यार्सागुम्बा

यो कथा रचना साहित्यिक पत्रिकाको पुष–माघ २०७७ को पुर्णाङ्क १६८ मा छापिएको छ । यसलाई धन्यवाद सहित ब्लगमा साभार गरिएको हो । धन्यवाद रचना परिवार ।
कथा

विष्णुप्रसाद शर्मा पराजुली

२०६३ सालमा मुगुको मुगुम गाउँदेखि पूर्व डोल्पाको साल्दाङ, मुस्ताङको दामोदर कुण्ड हुँदै मनाङको नार र फु गाउँसम्म अत्यधिक हिमपात र हिमचितुवाको बिगबिगी नै भयो । त्यो वर्ष एक गाउँको किसानले अर्को गाउँको गोठालोलाई भनेको सुनेको आधारमा एक सय भेडा, सातवटा चौरी र दुईटा घोडा त हिमपहिरो र हिमचितुवाको आहारा बनेछन् । नाउर, हिमालयन थार, झारल त हिमचितुवाको मुख्य आहारा नै भइहाल्यो । पर्वतको महाराज हिमाल भएझैँ हिमाली भेगको जनावरको राजा हिमचितुवा हो । हिउँ नहुँदा हिमालयको सौन्दर्य शृङ्गारविहीन नारीजस्तो देखिएझैँ उच्च हिमाली क्षेत्रमा हिमचितुवा भएन भने हिमाली क्षेत्र नै बुच्चो देखिन्छ । त्यसैले यो जनावर हिमालको गहना हो । स्थानीयलाई जति दुःख दिए पनि उनीहरूले यसलाई देवताका रूपमा उच्च सम्मान प्रकट गर्छन् । पूजा गर्छन् ।


त्यही वर्ष माघको अन्तिम सातादेखि फागुनको एक गतेसम्म नेपालको पश्चिममा रहेको उच्च हिमाली क्षेत्र र हिमालयभन्दा उत्तरका उपत्यकामा उच्च हिमपात भयो । असोजमा परेको हिउँले माथिल्लो लेकमा चर्दै गरेका धेरै याक, चौरी र भेडा हिमपहिरोमा परेर मरेको धेरै भएको थिएन । त्यसबेला चार जना गोठालाको ज्यान गएको थियो । त्यो वर्ष मङ्सिरदेखि चैतसम्म नै हिउँ प¥यो । हिउँ परेपछि गहुँ, उवा, फापर आलु बढी उब्जनी हुने भए तापनि मानव र पशुको मृत्यु हुने भएकाले दुई–चार पाथी उवा बढी फल्दैमा त्यसको क्षतिपूर्ति हुन सक्दैनथ्यो । दक्षिणतिर साउन–भदौमा मनसुनी वर्षाले बाढीपहिरो ल्याएर जनधनको क्षति गराएझैँ हिमालमा बेमौसममा अत्यधिक हिउँ पर्दा हिउँपहिरो र कठ्याङ्ग्रिने चिसो सिरेटोले ठूलो क्षति भयो ।
चिसा दिन लामा भए । ढुङ्गै–ढुङ्गाको गाह्रो, माटोको चेप्टो छानो, र अलिकति उज्यालो मात्र छिर्ने झ्याल भएको घरमा गुइँठा धुँवारेर आगो ताप्दाताप्दै घर कुर्न बसेका हिमाली क्षेत्रका बुढाबा र आमाले अर्को जाडो देख्न पाएनन् । बुढा याक र चौरी पनि उभिँदाउभिँदै गर्लम्म ढले । हिउँदको समय हिमाली गाउँहरू अन्टार्कटिक महादेश जस्तै हुन पुग्छन् जहाँ ओहोरदोहोर हुनै सक्दैन । नातागोता को कहाँ कस्तो अवस्थामा छन् थाहा पाउन चैत–वैशाख नै कुर्नुपर्छ ।

‘त्यो वर्ष प्रकृति दुःखी भइन् त्यसैले मानव र पशुको बढी नोक्सानी भएको हो’ भन्ने कुरा सबै गाउँका बासिन्दा र गुम्बाका लामाबीच चलेको थियो । ‘कुन गाउँमा कसले धर्मविपरीत काम ग¥यो त्यसैले प्रकृतिदेवी रिसाइन्’ महिलाहरू धुपीसल्लाको धूप बाल्दै प्रकृतिलाई नरिसाउन विन्ती बिसाउँदै थिए । तीर्थ गर्न गएका लामाहरू चैतको अन्तिममा बल्ल गाउँ फर्के । माथिल्लो डोल्पाको साल्दाङ, नामगुङ, रोक्योका गाउँले पनि लामाको व्यग्र प्रतीक्षामा थिए । लामा गाउँ फर्केपछि दिन हेरेर सबै गाउँलेले प्रकृतिको पूजा गर्ने योजना गरेका थिए ।
डोल्पा साल्दाङनजिकै नागाउँ खोलाको किनारमा ‘रोक्यो’ नाम गरेको एउटा सानो गाउँ छ । गाउँभन्दा माथि एउटा अग्लो पहाड छ । त्यो पहाड कालो, फुस्रो, खैरो र रातो रङ भएको ढुङ्गा र गेगरबाट बनेको छ । त्यो पहाडको शिरमा पुर्खाले बनाएको चार हजार वर्ष पुरानो एउटा ठूलो चोर्तेन (स्तूप) रहेको छ । त्यो स्तूप भित्र चारजना बसेर पूजा गर्न र बत्ती बाल्न मिल्छ । त्यो स्तूप वोन्पो गुरु सेनरेवको जन्म हुनुभन्दा पहिलेदेखि त्यहाँ थियो भनेर पुर्खादेखि भनिँदै र मानिदै आएको छ । चोर्तेन परिक्रमाको साँघुरो मार्ग भने साल्दाङको गुम्बा बनाउँदा त्यहाँका गाउँलेले ढुङ्गा चिनेर बनाएका हुन् । हरेक वर्ष वैशाख पूर्णिमामा पूजा गर्नुपर्नेमा तीन वर्षदेखि त्यहाँ पूजा गरिएको थिएन ।


