कथा १. हजुरबाको देश

कथा जनमत मासिक, अङ्क २३३, फागुन २०७३ बाट साभार (अमेरिकामा हुर्केकोले नेपाल सम्झेको ‘रे)


१. हजुरबाको देश
विष्णुप्रसाद शर्मा पराजुली
म पातालमा हुर्केँ । पाताल भनेको अमेरिका हो । अमेरिकाको अर्कान्सास राज्यको लिटल रक भन्ने शहरमा मेरो बाल्यकाल बित्यो । लिटल रक अर्कान्सासको राजधानी हो । यो अमेरिकाको सानो राज्यको सुन्दर, लोभलाग्दो र शान्त शहर हो ।
सानो शहरमा जन्मेर त्यहीं हुर्के पनि म मेरो ड्याडसँग अमेरिकाकाको न्यूयोर्क, वासिङटन डि.सी., न्यू जर्सी, क्यालिफोर्निया, लस एन्जलस जस्ता ठूला शहर घुमेँ । मेरो ड्याड नेपालबाट अमेरिका छिरेको पनि २८ वर्ष भएछ ।
अमेरिका आफू छिरेको पहिलो पुस्ता भएकाले ब्यवस्थापन गर्दागर्दै दुःख भएको र अबको दोस्रो पुस्ता अर्थात म जस्तोलाई सुख हुने कुरा ड्याडले घरी–घरी उक्काउनु हुन्छ । त्यो होला पनि । मलाई दुःख भनेको के हो थाह छैन । सबैकुरा मेशिनबाट भै हाल्छ त्यस बाहेक मलाई केही थाह छैन पनि । मैले यात्रा गर्दा होस, ब्याङ्क जादा होस, खाना पकाउँदा वा लुगा धुदा होस मेशिनको बाहेक अरुको खास काम देखेको छैन । सबैकुरा मेशिन । मैले टेवलमा राखेर काँटा चम्चाले खाना खाने बाहेक अरु काम मेशिनले नै गरेको छु । मलाई दुःख भयो भने अब होला – एक्लै बस्दा । अन्यथा, मेशिनले बटन थिच्दा पैसा र खाने कुरा फुत्त झरे झै मेरो ड्याड र मम्ले सबै कुरा पु¥याई दिनु भो ।
“मानिसलाई दुःख हुने, दिनभर पसिना झारेर काम गर्दा पनि विहान बेलुका पेटभर खान नपाईने, बालबालिकाले स्कूल पढन जान नपाउने, शरिर ढाक्ने एकसरो लुगा लगाउन पनि नसक्ने, विमार हुदा औषधि पनि गर्न नसक्ने, औषधि नपाएर मर्नु पर्ने, सुत्केरी हुँदा उपचार नपाएर मर्नु पर्ने” जस्ता नेपालको कुरा मैले सुनेको छु पाकाहरुले कुरा गर्दा । र, देखेको छु – मात्र टेलिभिजनको समाचारमा र इन्टरनेटमा ।
ड्याड नेपाल नगएको नै १८ वर्ष भएछ । अर्थात, मेरो जन्म भए पछि ड्याड नेपाल जानु भएन । मलाई मेरो हजुरबाको देश हेर्ने रहर लागेको पनि ६ वर्ष भै सकेछ । मैले धेरै प्रयास गर्दा पनि ड्याडले मलाई मेरो हजुरबाको देश लैजानु भएन । मलाई निकै नमज्जा लाग्यो । त्यसैले, म एक्लै भए पनि हजुरबाको देश जाने अठोट गरेँ । म एक्लै बस्न थालेको पनि २ वर्ष भै सकेको छ ।
हजुरबाको देशका बारेमा मैले ड्याडबाट धेरै कुरा थाह पाएको थिएँ–सानोमा । मैले धेरै कुरा सजिलै बुझ्दिनथेँ । दोह¥याएर सोध्दा ड्याड झर्किनु हुन्थ्यो । तर मैले त्यो कुरा फेरि अर्को दिन सोधेर थाह पाईराख्थेँ ।
मैले सुनेको मेरो हजुरबाको देश साह्रै राम्रो छ । आँखाले नदेखेसम्म र पैतलाले नकुल्चेसम्म मैले आफैले गुनगान गाउन चाहेर पनि सकेको छैन । प्राकृतिक सुन्दरता र विविधतामा त संसारको अरु कुनै पनि देशले मेरो हजुरबाको देशलाई भेट्दैन रे । मैले थाह पाएको के भने संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा त्यहीं छ । संसारका सबैभन्दा अग्ला अरु धेरै हिमालहरु पनि त्यहींनै छन् । संसारका सुन्दर ताल र नदीहरु त्यहीं छन् । अन्नपुर्ण र धवलागिरि हिमालको बीचमा काली गण्डकीको संसारको सबैभन्दा गहिरो खोँच त्यहीँ छ । संसारमा शान्ति र अहिंशाको सन्देश फैलाउने माहात्मा गौतम बुद्ध हजुरबाकै देश नेपालको लुम्बिनिमा जन्मेका हुन् । हजारौ वर्ष पुरानो ईतिहास बोकेको पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूनाथ मन्दिर त झन हजुरबाको देशको राजधानीमा नै छन् । वेदव्यासले वेद लेखेको ठाँउ दमौली यहीं छ । वाल्मिकी आश्रम, महाभारत कालिन भग्नावशेष यहीं छन । प्राकृतिक सुन्दरता र सास्कृतिक विविधतामा त झन नेपाललाई जित्ने कोहि छैनन् ।
हजारौं सुन्दर खोला–नदीहरु, पाखा–पखेरा, ताल–तलैया, चरा– चुरुङ्गी, हिमाल–पहाड–तराई र त्यसवीच छोटो दुरीमा हुने विविधता संसारका अरु कुनै देशमा पाईदैन । मात्र १ लाख ४७ हजार १८१ वर्ग कि.मि. क्षेत्रफल भएको देशमा एक सय चौविस थरी जातजातिको बसोबास छ । त्यतिमात्र कहाँ हो र ति सबै जातिको आआफ्नै अप्राप्य, आदिकालदेखि चल्दै आएको अत्यन्त मौलिक भेषभूषा र संस्कृति छ । तिनीहरु थरिथरिका फूलका थुङ्गाहरु गाँसिएर एउटा सुन्दर माला बने झै एकताको मालामा गाँसिएर बसेका छन् ।
