भाउजू

धन्यवाद सहित साभार २०७८ जेठ “जनमत” पर्वत विशेष अङ्कमा प्रकाशित । पर्वत सेरोफेरोको कथा पढेर प्रतिक्रिया दिनु होला ।

कथा

–विष्णुप्रसाद शर्मा पराजुली

वर्षा ऋतु मानो रोपेर मुरी उब्जाउने ऋतु हो । त्यस बेला किसानलाई कसैसँग बोल्ने फुर्सद हुँदैन । वर्षभरिको जीवन धान्न अन्न उमार्ने बेलामा बाढी र पहिरोले पनि उत्तिकै कष्ट दिन्छ । यो वर्ष पनि बर्खामा बाढी र पहिरोमा परेर पाँच सयभन्दा बढीको ज्यान गयो । पहिरोमा परेर गाउँका गाँउ नै बगेर कोही कोसीमा त कोही गण्डकीमा समाहित भए ।


अर्कोतिर चैतदेखि तर्साएको कोरोना महामारीले राजधानीसहित देशका ठूला सहरमा बितण्डा मच्चाउँदै थियो । प्राकृतिक प्रकोप र कोभिड–१९ महामारीको विकराल अवस्थामा घरबारविहीन भएका वृद्ध आमाबाबा र चिचिला छोराछोरीहरू ओडारमा बस्न बाध्य भएका थिए । ओडारमा बस्ने वृद्धको नाम पारेर कमाउँनेको नाम सुन्दा जिब्रो निकाल्ने थुप्रै देखिन्थे ।


वर्षा ऋतु सकिएर बिहानपख शीत पर्न थालेको थियो । पूmलका पत्र, धान र कोदोका बालामा शीत मणिझैँ टल्कन थालेका थिए । धान पहेँलपुर भएर लहराएको थियो । बारीमा कोदोका बाला घुङग्रिएर डल्ला परेका थिए । सेता बादल छिरलिएर निलो आकाश छ्याङ्ग खुलेको थियो । शरदको बिहानीमा भञ्ज्याङ र देउरालीबाट देखिने हिमालका सेता चुचुरा मुसुक्क मुस्काउन थालेका थिए । ढुकुर,लामपुच्छ«े, कोकले, चिवे र जुरेलीको चिरबिर घनीभूत हुन थालेको थियो । धमिलो खोला र झरना सेतो हिरा बनेर ओर्लँदै थिए । माथिल्लो लेकबाट गोठालाले चौरी र भेडा तल्लो गोठतिर झार्दै थिए । किसानको हिलोले खाएका औँलाका काप सुकेका थिए । शरद ऋतुले पर्दा खोलेको प्रस्ट देखिन्थ्यो ।


गाउँघरमा भोको पेटमा पटुका कसक्क कसिएको भए तापनि शरद ऋतुको आगमनले केटाकेटी, तन्नेरी–तरुनी, वृद्धवृद्धा सबैको अनुहार पूर्णिमार्को चन्द्र खुलेझैँ खुलेको थियो । शरद ऋतुको सफा, शान्त र रमणीय परिवेशसँगै दशैँ, तिहार, छठ, गोठ पूजा, न्वाईं, ल्होसार पर्वहरूले बालबालिकाको ओठमा सुमधुर मिठो मुस्कान छर्लङ्गै देखिन्थ्यो ।


गैँडाकोटमा बस्दै आएका पैसठ्ठी वर्षीय कुलरत्न दस वर्षपछि कुलपूजाको सन्दर्भ पारेर भाउजूलाई भेट्न जन्मथलो पर्वत बिहादीको चोर्दी भन्ने गाउँमा जाँदै थिए । . २०७२ सालको विनाशकारी भूकम्पले भत्काएको पैतृक घर उनकी बुहारीले पुनर्निर्माण गरी बास बस्न मिल्ने बनाएकी थिइन् ।


“दस वर्षमा महाभारत पर्वत शृङ्खलाका पाखापखेरा डोजरले कोपरेर रातो धर्सो बनाइएबाहेक अन्यत्र त घना हरियाली रहेछ । त्यसभित्र देखिने एकाध घर सुन्दर बगैँचाभित्र सजिएका जस्ता देखिन्थे । पहाडको जीवनचक्र कठिन भए तापनि यहाँको हावापानीलाई औलसँग तुलना गर्न मिल्दैन । खेतबारीमा काम गरेर वर्षभर खान पुग्ने भए त मधेस झर्न किन पथ्र्यो र ? मेरो मधेस झर्ने मन नै थिएन ।”


“बाजे, ओर्लनुस् सेतीबेनी आइपुग्यो ।”
मिर्मीमा रहेको कालीगण्डकी जलविद्युत् आयोजनाको ड्यामदेखि सेतीबेनीसम्म मोटरडुङ्गा चलेकै थियो । सोही डुङ्गामा चढेपछि मिर्मीवरपरका गाउँ हेर्दै कल्पनाको मोटरमा चढेको बेला सेतीबेनी पुगेको कुलरत्नले चालै पाएनन् । डुङ्गाको चालकले ओर्लन भनेपछि उनी झस्कँदै ओर्ले ।


आपूmसँगै गैँडाकोटदेखि आएका युवालाई सम्झाउँदै भने, “यो ठूलो शालग्राम शिला गुल्मी, पर्वत, स्याङ्जाको सीमामा सेतीखोला र कालीगण्डकीको दोभानमा रहेको छ, बाबु । त्यस शिलालाई विष्णुको साक्षात् रूप मानी प्राचीन कालदेखि पूजाआजा गर्दै आएका छन्, गाउँलेले । यहाँ ठूली एकादशी, माघे सङ्क्रान्ति र नयाँ वर्षमा ठूलो मेला लाग्छ । सेतीबेनी तिब्बतदेखि मुक्तिनाथ, बटौली, लुम्बिनी हुँदै नालन्दासम्म तीर्थ, व्यापार र अध्ययन गर्न ओहोरदोहोर गर्ने यात्रुको सात–आठ हजार वर्ष पुरानो ऐतिहासिक सङ्गमस्थल पनि हो । तिमी केटाहरूले यो कुरा थाहा पाउनुपर्छ । मैले साठी वर्षपहिले सरस्वती पूजाको दिन आमासँग यहीँ आएर अक्षराम्भ गरेको हुँ, धेरै पढन नसके तापनि ।”


