यायावरीय–अनुसन्धानात्मक नियात्राकृति ‘श्वेत पर्वत’


ठाकुर शर्मा भण्डारी

हर्दिक धन्यवाद समीक्षक, समालोचक, कवि एवम् साहित्यकार श्री ठाकुर शर्मा भण्डारीज्यू तथा रचना साहित्यिक पत्रिका परिवार । रचना अङ्क १७७ बाट साभार

१. विषयप्रवेश
‘चरैवेति चरैवेति’जस्तो जीवन चक्रका अनुयायी बाह्य जगत् (प्रकृति)मा पनि भ्रमणशील छन् – कतिपय व्यक्तित्वहरू । ‘परिवर्तिनि संसारे’ अर्थात् ः परिवर्तनशील संसारको नित्य–नूतनता परिभ्रमण गर्ने मानवीय स्वभावका अनुयायीबाट लेखनको माध्यमबाटतत्तत् स्थानको भ्रमणानन्द गराउनु पनि महान् कार्य हो । नेपाली भाषा–साहित्यको स्वरूप देखिनु अघि यात्राका लेखोटहरू पाइएको सन्दर्भ भाषाशास्त्रीहरूको अनुसन्धानबाट प्राप्त भइसकेका छन् । यस नेपाली भाषा–साहित्यको सन्दर्भमा गगनिराजको यात्रा, जङ्गबहादुरको बेलायत यात्रा आदि प्राचीन कालखण्डका यात्रावृत्तान्त उल्लेख्य उपलब्धि मानिएका छन् । वर्तमान समयमा पुरातात्त्विक विषयको चर्चा होस् वा यात्रासाहित्यको विषयका साथै नेपाली भाषा–साहित्यमा महनीयकार्य गर्ने योगी नरहरिनाथ, पूर्णप्रकाश नेपाल यात्री आदि व्यक्तित्वबाट साहित्यिक उपलब्धि हासिल भएको छ । अहिले नेपाली भाषा–भाषीहरू संसारभरि फैलिएका छन्, भाषा–साहित्यको विकास प्रभावकारी रूपमा भएको पनि देखिन्छ । विविध पेसामा रहेका नेपालीहरूले आफ्नो यात्रासम्बन्धी विवरण लिपिबद्ध नगरे पनि साहित्यिक क्रियाकलापमा लोगेका र आफन्तलाई भेट्न जाने यात्रीहरूले भने यात्राको अनुभूतिलाई लिपिबद्ध गरी धेरै नियात्राका पुस्तकहरू प्रकाशित हुने गरेका छन् । अहिले नियात्रा लेखनको क्रमले व्यापकता पाएको सर्वविदित छ ।
२. नियात्राकार परिचय
कथा, कविता, समीक्षा, निबन्धादिको लेखनबाट पत्र–पत्रिकामा छाएका एवं केही वर्षको अन्तरालमा भ्रमण तथा लेखन गरी नेपाली साहित्यको क्षेत्रमा चर्चित एवं स्थापित नियात्राकार विष्णुप्रसाद शर्मा पराजुली वि.सं. २०१६ साउन १५ गते रानीपानी, पर्वतमा जन्मिएका हुन् । शिक्षामा त्रिभुवन विश्वविद्यालय, नेपालबाट एम.ए.(स्नातकोत्तर) गरेका विष्णुप्रसादको रुचिको विषय पनि पदयात्रा हो । प्रेस काउन्सिल नेपालमा एक्काइस वर्ष काम गरेपछि अहिले राष्ट्रिय सञ्चार विकास केन्द्र संलग्न भएका कारण लेखनको क्षेत्रमा ‘पत्रकार आचार संहिता र व्याख्यानात्मक टिप्पणी’ (सहलेखन) पहिलो कृति थियो । नेपालको यात्रामा निरन्तर लागेका नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीको भुँडीपुराण प्रकाशनबाट २०७२ असारमा प्रकाशित ‘तिब्बत यात्रा’ दोस्रो एक यात्रानुसन्धानात्मक कृति आएको थियो । त्यसपछि ‘डोल्पो विश्वको जीवित सङ्ग्रहालय’ (२०७४) आयो भने पुनः सोही संस्थाबाट यात्रात्मक÷अनुसन्धानात्मक कृति ‘श्वेत पर्वत’(२०७८) अझ परिष्कृत, परिमार्जित र सुन्दर आकृतिमा नेपाली यात्रासाहित्यको फाँटमा पदार्पण गरेको छ ।
२. ‘श्वेत पर्वत’ कृतिमा विभिन्न विद्वान् स्रष्टाको धारणा
