महाभारतमा चार्वाकको प्रसङ्ग ः सङ्क्षिप्त चर्चा

विष्णुप्रसाद शर्मा पराजुली

       मानव समाजको विकासक्रममा प्रकृति, सत्य, यथार्थ र कर्मलाई मान्ने चलन थियो । प्रकृति नै सर्वस्व मानिन्थ्यो किनभने प्रकृतिबाट नै प्राणीको जन्म र प्रकृतिमा नै विलीन हुने वा मृत्यु हुन्छ भन्ने मान्यता सर्वस्वीकार्य थियो । परमाधिपति ईश्वरको लीलाबाट यो ब्रह्माण्डको निर्माण भएको र परब्रह्म परमेश्वर ब्रह्माले यो जगत्, मानव र सम्पूर्ण प्राणीको रचना गर्नुभएको हो भन्ने विचार त्यस बेला आइसकेको थिएन । सर्वसाधारण मानिसले व्यवहारबाट सिक्दै आएको विचार प्रवल र लोकप्रिय थियो । लोकले मानेकाले त्यसलाई लोकायत भनिन्थ्यो । महाभारत कालमा आइपुग्दा लोकायत विचारलाई चार्वाक नामकरण गरियो । चार्वाक वा लोकायत विचार लिनेलाई राक्षस भनियो । महाभारतमा चार्वाक बारे भएको प्रसङ्ग यहाँ चर्चा गर्न खोजिएको हो ।

         ऋग्वैदिक युगसम्म पनि पञ्च इन्द्रियले अनुभव गर्ने तŒव यथार्थ, सत्य र प्रमाणलाई मानिन्थ्यो । अलौकिक शक्ति त्यस बेला प्रादूर्भाव भएको थिएन । ऋग्वैदिक युगदेखि भौतिक वस्तुमा आधारित यथार्थ जीवनोपयोगी विषयलाई लोकले मान्दै आए । बौद्ध दर्शन (५६३–४८३ ई.पू.)को विकास हुनुभन्दा पहिले पूर्ववैदिक कालदेखि नै मानव जातिले भौतिक जगत््मा विश्वास गर्दै जीवनमा प्रयोग गर्दै आएको लोकायतिक विचार लोकप्रिय बन्यो र त्यसलाई पछि चार्वाक दर्शन भनियो । चार्वाक ऋषिले नै लोकायत दर्शनलाई व्यापक बनाएकाले चार्वाक नाम रह्यो । तार्किक विश्लेषण गरी प्रमाण पेश गर्ने भएकाले चार्वाक भनियो त्यो आफ्नो ठाउँमा छ । जैन र बौद्ध दर्शनसँगै यसलाई चार्वाक दर्शनको रूपमा समावेश गरिँदै आयो ।

चार्वाक दर्शनका सम्बन्धमा ‘ऋग्वैदिक समयभन्दा अघिदेखि नै यसको प्रभाव लोकजीवनमा पर्दै आएको छ’ (प्रभात, २०७४ः १५९) । त्यसको आधारमा के भन्न सकिन्छ भने यो सबैभन्दा पुरानो दर्शन हो । चार्वाक भन्ने एक ऋषि वा त्यस दर्शनको पक्षपोषण गर्ने व्यक्ति वा समूह वा एक समुच्च दर्शन भन्ने बारेमा फरक धारणा रहेका छन् । प्राचीन दर्शन भन्नेमा मतैक्यता छ किनभने वैदिक कालको विकास पूर्व तत्कालीन समाज अति विभाजित थिएन ।

कर्म गर्ने, कर्म गर्न कष्ट नमान्ने, जीवनको चक्रलाई सुखपूर्वक चलाउने त्यस बेलाको समाजिक पद्धति थियो । चार्वाक दर्शन बुद्ध र जैन दर्शनभन्दा पहिलेको भन्नेमा विवाद छैन किनभने बुद्ध र जैन दर्शन नास्तिकवादी भए तापनि तिनमा चार्वाकको विरोध पाइन्छ । स्मरण गर्नुपर्ने विषय के भने बौद्ध कालदेखिको इतिहास वर्तमानसँग जोडिएको छ भने त्यसभन्दा पहिलेको इतिहास अनुमानबाहेक अनुसन्धान गरी निक्र्यौल गरिएको छैन । नेपालमा बुद्धभन्दा धेरै हजार वर्षपहिले मानव सभ्यताको विकास भएको कुरा दाङ उपत्यका र मुस्ताङमा भेटिएका माटाका भाँडा, गहना, हाड र गुफाबाट थाहा भएको छ तर मानव सभ्यताको विकास र त्यससँग सम्बन्धित इतिहासको सिलसिला जोड्न सकिएको छैन ।

