कर्णालीका घुमन्ते र फिरन्ते खस

विष्णुप्रसाद शर्मा पराजुली

अभिव्यक्तिः साहित्यिक पत्रिकाको बैशाख–जेठ २०७८ बाट साभार
यात्रा संस्मरण ः


मुगुको गमगढीभन्दा दुई दिन टाढा रहेको हुम्लाको देवकोटाबाडाको काखमा पुगेको थिएँ । सिमकोटबाट त्यहाँ पुग्न तीन–चार दिन लाग्छ । बाडाले मलाई लोभ्याएको थियो । यो मेरो नेपाल हो । स्वर्गभूमि नेपालको हिमाली क्षेत्र त्यसमा पनि खस जातिको हजारौँ वर्ष पुरानो इतिहासका साक्षी, गौरवशाली खस जातिको बसोबास भएको पूण्यभूमिमा मेरो यात्रा केन्द्रित थियो । म त्यसैमा रमाएको थिएँ । यात्रामा प्राप्त हुने सम्पूर्ण अनुभव, यात्रामा देखिने दृश्य, भौगोलक र प्रकृतिक परिवेश, जनजीवन र संस्कृति, संस्कार र परम्पराले मानव सभ्यताको बोली बोलेको हुन्छ । आज हामीले सयौँ वर्ष पहिले नेपालबारे चिनियाँ यात्री हुयेन साङको वर्णन पढ्दा त्यस बेलाको नेपालको चित्र झलझली देख्न सक्छौँ । आज यात्रा गरेर त्यसबारेमा लेख्न सक्ने हो भने सयौँ वर्ष पछिका सन्ततीले त्यसबारे ज्ञान हासिल गर्न सक्छन् । तर म भने निरुद्देश्य हिँडेको मानिस हुँ । म जति हिँडे त्यसबारे केही लेखिनँ । पछिल्लो समयमा चेत खुलेपछि मात्र अनुभव लेख्न थालेको हुँ । त्यसले मलाई सन्तोष मिलेको छ । म कसैको हृदयमा चोट पार्न चाहन्नँ । मेरो अनुभवका कुनै शब्दले भुलवश चोट पर्न गएमा माफी चाहन्छु ।


देवकोटाबाडाको थाप्लोमा बासबसेको भोलिपल्ट मूल गाउँमा नपसीकन गाउँ वारीको चौपट्टै भिरालो गर्गरे पखेरोको बाटो भएर ओल्र्याैँ । देवकोटाबाडा अति नै सुन्दर ठूलो गाउँ रहेछ । यो गाउँ हुम्लामा पर्छ । गाउँभन्दा तल सिँचाइसहितको ठूलो र मलिलो फाँट रहेको छ । म त्यहाँ पुग्दा ठूला, लामा गहुँका बाला लोभ्याउने गरी लहलह झुलेका थिए । त्यो फाँट देवकोटाबाडादेखि टुक्के (लोती÷लाटी कर्णाली) सम्म फैलिएको छ ।
देवकोटाबाडा र रीम गाउँको घरको बनोट पनि मुगुको वाम गाउँको जस्तै थियो । ढुङ्गा र माटोको जोडाइ भएका ती घर दुई तले नै थिए । ठूलाठूला निरल तेस्र्याएर बार्दलीसमेत हुने गरी माटोले छाईएका छन् । समथर माटोले छाएको छानोमाथि मुगुम, वाम गाउँमा झँै काठका खम्बा छानोमा टेकाएर भिरालो पारेर छानोको मुख्य भाग गहुँको नल, खर, कतैकतै जस्ताले छाएका देखिन्थे । भुर्इंतलामा दाउरा, पराल राखेको देखिन्थ्यो भने माथिल्लो तलामा भान्सा, अनाज राख्ने भकारी, बिछ्यौना र बरण्डामा कतै दाउरा राखेको देखिन्थ्यो भने कुनै घरमा घर मुली पुरुषले हुक्का तानेर बस्ने ठाउँ थियो । कुनै घरमा भने बार्दलीलाई बस्न र सुत्न प्रयोग गरेका थिए । छानामा दाउरा र अन्य सामान राखेको देखिन्थ्यो । सबै घरमा लामो र छोटो गरी दुइृ तलामा जान दुई लिस्नु ठड्याएको देखिन्थ्यो ।


