चम्पादेवीको आँशु

दायित्वको साउन–भदौ २०७९ अंकबाट साभार ः


(निवन्ध)

कस्तो नौलो !
विकास त कति हो कति !
घर जत्रै अग्लो फोहोरको डुङ्गुर चोक–चोक, गल्लि–गल्लिमा थुप्रिएको छ, मानौं त्यो हाम्रो आधुनिकता, विकास अनि उच्च सभ्यताको परिचायक हो । कालो रुप लिएको रूद्रमती खोलो थापाथली नजिक रुद्रेश्वर महादेवको छेउमा त्यस्तै प्राचीन सभ्यता बोकेको वागमती नदीमा हेलिन्छ । दुवै मिले पछि बागमतीले बागमती सभ्यतालाई गर्भमा अठ्याएर बग्छ, दुर्गन्ध विस्तार गर्छ, सहर भर । दुर्गन्ध घनिभूत तब बन्छ जव विष्णुमती कालिएर टेकु दोभानको दक्षिणमा राधाकृष्ण मन्दिर नजिक विशाल बागमती सभ्यतामा समाहित हुन्छ । उच्छृङ्खल र गैरजिम्मेवारीलाई आधुनिक सभ्यताको कसी मानेर त्रिभुवन विश्वविद्यालयको आँगनमा प्रमाणपत्रको लागि जोहो गरेर अनिश्चित लक्ष भेदन गर्न हिंडेका, यौवनले पुष्टिएका युवालाई हावासँगै बागमतीले सन्देश छर्छ । मास्क लगाए पनि, नगलगाए पनि त्यो गन्धले मरे छुदैन ती विद्यार्थीलाई । सत्य हो, उनीहरूको मुहार न त फोहरको गन्धले खुम्चिन्छ, न त नदीको सुगन्धले चौडिन्छ । यो दुर्गन्धलाई चोभारको डाँडामा रहेका आदिनाथ लोकेश्वर पनि चित्तमग्न भएर ग्रहण गर्न बाध्य छन् । लोकेश्वर पनि आजकल प्रेमीप्रेमिकालाई मिलाउने र विवाहितको सम्बन्ध विच्छेद गर्ने कार्यमा पहिलेभन्दा व्यस्त छन् । प्रेम जोड्दा र तोड्दा आदिनाथ लोकेश्वरले प्राचीनकालदेखि लिएको भाँडाकुँडा उपहार बाहेक लुकेर पनि नगद नलिएकाले आदिनाथ गनाएका छैनन् ।
झकाझक बनेको छ चोभार । युवायुवतीको प्रणयस्थल बनेको छ मन्जुश्री उद्यान । साँच्चिकै हो त, गरे के हुन्न र ? कीर्तिपुर, बुङ्मती, खोकना र चोभार वरपर त्यो क्षमता थियो, छ र त देखाइदिए विशाल मूर्ति बनाएर मञ्जुश्रीको । मञ्जुश्रीले काठमाडौँ उपत्यकाको विशाल ताललाई चोभारको पहाड काटेर पानी बग्ने बनाईदिए । ताल सुक्यो । स्वयम्भूमा चैत्य स्वयम् उत्पन्न भयो । उपत्यकालाई सपिएन्स मानव जातिले कोपरे, आफ्नो बनाए, इतिहास खाए, फोहोर थुपारे यो २–३ हजार वर्षमै क्षतविक्षत पारे । मन्जुश्रीलाई हिन्दु, बौद्ध सबैले बोधिसत्व भन्दै बुद्धि, ज्ञानको रूपमा लिन थाले । हो, तीनै बोधिसत्वको मूर्ति चीनमा अरनिकोले बनाए पछि नेपालमा बन्यो । उनको ३३ फिट अग्लो मूर्ति चोभारमै बन्यो जहाँको गल्छी खोलेर उनले पानी दक्षिणतिर बगाईदिएका थिए । त्यहीँ उद्यान बन्यो, होटल बन्यो, मानिसको भीड हुन थाल्यो । बाफरे ! अहिले चोभार त प्रेमकुण्ड, प्रेमपखेरो, प्रेमगल्छी, प्रेमपुञ्ज बनेको छ । युवा जोडीको त के कुरा ? झरेर बाँकी रहेको कपालमा हाँडीको मोसो जस्तै कालो दलेर उमेर ढाकेका मानिस पनि तन्नेरी तरुनी बनेकाहरूको पनि भीड उत्तिकै । क्या गजब ! आम्मै नि, मोटर र बाइकको लाम त कुरै नगरौँ ।
म त्यसलाई विकास भनिदिन्छु । तर अचम्म मेरा मित्र अनिरूद्र उल्टै मलाई प्रश्न गर्दै झपार्छन् – ‘छोरीको उमेरसँगै उनको स्तनको आकार बढनु, छोराको ओठमा जुँघाको रेखी बस्नु विकास हो त ?’