चैतको महिना थियो । माथिल्ला चुलीहरूमा हिउँ पग्लेर तल्लो किनारमा नागाउँ खोला बढ्न थालेको थियो । रोक्योका गाउँले ८४ वर्षका सोनाम वाङ्जु लामाको घरमा पूजाको बारेमा सल्लाह लिनका लागि जम्मा भएका थिए । उनी सबैभन्दा जेठा थिए । पूजाको बारेमा सल्लाह मागेपछि उनले गाउँलेलाई भने “यी पाखा र पखेरा हाम्रा आमाबाबु हुन् । आमाको काख र माया तथा बाबुको मार्गदर्शन यसै भूमिबाट लिने हो । भूमिसँगै खेल्ने, हुर्कने, हाँस्ने–रुने र सन्तान जन्माउने र मर्ने हो । हाम्रा सन्तान भनेको हाम्रो यही जन्मको अर्को रुप हो । अनि, अन्तिममा प्रकृतिमा नै हामी विलीन हुने हो । सन्तानले हाम्रो जीवनलाई अर्को जीवन दिएझैँ गरी अगाडि बढाउँछन् । हाम्रो धर्म नै त्यही हो । हेर बाबु हो, प्रकृति दुःखी भइन् भने असोचनीय प्रकोप हुन्छ । त्यसैले पुर्खाले हामीलाई प्रकृतिको पूजा गर्न सिकाएका हुन् । रोक्यो पहाडमाथिको चोर्तेन हाम्रो पुर्खाले बनाएको गुम्बा हो । तीन वर्षदेखि पूजा नगरेको मात्र हो र ? कुन घरले त्यहाँ गएर नयाँ लुङदार टाँग्यौँ ? लौ भन त । अनि प्रकृति दुःखी नभए को हुन्छ त ? प्रकृति दुःखी भइन् । हामीलाई दुःख प¥यो ।”


‘अब के गरौँ त बाजे ?’ साल्दाङको गुम्बामा अध्ययन गर्दै गरेका युवा सोनाम लामाले सोधे । घरधनी डोल्मा छिरिङ रोकायाले सबैलाई नुनचिया दिँदै स्वागत गरिन् । त्यहाँको परम्पराअनुसार सबैले एक–एक सुर्की पिएपछि उनले पटकपटक चिया थप्दै भर्दै गइन् । त्यसको केही बेरमा उनले सबैलाई छ्याङ दिइन् र त्यसरी नै थप्दै गइन् । सुरुमा सबैले पर्दैन–पर्दैन भने तापनि पछि धन्यवाद दिँदै छ्याङ् पिउँदै पूजाको बारेमा छलफलमा जुटे ।
“माथिको चोर्तेनमा पूजा गर्ने मात्र होइन । सबैभन्दा पहिले सरसफाइ र मर्मत गर । सोनाम तैँले दिन हेर । मिलेसम्म साल्दाङबाट मूल लामालाई एक दिनको लागि बोलाऊ । सबै भेला भएर हिउँ र पहाडसँग माफी माग्दै प्रकृतिको पूजा गर । हाम्रो गाउँमा हेर एकजना भाइ लेकमा नै म¥यो । कति भेडा मरे, कति याक र चौरी मरे; यस्तो विपद् प¥यो । सकेसम्म छिटो गरिहाल । बुद्धपूर्णिमा पनि आउँदैछ । त्यो दिन साइत हेर्नुपर्दैन” वाङ्जुले भने ।

चैतको अन्तिम सातादेखि दार्चुला, हुम्ला, मुगु, डोल्पा, मुस्ताङका गाउँमा चहलपहल सुरु हुन थाल्यो । केटाकेटी, गोठाला, भेडाच्याङ्ग्रा, चौरी र याक कल्याङमल्याङ गर्दै तल्लो लेकबाट माथितिर उक्लेका थिए । तिनीसँगै हिमाली काग, ढुकुर, मुनाल र भँगेराको चिरबिर पनि सुनिन थाल्यो । नाउर उनीहरू भन्दा माथि उक्ले । नाउरभन्दा अग्ला लेखमा हिउँचितुवा सर्दै उक्लँदै गए ।


एक सातामा नै सबैको घरमा वसन्त ऋतुमा पुराना पात झरेर नयाँ पालुवा आएझैँ खुसियाली आयो । त्यसबेला घरका लुगाफाटो, भाँडाकुँडा, आँगन र मझेरी, बारीका सुर्का सबै खुसीमा रम्न थाले । गाउँलेको घरमा ल्होसार पर्वमा रमाइलो भएजस्तै खेतीपाती लगाउने बेलामा खुसियाली छाएको थियो । सबैले नुनचिया र छ्याङ पिउँदै काममा तल्लीन भए, असारमा औलमा किसान व्यस्त भएझैँ । प्रकृति र मानिस, जीवन र मृत्युजस्तै एकअर्कामा सत्य भएर रहेका छन् । प्रकृतिमा बैँस फक्रँदा मानिसमा पनि चञ्चलेपन देखिन्छ । चिसो छल्न आफ्ना प्रायः सबै सदस्य र पशुसहित बेँसी झरेका गाउँले चैतको अन्तदेखि उकालो लागेर घर फर्कन थालेको हुनाले हिमाली गाउँमा महाभारतका शृङ्खलाका भिराला पखेरामा वसन्त झरेझँै खुसियाली आँगनमा झरेको थियो ।


