साहित्यिकिक द्वैमासिक पत्रिका दायित्वमा असोज –कात्तिक २०७७ मा प्रकाशित । धन्यवाद सहित साभार
संस्मरण
मध्ये बैशाखको बेला थियो, साल २०६९ । नेपालमा लोकतन्त्रको दुन्दुभि बजेको थियो । वि.सं. २०६२–६३ को आन्दोलनको ज्वारभाटाको राग शान्त भईसकेको थिएन । विकासको गति आजको आजै र भोलीको भोली हुन्छ भन्दै झ्याली पिटेर शहर छिरेको थियो । गाउँमा पस्न तयारी गर्दै थियो । हिमालको हिउँ, पहाडको उकाली–ओराली र तराईको गर्मी भित्र रोग, भोक, अभाव र दुःखले चिमोटिएर चाउरी परेको नेपालीका गाला तन्किन्छन् र दाम्री परेको पेट चर्न गएको बाख्राको पेट पुटुक्क अघाएझैँ अघाउछ भन्नेमा सबै ढुक्क थिए । अर्थात, सबै नागरिक यति सम्म ढुक्क भएका थिए कि निन्याउँरो अनुहार र नारा जस्तो बटारिएको पेट लिएर त्यसपछिको दुई–चार वर्ष पछि चारो खोज्न भौतारिन पर्दैन ।
बस्न सबैको घर हुनेछ । घर–घर र चोक–चोकमा पिउने पानी हुनेछ । खाद्यान्न आयात गरिने छैन । सयौँ ठूला विद्युतका आयोजना शुरु हुनेछन् । हुलाकी राजमार्ग, उत्तर–दक्षिण राजमार्ग, मध्य–पहाडी राजमार्ग सम्पन्न हुनेछन् । हिमाली राजमार्ग, खनिज उद्योग, मेलम्ची खानेपानी आयोजना जस्ता अन्य आयोजना, सिँचाई आयोजना, कृषि, खनिज, जलस्रोत विश्व विद्यालय स्थापना हुनेछन् । सुशासनका सिद्धान्तनुसार सबै आयोजना कार्यान्वयन हुनेछन् । विरामी हुँदा अस्पतालको कुरो के भोर गाउँका स्वास्थ्य चौकीमा पनि नेपालमै पढेर आएका चिकित्सकले सेवा दिनेछन् । कार्यालय सहायकले नर्सको काम गर्ने छैनन् ।
राजनैतिक परिवर्तन पछि देशमा सुशासन हुन्छ । भ«ष्टाचारको अन्त्य र विकास आयोजनाको प्रारम्भ हुनेछ भन्नेमा देशका आम नागरिक ढुक्क थिए । हामी पनि ढुक्क थियौँ । त्यसैको विश्वासमा पत्रकारितासँग आवद्ध हामी केही बबुरा पनि देशमा राजनैतिक आन्दोलन पूर्णरुपमा अन्त भएको छ भन्नेमा विश्वस्त भयौँ । अबको आन्दोलन भनेको विकास नै हो । विकास भनेको दिगो विकास हो । विकास भनेको समग्र नेपालीको जीवनस्तर उकासिने सम्पन्नता तिर अग्रसर आर्थिक विकास हो । विकास भनेको आधारभूत आवश्यकताका लागि परनिर्भरताबाट मुक्त हुनु हो भन्नेमा विश्वस्त भयौँ । निरङ्कुश शासनको जस्तो विकासको मुल फुटाउने र एशियाली मापदण्डमा पु¥याउने नारामा सिमित हुने अबको गणतन्त्रात्मक प्रणालीको विकास होइन । भोक मेटाउने विकास । सहज सेवा पाइने विकास । घरको छानो फेर्ने विकास र स्वस्थ बन्न सहजै औषधि र सूई पाइने विकास र विकासको लागि शिक्षा भन्नेमा विश्वस्त भएका थियौँ ।
