हलीबा

धन्यवाद अभिब्यक्ति पूर्णाङ्क २०७, कात्तिक–मङ्सिर २०७७
हलीबा

विष्णुप्रसाद शर्मा पराजुली


पैँतालीस वर्ष पहिलेको कुरा हो । त्यो वर्ष असार २३
गतेबाट सिमसिमे पानी पर्न थाल्यो । २४ गते बिहानदेखि
झमझम ठूलै पानी प¥यो । छुची (कसारे माटोको ढिस्को)
वरिपरि र खाँदको ढाँवे गरामा पानीको मुल फुटेको थिएन ।
स–साना सुर्काका कुरिला दुधे मकै कौवाले खान थालेका
थिए । घोगाको जुती कालो भएका मकैका तीनवटा बोटहरू
जरैसँग उखेलेर खेतका झाँक्री, कुलाईनी (कुलदेवता) र
रास्कोट देवीथानकी देवीलाई सम्झेर नजिकको छुची को कुनामा रहेको
झाँक्रीको थानमा चढाएपछि बल्ल मकै पोलेर खाने चलन थियो । केटाकेटी,
बुढापाका, सासूबुहारी सबैजना हरिया मकै भनेपछि हुरुक्कै र भुतुक्कै हुन्थे ।
तराइतिर जस्तो बाह्रै महिना त्यहाँ मकै उब्जन्नथ्यो । सबैभन्दा पहिले जसको
खेतमा मकै पाक्थ्यो त्यतैका कौवा र घरका केटाकेटीका लागि त दशैँ आएझैँ
नै रमाइलो आउँथ्यो । त्यसैले ती नयाँ मकै दुई–चार घोगा, पुड्कापुड्की भन्दै
चाख्दाचाख्दै सकिन्थ्यो । मानिसलाई त्यस्तो चाख हुन्थ्यो भने हरिया मकैका
हरिया डाँठ भैँसी र गोरुलाई पनि उत्तिकै रसिलो हुन्थ्यो । सबैका खेतमा मकै
पाक्न थालेपछि भने कसैले मरिहत्ते गर्दैनथे ।

ढाँवमा मुल नफुटेको बेला भल छोपेर खेतमा रोपाइँ गर्थे । भोर्लाको
पातले सापेको सेउ ओढेर, ठूलो कोदालो र कोराहा लिएर धर्मभक्त पाध्या
भल छोप्न ढाँवातिर झर्न ठीक्क परे । छोरा राजभक्तलाई “रास्कोट जा र
हलीबालाई भोलि बिहान छिट्टै झर्न भन् । भल छोपेर हिल्याउन प¥यो” भनी
अह्राए । भर्खर खोरियाबाट लुछुप्पै भिजेर घाँस लिएर आएकी राजभक्तकी
आमालाई “ गोरुलाई अलि धेरै घाँस हालिदे । म खेततिर झरेँ” भन्दै धर्मभक्त
काँधमा कोदालो, कम्मरमा आँसी र खुर्पेटो भिरेर र दाहिने हातले कोराहा
टेक्दै निस्के ।
तामाको गाग्री र पानी भर्ने अम्खोरा निकाल्दै डोकामा राखिन् । छोरा
राजभक्तसँग नभिजेको नाम्लो मागिन् । भिजेका लुगा नफेरी आफ्नै धुनमा–
“कति हतारो भ’को हो यो मुन्छेलाई ? पाँच दिनपछि खेत रोपे त मकै पनि
पोलेर खाने हुन्थे । केटाकेटीले हरिया मकै भनेपछि मामाघर जानेभन्दा हत्ते
गर्छन् । उनीहरूको रहर मेटिन्थ्यो । आपूm पनि हरिया मकै भनेपछि भुतुक्कै
हुने हो । पचास मुरी खेत रोप्न भएझैँ आत्तिनुपर्ने ।” एक्लै फतफताउँदै गाग्री
डोकोमा राखेर आमा पधेँरातिर झरिन् । त्यसबेलासम्म बुढा तीनकान्ला तल
झरिसकेका थिए । बुढाले नसुने पनि बुढीले आफ्नो कुरा घरवरपर सुनाइन् ।

राजभक्त पनि हलीबालाई बोलाउन रास्कोटतिर उकालो लाग्यो । नेटा
भन्ज्याङभन्दा वरपरको बारी र खरबारीलाई रास्कोट भनिन्छ । भन्ज्याङको
चार कान्लामाथि देवीको एउटा सानो मन्दिर अहिले पनि छ । पर्वत राज्यको
बेला चार नम्बर पर्वत अन्तर्गत पैयूँकोट, रास्कोट, लुरिङ्कोट, गोल्र्याङकोट
रहेका थिए । हतियार राख्न र देवीपूजा गर्न त्यो मन्दिर स्थापना गरिएको
थियो । दशैँमा घटस्थापना गरी बलि दिने चलन अझै छ । पहिले त दशैँको
बेला त्यहाँ मेला नै लाग्दथ्यो । लुरिङकोट पञ्चबल लिएर जाने बराचौर,
रानीपानी र वाहाकीका गाउँले पनि रास्कोट खड्कादेवीको परिक्रमा गरी
जान्थे । चार–पाँच गाउँका मानिस त त्यहीँ सानो देवीथानमा भेला हुन्थे ।
केटाकेटीका लागि त दशैँ पहिल्यैदेखि आएको हुन्थ्यो । बलि दिने नवमीको दिन
पञ्चबल (पञ्चबलि) लैजाने घरपरिवारले पञ्चैबाजा बजाउँदै, नाच्दै लैजाने
भएकाले त्यो दिन केटाकेटीलाई टीकाको दिनभन्दा बढी रमाइलो हुन्थ्यो ।
पञ्चबलिमा त्यहाँ प्रायः बोका, पाडो, कुखुरा, परेवा (उडाउने) र कुभिण्डोको
बलि दिइन्थ्यो । पञ्चबल धेरैजसो भाकल गरेको परिवारले लैजान्थे ।
नेटा भन्ज्याङभन्दा माथि ढल्के परेर बसेको एउटा गर्गरे पखेरो छ ।
वरपर अन्य त्यस्तै भिराला खरबारीका पखेरा रहेका छन् । त्यो पखेरोमा
खेतीपाती गर्दैनथे । त्यही पखेरोको सिरानमा एउटा सानो छ–सात घर भएको
दमाई गाउँ थियो । त्यो ठाउँ ढुङग्यान भएकाले खेतीपाती राम्रो उब्जन्नथ्यो ।
उनीहरूको मुख्य पेसा कपडा सिउने, हली बनेर बाहुन, क्षेत्री र गुरुङको घरमा
हलो जोत्ने र विवाह एवं चाडपर्वमा नौमती बाजा बजाउनु थियो । रास्कोटका
नौमती बाजाको ख्याति त्यसबेला वरपरका छिमेकी जिल्ला स्याङ्जा, गुल्मी
र बागलुङसम्म पुगेको थियो । उनीहरूको एक–दुई सुर्का बारी भए तापनि
अरूको घरमा हली बनेर, लुगा सिएर र बाजा बजाएर जीविका चलाउँथे ।

