पानी घट्ट

प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित समकालिन साहित्य, त्रैमासिक पत्रिकाको २०७६ भदौ–कात्तिक, अंक ८९ मा प्रकाशित ।
पानी घट्ट


विष्णुप्रसाद शर्मा पराजुली


पर्वतको बिहादीदेखि लुरिङकोट जाने बाटोमा पूर्णगाम भन्ने सानो गाउँ छ । चारैतिरको दृश्य छर्लङ्ग देखिने भएकाले प्राकृतिक सुन्दरता भने भकारीभरि टम्म रहेको छ–पूर्णगाममा । समुद्र सतहदेखि एक हजार सात सय मिटरको उचाईमा रहेको यो गाउँबाट दक्षिणमा पाल्पादेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी र उत्तरमा धवलागिरिदेखि अन्नपूर्ण हिमालयसम्मको लामो पर्वतमाला देखिन्छ । जडिबुटी, घाँसपात, कोदो, मकै, फापर र आलुमा उत्तिकै धनी छ । तर, खानेपानीको सहज रूपमा उपलब्ध नहुनु त्यहाँका महिलाको कष्ट बनेको छ ।
आजभन्दा चालीस वर्ष अघिसम्म बिहादीमा परिवार नियोजन भन्ने कुरा थाहै थिएन । सहरबजारतिर बसेको कसैले परिवार नियोजन गरी गाउँमा आएको थाहा पाए भने उसले छोएको पानी पिउँदैनथे, गाउँलेले । भगवानको कृपा भन्दै महिलाले गर्भधारण गर्न सक्ने उमेरसम्म छोराछोरी जन्माउँथे । कती बच्चालाई आमाले घाँसको भारीसँगै जन्माउँथे भने कति आमाहरू घाँस काट्दाकाट्दै बच्चा जन्माउन नसकेर मर्थे । केही सन्तान भगवान्को प्यारो भएर जान्थे भने केही आमाबाबुको काखमा हुर्केर बुढेसकालको लौरो बन्थे । झब्रीखोलाको पानी घट्टझैँ गाउँले जीवन कष्टसाथ घुमिरहन्थ्यो–निरन्तर । पानी सुक्दा घट्ट रोकिएझैँ मृत्युनै चम्परानको दिन हुन्थ्यो । भगवान्ले त्यस्तै न्याय गरेका थिए, बुढाबुढीले त्यही भन्थे ।
धेरै छोरा पाउने आमाबाबुलाई भाग्यमानी भन्थे । गाउँमा कहलिएका केहि धनी मानिसले दुई–तीनवटासम्म श्रीमती बिहे गरेर भित्र्याउँथे । पराइघर गएर ढिँकी–जाँतो, दैलो–पोतो, घाँस–दाउरा, र लाला–बाला जन्माउँदै जीवन बिताउने हुँदा छोरीलाई स्कुल किन पठाउने भन्ने मान्यताले जितेको थियो । त्यसो भन्ने बढी फेरि आमा नै हुन्थे । ‘आमा भएर आमाले पाएको दुःख छोरीले खेप्न नपरोस्’ भन्ने चेत आमाको मनमा उब्जेको थिएन । आज पनि छैन धेरै आमामा । थियो त मात्र ढिँकी–जाँतो, वनपात र सन्तान जन्माउने खुबी ।
सन्तान धेरै भएकै कारणले बिहादी छर्छरेका रत्नाकर पराजुली आफ्नो अंश दाजुलाई बेचेर पूर्णगाम लेकमा बसाइँ सरे । लेकबाट बेँसी झर्नुपर्नेमा उनी बेँसीबाट लेकतिर चढेका थिए, चाकल माडेर दुध, दही, महि र घिउ मज्जाले खाने लोभले । अल्छी नगरी काम गर्ने, गोरस मज्जाले खाने भन्ने सिद्धान्तका थिए रत्नाकर । लेकमा बारी र घाँसको दुःख नहुने भएकैले उनी लेकतिर लागेका थिए ।
पूर्णगाम लुरिङकोटको मगर गाउँभन्दा केहि तल पर्छ । रत्नाकरका बाबुले एउटी ब्राह्मणकन्यालाई बिहे नगरी ल्याएकाले उनी ल्याइते भइन् । ल्याइतेबाट जन्मेका सन्तान एक खुड्किलो तर झर्ने चलन थियो । तिनै ल्याइतेबाट जन्मेका रत्नाकर जैसी भए । रत्नाकरका बाबुले बिहे गरेर ल्याएकी आमातिरका दाजुभाइ भने उपाध्याय नै भए ।
आमा प्रमुख भएर खेतिपाती, पशुपालन, गाउँ र परिवार सुरक्षाको खटनपटन गर्ने हजारौँ वर्ष पुरानो व्यवस्थामा सबै समान हुन्थे । पुरुषको हैकम, जातपात र भेदभाव बढ्यो, महिलालाई दासी र यौनतृष्णा मेटाउने साधनको रूपमा हेरिन थाल्यो । त्यसपछि स्वर्गजस्तो त्यो समाज नर्कमा परिणत भयो । पुरुषकै बोलवाला भएको समयमा पुराण, उपनिषद्, श्रुति, स्मृतिहरूको विकास भयो र तिनमा दबाउने संहिताबाहेक महिलाको भूमिकाबारे उच्चारण गर्न नै खोजिएन । पत्नीले पतिलाई देवताको रूपमा पूज्नुपर्ने संहिता बनाइयो । नेपालको पहाड तथा तराईमा रहेका क्षेत्री र बाहुन जातिमा नारीलाई दमन गर्ने परिपाटी अन्य जातिमा भन्दा आजका दिनसम्म पनि अचाक्ली नै बढी छ ।
तीस–बत्तीस सालतिरको कुरा हो रत्नाकर लेकतिर लाग्दा चकौदे, ठौवा, वाहाकीतिरका एक–दुई परिवार ‘मधेस गए ‘रे’ भन्ने सुनिन्थ्यो । कोही गएको एक सातामा नै ‘सर्पले डसेर म¥यो ‘रे’ भन्ने खबर पनि आइहाल्थ्यो । त्यसैले त्यसबेला मधेस झर्नेलाई ‘काल खोज्न गएको भन्थे’ गाउँलेले । त्यसबेला मधेस झरेर उतै बसोबास गर्ने परिवारका सन्तान अहिले अर्बपति बनेका छन् ।
रत्नाकरमा त्यस्तो कुनै चाहना थिएन । रत्नाकरले पुर्खाले आर्जेको क्षेत्रमा ‘सन्तानले कमसेकम आटो–पिठो र दुध–दही–मही–घ्यू छ्यालब्याल हुने गरी खान पाऊन्’ भन्ने सोचाइ राखेर समथर फाँट, भरिभराउ गाउँ, दाजुभाइ, इष्टमित्र सबैलाई छोडेर पूर्णगाम वनको नजिक धेरै बारी र खरबारी किनेर साँच्चिकै किसान भएर बस्न थाले । उनको गोठमा चारवटा लैना भैँसी र ठूल्ठूला जुरा भएका हल गोरु र एक खोर बाख्रा उनी बाँचुञ्जेल कहिल्यै टुटेनन् । खोरमा नै घुसेर चितुवाले पाठापाठी खाइदिँदा पनि उनले बाख्रा पाल्न छोडेनन् । उनका चार भाइ छोरा र दुई छोरी भए । माहिलो राधाकृष्णले बाहेक अरूले एस.एल.सी. पास गरेनन् ।
