जिन पाइन्टको रहर

विधाकेन्द्रित साहित्यिक पत्रिका वैजयन्तीको संस्मरण अङ्क –६, पूर्णाङ्क –७०, कात्तिक–मङ्सिर २०७७
धन्यवाद सहित साभार
संस्मरण–मिजौराम, भारत विशेष

 


यो प्रसङ्ग पूर्वोत्तर भारतमा पर्ने ऐजल मिजौरामको हो । जीवनको प्रारम्भिक, उर्वर, उत्साहपूर्ण, महत्वाकाङ्क्षी एवम् महŒवपूर्ण गोरेटोको रेखाङ्कन गर्ने सुनौलो समय मैले त्यहाँ बिताएँ । म त्यसमा अत्यन्त खुसी छु । मलाई सुख, दुःखमा अभिभावकत्व प्रदान गर्ने दाइ, दिदी र कलेजको प्रारम्भिक चरणको युवावस्थामा सँगसँगै वनभोजमा नाच्ने, देउसीभैलोमा रमाइलो गर्ने, खेल्ने दाँैतरीहरूलाई दुई बीसपछि सम्झँदा एकाएक भावुक पनि बन्न पुग्छु । बाल्यकालपछिको सबैभन्दा रमाइलो क्षण कलेजको नै हुँदोरहेछ चाहे त्यो सम्पन्नता वा विपन्नता जस्तोसुकै अवस्थाबाट गुज्रेको किन नहोस् ।
नेपालको गण्डकी प्रदेश जति क्षेत्रफल ओगटेको मिजौराम भारतको उत्तरपूर्वको पहाडी राज्य हो । त्यहाँ मिजौ र गोर्खाली जातिको बसोबास रहेको छ । मङ्गोल मूलका मिजौ जातिको रहनसहन, चालचलन, आनीबानी र अनुहार नाटिकुटी नेपालका गुरुङ, मगर, राई, लिम्बु, तामाङसँग मिल्दछ । मजस्तो चुच्चो नाक हुने आफ्नै देशका विहारीलाई उनीहरूले विदेशी भन्छन्÷भन्थे । मैले आई.ए. र बी.ए. नर्थ इष्टर्न हिल्स युनिभर्सिटीअन्तर्गतको पाछुङ्गा कलेजबाट (हाल पाछुङ्गा विश्वविद्यालय) ऐजलबाट पूरा गरेको हुँ । त्यसपछि नेपाल फर्केर थप उच्च शिक्षा आर्जनसँगै जीवन जिउने आँधीबेहरीमा होमिएको हुँ ।
मिजौरामको सदरमुकाम ऐजल (आइजोल) हो । सत्तरीको दशकमा त्यहाँका नेताले छुट्टै देश बनाउन सशस्त्र आन्दोलन गरेका थिए । नयाँ राज्यमा परिणत भएपछि ती माग त्यसैमा गाभिए । मिजौरामका धेरै सहर र गाउँ नेपाली नामबाट नामकरण गरिएका पाइन्छन् । त्यसमध्ये केहिका नाम पछि गएर मिजौ भाषामा रूपान्तरण भएका छन् भने कतिको अझसम्म नेपालीमा नै छन् । मिजौराममा नेपाली भाषी गोर्खाली कहिले पुगे भन्ने कुरातर्फ अध्ययन गर्ने हो भने हामी मानव सभ्यताको विकास सँगसँगै आसामतिर फर्कनुपर्ने हुन्छ ।
आधुनिक इतिहासको कुरा गर्ने हो भने नेपालमा तेह्रौँ शताब्दीमा खस साम्राज्यको पतनपछि नेपालीहरूको बसाइँसराईमा तीव्रता आएको पाइन्छ । सिन्धु सभ्यताकाल र त्यसपछिको प्राचीन इतिहासमा अफगानिस्तान पाकिस्तान हुँदै एकथरी आर्यहरू पश्चिमोउत्तर नाकाबाट सतलज, गुगे, पूराङ हुँदै हिमालयका उपत्यका र भञ्ज्याङ हुँदै हिमालयका भित्री र बाहिरी काखमा पसेर बसोबास गर्न थालेका हुन् । त्यो यात्रा निरन्तर चलि नै रह्यो । अर्कोथरी आर्यहरू सिन्धु सभ्यताको पतनसँगै दक्षिणपूर्व, गङ्गा, ब्रह्मपुत्र हुँदै आसामदेखि बर्मासम्म पुगेको पाइन्छ ।
त्यसैमध्येका केहि जाति गङ्गाको उत्तर मैदान विहार, मिथिला, कपिलवस्तुमा ठूला बस्ती बसाएर बसे । जसका वंशज राजा जनक, गार्गी, याज्ञवल्क्य तथा कपिलवस्तुमा कपिल र बुद्ध जन्मे । नेपालमा उच्च हिमालय पर्वतमालाको उत्तर र दक्षिणका उपत्यकामा धेरै रैथाने जातिहरू ऋग्वैदिक कालभन्दा पहिले ८–९ हजार वर्षदेखि बसोबास गरेका थिए । तिनै मध्येका केही जातिहरू वर्तमान भारतको उत्तरपूर्वी राज्य मेघालय, नागालेण्ड, मिजौराम पुगेको हुनुपर्छ भन्ने केहि समाजशास्त्रीको तर्क रहेको छ । आसाममा अङ्ग्रेजको शासनभन्दा पहिलेदेखि नै नेपालीहरूले जङ्गल फडानी गरेर बस्ती बसाएको र खेतीपाती एवम् पशुपालन गर्न स्थानीयलाई सिकाएको प्रमाण त प्रशस्तै पाइन्छ । मिजौराममा बसोबास गर्ने नेपालीले कृषि र पशुपालन, भारतीय सेना एवम् प्रहरी सेवामा नोकरी, व्यापार, सरकारी नोकरी आदि गरेर बसेको पाइन्छ । आजकल जन्मसिद्ध अधिकारको लडाइँ लड्दै विभिन्न गौरवशाली काम गर्दै बस्नेको सङ्ख्या पनि बढ्दो छ । प्रारम्भमा, सेनामा भर्ती भएपछि त्यतै घरजम गरेर बस्ने, उनीहरूसँगै गएका अन्य नागरिक पशुपालन, दुग्ध व्यवसाय र खेतीपाती गर्दै बसोबास गरेको पाइन्छ । मिजौरामका धेरै ठाउँमा नेपालीहरूले नै व्यवस्थित कृषि र पशुपालन सुरु गरेका हुन् ।
मैले वि.सं. २०३२ को पुस–माघमा दश कक्षाको परीक्षा दिएँ । २०३३ सालको असारमा (सन् १९७६) नतिजा प्रकाशित भयो । विद्यालयले मबाट दोस्रो श्रेणीको अपेक्षा गरेको थियो । परीक्षामा एक जना मित्रलाई हिसाब सिकाइदिएको कारण मेरो उत्तरपुस्तिका खोसिएको थियो । उत्तरपुस्तिकामा मैले चालीस अङ्कको मात्र उत्तर दिन भ्याएको थिएँ । पुस्तिका खोसिएको हुनाले मैले उत्तीर्ण हुन्छु भन्ने आश छोडेको थिएँ तर पुस्तिकामा रातो नलगाइएको हुनाले म पास भएँ । पूरै उत्तर दिन पाएको भए सायद दोस्रो श्रेणीमा उत्तीर्ण भइन्थ्यो कि ? त्योबेला पास हुनु नै स्वर्ण पदक लिनुजस्तै थियो गाउँघरमा ।
