कविता
बा’को उपहार
विष्णुप्रसाद शर्मा पराजुली
“बा, हामी परिवर्तनको यज्ञाग्निमा होमिएका तपाईंका सुपुत्र हौँ ।
निरङ्कुशताका सबै जाल र जराहरू,
रोग, भोक, अशिक्षा र गरिबीका रगताम्मे कुर्कुच्चाहरू,
साम्राज्यवाद, विस्तारवाद, हैकमवाद, सामन्तवाद र परिवारवादहरू
सबैलाई परास्त, निर्मूल र समुल नष्ट गर्दै
बा’को आँगनमा मुक्तिको सुनौलो बिहानी ल्याउन
बा’को चुलोमा पेटभर सम्पन्नताको आटो फत्काउन
बा’को ओठमा सदावहार प्रपूmल्लताको कमल फुलाउन
समृद्ध राष्ट्र निर्माणको क्रान्तिमा होमिएका
देशका सच्चा सिपाही, हामी तपाईंका सुपुत्र हौँ ।”
“हो बा शङ्का नगर्नुहोस्,
हामी प्रतिक्रियावादीको निसानामा छौँ
हामी ‘देख्नासाथ गोली ठोक्नु’ भन्ने उर्दीको प्रथम सूचीमा छौँ
देशलाई स्वर्गको पूmलबारी बनाउने महान् अभियानमा छौँ
हामी सिंगापुर, जापान, चीन र अमेरिकालाई उछिन्ने सङ्कल्पमा छौँ
बा’ हामीलाई गाँस र सुरक्षित बास दिनुहोस् ।”
१
पुन्पुरोका पखेरामा विश्राम गरेका
अनगिन्ती चाउरी परेका बारीका पाटाहरू मुसार्दै
गालाका दुवै पखेरमा विराजमान
अनगिन्ती खोल्सा र थुम्काहरू सुम्सुम्याउँदै
हत्केलामा खडेरीले फाटेका धाँजाहरू देखाउँदै
फाटेको टोपीले सिङ्गो चाउरिएको पहाडको पसिना पुछ्दै
बा’ले स्वीकृति दिदै भन्नुभो “हुन्छ ।”
बा’ले देशका छोराहरूलाई हृदयको आँटीमा आश्रय दिनुभयो
बा’ले थोत्रो गुन्द्रीमाथि आशाका सिरक र डसनाहरू
मायाको मझेरीमा ओछ््याइदिनुभयो
चाडपर्व, भाकल, कुलपूजा, भूमिपूजा र पाहुनापाछालाई
साँचेको जेठोबुढोको भात, गेडागुडी, मस्यौरा,
दही, मोही, घ्यू घरमा जे छ सबै सुम्पनुभो ।
नेपाल आमाको मुहार फेर्न
क्रान्तिमा होमिएका छोराहरूले
आँटीमा दिनभर र रातभर फोहो¥याएको
दिसा र पिसाब कोपरा बोक्दै
प्रतिक्रियावादीले नदेख्ने गरी पुर्नुभो ।
२
महान् सपुतहरूले भनेझैँ
साँच्ची नै देशमा क्रान्ति भयो ।
महान् सपुतहरूले भनेझैँ
साँच्ची नै देशमा गणतन्त्र आयो ।
३
वृद्ध बा’ घरमै हुनुहुन्छ ।
४
आँटीमा बास बस्ने क्रान्तिकारी सुपुत्रहरू
शासनको लगाम हातमा लिएर
चुर्लुम्म सत्ताको मोहजालमा डुबेर
अनन्त सुख–सयल मोजमस्तीमा व्यस्त रहे ।
५
एकदिन बा’ले जुठाल्नोमा कौवाले भनेको सुन्नुभो
“मातृभक्त, पितृभक्त, समाजवादी
तिम्रा सुपुत्रहरू कुवेरलाई धाक दिँदै
वैदेशिक सोमरसको मातमा लठ्ठिएकाछन्
देशभक्त तिम्रा सिपाहीहरू जनताको नाम जप्दै
इन्द्रासनमा अप्सराको आलिङ्गनमा बाँधिएर
निरङ्कुश बन्ने होडबाजीमा मग्न छन् ।
तिम्रो आँटीमा सुतेर
क्रान्तिको मार्गचित्र कोर्ने तिम्रा सपुत पाहुनाहरू
साम्राज्यवादी र विस्तारवादीको बहकाउमा
पराधीनताको भीमकाय माला घाँटीपासो पहिरने युद्धमा
कोभन्दा को बढी तानासाह बन्ने भन्ने षड्यन्त्रमा
क्रान्तिका सबै मार्गचित्रहरू
स्वार्थन्धताको अँगेनोमा जलाएर
एकापसमा काटाकाट गरिरहेछन् ।”
त्यो सन्देशले
मुटुको नसा च्वाट्ट छिनेको पीडालाई
कागले भन्को नपाउने गरी
नीलकण्ठले विष पिएझैँ पीडा पिउँदै
“म आउँछु जा” भन्दै बा’ले कौवालाई धपाउनुभयो ।
६
एउटा लौरो टेकेर
कोप्रिएका आँखामा अग्निज्वाला भरेर
क्रान्तिकारी ती पुत्रहरूका लागि ऐतिहासिक
उपहार बोकेर
बा’ बडो मुस्किलले सिंहदरबार उक्लनुभयो ।
क्रान्तिका महानायक
अल्जाइमरबाट पीडित ती भूतपूर्व सुपुत्रहरूलाई
एउटा उपहार दिनुभयो
र, बा’आफ्नै थलोमा फरक्क फर्कनुभयो ।
७
त्रासमिश्रित भावमा
संवैधानिक प्रमुख भएका
क्रान्तिकारी सुपुत्रहरूको उपस्थितिमा
उपहार भनी बा’ कै हस्ताक्षरमा लेखिएको ‘बा’को उपहार’ खोलियो ।
बा’ले क्रन्तिनायक सुपुत्रहरूलाई दिएको उपहारमा
अरू केही नभएर
क्रान्तिको बेला क्रान्तिकारीले दिनभर र रातभर
आँटीमा बसेर दिसापिसाब गर्ने
त्यो ऐतिहासिक, परिवर्तनकामी,
कोपरा थियो,
बस् मात्र त्यही मुक्तिकामी, क्रान्तिकारी
कोपरा बृद्ध बा’को उपहार थियो ।
८
कुशे औँसी, भदौ ०३, २०७७