‘श्वेत पर्वत’ः हिमालय क्षेत्रको एक आधिकारिक ग्रन्थ

प्रा.डा. रामकुमार दाहालले लेख्नु भएको समीक्षा दायित्व को माघ–फागुन २०७८ पूर्णङ्क १३४ मा छापिएको छ । त्यसलाई यहाँ धन्यवाद सहित साभार गरिएको हो ।



परिचयः
तिब्बत यात्रा (२०७२), डोल्पोः विश्वको जीवित सङ्ग्रहालय (२०७४) पश्यात विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित नियात्रा कृति ‘श्वेत पर्वत’ २०७८ हालै बजारमा आएको छ । नियात्रा भनिए तापनि पुस्तकमा समेटिएका विषयलाई हेर्दा यो कृतिलाई नेपालको पश्चिम हिमाली क्षेत्रको एक सन्दर्भ ग्रन्थ (Encyclopedia)को रूपमा लिन सक्ने देखिन्छ । भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित यस पुस्तकमा ३२७ पृष्ठका अतिरिक्त ३२ पृष्ठमा अत्यन्त आकर्षक, दुर्लभ रङ्गिन तस्वीर समावेश छन् । पुस्तकको मूल्य रु. ४९०।– राखिएको छ, तस्वीर, आकार र कागजको आधारमा बढि देखिदैन । नेपाल, गौतम बुद्ध जन्मेको भूमिमात्र नभई हिमालय क्षेत्र त मानव सभ्यताको जननी नै हो भन्न उनी पछि परेका छैनन् । पराजुलीद्वारा लिखित ‘श्वेत पर्वत’ मा धवलागिरि, देवचुली, मुस्ताङ र मनाङ गरी चार खण्ड रहेका छन् । प्रथम खण्डमा पाँच, दोस्रो खण्डमा पाँच, तेस्रो खण्डमा अठार र अन्तिम चौथो खण्डमा एघार उप–शिर्षक आकर्षक तरिकाले राखिएका छन् । पुस्तक भित्र उद्दरण गरिएका स्रोतहरू र अन्तमा राखिएको सन्दर्भ सामग्री सूचीका कारण पुस्तक नियात्रा कृतिमात्र नभई अनुसन्धान पद्धतिका दृष्टिकोले एक वैज्ञानिक र सम्बन्धित क्षेत्रको सूचनामूलक तथा आधुनिक पुस्तकको रूपमा देखिन्छ ।