सोही अनुरुप अब राजनैतिक आन्दोलन, प्रेस स्वतन्त्रता, मानव अधिकार जस्ता कुरामा कुहिरोको काग जस्तो रुमल्लिन पर्दैन । ती त सबै २०४६ देखि २०६३ सम्मको आन्दोलमा प्राप्त भए । वास्तवमा भएको पनि हो । हो, त्यसैले राष्ट्रिय सञ्चार विकास केन्द्रले पनि आधारभूत पत्रकारिता, स्वास्थ्य पत्रकारिता, विपत् पत्रकारिताको ठाउँमा स्थानीय पत्रकारलाई ‘विकास पत्रकारिता’को तालिम दिने अभियानमा धम्मरधुस लागेको थियो ।
२०७६ साल मंसिरसम्म आइपुग्दा केन्द्रले पुरानो ७५ जिल्ला मध्ये मनाङ बाहेक ७४ जिल्लामा पुगेर तालिम सञ्चालन ग¥यो । कुल १०७ तालिम मार्फत ११२७ महिलाको सहभागितामा जम्मा २५४६ जना पत्रकारलाई आधारभूतदेखि उच्चस्तरका र विषयगतमा स्वास्थ्य, विकास, लेखन सिप, विपत् पत्रकारितामा तीनदिनदेखि पाँचदिनसम्मका तालिम दिएको थियो । सुदूर पश्चिमबाट प्रारम्भ गरिएको पत्रकारिता तालिममध्ये करिव ५० जिल्लामा केन्द्रले सञ्चालन गरेको तालिम पहिलो थियो ।
त्यसै अभियानमा रौतहटको सदरमुकाम गौरमा अष्ट्रेलियन राजदूतावासको आर्थिक सहयोगमा पाँच दिने विकास पत्रकारिता तालिमको आयोजना गरियो । त्यो २०६९ को बैशाख महिना थियो । तालिम ५५ औँ थियो भने जिल्ला ४०औँ थियो । तालिमको प्रमुख उद्देश्य स्थानीय सञ्चार माध्यम पत्रपत्रिका, एफ.एम. र अनलाईनमा कार्यरत खासगरी महिला तथा युवा पत्रकारको विकास पत्रकारितामा समाचार पहिचान, संकलन तथा लेखन शैली र क्षमता बृद्धिगरी विकास सम्वन्धी समाचार तथा लेखलेख्न प्रेरित गर्नु एवं उनिहरुलाई सवल बनाउनु थियो । पत्रकारिता गरिरहेका तर तालिमको अवसर नपाएका युवा पत्रकारलाई लक्षित गरिएको थियो ।
हामीले तालिम गर्दा नेपाल पत्रकार महासँघको जिल्ला शाखासँग समन्वय गरेर गर्ने गथ्र्यौँ । तालिमको विषयको आधारमा विकास पत्रकारिताको तालिममा जिल्ला समन्वय समिति, स्वास्थ्य पत्रकारितामा जिल्ला स्वास्थ्य कार्यालय, विपत् पत्रकारितामा जिल्ला प्रशासन कार्यालय अन्य विषयमा त्यस क्षेत्रका स्थानीय निकाय एवं विज्ञसँग सहकार्य गथ्र्यौँ । त्यसबेला पत्रकार महासँघ रौतहट जिल्ला शाखाको अध्यक्षमा शैलेन्द्र गुप्ता हुनुहुन्थ्यो । बैशाख १३ देखि १७ गतेसम्म तालिम सञ्चालन गर्ने मिति तय ग¥यौँ । प्रायः गरेर हामीले सबै गर्मीमा पहाड र हिउँदमा तराईमा कार्यक्रम गर्ने गरेका थियौँ । त्यसपटक रौतहटमा भने तारतम्य मिलाउन नसक्दा गर्मी समय परेको थियो ।
उद्घाटनको समयमा अध्यक्षता गर्ने, तालिमको अवसर नपाएका स्थानीय पत्रकार छनौट गर्ने, होटल र खानाको व्यवस्था गर्ने, जेनरेटरको व्यवस्थागर्ने, विकासमा स्थानीय सञ्चार माध्यमले उठाएका विषयबारे प्रशिक्षण दिने जस्ता कार्यको समन्वय र प्रस्तुतिको जिम्मा महासँघको जिम्मामा थियो ।
