नेपालका पुलस्त्य ऋषि मदनमणि दीक्षित

नेपालका पुलस्त्य ऋषि मदनमणि दीक्षित

धन्यवाद सहित साभार ‘वैजयन्ती’ ६७
 विधाकेन्द्रित साहित्यिक पत्रिका राष्ट्रिय–व्यक्तित्व अङ्क–४

१. विषयप्रवेश
असल मानिस जति लामो बाँचे पनि समाजलाई छोटोनै लाग्छ । तर डर मान्नु पर्दैन । किनभने असल मानिसले छोडेर गएका दूरगामी योगदन, कालजयी कृतिले त्यस्ता मानिस समाजमा युगौँयुगसम्म बाँिचरहन्छन् । प्राचीन ऋषिमुनि पुलस्त्य, अगस्त्य, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ, विश्वाभित्र, पुलह, वेदव्यास, वाल्मिकी आदिले ८–१० हजार वर्ष पहिले गरेका रचनात्मक कामको आजका दिनसम्म पनि चर्चा परिचर्चा भइरहेको छ भने अनन्तकालसम्म भईनै रहने छ । आजको युगमा पनि त्यस्तै कर्म गर्नेहरुको मूल्याङ्कन आगामी हजारौँ वर्षसम्म भइरहने छ ।  यो भौतिक शरीर सबैले एक दिन छोडनुनै पर्छ । तर समाजलाई सही बाटो देखाउने निःस्वार्थी कर्मयोगी मानव तिनै ऋषिमुनिका कामझैँ युगौँसम्म उज्ज्वल तारा बनेर मानव समुदाय बीच चम्किरहन्छ ।

                   हामी बसेको यो हिमवत्खण्ड, महान हिमाली उपमहादिप मानव जातिको उद्गम, मानव सभ्यताको विकास, विविधतायुक्त धर्म र संस्कृतिको जननी हो । कुल २ हजार ३०० किलोमिटर लम्बाई क्षेत्र ओगटेको हिमालय मध्ये नेपाल हिमालयलेमात्रै करिव ९ सय किलोमिटर लम्बाई ओगटेको छ । नेपालको यस हिमालय क्षेत्रबाटनै वेद, पुराण, उपनिषद, रामायण, महाभारत जस्ता ग्रन्थहरुको रचना गर्ने विदुसी ऋषिमुनि प्राचीन नेपाल हिमालय वरपरकै ऋषि मुनिहरु हुन् । वैदिक साहित्यमा रहेको प्राचीन इतिहास, मानव सभ्यताको विकासक्रम, ढुङ्गेयुग, स–साना गण र समूह, मातृसत्तात्मक युग, पितृसत्तात्मक युग, पशुपालन,  कृषि, औजारहरुको निर्माण, चिकित्सा विज्ञान, विज्ञान, वंशावली, जीवन दर्शन, जीवन व्यवहार बारे धेरै मानिस अनभिज्ञ रहेका छन् । वेदका ऋचा कण्ठ गरे तापनि त्यसको अर्थ बारे आम मानिसले सहजताकासाथ थाह नपाउदा त्यसको महत्व सिमित बन्न पुग्यो ।

              वैदिक साहित्यमा भएको घुमन्ते युग, पशुपालन, कृषिमा प्रवेश हुदै घरव्यवहारमा प्रयोग हुने भाँडाकुँडा, औजार, हातहतियार आदिको निर्माण र अनुसन्धानका बारेमा वैदिक साहित्यमा उल्लेख भएका विषयलाई साधारण मानिसले सहजताकासाथ बुझने गरि व्याख्या विश्लेषण गरिएन । वैदिक साहित्यको महानताबारे भारतमा केहि अनुसन्धान र विश्लेषण गरिए तापनि त्यसलाई स्थानीयकरण गरि ऐतिहासिक हिमवत्खण्डको पृष्ठभूमिलाई पछिल्लो समय ओझेल पार्दै जान थालियो । वैदिक ग्रन्थमा उल्लेख गरिएका बृहत् विषयहरु मध्येको तील बराबरको एक सानो अंश जीवन दर्शनलाई नेपाल र भारतमा केवल संस्कारगत कुरामा मात्र सिमित गरियो । अन्य विषयको अध्ययन मनन भएन । हुदाहुदै यतिसम्म गरियो कि सनातन हिन्दुधर्म र हिन्दुधर्मको विकास हुनु भन्दा हजारौँ वर्ष पहिले सिर्जना गरिएका वैदिक ग्रन्थ र संहितालाई सनातनी हिन्दुको दैनिक जीवनको संस्कार कार्यमा सिमित गरियो ।

               पौरस्त्य साहित्यमा भएको समाज विकास विज्ञानवारे आँखा चिम्लेर जीवन र मृत्यु, ‘पूर्व जन्मको कमाईले यस जन्ममा सुख र दुख भोग्नु परेको र यसजन्मको दानकर्मले अर्को जन्मको सुधार गर्ने’ भन्ने कुरामा प्राचीन वैदिक साहित्यमा भएको विज्ञानलाई सिमित गरियो । आम नागरिकले वेद, उपनिषद र पुराणहरुलाई मानव विकासको चरणका ऋषिमुनिले निर्माण गरेका ग्रन्थलाई काल्पनिकताको जलप लगाएर त्यसको, मर्म, सार, खोज, विज्ञान, इतिहास, संस्कृति, समाज विकासको चरण आदिलाई ओझेलमा परियो । दक्षिण एशियाका आम नागरिकले आफ्नो हिमाली प्रदेशमा जन्मेर त्यहीँका बासिन्दाले सिर्जना गरेको वैदिक साहित्यलाई सरल र सहजतरिकाले बुझ्न पाएनन् । नेपालको वर्तमान युगमा जन्मेका एक तपस्वी हुन जस्ले समग्र वैदिक साहित्यको अध्ययन र अनुसन्धान गरी ति साहित्यमा भएको युग, त्यहाँ व्यक्त गरिएको समाज र जीवन पद्धति, सभ्यता, जीवन र मरण, नारी र पुरुषको युग र योगदान आदिबारे एक–एक शब्दको अध्ययन गरि तिनको सरल र सुक्ष्म विश्लेषण सहित सबैले बुझ्ने भाषामा नेपाली समाजमा राखिदिनु भयो । त्यस्ता वैदिक साहित्यका ज्ञाता, विश्लेषक, वैज्ञानि, अनुसन्धानकर्ता, अति विद्वान र मिलनसार व्यक्तित्व हुनुहुन्थ्यो आदरणीय मदनमणि दीक्षित ।