चाडपर्व, सँस्कृति, रीतिथीति, परम्परा, सभ्यता, चालचलन र ब्यवहार पनि प्रकृतिमा धनि भएजस्तै धनि–मेरो हजुरबाको देश । अहा, कति सुन्दर ! त्यहाँ गएर हजुरबासंगै वहाँको देश नेपालमा गएर हजुरबाको काखमा लुटुपुटु गर्न मन लागेको छ । हजुरबाँंग एक महिनासम्म बसेर सबै कुरा सिकेर हजुरबालाई अमेरिका ल्याएर मेरो कोठामा सुताउनु छ । वहाँलाई शहर घुमाउन र उपचार गर्न मेरो मन आतुर छ ।
अमेरिकामा बसेका म जस्ता नेपालीका ड्याड र मम्ले भनेको सुनेको न हो । अरुले नेपालको कुरा गर्दा मेरा आँखा अगाडि हजुरबाको देश टुप्लुक्क आईहाल्छ । त्यसैबेला अनुहारमा मायाको भकारी पोखेर हजुरबाले हातको इसाराले बोलाए जस्तो लाग्छ । अनि, म चरा जस्तै भूर्र उढेर कल्पनामा हजुरबाको देश पुग्छु ।
सूचनाको विकासले सजिलो बनायो म जस्तालाई । अहिले आएर नेपालको सँस्कृति र चाडपर्व, बसोवास र रहनसहन एवं सुन्दर ठाँउहरुको बारेमा जानकारी लिन त अमेरिकामा बसेर पनि सकिन्छ । साउने संव्रmान्तिदेखि एकादसी, पूर्णिमा, औंसी, जनै पूर्णिमा, गाईजात्रा, तीज, दशैं, तिहार, छठ, ल्होसार सबै चाडपर्व अमेरिकामा मनाउन थालेका छन । त्यती मात्र होईन यहाँ त कुनै परिवारमा कुनै नयाँ सदस्यको आगमन हुने भयो भन्ने समाचार थाह भए देखि जन्मदासम्म धेरै पटक जमघट भै हाल्छ ।
अमेरिकी नेपालीको एउटा राम्रो पक्ष के भने नेपालबाट कसैका ड्याड वा मम वा कोही किन नहोस एउटा परिवारमा आएको छ भने कहिले कस्को घरमा त कहिले कस्को घरमा एउटा सानो भेला भै हाल्छ । त्यस्ता भेलामा कहि न कहि मेरो हजुरबाको देश टुप्लुक्क भित्र पस्छ पाहुनसँगै । त्यसरी आउदा कहिले राजनीतिको रुपमा, कहिले गरिवको रुपमा, कहिले प्राकृतिक महाविपत्तीको रुपमा, कहिले झडापखालाको माहामारीको रुपमा, त कहिले त्यहाँको रमझम संस्कृति र सुन्दर हिमालको रुपमा आएर चर्चित बन्छ–सबै नेपालीका सन्तान एउटा परिवार बीच । जे होस जस्को घरमा जे जसरी जो आए पनि जमघटको बेलामा नेपाली परिकार र पहिरन हुन्छ नै । त्यसबेला मैले हजुरबाको देशको अनुभव अमेरिकामा बसेर गर्थेँ । मलाई खासै मन नपरेपनि गुन्द्रुकको अचार नखाई धित मर्दैन । म मेरो हजुरबाको देशको मायाको जालमा त्यसै–त्यसै परिसकेको थिएँ ।
हाम्रो अमेरिकामा त ईतिहासको कुरा गर्दा ४–५ सय वर्षभन्दा टाढा जान सकिदैन । तर हजुरबाको देशमा त ३–४ हजार वर्ष पुराना देवल, मठ, मन्दिर त गल्लि गल्लिमा देख्न पाईने ! एकजना हजुरबाको उमेरका मेरा साथीको हजुरवाले भनेको सुनेको थिएँ ‘नेपाल त स्वर्गको एउटा टुव्रmा हो, तर राजनीतिक कारणले नर्क भयो’ । स्वर्ग कसरी फेरि नर्क कसरी भयो ? मेरो मनमा उब्जेका असख्य प्रश्नहरुलाई सन्तुष्ट पार्ने मेरा त्यहाँ कोहि थिएनन् । यस्ता प्रसङगले म नीकै पिरोलिन्छु । अनि फेरि अनायसै मैले हजुरबालाई सम्झन्छु । त्यो अपार भौतिक सुख भित्र म अपुरो, अपुर्ण र दुःखी हुदै गएको दिनानुदिन अनुभव मैले बाहेक कसैले गरेका पनि छैनन् । पारिवारिक जमघटको एउटा कुनाबाट अनायसै म हजुर बा र हजुरबाको देश देख्न लालयित हुन्छु । त्यो देशको कल्पनामा म विचरण गर्न थाल्छु ।
हुन त मैले धेरै फोटाहरु हेरेँ । यु ट्यूवबाट नेपालका प्रमुख ठाँउ र जनजीवन झल्किने भिडियो हेरेँ । त्यसले म भित्र जागेको भोकलाई मार्ने भन्दा झन जगाउथ्यो । म त्यसै–त्यसै अत्तालिन्थेँ । खलखल पसिना आउथ्यो र म भिज्थेँ । म मेरो हजुरबाको देश हेर्न असाध्यै तिर्खाएको थिएँ । मेरो हजुरको छाँया म ममा पार्न म आतुर थिएँ । हजुरबालाई “ हजुरबा” भनेर बोलाउन उहाँको मायाको तातो स्पर्स लिन आतुर थिएँ ।
नेपालबाट आएर अमेरिकामा बसोबास गरेका धेरै म जस्ता साथीहरु छन् । तिनका परिवारका सदस्यहरु प्रायः धेरै चाडपर्वमा अमेरिका आएको देखेको छु । कति परिवारका पार्टीमा त म पनि सानैदेखि मिसीएको छु । मेरा साथीहरु म जस्तो सानो हुँदा उनीहरुका हजुबाको बुई चढेको देखेको छु । कति साथीहरु त आफ्ना महङ्गा खेलौनालाई एकातिर फालेर हजुरबाको पिठ्यूमा चढेर हजुरबालाई घोडा बनाएको देखेको छु । त्यसबेला नाति र हजुरबा रमाएको देख्दा म भने धेरै पटक आफै भित्र चिरिएर रोएको छु ।
