उज्यालो छर्दै आफ्नै यात्रामा

रचना साहित्यिक पत्रिका अंक २७२, भदौ–असोज २०७८ मा प्रकाशित कवितालाई धन्यवाद सहित साभार गरिएको हो ।

विष्णुप्रसाद शर्मा पराजुली

म हिँडिरहेको थिएँ,
उज्यालो छर्दै आफ्नै यात्रामा
कहिले अनकन्टार जङ्गल भित्र छिर्थेँ
काँडाहरूले चीथोर्न खोज्दा आँखा बचाएर शरीर सुम्पिदिन्थेँ
अनि,
चिथोरिएका घाउँहरू लिएर भन्ज्याङमा उभिन्थेँ ।
चीसो हावाले आमाको हात बनेर घाउहरू मुसारिदिन्थे
आमाको आँशुका थोपाहरू जडिबुटी बनेर
म भित्र र मेरो शरीरभरी कोतरिएका घाउहरू शीतल पारिदिन्थे,
आमाको हात र आँशुका थोपाले मेरो घाउमा माम्री बस्दा
मलाई चीथोर्ने काँडाहरूले आक्रोशका तीरहरू हान्थे
परास्त गर्दै ती तीरहरूलाई,
म असङ्ख्य सिँढिहरू उक्लँदै हिमाल चढ्थेँ
हिमाल चढेर तराई झर्थे ।
मान्छेको लस्कर आउथ्यो
मलाई घिसारेर मान्छेले मान्छेको भिँडमा धकेल्थे
कहिले कोशी, कहिले गण्डकी, कहिले महाकाली,
कहिले हिडिम्बा पुत्र घटोत्चकको कथा सुनाउथे
कहिले समाजवादको दर्शन पढाउँथे
म, घिस्रँदै–घिस्रँदै
म, फगत मान्छेहरूको विश्वासमा
पटक–पटक चिथोरिँदै, पटक–पटक गंगालाल हुँदै
म उज्यालो सपनाहरूको महासागरमा बिपनाहरूको गरा पारेर
ती फराकिलो छाती जस्ता गराहरूमा
सुन जस्ता पहेंलपुर धानका बालाहरू लहराउन
हरियो कलिलो धानको बिउ रोप्थेँ
आमाले बुनेको गुन्द्री भरी उज्यालो बिस्कुन सुकाउँथेँ ।
एउटा सुखको भकारी आमाको छातीभरी भरीदिन्थेँ ।
म पढ्न जान्दिनँ,
मेरा बाजेले मलाई ‘प्राचीन कथा हो सुन्’ भनेर सुनाउँदा सुनेको मात्र हो
बाजेले भन्थे– “ कुनै बेला शिकारी युग थियो रे,
शिकार गरेर मानिस बाँच्थे रे,
मान्छेले मान्छेको शिकार गरेर नाच्दै खान्थे रे ।”
प्राचीन कथामाझैँ, एक दिन त्यस्तै भयो–
एक झुण्ड मान्छेहरू मुखुन्डो भिरेर आए
मैले रोपेको कलिलो धानको बिउ उखेलेर फाले,
मेरै सहयात्री एक बृद्धलाई नाङ्गै पारे
मेरै सहयात्री अर्को एक मित्रको छातीमाथि कुल्चँदै चिच्च्याए
उनीहरूले मेरी आमाको आँशुमा नुन छर्के
उनीहरूले मेरो आस्थाको बिउमा विष घोलिदिए
त्यतिमात्र होइन,
शीत लहरले थलिएर चुपचाप परालभित्र लुकेको
मेरो दाइ र भाउजुलाई आगो लगाईदिए
ती मान्छेहरूले उज्यालोलाई खरानी पारेर मात्र छोडेनन्
ती प्राचीन कथाका मान्छेलेझैँ मेरो बिउ र आमाको आँशु मात्र खाएनन्
ती मान्छे जस्ता मान्छेले मान्छेको मासु पनि खाए
ती मान्छे जस्ता मान्छेले मान्छेको आस्था र भरोषा पनि खाए ।
फेरि केही बेर पछि तिनै मानिसहरूले कुर्लँदै भने–
‘मान्छेको मासुखाने मान्छेको बिरोध गर्नेहरूलाई
परास्त गर्न गोलबन्द होऔँ ।’
हातमा भाला लिएर मेरो नाति उठ्यो
मैले उसलाई सम्झाँउँदै भनेँ–
‘मान्छे भएर मान्छेको मासु खानेहरूसँग
मान्छे भएर आस्था र भरोषा लुछ्नेहरूसँग
तँ पछि लाग्ने होइन
ती त आस्थाको हरियालीमा डडेलो झोसेर
नाच्ने भष्मासुरहरू हुन्,
ती त आफ्नै आस्था र सिद्धान्तको हत्या गरेर
‘सिंह साकाहारी हुन्छ’ भन्ने इदि अमिनहरु हुन्,
ती त आफ्नै आमालाई बिक्री गरेर
सन्तान टुहुरा पार्ने देश बेचुवाहरू हुन्
उनीहरु विभत्स डडेलोमा पोलिँदै आपैm मृत्यु वरण गर्दैछन् ।’
त्यसैले–तँ सत्यको डोको बोकेर हिंड्दै गर
उज्यालो छर्दै आफ्नै यात्रामा
जहाँ आमाको आँशु
हिमालयको हिउँ बनेर शितलता दिनेछ
जहाँ महाकालीको पानी
रगत बनेर तेरो नसा–नसामा बग्नेछ ।
जहाँ सत्यको विजय सुनिश्चित हुनेछ ।

२०७७ पुस १८ गते

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s