जुनेली रात

साभारः दायित्व द्वैमासिक चैत २०७७–वैशाख २०७८
कथा

विष्णुप्रसाद शर्मा पराजुली

फ्लोरीया दोमिनीक नेपाल आएकी थिइनन् । जसरी सोह्र–सत्र वर्षकी रुसकी सुन्दरीले आफ्नो रूप र कामुकताले तन्नेरी र अधबैँसेलाई मोहित पार्छिन्, त्यसरी नै नेपालका हिमाच्छादित चुचुराहरूले पनि मानव जातिलाई मन्त्रमुग्ध पार्छन् भन्ने उनले सुनेकी थिइन् ।
कलेज पढ्दापढ्दै उनका साथीहरू प्रेमीप्रेमिकासँगै नेपाल पुगे । उनले नेपालको प्राकृतिक सुन्दरता, लामबद्ध हिमालयका अग्ला चुलीहरू, घाँस काट्दै, भेडाबाख्रा खेद्दै, पसिना पुछ्दै, रमाउँदै हिँड्ने नेपालीका बारेमा सुनेकी थिइन् । नेपाल हेर्न उनी व्याकुल थिइन् तर आपूmले खोजे जस्तो प्रेमी नपाएकाले समय जुरेको थिएन । साथी बनाएपछि सँगै नेपाल जाने सोंच उनको थियो । कलेजको पढाइ सकेपछि उनले जेनेभाको बैँकमा काम गर्न थालेकी थिइन् ।
आनमास पूर्वी फ्रान्सको जेनेभानजिक रहेको सानो सहर हो । त्यहाँ बस्ने अधिकांश फ्रेन्च नागरिक स्वीट्जरलेन्डको जेनेभामा काम गर्छन् । आनमासदेखि युरोपको सबैभन्दा अग्लो पर्वत माउन्ट ब्लाँ (ःत। द्यबिलअ, ४,८१० मिटर) र त्यस नजिकको पर्यटकीय नगर चामोनिक्स ५८ किलोमिटर टाढा रहेको छ । त्यसरी नै जेनेभा २६ किलोमिटरको दूरीमा पर्छ । अल्पस् पर्वतमालाहरूमा हिउँदमा लामो समय हिउँ जमिरहने र स्की खेल्ने भएकाले फ्लोरीयालाई हिउँ, हिमपर्वत र पदयात्राको अनुभव नभएको भने होइन तर उनले संसारकै धेरै ठूला र अग्ला पर्वतको शिरपेच पहिरेको नेपालको हिमालय पर्वतमालासँग एकतर्फी प्रेम गरेकी थिइन् ।
पच्चिस वर्षकी फ्लोरीया रुसका युवतीभन्दा कम सुन्दर थिइनन् । उनी बाँसको तामा जस्तै हलक्क बढेकी थिइन् । ५ फिट ४ इन्च अग्ली युरोपियन श्वेत वर्णकी उनी रसियन जस्तो बढी गोरो नभई युरोपियन गोरी थिइन् । हरिणको पाठीको शरीरको जस्तै चमक र फूर्ति देखिन्थ्यो उनको शरीरमा । उनका गाला प्याउली पूmल जस्ता कोमल र ओठ कमलको पूmलका पत्र जस्तै सुन्दर थिए । उनका आँखामा त्यस्तो आकर्षण थियो जसको एक दृष्टिमा जो कोही युवा मर्माहत नभइरहन सक्दैनथे । उनी निडर, स्पष्ट वक्ता, मेहनती र इमानदार थिइन् । उनका बाबुआमा पनि स्वीट्जरलेन्ड नै काम गर्थे । युरोपमा पन्ध्र–सोह्र वर्षदेखि नै युवायुवतीले प्रेमीप्रेमिका बनाएका हुन्छन् । बनाएनन् भने आमाबाबुले पिर मान्दछन् ।

युवायुवतीले कलेजको पढाइ सक्दानसक्दै काम गर्न थाल्छन्, आफ्नो प्रेमीप्रेमिका बनाउँछन्, बाबुआमाको घर छोडेर छुट्टै बस्दछन् । गतिला छोराछोरीले छुट्टीको दिन र क्रिसमसमा आमाबाबुलाई भेट्छन् । युवायुवती सक्षम भएकाले एकअर्कोमा भर पर्दैनन् । कोही कसैसँग हेपिएर बस्दैनन् । सरसफाइ, खाना पकाउने, भाँडा माझ्ने, कपडा धुने, बजार जाने, फोहोर फाल्ने, सबै काम मिलेर गर्दछन् । मिलेर कमाउँछन् खर्च पनि मिलेर गर्छन् । त्यहाँ युवायुवती विवाह नगरिकनै सँगैसँगै बस्ने चलन हुन्छ । बानीव्यहोरा, चालचलन, रीतिरिवाज सबै कुरामा एकअर्काबीच घनिष्ठ सम्बन्ध बनेमा विवाह गर्दछन् । बिहे गरेपछि बालबच्चा जन्माउँछन् । छोराछोरी हुर्केपछि जीवनको उत्तराद्र्धमा सम्बन्ध बिच्छेद गर्ने धेरै हुन्छन् । फ्रान्समा पचास प्रतिशत दम्पतीले सम्बन्धविच्छेद गर्छन् ।
