दार्म जिउलो धान पाक्दैन चङ्खेली छायाले

धन्यवाद सहित साभारः रचना साहित्यिक पत्रिका २०७८ वैशाख–जेठ अंक १७० मा प्रकाशितः

आधुनिक युग भनेर सिद्धार्थ गौतम (इ.पू.५६३–४८३)को युगदेखि मान्ने हो भने पनि उनको जन्म ई.पू. ५६३ पछि गणना गर्दा सन् २०२१ मा २,५८४ वर्ष पुगेको छ । नेपालको हिमाली क्षेत्र मुस्ताङतिर मानवको बसोबास दश हजार वर्षपहिले देखि भएको थियो भन्ने प्रमाण त्यहाँ भेटिएका गुफाहरूको अध्ययनबाट थाहा भएको छ । अझ धेरै खोज हुन बाँकी छ । बौद्धकालपछिका मानव सभ्यताका प्रमाण खोज्ने हो भने नेपालमा प्रशस्त भेटिन्छन् । त्यसको आधारमा मात्र भन्ने हो भने पनि हिन्दुकुश हिमालयदेखि पूर्व भुटान र दक्षिणमा कन्याकुमारीसम्म खस महाजातिका विभिन्न जातिहरू फैलिएको कुरा बालकृष्ण पोखरेलले ‘खस जातिको इतिहास’ मा सप्रमाण उल्लेख गरेका छन् । उनको त्यो पुस्तक मानव जातिकै एक महासागर हो । हिमाली उपमहाद्विप, मध्यपूर्व र मध्यएसियाको त त्यो प्रमाणित, प्रमाणसहितको वेद हो । नेपालीको लागि त त्यो पुस्तक महावेद हो ।


समयको विकासक्रममा प्राकृतिक प्रकोप, कठिनाइ, परिवारको सङ्ख्या वृद्धि, सुखी जीवनको चाहना आदिका कारणले बसाइँ सर्ने चलन प्राचीन कालदेखि आजका दिनसम्म निरन्तर चलिरहेको छ । त्यसमध्ये प्राचीन खसका सन्तान नेपाली पनि बसाइँसराईको इतिहास आदिकालदेखि आजसम्म छ । वर्तमान अवस्थामा नेपालीहरू विश्वको अधिकाङ्स मुलुकमा पुगेको आधारमा भोलिका दिनमा अन्य ग्रहमा मानिसको बसोबास भएछ भने नेपाली त्यहाँ ढिलो नगरी पुग्नेछन् । बसाइँसराईको कारण कैयौँ जातिले अर्को जातिसँग सहमिलन गर्नुपरेको, एक ठूलो जातिको विस्तार हुँदा सानो जाति विस्थापित हुनुपरेको कुरा समाजशास्त्रमा पढ्न पाइन्छ । त्यस्ता प्रत्यक्ष उदाहरण नेपालका माझी, कुसुण्डा, चेपाङ, हायु जातिको अवस्था हेर्दा हुन्छ । त्यसका अतिरिक्त मानिसको रूप, संस्कृति, परम्परा, धर्म, संस्कार, जात र भाषामा समेत परिवर्तन भएका उदाहरण पनि नेपालमा प्रशस्त छन्, अन्यत्र जानुपर्दैन । इ.पू. २००० तिर नै खस महाजातिको रूपमा प्राचीन स्वर्लोक (स्वर्गलोक वर्तमान–सिरिया), इजिप्ट, इरान, बेबिलोनिया आदि ठाउँमा विकास भएको थियो र त्यसका केही जाति पूर्व लागे । अन्यत्र खससँग सम्बन्धित चिह्न इतिहासमा मात्र सुरक्षित रहे तापनि वर्तमानमा लोप भए अर्थात् इरान, इराक, सिरिया, इजिप्ट, ग्रीसका जाति र भाषा, रूप र रङ्ग, धर्म र संस्कारमा अर्कै बने ।


