आमा छोमेन

Thanks https://janamatsahitya.com

यात्राःसंस्कृति–पर्यटन

      विष्णुप्रसाद शर्मा पराजुली                                                                                          

सिन्धुपाल्चोक जिल्लाको तातोपानीदेखि उत्तरको हिमाली क्षेत्रमा बस्ने स्थानीय शेर्पा भाषामा कुण्ड तथा पोखरीलाई छोमेन भनिन्छ । त्यसैले तातोपानीको सिरानमा फुर्वा घ्याचु (६,६३७ मि.) र छोवा भामरे (५,९७० मि.) हिमालको काखमा रहेको भैरव कुण्ड यस क्षेत्रमा आमा छोमेनको नामले प्रख्यात रहेको छ । हिन्दूहरूका लागि यो कुण्ड भैरव अर्थात् शिवसँग सम्बन्धित रहेको छ । आमा छोमेन समुद्र सतहदेखि ४,११० मिटरको उचाइमा अवस्थित छ । आकारमा यो रसुवाको गोसाईंकुण्डभन्दा सानो र लगभग रसुवाकै भैरवकुण्ड जत्रै छ । तातोपानी तथा नयाँ पुलनजिक भोटेकोशीको किनारबाट एउटा महाभारत पर्वत अग्लिँदै ठडिएको छ । त्यो पर्वत चट्टान भिर, सामान्य समथर पाटा परेको पखेरो, वन, लोकाली खर्क हुँदै हिमालय शृङ्खला बन्न पुगेको छ । त्यसैले एउटै पहाडको काख र धारको बाटो भएर कुनै खोलानाला पार नगरीकन पवित्र आमा छोमेन पुगेर त्यहाँको प्राकृतिक र धार्मिक महŒवबाट लाभान्वित हुन सकिन्छ । लाङ्टाङ र रोलवालिङ हिमालय शृङ्खलाको बीचमा रहेको आमा छोमेन यस क्षेत्रमा बसोबास गर्ने शेर्पा, तामाङ, क्षेत्री, बाहुन र अन्य जातिको सबैभन्दा पवित्र र ठूलो धार्मिक तीर्थस्थल हो ।

आमा छोमेन नेपालको राजधानी काठमाडौँदेखि करिब १०० किलोमिटर उत्तर–पूर्व कोदारी राजमार्गको नयाँपुल एवम् तातोपानी भन्सार कार्यालयदेखि नजिक रहे तापनि पर्यटकीय दृष्टिकोणबाट भने साहसिक तथा विकट क्षेत्रमा पर्दछ । नजिक भएर पनि विकट हुनुको कारण के भने आमा छोमेनमा पुग्नको लागि गाउँ पार गरेपछि वर्षा ऋतुमा बाहेक अन्य समयमा कम्तीमा पनि दुईदिन जङ्गलमा बास बस्नुपर्ने हुन्छ । स्थानीय किसानले जब चौरी, याक र भेडा चराउन असारदेखि उकालो लागेर असोजसम्म बस्दछन् त्यसबेला भने गोठमा बास बस्न र खाना खान पाइन्छ । त्यो समय पारेर जाँदा बादलको लुकामारी र जुकाको चुम्बन मज्जाकै हुन्छ । हिमालको दर्शन पाउन कठिन हुन्छ भने वर्षामा फुल्ने पूmल र जडीबुटीले भने लेक ढाकेको हुन्छ । अन्य समयमा जाँदा कम्तीमा पाल, म्याट्रेस, स्लिपिङ ब्याग, न्यानो लुगा, औषधी, पानी, खानाको बन्दोबस्त गरेर जानुपर्छ ।