पानी झमझम परिरहेको थियो । “यो बाहुनलाई कति हतार हुन्छ
कुन्नि ! जमिन गलेकै छैन । धानको बीउ पनि सानै छ ।” राजभक्तलाई दे
ख्नासाथ धनबहादुर दमाईले चिलिममा हालेको भुसाहा तान्दै कराउन थाले ।
“हेर ! भिजेर निथ्रुक्कै भएछन् । आगो ताप्न भित्र पस्न भएन । लौ, पिँढीमा
बस ठूलाबाउ (ठूलाबाबु)” भन्दै हलिनी आमाले नयाँ पिर्के गुन्द्री पिँढीको
छेउमा राखिदिइन् । राजभक्त गुन्द्रीमा थचक्क बस्यो । वरपर हे¥यो । त्यहाँ
लिपपोत गरिएको थिएन । आँगनको डिल र जुठेल्नोवरपर पशु र केटाकेटीको
फोहोर छरपस्ट देखिन्थ्यो । डिलमुन्तिर ठूलो माउको वरपर दश–बाह्रवटा
सुँगुरका छाउराहरू खेलिरहेका थिए ।

“हलिनीआमा आँगनमा किन फोहोरो छ नि । बिहान दैलो लिपेर आँगन
बढारेको होइन र ?” राजभक्तले सोध्यो ।
“ठूलाबाबु, बाहुनको जस्तो हामी दमाई जातिले सधैँ दैलोपोतो कहाँ
गर्नु र ? कहिलेकाहीँ त मैले सफा गर्छु । यी सुँगुर र केटाकेटीले फोहोर
गर्छन् । अर्काको मेलामा नगई बिहानबेलुका अँगेनोमा दाउरा बल्दैन । दिनभर
काम गरेर बेलुका घर फर्कँदा अन्न ल्याएर बल्ल आगो फुक्ने हो । थकै
लाग्छ । पानी पधेँरो टाढा छ । भोलिपल्ट यसो आँटोपिठो खाएर फेरि मेलामा
जानुपर्छ ।” हलिनीआमाले भनिन् ।

“हलीबाले हलो जोत्दा नछोइने । हलिनीआमाले टालेका थाउनामा
सुत्न हुने । उनले सिएका दुधे भोटो, दौरा लाउन हुने, उनीहरूले खेतबाट
धान, बारीबाट मकै बोकेर ल्याएको खान हुने तर उनीहरूसँग छोइयो भने
पानीको छिटो हाल्नुपर्ने । उनीहरूलाई बाहिर पिँढीमा बसालेर खान दिनुपर्ने ।
किन होला ?” राजभक्तले मनमनै प्रश्न ग¥यो । अहिले छोइछिटो हाल्ने चलन
कालीवारि र कालीपारि सबैतिर हटेको छ । रास्कोटका सबै घरआँगन सफा
र चिटिक्क परेका छन् । दमाईका छोराछोरी स्कुल जान थालेका छन् । दमाई,
सार्की, कामी, क्षेत्री, बाहुन, घर्ती, गुरुङ, कुमाल मिलेर सँगै रमिता हेर्ने, मेला
जाने, खाजा खाने, रक्सी पिउने गर्न थालेका छन् । घरभित्र आईजाई भने अझै
गरेका छैनन् । हिमालचुलीमा पहिलो झुल्का परेझैँ अग्लो रास्कोटको त्यो
गाउँमा अहिले घामको झुल्को बाहुन गाउँमा भन्दा पहिल्यै पर्न थालेको छ ।
हलीबाले चिलिमको भुसाहा स्वाट्ट ताने । पाँच–छ पटक खोके ।

आँखा मिचे । भुसाहाको खरानी पिँढीको डिलमा घोप्ट्याए, त्यसको अँगार
चिलिमको टाउकोले निभाउँदै “आज स्कुल जाने होइन ठूला ? किन वाँ’ परेर
टोला’को ? तिम्रा बा’ले के भन्न भनेर पठाका हुन ?” भन्दै सोधे ।
राजभक्तले रातोपिरो हुँदै भन्यो– “हलीबा, भोलि बिहान छिट्टै आउनु रे ।
बा भल थुन्न खेतमा जानु भा’छ । गोरु पनि घस्याएको छ । नारा र जुवा
लिएर झर्नु रे । हलो गोठमा नै छ ।” राजभक्तले हलीबालाई सबै कुरा भन्यो ।
हली र हलिनीआमाले पनि बराजुको छोरा भनेर अति नै माया गर्थे । त्यसबेला
सबैले सबैलाई उमेर, थान र मानअनुसार आदर र सम्मान गर्थे । आदर र
सम्मान आजकल भने नझुल्कने गरी अस्ताएर गयो ।

“खेतबारीमा हलो जोत्ने हली, बाँझो फुटाल्ने गोरु र वर्षभरि खाने
अन्नबाली उमार्ने खेतबारीलाई माया गर्नुपर्छ । यिनीहरूलाई माया गरिनस्
भने भोकै मरिन्छ ।” राजभक्तका हजुरबाले उसको बुबालाई भनेको उसले
सुनेको थियो ।
“ल तिमी जाऊ । तिम्रा बा आत्तिन्छन् मात्रै । मकै पाक्न दिएको भए
मेरा केटाकेटीले पनि खान पाउँथे । यस पटक पानी ढिलो प¥यो । मूल फुटेन ।
खेत त रोप्नैप¥यो । अँ, आमालाई मासको दाल पकाउन भने । खुर्सानी मैले
लिएर आउँला ।” भन्दै हलीबा उठे । हलिनीआमा पनि भित्र पसिन् । राजभक्त
नेटाबाट ओरालो लाग्यो ।