यस कृतिमाविभिन्न चित्रहरू रहेको पूर्ण वनेमको आवरण पृष्ठ, अग्रलेख एवं तस्वीहरू बाहेक करिब ३२७ पृष्ठको पुस्तकमा आद्यन्तमा अत्यन्त सुन्दर रङ्गीन हिमाल, ऐतिहासिक, प्राकृतिक, पुरातात्त्विक क्षेत्रसँग सम्बन्धित चित्रहरू र ग्रामीण क्षेत्रका चित्रहरू समाविष्ट गरिएको छ । सन्दर्भसूची प्रस्तुत गरेर लेखकीय इमानदारी पनि झल्काइएको छ । मिश्रित संस्कृतिको चर्चा, मिश्रित घरको सन्दर्भ, बालीनाली, कृषि परम्पराका कुराहरू यथार्थ रूपमा आएका छन् । यसमा विद्वान् समालोचक एवं भाषाविद् माधवप्रसाद पोखरेलज्यूको ‘विष्णु पराजुलीको नियात्रा श्वेत पर्वत’ शीर्षकमा भनिएको छ ः लेखकको भाषा मिठो छ, वर्णन जीवन्त छ अनि यो किताब नपढेको भए म आपैm उल्लिखित ज्ञानमा निकै पुड्को हुने रहेँछु भन्ने आत्म स्वीकृति र मसिनो गरी पढुँ पढुँ लाग्ने कुत्कुती र खुल्दुलीले किताब पढ्दा, राँटा हान्दा र सक्ता मलाई किताबले अत्यन्तै आङ जुरुङ जुरुङ बनाउने शक्ति छ ।(अग्रलेख)
विद्वान् रामकृष्ण रेग्मीको ‘श्वेत पर्वत वर्णन पदयात्राको, चर्चा जनजीवन संस्कृतिको’ शीर्षक लेखमा भनिएको छ ः धवलागिरि, मुस्ताङ र मनाङका विविध स्थानको पदयात्रामा डो¥याउने क्रममा श्री विष्णुजी पाठकलाई उच्च पर्वतीय हिँडाइ कस्तो हुन्छ, त्यसमा खास खास के के विषयमा ध्यान दिनुपर्दछ, कस्ता रमाइला सन्दर्भ फेला पर्छन्, कस्ता समस्या आइलाग्छन् र समस्या समाधानका लागि के विकल्प हुन सक्छन् भन्ने सन्देश दिनुहुन्छ । (अग्रलेख)
देशका मूर्धन्य स्रष्टा, समालोचक, विद्वान्हरूको सान्दर्भिक अभिव्यक्तिले सूक्ष्मरूपमा पुस्तकको गरिमालाई बढाएको मात्र होइन कि विद्वान्, स्रष्टाको अनुभूतिजन्य कुरालाई दृष्टिगत गर्दा कृतिभित्रको सम्पूर्ण कुराहरूलाई चिरफार गरेको अनुभूति हुन्छ । नियात्राकारद्वारा ‘आफ्नो कुरा’ शीर्षकमा पुस्तक सम्बन्धमा पाठकलाई सजिलो हुने गरी आपूmले यात्रा गर्दाका अनुभूतिजन्य कुराहरू र त्यहाँको परिवेशगत प्राप्त प्रभावलाई यसरी व्यक्तगरिएको छ ः यो यात्राखण्डमा मध्य नेपालको धवलागिरि, अन्नपूर्ण, मुस्ताङ, मनाङ र दामोदर हिमालय क्षेत्र, हिमालय शृङ्खलाभन्दा उत्तरमा रहेका हिमाली उपत्यका, सहायक हिमालय र त्यस अन्तर्गतरहेका गुरुङ, मगर, थकाली र अन्य जाति बसोवास गर्ने गाउँ रहेका छन् । त्यसैगरी यस क्षेत्रका मुख्य ठूला नदी म्याग्दी, कालीगण्डकी र मस्र्याङ्दी हुन् । (अग्रलेख)
३. ‘श्वेत पर्वत’को समीक्षात्मक दृष्टिकोण
धवलागिरि परिक्रमा पदमार्गको चित्र दिएर कहाँबाट प्रारम्भ भयो र कहाँ गएर टुङ्गियो ?भन्ने कुरालाई अगाडि नै छर्लङ्ग भएको छ । यसमा चार खण्ड छन् । प्रत्येक खण्डमा उपशीर्षक दिएर क्रमिक रूपमा वर्णन गरिएको छ । तीन सय सत्ताइस पृष्ठको सुन्दर आवरणमा सजिएको पुस्तकमा भ्रमणटोलीले गरेका, भोगेका सन्दर्भहरू नछुटाइकन वर्णन गरिएको छ ।
(क) पहिलो खण्ड – धवलागिरि परिक्रमा पदमार्ग