“यी हजुरबा किन यति प्यारा भएका होलान ? हजुरबाले किन त्यती विधी माया गरेका हँ ?” “के ड्याडले भन्दा हजुरबाले बढि र गाढा माया गर्छन र ?” “के हजुरबाले गर्ने माया प्याउली फूल भन्दा कमलो र मायालु हुन्छ ? ” मैले कल्पना गर्थेँ र सोध्थेँ आफैलाई । मैले एक दिन रचना आन्टीको पार्टीमा सुनेको थिएँ – “ हजुरबा र हजुरआमाले छोराछोरीलाई भन्दा नातिनातिनीलाई बढि माया गर्छन् । सावाँको भन्दा ब्याजको माया भन्दै खेलाउछन् ।” तर मेरो हजुरबा भने कहिल्यै अमेरिका आउनु भएन । मानिस अमेरिका भने पछि भुतुक्कै मरीमेट्छन , तर उहाँलाई त्यसको कुनै मतलवनै भएन । अचम्म ! मेरो हजुरबा प्रतिको माया, तिर्खा र तृष्णा झाङ्गिदै गयो ।
अरु साथीभन्दा म राम्रो नै हुँ –नेपाली लेख्न र बोल्नमा । त्यती हुदाहुदै पनि त्यहाँ उठेका धेरै कुरा त राम्रोसंग बुझ्दिनथे । मैले गहिरो अर्थलाग्ने, अर्थलगाएर बुझ्नु पर्ने शब्द बुझ्दिन । सिधा अर्थमा सामान्य रुपमा मात्र बुझ्छु । स्कूलमा मैले नेपाली पढन पाईन त्यसैले नेपालीमा लेख्न धेरै गाह्रो लाग्छ । सामान्य रुपमा मात्र लेख्न सक्छु । त्यसैले, त्यस्ता भेलामा बोलिने धेरै कुरा राम्रो गरी बुझ्न त दोह¥याएर सोध्न पर्छ । नबुझेको कुरा अरुसँग सोधे पछि राम्रोसँग अर्थ लगाएर बुझ्थँे र अर्थ लगाउथेँ–“म त हजुरबाको ब्याज हुन सकिन ।” नत मैले हजुरबालाई घोडा बनाएर उहाँको पिठ्यूमा चढेर ‘हठ, हठ’ भन्दै रमाउननै पाएँ । त्यसरी रमाउने कुरा त परै जावस मैले त हजुरबासँग फोन, भाईवर, फेसटाईम, स्काईपमा पनि कुरा गर्न पाईन र पाएको छैन, अहिलेसम्म । त्यसैले म, मेरो मन, मेरो हृदय त्यसैत्यसै पिसीएको जस्तो लाग्छ । अनायस म रुन्थेँ । चरम भौतिक सुखभित्र म कति दुःखी रहेछु त । बाहिर देखिने सुकिलो मेरो शरिरको छाति भित्र रहेको मेरो मुटु कति दुःखी रहेछ भन्ने कुरा म जवान हुदै जादा अनुभूत गर्न थालेको थिएँ । त्यो मलाई बाहेक कसैलाई थाह थिएन ।
मेरो ड्याडले मलाई अतिनै सुख र माया दिए पनि मलाई मेरो हजुरबाको नै माया चाहिएको थियो । जति मेरो उमेर बढदै गएको थियो त्यतीनै मैले हजुरबालाई खोजी रहेको थिएँ । चाहे म अमेरिकाका सुन्दर बँगैचामा हुँ, चाहे म न्यूयोर्कको ब्रुकलिन पुलको छेउमा विश्वका पर्यटकहरुसँगै लामबद्ध भएको हुँ वा त्यहींको हिमालयन याक रेष्टुरेन्टमा नेपालका चित्र हेर्दै नेपाली खाना खादै गरेको बेला किन नहोस मेरो अगाडि मेरो हजुरबा टुप्लुक्क आईहाल्नु हुन्थ्यो ।
हजुरबालाई अमेरिका बोलाउन र हजुरबाको दाहिने हातको चोरी औँला समातेर यहाँका ठूला र फराकिला सडक, सुन्दर र आर्कषक बँगैचा, ठूला ठूला पसल, अग्ला भवनका भरेङ्, रेष्टुरेन्ट र समुद्री किनारमा हिड्न चाहन्थँे । मेरो ठूलो कारको अगाडिको सिटमा हजुरबालाई राखेर अमेरिकाका रमणीय ठाँउमा घुमाउन लैजाने कल्पना बुन्थेँ । अनि त्यसैबेला मौका छोपेर उहाँकै आवाजमा उहाँकै देशका रमाईला कथा सुन्न र सिक्न चाहन्थेँ । तर, त्यो अवसर मैले पाईन । व्यवहारमा उतार्न मिल्ने मेरो ‘सपना’ साच्चिकै सपनामानै रहने हो कि भनेर म झस्किन्थेँ र तर्सिन्थेँ पनि ।
किन मेरो हजुरबा अरु साथीका हजुरबा जस्तै परिवारलाई भेटन अमेरिका आउनु भएन त ? किन हजुरबा मेरो मम्, ड्याडसँग मात्र होईन मसँग पनि कुरा गर्नु हन्न त ? किन हाम्रो परिवार पूर्ण हुन सकेन त ? के कारणले गर्दा अपुरो भएको त हाम्रो सानो परिवार ? खै त मेरो ड्याड र हजुरबा बीच कुरा भएको ? मैले त सुनेकै छैन । के उनीहरुले एक अर्कालाई माया गर्दैनन् ? बाबु छोरा बीच मायामोह हुदैन र ? त्यसो भा मेरो ड्याडले मलाई फेरि किन औधि माया गरेको त ? मेरो हजुरबाको ह्रदय छैन ? मेरो हजुरबा अरु मानिस जस्तै मानिस होईन र ? त्यसो होईन भने कसरी मरेको त माया ? मेरो ड्याडको अनुहारमा अपुर्णता र मायाको भोकको छनक समुहमा हुँदा नदेखिए तापनि त्यो एकान्तमा प्रष्ट देखिन्थ्यो । दोषी को त ? ड्याड कि हजुरबा ?