राजभक्तकी आमाले बिहानै दैलो लिपेर पधेँराबाट दुई खेप पानी
ल्याइन् । डोको बोकेर खरबारीमा पुगिन् । एक डोको घाँस काटेर ल्याइन् ।
घाँसको डोको गोठमा राखेर घरभित्र पसिन् । हली आउने बेला हुन थालेको
थियो । उनले दुई मुखे चुलोमा दाल र भात पकाइन् । अँगेनोमा दुध तताइन्
र छेउमा राखिन् । कराहीमा ढिँडोको पानी बसालिन् ।

त्यो बिहान धर्मभक्तले पनि भकारो सोहोरे । कुँडो पकाएर गोरु र
भैँसीलाई खुवाए । भैँसी दुहे । भैँसी र गोरुलाई टाट्नोमा घाँस हालिदिएर घाँस
काट्न गएका थिए । उनी हलीसँगै आँगनमा आइपुगे । ससुरालाई भान्सामा
बोलाउँदा धर्मभक्तलाई नुहाउने पानी राखिदिइन् । पद्मभक्तले खाएर उठेपछि
हलीलाई ढिँडो, भात, दाल, तरकारी पिँढीमा राखिदिइन् र धर्मभक्तलाई लुगा
फेर्न भनिन् । सबैले खाएपछि हलीले हलो र जुवा बोके । राजभक्त र हली
गोरु लिएर सँगसँगै गए, धर्मभक्त उनीहरू भन्दा अगाडि लम्कँदै गए ।
राजभक्तकी आमाले खाइवरी जुठेल्नोमा भाँडा माझिन् । दिउँसोका
लागि हरिया मकै उसिन्न राखेकी थिइन् । हलीलाई फापरका तीनवटा रोटी
पनि हालिन् । खेतमा लगेको फापरको रोटी त धर्मभक्तले पनि खान्थे ।
खाजा पनि ठीक्क पारिन् । केश बाँधेको डोरी नफुकाईकन तोरीको तेल
टाउकामा घसिन् । कार्इंयोले अलिअलि कोरिन् । अलिकता रातो सिन्दुर
सिँउदोमा राखिन् । गाउँका आमाहरूले पनि नाकको मुन्द्री फुकालिसकेका
थिए त्यसबेला । उनले पनि नाकमा फुली र कानमा साना माडबरी मात्र
लगाएकी थिइन् । हली, बाउसे, रोपारी र ससुराको अर्नी, पानी खाने अम्खोरा
डोकोमा राखिन् । घरको दैलो घुरुक्क पारेर जोडिन् । गोठतिर हेरिन् र
भैँसीलाई घाँस थपिदिइन् । पर्ममा बोलाएका अरू तीन रोपारीहरू सँगै डोको
बोकेर खेततिर झरिन् ।
“हेर्नु न नानी, आज म उठ्दा उज्यालो भएकै थिएन । तैपनि धन्दा
सक्दा यसबेला भयो ।” उनले नन्द पर्ने एक रोपारीलाई भनिन् ।
“दिदीले भएर त्यति काम भ्याउनुभयो, म रोपाइँको दिन त घाँस
काट्न मरे पनि जान्नँ । दैलोपोतो, पँधेर, भिजेका लुगा यसो पछार्नैप¥यो ।
कुटनपिसन, खाना र अर्नी बनाउने, केटाकेटीलाई खुवाउने, यसोउसो गर्दागर्दै
बिहान त गैहाल्छ । दिदीले त एक डोको घाँस काटेर त्यति काम गरेर, अर्नी
बनाएर ठ्याक्कै हामीलाई भेट्टाउनुभयो । मैले काँ सक्नु नि दिदी” अर्की रोपारी
देउरानीले भनिन् । राजभक्तकी आमाले यस्सो बोल्न पाएको त्यहीँ बाटोमा
हिँड्दै गर्दा थियो । नत्र एकै पल पनि उनलाई फुर्सद थिएन । मेसिनले झैँ
एकाबिहानैदेखि काम गरेर मेलामा जाँदै गर्दा बल्ल नन्द र देउरानीसँग कुरा
गर्न भ्याएकी थिइन् ।
त्यो दिन अर्नी खानेबेलासम्म पानी प¥यो । अघिल्लो दिनदेखिको भल
जम्मा गरेको हुनाले गरो हिल्याउन पानी मनग्गे थियो । अरू वरपरका कसैले
हल ननारेको हुनाले भल सिधै ठूलो ढाँबे गरामा जम्मा भएको थियो । त्यो
गरामा भएका फुन्द्राफुन्द्री मकै त्यो दिनको बाउसे, रोपारीलाई खाजा, हली,
छिमेकी, कौवा सबैलाई बाँड्दाबाँड्दै ठीक्क भएको थियो । शिला खोज्दा
पोलेर खान त्यस्तै दुई छाक जति मकै घरको लगी बाँचेको थियो ।
त्यो दिनलाई पाँच जना रोपारी र तीन जना बाउसे थिए । बीउ काढ्ने
काम धर्मभक्तका वृद्ध पिता पद्मभक्तले गरेका थिए । बिउको ब्याडमा पानी
ताल परेकाले बसेर बिउ काढ्दा उनको कछाड र लँगौटी लुछुप्पै भिजेको
थियो । पानी पर्न छोड्यो । कुनातिरको कान्लो ताछेर, हलोले नभेटेको
कुनाकानी खनिसकेपछि कुनातिरबाट खोक लाउँदै रोपारीलाई रोप्न पनि
तयार गर्न थाले ।
सबैभन्दा पहिले पद्मभक्तले गराको एक कुनामा कुलदेवता, देउराली,
नाग, झाँक्रीलाई धान सप्रियोस् भन्दै आफैँले रोपेर सुरु गरिदिए । पहिलो
रोपाइँ भएकाले घरमुलीले अन्नदेवतालाई सम्झेका थिए । बुहारीहरूलाई अर्ती
दिँदै भने “अनदीको धान हो । डाव मलिलो छ । ठूला गाँज हाल्छ । एक वा दुई
सरा एक मुडि हातको फरकमा रोप्नु । कुनातिर अलि गढिन्छ, नडराउनु ।”
उनी फेरि बीउ काढ्न ब्याडमा छिरे । त्यसपछि रोपारीले रोप्ने, हलीले खोक
लाउने र बाउसेले हलोले छोडेको बाँझो खन्ने र झार गाड्ने काम सँगसगै
भयो । गरो ठूलो भए तापनि लामो आली नभएको हुनाले बाउसेलाई मेलो
कठिन थिएन । उनीहरू दुई जनाले खोक लगाएको ठाउँमा माथि उत्रेका झार
गाडने र बाँझो रोँटो भेटिएमा खन्दै रोपारीलाई ठीक्क पारिदिन्थे ।
हलको मेलो सकिँदा एक जुवा घाम बाँकी नै थिए । गोरुलाई फुकाएर
मकै भएको एउटा गरामा हुलिदिए । हलीले हातखुट्टा धोएपछि देउराली चुरोट
ताने । स्याँस्याँ हुनेगरी खोके । बेलुकालाई मकैका पुड्कापुड्की सेउभित्र
हाले । त्यसपछि ठूलाबाबुलाई अगाडि लगाएर गोरु लिएर घरतिर लागे ।
गरो रोपेर सक्नुभन्दा पहिल्यै झ्याउँकिरी र भ्यागुता कराएर साँझ परेको
सूचना दिएका थिए । भोलिपल्ट माटो जमेपछि गाह्रो पर्छ भनेर रोपारीहरूले
ढिलोसम्म रोपेर सके । धर्मभक्त र अन्य गाउँलेले त्यसको एक सातापछि भल
छोप्दै रोपाइँ गरे । असार र साउन वर्षा ऋतु कृषकका लागि मानो खाएर मुरी
उब्जाउने बेला हो । घाँस काट्ने, खेतबारीमा धान र कोदो रोप्ने, तरकारीको
स्याहार गर्ने, दुध दिने भैँसी र खेतबारी जोत्ने गोरुको विशेष हेरविचार गर्ने,
दुध, दही, मही, घिउ प्रशस्त खान पनि पाइने र दुःख पनि धेरै गर्नुपर्ने बेला
त्यही थियो ।
ढाँबे गराको रोपाइँ गर्दाको दिन खेतमा नै झमक्क साँझ परेको थियो ।
धर्मभक्तले तिनै फुन्द्राफुन्द्री मकै भाँचेर डोकोमा राखिदिएका थिए । उनले
डाँठको भारी बाँधे । राजभक्तकी आमाले त्यो मकैको डोको बोकेर उकालो
लागिन् । घर पुग्दा भैँसी आर्इं–आईं गर्दै कराएका थिए ।