“बेबी फ्लोरीया अब तिमीले साथी खोज्नुपर्छ, एक्लै बस्नुहुँदैन ।” उनकी आमा ओडिलले सम्झाउँथिन् ।
फ्लोरीयाले “भरपर्दो, जागिर भएको र नेपाल, हिमालय मन पराउने केटा भेटेँ भने साथी बनाउँछु । तपाईंले पिर नगर्नू” भनेर आमाबाबुलाई आश्वस्त पार्थिन् ।
आनमासमा असोजको महिना आकाश गाढा निलो भएको थियो । अग्ला पहाडमा मात्र हिउँ देखिन्थ्यो । अन्य पहाडहरू सुख्खा देखिन्थे । सहर र गाउँवरपरका फराकिला फाँटमा हेरिरहूँ जस्तो लाग्ने गाढा हरियाली देखिन्थ्यो । आनमास र जेनेभानजिक रहेको सुन्दर लेमोन (जेनेभ) ताल वरपर पर्यटकको घुइँचो थियो ।
एक दिन क्लुद नाम गरेको युवक फ्लोरीयाले काम गर्ने बैँकमा नियुक्ति लिएर आए । शारीरिक रूपमा हेर्दा उनी अग्लो, चौडा छाती भएको, गोरो र फिका आकाशे रङको आँखा भएको आकर्षक र हँसिला देखिन्थे । बैँकमा अन्य कर्मचारीसँगको परिचयको क्रममा बैँकिङ क्षेत्रमा काम गर्ने, लामो ड्राइभ गर्ने र उच्च हिमालय क्षेत्रमा पदयात्रा गर्ने सोख भएको उनले जानकारी दिए । आफ्नो पालोमा फ्लोरीयाले पनि बैँकको कामको जानकारी दिँदै नेपाल हिमालय क्षेत्रको पदयात्रा गर्ने सोख रहेको बताएकी थिइन् । हिमालय भन्ने शब्द उब्जँदा ती दुवैका आँखा चनाखो हुँदै पहिलो पटक एकअर्कासँग जुधेका थिए ।
क्लुदले बैँकमा काम गर्न थालेको दुई साता नाघेको थियो । त्यसबीच क्लुद र फ्लोरीयाबीच दुई पटक क्यान्टिनमा भेट भएको थियो । त्यस बेला क्लुदले “छुट्टीमा घुम्न कहाँ जाने योजना छ ?” भनेर अनायासै सोधेका थिए ।
“नेपाल जान चाहेको तर समय मिलाउन सकेकी छैन ।” उनले जवाफ दिँदै भनिन् र “तिम्रो के छ नि ?” भनेर सोधिन् ।
“चार वर्षदेखि नेपाल जाने सोचाइ बनाएको छु तर मौका जुरेको छैन” उनले जवाफ दिए । त्यसबाहेक उनीहरू बीच अन्य कुरा भएको थिएन ।
एक दिन साप्ताहिक बिदामा फ्लोरीया उनका साथीहरूसँग चामोनिक्सदेखि ६–७ किलोमिटर टाढा रहेको ब्ल्ङ्क तालको पदयात्रा गर्दै थिइन् । त्यही दिन क्लुद पनि उनका साथीसँग सोही मार्गमा एक दिनको पदयात्रामा निस्केका रहेछन् । त्यो पदमार्ग चामोनिक्सवरपर १,००० मिटरको उचाइमा रहेको ठाउँबाट सुरु भई २,३५० मिटरमा रहेको तालमा पुगेर टुङ्गिदोरहेछ । माउन्ट ब्लाँवरपर रहेका अल्पस् पर्वतमाला तिखो र भिरालो परेका चट्टानसहितका छन् । त्यहाँका चट्टाने भिरमा पदयात्री दुर्घटनामा नपरून् भनेर ठाउँ–ठाउँमा फलामका भ¥याङ, बार, साङ्ला राखिएका हुन्छन् । त्यो दिन क्लुद र फ्लोरीया फलामको भ¥याङ राखेको ठाउँमा अकस्मात् भेट भएका थिए ।
ब्ल्ङ्क तालबाट युरोपको सबैभन्दा अग्लो पर्वत माउन्ट ब्लाँ, एग्विली दु मिदिसहित हिउँले ढाकिएका अन्य अल्पस् पर्वतको लामो र सुन्दर दृश्य देखिन्छ । तालको निलो पानीमा माउन्ट ब्लाँ र अन्य चुचुराहरूको छाया हावामा लहराएको दृश्य यस्तो देखिन्थ्यो की मानौँ फ्रान्सका नवयौवनाहरू आफ्नो वक्षस्थललाई तालमा डुबाएर पौडी खेलिरहेका छन् । सायद त्यसैले होला त्यहाँ तस्वीर लिने युवायुवतीको घुइँचोे भइरहन्थ्यो । तालमा पुगेपछि रिफ्यूज (खाजा घर) मा खाजा खाए र दुवै समूह सँगै चामोनिक्स फर्के । धेरै कुरा नभए तापनि त्यो पदयात्राले ती दुई युवायुवतीको सोखमा एकरूपता देखिएको थियो र त्यहाँ एकअर्काले के अनुमान गरे भने दुवै एक्लाएक्लै थिए ।