घरको आर्थिक कारणले नेपालमा पढ्ने इच्छा पूरा भएन । त्यसबेला काका भारतको आसाम राइफल्स सैनिक सेवामा मिजौराममा हुनुहुन्थ्यो । मेरो पिताजीले म पनि सके सेना भए हुन्थ्यो भन्ने इच्छा गर्नुभएको थियो । उहाँले सकेसम्म ब्रिटिस सेनामा र त्यसमा नभए भारतीय सेनामा भर्ती भइदेओस् र नुन, चिनी, चियापत्ति, मट्टितेलको जोहो गरिदेओस् भन्ने चाहनुहुन्थ्यो । बुबाको इच्छा भए पनि मलाई सानैदेखि विदेशमा सेना वा अन्य कुनै पनि प्रकारको लाहुरे बन्ने चाहना पटक्कै थिएन । म केवल पढ्न चाहन्थेँ ।
स्कुलपछि अध्ययनलाई निरन्तरता दिने भित्री अठोटका साथ वि.सं. २०३३ साउन महिनामा (सन् १९७६ जुलाइ) फस्ट आसाम राइफल्समा कार्यरत भार्का, स्याङ्जाका एक मगर थरका सिपाहीसँग साता दिनमा मिजौराम पुगेँ । त्यही महिनाबाट म १६ वर्ष पुगेको थिएँ । त्यसबेला ती लाहुरेका आफन्तलाई भेटने गरी ट्रकको यात्रा गर्दै टिस्टा नदीवरपरको साँघुरो बाटोबाट कहर काट्दै यात्रा गरिएको थियो । ती ठाउँहरू मध्ये टिस्टाको बाहेक मलाई अरू सम्झना छैन । त्यसपछि ब्रह्मपुत्र नदी पार गरेर सिलचर भन्ने सहर हुँदै मिजौरामको ऐजल पुगेको थिएँ । त्यसबेला मिजौराम ऐजल पुग्ने बाटो नेपालको पहाडी बाटो जस्तो कच्ची थियो । त्यो यात्रा मेरो जीवनकै लामो यात्रा थियो ।
‘छोरो भारतीय सेनामा भर्ती होस् । लाहुरे बनोस् । बिदामा नेपाल फर्कँदा एउटा रेडियो, चियापत्ति, चिनी, नुन, मट्टितेल, एकसरो कपडा र भैँसी किनबेच गर्दा लागेको ऋण पनि तिरोस्’ भन्ने बुबाको ठूलो चाहना थियो । त्यो स्वाभाविक पनि थियो । त्यसबेला भारतीय एवम् ब्रिटिस सेनामा भर्ती हुनु भनेको अहिलेको नेपालको निजामती सेवाको अधिकृत हुनुसरह थियो । त्यो उत्कट चाहनाले गर्दा उहाँले मलाई बकेर्नो भैँसीको कटौरामा नै दुहेको तातो दूध, मोही पार्दै गर्दा नौनी बन्नुभन्दा पहिलेको फिँज, नौनी घिउ, खारेको घिउ आदि प्रशस्त खुवाउनु हुन्थ्यो । म पनि हाम्रो गाउँनजिकै रहेको लौके भनिने गुरुङ गाउँका गुरुङका छोराहरू भन्दा कम लोर्के थिइनँ । गुरुङबुबा–आमा घर आउँदा “तेरो छोरालाई मेरो छोरासँग लाहुर पठाउनुपर्छ । लेखापढा भ’को ठिटाहरू त छिट्टै प्रमोशन हुन्छा” भन्नुहुन्थ्यो । त्यसले बुबामा झन् हौसला बढ्थ्यो ।
हङकङको लाहुरे होस् भन्नका लागि बा’ले कुल देवतालाई बोको, पूर्णगामको देउरालीमा हिउँदमा दुधधार, लुरीङ्कोट कालिकादेवी र रास्कोटमा रहेको खड्कादेवीमा बडादशँैको नवमीमा पञ्चैबाजासहित पञ्चवल (पञ्चबलि) लैजान भाकल गर्नुभएको थियो । कति पूजा गरिसकिएको थियो । केहि भाकल बाँकी थिए । नेपालको पहाडी क्षेत्रमा हुनेखानेको घरमा पनि सुका मोहर देख्ने भनेको त्यसबेला कोदो, मकै, धान, बाख्राका पाठापाठी र भैँसी बिक्रीबाट नै थियो । धेरै भैँसी पाल्नेले घरमा दुधघिउ नखाएर बचाएर नुन किन्न घिउ सँगेल्थे र बेच्थे । त्यसबाहेक रेडियो, भाँडाकुँडा, साबुन, सफा र नयाँ लुगा, कम्बल हुने भनेको लाहुरेको घर नै हुन्थ्यो । अहिले कसैको नाति वा छोरो अरबका खाडीमा पुगेको छैन भने उसको घरमा चाउचाउको झोल उम्लँदैन । कसैको घरमा ठूलो हवाइजहाज चढेर लाहुर पुगेर कमाएको लाहुरे रहेछ भने उसको घरमा अहिले फोन, टिभी हुन्छ नै । चाउचाउको झोल खाँदै छोराबुहारीले फोन र फेसबुकमा कुरा गरेको सुनेर मख्ख छन् अहिलेका बा र आमाहरू, वृद्ध हजुरबा र हजुरआमाहरू । तर, खेतबारी भने बाँझै छन् ।
त्यसबेलाको पहाडको हाम्रो परिवार वर्षभर खान र वर्षमा दुई सरो कपडा फेर्न सक्ने अबस्थाको थियो । सामान्य किसान परिवार । दुध, घिउ, आटो, पिठो खानको पटक्कै दुःख थिएन ।
दशैँमा धानको एउटा भकारी खोलिन्थ्यो । मेरो हजुरबाले वरपरका इष्टमित्र, डोको, नाम्लो, भकारी बुन्ने, नारा, हलोजुवा बनाउने, लुगाफाटो सिउने, आँशी कोदालो अर्चाप्ने, खेतबारीमा काम गर्ने विशेष परिवारको सदस्यको निधार खाली नरहोस् भनेर दशैँमा एक–दुई पाथी गर्दै पाँच मुरी धान बाँड्नुहुन्थ्यो । त्यसपछि घरलाई राख्नुहुन्थ्यो । चामल भए पनि सबै सदस्यका लागि घरमा दिनहुँ भात पाक्दैनथ्यो । नयाँ धान मङ्सिरमा मात्र पाक्ने भएकाले चाडबाडको लागि त्यो व्यवस्था गरिएको हुन्थ्यो । अनदिको धानको चामलको लागि छुट्टै ढाव खेत थियो । अनदिको चामल र गोरस घरमा टुट्दैनथ्यो । शिक्षाको महŒवभन्दा त्यसबेला खेतीपाती र पशुपालनको बढी आवश्यकता थियो । स्कुल भर्खर खुल्न थालेका थिए । गुरुकुल, बनारसबाट फर्केका र घरमा नै बसेर वेद अध्ययन गर्ने कम थिए । अहिले पेटमा गर्भ रहनासाथ आफ्ना छोराछोरीलाई शिक्षा दिन भनेर वृद्ध आमाबालाई पिँडीमा एक्लै छोडेर सहर छिर्ने जस्तो चलन त्यसबेला थिएन ।
