कथा २. नातिनी हिउँचुली

यो कथा ‘ नातिनी हिउँचुली’ जनमत साहित्यिक मासिक वर्ष ३५, अंक २, (२४५) फागुन २०७४ मा प्रकाशित भएको हो । त्यसैबाट साभार :


जेठ २८ गतेदेखि परेको पानी असार १ गते बेलुकासम्म परेको थियो । जेठभर खडेरी परेकाले झरी पर्दा किसान औधी खुशी भएका थिए । किसानले काठमाडौँ खाल्टोको पुर्वोत्तर गाउँ साँखुमा बाहेक अन्यत्र कतै रोपाइँ गरेका थिएनन् । हुनत अब उपत्यकामा रोपाइँ गर्ने ठाउँनै कहाँ बाँकी र¥यो र ? देवरत्न साँखुमा बस्न थालेको पनि ३६ वर्ष भएछ । उनी साँखु एक प्रकारले बसाइँ सर्दा ३४ वर्षका जल्दाबल्दा युवा थिए । साउनदेखि उनी ७० पुगेर ७१ वर्षमा उक्लदैछन् । पर्वतको लुरीङकोटका देवरत्न जन्म घरमा जाने आउने गरे पनि घरबाट हिंडेको भने ५३ वर्ष भईसकेको छ । एक–दुई वर्षको अन्तरालमा उनी जन्मघर गइनै रहन्छन् । मुसलधारे पानी क्षणभर रोकिएर वातावरण शान्त भयो । भल बग्न छोड्यो । चराचुरुङ्गी बाँसका झाँङ, खस्रु, अमलाका हाँगामा बासबस्न कल्याङ–मल्याङ गर्दै थिए । देवरत्न पनि थचक्क सोफामा बसेर तातो पानी पिउन थाले ।


बेलुका आठबजे टेवलमा रहेको मोवाइलमा घण्टी बज्यो । फेसटाईममा देखे, न्यूयोर्कबाट नातिनी हिउँचुलीको फोन आएको रहेछ । ‘ हजुर बा ! आज बिहानै किन फोन नगरेको ? हजुरबाले फोन गर्नु हुन्छ भनेर मैले दश मिनटसम्म पर्खेँ । मलाई माया नगर्ने ? आज पनि मलाई हजुरले फोन गर्न किन बिर्सेको हँ ?’ नातिनीका प्रश्नको ओइरो मुसलधारे पानीझैं ओइरिइनै रह्यो । गहभरी आँशु पारेर बोल्न छोडे पछि मात्र देवरत्नले नातिनीलाई फकाउँदै भनेँ– ‘मेरी प्यारी हिउँचुली, मेरो मुटु, मेरी प्राण ! तिमी उठेकी छैनौँ भनेर मैले फोन नगरेको नि ! बल्ल त तिम्रोमा बिहानको छ बज्यो होइन ? ल माफ गर है त । म ढिलो भएँ । ल तिम्रो दशौँ जन्मदिनको हार्दिक शुभकामना !’
हजुरबाले फोनबाटनै ‘ह्यापी वर्थ डे टु यू हिउँचुली, ह्यापी वर्थ डे टु मेरी प्यारी सानु नानु’ भनेर साँखुको घरमा ल्याएको बडेमाको केक देखाईदिए पछि मात्र हिउँचुलीले सेता, बाक्ला, पकुल्ला माया गरेर मुसार्दा पनि रगत झर्ला कि जस्ता गालामा टक्क अडिएका दुई थोपा आँशु पुछी । त्यसपछि हजुर आमाले पनि जन्मदिनको शुभकामना दिइन । देवरत्नले केक काटे । दुबैले एउटा सानो टुक्रा नातिनीलाई मोबाइलबाटनै ख्वाई दिए । नातिनीले न्यूयोर्कको घरमा भएको केकको एक टुक्रा खाए पछि नेपालमा हजुरआमा र बालाई केक खान हिउँचुलीले कर गरी । अनि दुवै जनाले केक मुखमा हाले ।
‘हजुरबा यस पटक तपाइँले मलाई हिमाल देखाउनै पर्छ । तपाई जसरी पनि हिडेर जानै पर्छ । मैले कम्प्यूटरबाट साच्चि नेपाल हेर्ने नै हो । तपाईले म हिमाल देखाउछु भनेको तीन वर्ष भयो, होइन त ? मलाई जन्म दिनको उपहार अरु केही चाहिँदैन । मलाई हिमाल देखाइदिनु नत्र म स्कुल जान्न । नेपाली पनि बोल्दिन के !’ फेरि गहभरि मोतीका दाना जस्ता आँशु मोबाइलमानै खसाल्ने गरी दुबै आँखाका ढिलमा ल्याउदै रुन थाली । त्यो सबै माया फेसटाईमबाटनै जन्मेर हुर्केको हो । किनभने, नातिनी र हजुरबाको भेट त्यसबाट बाहेक भएकै छैन ।
देवरत्नलाई फसाद प¥यो । यसपटक पनि टिमल्न नखोजेका होइनन् । तर नातिनीले स्कुल जान्न भनेपछि झूटो बोल्न चाहेनन् । हिउँचुली सात वर्षमा टेकेदेखि हजुरबा मार्फत नेपाल र हिमाल हेर्ने भने कि हो । तीन वर्ष त उनले टारे । यसपटक भने झूटो बोल्न आफैले आँट गरेनन् । नातिनीलाई सम्झाउदै भने– ‘ल यस पटक दशैँ पछि म अन्नपूर्ण तिर पैदल यात्रा गरेर तिमीलाई हिउँचुली, अन्नपूर्ण र धवलागिरि हिमालको लामो हिमश्रृङखला अनि पहाड र तराईनै देखाईदिन्छु । अब ज्ञानी हुन पर्छ है । राम्रो पढनु पर्छ है । नत्र म जान्न नि ।’
‘म झन राम्रो गर्छु । अझ बढि मेहनत गर्छु । ’ आँशु पुछ्दै हजुरबालाई आश्वस्त पारी । हुन पनि नेपाली, अंग्रेजी दुवै भाषामा लेख्न र बोल्न अब्बल छ हिउँचुली ।