सामान्य कुरा बुझ्न सक्ने भए देखि मेरो मनमा यी प्रश्न उब्जेका हुन । ती प्रश्नका जरा मेरो उमेरसँगै बढ्दै, अग्लिदै र मोटाउदै गएका छन् । जति म ठूलो हुदै गएको छु त्यतिनै ती प्रश्न मेरो हृदयमा भाला जस्तै तीखा भएर रोपिन थालेका छन । समयको गति र लामो प्रयास पछि मेरो परिवार भित्रको सानो तर महत्वपूर्ण जालो थाह पाएँ जस्ले मेरो परिवार भित्र मायाको गाँठो कसिन पाएको थिएन । बाहिर देखिएको त्यो जालो यस्तो थियो ।
मेरो हजुरबा सुदुर पश्चिम बैतडी जिल्लाको कटौजपानी गाँउबाट राजधानीमा आएर बस्नु भएको रहेछ । हजुरबाका बुबा पक्का किसान हुनुहुन्थ्यो । नुन तेल लिन जुलाघाटबाट महाकाली नदी तरेर भारतको झुलाघाट जानुहुन्थ्यो । झुलाघाटले गर्दा धेरै सजिलो भएको थियो त्यसक्षेत्रका नेपाली गाउँलेको लागि । पहाडको जीवन आफ्नै प्रकारको हुन्छ । कुन परिवार कुन नाता कुटुम्बसँग सम्बन्ध राखेको छ त्यसले परिवारको स्तर मापन गरिन्छ । सृष्टि–सृजना, जन्म –मृत्यू, रहन –सहन, बिहे–वंश, मान–मनितो, इज्जत–बेईज्जत जस्ता कुराहरुको आफ्नै एउटा प्रणाली थियो र त्यो प्रणाली १५औं पुस्तादेखि चल्दै आएको थियो । गाउँका चलन र ब्यवहारका कुरामा परिवर्तन ल्याउनुपर्छ भन्ने स्वर चिया पसलमा उठे पनि आफ्ना घरका बलेनी भन्दा भित्र पस्न पाउदैनथे र सक्दैनथे पनि । हिङ् नभए पनि हिङ् बाधेको टालो घरमा हुन पथ्र्यो ।
गणेशदत्त भट्ट मेरा हजुरबाका बुबा धनि नभए पनि वर्षभरलाई खान पुग्ने, झुलाघाट पुगेर नुन, तेल र वर्षभरकोलागि दुईजोर कपडा फेर्न कसैसँग सरसापट गर्न नपर्ने तहका थिए । त्यतिमात्र होईन छोराहरुलाई स्कूल पढाउन पनि खेतिपातीले धान्ने । सामान्य भए पनि वजनदार परिवार । सिधा, ईमानदार र मेहनती बैतडीका भट्ट परिवर । अहिले पनि डोटी, डडेलधुरा, अछाम, बैतडीका धेरै किसान परिवारका पुरुष सदस्य दुई छाकको जोहो गर्न भारतमानै जाने गरेको कुरा मैले पढेको छु । वर्षभर हाड घोटेर कमाई गरेर ल्याएको पैसा आफ्नै नेपालको सिमामा आर्ईपुग्दा लुटिई विखर्ची भएको सत्य कथाको समाचार पढेको छु । समाचर पढदै गर्दा म महाकाली नदी माथी जुलाघाटमा बनेको झोलुङ्गे पुल तरेर झुलाघाट पुग्छु । त्यसैबेला महाकालीको पानीमा एक पटक चोवलिएर मैले हजुरबाको देशलाई ह्रदयमा टपक्क टाँसेको हुन्छु । समाचार पढिसक्दा गहभरी आँशु छचल्एिको पाउछुँ ।
सुदुर पश्चिमका सबै मानिसले भारततिरनै अध्ययन गर्ने भएकाले हजुरबाले पनि भारतको नैनीतालमा कलेजसम्मको अध्ययन गरे पछि उच्च शिक्षा स्वदेशमानै गर्ने भनेर पछि राजधानी छिर्नु भएको रहेछ । हजुरबा राजधानी छिरेपछि जिजुबाले आफ्ना नातिनातिनीले पनि सानैदेखि भारतमाभन्दा नेपालमानै पढुन भनेर हजुरबासंगै पठाईदिनु भएछ ।
त्यसबेला हजुरबाको देशमा प्रजातन्त्र थिएन । मेरो हजुरबा प्रजातन्त्रको लागि मरिमेट्ने । “निरङकुशतन्त्रको अन्त्य नभएसम्म प्रजातन्त्र आउदैन र प्रजातन्त्र विना बिकास पनि हुदैन” भनेर अध्ययन, नोकरीसँगै राजनीतिमा पनि सहभागि हुनुभएको रहेछ–गोप्य रुपमा ।
दिनरात मेहनत गरेर मेरो ड्याडलाई राम्रो र उच्च शिक्षा दिनुभएछ । मेरो ड्याडले भन्नुहुन्थ्यो–“धेरै रात आमाले बेलुकाको खाना नखाई सुत्नु हुन्थ्यो । तर मेरो पढाईकोलागि भने कमी भएको मैले कहिल्यै अनुभव गरिनँ । पढाईको लागि बुवाको छाती धेरै फराकिलो थियो । कुनै स्वार्थ थिएन । बुआको फराकिलोपनलाई मैले पढ्ननै सकिन ।”
‘मानिसले काम गरेर पेटभर खान पनि नपाउन’े भन्ने कुरा सुन्दा मलाई भने अचम्म लाग्थ्यो । पत्याउननै सक्दिनथेँ । मेरो ड्याडलाई उच्च शिक्षा दिएर असल र मेहनेती नागरिक बनाउन हजुरबाले कुनै कस बाँकी राख्नु भएन । त्यसकै निरन्तरताको व्रmममा ड्याड पाताल पुग्नु भएको रहेछ ।
