कथा ६. ज्याक्सन पाल्देनको चौरीगोठ

बेलायत र नेपालको हिमाली क्षेत्रको कथा जनमत साहित्यिक मासिक असार २०७७ अंक २७३ मा प्रकाशित ।

कथा ६. ज्याक्सन पाल्देनको चौरीगोठ
कोभिड–१९ को महामारीबाट संसारभर दिनहुँ मानिस मरिरहेका थिए । सर्वप्रथम चीनमा देखिएको भाइरस चीनलाई थर्कमान पारेर हाम्रा प्राचीन मुनि नारद चिम्टा बजाउँदै विश्व भ्रमणमा निस्केझैँ भ्रमणमा निस्क्यो । महाविकसित देशहरूले विज्ञानको चमत्कार र धनको फुइँ देखाउँदै मत्त भएर प्रकृतिको चरम दोहन गरेकाले भूमण्डल त्रसित थियो । एकातिर बल, विज्ञान र धनको मातले प्रकृतिको चरम दोहन भएको थियो भने अर्कोतिर तिनै प्रकृति आमाका सन्तान मरुभूमिको तातो हावामा जुरेली चरी भुकुभुकु मरेझैँ पृथ्वीमा भोकभोकै र बन्दुकको गोलीबाट मरिरहेका थिए ।
शक्तिशाली देशले जसरी होस् संसार कब्जा गर्ने उत्कट आकाङ्क्षा राखेर जल, भूमि र अन्तरिक्षमा पुराणका कथाहरूमा रहेका स्वर्गका राजा इन्द्रले अप्सराहरूसँगै झुमेर राज गरेझैँ राज गर्न प्रतिस्पर्धा गर्दै थिए । प्रकृतिमाथिको दोहनले माताको छाती तात्नुका साथै शिर भीमकाय पहाडले थिचेझैँ थिचिएको थियो । त्यो विकराल अवस्थाले गर्दा प्रकृति माताले मानवलाई तर्साएर पृथ्वीलाई बचाउन कोरोना कालभैरवीको रूप नलिएर अरू के गर्ने त ? हुन पनि त्यस्तै भयो । अनि धरती माताले एक्काइसौँ शताब्दीको कोरोना कालभैरवीको रूप धारण गरेर विश्वभ्रमण गर्न थालिन् । एसियाबाट फुत्त निस्केर सिधै युरोप र अमेरिका पुगिन्, तीनका धोती घुँडामुनि धारीदिइन् – जसले संसारलाई पाँचसय वर्षदेखि एक छत्र राज गरिरहेका थिए ।
बेलायतको सेन्ट थोमस अस्पतालको क्याविन कक्षभन्दा बाहिर ज्याक्सन पाल्देन घले चौध दिनदेखि आफ्नो बाजे पाल्देन घले गुरुङलाई कुरेर बसेको थियो । बाइस वर्ष बेलाइतको गोर्खा ब्रिगेडअन्तर्गत शाही गोर्खा राइफल्समा सेवा गरेर क्याप्टेन पाल्देन घले गुरुङ पेन्सनमा निस्केका हुुन् । उनको बाल्यकाल मनाङको थोन्जेमा बितेको थियो । उनका पिता छिरिङ पाल्देन घले पनि बेलायती गोर्खा सेनामा नै थिए । नेपाल आउने–जाने गरे तापनि ९४ वर्षको उमेरमा छिरिङ बेलाइतमा नै बितेका थिए । छिरिङको पुख्र्यौली घर मनाङको पूm गाउँ हो ।
बेलायती सेनामा भर्ती भएपछि उनले आफ्नो परिवारलाई तल्लो मनाङको ग्यासुम्दो भनिने थोन्जेमा सारेका थिए । बेसीसहरमा खेत र बारी पनि जोडेका थिए । धेरै गोर्खा लाहुरेहरूको बसोबास बेलाइतको उलवीच, ग्रीनवीच, प्लमस्टेट, चार्लटन, आसफोर्ड, केन्टरवरी, फल्कस्टोनमा रहेको छ । उनीहरू आसफोर्डमा बसोबास गर्दथे । ज्याक्सन पाल्देन घले गुरुङ छिरिङ पाल्देनका पलाती हुन् । छिरिङसहित उनको चौथो पुस्ता अहिले बेलाइतमा बसोबास गर्दै आएको छ । थर लेख्दा उनीहरूले घले गुरुङ लेख्ने गरेका छन् ।
पश्चिमतिर हानिएकी कोरोना कालभैरवीले विगत ७४ वर्षदेखि बेलाइतमा बस्दै आएका ज्याक्सनका बाजे पाल्देन घले गुरुङलाई छोडिनन् । ज्याक्सन पाल्देनले हजुरबालाई बाजे भनेर सम्बोधन गर्छ । बाजे बिरामी परेदेखि उसले छोडेकै थिएन । कोरोना सरुवा रोग हो भन्ने थाहा पाए तापनि ऊ अस्पतालको प्रतीक्षालय जान छोडेन । चौधौँ दिन बाजेको स्वास्थ्य प्रतिवेदन आउँदै थियो ।
“पाल्देन घलेको नातेदार को हुनुहुन्छ ? यहाँ आउनुहोस् ।” एक जना अग्ली, मोटी त्यस्तै करिब बत्तिस वर्षकी अति सुन्दर गोरी रेविका नाम गरेकी नर्सले खबर गरिन् । उनले घाँटीसम्म गाउन लगाएकी थिइन् । अनुहारको मुखौटो पछिल्तिर झुण्डिएको थियो ।
“म पाल्देनको नाति, ज्याक्सन पाल्देन हुँ । बाजेलाई कस्तो छ ? ज्वरो घटेको छ कि छैन ? बाजेलाई निको हुन्छ नि ! मैले बाजेलाई कहिले भेट्न पाउँछु ? कृपया एक पटक भेटाइदिनु न !” ज्याक्सनले नर्सलाई बोल्नै नदिई एकै पटकमा मनमा आएको सबै कुरा सोध्योे ।
“बाजेलाई हिजोभन्दा कठिन भएको छ । आइ.सि.यु.मा भेन्टिलेटर खाली भयो भने भोलि बेलुकादेखि उनलाई भेन्टिलेटरमा राख्नुपर्छ । सास फेर्न कठिनाइ हुँदै गएको छ । अहिले बोल्न सक्नुहुन्छ । भोलि के हुन्छ भन्न सकिँदैन । त्यसैले आज दुई घण्टा एक–एक जना भएर पूरै गाउन लगाएर भेट्न मिल्छ । तर, कम्तिमा तीन मिटर टाढा बस्नुपर्छ । क्याविनभित्र जाँदा र बाहिर आउँदा पूरै औषधि छर्कनुपर्छ । यहाँ जो जसले क्याविनमा भेटने हो उनीहरू चौध दिन एकान्तवास बस्नुपर्छ । त्यस्तो गर्न सक्छौँ भने यो फाराम भरेर तयार गर । म तीस मिनेटपछि आउँछु ।” रेविका नर्सले पनि ज्याक्सनले खोजेभन्दा बढी जानकारी दिइन् र क्याविनतिर छिरिन् ।
ज्याक्सनले आमा, बाबु र आफ्नी प्रेमिका जेनिस भट्टराई तीनै जनालाई फोन ग¥यो । बाबा र आमा दुवैको सरकारी नोकरी भएकाले चौध दिन बिदा लिन मिलेन । दुवै जनाले फेस टाइपबाट आफ्नो पिता र ससुरालाई भेट्ने गर्थे । ज्याक्सनकी प्रेमिका जेनिस भने जागिर र स्वास्थ्यको पर्वाह नगरेर भेट्न आउने भइन् । ज्याक्सनले दुई जनाको नाम फारममा भ¥यो । ज्याक्सन सेन्ट थोमस अस्पतालमा पुगेको छ घण्टाको बीचमा तेह्र जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भइसकेको थियो । ज्याक्सन निकै अस्थिर देखिन्थ्यो । उसको निधारमा पसिना आइरहेको थियो । ऊ अधिर बनेर यताउता गरिरहेको थियो । ठीक तीस मिनेटमा उसलाई फारम दिने नर्स रेविका देखापरिन् । ऊ नजिक गयो ।
“फारम तयार भयो ?” नर्सले सोधिन् ।
“भयो । हामी दुई जनाले मात्र भेट्न चाहन्छौँ । सोहीअनुसार फाराम पनि भरेको छु” भन्दै ज्याक्सनले फारम दियो ।
नर्सले साँझ छ बजेदेखि दुई घण्टाको लागि समय दिइन् । सो कुरा ज्याक्सनले आफ्नी प्रेमिकालाई फोन गरेर भन्यो ।
दुवै जना भेट भएर छ बजे स्वास्थ्यकर्मीले लगाउने गाउन लगाएर क्याविनभित्र गए । क्याविन बाहिर दुईटा मेच थिए । उनीहरू त्यहीँ बसे । नर्स आएपछि पालैपालो गरी जान भनिन् र उनले समय तालिका मेसिनमा समय लेखेर बाहिर निस्किन् ।
पहिले ज्याक्सन भित्र छि¥यो । तीन मिटर टाढा बाजे सुतिरहेका थिए । उनको अनुहार उज्यालो थियो । नर्सले भनेझैँ त्यो दिन बिहानदेखि सास फेर्न कठिन भएको थियो र कठिनाइको मात्रा हिमालमा उकालोमा हिँड्दा सास फेर्न कठिन हुँदै गएझैँ क्रमशः कठिन हुँदै गएको थियो ।
ज्याक्सनले बाजेलाई तीन मिटर वरैबाट शिर झुकाएर नमस्ते गर्दै सोध्यो “बाजे अहिले कस्तो छ ?” बेलाइतको थेम्स नदीमा जहाज वारपार गर्दा पानी छचल्केझैँ बाजेका आँखामा आँसु छचल्केको ज्याकले देख्यो । बाजेले क्याविनको सेतो बिछ्यौनाबाट हातैले आशीर्वाद दिँदै भने “सास फेर्न कठिन हुँदै गएको छ । ज्वरो घटकै छैन ।”
“ज्याक” उनले थपे, “आजदेखि मैले आपूmलाई कमजोर पाउन थालेको छु । बाल्यकालमा नेपालमा खेलेको झलझली देख्न थालेको छु । म धेरै बाँच्दिनँ । मलाई जतिजति सास फेर्न कठिन भएको छ त्यतित्यति मेरो आँखाअगाडि झलझली नेपाल ठिङ्ग उभिएको देख्छु । म नेपाल गएर नै मर्न चाहन्छु ।”
एकछिन रोकिएर फेरि भने, “तेरो जिजुबाजेले ‘सन्तानको भविष्य राम्रो होस् । मनाङको पूm गाउँमा भेडागोठालो हुन सजिलो छैन ।’ भनेको हुनाले मैले यहाँ बस्ने परिचय पत्र (इनडिफिनिट लिव टु रिमेन आइ.एल.आर) लिएको हुँ । समयले त्यस्तै गरायो । आमासँग बेलाइत आएपछि पन्ध्र वर्षको उमेरमा उनान्साठी वर्षपहिले नेपाल गएको थिएँ । मनाङ जाँदा बाहुनडाँडा नजिकै बाटोमा ठूलो पहिरो गएको रहेछ । तीन दिन कुरेँ । पहिरो छिचोल्न सकिएन । मेरो स्कुलको छुट्टी धेरै थिएन । गाउँ नपुगी बिच बाटोबाट नै फर्केँ । त्यसपछि स्कुल, कलेज, जागिर, व्यावहारिक जीवनको चाँजोपाँजो मिलाउँदा–मिलाउँदै जानै पाइनँ । तेरो जिजुले ‘बेलाइत बसे पनि नेपाल नबिर्सनू’ भनेको कुरा मैले चाहेर पनि पूरा गरिनँ । मलाई रोगको पीडाभन्दा नेपाल जाने चाहनाको पीडा हजार गुणा बढी छ । म नेपाल जान्छु ।”
बोल्दाबोल्दै क्याप्टेन पाल्देन फेरि रोकिए । लामो सास ताने । आँसु पुछे । नाति ज्याक्सनलाई हृदयबाट निस्केका आँसुले भिजेका पातला परेलाले मायाको अँगालो फैलाउँदै भने –“ज्याक म नेपालमा मर्न चाहन्छु । जब मलाई सास फेर्न कठिन हुन्छ त्यसबेला मैले अन्नपूर्ण हिमालयको चौथो चुली हेर्दै मनाङतिर उकालो चढेको विपनामा नै सपना देख्छु । सास फेर्न सजिलो हुँदा देउरालीमा पुगेर मनास्लुतिरबाट आएको शीतल हावालाई तानेर फोक्सोसम्म पु¥याएको हुन्छु । मलाई किन–किन मनास्लु र अन्नपूर्णले एकोहोरो हेरिरहेका हुन्छन् अनि मस्र्याङदीले आज सुसाउन बिर्सेर गन्धर्वले सारङ्गी रेटेर पाखाबारीको गीत गाएझैँ सारङ्गीको धुनमा मलाई नेपाल बोलाइरहेको छ । ज्याक्सन, म मेरा पुर्खाको जन्मभूमिमा प्राण त्याग्न चाहन्छु । ज्याक, मेरा आँखाबाट झरेका यी बलिन्धारा आँसु होइनन् यी त मस्र्याङ्दी नदीका छाल हुन् । जहाज चार्टर गरे भए तापनि मलाई नेपाल पु¥याइदेऊ ।” उनले भने ।