कसरी पुग्ने त आमा छोमेन ?काठमाडौँबाट अरनिको राजमार्गमा चल्ने बस तथा निजी सवारी साधनमा चार घण्टा यात्रा गरेपछि नयाँ पुल (१,१०० मि.)जहाँ बन्जी जम्पिङ तथा द लास्ट रिसोर्ट रहेको छ त्यहाँ पुग्न सकिन्छ । सोही दिन खाना खाएर नेवार जाति त्यसमा पनि प्रधान थरमात्र बसोबास गर्ने पाङ्लाङगाउँ, बारी, खरबारी र वनको ठाडो उकालो चढेर चार घण्टामा लिस्तिकोट गाउँ पुग्न सकिन्छ ।
दोस्रो दिन लिस्तिकोटबाट जङ्गल,चौरी गोठ, शेर्पिनी आमाले चौरीको दुध दुहँुदै गरेको दृश्य हेर्दै दुई घण्टामा अर्को ठूलो शेर्पा गाउँ बागम (२,७०० मि.)मा बिहानको खाना खान पुगिन्छ । त्यसपछि तीन घण्टामा सोताङ (३,६०० मि.) पुगिन्छ । सोताङबाट अर्को तीन घण्टा हिँडेपछि चोगोरमोगोर खर्क (३,९०० मि.) मा पुगिन्छ । यो क्षेत्र पूरै सल्लो, लालीगुराँसको वनले घेरिएको छ । यसरी दोस्रो दिन करिब आठ घण्टा हिँड्नुपर्छ । बढी थकाइ लागी थप हिंडन नसक्ने भएमा सोताङ्मै पाल टाँगेर बास बस्नुपर्ने हुन्छ ।

चोगोरमोगोर देखिभने वृक्ष विहीन खर्क, काला चट्टान क्षेत्र हुँदै थप दुई घण्टामा सुन्दर, महिमामयी प्रकृतिकी रानी, यसक्षेत्रको धार्मिक र सांस्कृतिक केन्द्र आमा छोमेनमा पुगिन्छ । यसरी लिस्तिकोट र चोगोरमोगोरमा दुई रातबासबसेपछि तेस्रो दिनको दिउँसो एक बजेसम्ममा आमा छोमेनको दर्शन गर्न सकिन्छ । त्यसपछि पूर्वी पहाडको धारलाई समातेर सोही दिन फर्केर गढी डाँडाभन्दा माथि रहेको खर्कमा बास बस्नुपर्छ ।
चौथो दिन गढीको शेर्पा गाउँमा खानाखाएर अपराह्नमा सिधै तातोपानी भन्सार कार्यालयमा पुग्न सकिन्छ । त्यहाँबाट सोहीदिन बसबाट साँझ राजधानी फर्कन सकिन्छ । आराम रूपमा विना कठिनाइ यात्रा गर्दा एक रात गाउँले परिवेश र दुई रात आमा छोमेनको प्राकृतिक काखमा पाल हालेर रात काटेपछि यो यात्रा पूरा गर्न सकिन्छ । पाँचौँ दिन राजधानी छिर्ने योजना गर्दा बढी आरामदायी हुन्छ ।
राजधानीदेखि नजिक, गाउँको परिवेश, प्रकृतिसँगको सामिप्यताले गर्दा यो क्षेत्र निकैनै रमणीय एवम् कौतूहलपूर्ण रहेको छ । उच्चतम बिन्दु समुद्र सतहदेखि ४,१०० मिटरभन्दा माथि भएकोे हुनाले उचाइमा लाग्ने बिमारबाट सुरक्षित रहन औषधी र प्राथमिक उपचारको व्यवस्था भने यात्रुले गर्नैपर्छ ।


लिस्तिकोट गाउँमा करिब एक सय घर धुरी रहेका छन् । त्यसमध्ये सोही गाउँको माथिल्लो खण्डमा आदिवासी शेर्पा जाति र तल्लो क्षेत्रमा नेवार जातिके प्रधानहरूको बसोबास रहेको छ । पाङ्लाङका पूर्ण प्रधानका अनुसार यस क्षेत्रमा बसोबास गर्ने प्रधानहरू सातौँ शताब्दीतिर काठमाडौँको ठमेलबाट बसाइँ सरेर त्यहाँ पुगेका हुन् । शेर्पा गाउँको बीचमा एउटा गुम्बा रहेको छ भने दुवै जातिको बसोबास रहेको बीच भागमा रातो र्इंटाबाट बनाइएको नेपालकै नौलो शैलीमा निर्मित भव्य स्तूप रहेको छ । गाउँको पुछारमा लिस्तिमाईको पेगोडा शैलीको मन्दिर रहेको छ । पाटनको स्वर्ण मन्दिरमा रहेको जस्तै मच्छिन्द्रनाथको सुनको जलप लगाइएको तोरण मन्दिरको गजुरबाट तल झारिएको छ । मन्दिरको प्रवेशद्वारको दायाँबायाँ ठूला दुई त्रिशुल रहेका छन् । मन्दिरभित्र लिस्तिमाई चण्डेश्वरीको मूर्ति रहेको छ ।

