर्वी छेउ मोदीखोलाको भीरको चेपचापबाट माछापुच्छ«े, हिउँचुली र अन्नपुर्ण दक्षिणसँग भेटघाट भइहाल्थ्यो । कुश्माबाट बाग्लुङजाने बाटो तिरलाग्दा अत्यन्तै ठूलो र सुन्दर विश्वकै छैटौँ अग्लो धवलागिरि प्रथम हिमाल कालीकै तिरमा ओर्लेर बसेको हुन्थ्यो । कुश्मामा गएदेखि हिमाल झन मेरो नजिक आए जस्तो लाग्थ्यो भने म पहिलेभन्दा फुर्तिलो भएको थिए । भिमलाल सरकोमा ट्यूसन पढन थालेपछि त हामी दुवैमा पास हुन्छौँ भन्ने आत्म विश्वास बढेको थियो ।
एक दिनको कुरा हो, हामी धेरैजना केटाहरु अंग्रेजी विषयको ट्यूसन पढेर कोठामा फर्कँदै थियौँ । केहि खैरो कपाल, कुहिरा आँखा, गोरो अनुहार भएका विदेशी (युरोपिएन) थुप्रै भरिया सहित लठठी टेकेर, झोला बोकेर हिडदै गरेको भेट्यौँ । उनीहरुले फोटो खिच्दै थिए । त्यस्तैमा मैले आँट गरेर एकजनालाई उनको नाम के हो भनी अंग्रेजीमा सोधेँ । मैले साहस गरेर त्यति नाम के सोधेको थिए, ‘विदेशीसँग अंग्रेजीमा कुरा गरेको’ भनेर साथीहरु बीच निकै हल्लिखल्लि भयो । मैले त्यो आँट कसरी गरे हुँला मलाई पनि अचम्म लाग्छ–आज ।
आंशिक परिक्षादिन मेरा कान्छा मामा दिपक पौडेल र काका सोमनाथ (हाल दुवै हाम्रो माझ हुनुहुन्न), प्रेम दाई र अन्य कुश्मानै आउनु भएको थियो । त्यसैले कहिलेकाहीँ कोठा परीक्षार्थीले भरीभराउ हुन्थ्यो । रमाईला गफ मध्ये चीट कसरी चोर्ने ? गार्ड को को हुन्छन् ?, कत्तिको कडा छन् ?भन्ने बारेमा आंशिकका परिक्षार्थीले अघिल्लो वर्षका अनुभव सुनाउथे । उनीहरुका चीट चोर्ने कुरा सुन्दा मेरो मुटु भने ढुकढुक गर्दथ्यो ।
परीक्षामा चीट चोराउनेको बजारनै लाग्यो । परिक्षा आरम्भ भएको पाँचै मिनटमा प्रश्नपत्रनै पोको परेर बाहिर आउथ्यो । स्कूलका शिक्षकनै उत्तर लेखिदिन एक कुनामा बसेका हुन्थे । चीट पोको पार्दै झ्यालबाट फाल्ने आफन्त हुन्थे । पुलिसले लठ्ठी बजारेझैं गर्दथे । त्यसै गरी आंशिकको परिक्षा सकियो । आंशिक पछि आफन्त फर्के । हामी दुवै चीट नचोरी पास गर्ने गरी पढाईमा ध्यान केन्द्रित गरी बाहिर निस्कन छोड्यौँ । त्यसबेला परिक्षा माघ महिनामा हुन्थ्यो र असारमा नतिजा प्रकाशित हुन्थ्यो । टंक र मैले राम्रो तयारी गर्दै थियौँ । घरबाट ल्याएको सामान मनग्गे थियो । नगद रुपैयाँ सकेसम्म बचाएका थियौँ ।

हामीले परिक्षा तयारी गर्दै गर्दा कोठा नजिक एउटा घटना भयो । भाडामा बसेको घर नजिकै टौवा मुनि छिमेकीले भैँसी पालेका थिए । एक दिन छिमेकीको भैँसी फुकेर अर्को छिमेकीको बारीमा उमारेको तरकारी खाइदियो । भैँसीका मालिक त्यसबेला घरमा रहेनछन् । किसान चिच्याउदै थिए । उनको स्वर सुनेर हामी पनि बाहिर निस्केर हे¥यौँ । अरु वल्लोपल्लो घरका मानिसले पनि हेरेका थिए । किसानले रीषले चुर हुदै भैँसीलाई ढुङ्गा, चीर्पट दाउरा जे पायो त्यसैले भकुर्नसम्म भकुरे ।