ज्याक्सनले देख्यो ती बलिन्धारा साँच्चिकै थेम्स नदीका सहायक नदीजस्तै निरन्तर बगिरहेका थिए । उसले पनि आँसु रोक्न सकेन । कोरोना भाइरसको कारणले सारा संसार पूर्णतः ठप्प भएको थियो । कोरोनाको कारणले युरोप र अमेरिकामा मात्र दिनहुँ दश हजारभन्दा बढी मानिसको मृत्यु भएकोे कुरा बाजेलाई भन्ने कि नभन्ने ऊ दोधारमा प¥यो । कोरोना सङ्क्रमितको मृत्युदर सुन्दा बाजे पक्कै पनि धेरै दिन जीवित रहनुहुन्न भन्ने उसले पनि अनुमान गरेको थियो । त्यसकारण बाजेले भनेको सबै कुरा ध्यानपूर्वक सुन्यो ।
ऊ बाजेसँग “दुई मिनेटमा आउँछु” भनेर बाहिर निस्क्यो । बाजेले पनि उसले आँसु पुछेको देखे ।
ज्याक्सनले भित्र बाजेले उसलाई जसरी पनि नेपाल जाने इच्छा व्यक्त गरेको कुरा प्रेमिकालाई भन्यो । “तिम्रो सुझाव के छ ?” ज्याकले आफ्नी प्रेमिका जेनिससँग सल्लाह माग्यो ।
“बाजेलाई वर्तमान अवस्थाको साँचो कुरा भनौँ । कम्तिमा छ महिना नेपाल जान सकिँदैन । त्यसपछि जाउँला भनौँ ।” उनले सुझाव दिइन् । ज्याक्सन फेरि भित्र गयो ।
ज्याक्सनले मोबाइलबाट आफ्नो आमाबाबु र परिवारका अरू सदस्यलाई बाजेको अवस्था देखाइदियो । बेलाइतभरि सबैले त्यसै गरेका थिए । त्यति मात्र कहाँ हो र ! रोग सर्छ भनेर धेरै बेलायती छोराछोरीले आमाबाबुसँग स्काइप, फेसटाइमजस्ता सामाजिक सञ्जालबाट आँसु साटासाट गर्दै हात हल्लाउँदै बिदा हुँदै थिए । संसारभर त्यस्तै भइरहेको थियो । प्रकृतिलाई चरम दोहन र आक्रमण गरेकाले त्यस्तो स्थिति आएको कोरोना कालभैरवीले ठहर गरेकी थिइन् ।
“बाजे” ज्याक्सनले भन्यो, “कोरोना भाइरस संसारभर फैलिएको छ । युरोपमा मात्र दिनहुँ चार–पाँच हजार मानिसको मृत्यु भइरहेको छ । अहिले संसार पूरै बन्द छ, बाजे । एक देशदेखि अर्को देशको त कल्पना नै नगरौँ एक गाउँदेखि अर्को गाउँ पनि बन्द भएका छन् । ‘घरभित्रै बस्ने, सुरक्षित हुने’ भन्ने निर्देशन छ । हामीले केहि गर्न सक्दैनौँ । अब आत्मबल बढाएर कोरोनालाई पराजित गर्नुपर्छ । तपाईंलाई सञ्चो भएपछि नेपाल जाउँला ।”
ज्याक्सनको भनाइ सुनेर बाजे झन् पीडित बने । उनले नातिलाई भने, “ज्याक, तँ अब सानो छैनस् । संसार बन्द भएको छ भने मैले नेपाललाई माया गर्दैमा अहिले खुल्ने त कुरा भएन । तैँले मेरो लागि एक काम गर है त । तैँले सक्छस् । तेरो बाले गर्न सक्दैन ।”
ज्याक्सनले दुवै हात जोडेर भुईंमा दुवै घुँडा धसेर भन्यो, “बाजे भन्नु न । तपार्इंको जे इच्छा छ, त्यो इच्छा म जसरी पनि पूरा गर्नेछु ।”
त्यसपछि बाजेले भने, “साँचो बोल्नुपर्छ । म अन्तिम अवस्थामा छु । मलाई मर्ने बेलामा किन–किन नेपाल देख्ने रहर तीव्र भएर आयो । म नेपालमा जन्मेँ । बाल्यकाल त्यहाँ बिते पनि बेलाइत नै आइयो । नेपाल बस्ने रहरै पुगेन । विगत तीन–चार वर्षदेखि मलाई नेपाल जान मन लागेको थियो । उमेरले समय मिलाउन सकिनँ । तेरो पढाइ, बाबाको नोकरी, तिमीहरूको छुट्टी सबै हेर्दाहेर्दै समय बित्यो । यो वर्ष दशैँमा नेपाल जान टिकट पनि बुकिङ गरिसकेको थिएँ । यहीबेला कालभैरवी भएर कोरोना आयो । मलाई सास फेर्नै नहुने गरी घाँटीमा च्याप्पै समात्यो । अब म बाँच्दिनँ । म जे भन्दैछु, त्यो मेरो मात्र चाहना होइन तेरो जिजुको पनि इच्छा हो ।”
पाल्देनको वाक्य घाँटीमा अड्क्यो । उनी क्षणभर बोल्न सकेनन् । आँखाबाट झरेका आँसुले मस्र्याङ्दीकै रूप लिएका थिए । ज्याकले अँगालो हाँलेर बाजेलाई आश्वासन दिन चाहन्थ्यो । आँसु पुछिदिन चाहन्थ्यो । तर, के गर्ने अस्पतालले बनाएको नीतिलाई उसले उल्लङ्घन गर्न मिल्दैन्थ्यो । “बाजे, तपाईंको इच्छा के छ भन्नुहोस् । त्यति मात्र होइन मेरो जिजुले तपाईंसँग र मेरो बाबासँग के भन्नुभएको थियो ? त्यो सबै भन्नुहोस्, मैले पूरा गर्नेछु ।” ज्याक्सनले आश्वस्त पार्दै सोही प्रण दोहो¥यायो ।
त्यसपछि बाजेका आँसु रोकिए । कालो बादलले छोपेर अँध्यारो देखिएको अनुहारमा एकाएक बिहानी पखको घाम मनाङको पिसाङ चुलीमा पर्दा सुनौलो रङमा झलझलाकार देखिएझँै झलझल उज्यालो देखियो । लेकाली पूmलको कोपिला फक्रेझैँ बाजेको ओठमा मुस्कान प्रस्फुटित भयो । मृत्यु नजिक पुगेको मानिसको मृत्युइच्छा र त्यो मृत्युइच्छा पूरा गरिदिने बाजे र नातिबीच एकान्त वार्ता भएको थियो लण्डनको त्यो सेन्ट थोमस अस्पतालको क्याविन कक्षमा । यस्तो लाग्थ्यो कि त्यहाँ हिन्दू धर्मशास्त्रको कथामा आफ्नो इच्छा पूरा गर्न महादेवसँग वर माग्न तपस्या गर्ने भक्त र महादेवबीच संवाद भएको होस् । त्यहाँ भक्त बाजे थिए भने महादेवको रूपमा बाजेको इच्छा पूरा गरिदिने नाति ज्याक्सन पाल्देन घले थियो ।
त्यसैबिच बाजेले ज्याक्सनलाई नजिकैको दराजभित्र रहेको सानो छालाको ब्याग सुरक्षित राख्न भने । त्यसभित्र बैँकका कार्डहरू थिए । त्यसमा “मेरो नाममा भएको सबै प्रकारको सम्पत्ति मेरो मृत्युपछि नाति ज्याक्सन पाल्देन गुरुङको बैँक खातामा रकमान्तर गर्न मेरो मञ्जुर छ ।” भनी सहीछाप गरी स्थानीय सरकारले प्रमाणित गरेको पत्र ती कार्डहरूसँगै रहेको उसले देख्यो ।
ज्याक्सन भावुक देखियो । उसका आँखा राता भएका थिए । अँगालोमा बाँधिएर हृदयको स्पन्दन एकअर्कालाई सुनाउन नपाउँदा दुवैको मन व्याकुल भएको थियो । आँसुसँग आँसु साट्दा पनि प्रेमको रहर नमेटिँदो रहेछ ? मायाको अर्थ र गहिराइ आत्मसात् गर्न स्पर्श नै गर्नुपर्दो रहेछ कि ? अँगालोमा बाँधिएर दुःख र सुखमा साट्दा जति सन्तोष पाइन्छ त्यति सन्तोष आँसु मात्र साटेर पाइँदोरहेनछ । आँसु मात्र खसालेर पुग्थ्यो भने बाजे किन नेपाल जानुपथ्र्यो र ? त्यसैले माया गर्न हृदय–हृदय नै टाँसिनुपर्ने रहेछ । बाजे त्यहाँ नातिको हृदयभन्दा साढे दुई मिटर टाढा थिए । उनीहरूको हृदयको ढुकढुकीले एकअर्काको भाषा पढे तापनि ती दुई हृदयबिच तातो स्पर्शको खाँचो खड्केको थियो । बाजेको हृदयमा नेपाल टाँसिएको थियो । तर, मृत्युपूर्व नेपालमा उभिएर आफ्नै तीन औँलाले देशको माटो झिकेर निधारमा टीको लगाउन नपाउँदा उनको मन अत्यधिक व्यग्र थियो । त्यसैले होला बाजेको नेपालप्रतिको अकुत माया आँसुबाट मस्र्याङ्दी बनेर झरिरहेको थियो ।
बाजेलाई बोल्न कठिन भएको थियो । “नाति ज्याक्सन, मेरो मृत्युपछि अस्तु लिएर नेपाल जानू । नेपालको मनाङ जिल्लाको उत्तरमा तिब्बतदेखि नजिक पूm भन्ने गाउँ छ । त्यो गाउँ जिजु बाजे छिरिङ पाल्देन घलेको जन्मथलो हो । गाउँदेखि नजिक एउटा ढिस्कोमा तासी गुम्बा छ । त्यो गुम्बामा जिजुको रगत मिसिएको छ । त्यही पखेराको एक छेउमा एउटा सानो चोर्तेन (मठ) बनाएर मेरो अस्तु त्यहीँ राख्नू । म त्यहीँ बस्नेछु । त्यसपछि तिमी तिम्रो जिजुमामाको घर नार जानू । जिजुको नयाँ घर थोन्जेमा एक रात बिताउनू । मृत्युपछि जीवन समाप्त हुन्छ । जीवन फर्केर आउँदैन । पुनर्जन्म मात्र अश्वासन हो । आफ्नो इच्छा यहीँ जीवनमा पूरा गर्नू । तिमी दुवैको जीवन सफल होस् ।” पाल्देनले मृत्युशैयाबाट मनको कुरा नाति ज्याक्सन पाल्देनलाई भने ।

सनातनी हिन्दू धर्म शास्त्रमा प्रलयको कथा उल्लेख भएझैँ त्यो वर्षभर नै संसारभर एक प्रकारको प्रलय नै भयो । लाखौँलाख मानिसको कोरोना कालभैरवीबाट मृत्यु भयो । कति परिवारको वंश वृक्षको जरा नै उखेलियो । कोरोना कालभैरवी शान्त हुने लक्षण देखिएन । उनी संसारभर डुलिन् । ठुलाठुला कलकारखाना बन्द भए । एक मिनेटमा सयौँ हवाइजहाजहरू उड्ने, हजारौँ मोटरकार गुड्ने विमानस्थल र चिल्ला सडकहरू मसानघाटमा परिणत भएका थिए । संसारको मानिसका अति प्रिय बनेका ठूला सहरहरू दिउँसै चकमन्न भएर एकाएक मृत्युशैयामा सुतेका जस्ता देखिएका थिए । यस्तो लाग्थ्यो कि मानौँ ठूला सहरमा कोरोना कालभैरवीले यमराजको रूप धारण गरी मृत्यु–नृत्य नाचिरहेकी छन् । धनी देशले प्रकृति मातालाई निर्मम दोहन गरेकाले त्यस्तो अवस्था आएको थियो । मानवबाहेकका अन्य जीवजन्तु र वनस्पति भने प्रफुल्लित थिए । नेपालले प्रकृतिको दोहन गरेकै थिएन । त्यसैले कालभैरवी कालभैरवसँग मिलेर नेपालमा प्रवेश गरे तापनि भयङ्कर मृत्यु–नृत्य नाचेकी थिइनन् ।