मेरो ड्याड अमेरिका पुगे पछि वहाँले हजुरबाको भावना, मर्म, परम्परा, सस्कृति र चलनलाई नराम्रोसँग कुल्चनु भएछ । आमाबाबुको छोराछोरी प्रतिको माया र तिनीहरुबाट खोजिने अपेक्षा के हुन्छ मलाई थाह छैन । तर मेरो ड्याडले भने हजुरबाको मर्ममा कुल्चनु भएछ । भावना बुझ्न सक्नु भएनछ । मेरो ड्याडलाई प्रेमले अन्धो बनाएछ । “सबै कुरा मिलीहाल्छ । एक दुई दिन त हो नी आमाबाबु रिसाउने । सबै ठीक भैहाल्छ” भनेर आफ्नी प्रेमीका मेरी मम्लाई प्राप्तगर्न ड्याडले हजुरबाको गुहारलाई सुन्नु भएनछ । हजुरबा धेरै पटक रुनु भयो । एकान्तमा रोएर पिडाको भल बगाईदिनु भयो । समयको भिख माग्दै पर्खन गिडगिडाउनु भयो । मेरो ड्याडको अगाडि लम्पसार परेर जिउदो लाश नबनाउन आग्रह गर्नु भयो । तर मेरो ड्याड र हजुरबाको बाटोनै फरक भएकाले दुबै गोरेटाहरु फरक दिशातिर लम्केछन आफ्नै बेगमा । एउटा बाटो पुर्व र अर्को पश्चिम । ति दुई गोरेटा आँशुले भिज्दै, पीडाले छटपटाउदै आफ्नै गतिमा लम्किरहेछन् । पुर्व र पश्चिम मिल्ने ठाँउ कतै हुन्छ ? मलाई थाह छैन । त्यो सम्झदा मेरा दुवै आँखाबाट महाकाली झरेको पाउछु ।
मेरो ड्याड र ममको बीच यस्तो गहिरो प्रेम रहेछ कि वहाँहरुलाई आकाश खसेर प्रेम बिथोलिने हो कि, प्रलय भएर सारा पृथ्वी पातालमुनी भासिएर उहाँहरुको मायाको आलिङ्गनको डोरी सदाकोलागि चुढ्ने हो कि भन्ने भयले सताएछ । “प्रेम भनेको जीवन हो । प्रेम भनेको स्वर्ग हो । प्रेमलाई सफल हुन नदिनेहरु सबै अपराधी हुन । प्रेम कुनै पर्खाल भित्र रहन सक्दैन र कुनै फलामको मोटो साङलोले पनि बाध्न सक्दैन । प्रेम स्वतन्त्र र स्वच्छन्द भएर आकाशमा उढने चराजस्तै उढन पाउनु पर्छ ” भन्ने सिद्धान्तलाई ड्याडले शिरोधार्य गर्नु भएछ र एक पटक हजुरबा र आमासम्मलाई पनि खवर नगरीकन दुबोका माला पहिरेर, नेपाली साथीहरुलाई बटुलेर अमेरिकामा नै धुमधामसँग बिहे गर्नु भएछ । आफ्ना दाम्पत्य जीवनका फोटाहरु फेसबुकको स्टाटसमा अपलोड गरेर बधाई थाप्न थाल्दा हजुरबा र हजुरआमाको हृदयमा कति भयानक पहिरो गए होला भनेर अलिकता पनि सोच्नु भएनछ ।
एक दिन भट्टथरका मेरो ड्याडका फेसबुक मित्रले मेरो हजुरआमालाई फोन गरेर – “अन्टी एकदत्तले त बिहे गरेछ नि ! तँपाईहरु जानु भएन र ?” फोनको त्यो सन्देशले हजुरबा र हजुरआमा १५ दिन बेहोस हुनु भएछ । पहिलेनै मेरो ड्याडको प्रेमको कुरा र जिद्दिपन थाह पाएको हुनाले उहाँहरु दुर्घटनामा भने पर्नु भएनछ । धन्य हो पिडाले उहाँलाई नदी किनारमा फ्याकिएको मुढो बनाए पनि विकराल दुर्घटनाको खवर मैले सुन्न परेन ।
ड्याडलाई मैले माया गर्छु । तर मैले ड्याडलाई प्रेममा लिन भएर एउटा सुन्दर फूलको सुन्दर मालालाई टुव्रmा–टुव्रmा पारेझैँ आफ्नै परिवारको छातिमा बन्चरो हानेकोमा भने मैले ड्याडलाई माफि दिन सक्दिन । त्यहीँनेर पुग्दा मैले ड्याडलाई घृणा गर्छु –सिधै विरोध गर्न नसके पनि । त्यहाँ युगको फुर्ति वा प्रेमको पागलपन होईन माया, भावना, मुटु, वंशपरम्परा, पारिवारिक अनुशासन र परिवारको चाहना र पारिवारिक मर्म र शालिनताको अर्थ लगाउन सक्नु पथ्र्यो । प्रेम र विवाह त जस्ले पनि गर्छ नि त्यो त कुनै व्रmान्ति होईन । पारिवारिक डोरीलाई नचुडाईकन निरन्तरता दिनु पो कुलको रक्षा गर्नु हो । ईतिहासको सम्मान गर्नु हो । ईतिहासलाई कुल्चेर आधुनिक भईन्छ भन्ने कुरासँग म पटक्कै सहमत छैन । मेरो अन्तरमनले त्यही भन्छ ।