पुस्तकको पहिलो खण्डमा धवलागिरि परिक्रमा अर्थात ‘श्वेत पर्वत’ले साहसिक पदयात्रा, दोस्रो खण्ड देवचुलीले अति चर्चित अन्नपूर्ण आधार शिविर र त्यस वरपरको पर्यटकीय क्षेत्र र जनजीवन, तेस्रो खण्डले मुस्ताङमा त्यहाँ भएको घुमन्ते युगको मानव सभ्यता, धर्म, संस्कृति, रेसम मार्ग, कालीगण्डकी, कागवेनी, मुक्तिक्षेत्र र दामोदर कुण्डको धार्मिक र सांस्कृतिक महत्वबारे विस्तृत विवरणका साथ प्रस्तुत गरिएकाले पाठकलाई त्यसबारे थप जानकारी लिन कौतुहलता जगाएको छ । धर्मग्रन्थमा उल्लेख भएको र त्यहाँको वर्तमान अवस्थाको आधारमा कागबेनी र मुक्तिनाथलाई बोन, हिन्दु र बौद्ध धर्मको विश्वकै ठूलो तीर्थस्थल, मानव सभ्यताको विश्व विद्यालय नै भनिएको छ, जुन कुरा विश्व विद्यालयका अनुसन्धानकर्ता, विकासविद्, पुरातत्वविद् र सरकार सबैकोलागि शिक्षा तथा चुनौति पनि हो । त्यसरी नै चौथो खण्ड मनाङ, तिलिचो, थोराङ् ला पदमार्गका साथै त्यसको विकट उत्तर उपत्यकामा रहेका नदीनाला, ताल–तलैया, हिमालका भित्री उपत्यका, सहायक हिमालय, प्रकृतिपूजा र हिमालय भित्रका उपत्यकाको जनजीवन र संस्कार बारे चर्चा गरिएको छ ।
पाठकलाई पुस्तकको पहिलो सबै खण्डको संक्षिप्त परिचय, पदमार्गमा परेका जिल्लाको तालिका, पदमार्ग नक्सा र खण्डगत आधारमा रङ्गिन तस्वीर राखिएको हुनाले छ, जस्ले नियात्रा साहित्यमा नयाँ आयाम थपेको प्रष्ट अनुभव गर्न पुस्तकले बाध्य पार्छ । पदयात्रामा परेको क्षेत्रको इतिहास, भुगोल, धर्म, संस्कृति, जन्मदेखि मृत्युसम्मको संस्कार, हिमाली जीवनको सुख र दुःख, वैदिक, बोन र बौद्ध धर्म शास्त्रमा त्यस क्षेत्रबारे उल्लेख गरिएको विवरण राख्दै त्यस क्षेत्रको ऐतिहासिक र धार्मिक महत्ववारे प्रकाश पािरएको छ । यस नियात्रा कृतिमा विदेशी लेखकले लेखेको विषयलाई तुलना गर्दै नेपाली संस्कृतिलाई ‘विदेशी संस्कृति जस्तो’ भनेको विषयलाई तर्क, अनुसन्धान, वस्तुगत आधार र नेपालको मानव सभ्यताको विकासकको आधारमा खण्डन समेत पराजुलीले ठाउँ–ठाँउमा गरेका छन् । विदेशी लेखकले नेपाललाई विश्वमा चिनाएको स्वीकार्दै उनीहरूले नेपाली परम्परालाई विदेशी संस्कृति, विदेशी जाति भनेकोलाई तर्क र प्रमाण एवम् नागरिकले गरेको अध्यासको आधारमा खण्डन गरेका छन् जस्ते गर्दा नेपालको इतिहासलाई बुद्धको जन्मभन्दा पहिलेको अर्थात दस हजार वर्ष पहिलेको मानव सभ्यताको विकासको इतिहासलाई जोडन उनले सम्बन्धित निकायलाई घचघचाएका छन् । चाहे ल्होमान्थाङ, यारा, ताङ्ग्या, नार, पूm वा मुदी किन नहुन् समग्रमा उनले वैदिक गन्थहरूमा देवताहरूको वासस्थान भनेर उल्लेख भएको क्षेत्र अन्यत्र कतै नभइकन नेपाल नै हो भन्ने कुरा ‘श्वेत पर्वत’मा ठाउँ–ठाउँमा तर्क, स्रोत सहित उल्लेख गरेका छन् । उनी मानव सभ्यताको खोजीलाई नजिकबाट नियाल्न अति विकट गाउँ चहार्न भ्याएका छन् । र त्यहाँ देखेको, अनुभव गरेको कुरालाई सन्दर्भ सहित सरल ढङ्गबाट पस्केका छन् ।


