आमा भन्छिन् ः कर्मठ सन्तान भएर हिँड

विष्णुप्रसाद शर्मा पराजुली

साभारः कपनअनलाइनडटकम

आमा भन्छिन् ः कर्मठ सन्तान भएर हिँड

म एक्लै थिएँ त्योबेला
लालाबाला तिमीहरू स–सानै थियौ
उनी प्रताडित, सशङ्कित, त्रसित अनि लोभमा थिए
दासहरूका जत्थाका लामा धारिला तरवारले
मेरा अङ्ग–प्रत्यङ्ग चरचर चिरिएका थिए
रगतका सतलज र काली मेरै शिरबाट बगेका थिए ।

मसँग विशाल अभियानको इतिहास र वीरहरूको गाथा थियो
एक मुठी कोदो, एक मुठी धान, एक मुठी फापर मनग्य थियो
अनि सिङ्गो मेरो निलो आकाश, हिमालय र हिमालयभित्रका हिमालय
तराई, शिवालिक र महाभारत शृङ्खलाका लहरा र पहरामा
म निर्विघ्न गङ्गा, सतलजका आँगन र हिमालयका चुलीहरूमा नृत्य गर्थेँ ।

पार्वतीभन्दा सुन्दर मेरो शालीन रूप, स्रोत र वैभवबाट मूर्छित
दासताबाट जन्मेका कायर राक्षसहरूले
सतलज र कालीको शिर मात्र कहाँ हो र !
मलाई मेरा हरेक अङ्ग प्रत्यङ्गहरूमा
मलाई मेरा प्रत्येक नसा–नसा अनि मुटु–कलेजोमा
कायरले झैँ पछाडिबाट तरवार र भाला रोपेका होइनन् र ?
तिमीले देखेकै त हौ नि , ब्वाँसोले झैँ मलाई लुछेका हैनन् र ?

लुक्दै, छिप्दै, तर्सँदै, तर्कँदै तर स्वाभिमान बचाउँदै
मैले तिमीहरूलाई ज्ञान र स्वाभिमानको शिक्षादीक्षा दिएकै हुँ
उन्मुक्त दास राक्षसहरूबाट पटक–पटक चिथोरिँदै
रगताम्मे हुँदै पनि
मैले तिमीहरूलाई हुर्काउँदै बलवान् बनाएकै हुँ
तिमीहरू बुझकी भइसकेपछि
मेरा चिथोरिएका, कोपरिएका र काटिएका अङ्गहरू पनि देखाएकै हुँ ।

मेरा प्यारा सन्तान !
आज म
ह्रिंसक दास राक्षससँग भन्दा
तिमीहरूदेखि नै झस्किरहेकी छु, प्रताडित भइरहेकी छु
मेरा चिथोरिएका, मेरा कोपरिएका, मेरा काटिएका अङ्गहरू कुल्चँदै
हे ! मेरा सन्तान,
तिमी मेरो चिरिएको छातीमाथि उभिएर ममाथि राज गर्न
आततायी दास राक्षससँग आशीर्वादको झोली थापेको देख्दा म झस्किरहेकी छु ।

विशालताको अभियान, इतिहास र स्वाभीमान मुर्दाघाटमा सुताएर
मेरा अङ्ग लुछ्ने दुराचारीसँग उसकै उक्साहटमा अन्धो बनेर
घाँस–दाउरा गर्ने भाइबहिनीलाई
कोशी, गण्डकी र महाकालीमा हुलेका होइनौँ र ?
म आमा हुँ
तिमीलाई क्षमा दिएँ,
तर, अब कहिलेसम्म जालमा जेलिन्छौँ ?
आमालाई गिद्धले मुर्दा लुछेझैँ लुछेको
अब तिमी कहिले सम्म, कहाँ उभिएर हेर्न चाहन्छौँ ?

अब मेरा लुछिएका, चिमोटिएका, कोपरिएका, काटिएका
अङ्गहरू छुँदै कसम खाएर भन सबैलाई–
आमाको चिथोरिएको छातीभन्दा के छ तिम्रो प्रिय वस्तु ?
आमाका काटिएका अङ्गहरू भन्दा के छ तिम्रो प्रिय वस्तु ?
आमाका रगतका थोपा–थोपाको गुहारभन्दा के छ तिम्रो प्रिय वस्तु ?

आह्वान हो यो मेरो
अब तिमीहरू लालाबाला छैनौँ,
अब तिमीहरू भोका, नाङ्गा र अज्ञानी पनि छैनौँ
म काटिँदै, म तासिँदै, चिमोटिँदै रगताम्मे भएकी म
आलो घाउबाट बगेका रगतका धारा चुहाउँदै
तिमीहरूलाई हुर्काएकी तिम्री जननी हुँ म ।

ऊ त आततायी ह्रिंसक डरलाग्दो भोको गोही हो
ऊ त मेरो वैभवशाली शिर हिमालचुली र वक्षस्थलको अमृतधारा देखेर मूर्छित छ
त्यसैले उसले चारैतिरबाट चिमोटिरहेछ, कोपरिरहेछ, तासिरहेछ र काटिरहेछ
मेरा अङ्ग काटिएर, रगतले म लतपतिए पनि
तिमी नतर्स किनभने तिमी अब लालाबाला होइनौँ ।

मैले तिमीहरूको एउटै स्वरको प्रतिक्षा गरेकी हुँ
अब त्यो बेला आएको छ, विलम्ब नगर
छिनिएका मेरा अङ्गहरू जोड्ने बेला आएको छ
खोसिएका मेरा अङ्गहरू खोज्ने बेला आएको छ
चिथोरिएका मेरा अङ्गहरू निको पार्ने बेला आएको छ
च्यातिएको मेरो मन टाल्ने बेला भएको छ ।

तिम्ले मेरो छाती छोएर स्वाभिमानको कसम खायौँ भने
सतलज र गङ्गामा बगेको मेरो इतिहासका राता थोप्लाहरू
महाकाली, कोशी र गण्डकीमा अब फेरि तप्कने छैनन्
तिमी एक भएर मेरो छातीमा ठिङ्ग उभियौ भने
धूर्त ब्वाँसाहरू र निर्मोही गोहीहरू सलबलाउने छैनन्
विलम्ब नगर, मेरो आह्वान सुन, अब एक भएर उठ ।

हेर ! फेरि पनि म गुहार माग्छु मेरो सन्तानसँग
तिमीहरू अब आमाको आँसु पुछ्ने प्रण गरी एक भएर हिँड
तिमीहरू अब तराई–पहाड–हिमालको स्वार्थ बोकेर एक भएर हिँड
तिमीहरू अब आततायीहरूको एक शत्रु भएको शङ्खघोष गरेर हिँड
तिमीहरू अब जननीको चिथोरिएका घाउ पुर्न एक भएर हिँड
तिमीहरू अब जननीका अङ्गहरू जोड्ने एक कर्मठ सन्तान भएर हिँड ।

२०७७ वैशाख ३१

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s