हिउँ जमेर ओसिएका फुस्रा पाखामा पाइने गेरु, कमेरो, पहेँलो, फुस्रो माटोले लिपेर गुम्बा, चोर्तेन, स्तूप र कानीचोर्तेन चिटिक्क पारिए । मरेका आफन्तको बाँकी संस्कार सम्पन्न भयो । मर्ने मरेर गए पनि बाँच्ने मर्नेसँग जानुहुँदैन । जान सकिँदैन । असह्य पीडा हुन्छ । पीडामा धरती पनि त रुन्छिन् । समयले त्यो पीडालाई हिमाली जडीबुटीले घाउमा माम्री बनाएर सञ्चो बनाइदिएझैँ आफन्तको मृत्युको पीडालाई पुरिदिन्छ । कानी चोर्तेनको दलिनको मण्डला भित्तेचित्रमा देखाइएजस्तै जीवनचक्र चलिरहन्छ । त्यो चक्र मानवले थाहा पाउने, सम्झने, आफन्त भन्ने, नाता र कुटुम्ब जोड्न जान्ने भएदेखि घुमिरहेको छ । प्रकृतिमा एउटा पूmल फुलेर त्यो पूmल सुकेर झर्नेबेलासम्म त्यसको जराबाट नयाँ टुसा पलाएझैँ मानिसका पनि सन्तान जन्मन्छन्, तीनले वंश वृक्ष धान्छन् । पूmलको बिउ रहेझँै मानवको सन्तानको रूपमा मानव वंश रहन्छ । ती सन्तानले मानव जातिलाई जोगाइरहेका हुन्छन् । सत्यता त्यही नै हो ।


रोक्योमा पनि सबै गाउँले मिलेर चोर्तेन मर्मत गरी नजिकको पहाडबाट गेरु र कमेरो ल्याएर लिपे । चोर्तेनसहित वरपरका पहाडमा पनि लुङ्दार टाँगे । चोर्तेन मर्मत गरेपछि रोक्योका गाउँलेले त्यही मौका पारेर घरआँगनको सरसफाइ गरे, आ–आफ्नो घरमा लुङदार टाँगे । सबैले छ्याङ र रक्सी पारेर मिठोमिठो खानेकुरा तयार पारे । बुद्धपूर्णिमाभन्दा पहिले नै गाउँमा पूजा परेको हुनाले सबैले तयारी गरेका थिए । त्यसैकारणले गाउँको रूप पनि सुन्दर देखियो । मध्ये पहाडमा दशैँमा केटाकेटी, बुढाबुढी सबैका अनुहारमा खुसियाली छाएझैँ त्यहाँ खुशियाली हिमालको पखेराबाट ओर्लेर रोक्योको आँगनमा झरेको थियो ।


सोनामले साल्दाङबाट लामालाई लिएर आए । २०६४ साल वैशाखको पहिलो सातामा दिनभर गाउँलेले पूजा गरे । आकाश, हावा, पानी, आगो, पहाड, हिमाल, हिउँ, वन, खोला, पशुपक्षी, जडीबुटी, जनावर सबैलाई सम्झँदै धूपबत्ती बाल्दै, पूजा गर्दै लामाले मन्त्रोच्चारण गर्दै भने “प्रकृतिमाता हाम्रो गल्तीमा क्षमा पाऊँ । तिमी आमा हौँ । तिमी पिता हाँै । तिमी आफ्नो ठाउँमा बस । हामी हाम्रो ठाउँमा बस्छौँ । बिगार्ने हामी मानव हौँ । अब सुधार्छौँ । समयमा हिउँ परोस् । अति हिमपात नहोस् । हाम्रा सन्तानलाई दुःख नहोस् । पितृ आफ्नो ठाउँमा बसून् । नदी निरन्तर बगिरहून् । घाम लागिरहोस् । खेतीपाती राम्रो होस् । पशुको सङ्ख्या बढोस् ।”
डोल्मा छिरिङ रोकायाको परिवारले पनि चोर्तेन र घर दुवै ठाउँमा मन लगाएर पूजा गरे । पूजाको बेला उनका पति ग्याचो रोकाया र छोरा ल्हाक्पा रोकाया पनि घरमा आएका थिए । सबै मिलेर पूजा गरेको र ज्वाइँ र नाति पनि घरमा आएको हुनाले बाजे सोनाम वाङ्जु खुसी देखिन्थे । याक, चौरी र भेडा तल्लो लेकबाट रोक्योमा ल्याइसकेका थिए । दुई साता वरपरका लेकमा चराएर माथिल्लो याकखर्कतिर लैजाने सोच सबै गाउँलेको थियो । सोनाम वाङ्जुका छोरा नभएको हुनाले ग्याचो माइतमा नै घरजम गरी बसेका थिए ।

“यसपटक हिउँ धेरै प¥यो । किगु लेकतिर कीरा (यार्सागुम्बा) राम्रो उम्रन्छ । जेठको आधातिर छोरालाई भेडा त्यतैतिर लैजा भनौँ । हामी दुवैजना मिलेर यसपटक यार्सागुम्बा खोजौँ । अब उमेर ढल्कन थाल्यो । आगामी हिउँदमा बौद्धनाथ, स्वयम्भूनाथ र लुम्बिनी तीर्थ गर्न जान मन लागेको छ ।” पिता वाङ्जु, लोग्ने ग्याचो, छोरा ल्हाक्पा र आपूmलाई छ्याङ थप्दै डोल्माले भनिन् ।
“जानुपर्छ एकपटक । म छँदै जाओ । म घर हेर्छु ।” बाजे वाङ्जुले थपे ।
“हुन्छ नि त । कीरा राम्रै भेट्यो भने खर्चको पनि दुःख हुँदैन ।” ग्याचोले छ्याङ पिएर गिलास भुईंमा राख्दै भने ।
“चौरी र भेडाको पीर मान्नुपर्दैन । यार्सागुम्बा र पोहोर सालको जडीबुटीले खर्च पुग्छ । नपुगे दशैँमा भेडा बेचेर तिरौँला । अलिकता पैसा सापटी लिएर भए पनि आमालाई लिएर जाऊ ।” छोरा ल्हाक्पाले आमालाई समर्थन गर्दै बाबुलाई भन्यो ।
रोक्यो साल्दाङ छेउको छ–सात परिवार मात्र बस्ने सानो गाउँ हो । चारैतिर अग्ला फुस्रा पहाडले घेरिएको रोक्यो नागाउँ खोलाको किनारमा रहेको छ । त्यो वृक्षविहीन क्षेत्र हो । त्यहाँ चार फुटसम्म अग्ला काँडाका झाङबाहेक अरू केही हुँदैन । त्यहाँ खेती गर्ने जग्गा कम छ । बारीमा फल्ने उवाले मुस्किलले चार महिना पुग्छ । यार्सागुम्बा, जडीबुटीले चार महिना धान्यो भने बाँकी चार महिना भेडा बेचेर खर्चको जोहो गर्ने गर्छन् यहाँका बासिन्दाले । खेती र यार्सागुम्बा राम्रो नभएको बेला वल्लोपल्लो गाउँमा काम गरेर गर्जो टार्ने गरेका छन् । डोल्माको परिवार पनि त्यस्तै हो । त्यसैले उनले हरेक वर्ष काठमाडौँ र लुम्बिनी जाने योजना गरे तापनि त्यो पूरा भएको थिएन ।