‘क्लुद जस्तै केटा हो मैले खोजेको’ फ्लोरीयाले मनमनै त्यो युवालाई मन पराउन थालेकी थिइन् ।
शनिबारको दिन लेमोन तालको किनारैकिनार उनीहरू तालको किनारमा रहेको सुन्दर ईभीया सहर गए । ईभीया मिठो पानीका लागि विश्वप्रसिद्ध छ । तालको किनारमा रहेको ‘ले पानोरामा’ रेष्टुरेन्टमा छिरे । त्यहाँबाट ईभीया, चर्च, लेमन ताल, जेनेभासम्म फैलिएको सहरका साथै अल्पस् पर्वतको मनमोहक दृश्य देखिन्थ्यो । फ्रान्समा भन्दा जेनेभातिर सरसफाइ, बगैँचा, पूmलैपूmलले ढपक्क ढाकिएका घर र हरियाली बढी देखिन्थ्यो । लेमन तालको बीच भाग फ्रान्स र स्वीट्जरलेन्डको सीमा हो ।
उनीहरू भेटघाट र चिनजान भएको एक वर्षपछि त्यसरी पहिलो पटक घुम्न निस्केका थिए । कफी पिउँदै क्लुदले “म आउँदो वर्ष अक्टुबरमा नेपाल जाने सोच बनाएको छु । तिम्रो योजना के छ ? के तिमी मसँग नेपाल जान्छ्यौ ?” भन्दै अप्रत्यक्ष रूपमा प्रेमप्रस्ताव राखे ।
कलेज पढ्दादेखिको नेपाल जाने तीव्र चाहनालाई फ्लोरीयाले दबाएर राखेकी थिइन् । आपूmले मनमनै चाहेको युवाले नेपाल जाने प्रस्ताव राख्दा उनी यति विघ्न खुसी भइन् की जुरुक्क उठेर क्लुदलाई अँगालो हालेर गालामा म्वाइँ खाएको उनले थाहै पाइनन् । खुसीले उन्मत्त भएर उनको मुटु छातीबाट फुत्त बाहिर निस्केर लेमोन तालको अगाडि छमछमी नाच्यो । त्यसै बेला लेमोन ताल र ईभीया सहर उनको मनमा उम्लेको खुसीयालीमा साथ दिँदै संसारकै अग्लो जेनेभाको वाटर जेट नाचेझैँ सँगसँगै नाच्न थाले । वर्षौँ पहिलेदेखि हृदयको कुनामा सुषुप्त अवस्थामा रहेको चाहना एकाएक प्राप्त हुँदा अनायास उनका आँखाबाट हर्षका आँसु झरे ।
‘प्रतीक्षा गर्न सक्नुपर्छ चाहेको कुरा एक दिन अवश्य प्राप्त हुन्छ’ उनले मनमनै दोह¥याइन् ।
फ्लोरीयाको जवाफ क्लुदले उनको हर्षका आँसुबाट नै पाए ।
“हो, मैले पनि तिमी जस्तै साथी खोजेको थिएँ । बैँकमा हाम्रो परिचयपछि नै म तिमीप्रति आकर्षित भएको थिएँ तर केही भन्न सकेको थिइनँ ।” क्लुदले कफी पिउँदै मनको कुरा पोखे ।
“हो क्लुद, म पनि तिमी जस्तै साथीको प्रतीक्षामा थिएँ । मलाई शरद ऋतुको पूर्णिमाको जुनेली रातमा नेपालको हिमालको काखमा पुगेर रातभर जून, तारा र हिमाललाई हेर्दै प्रकृतिको त्यो अप्राप्य सुन्दरताको धित मरुन्जेल स्वाद चाख्न मन छ । पृथ्वीमा रहेको एक मात्र त्यो स्वर्गमा सयौँ हिमालका चुलीहरूलाई अँगालोमा कसेर तिनीहरूसँग माया, प्रेम, सौन्दर्य, प्रकृति र जीवनका बारेमा धेरै कुरा गर्न मन छ । मेरो यो अनौठो चाहनाले मेरा साथीभाइ र आमाबुबा अचम्मित हुँदै मलाई पागल भन्छन् तर म त्यो चाहन्छु ।”
फ्लोरीयाको भनाइमा प्रकृतिप्रेम, प्रेमको अद्भूत चाहना र भावुकता मिसिएको उनको गाम्भीर्यताबाट छर्लङ्ग झल्कन्थ्यो । क्लुदले पनि भावुक भएरै भने, “यदि तिमीले मलाई साथी बनाउन चाहन्छ्यौ भने हिमालय पर्वतको काखमा, कठ्याङ्ग्रिदो सिरेटो चलेको बेला शरद ऋतुको पूर्णिमाको त्यो जुनेली रातमा म तिमीलाई जीवनभर न्यानो माया दिन तयार छु ।”
संजोग न हो । लेमोन तालको छाल हावामा बयली खेलेझैँ ‘ले पानोरमा’को कफीले ती दुई युवाको मुटुभित्र गुम्सिएर बसेको प्रेमको टुसालाई अङ्कुराउन प्रेरित ग¥यो । त्यसपछि ती दुई एकअर्काको घरमा जानुका साथै दुवैका आमाबाबुसँग घुलमिल हुन थाले । बैँकबाट दुई साताको बिदा मिलाएर २०७६ मङ्सिर १८ गते कतार एयरलाइन्सबाट काठमाडौँ जाने टिकट पनि लिए ।