                    वेद, पुराण, उपनिषद, ब्रह्मसूत्र अन्य प्राचीन वैदिक ग्रन्थहरुमा उल्लेखित विषयहरु शिव लक्षित हुन् । शिव भनेको पवित्रता, कल्याण, अमृतत्व र सबैलोकको परोपकारी मानवतावाद हो । त्यस युगको मानवतावाद अहिलेको संयुक्त राष्ट्रसंघले भन ेभन्दा अझ विशाल  र गहिराईमा पुगेर व्याख्या गरिएको थियो । हिमाली यस उपमहाव्दिपमा त्यसमा पनि अझ नेपाल वरपरको भूभागमा उब्जेको त्यो वैदिक दर्शन, ग्रन्थहरुमा व्याख्या गरिएको विषयवस्तु मानव र प्रकृतिको भलोकोलागि सिर्जित दर्शन हो भन्ने कुरालाई वहाँले बडो सरल भाषामा पाठक समक्ष राखिदिनु भयो । ऋषि पुलस्त्यले समग्र मानवजातिको मुक्तिको लागि आजभन्दा करिव ८–९ हजार वर्ष पहिले नेपालको म्याग्दी जिल्लाको वेनी नजिक तपस्या गरेका थिए । पुलस्त्य ऋषिको आश्रम पुलहाचौरमा बेनीदेखि तीन किलोमिटरको दुरीमा रहेको छ ।

                 प्राचीन पुलस्त्य, वेदव्यास आदिले तपगरि सिर्जना गरेका प्राचीन वैदिक दर्शन र वैदिक साहित्यको तपकै शैलीमा अध्ययन गरि हाँसले पानीबाट दुध निकालेझैँ (निरक्षिर विश्लेषण) त्यसका केस्रा–केस्रा केलाएर सरल रुममा करिव चार दर्शन पुस्तकहरु, वैदिक साहित्यमा आधारित माधवी, भूमिसूक्त जस्ता उपन्यास, लेख र पत्रकारिताका मार्फत नेपाली समाजलाई दिनु भयो । लक्ष्मीप्रसाद देवकोटाको मुनामदन नेपालीका घरघरमा पुगेझैँ तपस्यारत रहि वहाँले रचना गर्नु भएका कृतिले वैदिक दर्शन र साहित्यलाई नेपालीका घरघरमा पु¥याउन मद्दत गरेको छ । वहाँले रचनागर्नु भएका माधवी, हिन्दु संस्कृतिको परिशिलन, त्यो युग, ऋग्वेद केहि प्रमुख सूक्त जस्ता कृतिलाई अंग्रेजी सहित विश्वका अन्य भाषामा उल्था गर्न पाएको भए ति कृतिले विश्व स्तरको मान्यता पाउनुकासाथै यो हिमाली उपमहाव्दिपमा भएको दशौँ हजार वर्ष पुरानो मानव सभ्यताबारे ज्ञान हासिल गर्न पाउने थिए । त्यसो हुन नसके तापनि दक्षिण एशियामा भने वैदिक साहित्यको अनुसन्धानात्मक प्रस्तुतिमा वहाँ औँलामा गन्न सकिने विव्दान भित्र पर्नु हुन्छ । पूर्ववैदिक र वैदिक समाज एवँ सभ्यतामा मदनमणि दीक्षितको गहिरो अध्ययन थियो ।

 उहाँ अत्यन्त निडर, सशक्त र प्रखर पत्रकार र फोटोपत्रकार पनि हुनुहुन्थ्यो । उँहाको त्यो सोख थियो तापनि काठमाडौँमा भाडामा बसेको बेला त्यो फोटोग्राफी जीविकोपार्जनको एउटा साधन पनि बनेको यियो । नेपाली समाजमा उहाँको साहित्यिक योगदान महासागर जत्तिकै विशाल र सगरमाथा जत्तिकै उच्च छ । उहाँले उपन्यास, कथा, निवन्ध, वैदिककालीन समाज, दर्शन र चिन्तन, वैदिक साहित्य आदिसबैमा उत्तिकै तेज रुपमा कलम चलाउनु भएको छ । त्यति हुँदाहँुदै पनि साधारणतया कसैले आँट गर्न नसक्ने अति बृहत क्षेत्र प्राचीन वाङमयको वृहत अध्ययन, वेदकालीन समाज, विकास र सभ्यताको खोज र ती खोजलाई वैज्ञानिक रुपमा मानवहित निम्ति सोध गर्नु रहेको छ ।

               नेपाली साहित्यमा पूर्वीय र पश्चिमी दर्शनको गहिराईमा पुगेर त्यहाँ रहेका जराहरुको अवस्था र कारण थाह पाएर त्यसलाई समाज विकासको चरणवद्ध कालक्रममा राख्ने सिद्धहस्त मुनि, चिन्तक र वैज्ञानिक हुनुहुन्थ्यो उहाँ । वैदिक साहित्यलाई वैदिक परम्परामा पूजा गनर्,े  भक्तिभावमा पढने, लेख्ने त धेरै छन् तर त्यसलाई सामाजिक विकास क्रमको विज्ञानको खोजको आधारमा विश्लेषण गर्ने भारतमा पनि कम छन् । उहाँले वेदका प्राचीन ऋग्वेदका ऋचाको केस्रा केस्रा केलाएर सरल ढंगले अर्थ राखेर जीवनोपयोगी तर्कपूर्ण व्याख्या गर्नु भएको छ । जस्ले गर्दा वेदको भाव बुझ्न चाहनेलाई मद्दत मिल्छ । वीरगञ्जमा शिक्षक बनेदेखि धेरैले उहाँलाई माड्साव भनेर चिन्दछन् ।