देवरत्न सन्तानको मायाले गर्दा ७१ वर्षको उमेरमा कठ्याङग्रीने चिसोमा दाम्रीन हिमाल तिर जानु पर्ने भयो । रुखो स्वभावका देवरत्नको स्वभावमा आएको परिवर्तन नपत्याउदो थियो–घर र छिमेकलाई । नातिनी जन्मे पछि देवरत्न र उनकी पत्नीको उमेर घटेको छ । यी दशवर्ष बिताउन उनलाई पटक्कै कठिन भएन । हिउँचुलीका आमा र बा दुवै नेपालमा एमविविएस गरेर उच्च शिक्षाको लागि अमेरिका गएका हुन् । तीन चरणका अन्तरराष्ट्रिय स्तरका यु.एस.एम.एल.ई.को परिक्षाको प्रतिस्पर्धामा सफल भएपछि मात्र अमेरिकामा रेसिडेन्सी वा एम.डी. गर्न ढोका खुल्छ । त्यसपछिको उच्च शिक्षा डक्टरेट अथवा फेलोसिप अध्ययन गर्न पनि सजिलो हुन्छ । त्यो निकै कठिनतम यात्रा हो । ठूलो त्याग, तपस्या र मेहनत पछि मात्र अध्ययन गर्ने ढोका खुल्छ । उच्च शिक्षा हासिल गरे पछि त्यो ठाउँमा जागिर गर्ने चाहना गर्नु पनि अस्वाभाविक भएन । देवरत्नले ‘आफ्नो बुढेसकालको साथी हुन्छ ’ भनेर तुरुन्त नेपाल फर्कन आफ्नी छोरीलाई कर गरेनन् । त्यसैले दुवै जनाले पातालमानै जागिर खान थाले । दुबै जना जागिरे भएकाले उनीहरुले हिउँचुलीलाई समय दिन पाउदैनन्–साताको छुट्टिमा बाहेक । र, नेपाल पनि आएका छैनन् –एक दशकदेखि ।


देवरत्नको चाहना अनुसारनै नातिनीको नामाकरण गरिएको हो । अमेरिकामा जन्मेर उतै पढ्न थालेका बालबालिकाले घरमा आमाबाबुसँग पनि अङ्ग्रेजी भाषा बोल्ने भएकाले धेरैले नेपालीमा कुरा गर्न सक्दैनन् । घरमा नेपालीमानै कुरा गर्ने बानी पनि उनलेनै बसालेका हुन् । त्यसैले देवरत्नकी नातिनीले नेपालमा पाईला नटेके पनि उ राम्रो नेपाली बोल्ने, लेख्ने र पढने पनि गर्छे । त्यसमा देवरत्नका बूढाबूढिनै गर्व गर्छन् ।
संसारमा सबैभन्दा छिटो बित्ने समय हो । मानिसले त्यसलाई त्यति ख्याल गर्दैनन् । ख्याल गरेर साध्य पनि हुदैन । गत वर्षभन्दा यस वर्ष साँखुमा धान राम्रो फल्यो । देवरत्नले पनि एक रोपनी खेत किनेका छन् । त्यसमा आफूलाई मन पर्ने मिठो धान रोप्छन् । कम फले पनि उनीहरु त्यसमा खुब रमाउछन् । उनीहरुले बिहान एक छाक भात खाने भएकाले मिठो खान्छन् र त्योसँग हिसाब मिलाउन बेलुका गहुँको सुख्खा रोटी वा कोदो, मकै र गहुँ मिसाएर पिसेको पिठोको ढिँडो खान्छन् । स्वास्थ्य राम्रो भएकाले उनीहरु ससाना काम आफै गर्छन् ।
काठमाडौँ शहरमा मानिसको ठूलो चाप भयो । शहर पुगेर साँखु फर्कदा धुलो, धुँवा, भिड, र घन्चमन्चले बिमारनै निस्केला जस्तो हुने भएकाले उनीहरु महिनामा एक पटक मुश्किलले नयाँ सडक, असन र इन्द्रचोक भित्र छिरेर निस्सासिएको अनुभब दोह¥याउछन् । बरु, फुर्सद भयो भने कहिले बज्रयोगिनी मन्दिर, कहिले मणिचुड पहाड, कहिले जहरसिंह पौवा त कहिले नगरकोटनै पुग्छन् । पहाडमा हुर्के बढेका देवरत्नका बूढाबूढी पहाडका पखेरा र रुखका हाँगाबिगासँगनै बढि रमाउछन् । साँखुका स्थानीय नेवार समुदाय पनि तिनीहरुलाई देखेर छक्क पर्छन् ।
शहरमा देखाउनकालागि चाडबाड मान्ने चलन बढेकाले देवरत्न चिन्तित छन् । देवरत्नका आमाबाबु हुँदासम्म सकेसम्म दशैँमा पर्वतको लुरिङकोट पुग्थे उनी । लुरिङकोटबाट देखिने सेता हिमाल, बिहादीको समथर फाँट, कालिगण्डकी उपत्यका, गुल्मीका भिराला पाखामा देखिने सुन्दर गाउँ, र आकाशसँग टाँसिएर बसेका पहाड देख्दा उनी साच्चिकै रमाउथे । आजकल त्यो छैन । मानिसले मोबाईल र कम्प्यूटरमा आफन्तसँग स्काइप, भाईबर, म्यासेन्जर, फेसटाइम, फोनमा कुरा गरेर, त्यसैबाट दशैँ, तिहार, ल्होसार, छठ, औँसीको टिका, प्रसाद र आर्शिवाद साटेर मनाउने गर्छन् । बाहिर सबै निकै हँसिला र फुर्तिला देखिए पनि भित्रभित्रै घुक्क घुक्क भक्कानो फुटाल्दै रोएका हुन्छन् –नेपाल र विदेशीएका नेपाली । रुन्छन । पीडा छाति भित्र राख्छन । बाहिर देखाउदैनन् । देवरत्नले यो पचाईसकेका छन् । यसपटक पनि दशैँमा उनले नातिनी सहित छोरी र ज्वाईलाई टिका, जमरा लगाईदिए र आशिर्वाद दिए–फेसटाईमको सहयोगमा ।


‘हजुरबा यस पटक त हिमाल देखाउनु हुन्छ नि !’ कम्प्यूटरबाट हजुरबाको हातबाट टिका लगाई सकेर आमाबाबुको टिका थाप्दै गर्दा हिउँचुलीले सोधी । म पक्का जान्छु । यसपटक गइन भने त म साँच्चै बुढो हुन्छु । ’ देवरत्नले जवाफ दिए ।
दशैँ रमाइलो गरी बित्यो । हिउँचुली आमाबासँग बाहिर घुम्न निस्के पछि देवरत्नकी श्रीमती बरबर आँशु झार्दै रोइन । छाति भित्र अटेसमटेस गरि बसेका आँशु झरीमा बलेनी झरेझै झरे । उनी पनि गम्भिर भए । ‘अहिले धेरै नेपालीका घरमा मोबाइलबाटनै सबै चाडबाड आउने र जाने गर्छन् । कतिले त त्यो पनि पाएका छैनन् । धन्य हो हामीले मन उज्यालो पार्ने नातिनी त पाएका छौँ । किन रुन्छेस ?’ रुमाल झिकेर आफ्ना आँशु पुछ्दै देवरत्नले श्रीमतीलाई सम्झाए ।
