(कथा–१६) अंश

धन्यवाद सहित साभारः दायित्व, पूर्णाङ्क १३९, मंसिर –पुस २०७९ ।


विष्णुप्रसाद शर्मा पराजुली
नुर्बु गुरूङ अहिले पन्चानब्बे वर्षका भए । उकालो चढ्न सहारा चाहिन्छ । कान सुन्छन् । नजिक सिमीको गेढा देख्छन्, टाढा हिमालका चुलीको नाम छु्ट्याउँछन् । दाँतका बङ्गारा झरे पनि अगाडिका टिमिक्कै छन् । दिनभर सुचे पिउँछन् । साँझ खानाखाने बेला एक गिलास आरा पिउँछन् । स्याक्पा, चम्पा, ढिँडो, रोटी, दाल, भात, तरकारी, मासु उनको मुख्य खाना हो । उमेरमा कान्छो भाइलाई भारतीय सेनामा भर्ना गर्न जाँदा लुम्बिनी र गोरखपुरसम्म पुगे । विरामी गाउँलेलाई लिएर एक पटक पोखरा पुगे तर नेपाल (राजधानी) पुगेनन् । अक्षर फिटिक्कै चिनेनन् । चुम, नुब्री, आरूघाट, गोर्खा, मनाङ, मुक्तिनाथ र तिब्बत (चीन) वरपर भेडाच्याङ्ग्रा, चौरी र याक चराउँदै अग्लो लेक र पाटन पुग्ने, हिउँदमा तल्लो पाटन झर्ने, जडिबुटी खोज्ने, सन्तान जन्माउने, हुर्काउने गरेरनै उनले आफ्नो पन्चानब्बे वर्ष मनास्लुको काख सामा गाउँमै बिताए ।


मनास्लु, हिमालचुली, लार्के, साम्दो हिमालका चुचुरा, हिमनदी, रिबुङ र पुङ्गेन गुम्बा, प्रकृतिपूजा बारे जानकारी दिँदै नुर्बुले आफ्नो पुर्खाबारे पढे लेखेका नातिनातिनीलाई भन्छन्– “हरियो घाँस, पानी भएको खर्का खोज्दै हाम्रो पुर्खा हजारौँ वर्षा पहिले मनाङ्बाट पूर्व लाग्यो । त्यसबेला अहिले जास्तो धेरै वर्षा एकै ठाउँमा बस्दैना । आठ–दस वर्षा एउटा पाटन र लेकमा बस्छा, घाँस सक्छा । अर्को पाटन खोज्दै जान्छा र उतै बस्छा । मनाङ पूर्वको भिमताङ, हिमलुङको पूर्व–दक्षिण भएरा हाम्रो पुर्खा गोठ सार्दै याक र भेडा चराउँदै लार्के नाघेर नुब्री उपत्यका आयो भन्छा । पैले त घर छैना भन्थ्यो बाजेले । गुफामा बस्यो । हिउँ पहिरो नजाने ठाउँमा याकको रौँको पालघर बनाएर त्यसैमा बस्छा । अहिले जस्तो पाल छैना । जङ्गली जनावरको डर छा । रातमा आगो बालेर बस्छा । बच्चा जन्मदा धेरै दुःखा छ । कति मर्छा । आमा हुनेलाई धेरै दुःखा छा । बच्चा दस वर्ष नाघ्छ भने सत्तरीदेखि असी वर्ष बाँच्छ । तिम्लाई त यो कथा हुन्छा हैना ।”
नातिनातिनीले एकाग्र भएर उनको कथा सुन्थे ।


गोर्खाको आरूघाट बजार चुमनुब्री उपत्यकाको ऐतिहासिक बजार हो । चुम गणेश हिमालको पश्चिम उपत्यका हो भने नुब्री लार्के, हिमालचुली, मनास्लु हिमाल र बुढिगण्डकीको उपत्यका हो । यहाँ हजारौँ वर्ष पहिलेदेखि रैथाने हिमाली जातिको बसोबास छ । यहाँ बस्ने जाति गुरुङका पुर्खा हुन् । आजकल भने कसैले गुरूङ त कसैले लामा थर लेख्छन् । अन्नपूर्ण हिमालको काखमाझैँ यहाँ पशुवध हुँदैन । यहाँ उवा, आलु, सिमी फल्ने तथा घाँस, झाडी, जडिबुटी उम्रने लामा र फराकिला उपत्यका छन् । चारैतिर हिमालै हिमालले घेरिएको चुमनुब्री उपत्यका हिउँदको छ महिना हिउँको अँगालोमा बाधिन्छ । पहाड र तराईको तुलनामा जीवनचक्र धेरै कष्टकर छ । नुब्रीका बासिन्दाको संस्कृति, भेषभुषा, भाषा, धर्म, जन्ममृत्यु संस्कार र विवाह नेपालको उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने जातिको प्रचलनसँग मिल्दछ । उनीहरू प्रकृतिपूजामा पूर्ण विश्वास गर्छन् । नुर्बु गुरूङ नुर्बी उपत्यकाको सामा गाउँका बासिन्दा हुन् । सामा गाउँ मनास्लु हिमालको काखमा उच्च हिमाली क्षेत्रको विशाल उपत्यकामा रहेको हिमाली गाउँ हो ।