गुगल सर्च, साथीभाइका साथै जेनेभामा रहेको क्याफे नेपालका नेपालीसँग नेपाल र पदयात्राबारे सूचना सङ्कलन गरे । सुरक्षित, विश्वासिलो र आनन्ददायक पदयात्राका लागि नेपालको मल्ल ट्रेक्ससँग उनीहरूले सम्पर्क राखे । फ्लोरीयाको कल्पनासँग ठ्याक्कै मेल खाने र बिदाअनुसार पदयात्राको लागि अन्नपूर्ण आधार शिविर तय गरे ।
नेपाल जानुभन्दा चार दिनअघि दुवैका परिवारले बेलुकाको खाना सँगै खाने योजना गरे । त्यो साँझ परिवारमा खुसीयाली छाएको थियो । सफल र सुरक्षित यात्राका लागि दुवैका आमाबाबुले एकअर्कालाई वाइन चेयर्स गर्दै शुभकामना दिए । फ्रान्समा चेयर्स गरेर वाइनका गिलास एकअर्कामा ठोक्दा एकले अर्काको आँखामा हेर्ने चलन छ । त्यो घनिष्ठ मित्रताको द्योतक हो । एक सुर्की वाइन पिएपछि फ्लोरीयाले आमाबाबुसँग अनुरोध गर्दै भनिन्, “आमाबुबा तपाईंहरूको अनुमति र आशीर्वाद भएमा हामी दुईले दिसेम्बर १२, २०१७ (२०७६ मङ्सिर २६) गते पूर्णिमाको रात अन्नपूर्ण आधार शिविरमा नेपाली सांस्कृतिक परम्पराअनुसार बिहे गर्न चाहन्छौँ ।”
क्लुदका पिता पास्कलले आश्चर्य मान्दै भने “नेपाली चलनअनुसार बिहे गर्न के–के कुरा चाहिन्छ तिमीहरूलाई थाहा छ त ?”
“ट्रेकिङ कम्पनी, युट्युब, इन्टरनेट र साथीभाइबाट सबै जानकारी लिएका छौँ । बिहेको लागि चाहिने कुराहरू काठमाडौँमा किन्छौँ ।” फ्लोरीयाले जवाफ दिइन् ।
“त्यस बेला नेपालको उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने, हिमपहिरो जाने, चिसोले कठ्याङ्ग्रिएर मानिसको मृत्यु हुन्छ । हरेक वर्ष दुर्घटनामा परेर मानिस, याक र भेडा मरेको समाचार आउँछ । त्यस्तो कठिन समय नै किन छानेको ?” फ्लोरीयाकी आमा ओडिलले आमाको मनबाट बोलिन् ।
“आमाले भन्नुभएको सही हो । त्यस बेला आइस जम्नेगरी अत्यधिक चिसो हुन्छ । त्यसैले हामीले पोखरादेखि नजिक रहेको, उद्दार गर्नुपरे पनि हेलिकप्टर अवतरण गरी तुरुन्तै पोखरा पुग्न सकिने, एकै दिनमा गाउँमा झर्न सकिने अन्नपूर्ण आधार शिविर छानेका छौँ । त्यसको अधिकतम उचाइ समुद्र सतहदेखि मात्र ४,२०० मिटर रहेको छ ।” क्लुदले मोबाइलबाट अन्नपूर्ण क्षेत्रको तस्वीर देखाउँदै प्रस्ट पारे ।
थप प्रस्ट पार्दै फ्लोरीयाले भनिन्, “हामीले त्यो ठाउँ छनौट गर्ने मुख्य कारण के भने डिसेम्बरको रातमा आइस जम्ने चिसो हुने भए तापनि मौसम असाध्यै सफा हुन्छ । दिउँसो न्यानो घाम लाग्छ । एक फुर्को बादल हुँदैन । नयाँ हिउँको थुप्रोसँगै मुस्कुराएका अग्ला हिमालका चुचुरालाई निलो आकाशले अँगालोमा बाँधेको हुन्छ । त्यो मौसममा हिमालयमा देखिने सूर्यास्तको दृश्य, पूर्णिमाको जुनेली रातमा देखिने हिमालको चमक, टिलपिलटिलपिल गर्ने तारा, बिहानीपख हिमालको चुचुरोमा पूर्णचन्द्रको अस्त र सूर्योदयको पहिलो किरण हिमालयमा परेको अपूर्व दृश्य देख्न पाउनु हो । हो, त्यही पूर्णिमाको जुनेली रातमा हिमालको काखमा बिहे गर्ने चाहना हुनु हो ।”
“यो चाहना अनौठो, चुनौतीपूर्ण र कष्टकर छ । मौसमले साथ दिएमा यो ब्रह्माण्डमा देखिने अभूतपूर्ण दृश्य हेर्न भने असम्भव छैन ।” क्लुदले यथार्थको मूल्याङ्कन गर्दै विश्वासका साथ भने ।