देवरत्नले नातिनीले पठाई दिएको सानो म्याक कम्प्यूटर, क्यामरा, मोबाईल, सोलार प्यानल, ब्याटरी, चार्जरसबैको नाम बनाएर तयार गरे । रुकस्याक, न्याना ज्याकेट, हवा छेक्ने ज्याकेट, पातला न्याना भित्री गन्जी र सुरवाल, ऊनको टोपी, क्याप, बाक्ला मोजा, जुता, पानीको बोतल, चकलेट सबै तयार गरेर फिजारे । मंसिरको दोस्रो सातादेखि बिहान बेलुका चिसो बढेको थियो । सबै सामान ठीक पारेर हिउँचुलीलाई फेसटाईमबाट देखाईदिए पछि मात्र ती सामान रुकस्याक भित्र हाले ।
अघिल्लो वर्षझै यस वर्ष पनि पुसको पहिलो साता मौसम असाध्यै सफा थियो । कम्प्यूटर र क्यामराको झोला आफूले बोकेर अर्को झोला यात्राको साथी अमरलाई बोकाएर उनी बेनीको माइक्रो बसबाट पोखरातिर लागे । उनले नातिनीलाई नेपालका गाउँ, पहाड, बन, चराचुरुङ्गी, खोला, झरना र हिमाल देखाउने बचन दिएका थिए । हिंड्ने बेलामा हिउँचुलीले भनेको सम्झे–‘हजुरबा तपाई हिडेको बेला यहाँ रात भए पनि म सुत्दिन नि ! मलाई सबै कुरा देखाइदिनु होला । खर्चको पीर नमान्नु नि !’ अमेरिकामा राती भए तापनि हिउँचुलीको स्कुलको बिदा भएकाले नसुत्ने योजना गरेकी थिई । मनमनै सोच्दै थिए –‘ आजकलका बालबालिका कति बाठा हँ ! राजनीति र प्रशासनमा इमानदारी हुँदो हो त यीनले देशको मुहार फेर्थे होला ? ’
‘नेपाल आए पो मुहार फेर्नु त ।’ उनले आफैलाई जवाफ दिदै कुश्मामा दुईबजे झरे ।
‘यो तेरो हजुरबाको जिल्लाको सदरमुकाम कुश्मा हो । अन्नपूर्ण दक्षिण, गंगापूर्ण र माछापुछे« हिमनदीबाट आएको मोदी नदी (खोला) र दामोदर कुण्ड र मुक्तिनाथको शिरबाट आएको कालिगण्डकी नदीको बिचमा रहेको पर्वतको सदरमुकामको कुश्मा बजार यही हो । बडगाउँबाट ज्ञादी जोडने, बडगाउँको बनबाट बाग्लुङको कैया जोडने संसारकै लामा र अग्ला झोलुङ्गे पुल यिनै हुन् । ’ भन्दै देवरत्नले नातिनीलाई माछापुछ«े हिमाल सहित झोलुङ्गे पुल, नदीहरु देखाईदिए । हिउँचुलीले कालीगण्डकी र मोदीखोलाको दोभान देखाईदिन भनी । उनी फर्केर कैया जाने झोलुङ्गे पुलको पारीसम्म पुगेर त्यो पनि देखाईदिए ।


नातिनीसँग त्यो दिन उनका साथी डेभिड, जोन र अमृता पनि थिए । नेपालका नदी, हिमाल, वन, पुल देख्दा सबै खुशीले उन्मत्त भएर हिउँचुलीलाई धन्यवाद दिए । त्यो साँझ देवरत्नले आफ्नो पुरानो कुरा सम्झेर झल्यास्स भए । उनलाई उनका हजुरबाले आँगनको धुलोमा ‘अ, आ’ अनि कालो पातलो ढुङ्गाको पाटीमा ‘क, ख, ग’ लेख्न सिकाएको सम्झे ।
एकदिन भैंसी किन्न कालीपार जादा देवरत्नले उनका हजुरबालाई पछ्याएको सम्झे । ‘पिपल गेडी ल्याईदिन्छु पढेर बस’ भनेर हजुरबा गए पछि देवरत्नले आँगनको धुलौटोमा क, ख, ग, लेखेर बसेको छर्लङ्ग देखे । देवरत्नका बाले वनबाट गाई, बाख्रा चराएर आउदा स्याउलाको ठूलो भारी बोकेर खुईय गर्दै आएको । आमाले ठूलो तामाको गाग्रीमा पानी ल्याएर दाउरा बाल्दै बेलुका हाँडीमा मकै भुटेको सम्झ्यो । बटौलीबाट १३ दिनका दिन बोकेर ल्याएको मट्टितेलले पानसको बत्ति बालेर मझेरीमा घोप्टिएर पढदा देवरत्नका कपालको रौं जलेको हजुरबाले देखेर निभाएको झलझली देख्यो र टाउकोमा हात राख्दै भन्यो–
‘वाफरे बिकास भएन भने पनि बिकास त कहाँ बाट कहाँ पो पुगे छ त हँ !’
क्षणभर देवरत्नले आफूले आफैलाई विश्वास गर्नै सकेनन् । धुलौटोमा अक्षर चिनेको देवरत्न आज आफ्नी अमेरिकामा बसेकी १० वर्षे नातिनीलाई नेपाल देखाउन झोला भरी ल्यापटप, क्यामरा, नेटकार्ड बोकेर हिडेको थियो । टेवलको कफि सक्यो । ऐना हे¥यो । आफूलाई ७० वर्षको होइन कि कहिले १० वर्षे नातिनी त कहिले धुलौटोमा लेख्दै गरेको ६ वर्षको देवरत्न देख्यो ।
देवरत्नका बाबुले बटौलीबाट नुन र मट्टितेल बोकेर ल्याउदा त्यो गाउँ देवलोक जत्तिकै रमाईलो थियो । खेतमा लहलह धान फल्थ्यो, बारीमा एक हात लामा मकैका घोँगा हुन्थे । गोठभरी भैँसी र खोरभरी बाख्रा हुन्थे । कुणेभरी दूध, ठेकाभरी दही, र चौठीभरी घिउ हुन्थ्यो । पानसको बत्ती भए पनि अहिलेको बिजुली बत्ती भन्दा उज्यालो हुन्थ्यो । जुनेली रातको के कुरा अँधेरी रातमा ताराहरु आँगनमा झरेर धानका बिटासँग लुकामारी खेल्थे ।
बिकासले गर्दा त्यो रमाईलो अहिले शून्यतामा रुपान्तरण भएको छ मानौं त्यो जिउँदाको मशानघाट हो । खेतबारी बाँझो छन् । स्कुल, स्वास्थ्य चौकी, मोटरबाटो, बिजुली बत्ती, खानेपानी छन् तापनि युवा जति सबै लाहुरे हुन गएका छन् । पहिले लाहुर त एक देशमात्र थियो । अहो ! अहिले त लाहुर पनि कति देश ? बाफरे १२६ रे !