मन्दिरपरिसर भन्दा तल्तिर २०१७ सालमा स्थापना भएको श्री उग्रचण्डी माध्यमिक विद्यालय रहेको छ । २०७२ सालको भूकम्पले खण्डहरमा परिणत भएको सो विद्यालय चीन सरकारले निर्माण गरिदिने भएको कुरा गुम्बामा भेट भएका स्थानीय शेर्पाले भनेका थिए । उनका अनुसार कोभिड–१९को महामारीले पुनर्निर्माण गर्न ढिलो भएको हो ।गाउँको पुछारमा ठूला पाटा परेको खेतीयोग्य जमिन रहेको छ । त्यहाँ आलु, मकै, कोदो, गहुँ खेती गरिन्छ भनेचौरी र भेंडा पाल्ने गरिन्छ ।

राजधानीबाट ११८ किलोमिटर पूर्व उत्तरमा रहेको लिस्तिकोट २,२६० मिटरको उचाइमा रहेको छ । यसको प्राचीन महŒवबारे लिस्तीमाईको प्राङ्गणमा राखिएको सूचनापाटीमा दिइएको सूचना अनुसार मल्लकालमा यस क्षेत्रलाई कोटडाँडा भनिन्थ्यो । यस क्षेत्रमा बस्ने नेवार समुदायले प्रयोग गर्ने ‘लिस’ र तिब्बतीमूलका समुदायले प्रयोग गर्ने ‘ती’ भाषा तथा स्थानीय कोटडाँडालाई समायोजन गरी यस स्थलको नाम लिस्तिकोट रहन गएको हो । यसै गाउँमा नेपाल–तिब्बतको युद्धको समय वि.सं. १९११ मा भन्सार, टक्सार र गोदाम नामकरण गरिएका ठाउँहरू छन् ।यस क्षेत्रमा रहेको उग्रचण्डी भगवती मन्दिरलाई नै हाल लिस्तिमाई भनिएको हो । २०५५ सालमा वर्तमान पेगोडा शैलीमा निर्मित सो मन्दिर यहाँ पाइएको ताम्रपत्रको आधारमा वि.सं. ८४९मा स्थापना भएको हो ।

लिस्तिगाउँमा पुग्दानै भोटेकोशीको साँघुरो खोँचमा देखिने बाक्लो बादलले यात्रुलाई बादलभन्दा निकै उच्च स्थानमा रहेको अनुभूत गराउँदा जो कोही पनि हर्षले गद्गद् नभई रहन सक्दैनन् । यस्तै दृश्यलाई हो विदेशीले‘हामी बादलमाथि पुग्यौँ’ भनेर पुस्तक, लेख र कविता लेख्ने । हिमाली क्षेत्रका यस प्रकारका स्थानमा भ्रमण गर्दा पदयात्रीले बादललाई पनि नाघेर आपूm माथि अथवा स्वर्गमा पुगेको अनुभूत गर्छन् ।
लिस्तिकोटबाट दिवङ्गत आफन्तको सम्झनामा निर्माण गरिएका स्मृति मठहरूको चिहानडाँडा भएर जङ्गलमा प्रवेश गरिन्छ । लिस्तिकोटको वन क्षेत्रमा चराचुरुङ्गीको चिरबिरको सङ्गीतमय वातावरणमा रमाउँदै यस क्षेत्रको अर्को ठूलो शेर्पा गाउँ बागम (२,७०० मि.)पुगिन्छ । यहाँ तीनवटा घरवास (होम स्टे) रहेका छन् । यो गाउँ पनि २०७२ सालको भूकम्पबाट पूर्ण क्षतविक्षत भएको वर्तमान अवस्थामा पनि देख्न सकिन्थ्यो । भत्केका घरको निर्माणकार्य भइरहेको देखिन्थ्यो । करिब साठी घरभएको बागममा दुईटा गुम्बा गाउँभन्दा माथि रहेको ढिस्कोमा छन् । यहाँदेखि पश्चिमतर्फ छागम शेर्पा गाउँ र पूर्वमा धारापानी, गढी गाउँ रहेका छन् । बागमबाट सिधै उत्तरमा आमा छोमेन, पूर्वमा गढी, पश्चिममा छागम र दक्षिणमा लिस्ति रहेकाछन् । यहाँ बसोबास गर्ने सबै शेर्पा हुन् र उनीहरुले आपूmलाई सोलुखुम्बुका जस्तैखाटी शेर्पा भन्दछन् ।