संसारमा वर्तमानमा नेपाल मात्र त्यस्तो देश हो जहाँ आजभन्दा ४,००० वर्षपहिले मध्यएसियामा राज गरेको खस जातिको सन्तानले १००० वर्षपहिले करिब ३०० वर्षसम्म खस साम्राज्य कायम गरे । त्यो खस साम्राज्य पश्चिममा लद्दाख, पूर्वमा त्रिशुली, उत्तरमा कपिलास (कैलाश जहाँ खस कपीस बस्थे) र दक्षिणमा शाक्य (खस) वंशीय बुद्धको जन्मस्थल लुम्बिनीसम्म फैलिएको थियो । त्यो पश्चिममा ग्रीसदेखि पश्चिम एसिया, मध्ये एसिया, मध्येपूर्व, अरब लगायत हिमालय उपमहाद्विपमा रहेका खस जातिका सन्तानले गर्व गर्ने विषय हो । किनभने खसकै नाममा अन्यत्र खस जाति हराएर गयो भने नेपालमा मात्र बाँकी रह्यो । आज नेपाल मात्र त्यस्तो देश हो जहाँ खस भषा, खस संस्कृति, खस जाति जीवित मात्र होइन भाषा, संस्कृति र जातिगत रूपमा नै जीवन्त छ, व्याप्त छ ।


खस साम्राज्यको राजधानीवरपरको मुगु जिल्लाको उत्तरी गाउँमा मैले पदयात्रा गरिरहेको थिएँ । त्योे मेरो लागि ठूलो गर्वको विषय हो । म हिँडिरहेको बाटोमा भेटिने जोकोहीले पनि आपूmलाई सगौरव आपूm खस भएको, गाउँ र पखेरा खसान भएको र आपूmले बोल्ने बोली खस भएको बताउँछन्, जसरी मलाई मुगुमका लामाले आपूmहरू खस लामा भएको बताएका थिए, त्यसबारे जनमत मासिकको नियात्रा विशेषाङ्कमा लेखेको छु । त्यस्तो गौरवपूर्ण ठाउँमा यात्रा गरिरहेको बेला म भने दुःखी भएको छु –अत्यन्त । म यस अर्थमा दुःखी छु कि आज खसकै ती सन्तानहरू जो ठूलो पदमा आसिन छन्, जो सुकिलामुकिला छन्, जो उनले आपूmलाई खस भनेको सुन्दा जात गएको महसुस गर्छन् र आफ्नै रगतको नातालाई कतै पावई क्षेत्री अथवा कतै मतवाली क्षेत्री भनेर होच्याउँछन् । त्यति मात्र होइन, त्यस्तै परेमा निमोठनामोठ पार्न पनि पछि पर्दैनन् ।


मुगु जिल्लाको थार्प, रुगा, सदरमुकाम गमगढी पूर्ण जर्जर, सुख्खा थियो । त्यहाँ न्याउलीको विरह गीत र काकाकुल तीर्खाको चित्कार आइरहन्थ्यो । ती भिराला फुस्रा पखेरामा कालो धुले हावा हुइँहुइँ आवाजका साथ उडिरहन्थ्यो । तर मुगुको पश्चिमोत्तरमा रहेको वामगाउँ देखि भने फाट्टफुट्ट रूख, बिरुवा, खेत र बारीमा गहुँखेतीसहित हरियाली देखिन थालेको थियो । हरियालीले गर्दा चराचुरुङ्गीको चिरबिर पनि सुनिन्थ्यो । हामी फरिपाटा नाघेपछि घाचौरमा पुग्यौँ । त्यसपछि चंखेली पुग्ने बेलासम्म लालीगुराँसको वनको बाटो हिँडियो । सानो वन भए पनि त्यहाँ राता र गुलाबी रङमा फुलेका लालीगुराँसका पूmलले वन ढपक्कै ढाकेको थियो । ठाउँठाउँमा घाँसे चौरमा भेडाको बथान घोडाका फुर्तिला बछेडा चरिरहेको देखिन्यो । हामी खुला चौर भएको चङ्खेली लाग्ना (भन्ज्याङ) पुग्यौँ । यो लाग्ना ३,६०० मिटरको उचाइमा रहेको छ ।