जवाफ दिने सामथ्र्य मसँग छैन । मैले शिवपुत्रतिर कुरा मोडिदिएँ । चार मूख्य विनायक चन्द्र, सूर्य, अशोक र जल विनायक मध्ये जल विनायक त्यही चोभार गल्छी नजिक विराजमान छन् । बागमतीको गन्ध, प्रकृतिको विनास, स्खलित नैतिकता र इमान बारे उनी मरे मुख खोल्दैनन्, आफै जल हुन्, जलका ईश्वर हुन् । पिता शिवजीको चरणकमलको जल हो, बागमतीको, जुन उनै शिवको पुर शिवपुरीको गर्भ बागद्वार भन्ने ठाउँबाट झरेको हो । बाबुको गर्भबाट आएको जल भनेर जल विनायक चुपचाप बस्छन् । आफ्नै पिताजीको शुद्धजल सम्झेर आचमान गर्छन् । गन्धबारे चुप बस्छन् । भक्तजनले ल्याएको लड्डु खाएर मख्ख पर्छन् । यसरीनै त चलिरहे छ नेपालमा थिउरिएका नेपालीको दिनचर्या ।
चोभारले राहत पायो । हिमाल सिमेन्ट कारखाना बन्द भयो । धुलोको मुस्लो आउन छोड्यो । क्यान्सर हुनेलाई भयो । कारखानाको मृत्युपछि चोभार क्षेत्रको धर्तीमा च्याँ गर्दै जन्मेकालाई धुले अक्सिजन तान्न परेन । त्यसैमा सुख्खा वन्दरगाह बन्यो । त्यसलाई पनि साथीहरूले छली विकास भने । मलाई पनि हो कि जस्तो लाग्यो किनभने त्यो सुख्खा वन्दरगाह साच्चिकै सुख्खा छ । त्यसको परिसरमा बडेमाका डोजरहरू ‘खाली शिशी, पुराना कागज, फलामका टुक्रा’ भन्ने आवाजको प्रतिक्षामा छ । नजिकै बागमती बगेको छ र पनि त्यसलाई सुख्खा वन्दरगाह भनियो, त्यसमा मलाई चिन्ता लागेन । पानीजहाज आउन सकेको भए वन्दरगाह भनिन्थ्यो होला ! वन्दरगाहमा काम गर्ने सुकिला नीला कोटहरूका लागि बनाईएको प्रशासनिक भवन भूतबङ्गलामा रूपान्तरण भएछ । तर कस्लाई के मतलब ? आफ्नो बाबुको सम्पत्ति त बाँझो पल्टेको बेला सुख्खा वन्दरगाह भूतबङ्गला वा बादरबङ्गलानै भए पनि किन टाउको दुखाउने ?
म कहिले अचम्मिन्छु, यस अर्थमा कि त्यो हिमाल सिमेन्ट उद्योगको जग्गामा कसरी ड्राईपोर्ट बन्यो होला ? नाम चलेका पार्टीका नाम चलेकै नेता, क्षमतावान कर्मचारी र भूमाफियाको मिलेमोतोमा उनका छोरा, मित छोरा, साली, सालीको छोरीको नाममा बालुवाटार जसरी, गोहीले हरिणको पाठो सर्लक्क निले झैँ किन ननिलेका होलान् ? केशर महल खान तिनीहरूको आँखामा किन फुलो परेको होला ? धन्य हो, आजसम्म कीर्तिपुरको विश्वविद्यालयको आँगनमा मत्ता हात्ती छिरेन ।
मित्र अनिरुद्रले बन्दरगाहको पनि मनग्गे पीर गरे । गाली गरे । उनको गालीले मान्छे मर्ने भए साच्चिकै जलविनायकले पनि बचाउन नसक्ने गरी ‘ड्राईपोर्टमा’ मर्ने थिए । ‘ड्राईपोर्ट’ काम नलागे पनि उनको विरोधमा कुनै तुक देखिन । मलाई लाग्यो कमसेकम हिजो सिमेन्टको धुलो खाएर आज दमरोगी भएकाको सन्तानले ड्राई र पोर्टको नाम त सुने । तिनीहरूको फोक्सोले धुलो धोक्न त परेन । त्यो उपलब्धि हैन र !