“तिमीहरूको कुरा सन्दा त मलाई पनि फेरि बिहे गर्न मन लाग्यो” पास्कलले ठट्टा गरे । उनको ठट्टा सुनेर सबै जना मज्जाले हाँसे । आमाबाबुले उनीहरूको सफल यात्रा र सफल जीवनको लागि आशीर्वाद दिँदै बिदा भए ।
उनीहरूले आवश्यक पर्ने तातो लुगा, बुट र पाल जेनेभामा नै किने । कतार एयरबाट दिसेम्बर ४ (मङ्सिर १८) गते काठमाडौँ अवतरण गरे । कम्पनीका गाइडले उनीहरूलाई होटल मल्लमा पु¥याए ।
त्यस वर्ष असोज र कात्तिकमा दुई पटक हिउँ प¥यो । उच्च हिमाली क्षेत्रमा केही मानवीय र पशु क्षति भएको थियो । मङ्सिरको पहिलो सातादेखि भने दिनभर घाम लागेको थियो ।
पाल्पाली ढाकाको टोपी, दौरा–सुरुवाल र चोलोको रङ तथा नाप स्काइपमा कुरा गरेर काठमाडौँको भेडासिङमा सिउन दिएका थिए । दौरा–सुरुवाल र चोलो लिएपछि उनीहरूले इन्द्रचोकमा रातो सारी, रातो चुरा, रातो पोते र सिन्दूर किने ।
उनीहरूले सामान किनेको देख्दा साहुजीले छक्क पर्दै सोधे, “नेपालमा बिहे गर्ने हो कि क्या हो ?”
क्लुदले हाँस्दै जवाफ दिए, “हो, अन्नपूर्ण आधार शिविरमा, त्यो नि जुनेली रातमा ।”
उनीहरूले सुनका दुई थान औँठी, तिलहरी विशालबजारमा किने । बसन्तपुर दरबारको अवलोकन गरेपछि ट्याक्सीमा स्वयम्भूनाथ पुगेर होटल फर्के ।
भोलिपल्ट बिहान पशुपतिनाथ र बौद्धनाथको छोटो दृश्यावलोकन गरी बाह्र बजे बुद्ध एयरबाट पोखरा ओर्ले । मौसम सफा भएकाले उत्तरतर्फ लाङटाङ हिमालदेखि गणेश, मनास्लु, अन्नपूर्ण हुँदै पश्चिममा धवलागिरिसम्मको हिमालय पर्वतमाला देखिएको थियो । उनीहरू साङ्ग्रिला होटलमा बसे । फेवाताल र नजिकै माछापुच्छ«े देखेपछि फ्लोरीयाले भनिन्, “क्लुद हेर न ! उ… त्यो माछापुच्छ«े र यो फेवाताल स्वीट्जरलेन्डको मेटरहर्न पर्वत र लेमोन ताल जस्तै लागेन ?”
“दुरुस्तै रहेछ । मैले पनि भन्नै खोजेको थिएँ, तिमी पहिलो भयौ । फरक के भने मेटरहर्न माछापुच्छ«ेभन्दा होचो छ भने फेवाताल लेमोन तालभन्दा सानो छ ।” क्लुदले प्रस्ट पारे ।
उनीहरू वीरेठाँटी, हिले, उल्लेरी हुँदै घोडेपानी पुगे । भोलिपल्ट बिहान सूर्योदय र हिमालमा सूर्यको पहिलो किरण पर्दा देखिने दृश्य हेर्न सबैभन्दा पहिले उनीहरू पुनहिलमा रहेको टावरमा पुगे । बिहानीपख पहेँलो आभामा देखिएको पहाड र उपत्यकाको तरेली परेको मनमोहक दृश्य पूर्वमा मनास्लुसम्म देखिएको थियो । पूर्वबाट पश्चिमतिर लम्केका अन्नपूर्ण तेस्रो, माछापुच्छ«े, गन्धर्वचुली, गङ्गापूर्णा, तारेकाङ्ग, अन्नपूर्ण प्रथम, अन्नपूर्ण दक्षिण, हिउँचुली, नीलगिरि, टुकुचे, धवलागिरि हिमालयका हिमाच्छादित चुचुराहरू अत्यन्त गम्भीर मुद्रामा सूर्योदयको प्रतीक्षामा उभिएका देखिन्थे । हृदयको कुनामा उम्रेको चाहना यथार्थमा परिणत हुँदै पूर्णतातिर उन्मुख भएकोमा फ्लोरीया अत्यन्त खुसी थिइन् । सूर्योदयसँगै सुनैसुनका गहना पहिरेर दुलही जस्तै सिँगारिएका हिमालको तस्वीर खिचेर गाइड आङ दावासँगै फर्के ।
टाढापानी, छोमरोङ, बम्बु, देउराली हुँदै उनीहरू माछापुच्छ«े आधार शिविर पुगे । बगर र माछापुच्छ«े आधार शिविरवरपर हिउँ र आइस जमेको थियो ।
“रातिमा त मैले सोचेभन्दा चिसो हुँदोरहेछ” फ्लोरीयाले भनिन् ।