सेतीबेनी बजारलाई फनक्क एक फन्को लगाएर बाल्यकालमा हिँडेको बाटो हुँदै उनी गाउँतिर लागे । गोलाङ र सुसाउने ढुङ्गे चौपारीमा पाँच–पाँच मिनेट विश्राम गरे । सुसाउने ढुङ्गे चौपारीनजिकको मूलको मिठो पानी अँजुलीले उबाउँदै मज्जाले पिए ।


“बेल र खयरको वन पनि पातलो भएछ । के गर्ने, म मात्र होइन । कालीको यो पखेरो नै बुढो भएछ ।” भन्दै लामगरातिर उक्ले । टुँदीको चौपारीमा पुगेपछि घरनजिक पुगेको अनुभव गर्दै पिपलको जरामाथि टुक्रुक्क बस्दै युवा भतिजोलाई भने –
“हेर बाबु, अघि मैले सेतीबेनीमा भनेको प्राचीन सहरबाटो यही नै हो । यो टुँदीको फाँट हामीहरूकै हो । यहाँबाट सिधै उत्तरपूर्व लौके, लिउसिङ्, उराम जान सकिन्छ । हाम्रो गाउँ चोर्दी, कुणादी, रास्कोट देवीस्थान हुँदै लुरिङकोट जाने मूल बाटो पनि यही हो । अनि, माथिल्लो बाटो रानीपानी, चकौँदे, बराचौर, बिहादीको फाँट हुँदै कुस्मा, मुक्तिनाथ पुगिन्छ ।”


“ठूलोबाबा यहाँ क्षेत्री–बाहुन मात्र बस्छन् हो ?” मोबाइल खेलाउँदै युवाले सोधे ।
“होइन छोरा । चितवनमा झैँ यहाँ पनि बाहुन, क्षेत्री, गिरी, पुरी, गुरुङ, मगर, नेवार, बोटे, थकाली, सबै जाति बस्छन् ।” रिम्दी र लामगरा खोलालाई हेर्दै कुलरत्नले जवाफ दिए । जन्मथलो पुगेकाले होला उनको चाउरिएको अनुहारमा खुसियाली झल्केको देखिन्थ्यो ।


रिम्दी खोलो तरेर चोर्दी बयरघारीको खरबारी उक्लँदा कन्चनबाट झरेका पसिना सुकेका थिएनन् । आरुपाटाको भत्केको ठुँटे पिपलको चौपारीमा बसेर उनले पसिना र अनायासै आँखामा टप्केका आँसु पुछे ।
“गाउँलाई चटक्कै बिर्सेर चितवन झर्ने तपार्इं नै त हो नि काका । अहिले गाउँ देखेर विरक्तिएर आँसुका ढिका खोपिल्टा परेको आँखाबाट झारेर के काम ?” गाउँकै भतिजले खुट्टामा ढोग गर्दै मुटुमा चस्का दिने गरी भने ।
“के गरूँ त ? म त जान चाहेकै होइन । खेतीपाती गर्न सकुन्जेल त यहीँ बसेकै हुँ नि । हातगोडा गले । सन्तान सबै झरेपछि बाध्य भएर झरेको हुँ । तँलाई त थाहै छ नि । किन तिखो तीर हान्छस् हँ ?” कुलरत्नले भतिजको शिरमा हात राख्दै ैि जवाफ दिए ।


पर्वतको दक्षिण भेगमा रहेको बिहादीको चोर्दी गाउँ, त्यहीँ जन्मेका बासिन्दालाई पनि बिरानो देखिन्थ्यो । घाँसदाउरा गर्दा तलमाथि गर्ने गोरेटा, सेतीबेनी, पूर्तिघाट, बिहादीको फाँट, खोरपोखरा, लुरिङकोट जाने पुर्खाले बनाएका सिँढीहरू डोजरले उधिनेर कथित मोटरबाटोमा परिणत भएका थिए । बर्खाको झरीमा ती मोटरबाटोले खरबारी र बारीका कान्ला पहिरोमा परिणत गर्थे भने हिउँदमा धुल वर्षाले गाउँ नै धुलाम्मे हुन्थ्यो ।
पहिरोमा जोगिएका खेतबारीका सुर्कासुर्की परित्यक्त थिए । भूकम्पमा भत्केका धेरै घर अझै उठेका थिएनन् । एक–दुई घर बनेको भए तापनि ती घरका दैलोका पलेटा बन्द थिए । बिस–पच्चिस वर्षपहिले गाउँलेले भरिभराउ, रजगज, चलायमान देखिने गाउँ अहिले चार–पाँच कान्ला नाघेपछि मुस्किलले एउटा घर र सत्तरी वर्ष नाघेका, आँखा र गालाभित्र पसेका, आँखामुनिको हाड उठेको अवस्थाका रहेका बाबाआमा त्यस घरको पिँढीमा टुक्रुक्क बसेका देखिन्थे ।