मकै पिँढीमा फालेर हिलै कपडासित पानी लिन पँधेरातिर लागिन् ।
रोपाइँ गर्दा लगाएका हिला कपडा पानीमा पछारेर सफा गरिन् । ओभानो धो
ती र चोलो फेरेर तामाको गाउरी (गाग्री)मा पानी लिएर घरभित्र पसिन् ।
त्यसबेला ससुरा पद्मभक्तले अँगेनोमा आगो फुकिदिएका थिए । रोपाइँ सुरु
गरेको दिन भएको हुनाले त्यो साँझ सबैलाई एक–एकवटा कोदोको रोटी
पकाइन् । चिसो सोस्ने र ताकत दिने भएकाले त्यस दिन उनले कसौडीमा
पाँच मुठी घिउ राखिन् र त्यसमा अनदीको चामलको खाजा बनाइन ।
उता धर्मभक्तले डाँठको भारी गोठमा राखे । दिउँसोभरि भैँसीले कुल्चेर
लतरपतर पारेको गोबर सोहोरेर मलखाँदमा फाले । घाँस हालिदिए । गोठबाटै
कराउँदै छोरालाई ठेकी ल्याइदिन भने । राजभक्तकी आमाले ठेकीसँगै लालटिन
बालेर पठाइदिइन् । उनले भैँसी दुहे । दुधको ठेकी श्रीमतीलाई दिएपछि
छोरालाई बोलाउँदै भने “ए ! राजभक्त ठूलो अम्खोरामा पानी ले त । हातखुट्टा
धोएर मात्र भित्र पस्छु ।”