हिमालयको अप्सरा मानिने धवलागिरिको परिक्रमा गर्ने क्रममा स्याङ्जा नौडाँडाबाट प्रारम्भ गरी कुश्मा, धवलागिरिको आधारशिला पुगेर पोखरा हुँदै पच्चीस दिनमा पूरा भएको सन्दर्भका अनुभूतिजन्य कुराहरूलाई व्यक्त गरिएको छ । ‘जुनकिरीसँगै मुदी गाउँको रात’ शीर्षकमा पर्वतारोही आङछोपाल शेर्पाको पहलमा जर्मन वैज्ञानिक डा. वाल्टर लुडरको सहयोगी बनी २०४३ सालमा धवलागिरि परिक्रमा गर्न भरियासहित तेह्रजनाको टोली स्याङ्जा नौडाँडाबाट कार्कीनेटाको उकालो हुँदै ज्ञादी (१२९४ मि.)मा बास बसेर पाखा–पखेरा नाघ्दै कुश्माबाट – सहस्रधारा, मालुङ्गा, खनियाघाट हुँदै पाँचौँ दिन वेनी पुगेको र म्याग्दी खोलाको मार्गबाट – दरवाङ, धारापानी, ताकम, सिवाङ फल्ले हुँदै मुदीको बास र धवलागिरि पदमार्गको मगर गाउँ, त्यहाँको परम्परा, व्यवसायको वर्णन विस्तृत गरिएको छ । भनिएको छ ः मुदीको पारि पाखा, म्याग्दीखोलाको पूर्वमा खिवाङ, बोबाङ,खाम्लासहित ठूला मगरगाउँहरू पखेरामा टाँसिएका थिए । हामी मुदीको पुच्छारमा बारीको पाटोमा पाल टाँगेर बस्यौँ । त्यहाँ दाउरा, आलु, खुर्सानी, हरियो साग किन्यौँ । गोठनजिक चुलो बनाएर पकाएर खायौँ । त्यस वेला पाको उमेरका मगर बाआमाहरूले खोकी लागेको, छाती दुखेको, हात र खुट्टामा लागेको घाउ देखाउँदै उपचारका लागि औषधी छ कि ! भनेर वाल्टरसँग मागिदिन मलाई सम्पर्क गरेका थिए ।वाल्टरले काटेको घाउमा दल्ने मलम दिँदा उनीहरूले उनलाई दुई हात जोरेर नमस्ते गर्दै धन्यवाद दिएका थिए । (पृष्ठ १३) यहाँ दिएको उदाहरणबाट थाहा हुन्छ कि अत्यन्त सरलतामा आप्mना भावनाहरू व्यक्त गरिएको छ । सिधासादा जनताहरूको नेपाल आज पनि पुरानै स्थितिमा भएको पनि देखिन्छ ।
‘धवलागिरि उच्च आधार शिविर’ शीर्षक दिएर यात्राको क्रममा आधार शिविरतिरको हिँडाइमा मुरीदेखि उत्तरतिरको भेगअत्यन्त रमणीय हिमाली सुगन्धको परिवेशमा खोला, झरना पार गर्दै लाप्चे खर्कको पहरो काटेर जङ्गलको बासपछि चार हजार मिटरभन्दा माथिको आधारशिविरमा पुगेको सन्दर्भ छ ।त्यहाँ पर्वतीय क्षेत्रको बस्तीको अवलोकन, जनजातिको अवस्थालाई मनन गर्दै ४,७४८ मिटरमा पुगी त्यहाँ वेलावेलामा भएका सर्भेका सन्दर्भ र अहिले गरिएको सगरमाथाको उचाइ ८८४८.८६ भएको कुरा पनि छर्लङ्ग पारिएको छ ।
यहाँ नियात्राकारको अनुभूतिजन्यकुराहरू यसरी व्यक्त भएका छन् ः रातको चकमन्नतामा ताराहरू ओर्लेर धवलागिरिका सबै चुचुरामाथि लुकामारी खेलेका थिए । चुचुराभन्दा अलि माथि उँभिएर जूनले उज्यालोका किरण छर्केर तारा, हिमचुचुरा अनि हिमनदीको लुकामारी हेर्दै थियो । फ्रेन्च धुरीबाट आएको बरफिलो चिसो सिरेटोले निद्रादेवीलाई मुदीगाउँतिर हुत्याइदियो सायद । (पृष्ठ १९)