चंखेली पहाड लाग्नाबाट नजिकै देखिएका थिए । चंखेली पहाड रारा जत्तिकै मुगाली जनताका गौरव हुन् । गमगढीबाट हेर्दा मुगु कर्णालीको तीरबाट उठेको जस्तो नजिकै देखिने ती जुम्ल्याहा चंखेली पहाड निकै सुन्दर देखिन्छन् । गाउँले हिँडाइमा गमगढीबाट चंखेली लाग्ना पुग्न एक दिन लाग्दोरहेछ । तिनको ऐतिहासिक, पर्यटकीय, र प्राकृतिक महŒव आफ्नो ठाउँमा छँदैछ । चंखेली लाग्नाबाट पश्चिमतिर रहेका ती पहाड क्रमशः ४,४०८ मिटर र ४,५८७ मिटरको उचाइका छन् । आमाडब्लम हिमालको चित्र रहेको रुपियाँ एकको नोटको पहाडलाई मुगालीले चङ्खेलीको चित्र भन्ने भ्रममा पनि परे, केही समय । त्यसरीनै सम्मान दिनुपर्ने सम्पत्ति हुन् ती पहाड । तर दिईदैन । ती दुई पहाडसँगै त्यसको काखका ४,००० मिटरको उचाइमा अर्को पहाड पनि रहेको छ । चङ्खेली लाग्नादेखि नजिक पूर्वतर्फ हुम्ला डाँडाको दक्षिण काखमा तिन्ह दह, दुधिया दह, जिगिल्या दहसहित अन्य छ–सातओटा गोसाइँकुण्डका जस्ता अति नै मनमोहक दहहरू रहेका छन् । त्यहाँ छायानाथमा झैँ जनैपूर्णिमामा मेला लाग्दोरहेछ । चंखेलीबाट हुम्लातिरका पञ्चमुखी हिमालसहित बडो मनोरम दृश्य देखिन्छ । चङ्खेलीमा आरोहण गर्न कठिन पनि छैन । प्रचारप्रसार गर्न सकेमा र आवागमन सहज भएमा यो मुगुको रारा तालपछिको पर्यटकीय गन्तव्य हुनेछ ।


छायानाथभन्दा नजिक भएको र बाटोमा वामसहित धेरै सुन्दर, ऐतिहासिक, सांस्कृतिक रूपमा धनी गाउँ भएकाले चंखेली डाँडा स्वदेशी र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्नेछ । यो क्षेत्र ग्रेट हिमालयन ट्रेलमा पनि परेको हुँदा विदेशी पर्यटक पनि यो बाटो हिँड्छन् । मुगुको पर्यटन विकासका लागि भने आन्तरिक र भारतीय पर्यटकलाई ध्यानमा राखेर योजना गर्नुपर्ने देखिन्छ । वि.सं. २०७४ मा मैले मुगुम पुगेर चङ्खेली हुँदै सिमकोट क्षेत्रको पदयात्रा गर्दासम्म बस्न र खान पाइने ठाउँ थिएनन् । अति नै चोखो, मानिसको भिडभाड नहुने, प्रकृतिको राज भएको, ४,०००–५,००० वर्षपहिलेदेखि बसोबास गरेका खस जातिका पुर्खाहरूको बसोबास भएको, हिमताल र नदीहरूको कारणले यो क्षेत्र पर्यटकका लागि अति नै चाखलाग्दो, मनमोहक र उत्कृष्ट गन्तव्यमा पर्छ । त्यसको लागि स्थानीय निकाय, मुगु जिल्ला र कर्णाली प्रदेशको ध्यान भने पुग्नैपर्छ ।
हामी चङ्खेली पुग्दा मौसम सफा थियो । हुम्लातिरका हिउँले भरिएका पहाडहरू लहरै उभिएर हामीलाई लालीगुराँसका पूmलले स्वागत गरिरहेका थिए । चंखेली लाग्ना, चंखेलीको फेदतिर भेडा, घोडा चरिरहेका थिए । वरपरको वन लालीगुराँसका पूmलले ढपक्कै ढाकेका थिए । हामी चङ्खेली लाग्नाको त्यो सुन्दरता र लोभलाग्दो वातावरणमा केही बेर विश्राम ग¥यौँ, रमायौँ र देवकोटाबाडातिर लाग्यौँ । त्यस बेला पानधारकी युवतीले गुनगुनाएको एउटा लोकगीत यस्तो थियो ः


दार्म जिउलो धान पाक्दैन चङ्खेली छायाले
मौरी रिङ्छ पूmलका बारी म रिङ्छ मायाले ।

उँदो हट्दो हिँडो करनाली उँभो हान्चो भुल्का
लाग्न्यौँदो लाग्दैन माया, नलाग्न्यौ दे उल्का ।