२.जन्म र बाल्यकाल
               मदनमणि दीक्षितको जन्म वि.संं. १९७९ फागुन ६ गते काठमाडौँको गैरी धारामा दीक्षित परिवारमा भएको हो । वहाँकी माता विष्णुकुमारी देवी र पिता लक्ष्मणमणि आचार्य दीक्षितका आठ सन्तानमध्ये वहाँ तेस्रो सन्तान हुनुहुन्थ्यो । त्यसबेला नेपालमा राणा शासन थियो । दीक्षित परिवारले त्यसबेला राणाको दरवारमा नोकरी गर्दथे । मदनमणि दीक्षितका पिताले पनि चन्द्र शमशेरको दरवारमा काम गर्नुहुन्थ्यो । सामान्य नेपाली परिवारले खान र जीवन धान्न धेरै कष्ट गर्नु पर्ने समयमा मदनमणिको वाल्यकालमा वहाँको घरमा कमारा कमारी र सुसारेहरु थिए । उहाँलाई पनि राणा र राजपरिवारका सन्तानलाईझैँ धाई आमा र सुसारेले लालनपालन, स्याहारसुसार गरेर हुर्काएका थिए । एक पटक उहाँ साढे दुई वर्षको हुँदा वहाँका पिताजीको सरुवा बम्बैमा भयो र उतै जानु भयो । बम्बैजानुभन्दा पहिले उहाँहरु मामाघर बनारस जानु भएको थियो । पन्द्र महिनाको हुँदा ठूलीआमाले वहाँलाई वाल्मीकि रामायणको श्लोक घोकाउन थाल्नु भयो । घोकाउन थालेको दोस्रो महिना अर्थात सत्र महिनाको बेला सबैलाई अचम्म पार्ने गरि मदनमणिले त्यो अर्थसार श्लोक दोहो¥याउनु भएछ । उहाँले भनेको श्लोक यस प्रकारको थियो –
मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वती समा ।
यत् क्रौन्चामिथुनादेकमवधीः काममोहितम् ।। –

                त्यसपछि बम्बै जानु भयो । एक दिन आमाबाबुसँग बम्बईमा फ्रान्सेली कलाकारहरुको सर्कस हेर्न जाने क्रममा बग्गीबाट ओर्लदा वहाँ भीडमा छुट्नु भयो ।  तर केहि समयपछिनै पिताजी आएर उहाँलाई लिएर जानु भयो । वनारस र बम्बै गरी साढेचार वर्ष बसेको वेला उहाँले मातापिता र अन्य परिवारसँग बसेर पढन थाल्नु भयो ।

             मदनमणि दीक्षितको व्रतवन्ध पाँच वर्षको उमेरमा काठमाडौँमा भयो । उहाँको व्रतबन्धमा चन्द्रशमशेरले आफ्नोतर्फबाट भिक्षादान दिन एक कर्णेल मार्फत सामान पठाएका थिए । सोही दिनदेखि वहाँको धरणीधर भट्टराई मार्फत अक्षराभ्भ गराई अ आ लेख्न सिकाउनु भयो ।  त्यसपछि उहाँहरु हाँडीगाउँको घरमा सर्नु भयो । त्यसपछि शिक्षाको प्रारम्भ संस्कृत र अंग्रेजीमा घरमानै हुन थाल्यो । उहाँकी माता शिक्षित हुनुहुन्थ्यो र रामायण पाठ गर्नु हुन्थ्यो । त्यसबेला उहाँको परिवार बारा जिल्लामा बस्थ्यो । एक पटक पंडितले माडसावकी माताजीसँग ‘कसैले वाल्मीकि रामायण नबिराइकन बाइसपटक पाठ ग¥यो भने त्यो मानिस श्रुतिधर हुन्छ’ भनेको सुन्नु भयो । उहाँले पाँच वर्षको उमेरमा रामायणको श्लोक कण्ठ गरेर माताजीलाई सुनाउदा सबै तीनछक्क परेका थिए । गुरुले भनेको सुनेर वहाँले पनि रामायण पढन शुरु गर्नु भयो र १७ पटक सम्म पढ्नु भयो ।

                  वनारस मावली, काठमाडौ र वीरगञ्जको यात्रा उहाँले सानै उमेरमा धेरै पटक गर्नु भयो । वि.सं. १९९४ मा वहाँ वनारस गएर कटिङ मेमोरियल हाइस्कूलमा कक्षा ८ मा भर्ना हुनु भयो ।  त्यसपछि वाल्यकालमानै उहाँले शरच्चन्द्र चट्टोपाध्यायका हिन्दीमा अनुवाद गरिएका कथाहरु, अंग्रेजी साहित्यका उपन्यास पढन थाल्नु भयो । एक दिन जव उहाँले उपन्यास पढदै हुनुहुन्थ्यो त्यसैबेला पिताजीले हकार्दै ‘उपन्यास पढेर ज्ञानी बन्न सकिदैन, त्यस्ता पुस्तक पढन हँुदैन’ भने पछि उपन्यास पढ्न छोडनु भयो  । बाल्यकालदेखिनै वहाँ तीक्ष्ण बुद्धिको हुनुहुन्थ्योे । बाल्यकालदेखिनै देखिएको वहाँको सबैभन्दा ठूलो स्मरण शक्ति थियो । त्यो क्षमता वहाँको जीवनको पछिल्लो समयसम्म रह्यो । उहाँले धेरै पुस्तक आपूmले ससर्ती भन्ने र सहयोगीले लेख्ने गराएरनै प्रकाशित गर्नु भयो । तीथि र मिति पनि वहाँलाई कण्ठ हुन्थ्यो । उहाँको शुभविवाह वि.सं. १९९५ माघ २५ गते बारा, कलैयाकी कन्या रीता (दीक्षित)सँग भएको हो ।