नुर्बु इमान्दार, मेहनती र बुढी गण्डकीको पानी जस्तै सफा हृ्दय भएका चौरी गोठालो तथा किसान हुन् । उनका तीन छोरी र दुई छोरा थिए । एक छोरी नौ वर्षको उमेरमा बाबुसँगै भेडा हेर्न जाँदा तिब्बत नजिक लार्के भीरमा लडेर मरिन् । आफन्त माग्न आए पछि दुई छोरीको विवाह गरिदिए । छोरीहरूले राम्रोसँग घर गरे । जीवन त्यस्तै त रहेछ– “ आमाबाको काखमा हुर्के पछि छोरी अर्काको घरमा जान्छा । घर बसाउँछा । पृथ्वीझैँ सहनशील रहेर दुःखा गर्छा । सृष्टि गरेर आमा बन्छा । सन्तानले यो माटोको रक्षा गरोस् र हिमालझैँ वंश रहोस् भन्ने लोभ गर्छा । नातिनातिनी, छोरीज्वाँइ हुलबाधेर भेडाझैँ खचाखच भएर आउँदा म खुसीले रुन्छा । मनास्लु र कुताङ हिमालले पनि हाँसेर मलाई साथ दिन्छा, आहा ! यो रीत हो । बुढी गण्डकी रहेसम्म सन्तान रहनु पर्छा । ” नुर्बुले गाउँलेसँग भन्ने गर्छन् । अरूले हेर्दा नुर्बु आफ्नो लाहुरे भाइभन्दा साच्चिकै प्रफुल्ल देखिन्छन् । गाउँमा कसैको अन्याय नसहनु र कसैलाई अन्याय परेको छ भने त्यसलाई न्याय दिलाउनु नुर्बुको चिनारी हो ।
आरूघाट र कहिलेकाही गोर्खा जाँदा उनले भारतीय र बृटिस लाहुरेलाई देखेका थिए । त्यसैले उनले आफ्नो कान्छो भाइलाई लाहुरे बनाउने भित्री चाहना पुरा गर्न धेरै पटक लमजुङ र गोर्खा पुगे । बृटिस नभए पनि भारतीय सेनामा भर्ती गर्न सफल भए । भाइलाई भारतीय सेनामा भर्ती गरेर फर्कँदा नुर्बु धेरै खुसी भए । त्यसबेला उनको जेठो छोरो जन्मेको थियो । छोरी पाँच वर्षकी थिइन् । आफ्ना सन्तान जन्मँदा उनी त्यती खुसी भएको थाह गाउँलेले पाएनन् । तर भाइ भर्ती हुँदा पुङ्गेन र रिबुङ गुम्बामा पुगेर बत्ति बाले, गाउँलेलाई बोलाएर छ्याङ् खुवाए । भाइ सेनामा भर्ती भए पछि चौरी, याक र भेडा थपे । सन्तानको उज्यालो भविश्य सम्झेर थप कठोर मेहनत गरे ।


नुर्बुले ‘आँखाले देखेको तथा गाउँलेले चिनेजानेको परिवारको छोरी बिहे गरेमा घर कलह हुँदैना । घर राम्रो बस्छा’ भनेर भाइको विवाह आफ्नै नजिकको नातामा मामा पर्नेको छोरीसँग गरिदिए । उनीहरूसँग नुर्बुका जति भेडा र चौरी थिएनन् । नुर्बुभन्दा आर्थिक कुरामा कमजोर भए पनि इज्जतवाल थिए । सानो जिउ भएकी केटी मेहनती थिइन् ।
भाइ लाहुरे भए । नाम चल्यो । त्यसबेलाको पहाडी र हिमाली समाजमा लाहुरेको खुब इज्जत हुन्थ्यो । लाहुरेले पनि धेरै नपढेकोले ‘हल्दार सा’ब’ बन्ने उनको इच्छा पुरा भएन । नुर्बुले भाइको तीलको गेडा जत्रो आर्थिक सहयोगलाई पहाडमा रुपान्तरण गर्दै गए । उनले हिउँदको सफा निलो आकास जस्तै सफा मनले कृषिकर्म गरे । उवाबारी थपे । चौरी र भेडाको बथान ठुलै बनाए । सत्तरी वर्षसम्म भेडाच्याङ्गा र चौरीको बथान लिएर लेखतिर उक्ले तर लाहुरेले भने दाइभाउजूले थाह नपाउने गरी गोर्खा बजारदेखि एक किलोमिटर पश्चिममा घडेरी र खेत किने । लाहुरेले नुर्बुलाई अड्कलेर पैसा दिन थाले । पल्टनबाट घर जाँदा चियापत्ति, चिनी, आर्मीका पुराना कम्बल, आर्मीका जाँगे, पतलुन, कमिज बाहेक पैसा लगेनन् । जाडोमा नुर्वुले आफैले बुनेको ऊनको बख्खु, ऊनकै घुम (सेउ) प्रयोग गर्थे । घरका परिवारले घरबुना र चीनतिरबाट ल्याएका लुगानै लगाउथे ।
दाइ सफा मनको किसान तथा भाइ लाहुरे भएको हुनाले सामा गाउँमा नुर्बुको परिवार इज्जतिलो र सम्पन्न भनेर चिनिन्थ्यो । घरमा सुचे मात्र नभएर दुध चिया पाक्थ्यो, सात वर्ष पुरानो छ्याङका घैला भाइको लागि भनेरै राखिन्थ्यो । दाउराको खात पनि अन्यको भन्दा ठूलो थियो । सबैभन्दा नौलो कुरो त्यो घरमा रेडियो थियो । नुर्बुले विहान बेलुका रेडियो सुन्थे । त्यहाँ साँझ परेपछि राती दस बजेसम्म मट्टितेलको पानसको बत्ति बल्थ्यो । नुर्बुका जेठाबा, काका र गाउँलेहरू छ्याङ, चुरोट, सुर्ती खाँदै भेडाच्याङ्ग्राको व्यापार, तिब्बतको बजार खुल्ने दिन, खेतिपाती, मौसम, हिम पहिरो, हिमवर्षा, जडिबुटीको उब्जनि आदि बारे गफ गर्थे ।