जेठो छोरा मद्रासमा धेरै वर्ष चौकीदारीको काम गरेर गैँडाकोटमा एक कठ्ठा जमिन लिएर त्यसमै छाप्रो बनाएर बसे । पूर्णगामको अंश माहिलो भाइलाई नै राजिनामा गरिदिए । कुल पूजामा बाहेक अरू समय गाउँ फर्केनन् । पढेलेखेको राधाकृष्णले प्राथमिक विद्यालयमा स्थायी जागिर पाए । त्यही जागिरले गर्दा बाबुले आर्जेको पूर्णगामको बारी र खरबारीको रेखदेख गर्नुपर्ने अवस्था सिर्जना भयो ।
समयले कहाँदेखि कस्तो फड्को मार्छ भन्ने कुरा लेकमा बसेर बादलको भुल्को हेरेर रमाउँदै घाँस काट्ने र पानी घट्टझैँ अठार–बीस घण्टा वनपाखामा फहरिने किसानलाई के थाहा ? पहाड कुरेका शिक्षित शिक्षक उनी नै अरू अनपढ दाइ र भाइभन्दा कमजोर भए आर्थिक अवस्थामा । पूर्णगामको उनको पचास रोपनी बारी बिक्री गर्दा गैँडाकोटमा उनले एक कठ्ठा जमिन किन्न नसक्ने भए ।
सुजाताको बिहे पन्ध्र वर्षको उमेरमा राधाकृष्णसँग भयो । उनको माइतीनजिकै स्कुल भएर पनि छोरी भएकै कारण उनले पढ्न पाइनन् । सुजाताको भाइ भने स्कुल जान्थ्यो । उसले पढेको सुनेर क, ख चिनेकी थिइन् । बाख्रा हेर्न वन जाँदा, घाँसपात गर्दा, पानी लिन पधेँरा जाँदा एकदेखि सयसम्म गन्न जान्ने भएकी थिइन् । उनी दुलही भएर पूर्णगाममा रत्नाकरको माहिली बुहारी भएर घर भित्र छिर्दा त्यो घर साँच्चिकै रमाइलो थियो । गोठभरि मोटाघाटा भैँसी, एक हल गोरु र एक खोर बाख्रा थिए । ठूलो परिवार, घर रमाइलो थियो । परिवारका सानाठूला सबै सदस्यले केहि–न–केहि काम गरेकै हुन्थे । हात बाँधेर बस्ने फुर्सद कसैलाई थिएन । सुजाता घर भित्रिएको एक महिनामा नै त्यो घरको उठबस सिकिन् । माईतमा आमाले सिकाएका कुरालाई सम्झँदै व्यवहारमा उतार्न थालिन् ।
सुजाता भित्रिएको बेला रत्नाकरको जेठो छोरा र ठूली छोरीको बिहे भइसकेको थियो भने दुई छोरा र कान्छी छोरीको बिहे भएको थिएन । रत्नाकर बलिया थिए । सुजाताकी सासूले भातभान्सा गरे पनि खोकिरहन्थिन् । खोकी लागे पनि ससुराले नदेख्ने गरी कटुसको पातमा सुकेको काँचोपात बेरेर बिँडी तान्थिन् । त्यो बानी थाहा पाए पनि रत्नाकरले केहि भन्दैनथे ।
समयले भ्याएसम्म र शरीरले थेगेसम्म काम गर्न थालिन् सुजाताले । बिहान चार बजे ससुरा उठ्थे । त्योभन्दा पहिले लोटामा पानी लिएर सुजाता दिसा गर्न असुराको झाङतिर जान्थिन् । फर्केर हातमुख धोएपछि ससुराको लागि दिसा गर्न जाँदा लिएर जाने गोलो आकारको सानो बौना (लोटा)मा र फर्केपछि हातमुख धुन अम्खोरामा पानी राखिदिन्थिन् । मुख धोए पछि रत्नाकर भकारो सोहर्न गोठतिर जान्थे । सुजाताले अँगेनोमा आगो फुकेर अँगेनो अनि दैलो लिप्थिन् । आँगनवरपर कुचो लगाएपछि डोकोमा गाउरी (गाग्रो) हालेर पानी लिन जान्थिन् जुन एक घण्टा टाढा थियो । रत्नाकरले घरका सबै जना गाग्रो लिएर नुहाउन पधेँरा जान र फर्कँदा पानी लिएर आउने व्यबस्था मिलाएका थिए । भैँसी र गोरुको लागि पोखरीमा जम्मा भएको पानी खान दिइन्थ्यो । बर्खाको बेला भने बलेनीको पानी सँगेल्थे ।
‘भैँसी दुहुने बेला भएन ?’ अँगेनामा धुँवामा रुमल्लिँदै बुढीले सोध्थिन् । रत्नाकर भने गोबर सोहोरेपछि भैँसीलाई कुँडो पकाउन, घाँस हालिदिन, दुहुने हरियोपरियो डाले घाँस खोज्न र भैँसी दुहुन व्यस्त हुन्थे । भैँसी दुहेपछि मात्र नुहाउँथे । उता सासूले आगो फुकेर दुध तताउँथिन । कहिले बिहानको धन्दा सकेपछि चिनी र चियापत्ती भएको बेला दुध चिया नभए एक–एक मुठी तातो दुध सबैले खान्थे ।
‘दुलही पानी लिएर आएकी हौ ? लौ, अलिकता मकै र एक मुठी तातो दुध खाएर घाँस काट्न जाऊ । आज ठूलो पाटोमा कोदो रोप्ने हो । त्यतैको घाँस काटेर ल्याउनु, कोदो रोप्न सजिलो हुन्छ । बेलुका फर्कँदा सबैले त्यतैबाट घाँस ल्याउनु । पहाडको जीवन ! के गछ्र्यौ ? हामी आईमाईको जीवन त तल झब्री खोलाको पानी घट्टजस्तै हो बाबै । सास रहेसम्म घोटिईरहनु पर्छ’ सासूले भन्थिन् ।
अँगेनावरपर बसेर सबैले एक–एक मुठी तातो दुध खाएर आ–आफ्ना काममा हिँड्थे । बिहान ढिलो भएको दिन सुजाताले अघिल्लो दिन बेलुकीको हाँडीमा भुटेका मकै पटुकाभित्र राखेर घाँस काट्न जान्थिन् । घाँस काट्दै, चरीसँगै गीत गुन्गुनाउँदै, मकै टोक्दै गर्दा डोको भरिएको चालै पाइँदैन्थ्यो । घाँस काट्न भने टाढा जान पर्दैनथ्यो ।