कोरोनाले प्रलयकै रूप लियो । अति धनी देशहरू पनि दशौँ वर्ष उठ्न नसक्ने गरी थला परे । गरिब देशका मानिस रोग र भोकले मर्न थाले । लाखौँ मानिस स्वाहा भए । आफन्तलाई अन्तिम पटक भेटेर अँगालो हालेर आँसु साट्न पनि पाएनन् । लास गाड्ने ठाउँ नभएर सयौँ लास एउटै चिहानमा पुरिए । मानव जातिको लागि अहिलेसम्मकै त्रासदी बन्यो । बिना कम्पन, बिना आँधीबेहरी, बिना सुनामी मृत्यु लहर आएको थियो । प्रकृति माताको दोहनबाट निस्केको प्रलय थियो त्यो ।
“बाजे म नेपाल गएर जिजुबाजेको गाउँ पुगेर तपाईंले भनेको कुरा अवश्य गर्नेछु । प्यारो पूm गाउँलाई भरिलो पार्नेछु । तपाईंको हृदयले बोलेको कुरा मैले पूmका आफन्तलाई भन्नेछु । जिजुले बनाएको गुम्बालाई मात्र होइन गाउँले सबैलाई खुसी पार्नेछु । तपाईंले कुनै पीर नमान्नु ।” कोरोनाबाट सिकिस्त भएका बाजेलाई आश्वस्त पार्दै ज्याक्सनले भन्यो । बाजेलाई आश्वस्त पार्न मात्र नभई हृदयदेखि नै नेपाल जाने सङ्कल्प ग¥यो । तर, ज्याक्सनले थाहा पाउन नसकेको कुरा के भने मृत्युशैयामा लम्पसार परेको बेला बाजेलाई नेपालको त्यति विघ्न सम्झना किन आयो ? मर्नेबेलामा जन्मघर मानिसले खोज्छ रे ! भन्ने उसले बज्यैबाट सुनेको थियो । के बाजेले पनि मर्नेबेला भएकाले नेपाल सम्झेका हुन् त ? उमेर छँदै बाजे नेपाल किन गएनन् ? त्यो प्रश्नले भने उसलाई घोच्यो । जे होस् बाजेलाई वचन दिएपछि उनको उज्यालो अनुहार हेरेर बाहिर निस्क्यो । त्यसबेला आधा घण्टा मात्र भेट्ने समय बाँकी थियो । उसले आफ्नी प्रेमिका जेनिसलाई बाजेलाई भेट्न पठायो ।
जेनिस भित्र पसिन् । त्यसबेला बाजेले जेनिसलाई भने– “नानी, हुन त कर्मले हामी बेलायती भयौँ । आपूm जन्मेको थलो प्यारो लाग्छ । तिमी पनि तिम्रा बाजेको जन्मथलो नेपाल उमेर छँदै धेरै पटक पुग्नू । मेरो रहर पुगेन । अहिले मृत्युको बेला मलाई नेपाल आमाले बोलाइरहन्छिन् । तिमीलाई विश्वास नलाग्ला । मैले मर्नेबेलामा पूmलजस्ती प्यारी तिमीलाई किन भूmटो बोल्थेँ र ? तिमी नेपाल गयौ भने तिमीपछि तिम्रा सन्तान नेपाल जान्छन् । पितृभूमि नेपाल कस्तो रहेछ भन्ने थाहा पाउँछन् अनि नेपाल आमा पनि खुसी हुन्छिन् । नेपाल त स्वर्ग हो । त्यहाँ देवताको बास हुन्छ । त्यहाँ प्रकृतिको राज अझै छ । जीवन कष्टकर छ तर निरस छैन । तिमी थाक्यौ भने देउरालीको शीतल हावाले तिम्रो थकाई मेटिदिन्छ । तिमीलाई प्यास लाग्यो भने आफ्नै धुनमा गितार बजाउँदै नाच्ने झरनाले तिर्खा मेटाइदिन्छन् । तिमी निरास भएको बेला बादलका पछ्यौरी पन्छाएर सेता हिमालचुलीले तिमीलाई साहसिक मुस्कान दिन्छन् । बेलाइतमा सुखी देखिने तिमीहरू नेपालको मायाले खुसी पनि हुनेछौ ।”
“हुन्छ, बाजे ज्याक्सनसँग म पनि नेपाल जान्छु । हामी बेलाइत बसोबास गरे तापनि छुट्टीमा नेपाल जानेछौँ । नेपाल जाने मात्र होइन जिजुबाजेको सुन्दर जन्मथलोलाई हामीले अझ सम्पन्न बनाउनेछौँ । बाजे तपाईं ढुक्क हुनुहोस् ।” उनले भनिन् ।
“तिमी रूपवती र ज्ञानी छौ । तिमी र ज्याक्सनमा नेपाली रगत बढी देख्छु म । त्यसैले विश्वस्त छु कि मैले गर्न नसकेको माया तिमीहरूले नेपाललाई गर्नेछौ” उनले विस्तारै भने । प्रत्येक घण्टा उनलाई सास फेर्न कठिन हुँदै थियो ।
त्यसैबेला ढोकामा रातो बत्ती बल्यो । भेट्ने समय सकिएको थियो । जेनिस बाहिर ननिस्कँदै ज्याक्सन पनि भित्र छि¥यो । बाजेले ती दुवैलाई हातको इसाराले आशीर्वाद दिए । आँसु झार्दै माया गरे । त्यसैबेला नर्स रेविका भित्र पसिन् । उनीहरूले हात जोर्दै बाजेलाई हेर्दै पछाडि सर्दै ढोकाबाट बाहिर निस्के ।
अस्पतालको बगैँचानजिक पुगेर दुवै जना एकअर्कालाई हेर्दै धित मरुञ्जेल रोए । ज्याक्सनलाई बाजेले नै हुर्काएका थिए । पाल्देनलाई सास फेर्न कठिन हुँदै गयो । भेन्टिलेटरमा राखेको चौथो दिन नर्सले ज्याक्सन र उसको आमाबाबुलाई बाजेको अनुहार हेर्न दिइन् । पाल्देनले छोरा बुहारीलाई आँखाका परेला झिम्क्याएर माया दर्शाए । उनी बोल्न नसक्ने भइसकेका थिए । त्यसपछि बाजेका दुवै आँखाबाट बलिन्धारा वर्षन थाले ।
भेन्टिलेटरमा राखेको पाँचौ दिन दिउँसो ११ बजे ज्याक्सनलाई तिनै गोरी नर्सले बोलाइन् । बाजेको अन्तिम अवस्था भएको थियो । उसलाई भित्र जान दिइन् । बाजेले पुलुक्क ज्याक्सनलाई हेरे । बाजेले उसलाई हेरी नै रहे । बाजेका आँखाबाट आँसु झरेनन् । साँच्चिकै त्यसबेला ज्याक्सनले बाजेको आँखामा नेपालको नक्सा देख्यो । आँखा झिमिक्क नै भएनन् ।
लासलाई छुन दिइएको थिएन । लास गाडेको ठाउँको माटो ज्याक्सनले सुरक्षित राख्यो । नर्स रेविकाले ज्याक्सनलाई विशेष सहयोग गरेकीले त्यो अस्तु पाइएको थियो । मृत्यु–संस्कारका अन्य सबै कुरा बेलाइतको घरमा नै सम्पन्न गरे ।

प्रकृतिको अत्यधिक दोहन गर्ने ठूला देशमा प्रवेश गरेकी कोरोना कालभैरवीले तिनीहरूलाई थर्कमान पारिन् । तर, ती देशले लाखौँलाख निरपराध मानिस कोरानाको मुखभित्र छिर्दा पनि प्रकृतिमाथि गरेको अपराध स्वीकार गरेनन् । बरु उल्टै एकले अर्कालाई दोषारोपण गरे । कोरोना महामारीबाट सामान्य जीवनमा फर्कन नेपाललाई दुई वर्ष, युरोपलाई चार वर्ष र अमेरिकालाई पाँच वर्ष लाग्ने बहस चलेको थियो । कर्णालीका युवा भारतमा अस्थायी खेती गर्न जानै छोडे । मलेसिया, अरब मुलुकमा भएका धेरै नेपाली युवा बेरोजगार भएर नेपाल फर्के । नेपाल फर्केका युवाहरू उद्योग, साना व्यवसाय र खेतीपातीमै होमिएका थिए । अमेरिका, अष्ट्रेलिया, युरोपमा भएका युवा पनि विस्तारै घर फर्कन थालेका थिए । जस्तोसुकै प्रकोप आए तापनि आकाशलाई छानो बनाएर कुनै पनि नेपालीले रात काट्न परेको थिएन ।
नेपाल सरकारले नागरिकबाट पैसा उठाएर कोशी, गण्डकी, कर्णाली र महाकाली तथा तिनका सहायक नदी गरी पन्ध्र नयाँ ठूला जलविद्युत् गृह र सिँचाइ आयोजना सुरु ग¥यो । चिया, कफी, फलपूmल, कृषि र पशुपालनमा नयाँ नीति ल्याएर किसानलाई शून्य प्रतिशत व्याजमा दश वर्षे ऋण प्रवाह ग¥यो । हिमाली क्षेत्रमा चौरी, भेडापालन, जडीबुटी सङ्कलन र प्रशोधनलाई पन्ध्र वर्षे निव्र्याजी ऋण दिने नीति लियो । सातै प्रदेशमा स्वास्थ्य, पर्यटन, प्राविधिक, कृषि र जलस्रोतका महाविद्यालय खुले । कोरोना कालभैरवीले नेपाललाई भने एउटा पाठ सिकाएर छोडिन् । दुःखमा पनि फिस्स हाँस्ने नेपाली साँच्चिकै घोडेपानीको पखेरामा लालीगुँरास फुल्दा धवलागिरि हिमाल मुस्काएझैँ मुस्काउन थाले । वसन्तपुरमा कालभैरवसँगै कोरोना कालभैरवीको नयाँ मन्दिर पनि स्थापना गरियो ।
ज्याक्सन र जेनिसको परिवारबीच पाल्देन घले गुरुङको अस्तु लिएर नेपाल जानेबारे छलफल भयो । उनीहरू दुवैले नेपाल जाने स्वीकृति पाए । बाजेको एक वर्षको मृत्यु–संस्कार पूरा गरेपछि उनीहरूले बिहे गर्ने टुङ्गो गरे । सत्ताइस वर्षीय ज्याक्सन कृषि विज्ञ हुन् र उनले बेलाइतमा परामर्शदाताको रूपमा काम थालेका छन् । ज्याक्सनकी आमा बेलायती बाबु र नेपाली आमाकी छोरी हुन् । उसका आमाबाबु दुवै इन्जिनियर हुन् । दुवैले सरकारी कार्यालयमा नोकरी गर्दछन् ।
चौबीस वर्षीय जेनिस भट्टराईले भूगर्भशास्त्रमा पि.एचडी गरेकी छन् । उनका बाजे हरिबल्लभ भट्टराई नेपालको पर्वत जिल्लाको विहादी भन्ने ठाउँबाट बेलाइत छिरेका थिए । परराष्ट्र मन्त्रालयका सरकारी जागिरे बाजे एउटा तालिममा बेलाइत गएका बेला उतै लुकेर बसे । बाजेले एक जना बेलायती मार्गारेट भन्ने महिलासँग प्रेम–विवाह गरेपछि मात्र त्यहाँ बस्ने अनुमति पाएका थिए । जेनिसका बाबु परिश्रम भट्टराईले पनि बेलायती पिता र नेपाली मुलकी आमाबाट जन्मेकी सोफी भन्ने युवतीसँग प्रेम–विवाह गरे । जेनिस तेस्रो पुस्ताकी हुन् भने ज्याक्सन चौथो पुस्ताको प्रतिनिधि हो । उनीहरू दुवैका वंशमा आमा वा बाबु कुनै न कुनै रूपमा नेपाली रहेका छन् । त्यसैले उनीहरू जतिसुकै सम्पन्नतामा बसे तापनि नेपाललाई बिर्सेका थिएनन् । अर्को अचम्मको कुरा के भने उनीहरूले नेपाली बोल्न र लेख्न सिकेका थिए । त्यसबाहेक अचम्मको कुरा के भने ज्याक्सनको बज्यैको माइतीघर र जेनिसको बाजेको घर पर्वतको विहादी नै थियो । के थाहा पैतृक थलोले उनीहरूको प्रेम अङ्कुरण हुन मद्दत पो गरेको थियो कि ?