अमेरिकामा धेरैले मेरो हजुरबालाई मेरो ड्याडलाई विहे गर्न स्वीकार नगरीदिएकाले एक्काईसौं सताब्दीको प्रेमको शत्रु पनि भने । अरुले त्यसो भनेको कानमा ठोक्किदा मेरो मुटुमा तिखो धारिलो छुरीले घोचेजस्तो गरी घोच्थ्यो । मेरो मन रोयो । अरुले त्यसो भन्दा मैले हजुरबालाई झन् माया गर्न मन लाग्थ्यो । मैले थाह पाएको के भने मेरो ड्याडले कोसंग कसरी विहे गर्नु भयो भन्दा पनि आफ्नै आमा र बुवालाई पनि थाहै नदिई बिहे गरेकोले हजुरबा मर्माहत हुनु भएको रहेछ । वहाँभित्र रहेको ‘बाबु’ नराम्रोसँग घाईते भएको रहेछ । जब ‘बुआ’ माथिनै प्रहार हुन्छ अनि के बाँकि रहन्छ र ? यस्ता घटना नभएका होईनन् । मैले धेरै सुने छु । समयको अन्तरालमा परिवार मिलेको पनि देखेको छु । आमाबाबुले छोराछोरीसँग सम्झौता गरेको पनि देखेको छु । तर म कति अभागि मेरो हजुरबाले कहिल्यै सम्झौता गर्नु भएन । वहाँ भित्रको ‘बाबु’ साच्चिकै खरानी भएछ ।
म भित्र निरन्तर जलिरहेको प्रश्नहरुको ज्वालालाई शान्त पार्न मैले एक दिन मेरो ड्याडलाई प्रश्न गरेँ–“हजुरबाको घाईते हृदयलाई उपचार गर्न सकिदैन र ? अब त उहाँको उमेर पनि त ७५ भैसक्यो ।”
गम्भिर भएर ड्याडले भन्नु भयो, “एउटा साह्रै सुन्दर, लोभलाग्दो बँगैचा थियो । त्यहाँ सुन्दर फूल फुलेका थिए । बाटो हिडने बटुवा र गाँउलेले एक पटक पाईला टक्क रोकेर त्यो बँगैचा नहेरी पाईला सार्दैनथे । त्यो बँगैचाको सुन्दरता र महकको सिको गथेँ । राजधानीमा भए पनि त्यहाँ सिङगो बैतडीको इज्जत जुर्मुराएर बसेको थियो । एकाएक ठूलो हिमपात भएर त्यो बँगैचाको सुन्दरता क्षणभरमानै सखाम भयो । बँगैचा कुरुप भयो । फूल र फूलकाबोटहरु यत्रतत्र भएर लथालिङ्ग भए । हो, त्यो सुन्दर बँगैचालाई कुरुप बनाउने म हुँ । तेरो हजुरबाको पिडा भनेको मैले खवरसम्म पनि नगरी तेरी आमालाई ल्याउनु हो । त्यस पछि बाबुको अर्थ नै कहाँ र के रह्यो र भन्नु हो । तेरो हजुबाको मन टुटेको छ । तेरो हजुरबाको हदयमा भएको मायाको गंगाको मुल सुकेको छ । अब त्यसलाई उपचार गर्ने आँट ममा छैन ।”
मेरो ड्याडको आँखामा मैले त्यो भन्दा पहिले आँशु कहिल्यै देखेको थिईन । ड्याडले फेरि थप्नु भो “ मैले बुआलाई पढनै सकिन । मेरो बुआको कठोरपन भित्र लुकेको नौनी घिउजस्तो कोमल र हिमालमा टाँसिएको सफा हिउँ जस्तो चोखो मायालाई मैले अँगाल्ननै सकिन । मैले बुआको पिडाबाट छचल्किएर बगेको आँशुमा भएको मर्म र बाबुको अर्थलाई आत्मसात गर्न सकिन । प्रेममा अन्धो हुँदा आमा र बाले निर्माण गरेको मेरो सुन्दर बँगैचारुपी परिवारमा आगो झोसिदिएँ । उहाँमा भएको आत्मसम्मानमा आगो लगाईदिएँ ।”
बाबुको अहम, बाबुको मर्म, बाबुको शान, बाबुको मान, बाबुको इज्जत, बाबुको बाबुत्वमा प्रहार भए पछि कुन बाबुको मायाको घैटो नफुट्लार ! कुन बाबुको छाति न नचिरिएला र ? त्यसबेला, कुन बाबुको हृदयबाट बग्ने मायाको नदीमा बाँध नठडिएला र ! मानिस केही होईन तर ‘बाबु’ माथि प्रहार हुनु हुदैन । ‘बाबु’ भन्ने जुन तत्व छ त्यो तत्वमा कुल्चनु हुदैन । यो ‘बाबु’ मात्र होईन चाहे अरु कोहीनै किन नहोस त्यसको स्वत्वको महत्व नबुझ्दा दुर्घटना हुन्छ ।
मेरो हजुरबाजस्तो फराकिलो मन, हदय र मायाको भकारी भएको को होला र ! तर मायाको त्यो भकारीमा मेरो ड्याडको ब्यवहारले लात हान्यो । हजुरबाको मायाको नदी मेरो ड्याडको प्रेमको पागलपनले गर्दा थुनिन बाध्य भयो । मेरो हजुरबाको हदय शिशाझै फुट्यो चकनाचुर भयो । त्यो हदयले ‘बाबु’ खोज्यो र ‘बाबु’ भित्र ‘बाबु’ नरहदा आर्यघाटमा घिउ हाले पछि दनदन जलेको लाशझँै मेरो हजुरबाको मायाको पोको भएको हृदय पनि लजेर खरानी भयो ।