ख्याल गर्नु पर्ने के भने लिस्तिकोपछिको अन्तिम गाउँ बागम हो । गोठ वेंसी झरे पछि त्यसभन्दा माथिकोलागि पाल, पानी र खानाको व्यवस्था आफैँले गर्नुपर्छ । बागमदेखि सोही पहाडको धार सल्लो र लालीगुराँसको वन हुँदै साङ्ता (३,६०० मि.) पुग्न तीन घण्टा लाग्छ । त्यहाँबाट छोगोरमोगोर पुग्न अर्को तीन घण्टाको यात्रा गर्नुपर्छ । लिस्तिपछिको दोस्रो रात छोगोरमोगोर लेक (३,९०० मि.) को आसपासमा बिताउँदा राम्रो हुन्छ । त्यहाँ पाल, गोठ, छाप्रा राख्न मिल्ने समथर ठाउँ रहेको छ । सफा मौसम भएको बेला गहिरो खोँच, कपासे बादलको समुद्र, पखेरामा रहेका गाउँहरू, पश्चिमतर्फ मनास्लु, गणेश हिमाल, रसुवागढी, लाङटाङ हिमाल, दोर्जे ल्हाक्पा, तिब्बत चीनको सिसापाङ्मा नजिकै देखिन्छन् । समय भएर मेहनत गर्दै पूर्वतर्फ रहेको चट्टानमा चढेर हेर्ने हो भने जुगल हिमाल, गौरीशङ्कर आफ्नै आँगनमा उभिएका जस्ता देखिन्छन् ।

तेस्रो दिन बिहान सबरै यात्रा प्रारम्भ गर्नुपर्छ किनभने सो दिन आमा छोमेनको भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्यता र धार्मिक पवित्रताको भरपुर उपभोग गर्न कम्तीमा एक घण्टा त राख्नैपर्छ । त्यसो गर्न सकिएन भने छोमेनदेखि उत्तर, पूर्व र पश्चिमसम्म फैलिएका हिमालयको लामो ताँतीलाई आँखाभरि सजाउन कसरी मिल्ला र ?अनि त्यसपछि सोही दिन आमा छोमेनदेखि पूर्वतर्फको धारिलो तथा भिरालो धार समाउँदै झरेर गोठ वा गढीसम्म पनि त पुग्नुपर्छ ।