जेनिस सौन्दर्य, गुण, शिल, चरित्र र ज्ञानमा रोजा छन् । अग्ली, गोरी जेनिसको अनुहारमा मानिसलाई लोभ्याउन सक्ने आभा देखिन्छ । उनका मधुर काला आँखामा देखिने खैरोपनले सौन्दर्यमा निखार ल्याएको देखिन्छ मानौँ सुनको हारमा सुगन्ध थपिएको होस् । उनी मुस्काउँदा पूर्णिमाको चन्द्रमाजस्तै शीतलता र कोमलताको आभास मिल्छ । उनको शरीर सलक्क परेको छ । गुलाबी रङको फक्रँदै गरेको कमलको पत्रजस्ता देखिने उनका कलिला ओठमा प्रकृतिले हलुका रातो लाली लगाइदिएको जस्तो देखिन्छ भने रातो मिश्रित सेता गाला मायालु हातले मुसार्दा पनि फुट्लान कि जस्ता नरम देखिन्छन् । फक्रँदै गरेको लालीगुँरासका पूmलजस्तै पोटिला देखिने उनका वक्षस्थल हिमालय पर्वतमालामा गौरीशङ्करका चुली शोभायमान भएझैँ तिनले उनको पातलो शरीरको शोभा बढाएका थिए ।
वैशाखको बुद्ध पूर्णिमामा पूm गाउँ पुगेर बाजेको नाममा तासी गुम्बामा बत्ती बाल्ने गरी नेपाल जाने उनीहरूले योजना गरे । नेपालबारे लेखिएका पुस्तक पढे । नेपालको अन्नपूर्ण हिमालय शृङ्खलाको धार नाघेर त्यसभन्दा उत्तरको संसारकै अति विकट भनेर चिनिएको नार र पूm उपत्यका जानुपर्ने भएकाले उनीहरू फ्रान्स र स्वीट्जरल्याण्डमा पुगेर पदयात्रा गरे । फ्रान्सको चामोनिक्समा रहेको युरोपको सबैभन्दा अग्लो पर्वत माउन्ट ब्लाङ्क वरपर पदयात्रा र डोरीको सहयोग लिई ठाडो चट्टान चढेर अनुभव लिए । त्यसबाहेक निरन्तर रूपमा दिनको तीन घण्टा शारीरिक व्यायाम गरे ।
ज्याक्सनले बारम्बार जेनिसलाई हौसला दिँदै भन्थ्यो “हाम्रो लागि नेपालको यात्रा पहिलो हो । यो हाम्रो लागि ठूलो अवसर पनि हो किनभने पहिलो यात्रामा नै हामी संसारकै अति सुन्दर र लामो पर्वतमाला अन्नपूर्ण हिमालयको काखमा र संसारकै विकट गाउँ भनेर चिनिएको पूm र नार जाँदैछौँ । सक्यौँ भने संसारकै उच्च स्थानमा रहेको सबैभन्दा ठूलो ताल तिलिचो पनि पुगौँला । हाम्रो लागि यो यात्रा साहसिक, स्वर्गको अनुभूति गर्ने तथा पितृथलोमा जाने भएकाले पितृ तीर्थयात्रा हो ।”
“हो नि ! अन्नपूर्ण हिमालयको लम्बाइ मात्रै साठी किलोमिटर फैलिएको रहेछ । हामी त त्यसको उत्तर पुग्दैछौँ । यो हिमाललाई अन्नकी देवी पनि भनिँदोरहेछ नि ! यो यात्राले हाम्रो जीवनको नयाँ ढोका खोल्नेछ ।” जेनिसले ज्याक्सनको भनाइलाई समर्थन गर्दै आफ्नो भावना र पढेर जानेको कुरा सुनाइन् ।

फागुनदेखि वैशाखसम्म नेपालको मौसम बिहान सफा हुने, निलो आकाश छर्लङ्ग देखिने, हिमालहरू दुधले स्नान गरेझैँ सेताम्मे देखिने र अपराह्न हावाहुरी चल्ने, चट्याङ पर्ने, आकाशमा काला बादल मडारिने हुन्छ । उनीहरू बिहान नौ बजे नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभन्दा पहिले उत्तरतर्फ पश्चिमदेखि पूर्वसम्मको लामो धारमा तिनीहरूले हिमालयको ताँतीले निलो आकाशलाई उछिनेर माथि पुगेको दृश्य प्रत्यक्ष देख्न पाए । त्यसबेला ती दुवै किशोरकिशोरी खुसीले यति धेरै आनन्दित भए कि दुवैका आँखा हर्षले उद्दीप्त भएका थिए ।
विश्वका धनी र विकसित देशको यात्रा गरिसकेको हुनाले विमानस्थलबाट बाहिर निस्कुञ्जेल उनीहरूलाई कुनै कठिनाइ भएन । नेपालका सवारी चालक पनि धेरै सुसंस्कृत भएका रहेछन् । त्यसैले पुस्तकमा पढेजस्तो गरी कसैले पनि उनीहरूका झोलाहरू तानेनन् । सडकपारि जेनिस भट्टराई र ज्याक्सन पाल्देन घले गुरुङ भन्ने नाम लेखेको कागज देखाउँदै उभिएका आफन्तलाई उनीहरूले देखे । वारिबाट हात हल्लाए । सामान ट्याक्सीमा राखेपछि स्वागत गर्दै आफन्तले ती दुवैलाई सयपत्री पूmलका माला पहिराई नेपालमा स्वागत गरे । बाग्मती नदी किनारमा अवस्थित पशुपतिनाथ मन्दिर, ज्ञानेश्वर हुँदै दरबारमार्गमा रहेको होटल अन्नपूर्णमा छिरे ।
ज्याक्सन र जेनिसलाई लिन पूmबाट ग्याल्बो घले, नारबाट फुर्वा घले गुरुङ र पर्वत विहादी लौकेबाट प्रभात गुरुङ र विहादीबाट सुशान्त भट्टराई काठमाडौँ आएका थिए । पूmबाट आएका ग्याल्बो ज्याक्सन दाजु पर्दथे भने नारबाट आएका फुर्वा जिजुआमातिरका दाजु नै पर्दथे । त्यसरी नै पर्वत लौके गुरुङ गाउँबाट आएका प्रभात गुरुङ ज्याक्सनको मामाको छोरा पर्दथे । सुशान्त जेनिसको काकाको छोरा पर्दथे । दुवैतिरका आफन्त भएकाले उनीहरू ढुक्क भएका थिए ।
आराम गर्दै दुई दिन उनीहरूले पशुपतिनाथ, बौद्धनाथ, ललितपुर, स्वयम्भूनाथ, भक्तपुर र चाङ्गुनारायणको अवलोकन गरे । होटलले व्यवस्था गरेको विज्ञले उनीहरूलाई नेपालको प्राचीन इतिहास, धर्म, संस्कृति, भाषा, जाति, जनजाति चाडपर्वबारे जानकारी दिए । भोलिपल्ट उनीहरू मोटरबाटोबाट मुग्लिङ हुँदै मस्र्याङ्दी नदीको किनारैकिनार बेसीसहर पुगेर बसे ।
“भाइ ज्याक्सन म यहाँबाट पोखरा हुँदै घर फर्कन्छु । तिमीहरू मनाङबाट फर्केर पोखरा आउँदा म पोखरामा तिमीहरूलाई भेटनेछु । त्यसपछि हामी त्यतैबाट जेनिसको बाजे र तिम्रो मावली गाउँ जाउँला ।” प्रभात गुरुङले भने ।
“हाम्रो स्वास्थ्यको अवस्था के हुन्छ । म हजुरलाई फोन गर्छु । त्यसपछि योजना गरौँला ।” ज्याक्सनले उत्तर दियो । त्यसपछि ज्याक्सन, जेनिस, पूmर्वा र ग्याल्बो मोटरबाट मनाङतिर र प्रभात र सुशान्त पोखरातिर लागे ।
“फुर्वा दाइ, यो कुन नदी हो ? यी गरामा लगाएको बाली के के हुन् ? यहाँ कति बाली हुन्छ ? ती महिलाहरूले डोकोमा के बोकेर ल्याएका हुन् ? ऊ त्यो माथि डाँडामा एकै ठाउँमा गुजमुज्ज देखिने घरहरूमा अहिले मानिस बस्छन् कि बस्दैनन् ?” जेनिसले सोधिन् ।
त्यो वर्ष फागुनदेखि पानी परेकाले वैशाखमा पनि असारमा जस्तै हरियाली थियो । फुर्वाले वरपरको दृश्य देखाउँदै जानकारी गरायो “त्यो ठूलो नदी मस्र्याङ्दी हो । खेत र बारीका मकै हुन् र खेतमा हरियो देखिएको चैते धान हो । यहाँ दुई–तीन खेतीसम्म नै हुन्छ । महिलाले डोकोमा घाँस ल्याएका हुन् । नदीकिनार वरपर बाहुन, क्षेत्री, गुरुङ, नेवार, दमै, कामी, सार्कीको बसोबास रहेको छ भने धेरै माथि डाँडामा गुजुप्प देखिएका घले गुरुङ गाउँ हुन् । उ…, त्यो देखिएको लमजुङ हिमाल हो ।”
कालो टोपी, छोटो कछाड, गादो भीरेका पुरुष र कानमा माडवारी, निधारमा रातो टीका, रातो चुरा, मखमलको चोलो, चोलोमाथि घलेक र लुङ्गी पहिरेर ओहोरदोहोर गरेका महिलालाई देख्दा दुवै निकै हर्षित देखिन्थे । त्यस्तै पहिरन चाडपर्वको बेला बेलाइतमा गुरुङहरूले पहिरेको उनीहरूले झलक्क सम्झे ।
“नदीदेखि उठेर अकासिएका भिराला पखेरामा गरागरा परेका खेत, बारी, घना जङ्गल, खोला, झरना, चराचुरुङ्गी, मानिसको ओहोरदोहोर र त्यो मस्र्याङ्दीको साँघुरो उपत्यका देख्दा मलाई त नेशनल ज्योग्राफी हेरेझैँ लागिरहेको छ ।” जेनिसले भनिन् ।
त्यो रात उनीहरू थोन्जेमा नारको मानिसले सञ्चालन गरेको होटलमा बसे । ज्याक्सनलाई भन्दा पनि वरपरका मानिसले जेनिसलाई हेर्दै उनको रूपबारे खासखुस कुरा गरेका देखिन्थे । मानिसको जात त्यस्तै त हो नि राम्रो–नराम्रो जस्तो रूप देखे पनि वर्णन त गर्छन् नै ।
“ज्याक्सन, थोन्जेलाई ग्यासुम्दो पनि भनिन्छ । यसको अर्थ चौबाटो हो । प्राचीन कालमा तिब्बतसँग नुनको सटही व्यापार गर्दा नुन ल्याएर यहाँ राखिन्थ्यो । बेसीसहरबाट मानिसले बोकेर ल्याएको खाद्यान्न पनि यहीँ थुपारिन्थ्यो । यहाँदेखि तल मस्र्याङ्दीको पहरो काटेर बनाइएको भीरको बाटो मानिस हिँड्न पनि कष्टकर थियो । घोडा खच्चड पहरामा ठोक्किएर लडेर मर्थे । त्यसैले तल र माथि दुवैतिरको यहीँ थुपार्थे । खच्चड जान नसक्ने भएकाले मानिसले नुन बोकेर पूर्वमा गोर्खा, दक्षिणमा लमजुङ पु¥याउँथे । त्यसैगरी लमजुङबाट ल्याएको कोदो, मकै, चामल, खुर्सानी मनाङतिर खच्चडले लैजान्थे” ग्याल्बोले विस्तृत रूपमा जानकारी दियो ।
हाम्रो घर भएको यहीँ ठाउँमा हो कि अन्तै हो नि ज्याक्सनले सोध्यो ।
“तिम्रो जिजु बेलाइतको सेनामा भर्ती भएपछि जग्गा किनेर घर बनाएको यहीँ हो । खाजा खाएपछि त्यो ठाउँ हेर्न जाउँला ।” फुर्वाले भन्यो ।
“पूmबाट यहाँ आएर किन बसेका होलान् ?” जेनिसले जिज्ञासा राखिन् ।
त्यसबेला ग्यासुम्दो उत्तरको नार र पूm, पश्चिमको मनाङ, दक्षिणको लमजुङ र पूर्वमा गोर्खाको नुन, ऊन र खाद्यान्न व्यापारको केन्द्र थियो अनि अहिले यहाँ नार र पूmका धेरै मानिसको बसोबास पनि छ । त्यसैले जिजुले यहाँ जग्गा किनेर घर बनाएर बसोबास गरेका हुन् । यो नार र फूको तिब्बत नेपाल व्यापारको केन्द्र पनि हो । त्यसैले यहाँ केहि फिरन्ते तिब्बती दोक्पाहरू, खम्पाहरू र शरणार्थी पनि थपिएका छन् ।
“अँ, हो यो त महŒवपूर्ण ऐतिहासिक ठाउँ रहेछ । जिजुले कति राम्रो ठाउँ रोज्नुभएको रहेछ ।” ज्याक्सनले खुसी प्रकट गर्दै भन्यो ।
“तिब्बतसँगको व्यापार बन्द भयो । अहिले त मनाङसम्म जाने मोटरबाटो पनि बन्यो । अहिले यो ठाउँको महŒव कस्तो छ त ?” जेनिसले निकै चाख मान्दै सोधिन् ।
“तिमीले ठीक भन्यौँ र सोध्यौँ पनि । नुनको व्यापारको ठाउँ विस्तारै पर्यटन व्यवसायले लियो । पर्यटकीय हिसाबले पनि यो त्यत्तिकै महŒवपूर्ण छ । यहाँबाट मनास्लु हुँदै गोर्खा, बेसीसहर, मनाङ, नार र पूm जान सकिन्छ ।”
खाजा खाएपछि उनीहरू थोन्जेको गुम्बा र मन्दिर हेर्न गए । गुम्बानजिकै करिब एक रोपनी क्षेत्रफल भएको खाली जग्गा थियो । त्यो जग्गामा घरको भग्नावशेष थियो । ग्याल्बो त्यहाँ पुगेर रोकियो र भन्यो, “भाइ ज्याक्सन यहीँ हो तिम्रो जिजु छिरिङ पाल्देन घलेले बनाएको घर र जग्गा ।”
त्यो दिन दिउँसोको बादल फाटेर ठाउँ–ठाउँमा निलो आकाश देखिएको थियो । घाम अन्नपूर्ण चौथोको अँगालोमा पुगेर विश्राम लिएको थियो । पहेँला किरण छिरलिएर पूर्वतिर लम्कँदै मनास्लुको टुप्पोलाई सुनौलो चुम्बनको वर्षा गर्न आतुर देखिन्थे । अर्को त्यस्तै किरण अन्नपूर्ण तेस्रोको वक्षस्थलमा टाँसिँदै मनाङ उपत्यका छिचोलेर तिलिचोतिर तेर्सिएको थियो । बेलुकाको सुनौलो किरणले हिमालय पर्वत त चम्किलो सुनौलो पहाडमा परिणत भएका नै थिए, वरपरका पखेरा र चट्टान पनि सुनकै धागोले बुनेको मलमलको सुवर्णमय पछ्यौरी ओढेर ती दुई युवा जोडीलाई प्रेमालिङ्गनमा बाँधिन प्रेरित गरेजस्ता देखिन्थे । सूर्यास्तको बेला समुद्रमा देखिने दृश्यभन्दा त्यो दृश्य हजारौँ गुणा बढी सुन्दर भएको कुरा सँगै उभिएकी जेनिसलाई ज्याक्सनले सुनायो । त्यो दृश्य देख्दा उनीहरू यतिसम्म एकोहोरिएका थिए कि ग्याल्बो बोलेको थाहै पाएनन् । त्यसबेलाको फोटो र भिडियो बनाए । पश्चिम मनाङ उपत्यकाबाट आएको चिसो सिरेटोको झोँकाले हिमालयको सौन्दर्यमा लीन ती युगल जोडीको एकाग्रतालाई खल्बलाइदियो ।
“दाइ अब हामी कता जाने ?” ज्याक्सनले सोध्यो ।
ग्याल्बोले जग्गा र भत्केको घर देखाउँदै पहिले भनेको कुरा दोहो¥यायो “ज्याक्सन यहीँ हो तिम्रो जिजु छिरिङ पाल्देन घलेले बनाएको घर ।”
ज्याक्सन झस्क्यो । ऊ त आफ्नै जिजुले बनाएको घरको भग्नावशेषमाथि उभिएर त्यो दृश्य हेरिरहेको रहेछ । जेनिस पनि उत्तिकै खुसी देखिन्थिन् । पहेँलो किरण उनको गोरो अनुहारमा परेको बेला उनी पनि ती हिमालझैँ गम्भीर र सुन्दर देखिएकी थिइन् । चिसो सिरेटो बढ्दै थियो । ज्याक्सनले जग्गा र भग्नावशेषको तस्वीर लियो । त्यसपछि सबै होटलमा फर्के ।
त्यो रात ज्याक्सन निदाउन सकेन । उसले बाजे पाल्देनलाई सम्झ्यो दुःख मानेन । जिजुले ७५ वर्षपहिले किनेको जग्गा र त्यसमा बनेको घरको त्यो भग्नावशेषमाथि उभिएको सम्झँदा आपूmलाई गौरवशाली ठान्यो । अनजानमै आफ्नै आँगनमा उभिएर उसले त्यो साँझ देखेको सूर्यास्तको दृश्य उसको हृदयमा अजम्बरी पूmल भएर बस्यो । बेलाइतमा उसलाई नपुग्दो केहि छैन । त्यहाँका मध्यम वर्गीय परिवारका सदस्यले उपभोग गर्ने सुविधामा ऊ हुर्केको हो । त्यो सुविधा उपभोग गर्न सक्छ । मृत्युशैयामा भएका बाजे किन रोएका रहेछन् ? कोरोना कालभैरवीका तिखा विषालु नङ्ग्राले बाजेको घाँटी छेडिसक्दा पनि बाजेले नेपाल सम्झेर दुई नयनबाट मस्र्याङ्दीका झरना किन झारेका रहेछन् ? उसले रातभर सम्झ्यो । पितृभूमि नेपाल पुग्ने अवसर दिएकोमा जिजु र बाजे दुवैलाई एकैचोटि आभार प्रकट ग¥यो । उनीहरूको पनाति, नाति भएकोमा गर्व ग¥यो । जिजुको घरलाई पुरानै ढाँचामा बनाउने सङ्कल्प ग¥यो । त्यसबेला जेनिस निदाइसकेकी थिइन् । उनको सुन्दर निधार र दुई आँखामा विस्तारै ओठले चुम्यो र ओछ्यानमा पल्ट्यो । मस्र्याङ्दी आफ्नै सुरमा हामफाल्दै थियो कसलाई भेट्न हो कुन्नि !