घाँस काटेर फर्केपछि खाना खानेबेला हुन्थ्यो । मौसमअनुसार मकैको आटो, कोदो वा फापरको ढिँडो, दाल, तरकारी, दही, मोही र दुध मुख्य खाना हुन्थ्यो । खाना खाएर भाँडा माझेपछि वर्षाको समयमा कोदो रोप्ने मुख्य काम हुन्थ्यो । मेलाबाट फर्केपछि एक खेप पानी लिएर फर्कँदा बेलुका झमक्क साँझ परेको हुन्थ्यो । त्यसपछि कुटन–पिसनको काम हुन्थ्यो । बेलुकामा कि त कोदोको गिलो रोटी कि भुटेको मकै पाक्थ्यो । तरकारी त्यति पाक्दैनथ्यो बेलुकामा । रोटी पकाउँदा खुर्सानी, नुन र घिउ हालेर भुटेको छोप हुन्थ्यो भने मोही दुध हुन्थ्यो नै । ससुरा, सासू, लोग्ने, देवर र नन्दले खाएपछि बल्ल सुजाताको खाने पालो आउँथ्यो । खाएर भाँडा माझ्दा जहिलेसुकै रातको दस–एघार बज्थ्यो ।
सासूको खुट्टा मिचिदिएपछि ‘दुलही जा सुत् थाकिस् होला । बिहान चाँडै उठ्नुपर्छ ।’ भनेपछि मात्र सुत्ने कोठीतिर जान्थिन् सुजाता ।
बिहे गरेर लोग्नेको घर गएपछि दैनिक सत्र–अठार घण्टा खट्थिन सुजाता । गाउँमा त्यति काम सबै बुहारीले गर्नैपथ्र्यो । त्यति गर्दा पनि सासूले जस नदिने, लोग्नेले कुट्ने–कोपर्ने र भोकभोकै सुत्नुपर्ने पनि हुन्थ्यो कति बुहारीलाई । सत्र–अठार घण्टा घाँस–दाउरा, मेलापात, जुठो–चौको गरेर फहरिन परे तापनि सुजाताले भने त्यस्तो भोग्नुपरेको थिएन ।
लोग्ने सुतेको कोठीमा पुगेपछि बल्ल सुजाताले विश्रामको लामो सास तान्थिन् । बिहान चार बजेदेखि भिरेका बुलुस र फरिया कति पटक पसिना र पानीले भिज्दै सुक्दै गरेका हुन्थे । ती कपडा फुकाल्थिन् । ओभानो पेटीकोट र ब्लाउज फेरेर लोग्नेका खुट्टा मिच्न थाल्थिन् । शरीर थकाइले लोत परेको हुन्थ्यो । कहिलेकाहीँ त लोग्नेको खुट्टा मिच्दामिच्दै उनी भुइँमा निदाउँथिन् । कहिलेकाहीँ भने राधाकृष्णको चाहनाअनुरूप उनको यौनतृष्णा पूरा गर्न साथ दिन्थिन् । थकित सुजातामा पनि यौनचाहना नहुने त कुरा भएन । तापनि लोग्नेको यौनचाहनामा सुजाता बाँधिन्थिन् । यौनेच्छामा राधाकृष्ण बढी नै थिए । सुजातालाई थकाइ लागेको होला, उनका पनि केहि चाहना हँुदा हुन्, उनको मनमा के–के कुरा तरङ्गित भएका होलान् भन्ने ख्याल राधाकृष्णले गर्दैनथे । उनको राम्रो पक्ष के भने स्कुल गएर फर्केपछि घरको धन्दामा सहयोग गर्थे । बस् !
भोलिपल्ट कुखुराको भालेको डाकोसँगै काम सुरु हुन्थ्यो । हिउँदको पुस र माघमा बाहेक अन्य समय कामको चटारो नै हुन्थ्यो । हिउँदमा खर काट्ने, दाउरा काट्ने र गुन्द्री बुन्ने काम हुन्थ्यो ।
रत्नाकरको घरमा खस्रोमिठो जे छ खान दुःख थिएन । लेकमा भए पनि पाहुना परिरहन्थे । खानको लागि लोभ गर्दैनथे । अरूका घरमा बुहारीले दुध–दही खान चाडबाड कुर्नुपथ्र्यो तर सुजाताको घरमा त्यस्तो थिएन । घरमा जे पाकेको छ त्यो सबैले खान पाउँथे । बुढा रत्नाकरले कहिलेकाहीँ हकार्दै भन्थे –‘काम गर्ने बुहारीलाई खान नमार है । जीउसित भएको बेला झन् दुध–घिउ नटुटाइदे ।’
त्यस्तै रीतले समय गुज्रँदै गयो । रत्नाकरले बाँकी दुई छोरा र एक छोरीको पनि बिहे गरिदिए । परिवार ठूलो हँुदै गएको थियो । रत्नाकर टाठै हुँदै साइँलो र कान्छो छुट्टिएर गुलरिया ससुरालीको नजिक गए । घर राम्रैसँग चलिरहेको थियो । सासूको दम बढेर दिनमा दुई–तीन पटक मूर्छा पर्थिन् । त्यसपछि भने सुजाताले भित्र पकाउने काम पनि गर्नुप¥यो ।
सुजाताले अठार–अठार महिनाको फरकमा तीन छोरा र दुई छोरी जन्माइन् । एउटा छोरो आठ महिना पालेपछि निमोनिया भएर बित्यो । छ महिनाको गर्भवती भएको बेला एकदिन सुजाता खाङ्ग्रे डोकाको घाँसको भारीसँगै चिप्लेर चार बल्ड््याङ खाइन् । कम्मर नराम्रोसँग बजारियो । त्यसबेला पन्ध्र दिनसम्म गर्भाशयबाट रगत बग्न रोकिएन । गर्भ खेर गयो तर रगत थामिएन । डोकोमा बोकाएर पाल्पाको मिसन अस्पताल लगेर उपचार गरेपछि उनी बाँचेकी हुन् । छैटौँ बच्चा पेटमा हँुदा लडेर रक्तस्राव भएपछि सुजाता कमजोर बन्न थालिन् । त्यो दिनदेखि थाहै नपाई उनलाई रोगले समातेछ ।
माघको महिना । लेकको गाउँ बिहान, बेलुका र राति निकै चिसो बढेको थियो । कालीपारका डाँडा, गोल्र्याङको जुरा तिर तीन दिनपहिले हिउँ परेपछि जाडो निकै बढेको थियो । रत्नाकरकी श्रीमतीको खोकी पनि बढ्दै गएर दममा परिणत भयो उनले भात पकाउन छोडेको दुई वर्ष भइसकेको थियो । त्यहाँ वरपर औषधीमुलो गर्ने कुनै ठाउँ थिएन । रत्नाकरले रानीपानीमा पुगेर औषधी ल्याएर खुवाउँथे । अलि राम्रो उपचार गर्न पाल्पा नै पुग्नुपथ्र्यो । भात पकाउँदा दिनमा कम्तिमा चार घण्टा धुवाँमा बस्दा गाउँका प्रायः सबै महिलालाई दम थियो । त्यसलाई सामान्य रूपमा नै लिइन्थ्यो । त्यसैले उनले पाल्पा लैजान त्यति जोड दिएनन् ।