“जेठमा यार्सागुम्बा टिप्न किगुलेक जानको लागि तिमीले पाल मर्मत गर । साल्दाङ गएर चाउचाउ र पिठो लिएर आऊ । मैले खाने कुराको जोहो गर्छु । बर्खापछिको हिउँदमा जाडो पनि छल्ने र सोही मौकामा काठमाडौँमा जडीबुटी र यार्सागुम्बा बेचौँला र तीर्थ पनि गरौँला । त्यसपछि पनौति र लुम्बिनी पुगेर फर्कौँला । बुद्धपूर्णिमाको साँझ मिठोमिठो खानेकुरा र छ्याङ पिउँदै डोल्माले लोग्ने ग्याचोलाई भनिन् । बाहिर पूर्णिमाको उज्यालोमा नागाउँ नुनेखोलाको पानी टलटल टल्केको थियो ।


उवा फापर छरेपछि छोरा ल्हाक्पा रोकाया अरू दुई साथीसँग गाउँका याक, चौरी र भेडा लिएर लेकतिर लाग्यो । लेक जाने काम पालैपालो गर्ने गर्छन् । त्यसो गर्दा घर रित्तो पनि हुँदैन, लेकको काम पनि रोकिदैन ।
तीनजनाको लागि पुग्ने पाल, तीन साताको लागि खाना, छ्याङ, भाँडाकुँडा सबै तयार गरेर दुवैजना अरू गाउँलेसहित किगुलेकतिर लागे । त्यो वर्ष साँच्चिकै अन्य वर्षको तुलनामा यार्सागुम्बा राम्रै उम्रेको रहेछ । पन्ध्र दिनसम्ममा डोल्माले १००, ल्हाक्पाले १३० र ग्याचोले २०० कीरा जम्मा गरे ।
“यति भएपछि पुग्छ भोलि घर फर्कौँ । घरमा बुढाबा पनि एक्लै छन्” डोल्माले बाबु र छोरासँगै भएको बेला भनिन् ।
“हुन्छ । जानू ।” मैले भेट्यो भने ल्याउँला भन्दै छोराले समर्थन ग¥यो ।
“म हिजो गएको ठाउँमा अलि बाक्लो भेटेको छु । भोलि त्यति टिपेर ल्याउँछु, अनि पर्सि जाउँला ।” ग्याचोले भने । त्यसपछि अरू कसैले केही भनेनन् ।
“भीरतिर नजाऊ है । अनि उज्यालोमै फर्क । अँध्यारो नपार नि ।” डोल्माले जानेबेलामा पतिलाई सम्झाइन् । “हुन्छ” भन्दै ग्याचो लेकतिर उकालो लागे । त्यसबेलासम्म गाउँका सबै लेकमा नै थिए कोही घर फर्केका थिएनन् ।
त्यो दिन डोल्मा लेक गइनन् । सामान सफा गर्दै पट्याएर एक ठाउँमा राखिन् । अपरान्हपछि मौसम एकाएक खराब भयो । बाक्लो हुस्सु लाग्यो । चार–पाँच फिट टाढा पनि देखिएन । डोल्माको मन अनायासै अत्तालिन थाल्यो । अत्तालिनु र पिरोलिनुबाहेक त्यहाँ अरू केही उपाय पनि थिएन । त्यहाँ न त फोन थियो न त नजिक कोही मानिस नै । घाम अस्ताउने बेलासम्म नै मौसममा सुधार भएन । उल्टै हिउँ पर्न थाल्यो ।
“आमा, बाबा खोइ त ?” रिमरिम दिनको उज्यालो छँदै ल्हाक्पा चिसोले कठ्याङ्ग्रिँदै पालभित्र छि¥यो ।
“बाबासँगै आउँछ होला भनेको त एक्लै पो आएछ । खोइ त बाबा ? बाबा त आएकै छैनन् नि । बाबा कतै अप्ठेरोमा त परेनन्, मलाई बिहानैदेखि डर लागेको छ ।” डोल्माले भनिन् ।


झमक्कै साँझ प¥यो । ग्याचो आएनन् । टर्च बाल्दै दुवै आमाछोरा गाउँलेका पालमा ग्याचोको खबर बुझ्न गए । सबैका परिवार पालमा जम्मा भइसकेका थिए । ग्याचो मात्र आएका थिएनन् । कुहिरो नलाग्दासम्म वल्लो पाखाबाट पल्लो पाखामा ग्याचोलाई देखेको एकजना छिमेकीले बताए । त्यो पाखामा पुग्न एउटा ठाडो भीर चढ्नुपर्ने भएकाले त्यहाँ अरू गाउँले गएका थिएनन् ।