धर्मभक्त भित्र पस्दा तीनतारे माथि आइसकेका थिए । त्यस्तै दस
बजेको हुँदोहो । किसानको जीवन न हो । बर्खाको दुई महिना धान र कोदो
रोपेर नसक्दासम्म सबैका घरमा कामको चटारो त्यस्तै हुन्थ्यो ।
राजभक्तकी आमाले ससुरालाई रोटी दिइनन् ।
“मैले पनि रोटी खान्छु । तैँले पनि अलिकता अनदीको खाजा खा ।
बिहानैदेखि चिसोमा नाचेकी छेस् ।” भन्दै रोटी मागे ।
“मलाई पनि पुग्छ, तपाईं खानुस् ।” भन्दै ससुरालाई तातो दुध एक
कटौरा र चरेसको थालमा अनदीको खाजा दिइन् ।
राजभक्तले पनि खाजा मात्र खायो । पाँचवटी छोरीपछि जन्मेको हुनाले
छोरालाई दुवैले असाध्यै पुल्पुल्याएर पालेका थिए । राजभक्त नै धर्मभक्त र
उनकी पत्नीको बुढेसकालको एक मात्र सहारा थियो । धर्मभक्तले एउटा
रोटी र खाजा खाए । आमाले दुईटा रोटी खाइन् । अलिकता दुध अनदीको
खाजा पकाएको कसौँडीमा हालिन् । पन्यूले कोतरकातर पारेर खाइन् । भाँडा
माझिन् । भोलिपल्टको लागि कोदोको पिठो सकिएको थियो । जाँतोमा
झुपुझुपु हुँदै चार माना कोदो पिसिन् । भैँसीको लागि मकै दलिन् । उनी
सुत्नेबेला तीनतारे पश्चिमतिर ढल्किसकेका थिए ।
पहाडका किसानको जीवन त्यस्तै चक्रमा वर्षभर घुम्दै बितेको हुन्थ्यो ।
त्यसैमा पहाडी जीवन चलेको थियो । त्यसबेलाको त्यो पहाडी जीवन अत्यन्त
चलायमान, उर्वर, गौरवशाली, लोभलाग्दो, दण्डवतनीय, सम्पन्न र आत्मनिर्भर
थियो । घरमा जम्मा गरेको घिउ, कोदो, मकै, धान बेचेर बटौलीबाट मट्टीतेल,
लत्ताकपडा, भाँडाकुँडा ल्याउँथे । अरू सबै कुरा घरमै उब्जन्थ्यो । असारे
माचो सकिएपछि शरद ऋतुको आगमनसँगै दशैँ, तिहार आउँथ्यो । उज्याला
र चम्किला दिनमा चराचुरुङ्गीसँगै नाच्दैगाउँदै किसानलाई हौसला दिन्थे ।
दिनभर वनमा चरेर अघाएका बाख्राको पेट पुटुक्क बाहिर निस्केझैँ सबैका
घरका भकारी टमक्क भरिन्थे । किसानको व्रत, तीर्थ र पर्व त्यही थियो ।
हिमालमा झैँ पहाडमा पनि अन्न भित्र्याउँदा पूजाआजा गर्ने,
वर्षालाई आभार प्रकट गर्दै देउरालीमा दुधधार दिने, मिठो खाने, कोरीबाटी
गर्ने, व्यवहार मिलाउने, विवाह, व्रतबन्ध, पूजापाठको चाँजोपाँजो मिलाउने,
दाउराको व्यवस्था गर्ने, गुन्द्री बुन्ने, मस्यौरा पार्ने, डोका, थुन्से, डालाडाली,
नाम्ला, बरियो बुन्ने र टालटुल तथा बाँधबुँध गर्ने, ठेकाठेकी कुँद्ने गर्दागर्दै
हिउँदले कुलेलम ठोक्थ्यो ।
“काफल पाक्यो, को हो, को हो, बीउ कुह्यो ” भन्दै चरीले वसन्त
बोलाएपछि खेतबारीमा मल बोक्ने, अरब सागरबाट आउने वर्षापछि बाँझो
जोत्ने, सरसफाई गर्ने गर्दागर्दै मकै छर्ने बेला भइहाल्थ्यो । बङ्गालको
खाडीबाट आउने मनसुनी वर्षा लागेपछि पहाडी किसानलाई कसैसँग ठिङ्ग
उभिएर बोल्ने फुर्सद हँुदैनथ्यो । मायाप्रेम गर्ने तन्देरीतरुनी पनि “के भयो
भयो, वर्षा लाग्यो बोलचालै हरायो” भन्ने गीत गाउँदै व्यस्तताको सङ्केत
गीतबाट व्यक्त गर्थे । ऋतुसँगै जीवन चलायमान हुन्थ्यो । पात झर्ने, नयाँ
मुना पलाउने प्रकृतिको चक्र गाउँले किसानको जीवनचक्रमा पनि छर्लब्ग
देखिन्थ्यो । प्रकृतिको त्यो निरन्तर चलिरहने जीवन्त प्रक्रियालाई गाउँलेले
आफ्नो जीवनमा ढाल्थे ।
रूखका पात झरेको देख्दा आफ्ना मातापिताले आपूmलाई त्यसैगरी
छोडेर गएको भन्ने सम्झेर शोक मनाउँथे । बाँसको तामाझैँ हलहलाउँदो
भएर नयाँ मुना टुसाउँदा सन्तान जन्मेको खुसियाली सम्झेर खुसी मनाउँथे ।
जीवनचक्रलाई प्रष्ट बुझेका थिए । त्यसैले नाडीका नसामा रक्तसञ्चार
हुँदासम्म आँसी, कोदालो, नाम्लो, डोको सिरानीमा राखेर देवतालाई झैँ पूजा
गर्थे । घरको भकारीमा भएको भरीभराउ अन्न सकिँदै जाने र फेरि मङ्सिरमा
भकारीमा अन्न टम्म भरिने चक्रलाई आफ्नै घर आँगनमा हुने जन्म, मृत्यु,
हाँसो र आँसुसँग तुलना गर्थे ।
बाबुआमाको मृत्यु भएको शोक मनाए तापनि उनकै प्रतिनिधि, उनकै
जीवन र उनकै पुनर्जन्मको रूपमा आफ्नो जन्म भएको, पत्नीले आमाको रूप
लिएको, आफ्ना सन्तान भएपछि आफ्नो रूपमा सन्तानमा आपूm रूपान्तरण
भएको र आपूm बुढो भएपछि काब्राको पात झरेझैँ झर्ने र आफ्नो ठाउँमा
सन्तान आउने कुरामा विश्वास राख्थे । एउटा अचम्म के भने त्यो गाउँमा
पूर्वजन्म भनेर बाबुलाई, बाबुको पुनर्जन्म भनेर आपूmलाई सम्झन्थे । त्यसै
गरी आफ्नो पुनर्जन्म भनेर आफ्ना सन्तानलाई सम्झन्थे । यही जीवनमा सबै
कुरा पूरा गर्नुपर्छ । अर्को जीवन हुँदैन त्यसैले अर्को जीवनलाई भनेर कुनै कुरा
थाती राख्नुहुँदैन भन्नेमा विश्वास गर्थे ।

काम नगरीकन धान फल्दैन । धान फलाउन काम गर्नुपर्छ । धान
फलेपछि आफैँले बनाएको घिउ, दही, दुध, तरकारीसँग मज्जाले डकार
आउञ्जेल खानुपर्छ भन्नेमा सबैको विश्वास थियो । त्यसैले “आफ्नो कर्मै
फुटेको, पूर्व जन्मको कमाइले मेरो कर्मै खोटो” भन्नेहरू त्यो गाउँबाट
पलायन भएका थिए । त्यहाँ “कर्ममा विश्वास गर्ने, कर्म गरेपछि मणि उत्पन्न
हुन्छ” भन्नेहरूको बाहुल्य थियो । त्यसैकारण त्यहाँ हली, बाउसे, रोपारी,
आँसी बनाउने, कपडा सिउने, नाकको फुली, मुन्द्री, माडबरी बनाउने, डोको
र थुन्से बुन्ने, हाँडी र घैँटो बनाउने, माछा मार्नेबीच दाजुभाइको नाता थियो,
एकअर्कामा मितेरी साइनो गाँसिएको थियो । कसैका ठूला कसैका साना
भकारी भए तापनि त्यहाँ कोही भोकै थिएनन् ।
  