कुरा आयो होटलको । ‘गौरमा सुविधा सम्पन्नको कुरा छोडौँ सामान्य रुपमा पनि बस्न मिल्ने होटलको अभाव छ त्यसैले चन्द्रनिगाहापुरमा तालिम गर्ने कि’ भन्ने सुझाव महासँघका जिल्ला अध्यक्ष गुप्ताले दिनुभएको थियो । सुझाव राम्रो थियो । चन्द्रनिगाहापुरमा गर्दा राजधानीबाट जाने प्रशिक्षकलाई सुविधा हुने थियो । तर गौरमा रहेमा पत्रकार र स्थानीय निकायलाई असुविधा हुने भएकाले मैले ‘गौरका स्थानीयले सोही स्थानमा जीवन बिताएका छन् भने हामीलाई पाँच रात रौतहटको सदरमुकाम गौरमा रहेका होटलमा बस्दा कतिनै कष्ट होला र ? कष्ट भयो नै भने पनि सहौँला ’ भन्ने जवाफ दिएँ । गौरमानै तालिम गर्ने टुङ्गो गरियो ।
रौतहट नेपालको तराईको पूर्वी क्षेत्रमा पर्ने खेतीयोग्य भूमि भएको एक जिल्ला हो । वि.सं. २०६८ को जनगणना अनुसार यहाँको जनसंख्या ६८६७२२ रहेको छ । समुद्र सतहदेखि १२२ मिटरदेखि चुरेसम्म पुग्दा यसको अधिकतम उचाई २४४ मिटरसम्म रहेको छ । यहाँ उष्ण तथा समशितोष्ण हावापानी रहेको छ । मनसुनी वर्षाको मुख्य क्षेत्रमा पर्ने हुँदा यहाँ २२ सय मिलिमिटरसम्म वर्षा हुन्छ । जिल्लाको पूर्वमा सर्लाही पर्दछ जसलाई बाग्मती नदीले छुट्ट्याएको छ । पश्चिममा बारा, उत्तरमा मकवानपुर दक्षिणमा भारतको बिहारको बैरगनियां क्षेत्र पर्दछ । नेपालको एकीकरणलाई निस्तेज पार्न जय प्रकाश मल्लको सहयोगकोलागि बंगालका सुल्तानका फौजसँग गोर्खाली सेनाको रौतहटको संग्रामपुरमा लडाइँ भएको इतिहासमा पाईन्छ । त्यसबेला समनपुरमा गोर्खाली सेनाले सुल्तानका सेनालाई परास्त गरेको र विश्रामपुरामा पुगेर गोर्खाली सेनाले खुशियाली मनाएर राजदेवी मन्दिरमा पूजा गरेको भन्ने कुरा अझैसम्म स्मरण गरिन्छ ।
यहाँ धेरै मठ तथा मन्दिर रहेका छन् । प्रमुखमा लक्ष्मीनारायण, भगवती, ईश्वरनाथ महादेव, रामजानकी आदि छन् । लोकतान्त्रिक व्यवस्थाको स्थापना पछि नयाँ पर्यटकीय क्षेत्रको यहाँ विकास गर्न थालिएको छ । त्यसमध्ये नुनथर, त्यहाँ रहेको शिवमन्दिर र अमिलो पानी भएको गहिरो इनार , बागमती नदी माथि सर्लाही जिल्ला जोडने झोलुङ्गे पुल, जुङ्गे झरना, हालसालै बनेको नमुना मुसहर बस्ती, रामसार क्षेत्र, साकाहारी नगरपुर गाउँ, निजगढ, चन्दनिगाहापुरसहित गौर बजार, राणाकालीन पुरैनवा दरवार यहाँका मुख्य पर्यटकीय तथा तीर्थ स्थल हुन् ।