३. शिक्षार्जन, लेखन, आरोह–अवरोहः

                चन्द्र शमशेर पछि प्रधानमन्त्री भएका भीम शमशेरले उहाँको परिवार सहित अन्य बाहुनमाथि अन्याय गरेका थिए । जुद्धशमशेरको चाकरी नगरेकाले वहाँहरु सम्मत्ति फिर्ता भएन सोही कारण पुन वि.सं. १९९१ साउन ७ कादिन वनारस जान बाध्य हुनु भयो । वहाँको औपचारिक शिक्षारम्भ वनारसमा भयो । वनारसबाट आई.ए. र बि.ए. अध्ययन गरे पछि वहाँलाई भारतमा नै कुनै नोकरीमा लगाइदिने वहाँका पिताको चाहना थियो । तर माताजीको बल र वहाँको चाहना अनुसार काशी हिन्दु विश्वविद्यालयबाट विद्याविारिधिसम्म गर्ने योजना गर्नु भयो । वनारसमा अध्ययन गर्ने काशी हिन्दु विश्वविद्यालयको पुस्तकालय विशाल थियो त्यहाँ तीन लाखभन्दा बढि पुस्तक थिए । दीक्षितले त्यस पुस्तकालयमा बसेर पाठ््यपुस्तकभन्दा माथिल्ला स्तरका अङ्ग्रेजी भाषाका दर्शन विषयक, संस्कृत भाषाका साहित्य सम्बन्धि पुरुतकहरु पढन थाल्नु भयो ।  पढदा पढदै छातीमा पुस्तक राखेर वहाँ निदाउनु हुन्थ्यो । वहाँले स्नातक गरेपछि सोहि विश्वविद्यालयमा ‘भारतीय दर्शन र दर्शनशास्त्र’ विषयमा स्नातकोत्तर गर्नु भयो ।
उहाँको छिट्टै कण्ठाग्र गर्न सक्ने र स्मरण गर्न सक्ने अभूतपूर्व  शक्तिनै भएकाले उहाँलाई अध्ययन गर्न कठीन भएन । वहाँको जीवनको पछिल्लो समय जुनबेला मैले पनि भेटने अवसर पाएँ, त्यसबेला सन्तानब्बे वर्षको उमेरमा पनि उहाँले आपूmले खखर्ती भन्ने र लेख्ने मानिसले लेख्ने गर्दथे । उहाँले धेरै पुस्तक आफूले भन्ने र अर्को व्यक्तिले सरासर लेख्ने वा टाइप गर्ने गरेर नै तयार गर्नु भयो । उहाँमा वेदव्यासमाझैँ स्मरण र धारावाहिक रुपमा भन्न सक्ने अभुतपूर्व क्षमता थियो । माताजीको काखमा बसेर वाल्यकालमानै रामायण वाचन गरेकाले वहाँमा प्राचीन साहित्यतर्फको रुची बढदै गयो, अध्ययन पनि त्यसतर्फनै लक्षित बन्यो र पछि गएर वैदिक साहित्यको व्यापक खोज र अध्ययन गरी त्यसमानै कृतिहरु जन्मन थाले ।

                     वनारसमा दर्शन शास्त्रमा अध्ययन गर्दैगर्दा एक पटक उहाँलाई सन्यासी बन्ने इच्छा जागेछ । करिव पन्द्रवटा मठमा पुगेर त्यहाँका मठाधीशहरुसँग सन्यासी बन्न के के चहिन्छ भन्ने कुरा बुझ्नु भएछ । हिंडने बेला ति महात्माले  – ‘तिमीले बिहे गरिसकेका छौ भने तिम्रो श्रीमतीले सन्यासी बन्न स्वीकृति दिएकी छन् त ? विवाहितलाई पत्नीको आदेशबेगर संन्यासी हुन धर्मशास्त्रले अनुमति दिदैन । श्रीमतीको अनुमति लिएर आउ ’ भनेछन् । श्रीमतीबाट संन्यासी बन्न अनुमति माग्दा रातभर रुवाबासी भयो । अनुमति पाउनु भएन । त्यसपछि उहाँले त्यो सन्यासी बन्ने कुरा छोडनु भयो ।

               वनारसबाट ‘भारतीय दर्शन र दर्शनशास्त्र’ मा स्नातकोत्तर गर्नु भएपछि उहाँले वैदिक दर्शनमा विद्यावारिधिको सम्पूर्ण तयारी गरे तापनि पूरा गर्न भने पाउनु भएन । त्यसबाट वहाँ विचलित हुनु भएन । वैदिक साहित्य र वैदिक दर्शनको गहन अध्ययन गर्न जीवनको अन्तिम दिनसम्म पनि छोड्नु भएन । वेद खासगरि ऋग्वेद अध्ययन गर्दा ऋग्वेदको समय कहिलेको हो ? ऋग्वैदिक कालभन्दा पहिलेको समाज कस्तो थियो, मातृसत्तात्मक समाजमा नारीको अवस्था कस्तो थियो ? पितृसत्तात्मक समाज कसरी विकास भयो भन्ने कुरा त्यहाँ व्यक्त गरिएको समाज, पात्र, कथाको विश्लेषण गर्न थाल्नु भयो ।