पुस्तकमा प्रयोग गरिएको भाषाः
समष्टिगतरूपमै हेर्ने हो भने पुस्तकमा प्रयोग गएिको भाषा सरल, मीठो छ । वर्णनको शैली पनि जिवन्त छ । यसभन्दा पहिलेका दुई पुस्तकमा जस्तै यस पुस्तकको विषयसूचीका चारै खण्डमामा रहेका उप–शिर्षक र ती शिर्षक अन्तरगत प्रयोग गरिएको भाषा अत्यन्तै आकर्षक, सरल, मिठासपूर्ण छ । सामान्य बोलिचालीको भाषालाई लेखकले अँगालेका छन् । नियात्राकार पराजुलीले यात्राको क्रममा देखिएका त्यस क्षेत्रमा अभ्यासमा रहेका धर्म, संस्कृति, जनजीवन, इतिहासबारे वर्णन गर्छन् तापनि उनले यात्राकोक्रम टुटाउँदैनन्, सूचना पस्कँदै पाठकलाई पुनः यात्रामा डो¥याउन उनी खप्पिस देखिन्छन् । त्यो उनको विशेषता हो । मस्र्याङ्दी नदी सलल बगेझैँ उनको प्रस्तुतीमा भाषा पनि अत्यन्त सरल तरिकाले मिठासपूर्वक सलल बगेको पाइन्छ ।
उनको प्रस्तुतिमा धर्म र संस्कृतिको मात्र कुरा छैन त्यहाँ साहित्यिक रस पनि उत्तिकै देखिन्छ । साहित्यिक पहिचान निम्न वाक्यले प्रस्ट पार्दछन्ः ‘खोप्रा डाँडादेखि मुनिको कालीगण्डकीको उपत्यकालाई सेतो कुहिरोले ढपक्क ढाकेको थियो । हामी बादलभन्दा धेरै माथि थियौँ । त्यो सेतो कुहिरोको समुद्रबाट उठेर पहेँलपुर बनेको धवलागिरिले अन्नपूर्णलाई भर्खरै बैँसमा प्रवेश गरेका युवतीहरू ‘तिमीभन्दा म राम्री भन्दै’ जिस्किएझैँ जिस्किएका जस्ता देखिन्थ्यो ।’ (पृ.७०) । ‘……फुस्रो पहाडको पृष्ठभूमिमा देखिने विलक्षण सेता हिमचुचुरा र चम्किलो गाढा निलो अकाशको दृश्य साँच्चिकै अभूतपूर्व देखिन्छ । अप्सराको सौन्दर्यबाट ऋषिको ध्यान आकृष्ट भएझैँ प्रकृतिका सिर्जना ती दृश्यले मानव मनलाई वशीभूत नै पार्छन् । (पृ. १०५) । भाषामा स्थानीय शब्द प्रयोग हुनुका साथै सलल बगेको हुनाले भाषागत हिसावमा पनि पुस्तकको उपस्थिति दह्रो छ । नियात्रा लेखन नेपाली भाषाको एक दरिलो साहित्यिक पक्ष भएकाले लेखकले यस विधामा ठूलो योगदान पु¥याएकाछन् भन्न सक्ने ठाउँ ‘श्वेत पर्वत’ले सुरक्षित राखेको छ ।