मकै, कोदो, फापर, तोरी, बोडी, सिल्टिउ, भट्ट, मास, पिँडालु फल्ने बारीका पाटामा धाइरो, साल, कटुस, चिलाउनी, स–साना बुट्यानका झ्याङले लौकेको गुरुङ गाउँमाथि रहेको झम्म¥यानको वन जस्तै भएको थियो । खेतमा एक बाली धान बडो मुस्किलले रोप्थे । वरको रूखमुनि झुम्मिएर क्यारमबोर्ड खेल्ने युवाको सङ्ख्या देख्दा बेरोजगारीको लस्कर लामो छ भन्न कठिन थिएन तर खेतबारीमा काम गर्ने जाँगर कसैमा थिएन । भैँसी पाल्नेहरू अपहेलित थिए । दुध, मोही, दहीको बदला गोधूली साँझ नहुँदै युवाले कलेजोका नसा चुँडाल्ने गरी रक्सी धोक्थे । एक–दुई घरका पढेलेखेका बुहारी–छोराहरू शिक्षक भए तापनि आफ्नै स–साना छोराछोरीलाई बिस्कुट र चाउचाउ खुवाउँथे ।
गोधूली साँझ छिप्पिँदै जाँदा भट्टी पसलमा चर्को आवाज सुनिन्थ्यो–
“आजको छाक टार्न पाए भोलि देखा जाएगा ।”
“मेरो त साउदीको भिसा लागिहाल्छ । ढुक्क छु ।”
“मलाई पनि जेठानले मलेसिया बोलाउँछु भनेका छन् । उता गएपछि काम गर्नुपर्छ । गाउँमा हुँदा मोज गर्ने हो ।”
“मेरो त सबै दाइहरू बेलाइतमा छन्, म त उतै जाने हो ।”
पाको कोही नातेदारले “दिनभर बरालिएर हिँड्नुभन्दा त आफ्नो खेतबारीमा काम गर न छोरा, ए बुहारी, ए बाबुनानी हो ! किन यसरी बरालिएर बस्छौ । बितेको समय आउँदैन बाबु हो । बुढेसकालमा दुःख हुन्छ । उमेर छँदै दिन सुधार” भन्यो भने त्यो मानिस शत्रुमा दरिन्थ्यो । धेरैका छोराबुहारीमध्ये एक विदेशमा थिए । छोरा विदेशमा भएको परिवारको बुहारी र नातिनातिना पोखरा, बुटवल वा चितवनमा कोठा लिएर बसेका थिए । यस्तो देख्दा कुलरत्न विरक्त मान्थे ।


कुलरत्न त्यस्तै कुरा खेलाउँदै घर पुगे । दैलो घुरुक्क उघारे । मुसाले थुपारेको माटो, माकुराको जालो र बर्खामा उम्रेको झारले घरको आँगनदेखि पिँढीसम्म भरिएको थियो । उनले काँधमा भिरेको झोला पिँढीमा फ्यात्त फाले र सरसफाइ गरे, आगो फुकेर चिया पिए र भाउजूको घरतिर लागे ।


“छोडेको घर पनि त्यति प्यारो हुँदोरहेछ त बाबु । यता नपसिकन सिधै घर जानुभएछ ?” पुरानो मजेत्रो टाउकोमाथि राखेर त्यसको फुर्को दुई हातले समातेर नमस्ते गर्दै भाउजूले भनिन् । ठूल्दाइको शिक्षक छोराले खुट्टामा ढोग गर्दै “आरामैसँग आउनुभो नि काका !” भने ।


“किन हो किन जन्मेको ठाउँको माया त अघोरै लाग्दोरहेछ भाउजू । सेतीबेनीदेखि घरसम्म आउँदा ढुङ्गा, रूखबिरुवा, माटो, पखेरा, कुवा, खोला, खेतका गरा, बारीका पाटा सबै मसँग कुरा गर्न आएजस्तै लाग्यो भाउजू, अनि तपाईंलाई कस्तो छ नि ?” भन्दै पिँढीमा गुन्द्रीमाथि थचक्क बसे ।
“सन्चै त भन्न परो । बिस्तारामा परेकी छैन के रे । बिस्तारामा परेर यिनीहरूलाई कष्ट दिन नपरोस् । चार बिस नाघेँ । अब कति बाँच्न परो र बाबु ।” भन्दै भाउजू घरभित्र पसिन् । दुध भुलुक्क उमालिन् । स्टिलको गिलासमा तातो दूध दिँदै भनिन्, “थाकेर आउनुभ’को होला, दुध खाँदै गर्नू अनि खाना बनाउँछु । बुहारी घाँस काट्न ग’की छ ।”


“म बुढो भएँ भाउजू । असी वर्ष नाघे पनि हजुर त्यति बुढी देखिनुहुन्न । गाला चाउरी परेका छैनन् । हिँड्डुल गर्नुहुन्छ ।” कुलरत्नले भने ।
“हिँड्डुल गरेर मात्र हुन्छ ? अझै त घरबारीमा गएर घाँस काटिदिन्छु । डोको बोक्न भने छोराबुहारीले दिँदैनन् । तागत नभए पनि बस्न पटक्कै मन मान्दैन ।” चिया पिउँदै भाउजूले भनिन् ।


बलियो गाँठीको जिउ भएकाले होला उमेरले असी वर्ष नाघे पनि भाउजूको अनुहार उज्यालो देखिन्थ्यो । पातलो कपाल सिमलको भुवा जस्तै भएर सेतै फुलेको थियो । भाउजूले कानमा सुनको माडबारी, नाकमा फुली र हातमा चाँदीका बाला पहिरेकी थिइन् । हरियो चोलो र फरिया, फिका रङको मजेत्रो र फरियामाथि पटुका बाँधेकी थिइन् । चप्पल भने अहिले पनि लगाएकी थिइनन् । “भाउजूको सत्तरी वर्षपहिले देखिको पहिरन त्यस्तै थियो । उनी विधवा भएर यो घर बसेको पनि सत्तरी वर्ष भएछ” कुलरत्नले दुध पिउँदै वर्ष गने ।
“मैले त बिर्सेँ भाउजू । बिहे गर्दा कति वर्षकी हुनुहुन्थ्यो रे तपाईं ?” कुलरत्नले पुरानो कुरा झिक्दै सोधे ।
“जैले भेटे पनि सोध्ने त्यही त हो नि, भाउजूलाई यसो तीर्थव्रत लैजानुहोला भनेको पनि अब कालले लैजाने बेला भओ । त्यस बेला छ पुगेर सात लागेकी थिएँ रे ।” भाउजूले भनिन् ।