मेरो पोखरा गएर आई.ए. पढ्ने चाहना पूरा हुन मिठो चामल फल्ने खेत बेच्नुपथ्र्यो । एस.एल.सी. भनेको नै त्यसबेला गाउँमा उच्च शिक्षा थियो । ‘पढेर के काम, हलो जोती माम’ भन्ने भनाइले जितेको समय थियो त्यो । आखिर यथार्थ त त्यही नै हो । मेरा धेरै सहपाठी पढ्न छोडेर आमा र बालाई घाँसदाउरा गर्न सघाउन थालिसकेका थिए । मेरो लागि खेत बेच्ने कुरा भएन । त्यसैले पोखरा गएर विज्ञान विषय पढ्ने मेरो चाहना कालीगण्डकीमा उर्लेको साउने भेलमा मिसिएर देवघाट, गण्डक, गङ्गा हुँदै ब्रहमपुत्रमा मिसियो । म त्यही ब्रह्मपुत्र नदी तरेर, आसाम नाघेर बर्माको सीमामा रहेको मिजौराम पुगेँ । त्यो समय हो जुन बलवान् हुन्छ ।
त्यहाँ पुग्नासाथ मैले काकालाई पढ्ने चाहना भएको कुरा बताएँ । अरू मामाहरू (सिपाहीका परिवारका छोराछोरीले अन्य सिपाहीलाई मामा भन्ने चलन)ले पनि मेरो पढ्ने चाहनालाई सही ठानेका थिए । उनीहरूले नपढेको कारणले नोकरीको अवधिभर सिपाही मात्र भएर रहनुपरेको, नपढेको हुनाले उच्च तहमा नेपालीहरू नभएको र भारतीय हाकिमले तथानाम गाली गर्ने गरेको कुरा बुझेका मात्र होइनन् भोगेका पनि थिए । मेरो काकाले पनि पढाइको महŒव राम्रोसँग बुझ्नुभएको थियो । त्यसैले मैले कलेज पढ्ने कुरा गर्दा सबैले मलाई पढ्न नै प्रेरित गर्थे ।
म केहि महिना ब्यारेकमा लुकेर बसेँ । उनीहरूकै खाना मस्तसँग खाएँ । मिजौराम पहाडी क्षेत्र भएकाले नेपालको पहाडजस्तै लाग्थ्यो । ब्यारेक वरपरका थुम्कामा परिवारसहितका सिपाही बस्ने ससाना घर (क्वाटर) थिए । ठूलो पद भएका हाकिमका क्वाटर ठूला नै हुन्थे । उनीहरूको तामझाम सिपाहीको परिवारभन्दा फरक हुन्थ्यो । तिनका छोराछोरी स्कुलका कपडा लगाएर स्कुल जान्थे । कलेज पढ्नेहरू पनि थिए । ब्यारेकमा धेरै दिन बस्न नमिल्ने भएकोले परिवारसहितका सिपाहीहरूको क्वाटरमा केहि समय बसेँ ।
मैले अहिले सम्झेअनुसार क्वाटरमा एक पटक प्युठानका क्षेत्री परिवारसँग बसेँ । उनको एक सानो छोरो थियो । छ्यामा पनि असाध्यै जाती थिइन् । बाहिरपट्टि खाना पकाउने भान्साकोठा थियो । भित्र बैठक अनि सँगै बिछ्यौना थियो । म बैठककोठामा एउटा खाट राखेर त्यसैमा बस्न थाले । त्यसरी बस्न थालेपछि सेनाका अन्य परिवार र तिनका छोराछोरीसँग परिचय हुन थाल्यो । ब्यारेकबाट एक किलोमिटरको दूरीमा खटला बजार रहेको छ । त्यो पुरानो गोर्खा बस्ती हो । क्वाटरमा बस्दाबस्दै खटला बजार क्षेत्र वरपरका गोर्खाली (भारतमा नेपाली भाषीलाई गोर्खाली भनिन्छ) परिवारसँग बस्ने सैनिकका छोराछोरी र अन्य स्थानीय गोर्खाहरूसँग परिचय बढ्न थाल्यो । तिनीहरूको सम्पर्क सूत्रको डोरी ऐजलवरपर सयौँ वर्षदेखि बसोबास गरेका नेपाली भाषी गोर्खाली साथीभाइसम्म पुगेर मित्रतामा परिणत भयो । छोटो समयमा नै म त्यहाँका नेपालीबीच झ्याम्मिएँ । मैले नेपालबाट हाईस्कुल सकेर त्यहाँ पुगेको थाहा पाएपछि साथीहरूले पनि मलाई कलेज पढ्न थप हौसला दिन्थे । दिन बित्दै जाँदा म भित्रको पढ्ने इच्छाको कोपिला क्रमशः फक्रँदै गयो ।
करिब डेढ वर्ष काम खोज्ने, सम्पर्क विस्तार गर्ने काममै बित्यो । कुनै काममा लगाउन र पढाउन मेरो काकाले भरसक धेरै कोसिस गर्नुभयो । अङ्ग्रेजीमा टाइप गर्ने तालिम गरेपछि केहि पाइन्छ कि भनेर त्यो पनि गरेँ । उहाँ सवारी चालक भएकाले अधिकृतसँग परिचय थियो । त्यसैले सबैलाई मेरोबारे कतै कुनै पदमा भर्ती गर्न सकिन्छ कि भन्दै हारगुहार गर्नुभयो । एक पटक काका र बुबाको चाहना पूरा गर्न काकाको संयोजनमा क्लर्क पदमा भर्ती हुनको लागि ऐजलबाट मेघालय–सिलोङसम्म जानुपर्ने भयो । सायद त्यसबेला सेनाकै ट्रकमा बसेर दुई दिन लगाएर त्यहाँ पुगेको हुनुपर्छ । त्यसबेला त्यहाँको बाटो हाल हाम्रो भर्खरै खुलेका पहाडी बाटोजस्तै साँघुरो थियो । त्यसबेला अन्तरवार्तामा मलाई प्रश्न सोध्ने अधिकृतले हिन्दीमा भनेका थिए– ‘तिमी सानो छौ, ब्यारेकमा टन्न दाल खाएर आऊ । मैले क्लर्क पदमा भर्ना गर्नेछु ।’ दाल भात त खाइयो तर फेरि भर्ती हुने प्रयास गरिएन ।
त्यसबेलासम्म ब्यारेकका सिपाही, उनका परिवार र खटला बजारका गोर्खालीसँग मेरो चिनापर्ची भइसकेको थियो । त्यहाँ बसोबास गरेका गोर्खालीलाई जनजातिमा राखिएको हुनाले कलेजमा मासिक शुल्न तिर्नुपर्दैनथ्यो । साथीभाइले त्यसरी नै त्यहाँ निःशुल्क भर्ना गर्ने र मासिक शुल्क पनि मिनाह गराउन प्रयास गर्ने गरी भर्ना हुने सल्लाह भयो । काकाले पनि अनुमति दिनुभयो । वि.सं. २०३५ (सन् १९७८)मा पाछुङ्गा कलेजमा दुई वर्षे पि.यु.सी (एचभ ग्लष्खभचकष्तथ ऋयगचकभ) मा भर्ना भएँ । मार्कसिट लगेकै थिएँ । नेपालबाट चारित्रिक प्रमाणपत्र मगाएर पछि पेस गरेँ । स्थानीय गोर्खा विद्यार्थी साथीहरूको सहयोगले भर्ना हुन सकेको थिएँ ।