देवकोटाबाडाका एक देवकोटाले भनेअनुसार उनको पुर्खा दैलेखबाट आएको हो । दक्षिणतिर बसाइँ सर्नेहरू अर्थात् सुविधा भएको ठाउँमा सरेर गएकाहरू असुविधा भएको ठाउँमा गएको कम पाइन्छ , यहाँको अवस्था फरक छ । त्यसमा एउटा बलियो तर्क के भने हामी नेपाली त किसान न हौँ । किसानलाई खेतिहुने भूमि भए अरु के चाहियो र ? त्यहाँ रहेको त्यो मलिलो फाँटको लोभमा दक्षिणबाट उत्तर बसाइँ सरे होलान् भन्न सजिलै सकिन्छ । हुम्ला, जुम्ला, बाजुरा, बझाङ, दैलेख नेपालका धेरै जातिको आधुनिक युग अर्थात् बुद्धको समयभन्दा पहिलेदेखि व्यवस्थित बसोबास भएको क्षेत्र हो । त्यसमध्ये दैलेख अग्रस्थानमा छ । अध्ययन गर्दै जाँदा के प्रमाणित भएको छ भने खस महाजातिअन्तर्गतका विभिन्न जातिहरू प्राचीन कालमा हिन्दुकुश हुँदै हिमालय पर्वतमालातर्फ प्रवेश गरेका हुन् । वर्तमान अफगानिस्तानको काबुलवरपर त्यसका प्रमाण भेटिएका छन् । देवकोटा गाउँ हेर्दै हामी ओरालो झ¥यौँ । त्यसबीचमा काममा हिँडेका स्थानीयलाई भेटेका थियौँ ।
त्यस क्षेत्रमा स्थानीयको सहभागितामा घोडेटो बाटोको सुधार भइरहेको थियो । हामी २,६०० मिटरबाट १,७०० मिटरमा झरेर टुक्के कर्णालीको झोलुङ्गे पुल पिप्लान भन्ने ठाउँमा त¥यौँ । स्थानीयले यसलाई लाटी अथवा लोती कर्णाली पनि भन्दछन् । यसको मुहान पनि मुगु कर्णालीको नाम्ला भञ्ज्याङको पश्चिमी पखेरो हो । यसमा गोरख र काङला हिमाल क्षेत्रका हिमनदीबाट बग्दै आएका स–साना खोला मिसिएका छन् । यो नदी पनि मुगु कर्णाली जत्रै देखिन्छ । पिप्लानमा यो नदी गाढा निलो देखिएको थियो । त्यसको अर्थ यसमा ठूला हिमालहरू पग्लेर मिसिएको थिएन । यो नदी पिप्लानभन्दा तल तल्लो काल्पेमा कैलाश क्षेत्रबाट आएको हुम्ला कर्णालीमा समाहित भएको छ ।


मैले ‘तिब्बत यात्रा’ पुस्तकमा कर्णाली नदीबारे चर्चा गर्दा टुक्के कर्णाली जुन कर्णालीको महत्वपूर्ण शाखा हो, त्यसबारे थाहा नभएर छुटाएको रहेछु । यो नदीको नजिक उत्तरदेखि दक्षिणतर्फ रहेका गाउँहरू यसप्रकार छन् ः गलग्नाचौर, मुस्याङ, नेप्का, छाला, माथिल्लो पाली, तल्लो पाली, लेक मेखाला, मिमी, पिप्लान, तल्लो काल्पे हुन् । तल्लो काल्पेनजिक टुक्के कर्णाली हुम्ला कर्णालीमा मिसिन्छ । त्यसपछि हुम्ला कर्णाली नदीको किनारैकिनार फोतु, ठूला गाउँ हुँदै जुईना पुगिन्छ । जुईनामा मुगु कर्णाली कैलास मानसरोवर क्षेत्रबाट आएको हुम्ला कर्णालीमा मिसिन्छ । नदीकिनारको बाटो हुँदै सुकाधिक भन्ने गाउँमा पुगिन्छ । त्यो गाउँ नजिकै रारा तालतिरबाट आएको बाटोमा जोडिन्छ । ओखरतोलाबाट कर्णाली दक्षिणतिर लाग्दछ भने बाजुराको कोल्टीको लागि कर्णालीलाई छोडेर पश्चिमतिर जानुपर्छ । म डोटी, साँफेबगर हुँदै बाजुरा पुगे तापनि रारा ताल वा हुम्लाको पिप्लानको बाटो भएर त्यता पुगेको छैन ।


पिप्लानबाट मारगर भञ्ज्याङ (४,०३५ मिटर) उक्लेर थार्पुनाथ निस्कने बाटो जुन ग्रेट हिमालयन ट्रेलमा पनि परेको छ त्यो मूल बाटो हो । त्यो सजिलो छ । हामी त्यो बाटो नगई टुक्के कर्णालीको किनारैकिनार भिरको बाटो श्रीमष्ट गाउँ भएर पश्चिम लाग्यौँ । कुनै–कुनै ठाउँमा मुटु थरर काम्ने भिरमा हिँड्न बाध्य भयौँ । श्रीमष्टमा भेडालाई बाँधेर ऊन काट्दै गरेका गाउँलेले मलाई त्यो बाटो नजान सुझाएका थिए तर हामी त्यतै लाग्यौँ । त्यहाँबाट पहरोको चेपबाट तल हेर्दा गहिरिएर बगेको निलो टुक्के कर्णाली देखिन्थ्यो । हामी करिब एक घण्टासम्म त्यस्तै खुट्टा लगलग काम्ने भिरमा हिड्यौँ । चुच्चे र धार परेका ढुङ्गाको भरमा भिर पार गरेपछि घोडेटो विस्तार गर्दै गरेको नदी किनारको बाटोमा पुगियो । केही बेर थचक्क ढुङ्गामाथि बस्यौँ । शरीर काम्न छाडेपछि शरीर हलुङ्गो भयो । त्यहाँबाट सर्केघाट पुग्यौँ ।