नुर्बुकी पत्नी दिकी माइती गाउँ चुमलिङ् बाहेक आरूघाट बजार पनि झरिनन् । लाहुरेका पनि सन्तान होउन् भन्ने चाहना नुर्बु र दिकीको थियो । त्यसैले बुहारीलाई पल्टनमै लैजान ताकेता गरे । लाहुरेका सन्तान भए । लाहुरेकी श्रीमतीले कलकत्ता, बम्बई, देहरादुन, पट्ना, गुहाटी सहर देखिन् । मान्छेको आँखाले नयाँ कुरा देख्यो भने त्यसको असर दिमागमा पर्छ ‘रे ! शहर देखेपछि उनलाई त्यो हिमालको फेँदमा छ–छ महिना हिउँसँग कठ्याङ्ग्रिँदै भेडा हेर्ने, बारीमा खनजोत गर्ने, दाउरा खोज्ने, ढिडो र चम्पा खाने, नुन चिया पिउने जस्ता कुरा मन परेन । चार पाँच पटक विदेश गए पनि उनले त्यता बिताएको त चारै वर्ष थियो । उनमा पल्टनिया लाहुरेका पत्निहरूसँगको हिमचिम र सहरिया वातावरणको प्रभाव पर्नु अस्वाभाविक थिएन । हिउँ पन्छाउँदै भूइँ कोट्याएर यार्सागुम्बा टिपेर पैसा कमाउने रहर उनमा देखिएन । त्यसैले उनले लाहुरे पतिलाई दाइ नुर्वु र भाउजू आङ दिकीसँग अंश लिएर गोर्खामा बस्ने योजनामा सहमत गरिन् ।


असोज महिना झरी रोकिएको थियो । विहान हुस्सुले सामा उपत्यकालाई गर्लम्म अँगालो हाल्यो । दिउँसो फेरि छ्याङ्ग भयो । हरियो काँडेदार सल्लाको वन, लामवद्ध सेता हिमालका चुचुरा र तीसँग अँगालोमा कसक्क बाँधिएको निलो आकाशको दृश्य चौपट्टै रमणीय देखिन्थ्यो । बेलुकी चीसो हुन थालेको थियो । लार्के भन्ज्याङ पार गरेर मनाङ झर्ने पर्यटक फाट्ट–फुट्ट देखिन थालेका थिए । गोठालाले भेडा, याक, चौरी धर्मशाला, लार्के, क्योङ्मा, लाकुरे, केर्मो जस्ता माथिल्लो लेकबाट तल झार्दै थिए । त्यसैबेला नुर्वुको लाहुरे भाइ छुट्टीमा घर आएको थियो । भाइ आउने खबर पाएपछि छिमेकी ल्हाक्पालाई चौरी र भेडा जिम्मा लगाएर नुर्बु घर झरेका थिए । शरद ऋतुमा हिमाल मुस्काएझैँ लाहुरे आएकोले नुर्बुको घर पनि उजेलिएको थियो । करिव एक साता त लाहुरेलाई भेट्न आउनेको भिड भयो । नुर्बुकी पत्नी दिकी र लाहुरेनी पाहुनालाई सुचे र छ्याङले सत्कार गर्न व्यस्त थिए । लाहुरे आएको दसौँ दिन पछि भने घरपरिवार मात्र हुन थाले । एक साँझ फलामको तीनमुखे चुलो वरपर सबै बसेका थिए । चुलोको धुँवा फलामको पाइपबाट सीधै छानो बाहिर जान्थ्यो । पहाडी भेगमा त्यस्तो चुलो हुन्नथ्यो । नुर्बु र लाहुरेका छोराछोरी सबै सँगै थिए । नुर्वुको जेठो छोरा पनि आरूघाट बजारबाट काकासँगै सामा गाउँ गएको थियो । त्यसै साँझ लाहुरेले छ्याङ पिउँदै भने–