नेपालबाट मुग्लान पस्नेहरू सकेसम्म सेनामा भर्ती हुन्थे । त्यसपछिका पुलिसमा छिर्थे, शारीरिक मेहनत गर्नेले गाई पालेर दुध बेचेर पैसा कमाउँथे । त्यसबाहेकका नेपालीले कि त होटलमा भाँडा माझ्थे कि पाले बस्थे वा निजी घरमा नोकर बनेर कान्छा वा बहादुर भनिन्थे । पढ्न थालेपछि स्थानीय गोर्खाली परिवार धेरै खुसी भए । सबैका मनमा नेपालबाट मुग्लान छिरेको एक नेपालीले उनीहरूको वरपर बसेर उच्च शिक्षा अध्ययन गरोस् भन्ने नै थियो । सबै खुसी थिए । त्यसबेला म प्युठानको सिपाहीको परिवारसँग बस्दथे । खानाको मासिक हिसाब गरेर काकाले तिर्नुहुन्थ्यो ।
म नेपालको गाउँको स्कुलमा पढेको हुनाले अङ्ग्रेजी राम्रो हुने कुरा भएन । त्यहाँ सबैले अङ्ग्रेजी माध्यमबाट पढ्ने भएकाले सबैको अङ्ग्रेजी राम्रो थियो । कलेजमा पनि अङ्ग्रेजी माध्यममा नै पढाइ हुने भएकाले मलाई अचाक्ली कठिन भयो । कक्षामा सानो, नौलो र लामो नाक हुने विद्यार्थी सायद म एक जना मात्र थिएँ । हलमा १०० भन्दा बढी विद्यार्थी हुन्थे । एक पटकको घटना म सम्झन्छु । एक दिन अङ्ग्रेजी पढाउने शिक्षकले मलाई मेरो नामको स्पेलिङ भन्न भन्नुभयो । मैले ‘बी आई …’भनेँ । तर सबै गलल गलल हाँसे । सबै हाँसे पछि मलाई फेरि दोहो¥याउन लगाइयो । फेरि सबै हाँसे । यो सिलसिला तीन पटक दोहोरियो । म रातोपिरो भएँ । आँसु पनि झारेँ ।
किन त्यसो गरिएको थियो थाहा पाइनँ । बाहिर निस्केपछि गोर्खाली साथीहरूलाई सोधेँ । मैले मेरो नामको अङ्ग्रेजी अक्षर उच्चारण गर्दा फरक लवजमा पाखे तरिकाले गरेको हुनाले सबैलाई अनौठो लागेर सबै गलल हाँसेका रहेछन् । होच्याउन होइन कि रमाइलो गर्न साथीहरूले त्यही कुरा पछि हामी सामाजिक कार्यमा भेला भएको ठाउँमा ठट्टामा भन्न थाले । त्यसबेला हामी थाहा भएसम्म मलाम र मृत्यु भएको घरमा कुरुवा बस्न एक–दुई घण्टा हिँडेर पनि जान्थ्यौँ । त्यो असाध्यै राम्रो परम्परा थियो । त्यसबाहेक नेपालमा मनाइने चाडपर्व, साहित्यिक कार्यक्रमका साथै देउसीभैलो विशेष रूपमा मनाइन्थ्यो । हजारौँ वर्ष पहिलेदेखि विदेशमा बसेका गोर्खालीले नेपाली संस्कृति र संस्कार नेपालकै लागि अनुकरणीय हुने गरी जोगाएकोमा म चकित हुन्थेँ । मैले त्यहीँबाट धेरै कुरा सिकेँ ।
कलेजमा भर्ना भएर पढ्न जाँदा मलाई पढ्न र बुझ्न निकै कठिन भयो तर मैले हार खाइनँ । ऐजलमा गएपछि पढाइको महŒव झन् बुझेँ । मलाई भारतीय र नेपाली सिपाहीदेखि अधिकृत र ऐजलका स्थानीय गोर्खाली अभिभावक, साथीभाइ र पढ्दापढ्दै पढ्न छोडेका साथीले पनि पढ्नकै लागि प्रेरित गर्थे । पढिएन भने जीवनभर भाँडा माझ्ने र चौकीदार हुनेबाहेक अरू काम केहि पाइँदैन भन्ने कुरा झनै गहिरोसँग छि¥यो । त्यसले पनि बाल्यकालको पढ्ने मेरो चाहनालाई निक्कै बल दियो । आकाश जत्रै विशाल छाती भएका गोखार्ली थिए त्यहाँ जसले नेपालबाट गएको एक जना केटाले उच्च शिक्षा हासिल गरोस् र उसको जीवन सुखी होस् भन्ने चाहन्थे । म सम्झन्छु हाकिम, पान पसले, थोक विक्रेता, पशुपालक किसानदेखि चौकीदारसम्मले मलाई हौसला दिन्थे । त्यस्तो कुरा नेपालमा पहिले हुन्थ्यो तर आजकल आधुनिकताले गर्दा सबै लोप भइसकेको छ ।
त्यो प्रेरणाले गर्दा धेरै मेहनत गरेँ । केहि नबुझे पनि कोसिस गरेँ । वि.सं. २०३६ असोज (सेप्टेम्बर १९७९) मा भएको पि.यु (आई.ए.) को पहिलो अन्तिम परीक्षामा भूगोल र अङ्ग्रेजी विषयमा फेल भएँ । गोर्खाली अन्य साथीहरू पनि अनुत्तीर्ण भएका थिए । पीर त प¥यो । दोस्रो पटक २०३७ भदौ (सेप्टेम्बर १९८०)मा दिएको परीक्षामा भूगोलमा पास भएँ तर अङ्ग्रेजीमा फेरि फेल नै भएँ । सङ्कट प¥यो । पास गर्न नै सक्दिनँ कि भन्ने लाग्यो । त्यसबेला आइजोल मुख्य सहरमा हृ्राङ्वाना कलेज त्यही वर्ष खुलेको थियो । त्यो कलेजले आई.ए. मा एक विषयमा मात्र फेल भएकालाई बी.ए.मा भर्ना गर्छ भन्ने जानकारी एक जना मेरो जस्तै विषय लागेको मिजौ साथीले दिए । म त्यहाँ भर्ना भएँ । त्यसबेला म कमला दिदीसँग बस्थेँ ।
त्यो समयमा मसँगै पढ्ने धेरैले पढाइ छोडिसकेका थिए । पास गरेर बी.ए. पढ्ने कम थिए । दुई–तीन जना भने म भन्दा एक वर्ष अगाडिका थिए । हृ्राङ्वाना कलेजले गर्दा मेरो एक वर्ष बाँचेको थियो । अचम्मको कुरा के भने बी.ए. पहिलो वर्षमा पढ्दै गर्दा आई.ए.को बाँकी रहेको विषयमा भदौ २०३८ (सेप्टेम्बर १९८१) मा पास गरेँ र सोही वर्ष नै बी.ए. पहिलो वर्षको परीक्षामा पनि सबै विषय पास गरे । यद्यपि बी.ए. को अन्तिम परीक्षामा पहिलो र दोस्रो वर्ष दुवैको तयारी गर्नु पर्दथ्यो । त्यसैगरी भदौ २०३९ मा (सेप्टेम्बर १९८२) बी.ए. एकै पटकमा साधारण श्रेणीमा पास भएँ ।