                     उहाँले त्यो वैदिक युगमा भएको समाज र संस्कृतिको चरित्रको अध्ययनलाई बडो सरल ढंगबाट विवेचना गर्नु भएको छ । त्यसले संस्कृत र संस्कृत साहित्यमा लेखिएका वेदको त कुरै छोडौँ सामान्य कथाको पनि अध्ययन नगरेका पाठकले पनि वैदिक साहित्य र दर्शनबारे बुझ्ने, रुची राख्ने र अध्ययन गर्ने अवसर प्राप्त भयो । त्यसैले उहाँलाई एशियाका उत्तरवैदिक साहित्यकार पनि भनिन्छ । वैदिक साहित्यिक ज्ञानमा उहाँ अथाह खानीनै हुनुहुन्थ्यो । विद्यार्थी हुँदाको समयमा वनारस विश्वविद्यालयमा रहेका पुस्तक, अध्ययन गर्ने अगाध रुची, माताजीको प्रेरणा, घरपरिवारको वातावरण र स्मरण गर्न सक्ने जन्मजात क्षमताले उहाँलाई वैदिक साहित्य, पत्रकारिता, कथा, उपन्यास आदिमा सिद्धहस्त लेखक बन्न सफल बनायो ।

                 एउटा रोचक प्रसंग के भने वनारसमा पढ्दै गर्दा वहाँले प्रेम गरेको भनेर एक काल्पनिक सुन्दरी युवती पात्र तयार गर्नु भयो । त्यो युवतीलाई सातवटा प्रेमरसले भरिएका पत्र लेख्नु भयो । परीक्षा सकिए पछि परिवार सहित सबै वीरगञ्ज फर्कनु भयो ।  घर फर्कने बेलामा पत्र च्यात्नु भएको थियो तर एउटा पत्र हरिवंश पुराणको पुस्तक भित्र नै छुटेछ । त्यसबेला उहाँको बिवाह भइ सकेको थियो । परिवारका सदस्यले त्यो चिठी देखे । ‘मदनले अर्कै कोहि केटीसँग प्रेम गर्दो रहेछ’ भन्ने घर परिवारमा व्यापक हल्ला भयो । उहाँको श्रीमती रीता दीक्षितले पनि थाह पाउनु भयो । उल्टै उहाँलाई ‘आफ्नो लोग्नेलाई ठाउँमा राख्न नसक्ने’ भन्ने आरोप पनि लाग्यो । मदनले ‘त्यो अभ्यासको लागि मात्र लेखेको’ भनेर श्रीमतीलाई र परिवारका सदस्यलाई सम्झाउनु भयो । समयको अन्तराल पछि मात्र त्यो साहित्यिक अभ्यासको  प्रेमपत्रको कथा साम्य भयो ।

               वनारसको पढाई पछि उहाँ वीरगञ्जको श्रीजुद्ध माध्यमिक विद्यालयमा प्राध्यापन गर्न थाल्नु भयो । त्यहीँदेखिनै उहाँ सबैका माड्साव हुनु भएको हो । उहाँलाई सबैले माड्साबनै भन्दछन् । त्यहीँ वीरजञ्जमा बसेदेखिनै वहाँ कम्यूनिष्ट पार्टीमा लाग्नु भएको हो । राणा परिवारको रवाफ र हाउभाउ भएको  परिवारमा हुर्केको मानिस कम्युनिष्ट पार्टीमा लागेपछि भने दैनिक जीवनचर्यामा धेरै फेर बदल आयो । श्री ३ भीमशमशेरले वहाँको परिवारलाई सहयोग नगरेको मात्र होइन कि हिसाव किताब हिनामिना गरेको भनि कपोलकल्पित आरोप लगाई वहाँको पितालाई तीन पटक गरी ११ महिना जेल र ७२ हजारको जरिवाना समेत तीर्न प¥यो । त्यसैको पीरले माताजीलाई मुर्छा पर्ने रोग लाग्यो । उहाँले औषधि उपचार गर्न पनि सक्नु भएन । यति सम्मकि आमाको मृत्यु हुँदा परिवारका अन्य सदस्यबाट  सहयोग थाप्न बाध्य हुन प¥यो ।

            त्यस्तै उतार चढावमा पछिल्लो समय वीरगञ्जबाट काठमाडौँ आए पछि पनि उहाँलाई खानबस्न निकै दुख भयो । उहाँको परिवारमा बाह्जना हुनुहुन्थ्यो । विहान र बेलुका खाना खाँदा पालो गरि खानाखानु पर्ने अवस्था थियो । प्यूखामा भाडामा बसेको बेला वहाँसँग खानेकुरा किन्ने पैसा थिएन । कोहि साथीभाइ भेटिएलान र उनीहरुसँग केहि रुपैया सापटी मागेर चामल दाल किन्न पर्ला भन्ने सोचेर एक दिन उहाँ डेराबाट बाहिर निस्कनु भयो । त्यसबेला पहिलेनै सापटी लिएका साथीभाइबाहेक अरु भेटिएनन् । उनीहरुसँग पैसा माग्ने आँट गर्नु भएन । यत्तिकै लखर लखर हिडेको बेला माडवारी सेवा समिति रहेको रञ्जना गल्ली नजिक बाटोमा खसेको एक रुपैया भेटनु भयो । त्यसलाई कुल्चेर वरपर कोहि छ कि भनेर हेर्नु भयो । कोहि नभएकाले टिपेर गोजीमा राख्नु भयो । अलि अगाडि बढे पछि त्यस्तै अरु एक–एक र पाँचका गरि २२ रुपैँया भेटनु भयो । त्यो दिन उहाँलाई अचम्म लागेको थियो । कतिले त्यसलाई भोकभोकै परिवार छ भनेर भगवानले हेरेको भन्थे होला तर उहाँले त्यसलाई कुनै महिलाले सारीको फुर्कोमा राखेको पैसा खसेको होला, त्यसबाट मेरो गर्जो ट¥यो भनेर सुनाउनु हन्थ्यो । पिताजीको परस्त्री प्रतिको गलत दृष्टिकोणका कारणले  उहाँले पिताजीबारे भने राम्रो धारणा बनाउन सक्नु भएन, वनारसको सम्पत्ति पनि त्यत्तिकै गयो र पिताजीले गरेका गलत कामकुराको विरोध, परिवारका गल्ती कमजोरी बारे उहाँले लेख र पुस्तक पनि लेख्नु भयो ।