हामीले भिरमा नपुग्दै श्रीमष्ट गाउँ पार गरेका थियौँ । त्यो गाउँ सफा थियो । मस्टो देवताको थान गाउँनजिकै थियो । प्राचीन कालमा करिब ४,००० वर्षपहिले बाबारो मस्ट प्राचीन बाबिलोनिया (वर्तमान सिरिया, इजिप्ट)बाट पूर्व लागेका खस महाजातिअन्तर्गतका खसले लिएर आएको ‘खस जातिको इतिहास’ पुस्तकमा बालकृष्ण पोखरेलले उल्लेख गरेका छन् । मस्ट देवताका थान कस्मीरसम्म पनि अझै पाइन्छन् । कर्णाली र सुदूर पश्चिममा मस्टो देवताका थान प्रशस्त देखिन्छन् । नेपालका अधिकांश जातिले विभिन्न नाम र तरिकाले कुल पूजामा मस्टो देवतालाई आफ्नो इष्ट देवता मानेर पुज्ने चलन यथावत् छ । बजाङ, बाजुरा, हुम्ला, दैलेख, मुगुमा मस्टोको नाममा नामकरण गरिएका धेरै गाउँ, स्कुल, सार्वजनिक स्थल, थान, मन्दिर प्रशस्त रहेका छन् ।


टुक्के कर्णालीसँग बिदा मागेपछि हामीले हुम्ला कर्णाली समात्यौँ । मस्टमाण्डु, सर्केघाट, उन्नपानी, रिपगाढा गाउँ हुँदै लाली र थाली गाउँको वारिपारि भएर अगाडि बढ्यौँ । हुम्ला कर्णालीको यो बाटो उत्तरमा हिल्सा हुँदै ताक्लाकोट कैलाशसम्म पुगेको छ । अहिले कर्णाली राजमार्ग अन्तरगतको कर्णाली करिडोर कालीकोटको खुलालीदेखि हुम्लाको सरीसल्लासम्म ट्रयाक खुलेको छ । सरीसल्लादेखि सिमकोटसम्मको धेरै भागमा ट्रयाक खुलेको छ । सिमकोटदेखि हिल्साखण्डमा ठाउँ–ठाउँमा पहिलेनै हिल्सातिरबाट खुलेको छ भने सिमकोटदेखि लिमिमा ट्रक चल्न थालेकाछन् ।


कर्णालीको दक्षिण किनार हुँदै बझाङ पुगिन्छ । पूर्वतर्फको बाटो भएर मुगु, डोल्पा हुँदै मुस्ताङ पुगिन्छ । थाकखोलाका व्यापारी थकाली प्राचीन कालमा त्यसरी थाकखोला पुगेको भन्ने भनाई पनि रहेको पाईन्छ । यस विषयमा समाजशास्त्रीय अध्ययन हुनु जरुरी छ ।


बझाङका किसानले भेडाच्याङ्ग्रा लिएर नुन, ऊन र आजका दिनसम्म पनि घरायसी सामान लिन तिब्बत जाने बाटो सरीसल्लदेखि हिल्सानै हो । दार्चुलाको लिपुलेकवरपरका व्यासी जाति व्यापारकोलागि तिब्बत, हुम्ला, बैतडी, पिथौरागढ, नैनीताल ओहोरदोहोर गर्ने बाटो पनि यही हो । यो हजारौँ वर्ष पुरानो बाटो हो तापनि त्यहाँ वरपर र नदी किनारमा भएका गाउँमा बस्न मिल्ने ठाउँ अझसम्म छैनन् । होमस्टे राख्ने चलन अब विस्तारै होला । आजकल पनि व्यापारी वा पर्यटक जो यो बाटो हिँड्ने गर्छन् उनीहरूले आफ्नो खाना आफँै पकाएर खान्छन् र ओडार वा आपूmसँगै बोकेका पालमा सुत्छन् । कसैकसैले भात पकाउँन गाउँलेको चुलो प्रयोग गर्छन्, त्यसो गरेबापत तरकारी किनिदिन्छन् । त्यसैले म जसरी यात्रा गरेँ त्यस्तो यात्रीलाई खानबस्नको लागि स्थानीय गाउँलेलाई अनुरोध गरेर उनीहरूले खाना खाने बेला पारेर खानुपर्छ । मैले त्यस बेला त्यसै गरेँ । त्यसैले गाउँलेको दैनिकी देखेँ । उनीहरूले पकाएको खाना खाएँ । उनीहरू सँगै बसेर खाना खाँदा खानाको स्तर चाल पाएँ । त्यसैले कर्णाली र सुदूरपश्चिमका हाम्रा बा, आमाको औसत आयु नेपालका अन्य जिल्लासरह किन रहेनछ भन्ने पनि थाहा पाएँ ।


हुम्ला कर्णालीलाई समातेर म उत्तर लागेँ । सिमकोटदेखि कर्णालीको शिर कैलाशसम्म त म पुगिसकेको छु । यो बाटोमा तिब्बतबाट नुन, कपडाहरू, विद्युतीय सामान लिएर आएका हुम्ला, बझाङतिरका धेरै समूह बाटोमा भेटिए । त्यसबारे मैले मेरो पुस्तक तिब्बत यात्राको सिमकोटदेखि हिल्सासम्मको पहिलो खण्डमा सामान्य उल्लेख गरेको छु ।


