धन्यवाद सहित साभारः दायित्व द्वैमासिक साउन–भदौ २०७६ पूर्णाङ्क११९
संसारमा मानिसले एक पटक जीवन र अर्को पटक मृत्यु प्राप्त गर्छ । जन्मपछिको मृत्यु सत्य हो । एक पटकमात्र प्राप्त हुने जीवनलाई अमर बनाउने काम भनेको धेरैको भलो हुने लिपिबद्ध सत्कर्म हो । हुन त मानिसका कुकर्म पनि लिपिबद्ध हुन्छन् । तर कुकर्म समयको अन्तरालमा मेटिन्छन् भने सुकर्मका लिपिहरू पुरानोबाट नयाँ बन्दै जान्छन् – वर्तमान युगमा बुद्धका सत्सन्देश र उनका मूर्ति संसारभर फैलिएझैँ ।
आमाको गर्भबाट मानिसले एक पटक जन्म लिएपछि त्यही जीवनमा मृत्यु निश्चित हुन्छ । यो सबैले जानेकै कुरा हो । एक पटकमात्र प्राप्त हुने यो जीवनलाई केहि मानिसले यसलाई साँच्चिकै सार्थक बनाउन हर प्रकारका सत्कर्म गर्छन् । ती सत्कर्मको फल ढिलो मात्र प्राप्त हुन्छ । ढिलो गरी फल अर्थात् लक्ष्य प्राप्त गर्न पनि के, कस्तो र कसरी कर्म गर्दा सो लक्षित फल प्राप्त गर्न सकिन्छ भन्ने कुराको स्पष्ट रेखाङ्कन गर्नुपर्छ; हिमालबाट झरेको मस्र्याङ्दी नदीबाट विद्युत् निकाल्न मिहिन योजना बनाएझैँ ।
लक्ष्य भेदनको स्पष्ट रेखाङ्कन गरेपछि इमानदारी एवं सचेततापूर्ण तवरबाट लक्षित पूर्वयोजनाको कार्यान्वयन, कष्ट र साधना गरेपछि फल लाग्न सुरु हुन्छ । फल लाग्दैमा जीवनमा गरिएको कर्मको फल हात पर्दैन । फल लागेपछि मानवमा भएको राक्षसी प्रवृत्ति जुन सुषुप्त हुन्छ त्यो जागृत बनेर कोब्रा सर्पले आफ्नो आहारा निल्न फणा उठाएझैँ उठाउँछ । (यहाँ प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई उठाउन खोजिएको होइन) । त्यसकारण, फल प्राप्त गर्नेबेला होसियारीपूर्वक चनाखो भएर हात पार्नुपर्छ । त्यहाँ वैराग्यले बास पाउनुहुँदैन ।
हाम्रो यस संसारमा विभिन्न प्रवृत्ति, विभिन्न चाहना, विभिन्न सोच भएका मानिसको बसोबास छ । यहाँ मानवभित्र हामीले पौराणिक दर्शनको आधारमा भन्ने गरेका देवता र राक्षस छन् । एउटै मानिसभित्र पनि कहिले राक्षसीपन र कहिले देवत्वको भाव झल्कने प्रवृत्ति देख्न सकिन्छ । अघिल्लो रात आपूmसँगै प्रेमालापमा लीन भई ऊसँगै जीवन बिताउन आमाबाबुलाई छोडेर आएकी प्रेमिकालाई अर्को साँझ सामान्य मनमुटाव हुँनेबित्तिकै सोही प्रेमीले निर्मम हत्या गरेको घटना एउटै मानिसमा हुने देवता र राक्षसी प्रवृत्तिको राम्रो उदाहरण हुनसक्छ ।
त्यस्तो हुनुमा तत्कालीन अवस्थाको परिवेशले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसबेला मानिसले तत्काल उत्पन्न भएको राक्षसी प्रवृत्तिलाई नियन्त्रण गर्न सक्दैन । यस्ता घटना ठूला सामन्त, शासक, ठूलो पदमा भएका मानिसबाट तत्कालीन पदीय मानको आडम्बरमा गरिएका आपराधिक घटनाका धेरै उदाहरण संसारभर पाइन्छन् । मानिस खुसी र सन्तुष्ट भएको अवस्थामा देवत्वको भाव हुन्छ । जब उही मानिस कुनै परिवेशमा पीडा वा उसलाई बाध्य पारी वा बाध्यतामा परेर वा आडम्बरले घेरेर आक्रोसित भएको हुन्छ त्यस्तोबेला उसमा रिसराग, आक्रोससहित राक्षसीपन भरिएको हुन्छ । त्यसपछि आपराधिक क्रिया गर्न सक्रिय हुन्छ ।