मुक्तिनाथतिरबाट आएको कालीगण्डकी पुर्तिघाट, सेतीबेनी, राम्दी हुँदै
दक्षिणतिर सलल बगी नै रहेको थियो । उसको पनि ऋतुअनुसार बहाव परि
वर्तन हुन्थ्यो । गाउँलेको अन्तिम यात्रा त्यहीँ कालीगण्डकीमा टुङ्गिन्थ्यो ।
कालीनदी बग्दै–बग्दै त्रिशुलीमा मिसिएर नारायणी, गण्डक हँुदै गंगामा
मिसिएर हिन्द महासागरमा मिसिएको थियो । त्यहीँबाट मनसुन भएर फेरि
खेतीपाती गर्न बर्खाको झरी भएर आएको भन्ने कुरा गाउँलेलाई त्यसबेला
थाहा थिएन । कालीगण्डकीको मुक्तिनाथदेखि राम्दीसम्मको यात्रा भने सबै
गाउँलेलाई थाहा थियो किनभने तीर्थ गर्न मुक्तिनाथ र नुन लिन राम्दी हुँदै
बटौली जाँदा नदीलाई प्रत्यक्ष भोग गरेका थिए ।
ऋतु परिवर्तनसँग समय परिवर्तन भई नै रह्यो । नदी बगेझै समय
सबैलाई छोड्दै बगी नै रह्यो । घरमै वेद पढ्नेहरू कम भए । दश कक्षासम्म
पढ्ने स्कुल खुले । परिवर्तनको हावा गाउँमा चल्न थाल्यो । पढ्नेहरू झन्
धेरै पढ्न पाल्पा, पोखरा, बटौलीतिर झरे । पहिलेजस्तो धेरै सन्तान जन्माउने
लाई कर्के आँखाले हेर्ने दिन आयो । सहर पसेका उतै बस्न थाले । पहिले
जस्तो काम गर्ने कृषकलाई हेला गर्न थाले । भैँसी, गोरु, बाख्रा पाल्नेहरू
कम हुँदै गए ।
सुख काट्न र भात मात्रै खान मधेसतिर बसाइँ सर्न थाले । हेर्दाहेर्दै
युवाहरू नहुँदा आफ्नै घरअगाडिको काब्राको रूखबाट पात झरेर नाङ्गो
भएझैँ गाउँ रित्तो भएको धर्मभक्तकै आँखाले देख्यो । उनकै पालामा भारतमा
मात्र लाहुर गएको सुनेकोमा आफ्ना भाइछोराहरू साउदी अरेबिया, कतार,
मलेसिया, कोरिया, जापानसम्म लाहुरे हुन गएको देखे । उनकै आँखाले उनकै
खलकका छोराबुहारीले बृद्ध आमाबाबुलाई घरमा एक्लै छोडेर सहरमा कोठा
भाडामा लिएर बसेको देखे । त्यो देखेर उनी साँच्चिकै भक्कानिए । मादलको
तालमा तन्देरीतरुनी फुरुङ्ग भएर नाचेझैँ ऋतुसँग मित लगाएर ऋतुसँगै
नाचेका धर्मभक्त पनि हेर्दाहेर्दै एक्लै भए ।

धर्मभक्त साँच्चिकै एक्लै भए । छोराले एस.एल.सी पास गरेपछि
पाँचमुरी धान फल्ने खेत बेचेर पढ्नका लागि छोरालाई पोखरा पठाए । ऊ
उतै बस्यो । बिहे गर्न भनेको मानेन । “उतै कताकी कुन केटीसँग मायाप्रे
म हो कि के हो गरेर विन्ध्यवासिनीमा गएर सिन्दूर हालेर बिहे ग¥यो रे ।”
भन्ने हल्ला धर्मभक्तले सुनेका थिए । एक बिहान जुठाल्नो नजिक घिरौलाको
झिक्राको सुकेको हाँगोमा बसेर कौवा करायो । त्यो कौवा तीन दिनसम्म
लगातार बिहानबिहानै आएर करायो । लखेट्दा पनि भागेन । धर्मभक्तकी
पत्नीले कागका दुवै आँखाबाट आँसु झरेको देखिन् अनि उनी पनि भक्कानिँदै
रुँदैरुँदै घरभित्र मझेरीमा पुगेर डाँको छोडेर रोइन् । काग कराउँदै रोएको
हुनाले उनी तर्सेकी थिइन् । सोही साँझ धर्मभक्तले गाउँलेले उनको छोराको
बारेमा गरेको कानेखुसीको हल्ला पत्नीलाई भनिदिए ।

“वंशवृक्षको जरो रहोस् भनेर पाँच छोरीपछि जन्मेको एउटै छोराले
आमाबालाई थाहापत्तै नदिई त्यसरी न जात मिल्ने न पात मिल्ने, न घर
मिल्ने न थर मिल्ने, न धान मिल्ने न खानपान मिल्ने, न गाउँ मिल्ने न ठाउँ
मिल्नेसँग बिहे गरेर त्यसरी माया मार्ला भनेर त सपनामा पनि सोचेकै थिइनँ
नि । हे भगवान् किन यस्तो पा¥यौ । पोखरा कति टाढा हो र ? यस्तो भोग्नुभन्दा त मर्न पाए पनि हुने नि ।” भन्दै डाको छोड्दै रुन थालिन् ।
“न रो । तेरा र मेरा हातपाखुरा चलुञ्जेल पक्कै भोकले मर्ने छैनौँ ।
नपढाएको भए घरै मजस्तै कोदाले किसान हुन्थ्यो । पढ्न पठायौँ । ठूलो मान्छे
होला, नाम कमाउँला, हामीलाई सुखको सास फेर्ने मौका देला भनेका थियौँ ।
“म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो’ भनेझैँ भयो । सोचेअनुसार हुँदैन । कैले
काहीँ भरेभोलि भएको भैँसी मर्छ । खोरबाट थुतेर बाघले बोको खाइदिन्छ ।
चित्त बुझाउने हो, दुखाउने होइन । दुःख परो, पीर परो भनेर कालीमा गएर
हेलिन सकिँदैन ।” धर्मभक्तले पत्नीलाई ढाडस दिँदै भने ।

धर्मभक्तका पिता पद्मभक्तले कालीगण्डकीमा विश्राम गरेको पाँच वर्ष
भएको थियो । हलीबाको ढाँड भाँचिएर पिँढी कुरेको दुई वर्ष भएको थियो ।
हलीका दुईभाइ छोरा मद्रास गएका फर्केका थिएनन् । गाउँका युवा कसैको
घरमा थिएनन् । कोही युवा बस्न चाह्यो भने पनि “यहाँ बसेर के हुन्छ र ?
मलेसिया गए टन्न पैसा फल्छ” भनेर उक्साउने दलालहरू गाउँमै थिए ।
विदेसिन बाध्य पार्ने सामाजिक परिवेश बनेको थियो । कति छोराको कमाइको
धाक लाउँथे भने कति धर्मभक्तजस्तै भएका थिए । हेर्दाहेर्दै खरबारीको खर
काट्ने खेताला नभएर खरबारीमा नै सुकेर गयो । बारीका ठूलाठूला पाटा
बाझै देखिन थाले । अर्काको बारी बाँझो देख्दा भक्कानिने धर्मभक्त अब आफ्नै
बारी बाँझो हुन थालेकोले साँच्चिकै अमनिएका देखिन्थे ।