‘फ्रेन्च धुरीबाट देखिने साङ्ग्रिला’ भित्र संसारको सातौँ अग्लो हिमाल धवलागिरि (८१६७ मि.)ले ठूला भूभाग ओगटेको कुरा गर्दै यसमा विभिन्न विदेशी व्यक्तिले हिमाल चढ्न खोजेको सन्दर्भ र हिमालहरूको उचाइसहित वर्णन गरिएको छ । यहाँ महाकवि कालीदासको ‘कुमारसम्भव’ महाकाव्यको सन्दर्भ छ । यक्ष, किन्नर, गन्धर्व, देवताको कुरा छ, यो क्षेत्रलाई कैलाश र मानसरोवरकोआँगन भनिएको छ । वदान्य, अष्टावक्र आदि ऋषि–मुनिको कथालाई समाविष्ट गरेर त्यसको महत्तालाई वर्णन गरिनुका साथै वैदिक कालदेखि आजसम्मका स्रष्टाहरूको सन्दर्भ उठाइएको छ भने ‘धम्पुस चुलीको काखमा मृत्युसँग जम्काभेट’ शीर्षकमा धवलागिरिको ‘हिडन भ्याली’मा रात बिताएपछि दोस्रो अग्लो भन्ज्याङ धम्पुस (५२५० मि.) हिमालको ऐतिहासिकता, हिमाल चढ्ने प्रयासको सन्दर्भमा देशी–विदेशीका कुरा, आपूmले औषधी खान ढिलो हुँदा परेको शारीरिक समस्या, थापाचुली पुगेको र त्यहाँ भएको स्वास्थ्य समस्या आदिको वर्णन रहेको छ । त्यहाँको सुन्दरताका साथै कठिनाइको सन्दर्भ यसरी गरिएको छ ः अहिले पनि धवलागिरि परिक्रमा हिमाली क्षेत्रको कठिनतम पदमार्गमध्येको एक हो । ट्रेकिङ कम्पनीले यो पदमार्गलाई साहसिक र कठिन पदमार्गको स्थानमा राखेका छन् । त्यसैले यो पदमार्गमा यात्रा गर्ने पर्यटकको सङ्ख्या सगरमाथा आधार शिविर, अन्नपूर्ण परिक्रमा र अन्नपूर्ण आधार शिविरमागर्नेभन्दा धेरै गुणा कम हुन्छ । यहाँ यात्रा गर्दा हिमचुली आरोहण गर्दा चाहिने सामान र अनुभवी पथप्रदर्शकको व्यवस्था गरेर मात्र यात्रा तय गर्नुपर्छ । कठिन भए तापनि सुन्दरता र साहसिक पदयात्रामा भने यो अन्य क्षेत्रजस्तै अब्बल छ । (पृष्ठ ३६)
‘धवलागिरिका मगर’ शीर्षकमा भौगोलिक फैलावट र मगर जातिको सान्दर्भिक इतिहास, विभिन्न व्यक्तिहरूको खोज–अनुसन्धान, त्यहाँका घरहरूको बनोट, धर्म–संस्कृति, पहिरन, जन्म तथा विवाह संस्कार र मृत्युसंस्कार, चाडपर्व, पेसा–व्यवसाय आदिको वर्णन गरिएको छ । जसबाट त्यहाँ बसोबास गर्ने मगरजातिको सम्बन्धमा जानकारी हुन्छ भने यहाँ भ्रमणको क्रममा पर्वतीय सौन्दर्यका दृश्यहरू समाविष्ट गरिएको छ । जस्तै ः खयरभारानी ताल, अन्नपूर्ण आधार शिविर, हिमाल, मोदीखोला, मगरजातिका घर आदिका तस्वीर दिएर त्यहाँको भौगोलिक यथार्थलाई स्पष्ट पारिएको छ ।
(ख) दोस्रो खण्ड – देवचुली वरपरको परिक्रमा पदमार्ग
यसमा विभिन्न उपशीर्षकहरू दिएर अन्नपूर्ण हिमालीक्षेत्रको सेरोफेरो, भौगोलिक, सांस्कृतिक, खोज–अनुसन्धानको, जात–जाति, परम्पराको वर्णन गरिएको छ । पहिलो ‘हिउँचुलीले थामेको छोमरोङको मन’मा नेपालको भौगोलिक सौन्दर्य, ऋतु अनुसारको परिवर्तन, सबभन्दा होंचा केचनाकलन (समुद्र सतह ७६ मि.)देखि सगरमाथा (समुद्र सतह ८८४८.८६ मि.)सम्मको भौगालिक अवस्थालाई संसारका मानिसहरूको आकर्षणको केन्द्र रहेको सन्दर्भ उठाएर अन्नपूर्णको वरपर वा काखमा बसोवास गर्ने विभिन्न जाति, अनेक संस्कृति, परम्परामा बाँचेका मानिसहरूको यथार्थ वर्णन छ । काठमाडौँ–पोखरा–घान्द्रुक–छोमरोङ–घोडेपानी–वीरेठाँटी–सिनुवा आदि स्थान हुँदै गन्तव्य आधारशिलातिर लागेको वर्णन गरिएको छ भने ‘देउचुली आधारशिविरमा प्रकृतिको प्रेमलीला’ शीर्षकले सर्वप्रथम त्यहाँको सौन्दर्य वर्णन गर्दछ । विभिन्न हिमटाकुराको विवरणसहित ‘जिम्मी रोवर्ट’को पदयात्राका सन्दर्भसँगै