रौतहटदेखि १८० किलोमिटर दक्षिणमा रहेको भारतको चिंरादभन्ने ठाउँमा नयाँ ढुङ्गे युग करिव १२ हजार वर्ष पहिलेदेखि मानिसको बसोबास रहेको भन्ने कुरा त्यहाँको पुरातत्व विभागले जनाएको छ । उत्खननमा धेरै पुराना माटाका भाडा फेला परेका छन् । त्यसको आधारमा रौतहटको यस क्षेत्रमा पनि त्यसबेलादेखि मानव जातिको बसोबास हुन थालेको भन्न मिल्छ । जिल्ला समन्वय समितिका अनुसार रौतहट जिल्लाको नाम ‘राउत’ र ‘हट’ भन्ने दुई शब्दहरु मिलेर बनेको हो । ‘राउत’ भन्नाले खासगरी यादव जातिको थरलाई बुझाउँछ भने ‘हट’ भन्ने शब्दको अर्थ बजारहुन्छ । यसरी ‘राउत’ ‘हट’बाट रौतहट भएको हो । यसको अर्थ यादवहरुको बसोबास भएको ठाउँ भनेर पनि बुझिन्छ । यहाँ मुसलमान, यादव, कुर्मी, तेली, कानु, थारु, चमार, हरिजन, राम आदि जातिको बसोबास रहेको छ । यहाँका बासिन्दाले बज्जिका, उर्दू, नेपाली, भोजपुरी, थारु, मैथली, तामाङ, मगर भाषा बोल्दछन् । हाल यहाँ १६ नगरपालिका र २ मात्र गाउँपालिका रहेका छन् ।
यो जिल्लाको साक्षरता प्रतिशत जम्मा ४२ प्रतिशत रहेको छ जुन हुम्ला, बझाङ र बाजुरासँग नजिक छ । औसत आयु ७० वर्ष रहेको छ । दु्रतमार्ग र निजगढ विमानस्थलको निर्माण पछि रौतहटको आधुनिक विकासमा पक्कै पनि ठूलो फेरबदल आउने पक्का छ ।
काठमाडौँदेखि दक्षीणकाली, भीमफेदी, हेटौँडा, अमलेखगञ्ज, निजगढ, चन्द्रपुर हुँदै गौर बजार करिव २ सय किलोमिटर रहेको छ । चन्द्रपुर (चन्द्रनिगाहपुर) बाट गौर करिव ५० किलोमिटर दक्षिणमा पर्दछ । तालिमको सबै तयारी भएको थियो । रौतहटबाहेक बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा र सिन्धुलीबाट सहभागी निश्चित भएका थिए । प्रशिक्षकमा प्रा. रामकृष्ण रेग्मी र श्रीरामसिंह बस्नेत हुनुहुन्थ्यो । बैशाख १२ गते प्रा. रामकृष्ण रेग्मी र म बल्खुबाट सुमो मोटरमा दक्षिणकालीको बाटो भएर गौर तिर लाग्यौँ । श्रीरामसिंह बस्नेतको भोलीपल्ट आउने कार्यक्रम थियो ।
करिव चारबजे हामी गौर पुग्यौँ । शैलेन्द्र गुप्तासँग भेट भयो । उहाँले देखाउनु भएको होटलमा झोला राख्यौँ । एक तले होटलका कोठा अतिनै सामान्य थिए । कोठाको अगाडि खुला नाली थियो । त्यो अत्यन्त फोहोर थियो । कोठा भित्र झ्यालको चेप, कुनाकानी र दलिनमा माकुराको जालो र माउसुलीले एक अर्कालाई आक्रमण गर्न ढुकेर बसेका थिए । कोठाको बीचमा खाट थियो । खाटमा सिरक, सिरानी र झुल एकै ठाउँमा गुटुमुटु पारि राखिएको थियो । कोठाको कुनामा पान खाएर थुकेको दाग देखिन्थ्यो भने झ्याल वरपर चुरोटका ठुटा थिए । बत्तिको प्लग कम्मर भाँचिएको बृद्धको जस्तो बाङ्गिएर लत्रेको थियो । लामखुट्टे धपाउने हरियो गोलो आकारको धुपका टुक्राटाक्री वरपर थिए । त्यहाँको दृश्यले होटलका कोठा धेरै दिनदेखि सफा नगरिएको भन्ने सजिलै थाह हुन्थ्यो । दुईटा कोठामा झोला राख्यौँ ।