पुस्तकका विशेषता, उपयोगिता र सवल पक्षः
नेपालको उच्च हिमाली क्षेत्रको पदयात्रा सम्पन्न गर्नुका साथै तिब्बतको मानसरोवर तथा कैलाश पर्वत परिक्रमा गरेका पराजुलीको तेस्रो नियात्रा कृति ‘श्वेत पर्वत’ नेपालका भुगोलविद, इतिहासकार, योजनाविद् समाजशास्त्री, मानवशास्त्री, लोकसाहित्य प्रेमी, संस्कृतिविद, अन्वेषक तथा साहसिक पर्यटनमा रुची राख्ने पदयात्री लागि उत्तिकै उपयोगी छ । खण्डको प्रारम्भमा राखिएका अति नै उपयोगी र आकर्षक तस्वीर, पदमार्ग नक्सा, प्रत्येक खण्डको साराम्स र तथ्याङ्कले पुस्तकको गरिमालाई उच्च पार्नुका साथै नियात्रा लेखनमा साहित्यका अतिरिक्त नयाँ प्रस्तुतिको प्रयास सहृ्राहनीय देखिन्छ । पुस्तक यात्रा, धर्म, संस्कृति, जनजीवन, भौगोलिक र प्राकृतिक आदि विभिन्न कोणबाट थप उपयोगी बनेको छ । प्रस्तुत पुस्तकमा धवलागिरि, अन्नपूर्ण, मनाङ्, मुस्ताङ क्षेत्रमा रहेका मुख्य हिमालय, मनाङ र मुस्ताङ्भन्दा उत्तरमा रहेका सहायक हिमालय शृङ्खला, तीनको उचाइ, त्यसवरपर रहेका अति प्राचीनकालिन गाउँ र जनजीवन आदिबारे बृहत जानकारी दिइएको हुनाले प्रस्तुत पुस्तक नेपालको यस क्षेत्रको आधिकारिक दिग्दर्शन हो भन्दा पनि बढि हुने छैन ।
पराजुलीले पुस्तकमा आफ्नो धारणा मात्र प्रस्तुत नराखि विदेशी विद्धानहरूले नेपालको हिमाली क्षेत्र, जनजीवन र हिमचुचुराको विषयमा व्यक्त गरेका विचारहरू पनि राखेकाले पुस्तक थप पठनीय र विश्वासिलो भएको छ । त्यस्ता विदेशीमा आर्मिङ्टन, बनर्जी, क्यामरोन, हेगन, हरजोग, पिसेल, टुची, भोन फुरर, स्नेलग्रोभ आदिको सन्दर्भ उल्लेख गरिएको छ । त्यसरीनै वैदिक ग्रन्थहरूमा महाभारत, रामायण, पुराणहरू र तीसँग सम्बन्धित नेपाली लेखकले लेखेका थुप्रै ग्रन्थको सन्दर्भ उनले उल्लेख गरेका छन् । विदेशी लेखकले नेपालबारे लेखेका कतिपय विषय सही नभएको बारे उनले तथ्य सहित फरकमत राखेका छन् । पराजुलीले धवलागिरि हिमाल (पृ. १५–३८) दामोदर हिमाल (पृ.१८७–१९३), अन्नपूर्ण हिमाल, मनाङ हिमालका साथै त्यस क्षेत्रका भौगोलिक, अध्यात्मिक, जनजीवन, परम्परा, संस्कार र संस्कृतिलाई पाठकसमक्ष पस्केका छन् । यात्राको वर्णन गर्ने सन्दर्भमा विज्ञानले गरेको प्रगति र हाम्रो क्षेत्र, त्यस क्षेत्रमा भएको वैदिक संस्कृति, प्रकृतिपूजा, बोन र बौद्ध धर्म र परम्परा गुफाहरूमा भएको मानव सभ्यता, प्रकृति, खनिजवारे ठाउँ अनुसार स्रोत र सन्दर्भ पारेर व्यवस्थित चर्चा गर्दै केलाएर राखिएको छ । नेपालीहरूको पवित्र तीर्थस्थल कागबेनीलाई गयाभन्दा पनि महत्वपूर्ण पितृतर्पण दिने स्थल भएको भनि व्याख्या गरेर नेपाली राष्ट्रियतालाई माथि उठाउने सफल प्रयत्न गरिएको छ । (पृ. १०५–११६) ।


विश्वका सम्पूर्ण हिन्दु धर्मावलम्बिहरू विशेषत वैष्णव सम्प्रदायको मुटुमा रहेको मुक्तिनाथधाम (पृ.११७–१२५), दामोदर कुण्ड (पृ.१९५–२०३), शालीग्राम आदिको वैज्ञानिक, धार्मिक, भौगोलिक र प्राकृतिक कोणबाट व्याख्या गरिएको हुनाले नेपाली राष्ट्रियतालाई माथि उठाउने दृष्टिकोणले पनि अति पवित्र व्याख्या गरिएको छ । नेपाललाई सफलरूपमा चिनाउने स्कन्दपुराण, हिमवत्खण्ड र अन्य धार्मिक स्रोतहरू जस्तै विष्णुपुराण, वराहपुराण, महाभारत, रामायणमा उठाइएका हिमलयमा हुने देवताहरूको वासको प्रसङ्गलाई ठाउँ–ठाँउमा सन्दर्भ मिलाएर राखेको हुनाले पुस्तक धार्मिक तीर्थयात्रीलाई पनि उत्तिकै उपयोगी हुने देखिन्छ । मुक्तिक्षेत्र र कालीगण्डकीको सौन्दर्यको वर्णन गरेर पश्चिमा विद्धानहरू पनि नथाकेको प्रसङ्ग लेखकले औँल्याएका छन् । (पृ.१३०) । दामोदर कुण्ड प्रकृति धर्म र संस्कृतिको त्रिवेणी (पृ. १९४–२०२) रहेको कुरालाई उजागर गरिएको छ ।
मानब सभ्यताको अध्ययन अध्यापनमा संलग्न शिक्षक र अनुसन्धानकर्ताकोलागि पनि पुस्तक एक सफल मार्ग प्रदर्शक बन्न सक्छ । मुस्ताङलाई लेखकले ‘मानव सभ्यताको अग्रणी’ (पृ.१५१–१५७) मान्दै यसलाई मानव सभ्यताको केन्दको रुपमा रहेको कुरा स्वकारेकाछन् । मुस्ताङको फुस्रो भूबनोटमात्र होइन यस क्षेत्रमा रहेको हजारौँ वर्ष पुराना गुफा, घुमन्ते पशुपालनको चलन, कृषि र व्यापरको कारण मानव सभ्यताको अध्ययन को केन्द्र हो भनेर त्यसबारे अध्ययन गर्न लेखकले विज्ञलाई आव्हान गरेका छन् । पराजुलीले विदेशीले ‘माथिल्लो मुस्ताङका गाउँलाई मध्ययुगीन शहर’ मानेको कुरा पनि उल्लेख गर्न विर्सेका छैनन् । यसरी पुस्तकलाई सरसर्ती अध्ययन गर्दा यो पुस्तक युवा, अन्वेषक, तीर्थयात्री, विकासविद, प्रकृतिप्रेमी, मानवशास्त्री सबैकोलागि उपयोगी, सङ्ग्रहनीय र पठनीय बन्न पुगेको छ । नेपाललाई गहिराईमा पुगेर बुझ्न युवाले त यो पुस्तक पढनै पर्छ, र गण्डकी प्रदेशले यसलाई सन्दर्भग्रन्थको रुपमा राख्नु पर्छ । किनभने लेखकले त्यो क्षेत्र नै खुला विश्वविद्यालय हो भनेर सोही रुपमा लिन ठाउँ–ठाउँमा आग्रह गरेका छन् ।