बालकको जन्म हुनु; हुर्कनु; ज्ञान हासिल गर्नु; बिहे गर्नु; वंश विस्तार गर्नुु; कर्म गरेर जीवन निर्वाह गर्नु; कर्म गर फल प्राप्त गर भन्नु; बिनाकर्म कष्ट हुन्छ भन्नु; सुखपूर्वक हुने मृत्युलाई मोक्ष मान्नु; पूर्वजन्म थिएन; पुनर्जन्म हँुदैन; स्वर्ग–नर्क यहीँ छ; अन्य लोक छैन; सम्पूर्ण शक्ति भौतिक जगत्मा निहित छ; देखिने वस्तुलाई नदेख्ने र नदेखिने वस्तुको पछि लाग्नु गलत हो; मातापितालाई बाँचुञ्जेल उच्च सम्मानसहित सेवा गर; मृत्युपछि यज्ञ गर्नु बेकार छ; ईश्वर कल्पना हो त्यसको अस्तित्व छैन; पृथ्वी, जल, अग्नि र वायु मूल तŒव हुन्; यसैबाट शरीर बनेको हो; चेतना पनि चार तŒवबाट नै उत्पन्न भएको हो; जीवन एक पटक मात्र पाइने भएकाले पीर नमान; कर्म गरेर सुखसँग जीवन त्याग गर भन्ने कुरा लोकायत वा चार्वाक दर्शनका आधारभूत सिद्धान्त हुन् ।

सत्यमा आधारित, व्यावहारिक ज्ञानबाट खारिएको, कल्पना नगरिएको तथा प्रत्यक्ष देख्ने र मानिसको दैनिक जीवनमा भोग्ने यावत् तŒवहरू भएको हुनाले यसलाई लोकायत दर्शन पनि भनिन्छ । व्यावहारिक र जीवनको हरक्षण प्रयोगमा आउने, चार तŒवबाट निर्मित भौतिक लोकबाहेक अन्य लोक छैन भनेकाले यो दर्शन पृथ्वीलोकमा बस्ने सम्पूर्ण मानवको दर्शन बन्न पुग्यो । फलस्वरूप यसलाई लोकायत दर्शन भनियो । लोकले रुचाउने, सुन्दर, व्यावहारिक, जीवनोपयोगी यथार्थपरक वाक्यलाई चारुवाक्य पनि भनिन्थ्यो । ‘लोकहितका लागि प्रवर्तित अविच्छिन्न विचारधारात्मक दृष्टिकोण नै लोकायत दर्शन हो । राधाकृष्णनका अनुसार लोकायत भौतिकवादका लागि प्रयोग गरिएको संस्कृत शब्द हो ।’ (प्रभात, २०७४ ः १५९) । यो दर्शनले ईश्वर, पुनर्जन्म, भाग्य र आत्मालाई स्वीकार गर्दैन । त्यसैले चार्वाक दर्शनलाई अनिश्वरवादी, भौतिकवादी, नास्तिकवादी, यथार्थवादी, प्रकृतिवादी, वस्तुवादी, जडवादी, देहात्मवादी र लोकायतवादी भनेर विभिन्न नाममा चर्चा गरिन्छ ।

वास्तवमा चार्वाक दर्शन विशुद्ध भौतिकवादी दर्शन हो । यो दर्शन विज्ञानसँग सम्बन्धित छ । जे कुरालाई शरीरका पाँच इन्द्रियजस्तै नाकले सुँघ्ने, आँखाले देख्ने, जिब्रोले स्वाद लिने, कानले सुन्ने र शरीरले महसुस गर्न सक्छ त्यो यथार्थ हो । त्यसैले पृथ्वी, पानी, आगो र हावा यी चार मूल तŒव हुन् ।

“चार्वाक दर्शनले पृथ्वी, जल, अग्नि र वायु नामका चार तŒवलाई सृष्टिको मूल तŒव मान्दछ र ईश्वर, परलोक र पुनर्जन्मलाई मान्दैन । यस दर्शनअनुसार चेतना भौतिक जगत््को उपज हो, कुनै सृष्टिकर्ताको आवश्यकता छैन, पदार्थहरू आफैँ प्राकृतिक नियमानुसार उब्जिन्छन् र नष्ट हुन्छन् । स्वर्ग–नर्क, यज्ञ, दान–पुण्य व्यर्थ हुन् ।” (प्रभात, २०७४ ः १५८) । अन्य कुराहरू यसैको संयोगबाट निस्रित भएका हुन्छन् । यसैबाट उत्पन्न भएर यसैमा विलीन हुन्छन् । त्यसैकारण चेतना भन्ने कुरा भौतिक तŒवबाट हाम्रो शरीरको बनोटको आधारमा उत्पन्न भएको हो । मृत्यु भएपछि शरीर र चेतना नाश हुन्छ । पुनर्जन्म हुँदैन । त्यसैले सुखसाथ बाँचेर सुखपूर्वक मृत्युवरण गर्नुपर्छ किनभने मृत्यु नै मोक्ष हो ।