मैले कुरो नबुझेकै रहेछु । देशको राजधानी काठमाडौंमा मानिसको तँछाड–मछाड भीड, गज्याङ्–गुजुङ्, फोहोरको डुङ्गुरमा बसेका झिङ्गाको भीडभन्दा अटेसमटेस भीड । आम्मैनि ! कति हुन् ती सेता, राता, काला, चाँदी रङ्का कार ! वर्खे कमिलाकोभन्दा लामो जन्ती जस्तो । हिजोका तरकारी र चामलका पसल त आज कारका सो रूम भएका । अनि त्यस्तै भब्य क्याफे, सेकुवा कर्नर भन्ने भट्टी पनि कति हुन् ! डोल्पाको मेरो मित्र दोर्जी रोकाय यहाँ आउदा अर्कै देशमा पुगेको झस्को पसेजस्तो । चारकिलो चामल लिन चार दिन हिँडेर मानिसको लाममा बसेको देखेको उस्ले कारको लाम देख्दा नतर्सेर के गर्नु त ! अनि, त्यो विकास हैन र भन्या ?
अनिरुद्र त्यो पत्याउन पटक्कै तयार छैन । म विलखवन्दमा पर्छु । उनी दिगो विकासको कुरा गर्छन् । नजिकैको वङ्गलादेशको उदाहरण दोहो¥याउछन् । प्रेसर बढाउदै उनी कराउँछन्–कम्तिमा कृषिमा आश्रित देश भएकाले आफ्ना सन्तानको लागि धान, गहुँ, कोदो, मकै विदेशबाट ल्याउन नपरोस्, ससाना भए पनि कलकारखाना स्वदेशमै बनुन्, रोजगारी मिलोस्, खाडीको गर्मीमा नेपालको कलिलो हिमाल पग्लिन नपरोस् । बागमतीको पानी कालो नहोस् । सहर दुर्गन्धित नहोस् । हरियाली नास नहोस् । घाटमा लम्पसार पर्नुभन्दा पहिले सफा हावामा अन्तिम सास फेर्न पाईयोस् । नेता र कर्मचारी जिम्मेवार होउन् । योजना गरेका काम अलपत्र नपरुन । अति भ्रष्टाचार नहोस् । सामान्य अर्थमा मित्रको आसय त्यही हो । उनी धेरै बोल्दैनन् । घत परे मज्जैले हाँस्छन् माथि डाँडामा बसेकी चम्पादेवी आमाले सुन्नेगरी ।
मिचेर, थिचेर, चिमोटेर, तानेर, लुछालुछ गर्दा बाँचेर क्रिटिकल केयर युनिट (सिसियु)मा भर्ना भएको टौदहले अक्सिजन पाएछ, ब्यूँतियो । अनिरुद्रले वरपर नियाले । टौदह पश्चिमको चम्पादेवी बस्ने अग्लो हरियो पहाड हेरे । इतिहासको कुरा कोट्याउँदै भने– टौदह भने बाँचेछ । अनिरुद्रको अनुहार शरदको जुनझैँ उज्यालिनुमा टौदह वरपरको परिवेश थियो । त्यो त काठमाडौँ हो र ? प्राचीनकालमा काठमाडौको त्यो ताल कतै टौदहसम्मनै फैलिएको त थिएन ? चोभारको गल्छीबाट उपत्यकाको जल दक्षिणतिर लाग्यो । अनि त्यो माथिल्लो खण्डमा रहेको ताल बाँकी रह्यो । ठूलो तालका नागहरू आफूलाई बचाउन त्यो अग्लो ठाउँमा सुरक्षित हुन्छ भनेर त्यही बसे । अनि स्थानीयले टौ (नाग) दह नागको पोखरी भने ।