कोठाको अवस्था देख्दा मलाई असजिलो महसुस भयो । म लामखुट्टेदेखि तर्सन्छु । दिउँसोको गर्मीमा त त्यहाँ लामखुट्टे देखिएका थिएनन् । तर साँझपख हुने लामखुट्टेको फौजको संख्या महाभारतको लडाईमा कौरव र पाण्डवको सेनामा भएका सेनाको संख्या भन्दा कम नहुने मैले अनुमान गरिसकेको थिएँ । फेरि त्यसबेला चौपट्टै लोडसेडिङ् हुन्थ्यो । पंखा चलाउँदा पनि पसिना निरन्तर आइरहन्थ्यो । पंखा नहँुदा नुहाउन पानी खोज्न पर्दैन्थ्यो ।
म जसोतसो रात काटुँला । तर मभन्दा पाको उमेरका रेग्मीसरको लागि के गर्ने होला, म विचलित भएँ । मलाई साह्ै पीर प¥यो । किनभने त्यो त मेरो जिम्माको कुरा थियो । विशिष्ट प्रशिक्षकलाई त्यस्तो होटलमा राख्नु भनेको त मेरो गैर जिम्मेवारी हो । अन्य, प्रशिक्षक हुन्थे भने सायद उनीहरु तालिम छोडेर त्यहाँ बस्नु भन्दा रात्रीबसमा राजधानी फर्कने थिए । जे होस्, कमजोरी त मेरो मात्र हो । मलाई शैलेन्द्र गुप्ताले होटलको अवस्थाबारे जानकारी दिनुभएको थियो । मैले रौतहट एउटा आन्दोलनको इतिहास भएको, पुरानो संस्कृति र सभ्यताको चिनारी बोकेको, भारतबाट भारतीय पर्यटक आउने जाने गर्ने गरेको पक्कै पनि राम्रो होला भन्नेमा विश्वस्त थिएँ , आफैमा । त्यसैले निरीक्षण गरिनँ । त्यो मेरो अनुमान गलत भयो े । अनुमानमा भर पर्न हुँदैन ।
म त गैर जिम्मेवारमा गनिने भएँ । झोला फालेर बाहिर निस्केँ । शैलेन्द्रजीसँगै वरपर अन्य होटलको खोजिमा निस्क्यौँ । त्यो भन्दा राम्रो होटल भेटेनौँ । अन्तमा, त्यो एक रात जसरीतसरी लामखुट्टेसँग पौठेजोरी खेलेर भए पनि बिताउने र भोलीपल्टदेखि कर्मचारी मिलन केन्द्रको पाहुना घरमा बस्ने समझदारी शैलेन्द्र र मैले ग¥यौँ । खाना खाने रेष्टुरेन्ट भने सफा थियो ।
पूर्व–पश्चिम राजमार्गमा पर्ने चन्द्रपुरमा सुविधायुक्त होटल थिए । तर सदरमुकाम गौरमा त्यसबेला सामान्य स्तरको एउटै पनि बस्न योग्य होटल रहेनछन् । त्यस्तो किन त ? त्यस्तो किनभने, सरकारी, गैरसरकारी, पार्टी, सामाजिक संघसंस्थाका जे जति कार्यक्रम हुन्थे सबै चन्द्रपुरमा हुन्थे । त्यहाँ पूर्व–पश्चिम कुनै ठाउँमा यात्रा गर्न मिनट–मिनटमा बसको सुविधा थियो । सदरमुकाम भएर के गर्नु ? गौरलाई चन्द्रशमशेरको निगाहा पाएको चन्द्रनिगाहापुरले कलकत्तामा राणाहरुका परित्यक्त दरवार दयनीय अवस्थामा रहेजस्तै दयनीय बनाइदिएको रहेछ । मनिसलाई ठेस नलागेसम्म दुखाई थाह हुँदैन । त्यस्तै भयो ।
म होटलमा फर्कँदा साँझ परेको थियो । साँझपखको समय लामखुट्टेको लागि स्वर्णिम समय हो । होटलको कोठाको अगाडिको खुला नालीबाट लामखुट्टेको झुण्ड अरिङ्गालको गोलोमा कसैले ढुङ्गा हान्दा जसरी मानिसको टाउको माथि खनिन्छन् त्यसैगरी उडेका थिए । नालीबाट उडान भरेका ती लामखुट्टे सिधै खिया लागेर भ्वाङ् परेको झ्यालको जालीबाट कोठाभित्र मिसाइलको गतिमा छिरेका थिए । म मेरो कोठा भित्र छिरेँ । गौरका लामखुट्टे सबै त्यहीं होटलको कोठामा मलाई स्वागत गर्न आएको अनुभूति गरेँ । जसोजतो झोलाबाट टर्च लाइट निकालेँ । मैनबत्ती, सलाई र लामखुट्टे भगाउने धूप एक सेट मेरो कोठामा राखेँ र रेग्मीसर बसेको कोठामा छिरेँ ।
