धन्यवाद सहित साभारः जनमत कथा (कथासङ्ग्रह) –२०७९

धर्मध्वजको मृत्यु भएको तीन वर्षपछि मात्र उनको परिचय खुलेको थियो । उनको पैतृक थलो बाग्लुङको बलेवा रहेछ । धेरै पहिले उनका पुर्खा बसाइँ सरेर बर्दियाको गुलेरियामा बसोबास गरेका रहेछन् । उनका पिता हनुमाननाथ गुलेरियामा जन्मेका थिए । हनुमाननाथले बाग्लुङदेखि सुर्खेत र त्यसपछि गुलेरियामा नै बसोबास गरेको बाहुन परिवारमा जन्मेकी कन्यासँग बिहे गरेका थिए । उनी असाध्यै हलुका, सहयोगी, फुर्तिलो, बोलक्कड तर अनपढ किसान थिए । उनकी श्रीमतीको स्वभाव धेरै नबोल्ने तर भित्रभित्रै वmुरा काटेर आफ्नै र आफन्तको परिवार ध्वंस पार्ने खालको थियो । उनले देवर र नन्दको घरसमेत भताभुङ्ग पारेकी थिइन् ।
हनुमाननाथका दुई छोरा र दुई छोरी थिए । जेठा छोरा धर्मध्वज थिए । कान्छा छोरा घरमा सुतेका वेला सर्पले टोकेर पन्ध्र वर्षको उमेरमा मरेका थिए । त्यस घरमा पढेलेखेको, जान्ने बुझ्ने जेठो छोरो धर्मध्वज थिए । उनी चलाख, मीठो बोल्ने, बाबुजस्तै गफ गर्न जान्ने, आकाशपातालका कुरा गरेर साथीभाइलाई मख्ख पार्ने खुबीका थिए । पहिलोपटक झ्वाट्ट देख्दा गाउँघरका युवतीले छ्या भन्ने खालका थिएनन् । अग्लो, गहुँगोरोभन्दा सामान्य बढी गोरो, आँखा केही ठूला भए तापनि देब्रे आँखा नपत्याउँदो गरी सानो थियो । नाक भने दाम्लो बाँध्न मिल्ने अग्लो र लामो थियो । सानोमा स्कुलमा ‘ऊ… डेरे आयो, ऊ… डेरे आयो, अब गफ सुन्नुपर्छ’ भन्थे उनका दौँतरीहरूले गुलेरियामा । त्यसैगरी दाहिने खुट्टा थाहा नपाइने गरी खोच्याउँथे तर सरासर सामान्य रूपमा हेर्दा त्यस्तो खोट केही थिएन, आकर्षक देखिन्थे ।
सानैदेखि भगवान्प्रति उनले ठूलो आस्था भएको स्वाङ पार्थे । केटीप्रति आसक्त थिए । “बुझिस् रोशन, म ठूलो भएपछि पशुपतिनाथ र बाग्लुङ कालिका जान्छु अनि भगवान् शिव र बाग्लुङ कालिकालाई ढोग्छु र बोराका बोरा पैसा कमाउँछु । म जसरी पनि धनी मान्छे हुन्छु, जागिरे केटी बिहे गर्छु, बुझिस्” भन्दै साथीहरूसँग गफ हाँक्थे । बाटोमा कुनै ढुङ्गामा रातो टीका देख्यो भने पनि उनले ढोग्थे तर व्यवहारमा फेरि कहिल्यै साँचो बोल्दैनथे । उनले गुलेरियाबाट नै एस.एल.सी गरे । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसबाट उनले नेपाली विषय लिएर बी.ए. अध्ययन गर्दागर्दै प्रेमकाण्डले बीचमै पढाइ छोड्न बाध्य भए ।
रीताले उनकी आमाले नेपालगन्ज बी.ए. पहिलो वर्ष पढ्न जाने वेला सबै परिवारसँगै भएको वेला भनेको कुरा सम्झिरहन्थिन् “हेर छोरी, अझै पनि हाम्रो मध्यपश्चिममा पोखरा, बागलुङतिर जस्तो छोरीलाई पढाउने चलन छैन । हाम्रोमा घरमा तेरो बाबाले पनि पढेको, मैले पनि दश कक्षा पास गरेको हुनाले तँलाई बी.ए.सम्म पढाउने योजना गरेका हौँ । तँलाई माग्न धेरैतिरबाट राम्रो कुल र खानदान मिल्दो, शिक्षित, शिष्ट र चिनेजानेको परिवारबाट आएका छन् । हामीले बी.ए.