भाउजूको सात वर्षको उमेरमा बालविवाह भएको थियो । छोरी आमाबाबुको घरमा रजस्वला भइन् भने अफाप हुन्छ भनेर त्यस बेला दस वर्ष नहुँदै बाहुन र क्षेत्री परिवारले आफ्नी छोरीको बिहे गरिदिन्थे । भाउजूको माइत बाग्लुङको थन्थापमा पुग्न चौध घण्टा लाग्छ ।
“यो आँगनमा मैले पाइला टेकेको बहत्तर वर्ष नाघ्यो बाबु ।” चिया पिउँदै भाउजूले भनिन् ।
डाँब गैराको खेत, गैराबारी र गुफाको पधेँरो, गरुम्से, काखी र जिङ्लिङको खरबारी, खुर्सानीबारी, चोर्दी र टुँदीको फाँट, भ्यागुतेको वनमा वरपर र तलमाथि घाँस, दाउरा, खेतीपाती गर्दागर्दै भाउजूको सात दशक लामो यात्रा त विवाह गरेको घरमा बितेको थियो ।


“ए बाबु ! हाम्रो पालामा कति काम गथ्र्यौँ । हिउँद, बर्खा टुस्स बसेर कपाल कोर्न पाइन्नथ्यो । दशैँमा माइत जानुभन्दा पहिले घाँस काटेर गोठमा थुपार्नुपथ्र्यो । हिँ बरै ! गोठभरि डिया (गाईभैँसी) हुन्थे । खरबारीको घाँस चाडबाडका लागि जोगाउन भनेर वन जान्थ्यौँ । घरबारीमा बुटा कम हुने दिदी–बहिनी दाउरा काट्न हिउँदमा वन नै जान्थे । घर आउँदा रात पथ्र्यो । भोकले पेट भित्र पसे पनि पटुका कसेर पँधेरो जान पथ्र्यो । तीन बिसमै कथा जस्तो भयो है बाबु ।” भाउजूले कुलरत्नलाई खाना खान बोलाउँदै भनिन् ।


कुलरत्नको मावली घर र भाउजूको माइती बाग्लुङ थन्थाप कालुङ खोलो वारिपारि थियो । कुलरत्न जन्मनुभन्दा पहिले भाउजू र कुलरत्नकी आमा माइत सँगै जान्थे । कुलरत्न जन्मेपछि सानैदेखि उनलाई बोकेर घर माइत गरेकीले होला भाउजूले उनलाई औधी माया गर्थिन् । फोक्सिङको बाँदर लड्ने भिर पार गर्दा होस् वा कर्नासको कालीगण्डकीमाथिको फलिका उक्केको झोलुङ्गे पुल तर्दा होस् भाउजूले नै देवरलाई पिठ्यूमा बोक्थिन् । आफ्नी आमाले रातो चोलो, रातो फरिया, रातो मलमलको पछ्यौरा, सिँउदोमा रातो सिन्दूर, निधारमा ठूलो रातो टीका लगाएको देखेका कुलरत्नले आपूm जान्ने भएदेखि भाउजूलाई जहिलेसुकै हरियो धोती, खद्दरको हरियो चोलो, त्यस्तै कालो बादल रङको अँध्यारो पछ्यौरा, सिन्दूरबिनाको सिउँदो र खाली निधारबाहेक अरू लुगा, गहना र शृङ्गारमा कहिल्यै देखेनन् ।


पचपन्न वर्षपहिले आपूm दस वर्षको हुँदा कुलरत्नले सोधेका थिए “भाउजू तपाईंले किन जहिलेसुकै हरियो धोती र फिका हरियोनिलो चोलो लगाउनुहुन्छ ? अरू सबै आमा, भाउजू, दिदीहरूले राता चुरा, रातो डोरीले कपाल बाँधेर सिँउदोमा रातो सिन्दूर, निधारमा रातो टीकी, रातो धोती र रातै चोलो लाएर रमिता हेर्न जान्छन् तर तपाईंले किन लाउनुहुन्न ?”
त्यस प्रश्नले भाउजूको अनुहार एकाएक औँसीको रातमा परिणत भएको थियो । उनले आपूmलाई कसैले एक्कासि मुटुको रक्तनली फुट्ने गरी कोदालोको पासोले हानेको पीडा बोध गरिन् । उखेलेर फालेको झार ओइलाएझैँ ओइलाएको अनुहारमा उज्यालोको झल्को ल्याउने प्रयास गर्दै भाउजूले भनिन् “बाबु, मैले रातो लुगा र रातो टीकी लाउन हुन्न । तपार्इंको दाइ विदेशमै बित्नुभो नि । मैले चुरा, पोते पनि लाउन हुँदैन । कोरीबाटी गर्न हुँदैन ।”
“कैलेसम्म नलाउने नि ?”
“बाँचुञ्जेल ।”
उनले सानैमा भाउजूलाई त्यसरी सोधे पनि त्यसको कारण पछि मात्र थाहा पाएका थिए ।
कुलरत्नले एस.एल.सी.को गौँडो उक्लन नसकेपछि सोही वर्ष २०३३ सालमा भारतमा भासिए । मद्रासमा बिस वर्ष चौकीदार काम गरे । कुलरत्नका दुई छोरा र एक छोरी थिए । अक्षर मात्र चिनाएर छोरीको बिहे पन्ध्र वर्षमै गरिदिए । एस.एल.सी. पास गरेपछि जेठो छोरा आफैँ साउदी अरेबिया गएका थिए । छोराको कमाइ राम्रो भएकाले कुलरत्न नेपाल फर्के । चोर्दीको घरजग्गा बेचेर गैँडाकोट बसाइँ सरे । जहाँ भए तापनि उनले भाउजूलाई सम्झन्थे ।