राति ११ बजे बल्ल डोल्मा र उनको छोरा आफ्नो पालमा फर्के । “हामी उसलाई खोज्न जाँदा कतै बाबा हाम्रो पालमा आइपुग्यो कि ?” डोल्माको मनमा त्यस्तै कुरा खेलेको थियो तर ग्याचो आएका थिएनन् । त्यो रात आमाछोराले खाना पनि खाएनन् र सुत्दा पनि सुतेनन् । कतैबाट आइहाल्छ कि भन्दै कुरेर बसे । बिहानीपख हिमाली भँगेरा चिरबिर गर्न थालेको बेला झपक्क आधा घण्टा निदाएछन् ।


भोलिपल्ट लोग्नेमानिसहरू सबै मिलेर ग्याचो गएको लेकमा गए । ग्याचो वरपर कतै थिएनन् । एकजना गाउँलेले ग्याचोको थरमसको बिर्को, टोपी र खाजा बोकेको झोला अग्लो भीरको काँडाको झाङमा अड्केको देखे । ‘यी यहाँ रगतको टाटो रहेछ’ ढुङ्गामा लागेको रगत देखाउँदै अर्कोले भन्यो । भीर अग्लो थियो र भीरको फेदमा अर्को बाटो भएर जानुपर्दथ्यो । गाउँलेले अनुमान गरे कि ग्याचो भीरबाट लडेछन् । त्यो दिन त्यसबाहेक अरू केही खबर पाइएन ।
सबैका पालमा रुवाबासी हुन थाल्यो । डोल्मा अघिल्लो साँझदेखि नै अलापविलाप गरेकी थिइन् ।

“मैले त घर जाऊँ भनेकी थिएँ । ‘आज एक दिन मात्र जान्छु’ भन्यो । मलाई एक्लो पार्न त्यसो भनेको रहेछ । हे भगवान् तिमीले मलाई कति अन्याय गर्छाैँ । यसपटक तीर्थ गर्न जाने भनेकै थियौँ । हाम्रो प्रार्थना किन सुनेनौँ ।” भन्दै लेक नै थर्कने गरेर रुन थालिन् ।
“धेरै न रो बिमार लाग्छा । भगवान्लाई साम्झी केही भएको छैना होला । आज सबै गएर लिएर आउँछा ।” गाउँका आफन्तले दिनभर सम्झाउँदै भने ।
घटनापछि यार्सागुम्बा खोज्ने काम अरू गाउँलेले पनि छोडे । अर्को दिन बिहानै भीरको पूर्वतिरको पखेरोभन्दा माथि दुईटा गिद्धले दुई चक्कर लगाएर द्योतरापतिरको लेक नाघे । त्यसपछि भने गाउँले डराउन थालेका थिए । आपूmसँग भएको डोरी, खुकुरी सबै बोकेर गाउँले त्यो भीरको पूर्वी पखेरातिर गए । दिउँसो बाह्र बजेतिर एकजनाले ‘उ… त्यो पहरोको चेपमा हेर त त्यहाँ खँदारिएको ग्याचो काका नै होइन त ?’ भन्यो ।


ठाउँ अप्ठेरो भएकाले सबैले पालैपालो हेरे । उसको टाउको शरीरमुनि चेपिएको थियो । मानिस उभिन मिल्ने ठाउँभन्दा करिब चालीस फिट तल ग्याचोको टाउको ढुङ्गाको चेपमा कोचिएको थियो । माथिबाट बल्ड्याङ खाँदै भीरबाट एकैचोटि चालीस फिट तल बजारिएको र टाउको उँधो चेपिएको हुनाले प्राण हुने कुरामा गाउँलेले शङ्का गरे । सबै डोरी जम्मा गरेर गाँठो पारे । डोरीलाई भीर नजिकैको एउटा चुच्चो परेको ढुङ्गामा बाँधे । छोरा ल्हाक्पा र ल्हाक्पाको साथी फुर्वा बैजी दुईजना पालैपालो गरी डोरीमा झुण्डिएर तल झरे ।


“पूरै आइस भएको छ । केको प्राण हुनु” बैजीले भन्यो । ग्याचोको प्राणपखेरु पहिलो रातमा नै उडिसकेको थियो । अघिल्लो साँझको हिउँले चिसो भएर जमेको हुनाले ग्याचोको लास तान्न ती दुईलाई धेरै कठिन भयो । आधा घण्टा लगाएर बडो कठिनसाथ लासलाई चेपबाट बाहिर निकाले । चेपबाहेक त्यहाँ राम्रोसँग उभिन मिल्ने ठाउँ पनि थिएन । लासलाई डोरीले बाँधे र गाउँलेलाई तान्न भने । गाउँलेले तानेर माथि राखे । त्यसपछि पालैपालो पहिले बैजी अनि छोरा ल्हाक्पालाई माथि ताने । सबैले ग्याचोको लास बोकेर पाल भएको ठाउँमा लगे । लासलाई देख्नासाथ डोल्मा मूर्छा परिन् । दुई रातदेखि उनले खाना खाएकी थिइनन् र सुतेकी पनि थिइनन् ।
एकजना केही पहिले गएर लामालाई खबर गरे । सबै मिलेर ग्याचोलाई गाउँको दाहसंस्कार गर्ने ठाउँमा नै लगेर दाहसंस्कार गरे । करिव आठ–आठ फिट जति लामा पखेटा भएको गिद्धको राजाले साल्दाङ उपत्यकामा दुई चक्कर लगायो । त्यसको केहीबेर पछि अन्य गिद्धहरू पनि देखिए ।
वर्षभर नै दुःखद घटना डोल्मालाई मात्र परे । वृद्ध बाबुबाहेक डोल्माको आफ्नो भन्ने कोही थिएनन् । मानिसलाई जे जस्तो भवितव्य परे पनि कालले निम्ता नदिएसम्म बाँच्नुपर्दो रहेछ ।
डोल्मा एक दिन डोकोमा गुइँठा र काँडाका सुकेका झिँजा बटुल्दै नागाउँ खोलाको माथिल्लो किनारमा पुगिन् । डोको भित्तामा अड्याएर खोलाको तीरमा ढुङ्गामाथि टुसुक्क बसिन् । पारिको पखेरामा नाउर चर्दै थिए । साना भँगेरा चिरबिर गर्दै यताउता उड्दै थिए । नाउर चर्दै गरेको पखेरातिर हेर्दै एक्लै विलौना गर्दै डोल्माले भनिन् “आमा मैले के विराम गरेँ र ? मलाई यति दुःख दियौँ । छोराको बाबुलाई त लग्यौँ लग्यौँ मेरो सहारा, मेरो आधार, मेरो भविष्य मेरो छोरालाई पनि किन लग्यौँ ? छोरालाई लैजानभन्दा त मलाई लगेको भए हुन्थेन ?” झमक्क साँझ परुञ्जेल खोलाको किनारमा रुँदै बसिन् । गाउँतिरबाट कुकुर भुकेको सुनेपछि मात्र जुरुक्क उठिन् । डोको बोकेर घरतिर लागिन् ।
बाटोमा हिँड्दै गर्दा उनले छोरालाई सम्झिन् । बाबु भीरबाट खसेकै वर्ष छोरा ल्हाक्पा र फुर्वा बैजी भएर दशैँको बेलामा भेडा बिक्री गर्न जोमसोम गएका थिए । छोरासँगै गएको साथी एक्लै घर आएको देख्दा उनले झस्कँदै सोधेकी थिइन् । ‘ल्हाक्पा खै त फुर्वा ?’