त्यस दिनको यात्रा भिर र सुख्खा विहिन भएकाले असाध्यै सजिलो थियो । सामान्य उकालोओरालो र तेर्सो मात्र । बाटोमा गाउँलेकासाथै रूख, बिरुवा र गहुँखेती देखिन्थ्यो । हामी देवकोटाबाडा पुग्ने योजनामा थियौँ । त्यो बाटोको वरपर हामीले लालीगुराँस, खस्रु र सल्लोको वन, जिउला (खेत), बारी र भुवा (खरवारी), भिराला पखेरा, मठ, देउली, ठूला–साना गुजमुज्ज वाम जस्ता गाउँहरू, दाउरा, मल बोक्दै गरेका दिदीबहिनीहरू, भेडा र घोडा चराउँदै गरेका गोठाला दाजुभाइ भेट्यौँ । बाटोमा गर्खानजिक सानो शिशु काखमा चेपेकी एउटी नारीले उनको खुट्टामा पाकेको घाउ देखाउँदै ‘औषधी छ कि’ भनेर सोधिन् । मसँग कपास र बेटाडिनको झोल मात्र थियो । त्यसमध्ये केही मैले मुगुम जाँदा रेउसा बगरमा त्यस्तै घाउको उपचारका लागि दिएको थिएँ । त्यहाँ पनि मैले उनको घाउ सफा गरेर बेटाडिन राखिदिएँ । मेरो यात्रा पनि सकिन थालेकाले मलाई आकस्मिक उपचारका लागि राखेर उनलाई चार दिनलाई पुग्ने गरी सानो सिसामा राखिदिएँ । वनमा दाउरा काट्दा बन्चरो चिप्लेर उनको दाहिने खुट्टाको बुढी औँलानजिक गहिरोसँग काटेको रहेछ ।


बिदा हुने बेलामा मुसुक्क मुस्काउँदै उनले “नसस्ते सर” भनिन् । मैले पनि ‘नमस्ते’ भनेँ । सामान्य घाउचोटको समेत उपचार पाउन नसकी पीडा खपेर बस्नुपर्ने यहाँका मानिसहरुको नियति देख्दा आफैंलाई धिक्कार लाग्यो । काखको शिशुलाई उनले दुध चुसाउँदै थिइन् । उनले टाउकोमा पातलो रुमाल बाँधेकी थिइन् । त्यसमाथि ऊनको ठूलो पछ्यौरा ओढेकी थिइन् । मैले वामका गाउँलेबारे खुलामञ्च डट कममा प्रकाशित भएको संस्मरणमा उल्लेख गरेझैँ उनको अनुहार पनि चिल्लो कालो भएको थियो । त्यो वास्तवमा हावासँगैको कालो धुलो अनुहारमा परेर टाँसिदाटाँसिदै पत्रपत्र परेर कालो भएको थियो । उनले नाकमा मुन्द्री र तितेपूmल आकारको ठूलो पूmली लगाएकी थिइन् । घाँटीमा टमक्क कसिएको एक इन्चजति फराकिलो पहेँलो, रातो र निलो मिसाएर उनेको पोते बाँधेकी थिइन् । त्यससँगै कालो चोलोमाथि वक्षस्थलसम्म झरेको कालो पोते पहिरेकी थिइन् । पश्चिमतिरका तिलहरीमा पोतेको बीचमा सुन राखेर तिलहरी बनाएझैँ त्यता सुनको ठाउँमा चाँदीको सिक्काजस्तो तर त्यसभन्दा ठूलो आकारको सिक्का राखेको तिलहरी सबैले पहिरेको देखिन्थ्यो । फाटेको घरेलुको घुरमैलो धोतीमाथि कम्मरमा सेतो पटुका बाँधेकी थिइन् । मैले औषधी राखिदिएपछि खुसी भएर मुस्काउँदा उनका माथिल्ला दुईटा दाँत नभएको थाहा भएको थियो । उनका दुवै आँखाका छेउ मुजा परेको प्रस्ट देखिन्थ्यो । उनी मात्र बत्तीस वर्षकी थिइन् । उनको काखमा रहेको चौथो सन्तान थियो । उनका पति कामको खोजीमा भारतको नैनीताल गएका थिए ।


दिनको रिमरिम उज्यालोमा देवकोटाबाडा नजिकको गाउँमा पुग्यौँ । त्यहाँ बिजुलीबत्ती थिएन । सुत्ने कोठा पनि थिएन । खाना खाइसकेपछि अँगेनानजिक भुईंमा सुत्नुपर्ने थियो । मैले म्याट्रेस बोकेको थिइनँ तर स्लिपिङ ब्याग भने थियो । त्यो साँझ अति नै कष्ट भयो । त्यहाँ घारबाट बाहिर निस्कँदा मौरीको झुण्ड जति बाक्लो हुन्छ हो त्यत्तिकै बाक्ला झिँगा थिए । झोला भुईंमा राख्न नपाउँदै ती शरीरभरि भुनभुनाउँदै ओइरिए । म अत्तालिएँ । मेरो मित्र चतुरसिंह आँखा र ओठतिर झुण्डिएका झिँगालाई धपाउँदै थिए । म झोला बोकेर त्यो घरभन्दा केही पाइला तल झरेँ । त्यो घर भएको ठाउँ दुवैतिरबाट उठेको पहाडको साँघुरो धारमा थियो । झुक्किएर लड्ने हो भने बल्ड्याङ खाँदै ६००–७०० मिटर तल पुगिन्थ्यो जुन मैले भोलिपल्ट बिहान उज्यालोमा देख्दा तर्सेको थिएँ ।