धर्मभक्त पनि रुन्थे तर उनले भित्रभित्रै आँसु पिउँथे । उनको आँखामा
आँसु छचल्केको देखिँदैनथ्यो तर उनकी पत्नी भने नरोएको पल नै नभएको
उनका रसिला आँखाले छर्लङ्ग देखाउँथ्यो । छोरा फर्केर घर नआएदेखि
धर्मभक्त घरबारी, घरखेत र घरगोठबाहेक अन्यत्र जान छोडेका थिए ।
उनलाई देख्ने इष्टमित्र र आफन्त कसैले प्रश्न त कसैले ढाडस दिँदै भन्थे,
“छोराको खबर के छ ? पैसा त कमाएको छ रे नि त । पैसा पठाउँदै होला
नि । भो पीर नगर । सबैको त्यस्तै छ । जमाना परिवर्तन भयो । सहनुपर्छ ।”
हेर्दाहेर्दै रास्कोट वरपरका नौनादी, वहाँकी, भाटीचौर, लौके, कुणादी,
चकौदे, भास्तुबजस्ता गाउँमा खरले घर छाउने मानिस पाइन छोडेका थिए ।
घर छाउन जान्ने कोही मरेर गए, कोही वृद्ध थिए त कोही बिरामी थिए ।
गाउँमा भएकाले जान्दैनथे । दुई चार लाहुरे र शिक्षकले जस्तापाताले घर
छाएबाहेक अरूले खरले नै छाउने गरेका थिए ।

“यत्ति छिटै गाउँ रित्तो होला अनि खेतबारी बाँझो पल्टला भनेर
त कसले सोचेको थियो र ! ठूला अनि पढेलेखेका युवायुवतीले आमाबाबु,
काकाकाकी, दाइभाउजुलाई भुसुनाजस्तो पनि मान्दैनन् । आमाबाबुले भनेको
मान्न छोडे । जे पायो त्यही खाँदै हिँड्छन् । चार महिना पहिलेको कुरा बिर्सिस्
र ठूला ! ऊ त्यो रातामाटा तल खेतको गरामा बहर बाच्छो काटेर खाए रे ।
मलाई त भन्न पनि पाप र डर लाग्छ । परिवर्तन त हामी भएकै छौँ नि ।
हिजो हाम्रै घरको काम गर्ने रास्कोटका हली र अरूसँग छोइछिटो गरिन्थ्यो ।
त्यो हामीले नै छोड्यौँ । दाल पकाउँदा लुगा फेरेर पकाउने र खाने चलन
थियो, हाम्रा छोराहरूले गरेनन् । खै हामीले केही भनेनौँ । हाम्रा छोरीबुहारीले
नाकमा मुन्द्री लाउनै छोडे, हामीले विरोध गरेनौँ । हामी परिवर्तित भएका
छौँ । समाज परिवर्तन त्यसरी क्रमैसँग हो हुने । चुरोट छ भने ले त यसो
बसिबियाँलो गरौँ” भन्दै जेठाबाले भने ।
एक सर्को चुरोट ताने । छ–सात पटक घाँटीका नसा फुल्ने गरी खोके ।
यो बिख नखाई पनि नहुने भन्दै “हेर्दै जा पच्चीस–तीस वर्षपछि यो देशमा
अनिकाल लागेन भने मलाई थुक्क भन्लास् । मातापितालाई सम्मान नगर्ने र धर्ती
बाँझो राख्नेलाई सुख कहिल्यै हँुदैन । धर्तीमाताको श्राप र जन्म दिने आमाको
आँसु सबैभन्दा कडा हुन्छ भन्छन् । हजारौँ वर्षदेखि पुज्दै आएको जनावर
काटेर खाँदैमा हाम्रो गाउँ भोलिपल्ट नै जापान र अमेरिका हुन्छ र ? बोल्न
जानेको छु भनेर चिच्याउँदैमा समाज परिवर्तन हँुदैन । समाज परिवर्तन गर्न
समय लाग्छ । मानिसको हृदयमा पुगेर परिवर्तनका सङ्केतले झक्झकाएपछि
मात्र परिवर्तन हुने हो । रातारात हुँदैन ।” तल्लाघरे जेठाबाले देउराली चुरोट
धर्मभक्तलाई दिँदै आफ्नो अनुभवअनुसार समाजको विश्लेषण सुनाए ।

“देखिराख, तेरो छोरो पनि मात्यो । त्यसले दुःख पाउँछ । हण्डर
खाएपछि फर्कन्छ । पीर नमान यस्तै भयो । संसारै बाँझो रहेपछि के गर्छस्
त ! अब सक्ने मात्र खेतीपाती गर । छोरो नआए पनि दुःख बिमार हुँदा
छोरीहरू पालैसँग आउँछन् । नातिनातिनीहरूले छोडेका छैनन् ।” देउराली
चुरोट तान्दै धर्मभक्तका काका पर्ने तल्लाघरे जेठाबाले दुवैलाई सम्झाउँदै
भने । राजभक्तकी आमाले एक कटौरा दुध ल्याएर जेठा ससुरालाई दिइन् ।
रुँदारुँदै उनका आँखा सुन्निएका थिए । दुध राख्दाराख्दै उनले पीडा रोक्नै
सकिनन् र त्यस्तैमा डाँको छोडेर रुन थालिन् । त्यो रात पिँढीको डिलमा
बसेर धेरै बेर उनीहरूले गन्थन गरे ।


“पाँच छोरी र एक छोरा गरी छ सन्तानका मातापिता भएर पनि एक्लै
भयौँ जेठाबा । तपाईंले बाहुनले हलो जोते जात जान्छ भन्नुहुन्थ्यो । मैले
साठी वर्षको उमेरमा हलो जोत्न परो । जात गयो गएन थाहा भएन । भोकै
मर्न सकिएन ।” धर्मभक्तले भने ।


“हलो जोते जात जान्छ भन्थेँ । त्यसबेला त्यस्तै थियो । भनियो ।
हाम्रोमा पनि तेरो भाइले हलो जोतेन त ? हलो जोतेर त मलाई दुःख लागेको
छैन । यो आजको समाजको अनिवार्य परिवर्तनको माग हो । अब त्यो चलन
हट्ने छ । तर, तँ, मेरो छोरो, म पछि यहाँ हलो जोत्ने बाहुन नै पनि नहुने
भए । म त पछि को कुरा सम्झेर पो दुःखी भएको छु । लाहुरे पनि त घर
आउनुपर्ला । खानुपर्ला । सबैले सहरमा नै घर बनाएर बस्न त सक्दैनन् ।
बुढेसकालमा त गाउँ फर्कनुपर्ला नि त्यसबेला के गरी खान्छन् यिनले ?
विदेशबाट चामल आएन भने के खालान् यिनले । पैसाले त पेट नभर्ला ।”
दुध पिउँदै जेठाबाले भने ।