पि.यु.मा फेल भए पछि मेरा सङ्कटका दिन सुरु भए । मिजौराम छिरेको तीन वर्ष हुन थालेको थियो । म तिनै प्युठानका सिपाहीको परिवारसँग बस्दै आएको थिएँ । उनी सवारी चालक नै थिएँ । उनले मलाई अति माया गर्थे । एक दिन रक्सीले मातेको बेला श्रीमतीसँग झगडा गरे । कारण आर्थिक थियो र म बोझ बनेको थिएँ । त्यो रात सुत्न सकिनँ । उनीहरूलाई काकाले खर्च दिने भन्नुभएको थियो । त्यसमाथि मैले खर्पनमा कुवाबाट पानी बोकेर ल्याउँथे । छुट्टीको दिन साथीहरूसँग मिलेर दाउरा खोज्न पनि जान्थे । त्यसको सँगसँगै साथीहरूसँग खेल्न, रमाइलो गर्न, मलाम जान कहिँ बिराउँदिनथँे । मलाई यहाँ बस्नु ठीक लागेन । मैले पास गर्न पनि सकिनँ । अब नेपाल पनि नजाने र मिजौराममा पनि नबस्ने जस्ता तर्कना रातभर खेले । भोलिपल्ट ती सिपाही मामाले मेरो हातमा एक सय भारतीय रुपियाँ थमाउँदै भने ‘अन्तै बसेर पढ्, तिमीले धेरै चिनेका पनि छौ तर यहाँ राख्न सक्दिनँ ।’
अब खाने, बस्ने, पढ्ने खर्चको जोहो आफ्नै थाप्लोमा आयो । समयको अन्तरालमा मैले आफैँले जीवनको लगाम समातेर डोरिनुपर्ने भयो । मनभित्रको कमजोर भावनालाई पढ्नुपर्छ र नेपाल फर्कनुपर्छ भन्ने दृढ अठोटले जित्यो । यही अठोटले मलाई बाटो खोज्न निर्देश गरिरहेको थियो । बिरानो ठाउँमा आमाबाबुको काखमा मात्तिने उमेरको म अल्लारे युवालाई त्यो सजिलो भने पटक्कै थिएन । कैयौँ पटक मुटुमा भक्कानो बसे तापनि त्यो सङ्कटबाट पार पाउनु नै पर्दथ्यो तर ठोस रूपमा उपाय भने केहि थिएन । मानिसलाई अर्ती र उपदेश दिन जति सजिलो हुन्छ त्यसलाई व्यवहारमा उतार्न उत्तिकै कठिन हुन्छ । कलेजको पढाइ नसक्दै नेपाल फर्कने हो भने मेरो हैसियत एस.एल.सी. मात्र नै हुन्थ्यो । मेरो चार वर्ष त त्यत्तिकै खेर जाने भयो । अतः मैले पढाइ पूरा गर्नैपथ्र्यो । मैले आर्थिक सहयोग कसैसँग मागिनँ । जस्तोसुकै भए पनि पढ्ने समय मिल्नेगरी काम खोज्न सबै स्थानीय गोर्खाली दाइ, दिदी र साथीभाइ सबैलाई भनेँ । सानो काम गरेर मानिस सानो हुन्छ भन्नेमा म आज पनि छैन । लक्ष्य भने निर्दिष्ट हुनुपर्छ ।
त्यसबेला खट्ला बजारवरपर बस्ने धेरै नेपालीसँग मेरो परिचय भइसकेको थियो । खट्ला बजारको पुरानो नेपालीले राखेको नाम खट्टा बजार हो । त्यहाँ धेरै पहिले झाडी फाडेर गोर्खालीहरू बस्न थालेका थिए । वरपर कागती, निबुवा र अन्य कुराहरू बेच्ने गर्दथे । त्यहाँ अमिलोलाई खट्टा भनिन्छ । खट्टाबाट पछि खट्ला बजार भएको स्थानीय बासिन्दाले सुनाएका थिए । पछि त्यो मुख्य बजार क्षेत्र बन्न गयो । मुख्य बजार र वरपर सबै गोर्खालीका मात्र घर रहेका छन् । खटलामा गोर्खालीका ठूला गोदामदेखि पानपसलसम्म, रेस्टुराँदेखि साना भट्टी पसलसम्म, हाकिमदेखि पियनसम्म त्यहीँ थिए । पछिपछि त मिजौले डाहसमेत गर्ने अवस्था आएको थियो किनभने मुख्य बजारका सबै घर गोर्खालीका थिए ।
स्थानीय दाइहरू निर्मल पुन, नारायण थापा, कन्यै दाइ तथा अन्य साथीहरूको समन्वय र सहयोगमा म खट्ला बजारमा दिदी कमला गुरुङको घरमा बस्ने भएँ । त्यो घर कमला दिदीको पनि दिदीको थियो । त्यहाँ उहाँले सानो रेस्टुराँ व्यवसाय गर्नुहुन्थ्यो । मानिसलाई सहयोग गर्ने भनेको सङ्कटको बेला हो । म जे–जस्तो काम गर्न पनि तत्पर थिएँ तर मलाई कलेज जाने समय भने चाहिन्थ्यो । त्यसबाहेक मलाई अरू केहि चाहिएको थिएन । त्यसबेला मलाई त्यो जस्तो ठूलो घर र कमला दिदीजस्ती ठूलो आभिभावक कोही थिएन । कमला दिदीको गुन मैले हृदयमा सजाएर राखेको छु जसले गर्दा मैले जीवनलाई एउटा गोरेटोमा लतार्न सफल भएँ ।
नेपाली रेस्टुराँ आज अमेरिका र युरोपका धेरै देशमा चर्चित छन् । नेपालीको परिकार मिठो हुन्छ । नेपालीको आँखामा माया र अनुहारमा मिठो मुस्कान हुन्छ । मिजौराममा पनि नेपालीले सञ्चालन गरेका साना रेस्टुराँ, चिया पसल, भट्टीमा असनमा नेवारी खाजाको लागि भीड भएझैँ भीड हुन्थ्यो । म बस्ने भनेको गोर्खाली रेस्टुराँ पनि खटला बजारमा नै थियो । त्यो रेस्टुराँमा आलु, पुरी, तरकारी, मासुको परिकार बन्थ्यो । खुला नभए पनि चियापानसँगै बेलुका तीन घण्टा रक्सीको पनि लुकिछिपी व्यापार हुन्थ्यो ।
बिहान टिनको अँगेनोमा कोइला बालेर आगो बाल्ने काम हुन्थ्यो । अन्य काम दिदी कमलाले गर्नुहुन्थ्यो । मैले सामान्य सहयोग गर्थे र खाना खाएर कलेज जान्थे । बेलुका खाजा खाने मानिसको भीड हुन्थ्यो । त्यहाँ आउने धेरै नेपाली र केहि मात्र मिजौ हुन्थे । दिदीले खाजा बनाउने गर्नुहुन्थ्यो मैले खाइसकेका गिलास र प्लेट माझ्थेँ । तीन घण्टा व्यस्त भएपछि काम सकिन्थ्यो । दिदीले मासु, आलु र तरकारी अति मिठो पकाउनुहुन्थ्यो । काम सकिएपछि मज्जाले खान्थ्यौँ र सुत्थ्यौँ ।