मैले माथि व्यासी व्यापारी जातिबारे प्रसङ्ग छोएको थिएँ । व्यासी सुदूरपश्चिम र कर्णालीका प्राचीन व्यापारी जाति हुन् । यी जातिको सम्बन्ध प्राचीन पणि जातिसँग हुनसक्छ । पणि जाति सामुद्रिक व्यापारी थिए । उनीहरूले प्राचीन कालमा भारतदेखि युरोपसम्म सामुद्रिक बाटो भएर ठूलाठूला व्यापार गर्थे । यसै व्यापारीको एक जाति खस महाजातिको शाखा थियो । नेपालमा व्यापारी जाति भनेर धेरै विदेशी लेखकले थाकखोलाका थकाली, भक्तपुरका नेवार, सोलुखुम्बु र ओलाङचुङगोलाका शेर्पा, अरुण उपत्यकाका ल्हमुलाई उल्लेख गर्ने गरेका छन् तर सुदूरपश्चिमका व्यापारी व्यासी, क्षेत्री, ठकुरी जातिको चर्चा गरेको त्यति पाइँदैन । नेपालको सुदूरपश्चिमको उत्तरी र कर्णालीमा पाइने व्यासी जातिले आपूmलाई सच्चा खस क्षेत्री भन्दछन् । हुम्लासँग उनीहरूको पारिवारिक सम्बन्ध रहेको छ । यिनीहरूले आजका दिनसम्म पनि तिब्बत, नेपाल र भारतमा त्रिदेशीय व्यापार गर्दछन् । दार्चुलामा त हाम्रो व्यास उपूत्यकानै छ–जसमा नेपालका कमजोर र लोभि शासक भएकाले भारतले कब्जा गरि राखेको छ । व्यासलाई तिब्बतमा पनि व्यापार र ओहोर–दोहोर गर्न गाह्रो हुँदैन । यिनीहरूले धेरै भाषामा कुरा गर्न सक्दछन् ।


व्यासी जातिको व्यापारिक क्षेत्र तिब्बत, नेपालको कर्णाली र सुदूरपश्चिमको लिपुलेकका साथै भारतको पिथौरागढ, गढवाल, लद्दाखदेखि दिल्लीसम्म फैलिएको छ । व्यासीको वर्तमानको मूल थलो नेपालको दार्चुलाको व्यास उपत्यका, बैतडीको छाङ्रु, हुम्लाको दक्षिण क्षेत्र हो । हुम्लाको स्याँडा वरपर बस्ने व्यासीले आफ्नो थर रोकाया लेख्न थालेका छन् । हुम्लालाई उनीहरूले पितृथलो मान्दछन् । तल्लो हुम्लामा व्यासी गाउँ छँदैछन् । उनीहरूका अनुसार उनका पूर्वज कर्णाली उपत्यकाको नल्लाबाट हिँडेका हुन् । व्यासीका कुलदेवता ल्वासु नल्लामा रहेको मान्दछन् । उनीहरूले अहिले पनि नल्लामा ल्वासु देवताको नाममा बाहुन पुजारी राखेर भेडा अथवा बोकाको बलि दिएर पूजा गर्दछन् तर व्यवहारमा उनीहरू तिब्बती, क्षेत्री, मतवाली क्षेत्री सबैसँग मज्जाले मिल्छन् । मूल रूपमा आपूmलाई हिन्दू भने तापनि मृत्युसंस्कारमा भने लामा बोलाउँछन् । डोल्पामा पनि महतारासहित अन्य केही क्षेत्री र मगरले जन्म, विवाहमा हिन्दु पुरेत र मृत्युसंस्कारमा बौद्ध वा वोन धर्मावलम्बि लामा बोलाएर संस्कार कर्म सम्पन्न गर्दछन् ।
नुन, ऊन, पिठो आदि मालसमानको ठाउँ समयको गतिसँगै कपडा, मोबाइल तथा विद्युतीय सामग्रीले लिएका छन् । मानिस बदलिए । बाबुको ठाउँमा छोरा आए तर मौसमअनुसार गरिने व्यासी जातिको हजारौँ वर्ष पहिलेदेखिको त्रिदेशीय घुमन्ते व्यापार आजका दिनसम्म पनि चलेकै छ । उनीहरू बर्खाको बेला तिब्बत र हिउँदमा नेपाल हुँदै दिल्ली, कलकत्तासम्म पुग्छन् । उनीहरूले आफैँले बुनेको कपडाबाट दौरा, सुरुवाल, कोट, टोपी तयार गरेर लगाउँछन् । कसैले फेटा पनि बाँध्दारहेछन् । उनीहरू दशँैतिहार र मध्यवर्षा साउन–भदौको समय गरी वर्षमा बढीमा दुई महिना श्रीमती, आमाबाबु र छोराछोरीसँग बिताउँछन् । अन्य समय घर, खेतीपाती, पशुपालन, बालबच्चा र वृद्ध मातापिताको स्याहारसुसार सबै महिलाको जिम्मामा रहेको हुन्छ । उनीहरूकाबारे सुने तापनि भेटेको थिइनँ । त्यस पटक लालीनजिक कर्णालीको तिरमा फिरन्ते व्यासी व्यापारीलाई भेट्ने मौका पाएँ जुन मैले सिमकोटदेखि ताक्लाकोट (तिब्बत) जाँदा पाएको थिइनँ । उनीहरूले खाना खाँदै गरेको ठाउँमा केही समय गफ गर्ने मौका पाएको थिएँ ।