‘सर खाना तयार भयो’ वेटरले खबर गर्दा देवरत्न झस्क्यो । बिकासको नियमनै यस्तै हो कि, उस्को देश मात्र बाँझो भएको हो , भेउ पाएन । गाउँ सम्झदा उसले हजुरबालाई सम्झ्यो र आज आफू हजुरबा भएको समयसँग तुलना ग¥यो । र, मनमनै सोच्दै खाना खान झ¥योे–‘अहो ! त्यसबेला र अहिलेको समय त कुश्मा–ज्ञादीको मोदीखोलाको झोलुङ्गे पुलको गहिराईभन्दा पनि गहिरो पो भएछ । आर्थिक बिकास पनि पुलको उचाई जस्तै बढेको भए देश बाँझो हुने थिएन । मन रुखो हुने थिएन । ’


देवरत्न र अमर लेस्पार पुग्नुभन्दा एकघण्टा वरै ओर्ले । मोबाईलमा डाटा अन गरे, एक पटक चारैतिरको दृश्य तल, माथि सबैतिर देखिने गरि नातिनीलाई देखाउदै उकालो लागे । हिंडदै गर्दा उनले भने ‘बाक्लो बन भएको अग्लो पहाडको फेँद समथर ठाउँमा रहेको ठूलो गाउँको नाम लेस्पार हो । यहाँ पुन मगरको बसोबास रहेको छ । यिनीहरु यहाँ हजारौं वर्षदेखि बसोबास गर्दै आएका हुन् र यिनको मुख्य पेशा कृषिनै नै हो । यहाँका धेरै पुरुषहरु बेलायत र भारतमा सेनामा भर्ती हुने गर्छन् । यहाँका सबै घर पातलो कालो ढुङ्गाले छाएका छन् । बाटाका सिँढी पनि ढुङ्गाका ठूला छपनी राखेर बनाएका छन् । यिनीहरुले दशैँ तिहार सहित ससर धारामा बाराही देवीको पूजा गरी चाडपर्व मनाउँछन्’ ।
‘हजुर बा आज बेलुका त्यहाँको एउटा नाच पनि देखाईदिनु न है । मलाई हेर्न मन छ ।’ हिउँचुलीले नयाँ कुरा थपी । त्यसपछि अमरले त्यहाँका आमा समुहलाई भनेर स्थानीय सालैजो भाकाको –
‘ हे.. गुँरासै फुल्यो ढक र मक लेस्पार बन लेकैमा सा..लै जो न्याउली रुने पाखैमा,
गोठाला जान्थ्यो, घाँसदाउरा गथ्र्यो जलजला भेकैमा सा..लै जो झल्को आउने आँखैमा । ’ भन्ने सालै जो भाका गीत सुनाई दिए ।
त्यस्तै आधुनिक भाकाको एउटा– ‘जलजलाको डाँडामाथि डाँफेमुनाल नाच्यो, लेस्पारीको मनै सङ्लो आनीबानी साँचो’ गीतमा नृत्य पनि देखाईदिए । त्यो देखेर हिउँचुली र उस्का साथीहरु खुशीले गदगद भए ।
पन्चासेको चुचुराबाट उदाएको सूर्योदयको दृश्यले देवरत्न भावुक भए । उनले जीवनमा धेरै उच्च स्थानबाट सूर्योदय र सूर्यास्तको दृश्यको तश्वीर लिएको सम्झे । अघिल्लो दिनको सूर्यास्त र त्यो बिहानको सूर्योदयको दृश्य, माटो र ढुङ्गाले बनेको घर र ढुङ्गालेनै छाएको भिरालो छानो देखेर हिउँचुलीमात्र होईन उनका साथी डेभिड र उसकी आमा, फिलिप, जोन र उसको बाबु, म्यारी र उनकी आमा, अमृता, रुपा, मनोहर र एभरेष्ट पनि औधि खुशी भएका थिए । ती सबै बालबालिकाको उमेर दश वर्ष नै थियो । कति अमेरिकन थिए भने कसैका आमा नेपाली त कसैका भने बाबु नेपाली थिए । आमा र बाबु भएका केटाकेटीले नेपालजान आग्रह गरेको उनीहरुको कल्याङ–मल्याङ आबाजबाट सुनिन्थ्यो । सानी भनेर के गर्ने त्यो सबै दृश्य देख्दा हिउँचुली भने गम्भिर देखिएकी थिई ।
त्यो बिहान देवरत्न प्रफुल्ल देखिन्थे । लेस्पार गाउँको शिरमा रहेको चौपारीबाट एकै ठाउँमा परेवा बसेजस्तो देखिने लेस्पारलाई हेर्दै भने – ‘बुझ्यौँ अमर । मेरी नातिनी मात्र होईन, त्यस्का साथी पनि नेपाल आउँछन् । त्यतिमात्र कहाँ हो र ? नेपालबाट अमेरिका छिरेर, विदेशीसँग बिबाह गरेर नेपालका आमाबाबुलाई बिर्सेका आमाबाबु पनि छोराछोरीका जिद्धीले नेपाल आउँछन । अनि, तिनका आँखाबाट रगत झर्छ । बुझ्यौँ ।’
उनीहरु लालीगुँरास, खस्रु, जुनिफरको बाक्लो जंगलको बाटो भएर पसिनाका धारा झार्दै उकालो चढ्दै थिए । आकासमा अचानक कालो बादलका फुर्का देखिए । ‘आँखाबाट रगत झर्छ’ भनेको कुरा मैले अलि बुझिन नि’ पसिना पुछ्दै अमरले सोधे । देवरत्नले अमरले बुझ्ने तरिकाले बुझाईदिदै भने– ‘नेपालमा आमाबाबु मरे कि बाँचेका छन् भन्ने वाश्ता नगर्ने नेपाली अमेरिकामा धेरै छन् । आफ्नो लोग्ने, आफ्नी स्वास्नी, आफ्ना छोराछोरीमात्र संसार हो भन्ने कम छैनन् । हो , त्यस्ताका प्यारा छोराछोरी मेरी नातिनीका साथी छन् । अब तिनीहरुले हिउँचुलीको घरबाट फर्के पछि आ–आफ्ना आमाबाबुसँग तिनका हजुरबा र हजुर आमाको बारेमा सोध्ने छन् । छोराछोरीको मोहले बल्ल तिनले आफ्ना बाबुआमालाई झल्यास्स हुदै सम्झने छन् । हो, त्यसबेला झर्ने आँशु, आँशु नभएर रगत हुने छ ।’