त्यहाँ नजिकै स्कुल पनि थियो । तलमाथि भएका अन्य एक–दुई घरमा बास छ कि भनेर सोध्यौँ, बास बस्न र सुत्न मिल्ने त्यो घरबाहेक अन्य उपाय थिएन । त्यसैले त्यही घरमा बस्ने निर्णय ग¥यौँ र झोला राख्यौं । राति अँध्यारो भए तापनि घाममा लगाउने चस्मा लगाएँ । पातलो गम्छाले अनुहार ढाकेँ । मसिनो मैनबत्तीको मधुरो उज्यालोमा घुँडामा अनुहार जोतेर बसेँ । मैले चिया खान भनेर मागेको थिएँ । चिया हाल्दानहाल्दै झिँगाले गिलासमा पौडी खेलिहाले । पसल्नी बहिनीले ती झिँगा फालेर दिइन् । मेरो हातमा आइपुग्दा अरू झिँगाले मौका छोपे । मैले त्यो चिया पिउन सकिन ।


अर्को त्यस्तै स्मरणीय घटना भयो । अवस्थाको वर्णन गर्दा मैले कसैलाई मर्म दिन खोजेको होइन । त्यसो हुन गएमा माफि चाहन्छु । खाना खाने बेला भएको थियो । ठीक त्यसै बेला त्यही मसिनो मैनबत्ती पनि सकियो । मैले टर्चलाइट बालेँ । त्यस दिन पनि हामी करिब १० घण्टाको यात्रा त गरिसकेका थियौँ । भोक, तिर्खा र थकाइ कति लागेको थियो होला त्यसबारे के भनूँ र ? मसँग भएको सुख्खा खाना वा बिस्कुट सकिएको थियो । जसरी भए पनि खाना खान सके हुने थियो भन्ने सोचेको थिएँ ।


चतुरसिंह वि.क. जो मसँगै मुगुम पुगेर फर्केका थिए उनलाई मैले खाने बेलामा टर्चलाईट बाल्न र मेरो क्यापले झिँगा धपाउन भनेँ । पसले बहिनीले खाद्य संस्थानले वितरण गरेको मक्किएको मोटो चामलको भात र आलुको तरकारी पकाएकी थिइन् । भातको बास्नाले नै आधा पेट भरिए जस्तो भएको थियो । दुर्गमको यात्रामा बाँच्नको लागि जस्तोसुकै दुःख, कष्ट पनि व्यहोर्नुपर्छ । मानिस भोकभोकै कति दिन पहिरोमा परेका हुन्छन्, हिउँमा पुरिएका हुन्छन् र पनि त बाँचेका हुन्छन् । नेशनल ज्योग्राफीको आयोजनामा यात्रा गरेका यात्रीले यात्रामा किराकिरी, माउसुली, जे भेटे पनि खाँदै हिँडेको टेलिभिजनमा देखाएको जस्तो सबै कुरा सम्झँदै खाना खाने निर्णय गरेँ । अँध्यारो भएकाले झिँगा भातको गाँससँगै मुखमा जाने हो कि भन्ने डर मनमा थियो ।


हाम्रो योजनाअनुसार उनले बत्ती बाल्दै क्यापले झिँगा धपाउन थाले । मैले एक गाँस भात मुखमा के लगेको थिएँ झिँगा सँगसँगै भित्र छिरे । मलाई असह्य भयो । म बाहिर निस्केँ । मैले चिया पसलकी युवतीसँग मैले झिँगा धपाएर खाना खान नजानेकोमा अथवा नसकेकोमा माफी मागेँ । त्यसदिन खच्चडको धेरै समुह ओहोर–दोहोर गरेको, खच्चडको गोवरमा झिँगा भन्केका र खाजा खाने खच्चड गोठालाको पनि उत्तिकै भिँड भएकाले अघिल्लादिनभन्दा त्यो साँझ झिँगा बढी भएको उनले स्वीकारिन् । त्यो रात स्लिपिङ ब्यागभित्र छिरे पनि र दिनभरको थकाइ भए तापनि निदाउन सकिनँ सिवाय एक घण्टा बिहानीपख । –समाप्त–

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s