भाउजू बालविधवा हुन् । विवाह हुँदा उनी सात वर्ष मात्र टेकेकी थिइन् भने उनका पति भवरत्न सत्र वर्षका थिए । वरको रूखको चौरमा धुलीमाटीको घर बनाउँदै साथीसँगीसँग पुतलीको बिहे गरेको खेल खेल्दाखेल्दै उनको साँच्चिकै बिहे भएको थियो । उनका पति भवरत्न भारतमा लाहुरे हुन गएका थिए । बिहे भएको दुई वर्षपछि भारतको गुहाटीमा बाटो पार गर्दैगर्दा गाडीले ठक्कर दिएर उनको मृत्यु भएको थियो । त्यस बेला लाहुरे उन्नाइस र भाउजू नौ वर्षकी थिइन् । सात वर्षको उमेरमा बिहे भएपछि उनी माइतमा नै थिइन् । लाहुरेको मृत्युपछि उनका जेठाजूले उनलाई घरमा ल्याएका थिए । त्यस बेला भाउजूकी आमा पाँच दिन पाँच रात रोइन् तर भाउजूलाई आमा रोएको कारण खासै थाहा भएन ।


घर आएपछि टुँदीखोलामा लगेर भाउजूका दुई हातमा छनछन आवाजमा गुञ्जने राता चुरा फुटालिदिए । रातो डोरीले बाँधेको कपाल फुकाएर उनको सिँउदोको रातो सिन्दूर पखाल्दा टुँदी खोलो पनि रातै भयो । उनको कपाल खौरिदिए । कोराको सेतो लुगा लगाइदिए । तेह्र दिनको क्रियाकर्म सकेपछि एक वर्षसम्म उनलाई सेतै लुगा लगाउन भने । त्यही वर्ष उनले घरआँगन बढारबुढुर गर्ने, दैलो लिप्ने, पधेँराबाट पानी ल्याउने र जेठानीसँगै बारी, खरबारीमा गएर घाँस काट्न सिकिन् । आपूmले बाँचुञ्जेल फहरिँदै खेतीपाती गर्ने खेतबारी, घाँस काट्ने खरबारी र दाउरा काट्ने वन चिनिन् । वर्ष दिनपछि उनलाई हरियो धोती, हरियो चोलो र मलिन रङको पछ्यौरा दिइयो ।


कुलरत्नकी आमालाई भाउजूले सासू भन्नुपथ्र्यो । माइतीगाउँ एकैतिर भएकाले कहिलेकाहीँ अत्यास लागेको बेला उनी कुलरत्नको घरमा माइत बस्न जान्थिन् । दशैँमा जहिलेसुकै भाउजू कुलरत्नकी आमासँग माइत जान्थिन् । कुलरत्न जन्मेर तन्देरी हुँदासम्म त्यसरी नै सधैँ दशैँमा भाउजूसँगै मामाघर आऊजाऊ गरे । त्यसैले पनि कुलरत्नले भाउजूलाई बढी सम्झना, श्रद्धा र सम्मान गर्थे ।


भाउजूको जीवनमा त्यस बेलाको सामाजिक व्यवहारको कालो ग्रहण लागे पनि प्राकृतिक रूपमा शरीरमा हुने अङ्ग–प्रत्यङ्गको विकासमा कुनै ग्रहण लागेको थिएन । लुरिङकोटको वनमा लालीगुँरासका कोपिला टमक्क भएर पूmल्न थालेझैँ भाउजूमा बैँस प्रवेश गरेको थियो । आफ्नो छातीमा खयरको वनमा फलेका बेलका फलजस्तै कसिला बन्दै उचालिएका स्तनले आफैँलाई लजालु बनाएका थिए । उनले आफ्नो भाव, मनका तरङ्ग यौवनका रहर खोलीको सङ्लो पानी, खरबारीका बाबियोको लरक्क परेको गाँज, पूmलका कोपिला र चराचुरुङ्गीसँग साट्थिन ।


दशैँमा माइत गएको बेला आफ्नी आमासँग भाउजूले पीडाको पहिरो खसाल्थिन् । त्यसै बेला आमाको काखमा पल्टेर दिनरात रोएर आफ्नो दारुण व्यथाबाट कालीगण्डकीको भेलजस्तै बगेका आँसुका भेलले आमाको फरिया भिजाइदिँदै भनिन्–
“आमा म तिमीसँगै बस्छु । मेरो मनको व्यथाबाट निस्केका यी आँसुको भलले तिम्रो छाती भिजाउँदा सिमलको भुवा जस्तै हलुङ्गो भएको अनुभव गर्छु । आमा, म त्यो घर जान्नँ । मेरो भन्ने लोग्नेलाई मैले देख्दै देखिनँ । मैले उनलाई चिन्दै चिनिनँ । लोग्ने भनेको के हो मैले थाहै पाइनँ अनि लोग्नेको घर भनेर जीवनभर त्यो रित्तो घरमा मलाई बस्न कर नगर आमा । तिमीले बस्न दिन्नौ भने बरु त्यहीँ कर्नासको झोलु्ङ्गे पुलबाट हामफालेर मर्छु ।”
यो संसारमा आफ्ना सन्तानलाई आमाले जति प्रेम अरू कसैले गर्दैनन् । झपक्क हरियो लोभलाग्दो देखिए तापनि पूmल नफुल्ने उन्यूको घारीजस्तो जीवन जिउन बाध्य प्यारी छोरीलाई सम्झाउँदै आमाले भनिन् “मानिसको चोला एक पटक मात्र पाइन्छ छोरी । जन्मेपछि मर्नैपर्छ । हजार कष्ट भए पनि मन लुलो पार्न हुँदैन । पुलबाट हामफाल्छु भन्ने जस्ता कुरा मनमा कहिल्यै नल्याउनू ।”
“आमा त्यसो भा’ म तिमीसँगै बस्छु नि, हुन्न ?” उनले भनिन् ।

छोरीलाई सम्झाउँदै आमाले भनेकी थिइन्–
“चेलीको माइत भनेको आमाबाबु हुन्जेल हो नानी । म मरेपछि पनि चाडपर्वको बेला माइत भनेर आउन नछोडेस् । हामी बाहुनको जातमा ‘छोरीले एक पटक बिहे गरेपछि अर्को बिहे गर्न हुँदैन भन्ने कुरा शास्त्रमा लेखेको छ’ भन्छन् । लोग्ने र स्वास्नी मानिसमा फरक–फरक कुरा लेख्ने त्यो शास्त्र कस्तो हो मलाई के थाहा र ? तर त्यस्तै चलेको छ । लोग्नेमान्छेले जति बिहे गरे पनि केही नहुने तर छोरी मान्छेले बिहे गर्न नपाइने भन्छन् । त्यस्तो भेद नहुन पर्ने हो तर भेद छ । मान्नै परो ।”