“मोटर जाने भए तापनि हिँडेर मेतासम्म पुगौँ ।” ग्याल्बोले भन्यो । करिब चार घण्टाको बाटो हिँड्न उनीहरूलाई छ घण्टा लागेको थियो ।
“दिनभर बादल लागेकाले हिँड्न त सजिलो भयो तर हिजोका ती सुन्दर हिमाल भने दिनभर नै बादलको पछ्यौरी ओढेर बसे । बाटो काट्न नै कठिन भयो ।” जेनिसले भनिन् ।
ग्याल्बो र दोर्जीले पूmसम्मको बाटोको बारेमा जानकारी लिए । उनीहरूसँग दुईटा ससाना पाल, ग्याँस, डोरी, आइस एक्सका साथै सङ्कटको बेला चार दिनको लागि खान पुग्ने सामान थियो । त्यो साँझ सबै सामानहरू निरीक्षण गरे । ग्याल्बो र दोर्जीले बोक्न सक्ने भए तापनि बाटोमा केहि दुर्घटना पर्ला भनेर दुई जना नयाँ भरिया कोतोबाट व्यवस्था गरे । क्यामेरा, मोबाइल र हलुका ज्याकेट, टिसर्ट र अन्य सामान आ–आफैँले बोके ।

भोलिपल्ट बिहान छ बजे खाजा खाएर पूmको लागि हिँडे बेलाइतमा जन्मेर हुर्केका बेलाइती नेपालीका सन्तान ।
“बाटो असाध्यै साँघुरो, भीर, तिखा ढुङ्गा भएको, उकालो, ओरालो र चिप्लो छ । एक पाइला मात्र बिग्रियो भने मस्र्याङ्दी जत्रै नार खोलामा छम्लङ्गै परिन्छ । बाटोमा हिमाल, खोला, पुल, पूmल, नाउर, चरा, पुतली देखिन्छन् । त्यस्तोबेला सुरक्षित ठाउँमा उभिनु अनि मात्र फोटो खिच्नु । छेउतिरबाट नहिँड्नु ।” नौ–दश वर्षका बालबालिकालाई आमाबाबुले सम्झाएझैँ ग्याल्बो र दोर्जीले उनीहरूलाई पालैपालो सम्झाए । मस्र्याङ्दी नदी तरेर नार खोलाको किनारैकिनार कोतो पहरोतिर चढे ।
“हाम्रो लागि यो पितृयात्रा हो । यसले पितृभूमि नेपालको माटो चुम्ने अवसर मिलेको छ । हामी होसियारीका साथ हिँड्नेछौँ । तपाईंहरू ढुक्क हुनुहोस् ।” नार खोलाको किनारदेखि अग्लिँदै गएको फुस्रो पहाडको तस्वीर खिच्दै जेनिसले भनिन् । उनको लागि अर्को फाइदा के भने उनले नेपालको भौगर्भिक अवलोकनको अवसर पनि पाएकी थिइन् ।
“हामी अन्नपूर्ण हिमालको मुख्य शृङ्खलाभन्दा उत्तरतिर लागेका हौ कि क्या हो ? ग्याल्बो दाइ ।” ज्याक्सनले सोध्यो ।
“हो, हामी नार उपत्यकातिर लाग्दैछौँ । यो उपत्यका मनाङ हिमालभन्दा उत्तर र दामोदर हिमालभन्दा दक्षिणमा पर्दछ । उत्तरमा चीनको तिब्बत रहेको छ ।” ग्याल्बोले जवाफ दिनुभन्दा पहिला उछिन्दै पूmर्वाले जवाफ दियो । ग्यासुम्दोदेखि उत्तर लागेपछि मनाङभर घले, लामा र गुरुङ थर भएका गुरुङ गाउँ छन् । यी गुरुङहरू यो क्षेत्रमा आठ–दश हजार वर्ष पहिले घुम्दै हिँड्दा यतै पशुपालन गर्दै त्यहीबेला देखि बसोबास गरेका हुन् रे” बुढापाकाले त्यस्तै कथा भन्छन् भन्दै ग्याल्बोले पुर्खाबारे जानकारी दियो ।
मुख्य काला चट्टानको भीरको साँघुरो बाटो सकिएको थियो । फुस्रा पहाड, खस्रु, लालीगुँरास र सल्लाको पातलो वन, अग्ला पहाड, घाम र बादलको लुकामारीमा छलिएर घरिघरि फुत्त देखिने सेता हिमालका टुप्पा, चराहरूको चिरबिर र थरीथरीका पूmलहरू देख्दा ती दुई युवायुवती निकै रमाएका थिए । हिमाली क्षेत्रमा ओहोरदोहोर गर्ने स्थानीय बासिन्दाले पनि कोतोदेखि पूmसम्मको बाटोलाई सुनसान, डरलाग्दो, विकट भनेर भन्दछन् भने बेलाइतमा हुर्केका ती युवालाई पहिलोपल्ट नै त्यस्तो बाटो हिँड्दा कठिनाइ त पक्कै भएको होला । तर, त्यो कठिनाइलाई पाइलैपिच्छे देखिने आकर्षक प्राकृतिक दृश्यले बिर्साइदिएको थियो ।
प्रकृतिलाई त्यसरी प्रकृतिकै नियन्त्रणमा छोडेको भए सायद कोरोनाले त्यस्तो भयावह स्थिति ल्याउने थिएन कि ? दुई अग्ला पहाडको चेपबाट बग्दै गरेको नार खोलालाई हेर्दै ज्याक्सनले मनमनै सोच्यो । जेनिस अगाडि आफ्नै धुनमा हिँड्दै थिइन् ।
त्यो दिन कोतोदेखि मेता पुग्न उनीहरूलाई एघार घण्टा लाग्यो । जेनिसको अनुहार थकान, गर्मी र उचाइले मार्फाको स्याउजस्तै रातो देखिएको थियो ।
मेताको त्यो रात चकमन्न थियो । नारखोला धेरै तल सुसाएको सुनिन्थ्यो । बेलाइतका तारा पनि मेताको आकाशमा जेनिस र ज्याक्सनसँगै पितृदेश आएछन् कि ? क्षणभर बाहिर निस्केर आकाश हेर्दै ज्याक्सनले सोच्यो । त्यो रात ती दुवैलाई निद्रा लागेन । शरीर तातेर भत्भत पोलेको थियो भने टाउको पनि दुवैको दुखेको थियो ।
“दाइ, हिजो हामी धेरै हिँड्यौँ । थाकेका छौँ । आज पाटन, खेतीपाती, याक, चौरी, भेडा र घोडा चरेको हेरौँ । यसले हामीलाई आराम पनि हुन्छ र केहि बुझ्न पनि सकिन्छ ।” ज्याक्सनले फुर्वालाई भन्यो ।
मेतामा आराम गरेको दिन बिहान ११ बजेसम्म मौसम खुलेको थियो । त्यो दिन आराम गरेको हुनाले ती दुईमा नयाँ ऊर्जा देखाप¥यो । ग्याल्बो र फुर्वा पनि उनीहरूको स्वास्थ्य देखेपछि ढुक्क भए ।
“आज, हिजो जति लामो हिँड्न सक्दिनँ कि जस्तो छ । पूmर्वा दाइ बिचमा बास बसेर अर्को दिन पूm पुगौँ । हुँदैन र ?” जेनिसले जिज्ञासा राखिन् ।
“बिचमा लज त छैनन् तर पानी भएको ठाउँ हेरेर क्याङ फेदतिर बसौँला । त्यहाँ बाट पूm पुग्न सजिलो पनि हुन्छ ।” पुर्वाले भन्यो ।
क्याङ जाने बिहान आकाशमा एक फुर्को बादल थिएन । आकाश चम्किलो निलो देखिएको थियो भने अघिल्लो साँझको हलुका वर्षा र हुरीले वरपरका पहाड झन् नुहाएर सिलिक्क परेका जस्ता देखिएका थिए । अन्नपूर्ण तेस्रो, चौथो, लमजुङ हिमाल दक्षिणतिर देखिएका थिए भने पिसाङ र चुलुका चुलीहरू आँगनमै ओर्लेका थिए । माथिल्लो हरियो पाटनमा घोडा, चौरी, याक चरिरहेका थिए । भेडाका पाठापाठी माउको दुध चुस्तै ‘म्याँ म्याँ’ गर्दै बुर्कुसी मार्दै थिए । त्यसबेला साँच्चिकै प्रकृतिको छटा जीवन्त देखिएको थियो । त्यो मनोरम दृश्य र प्रकृतिको खेल देख्दा हृदयदेखि नै उम्लेर आएको हर्ष ती दुई युवा जोडीका अनुहारमा प्रत्यक्ष देखिन्थ्यो । उज्यालो भएदेखि सूर्योदय हुँदासम्मको परिवर्तित दृश्यले तिनीहरूलाई मोहनी लगाएको थियो । ती दुवैले रमाइलो मान्दै हिमालसँग लुकामारी खेले । त्यो देखेर फुर्वा र ग्याल्बो पनि खुसीले गद्गद् भएका थिए ।
“सफा मौसम देख्दा मन पनि सफा भएर झरनाझैँ फुरुङ्ग हुँदोरहेछ । थकाइ पनि मेटिएर शरीर हावामा हिमाली ढुकुरसँगै उड्न खोज्दोरहेछ । त्यस्तो कसरी भएको होला हँ ?” जेनिसको मनको कुरा फुत्त निस्क्यो ।
“घाम लाग्दा, हिमाल हाँस्दा, पाटनका बुकीपूmल फुलेर हावामा लहराउँदा, पहाडका देवता पनि खुसी हुन्छन् । अप्सरा हिमालयका चुचुरामा नृत्य गर्न थाल्छन् । चौरी, याक, भेडा, नाउर पनि सफा मौसम भएको बेला खुसी देखिन्छन् । गाउँमा तन्नेरी–तरुनी पनि जिस्केर नयाँ–नयाँ भाकामा गीत गाउँन थाल्दछन् । प्रेमको सागरमा चर्लम्मै डुब्छन् । यो प्रकृतिको वरदान हो । सफा मौसम मानिसलाई स्वर्गको अनुभूति गराउने औषधि नै हो ।” ग्याल्बोले दर्शन छाट्यो । ग्याल्बो र पूmर्वा कलेज पढ्दा–पढ्दै पशुपालनमा लागेका युवा हुन् ।
“तर, हामी किसान त हिउँ पर्दा हिउँसँगै कुस्ती खेल्दै रमाउनुपर्छ । हामीले आपूmलाई ऋतुसँग परिवर्तन गर्दै जान्छौँ । ‘हे आकाश, हे भूमि, हे बादल, हे हिमाल, हे हावा, हे खोला हामीलाई रक्षा गर’ भन्दै प्रकृतिलाई पूजा गर्छौ । हाम्रो जीवन त घुमन्ते नै हो । परिवारसँगै हुने भनेको त पर्व, मानिसको मृत्यु हुँदा, विवाह हुँदा, खेती लगाउँदा र खेती थन्क्याउँदा त हो नि । अरू समय त लेकमा नै बित्छ ।” फुर्वाले थप्यो ।
त्यो दिनको बाटो अघिल्लो दिनको भन्दा सजिलो थियो । हिमनदीको बगर, पाटन हुँदै अगाडि बढे । एक बजेपछि कालो बादल देखिन थाल्यो । क्षणभरमा नै कुहिरोसँगै चिसो हावा र हिउँका स–साना गेडा झर्न थाले । आधा घण्टाजति हिउँ प¥यो । चिसो बढ्यो । त्यसपछि पानी पनि प¥यो । पानी पर्न छोडे पनि चिसो सिरेटो भने चलिरहेको थियो । त्यस्तैमा दिउँसो तीन बजे उनीहरू क्याङको फेदीमा पाल टाँगेर बसे । क्याङको भीरमा पहिरो गएकाले त्यो बाटो रोकिएको थियो । संयोगवश पहिरो फाल्दै गरेका दाजुभाइ पनि त्यहीँ रहेछन् । उनीहरूसँग दाउरा किनेर त्यो रात आगो तापेर सबैले जिउ तताए ।