४. आत्मदाहको सोच, लेखन प्रतिज्ञा र प्रकाशित कृति ः

                वीरगञ्जमा हुने आम्दानीले घर चल्न नसक्ने भए पछि मनमोहन अधिकारीसँग अनुमति लिएर वहाँ वि.सं. २०१४ सालमा काठमाण्डौँ आए पछि रङ्गनाथ शर्माले प्रकाशित गरेको ‘ हाल खवर’ पत्रिकामा काम गर्न थाल्नु भयो । त्यसपछि २०१६ सालदेखि ‘समीक्षा’ आफैले सम्पादन गर्न थाल्नु भयो । त्यो पत्रिकामा भएका विश्लेषणात्मक लेख, सम्पादकीय र समाचारले नेपाली वौद्धिक जगतबीच निकै लोकप्रीय बन्यो । पञ्चायतकालमा त्यो पत्रिका राजा महेन्द्र र वीरेन्द्रको पालामा गरी नौ पटक प्रतिवन्धमा प¥यो । उहाँले लेखनीलाई जीवनको मूल आधार बनाईसक्नु भएको थियो ।  पत्रिका फुकुवा नहुने भए पछि उहाँले एक रात धेरै कुरा सोच्दा–सोच्दै आत्मदाह गर्ने बिचार गर्नु भयो । आत्मदाह गर्दा सो किन गर्न खोजेको, कस्को कारणले गर्न खोजेको हो भन्ने कुराको जानकारी पत्रकारलाई दिएर गर्दा प्रभावकारी होला भन्ने सोच्नु भयो । भोलिपल्ट बिहान सबै  विदेशी पत्रकारलाई खवर गर्ने र ‘राजदरवारको दक्षिण ढोकामा अपरान्ह चार बजे आत्मदाह गर्ने’ भन्ने योजना तयार गरेर सुत्नु भयो ।

           तर बिहान ब्यूझँदा उहाँको मन परिवर्तन भयो । तानाशाहको काम पत्रिका बन्द गर्नु हो, उनीहरुले गरे । अपराधी त तानाशाही व्यवस्थाका पहरेदार प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल र सञ्चार मन्त्री राधाप्रसाद घिमिरे हुन् । उनीहरुलाई खुशी पार्न मैले किन आत्मदाह गर्ने ? पत्रिका खोसे पनि मेरो कलम त तिनीहरुले खोस्न सक्दैनन् नि ! त्यसपछि उहाँले त्यसै बिहानदेखि ‘मैले लेख्ने काम नै गर्छु । यसैमा जीवन अर्पण गर्छु ।’ भनेर माधवी उपन्यास लेख्न शुरु गर्नु भयो । त्यो पुस्तक नेपाली साहित्यको अग्लो मियो बन्यो । शोकलाई शक्तिमा बदल्न सक्नुपर्छ भन्ने मान्यताको यो एक सुन्दर उपमा बन्न पुग्यो । त्यसले मदन पुरस्कार प्राप्त ग¥यो । त्यसैका बारेमा धेरैले विद्याबारिधिमा सोध गरेका छन् । माधवी जस्तै अन्य थुप्रै कालजयी कृति वहाँले नेपाली साहित्य जगतमा छोडेर जानु भएको छ । वैदिक साहित्यको अनुसन्धान, जीवनोपयोगी व्याख्या, अति प्राचीन वैदिक साहित्यको सरलभावबाट व्याख्या गरेकाले वहाँको योगदानलाई नेपाली साहित्यमा हजारौँ वर्षसम्म आज हामीले पुलस्त्य र वेदव्यासलाई सम्झेझैँ नेपाल आमामा सन्ततीले सम्झी रहने छन् । उहाँले समीक्षा साप्तहिकमा लेखेका विभिन्न  लेखहरु बाहेक पुस्तकको रुपमा प्रकाशित मुख्य कृति यस प्रकार छन्ः

१. कसले जित्यो कसले हा¥यो – २०२१ २. म रुँदै बिर्सन्छु – २०२७
३. हाम्रा ती दिन– २०२९ ४. दश लाख हिरोसिमातिर अनुवाद २०४०
५. माधवी– २०३९ ६. चरैवेति– २०४४
७. ग्याँस च्याम्बरको मृत्यु–  २०४२ ८. त्यो युग– २०४७
९. द्रौपदी र सीता – २०४९ १०. विदुषी गार्गी– २०४९
११. किन्काकुजि (स्वर्ण विहार)–  २०४५ १२. मेरी नीलिमा २०५०
१३. त्रिदेवी – २०५१  १४. जेण्डा २०५१
१५. उद्दालक आरुणी– २०५३ १६. अमृतत्व र कारुणिकता  २०५३
१७. आनन्दमय आकाश २०५३ १८. हाम्रा प्राचीन नारी २०५६
१९. भूमि सूक्त २०५८ २०. भूकम्पशरुः प्रश्नोत्तर (अनुवाद) २०५९
२१. हिन्दू संस्कृतिको परिशीलन २०५९ २२. सिंचाइ हातपुस्तिका –अनुवाद) २०५७
२३. श्वेतकाली  २०६० २४. भूकम्प प्रतिरोधि भवन.. ,, २०६१
२५. पराले कुन्यूको आगो (अनु.) २०६२ २६. बर्लिन डायरीका पाना  २०४१
२७. ऋग्वेदः केही प्रमुख सूक्त २०६५ २८. जीवन ः महाअधियान २०६६
२९. श्रीः शाश्वत नारी २०६४ ३०  महर्षि याज्ञवल्क्य  २०६८
३१. आनन्दमय जीवन २०६९ ३२. ऋग्वैदिक नारी चरित्र  २०६९
३३. ऋग्वेदमा समवेत पर्यावरण २०७० ३४. अनन्त चैतन्य २०७१
३५. जीवनः दर्शन २०७१ ३६. जयपराजय २०७२
३७. देशभक्त महापुरुष २०७४ ३८. मेरी माता २०७५  