आँखाभरि आँसु पार्दै बैजीले भनेको थियो “आमा हामी भेडा लिएर जाँदै थियौँ । छार्कादेखि तीन दिन हिँडेर मुस्ताङको साङ्ता पुग्नुभन्दा अघिल्लो रात हिउँ प¥यो । हामी ओडारमा थियौँ । भोलिपल्ट उठेर विस्तारै अघि बढ्यौँ । आलो हिउँ दुई फिट जति थियो । चारवटा भेडा हिउँपहिरोमा परेर मरे । अरू भेडालाई बचाउन खोज्दा ल्हाक्पा पनि हिउँको पहिरोमा प¥यो । आमा म डरलाग्दो विपदमा परेँ ।”
आँसु पुछ्दै बैजीले भन्यो “तीन घण्टा लगाएर खोजेँ । एउटा भेडा र उसलाई भेटेँ । त्यसबेला भेडा र ल्हाक्पा दुवैको ज्यान गइसकेको थियो । मैले भेडाको बथानलाई साङ्ताको पाखामा पु¥याए । त्यहाँ गाउँलेसँग सल्लाह गरेर लामालाई राखेर त्यही दाहसंस्कार गरेँ । पाँच दिनसम्म म साङ्ता नै बसेँ छार्कातिर जाने कोही भेटिनँ । खबर गर्न पनि पाइनँ । त्यसपछि भेडा बेच्दै बेनीसम्म पुगेँ । त्यहाँबाट जाजरकोटसम्म ट्रकमा गएँ । त्यसपछि भेरीको किनार हुँदै दुनै पुगेँ ।”
डोल्माले दिएको चिया पियो । फेरि आँसु पुछ्दै फुर्वा बैजीले भन्यो “ल्हाक्पा त मेरो साथी मात्र कहाँ हो र आमा ऊ त मेरो हृदयको टुक्रा हो । उसको सम्झनामा से–गुम्बा पुगेर बत्ती बालेँ । त्यसपछि म सरासर मेरो घरमा नपसीकन सिधै यहाँ आएको हुँ ।” नून, चियापत्ति, औषधी, केही कपडा आमाको हातमा राखिदियो । ‘दाहसंस्कारमा लागेको खर्च मैले गरेको हुँ । नून, चियापत्ति, औषधी, कपडा भेडा बिक्री गरेको पैसाले किनेको हुँ । बाँकी पैसा यहीँ छ’ भन्दै भेडा बेचेर रहेको बाँकी पैसा ल्हाक्पाकी आमाको हातमा राखिदियो । त्यसबेला ऊ तीन दिन आमासँगै बसेको थियो । छोराको दुर्घटना सम्झँदासम्झँदै घर पुगेको चालै पाइनन् डोल्माले । मनमनै छोरालाई समेत सधैँको लागि बिदा गरेर पनि बाँच्नुपर्ने रहेछ भन्दै गुइँठाको डोको घरबाहिर राखिन् र आपूm भित्र पसिन् ।
ह ह ह
पति मरेको एक वर्ष र छोरा मरेको नौ महिना भएको थियो । असारको महिना थियो । एक गोधूली साँझमा नाउरहरू पहराको चेपतिर उक्लँदै थिए । अस्ताउँदो सूर्यको किरणले वरपरका पहाडमा रहेका हिउँले ढाकिएका पर्वतमालाको छाती सुवर्णमय देखिएको थियो । रोक्यो गाउँका गर्गरे ढुङ्गे पखेरा पनि अस्ताउँदो सूर्यको प्रकाशमा मधुरो रूपमा पहँेलपुर बनेका थिए । अस्ताउँदो सूर्यलाई मुस्काउन मन लागेको हुनाले त्यो दिन चञ्चलासुन्दरी बादल पश्चिममा अपी हिमाललाई नाघेर नेपालका पुर्खा पुगेको ठाउँ सतलजको किनारतिर पुगेकी थिइन् ।
उनले दिनभर गुइँठा खोज्दा लागेको हातको गोबर नागाउँको नुने खोलामा गएर पखालिन् । फलामको एक मुखे चुलोमा गुइँठा हालिन्, सुकेको घाँस सलाइले बालिन् र चुलोको तलबाट भित्र छिराइदिइन् । माथिबाट पनि सुकेको घाँस थपिन् र बन्द गरिदिइन् । पुत्ताउन थालेपछि पुरानो कुच्चिएको कालो कित्लीमा पानी बसालिन् र गोठतिर जान बाहिर निस्किन् । त्यसैबेला एकजना अधबैँसे पुरुष उनको घरतिर आउँदै गरेको देखिन् ।
पुरुषले नमस्ते ग¥यो । डोल्माले ‘नमस्ते’ फर्काउँदै ‘मैले चिनिनँ नि’ भनिन् । ‘म कर्मा छिरिङ लामा हुँ । मेरो गाउँ नामगुङ हो । कामले साल्दाङ आएको थिएँ । मेरो घोडा यतैतिर आएको छ भन्ने खबर पाएर खोज्दै हिँडेको हुँ । आज यतै बास बस्न प¥यो । राति नै उठेर लेकतिर जान्छु ।’ त्यो पुरुषले आफ्नो सामान्य जानकारी दिँदै डोल्मासँग त्यो रातको लागि बास माग्यो ।
उनले ‘हुन्छ’ भन्दै उसलाई भित्र बाबुसँग गफ गर्दै गर्न भन्दै कपमा चिया राखिदिइन् । थप्दै खान भन्दै थरमस अगाडि राखेर गोठमा गइन् । बेलुका खाना खाएर सुते । त्यो मानिस राति नै उठेर घोडा खोज्न लेकतिर गयो । त्यो साँझ पनि रित्तै फक्र्यो । त्यही नै पाहुना भएर बस्यो । भोलिपल्ट भने ऊ घाम नअस्ताउँदै खुसी हुँदै घोडा लिएर फक्र्यो ।
त्यो दिन डोल्माले छ्याङ् राखिदिइन् । त्यसबेला उनले आफ्नो पति र छोरा बितेको सबै घटना आँखाबाट बलिन्धारा बर्साउँदै बताएकी थिइन् । गफ गर्दागर्दै झमक्कै साँझ प¥यो । तेस्रो रात पनि ऊ त्यहीँ घरमा बास बस्यो । त्यो रात किनकिन डोल्माले उसलाई अलि बढी सत्कार गरिन् । उनले आफनो घरमा दुई वर्षपहिले बनाएको रक्सी झिकेर बाबा र पाहुनालाई दिँदै ‘पुरानो रक्सी हो । तीर्थ गर्न जाने बेला बाटोमा खाउँला भनेर रोखेकी थिएँ । बाबुछोरा दुवैले एक्लो पारेर गइहाले । आज बल्ल झिकेको हो । मिठो छ, खाऊ ।’ भनिन् । त्यसैबेला भेडाको सुकुटी पानीमा उमालेर चौरीको नौनी घिउमा मज्जाले भुटिन् । भेडाको चाम्रो सुकुटी चबाउँदै उनीहरू लामो समय दुःखसुखका कुरा गरे ।
रक्सी पिउँदै कर्मा छिरिङले पनि परिवारको बारेमा भन्यो “तीन वर्ष पहिले बच्चा जन्माउन नसकेर मेरी श्रीमतीले मलाई छोडेर गइन् । नामगुङ रोक्योभन्दा झन् सानो र रुखो छ । खेतीले दुई महिनालाई पनि खान पुग्दैन । त्यसैले हामीले भेडा पाल्छौँ ।” भोलिपल्ट कर्मा बिदा भएर घोडा चढेर साल्दाङतिर लाग्यो । डोल्मा बारीमा पसिन् .