कोठामा धमिलो बत्ति बलेको थियो । पंखा चलेको थिएन । रेग्मीसर पसिनाबाट स्नानरत अवस्थामा विछौनाको बीचमा झुल भित्र हुनुहुन्थ्यो । झुल बाँध्ने ठाउँ नभएकाले उहाँले झुल ओढ्नु भएको थियो । झुलमा चारवटा ठूला प्वाल रहेछन् । ती ठूला भ्वाङ्बाट छिरेका लामखुट्टेले उहाँलाई मौरीले उनीहरुको चाका घेरेझैँ घेरेर आफ्ना तीखा सुईरा गाढ्दै थिए । उहाँले घरीघरी अनुहारमा चुम्बन गर्न अत्तालिएका वैंसले उन्मत्त लामखुट्टेलाई धपाउँन चेष्टा गर्नु हुन्थ्यो । होटल खोज्न हिडेको म लखतरान भएर फर्कँदा नेपाली पत्रकारिता जगतका तपश्वी फाटेको झुल भित्र दधिची बनेर लामखुट्टेलाई सर्वस्व सुम्पेर खाटको बीचोबीच भागमा पलेटी कसेर बस्नु भएको देखेँ ।
त्यसबेला मलाई मैले हदैसम्म अपराध गरेको महसुस भयो । म न क्वाँ क्वाँ डाको छोडेर रुन सकेँ न त खित्का छोडेर हाँस्न नै । मैले गैरजिम्मेवार कर्म गरे भन्ने त महसुस गरेको थिएँ नै । तर त्यति भनेर म उम्कँने ठाउँ थिएन । म पूर्व जन्म र पूर्नजन्ममा विश्वास नगर्ने मानिस । जीवन भनेको वर्तमान जीवननै हो । धर्म, पाप, स्वर्ग र नर्क यही पृथ्वीमा छ । बाँचुञ्जेल राम्रो कर्म गरेर जीवनलाई सुख र सन्तोषको बाटोबाट हिँडाउन पर्छ । मर्नु नै मुक्ति पाउनु हो । अर्को जन्म हुदैन । आफ्नो निहित स्वार्थ र फाइदाको लागि अरुलाई दुःख दिन हुदैन । त्यो पाप कर्म हो । त्यसको हरहिसाब पनि यहीँ जन्ममा चुक्ता गर्नु पर्छ भन्ने दर्शनसँग म नजिक छु । प्राचीन ऋषि चार्वाक यो दर्शनका प्रर्वद्धक हुन् । प्रा. रेग्मीलाई त्यो हालमा राख्नु मैले पाप कर्म गरेको ठहर्छ र मैले त्यसको सजाय पाउनु पर्छ भन्नेमा म पुगेँ । उहाँ अरुलाई पटक्कै दुःख दिन चाहनुहुन्न । अरुको दुःखमा सहयोग हुने भए उहाँ दधिची बन्न तयार हुनुहुन्छ । करिव वीसवर्ष लामो संगतबाट मैले उहाँलाई चिनेको त्यसरीनै हो ।
प्रा. रामकृष्ण रेग्मी नेपाली पत्रकारिता जगतको भीष्मपितामह हुनुहुन्छ । वर्तमान नेपालमा रहेका छापा, तथा विद्युतीय सञ्चार माध्यममा काम गर्ने सम्पादक, पत्रकार, कलेजमा अध्यापन गर्ने क्याम्पस प्रमुखदेखि प्राध्यापन पेशामा संलग्न गुरुहरु उहाँबाट प्रशिक्षित तथा अध्यापन नगराईएका सायदै भेटिएला । उहाँ पत्रकार, प्रशिक्षक, पत्रकारिता प्राध्यापन र अनुसन्धानमा विगत ५० वर्षदेखि निरन्तर रुपमा क्रियाशील हुनुहुन्छ । त्यसबाहेक अनुसन्धान र विभिन्न