चार्वाक दर्शनले सुखवादको सिद्धान्त ९ज्भमयलष्अतष्अ त्जभयचथ० लाई मान्दछ जसअनुसार यो जीवनमा अधिकतम सुख र आनन्द कसरी लिन सकिन्छ ? त्यो लिन प्रयास गर्ने, त्यो लिन काम र उत्पादन गर्ने, उत्पादित वस्तु प्रयोग गर्ने तर दुःख, दर्द, पीडालाई इन्कार गर्ने भन्दछ ।

वर्तमान विश्वको आर्थिक सम्पन्नता, अतिभौतिक विकास र चरम सुखभोगको नीतिलाई  हेर्दा पाश्चात्य मुलुकहरूले चार्वाकको सिद्धान्तको अवलम्बन गर्दै मानवसुखको लागि आवश्यक पर्ने हर सम्भव उत्पादन गरे । चार्वाक दर्शनले उत्पादनलाई जोड दिन्छ । मूल चार तŒवलाई आधार मानी पश्चिमाले अथक र निरन्तर कर्म गरेको हुनाले अधिकतम विकास गरे । समुद्रमुनिबाट खनिज र तेल मात्र निकालेनन्, समुद्रमुनिबाट रेल नै कुदाए । चन्द्रमामा पुगे । भौतिक वस्तुको गुणको बारेमा अनुसन्धान गरिरहेका छन् । जीवनलाई कसरी र के गर्दा बढीभन्दा बढी सुखसुविधा हुन्छ भनेर अनुसन्धान गर्ने, उत्पादन गर्ने र भोग गर्ने गरेका छन् । इच्छा गरिएका वस्तु उत्पादन गरी आर्थिक उन्नति गरे । जीवनलाई सुखदायी बनाउन आवश्यक पर्ने सम्पूर्ण भौतिक वस्तुको सिर्जना र निर्माण पश्चिमा मुलुकले गरे र यही जीवनमा नै सुखको अनुभव पनि गरे । पश्चिमाले गरेको विकास चार्वाक दर्शनसँग पूर्णतः मेल खान्छ ।

तर, एसिया खास गरी दक्षिण एसियाका मानिसहरू भगवान्ले हामीलाई बनाएका हुन्, भावीले छैटीको दिन हाम्रो खप्परमा जे लेखिदिएका छन् सोही भोग्ने हो । अहिले पूर्वजन्मको कमाइ खाने हो । अब गर्ने काम पुनर्जन्मको लागि हो, कर्म त गर्ने हो तर त्यसको फलको आश गर्नुहुँदैन । अहिले कर्म गरेर दान गरेमा मृत्युपछि हुने पुनर्जन्मलाई सुख हुन्छ भन्ने दर्शनले यस क्षेत्रका मुलुकलाई ठूलो प्रभाव पारेको छ । फलस्वरूप आजका दिनसम्म पनि करोडौँ मानिस जीवन बचाउन भिखको सहारा लिन पुगेका छन् । बाटोमा जन्मन्छन् र बाटोमा नै मर्छन् ।

त्यसरी भोकभोकै मर्ने ती मानव प्राणीलाई भगवान्ले बचाउनुपर्ने होइन र ? तर भाग्यवादीसँग उत्तर छ ः ‘बिचरा, त्यो त उसको पूर्वजन्मको कमाइ हो ।’ गलत धारणा र गलत विचार अनि अवैज्ञानिक सिद्धान्त, निहित व्यक्तिगत स्वार्थलाई बोकेर हिँडेको हुनाले हामी आज गरिब हुनुपरेको हो । चार्वाक दर्शनले मानिसलाई आवश्यक पर्ने वस्तु आफैँले उत्पादन गर्नुपर्छ  । त्यसको भोग पनि गर्नुपर्छ । यो जन्ममा भोकै बसेर अर्को जन्मको लागि भनेर दान गर्न जरुरी छैन भनेका छन् । युरोप,अमेरिका र विकसित देशले ठीक त्यसै गर्दैछन् । चरम मेहनत पनि गर्छन् र त्यसरी नै सुखभोग पनि गर्छन् ।

चार्वाक भेदभावरहित समाजका पक्षधर थिए । उनी वर्णाश्रम व्यवस्थाका आलोचक थिए । त्यसैले यो दर्शनलाई वर्णाश्रम व्यवस्थाका पक्षपातीहरूले पछिल्लो समयसम्म पनि लखेटी नै रहे । कति मानिस भौतिक दर्शनका पक्षपाती भए तापनि ईश्वर, भाग्य, पूर्वजन्म र पूनर्जन्मको माकुरी जालोको बन्धनबाट आपूmलाई मुक्त गर्न पटक्कै सकेनन् । फलस्वरुपः व्यक्ति, परिवार, समाज र राज्यले आर्थिक उन्नति गर्न सकेन ।