छोगोरमोगोरबाट बिस्तारै हिँड्दा पनि तीन घण्टामा लेक, खर्क, चट्टानको पखेरो चोर्मु खर्क (४,००० मि.)हुँदै आमा छोमेन (४,११० मि.) पुग्न सकिन्छ । अन्य कुण्डहरू खयरभारानी, दुधकुण्ड, गोसाईंकुण्ड, दुधकुण्डली, उत्तर गङ्गामाझैँ आमा छोमेनमा जनै पूर्णिमामा ठूलो मेला लाग्छ । आमा छोमेन अर्थात् आमा पोखरी यस भेगमा बसोबास गर्ने बासिन्दाको धार्मिक र सांस्कृतिक आस्थाको केन्द्र हुनुकासाथै यो उनीहरूको लागि मुक्तिनाथ, बौद्धनाथ तथा पशुपतिनाथ हो । यहाँ शेर्पा जातिहरू जनै पूर्णिमाभन्दा अघिल्लो दिननै त्यहाँ पुगेर लुङ्दार टाँगेर पूर्णिमाको दिन बिहान आमा छोमेनमा पूजा गरी सोही दिन घर फर्कन्छन् । बागमका दावा शेर्पाका अनुसार आमा छोमेनले दिएको फल प्राप्त गर्न पूजा सकेको दिननै उनीहरू आफ्नो घरभित्र प्रवेश गर्नुपर्छ ।
पवित्र यस कुण्डमा क्षेत्री र बाहुनले जनै पूर्णिमाको दिन बिहानै स्नान गरी धुप बत्ती बाली पूजा गरेर जनै फेर्दछन् भने नेवार जातिले स्नान र पूजापश्चात्हातमा धागो बाँध्छन् । खयरभारानी ताललाई देवीको रूपमा मानिन्छ भने आमा छोमेनलाई आमाको रूपमा मानिन्छ । ती दुवै आमानै हुन् । यो प्रकृतिपूजक नेपाली जातिको पहिचान हो । ती दुवै प्रकृतिको सन्तान मानव जातिलाई अमृतजस्तै प्राणपालक जल दिने मातानै हुन् । एउटा बालक आमाको दुध नचुसीकन बाँच्न नसकेझैँ आमा छोमेनको अमृतजस्तो जल नहुने हो भने यहाँका प्राणी र वनस्पति कसरी बाँच्न सक्लान र ?
खयरभारानी र आमा छोमेनको महŒवबारे चर्चा गर्दा आममानिसको समान धारणा के देखिन्छ भने यी दुवै पोखरीमा स्नान वा पूजा गरेर जे ईच्छा गरिन्छ त्यो पूरा हुन्छ । त्यसमा पनि यी दुवै पोखरीमा यदि कुनै दम्पत्ति सन्तानविहीन छन् र उनीहरूले सन्तानकालागि भाकल गरे भने सन्तान प्राप्त गर्छन् भन्ने ठूलो विश्वास छ । त्यसप्रकारको ईच्छा पूरा भएको कुरा बागमकी मिङ्मार शेर्पाले भनेकी थिइन् । खयरभारानीमा पनि त्यस्तो ईच्छा पूरा भएको बताउँछन् । खयरभारानीमा भाकल पूरा भएपछि भेडाको बलि दिने चलन छ भने आमा छोमेनमा बलि दिइँदैन ।


आमा छोमेन लाङ्टाङ र रोलवालिङ हिमशृङ्खलाको काखमा रहेको छ । यहाँ धेरै थरीका जडीबुटी पाइन्छन् । यहाँबाट भोटेकोशीको गहिरो र साँघुरो उपत्यका, तिब्बत चीनतर्फ खासासहित नेलमको क्षेत्र देखिन्छ । त्यसबाहेक यहाँबाट नेपालका मुख्य हिमालय शृङ्खलाका पश्चिमदेखि मनास्लु, गणेश, लाङ्टाङ हिमालका थुप्रै चुलीहरू, दोर्जी ह्लाक्पा, तिब्बत चीनको शिसापाङ्मा, जुगल, गौरीशङ्रदेखि रोलवालिङ हिमशृङ्खलाका थुपै्र चुलीहरू आफ्नै आँगनअगाडि उभिएर आपूmलाई अँगालोमा बाँध्न तत्पर रहेका जस्ता देखिन्छन्। बर्खाको बेलामा यहाँ सयौँ थरीका पूmलहरू र जडीबुटी पाइन्छन् भने हिउँदको समयमाभने साङतादेखिनै हिउँ जमेको हुन्छ । धेरै हिउँ झरेको बेला पोखरीनै हिउँले पुरिएको हुन्छ । आमा छोमेन बोन, शाक्त, शैव, हिन्दूर बौद्ध धर्मावलम्बीको तीर्थस्थल हुनुका साथै साहसिक पर्यटनको छोटोछरितो गन्तव्यस्थल हो ।