यस पटकको यात्रामा मैले फिरन्ते भेडापालक आदिवासी खसलाई पनि भेटेँ । उनीहरू बझाङबाट भेडा चराउँदै हुम्ला खार्पुनाथवरपरका गाउँमा जाँदै थिए । उनीहरू चिसो बढ्न थालेपछि उच्च हिमाली लेकबाट कात्तिक महिनामा गाउँ झरेका थिए । दशैँतिहार घरमा मनाएर चिसो बढ्न थालेपछि उनीहरू हुम्लाको दक्षिण हुँदै बझाङतिर झरेँ । भेडाको बिक्री पनि धेरैजसो दशैँकै बेलामा गर्ने गर्छन् । हामीले भेट्दा जेठसम्म घर पुग्ने तालिका बमोजिम उनीहरू उकालो लागेका थिए । जेठको एक महिना गाउँमा परिवारसँग बस्ने तथा त्यसैबेला भेडाको ऊन काट्ने उनीहरूको योजना थियो । पानी परेपछि असारमा लेकतिर हरियो कलिलो घाँस पलाउन थाल्छ । त्यस बेला हिउँ पग्लिसकेको हुन्छ । त्यसैले उनीहरू कात्तिकसम्मका लागि उच्च हिमाली लेकमा भेडाच्याङ्ग्रा चराउँदै विताउने गरी लेकतिर उक्लन्छन् ।


कर्णालीको किनारमा हामीले त्यस्ता फिरन्ते भेडापालक गोठालोको छ–सात समूह भेटेका थियौँ । उनीहरूको समूहमा पाँच सयभन्दा कम भेडा थिएनन् । स–साना पाठापाठीलाई उनीहरूले आफैँ बोकेर हिँडेका थिए भने खाद्यान्न भेडालाई बोकाएका थिए । कैयौँ समूहमा देक्चीभरि भेडाको दूध उमालेर राखेको देखिन्थ्यो । उनीहरूले दही बनाएर घिउ पनि बनाउँथे । व्यासी जातिझैँ उनीहरू पनि दशैँ र बर्खाको बेला गरेर दुई महिना मात्र परिवारसँग बिताउँथे । त्यसै बेला घर–व्यवहार, खेतीपाती, आम्दानी खर्च, रोगव्याधी, दुःखसुख र सन्तान जन्माउनेसम्मका प्रेमका कुरा गर्थे र फेरि अर्को ऋतुको यात्रा सुरु गर्थे । यी गोठालोको पनि घर व्यवहार सबै महिलाले नै हेर्ने गर्दछन् । यसरी फिरन्तेकै रूपमा पशुपालन गरेर जीवन बिताउने हिमाली जाति मात्र नभएर कर्णाली र सुदूरपश्चिमका धेरै गाउँका क्षेत्री, बाहुन, ठकुरी पनि छन् भन्ने कुरा धेरै नेपालीलाई थाहा नहुन सक्छ ।


हिँड्दा–हिँड्दै मलाई थकाइ लाग्न छोडेको थियो । दिनमा दश घण्टासम्म हिँड्न मलाई कुनै कठिनाइ थिएन । उच्च हिमाली क्षेत्रको यात्रा नभएकोले भिरपहराबाहेक उचाइमा लाग्ने बिमार लागेर बिरामी पर्ने, हिमपहिरोमा पुरिने वा हिउँले गर्दा बाटो बिराएर अलपत्र पर्ने भय त्यस क्षेत्रमा थिएन ।


देवकोटाबाडापछिको रात लेप्चे भिरको छाप्रोमा जु¥यो । खाना र सुत्न दुःख हुने भए तापनि आकस्मिक परिस्थितिमा बाहेक मैले यात्रामा चराचुरुङ्गी बास बस्ने समयमा दिनको उज्यालो छँदै बास बस्ने गर्छु । उज्यालोमा होसियारीका साथ यात्रा गर्दा त दुर्घटनामा परिन्छ भने विकट अनकण्टार पहाडी क्षेत्र जहाँ कुनै भिरबाट खस्यो भने हड्डी खोज्नुपर्ने हुन्छ, कुनै कोप्चेरमा परियो भने लासखान गिद्धलाई पनि हम्मे पर्छ । जुन क्षेत्र मोटरबाटोदेखि ६–७ दिनको पैदलयात्राको दुरीमा छ, जहाँ चिरपरिचित कोही हँुदैनन्, जहाँ गुहारका लागि गाउँ भेट्न मात्र एक दिन हिँड्नुपर्छ त्यस्तो ठाउँमा परदेशी यात्री उज्यालोमा बास बस्नु सुरक्षित तथा श्रेयस्कर हुन्छ ।