त्यही आम्दानीबाट रामसिंह, विक्रम र दिदीसहित तीन जनाको परिवार चलेको थियो भने म थपिएपछि चार जना भएका थियौँ । म त्यहाँको परिवारको सदस्यमध्येको एक भएँ । काम गरेर अध्ययन गरेँ । म कलेजमा पढ्दैछु भन्दा त्यहाँ आउने ग्राहक र साथीभाइ सबैले मेरो प्रशंसा गर्दथे । मेरो हौसला चुलिन्थ्यो । म नेपालमा छु कि भारतको मिजौराममा भन्ने पनि मैले बिर्सन थालेको थिएँ । मैले पढ्दै गरेको भएर सबैले औधी माया मात्र होइन आदर पनि गर्थे । त्यहाँका धनी गोर्खालीका छोराछोरी जसले धेरै पढेका थिएनन् उनीहरूका आमाबाबुको लागि म प्रेरक बनेको थिएँ । रेस्टुराँका एक जना भद्र मिजौ ग्राहक (नाम बिर्सेँ) ले मलाई आई.ए.को अङ्ग्रेजी विषयको व्याकरणका सूत्र र उत्तर दिने तरिका सिकाइदिएका थिए । जसले गर्दा मैले पास गरेको थिएँ ।
म ऐजलमा बस्दा भारतका विभिन्न ठाउँमा बसेका नेपाली भाषी भारतीयले स्थानीय जातिबाट पाएको दुःख, तिनीहरूको सम्पत्ति लुटिएको, काटिएको सुन्दा र देख्दा म साह्रै विचलित हुन्थेँ । मलाई पीडाबोध हुन्थ्यो । मैले साथीहरूलाई त्यसबेला भन्ने पनि गर्थे ‘हामी सबै नेपाल जाऔँ र नेपालमा नै बसौँ । नेपालको मुख्य व्यापार सबै विदेशी व्यापारीको हातमा रहेको छ । तिनीहरूलाई त्यहाँबाट लखेटौँ । हामी नेपाल गएर काम गरौँ । उतै बसौँ । त्यसपछि कसले भन्छ हामीलाई विदेशी ।’ मैले त्यसो भने तापनि त्यो त्यति सजिलो थिएन किनभने उनीहरूका धेरै पुर्खा मिजौराम वा भारतको विभिन्न ठाउँको माटोमा जन्मेर त्यसैलाई आफ्नो मातृभूमि बनाएका थिए । तापनि बारम्बार हुने जातीय आन्दोलनमा नेपाली भाषी भारतीयले ठूलो मूल्य चुकाउनुपरेको छ आजसम्म ।
त्यस्तो कुरा गर्ने नेपालबाट गएको म र त्यहीँका स्थानीय गोर्खा युवक थियौँ । त्यो कुरा हाम्रा सर्वमान्य निर्मल पुन र कन्यै दाइलाई पनि भन्यौँ । उहाँहरूले ‘यो राजनीतिक कुरा हो । तिमीहरूले गर्ने कुरा होइन र तिमीहरूले यस्तो कुरा बुझ्दैनौ ।’ भन्नुभयो । दाइहरूले त्यसो भने पछि त्यो कुरा त्यत्तिकै सेलायो । मैले उठाएको त्यो कुरा आज पनि घरिघरि सान्दर्भिकजस्तो लाग्छ जब गोर्खालीहरूलाई हजारौँ वर्षदेखि त्यही भूमिमा बसे पनि विदेशी भनेर लखेटिन्छ, काटिन्छ, लुटिन्छ र मारिन्छ । आज पनि मैले मेरो यौवनावस्थामा सोचेको त्यो कुरा एक कोणबाट हेर्दा ठीकै हो कि जस्तो लाग्छ संसार साँघुरो भए तापनि ।
हो निर्मल दाइले भनेझैँ त्यो राजनीतिक विषय हो । नेपाली भाषी गोर्खाली वा संसारका अन्य मुलुकमा भएका नेपाली भाषीलाई अन्याय हुँदा नेपालले बोल्न सक्नुपर्ने हो । नेपाली भाषी भुटानीलाई भारतमार्फत नेपाल छिराइयो । पछि फर्केर भुटान जान्छौँ भन्दा मेचीपारि जान दिएन । उनीहरूलाई अन्तमा लाखापाखा पारियो । ठूलाले जे गरे पनि हुने सभ्यताभित्रको असभ्य चरित्रले मन दुख्छ । म नेपाल फर्केपछि त्यहाँका नेपाली पनि लुटिए, मारिए, केहि गोर्खाली नेपाल छिरेर यतै पनि बसे । गोर्खाली वीर र स्वाभिमानी भएकै करण अन्यायको विरुद्ध लड्दै, नैसर्गिक अधिकार थप्दै बसिरहेका छन् । सङ्घर्ष निरन्तर जारी छ । मेरो ऐक्यबद्धता म मिजौराममा हुँदाजत्तिकै छ ।
एक पटक कोलासिवबाट प्रेम दाइसँगै फर्कदै थियौँ । मिजौ नेशनल फ्रन्टका बन्दुकसहितका मित्रहरू बन्दुक बोकेर बसभित्र छिरे । उनीहरूले विदेशी को छ यहाँ भनेर सोधे । मलाई पनि सोधे । प्रेम दाइको मिजौ भाषा मिजौको भन्दा मिठो छ÷थियो । उहाँले हामी गोर्खाली हौँ, खट्लामा बस्छौँ भनेपछि छोडे । खटलामा नै बसेको बेला दिदी मिनु लक्ष्मी, निर्मल पुनको सक्रियतामा ‘निगालो’ नामक मासिक साहित्यिक पत्रिका स्टेन्सिलमा हातले लेखेर लिथो मेसिनबाट छपाइ पनि गरिएको थियो । नेपाली लेख्ने दाइ बाला मिजौ हुनुहुन्थ्यो वहाँको नेपाली बोल्ने शैली हाम्रो भन्दा मिठो थियो र हस्ताक्षर उस्तै राम्रा । त्यसबेलाको क्षमताको आधारमा पत्रिकामा सक्रिय रहेँ । गोर्खाली जाति, भाषा, भेषभूषा र संस्कृतिको संरक्षणमा त्यहाँका नेपालीभाषी गोर्खाली अहिलेसम्म उत्तिकै क्रियाशील छन् ।