सामान्य मानिसले त्यो आक्रोसलाई नियन्त्रण गर्न सक्दैन र दुर्भाग्यपूर्ण घटना आफैँले अनायस घटाउँछ । देवत्वको गुण त्यसबेला पातालमा लुकेको हुन्छ । जुन मानिसले जीवनलाई ‘यो पृथ्वीतलमा आमाको कोखबाट जन्म लिएपछि फेरि कहिल्यै यस्तो जीवन नपाइने भएकाले यो संसारलाई राम्रोसँग मनन गरेर केही सत्कर्मका फल दिएर मात्र बिदा हुन्छु ।’ भन्छ त्यस्तो व्यक्तिले मात्र त्यसबेलाको त्यो राक्षसी चरित्रलाई नियन्त्रण गर्न सक्षम हुन्छ; अरूले सक्दैनन् । अनि बाँकी जीवन अत्यन्त कष्टप्रद बनाएर, रसातलमा धसाएर राक्षसी प्रवृत्तिबाट मुक्त नभई मृत्युवरण गर्छन् । जीवनलाई अमूल्य हिराको रूपमा चिनेको मानिस त्यस्ता प्रवृत्ति जस्तै अतिलोभ, अतिमोह, अतिलालच, अतियौनतृष्णा, अतिसम्पत्तिको चाहनाबाट अलग भएर आनन्दसँग बसेको हुन्छ ।
केहि मानिस प्रवृत्तिगत हिसाबमा प्रारम्भदेखि नै देवता र राक्षस गुण भएका हुन्छन् । यहाँ सहयोगी, इमानदार, स्पष्टवक्ता, कर्मयोगी, सकारात्मक, मृदुभाषी चरित्र भएको मानिसलाई देवगुण भएको भनिएको हो । त्यस्तै असहयोगी, भ्रष्ट, अस्पष्ट, अल्छी, नकारात्मक, झगडालु र अरूलाई पीडा दिँदा खुसी मान्ने परपीडकलाई राक्षस भनिएको हो । हाम्रा पौराणिक कथाले त्यसलाई चित्रण गरेका छन् । त्यसलाई धर्म र ब्यवहार दुवै आँखाबाट आफ्नो सोच, दर्शन र धारणाबाट हेर्न सकिन्छ ।
मानवको जन्म, मानव सभ्यताको विकास भएको हजारौँ वर्षदेखि आजसम्म देवता र राक्षस प्रवृत्ति समाजमा व्याप्त छ । वनमा रहेको शक्तिशाली सिंह वा बाघ वा अन्य कुनै जनावरले आफ्नो शक्तिको आधारमा शिकार गरी पेट भरेझैँ मानव समुदायले पनि हिजोको जङ्गली अवस्थामा ठूलोले सानोलाई, ठूलो समूहले सानो समूहलाई, बलियो क्षेत्रले दुर्बल क्षेत्रलाई आक्रमण गरी पेट भर्ने गर्दथे र जितेर ल्याएका पुरुषलाई दास बनाउँथे । यौवनावस्थामा रहेका आर्कषक युवतीलाई यौनशोषण गरी दासी बनाउँथे । यौनइच्छा पूरा गरुञ्जेल ती युवती कुन वर्ग, कुन ग्रामका हुन भन्ने वास्ता गर्दैनथे । तर, जब ती दासी नारीले सामन्तहरूको यौनतृष्णा पूरा गर्न सक्दिनथिन् उनी पानी नचल्ने जातकी, कुसंस्कार र कुलक्षण भएकी भनेर साङ्लोमा बाँधिएर भोकभोकै कुटिन्थिन्, मारिन्थिन् ।
त्यस्तै मानवले मानवलाई गरेको हिंस्रक जङ्गली आक्रमणमा परेर चार–पाँच हजार वर्ष पहिले सभ्यताको चरमोत्कर्षमा पुगेको सिन्धु सभ्यता सखाप भएको इतिहास साक्षी छ । अमेरिकाले जापानमा गरेको आक्रमण सबैमा ताजा छँदैछ । त्यो क्रम आजका दिनसम्म रोकिएको छैन । त्यसो हुनाले त्यो हिजोदेखिको राक्षसीपन जाने कुरा पनि भएन । राक्षसीपन संगठित रूपमा बलियो भएर बसेको छ भने देवत्व वा देवचरित्र भएको सभ्यता सयौँ वर्षको अन्तरालमा कहिले शिव, कहिले जनक, कहिले राम–सीता, कहिले गार्गी, कहिले बुद्ध, कहिले सेनरेव भएर जन्मेको हुन्छ । त्यो ढिलो सुस्त गतिमा हुन्छ । सानो र सुस्त गतिको भए तापनि त्यो शक्ति आज उत्तर कोरिया वा अमेरिकाले विकास गरेको शक्तिशाली क्षेप्यास्त्रभन्दा दिगो र भरपर्दो हुन्छ ।