त्यसको आठ महिनापछि फागुनमा कर्मा फेरि रोक्योमा देखाप¥यो । ऊ सरासर डोल्माको घर गयो । त्यसबेला चारैतिर हिउँ नै हिउँ थियो । गाउँका मानिस तीर्थ गर्न र जाडो छल्न गएर फर्केका थिएनन् । रोक्योमा पनि औधी चिसो थियो । नागाउँ खोलामा पूरै आइस जमेको थियो । आइसमुनिबाट कुलुलु गर्दै पानी बगेको देखिन्थ्यो । सोनामले कम्बल ओढेर चुलोनजिकैको बिस्तारामा बस्दै छ्याङ पिउँदै थिए । डोल्माले कर्मालाई पनि चियासँगै अर्को कपमा छ्याङ राखिदिइन् र आलु काट्न थालिन् । कुकरमा भात पाकिसकेको थियो । पन्ध्र वर्ग स्क्वायर फिटको त्यो घरमा झ्यालको नाममा एउटा सानो प्वाल थियो । हिउँदको बेला चिसोबाट बाँच्न पुरानो कपडा कोचेर त्यही झ्याल पनि बन्द गरिएको थियो ।

खाना खाएपछि छ्याङ पिउँदै कर्माले डोल्मालाई “मसँग तीन सय भेडा छन् । मेरो सम्पत्ति त्यत्ति हो । घर यस्तै सानो छ । म एक्लै छु । पोहोर साल यहाँ बास बसेदेखि मेरो घरमा बस्न मन लागेन । तिमीलाई आपत्ति पर्दैन भने म एउटा कुरा भन्न आएको हुँ । भनौँ ?” भन्दै अनुमति माग्यो ।
“के कुरा हो, भन न । किन सोध्नुप¥यो र ?” डोल्माले भनिन् ।


