धन्यवाद सहित साभारः गरिमा साहित्यिक पत्रिका असोज २०७९, पूर्णाङ्क ३९९
विष्णुप्रसाद शर्मा पराजुली

मन,
तँ कति विचलित हुन्छस् हँ ?
तँ चुपचाप किन बस्दैनस् ?
पेटभर खाएर, आङ्भर ढाक्दा पनि
तँ किन निरन्तर अस्थिर भइरहन्छस् ?
कहिलेकाहीँ मलाई चौपट्टै डर लाग्छ
तँ कतै डोरबहादुर विष्ट पो हुने होस् कि ?
तँ अस्थिर हुन्छस् र त
तँ द्रुत यान हुन्छस् र त
अनाहकमा पीडा र दुर्घटना निम्त्याउँछस्
मन,
तँलाई यो मेरो चेतावनी हो
तँ लखर–लखर यत्रतत्र नलखारिई
सक्छस् यदि तैँले भने
लोभ, लालच, मोह, भोगका भेलमा तैरेर
दुराचारी, पापाचारी, भ्रष्टाचारी बन्ने यत्न नगर
बरु सक्छस् भने
परिवर्तनको बेजोड कथा लेख्ने गर
त्यसले–
तातेकी पृथ्वी माताको छाती शीतल पार्न प्रेरित गरोस्
हरियालीको गीत गाउन स्वर दिन सकोस्
सेता हिउँको थुप्रो थुपार्न प्रेरित गरोस्
हेपाहाविरुद्ध मुक्तिको झण्डा उचाल्न ऊर्जा थपोस्
रुस–युक्रेन युद्धले ल्याएको
तेस्रो विश्व युद्धको अभ्यास निष्क्रिय पार्न सकोस्
मानवले मानव भएर बाँच्न प्रेमको गीत गाउन सकोस् ।
२०७९ असार ४