अचम्म हुन के पुग्यो भने भोलीपल्ट त्यो भैँसी मरेछ । हामीले छिमेकी किसानले भैँसीलाई ढुङ्गा र दाउराले हानेको प्रत्यक्षरुपमा देखेका थियौँ । अरु वल्लोपल्लो घरकाले पनि देखेका थिए । भैँसीको मालिकले वल्लो–पल्लो घरका मानिसलाई सोधे होलान तर शायद कसैले पनि भैँसी कुटेको बारे भनेनछन् की ? दुहुनो भैँसी मरेकाले उनी निकै चिन्तित थिए । हामीले उनकोबाट दुध किनेर खान्थ्यौँ । भोलीपल्ट उनले मलाई ‘बाबु, तिमीले हिजो भैँसी कुटेको देखेका थियौँ ?’ भनेर सोधे । मैले हत्तनपत्त परिणाम बारे केहि नसोची ‘हो मैले देखेको थिएँ । ढुङ्गाले हानेका थिए ।’ मैले आफूले जे देखेको थिए, सो साँचो कुरा भनिदिएँ ।
त्यो घटनाले उग्र रुप लियो । ठूलो कचहरी बस्यो । ‘कुटेको कारणले भैँसी मरेको हो’ भन्ने कुरा ब्यापक भयो । ढुङ्गाले हानेर भैँसी मरेको र हानेको देख्ने साक्षी म भएँ । तेस्रो दिन जस्ले भैँसी कुटेका थिए, उनी हाम्रो कोठामा छिरे र सामान्य परीक्षाको तयारीबारे सोधे पछि भने– ‘तिमीहरु परिक्षा दिन आएका हौ । मुद्दामामिलामा प¥यौँ भने परीक्षा दिन पाउदैनौँ । हिजो तिमीले भैँसी कुटेको देखेको भनेछौ । अब तिमीलाई मुद्दा लाग्छ । परिक्षा दिन पाउने छैनौँ ।’

मानिसलाई न्याय र सुरक्षा दिन अदालत र प्रहरीको ब्यवस्था गरिएको भए तापनि ति दुवैदेखि टाढा रहन चाहन्छन–संसारका एकथरी मानिस । म त्यसमध्येकै हुँ हिजो र आज पनि । तर बाध्यताले मानिसलाई जुनसुकै ठाउँमा पनि पु¥याउन सक्छ । त्यसमा हामी बिहादीका परिक्षा दिन पुगेका बबुरालाई कुश्माको झन्झनमा पर्नु त थिएन नि । झन् मुद्दा भने पछि त तर्सिइनेनै भइयो । भैंसी कुट्दा जस्तै आक्रोस र निष्ठूरीपन देखाउदै उनले हामीलाई तर्साएका थिए । आँखाले देखेको घट्ना ‘देखेको हुँ’ भन्दा ‘परिवन्द’ कथामाझैँ झन्झटिलो परिवन्दमा पर्ने परिस्थिति त्यहाँ धवलागिरि हिमालमा हिउँ देखिएझैँ छर्लङग देखियो । मेरो मनमा प्रश्नका लहर उठे । ‘साँचो बोल्न हुदैन र ? जे होला, होला साँचो त बोल्नै पर्छ । भैँसी कुटेको देखेको हुँ भन्दा एसएलसीनै दिन नपाउने ? वा, यसैले गर्दा फेल हुने पो हो कि ? मेरो मनमा यस्तै तर्कना वर्षामा कालीगण्डकीको छाल उर्लेझै उर्ले । त्यस्तैमा टंकले ‘हामीलाई केहि मतलव छैन । हामी परिक्षा दिन आएका विद्यार्थी हौँ । हामीलाई दुःख दिन अबदेखि हाम्रो कोठामा नपस्नु ।’ भन्दै कडा प्रतिकार गरे ।
नाताले छोरा पर्ने मेरा मित्र टंक म भन्दा ३ वर्ष जेठा छन् । ब्यवहारिक कुरामा मभन्दा उनी त्यसबेलानै धेरै पाका थिए । टंकले त्यसो भने पछि भैँसी कुट्ने मानिस पनि जुरुक्क उठेर कोठाबाट बाहिरिए। मैले एक पटक साँचो बोलेँ त्यसको असर के भयो थाह भएन । पढन ध्यान दियौँ । राम्रोसँग परिक्षा दियौँ । त्यो घटना घटेको आज ४३ वर्ष भयो । तर मलाई त्यो घट्ना हिजै मात्रै घटेको हो जस्तो लाग्ने गरी ताजै छ । साँचो कुरा बोल्दा तर्सन परेको पिडा एकातिर आलो छ भने अर्को तिर मैले साँचो कुरा बोल्न खोज्दा त्यसबेला समाजले मलाई साँचो बोल्न मुख थुनि दिएकोमा आजसम्म पनि अत्यन्त दुखित छु । त्यसको असर ममा आज पनि छ । साँचो बोल्न खोज्दा कुश्मामा भैँसी मरेको सत्य कथाझैँ फेरि दोहोरिने हो कि ? म तर्सन्छु । मेरो ह्रदयबाट निस्केको सत्य कुरालाई त्यसबेला कचहरीमा गएर ‘भैँसीलाई ढुङ्गाले हानेको देखेको हुँ’ भनेर बोल्न नपाएकोमा दुखित छु ।