विज्ञानले आफ्नै गतिमा चन्द्रमा र सूर्यमा पुगेर अध्ययन गरी ‘मानव सचेत प्राणी हो’ भन्ने प्रमाणित भइसक्दा पनि युद्ध गरिरहेका छन् । आत्मघाती बम पड्काएर आफ्नै वंश नाश गरिरहेका छन्, सीमित खर्बपतिले विश्वको अर्थतन्त्रमा कब्जा जमाएका छन, कुपोषण भएर अल्पायुमा चिचिला मरिरहेका छन् । आज संसारका हरेक कुनामा राक्षसी प्रवृत्ति हावी भएर दैनिक हजारौँ मानिस बिना कसुर मारिइरहेका छन् । शक्तिशालीले निरीह मानिसलाई जन्मभूमिबाट खेदिरहेका छन् । मानिस सचेत प्राणी भएको हुनाले ‘जङ्गली जनावरभन्दा फरक हुन्छ’ भनेर विज्ञानले सिद्ध गरे तापनि मानिस सहज रूपमा मानिससँग नतर्सीकन धरतीको कुनै कुनामा बस्न सकेको छैन ।
मानिस भएर मानिससँग डराउनुपर्ने वा बाँच्नका लागि फेरि राक्षस नै बन्नुपर्ने विकराल परिवेश निर्माण भइरहेको छ । मलाई कहिलेकाहीँ यस्तो लाग्छ कि संयुक्त राष्ट्रसंघले जतिसुकै मानवीयताको प्रलाप गरे पनि शक्ति हुने जोकोहीले कम शक्तिवालालाई जहिले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा घाँटी अठ्याएकै हुन्छ । नेपाल त्यसको सशक्त उदाहरण हो । कुनै पनि बेला नाकाबन्दी हुनु, सीमा स्तम्भ रातारात गायब हुनु, बाँध बनाई देशका भूभाग डुबाएर उठीबास पार्नु, विषादीयुक्त तरकारी खुवाएर अकालमा मर्न बाध्य पार्नु आदि । यी त केही उदाहरण मात्र मात्र हुन् । संयुक्त राष्ट्रसंघजस्तो शक्तिशाली संस्थाले पनि शक्तिराष्ट्रको सामु शिर झुकाएर मानवीयताको हत्या गर्न अप्रत्यक्ष सहयोग पु¥याएको हुन्छ । त्यसो नगरेससम्म राष्ट्रसंघ वा अन्य त्यस्तै संस्था टिक्न पनि सक्दैनन् । यथार्थ त्यही हो ।
पूर्वीय दर्शनबाट पश्चिमाले सिकेर भौतिक र मानवतावादको विकास गरेका हुन् भनेर हाम्रा विद्धानले चिच््याउँदै फलाकेको आज पनि सुनिन्छ तर, फरक के भने वैदिक संस्कृतिको जन्म भएको हिमाली उपमहाद्विपमा एक्कइसौँ शताब्दीको आजको दिनमा घर, परिवार, समाज, न्याय, प्रशासन, सुरक्षा र सिङ्गो राष्ट्रमा युरोप र अमेरिकाको तुलनामा राक्षसी चरित्र र प्रवृत्तिको मात्रा प्रचुर रूपमा बढ्दो छ । नेपालमा सत्तालिप्सामा रहेका राजा, महाराजामा शासनको बागडोर हत्याउन मारकाट हुनेबाहेक आमनागरिकमा राक्षसी प्रवृत्ति र राक्षसी सोच पचास वर्षपहिले नगन्य थियो । पाँच दशक पहिले आममानिसमा सद्भाव, सदाचार, समर्पण भाव, इमान–जमान व्याप्त थियो । पचास वर्षपहिले र पचास वर्षपछिको तुलना गर्ने हो भने राक्षसी कुसंस्कार र कुसंस्कृतिको रेखा अति द्रूत गतिमा उकालो चढेको छ ।