लेप्चेको छाप्रो सुन्दर थियो । फलिकाको बारबेर र फलिकाकै छानो थियो । पानी चुहिने ठाउँमा प्लास्टिक र थोत्रा टपलिन कोचिएको थियो । दुई दिनदेखि बादलिएकोले साँझपख वैशाखे गर्जन र हुरीबताससहित पानी प¥यो । एक घण्टापछि शान्त भयो । बास बसेको छाप्रोभन्दा माथि पुरानो ठूलो पहिरो थियो । पहिरोको बीचमा एउटा ठूलो सल्लो र अर्को लालीगुराँसको बुढो रूख ठिङ्ग उभिएर हुम्ला कर्णालीतिर झुकेको थियो । छाप्रोदेखि ३०० मिटर तलबाट हुम्ला कर्णाली ठूलो गर्जनका साथ टुक्के कर्णाली समेटन हामफालेको थियो ।
दुई दिनजति भएको थियो, भोक मर्ने गरी भात खान नजुरेको । जति पसल भेटिन्थे त्यहाँ चिया पिउथेँ । एक–दुई कप चिया बाटोका लागि बोक्थे । चिनी र चियाको पानीले ऊर्जा दिन्थ्यो । त्यो मेरो कमजोर पेटका लागि सुरक्षित पनि थियो । पहरो र पहिरोको बीच कर्णाली नदीको काखमा रहेको लेप्चेको छाप्रोसँग त्यो साँझ सुमधुर साइनो गाँसियो । त्यहाँ मैले दाल र तरकारी खाएँ । छाप्रोमाथिको पहिरो खस्केर मेरो यात्रा पनि हुम्ला कर्णालीको भेलसँगै टुक्के कर्णालीतिर हुत्तिने हो कि भन्ने तर्कना अनायास मनमा उब्ज्यो । कुनै मेहनत र खर्चविना उम्रने, तैरने र घुमफिर गर्ने कल्पना नै हो । कल्पना गर्ने मौका पायो कि त्यो कल्पना अनियन्त्रित भएर बाटो बिराएर भौतारिन थाल्थ्यो । सायद सबैलाई त्यस्तो हुन्छ । मेरो मनमा उब्जेको त्यो भय अनावश्यक थियो । सुख्खा पहिरो नझर्ने पनि होइन । त्यहाँ सल्लो र लालीगुराँसको आड र भरोसा पनि त थियो । अनि के म सुतेकै रात पहिरो झथ्र्यो त ?


त्यस्तैमा एउटा अर्को सम्झना झल्याँस्स आयो । २०७६ सालको तिहारअघि विकट ओलाङचुङगोला (ताप्लेजुङ)को यात्रामा हामी चारजना उकालो लाग्दै थियौँ । हाम्रो दाहिनेतर्फ तल्लो भागमा तमोर नदी डाँडापाखा थर्काउँदै गड्गडाएर गहिरिएर बगेको थियो । तलतिर हेर्दा रिङ्गटा लाग्ने नै थियो । हाम्रो सहयोगी पदप्रदर्शक भाई ल्हाक्पा शेर्पा हाम्रो सामान बोकी अगाडि हिँडदै थिए । मसँग पत्रकार÷ साहित्यकार श्रीरामसिंह बस्नेत दाई र फ्रान्स देखि हामीसँग कञ्चनजँघा क्षेत्रको पदयात्रा गर्न आउनु भएकी ७२ वर्षिया कुशल पदयात्री क्लुदिन रुविन हुनुहुन्थ्यो ।


उकालोमा बस्नेत दाइलाई गाह्रो भएको मैले ठम्याएँ । दाइको रुकस्याक लिएँ र मेरो झोलामाथि खप्ट्यार बोकेँ । दाइलाई भीरतिर नहेर्न भनेँ । दाई डराएको उहाँको अनुहारले देखाउथ्यो । त्यो बेला दाइको मनमा उठेको तरङ्ग उहाँले मलाई यात्राको अन्त भएपछि भन्नुभएको थियो । जुन यस्तो थियो –“ हिंडन त डोल्पा, बाजुरा, मुगु लगायतका विकट ठाउँहरुमा धेरै हिंडियो, तर यति जोखिमपूर्ण बाटोमा कहिल्यै हिंडिएको थिएन । ठाडोभीरको साँघुरो बाटोमा खुट्टा चिप्लियो भने तमोर नदीमा जलसमाधि लिनु बाहेक अरु विकल्प छैन, गन्तव्यसम्म पुगेर मात्र भएन, यही बाटो फर्कनु पनि छ, ज्यान सग्लै लिएर घर फर्किन सकिएला कि नसकिएला ?” । जोखिमपूर्ण बाटोमा यस्तो सोच आउनु पनि अस्वभाविक होइन । योजनाअनुसार यात्रा पूरा गरी उहाँ काठमाडौं घर फर्कन सफल हुनु भयो, उहाँका खुट्टाका दुई बुढी औंला भने धेरैपछिसम्म पनि नीला भएका थिए ।