“तिमीले स्वीकार गछ्र्याै भने म तिमीलाई बिहे गर्न चाहन्छु । मेरो पनि अरू कोही छैन । एउटा छोरा छ, त्यो गुम्बामा बस्छ । एक्लो जिन्दगी समय नै बित्दो रहेनछ । मैले कमाएको धन सम्हाल्न पनि सकिनँ । मैले त हिउँद, वसन्त, बर्खा जहिलेसुकै उजाड मात्र देख्न थालेँ । म काम गर्न सक्छु । मलाई तिम्रो साथ र तिमीलाई मेरो साथ हुन्छ । आडभरोसा हुन्छ । कसैलाई मार्न, काट्न, दुःख दिन पो हुँदैन । एकअर्कालाई प्रेम गर्नु, एकअर्कालाई सहयोग गर्नु त हाम्रो धर्म हो ।” उसले भन्यो ।
“विवाह !” आश्चर्य मान्दै डोल्माले भनिन् “के भनेको तिमीले ? म त तीन बीस दुई वर्षकी भइसकेँ । तिमी उमेरको मानिस । अब के बिहे गर्ने ! तिमी मभन्दा धेरै सानो छौ ।”
“औलको जस्तो हिमालमा हुँदैन । डोल्मा तेरो सानीआमाले पनि तीनैजना सानोबाबाहरु मरेपछि गाउँको टाढाको देवर पर्नेसँग बिहे गरेर घर राम्रो हेरेकी थिइन् । म मरेपछि तँ एक्ली हुन्छेस् । कर्माको बानीव्यहोरा र प्रस्ताव मलाई राम्रो लागेको छ । दश–बाह्र वर्षले त तेरो उमेर बढि होला ? उमेरले केही हुँदैन ।” डोल्माका पिता सोनामले आफ्नो सुझाव राख्दै भने ।
“तिमी म भन्दा सानो छौ । जिद्दी नगर । मेरो जीवन त दुःखको हिउँको थुप्रो हो मलाई त्यसैमा कठ्याङ्ग्रिन देऊ ।” डोल्माले आँखाभरि आँसु पार्दै भनिन् ।


“हेर डोल्मा लोग्नेस्वास्नीको मायामोह र सहयोग बच्चा पाउनको लागि मात्र होइन । हाम्रो धर्ममा पुनर्जन्मको कुरा गरे पनि पुनर्जन्मको लागि भनेर यो जन्ममा दुःख गरेर केही फाइदा हुँदैन । न त कसैले पूर्वजन्म देख्यो न त कसैले पुनर्जन्म नै । कसैलाई दुःख नदिईकन यो जीवनमा नै सुख काटेर मोक्ष प्राप्ति गर्नु नै उत्तम धर्म हो । भगवान् र हामी त्यसैमा खुसी र सुखी हुन सक्छौँ । हामी दुई एक भयौँ भने हामी दुवैलाई बाचुञ्जेल दुःख हुँदैन । म तिमीभन्दा दश वर्ष सानो छु । मेरो कुरालाई स्वीकार गर, हामी दुवैलाई सुख हुन्छ । तिम्रो दुःखको घाउ पनि सञ्चो हुन्छ । त्यसैको लागि मात्र म यहाँ आएको हुँ ।” सहरबजार घुमेर, लेकबेसी गरेर आर्जन गरेको अनुभव सुनाउँदै कर्माले आफ्नो कुरा प्रष्टसँग राख्यो र छ्याङ तनक्क पियो ।


गाउँका छिमेकी भेला भइसकेका थिए । डोल्मा र कर्माको कुरा सुनेपछि उनीहरू सबै खुसी भए । उनीहरू सँगै बस्न थाले । त्यो वर्ष राम्रो हिउँ प¥यो । उवा र आलु साँच्चिकै राम्रो फल्यो । प्रकृति माता हाँसेजस्तो लाग्यो । त्यो वर्ष दुईटा भेडाका ठूला पाठालाई हिमचितुवाले खाइदिएबाहेक अरू नोक्सान केही भएन । कर्मा मिहिनेति र इमान्दार हुनुका साथै बलियो थियो । हिउँ बाक्लो परेकाले त्यो वर्ष पनि यार्सागुम्बा राम्रोसँग टुसाएको थियो । दुवै जनाले खोजेको यार्सागुम्बा उनीहरू एक्लैले तिब्बतमा लगेर बेचे । त्यताबाट फर्कँदा कम्बल, दुध, चिनी, चामल, पिठो, साबुन, सोलार बत्ती, सबै लिएर आए ।


त्यो वर्ष राम्रै आम्दानी भयो । डोल्माको दुई बीस पुरानो रहर पूरा गर्न दुवैजना भएर काठमाडौँ र लुम्बिनीको तीर्थ गरे । डोल्माको सधँैभरि हिउँले खाएर बुढो सल्लाको बोक्राजस्तो देखिने अनुहार हिमाली पखेरामा फक्रेको गुलाबी रङको लालीगुराँसजस्तो चम्किलो भएर फक्रेको थियो । पखेराका काँडाले कोतरेर जिङ्ग्रिङ पर्ने उनको केश भेरी किनारमा लर्केको सालिमको खरजस्तै लरक्क लर्केको थियो । ‘‘आनन्द भयो भने त्यसको असर शरीरका नसा–नसामा पनि पर्दोरहेछ’’ गाउँलेले डोल्मालाई भन्न थालेका थिए ।
तीर्थबाट फर्केपछि घर र रोक्योको चोर्तेन सफा गरेर पूजा गरे । “आज काठमाडौँ र लुम्बिनीको प्रसाद खान साँझ घर आउनु है ।” गाउँका सबै छिमेकीलाई डोल्माले निम्ता गरिन् । त्यो रात अबेरसम्म छ्याङ पिउँदै रमाइलो गर्दै सबैले नाचगान गरे ।
घरको छानोमा रहेको सानो चोर्तेनमा गाडेको नयाँ झण्डा एकनासले फरफराइरहेको थियो । ती दुई जोडीको मुस्कान पूर्णिमाको मुस्कानजस्तै पूर्ण देखिएको थियो । त्यो मुस्कानले रोक्यो मात्र होइन साल्दाङ उपत्यका नै हँसिलो भएको थियो ।
जेठ १५, २०७७ , bishnu.nmdc@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s