अमर पनि भावुक भए । त्यस्ता कुरा उनले पनि नसुनेका र नदेखेका होईनन् । नेपालमानै पनि आमाबाबुलाई हेला गर्ने, झुक्याएर बृद्धाश्रममा छोड्ने धेरै छन् । ‘यो संसार विचित्रको छ । यो संसार भित्र मायाभन्दा घृणा गर्नेहरु धेरै छन् । उमेरमा मातेर उमेर ढल्के पछि पछुताउको पोखरीमा डुबुल्की मार्नेहरु पनि त देखेकै हो ।’ अमरले लालीगुँरासको एउटा पात टोक्दै मनमनै भने । केहिबेर अघि देखिएको कालो बादलले आकाश ढपक्कै ढाक्यो । चराहरुको चिरबिर एक्कासी बढ्यो । जलजला चौरमा नपुग्दै पानीका थोपा फाट्टफुट्ट झर्न थाले । जलजला पानी जमिरहने चारैतिरबाट बाक्लो जंगल, भीर, खरबारीले घेरिएको सानो उपत्यका हो । त्यहाँ वरपर बासबस्ने ठाउँ छैन । जलजला खोला तरे पछि एउटा ठाडो खरबारीको उकालो चढनु पर्छ । त्यसपछि करिव दुई घण्टा हिंडे पछि मात्र पुनहिल नपुग्दैको मोहोरे डाँडामा बास बस्न पाईन्छ ।
जलजलको बीचमा एउटा सानो मन्दिर र मन्दिरसँगै एउटा धर्मशाला रहेको छ । धर्मशाला नपुग्दै हुस्सुले छोपी हाल्यो । त्यसपछि पानी र हिउँ पर्न थाल्यो । वर्षादी ठूलो झोलामा थियो । कम्प्यूटर र क्यामरालाई बचाउन देवरत्नले आफ्नो हवाछेक्ने ज्याकेटले रुकस्याक ढाके । अमर दौडदै धर्मशाला पुगेर ओत लागे । लेक तिरको मौसम पहाड र तराईमाभन्दा छिटछिटो परिवर्तन हुन्छ । एक्कासी मौसम बिग्रेकाले देवरत्नको अनुहारमा पनि बादल देखियो ।
त्यसबेलाको चिसो क्यानाडामा माइनस ५० र न्यूयोर्क र वासिङटन डि.सि.तिर माइनस ४० डिग्री सेल्सियस पुगेको थियो । शरिरको कुनै भाग दश मिनटसम्म बाहिरको हवामा परेमा रगतजम्ने भएकाले अमेरिकी सरकारले बाहिर हिड्दा होशियार हुन नागरिकलाई सूचना जारी गरेको थियो । नेपालमा हिउँ परेको थिएन तर चिसो भने अचाक्ली बढेर तराई र हिमालमा बिरामी हुने र मृत्यू हुनेको सख्या बढेको थियो । हिउँदमा हिउँ प¥यो भने सामान्यतया दुई वा तीन दिन पर्छ । त्यसपछि अचाक्ली चिसो भए तापनि मौसम भने मुटुका नसा हँसाउने गरी सफा हुन्छ ।
दिउँसो तीन बजेको थियो । उनीहरुसँग वर्षादी, टर्च लाइट त थियो तर पाल, ग्यास,र चुलो भने थिएन । जलजलामा फोन लाग्दैन्थो । हेर्दाहेर्दै फुसफुस हिउँ पर्न थाल्यो । बाक्लो हुस्सु लागेर चार–पाँच फिटभन्दा टाढा देख्न नसकिने भयो । वनको गोरेटो बाटो हिउँले पुरियो ।
‘बस्यो भने अँध्यारो हुन्छ । धर्मशालाको चिसोमा भोकै रात गुजार्न सकिदैन । त्यसकारण हिउँ पर्दापर्दै भए पनि हिंडने हो कि ?’ देवरत्नले अत्तालिदै अमरलाई भने ।
‘सर, हिउँ बाक्लो परेको छ । छ इन्च जति बाक्लो हिउँ भईसक्यो । चिसो हवा चलेको छैन । हिउँ अझै पर्छ । हिउँले गर्दा बाटो पुरिन्छ । पाखा र डाँडा हेरेर बाटो पहिल्याउन पनि बाक्लो हुस्सुले चार–पाँच फिट भन्दा देखिदैन । हिउँले पुरेको बाटोमा हिंडदा खाल्डोमा पर्ने, भीरबाट बल्ड््याङ खाने, बाटो बिराएर खोंचमा पर्ने खतरा बढी हुन्छ । हिउँ परेको बेला होशियार हुन पर्छ । हिमालमा भएको भए चिसोले मर्ने पनि डर थियो । हामी तीन हजार मिटरभन्दा तल छौ । तर हिउँले बाटो पुरिएको रात पर्ने बेला हिंड्न त हुदैन । पखौँ । त्यस्तै प¥यो भने यो धर्मशालामा बसौंला । हाम्रो भाग्यले जलजलमा मन्दिरको काखमा छानो भएको धर्मशाला फेला परेको छ । एक दिन खाना नखाएर मरिदैन । हामीसँग चिउरा, भुजिया, बिस्कुट त छदै छ नि ! पानी पनि छ । पीर नगर्नु ।’ अमरले देवरत्नको बोलीलाई बन्द गर्ने गरी जवाफ दिए ।
कुरा त ठीक हो । हिउँ पर्न छोडेर हुस्सु नहटेसम्म त्यहाँबाट नहिडने निस्कर्षमा दुई जना पुगे । जलजलाको वन झनभन्दा झन अँध्यारो हुदै गयो । लगातार एक घण्टा हिउँ प¥यो । हिउँ पातलो हुदै गयो र हुस्सु पनि अमरले भने झै लालिगुँरासको बोटसम्म उठ्यो । जलजलको उत्तरी भीर प्रष्टै देखियो । देवरत्नको मनमा उठेको डर हुस्सुसँगै अलिपर पुग्यो तर भागेन । उच्च हिमाल नभए पनि हिउँ परेपछि जंगलबीचको जाडो पनि बढन थाल्यो । त्यसबेला एक–दुई चराहरु उढेर अर्को रुखतिर गए । शायद तिनीहरु त्यही मौकामा आफ्नो गुँढमा गएका हुन् ।
अमरले चिउरा र भुजिया झिके । दुबैजनाले बर्षादी भुईमा ओच्छ््याय, त्यसै माथि बसे र खान थाले । त्यसबेला अन्नपूर्ण प्रथमको चुचुरो तिरबाट आएको चिसो सिरेटोले देवरत्नको चाउरीएको गालामा एक्कासी मुसा¥यो । उनी नातिनीको हात हो कि भनेर क्षणभर झुक्किए । त्यो हात थिएन, त्यो त चिसो हिमाली स्याँठ थियो र त्यसले होशियार हुन सन्देशमात्र दिएको थियो ।