चिसोको बेला दम झन् बढ्यो । सासू बिस्तारामा परेको दुई महिनाजति भएको थियो । सुजातालाई कामको भ्याइनभ्याई थियो । छोराछोरीको स्कुल, लोग्नेको स्कुल, घाँस, मेलापात जता हे¥यो उतै काम अलपत्र थियो । सुजाता आफू पनि हिजोजस्ती थिइनन् । पहिले जस्तो काम फाँड्न सक्दिनथिन् । हुन त छोराछोरीले हात नदिएका होइनन् । पहाडको जीवन नै त्यस्तै हो । के हिउँद, के बर्खा दिनभर नघोटिएसम्म जीवन चल्दैनथ्यो ।
लेकमा परेको हिउँ पग्लेको थिएन । हिउँ परेपछि चिसोले हातखुट्टा कक्क्रक्क हुन्थे । चिसोमा साठी वर्ष नाघेकालाई हिउँद काटिन्छ वा काटिँदैन भन्ने त्रास हुन्थ्यो । बिहादीतिरभन्दा पूर्णगाम लेकमा पर्ने भएकाले साह्रै चिसो थियो । तल घर छर्छरेमा दाइको घरमा न्यानो हुने भएकाले केहि दिन त्यतै लगेर राख्ने योजना रत्नाकरले गरेका थिए । छर्छरे लैजाने भनेको अघिल्लो रात उनलाई लहरे खोकी लाग्यो र कोखा दुख्न थाले, सास फेर्दा करङ सपक्क तलमाथि गरेको देखिन थाल्यो । आगोको रापमा हत्केला तताउँदै सुजाताले सासूको छाती सेक्दै थिइन् ।
त्यसै बेला उनले सुजातालाई बोलाइन् र भनिन्– ‘दुलही सास फेर्न गाह्रो भएको छ । म बाँच्दिन क्यार ? घाँसको भारीसँग लडेपछि तँलाई पनि रोगले भेटेको छ । छोराछोरीको छिटो बिहे गरिदिएस् । राधाकृष्ण नराम्रो त छैन तर तँलाई तल–बितल प¥यो भने त्यसले अर्को बिहे नगरी बस्न सक्दैन । मेरा नातिनातिनीले दुःख पाउलान्, ख्याल गरेस् । तँ जस्तो बुहारी पाउनु मेरो कमाइ हो । हिमाल हाँसेझै तँ हाँसेको हेर्न मन थियो । तँलाई हाँस्न लेखेको रहेनछ । दुःखी कर्म रहेछ, तेरो । म त, तेरो काखमा मर्न पाए मलाई अरू केहि चाहिँदैन । ’
सुजाता त्यो रात धेरै बेर रोइन् । आफू कमजोर भएकी थिइन् । सासूको त्यो अवस्था । केटाकेटी सान्सानै छन् । लोग्नेले फाँडेर कामको ताराबारा लाउन सक्दैनन् । ससुरा पनि बुढा हँुदैछन् । यस्तै कुरा सम्झँदा उनलाई पूर्णगामको पहाडले गर्लम्मै थिचेजस्तो लाग्यो । झब्री खोलाको पानी सुकेर एकाएक घट्ट ठप्प रोकिएझैँ लाग्यो । तर, आफैँलाई सम्हाल्दै काममा लागिन् । डोको–नाम्लो, खेतबारी गर्दा नै उनले आपूmलाई हलुङ्गो भएको ठान्थिन् र जीवनको घट्ट घुमाउथिन्–एक तमासले ।
सुजाता र रत्नाकर बिरामीसँगै बसेका थिए । राति दुई बजेतिर बीस मिनट बुढी निदाइन् । त्यसपछि फेरि लहरेखोकी लाग्यो । त्यो खोकीले आखिर उनलाई लगेर नै छोड्यो । सुजाता डाँको छोडेर रुन थालिन् । त्यही बेला राधाकृष्ण र केटाकेटी पनि उठे । सुजाताको जेठो छोरालाई छर्छरे पठाएर हजुरबालाई खबर गर्न पठाए । रुँदै सुजाताले तुलसीको मठवरपर लिपपोत गरेर चोखो पारिन् । बाबु–छोराले बुढीको लासलाई तुलसीको मठ नजिक लगेर राखे । एक दुई गर्दै छिमेकीहरू आए ।
गाउँबाट दाजुभाइ आएपछि मात्र लासलाई कालीगण्डकीको तीर पूर्तिघाट नजिकै तेलचाप्रे घाटमा लगेर दाहसंस्कार गरे । गाउँमा बुढो भइसक्दा पनि अर्को बिहे गर्ने बाटो राख्न लोग्ने मानिस श्रीमतीको मलाम जाँदैनन्, कपाल खौरँदैनन् र क्रिया पनि गर्दैनन् ।
अनौठो भयो । रत्नाकर घाट गए । उनले पनि कपाल खौरे । केहि मानिसले ‘किन त्यसो गरेको ?’ भन्दा उनले डटेर जवाफ दिए– ‘मृत्युपछि छोराले क्रिया बस्नु आमाबाबुको सम्मान र आदरको खातिर हो । पितृलाई स्वर्गको बास गराउने भन्ने कुरा परम्परा हो । तर, मृत्युपछि को कहाँ पुगे भन्ने कस्ले देख्छ र ? जीवन यहीँ नै हो । यहीँ जीवनमा राम्रो कुरा जे सकिन्छ त्यो गर्ने हो । पैतालीस वर्ष पहिले पाँच वर्षकी हुँदा त्यो हाम्रो घर भित्रिएकी हो । मेरो सारा संसारको सृष्टि र सृजना गर्ने त्यहीँ हो । त्यो मर्दा म मलाम नजानु, कपाल नखौरनु र कमसेकम छोराछोरी क्रिया बस्दा ठाडै क्रिया नगर्नु भनेको मैले मेरी श्रीमतीलाई अन्याय गर्नु हो ? घरको मुली मान्छे भनेको घरकी लक्ष्मी मेरी श्रीमती नै हुन्, त्यसैले मैले उनलाई हेला गर्नुहुँदैन । धर्मशास्त्रमा के लेखेको छ कुन्नि म त लेकाली किसान, मलाई थाहा छैन । मेरो मन पूर्णगामबाट देखिने सेतो हिमालजस्तै सफा छ । मेरो मनले जे देख्यो म त त्यहीँ गर्छु ।’
श्रीमती मर्दा घाट गएको, कपाल खौरेको र ठाडो क्रिया गरेको कुरा आगो सल्केझैँ चारैतिर फैलियो । उनले नारी सम्मान देखाएकामा गाउँका युवा तथा वृद्ध खुसी थिएनन् । तर, गाउँका महिलाबीच भने खुबै चर्चा भयो ।
‘रत्नाकर बाजेले बज्यैलाई पहिलेदेखि नै माया गर्ने हुन् नि दिदी ।’
‘दम देखिएपछि उनलाई मेलापात पर्म गर्न पनि पठाएनन् । घरको काममा मात्र लगाए ।’
‘बुहारी सुजाता आएपछि त झन् उनलाई सुख थियो । सारै लक्षिनकी रहिछ बुहारी त !’