“दाइ, तपाईंको जेठो छोराको बिहे पनि भयो । मेरा पनि तीन छोरा, एक छोरी भए । तिनलाई पढाउन प¥यो । मेरो अंश दिनु म केटाकेटीलाई गोर्खातिरै स्कुलमा भर्ना गर्छु र उतै बस्छु । अब सबै सम्पत्ति आधा गरेर अंशबण्डा गरौँ । तपाईंले खान सके खानु, नभा’ म अरु छिमेकीलाई बेचेर गोर्खा जान्छु ।”
लाहुरेको कुरा सुने पछि झसङ्ग हुँदै दुवै आँखाबाट बलिन्धारा आँशु झार्दै दिकीले–


“दुईभाइको परिवार राम्रो हुन्छा भनेरा दाइले चौरी हेर्दै छा । कहिल्यै हिउँ भनेना, चीसो भनेना । केटाकेटी सानै छा । किना आलग हुने ? मेरा सन्तानलाई भन्दा तिम्रो र केटाकेटीको बढी माया लाग्छा । बुहारीलाई हाम्ले नराम्रो गरेना । केटाकेटी सँगै हुर्कन्छ । लाहुरको थोरै भरथेग, नुर्बुको लेकको काम मिलाएर अझ दुईचार वर्ष सँगै बसेर काम गरे दुवै भाइका सन्तानलाई सुखा हुन्छा । केटाकेटीले पनि राम्रोसँग पढ्छा । पढे पछि सुखा हुन्छा ।” भन्दै दुवै भाइलाई छ्याङ थपिदिइन् । लाहुरेकी पत्नी नजिकै थिइन् ।


दुई वर्ष पहिले धर्मशालाभन्दा माथि तिब्बत नजिक हिम पहिरो जाँदा उनका चार चौरी सहित गाउँलेका समेत गरेर बाह्् चौरी र याक पुरिएका थिए । लाहुरेको कुरा सुन्दा बिना सङ्केत आएको त्यस्तै हिम पहिरोले नुर्बुलाई पुरेको जस्तै असह्य पिडाबोध भयो । क्षणभर उनले निस्सासिएको अनुभव गरे ।


नुर्बु सजिलो गरी बसे । आरा पिएर गिलास टेबलमाथि राख्दै भने – “केटाकेटीलाई पढाउना ठीक छा । सबैलाई गोर्खामै राख् । बुहारीले हेर्छा । तिमीहरू उतै बस् । सकुन्जेल मैले उवाखेती गर्छा । चौरी हेर्छा । अंश बाँडफाँड किन गर्ने ? गोर्खामा अलिकता खेत र घडेरी किनौँ । मैले याक र चौरी बेचेर थपिदिन्छा । हाम्रा सन्तानले पढ्छा । सुख हुन्छा । म पनि साठी हुन थाल्यो । लेकमा चौरीसँगै कुद्न, भेडा खेद्न, भालु र हिउँ चितुवा लखेट्न पहिले जस्तो सक्दैना । दुवैका सन्तानको भविश्य सोच्नु पर्छा । एक्लै राम्रो हुन्ना । मैले नराम्रो सोच्दैना । तैले जमिन टुक्रा पार्ने कुरा किन ग¥यो ? छुट्टिनु भनेको फुट्नु भन्छा । मिल्यो भने बल हुन्छा । त्यसो नभन । पैसाको मात टिक्दैना । ”
जेठाजुले भनेको कुरा नसुनेझैँ गरी लाहुरेकी पत्निले भनिन्– “म ता एक दिन पनि बस्दैना । सबै आधा–आधा गर । भेडा, याक र बारी बिक्री गरेर हामी गोर्खा जाने । छोराछोरी पढाउन ढिलो भयो । हाम्रा लाहुरे हल्दारसा’वका छोराछोरी सबै सदरमुकाम छन् । म त यो चिसोमा हिउँसँग कठ्याङ्ग्रिदै एक दिन पनि बस्दिनँ ।”
नजिकको नाता पर्ने बहिनीकी छोरी आफैले कुरो राखेर नुर्बुले भाइको बिहे गरिदिएका थिए । बिहे गर्दा उनी बाह्् वर्षकी थिइन् । सामान्य परिवारकी केटी भएकाले नुर्बुले बुहारीलाई घरमा आपूmसँगै राखेर घर, व्यवहार, दाउरा, धाँस, खर्क, भेडाच्याङ्ग्रा, याकचौरी, हिउँ, वर्षा सबै काममा सँगै लगेर कामकाजी बनाए । भाइका सन्तान छिटै होउन् भनेर नुर्बुलेनै भाइसँगै लाहुर पठाए । पत्नी दिकीले जेठो छोरालाई गोर्खामा कलेजमा पढ्न पठाउँ भन्दा नुर्बुले “ गोर्खा पठाउँदा याक र चौरी बेच्नु पर्छा” भनेर आफ्नो छोरालाई एसएलसीभन्दा बढि पढ्न दिएनन् । तर आज भाइबुहारीले एक्कासी अंश माग्दा उनी झल्यास्स भए । नुर्बुको शरीर फतक्क गल्यो । मन म¥यो । माया, विश्वास र भरोसामा पहिरो गयो । उत्तरी चिसो हावा सबैको घरभित्र छिरेझैँ नुर्बुको घरको कुरा पनि त्यसरीनै गाउँ भरी फैलियो । गाउँलेको मुखबाट यस्तो कुरा सुनियो–
‘नुर्बुको भाइ लाहुरे त गोर्खा जान्छा रे । ’