पुसको महिना त्यसमाथि हिमाली लेक । दुई बजे घाम ढल्केपछि नै सूर्यका किरण पहेलपुर हुन्छन् । चिउरा खादै गर्दा त साढे चार हुन पाँचै मिनट बाँकी थियो ।
धेरै पदयात्रा गरे तापनि बास बस्ने ठाउँमा नपुग्दै अध्यारो हुँदा, मौसम खराब हुँदा र बीचबाटोमा हिउँ परेपछि देवरत्न साह्रै अत्तालिन्छन । हँसिलो हिमाल जस्तै उनको उज्यालो अनुहार कालो बादलमा परिणत हुन्छ । उनी अलि बढीनै निरास हुन्छन् । जुन गलत हो । बाटोमा हिँड्दा जे पनि त पर्न सक्छ । त्यसलाई त नडराईकन होशियार भएर पो सामना गर्नु पर्छ ।
खाजा खाईसके पछि देवरत्नले हिउँपरेर सेताम्मे देखिएको जलजलाको सानो भिडियो बनाए । तश्वीर खिचे । दुवै मिलेर एकले अर्काको तश्वीर पनि खिचे –राम्रो नभए तापनि ।
‘अब के गर्ने त ?’ उनले अमरलाई सोधे ।
हिउँ पर्न छोडे पनि वातावरण खुलेको थिएन । पहाडको धार भएर हिडनु पर्ने र हिउँ परेकाले चिप्लिने डर पनि त्यत्तिकै थियो । अमरले चारैतिर हेरे पछि नाडीको घडि हेरेर जवाफ दिए –
‘सर, आज यतै बास बसौँ । बाटो सजिलो छैन । दुबैतिर भीर भएको पहाडको धारबाट हिँड्न पर्छ । अँध्यारो हँुदैछ । बास बस्ने ठाउँमा नपुगेर बीचमा हिउँमा पुरिन सकिन्छ । हिम पहिरो झर्न सक्छ । हराउन पनि सकिन्छ । हिउँ भनेको अरु जस्तो कुरा होईन । यो सुन्दर पनि हुन्छ र जति सुन्दर देखिन्छ त्यत्तिकै निर्दयी पनि हुन्छ । हिउँमा ज्यान सजिलै जान्छ । हामी त साह्रै भाग्यवान रहेछौ । धर्मशालामा बास पायौँ नत्र ओढार वा ठूलो रुख खोजेर त्यसमा बास बस्नु पथ्र्यो । यहाँ कुनै खतरा छैन । बर्षादी, स्लीपिङ ब्याग र ज्याकेट छन् । यतै बसौँ ।’
हिउँ र हिमाल सुन्दर भए तापनि ती खतरनाक हुन्छन् भन्ने कुरा देवरत्नले राम्रो बुझका छन् । अमरको कुरा साँचो थियो । त्यहाँ जवरजस्ती गर्नु भनेको बुढो देवरत्नको जीवनलाईनै खतर थियो । त्यसैले उनले – ‘हुन्छ । यहीँ बसौँ । यो धर्मशाला हाम्रो लागिनै बनेको रहेछ । हे प्रकति देवता हाम्रो रक्षा गर । ’ भन्दै धर्मशालमा असरल्ल रहेको बालुवा, ढुङ्गा सम्याउन थाले । दुबै जना मिलेर कोठामा भएका स्याउला र निगालोका सुथरीलाई मिलाएर ओच्छ्याए अनि त्यसपछि वर्षादी राखे । होटलमा बस्ने भएकाले उनीहरुले म्याट्रेस बोकेका थिएनन् । त्यो कमजोरी भएको थियो । जे होस अँध्यारो नहुँदै उनीहरुले आफ्ना बाक्ला लुगा, टोपी, पन्जा सबै झिके र लगाए ।
अमरले बाटोमा हिंड्दा धाराको पानी पिउने भएकाले उनको बोतलमा तातो पनि भरी नै थियो भने देवरत्नकोमा एक गिलास बाँकी थियो । उनीहरुले एक–एक कप कालो कफि बनाए र त्यसैसँग फेरि चिउरा, विस्कुट, र भुजिया खाए अनि सुते । धर्मशालामा झ्याल र ढोका नभएको हुनाले चिसो हवाले सेक्थ्यो । तर पनि राम्रा स्लिपिङ ब्याग भएकाले डराउन पर्ने भने थिएन ।
देवरत्न पहिलो प्रहरमा दुई घण्टा जति निदाए त्यसपछि भने उनी निदाउन सकेनन् । उनका आँखाका ढिल र अनुहार चिसोले फुलेको चाल पाए । रातको चकमन्नतामा जलजलाको बीच जंगलमा ती दुई प्राणी थिए । बिहानी पख भने जंगलमा स¥याङ सुरुङ आवाज सुनिन थाल्यो । शायद त्यस वनमा भएका झारल, मृग, कस्तुरी, भालु, चितुवाले उज्यालो हुन थालेको आभास पाएका थिए । बिहान तीन बजे देवरत्न बाहिर निस्के र आकाश हेरे । तारा देखे पछि उनी अँध्यारोमानै मुसुक्क हाँसे । भोली पल्टको मौसम सफा हुन्छ भन्ने कुरामा उनी ढुक्क भए । त्यसको केही छिन पछि चराचुरुङ्गीको चाँचाँ, चीँचीँ आवाज आउन थाल्यो ।
साच्चिकै मौसम सफा भयो । अमरले कफी बनाए । दुबैजनाले कफी पिएर जलजलाको खोला तरेर उकालो लागे । जमीनको तातोले रातभरमा केही हिउँ पग्लेकाले बाटोको गोरेटो प्रस्ट देखिन्थ्यो । गेगर भएको ठाउँभन्दा माटो भएको ठाउँ लर्कने थियो । अघिल्लो दिन हिउँ परेकाले मौसम भने चौपट्टै सफा थियो । आकाशमा एक फुर्को सेतो बादल पनि थिएन । आकाश से–फोक्सुण्डो तालको पानी जस्तै गाढा नीलो देखिएको थियो । बिहानीको घाममा चराचुरुङ्गी रमाउदै भुर्रभुर्र यता र उता नाचीरहेका थिए । रुखका पातहरु चिल्ला भएर टलक्क टल्केका थिए । अन्नपूर्ण क्षेत्रका हिमालका चुचुरामाथि घामको किरणले धुवाँ उढेजस्तो झल्याक–झुलुक देखिन थालेको थियो ।