राजस्व कार्यालयका प्रमुखले राजस्व आफ्नो निजी भकारीमा थुपार्नु, त्रिभुवन विश्वविद्यालयका प्रमुखले फेल भएको आफ्नो सन्तानलाई उत्तरपुस्तिकामा अङ्क थपेर सुनको तक्मा पहिराउनु, सिंहदरबारमा हालीमुहाली गर्नेले बालुवाटारको जग्गा हडप्नु, पशुपतिनाथका पूजारीले भोलेबाबाको तेस्रो नेत्रमा पट्टी बाँधी भेटी लुकाउनु राक्षसी प्रवृत्तिका उदाहरण हुन् । अहिले सचेत नागरिक तर्संदै, झस्कँदै, पसिनै–पसिना निकालेर उकुसमुकुस भएर बाँचेको छ । उसले अत्याचार, भ्रष्टाचार, अनाचार, दुराचार देख्छ तर पाटेबाघको अगाडि उभिएको एक्लो हरिणझैँ निरीह भएर बस्छ । ‘बोल्न चिच्याउनुपर्ने हो ’भन्ने थाहा छ तर सक्दैन ।
खराब चरित्र भएका मानिस संसारमा धेरै हुन्छन । त्यो बढ्दैछ । त्यसकारण होसियारीपूर्वक चल्नुपर्छ । जीवनलाई भड्खालोमा हाल्नुहुँदैन । सन्तोषको सास कसरी फेर्ने त्यसमा ध्यान दिनुपर्छ । असहज परिस्थितिलाई सहजताका साथ सम्हाल्न सक्नुपर्छ । सकारात्मक सोच राखेर निरन्तर कर्म गरिरहँदा पनि कहिलेकाहीँ अन्य परिवेशले गर्दा नसोचेको कष्ट उठाउनुपर्छ । राम्रो गर्दागर्दै पनि नराम्रो हँुदोरहेछ किन भयो ? कुन कमजोरीले त्यस्तो हुन गयो ? भन्ने जाँच गर्नुपर्छ । त्यसो गर्दा गलत दिशातिर तेर्सिएको जीवनलाई सही बाटामो उभ्याउन सकिन्छ ।
मैले माथि दोस्रो परिच्छेदमा उठाएको फल लागेपछि त्यसलाई होसियारीपूर्वक कसरी हात पार्ने भन्ने सन्दर्भमा माथिका विषयहरूको उठान भएको हो । अतिकष्ट, कठोर एव दीर्घ साधनाबाट प्राप्त हुन थालेको त्यो फल यी माथि उल्लेख गरिएका संगठित राक्षसी प्रवृत्तिले कुनै पनि बेला आक्रमण गरेर कब्जा गर्न सक्छन् । त्यसका लागि आफू अति चखानो, लामो साधना र होशियार हुनुबाहेक अर्को उपाय केही छैन ।
मानिसमा त्यस्तो राक्षसी र देवत्व प्रवृत्तिको कसरी जन्म हुन्छ त ? भन्ने प्रसङ्गमा थोरै बहस गर्नु राम्रो होला । मानिसको जन्म हुँदा विभिन्न परिवेशले उसलाई निर्देशन दिइरहेको हुन्छ । नारी र पुरुषको समागम हुनुभन्दा पहिलेको सामाजिक, भौतिक र मानसिक परिवेश र परिस्थिति, नारी र पुरुषको समागमको समयको अवस्था । नारीको गर्भमा रहँदा नारीको शारीरिक, मानसिक, भौतिक अवस्था र बच्चाको जन्मपछि ऊ हुर्कने, खेल्ने, खाने, बस्ने, घुम्ने, शिक्षा आर्जन गर्ने र त्यसवरपरका साथीभाइ, त्यहाँको सामाजिक परिवेश र परिस्थितिले उसको जीवनको मोडको केही हदसम्मको रेखाङ्कन गरेको हुन्छ ।
त्यस परिवेश र परिस्थितिमा मानिसको विकास हुँदै जाँदा कतै वेदव्यास, कतै याज्ञवल्क्य, कतै गार्गी, कतै राम, कतै सीता, कतै कृष्ण, कतै शिव, कतै पार्वती, कतै बुद्ध, कतै शङ्कराचार्य, कतै रावण, कतै इदिअमिन, कतै हिटलर, कतै मुसोलिनीको जन्म हुनपुग्छ । माथि उल्लेख गरिएका परिवेश र परिस्थितिले त्यस्तो गर्भधारण गरी त्यसरी हुर्केको हुन्छ । यहाँ भन्न खोजेको कुरा के भने धेरै कष्ट र साधना गरेपछि जुन फल लागेको हुन्छ त्यो फललाई त्यस्तै कष्ट र साधना गरेर मात्र हात पार्न सकिन्छ, अन्यथा यो संसारमा विभिन्न परिवेशमा जन्म लिएका त्यस्ता मानिस जो अरूले कर्म गरी फलाएको फल खोस्न एउटा कुनामा धारिलो हतियार लिएर बसेको हुन्छ त्यसबाट त्यो सहजै छिनिन्छ ।