टौदहको चारैतिर क्याफेहरू उभिएका थिए । डुङ्गा तैरिएका थिए । मुलतः भरखर मात्र यौवनावस्थामा पुगेका तन्देरीतरुनी स्वच्छन्द भएर आफ्नो यौवन छताछुल्ल हुने गरी टौदहमा पोख्न आतुर देखिन्थे । खासगरी मूल काठमाडौँको त्यो अनौठो निस्सासिने गन्धले अत्तालिएका ती युवतीहरू आफ्नो कुतकुतिएको वैँस पूर्ण नग्न भएर टौदहलाई समर्पण गर्न मग्न थिए । त्यो जीवनमा एक पटक आउने यौवनको नशा हो । त्यो यौवन शरीरको नसा–नसामा व्याकुल भई दौडेको हुन्छ, जस्लाई हाम्रा ऋषिले नियन्त्रण गर्न नसक्दा धेरै पुराणहरूको जन्म भएको थियो । युवतीहरूको मुहार हसिलो थियो मानांै त्यो मुस्कानमा हिउँदको निलो आकाश समावेश भएको होस् । युवतीहरूको शरीर यस्तो कञ्चन र कोमल थियो, मानौ माघे झरीमा हिमालमा परेको आलो हिउँ हो त्यो । उनीहरूले त्यस्तै सम्वेदनशील अङ्गको सम्वेदनशील भाग ढाक्ने झिनो प्रयास मात्र गरेर अन्य भाग युवाको दृष्टिको लागि खुला गरिदिएका थिए । त्यो देखेर मेरा मित्र झस्के । कतै शिव नृत्य नाच्ने हुन् कि, म डराउदै थिएँ । उनी डेनमार्कमा सन बाथ गर्ने गरेका मान्छे । उनी टोलाए । शायद, डेनमार्कनै पुगे होलान् भन्ने लाग्यो मलाई । वैंश फक्रेपछि वैंश देखाउन सबै विकास डेनमार्कको जस्तै हुनपर्छ भन्ने छ र ?
‘यो त विकास हो नि, मित्र ।’ मैले जिज्ञासा राख्दा यसपटक उनी हाडीमा मकैका फुला पडकेझैँ पड्केनन् । चुईक्क बोलेनन् । अलमलमा परे । लहै–लहैमा पहिचानविहीन भएर सर्वाङ्ग नाङ्गो जस्तो लाग्ने ती युवतीको पहिरन देखेर उनी अलमलिए । शुरुमा हाँस्न थालेका उनी एकाएक असारे दिनमा क्षणभरमै कतैबाट वादल आएर वातावरण अँधेरिएझैँ अधेँरिए । त्यो विकास देखेर चिन्तित भए । त्यसपछि भने – डेनमार्कसँग हाम्रो तुलनै हुन सक्दैन । त्यहाँको प्रतिव्यक्ति वार्षिक आय रु ७४ लाख ६४ हजार छ जवकी हाम्रो मात्र १ लाख ३२ हजार छ । उनीहरूले आफ्नो संस्कार, संस्कृति बचाएर, भोग गर्ने आधार बनाएर मोज गरेका छन् । उनीहरूलाई सुहाउछ । हामीले नक्कल गर्न मिल्छ ? यी नफुल्दै चाउरी पर्न तम्सिएका यौवन हुन् । अनिरुद्रको अनुहार रातो भयो मानौं नेपालको संस्कृति बचाउने ठेक्का उनले लिएका हुन् । प्रतिवाद गरिनँ ।
वर्खाको बेला जब काठमाडौं मुस्काउँछ त्यसबेला पहाड गाढा हरिया र गम्भीर प्रकृतिका देखिन्छन् । सेता बादलका फुर्का र कताकति खुलेको उपत्यकाको सौन्दर्य आकर्षक हुन्छ । तर जल विनायक र चम्पादेवीको निर्जल भाकल गरे पनि हिमालको दर्शन पाउन भने दशैँ नजीकिनै पर्छ । त्यस्तै सोचमा थिएँ । बेला बर्खै हो । पानी हर्र–ह्वार्र प¥यो । छाताले थेगेन । बोसनको उकालोमा चम्पादेवीले साथ दिइन उक्लन । चम्पादेवीको फेदमा बसेकी पाउदेवीले उकालोमा चढन प्रोत्साहन गरिन् ।