देवरत्नले रुकस्याकबाट क्यामरा, फोन झिके । डाटा अन गरे । फोन रुकस्याकको फितामा बाँधे । नातिनीसँग कुरा गर्दै हिँड्न मिलोस भनेर उनले त्यसो गरेका थिए । करिव डेढ घण्टामा उनीहरु जलजलाको उकालो र पहरो नाघेर एउटा डाँडामा पुगे । त्यसपछि पहाडको धारैधार हिँडे पछि मोहोरे डाँडामा पुुगिन्थ्यो । त्यो डाँडाबाट चारैतिरको दृश्य असाध्यै राम्रोसँग देखिन्थ्यो । हिउँ परेपछि त्यो बिहानीको प्राकृतिक रुप यस्तो लाग्थ्यो कि मानौ एक नव युवती सुन्दरी गङ्गा स्नान गरेर व्रत बस्न ठीक्क परेकी हुन् ।
नभन्दै पहाडको एउटा पाखो चढेर अर्को पहाडको धारमा पुग्दा अमेरिकाबाट हिउँचुलीको फोन आयो । अघिल्लो दिन हिउँ परेको समाचारले सबै तर्सेका रहेछन् । नेपालको पश्चिम हिमाली भागमा अचानक हिउँ परेको रहेछ । डोल्पाका स्थानीय गाउँले र अन्नपूर्ण परिक्रममा गएका पर्यटक हराएका छन् भन्ने खवर अनलाईनले दिएका रहेछन् ।
‘ हजुरबा हिजो किन फोन नगरेको ? हिजो के भयो ? हिउँमा पर्नु भयो कि भएन ? चोट लाग्यो कि ? तँपाईको अनुहार फुलेको छ । तँपाईलाई धेरै गाह्रो भयो होइन त ? मैले गर्दा हो नि ! मलाई माफ गर्नु हजुरबा । मलाई माफ गर्नु है ।’ हजुरबालाई देखे पछि हिउँचुली डाको छोडेर रुन थाली । त्यो साँझ त्यहाँ अरु सबै साथीका साथ हिउँचुलीका आमाबाबु पनि सँगै थिए । हिउँ परेको समाचारले सबै जना साँच्चिकै अत्तालिएका रहेछन् । त्यहाँ बसेका सबैको आँखाभरी आँशु छचल्किएको थियो । देवरत्न भावुक छन् । त्यो देख्दा देवरत्न मात्र होईन अमर पनि भावुक भए ।
क्षणभरको भावुक वातावरणलाई चिर्दै देवरत्नले भने –‘ हिउँचुली ल अब आँशु पुछ । अनि, म तिमीलाई तिम्रो नाम भएको हिमाल देखाउछु । हिमालका थुप्रै दाजुभाई, दिदीबहिनी छन् तिनलाई पनि देखाईदिन्छु । अनि हिउँ परेको कथा पनि बताउछु ।’ हिउँचुलीले आँशु पुछि । तर तिनका आँशु रोकिएनन् । हजुरबालाई हेर्दै झन् दरदर्ती आँशु झारी । त्यो देखेर जोनकी आमा (जो अमेरिकी नागरिकसँग विबाह गरेकी नेपाली हुन्) ले हिउँचुलीको हात मुसार्दै सम्झाईन –‘ तिम्रो हजुरबालाई केही भएको छैन । हेर ! कतै केही चोट लागेको छैन । ल, तिमी हाँसीदेउ । अनि, हजुरबाले तिम्रो हिउँचुली देखाउनु हुन्छ ।’
हिउँचुली अलि शान्त भई । सबैभन्दा पहिले देवरत्नले अघिल्लो दिन बाक्लो हिउँ परेको, आफूहरु त्यो रात धर्मशालामा एक–एक कप कफी पिएर रात बिताएको, सबिस्तार बताई दिए । त्यसपछि सबैले आँशु पुछे ।
धुपीसल्लाले ढाकेको, घाँस सुकेर फुस्रो देखिएको मोहोरेको डाँडो देखिइसकेको थियो । उनीहरु हिंडेको पाखोमा अग्ला रुख नभएकाले त्यहाँबाट चारैतिर छर्लङ्ग देखिन्थ्यो । बिहानको नौ बजे तापनि हिमालमा पुषका घामको किरण अत्यन्त नरम थियो । घाम चर्कदा पूर्वतिर देखिने हिमालमा सूर्यका किरणले प्रष्ट देखिदैन । तर त्यसबेला पोखरातिरबाट लामो उपत्यका हुँदै घोडेपानीतिर आएको सूर्यको किरणको तुवालो पातलो थियो । त्यसैले पूर्वका हिमाल पनि प्रस्ट देखिएका थिए । त्यहाँ नेटले पनि राम्रो काम गरेकाले अमर र देवरत्नले त्यहाँको हिमाल, तुसारोले खाएका नाङ्गा काला अग्ला पहाड, उपत्यका, वन र अन्य दृश्य मोहोरे नजिकको धार परेको नाङ्गो डाँडोबाट देखिईदिने सल्लाह गरे । मोबाईल र ल्यापटप दुबै तयार थिए । त्यसबेला प्रकृतिले सृष्टि गरेको स्वर्गको त्यो सानो टुक्राबाट काठमाडौं, अमेरिका र त्यो मोहोरेको थुम्कोमा सम्पर्क भएको थियो ।
देवरत्नले सर्वप्रथम सबैभन्दा नजिक उत्तर तर्फ रहेको हिउँचुली हिमालको अतिसुन्दर पुर्ण रुप देखाई दिए । अधिल्लो साँझ हिउँ परेपछि खुलेको गाढा नीलो आकाशको अँगालोमा बाँधिएको सेतो ताजा हिउँको ताज पहिरेको हिउँचुलीको चुचुरो साँच्चिकै सुन्दर, आकर्षक र लोभलाग्दो देखिएको थियो । पहिलो सूर्योदयका किरणले त्यो सिङ्गो पहाड सुनको थुप्रोमा परिणत भएको थियो । त्यो यस्तो मनमोहक देखिएको थियो कि मुटुको धढ्कन पनि क्षणभर चल्न बन्द भएर त्यो सुन्दरता हेर्न बाध्य हुन्थ्यो । त्यो देखेर ठूलो टेलिभिजन अगाडि बसेकी हिउँचुलीलाई सबैले चुम्बन गर्दै भने–‘तिमी जस्तै सुन्दर रहेछ, हिउँचुली हिमाल त !’