‘ लाहुरे त छुट्टिने भएछा । विचरा नुर्बुले दुःखा ग¥यो । सबै आधा गर्ने भनेछा । दाइलाई थप केही नदिने रे !’
‘ ठूलो परिवार, जहिलेसुकै कहाँसँगै बस्छा ता ?’
‘नुर्बु, सफा हृ्दयको मान्छे छा । गाउँले कसैलाई अन्याय पर्छा भने उ खुला बोल्छा । ’
‘लाहुरेले गोर्खामा खेत र घडेरी किनेको छ रे ! ’
‘दाइले लेकमा दुःख गरेर चौरी पाल्यो, चौरी भाग लाग्ने हो भने गोर्खाको जग्गा पनि नुर्बुलाई दिनुपर्छ । ’
‘गोर्खाको जग्गा त कुरै गरेन रे ! ’
यस्तै कुरा गाउँ, पखेरा, खर्क, पाटन, बुढी गण्डकीको तीर, मनास्लु, हिउँचुली, साम्दो हिमाल, लार्के बजार, उता पूर्वमा चुम उपत्यकादेखि आरूघाट बजारसम्म फैलिइहाल्यो । त्यसबेला मोबाइल फोन, म्यासेन्जर त थिएन तर राम्रो वा नराम्रो जे घट्ना भए तापनि खच्चड गोठालो, भरिया, लेख र बेँसी गर्ने बटुवा मार्फत लाहुरेका दाजुभाइ छुट्टिने कुरा त्यो भेग भरि फैलियो ।
नुर्बुले पटक्कै नाइनास्ति गरेनन् । भेडा, याक, चौरी सबै बाँडियो । पुर्खौली घर, पाँच पुस्ता पहिलेको दाउराको एउटा चाङ र घर नजिकैकोे उवा फल्ने मलिलो बारी लाहुरेलाई प¥यो । घरमा जे जति लुगा, गहना, भाँडाकुँडा, फलामे औजार, रक्सी पार्ने घ्याम्पो, डोको, नाम्लो, बुद्ध र सेनरबका मूर्ति, टेवल, दराज, तस्वीर थिए, सबै बाँडियो । तर लाहुरेले गोर्खामा लिएको जग्गाबारे कुनै चर्चै भएन । भाइले भनेनन् । दाइभाउजूले सोधेनन् । दुई भाइबीच अरुको जस्तो झगडा भएन । नुर्बुको हृ्दय यसरी कुँडियो कि आफन्त, मायामोह, दाजुभाइ भन्ने कुरामानै अविश्वास पैदा भयो । अर्कोतिर लाहुरेले दाइभाउजूले उनीप्रति गरेको वात्सल्यबारे एक थोपा न आदर देखाए न त मायानै ।


“पुर्खौली घर र नजिकको उवाबारी म किन्छा । अरू तैले जे गर्ने गर ।” नुर्बुले अन्तिममा भने । पुर्खाको रगत र पसिना त्यहाँ पोखिएकोमात्र कहाँ हो र आफ्नो आधा जीवन पनि त्यहीँ बितेकोले नुर्बुको त्यो घरसँग भावना, माया, रगत र पुर्खाको नाता जोडिएको थियो ।


लाहुरे र बुहारीले थोरै–थोरै गर्दै सामान गोर्खा पु¥याए । उता घर बनाउन थालेको समाचार नुर्बुले पनि चाल पाए । भाइले चारवटा घडेरी र एक रोपनी खेत किनेको कुरा उनलाई गाउँले दाजुभाइले सुनाएका थिए ।
गोर्खा बजारदेखि एक किलोमिटर पश्चिम पाखोमा लाहुरेले चार कोठाको घर बनाए, जुन अहिले मुख्य बजारनै बनेको छ । छोराछोरी सबैलाई स्कुल भर्ना गरे । उनको पेन्सन आउथ्यो । सेनाको अनुभव भएकाले नेपाल वैंकमा गार्डको जागिर पनि पाए । त्यहाँबाट पनि उपदान लिए । नपढेकै कारण आपूm सिपाहीमात्र भएकोमा लाहुरेलाई ठूलो पछुतो थियो । त्यसैले उनले सन्तानलाई उच्च शिक्षा दिन चाहन्थे जुन अवसर नुर्बुका सन्तानले पाएका थिएनन् । तर लाहुरेले टाउको फुट्ने गरी कोशिसा गर्दा पनि सन्तानले उच्च शिक्षा हासिल गर्न र जागिर खान सकेनन् । त्यसमा लाहुरे खिन्न भए । लाहुरेको परिवारलाई खानबस्न, घर व्यवहार चलाउन, नयाँ सामान किन्न कहिल्यै अपुग भएन । सबैले चाहे अनुसार खर्च गर्थे । आम्दाननिभन्दा खर्च बढ्दै गयो । सेनामा हुँदाको कमाई, सामा गाउँबाट ल्याएको रकमले उनले जग्गा थपेका थिए । तर छोराछोरीको पढाई र बिहेवारी गर्दा उनले जग्गा बेचे । बेच्ने क्रम रोकिएन । कमाईमा थपिदिने कोही भएनन् । गाउँलेको भनाईमा उनले प्रगति होइन कि दाजुप्रति गरेको निस्ठूर र अन्यायपूर्ण व्यवहारले उनको आर्थिक अवस्था खस्कँदै गएको थियो । सत्तरी वर्षको उमेरमा लाहुरेको देहान्त हुँदा, उनीसँग चालिस वर्ष पहिले दाइ नुर्बुले थाह नपावस भन्दै बनाएको पुरानो एक घरमात्र बाँचेको थियो रे’ !