पहाडमा जन्मेँ, त्यहीँ हुर्के, एसएलसी गाउँबाट नै गरेँ तर नपत्याउँदो कुरा के भने मैले घरमा घाँस काट्ने, कोदालो खन्ने काम गरिनँ । बुबाले मलाई घाँस काट्ने, गोबर सोहर्ने, भैँसी दुहुने, मोही पार्ने र खेतबारीको काममा लगाउनुभएन । त्यस प्रकारको दुःख नगरेको हुनाले मलाई खट्ला बजारमा त्यसरी रेस्टुराँमा बसेर काम गर्दा मन खिन्न भएर आँखाभरि आँसु छचल्किन्थे । एक्लै भएको बेला रुन्थे पनि । दुःख लाग्थ्यो तर मैले आफनो पढाइ सम्झँदा त्यस्ता कुरा बिर्सेर आफैँ मुस्कुराउँथे । जे होस् पढ्ने लक्ष्यबाट विचलित भइनँ । पढेर जागिर नपाइए बरु सानो काम गर्न पनि हुन्छ तर पढ्नुपर्छ भन्ने मेरो दृढ अठोट नै थियो । शारीरिक परिश्रमका जस्तोसुकै काम गरे तापनि उच्च शिक्षा हासिल गर्नुपर्छ, त्यसले खिन्नता हटाउँछ भन्नेमा विश्वास गर्छु ।
म बीचबीचमा नेपाल आएर फर्कन्थेँ । दुःख परेको बेला जस्तो काम पनि गर्थेँ तर पहिरनमा अलि ब्रान्डेड लगाउने चाहना गर्ने सानैदेखिको नराम्रो सोख थियो । जिन र कट्राइको पाइन्ट, रेडीमेड सर्ट, टिसर्ट, स्पोटर्स जुत्ता, बेलिबटम पाइन्ट पहिरने भुत्ते सोखचाहिँ अलि बढी नै थियो । लामो कपाल पाल्ने र हिमाल हेर्न रमाउने बाल्यसोख त्यहाँ झन् हुक्र्यो ।
विदेशी सामानका लागि नेपाल पहिलेदेखि नै कहलिएको हो । नेपाल आउने भारतीय पर्यटकले पनि जिनका पाइन्टसहित कपडा लैजान्थे र अहिले पनि लैजान्छन् । हङकङ र सिङ्गापुरबाट सिधै सामान काठमाडौँ आउँथे । त्यहाँबाट लुकीचोरी इलाम हँुदै दार्जिलिङ र त्यहाँबाट मिजौरामसम्म ओरिजिनल ब्राण्डका पाइन्ट, जापानी सारी र जुत्ताहरू पुग्थे । म आफैँ त्यस्ता कपडामा सौखिन भएकाले पनि फर्कँदा आपूmलाई एक–दुई जोर विदेशी जिन र कट्राइका पाइन्ट, ज्याकेट, टिसर्टहरू लिएर फर्कन्थँे । फेरि नेपालबाट भारततिर एक जोरबाहेक कपडा लैजान पाइन्नथ्यो । बीचबीचमा पुलिसले धेरै दुःख दिन्थे । म मिजौराम फर्केपछि कपडाहरूको लागि नेपाली साथीहरू बीच लुछाचुड हुन्थ्यो र धेरैजसो मैले लगाउन पाउन्नथेँ ।
मलाई जिनको पाइन्ट नभई नहुने । एक पटक मसँग एउटै पनि भएन । दार्जलिङबाट ल्याएका जिन पाइन्ट एक–दुई ठाउँमा किन्न पाइन्थ्यो । त्यसबेला बजारमा जिन पाइन्ट आएको साथीहरूबाट थाहा पाएँ तर मसँग पैसा थिएन । जिन पाइन्ट किन्न पैसा सापटी माग्ने औकात त थिएन नै त्यसमाथि माग्ने खालको पनि म थिइनँ । त्यसबेला कलेज बन्द थियो । त्यसैले मैले जिन पाइन्ट किन्नका लागि साथीभाइ कसैलाई थाहै नदिई मोटरबाटो खन्न ज्यामी काम गर्ने निर्णय गरेँ । त्यो खटलाबाट नजिकै थियो । गोर्खाली दाइ र साथीहरूले देख्लान् भन्ने पनि पीर थियो । एकपटक त्यस्तै साह्रै आपत परेकाले जुत्ता सिउने निर्णय गरेर जुता सिउन बसेको मात्र के थिए मनु सुब्बालाई देखेपछि लाजले भागेको थिएँ । त्यसबारे मेरो संस्मरण रचना साहित्यिक पत्रिकामा प्रकाशित पनि भएको छ ।
बाटो खन्ने ज्यामीको दैनिक ज्याला कति थियो मैले बिर्सेँ । मैले बाटो खन्न सक्छु कि सक्दिनँ, गैटी र झेङ्पाल उचालेर बाटो खन्न कत्तिको गाह्रो हुन्छ भन्ने कुरा मैले अनुमान नै गरेको थिइनँ । बाटो खन्ने र त्यसबाट आएको पैसाले जिनको पाइन्ट किन्ने भन्ने टुङ्गोमा म पुगेँ । बाटो खन्न गएँ । मैले मभन्दा अग्लो झेङ्पाल दुई घण्टाजत्ति के उचाल्दै पछार्दै गरेको थिए मेरा दुवै हातका हत्केलामा फरर फोरा उठे । त्यसैबेला बुबालाई सम्झेँ जसले कोदालो खनेर कृषिकर्म गरेर नै जीवन बिताउनुभयो । मेरो हातमा उठेका फोरा कसैलाई देखाइनँ । झेङ्पाल उचाल्दै पछार्दै गर्दा केहि समयपछि ती फोरा फुटे । फोरा उठेर फुटे पनि काम गर्दै गएँ । मलाई त्यसबेला मात्र साह्रै कठिन भयो जब दुवै हातमा उठेका फोरा फुटेपछि त्यस ठाउँबाट रगत बग्न थाल्यो । रगत आएपछि अरूले पनि देखे । मैले त्यो एक दिन मात्र बाटो खन्ने काम गरेँ । भोलिपल्ट मेरा हत्केला सुनिएका थिए । कमला दिदीले थाहा पाएपछि गाली गर्दै सम्झाउनुभएको थियो । मेरो लागि जिनको पाइन्टको रहर धेरै नै महँगो साबित भयो ।
बी.ए. दोस्रो वर्षको परीक्षा दिएपछि म नेपाल आएँ । नतिजा प्रकाशित भयो । पहिलो पटकमा नै पास भएँ । फेरि मिजौराम पुगेँ । त्यसबेला निर्मल दाइले खट्ला बजार कमला दिदीकै घरमा खाद्य पसल खोल्नुभएको थियो । म केहि समय निर्मल दाइ, भाइ कुशल र परिवारका सदस्यसँग बसेँ । दाइ नारायण थापा प्रहरी इन्स्पेक्टरको तयारीमा हुनुहुन्थ्यो । त्यही पढेकाले मलाई पनि सरकारी जागिरको सम्भावना थियो । निर्मल दाइ र मिनु दिदीले एम.ए. गरेर जान सल्लाह दिनुभएको थियो । एम.ए. नेपालबाट गर्दा नेपालमा जागिर खान सजिलो होला भन्ने सल्लाहले करिब ६ वर्ष ४ महिना त्यहाँ बसेर पुस २०३९ (दिसेम्बर १९८२)मा म मिजौरामका सुनौला यादहरू र बी.ए.को प्रमाणपत्र लिएर नेपाल फर्केँ । यो बीचमा मेरा मित्र एवम् दाइ छबु, दाइ रामसिंह गुरुङ, विक्रम गुरुङ, मित्र पदम क्षेत्री हामी बीच हुनुहुन्न भन्ने थाहा पाउँदा झस्केको हुँ ।