डर–त्रास, सुख–दुःख, जन्म–मृत्यु, उज्यालो–अँध्यारो र फुर्सदमा निस्कने कल्पनाका तरङ्गलाई थामथुम पार्नुपर्छ । लेप्चे भिरको पहिरो र पहराका चेपका किराकिरीको आवाज शान्त भयो । अँधेरी रात निष्पट कालो बन्दै गयो । छाप्रोमाथिको आकाश पनि सानो थियो किनभने लेप्चे भिर चारैतिरका अग्ला पहाडले घेरिएको थियो । मैले छाप्रोमाथिको त्यो सानो आकाशलाई मेरै आँगन सम्झेँ । सानो आकाशमा टिलपिलाएका तारा मेरो सुरक्षामा बसेका मित्रहरू हुन् भन्ने सम्झेँ । कर्णालीको गर्जनलाई नारायण गोपालले गाएको गीत “म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु, … हेरिदिने कोही भैदिए नानीभित्र फुलिदिन्छु, लगाइदिने कोही भैदिए सिँउदोभरि फुलिदिन्छु ।” सम्झेँ । त्यो गीत गुनगुनाउँदै शयन थैलोभित्र छिरेँ ।
भिर पार गरेपछि कर्णालीको बहाव भेरीको जस्तो शान्त र मधुर बन्यो । कर्णालीको छालको जिउलोमा हरियो गहुँ देखिन थाल्यो । ठूला गाउँ देखिन थाले । नदी किनारको बाटो फराकिलो देखियो । तिब्बतबाट भेडालाई सामान बोकाएर फर्कने समूह धेरै भेटिए । हिमाली गाउँमा याक जोत्न, सामान ओसार्न, रौँबाट कम्बल र डोरी बनाउन, मासु सहित सब थोकको लागि प्रयोग भएझैँ हुम्ला, मुगु, बझाङ, बाजुरा, दार्चुलाको तल्लो भागमा मासु, ऊन, दुध, घिउ तथा सामान ओसारपसारको लागि समेत भेडाको प्रयोग गरिन्छ । अघिल्लो साँझको वर्षाले आकाश सफा र गाढा निलो भएको थियो । जिउलोको गहुँ सफा र अघिल्लो दिनको भन्दा बढी हरियो देखिएको थियो । एक–दुई ठाउँमा देखिने रूख, ससाना पोथ्रापोथ्री पनि स्नान गरेर केश सुकाउँदै गरेकी पन्ध्र–सोह्र वर्षकी लालीतिरकी कन्या जस्तै देखिएका थिए । वातावरण रमाइलो भएको थियो ।


खानाको लागि थाली (फाली) गाउँ पार गरेर नदी किनारमा रहेको लाली गाउँमा बस्यौँ । खाना पाक्न एक घण्टा लाग्ने भएकाले चिया पिएँ । समुद्रको किनारमा हुने जस्तै बालुवैबालुवाको बलौटे चौर हुँदै कर्णालीमा पुगेर हातमुख धोएँ । हिउँदको जस्तो नदी गाढा निलो नभए तापनि पानी सङ्लो थियो । म फर्केर चिया पसलमा बसेँ । त्यहाँ सिमकोट हिँडेका तीन महिला, दुई पुरुष पनि खाना खान पर्खेका थिए । महिला काठ राखेर बनाईएको भरियाको भारी बिसाउने ठाउँ र पुरुष ढुङ्गामाथि बसेका थिए । दुवै समूहले कक्कड तान्दै थिए ।
कक्कड तान्दै गरेकी गहुँगोरी महिला हसिँली देखिन्थिन् । टाउकोमा ऊनको पछ्यौरा बाँधेकी थिइन् । अघिल्तिरको कताकति फुलेको केश काटेको हुनपर्छ, निधारमा झरेको छोटो थियो । कानमा ठूला काँडे माडवारी, नाकमा रातो सानो पत्थर जडेको काँडे फुली र मोटो बुलाकी पहिरेकी थिइन् । हरियो, सेतो, रातो, आकाशे रङको पोते मिसाएर बुनेको छोटो पोते मुगुका महिलाले पहिरेझैँ घाँटीमा टमक्क टाँसिएको थियो । रातो पत्थर, रङ्गीचङ्गी ठूला पोतेका दानाले उनेको चाँदीको तिलहरी घाँटीभन्दा केही तलसम्म झरेको थियो । त्यसपछि तेस्रो झण्डै आधा मुठी मोटो रातो पोते छातीसम्म झरेको थियो । चौथो लगभग एक मुठी मोटो छर्लङ्ग पहेँलो पोते छातीभन्दा तल नाइटोसम्म झरेको थियो । उनले रातो चोलो, रातो स्वीटर र हरियो पानबुट्टे लुङ्गी र चप्पल पहिरेकी थिइन् । उनको पहिरनले कर्णाली नदी पनि उज्यालो देखिएको थियो ।
खाना खाइसकेपछि पाको उमेरकी एक महिला जो हँसिली र फरासिली थिइन् । कानमा हावादारी, नाकमा फुली र बुलाकी तथा छोटो र लामो गरी दुईटा पोते भिरेकी थिइन् । उनले चिलिममा कक्कड तान्दै थिइन् । लामो सासले चिलिमबाट भुसाहा तानिन् । कर्णालीतिर फुरुरु धुँवा उडाइन् र लोक देउडा भाकामा निम्न शब्द भएको गीत गाइन् ः
वारी लाली पारी थाली माझ करनाली
बिउ पाइनकी बल्ल किन लाइनौ बाली ।