“पहिरो गएकाले पहाड चढेर पुरानो बाटो जानुपर्ने भयो । कठिन छ । भञ्ज्याङसम्म विस्तारै जाऊँ । भञ्ज्याङदेखि मूल बाटोमा जाने बाटो साँघुरो धर्सो मात्रै छ । माथिबाट नाउरले ढुङ्गा झार्न सक्छन् । बाटोभन्दा माथि चट्टान आकाशतिर सोझिएको छ । त्यही पहरो सिधै पूmखोलाको किनारमा झरेको थियो । तल हेर्दा जो कोही पनि झस्किने र रिङ्गटा लाग्न सक्छ । गाउँलेले पनि घरबाट निस्कँदा त्यो भीर पार गर्न पाऊँ भनेर पहरो सम्झेर धूप बालेर निस्कन्छन् । भाइबहिनीले तल नहेर्नू । भञ्ज्याङ पुगेर सल्लाह गरेर मात्र जाने ।” ग्याल्बोले सबैलाई सचेत पारेपछि सबै उकालो लागे ।
“भीरदेखि तल एकैचोटि नदी देखिएकाले मेरा त आँखा नै तिरमिराए । नदी र यो पखेरो घुइँघुइँ घुमेजस्तो लाग्यो । खुट्टा पनि लुला भए । मुटुको धड्कन बढ्यो । मलाई डर लाग्यो ।” जेनिसले भनिन् ।
“नडराऊ, एक्कैछिन् बिसौनीमा बिसाऊँ । कसरी झर्ने सल्लाह गरौँ । अनि आस्तै–आस्तै झरौँला ।” ग्याल्बोले आश्वस्त पार्दै भन्यो ।
“मलाई पनि डर लाग्यो । लडियो भने त बल्ड्याङ् खाँदै नदी किनारमा छम्लङ्ग परिने रहेछ । बाजेको अस्तु लिएर नेपाल आएको फेरि हाम्रो अस्तु बाआमालाई बेलाइत पठाउनुपर्ला । हामीले डोरी यस्तै अप्ठेरो पर्छ भनेर किनेको त हो नि, होइन र फुर्वा दाइ ?” ज्याक्सनले डर र यथार्थमिश्रित जिज्ञासा राख्यो ।
सबैजना मिलेर भञ्ज्याङदेखि भीरको उत्तरतिरको धारसम्म डोरी टाँगे । डोरी छोटो भएकाले दुई पटक टाँग्नुप¥यो । डोरीको सहारामा उनीहरू सजिलो धारमा पुगे । त्यसपछि मूल बाटो देखियो । सबै खुसी भए । जेनिसको धड्कन शान्त भयो र ओठमा मधुर मुस्कान देखाप¥यो । सबैले लामो सास फेरे र धड्कन शान्त हुन्जेल आराम गरे ।
“जेनिस, उ… माथि पखेरामा हेर त नाउरको बथान हामीलाई हेर्दै चरिरहेका रहेछन् ।” फुर्वाले नाउर देखाउँदै भन्यो । “नाउर भनेको के हो ?” उनले सोधिन् ।
“जङ्गली भेडा हो । यसलाई ब्लु सिप भनिन्छ र यो समुद्र सतहदेखि तीन हजारभन्दा माथि भेटिन्छ । यो भेटिने लेकमा हिमचितुवा (स्नो लियोपर्ड) पनि भेटिन्छ ।” फुर्वाले जवाफ दियो । फुखोलाको फेदमा झरेर उकालो चढ्नेबेला एउटा बलौटे कलात्मक पहाड एक्लै ठिङ्ग उभिएको देखियो । त्यसको साँघुरो चेपबाट पूmखोला बगेको थियो । जेनिसले तस्वीर लिइन् । कानीचोर्तेन पार गरेपछि सबैजना पूmखोलाको झोलुङ्गे पुलमा पुगे । त्यहाँबाट भित्तामा गौँथलीको गुँडजस्तै ससाना घरहरु देखिए ।
“दाइ, उ… त्यो भिरालो पहाडमा देखिएका प्राचीन किल्लाका भग्नावशेषहरू हुन् कि क्या हो ? पहरोमा एकै ठाउँमा गुचुमुच्च देखिन्छन् नि ।” ज्याक्सनले तस्वीर लिँदै सोध्यो ।
“भाइ, फुस्रो भिरालो पखेरामा एकै ठाउँमा टाँसिएका, गौँथलीको गुँडजस्तै देखिएका, सबैका घरमा झण्डा फहराएका ती सबै घरहरू हुन् । त्यो नै हाम्रो पूm गाउँ हो । हामी पूm गाउँ आइपुग्यौँ । अब पाँच मिनेटमा गाउँको कानी चोर्तेनमा पुग्छौँ ।” ग्याल्बोले भन्यो ।
पूm गाउँ ! जेनिस र ज्याक्सन दुवै आश्चर्यचकित हुँदै एकैसाथ दोहो¥याउँदै प्रश्न गरे “के साँच्चिकै त्यो पूm गाउँ हो त ?”
“हो नि भाइ, हामीले के ठट्टा गर्नु र तिमीहरूसँग । अरूलाई भए त सायद झुक्याउँथ्यौँ पनि होला” ग्याल्बोले हाँस्दै भन्यो । “ठट्टा त गर्नुपर्छ नि नत्र त कसरी बाटो काट्नु !” सुर्ती ओठको चेपमा राखेर भुईंमा थुक्दै भरियाले भन्यो ।
पूm गाँउ देखेपछि उनीहरू दुवै असाध्यै खुसी भए । उनीहरू खुसी साट्दै एकअर्काको अँगालोमा बाँधिएर म्वाइँ खाए । दुवैका आँखामा खुसीका आँसु टप्केका थिए ।
“हामीले बाजेसँग गरेको वाचा पूरा गर्ने भयौँ । त्यो भन्दा ठूलो र हर्षको कुरा हाम्रो लागि अरू के हुन सक्छ र ?” जेनिसले भनिन् ।
“हो जेनिस । म भित्रभित्रै डराएको थिए । बाटोमा बिमार भइन्छ कि, हिंडन सकिँदैन कि भनेर । अब त आइपुग्यौँ । बाजेले सोचेको पुग्ने भयो” ज्याक्सनले थप्यो ।
ग्याल्बो, भरिया र फुर्वा उनीहरू खुसी भएर हर्षाश्रु बगाएको भावुक भएर हेरिरहेका थिए । त्यस्तैमा ग्याल्बोले भन्यो– “बेलाइतमा जन्मेर उतै हुर्केका केटाकेटी नाउर लड्ने भीरको बाटो यस्तो विकट गाउँमा जिजुबाजेको जन्मथलोमा पुगेको बेला हर्षले आह्लादित भएर खुसीका आँसु झारेका हुन् । उनीहरू बेलाइतबाट आए । हाम्रा यहाँका आफन्त भने काठमाडौँबाट आउन कठिन भयो भन्छन् ।” फुर्वाले गाउँको व्यथा बक्यो ।
त्यसबेला दुई बजेको थियो । आकाश बादलले ढाके पनि फुस्रा पहाडमा कुहिरो थिएन ।
“रूख त एउटै पनि रहेनछ । काँडे झार अलिअलि रहेछ । सबै पखेरा फुस्रा, उजाड, गिटी र पातलो माटो मिश्रित रहेछन् । कुनै–कुनै पखेराबाट त पहिरो झरिरहेछ । यस्तो ठाउँमा मानवको बसोबास कहिलेदेखि भएको होला हगि ज्याक्सन ।” जेनिसले सोधिन् ।
हिउँदमा यहाँ पाँच–छ फिटसम्म हिउँ जम्छ । वैशाख–जेठमा पग्लेर बग्दा पहाडको गेगर बोकेर झर्छ । हावा उत्तिकै जोडले चल्छ । हिमालले छेकेको हुनाले पानी कम पर्छ । त्यसैले त्यति विघ्न सुख्खा भएको होला, होइन त दाइ ? ज्याक्सनले जेनिसको जिज्ञासा मेटाउँदै फुर्वासँग सोध्यो । त्यहाँ बीस मिनेटजति बस्दा नाउरको अर्को बथान पश्चिमतिरको पाखोमा देखिए ।
पूm गाउँको प्रवेशद्वारमा लामासहित सबै गाउँले उनीहरूको स्वागतार्थ हातहातमा लामा खादा लिएर उभिएका थिए । कसैले धुप बालेका थिए त कसैले छ्याङ र रोटी बोकेका थिए । त्यो साँझ पूmको लागि लेकबाट चौरी झारेको दिनजस्तै पर्व बनेको थियो । उनीहरूलाई भेट्न नार र मनाङबाट पनि आफन्त आएका थिए । लामाले मन्त्रोच्चारण गरी खादा लगाई स्वागत गरेपछि अन्यले पालैसँग स्वागत गरे ।
“पुख्र्यौली गाउँ पूmमा स्वागत छ है” भन्दै बाजे, बज्यै, काका, काकी, दिदीबहिनी, दाजुभाइ र गाउँले इष्टमित्रले खादा लगाइदिए । खादाले दुवैको घाँटी टम्म भरिएको थियो ।
“छिरिङको पलाती होइना त ? छिरिङको छोरा तीनबीस वर्षपहिले आउँदै थियो तर त्यसैबेला ठूलो पहिरो गएयो । छुट्टी थोरै रहेछा । बिचबाटै फर्केर गयो । देख्नै पाएना । अहिले पलाती आएछा । हर्ष लाग्यो । मलाई थाहा छ छिरिङ १७ वर्षको उमेरमा भर्ती भएको हो । ऊ अहिले बाँचेको भए चारबीस र चौध वर्षको हुने थियो । अब पलाती कति वर्षपछि जिजुको गाउँ सम्झेर आएछ त ? लौ भन त !” हातको माने घुमाउँदै गरेका एकजना वृद्ध बाजेले उनीहरूलाई देखेपछि भने ।
“आम्मै नि ! त्यो केटी को रहेछा नि ? आहा ! कति राम्री हँ ! नाउरको पाठीजस्तै सुन्दर र मायालाग्दी” छोरीलाई दुध चुसाउँदै गरेकी अर्की आमाले जेसिकाको सौन्दर्यको चर्चा गर्दै भनिन् ।
“बेलाइतको लाहुरे हो नि केटाको जिजु र बाजे त । धेरै नै राम्रो मान्छे हो, यिनीहारु । माथि गुम्बाको एउटा घर ऊ लाहुरे हुँदै बनाको ।” डोकोमा गुइँठा बोक्दै घर फर्केकी अर्की महिलाले भनिन् ।
“आम्मै नि ! बेलाइत बसेको मान्छे, त्यो भीरको बाटो कसरी आयो होला नि । त्यो त नाउर लड्ने भीर ।” भेला भएका युवतीहरू कुरा गर्दै थिए ।

पूmमा उनीहरू आफ्नै जिजु र बाजे जन्मेको घरमा बसे । त्यसमा अहिले उनकै सन्तान ग्याल्बो बसेका छन् । फुस्रा पातला ढुङ्गा र बलौटे माटोको जोडाइबाट बनेको घरमा एक वर्गफिटको झ्याल थियो । भुईं तलामा घाँस, दाउरा र दुहुनो चौरी बाँधिएको थियो । पहिलो तलामा भान्सा, परिवार र पाहुना आउँदा सुत्ने ठाउँ थियो । दोस्रो तलामा गोदाम गरिएको थियो । चेप्टो छानोमा बिस्कुन सुकाउने र दाउरा राख्ने गरिन्थ्यो । उनीहरू आउँछन् भनेपछि एउटा शौचालय बाहिर बनाइएको थियो ।