‘कालको सामु कस्को के लाग्दो रहेछ र ?’ तेर दिनसम्म यस्ता कुरा मेलापात, पधेँर, खरबारी जताततै सुनियो ।
जेठो छोरा र बुहारी सातौँ दिनमा, साइँलो र कान्छोका परिवार तेस्रो दिनमा काजक्रियामा सामेल भए । माहिलो राधाकृष्ण घरै बस्ने भएकाले एकवर्षसम्म सेतो लुगा लगाएर क्रिया गर्ने भयो । अरू भाइले कपडा फुकाए तर बिटुलो नखाने निर्णय गरे । काम सकिएपछि सबै आआफ्नो ठाउँतिर लागे ।
त्यसपछि फेरि दिनहुँ आफूले गर्ने काम गर्नैप¥यो । बारीमा मल बोक्ने बेला भयो । बर्खालाई दाउरा काट्ने, खर काटेर थन्क्याउने, गेडागुडी केलाउने, मस्यौरा पार्ने, गुन्द्री बुन्ने । यस्तैमा हिउँद सकियो ।
बुढीको मुत्युपछि रत्नाकरले एउटा भैँसी बेचेर तीनवटा मात्र राखे । दुईटा मात्र राख्न खोजेका थिए सुजाताले ‘बारीमा मल के हाल्ने ? मल नहाले मकैको घोँगा लाग्दैन । अनि के खाने ? केटाकेटी छन् । त्यति पाल्न सकिन्छ’ भनिन् ।
बुढी पचास वर्षकी हुँदा बितिन् । बुढी बितेपछि रत्नाकरको हियो खसेछ । लोग्नेलाई कुनबेला के चाहिन्छ ? लोग्नेले मनमा के सोचेको होला ? कुनबेला के खाने कुरा बनाउनुपर्छ भन्ने सबै अड्कल गरेर उनले खानपान र मेलापातको कुरा मिलाउँथिन् । हुन त बुहारी सुजाताले सासूको काम गराइबाट धेरै सिकेकी थिइन् । तर, सुजाता त बुहारी नै हुन् नि ! साठी पुगेका रत्नाकरमा जे जति जाँगर, उत्साह, उमङ्ग, बल थियो नजानिँदो तवरले घट्दै गयो ।
रत्नाकरकी श्रीमती बितेको वर्ष दुईटा लैना र एक बकेर्नो भैँसी, एक हल गोरु र बाख्रामात्र थिए । बाख्रा चराउने काम पहिलेदेखि नै रत्नाकरले गर्थे । आलु र फापरसँग धान साटेर ल्याउँदा नै उनीहरूलाई चामल पुग्थ्यो । गाउँघरका दाजुभाइ र इष्टमित्रले नै धान बोकेर आउँथे र आलु, फापर लिएर जान्थे । लेकको आलु भनेपछि खोसाखोस नै हुन्थ्यो । त्यसबाहेक बचेको घिउ बेचेर आएको आम्दानी र राधाकृष्णको तलबले छोराछोरीको पढाइ, लत्ताकपडा, नुन र मट्टितेललाई पुग्थ्यो । रत्नाकर पहिले–पहिले नुन र तेल लिन बटौलीसम्म धाएका हुन् ।
घरको राखन–धरन सबै सुजाताले गर्न थालिन् । दुई छोरीले पाँच कक्षा पढेपछि स्कुल जान नै मानेनन् । दुवै छोराले मुस्किलले दससम्म पास गरे । घरधन्दा, टाढाको स्कुल, जागिर पाउन कठिन, वृद्ध भएका ससुरा, लोग्नेको स्कुल, बिग्रँदै गएको आफ्नो स्वास्थ्यको कारणले सुजाताले चाहेर पनि छोराहरूलाई त्योभन्दा बढि पढाउन सकिनन् । ठूलो छोरा जेठाजुसँग भारततिर लाग्यो । दुवै छोरीको बिहे गरिदिइन् ।
ऋतुझैँ परिवर्तन हुन्छ पहाडको जीवन । ससुराको पालामा जस्तै भयो सुजातालाई । पहिले देवर, जेठाजु, नन्दहरू हुँदा घर भरिभराउ थियो । जति काम गरे पनि थकाइ लाग्दैनथ्यो । नन्दहरू आफ्ना घर गए । जेठाजु र देवर पनि आफ्नै गर्न थाले । त्यसबेला सुनसान भएको घरमा राधाकृष्ण र सुजाताका सन्तानले आँगन भरिएको थियो । सुजाताका केटाकेटी हुर्के । नन्दहरूझैँ छोरीहरूलाई अन्माएर पठाइन् सुजाताले । जेठो छोरो मुग्लान पसेपछि सुजाताको पूर्णगामको घर फेरि चकमन्न भयो ।
साउने झरी झमझम परेको थियो । लेकमा जुका त्यत्तिकै लाग्थे । बादलले कतै केहि देखिदैनथ्यो । सेता बादलका भुल्का एकपछि अर्को गर्दै माथि आकाशमा पुगेर बाक्लो बादलमा विलय हुन्थे । बादल नलागेको बेला वरपर जताजतै गाढा हरियाली देखिन्थ्यो । वारिपारिका पखेराबाट झरेका सेता झरना हरिया पाखामा चाँदीको मालाजस्तै चम्कन्थे र झब्री खोलामा मिसिन्थे ।
‘भैँसी नफुकाए पनि हुन्छ तर बाख्रालाई एक घण्टामात्र पनि नचराउने हो भने खोरमा कराएर बस्नै दिँदैनन् । म दुई–तीन घण्टामा फर्कन्छु । पानी रहेपछि नजिकैको खरबारीमा गएर एक भारी घाँस काटेस् । कान्छालाई पनि लैजानू । घाँस बोकेर ल्याइदिन्छ । तिमीले नबोक्नु । न’भा स्कुलबाट आएपछि राधकृष्णले ल्याउला ।’ भन्दै सधैँझैँ रत्नाकरले बाख्रा लिएर वनतिर गए । सिमसिमे पानी परिरहेकै थियो ।
यस्सो उघ्रेको बेला एक भारी घाँस काटे । भारी बाँधे । बाख्रालाई फर्काउन वनभित्र छिरे । बाख्रा जम्मा गरे र घरतिर फर्काए । चर्दैचर्दै बाख्रा गोठतिर लागे । उनले पनि घाँसको भारी बोकेर बाख्राको पछि–पछि लागे । सधैँ हिँडिरहेको बाटो कुनै दिन अप्रत्यासित रूपमा काल बन्छ भन्ने के थाहा हुन्छ र ? एक ठाउँमा चारवटा खुड्किला भएको सानो गौडो थियो । रत्नाकर हातको लौरोको आड लिएर झर्दै थिए । त्यहीँबेला पाइला राखेको एउटा खुड्किलो नै भत्क्यो । रत्नाकर खोल्सोमा गएर गन्ड््याम्म खँदारिए । घाँसको भारी एकातिर आफू अर्कोतिर भए । निकै बेर चल्न चल्बलाउन पनि सकेनन् । बिस्तारै दुई हातको सहाराले घुँडा टेके । कान्लो समातेर उभिन कोसिस गरे । दाहिने खुट्टाले टेक्न खोज्दा कम्मर असह्य भएर दुख्यो । लौरोको सहाराले भित्तोमा घस्रिँदै आँगनमा पुगेर बुहारीलाई बोलाए –‘सुजाता । बाख्रा खोरमा हुल त । मैले सकिनँ ।’