चार्वाक दर्शनका प्रणेता ऋषी बृहस्पतिलाई मानिन्छ । चार्वाकलाई बृहस्पतिका चेला एवम् उनका विचारको व्याख्याता, भाष्यकार एवम् प्रचारक भनी कतै–कतै चिनाइएको छ । उनले नै ‘बार्हस्पत्य दर्शन’ को नाम दिई साधारण नागरिकले चलनमा ल्याएको लोकायत दर्शनलाई व्यवस्थित गरे । इन्द्रियले महसुस गर्न सक्ने तथ्य प्रमाणलाई सत्य हो भन्नु यो दर्शनको मूल पक्ष हो ।

कुनै कुराको प्राप्ति गर्न चेष्टा गर्नु कर्म आधारित हुन्छ । कर्म नगरी किर्तन गरेर नाच्दैमा पेट भरिँदैन । ईश्वरको प्रार्थना गरेर भजनकीर्तन गर्दैमा बारीमा तोरी उम्रँदैन । तोरी उमार्न बारीमा खनजोत गर्नुपर्छ । मल हालेर बिउ छरेपछि मात्र तोरी उम्रन्छ । कीरा र रोगबाट बचाउन कर्म गरिरहनुपर्छ त्यसपछि मात्र फल लाग्छ । तोरी फलोस् भनेर बाँझो बारीमा श्रीमदभागवत् सप्ताह लगाएर करोडौँ धनराशिको दान गरे पनि तोरी फल्दैन, फल्दैन । फल्छ त ? हो तोरी छरे पछि उम्रन्छ भजन गरेर तोरी उम्रदैन भन्ने दर्शन चार्वाक दर्शन हो । चार्वाक दर्शनलाईगीतामा आसुर मत, रामायणमा जावालीको मत र महाभारतमासन्यासी ब्राह्मणको मतको रुपमा स्वीकार गरिएको छ । आधुनिक युगमा धेरेले मानेको व्यवस्थालाई लोकवाद वा लोकतन्त्र भनिए झैँ प्राचीन युगमा लोकले मानेको हुनाले यसलाई लोकायत भनिएको सबैले स्वीकार गरेकाछन् ।

बुद्धघोषका अनुसार लोकायत ज्ञान तार्किक तथा द्वन्द्वात्मक छ । लोकायतिकहरू तर्कलाई व्यङ्ग्यात्मक र विनोदपूर्ण बनाउन खप्पिस थिए । ‘चार्वाक ऋषिको तार्किकताबाट धेरै वैदिक जनसमुदाय प्रभावित हुँदै जान थालेपछि वैदिक मार्गका शास्त्रीहरूले लोकायतिक एवम् चार्वाकहरूको तार्किकताबाट टाढै रहनू, चार्वाकसँग संवाद नै नगर्नू भनी मनुले थिति बाँधे ।’ (प्रभात, २०७४ः १७५) भौतिकबादी भएकाले निषेध गर्ने नीति लिईयो ।

यो दर्शनले अलौकिक र पञ्च इन्द्रियले थाहा नपाउने कल्पनामा आधारित कुरालाई विश्वास गर्दैन । यो पृथ्वीमा हुने प्राकृतिक उतारचढाव, भूकम्प, बाढी, पहिरो, समुद्री छाल, ताल बन्नु र बिस्फोट हुनु विकास–विनाश, जन्म–मृत्यु भौतिक गतिविधिको आधारमा प्राकृतिक रुपमा हुने कुरा हुन् । कसैको फुमन्तरबाट भएको होइन ।

चार्वाक दर्शनका अनुसार यो जीवन यथार्थ हो । जीवन एक पटक मात्र पाइन्छ; दोहोरिन्न । त्यसैले यो जीवनमा जति दिन बाँचिन्छ त्यस बेलासम्म मेहनतका साथ काम गरेर सुखका साथ जीवन बिताउनुपर्छ । कल्पनामा मोहित भएर नबस । आफ्ना सन्तानलाई व्यावहारिक र जीवनोपयोगी ज्ञान र सिप दिनुपर्छ । इमानदारीपूर्वक मेहनतसाथ काम गर्दागर्दै पनि सुखसँग जीवन बिताउन अपुग भएमा ऋण गरेर भए तापनि घिउ खानुपर्छ । भोकभोकै बस्नुहुँदैन । तर, ऋण तीर्नु पर्छ । दुःखमा पिरलिएर बस्नुहुँदैन किनभने यो जीवन जलेर खरानी हुन्छ । मृत्यु नै मोक्ष हो । शरीर भष्म भए पछि फेरि जीवनको पुनर्जन्म हुँदैन । चार्वाक दर्शनको व्यापक प्रचारमा रहेको निम्न श्लोकको सार त्यही नै हो ः

यावज्जीवेत्, सुखम् जीवेत् ।

ऋणम् क्रित्वा, घ्रितम पिबेत् ।।

भस्मिभूतस्य देहस्य ।

पुनारागमनम् कुतः ?