त्यसभित्र अरूले अनन्य मेहनत र कष्ट साधना गरेर फलाएको फल खान मात्र त्यस्तै प्रकारको नकारात्मक सोचको मलजल गरेर, क्रूर मानसिकताबाट ओतप्रोत रहेर जे जसरी हुन्छ इदि अमिनको शैलीमा हडपेर लिन खोज्ने हुन्छन् । इदि अमिनले कुनै सुन्दर युवतीलाई देखे भने उनले ती युवतीलाई अपरहण गरी बलात्कार गर्थे । त्यतिले उनी सन्तुष्ट हुँदैनथे । त्यसपछि उनले ती युवतीको स्तन काटेर त्यसको भक्षण गर्दथे (पत्रपत्रिकामा आएको समाचारको आधारमा) ।
इदि अमिनको जन्मको परिवेश कस्तो होला ? यदि भगवान्ले नै मानिसको सृष्टि गरेका हुन् भने इदि अमिनको जन्म किन गराए ? उस्को पूर्वजन्मको फल भन्ने उत्तर आउला । तर , यो बहस त्यतातिर केन्द्रित छैन ।
जीवन अत्यन्त संवेदनशील छ । दिव्य मानिसले आफूभित्रका अनन्य पीडाहरूलाई चन्द्रमाले आफूसँगको कालो दागलाई थुमथुमाएर शीलत उज्यालो दिँदै पूर्णिमाको हाँसो हाँसेझैँ हाँस्ने प्रयास गरेका हुन्छन् । औँसीको रातमा ताराको उज्यालोमा पनि सत्पुरुषले पूर्णिमाको उज्यालोलाई आत्मसात् गरेर असह्य पीडालाई थुमथुम्याउछन्, निको पार्छन् । त्यहाँ त्यसबेला जीवन हिरा चम्केझैँ चम्केर धेरै मानिसलाई पीडाबाट मुक्ति दिएको हुन्छ । कति मानिसले त पीडालाई भित्रैदेखि बेवास्ता गरेका हुन्छन् र चमकलाई मात्र अग्र भागमा राखेका हुन्छन् भने कतिले बाहिर राखेर नै किन नहोस् जीवनलाई सार्थक बनाएका हुन्छन् ।
पीडा र दुःखमा पूर्णिमाको जूनजस्तै हाँस्न सक्नु जीवनको सार्थकता हो । कति मानिस स–साना पीडाबाट पनि विचलित भएर आकाशका तारा खसेर विलीन भएझैँ यो अमूल्य जीवनबाट विलीन हुन्छन् । त्यसो गर्नुहँुदैन । जीवन पाएर पनि जिउन नसक्नुजस्तो कायरता अरू केही हुन सक्दैन । त्यसो गर्नु प्राप्त जीवनलाई नभोगी भाग्नु हो । जीवनमा कर्म अर्थात् सङ्घर्षबाहेक केहि छैन । त्यति हुँदाहँुदै पनि त्यो कर्म निरन्तर जारी राख्न सक्नुपर्छ ।
निरन्तरको अथक कर्मले देवत्वलाई बचाउँदै राक्षसी प्रवृत्तिलाई नाश गर्छ । त्यहाँ जीवनको सारतत्व रहन्छ जुन एक पटक मात्र पाइन्छ । जीवन बजारमा पाइने नयाँ फेसन हुँदो हो त लुगा छानेझैँ छानीछानी भोग गरिन्थ्यो । जीवन त एक पटकमात्र प्राप्त हुने भएकाले यसलाई वेदव्यास र बुद्ध बाँचेसरि बाँच्न प्रयत्नशील हुनुपर्छ । त्यो सार्थक जीवन हो– जुन मृत्युपछि पनि पारिजातले झैँ बासना छर्दै युगयुगसम्म बाँचिरहन्छ । त्यसले देवत्व प्राप्त गरेको हुन्छ । तर राक्षसी प्रवृत्ति भने उसको भौतिक मृत्युसँगै छोटो समयमा नै लोप भएर जान्छ ।
२०७६ साउन ०३ , ९८४१ ३७७०८३