घना ओसेपिलो वन । चिस्याने झाडी । ढुङ्गे खुडकिलो । जुकाको आक्रमण अपत्यारिलो । जुका कम आक्रामक थिएनन्, मानौं कि ती नेपालका मन्त्री र उच्च पदस्थ कर्मचारी हुन्, जो पदमा रहँदा जुका बन्ने होड गर्छन् । तीनले खाने भनेको किसान, मजदुरको रगत हो र जुकाले खाने भनेको पनि गोठालो र किसानलाई त हो, जो गाई, भैँसी, याक, चौरी भेडाबाख्रा लिएर वनतिर उक्लन्छन् अनि बेलुकी पख गोधूलि साँझमा घाँसको डोको बोकेर गोठ झर्छन् । उकालो हिँडदै गर्दा किन हो कुन्नि ती जुकाहरूमा मैले सबै मानिसका अनुहार झलझली देखेँ । त्यहाँ मेरो आफन्तको अनुहासर पनि थियो जो मन्त्री बनेका थिए । ती जुकाको अनुहारमा कति नातेदार विधायक थिए । कति साथी थिए, जो ठूला नेता बनेका थिए । मेरो मथिङ्गल ती सपियन्स जुकाले खाईरहेका थिए, ठीक त्यसैबेला चम्पादेवीको पाउदेखि उकालिँदा वनका जुकाले जुत्ता भित्र छिरेर कति छिटै रगत चुसिसकेछन् । आपूmलाई सचेत भन्ने म, मेरो रगत उनीहरूले चुसेको थाहै पाइनँ । सोचें, थाह नपाउनेलाई त झन कति चुस्दाहुन् हगि ! तपाईलाई थाह छ कि छैन कुन्नि ! रगत चुस्दा चुस्दा ढाडिएर जुका आफै मर्छ नि ! उसको मृत्यु हुन्छ । रगत बाटोमा पोखिन्छ । हाम्रो देशका नेताहरू पनि भ्रष्टाचार गरेर गरिब नागरिकको रगत चुस्दाचुस्दै डर्लङ्गै ढल्छन्, मर्छन् । उनको लासलाई घिसार्ने मलामी हुँदैनन् । तर पनि रगत चुस्न छोड्दैनन् । लोभलाई पछ्याएर मृत्यु बिर्सँदा त्यस्तो हुन्छ ।
वर्खामा पनि चम्पादेवीको पहाड उक्लने युवायुवती बग्रेल्ती नै छन् । पिठ्यूको झोला स्पिकर सहित छ । मोबाइलबाट ढङ्–ढङ् आवाजका साथ जीवजन्तु र वनस्पतिलाई झस्काउने गरी गीत बजाएका छन् । चराचुरुङ्गी तर्सेर भार्रभुर्र गर्दै सल्लाको वल्लो र पल्लो डाली चहार्दै ती सभ्य सपिएन्स मानवका सन्तानलाई नियाल्दै छन् । आधुनिक सभ्यता सिकेका ती बृद्ध जुकाका असभ्य सन्तान हुन्, मेरो साथी अनिरुद्रे भन्छ ।
सभ्यता र संस्कार कुच्चिएकोमा अनिरुद्र क्रोधित र दुःखि छ, वश् ।
काठमाडौँको विकासबाट अत्तालिएर म चम्पादेवीको पाउ हुँदै चम्पादेवीको काखमा लुटपुटिन पुगेको हुँ । त्यहाँ त विकास झन् सप्रेछ । वल्लोपल्लो भिराले पखेरो, बाटोको दुवैतिर यत्रतत्र, रुखका हाँगामा समेत विकास पुगेको थियो, खासगरी नेपालका सभ्य कर्णधार युवायुवतीबाट । चम्पादेवीको काखमा प्रकृतिको सौन्दर्य यस्तो देखिन्थ्यो कि मानौँ कुनै उदण्ड युवाले सुकुमारी युवतीको अनुहारमा तेजाव छर्केको होस् । वरपर छरपस्ट छरिएका वियरका फुटेका र सग्ला बोतल, विस्कुट, चाउचाउका प्लास्टिक, कोक, स्प्राइटका बोतल, प्लास्टिकका थाल र कचौराले त्यो अनुभुत गराए । त्यसो गर्ने सबै यो देशका विश्वविद्यालयमा पढने र पढाउने बोधिसत्व थिए ।