महाभारतमा चार्वाकको निन्दा प्रसङ्ग

व्यवहारमा खारिएको अनुभव नै चार्वाक विचार भएकाले यो अत्यन्त लोकप्रिय रहेको थियो तर जब ब्रह्मवाद, ईश्वर, पूर्वजन्म–पुनर्जन्म, पाप–धर्म, स्वर्ग–नर्क, दान–पुण्य, ब्रह्म सत्य, ब्रह्माण्ड भूmटो, यो जीवन हाम्रो नभई ईश्वरको कृपाबाट प्राप्त भएको हो भन्ने दर्शनको प्रभाव बढ्न थाल्यो तब लोकायत दर्शनका सूत्रहरूलाई च्यात्ने, लोकायतवादीलाई निर्मूल गर्ने अभियानको विकास भयो । त्यति मात्र नभई लोकायत दर्शनमा भएका राम्रा पक्ष र सूत्रलाई नकारात्मक सन्देशको रूपमा व्याख्या गर्न थालियो । चार्वाकको दर्शनलाई ‘यो जीवनमा ऋण गरेर, चोरेर, लुटेर जसरी भए तापनि मोजमस्ती गर’ भन्ने दर्शन हो भनेर नकारात्मक सन्देश दिइयो जुन सरासर गलत थियो । त्यस दर्शनमा विश्वास गर्ने दार्शनिकले पनि कति कुरा त्यस बेला बढाइचढाई गरेका हुन सक्छन् जसरी अहिलेको युगमा राजनीतिक दर्शनलाई आपूmखुसी व्याख्या गर्ने गरिएको पाइन्छ ।

प्रख्यात यो दर्शन ब्रह्मसूत्र, उपनिषद् कालका साथै महाभारतमा चार्वाकलाई राक्षस भनिएपछि सोहीबमोजिम यसलाई निस्तेज पार्न वैदिक दर्शनका व्याख्याता एवम् कर्मकाण्डी ब्राह्मणले सत्ताधारीको प्रिय पात्र बन्न विरोध गर्न थाले । पछिल्लो समय जसरी बोन धर्म, बुद्ध र सनातनी हिन्दू धर्ममाथि मुस्लिम धर्मावलम्बिबाट आक्रमण भयो, त्यसै गरी बुद्ध र जैन कालदेखि नै चार्वाक दर्शनको विरोध गर्ने र तिनका सूत्र सबै जलाउने , नष्ट गर्ने अभियान नै चलाइयो । बौद्ध, जैन, साङ्ख्य, न्याय, वैशेषिक, मीमांसा दर्शनका साथै रामायण, महाभारत र उपनिषद् जस्ता ग्रन्थमा चार्वाकको विरोधमा जे जति विचार आए, जे जसरी उनका सूत्रको विरोध गरियो त्यसैको आधारमा पछिल्लो समयमा चार्वाक दर्शनका सिद्धान्त र सूत्रबारे जानकारी लिन, सङ्कलन गर्न र व्याख्या गर्न थालियो । फलस्वरूप चार्वाक दर्शनको रूपमा आजसम्म बाँच्न सक्यो ।

चार्वाक दर्शनलाई निर्मूल पार्न खोजे तापनि चार्वाक, बौद्ध र जैनलाई नास्तिक, वैशेषिक र न्याय एक; योग र साङ्ख्य एक; मिमांसा र वेदान्त एक गरी तिनलाई आस्तिक दर्शन पनि मानिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानले हरिभद्रसूरिको ग्रन्थ उल्था गरी प्रकाशन गरेको षड्दर्शनसमुच्चयमा भने बौद्ध, न्याय, साङ्ख्य, जैन, वैशेषिक, मीमांसा र चार्वाक गरी सात दर्शनहरू राखिएका छन् । हरिभद्रसूरिले पनि चार्वाक दर्शनलाई छ मूल दर्शनभित्र नराखी छुट्टै राखेको भान हुन्छ तर पनि सूरिले चार्वाक दर्शन भनेर उनका मूल तŒवलाई राखेका छन् ।

म दर्शनशास्त्रको विद्यार्थी होइन । चार्वाक दर्शन मलाई जीवनोपयोगी, व्यावहारिक, लोकायती, र यथार्थ लाग्छ । पूर्वजन्म थिएन । पूनर्जन्म हुँदैन । अदृश्य अलौकिक शक्ति छैन । पञ्च इन्द्रियले अनुभूत गर्ने तŒव नै मूल यथार्थ हो । स्वर्ग–नर्क यहीँ छ । मेहनत गर्नुपर्छ । जीवनलाई सुखमय बनाउनुपर्छ । मठ, मन्दिर, गुम्बा आदि मानव सभ्यताको विकासका धरोहर हुन् । ती इतिहास र संस्कृति हुन् । तिनको खोज र संरक्षण आवश्यक छ भन्ने मेरो पनि मान्यता छ । त्यसैले उनको दर्शनबारे सामान्य जानकारी राख्दै उनलाई ब्राह्मणहरूले मार्नुपर्ने परिवेशबारे महाभारतमा उल्लेख गरिएको कुरा यहाँ उठाएको छु ।