ससुराको पीडा मिसिएको स्वर सुनेर सुजाता अत्तालिँदै बाहिर निस्किन् । कान्छो नाति र राधाकृष्ण पनि बाहिर आए । रत्नाकर आँगनको डिलमुनि गड्यौलाझँै गुटमुटिएका थिए । तीनै जनाले उनलाई उचालेर पिँढीमा ल्याए ।
सुजाताले अत्तालिँदै सोधिन्–‘कहाँ के भो हजुरलाई ? कहाँ छेउ लड्नुभयो ? सबै ठाउँमा लेउ लागेको छ । झरीले गलेको छ । भारी गह्रौँ थियो होला । हे, भगवान् ! अब के हुने हो ? ’
‘टेकेको टेकोनै भत्केर भारीसँगै लडेँ । टेक्दा दाहिने कम्मर असाध्यै दुख्छ । भाँचियो कि क्या हो ? अब दुःख पाइस् बुहारी । ए ! माइला जा बाबु त्यो घाँसको भारी लिएर आ । अब घाँस काट्न सक्छु सक्दिनँ ? ’ बुहारीलाई जवाफ दिँदै उनले राधाकृष्णलाई आफूले बोकेर ल्याउन खोजेको भारी लिएर आउन भने ।
कान्छो नातिले बाख्रा खोरमा हुल्यो र आग्लो लगाइदियो । भकारो सफा ग¥यो । गोठको माथ्लो बलेनीनजिक ओभानोमा भएको घाँस भैँसी र गोरुलाई हालिदियो ।
राधाकृणले भँैसी दुहेर ल्याए । एक गिलास तातो दुध ससुरालाई दिइन् । अनदीको एकमाना धान जाँतोमा पिसिन् । सुपोले छिन्केर मसिनो भुससँगैको पिठो तयार पारिन् । पाँच मुठी घिउ तताइन् । त्यसैमा त्यो पिठो खुँडेर पुवा बनाइन् र ससुरालाई खान दिइन् । गाउँघरको औषधी त्यस्तै हो । ‘समान्य भाँचिएको पनि घिउमा पकाएको अनदिको पुवाले ठीक हुन्छ’ भन्ने विश्वास रहेको छ । घिउले तुरुन्तै ताकत दिने गर्छ । छोरा–बुहारी–नाति भएर रत्नाकरलाई त्यो रात त्यति अनदीको पुवा खुवाए । पानी झमझम परेकै थियो । उत्तरतिरको सिरेटो झन चिसो भयो । त्यो रात सुजाताबाहेक राधाकष्ृण र कान्छो नाति दुवैजना बुढाको छेउमा नै सुते ।
राधाकृष्ण र सुजाताले उपचारका लागि पाल्पा मिसन अस्पतालमा डोकोमा बोकाएर लैजाने निर्णय गरे । तर, रत्नाकरले एक साता घरेलु उपचार गर्ने सोच बनाए । लुरिङमा एकजना रोसनबहादुर मगर जडिबुटीको ओखती गर्न जान्ने थिए । रत्नाकरले उनले बनाएको औषधी खान थाले । अनदीको पुवा पहिलो दिन खाएझैँ बनाएर खाए । त्यसपछि भने सिधा उभिएर आँगन वरपर घुम्न र र दिसा–पिसाब गर्न जानसक्ने भए । बिस्तारै छोराबुहारीले काटेर थुपारेको घाँस हालिदिन सक्ने भए । पाल्पा जाने कुरा त्यत्तिकै भयो ।
त्यसैबेला रत्नाकरले अर्को भैँसी पनि बेचिदिए । रोसन भाइ ‘चार–पाँचवटा गोठमा बाँध्छु । त्यसबाहेक अरू बाख्रा पनि बेचिदेऊ । बाख्रा हेर्न अब म वन जान सक्दिनँ । बुहारीलाई चौरास हुने भयो । ऊ पनि बिरामी छे । छोरा स्कुल जानैप¥यो । यो नातिलाई मजस्तो गोठालो बनाउन त भएन नि । यसलाई पनि दाइसँगै पठाइदिनुपर्ला । ’
छर्छरे ठूल्दाइको ठूलो नातिसँग कान्छो नाति साउदी अरेबिया जाने भयो । उसैले कागजपत्र ल्याएको हुनाले हवाइजहाजको टिकट र कुस्मा गएर पासपोर्ट बनाउँदा लाग्ने खर्चबाहेक धेरै खर्च लागेन ।
सासूको देहावसानपछि सुजाता पनि कमजोर हुँदै गएकी थिइन् । ससुरा लडेपछि त उनमा साहस आउन छोडेको थियो । मनमा विरहले घरजम गर्न थालेको थियो । लोग्नेलेभन्दा ससुराले बरु उनको दुःख बुझेका थिए । सासूले सबै कुरा ससुरा र छोरालाई सँगै राखेर मर्नुभन्दा पहिले भनेकी थिइन– ‘बुहारीलाई ख्याल गर्नू । यो हाम्रो घरको घट्ट भई । यसलाई केहि भयो भने हाम्रो घरको जहाज चुर्लुम्म डुब्छ । भैँसी थोरै पाल्नू । खान पुग्ने मात्र खेती गरे हुन्छ । नातिहरू यहाँ पक्कै बस्दैनन् । राधाकृष्ण स्कुलले बाँधियो । ठीकै छ । पेन्सन हुन्छ । यी दुईले सकुञ्जेल गरेर खान्छन् । पछि छोराले अलिअलि हेरे पनि यिनलाई बुढेसकालमा दुःख हँुदैन । अब गोठालोको जमाना गयो । बिहादीबाट बसाइँ सर्नेहरू दिनदिनै बढ्दैछन् । हामी त झन् लेकाली । नातिलाई यहाँ राख्नुहुँदैन ।’
रत्नाकरले त्यसै गरे । भकारो सानो बनाए । नजिकैको बारीमा मात्र कोदो मकै रोप्थे । आलु पनि चाहिने जति लगाउन थाले । बुढेसकालको जीवन हो । घाँसको भारीसँग लडेपछि उठ्न त उठे । तर, खन–जोत गर्न, भारी बोक्न सकेनन् । घाँससम्म काटिदिन्थे । सुजाता र राधाकृष्णले ल्याएर भकारामा फाल्थे ।
लडेको एक वर्षपछि फेरि दुख्न थाल्यो । घरेलु उपचारमा नै उनी भर परे । अब ताकत दिने घिउ पचाउन पनि नसक्ने भएका थिए । वैँशमा जस्तो बुढेसकालमा घिउ कहाँ पच्छ र ? उनी कमजोर हुँदै गए । बल सकिए पछि ढाडको दुखाई पनि बल्झिँदै गयो । एक महिना जति आँगनभन्दा टाढा जान नसक्ने भएर थलिए । नयाँ वर्षको दिन थियो । उनी सत्तरी वर्ष पुगेको दिन; त्यो दिन बिहान कसैलाई बाहिर नजान भने । छिमेकी रोसन मगरलाई बोलाउन नातिलाई पठाए । उनको अनुहार अघिल्लो दिनभन्दा उज्यालो थियो । बिहान एक गिलास मनतातो दुध पिए । रोसनले नाडी छामे । नाडीको चाल असामान्य भएको रोसनको अनुहारबाट थाहा भएको थियो ।
सुजातालाई हेर्दै भने – ‘भैँसी एउटामात्र राखेस् । अब गोरु पनि बेच्नू । गाउँबाट ल्याएर जोत्नू । एक पटक पाल्पा गएस् । हामीलाई तैँले हेरिस् । तँलाई कस्ले हेर्ला खै ?’