यो संस्मरण जिन पाइन्टको रहरबाट उब्जेको हो । तैपनि लामो भयो । त्यस्तै थुप्रै सम्झना ह्वारह्वार्ती आउँदा रहेछन् । त्यहाँको सबैभन्दा रमाइलो पर्व देउसीभैलो हुन्थ्यो । त्यसबाट उठेको रकमबाट आयोजना गरिने वनभोजमा ऐजल भरका गोर्खालीको विशाल जमघट हुन्थ्यो । त्यहाँ नाच्ने, गाउने, पिउने, प्रेमको प्रस्ताव राख्ने सबै हुन्थ्यो । वनभोजमा खिचेका रङ्गीन फोटोहरू धुन दिल्ली पठाइन्थ्यो । जाने पनि नजाने पनि, दुःखमा पनि सुखमा त्यहाँका कैयौँ स्थानीय साथीहरूलाई उछिन्दै त्यहाँका गोर्खा युवाले गरेका सबै कार्यक्रममा सक्रिय सहभागी बनेँ । कमला दिदीले कुँडिएर बस्न कहिल्यै दिनुभएन । रमाइलो गर्दा कैयौँ गल्ती पनि गरेँ । आपूmभन्दा ठूलाले भनेको मानेर तुरुन्तै सुधारेँ । मैले शारीरिक रूपमा जस्तोसुकै मेहनत र दुःख जे गरे तापनि साथीभाइसँग हिँड्ने कुरा मलाम जानेदेखि सिनेमा हेर्न जानेसम्मका काममा म खुम्चिएर बसिनँ । अन्तमा कमला दिदी र निर्मल दाइले दिएको बस र रेलको भाडासहित, प्रमाणपत्र, अनुभव र यादहरू साथमा राखेर मिजौरामसँग बिदा भएँ । इ.पू २७५० देखि इ.पू १७५० सिन्धु सभ्यताको सुनौलो युग भएझैँ मिजौराम मेरो जीवनको सुनौलो युग साबित भयो ।


नेपाल फर्केपछि अध्ययन, जागिर र परिवारको जिम्मेवारी सहितको झन् कठोर, झन् दुःखी र दर्दनाक जीवन प्रारम्भ भयो । मिजौराममा भएको सुनौलो युगबाट फेरि फलामे युगमा प्रवेश गरेँ । त्यो फलामे युग मिजौरामबाट फर्केपछि करिब २५ वर्ष रह्यो । योग्य, इमानदार र मेहनती भइएन भने क्षणभर सुख त होला तर जीवनको उत्तरार्धमा जुनबेला हड्डी खिइएको हुन्छ, छाला चाम्रिएको हुन्छ, मुखबाट ¥याल चुहेको हुन्छ र नसा फुल्न थालेका हुन्छन् त्यसबेला असह्य कष्टकर हुन्छ । त्यसबारे नयाँ पुस्ता कत्तिको सचेत छन् ? त्यो आज धेरै अभिभावकको गहन प्रश्न र पीडा पनि बनेको छ ।
पढ्ने अठोटका साथ जिनको पाइन्ट लगाउने रहर निमोठिन हुँदैन । अनि, जिन पाइन्टको लागि मात्र दौड्न त झन् हुँदै हुँदैन । मैले अल्लारे युवावस्थामा माझेको जुठा भाँडाको कालो मोसो अहिले मेरा औलाहरूमा छैन । मैले बाटो खन्दा उठेका हातका फोराहरू अहिले मेरा हत्केलामा छैनन् । त्यसलाई मैले सुनौलो युग मानेको छु । म सुखी छु । मलाई खान र बस्न कुनै समस्या छैन । त्यसैले आफ्नो सिरानीमा योग्यताको प्रमाणपत्र, शरीरमा जाँगर र छातीमा इमानदारीको मूर्ति हुने हो भने जीवनमा दुःख र आँसुले कहिल्यै बास पाउँदैन । मिठो खाने, जिनको पाइन्ट लगाउने मात्र होइन चिल्लो कार चढ्ने रहर पनि पूरा हुन्छ । त्यसले त आफूलाई मात्र होइन देशलाई पनि सम्पन्न र सभ्य बनाउन मद्दत गर्छ । मिजौराम ऐजलका मेरा अभिभावक एवम् अग्रजलाई नमन गर्दै मित्रहरूलाई मित्रताको न्यानो अभिवादनसहित आभार प्रकट गर्दछु । ॐ फोन ९८४१३७७०८३

विष्णु सर नमस्कार ।
यहाँले लेखेको संस्मरण अत्यन्त राम्रो लाग्यो । यस संस्मरणमा के छैन, इतिहास आएको छ, आप्mनो बाल्यकाल आएको छ, नेपालीहरूको इतिहास आएको छ, आप्mना अभिभावकले सोच्ने गरेका समयानुकूल विचार आएको छ । अनुसन्धानमूलक संस्मरणमा आप्mनो जीवनको अत्यन्त कष्टदायी जीवनयात्राको सन्दर्भ, लाहुर जाने नेपालीको यथार्थ स्थिति र त्यहाँ भारतमा अनन्तदेखि बस्ने नेपालीहरूले आज पनि डराइ डराइ बस्नुपर्ने बाध्यता आएको छ । त्यहाँका व्यक्तिहरूले नेपालीलाई हेप्ने प्रवृत्ति कस्तो खुलस्त यहाँले वर्णन गर्नुभएको छ, अत्यन्त खुसी लाग्यो । मैले यस लेखलाई दुई पटक पढेँ । आनन्द आयो । तपाईंले आप्mनो दुःख भएको र त्यस वेलामा गरिएका सम्पूर्ण कुरालाई जस्ताको तस्तै राख्नुभएको छ । यस्ता संस्मरणहरू निरन्तर आइराखून् । धेरै धेरै बधाई छ ।
ठाकुर शर्मा भण्डारी

1 thought on “जिन पाइन्टको रहर

  1. विष्णु सर नमस्कार ।
    यहाँले लेखेको संस्मरण अत्यन्त राम्रो लाग्यो । यस संस्मरणमा के छैन, इतिहास आएको छ, आप्mनो बाल्यकाल आएको छ, नेपालीहरूको इतिहास आएको छ, आप्mना अभिभावकले सोच्ने गरेका समयानुकूल विचार आएको छ । अनुसन्धानमूलक संस्मरणमा आप्mनो जीवनको अत्यन्त कष्टदायी जीवनयात्राको सन्दर्भ, लाहुर जाने नेपालीको यथार्थ स्थिति र त्यहाँ भारतमा अनन्तदेखि बस्ने नेपालीहरूले आज पनि डराइ डराइ बस्नुपर्ने बाध्यता आएको छ । त्यहाँका व्यक्तिहरूले नेपालीलाई हेप्ने प्रवृत्ति कस्तो खुलस्त यहाँले वर्णन गर्नुभएको छ, अत्यन्त खुसी लाग्यो । मैले यस लेखलाई दुई पटक पढेँ । आनन्द आयो । तपाईंले आप्mनो दुःख भएको र त्यस वेलामा गरिएका सम्पूर्ण कुरालाई जस्ताको तस्तै राख्नुभएको छ । यस्ता संस्मरणहरू निरन्तर आइराखून् । धेरै धेरै बधाई छ ।
    ठाकुर शर्मा भण्डारी

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s