महाभारत, खण्ड ५, शान्ति पर्व, अध्याय ३८ र ३९ मा उल्लेखित चार्वाक प्रसङ्गको भाव सङ्क्षेपमा तल उल्लेख गरिएको छ ः

युद्धपश्चात् युधिष्ठिर नगरमा प्रवेश गर्ने समयमा धर्म र राजधर्मबारे व्यास र कृष्णसँग विस्तृत रूपमा जानकारी लिन खोज्दा व्यासले भीष्म पितामह नै धर्मका ज्ञाता तथा सर्वज्ञ भएकाले उनैसँग लिन सुझाव दिन्छन् । भीष्मले इन्द्र, बृहस्पति, शुक्राचार्य, वशिष्ठसँग वेद, परशुराम र इन्द्रबाट शस्त्रअस्त्रको  ज्ञान लिएर मृत्युलाई समेत वशमा लिएका हुन्छन् ।

सबै भाइबन्धुलाई महान् एवम् रोमाञ्चकारी संहार गरेको हुनाले कसरी भीष्मकहाँ जाने भनी युधिष्ठिरले सङ्कोच व्यक्त गर्दा कृष्णले व्यासले भनेको मान्न र द्रौपदीसहित अन्यलाई खुसी पार्न आग्रह गर्छन् । सबैको भनाइलाई मानी धृतराष्ट्रलाई अगाडि लगाएर हस्तिनापुर जान्छन् । उनले देवता, सयौँ ब्राह्मणको पूजा गर्छन् र चन्द्रदेव अमृतमय रथमा हिँडेझैँ सोह्र सेता गोरुले तानेको रथमा जान्छन् । श्रीकृष्ण, गान्धारी, कुन्ती, द्रौपदीसहित अन्य नारी फरक–फरक रथमा पछि लाग्छन् । त्यसपछि घोडा, हात्ती र पैदल हिँड्नेको लस्कर लाग्छ । त्यस बेला वैताली, सूत र मागधद्वारा स्तुति गान गाइएको थियो । युद्ध जितेकाहरूको पक्षमा जयजयकार घनघोर भएको थियो । नगरवासी मानवले सेता माला, पताका, झण्डाले सडक सजाएका थिए । राजमहलको वरपर चारैतिर सुगन्धित चूर्ण, पूmल, बेल र पुष्पहारले सजाइएको थियो । जलले भरिएका नयाँ कलश सेता पूmलका गुच्छासहित ठाउँठाउँमा राखिएका थिए । त्यसरी सजाइएको हस्तिनापुरमा उनी प्रवेश गरे ।

दस लाख नगरवासी सडकमा थिए । चन्द्रोदयको बेला महासागरका छाल सुन्दर देखिएझैँ मानव सागर उर्लेको थियो । रत्नविभूषित भवनमा महिलाहरूको भिड यस्तो थियो कि जसले गर्दा त्यो भवन नै थर्केको थियो । ती सबै महिलाले पाँच पाण्डव युधिष्ठिर, भीमसेन, अर्जुन तथा माद्रीकुमार नकुल र सहदेवको प्रशंसा गरेका थिए । ती महिलाले पाञ्चाल कुमारी द्रौपदीलाई पाँच महान् पुरुषको सेवा त्यसरी गरिन् जसरी गौतम वंशमा उत्पन्न भएकी जटिला नाम गरेकी नारीले अनेक महर्षिहरूको सेवा गरेकी थिइन् भनेका थिए । सडकको चारैतिर सजाइको ठाउँ र मानव सागरलाई पन्छाउँदै युधिष्ठिर राजभवननजिक पुगे । त्यस बेला बलशाली धर्मात्मा राजा भनेर जयजयकार गर्नेमा सेना, जनपदवासी र प्रकृति वर्ग थिए ।

दरबारको ढोकानजिक माङ्गलिक धुनबाट पूजित ब्राह्मणले दिएको आशीर्वाद ग्रहण गर्दै इन्द्रको जस्तो दरबारमा युधिष्ठिर प्रवेश गरे र रथबाट ओर्ले ।

कुलदेवतालाई रत्न, चन्दन र माला राखेर पूजा गरे । त्यसपछि दरबारबाट बाहिर निस्के जहाँ मङ्गलद्रव्य लिएका हजारौँ ब्राह्मण खडा थिए । जसरी ताराबाट घेरिएका बेला चन्द्रमाको शोभा हुन्छ उसैगरी आशीर्वाद दिन ब्राह्मणबाट घेरिएका युधिष्ठिर शोभायमान भएका थिए । सबै ब्राह्मणलाई उनीहरूको इच्छाबमोजिम मनोवाञ्छित पदार्थबाट यथोचित सत्कार गरिएको थियो । त्यस बेला त्यहाँ उपस्थित ब्राह्मणले हाँसको समान हर्ष गद्गद् स्वरमा अर्थ, पद एवम् अक्षर युक्तवाणीबाट आशीर्वाद दिएका थिए । त्यो स्वर, शङ्खध्वनि र जयजयकार गर्जिएको थियो ।