तीन दिन तासी ल्हाखाङ गुम्बामा सात जना लामा राखेर पूजा सम्पन्न गरियो । त्यसको सबै बन्दोबस्त ग्याल्बोको परिवारले नै गरेका थिए । त्यसलाई लाग्ने खर्च भने ज्याक्सनले नेपाल आउनुभन्दा पहिले नै पठाइदिएको थियो । बुद्ध पूर्णिमाको दिन बिहानैदेखि मौसम सफा भएको थियो । लामाले जोखाना हेरेर ज्याक्सनका बाजे पाल्देन घले गुरुङको अस्तु राख्ने ठाउँ तोकिदिए । त्यो गुम्बा भएको पखेराको पश्चिम फर्केको एक छेउमा अस्तु राखेर तीन खण्ड भएको ढुङ्गाको स्मृति चोर्तेन बनाउन स्वीकृति दिए । पूर्णिमाकै दिन सबै गाउँले दाजुभाइको सहयोगमा चोर्तेन पनि बनाए । जिजु र बाजेको नाम लेखिएको पितलको ताम्रपत्र त्यही चोर्तेनमा राखिदिए । साँझपख गुम्बा र चोर्तेनवरपर बत्ती बालेर सबैजना फर्के ।
“जेनिस, अब बाजेले भनेको एउटा काम सम्पन्न भयो । अर्को एउटा हामीले यो गाउँलाई भविष्यमा केही सहयोग गर्न सकिन्छ कि जसले गर्दा गाउँलेलाई आर्थिक लाभ पनि होस् र हामीलाई पनि सन्तोष मिलोस् ।” ज्याक्सनले जेनिसलार्य भन्यो ।
“ठीक हो, मैले पनि बाजेलाई पीर नगर्नु हामी गाउँलाई नै सन्तोष हुने गरी केही ठोस काम अवश्य गर्नेछौ भनेकी थिएँ । त्यसैले ग्याल्बोलाई भनेर सबैसँग परिचय पनि गरौँ र त्यसबारेमा छलफल गरौँ न त ।” जेनिसले थपिन् ।
ग्याल्बो र फुर्वाले गाउँका सबैलाई गाउँको गुम्बामा बोलाए । लेक गएका बाहेक सबै घरपरिवारका सदस्य भेला भएका थिए । पूmमा साँच्चै ल्होसार आएको थियो । गुम्बामा सबै उपस्थित भएपछि ज्याक्सन र जेनिसले आफ्नो पढाइ, जेनिसको पुर्खा नेपालकै भएको र उनीहरूले बाजेको वर्ष दिनको काम सकेपछि बिहे गर्ने योजना गरेको कुरा आफन्तजनलाई जानकारी दिए ।
बाजे पाल्देनले अस्पतालमा हुँदा उनले हवाइजहाज चार्टर गरेर नेपाल आउन खोजेको, आँखाभरि आँसु टल्पलाउँदै गाउँलेलाई धेरैधेरै सम्झेको, सबै दाजुभाइसँग उनीहरूलाई भेट्न नसकेकोमा क्षमा मागेको अन्तिम अवस्थामा नेपालको मात्रै कुरा गरेको बारेमा ज्याक्सनले गाउँले दाजुभाइलाई बतायो । ज्याक्सनको भनाइले सबै भावुक भएका थिए भने कतिले त आँसु रोक्न सकेका थिएनन् ।
पाल्देनकै उमेरका उनकै दाइ पर्ने तासी घलेले भने “बाबु तिमीले तिम्रो बाजेले भनेको कुरा सम्झेर, बाजेलाई सम्मान गर्दै उनको अस्तु लिएर यहाँ सकुशल आइपुग्यौँ, तिमीलाई गाउँको तर्फबाट आभार व्यक्त गर्दछौँ । हाम्रो ठूलो पर्व बुद्ध पूर्णिमाको दिनमा पूजा गर्ने गरी आउन सक्यौ, हाम्रो लागि यो भन्दा हर्षको कुरा के हुन सक्छ र ? पाल्देन एक पटक आफ्नो पितृथलो नआई त कसरी मर्ला र भन्ने मलाई लागेको थियो । मलाई पनि असाध्यै देख्न मन थियो । कालले उसलाई आउन दिएन । तिमी आयौँ हाम्रो वंश धन्य भयो । मन टाढा नहुने हो र अठोट हुने हो भने बेलाइत पनि टाढा नहुँदो रहेछ नि । तिमी दुईले प्रमाणित ग¥यौँ । पूm हजारौँ वर्षको इतिहास बोकेको हाम्रा पुर्खाले याक र चौरी चराउँदै, नाउर र हिमचितुवासँग खेल्दै बनाएको गाउँ हो । यसको सबै मिलेर रक्षा गर्नुपर्छ ।” बोल्दाबोल्दै तासीको भक्कानो बस्यो उनी बोल्न सकेनन् अनि रोक्न खोज्दाखोज्दै आँसु पनि रोक्न सकेनन् । गुम्बा चकमन्न बन्यो । सबैका आँखाबाट पाल्देनको सम्झनामा दुई थोपा आँसु झरे । ज्याक्सनले तासी नजिक गएर उनका आँसु पुछि दियो ।
“राजधानीको त के कुरा गर्ने, मनाङमा नै भएका आफन्त त भीरको बाटो हिँड्नुपर्छ भनेर आउँदैनन् । तिमी दुई कष्टको कुनै पर्वाह नगरी आफ्नो पुख्र्यौली घर सम्झेर बेलाइतदेखि आयौँ । हाम्रो पूm गाउँ पवित्र भयो । यी पाखा, खोला, हिमाली देवता र पुर्खाले संरक्षण गर्दै तिमीहरूलाई यहाँ ल्याई पु¥याएका हुन् । तिमी दुईलाई हाम्रो गाउँको आशीर्वाद लागोस् । तिमीहरूले सोचेको पुगोस् ।” त्यस्तै सत्तरी वर्ष पार गरेकी एक आमाले हातको माने घुमाउँदै उनीहरूलाई आशीर्वाद दिँदै भन्नुभयो ।
त्यसपछि जेनिसले उठेर सबैलाई नमस्ते गर्दै भनिन् –“ मृत्युशैयामा सुतेको बेला मैले बाजेसँग आधा घण्टा कुरा गरेकी थिएँ । वहाँको हवाइजहाज चार्टर गरेर भए पनि नेपाल आउने इच्छा थियो । ‘म नेपालमा गएर मर्न चाहन्छु’ भन्नुहुन्थ्यो । कोरोना भाइरसले गर्दा सारा संसार बन्द थियो । संसार बन्द भएको कुरा थाहा पाएपछि उहाँ साह्रै दुःखी हुनुभयो । हामीले तपाईंको इच्छा के छ ? हामी पूरा गर्छौ भनेपछि बल्ल यहाँ तपाईंहरूलाई भेट्न जानू भन्नुभयो । त्यसपछि हँसिलो अनुसार पारेर आँखा हेर्दाहेर्र्दै हामीबाट बिदा हुनुभयो । त्यसैले हामी अहिले तपाईंका काखमा आइपुग्यौँ । ज्याक्सन र मेरो परिवारले नेपालको हाम्रो पुर्खाको जन्मथलोमा सबै गाउँलेसँग मिलेर गाउँलेलाई नै प्रेरित गर्ने सानो काम गर्ने सोच बनाएका छौँ । सबैभन्दा पहिले फू, अनि नार र पर्वतमा हामी तपाईंहरूका दुःखसुखमा सहभागी हुन चाहन्छौँ । के गर्दा राम्रो हुन्छ ? तपाईहरूले हामीलाई सल्लाह दिनुहोस् ।”
त्यसैमा ज्याक्सनले दुवै हात जोड्दै थप्यो, “मैले कृषि पढेको हँु । पशुपालन र कृषिमा भएको मेरो ज्ञान काम लाग्छ कि ?”
“बेलाइतमा जन्मेर, उतै हुर्केर उतै पढेलेखेका केटाकेटी कति भद्र, कति सुशील, कति राम्रो नेपाली बोल्न जानेका । के अचम्म हो !” छेउमा बसेका पाका गाउँलेले एकअर्कामा गफ गर्दै भन्दै थिए ।
त्यसैबेला गाउँका तासी घलेकै उमेरका समाजसेवी पशुपालक थोसाङ लामाले भने, “हामी आझै दाश हजार वर्ष पहिलेको घुमन्ते पशुपालनको जमानामा छौँ, बाबु ! माथिल्लो र तल्लो लेक गर्दा हाम्रो वर्षा बित्छा । यहाँ खेती हुने ठाउँ कम छा । हिउँदमा हिउँ बाक्लो पार्छा । त्यसपाछी कोरोना भाए जास्तो घारभित्रै बास्ने हो । पशुपालन र जडीबुटी काम गरे भने हामी किसानलाई फाइदा होला ।”
त्यस्तैमा एक जना करिब ५५ वर्षकी फुटी लामाले भनिन्, “चौरी र भेडापालनका साथसाथै जडीबुटी सङ्कलन र प्रशोधनको काम गर्न सकिन्छ कि ?”
“मेरो पनि पशुपालन र जडीबुटीमा केहि काम गर्न सकिन्छ कि भन्ने सोच छ । हामीले नोकरी भर्खरै मात्र थालेका छौँ । तर पनि जिजु बाजे र बाजेको सम्झनामा हामी तपाईंहरूसँग सहकार्य गर्न चाहन्छौँ तपाईंको तर्फबाट प्रस्ताव चाहन्छौँ ।” ज्याक्सनले प्रष्ट पार्दै भन्यो ।
“हामी एक घण्टा गाउँ घुमेर आउछौँ । भोलि फर्कने हो । त्यसैले हजुरहरूले सल्लाह गर्नुहोस् । बुबाआमा, बाजे र सबैले भनेको सुझावलाई हामीले स्वीकार गर्नेछौँ” जेनिसले भनिन् । उनीहरूसँगै गाउँका दुई भाइ र एक बहिनी पनि निस्के ।
उनीहरू गाउँतिर उक्लँदा मौसम सफा थियो । बाजेको अस्तु राखेको पखेरोमा नाउर चर्दै थिए । गाउँभन्दा केहि माथिको ढिस्कोबाट उनीहरूले पूर्वतिर एउटा हिमाल देखे । भाइलाई सोधेपछि थाहा पाए त्यो काङ्गर हिमाल रहेछ ।
गाउँ घुमेपछि गुम्बामा नै फर्के ।
त्यहाँ बसेका बहिनीले उनीहरूलाई सुचे हिमाली नुनचिया दिए । त्यसले उनीहरूलाई निकै हित गरेको थियो ।
गाउँले मिलेर गरेको सल्लाहबारे तासी घलेले जानकारी दिँदै भने, “बाबु, हामीले छलफल ग¥यौँ । गाउँमा भेडाच्याङ्ग्रा र चौरीपालन चलि नै रहेको छ । हातमुख जोर्न यसले हामीलाई तीन–चार महिनालाई थेगेकै छ । बेलाइत र पूmको नाता गाँसिरहनका लागि तिम्रो तर्फबाट पाँच सय भेडा र पचास चौरी थप्ने सोच बनायौँ । यी दुवैको लागि करिब पच्चीस लाख रूपैयाँ आवश्यक पर्नेछ । यसबाट आठ जनालाई रोजगारी पनि मिल्नेछ । तेस्रो वर्षदेखि हेरालुको खर्च, हिमपहिरोमा परेर मर्ने र हिमचितुवाले खाइदिने जस्ता प्राकृतिक प्रकोपबाट हुने नोक्सानीलाई कटाएर पनि पाँच–छ लाखसम्म आम्दानी हुनेछ । त्यसबाट भेडा, चौरी थप्दै जाँदा राम्रो होला ?”
ज्याक्सन र जेनिस दुवै जना गाउँलेबाट आएको प्रस्तावदेखि साह्रै खुसी भए । “यो प्रस्ताव त मलाई साह्रै व्यावहारिक लाग्यो” भन्दै ज्याक्सनले थप जिज्ञासा राख्दै सोध्यो, “तासी बाजे, यसको जिम्मा कसले लिन्छ ? अनि, तपाईंहरूले फाइदा कसरी गर्नुहुन्छ त ?”