गन्तव्यमा पुगेपछिको वर्णनको सन्दर्भमा –जसले त्यहाँको सौन्दर्यको अनुपम उपहार र हृदयतः परिशीलन गर्दै महत्तालाई प्रदर्शन गर्दछ ःहामी त्यही विश्वचर्चित पदमार्गमध्ये एकको अन्तिम विन्दुमा पुगेका थियौँ । फुर्सद, स्वास्थ्य र साधन हुने हो भने अन्नपूर्ण र माछापुच्छ«े हिमनदीको अवलोकन गर्न सकिन्छ । माछापुच्छ«ेको दक्षिण धारबाट उदाएको सूर्यको किरणले सर्वप्रथम अन्नपूर्णको शिरमा चुम्बनको वर्षा गर्दै देखाएको प्रेमलीलाले त्यहाँ भएका पचासौँ पदयात्री हर्षले उफ्रँदै चिच्याउँदै आप्mना प्रेमी÷प्रमिकालाई चुम्बन बर्साउन थालेका थिए । (पृष्ठ ६४)
“मुल्देको आँखीभ्mयालबाट देखिने हिमगङ्गा, देवीको वास खयर भारानी ताल, दृश्यावलोकनको अभिमानमा मोहोरे डाँडा” आदि शीर्षकहरूले अन्नपूर्णाको आधारशिविरमा पुगेर गुरुङ गाउँमा पर्वजस्तै मनाएको, तालमा पुगेर हेर्दाको त्यहाँको आनन्द वा स्वर्गको अनुभूति, मोहोरे डाँडाको दृश्यावली, लेस्पारको बसाइको विस्तृत वर्णन रहेको छ । त्यस सन्दर्भको एउटा उदाहरण दिँदा उपयुक्त होला ः लेस्पारबाट देखिने लोभ लाग्दो सूर्योदयले हाम्रो मनलाई तरङ्गित पार्दै थियो । चिसो मौसममा गरिएको अन्नपूर्ण आधारशिविर र खोप्रा डाँडाको यात्रा अत्यन्त सफलताका साथ सम्पन्न भयो । केही रात असह्य चिसो भएको भए तापनि सफा मौसममा देखिएको हिमालयको लामो शृङ्खलासहित देखिएको उपत्यका, नदी, पहाडका तरेलीदेखि तराईका फाँटसम्मको लोभलाग्दो दृश्यले हामी सबैलाई रोमाञ्चित पारेको थियो । (पृष्ठ ८३)
(ग) तेस्रो खण्ड – मुस्ताङ परिक्रमा पदमार्ग
यसभित्र ‘मुस्ताङलाई नेपालको ह्लासा भनिन्छ’ भन्दै यहाँको विविधतायुक्त धर्म–संस्कृति–परम्पराका दृश्यका साथै भौगालिक फैलावटको सन्दर्भलाई देखाइएको छ । मूलतः यसमा ‘थाकखोलाको ऐतिहासिक टुकुचे गाउँ’ भित्र यसको ऐतिहासिक पक्ष हेर्दा ब्रह्माका मानसपुत्र पुलह–पुलस्त्यदेखिको कथानक सन्दर्भ, कालीगण्डकीको सेरोफेरोको दृश्य, दामोदर कुण्डदेखि मुक्तिनाथ हुँदै विभिन्न ठाउँको वर्णन गरिएको छ । यस्तै ‘जोमसोमै बजार…’मा स्याउका लागि प्रसिद्ध ठाउँ मार्फको ऐतिहासिकता, विदेशी र स्वदेशीको आकर्षणको केन्द्र, कलात्मक भौगोलिकता, विभिन्न ठाउँबाट आएर बसोवास गरेका थकालीहरूको रीति–स्थितिको वर्णन रहेको छ । ‘धर्म–संस्कृतिको सङ्गम कागबेनी’मा पनि देवताहरूको वासस्थान भनिएको यो स्थलको धर्म–संस्कृतिको महत्त्व बताइएको छ । यहाँको भौगोलिक अवस्था, हिन्दूधर्म र कागबेनी, बौद्ध धर्म र कागबेनी, रेशम मार्ग र कागबेनी अन्तर्गत विविधताका कुराहरूलाई विस्तृतताका साथ वर्णन गरिएको छ । ‘मुक्तिको धाम मुक्तिक्षेत्र’मा त्यस क्षेत्रको महिमा, ऐतिहासिकता र भौगोलिक अवस्था एवं त्यहाँको सम्बन्धमा विभिन्न व्यक्तिहरूले गरेको अनुसन्धानको विषयमा चर्चा गरिएको छ ।