जब ब्राह्मण चुपचाप खडा थिए, त्यसै क्षण ब्राह्मण भेषमा आएका चार्वाक नाम गरेका एक जना राक्षस राजा युधिष्ठिरसँग केही सोध्न उद्यत देखिए । ती ब्राह्मण दुर्योधनका मित्र थिए । उनले सन्यासी ब्राह्मणको भेष धारण गरेर असली रूप लुकाएका थिए । उनको हातमा अक्षमाला र निधारमा शिखा थियो । त्रिदण्ड धारण गरेका ती ब्राह्मण ढिठ र निर्भयी देखिन्थे ।

पाण्डवका हजारौँ शुभेच्छुक ब्राह्मण, महात्मा, नगरवासी जो आशीर्वाद दिन बसेका थिए । ती सबै जनाबाट घेरिएको त्यो राक्षस महात्मा पाण्डवहरूको विनाश चाहन्थे । उनले (चार्वाक) ती उपस्थित ब्राह्मणसँग अनुमति नलिईकन राजा युधिष्ठिरलाई भने:

इमे प्राहुद्र्विजाः सर्वै समारोप्य वचो मयि ।

धिग् भवन्तं कुनृपतिं ज्ञातिघातिनमस्तु वै ।। २६।।

किं तेन स्याद्धि कौन्तेय कृत्वेमं ज्ञातिसंक्षयस् ।

घातयित्वा गुरुंश्चैव मृतं श्रेयो न जीवितम् ।। २७।।

‘हे युधिष्ठिर, यहाँ उपस्थित सबै ब्राह्मणहरूले उनीहरूको तर्फबाट समेत ममार्फत उनीहरूको कुरा भन्न भन्दै छन् र त्यो म भन्दै छु, सुन् ! हे कुन्तीनन्दन तिमी आफ्ना भाइबन्धुको हत्या गर्ने एक दुष्ट राजा हौ । तिमीलाई धिक्कार छ । त्यस्तो पुरुषको जीवनबाट के फाइदा छ ? यसप्रकार यी बन्धुबान्धवको विनाश गरेर गुरुहरूको हत्या गराएर बाँच्नुभन्दा त मर्नु राम्रो । जीवित रहनु बेकार छ ।’ चार्वाकले भने ।

त्यसपछि ती सबै ब्राह्मण राक्षस (चार्वाक)को त्यो वचन सुनेर तिरस्कृत भई व्यथित भए र मनैमन उसले भनेको कुराको निन्दा गर्न थाले ।  सबै ब्राह्मण र युधिष्ठिर अत्यन्त उद्विग्न तथा लज्जित भए । चार्वाकको भनाइको प्रतिवाद गर्न एक शब्द पनि निकाल्न सकेनन् । खुसियालीमा एकाएक सन्नाटा छायो ।

त्यसपछि युधिष्ठिरले ‘हे ब्राह्मण, म तपाईंहरूको चरण स्पर्श गर्छु र विनीत भावमा यो प्रार्थना गर्छु कि कृपया तपाईंहरू सबै मप्रति प्रसन्न हुनुहोस् । यो समयमा मलाई चारैतिरबाट विपत्ति आएको छ, त्यसैले तपाईंहरूले मलाई नधिक्कार्नुहोस्’ भने ।

वैशम्पायनले भौतिक एवम् यथार्थवादी चार्वाकलाई चिने । उनले युधिष्ठिरलाई आश्वस्त पार्दै भने– ‘त्यो त दुर्योधनको मित्र चार्वाक नाम गरेको राक्षस हो । सन्यासीको रूपमा आएर दुर्योधनको हित गर्न खोजेको छ । अरू ब्राह्मणले विरोध गरेका छैनन् ।’

त्यसपछि क्रोधित सबै ब्राह्मणले चार्वाकलाई पापी राक्षस भन्दै गालीगलौज गर्दै उनीहरूको हुङ्कारबाट चार्वाकलाई नष्ट गरे । त्यस बेला इन्द्रको बज्रबाट अङ्कुरसहितको वृक्ष धरासायी भएझैँ उनी ढले ।

 

महाभारतको माथिको प्रङ्गमा वर्तमान युगमा जे जसरी आफ्ना विरोधीलाई सकेसम्म, भ्याएसम्म सत्तामा हुनेहरूले समुल हत्या गरेकोे, विरोधी पक्षलाई सखाप पारेको वा पार्न कोसिस गरेको देखिन्छ त्यसरी नै त्यस बेला पनि मानव सभ्यताको विकाससँगै एकपछि अर्को दर्शनको प्रादूर्भाव हुने क्रममा शक्तिवान्ले अर्कोलाई निर्मूल गर्ने प्रयास गरेको प्रशस्त घटनाहरू पाइन्छन् । त्यसैले वेदव्यासले महाभारतमा राजाका चाटुकारको रूपमा ब्रह्मवादी ज्ञानी ब्रह्माणलाई पात्र बनाएर चार्वाक जस्ता भौतिकवादी, लोकायतवादी, लोकतन्त्रवादी दार्शनिकलाई भौतिक रूपमा नै मार्न लगाए र ब्रह्मवादीको जित गराए तापनि वेदव्यासले त्यहाँ चार्वाक दर्शन पनि जीवित छ है भन्नका लागि त्यो प्रसङ्ग ल्याएका हुन् । अन्यथा, महाभारतको युद्ध समाप्त भई सकेपछि दूर्योधनको मित्र हो भन्दैमा मार्नु पर्ने कारण के थियो र ?