खेत र घडेरी बेचेर खाई सकेपछि मात्र लाहुरे झल्यास्स भए । लाहुरेले आफ्ना केही मित्रसँग “मैले मेरो बाबुजस्तो दाइमाथि अन्याय ग¥यो । दाइभाउजूको मायालाई मैले जवानी, जागिर र पैसाको उन्मादमा वास्ता गरेना । त्यसैले म ओरालो लाग्यो । आज मैले दाइ र भाउजूको त्यो निस्छल माया झलझली सम्झेको छु ” भन्थे ।
भाइले अंश लिएर गोर्खा झरेपछि नुर्बु दुई वर्ष अभावको भुँमरीमा रन्फनिए । उनी अत्तालिए । आफ्नो भनेको को हो ? त्यसको व्याख्या गर्न सजिलो छैन । एक्काईसौँ शताब्दीको चरित्र हेर्ने हो भने त आफन्त भनेको मोबाईल मात्रै हो कि ? कोभिड –१९ महामारीको बेला आफन्त को भयो त ? आफन्त विरामी हुँदा नजिक कोही पनि गएनन्, रोग सर्छ भनेर । सन्तान आफन्त हुन् भनौँ भने मातापिताको लास उठाउन पनि त आउन सकेका छैनन्, विदेसिएकाहरू । स्वदेशमै भएका सन्तानले असक्त आमाबालाई बृद्धाश्रममा छोडेर आपूm क्याफेतिर छिरेका पनि त छन् । दुई मुटुलाई एक बनाएर हिँडेका प्रेमीप्रेमिका कति चाँडै नदीका दुई किनार भएका छन् । प्रेम, आज व्यापारमा परिणत भएको छ । अनुशासनमा न प्रेम छ, न प्रेममा मायाको स्पर्श र लालित्य । त्यसैले तीर्खा लागेको बेला जस्ले पानी दिन्छ, शायद त्यसबेला त्यही आफन्त हो । एक्काईसौँ शताब्दी पनि मायाको युग हुन सकेन ।


आफ्नो मुटुको टुक्रै सरह माया गर्दै काँधमा बोकेर लेकबेँसी गर्दै हुर्काएर लाहुरे बनाएको भाइले एक्कासी अंशको कुरा उठाएर लत्ताकपडा, भाडाकुँडा र दाउरासमेत आधाआधा गर्दा नुर्बुको हृ्दयमा पाप्रो नबस्ने गरी घाउ बस्यो । उनले भन्थे – “लार्के हिमाल र हिउँ जसरी युगौँदेखिसँगसँगै बस्छा त्यसैगरी हामी दुई भाइ नमरेसम्म सँगै बस्छा । बरु सामा ताल (हाल विरेन्द्र ताल)को पानी सुक्छा तर हाम्रो माया सुक्दैना ।” अति माया र अति विश्वासमा धोका हुँदा मान्छे मर्माहत हुन्छ, त्यो स्वभाविक हो । नुर्बुलाई त्यस्तै भयो । एक महिना उनी घरमै बसेर दाउरा काट्ने र चाङ् लगाउने काम गरे । पुर्खादेखि जम्मा गरि राखेको दाउराको चाङ् नुर्बुको पालामा झन उँचो भएको थियो । उहिले पहाडमा धानको टौवा हेरेर छोरी दिने चलन थियो । हिमाली गाउँमा अहिले पनि कस्को घरमा कति पुस्ता पुरानो दाउराको चाङ् छ, भन्ने हेरेर त्यो घरको स्तर निर्धारण गरिन्छ ।