यस्तै त्यहाँको पूर्णतया विशेषता प्रकट गर्ने – चैलेको सुरुङबाट चियाउने कालीगण्डकी, राङबुङको स्वनिर्मित मूर्ति, चराङको सांस्कृतिक गौरव, रहस्य र यथार्थको धनी मुस्ताङ, मानव सभ्यताको अग्रणी मुस्ताङ, पर्खालभित्रको सहर ल्होमान्थाङ, ल्होमान्थाङ ः मैत्रेय बुद्धको प्रतीक्षा, सिजा जोङ गुफा, याराको लुरी गुम्बा, दामोदर हिमालमा हिमचुचुराको खात, दामोदर कुण्ड ः प्रकृति, धर्म र संस्कृतिको त्रिवेणी, सङ्कटमा धे गाउँ, प्राचीन मानव सभ्यताको धरोहर ः ताङ्ग्या र थाकखोलाका थकालीआदि शीर्षकहरूले त्यहाँको सम्पूर्णतालाई द्योतन गरेका छन् । यी मुस्ताङका महत्त्वपूर्ण स्थल हुन्, जसले यहाँको परिदृश्यको वर्णन गर्दछन्, जो कोही पनि यो ठाउँमा पुगेर स्वर्गको अनुभूति गर्छ, त्यस्तै यात्राको क्रममा नियात्राकारलाई पनि अनुभूत भएको छ । मुस्ताङ क्षेत्रलाई उनले मानव सभ्यताको अग्रणीका रूपमा औंल्याउँदै यहाँको मानव सभ्यता दस हजार वर्षभन्दा कम नभएको कुरा सन्दर्भ सहित उल्लेख गरेका छन् ।
(घ) चौथो खण्ड – मनाङ परिक्रमा पदमार्ग
मनाङ क्षेत्रको भौगालिक स्थितिको वर्णन यस खण्डको सान्दर्भिक पक्ष हो । यस क्षेत्रका जुनसुकै उपत्यका वा भन्ज्याङ र हिमाच्छादित चुलीहरूको अवलोकन गर्दा जोसुकैलाई पनि आनन्दको अनुभूति हुन्छ । पहिला ‘मस्र्याङ्दी सलल..’ शीर्षक राखेर यात्राको प्रारम्भ भएको छ । २०७५ भाद्रमा पथप्रदर्शक देश राईसहित – मिठाराम अधिकारी, ज्ञानेन्द्र बानियाँ र स्वयं नियात्राकारको चारसदस्यीय टोली यात्रामा निस्कियो र प्रेमराजा महतको सुन्दर स्वरमा ‘मस्र्याङ्दी सलल…’ गीतको स्मरण गर्दै बाहुन डाँडा–स्याँगे झरना–जगत्–च्याम्चे झरनाको अनुपम सौन्दर्यको अवलोकनले भावविभोर बनाएको छ भने ‘ग्यासुम्दोको स्वर्ग जाने पौङ्दी डाँडा, मुटुहल्लाउने क्याङ्को भिर, बालुवाको ढिस्कोमाथि उँभिएको पूm गाउँ, भगवान्को घरमा गाँस र वास, नार ः लोभलाग्दो हिमाली उपत्यका, प्राचीन कवि मिलरेपाको ब्रागा, नेस्याङ्को राजधानी मनाङ उपत्यका, अन्नपूर्ण हेर्दै तिलिचोमा शिव र बुद्ध, नमेटिएको रहर ः थोराङ्ला आदिको भ्रमण गर्दै त्यहाँको वस्तुस्थितिको वर्णन विस्तृत रूपमा गरिएको छ ।
मनाङ सुन्दर हिमाली क्षेत्र हो, जहाँ पुगेपछि जीवन धन्य भएको अनुभूति नियात्राकारलाई भएको छ । यसको सन्दर्भमा भनिएको छ ः यस पटक थोराङ भन्ज्याङ पुग्दा मौसम साह्रै नै सफा भएकाले धीत मर्ने गरी मेरो रहर पुग्यो । हामीले ‘थोराङ ला पास ५४१६ मि. बधाई’ लेखिएको झण्डा र खादाले ढाकिएको भन्ज्याङमा तस्बिर लियौँ । विदेशीसमेत रहेका सेनाका आरोहीहरू भन्ज्याङसँगै दक्षिणतिर जोडिएको थोराङ चुलीमा आरोहण गर्दै थिए । (पृष्ठ ३१४)
यसपछि ‘अन्नपूर्णका गुरुङ’ शीर्षक दिएर त्यहाँको भौगालिक फैलावट र इतिहास, घरको बनोट, धर्म–संस्कृति, जात, पहिरन, जन्म तथा विवाह संस्कार, चाडपर्व, पेसा–व्यवसाय आदिको विषयमा छोटकरीमा चर्चा गरिएको छ । यसरी हिमाली क्षेत्रको जीवनकतिपय अवस्था र कुरामा कठिन भए पनि बाहिरबाट भ्रमण जाँदा अमरावतीको अनुभूति अवश्य हुन्छ भन्ने कुराको सन्दर्भ ठाउँ–ठाउँमा आएको छ ।