हामी खाना खाएर उनीहरूसँगै खार्पुनाथतिर लाग्यौँ ।


कर्णालीको तीरमा रहेको खार्पुनाथ मन्दिर हुम्लाको ठूलो तीर्थस्थल हो । त्यहाँ म पहिले पुगेको थिएँ । त्यहाँ फागुन महिनामा मेला लाग्छ । खार्पुनाथमा कर्णालीको किनारमा तातोपानी कुण्डहरू रहेका छन् । पुरानो सानो मन्दिरको नजिकै सुन्दर खार्पुनाथको मन्दिर हालसालै बनेको रहेछ । मानसरोवर, कैलाश क्षेत्रको नजिक भएको हुनाले यहाँ नाथ सम्प्रदायको महŒव बढी भएको हुनसक्छ । जुम्ला, मुगु र हुम्लामा मन्दिर स्थापना, खेतीपाती, पशुपालन सहित राज्य सञ्चालन गर्न सिकाउनेमा नाथहरूको योगदान रहेको जुम्ला र खस जातिको इतिहासमा पाइन्छ ।


खार्पुनाथदेखि सिमकोट पुग्न करिब ९०० मिटरको उकालो चढ्नुपर्छ । बेलुकीपख, दिनभरको हिँडाइले थाकेको बेला त्यो चढाइ पनि कम कष्टकर थिएन । कर्णालीको लामो हेरिरहूँ जस्तो लाग्ने नागबेली आकार, जिउलोमा देखिएको हरियो गहुँ, पञ्चमुखी हिमाल, वरपर देखिने गाउँ, सदरमुकामदेखि ओहोरदोहोर गरेका गाउँलेको दृश्यले थकाइ बिर्साएर हृदयमा मुस्कान भरिदिन्थ्यो जसले थकित पाइला पनि बिस्तारै उकालिन्थे ।
त्यस दिन हामी तीन बजे सिमकोट पुग्यौँ । मेरो गाउँले सर्वजित गौचनका छोराले सञ्चालन गरेको थकाली लजमा बास बसेँ । नौ दिनसम्म यस विकट क्षेत्रमा मलाई साथ दिने मेरा मित्र चतुरसिंह वि.क. सोही दिन नै मुगुको थार्प फर्कने सोच गरे । मैले हिसाब गरेँ । एक सरो लुगा, ज्याला र खाना खर्च दिएर उनलाई बिदा गरेँ ।
वैशाख महिना भएकाले मौसम सफा थियो । भोलिपल्ट तारा एयरको जहाजबाट नेपालगञ्ज र त्यहाँबाट यती एयरबाट काठमाडौँ फर्केँ । ताल्चा, रारा, गमगढी, मुगुम र त्यहाँबाट फर्केर थार्प, वाम हुँदै नौ दिनको पदयात्रा गरी म सिमकोट पुगेँ । त्यस बेला मुगुको उत्तरी भेग, मुगुको पश्चिमोत्तर खण्ड र हुम्लाको पूर्वी भागको यात्रा गरेको थिएँ । त्यो नौ दिनमा म खाना खान बसेको समय कटाएर नब्बे घण्टा हिँड्दा करिब २७० देखि ३०० किलोमिटरको यात्रा तय गरिएछ । त्यो यात्रा पूरा गरेपछि मैले नेपालको सगरमाथादेखि पश्चिमतर्फको उच्च हिमाली क्षेत्रको अधिकांश खण्ड पदयात्रा गरेर सम्पन्न गरेको थिए । त्यसपछि मात्र ओलाङचुङगोला र कञ्चनजङ्घा आधार शिविरको यात्रा गरेको हुँ ।


४०००–५००० वर्ष पुरानो खस महाजातिको सन्तानको वर्तमानसम्मको जीवित मूल थलो कर्णालीको विकट क्षेत्रको यात्रा गर्नु नै महान् कार्य थियो मेरो लागि । त्यो यात्रामा प्राचीनकालीन फिरन्ते त्रिदेशीय व्यापारी व्यासी जाति र फिरन्ते भेडापालक क्षेत्री, ठकुरी र बाहुनको जीवनचर्यासँग परिचित हुन पाउनु, वाम गाउँको विवाहमा सहभागी हुन पाउनु, चङ्खेलीको छायालाई नजिकबाट अनुभव गर्न पाउनु, हुम्ला, मुगु र टुक्के कर्णालीको माया पाउनु, मुगालीले आपूmलाई खस र मुगुमलाई खसान भनेको सुन्न पाउनु, खस जाति र खसानबारे चल्ने चर्चा–परिचर्चामा गाउँमा गाउँले किसानसँग सहभागी हुन पाउनु मेरा लागि ठूलो उपलब्धि बन्यो ।
मंसिर २६, २०७७ bishnu.nmdc@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s