तासीले भने “यसको सबै जिल्मा ग्याल्जेनले लिनेछ । तिमीहरूलाई ग्याल्जेनले नै जानकारी पनि दिनेछ । तेस्रो वर्षदेखि हामीले भेडा र भेडाको ऊन काठमाडौँमा बिक्री गर्न थाल्छौँ र चौरीको नौनी घिउ तिब्बतमा बिक्री गर्न सकिन्छ ।”
जेनिससँग सल्लाह गरेर ज्याक्सनले भन्यो, “यो प्रस्ताव हामीलाई धेरै राम्रो लाग्यो । तपाईंहरूले भन्नुभएको आर्थिक सहयोग हामी दुई वर्ष गरेर उपलब्ध गराउछौँ । तेस्रो वर्षदेखि हुने आम्दानीलाई बाजेले भन्नुभएझैँ चौरी र भेडा थपौँ । त्यसपछि यहाँ गाउँमा नै एक पस्मिना, एक चिज र अर्को जडीबुटी प्रशोधन उद्योग स्थापना गरौँला ।”
ज्याक्सनले भनी नसक्दै सबै गाउँले हृदयदेखिनै खुसी व्यक्त गर्दै एक मिनेटसम्म लगातार ताली बजाएर समर्थन जनाए । त्यो रात गाउँलेले ठूलो भोज गरे । सबैले छ्याङ, रक्सी खाएर राति एघार बजेसम्म नाचगान गरे । ज्याक्सन र जेनिसले भने स्वास्थ्यको ख्याल गर्दै चिया, भात र उसिनेको सादा तरकारी मात्र खाए ।
भोलिपल्ट बिदाइ गर्न झोलुङ्गे पुलसम्म गाउँले लामबद्ध थिए । सबैले “बाटो कठिन छ, ओरालोमा जुता लर्केर खुट्टा मर्केला विस्तारै राम्रोसँग जानु, फोन गर्नु, पूm गाउँलाई माया नमार्नु । फेरि भेटौँला ।” भन्दै खादा लगाइदिए । ज्याक्सनका आँखाले तासी बाजेलाई खोज्दै थिए । तासीबाजे बिमार हुनुभएछ कि भन्ने सोच्दै थियो । होइन रहेछ, तासी बाजे र अन्य चार–पाँचजना बाजेबज्यै त अगाडि नै कानी चोर्तेन पुगेर बसेका रहेछन् ।
“ल नाति, तिमी आयौँ म धन्य भएँ । मैले मेरो दौँतरी पाल्देनलाई भेटेजत्तिकै खुसी भएँ । म डाँडामाथि बसेकोे घाम अब फेरि भेट होला नहोला थाहा छैन । म पनि तिम्रै बाजे हुँ । नेपाल आमालाई नबिर्सनु ।” भन्दै तासीले बर्बर्ती आँसु झारे । आफ्नै बाजेलाई भेटेजस्तै मानेको ज्याक्सन र जेनिसले पनि आँसु रोक्न सकेनन् । बाजे र अन्य बज्यैहरूले उनीहरूलाई त्यही खादा लगाइदिए । पहाडजत्तिकै गह्रौँ मन लिएर ती दुई आँसु पुछ्दै बिदा भए । तिनीहरूको बिदाइलाई पखेरामा चर्दै गरेका नाउरका बथानले पनि टुलुटुुलु उनीहरूतिरै फर्केर हेरिरहेका थिए ।
उनीहरूलाई भीर कटाउन आएका युवा भाइहरू क्याङको भीर पार गराएपछि फर्के । त्यो दिनभर ती दुई गम्भीर देखिएका थिए । गाउँको आत्मीयताले उनीहरूलाई घरिघरि झस्काएको थियो । “नेपालीहरूको मन कति चोखो र पवित्र हुँदोरहेछ ।” ज्याक्सनले अनायास कुरा निकाल्दै पूm खोलातिर हेर्दै भन्यो ।
ज्याक्सनको छातीमा टाउको अड्याउँदै जेनिसले विस्तारै भनिन्, “साँचो अर्थमा नेपालीको मन हिमालजस्तै सफा, झरनाजस्तै निश्छल र आकाशजस्तै विशाल हुँदोरहेछ । पूm गाउँमा मैले त्यस्तै देखेँ ।” पूm खोला नारखोलामा मिसिएपछि त्यसको यात्रा सकिएझैँ उनीहरूको त्यस पटकको फूको यात्रा टुङ्गिएको थियो । उनीहरू नारमा एक रात, मनाङ एक रात बसेर बेसीसहर हुँदै पोखरा गए । त्यहाँ दुई दिन फिसटेल लजमा आराम गरे ।
“हेर न जेनिस मनाङबाट दक्षिणतिर देखिएका हिमाल पोखराबाट उत्तरतिर देखिए । हामीहरू हिमाल नाघेर धेरै माथि पो पुगेर आयौँ त ।” ज्याक्सनले पोखराबाट लामबद्ध देखिएका सुन्दर हिमालको ताँती देखाउँदै भन्यो ।
माछापुच्छ«े र अन्नपूर्णको फेवातालमा परेको छायाँको तस्वीर लिइसकेपछि “हो नि, पहिलो पटकमा नै हामीले ऐतिहासिक यात्रा ग¥यौँ” जेनिसले भनिन् । त्यसपछि जेनिसको पितृथलो र ज्याक्सनको मावली गाउँ पर्वतको विहादी एक रात बसे । पोखराबाट उनीहरू हवाइजहाजमा काठमाडौँ फर्के । काठमाडौँ पुग्दा उनीहरूसँग फुर्वा घले, ग्याल्बो घले र विहादीबाट सुशान्तसाथमा उनीहरूलाई बिदाइ गर्न पुगेका थिए । काठमाडौँ एक रात बसेर उनीहरू सकुशल बेलाइत फर्के ।

चौरी र भेडा किन्न र गोठको नामकरण गर्न गाउँले मिलेर गुम्बामा पूजाको आयोजना गरे । लामा सोनामले त्यसबेला खोला, लेक, हिमाल, चट्याङ, आकाश, हावा, सूर्य, माटो, पितृ सबैको पूजा गरे । गोठको नाम ‘ज्याक्सन पाल्देन घलेको चौरीगोठ’ राखियो । त्यो दिन सबैले राम्रा लुगा लगाएर आ–आफ्नो घरमा बनाएको खाना, छ्याङ, रक्सी र चिया लिएर आएका थिए । त्यसबेला सबैले खाँदैपिउँदै नाचगान गरेर रमाइलो गरे । एउटा छोटो भिडियो बनाएर ज्याक्सनलाई पठाइदिए ।
पहिलो वर्ष ज्याक्सनले पठाएको पैसाबाट दुई सय पचास भेडाका पाठापाठी र पच्चीस चौरी, याक किने । दोस्रो वर्षको रकमबाट उनीहरूले त्यत्ति नै थपे । साँच्चिकै तेस्रो वर्षदेखि आम्दानी हुन थाल्यो । ग्याल्बोले ज्याक्सनलाई लेखेको सन्देशमा भनेको थियो– “पाचौँ वर्षसम्म एउटा चौरी हिमपहिरोमा परेर म¥यो, एउटा याकलाई हिमचितुवाले हान्यो । झण्डै पचासवटा भेडा केही बिमारी परेर मरे भने केहीलाई हिमचितुवाले खाइदियो । त्यो सामान्य हो । आम्दानी योजनाअनुसार छ । ग्याल्बो”
पाँचौ वर्षमा सानो चिज उद्योग खोल्नको लागि चाहिने सरकारी स्वीकृतिदेखि सामानहरू त्यही आम्दानीबाट लिन ज्याक्सनले स्काइपबाट सल्लाह दियो । गाउँकै ऊनबाट पस्मिना बुन्न चौथो वर्षदेखि सुरु भएको थियो । पस्मिना बुन्न थालेपछि हिउँदमा तीर्थ गर्न औल झर्ने गाउँलेको सङ्ख्या पनि घटेको थियो । जाडोको लागि गुइँठा र दाउरा भएका गाउँले घरमा नै बसेर पस्मिना बुनेर मनग्गे आम्दानी गर्न थालेको थिए । पासाङ र उनको परिवारले फुर्सदको समयमा पस्मिना बुनेर असी हजार आम्दानी गरेको थियो । गाउँका सबै परिवारका सदस्य कुनै न कुनै काममा व्यस्त देखिन्थे । पहिले जस्तो झैझगडा पनि हुन छोडेको थियो । गाउँपालिकाले शौचालय बनाउने घर परिवारलाई सोलार वितरण गरेको थियो ।
पाँचौ वर्षमा गोठ धेरै ठूलो भइसकेको थियो । ज्याक्सनले स्वीस साथीहरूसँग चीज उद्योग स्थापना गर्नेबारे सल्लाह लियो । उसलाई सहयोग गर्न तीन जना साथीहरू नेपाल जान तयार भए । त्यसबेला गाउँपालिकाले पनि भेडा र चौरीपालनलाई विस्तार गरिसकेको थियो । नेपाल सरकारले हिमाली क्षेत्रका किसानलाई बिना ब्याजमा पन्ध्र वर्षे ऋण दिने नीति ल्याएको थियो । कोरोना भाइरसको आक्रमणपछि धेरै युवा नेपाल फर्केर खेतबारी बाँझो रहन दिएका थिएनन् । जताततै साँच्चिकै एउटा उमङ्ग छाएको थियो । ज्याक्सनले सुरु गरेको देखेर मनाङको मनाङ, खाङसार, टंकीतिर पनि चौरी र भेडा पाल्ने किसानको सङ्ख्या ह्वात्तै बढेको थियो ।
त्यसले ज्याक्सन र जेनिसका परिवार धेरै खुसी भएका थिए । उनीहरूको प्रयासले बाजेको चाहना पूरा भएको थियो । पाँचौँ वर्ष स्वीस साथीहरूसँगै ज्याक्सन र जेनिस फेरि पूm गाउँ पुगे । सामान्य ग्रामीण प्रविधिको उपयोग गरेर उनीहरूले त्यहाँ एक सानो चीज उद्योग खोले । त्यति मात्र होइन स्वीस प्राविधिज्ञले दिएको आधारका गुणस्तर कायम राखेमा स्वीस साथीहरूले नै सो चीज खरिद गर्ने अश्वासन पनि उनीहरूलाई दिए ।
करिब सत्तरी परिवारको जीवनमा साँचो परिवर्तन देखिन थालेको थियो । त्यहाँ लोभ, षड्यन्त्र केहि थिएन । गाउँलेले ज्याक्सनलाई ‘गाउँको मुहार फेर्ने हाम्रो नयाँ सेनरेव’ भन्दै ऊ र जेनिसको फोटोलाई पूजा गर्न थालेका थिए । अचम्मै भयो ग्याल्बोले भन्यो “साँच्चिकै सूर्योदय भयो । पशुपालन, व्यापार र पर्यटन व्यवसाय साँच्चै विस्तार भयो । ज्याक्सन पाल्देनको चौरीगोठ भनेर सामाजिक सञ्जालमा त्यत्तिकै प्रचार भयो । दार्चुलादेखि कञ्चनजङ्घासम्मको नेपालको हिमाली उपत्यकामा बसोबास गर्ने किसान दाजुभाइले पूm गाउँले गरेको कामबाट प्रेरित भएर फेरि पशुपालनतर्फ रुचि राख्न थालेछन् । त्यसबाहेक पहाड र तराईतिर पनि विदेशबाट फर्केर काम गर्न थालेछन् । विदेशबाट सहयोग गर्न सक्नेले ज्याक्सन पाल्देनले सहयोग गरेझैँ सहयोग गरेछन् । ज्याक्सन पाल्देनको चौरीगोठको अनुभव सिक्दै धेरै गाउँ स्वरोजगारतर्फ लम्केछन् । तरकारी, चिया, दूध, घिउ, मासु, कोदो र धान त नेपाललाई पुग्ने गरी उब्जन थालेछ नि त ।”
‘ए, हो र ? त्यो त साह्रै राम्रो भो नि ! अँ, साँच्ची कर्णालीका युवा पनि कालापहाड जानै छोडेछन् ।’ फुर्वाले थप्यो । यस्तो लाग्थ्यो कि गाउँबाट, स–साना किसानबाट विकासको लहर सहरतिर पस्दै थियो । मानिसमा नयाँ उमङ्ग र उत्साह देखिन्थ्यो । मानिस आपूmले आफँैलाई विश्वास गरेका थिएनन् ।
“अचम्म भो ग्याल्बो, कोरोना कालभैरवीले अमेरिका र युरोपलाई थला नै पारिन् । तर, नेपाललाई भने ज्याक्सन पाल्देनको चौरीगोठ स्थापना गरेर भलो नै गरिन् । पहिले विकटताको पर्याय बनेको पूm गाउँ अहिले विदेश र स्वदेशका धेरै नेपालीको लागि प्रेरणाको स्रोत बनेको छ । विदेशमा बसेका दुई सय कृषि, पर्यटन, जलविद्युत क्षेत्रका विज्ञ युवाहरु नेपालका आ–आफ्ना गाउँमा फर्केर ज्याक्सनले पूmका हामी गाउँलेलाई सहयोग गरेझैँ सहयोग गरि उद्यमी बनाएका छन् ‘रे त । तँलाई बढी थाहा छ नि, कि कसो हो ?” छ्याङ र सुचे सँगसँगै पिउँदै ज्याक्सनका काका तासी घलेले जिज्ञासा राखे ।
बाहिर हुइँहुइँ गर्दै चिसो सिरेटो चलिरहेको थियो । “हो काका” गिलासको बाँकी छ्याङ सक्दै ग्याल्बोले भन्यो “ज्याक्सन पाल्देनको चौरी गोठले हामीलाई त राम्रो ग¥यो नै । यसले नेपालभर नै पशुपालन र खेतीपातीको लहर ल्यायो । त्यसैले गर्दा पूm गाउँको नाम नेपालमा मात्र होइन विश्वभर फैलिएको छ ।” ७
प्रकाशित जनमत साहित्यिक मासिक असार २०७७ अंक २७३

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s