मलाई नौलो लागेन । किनकि मेरो देशमा सभ्यता, संस्कृति र संस्कारको अनुहारमा तेजाब खन्याईएको छ । हामीले वैदिक, औपनिषदिक, बौद्ध, काब्यकालको सभ्यता भएको माटो भनेर मात्र हुन्छ र ? त्यो उहिलेको कुरो हो । त्यसबेला त्यस्तै थियो, पिपलको पूजा हुन्थ्यो । आज आधुनिकता छ, त्यसैले पिपल काटिन्छ, तातो हावा पिइन्छ, अनि तातो हावाले युरोप जलेझैँ जलिन्छ । हिजोको सभ्यताको कुरा गर्नेका सन्तान आज आधुनिक सभ्यताको मातमा चम्पादेवीको काखमा पुगेर विएर पिएर, त्यसलाई त्यहीँ फुटाएर चप्पादेवीको छातिमा रोप्छन् । त्यसबेला ती नातिनातिनीको सभ्यता देखेर बज्यै चम्पादेवी मूर्छित हुन्छिन् । देवी मूर्छित भएको देख्ने मानिसको आँखामा मोतिया विन्दु यति पुरानो भएको छ कि त्यसलाई डा. सन्दुक रुइतले पनि उपचार गर्न सक्दैनन् ।
‘बाबु बोतल त्यसरी वनमा नफालन’– मृदु शैलीमा अनिरुद्रले बोतल फाल्ने युवालाई भने ।
‘राजनीति गर्ने भ्रष्टाचारी आएर सफा गरुन्’ – युवाको जवाफ आयो ।
बाबु राजनीति त सपिएन्सका सन्तानले गरेका हुन्, यो वनको के दोष ? ती डाली–डालीमा नाच्ने जुरेली, कोकले, ढुकुर र लामपुच्छे«को के दोष ? ती सल्लोको फुर्को र लालीगुराँसको के दोष ? वन त हाम्रो प्राण हो । अनिरुद्रले सिकाउन खोजे ।
उसले अनिरुद्रलाई वियरको बोतल चम्पादेवीको छातीमा हानेर फुटाउदै देखायो । अनिरुद्र बोतलसँगभन्दा पनि आधुनिक शिक्षित युवाको संस्कार र सभ्यतासँग डराए । अनिरुद्र हारे शिक्षित युवासँग ।
त्यस्तैमा चम्पादेवी देखिइन । पढेगुनेका सभ्य नातिनातिनीको सभ्यता देखेर होला चम्पादेवीका आँखाबाट बलिन्द्रधारा आँशु असारे झरीझैँ झरीनै रहे । त्यसबेला झरी भने बन्द भै सकेको थियो । टौदह पनि गम्भीर देखियो । उपत्यका सास फेर्न नसकेर निस्सासिएको त्यहाँबाट देखिन्थ्यो । चम्पादेवीले निरन्तर किराँतभन्दा पहिलेदेखिको सभ्यता देखेकी छन् । र आजका नातिहरूको पनि सभ्यता उनले नियालेकी छन् । शायद नसम्हालिएका, मातेका नातिनातिनी र तिनका जुका प्रवृत्तिका पिताको गतिबिधि देखेर होला चम्पादेवी रोइन् । प्रकृतिका यी सन्तानले नै किन यसरी प्रकृतिको नास गरेका छन्, सपिएन्स मानवले आपूm बाँच्न प्रकृतिलाई माया गर्नु पर्छ, ललाई–फकाई गर्नु पर्छ भन्ने किन बुझेनन् । चम्पादेवी विवस भएर घरै–घर, फोहोरै–फोहोरको डुङ्गुर एक टकले हेरिरहिन् । कालो लेदो सहितको बागमती नदी चोभारदेखि तल–तल दक्षिण लाग्यो, चम्पादेवीको आँशु बोकेर ।*-*
साउन ५, २०७९

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s