हो , मैले यदि भोलीपल्ट समाज सामु उभिएर साँचो कुरा बोलेको भए तापनि क्षण भर त सन्तुष्ट हुन्थे होला तर त्यो समाजले मलाई बचाउन सक्ने थिएन । सत्यको पक्षभन्दा पनि त्यहाँ असत्यले भुस–तीग्रेको रुप धारण गरेर हाम्रो कोठामा छिरी सकेको थियो–मेरो मुख थुन्न । झूटो बोल्नेहरु शक्तिशाली भएकाले मलाई काली वा मोदीको खोँचमा लगेर फाल्न पनि सक्थे । जे पनि हुन सक्थ्यो । मलाई चित्त नबुझे पनि शायद मैले त्यसबेला सही निर्णय लिए किनकि सत्य त्यहाँ झुम्रो जस्तै थियो शक्तिहिन । हाम्रो समाजमा अहिले पनि त्यस्ताको दबदवा संगठीत रुपमा छ । त्यसबेलाको अशिक्षित र सकृय राजतन्त्र भएको बेलाको के कुरा अहिले गणतन्त्रको युगमा पनि सत्य थरथर काँमेको हुन्छ– ज्वरोले ग्रस्त भएको बृद्ध बिरामीझैँ । कानून र सुरक्षा निकायभन्दा अहिले पनि मोटा तिग्रानै बलिया छन् ।

परीक्षा दियौँ । चीट चोरेनौँ । हिसाबको दिन मैले चालिस अंकको प्रश्नपत्र हल गरेको थिएँ । त्यसैबेला, हाम्रै कक्षाका साथी दुर्गा कुँवरलाई मैले मेरो टाउको पछि फर्काएर केहि भनिदिएको निरिक्षकले देखे । तत्काल उनले मेरो उत्तर पुस्तिका खोसे । मलाई फिर्ता दिएनन् । मेरा बलिन्धारा छुटे । उपाए जुरेन । मैले त्यो उत्तर पुस्तिका फिर्ता पाइनँ । जस्मा चालिस अंकको मात्र उत्तर दिएको थिएँ । त्यो उत्तर पुस्तिकामा रातो चिन्ह लगाए की ? मेरो मनमा शंका त्यसबेलानै उठेको थियो । त्यसैले म पक्का फेल हुने भएँ भन्ने भयो ।
त्यो बाहेक अरु विषयमा मलाई पीर लागेको थिएन । घर फक्यौँ । हिसाबको कुरा बाआमालाई भनिनँ । हिसाबको कपि खोसिएकाले ‘पास हुन्छु’ भन्ने मैले सोचेको थिइनँ । एसएलसीको नतिजा प्रकाशित भएको तीन दिन पछि थाह भयो म पनि तृतीय श्रेणीमा पास भएको रहेछु । हजुरबा, बा, आमा, घरपरिवार, गुरुहरु, गाउँले सबै खुशि भए । पास भएको खवर सुनेको त्यो पल मेरो जीवनको खुशिका पल मध्येको खुशिको महत्वपूर्ण एक पल बन्यो ।

पोखरा पुगेर माछापुच्छ«ेको काखमा बसेर पढने रहर पुरा नभए तापनि भारतको नर्थ इस्टर्न हिल्स युनिभरसिटी मेघालय अन्तरत हाल पाछुङ्गा विश्वविद्यालयबाट वि.ए. पास गरेर बाल्यकालको पढने इच्छा पुरा गरी नेपाल छिरेँ । भैँसीको कथा जीवनको पछिल्ला धेरै मोडमा आएको छ । ४३ वर्षमा काली र मोदीमा धेरै पानी बग्यो । भेल पनि त्यस्तै आयो । काली गण्डकी थुनियो फेरि आफैले बाटो खोल्यो । नदीको बहावले कुश्माको जमिनको तह विसौँ फिट भषाए होला । कुश्मा गाउँबाट आधुनिक सहरमा रुपान्तरण भएको छ । म भाडामा बसेको घरको घडेरीमा विशाल भवन बनेको छ । देवघाटबाट कोरला छिचोल्ने कालीगण्डकीको दुवै किनारको करिडर राजमार्ग सुचारु हुदैछ । कुश्मामा झोलुङगे पुल हेर्न पर्यटकको ताँती लागेको छ । धवलागिरि र हिउँचुलीले काली र मोदी बीचको कुश्माको बजारलाई नियाली रहेझैँ आज सम्म पनि मैले त्यो भैँसी मरेको सत्य घटना झलझली सम्झिरहेको छु । राजधानीमा रहेर पनि उकुसमुकु हुँदै बिहादी र कुश्माको त्यो गोरेटो नियाली रहेछु । निडर भएर सत्यबोल्न कहिले पाईएला ? त्यो समय पर्खँदै धवलागिरिलाई साक्षी राखी जीवनको उकाली–ओराली गरीरहेको छु । १५ माघ २०७५ मो .९८४१३७७०८३

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s