त्यस बेला मौसम सफा भएकाले माछापुच्छ«े र अन्नपूर्ण आधार शिविरमा एक–एक लज खुलेका थिए । त्यहाँ रसियन र चिनियाँ पर्यटक बढी देखिन्थे ।
“असोज–कात्तिकमा त्यहाँ पर्यटकले खुट्टा टेक्ने ठाउँ हुँदैन, तिमीलाई थाहा छ नि ।” क्लुदले स्मरण गराए ।
“हो नि, एक पटक मेरा कलेजका साथीहरू आउँदा उनीहरू कोठा नपाएर डाइनिङ हलमा नै सुतेका थिए रे ।” फ्लोरीयाले सही थाप्दै भनिन् ।
छिटो हिँडेको हुनाले उनीहरू एक दिन पहिले पुगेका थिए । त्यसैले एक रात माछापुच्छ«े र अर्को रात अन्नपूर्ण आधार शिविरमा बिताउने योजना गरे । फ्लोरीयाले दस वर्ष पहिलेदेखि कल्पनामा बुनेको चाहना वास्तविकतामा परिणत भएकोमा नजिकैको माछापुच्छ«े हिमाल खुलेझैँ उनी अत्यधिक प्रफूल्ल देखिन्थिन् । उनको खुसीयालीलाई क्लुदले गम्भीरतापूर्वक नियालेका थिए । दिउँसो उनीहरू माछापुच्छे« हिमनदी, मोदीखोला र गङ्गापूर्ण हिमनदीको अवलोकन गरे । सूर्यास्तको बेला माछापुच्छ«ेको दृश्य आरनमा धपधप बल्दै गरेको कोइला जस्तै रातो देखिएको थियो । सूर्यास्तमा प्रत्येक सेकेण्डमा परिवर्तन हुँदै जाने अभूतपूर्व हिमाली दृश्यलाई उनीहरूले हिमालकै काखमा बसेर साक्षात्कार गरे ।
भोलिपल्ट उनीहरू अन्नपूर्ण आधार शिविर पुगे । अन्नपूर्ण हिमनदीमा त्यस बेला पनि हिउँभन्दा बढी आइसका ढिका नै देखिन्थे । भिराला पाखामा कात्तिकमा परेको हिउँ जमेर आइस भएको थियो । ससाना खोलाको माथिल्लो सतहमा आइस जमेको थियो भने आइसमुनिबाट कञ्चन पानी कुलुलु बगेको देखिन्थ्यो । आधार शिविरमा पुग्दा उनीहरू चारैतिरबाट अग्ला हिमालैहिमालले घेरिएका थिए । शिविरवरपर घडीको सूईं घुमाइको आधारमा हेर्दा क्रमशः हिउँचुली, अन्नपूर्ण दक्षिण, अन्नपूर्ण प्रथम, तारेकाङ्ग, गङ्गापूर्णा, गन्धर्वचुली, माछापुच्छ«े हिमालको ताँती अँगालो हाल्न मिल्नेगरी उभिएका थिए । हिउँचुली, अन्नपूर्ण दक्षिण, अन्नपूर्ण प्रथम त झन् नजिकै थिए ।
गाइड आङ दावाले “राति भयङ्कर चिसो हुन्छ । रगत जमेर मर्न सकिन्छ । त्यसैले होटलमा नै बस्नुपर्छ ।” भन्ने सुझाव दिएका थिए ।
“हामीलाई केही हुँदैन । हामी आधार शिविरभन्दा केही माथि अन्नपूर्ण दक्षिणको फेदमा पाल टाँगेर बस्छौँ । हामी सबै त्यहाँ दस बजेसम्म बस्ने हो । त्यसपछि तिमीहरू लजमा फर्केर सुतौला । हामी पालमा नै बस्छौँ ।” क्लुदले उत्तर दिए ।
उनीहरूले दिउँसो नै पाल टाँगे । जेनेभामा किनेका न्याना लुगा र माइनस चालिस डिग्रीसम्मलाई हुने स्लिपिङ ब्याग ठीक पारे ।
गाइड आङ दावाले नेपालको अनुभवअनुसार उनीहरूलाई दुई लिटरको एउटा थर्मसमा तातोपानी र अर्कोमा चिया भरेर पालभित्र राखिदिए । बेलुकाको लागि सुप र नेपाली खाना तयार गरेका थिए ।
आकाशमा एक फुर्को बादल थिएन । निलो आकाश झन् गाढा बनेको थियो । हिमालहरू झन् सेता बनेर चम्केका थिए । हिमालले घेरिएको अन्नपूर्ण उपत्यकामा सूर्यास्तको बेला रोमाञ्चक देखिएको थियो ।
गाइड, भरिया र उनीहरू भएर सबै सामान लिएर पाल टाँगेको ठाउँमा गए । चिसो हावा चलिरहेको थियो । भरियाले ज्याकेट लगाए तापनि उनका ओठ निला देखिएका थिए । सूर्यास्त भयो । पूर्णिमाको जून माछापुच्छे« र गङ्गापूर्णको बीचबाट झुल्क्यो । केही बेरपहिले देखिएको हिमालको सुनौलो दृश्य साँझमा मौनताका बीच घुरमैलो रङको चाँदीमा परिणत भयो ।