छोरातिर फर्कँदै भने– ‘माइला सुजातालाई हेरेस् बाबु ! यो सिधा छ । दुःखमात्र गरी । हाम्रो घर यसले भरिलो पारी । बारीका पाटा बेचेर भए पनि यसको राम्रो उपचार गरेस् । यसलाई दुःख दिइस् भने दुःख पाउनेछस् । मर्नुभन्दा पहिले आमाले पनि भनेकी हो यसलाई कडा बिमार लागेको छ ।’
छिमेकीको हात समातेर भने –‘रोसन भाइ यसो आउँदै माइलालाई सम्झाए है’ ।
उनलाई सास फेर्न गाह्रो भइसकेको थियो । त्यस्तैमा बुहारीसँग पानी मागे । सुजाताले तीन थुर्मी पानी खुवाइन् । रत्नाकरले दुवै खुट्टा तनक्क तक्काए । हात पसारे । बुहारीलाई हेरेको हे¥यै प्राण त्याग गरे ।
सुजाताले उनकी सासूलेझैँ घर सम्हालेकी हुन् । त्यो कुरा सासू, ससुरा र गाउँले सबैले राम्रोसँग बुझेका थिए । गाउँको स्कुलको मास्टर भए पनि किन–किन माहिलोप्रति त्यति भर पर्दैनथे । जागिरे भएकाले बाबुले पनि कहिल्यै चर्को बोलेनन् छोरालाई ।
ससुराको देहान्तपछि आकाशले थिचे जत्तिकै कठिन भयो – सुजातालाई । राधाकृष्णले उनको बिमारबारे त्यति चासो दिँदैनथे जति उनका आमाबाबुले बुहारीलाई गर्दथे । मर्ने बेलामा ससुराले भनेझैँ घरसल्लाह गरेर एक भैँसी, एक गोरु र घरमा बाँध्ने गरी पाँच बाख्रा मात्र गोठमा राखिन् ।
समयको परिवर्तनसँगै गाउँमा पनि केहि नयाँ कुरा देख्न थालिएको थियो । पूर्तिघाट बजारमा एउटा फोनलाइन जोडिएको थियो । कहिले पन्ध्र दिनमा त कहिले एक महिनामा सुजाता पूर्तिघाट झर्थिन् र दुवै छोरा, जेठाजु, देवर, आफ्नी बहिनीलाई फोन गरेर मन खुसी पार्थिन् । उनलाई पूर्तिघाटबाट पूर्णगाम पुग्न पूरै उकालो चढ्नुपथ्र्यो त्यसैले फर्कँदा भने निकै कठिन हुन्थ्यो । छर्छरेमा पसेर आफन्तसँग भेटघाट गरेर फर्कँदा कहिलेकाहीँ खुरखुरेको डाँडोमा पुग्दा साँझ पथ्र्यो । साँझ परेपछि चितुवाको डर हुन्थ्यो त्यो ठाउँमा । पछि भने राधाकृष्ण नै जान थाले फोन गर्न ।
दुवै छोराले नुन–तेल खर्च पठाउन थालेका थिए । सुजाताको उपचारको लागि छुट्टै रकम पनि पठाइदिन्थे ।
ससुरा बितेको दोस्रो वर्षमा उनलाई फेरि रक्तस्राव भयो । त्यसबेला एक सातासम्म उनी उठ्न नै सकिनन् । प्राणपखेरु उड्ने हो कि जस्तो लाग्न थाल्यो उनलाई । उनका गाला छेडिए । पेट सेउजस्तै सेपटो भयो । आँखा भित्र पसेका थिए । वल्तिर–पर्तिरका छिमेकीले गाली गरेपछि मात्र राधाकृष्णले सुजातालाई डोकोमा बोकाएर पाल्पा लगे ।
पाल्पाबाट फर्केपछि तीन महिनासम्म अलि राम्रो भयो । घरधन्दा गर्न थालिन् । तर त्यसपछि एक दिन पानी लिएर फर्कँदा रगत बगेर बाटोमा नै ढलिन् । पाल्पा ठीक भएन भन्ने लागेर राधाकृष्णले उनलाई पोखरा गण्डकी अस्पतालमा भर्ना गरे । पोखरा पुगेपछि थाहा भयो सुजातालाई पाठेघरमा क्यान्सर भएको रहेछ । अस्पतालले रगत रोकिने मात्र औषधि दिएर सकेसम्म छिटो चितवन क्यान्सर अस्पताल लैजान सुझाव दियो ।
आमालाई लिएर कान्छी छोरी पूर्णगाम पुगिन् । घरमा सल्लाह भयो । छोरी र ज्वाइँको करबलले सुजातालाई चितवन लैजाने टुङ्गो लाग्यो । राधाकृष्ण गम्भीर देखिन्थे तर सुजाताको उपचारमा त्यति ध्यान दिँदैनथे । आमाबाबुले सुजातालाई त्यो घरको सारा जिम्मेवारी लिएकोमा गर्व गर्थे भने राधाकृष्ण सुजाताको यौवनसँग खेल्ने कुरामा बढी केन्द्रित देखिन्थे । जब उनी गम्भीर बिमार हुन थालिन् त्यसबेलादेखि राधाकृष्णले उनलाई कोदो रोप्दा उखेलेर फालेको ओइलाएको बोकेझारलाई जस्तै व्यवहार गर्दथे । त्यो उनले बुझेर मनको थैलीमा राखेकी थिइन् ।
सुजाता त्यति चिन्तित थिइनन् । जेठो छोराले उसको ठूलो बाबुको नजिक गँैडाकोटमा एक कठ्ठा जमिन किनेको थियो । बुहारी, नातिनातिनी भाडाको कोठा लिएर त्यतै बसेका थिए । कान्छो साउदी अरेबियामा भए पनि महिनामा तीस हजार रुपैयाँ कमाउँथ्यो ।
अस्पतालमा आफूसँगै बसेकी छोरीलाई भन्थिन्– ‘तेरो भाइको बिहे गर्नेबाहेक मेरो अरू कुनै धोको छैन । भाइलाई फोन गरेर छ महिना बस्ने गरेर आइज भन् । मेरो ठेगान छैन । तेरो बाबुको कुनै भर छैन । मैले यो घरभित्र छिरेको उनान्चालीस वर्ष भएछ । जेठो छोरो नै सैतीस वर्षको भयो । तेरी हजुरआमाझैँ म पनि तेरो बाबुको काखमा मर्न पाए हुन्थ्यो ।’ सुजाताले छोरीलाई भनिन् ।
‘आमा पीर नगर्नु भाइलाई बोलाउँछु । हामी सबै छौँ । चितवन गएर उपचार गरेपछि ठीक भइहाल्छ नि । न आत्तिनु । मन बलियो बनाउनु ।’ छोरीले आमालाई सम्झाउँदै भनिन् ।
फोन गरेको एक सातामा नै कान्छो छोरो साउदीबाट आइपुग्यो । भोलिपल्ट आमालाई लिएर चितवन क्यान्सर अस्पताल पुग्यो । तीन महिनासम्म चितवनमा बसेर उपचार भएपछि केहि सुधार भयो ।
कान्छाले आमालाई घर लिएर आयो र आमासँगै बस्यो । चितवनबाट फर्केको एक महिनापछि उनी फेरि बिमार भइन् ।
बिमारले आत्तिएकी सुजाताले छोरालाई भनिन्–‘कान्छा तँसँग पैसा कति छ ? मलाई एक पटक काठमाडौँमा जान मन छ । भक्तपुर क्यान्सर अस्पतालमा राम्रो उपचार हुन्छ ‘रे । मलाई त्यहाँ पु¥याइदे न !’