विषयमा अनुसन्धानात्मक सोधपत्र तयार गरि प्रस्तुत गर्ने प्रस्तोतामा उहाँ नेपालको प्रमुख स्रोत ब्यक्ति हो । ‘ हामीसँग पनि क्षमता छ , हामी पनि अनुसन्धानमूलक कार्यपत्र तयार गर्न सक्छौँ’ भनेर सेमिनार हल र चिया पसलमा धाक दिने विद्याबारिधि गर्ने डाक्टरहरु धेरै भए तापनि चाहे ती सरकारी हुन, अन्तरराष्ट्रिय गैर सरकारी हुन वा स्वदेशमानै रहेका गैर सरकारी संस्था नै किन नहुन उहाँमा नै पूर्ण भर पर्नु पर्ने अवस्थामा परिवर्तन भएको छैन ।
त्यस्तो राष्ट्रिय व्यक्तित्वलाई साथमा लिएर हिडने अवसर मैले पाएको थिएँ भने देशको कुनामा रहेका पत्रकारले पनि उहाँबाट ज्ञान हासिल गर्ने सुवर्ण अवसर प्राप्त गरेका थिए, जुन हामी सबैकोलागि फाइदाजनक थियो । तर त्यो साँझ म झस्केँ । मैले पनि त्यसबेलासम्म पत्रकारिता जगतसँग करिव २७ वर्षको नाता कायम गरिसकेकोे थिएँ । अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय र जिल्ला स्तरका त्यस्ता कार्यक्रम सन्तोषजनक रुपमा आयोजना गरेको थिएँ । तर त्यहाँ पत्रकार महासँघका अध्यक्ष ्र गुप्ताको सुझावलाई नमानेर, भावुक बनेर, चन्द्रपुरमा नगरी गौरलाई माया गर्दा त्यस्तो दुर्दशामा परिएको थियो ।
‘सर मैनबत्ती, सलाई र धुप ल्याएको छु ’ भन्दै त्यो सामान झ्यालमा राखेँ ।
‘‘ मैले विस्कुट पनि बोकेको छैन, औषधि खानु पर्ने थियो । केही खान पाइएला कि नपाइएला विष्णुजी’’ सरले भन्नु भयो ।
‘‘सर खानाको व्यवस्था नजिकैको एउटा रेष्टुरेन्टमा गरिएको छ । त्यो सफा छ । आज यो होटलभन्दा राम्रो अन्यत्र पाईएन । आज यसैमा रात काट्न पर्ने भयो । भोली कर्मचारी पाहुना घरमा सर्ने टुङ्गो पनि भएको छ । चाबी बोकेको कर्मचारी नजिक नभएको हुनाले जसोतसो आजको रात यहीँ काट्नु पर्ने भयो ।’’ मैले भनेँ
‘‘ यस्तै हो । मलाई थाह छ । लोडसेडिङ हुँदा कठीन हुन्छ । पीर मान्न पर्दैन । यो हाम्रो क्षमताको कुरा होइन । हामी त सदरमुकाममा छौ । यहींबाट हामीले देशको अध्ययन गर्ने हो । ’’ उहाँले भन्नु भयो ।
ठीक त्यसैबेला बत्ती पनि गयो । लामखुट्टे झन् खुशी भए । टर्च लाइट बाल्दै खाना खान गयौँ । रातभर बत्ती आउने र जाने क्रम निरन्तर नै भयो । फाटेको झुल भित्र लामखुट्टे पसिसकेको हुनाले हामी सुरक्षित हुने उपाए थिएन । एघार बजेदेखि विहान चार बजेसम्म १० चक्के र १२ चक्के ट्रकले चुरे पहाडतिरबाट बालुवा, रोडा र गिटी भारतको वैरगनियां तिर निरन्तर ओसारीनै रहेको कर्कश आवाज मन चुकचुकाउँदै सुनिरह्यौं । बिहानी पखको शितल हावाको प्रवेशले होला आधाघण्टा आँखा झिम्किएछन् ।