अर्को तर्फ पदयात्राको कोणबाट हेर्दा उच्च हिमाली क्षेत्रमा गरिने साहसिक पदयात्रा, त्यहाँ पदयात्रा गर्दा हुन सक्ने उचाइको विमार, त्यसबाट जोगिन गर्नुपर्ने उपाय, हिमालको सौन्दर्यका साथै खतराको बारेमा सजिव वर्णन, चित्रण र प्रस्तुतिले त्यस्ता पदयात्रीका लागि पुस्तक उपयोगी देखिन्छ । पराजुलीको हिमालप्रतिको लगाव, देश प्रेम, यात्रामा रमाउँने उनको स्वभावले नेपालको प्राकृतिक सौन्दर्यलाई हेर्ने उनको दृष्टिकोण पनि हिमालजस्तै सफा देखिन्छ । उनले बारम्बार देवता वस्ने देश नै नेपाल हो भने नेपालीले नेपाल किन नघुम्ने भन्दै नेपाल घुम्न पुस्तकमा युवालाई प्रेरित गरेकाछन् ।


पुस्तकमा उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने मुख्य जाति मगर (पृ.३७–४६), थकाली (पृ.२१६–२२४) र गुरूङ (पृ.३१६–३२४) को बारेमा छुट्टै जानकारी दिएको हुनाले समाजशास्त्रीको लागि हिमाली क्षेत्रको जनजीवन र परम्परा बारे थप खुराक यसमा उपलब्ध छ ।