             उहाँको पछिल्लो पुस्तक ‘देशभक्त महापुरुष’ र ‘माधवी’को छैटौँ संस्करण २०७४ मा दिइएको प्रकाशित पुस्तकको नामावलीमा माधवी (छैटौँ) र द्रौपदी र सीता (तेस्रो ) भनि चालीस संख्या दिइएको छ । ती दुई पुस्तकलाई नराख्दा पनि ३८ पुस्तक प्रकाशित देखिन्छन् ।
त्यसमध्ये करिव २१ वटा पुस्तक प्राचीन ऋग्वैदिककालीन साहित्य, धर्म, संस्कृति, इतिहास र दर्शनसँंग सम्बन्धित   छन् । अनुवाद चार, यात्रा एक र अन्य बाह् कृतिहरु संस्मरण, कथा र निवन्ध रहेकाछन् । उहाँलाई नेपालका अक्षर शिरोमणि पनि भनिन्छ । त्यसमध्ये माधवी, भूमिसूक्त, त्रिदेवी, ऋग्वेदः केहि प्रमुख सूक्त, श्रीः शाश्वत नारी, त्यो युग, हिन्दु संस्कृतिको परिशीलन र महर्षि याज्ञवल्क्य जस्ता कृति वहाँका कालजयी कृति हुन् । ती पुस्तकमा वहाँको केन्द्रिकृत प्रस्तुति भनेको वैदिक सभ्यताको आधिकारिक एवँ वैज्ञानिक व्याख्यासहित सुक्ष्मतिसुक्ष्म सरलभाषामा जानकारी दिनु हो । उहाँको व्याख्या चाहे त्यो हिन्दु संस्कृतिको परिशीलन होस्, श्रीः शाश्वत नारी होस् वा ऋग्वेदको व्याख्या नै किन नहोस त्यसमा तत्कालीन समयको मानव समाज विकासको अवस्था, चरित्र, आर्थिक स्थिति, नारीको अवस्था बारे चर्चा परिचर्चा गर्दै वहाँले त्यसमा समयवधि पनि तोक्नु भएको छ । त्यसले गर्दा वहाँका कृतिहरुबाट यो हिमाली उपमहाव्दिपमा मानव सभ्यताको विकास कहिलेदेखि कुन–कुन चरणमा कसरी भएको रहेछ भन्ने जानकारी लिन सकिन्छ ।

                    वेद र पुराण एवँ उपनिषदमा भएका प्रसंगलाई केलाएर उहाँले विभिन्न चरणको आधारमा विश्लेषण गर्दै त्यसलाई वैज्ञानिक रुपमा व्याख्या गर्नु भएको छ । हिमालय वरपरनै ज्ञान र ध्यान हुँदै सभ्यताको विकास भयो र यही भूखण्डबाट सभ्यता मुखरित हुदै संसारभर फैलिएको हो भन्ने सन्देश दीक्षितका हरेक कृतिमा पाईन्छ । उहाँले कतिपय मिथकलाई पनि कुन समयको हुन सक्छ भन्ने कुरा वैज्ञानिक आधार सहित प्रस्तुत गर्नु भएको छ । नेपालमा मात्र होइन भारतमा पनि प्राचीन वैदिक साहित्य, इतिहास, संस्कृति र विज्ञानलाई समेटेर मानव सभ्यताको विकासक्रम र संस्कृतिको व्याख्या गर्न सक्ने उच्चकोटीका विद्वान कम छन् । साहित्यमा विशिष्ठ योगदान गर्ने अन्य धेरै ब्यक्तिहरु छन् । तर उहाँको असाधारण योगदान वैदिक साहित्यमा रह्यो । त्यसभित्र पनि वैदिककालका नारी पात्रलाई बडो कुशलताकासाथ जनसमक्ष ल्याउनु , नारीलाई सम्मान गर्नु वहाँको अर्को विशेष गुण र क्षमता हो ।  पूर्व ऋग्वैदिककाल, ऋग्वैदिककाल, सिन्धु सभ्यता, आर्यहरुको पश्चिमबाट दक्षिण पूर्व प्रवेश, हिमालयखण्डमा भएको प्राचीन सभ्यता आदिवारे समय कालखण्डलाई छुट्टयाएर विश्लेषण एवँ तुलनात्मक अध्ययन गर्दै त्यसबेलाको सामाजिक र सांस्कृतिक पक्षको छर्लङ्ग हुने गरि प्रस्तुत गर्न सक्नु उहाँको अदित्तिय क्षमता हो । त्यसैले मदनमणि दीक्षित यो एक्काइसौँ शताव्दीको नेपालको पुलस्त्य ऋषितुल्य मनीषि हुनुहुन्छ ।

                    वैदिक साहित्य, वेदकालीन सभ्यता, समाज र वैदिक संस्कृतिको  अध्ययन र लेखनमा नेपालको त कुरै छोडौँ भारतमा पनि उहाँ जत्तिका ब्यक्ति विरलै पाइन्छन् । उहाँले लगभग चालिस वर्ष वैदिक सहित्य अध्ययन, अनुसन्धान र लेखनमानै समर्पण गर्नु भयो । पछिल्लो समय केहि संस्मरणहरु पनि आए जुन वैदिक साहित्यको तुलनामा कमजोर भनेर टिप्पणी गरिएका थिए । अत्यन्त सम्पन्न, सुखि  परिवारमा जन्मे तापनि उहाँले जीवनमा अत्यन्त दुःख भोग्नु परेको थियो । कम्युनिष्ट बनेर सारा नेपालीको जीवन सुधार्न तिर लाग्दा राजनीति गर्नेको बोली र व्यवहार फरक हुने रहेछ भन्ने बुझेपछि वहाँ त्यसबाट निरास हुनुभयो । कम्यूनिष्ट बनेकै कारणले पैत्रिक सम्पत्ति पाउने हकबाट पनि उहाँलाई पिताजीले बञ्चित गर्नु भयो । तर पनि उहाँ कहिल्यै निरास हुनुभएन । निरन्तर– निरन्तर अध्ययन र लेखनमा लागिरहनु भयो ।  वि.सं. २०५१ मा वहाँ नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति हुनुभएको थियो । त्यहाँको काममा व्यस्त रहेकाले वहाँले सोचे जति पुस्तक लेख्न नभ्याएको कुरा उहाँले व्यक्त गर्नु हुन्थ्यो ।