“ तपाईले मेरो हजुरबाको साथ लिएर हिडनु पर्ने । दुई वर्ष मात्र पर्खिदेभन्दा तपाईले किन मान्नु भएनत ? त्यो सुन्दर बँगैचालाई किन बचाउनु भएन त ? ” एकदिन मेरो ड्याडको चह¥याईरहेको घाउमा मैले खुर्सानीको धुलो छरिदिएँ ।
दुबै हातका हत्केलाले आफ्नो अनुहारलाई निधारदेखि घाँटीसम्म सोहर्नु भयो । हत्केलाका ४ औलाले आफ्नो तीग्राका रौँ झरप्प उखेल्नु भो । आँखाका डिलमा भिजेका परेलालाई दुबै चोरी औलाले पुछदै “मैले मेरो बुआको विश्वास माथि लात हानेँ” भन्नु भो र आफ्नो कोठामा छिर्नु भयो ।
मेरो छातीमा जलेको पीडाको ज्वाला शान्त होलाभन्दा झन असह्य भएर दन्केको थियो । मेरो ड्याडले भने जस्तो त्यो फुलबारी फेरि ढकमक्क होला वा नहोला तर म हजुरबालाई नभेटिकन शान्त रहन सकिन । म मा पनि त वैंश पलाई सकेको छ । म १८ वर्षको खाईलाग्दो अमेरिकामा हुर्केको ठिटो हुँ । मैले पनि त मेरो ड्याडले जस्तै गर्लफ्रेन्ड बनाई सकेको छु । मेरो गर्लफ्रेन्ड त झन अमेरिकी आमा र नेपालीबाबुको प्यारी ‘डटर’ हो, जो नेपाली बुझ्दिन । मैले त झन फडको मारी सकेको छु । म मेरो ड्याडभन्दा त झन् प्रगतिशिल भएर देखाउनु न छ । के मेरो ड्याडले मेरो रोजाईलाई रोक्न सक्नु हुन्छ त ? मेरो गर्लफ्रन्ड हुदाहुदै पनि कहिले काहि भने म झल्यास्स हुन्छु र बैतडी सम्झन्छु । मैले बाटो विराउदै जाने हो भने म नेपाली हुँ भन्ने मेरो चिनारी रहन्छ र ? म ड्याडभन्दा प्रगतिशिल भए भने मेरो छोरा र छोरी हामी दुवैभन्दा प्रगतिशिल नहोलन र ? अनि त्यसपछि खै त मेरो चिनारी ? मेरा सन्तान कस्का सन्तान हुन्छन अनि । मेरो सन्तानको देश कुन हुन्छ ? मेरा सन्तानको जाति के हुन्छ ? उनीहरु नेपाली त हुदैनन् । बाफरे ! यस्ता कुराले मलाई पिरोल्न थालेको छ ।
मैले मेरो जीवन साथी रोज्नुभन्दा पहिले एक पटक मात्र हजुरबालाई देख्न मन लाग्यो । हजुरबाको देशको माटोलाई चुम्बन गरेर मेरो निधारमा टिका लगाउन मन लाग्यो । हजुरबाको देशलाई ‘मेरो देश हो’ भनेर गर्लम्म अँगालोमा हालेर माया गर्न मन लाग्यो । त्यहाँका मन लोभ्याउने सेता हिमाल, सेता झरना, गाढा नीला नदिसँग बाँधिएर तिनको चालमा नाच्न मन लाग्यो । एकै पटक मात्र किन नहोस मलाई मेरो हजुरबाको देशको माटो र हजुरबाको खुट्टामा निहुरेर आदरका साथ ढोग गर्न मन लाग्यो ।
म हरेक रात सपनामा हजुरबाको देश पुग्न थालेँ । हजुरबालाई सपनामा नदेखेको प्रहरनै हुदैन्थ्यो । ड्याडसँग सबै ठेगाना लिएर म मेरो हजुरबाको देश जाने निर्णय गरेँ ।
नभेम्बर महिनाको १५ तारिखमा म हजुरबाको देशको राजधानी काठमाण्डौं पुगेँ । मौसम सफा थियो । देव्रेतिर हरिया पहाडभन्दा माथि देखिएका हिमालका चुचुराहरु विश्वसुन्दरीले पहिरेको सेतो हिराको ताज जस्तै देखिएका थिए । दहिनेतिर देखिएका समथर फाँट र घना जङ्गल र नागबेली भएर बगेका नदीहरुले मलाई जहाजमानै लट्ठ पारेका थिए । जहाजबाट झरेँ । झर्नासाथ मैले हजुरबाको देशको माटोलाई ढोग गरेँ । अरुको पछि लागेँ र विमानस्थलबाट बाहिर निस्कनुभन्दा पहिले बस चढनु पर्ने रहेछ, बस चढेँ । माटोलाई ढोग्दा धेरै यात्रुले अचम्म मानेर मलाई हेरेका थिए ।
विमानस्थलबाट एउटा कार लिएर म दहचोक तिर लागेँ । घरैघरले थिचिएको राजधानी अरुले भनेजस्तो नराम्रो र फोहोर लागेन । ब्यवस्थित भने थिएन । विमानस्थलदेखि गुर्जुधारासम्मको ८ लेनको सडक, अग्ला भवन, विदेशी कारको लश्कर देख्दा मलाई लसएन्जलसको अर्को खण्ड हो कि जस्तो लाग्यो । म खुशिले आल्हादित भएको थिएँ । के म साच्चि हजुरबाको देश पुगेको हुँ त ? मैले धेरै पटक आफूलाई चिमोटीरहन्थे । यो मेरो लागि ठूलो कुरा थियो ।