छोरीका राताराता आँखा मुसार्दै आमाले थप्दै भनिन्, “बिहेपछि छोरीले न त माइतमा सन्तान जन्माउन मिल्छ न त मर्न नै पाइन्छ । माइत बसिस् भने तँ मर्दा पनि तेरो लास बोकेर मलामी जान घरकै दाजुभाइलाई बोलाउन पर्छ । स्वास्नी मान्छेको जन्मघर क्षणिक हुन्छ । अर्काको घरमा गएर सृष्टि गर्नुपर्छ जसरी म यहाँ आएर सृष्टि गरेँ । तँलाई बज्र परो म के गरूँ । तँ रोएको देख्दा मेरो सास रोकिन्छ, त्यसरी नरो छोरी । माइत बस्ने कुरा पनि नसोच् । हामी मरेपछि पनि हिँड्न सकुन्जेल माइतीको आँगन सम्झेर आउनू । तँलाई ठूल्दिदी भन्दै माया गर्नेछन् । काम गर्न सकुन्जेल घरमै बस् । त्यहाँ तेरो हक हुन्छ । त्यो तेरो घर हो । लोग्ने सानैमा मरे । तँ एक्ली भइस् । त्यो जस्तो दुःख संसारमा अर्को दुःख हुँदैन । तर के गर्ने ? हाम्रो रीत नै यस्तै छ ठूली यहाँ बस्ने कुरै नगर ।” हरेक पटक दशैँमा माइत जाँदा आमाले बारम्बार त्यसरी नै सम्झाउँथिन् ।
दशैँमा सबैले रमाइलो गर्थे । सबै रमाउँथे तर भाउजूका आँखा भने लेकतिर सिमसिमे पानी परेर पखेरा भिजेझैँ सधैँ भिजेका हुन्थे ।


“तिम्रो काखमा पल्टेर मेरा आँसुले तिम्रो छाती भिजाउँदा मलाई एक वर्षसम्म हलुका हुन्छ आमा । त्यसैले रोएकी हुँ । हुन्छ, म तिमीले भनेको मान्छु ।” आमाका आँसु पुछिदिँदै भाउजूले भन्ने गर्थिन् ।
आमाले दशैँमा भनेको कुरा सम्झँदै एक दिन कुलरत्नलाई उनले सुनाएकी थिइन्, “यो संसार विचित्रको छ छोरी, दुःखसुख जस्तोसुकै भए पनि भोलि, मेरो हाड मक्किएपछि म नै छोरा र बुहारीको भर पर्नुपर्छ । मैले घाँसदाउरा काट्न नसक्दा, भकारा सोहोर्न नसक्दा, पँधेराबाट गाउरीमा पानी बोक्न नसक्दा, म बिरामी परेर पिँढी कुर्नुपर्दा ‘यी बुढाहाडलाई पाल्नैप¥यो ’ भन्ने छोराबुहारीका तीरजस्ता तीखा वाण मेरो छाती चिर्न आउँदा म त घरकी बुढीआमा बानी परेकी हुन्छु, बुहारीलाई कष्ट भयो अनि भनिहोला भनेर चित्त बुझाउँछु । मेरो छाती तीरले छेड्दा तँलाई दुख्छ । त्यो पीडा देख्न र सुन्न भन्दा तँ घरै बस्नुपर्छ । त्यो घर हो । यो माइत हो ।”
भाउजूले पुराना दिनको स्मरण गर्दै भनिन् “बाबु हाँस्ने कुरा त छोड्नु न म मेरो वेदना पोख्न चर्को स्वरमा रुन पनि पाइनँ । आमादेखि सासूसम्म बाबादेखि ससुरासम्मले “पूर्वजन्मको कमाइ हो नानी, के गर्छेस् । अहिले जे जस्तोसुकै महाकष्ट परे पनि सहिस् भने अर्को जन्ममा सुख पाइन्छ । भगवान्ले गरेको कुरा मरे काटिँदैन” भनेर सिकाउनुभयो । मैले विधवा भएर जीवन बिताएँ बाबु । अब भने मलाई कसैको डर, केहीको पिर लाग्दैन । सबै जन्मबारे मलाई थाहा भयो । आपूm मरेपछि ढुङ्गै राजा भन्ने उखान त्यसै बनाएका हुन् र बाबु पुर्खाले ! यी पुरेत बाजेहरूले पढ्ने शास्त्रमा आफ्नो कोखो भर्न पूर्वजन्मको कमाइ भनेर थिच्नुसम्म थिचे । केको पूर्वजन्म र केको पुनर्जन्म नि ? बेकारका कुरा । मैले त दुःख काटेँ । हाम्रो समयको समाज पनि अन्धो नै थियो । अब मैले जस्तो कसैले गर्दैनन्, गर्न नपरोस्, जरुरी पनि छैन ।”