आमा छोमेनको अँगालोमा बाँधिएर आशीर्वाद लिएपछि पूर्वी धार समातेर गढी निस्कने योजना गरी समयमै झर्नुपर्छ । गढीको शेर्पा गाउँ पुग्न सकेमा खान र सुत्नका लागि समस्या पर्दैन । अन्यथा एक रात जङगलमा बास बस्नुपर्ने हुन्छ ।गढी गाउँ पुग्ने बेलामा मुटु थरथराउने भिरको बाटो भएर झर्नुपर्छ । यद्यपि फलामको बार भए पनि साँझ परेपछि यात्रा गर्नुहुँदैन । हिँड्दा मोबाइल खेलाउँदै फोटो हेर्न त झन् हुँदै हुँदैन ।
तातोपानी भन्सार कार्यालय (१,३०० मि.) देखि करिबतीन घण्टाको दूरीमा रहेको गढी यस क्षेत्रको ऐतिहासिकठाउँ हो । बागमबाट गढी पुग्न तीन घण्टा लाग्छ । त्यहाँ पुग्दा रसुवागढीको झल्को मेटिन्छ । सूचनापाटीमा दिएको जानकारी वि.सं. १९११ मा नेपालले तिब्बतमाथि विजय प्राप्त गरेपछि नेपालको उत्तर कमान्डिङधीरशमशेर राणाको नेतृत्वमा वि.सं.१९१२ मा यस गढीको निर्माण गरिएको थियो । गढी रहेको स्थानबाट खासाबजार प्रस्ट देखिन्छ । लोक जनश्रुतिअनुसार नेपाल तिब्बत युद्धकाबेला यस क्षेत्रबाट प्रहार गरेको तोप खासामा (तत्कालको गुम्बा)मा खसेको थियो ।

नजिकै भएर पनि अग्लो भिर, पहरो र भूकम्पीय क्षेत्रमा पर्ने भएकाले ठाउँठाउँमा झरेका डरलाग्दा पहिरो भोटेकोशीको आसपासमा रहेका छन् । विकट भएकाले जीवन कष्टकर अवश्य छ तापनि आमा छोमेनको यात्राले हजारौँ वर्षदेखि बसोबास गरेका मुख्यरूपमा शेर्पा र नेवार जातिसँग नजिकै रहेर उनीहरूको दुःख र सुखमा सहभागी हुँदा भिर र पहरा गहुँबारीमा परिणत भएको महसुस हुन्छ । त्यसपछि अग्ला पहाड, चराचुङ्गी, जङ्गली जनावर, घना जङगल, खर्क, लेक र अन्तमा आमा छोमेनको अगाँलोभरिको माया पाउँदा ती कष्टहरू हिमाली क्षेत्रको कुहिरोझैँ क्षणभरमा लोप हुन्छन् ।
त्यसबाहेक त्यहाँबाट पश्चिममा मनास्लुदेखि पूर्वमा गौरीशङ्करसहित चोयुसम्मका हिमालकाचुलीको ताँतीले आपूmलाई नजिकैबाट कसक्क मायाको अँगालोमा बाँध्ने हुनाले जो कोही पनि मन्त्रमुग्ध नभई रहन सक्दैन । यो क्षेत्र इतिहास, संस्कृति र साहसिक पर्यटनको लागि ठूलो सम्भाना बोकेको क्षेत्र हो । चार–पाँच दिनको फुर्सद मिलाए पुग्छ । हजारौँ वर्ष पहिलेदेखि आजसम्म सबै नेपाली प्रकृतिपूजकनै हुन् । प्रकृतिलाई पूजा गर्दागर्दै विभिन्न संस्कृति र धार्मिक संस्कारको जन्म भएको हो । शेर्पा जातिले छोमेन (पोखरी–कुण्ड)लाई आमा भन्नु नै प्रकृतिलाई मूल तŒव मान्नु हो । राजधानीदेखि नजिकै रहेको आमा छोमेन पुगेर दुधे बालकझैँ आमाको छातीमा टाँसिएर अमृतपान गर्न पाउँदा प्रफुल्लित भई स्वर्गको अनुभूति नगर्न कस्ले सक्ला र ?
समाप्त


फागुन २७ २०७७ bishnu.nmdc@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s