दहचोक पुगेँ । त्यहाँका साना पसलमा ‘गणेशदत्त भट्टको घर कुन होला’ भनेर सोधेँ । पसलेको सङ्केत अनुसार म मेरो हजुरबा बस्ने घरमा पुगेँ । घर पुग्दा ढोका बन्द थियो । म अग्लो भीरबाट एक्कासी खसे जस्तो भएँ । पसिनाले निथ्रुक्क भएँ । सम्हालिए पछि आँगनको एक मुठी माटो मुठीभरी लिएर निधारमा टिको लगाएँ ।
वरपरका छिमेकी मलाई देखेर झुम्मिएका थिए । मैले हजुरबाको बारेमा सोधेँ । हजुरबा “एकसातादेखि गंगालाल हृदयरोग केन्द्रमा उपचार गर्दै हुनुहुन्छ” भन्ने खबर पाए पछि मैले त्यही कार लिएर अस्पतालतिर लागेँ । मेरा आँखाले हजुरबाको देश देखे पनि मेरो मन भने हजुरबालाई देख्न आतुर थियो । गंगालाल अस्पतालको नयाँ भवनको आईसियु कक्ष बाहिर हजुरबाको नाम र कोठा लेखिएको थियो । त्यसैको आधारमा भित्र छिरेँ ।
मैले फोटोमा देखेको हुनाले हजुरबालाई ठम्याउन कठीन भएन । अस्पतालको बेडमा उहाँका दुबै पैतालालाई जोडेर ढोग गरेँ । हजुरबाका दुबै आँखाबाट आँशुको भल बग्यो । शायद, ती आँशुले मलाई चिनेर माया गरेका थिए । शायद, ती आँशुले अन्तिम प्रहरमा मेरो ड्याडलाई खोजिरहेका थिए । शायद, तिी आँशुले २५ वर्षदेखि सँगालेका मनका अरु धेरैकुरा गरिरहेका थिए । म त्यो रात, रातभर हजुरबाको हात समातेर बसेँ । हजुरबा मसंग बोल्न खोज्नु हुन्थ्यो तर उहाँको भित्रदेखि आएको पीडाको ‘हिक्क’ ‘हिक्क’ ले बोल्न सक्नु भएन । त्यस्तो बेला उहाँको दुबै आँखाबाट बलिन्धारा आँशु बग्थे । मैले आँशुमा एउटा पुस्तक पढने फगत प्रयास गरेँ । उहाँ बोल्नै सक्नु भएन । उहाँको आँखामा मायाको सागर उर्लेको थियो ।
भोलीपल्ट बिहान हजुरबाको देशको १० बजे मेरो अधिल्लो दिनदेखि समातेको हातलाई क्षणभर पनि नछोडी हजुरबाले प्राण त्याग गर्नु भयो । लाशलाई पशुपतिनाथको आर्यघाटमा लगियो । त्यहाँ सामान्य विधि सकेपछि हजुरबाको ईच्छा अनुसार दुबै आँखा तिलगंगा अस्पताललाई दान दिइयो र मृत शरिर शिक्षण अस्पताल महाराजगन्जलाई जिम्मा लगाईयो । अस्पतालको एम्बुलेन्समा चीर नीद्राका लम्पसार परेको हजुरबाको शरिर र अनुहारलाई अन्तिम पटक हेरेँ ।
हजुरबासँग सोध्ने मेरा सबै प्रश्नहरुलाई सेता हिमालले दिएको रुमालमा सुरक्षित राखेर उहाँको आँशुमा रुमलिएको माया लिएर म अमेरिका फर्केँ । हजुरबालाई देखे पछि मलाई नेपालको माया झन् बढ्यो । मैले मेरो गर्लफ्रेन्डलाई सबै बेलिविस्तार लगाएँ । मेरो भावना उनले राम्रोसँग बुझिन । एक वर्ष वितेपछि म भासुको भीर हुदै बैतडी पुगेँ । महाकालीको एक अँजुली पानी पिएँ । जुलाघाटको जिर्ण झोलुङ्गे पुलसँगै महाकालीको फोटो खिचेँ । महाकालीको पानी पिएर उकाली ओराली गरेकी कन्यासँग त्रिपुरा सुन्दरी मन्दिरको आँगनमा विवाह गरेँ । मलाई थाह छैन मेरो हजुरबाको आत्मलाई मेरे निर्णयले कति सुख देला । तर, आज म भने असाध्यै खुशी छु किनभने हजुरबाको माया र प्रभावले मेरा छोराछोरी नेपाली भएका छन् । तिनले नेपाल र महाकालीलाई बिर्सने छैनन् ।
अहिले पनि मेरो कारको अगाडिको सिटमा मैले कसैलाई बस्न दिएको छैन । लसएन्जलसमा भएको मेरो घरको एउटा कोठाको विछौनामा मैले कसैलाई पनि सुत्न दिएको छैन । त्यो कोठा मेरो हजुरबाको हो । कारको सिटमा मैले हजुरबाको यादलाई राख्ने गरेको छु । मसँगै वहाँ घुम्नु हुन्छ र मैले उहाँलाई शहर चिनाउछु । शहर घुमेर आएपछि त्यही विछौनामा उहाँ आराम गरिरहनुहुन्छ । अनि म, हजुरबाको देशबाट ल्याएको हजुरबाले आँगनमा कुल्चेको एक मुठी माटोलाई सिरानीमा राखेर मेरो हजुरबाको हात समातेर आराम गर्ने गरेको छु । हरेक रात सपनामा आउने हजुरबा र सेता हिमालसँग रमाउदै हजुरबाको देश पनि घुम्ने गरेको छु –निरन्तर !
प्रकाशितः जनमत मासिक, अङ्क २३३, फागुन २०७३बाट साभार

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s