आजको भूमण्डलीकृत विश्वमा पुस्तकको उपादेयताः
आजको भूमण्डलीकरणको युगमा देशभित्रका कुराभन्दा देश बाहिरका कुरा बढि पढ्ने पढाउने सरकारी प्रयास भएको वर्तमान परिप्रेक्षमा यस पुस्तकमा वर्णित हिमाली क्षेत्रले अवश्य पनि एकपटक भए पनि ध्यान आकर्षण गर्न सफल हुने छ । किनभने यसमा यथार्थ छ कल्पना छैन । ‘श्वेत पर्वत’ पढने नेपाली पाठकलाई नेपालबारे गहिरो चिन्तन गर्न बाध्य पार्ने शक्ति छ । छुट्टी मनाउन, पितृ उद्धार गर्न र यस जीवन पछि अर्को जीवन सुखपूर्वक विताउने लालसा र विश्वास गर्ने नेपालीलाई पनि यस पुस्तकले ऋषिमुनिले स्वर्ग भनेको हिमाली क्षेत्रमा जान, घुम्न प्रेरणा दिने र रहर जगाई दिने छ । वर्तमान संघीय संरचना अन्तरगतको गण्डकी प्रदेशले यी हिमाली क्षेत्र सम्बन्धी विशेष नीति, योजना र कार्यक्रम तर्जुमा गरेर यस क्षेत्रमा स्वदेशी विदेशी पर्यटनकालगि थप ढोका खोली दिनु पर्ने आवश्यकता छदैछ । समग्रमा पदयात्रा मार्गमा रहेका क्षेत्र धवलागिरि, अन्नपूर्ण, मुस्ताङ र मनाङ क्षेत्रकालागि त यो पुस्तक एक दिग्दर्शननै हो, यो पठनीयमात्र होइन सङ्ग्रहनीय पनि छ ।
पुस्तकको कमजोरी पक्ष ः
मुख पृष्ठ आकर्षक र सूचनामूलक छ । भुँडीपुराणले प्रकाशन गरेको यो पुस्तक कति प्रति छापिएको उल्लेख गरिएको छैन । विषय सूचिमा दिइए अनुसार एक पृष्ठ मेल खाएको छैन । एक पृष्ठ गडबड भएको छ जस्तै– जुनकिरीसँगै मुदी गाउँको रात पृष्ठ ५ भनिए पनि पृष्ठ ४ मा रहेको छ । पृष्ठ ३२६ मा सन्दर्भ सामग्री सूची दिइएको छ । तर भित्री पृष्ठहरूमा उल्लेख गरिएका केही पुस्तकको विवरण सन्दर्भ सूचीमा परेका छैनन् । ती छुट्न हुदैन्थ्यो, यसमा लेखको ध्यान जान आवश्यक छ । भाषा सम्पादनमा अझै ध्यान पु¥याउन जरूरी छ । मानव सभ्यताको प्रसङ्गमा पुनरावृत्ति देखिए तापनि तर्क र स्रोतसँग जोडिएकाले पढ्दा त्यस्तो भान हुँदैन । दोस्रो संस्करण प्रकाशन गर्दा ती प्राविधिक भुललाई सुधार्नु पर्ने देखिन्छ ।


निचोडः

अन्तमा, पदयात्रा गरेर त्यसक्षेत्रको नालीबेली उल्लेख गरी एक विश्वसनीय, भरपर्दो, अनुसन्धानमा आधारित ग्रन्थ आम नेपाली पाठकलाई दिन सफल भएकोमा लेखक बधाइका पात्र बनेका छन् । उनी सफल नियात्राकार मात्र नभइ नेपालबारे जानकारी दिने एक कुशल र आधिकारिक लेखक बन्न पुगेका छन् । आगामी दिनमा यस्तै गहन पुस्तक अध्ययन गर्ने मौका पाठकले पाउन् भन्दै डा. माधव प्रसाद पोखरेलले यसै पुस्तकमा लेखेको भूमिकाको सानो अंश राख्दै विदा हुन्छु – “नेपालको शिक्षा मन्त्रालयले स्वदेश पढाउँदैन, विदेश पढाउँछ । यस समस्याले गर्दा नेपालका हिमालहरूका बारेमा जति विदेशीलाई थाह छ त्यसको एक प्रतिशत जानकारी पनि नेपाली विद्धान्लाई हुँदैन । पराजुलीको नियात्रा पढ्दा आफ्नो हिमालबारे म पिएचडी गरेको डाक्टर र अनुभवी प्राध्यापक भए पनि मेरो पढाइले हिमालबारे मेरो सामान्य ज्ञान पहिलो कक्षा उत्तीर्ण पनि हुन नसक्ने शून्यप्राय भएको थकथकी मलाई जस्तै पढ्ने जुनसुकै सह्रदयी पाठकलाई हुनु पर्ने हो जस्तो लाग्छ । …कसरी पो शिक्षा मन्त्री, पाठ्यक्रम विकास केन्द्र, देशका विश्व विद्यायलय र शिक्षा मन्त्रालयका घैँटामा घाम लगाएर यो र यस्ता किताब नेपालका पाठ्यपुस्तक र पाठ्यवस्तु बन्ने दिन आउला !” –समाप्त –

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s