४. ‘श्वेत पर्वत’को विषयमा बुँदागत दृष्टिकोण
(क) नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीको यो साहसिलो यात्रा आपैmमा महत्त्वपूर्ण रहेको छ । खण्डखण्डमा सम्बन्धित यात्राको क्रमका ठाउँ, गाउँ, हिमालयको नक्सा र तस्वीरसहित यात्राविवरणले पाठकलाई बुझ्न, हिमाली सौन्दर्यको बारेमा जान्न, पुरातात्त्विक यथार्थतामा पुग्न र जीवन्तता ठम्याउन नियात्राले बल अवश्य पु¥याएको छ । त्यसैले यस पुस्तकमा यात्राका ससाना कुरादेखि ऐतिहासिक, पुरातात्त्विक विवरणहरू प्रासङ्गिक रूपमा पनि उल्लेख भएको कारण केवल यात्रावृत्तान्त नभएर अनुसन्धानात्मक बहुउपयोगी कृति बन्न पुगेको छ, भन्न सकिन्छ ।
(ख) नियात्राकारले यात्राको क्रममा जिल्ला–नगर–गाउँको जनसङ्ख्या, साक्षरता, औसत आयु, प्रतिव्यक्ति आय, वर्ग कि.मि.को नक्सा–विवरण र भ्रमणको मार्ग प्रस्तुत गरेकोले पदयात्री कुन ठाउँमा, कसरी गए र त्यहाँको विषयमा के के कुरा पाठकलाई दिन सक्दा के फाइदा हुन्छ भन्ने कुरालाई दृष्टिगत गरी लेखनलाई अगाडि बढाएको स्पष्ट रूपमा देखिन्छ । जो कोहीले पनि यो पुस्तकलाई अध्ययन गरेपछि आर्थिक, सामाजिक, सांस्कृतिक, परम्परा आदिको जानकारी अवश्य हुन्छ । यति मात्र होइन, त्यो क्षेत्रको भ्रमणमा जाँदा यो पुस्तक साथमा लिएर हिँडेपछि पदयात्रीलाई त्यो क्षेत्रमा कहिँ कतै अल्मलिनुपर्दैन । यो पुस्तक पथप्रदर्शकको रूपमा लिन सकिने किसिमबाट नियात्राकारले पूर्ण विवरणसहित प्रस्तुत गरेको देखिन्छ ।
(ग) पहिलो खण्डको प्रारम्भमा छब्बिसवटा, दोस्रोमा उनन्तिसवटा, तेस्रोमा एकचालिसवटा र चौथो खण्डमा बीसवटा सम्बन्धित ठाउँका तस्वीर समाविष्ट गरी त्यस क्षेत्रका महत्त्वपूर्ण ठाउँहरूको अवलोकन गर्दा हामीहरूलाई पनि सँगसँगै हिँडाएको अनुभूति हुन्छ र पुस्तक पढ्दै जाँदा ती चित्रहरूले सम्बन्धित ठाउँको भौगालिक अवस्था, दुर्गम ठाउँमा भएका हिमनदी, हिमताल, गाउँ, वनस्पति आदिको प्रशस्त जानकारी हुन्छ ।
(घ) संसारमा नेपाल एक धार्मिक सहिष्णुताको प्रतीक हो, यो नेपालको विशेषता पनि हो । बहुसंस्कृति, बहुजाति, बहुधर्म भएको कारण परापूर्व कालदेखि समन्वयात्मक दृष्टिकोणबाट यहाँका मानिसहरू चलेका छन् र मुक्तिनाथ होस् वा मनकामना, पशुपति होस् वा बौद्ध स्तूप, सबैमा एकले अर्कोलाई आदर भावले लिने गरेको देखिन्छ । कुनै पनि जातिका व्यक्ति मठ–मन्दिरमा पुजारी भए पनि सबैले आदर–सत्कार गर्ने गरेको सन्दर्भमा नियात्राकारले अत्यन्त सूक्ष्म ढङ्गबाट अवलोकन गरी ठिक भए ठिक र बेठिक भए बेठिक भएको कुरालाई पाठक समक्ष प्रस्तुत गरेको देखिन्छ, जसले गर्दा हाम्रो दृष्टिकोण, रहन–सहनले एक अर्कालाई आकर्षण गरेको कुरालाई पुष्टि दिएको छ र यस पुस्तकले यसमा अझ बल प्रदान गरेको छ ।