खुशी हुँदै उसले थपी–‘मभन्दा राम्रो हिमाल, अनि हिमालभन्दा राम्रो मेरो हजुरबा !’ ।
त्यसपछि देवरत्नले हिउँचुलीको साख्खै ठूलो दाजु अन्नपूर्ण दक्षिणलाई देखाईदिए जुन साच्चिकै अभिभावक भएर बसेको थियो । अनि नजिकै ‘म जस्तो सुन्दर को छ र !’ भन्दै आफ्नो रुपमा घमण्ड गर्दै उभिएको माछापुछे« हिमाल देखाई दिए । ‘माछापुछे« हिमाल’ भन्नासाथ सबैले ‘पोखरा’ भनेर चिच्च्याए । माछापुछे« हिमालको ठीक उत्तरमा अन्नपूर्ण तेस्रो शानका साथ उभिएको थियो । त्यसको उत्तर कुनामा गङ्गापूर्ण र गन्धर्वचुलीलाई उनले सामान्य जुम गरेर देखाईदिए । त्यसपछि पूर्वमा पोखरा हँुदै अन्नपूर्ण दोस्रो, मनासलु देखि अझै पूर्वमा काठमाडौँबाट नजिक देखिने गणेश हिमालसम्म देखिएको भन्दै देवरत्नले कम्प्यूटरबाट देखाईदिए । त्यसबेला पोखरा उपत्यकामा भने हुस्सु लागेको थियो ।
पूर्वको भाग सकिए पछि अन्नपूर्ण दक्षिणको ठीक उत्तरमा ‘को भन्दा को अग्लो’ भने जस्तो गरि उभिएका दशौँ चुलीहरु देखिए ती मध्येको सबैभन्दा अग्लो ८ हजार ९१ मिटर उचाईमा रहेको विश्वको दशौँ अग्लो चुली अन्नपूर्ण प्रथम भएको कुरा देवरत्नले सुनाई दिए । त्यसपछि उत्तर पश्चिमतर्फ निलगिरिका तीन चुचुरा चलङ्र्ग देखिएका थिए । तिनलाई देखाउदै निलगिरिको ठीक उत्तर फेदमा जोमसोम, मार्फा र कालिगण्डकी उपत्यका, मुक्तिनाथ, ल्होमानथाङ, एवं दामोदर कुण्ड रहेको ल्यापटपबाट देखाउँदै भने ।
त्यसबेला न्यूयोर्कको कोठामा बसेर नेपाल हेर्ने सबै केटाकेटी र तिनका आमाबाबुले आँखा नझिम्क्याईकन त्यो दृश्य हेरिरहेका थिए भने सास फेर्दापनि आवाज आउछ कि भने जस्तो गरी हिउँचुलीको हजुरबाले बोलेको कुरा ध्यानमग्न भएर सुनिरहेका थिए ।
निलगिरिको दक्षिण अर्थात मोहोरे पाखाको पश्चिम–दक्षिणतिर धवलागिरि प्रथमसँगै ढलक्क उत्तरतिर ढल्केर उभिएको अतिसुन्दर हिमाल टुकुचे चुचुरो देखाईदिए । त्यसपछि उनले गजक्क परेर बसेको, विशाल शरीर भएको त्यस क्षेत्रकै अतिसुन्दर, अति विशाल रुप धारण गरेर ध्यानमग्न अबस्थामा थचक्क बसेको ऋषि जस्तो देखिने ८ हजार १६७ मिटरको उचाईमा रहेको विश्वको सातौँ अग्लो हिमाल धवलागिरि प्रथम देखाईदिए । त्यो हिमाल देखाउदा सबैले एक क्षण नचलाउन आग्रह गर्दै धवलागिरि भन्दा तल्लो उपत्यका पनि देखाईदिन भने । देवरत्नले कालिगण्डकी उपत्यका, हिउँले खाएको नाङ्गो कालो पाखो हुँदै धवलागिरिको शिरसम्म देखाईदिए । त्यसपछि क्रमश धवलागिरि दोस्रोदेखि छैटौँसम्मका चुचुरा, गुर्जा हिमाल र चुरे हिमाल क्षेत्र भएको कुरा विस्तारपूर्वक देखाउदै तिनको नाम पनि भनिदिए ।
त्यसदेखि दक्षिण तिर म्याग्दी, पर्वत, बाग्लुङ, रुकुमका पहाडहरु लमतन्न परेर सुतेका जस्ता देखिएका थिए । त्यहाँबाट हिमाल, पहाड र तराईको भाग पनि देखिएको थियो । त्यसपछि देवरत्नले आफू नजिक भएको लालीगुराँसको घना वन, गाउँहरु, आफ्नो मित्र अमर र आफूलाई देखाईदिए ।
त्यसपछि सबैले त्यहा एक मिनटसम्म ताली बजाएको आवाज सुनियो । सबैले ७१ वर्ष उमेरका हिउँचुलीका हजुरबा देवरत्न र अमरलाई धन्यवाद दिए ।
देवरत्न पनि हिउँचुलीसँग बिदा भए । नातिनीलाई हिमालजस्तै मुस्काएको देख्दा देवरत्नको खुशीको सिमा नै रहेन । त्यो दिन तिनीहरु घोडेपानीमा गएर बास बसे । अर्को दिन नयाँपुल झरेर काठमाडौँ लागे ।
काठमाण्डौं पुगे पछि हिउँचुलीको फोन आयो । उसले खुशी हुँदै भनी–
‘ हजुरबा जोन, डेभिड, एभरेष्ट अर्को वर्ष उनका आमाबाबु सहित नेपाल आउने भए नी !’
देवरत्नले आफ्नो परिवार र नातिनीलाई मात्र खुशी पारेका थिएनन् । उनले त अरुको टुटेको परिवारलाई जोडिदिएका थिए । त्यतिमात्र कहाँ हो र ? उनी आमाबाबु र नेपालनै बिर्सेका नेपालीको मनमा परिवार, प्रेम र देशभक्तिको दियो बाल्न सफल भएका थिए । त्यसमा उनी अति सन्तुष्ट थिए ।
नातिनीलाई ‘राम्रोसँग पढनु । ज्ञानी हुनु । नेपाललाई सम्झनु । हिउँचुलीलाई नबिर्सनु ।’ भन्दै ल्यापटप बन्द गरे । उनले जलजलाको धर्मशालाको रात झलझली सम्झे । सुतेको बेलामा नातिनी हिउँचुलीलाई नेपालका सुन्दर हिमालका चुचुरा, तराईसम्म अँगालो हाल्दै फैलिएको पहाडको लश्कर अनि उपत्यका हुँदै सिङ्गो नेपाल देखाई दिएको सपना देखे ।
प्रकाशितः जनमत मासिक अंक २, फागुन २०७४

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s