बहत्तर वर्षभन्दा बढि भाउजू त्यही मृतक पतिको नाममा विधवा बनेर घरमै बसिन् । त्यसरी बालविधवा भएर बसेकी हुनाले त्यसबेला उनलाई देख्नेले ‘बालविधवाको मृत्युपछि स्वर्गमा लोग्नेसँग भेट हुन्छ रे’ भन्थे ।
उनले सासूससुराको उत्पात स्याहारसुसार गरिन् ।सासूको मृत्युपछि जेठानी भान्से बनिन् । जेठाजू–जेठानीका छोराछोरी जन्मे । उनले आफ्नै सन्तान मानेर छातीको दुध चुसाउनेबाहेक सबै माया दिइन् । कहिलेकाहीँ छोराछोरीको ओठ आफ्नो चोलीभित्रको स्तनको मुन्टोनजिक छुवाएर दुध चुसाएको अनुभव गरिन् ।
आफैँले ललाइफकाइ गरेर हुर्काएका नन्द र देवरहरूको बिहे भयो । नन्दहरूको ठाउँमा त्यस्तै रातोचोली र फरियामा ठाँटिएर देउरानी आए । आँगनभरि राता पूmलहरू ढकमक्क फुले । नन्द र देउरानीका काखमा लालाबाला भरी भएर आँगनमा नाच्न थाले । जेठानी र देउरानी आफ्ना पति परमेश्वरसँग खोपीमा गुनगुन गर्दै गुनगुनाएका मायाप्रेमका कुरा भाउजूले प्रस्ट सुन्थिन् र मनमनै कल्पनामा रुमलिन्थिन् –
“मेरो पनि लोग्ने भएको भए त मैले पनि लोग्नेलाई मेरो खोपीमा मिठो खाजा पकाएर खुवाउँथेँ, दिनभरिको थकाइ मार्दै प्रेमको अँगालोमा बाँधिदिन्थेँ । कस्तो हुन्थ्यो होला नि लोग्नेसँग टाँसिएर एउटै ओछ्यानमा सुत्दा । प्रेम रसका ती अङ्कुरणहरू सन्तानको रूपमा मेरो रातो गुन्यूको मुजामा झुन्डिँदै ‘आमा भोक लाग्यो’ भन्दै म घाँस काट्न जाँदा झुन्डिन्थे । कठैबरी, मेरो अधमरो जीवन ! उस जुनीको कमाई ‘रे । पूर्वजुनीको मलाई केही सम्झना छैन तर सजाय भने आजको जुनीमा पाएँ ।”


भाउजूले औँसीका सबै तारा र पूर्णिमाको जून कसैसँग उनको व्यथा भन्न बाँकी राखेकी थिइनन्, एकान्तमा । उनले मनका कुरा कहिले पानी बोक्दा, कहिले दैलो लिप्दा, कहिले घाँस काट्दा, कहिले रोपाइँ गर्दा, कहिले धान काट्दा त कहिले कोदोको बाला टिप्दै थुन्सेमा हाल्दा मनमनै पोख्थिन् ।
“लौकेका गुरुङ, लुरिङकोटका मगरका श्रीमतीले आफ्नो लोग्ने मरेपछि एक–दुई वर्षको बीचमै अर्को बिहे गरेर ढुकुरको जोडीले झैँ मायाप्रेमका कुरा गर्दै हिँडेको देखेकी छु । बाहुनीले ‘लोग्ने’ भन्ने के हो भन्ने थाहा नहुँदै ऊ मरेपछि बालविधवा भएर मृतककी पत्नी भएर जीवनभर बस्नुपर्ने । विधवा मात्र भए त हुन्थ्यो नि ! जीवनभर फुस्रा कपडा भिर्नुपर्ने । चाडबाड, विवाह, व्रतबन्ध, पूजाआजामा जान पनि नपाइने । बाहुनका नै फेरि लोग्नेमान्छेले स्वास्नी मरेको चौध दिनमा नै बिहे गर्नुहुने तर हामी नारी जातिले जीवनभर विधवा भएर बाँच्नुपर्ने किन होला ?” भाउजूले कुलरत्नलाई धेरै पटक यस्ता प्रश्न गर्थिन् ।
जेठाजु र जेठानी पनि बितेपछि सबै छोराछोरीकी आमा भाउजू नै भएकी थिइन् । माइतमा आमाको देहान्तपछि छ–सात वर्षको बीचमा एक पटक पुग्थिन् । हिँड्नसक्न छोडेपछि माइत पनि बिरानो भएको थियो ।
जेठानीको छोरी–ज्वाइँको दुबइमा काम गर्दागर्दै मृत्यु भयो । ज्वाइँको देहान्तपछि जेठानीको मुटुमा प्वाल परेर पाल्पाको मिसन अस्पतालमा मृत्यु भयो । छोरी बल्ल १९ वर्ष भएकी थिइन् । नातिनी एक वर्षकी थिइन् । भाउजूले आफ्नो कर, बल, सम्झाइबुझाइ गरेर छोरीको अर्को विवाह गरिदिइन् । “बाबु, त्यो दिन म बालविधवा भएर ७० वर्ष बिताएको पीडा सबै भुलेँ । त्यो मेरो जीवनको क्रन्ति थियो । मेरो हृदयमा बसेको सेतीबेनीको शिला जत्रो पीडाको छपनी हटेर गयो । हृदय हलुङ्गो भएर हाँस्यो ।”
“किन र भाउजू ?” देवर कुलरत्नले अनजान जस्तो बनेर सोधे ।


“बाबु, विधवाको आगोको भुङ्ग्रोमा त म जिउँदै ७० वर्षभन्दाबढीसम्म जलिरहे नि ! होइन र ? मलाई थाहा छ विधवालाई परिवार र गाउँका मानिसले कति हेला गर्छन् भन्ने कुरो । अरू त के पधेँर पानी भर्न जाँदा मलाई देखेर मुन्टो बटार्ने मेरै सासू, देउरानी, जेठानी, छोरी कति हो कति हुन्थे । बाबु मैले मेरा जेठाजु र देवरको गरेर एक दर्जन छोराछोरी हुर्काएँ । तिनीहरूको दिसापिसाब सोहोरेँ । कतिले मेरो छातीमा दिसा गरे । मैले आनन्द मानेँ तर छोराको बिहेमा न त मैले उसले आमाको दुधको भारा तिरेको दृश्य हेर्न पाएँ न त ती छोरीहरूलाई कन्यादान गरेको देख्न पाएँ ।” आँसु पुछ्दै भनिन् ।