त्यसपटक कान्छो छोरा, जेठी छोरी र जेठा ज्वाइँ भएर सुजातालाई भक्तपुर पु¥याए । छोरा र छोरीले उपचारमा कुनै कमी हुन दिएनन् । भक्तपुर अस्पतालमा भर्ना गरे पनि रगत, दिसा–पिसाब जाँच गरेको रिपोर्ट लिएर उनीहरू निजी अस्पतालका नाम चलेको डाक्टरकोमा पुगेर सल्लाह लिए । त्यसबेला जे उपचार गरिएको थियो त्यो नै सही भएको सुझाव डाक्टरले दिएपछि उनीहरूको मन ढुक्क भएको थियो ।
‘कान्छा मलाई घर लगिदे । म घरमा नै जान्छु । पूर्णगामको चिसो हावापानीमा ठीक हुन्छ । मलाई सास फेर्न गाह्रो भयो । यहाँको धुलो र धुवाँको गन्धले म झन् बिरामी भएँ ।’ सुजातालाई क्यान्सरले गाल्दै लगेकोले उनलाई पीडाले गर्दा छटपटी हुन थालेको थियो ।
एक महिना जति भक्तपुरमा राखेर सुजातालाई पूर्णगामको घर लगियो । छोरा–छोरी–ज्वाइँले उनलाई छोडेनन् । भक्तपुरबाट फर्कँदा जेठी बुहारी पनि सँगै घर गईन् । सुजाता शिथिल भइसकेकी थिइन् । दुई वर्षपहिले सुजातालाई देख्ने मानिसले उनलाई चिन्न मुस्किल भइसकेको थियो । दस वर्षपहिले घाँसको भारीसँग लडेर बल्झेको रोग पाठघरको क्यान्सरमा परिणत भएको थियो र त्यो अन्तिम अवस्थामा पुगेको रिपोर्टले जनाएको थियो ।
एक सातादेखि राधाकृष्ण पनि स्कुल गएका थिएनन् । घरको पिँढीमा टाँसिएकी उनकी सँगिनीको टिठलाग्दो हेराइले उसको छाती चरर चिरेजस्तै अनुभव गर्थे राधाकृष्ण कहिलेकाहीँ ।
एक साँझ कान्छो मात्रै आमासँग बसेको थियो । त्यसबेला उनले छोरालाई भनिन्– ‘कान्छा, तेरा बाको भर छैन । तेरा हजुरबाले गाउँलेले विरोध गर्दागर्दै पनि हजुरआमाको आदर र सम्मानको लागि मलाम जानुभयो, कपाल खौरेर क्रिया बस्नुभयो । तर तेरा बा क्रिया बस्ने त के कुरा म मरेपछि मलाम पनि जाने छैनन् । उनले तेर दिन नहँुदै अर्को बिहेको कुरा झिक्नेछन् । त्यसैले तैँले पनि आफ्नो दाइ, ठूलाबा, साइँला र कान्छाबासँग राम्रो व्यवहार गर्नू । उनीहरूले भनेको मान्नू । राम्रो परिवार हेरेर बिहे गरेस् । ’
सुजाता आँगनको वरपर घुमफिर गर्थिन् । जेठको महिना थियो । तराईतिर गर्मीले मानिस बेहोस भएका थिए । पूर्णगाममा भने अमृतजस्तै चिसो हावा सर्सर्ती बग्दथ्यो । बेलुका त पातलो सिरक ओढ्न नै पथ्र्यो । परिवारले उनलाई छोडेका थिएनन् । छर्छरेबाट पनि उनलाई भेट्न सासू, ससुरा, जेठाजु, जेठानी, देवर, देउरानी, भतिजाहरू सबै आउँथे । सुजाताले ‘सासू, ससुराको हेरविचार गरेको, त्यो ठूलो घर सम्हालेको, लेकमा बसेर हाड घोटेर त्यसबाट अमृत निकालेर पराजुली बुढाको घर सम्हालेको’ कुरा सबैले गर्थे । त्यसैले पनि त्यति टाढादेखि उनलाई भेट्न आफन्त आएका थिए ।
एक बिहान अचानक तीन महिनापहिले जस्तै उनको पेट फुल्यो । ‘पेट फुलेमा खान दिनु’ भनेर भक्तपुर अस्पतालले सिफारीस गरेको औषधी छोरी कान्छीले खान दिइन् । भारतबाट जेठो छोरा र जेठाजु पनि आइसकेका थिए । औषधीले काम गरेन । जेठो छोराले अस्पताल लैजान कर ग¥यो तर, सुजाताले मानिनन् । भक्तपुरका डाक्टरले उनलाई भनेका थिए –‘पेट फुलेमा, बढी दुखेमा यो औषधी खानू । औषधि त्यही हो । एक महिनालाई पुग्ने गरी लैजानू । आवश्यक परे थप्नू । अस्पताल आउनुपर्दैन ।’ पन्ध्र दिन नहुँदै बल्झेकाले उनलाई थाहा भइसकेको थियो कि उनी अब बाँच्दिनन् । राधाकृष्ण मलिन अनुहार लिएर एकछेउमा सुजातालाई हेर्दै बसेका थिए । छोरा–छोरी–ज्वाइँ–बुहारी वरपर बसेका थिए ।
सुजाताले गहभरि आँशु पारेर जेठाजु र ठूलो ज्वाइँलाई भनिन् –‘ कान्छोलाई टुहुरो नबनाउनु होला है ।’
त्यसैबेला उनले राधाकृष्णलाई भनिन्– ‘तपार्इंलाई सुख दिन झरी बादल भनिनँ । मैले पूर्णगामलाई पूर्ण बनाउन खोजेँ तर काल छिटै आयो । झब्रीखोलाको पानी घट्ट चलिरहेछ तर मेरो घट्ट रोकिने भयो माफ गर्नुहोला ।’
मृत्युको आक्रमण मानिसले थाह पाउँदो रहेछ । सुजाता मात्र चवन्न वर्ष भएकी थिइन् । सबैसँग बोल्दाबोल्दै उनको बोली बन्द भयो । सबै रुन थाले । अपराह्न चार बजेतिर सुजाताले लामो विश्राम लिइन् ।
छर्छरेतिर खबर पठाए । भोलिपल्ट बिहान उनलाई पनि सासू र ससुरालाईझैँ तेलचाप्रे घाट लगेर दाहसंस्कार गरे ।
बाटोछेउ उभिएका गाउँलेले मलामीलाई सोध्दै थिए – ‘खै सुजाताका लोग्ने राधाकृष्ण मलाम आएनन् ?’
राधाकृष्णले कपाल पनि खौरेनन् । मलाम पनि गएनन् ।
तेर दिनपछि सबै आ–आफ्नो काममा फर्के । कान्छो छोरो बाबुसँग एक महिना जति बस्यो । एकदिन कान्छो छोरा छर्छरे ठूलो हजुरबाको घरतिर जाँदै थियो । त्यतै उसले सुन्यो – ‘पैतालिस दिनको पिण्ड दिएपछि राधाकृष्णले बिहे गर्दैछन् रे ।’
कान्छो छोराले साउदी नजाने निर्णय सुनाउँदा राधाकृष्णले सम्झाउँदै भने– ‘दाइलेझैँ कमसेकम एउटा बाससम्म बनाउन मिल्ने जमिन किन । तेरो हजुरबाको समयमा पूर्णगामको जगजगी थियो कान्छा । अब त यो मानिसविहीन जङ्गल हुँदैछ । तँ यहाँ बसेर गोठालो हुन सक्दैनस् । उतै जा । केही गर् । मेरो पनि पेन्सन हुन अब एक वर्ष बाँकी छ । त्यसपछि म पनि त्यतै आउँछु ।’
कान्छो फेरि कतार गयो ।
राधाकृष्णले सुजाता मरेको छयालिसौँ दिन एक अधबैँसे महिलालाई घर भित्र््याए ।
पूर्णगामदेखि पूर्तिघाटसम्म एकअर्काबीच यस्तो चर्चा भने निकै सुनियो –‘बिहे गर्ने मन भए पनि चालीस वर्षसम्म सँगै बसेकी आफ्नी पत्नी त्यति दुःख पाएर बित्दा कमसेकम मलाम त जानु पर्ने ? कति निष्ठुरी रहेछन् राधाकृष्ण त ? पाप लाग्छ तिन्लाई त !’
‘एक वर्ष पनि कुर्न सकेन । कस्तो अधर्मी रहेछ । देवीजस्ती त्यस्ती श्रीमती मर्दा मलाम नगएको त पापीले अर्को बिहे गर्न पो रहेछ ।’
‘लोग्नेमान्छेको जात हुनसम्म स्वार्थी हुन्छ । राधाकृष्ण मरेर सुजाताले बिहे गरेको भए यो समाजले उनलाई यहाँ जिउँदै सुइरोले घोचेर मार्ने थियो । लोग्नेमान्छेले जे गरे पनि हुन्छ । नारी अधिकारको भाषण गर्ने राधाकृष्णहरू नै आज पनि नारीलाई जिउँदै दागबत्ती दिन तम्सन्छन् ।’
साउन २०७६ ९८४१३७७०८३ bishnu.nmdc@gmail.com

1 thought on “पानी घट्ट

  1. By Ramsaran Khanal : सारै मीठो ,एथार्थ परक एथार्थ हो या कथा बस्तु करुणा मय छ । सर यो पुर्ण गाम कुस्मा कता हो सर ? लेख अलिक लामो जस्तो लग्यो सायद म आफू अल्छि भयर हो कि !

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s