भोलीपल्ट तालिम यथावत प्रारम्भ ग¥यौँ । श्रीरामसिंह बस्नेत पनि सोही दिन गौर आइपुग्नु भयो । त्यसबेला उहाँ राष्ट्रिय समाचार समितिमा समाचार प्रमुख हुनुहुन्थ्यो भने मिडिया प्वाइन्टका प्रमुख प्रशिक्षक । बाहिर जिल्लाबाट आएका साथीहरुले पनि ‘चन्द्रपुरमा कार्यक्रम नगरेर किन गौरमा गरेको । हामी रातभर सुत्न सकेनौँ’ भनेर गुनासो गरेका थिए । दोस्रो दिन कर्मचारी मिलन केन्द्रको पाहुना गृहमा स¥यौँ । संयोगवश भनौँ वा कहिलेकाहीँ ठूला नेता वा हाकिमले त्यहाँ रात बिताउने भएकाले हुनसक्छ कि त्यहाँको झ्यालको जाली फाटेको थिएन, झुलमा लामखुट्टे छिर्ने प्वाल भए तापनि भ्वाङ परेको थिएन । पंखा चल्दथ्यो र धारामा पानी आउथ्यो । हामीलाई त्यति हुँदा आधारभूत आवश्यकता मनग्य पुगेको थियो ।
गौरमा रहेकै बेला एक दिन सीमानापारी भारतीय भूमि नेपाली काँग्रेसको जन्म भएको ऐतिहासिक ठाउँ बैरगनियां गयौँ । गौरदेखि मात्र दश किलोमिटर दक्षिणमा रहेको बैरगनियांको रेलवे स्टेसन र नेपालसँग त्यस स्थानको ऐतिहासिक नाताबारे गुप्ताले जानकारी दिनु भयो । अर्काको देशको विकास, उन्नति, सफलता देखेर गफ गरेरमात्र नहुँदो रहेछ । गफले देश विकास हुन्थ्यो भने हामी चन्द्रमामा उहिल्यै उक्लेका हुन्थ्यौँ ।
त्यो तालिम सम्पन्न भएको आठ वर्ष नाघेछ । त्यसपछि थप ३४ जिल्लामा थप ५२ तालिम सम्पन्न ग¥यौँ । प्रायः सबै तालिममा केही न केही स्मरणयोग्य दुःख र सुखका प्रेरणादायी घटना त हुन्छन् नै । तर मैले बैशाखको गर्मीको महिनामा रौतहटको गौरमा भएको त्यो तालिम भने सम्झिरहन्छु । हो त्यसैबेला, फाटेको झुल भित्र लामखुट्टेले घेरिएर कुक्रुक्क परेर बसेको एक सौम्य, शिष्ट, भलादमी, नेपाली पत्रकारिताको भीष्मपितामह , नेपाली पत्रकारका गुरु, श्रद्धेय रेग्मी सरलाई आँखा अगाडि झलझली देखिरहन्छु ।
चुरेको दोहन रोकिनै पर्छ । देशको मुटु, तराईको केन्द्रमा रहेको, प्राचिन इतिहासको घडा भएको , धार्मिक र सांस्कृतिक सम्पदामा धनि रौतहटको सदरमुकाम गौरमा लामखुट्टेको टोकाइ र गर्मीको अनुभव गर्नु हाम्रो लागि एक अध्ययन हो । यसमा रौतहट र गौरको तस्वीरभन्दा पनि देशको तस्वीर हाम्रो आँखा अगाडि झलझली देखिएको थियो । त्यो तस्वीरलाई हामीले कक्षाकोठामा नयाँ नेपालको प्रतिनिधित्व गर्ने युवा पत्रकारका अगाडि राखिदिएका थियौँ ।
आठ वर्ष पछि आजका दिनसम्म आइपुग्दा हामीले सोँचे जस्तो गरि विकास नभए तापनि केही परिवर्तन भएको छ । होटल, सडक, पुल बनेका छन् । सरसफाइमा ध्यान पुगेको छैन । अहिले गौर मात्र किन र ? रौतहट जिल्ला, प्रदेश नम्बर दुई र सिङ्गो नेपालले सुस्तनै किन नहोस, भ्रष्टाचार भएको किन नहोस् संरचनागत विकासको बाटो भने समातेको छ । आशा गरौँ, त्यसले गति पनि लिनेछ । –समाप्त–