पुलकित उपत्यका अन्नपूर्ण प्रथमको हिमनदीबाट हुँइकिँदै आएको चिसो स्याँठले घरिघरि ब्युँझन्थ्यो । चारैतिर उभिएका ती हिमचुचुराहरूले तिनीहरूको चर्तिकला नियालेर हेरिरहेका थिए ।
त्यस्तैमा क्लुद ढाकाको दौरा–सुरुवाल र टोपी पहिरेर दुलहा बनेर पालबाट बाहिर निस्के । त्यसको तीन मिनेटपछि रातो सारी, चोलो र पछ्यौराको पहिरनमा दुलही बनेर फ्लोरीया पनि बाहिर निस्किन् । पालबाहिर अत्यधिक चिसो थियो । त्यो देखेर भरिया अचम्मित भएका थिए भने आङ दावाले विवाहको सामान किन्दा अन्दाज गरेका थिए ।
क्लुदले हिन्दू धर्म परम्पराअनुसार विवाह गरिएको दृश्य भएको बाजाको भिडियो मोबाइलमा बजाए । उनीहरूले दिसेम्बर १२ (मङ्सिर २६) गते पूर्णिमाको जुनेली रातमा जून, तारा, हिमालय, हिमनदी र दुई नेपाली साथीलाई साक्षी राखेर एकले अर्कोलाई माला र औँठी पहिराइदिए । क्लुदले तिलहरी लगाइदिए । दुवैले एकअर्काको हात बलियोसँग समातेर सानो चोर्तेनलाई सात पटक परिक्रमा गरी हिमालयको बीचमा जुनेली रातले सुखी र खुसी हुँदै यात्रा तय गरेझैँ आफ्नो जीवनयात्रा तय गर्ने प्रण गरे । त्यसपछि दुवै जनाले पूर्णिमाको पूर्ण चन्द्र, चन्द्रमासँगै वरपर रहेका तारालाई नमन गरे । दाहिने परिक्रमा गर्दै दुवैले हिउँचुलीदेखि माछापुच्छ«ेसम्म लामबद्ध हिमालयका चुली र मोदी खोलाको शिरलाई नमन गरे । त्यसपछि सिन्दूरको बट्टाबाट एक चिम्टी सिन्दूर झिकेर क्लुदले फ्लोरीयाको सिउँदोमा सिन्दूरले भरिदिए । त्यस बेला गाइड र भरियाले ताली बजाए । नवविवाहित युगल प्रेमी अँगालोमा बाँधिएर एकअर्कालाई चुम्बन गरे । त्यस बेला हिमनदीबाट आएको चिसो हावाले पनि उनीहरूलाई आशीर्वाद दिए ।
हिन्दू धर्मग्रन्थका पौराणिक कथामा भनिएझैँ साँच्चिकै त्यो विवाहमा पूर्णिमाको पूर्ण चन्द्रमा, तारा, हिमालयमा रहेका देवीदेवताको उपस्थिति झल्कन्थ्यो । कुवेरको दरबारवरपर बसेका प्राचीन मानव समुदायका गन्धर्व, किन्नर जाति र हिमालका सबै चुलीहरूले एक–एक मुठी हिउँ छर्केर उनीहरूलाई आशीर्वाद दिएका थिए । त्यस बेला पूर्णिमाको जून टहटह लाएको थियो । हिउँचुली, अन्नपूर्ण दक्षिण, अन्नपूर्ण प्रथम र माछापुच्छ«ेसहित खोलानाला, पखेरा र देउरालीले उनीहरूलाई अँगालोभरिको माया खन्याएका थिए ।
चिसो धेरै बढिसकेको थियो । तस्वीर र भिडियो बनाउँदा आङ दावाका औँला कक्रिसकेका थिए । बेहुलाबेहुली त झन् पातलो लुगामा थिए तर पनि मनको चाहना पुगेकाले चिसो स्याँठले उनीहरूलाई छुने आँट गरेको थिएन ।
“खुला आकाशमुनि धेरै बेर बस्यो भने रगत जम्छ र मरिन्छ । त्यसैले तिमीहरूले पनि ज्याकेट लगाऊ र पालभित्र न्यानो गरी बस ।” दावाले भने ।
विवाहको खुसीयालीमा क्लुदले फटाफट स्याम्पेन झिकेर खोले । सबैले एक–एक गिलास स्याम्पेन पिए । नवदम्पतीलाई बधाई दिएर गाइड र भरिया लजतिर फर्के भने बेहुलाबेहुलीको पहिरनमाथि नै डाउन ज्याकेट र डाउन सुरुवाल पहिरेर उनीहरू पनि स्लिपिङ् ब्याग भित्र छिरे । त्यो दृश्यलाई अन्नपूर्ण प्रथमले निकै चासो राखेर हेरेको जस्तो देखिन्थ्यो ।
त्यो रात उनीहरू सुतेनन् । राति पालबाट बाहिर निस्केर फ्लोरीयाले क्लुदलाई भनिन्, “दिउँसो हिमालको वरपर नाच्ने हिमाली चरा, काग आफ्नो बासस्थानमा बसेका छन् । पूर्णिमाको जूनको उज्यालोलाई पछ्याउँदै तारा पछि लागेका छन् । जुनको उज्यालोमा हिमाल त झन् मनमोहक देखिँदा रहेछन् । यहीँ दृश्य हेर्न म प्रतीक्षारत थिएँ ।”