आपूmले प्रत्येक वर्ष थप्दै गएको दाउराको चाङ खलबलिएन मात्र भत्क्यो र आधा भयो । उनको हृ्दय भित्रको मायाको चाङ पनि नराम्ररी खलबलियो, भत्क्यो, टुक्राटुक्रा भयो । भेडाको बथान बाडियो । याक र चौरीको आँगन पनि बाँडियो । लाहुरेको भागमा परेका भेडा र चौरीले नुर्बु वरपर गर्दा म्याँम्याँ गर्दै, बाँ –बाँ गर्दै पुच्छर हल्लाउँथे । कतिको आँखाबाट त आँशु झरेको पनि देखिन्थ्यो । ती त पशु न हुन्, तीनको मायालाई नुर्बुले पहिलेझैँ मुसार्दै सम्बोधन गर्थे र अनायस मनास्लुको दुई चुचुरातिर हेर्दै फतफताउथे –


“पशुको जति इमान र माया मान्छेमा नहुने रहेछा । मान्छे भए पछि मर्नु पर्छ भन्ने किन हेक्का नराखेको होला हँ मान्छेले ? जवान बुढो हुन्छा, बुढो मर्छा किन सोच्दैना हँ मान्छे ?”
गाउँलेले “नुर्बुले भाइबुहारीलाई अति माया गरो । भाइको लागि नुर्बुले जति माया गर्थे उनले आफ्नो सन्तानलाई गरेना । भाइलाई बृटिसको लाहुरे बनाउने रहरमा उनी लार्के भन्ज्याङ पार गरेर लाहुरे भेट्न लमजुङ पुग्यो । याक र चौरी सस्तैमा बेचेर तीन पटक गोरखपुर पठायो । लाहुरे भए पछि लार्के हिमाल हाँसेझँै हाँस्यो । उ हाँस्दा नुब्रीनै उज्यालो हुन्थ्यो तर भाइले उनको छातीमा सेनाले शत्रुलाई बुटले कुल्चेझैँ कुल्च्यो । नुर्बुले कमाएको सबै छानेर आधा पारेर लग्यो । आपूmले कमाएको सम्पत्ति भने लुकायो । दाइलाई धोका दियो । धोका दिनेलाई राम्रो हुदैना ।” भनेको नुर्बुले सुने ।
‘पिर मानेर पेट भरिदैना’ भन्ने कुरा नुर्बुलाई उनका बाबुले सिकाएका थिए । छुट्टिदाको वर्ष त नुर्बुलाई आफ्नो बारीले पनि माया मा¥यो । मंसिरमा हिउँ परेन । फागुन हिमपात बढि भयो । उब्जनिनै भएन । त्यही वर्ष याक,चौरी र भेडा हिमपहिरोमा परे । बाँच्नको लागि एक चौरी बेचे । अर्को वर्ष दसवटा भेडा पनि बेचे । जाँगर नभएर हो, लेकमा जडिबुटी नउम्रेर हो, उमेर ढल्केर हो, वा मन अशान्त भएर हो लगातार दुई वर्ष नुर्बुको आम्दानी खस्कँदै गयो, जेठको घाममा गोर्खा र बुद्ध हिमालको हिउँ खस्कँदै झरेझैँ ।


नुर्बुलाई साच्चिकै नपत्याउँदो दुःख प¥यो । पहिले गाउँलेलाई संकट परेको बेला अनाज दिएर भरथेग गर्ने नुर्बु आज आफै खान नपुग्ने अवस्थामा पुगे । घर्कँदो उमेरमा मकै र गहुँको पिठो आरूघाट बजारबाट बोकेर ल्याउन बाध्य भए । त्यो अवस्था देख्दा गाउँलेका आँखा नरसाएका होइनन् । दुई छाक खान नपुग्ने दिन भोग्नुनै उनको जीवनको सबैभन्दा पिडादायक दिन बन्यो । गाउँलेले मात्र कहाँ हो र ? भारी बोकेर उकालो चढदै गर्दा उनको मनमा यस्तो लाग्यो कि बूढीगण्डकीका प्रत्येक छालले उनलाई ‘ए नुर्बु तैले पनि भारी बोक्न प¥यो हैन ?’ भनेझैँ सुने । मनास्लु हिमालले –‘नुर्बु जीवन भनेको त्यही बूूढीगण्डकीको छाल जस्तै हो, पछारिन पर्छ, अनि बग्नु पर्छ, पिर नमान । दुःख पछि सुख हुन्छ ।’ भनेको आवाज पहरामा ठोकिएझैँ लाग्यो ।


अनि पसीना पुछ्दै फेरि सोच्थे – “अब सुख ता के होला र ? मरे पछि ! मरे पछि ता कसरी थाह हुन्छा र ? अर्को जन्म भन्ने कुरो त संसार भुलाउने भ्रम न हो । बाँचुन्जेल चौरी र भेडा खेद्दै, हिमाल र बुकी पाटन हेर्दै दुई छाक स्याक्पा खान पाए पुगो ।”
आरूघाट जाँदा उनका साथीभाइले नुर्बुलाई भाइको गोर्खामा भएको जग्गा दावा गर्न नभनेका होइनन् । नुर्बुले त्यसबारे बेवास्ता गरे । भाइले धोका दियो भन्दैमा मूर्ख भएर ती लालाबालासँग किन शत्रुता गर्ने भनेर उनले गोर्खाको जग्गाको लोभ गरेनन् । त्यो उनको महानता थियो । छोराछोरीले पनि ‘भैगो काकाकाकीसँग किन झगडा गर्ने । पाखुरा बलिया छन्, मेहनत गरेर काम गरे पछि खान पुगि हाल्छ ।’ भनेर बाबुलाई बल दिए ।
उनले आँशुलाई पसीना, निरासालाई बलमा परिणत गरे । फुटेको, चर्केको, चुँडेको हृ्दयलाई उनले बूढीगण्डकी छेउका बलिया काला चट्टानझैँ बलियो पारे । उनी रून छोडे । पत्नि दिकीलाई पनि नरुन भने ।