“यो घरको सारा काम मैले गर्थेँ । पूजाआजा, विवाह व्रतबन्ध जस्ता शुभ कार्यमा चाहिने सबै सामान मैले जोरजाम गर्थे तर कुसाइत पर्छ भनेर मलाई मण्डपवरपर झुल्किन दिँदैनथे । शुभ कार्यको मुख्य घडीमा मलाई लखेट्थे । म ओझेल पर्नुपथ्र्यो । त्यस बेला मलाई कति पीडा हुँदो हो बाबु । त्यो छोरीलाई जीवनभर मैले भोगेको पीडा भोग्न नपरोस् भनेर मैले नै कर गरेकी हुँ । म सफल भएँ । ऊ सुखी छ बाबु ।” भाउजूले आत्मविश्वासका साथ बेलीविस्तार लगाउँदै भनिन् ।
“भाउजू, तपार्इं एउटा सिङ्गो इतिहास हुनुहुन्छ । तपाईं भनेको एउटा भकारी हो जहाँ मुरीका मुरी सुख र दुःखका कथा अटाएका छन् । तपाईंले नयाँ पुस्ता लाई बाटो देखाउनुभयो । त्यो ठूलो आँट हो । नयाँ युगको सुखद जीवनको रेखा कोरेर बाटो देखाइदिने पनि तपाईं नै हुनुभयो । तपाईं धन्य हुनुहुन्छ भाउजू ।” कुलरत्नले भने ।
कुलपूजा सकिएको थियो । शरद ऋतुले बिदा माग्न थालेको हुनाले बिहान र बेलुका चिसो बढ्दै थियो । दिउँसोको घाम बुढाबुढीलाई प्रिय बनेको थियो ।
“अब तपार्इं पनि त तन्देरी हुनुहुन्न ? उमेर छँदा त दश वर्ष पछि बल्ल झुल्कनुभयो । अब अर्को कुलपूजासम्म म बाँच्छु कि बाँच्दिनँ थाहा छैन । अहिले आएको बेला एक साता बसेर जानुस्” भाउजूले भनिन् ।
“म पनि गलिसकेँ भाउजू । ताकत छैन । दम छ । जाडोको बेला हुरुक्कै भएर प्राण जाला जस्तो हुन्छ । यस पटक धोको पु¥याएर जान्छु भनेरै आएको हुँ ।” कुलरत्नले भने ।
त्यस बेला कुलरत्न बाह्र दिन भाउजूले पकाएर दिएको खाना खाँदै दुःखसुखका कुरा गरेर बिताए । भाउजूको जति आत्मविश्वास कुलरत्नमा थिएन । असी वर्षको उमेरमा भाउजूमा जुन बल, अनुभव र बल्दै गरेको चिलाउनीको आगोको जस्तो राप थियो त्यो रापले आपूmमा पनि ज्ञान पसेको अनुभव कुलरत्नले गरेका थिए ।
छोराबुहारी, छोरीज्वाइँ, नातिनातिनी, इष्टमित्र, छरछिमेक सबै भेला भएर भाउजू त्रियासी पुगेर चौरासी वर्ष टेकेको दिन पारेर चौरासीको पूजा गरिदिए । भाउजूको बिहे भएको सतहत्तर वर्ष र विधवा भएको पचहत्तर वर्ष पुगेको थियो । घरमा कुलपूजाको तयारी हुँदै थियो । “बुहारी मलाई तातो पानी देऊ त । आज अचानक बिहानैदेखि मेरो छाती चसक्क चस्केको छ । सास फेर्न पनि गाह्रो भएको छ । तिमीहरू दुवै कतै टाढा नजाऊ है ।” भनिन् ।


अचानक त्यसो भन्दा छोराबुहारी मुखामुख गर्न थाले । बुहारीले एक गिलास तातो पानी ल्याएर दिइन् । आफैँले गिलास समातेर भाउजूले दुई घुट्को पानी पिइन् । छोराबुहारीलाई आपूmसँगै बस्न भनिन् । त्यस बेला भाउजूका आँखा मधुरा देखिएका थिए । भाउजूले छोराबुहारीको हात समातेर आफ्नो छातीमा राख्दै भनिन्, “बाबु, अब धेरै दुःख नगर्नू । बुहारी कमजोर छ । त्यसको अलि ख्याल गरेस् ।” बोल्दाबोल्दै अस्पतालको कुरा गर्न नभ्याउँदै भाउजूले छोराबुहारीको काखमा अन्तिम सास फेरिन् ।

मलामीहरूले एकापसमा कुरा गर्दै थिए–
“बुढीआमा आपूm बालविधवा भए पनि घर सम्हालेर बसिन् ।”
“जेठाजुका छोरा र बुहारीले पनि भाउजूलाई आमालाई जस्तै माया गरेर स्याहार गरे नि ।”
“भाउजू साँच्चिकै सफा मनकी रहिछन् । मर्ने बेलामा कसैलाई दुःख दिइनन् । छोराबुहारीको काखमा हाँसीहाँसी प्राण छोडिन् । भाउजूको जस्तो मरण त साह्रै राम्रो हुन्छ ।”
भाउजूको मृत्यु भएकै दिन कुलरत्नले खबर पाए । उनी स्वयम् दम बढेर भरतपुर अस्पतालमा भर्ना भएका थिए । भाउजूको अन्तिम बिदाईमा घाटमा उपस्थित हुन नसकेकोमा उनी अतिनै खिन्न देखिन्थे । सानैमा मामाघर जाँदा भाउजूले आपूmलाई पिठ्यूमा बोकेर कहालिलाग्दो फोक्सिङ्को भिर र कर्नासको झोलुङ्गे पुल तारेको झलझली सम्झे । बालविधवा भएर सासू–ससुरा, देवर–देवरानी र छोरा–बुहारीसम्मको तीन पुस्तालाई सम्हालेर एउटा सिङ्गो युग बिताएको स्मरण गर्दै अस्पतालको विछौनाबाट भाउजूको नाममा दुईथोपा आँशु झारे । चिसो अत्यधिक बढेकाले उनको दम बढ्दै गयो । अस्पतालमा अक्सिजनको अभाव थियो । भाउजू बितेको पाँचौँ दिन कुलरत्नले पनि देवघाटको अन्तिम यात्रा तय गरे ।

bishnu.nmdc@bishnunmdc

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s