घरिघरि हुइँकिएर बग्ने चिसो स्याँठबाहेक त्यहाँ अरु कुनै आवाज थिएन ।
“प्रेम र प्रकृतिमा लीन प्रेमीले मात्र हिमालयको काखमा हिउँदको मध्य रातमा तारा, जून र हिमालको यो वार्तालाप सुन्न सक्छन् । अरूमा त्यो धैर्यता र क्षमता हुँदैन । तिम्रो माया गर्ने तरिका विचित्रको छ ।” भन्दै चिया लिएर क्लुद पालबाट बाहिर निस्के ।
जतिजति रात बढ्दै गयो उतिउति हावा आइस जस्तै चिसो हुँदै गएको थियो । पालबाहिर पोखिएको तातो पानी जमिसकेको थियो । त्यस्तो ठिहि¥याउने चिसोमा उभिएर त्यो जुनेली रातमा टल्केका हिमालको विहङ्गम दृश्य हेर्दै उनले चिया पिए र पालभित्र छिरे ।


हरेक घण्टामा पालबाट बाहिर निस्केर त्यो सानो उपत्यकामाथिको आकाशमा पूर्णिमाको जूनसँग सहयात्रा गरेका तारागण, जूनको शान्त र गम्भीर उज्यालो, शालीनताका साथ चम्केका हिमाल हेर्दै रात बिताए । उनले ‘ले पानोरमा’मा भनेझैँ त्योे रातमा क्लुदले फ्लोरीयालाई अँगालोमा बाँधेर चिसो स्याँठलाई परास्त गर्दै न्यानो माया दिए । जूनले हिमाललाई अँगालोमा बाँधेको दृश्यले उनीहरू पनि त्यसरी नै अँगालोमा बाँधिएर एकअर्काको हृदयको धड्कन सुन्थे । त्यो रातभर उनीहरू आँखा झिमिक्क नगरीकन जून, तारा र हिमालसँग भलाकुसारी गर्दै प्रेमालिङ्गनमा बाँधिएरै जीवनको अविष्मरणीय सुहागरात मनाए ।
चन्द्रमाको जस्तो शीतलता र हिमाल जस्तै चोखो ती दुईको मायामोह भएकाले माइनस बिससम्मको आधार शिविरको कठ्याङ्ग्रिने चिसोले पनि ती प्रेमीप्रेमिकालाई छुन सकेन । हिमालले निलो अकाश, मोदीखोला, छोमरोङ, लान्दु्रक, घान्दु्रक र ती गाउँमा बस्ने नेपाली बासिन्दालाई निश्छल माया गरेझैँ ती दुई जोडीले एकअर्कालाई गरेको चोखो माया पुष्टि भएको थियो ।
पूर्र्वबाट उषा झुल्कदै थिइन् । उपत्यकामा क्रमशः मन्द उज्यालो छिरलिँदै थियो । ससाना हिमाली भँगेराका चिरबिरले उपत्यका ब्यूँझन थाल्यो । पूर्णिमाको चन्द्रमा अन्नपूर्ण दक्षिणको चुचुरोमा पुगेर विलीन हुन हतारिँदै थिइन् । उता पूर्वमा सूर्योदयका लागि माछापुच्छे«को आकाशभरि सुनौलो पछ्र्यौरा लहराएको थियो । हिमाली उपत्यकामा पूर्णिमाको जूनको अस्त र सूर्योदय सँगसँगै भएको त्यो दृश्य मानवको लागि अपरम्पार एवम् स्वर्णिम आनन्द दिने प्रकृतिको अनुपम, अमूल्य र अन्तिम सुन्दर उपहार थियो । अन्नपूर्ण दक्षिणबाट जूनले बिदा लिएपछि माछापुच्छे«बाट निस्केका सूर्योदयका किरणले खैरो सारी पहिरेर बसेका अन्नपूर्ण हिमालयका चुलीहरूलाई सुनका गहनाले ढपक्कै ढाकेर आफ्नो बाहुपासमा कसक्क कसेर चुम्बनको वर्षा गर्न थाले । फ्रान्सकी बेहुली र स्वीट्रलेन्डका बेहुला पनि त्यो दृश्यलाई हृदयङ्गम गर्दै एकअर्काको अँगालोमा बाँधिए । उनीहरूले आँखाआँखामा अमर प्रेमको म्वाइँ साटेर हृदयको थैलीमा सुर्की पारेर राखे । रुकस्याक बोके । अन्नपूर्ण आधार शिविरको जुनेली रातलाई जीवनको बहुमूल्य एवम् अलौकिक उपहारको रूपमा हृदयमा राखेर ती दम्पती आधार शिविरबाट घान्द्रुकतिर झरे । bishnu.nmdc@gmail.com
समाप्त

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s