(ङ) यसमा विषयसूचीमा रहेका शीर्षक र पुस्तकभित्र रहेका शीर्षकमा एउटा फरक परेको बाहेक पुस्तकको गातादेखि लिएर सम्पूर्ण कुराहरू अत्यन्त आकर्षक रहेको छ । भाषा परिष्कृत छ, बोधगम्य छ, आलङ्कारिक वाक्यांशले स्थान पाएका छन्, पढ्दा आनन्दको अनुभूति गर्न पाइन्छ । कतै कतै स्थानीय भाषाका शब्दले थिचे पनि नाम जस्ताको तस्तै रहने हुँदा केही फरक परेको छैन र अझ त्यसले चलनचल्तीको भाषा सिक्न सहयोग गरेको छ र यस्तो प्रयोगले पाठकलाई ज्ञान बढाएको छ । यसमा पढ्दा सलल..गण्डकी–मस्र्याङ्दीभैmँ बग्ने भाषिक प्रयोग छ ।
(च) यसमा थाकखोलाको ऐतिहासिकता र मगर र गुरुङको ऐतिहासिक पक्षमा पुस्तकभित्र धेरै कुरा आएका छन् । कालीगण्डकी क्षेत्र मूलतः ऋषि–मुनिको थलो हो, जहाँ अनेक ऋषिले आप्mनो वासस्थान बनाए । हिमाली क्षेत्र शिवपार्वतीको घर भनेर पौराणिक ग्रन्थहरूमा आएको छ । विज्ञानले प्रत्यक्ष बाहेक अरू कुरा नमान्ने हुनाले कतिपय कुरा यहाँ उल्लेख गर्दा नियात्राकार पनि धेरै परसम्म पुग्न नसकेको देखिन्छ भनौँ वा अनुमानतिर नलागेको पनि देखिन्छ, तथापि यो हज्जारौँ वर्षदेखिको मानवसभ्यताको केन्द्र मानेको कुरा भेटिन्छ । जे होस् यो अनुसन्धानमूलक ग्रन्थ चाहिँ अवश्य हो । धेरै लेखनसमय वा दृष्टिकोण खोज–अनुसन्धानमा लगाइएको छ, त्यसैले पनि महत्ता बोकेको कृति बन्न पुगेको छ ।
(छ) नेपालका सबै ठाउँ प्राकृतिक सौन्दर्यले परिपूर्ण भएकोले नियात्राकार देशको सौन्दर्य वर्णनमा थाक्दैनन् र ठाउँ–ठाउँको वर्णन गर्ने क्रममा पुनरावृत्तिको भ्रम पर्न सक्छ तर नियात्राकारले अत्यन्त सजग भएर शब्द सन्तुलनमा ध्यान दिएकोले केही फरक परेको छैन, पढ्दा आनन्द नै प्रदान गर्छ । यो एउटै भ्रमण नभएर पटक–पटक गरिएको भ्रमण हो । पहिलो यात्रा २०४३ सालको पच्चिसदिने थियो । दोस्रो र तेस्रो २०७४ सालको र चौथो २०७५ सालको यात्रा थियो । फरक–फरक यात्राका फरक–फरक साथी थिए । यो अत्यन्त उपलब्धिपूर्ण कठिन यात्राबाट नियात्राकार विष्णुप्रसाद पराजुलीले सुन्दर अनुन्धानात्मक कृति नेपाली साहित्यको फाँटमा प्रदान गरेर ठूलो गुन लगाएका छन् । यो पुस्तक सबैका लागि मननयोग्य, ज्ञानवद्र्धक र सङ्ग्रहणीय रहेकोमा कुनै द्विमत छैन ।
अन्तमा ‘श्वेत पर्वत’नियात्रात्मक कृति अध्ययन गर्दा मनमा तरङ्गित भावलाई कवितात्मक स्वरूप प्रदान गर्दै यो समीक्षामूलक एवं भावनात्मक लेखनबाट विश्राम लिन्छु ः
यात्रा सुन्दर ‘श्वेत पर्वत’सँगै
श्रीविष्णुको कथ्य छ
यात्रासार रसाउने प्रकृतिको
आनन्दको रास छ
यात्रामात्र हुँदैन दिव्य धन हो
अस्तित्वको सारमा
लाग्यो यो अमरावती सुरभि हुन्
शिवत्वको वासमा ।१।

नेपाली जनभावनासँग हुँदा
पाइन्छ है ! शुभ्रता
हाँस्छन् दिव्य मुहार पावन कथा
प्रत्येकमा शिष्टता
यात्रा जीवन–धर्म–कर्म सब हो
भन्छन् नि स्रष्टा यहाँ
यस्तो लेखन–कर्मले फलित भो
आनन्द हृत्केन्द्रमा।२।

छन् रहस्य यहाँ अनेक कृतिका
खोजेर नै मिल्दछन्
अन्तःस्थापित भावनासँग सबै
सत्कर्मले खुल्दछन्
खोला छन् हिमताल उच्च गरिमा
दिव्यौषधी मिल्दछन्
यस्तो सुन्दर देशको विविधता
संस्कारमा रम्दछन् ।३।

धुम्बाराही, काठमाडौँ । २०७८ चैत्र २९ गते ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s