गाउँमा स्कुल, कलेज, स्वास्थ्य चौकी, बिजुलीबत्ती, खानेपानी, मोटर
बाटो सबै कुरा पुगे तापनि बसाइँ सर्ने र लाहुर जानेको लर्को नछोटिँदा
गाउँमा नै बसौँ भन्ने गाउँले तर्सन छोडेका छैनन् ।
दशैँको बेला सत्तरी वर्षको उमेरमा धर्मदत्त थला परे । रास्कोटको एक
जना छिमेकीले उनलाई बोकेर पाल्पा पु¥याए । उनको साथमा जेठी छोरी
नानी थिइन् । निमोनियाले भेटेको रहेछ । औषधि लिएर घर फर्केको तीन
दिनपछि उनले देह त्याग गरे । चिनेका, जानेका र थाहा पाएकालाई खबर
गरियो तर पिताको मृत्यु–संस्कारमा उनको छोरा राजभक्त फर्केर आएन ।
पाँचवटी छोरीले उनको क्रिया गरे ।
आमा एक्लै भएदेखि माहिली छोरीकी कान्छी छोरीले हजुरआमालाई
छोडिनन् । उनी मामाघरमा नै बसेर पढ्ने र हजुरआमालाई बोल्ने साथी
बनिन् । सबै कुरा बिर्सनुपर्छ । राजभक्तकी आमाले पति मरेको कुरा बिर्सिन्
तर छोरालाई बिर्सनै सकिनन् । ऊ उनको आँखावरपर बाहेक टाढा कतै
गएन । दिनभर आँखा र राति सपनामा आउँथ्यो । आमाका आँसुले अँगेनामा
खरानी भिज्यो, पिँढीको डिल भिज्यो तर छोराको हृदयमा आमाबाबुको लागि
मायाको अङ्कुर कहिल्यै टुसाएन । गाउँलाई नै अचम्म पार्नेगरी आएन ।
एक दिन बिहान नातिनी स्कुल गइसकेकी थिई । आमाले आँगनमा
कुचो लाउँदै थिइन् । धेरै पहिलेझैँ जुठाल्नोनजिक कौवा आएर खनियाको
हरियो हाँगोमा बसेर काँकाँ गर्दै करायो । उनले “हाँ.. हाँ.. आज फेरि के भन्न
आइस्” भन्दै धपाइन् । एकासी वर्षकी आमा कौवालाई धपाउँदै भैँसी दुहुन
गइन् । भैँसी दुहेर आउञ्जेल त्यो काग त्यही हरियो डालीमा काँकाँ गर्दै
थियो । “यसले केही त भन्न खोजेकै हो” ठेकीभित्र पनि नराखी टुसुक्क
खडकेरीमा बसेर त्यो कागलाई हेरिन् ।


बचराजस्तो देखिने कागको आँखामा पहिलेजस्तो आँसु उनले देखिनन् ।
काग कराएको एक सातापछि एक जना त्यस्तै २३–२४ वर्षको सुन्दर,
अग्लो, गोरो कलकलाउँदो युवा धर्मभक्तको आँगनमा टुप्लुक्क आइपुग्यो ।
कसैले पनि नदेखेको त्यो युवाले कुममा अड्याउने डोरी भएको ठूलो झोला
बोकेको थियो । झोला पिँढीमा राख्यो । आमालाई सपना विपनाजस्तो
लागिरहेको थियो । त्यो केटाले आमाको खुट्टामा ढोग ग¥यो । वृद्ध आमा त्यसै
भावविभोर भइन् । केही बोल्न सकिनन् । हृदयमा नजानिँदो माया उम्रेर त्यो
माया नसैनसा हुँदै आँखामा पुग्यो । आँसु बन्यो । बलिन्धारा भएर छाती
भिजाउँदै झ¥यो । “मैले चिनिनँ नि बाबु, तिमी को हौँ ? मलाई किन ढोग
ग¥यौँ ?” भनेर सोध्ने मन भएर पनि उनको मुखबाट वाक्य नै फुटेन ।
पसिनैपसिना भएको युवालाई देखेर को होला भन्ने तर्कना गर्दै उनी
भित्र पसिन् । ठेकीबाट दही खन्याएर पानीमा फिटेर एक कटौरा त्यो युवालाई
खान दिइन् । त्यो युवाको नाक, गाला र निधार देख्दा पति धर्मभक्तको झल्को
मानेर झस्किइन् तर केही भन्ने आँट गरिनन् ।


“हजुरआमा म हजुरको नाति कर्मभक्त हुँ । पोखराबाट अमेरिका पढ्न
गएको थिएँ । म पोखरा आएको पाँच दिन भयो । त्यहाँबाट तपाईंलाई भेट्न
सरासर यहाँ आएको हुँ ।” युवाले पानी फिटेको दही पिएर कटौरा भुईंमा
राख्दै भन्यो ।
नपत्याउँदो भयो । त्यसपछि उनी धेरै बेर रोइन् । छोरो पढ्न गएको
अठ्ठाइस वर्षपछि २४ वर्षको नाति आँगनमा झुल्कँदा आकाशका तारा र
पूर्णिमाको जुन एकैचोटि आफ्नो आँगनमा झर्दा आँगन चम्केझँै राजभक्तकी
आमाको हृदय पनि खुसीले चम्केको थियो । लोग्नेले त्यो नातिलाई देख्न
पाएको भए अरू दश वर्ष पक्कै बाँच्ने थिए भन्ने कल्पना गरिन् । उनले
छोरो हराएको बेला र नाति आँगनमा आएको बेला कागले दिएको सन्देश
सम्झिन् । रास्कोटको बिरामी हलीबा र साठी वर्षको उमेरमा धर्मभक्त पाध्या
हलीबा भएर बारी जोतेको सम्झिन् । बिहान उज्यालो नहुञ्जेल त्यो घरमा
ढिब्रीको बत्ती निभेन । कर्मभक्तले हजुरआमाको हात समातेर २८ वर्षको कथा
सुनायो । हजुरआमाको चाउरिएका गाला र आँखाका कोषवरपर रात छिचोल्दै
झरेकी उषामा जस्तै खुसीको रेखा देख्यो । कर्मभक्त पनि मनमनै हाँस्यो ।
त्यसपछि भोलिपल्ट बिहान बिरामी हलीबालाई भेट्न कर्मभक्त रास्कोटतिर
उकालो लाग्यो ।
२०७७ असार bishnu.nmd@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s