                जीवन परिवर्तनशील हुन्छ । प्रकृतिमा परिवर्तन भएझैँ मानिसमा उमेर र अनुभवका आधारमा बानी व्यहोरा परिवर्तन हुन्छ । किनभने, मानवमा मात्र सवल र कमजोर पक्ष केलाउने सामथ्र्य हुन्छ । अत्यन्त विनयशील, अत्यन्त उर्जावान, वैदिक साहित्यका अद्भुत् विद्धान हुदाहुदै पनि उहाँका पनि केहि कमजोर पक्ष थिए । नारी सम्मानमा ह्दयदेखिनै सम्मान प्रकट गर्ने दीक्षितले कुनै समय आफ्ना पितालेझैँ आफ्नी श्रीमती जसलाई वहाँले देवी भन्नु हुन्थ्यो, वहाँलाई अनपेक्षित उपेक्षा गर्नु हुन्थ्यो र अनाहकमा दुःख दिनुहुन्थ्यो । यद्यपि त्यो स्वभाव पुरुषप्रधान समाज र सामन्ती राणा परिवारसँगको निकटताको उपज हुनसक्छ । तर पछि उहाँले ती काम प्रति क्षमा माग्नु भयो, आफ्नो व्यवहार सुधार्नु भयो । उमेरमा वहाँ असाध्यै निष्ठूर हुनुहुन्थ्यो रे । नातिनातिनीकालागि उहाँ बाघ जस्तै हुनुहुन्थ्यो । पछिल्लो दुई दशकदेखिभने उहाँ सबैलाई माया गर्ने बन्नु भयो ।

             उहाँ यात्राको अतिनै शौखिन हुनुहुन्थ्यो, रमाइला किस्साहरु र पुराना सिनेमा एवँ उपन्यासका कथा सुनाएर हँसाउन दक्ष  हुनुहुन्थ्यो । उहाँका परममित्र नगेन्द्रराज शर्माका अनुसार उहाँ असाध्यै घुर्नु हुन्थ्यो र उहाँसँगै कोठामा सुत्न कोही मान्दैनथे । निद्रामा बर्बराउनु हुन्थ्यो र बर्बराउँदा माधबीका पात्रहरुका बारेमानै बर्बराउनु हुन्थ्यो ।  बाहिर घुम्न जाँदा पनि उहाँले आपूmले लेख्दै गरेको विषयबारे सुनाउनुहुन्थ्यो, र साथीभाईहरुको सुझावलाई सहर्ष स्वीकार गरेर कहिलेकाहीँ त परिच्छेदका परिच्छेद पनि काँटछाँट गर्नु हुन्थ्यो । तर उमेर ढल्के पछि परिवर्तन के देखियो भने पहिले साथीहरुको सुझावलाई अति मान्ने मान्छे पछि असान्दर्भिक कुरा नलेख्न सुझाव दिदा पनि टेर्न छोडनु भयो । अन्य ठूला वैज्ञानिक, ठूला दार्शनिकमा पाइने जस्तै गुण उहाँमा पनि थियो ।

                 वि.सं. २०१४ माघमा दाल चामल किन्ने पैसा नभएर कोठामा आगोसम्म नबलेको दशौं छाक भएको थियो ।     छोराछोरीको क्रन्दन सुन्न नपरोस भनेर रुपैयाँ खोज्न जान्छु भन्दै उहाँ बाहिर निस्कनु हुन्थ्यो । कहिले सामान लिएर घर फर्कनु हुन्थ्यो भने कहिले भोकभोकै थकित भएर । त्यही उहाँको अनुभव उहाँकै शब्दमा– ‘‘आत्माको विक्रय नगरी, आत्म–सम्मान विरुद्ध कतै कुनै सम्झौता नगरी पनि आफ्ना आस्था र विश्वासमा धैर्य गरेर सुदृढ बस्न सकिन्छ र सघर्षलाई, निजात्मक विजयमा परिणत गर्न सकिन्छ भन्नेमा २०१४ ले मलाई चट्टान झैं स्थिर गराइदियो । ’’ चेतनशील मानव जातिले आफ्नो सभ्यता, इतिहास, धर्म र संस्कृतिलाई सधैँ सत्यताको कसिमा जाँचेर, वैज्ञानिक आधारहरु लिएर संरक्षण र दैनिक व्यवहारिक जीवनमा लागु गर्न पर्छ । हाम्रो पूर्वीय दर्शन कोरा कल्पना नभई विज्ञानसम्मत छ, त्यसको महत्व र अर्थ बुझ्नका लागि प्रसस्त खुराक हाम्रो सामु राखेर उहाँले २०७६ साउन ३० गते जनै पूर्णिमाको दिन बिहान ३ बजे ब्रह्म मुहुर्तमा ९७ वर्षको उमेरमा निर्वाण प्राप्त गर्नु भयो । ऋषि पुलस्त्यलाई हामीले अहिले सम्झेझैँ उहाँलाई यस धर्तीमा नेपाल, नेपाली र नेपाली वाङ्मय जिवित रहेसम्म उहाँका कालजयी कृतिहरुका पाना पल्टाउदै  सम्झिरहनेछन् । bishnu.nmdc@gmail.com

Leave a comment