त्यो दिन उनी उनको घर छेउको साम्दो, लार्के र मनास्लु हिमाल हाँसेझै हाँसेका थिए, जुन दिन उनको छोराले पुर्खौली घर र घरबारी लाहुरे काकाबाट किनेर नुर्बुको नाममा राजिनामा पास गरिदिएका थिए । वर्खामा पग्लेको हिमालचुली र मनास्लुको हिउँ शिशिर ऋतुपछि क्रमशः चुलिँदै गए झैँ उनको घरमा पनि छुट्टिए पछि आधा भएको घर पूर्ण हुँदै गयो । दाउराको चाङ पहिले जत्रै भयो । भेडाको बथान र चौरी पनि पहिले जति भए । उमेर बढ्दै गए तापनि उनको शरीरमा जाँगर मनमा उत्साह थपिएकोमा गाउँले छक्कै परे । छुट्टिएको पाँचै वर्षमा बुढ्यौलीको अगगन्ती रेखा परेको उनको अनुहारमा पूर्णिमाको रातमा जुनमा देखिने गम्भिर तर उज्यालो चमक देखिए झैँ चमक देखिन थाल्यो । दुई छाक खानकै लागि अब उनलाई आरूघाट झर्न पर्दैन्थ्यो । जेठो छोराले आरूघाटमा घर बनाएको थियो । कान्छोले नुर्बुको चौरी र घर हेरेको थियो । छोरीतिरका नातिनातिनी सबै सरकारी जागिरमा थिए ।


दुःख र सुख भनेको ऋतु जस्तै हो परिवर्तन भइरहन्छ भन्ने कुरा नुर्बुलाई जति कस्लाई थाह होला र ? नुर्बु दुःखलाई सुखमा परिणत गरेर पुस–माघको मनास्लु हिमाल हाँसेझैँ हाँसेका थिए । बुढ्यौलीले छोए पनि उनी सन्तुष्ट थिए ।
त्यसरी सुख र सन्तोषको सास फेर्दै गरेको बखत भाइ लाहुरे सिकिस्त छ भन्ने खवर नुर्बुले पाए । त्यसबेला उनी पचासी वर्षका थिए । गाउँलेको साथ लागेर कतै घोडामा, कतै बोकिएर नुर्बु गोर्खा झरे । दाइ नुर्बुलाई देख्नासाथ लाहुरे धेरै बेर भक्कानिएर रोए । दाइ नुर्बुको हात समातेर माफि माग्दै भने – “भाउजूलाई किन नल्याएको दाई ? मलाई भाउजूसँग माफ माग्नु छ । भाउजूको काखमा मेरो टाउको राखेर डाको छोडेर रुन मन छ दाई । भाउजूले मलाई छोरालाई भन्दा बढि माया गरिन् तर मैले त्यही भाउजूलाई भोकै रुवाएर सुख काट्न यहाँ आए । त्यही भाउजूको गाँस काटेर मैले खाएँ तर मैले कमाएको सम्पत्ति लुकाएर भाउजूलाई देखाइनँ । म पापी भएँ दाइ । भाउजूले मलाई माफी गरुन् दाइ । मैले लुकाएर राखेको सम्पत्ति सबै स्वाहा भयो । सन्तानले पनि मैले कल्पे जसरी प्रगति गरेनन् । मैले पाप गरे दाइ । मलाई माफ गर है ।”


समयले नेटो काटेको थियो । अंश बाडेको पनि पैतिस वर्ष भैसकेको थियो । नुर्बुले धेरै कालखण्ड पार गरेका थिए । नुर्बुको चट्टान बनेको हृ्दय लाहुरेको आँशु देखेर हिउँ जस्तै कमलो भयो । आखिर भाइ न थियो । उनका सुकेका आँशुका नसा पनि रसाए । अन्तिममा नुर्बुले सम्झाउँदै भने – “अंशको कुरा पुरानो भयो । मैले त बिर्सी सक्यो । भाउजूले पनि भुल्यो । हामी त हिमालमै रमाएको छा । पुरानो कुरा बिर्सीदे । अस्पतालमा छा, अब राम्रो हुन्छा ।”
लाहुरेलाई सन्चो भएन । नुर्बुलाई भेटेको भोलिपल्ट साँझ आठबजे लाहुरे सधैको लागि दाइ र आफ्नो परिवारसँग विदा भए । गोर्खामै लाहुरेको दाह संस्कार गरेर नुर्बु सामागाउँनै फर्के । असोज १, २०७९

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s