महाभारतको कथामा चार्वाकको हत्यापछि कृष्णले चार्वाकको थप परिचय दिन्छन् । उनका अनुसार चार्वाकले सत्य युगमा धेरै वर्षतक बदरिकाश्रममा तपस्या गरेर ब्रह्माजीबाट ‘कुनै प्राणीबाट डराउन नपरोस्’ भन्ने वरदान प्राप्त गरेका थिए । कृष्णले युधिष्ठिरलाई क्षत्रीय धर्मअनुसार भाइबन्धुको हत्या गरेको हुनाले चार्वाक जस्तो राक्षसले भनेको कुराबाट विचलित हुनुनपर्ने, मनमा ग्लानि राख्नुनपर्ने सुझाव दिन्छन् ।  त्यसपछि युधिष्ठिरको राज्यभिषेक हुन्छ ।

यहाँ मेरो तर्क के हो भने वेदव्यासले ब्रह्मवादीबाट चार्वाक दर्शनका पक्षधरको मृत्यु गराए तापनि उनले उत्तिकै सम्मान पनि दिएका छन् । त्यो कसरी भने चार्वाक सामान्य मानिस होइनन् है । उनले त वैदिकवादीले परब्रह्म परमेश्वर ब्रह्माबाट नै निडरताको आशीर्वाद पाएका छन् । उनी साँचो अर्थमा ज्ञानी हुन् । त्यस बेला त्यो  दर्शन लोकप्रिय नै रहेकाले महाभारतमा उल्लेख गरियो । त्यो दर्शन कमजोर अवस्थामा रहे तापनि  सशक्त छ भनेर देखाउनका लागि कृष्णमार्फत चार्वाकको बारेमा जानकारी गराइएको हो अनि उनको हत्या गरिएको छ । त्यहाँ उनको हत्या भनेको लोकायतवादको मृत्यु वा कमजोर र ईश्वरवादको विजय तथा शक्ति छ भन्ने देखाइएको हो ।

त्यसैले ब्रह्मवादी शक्तिशाली रहेको बेला नास्तिक चार्वाकको मृत्यु देखाइनु अस्वाभाविक होइन । परन्तु त्यहाँ लोकायतवादी चार्वाकलाई निषेधभन्दा पनि त्यो दर्शन जीवित छ, होसियार हुनुपर्छ भनेर ब्रह्मवादीलाई प्रतिरोधमा उतार्न गरिएको सन्देश पनि हो । वर्तमान लोकतान्त्रिक पद्धतिमा कुनै–कुनै तानाशाहले आफ्नो निकटका शत्रुलाई भ्रष्टाचारको मुद्दा हाल्छ, जेलचलान गर्छ, विष खुवाउँछ, देशनिकाला गर्छ र अन्तमा षड्यन्त्रपूर्वक हत्यासम्म पनि गर्छ । तर, मृत्युपश्चात् उसको दाहसंस्कार गर्दा राष्ट्रिय सम्मान गर्न बिर्सँदैन । यसको अर्थ त्यो शत्रुले बोलेका र विरोध गरेका कुरा जाहेज थिए र हुन् है भन्ने अप्रत्यक्ष स्वीकारोक्ति नै हो ।

हो, त्यसरी नै महाभारतमा चार्वाकलाई अनिश्वरवादी राक्षस, दुर्योधनको पक्षधर भनेर गालीगलौज गरी मारियो । उनको हत्या गरिए तापनि ब्रह्मावादीबाट वरदान प्राप्त गरेको भनी वेदव्यासले कृष्णद्वारा भनाउनु चार्वाक दर्शनलाई उचित स्थान र महŒव दिइएको हो । चार्वाक दर्शन अत्यन्त लोकप्रिय भएको र निषेध गर्न नै नसकिएकोले युद्ध समाप्त भइसकेपछि पनि चार्वाकलाई महाभारतमा वेदव्यासले उल्लेख गर्नुपरेको हो । यहाँ मैले चार्वाक दर्शनको सामान्य परिचय र चार्वाकबारे महाभारतमा भएको प्रसङ्गको सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरेको हुँ । चार्वाक दर्शनको तŒवमीमांसा र ज्ञानमीमांसाबारे जानकारी राख्नु पनि उत्तिकै जरुरी छ । (Draft)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s