सम्म पास गरोस् अनि गराँैला भनेका छौँ । होसियार हुनू । नेपालगन्ज ठूलो बजार हो । धनी–गरीब, राम्रा–नराम्रा, इमानदार–ठगजस्तो केटा पनि भेटिन्छन् । कुनै केटा मन प¥यो भने पनि आफ्नो बिटुलो नहुनु, वचन नदिनू, मलाई भन्नू । हामी सबै कुरा बुझेर तैँले नै मन पराएको केटासँग बिहे गरिदिउँला । आफै कुनै निर्णय नलिनू । लिइस् भने त्यो तेरो निर्णय हुनेछ । तेरो गल्तीमा हामी सहभागी हुने छैनौँ । तँलाई उच्च शिक्षा दिनु हामीले सही संस्कार नदिएको भन्न नपरोस् । पढ्न दिन्छौँ तर अराजक हुन र हाम्रो सांस्कृतिक र पारिवारिक मर्यादा विपरीत हुन दिने छैनौँ । नारी अब आफ्नो खुट्टामा उभिनुपर्छ, लोग्नेको मात्र भर पर्ने होइन तर मर्यादामा रहेर ।”
सोमबार नेपालगन्जको वागेश्वरी मन्दिरमा बढी भीड थियो । रीता पूजाको थाली लिएर दर्शन गर्न उभिएकी थिइन् । पुरुष उभिएतिर धर्मध्वज पनि उभिएका रहेछन्, उनले पछिमात्र थाहा पाइन् । पूजा गरिसकेपछि धर्मध्वजले “रीता ! तिमीलाई हतार छैन भने थोरथोरै रावडी र एक–एक कप चिया पिऔँ न” भनेर प्रस्ताव राखे । रीताले पनि कलेजको साथी भएकाले नाइँनास्ती गरिनन् ।
दुवैले पहिले रावडी खाए । त्यसैवेला धर्मध्वजले भने “हेर न रीता, म त हरेक दिन बिहान स्नान गरेर केही बेर घरै गीता पाठ गर्छु । त्यसपछि वागेश्वरीको दर्शन गरेर मात्र चिया पिउँछु । सबै कुरा भगवान्को देन हो । भगवान्को पाठ र पूजा नगरी म केही गर्दिनँ । मैले आजसम्म चुरोट, खैनी, रक्सीको त कुरै नगरौँ पानसमेत खाएको छैन । किन–किन तिमीलाई देखेपछि केही भन्न र बोल्न मन लाग्छ । त्यसैले आज चिया खाऊँ भनेको हुँ । साह्रै खुसी लाग्यो ।”
“मलाई पनि तिमीलाई मन्दिरमा भेट्दा खुसी लाग्यो ।” रीताले सामान्य रूपमा जवाफ दिइन् र उनीहरू त्यहाँबाट बिदा भए ।
एक दिन रिमरिम साँझ पर्न थालेको थियो । रीता र उनको साथी भएर कोठातिर जाँदै थिए । नेपालगन्ज छाप्रो रेष्टुरेन्ट एन्ड बार बाटोमा पर्दथ्यो । बाहिर चौरमा बसेर तास, बियर, रक्सी खानेहरूको जहिलेसुकै भीड हुन्थ्यो । बाटो छेउको गोलो टेबलमा दुईजना केटा र दुईटी केटी बियरसहित खाजा खाँदै थिए । एउटा चर्को स्वरमा बोल्ने केटाको आवाज आपूmले कतै सुनेको परिचितजस्तो लागेकाले रीता होसियार हुँदै पाइला चालिन् । उनको अन्दाज ठीक रहेछ । त्यसमध्येको एकजना केटा धर्मध्वज थिए, जो बियरले मात्तिएर लठ्ठ परेका थिए ।
रीता आश्चर्यमा परिन् । उनको अनुहारमा आक्रोशसहित मलिनताले घर ग¥यो । उनले आमाले भनेको सम्झिन् । धर्मध्वजले उनलाई धेरै पटक प्रेमको प्रस्ताव राखेका थिए । भित्रभित्रै उनले पनि मन पराउन थालेकी थिइन् । वागेश्वरी मन्दिरमा भेटेको दिनदेखि त उनी अलि नजिक भएकी थिइन् । एक दिन धर्मध्वजले उनलाई भनेका थिए – “रीता ! म भगवान् र धर्ममा आस्था राख्ने मान्छे हुँ । म साँचो र सत्य बोल्छु । मैले आजसम्म नराम्रो गरेको छैन । वागेश्वरी दुर्गामाताको आशीर्वाद भए मलाई पुग्छ । गुलेरियामा दश बिगाहा जमिन छ । खान पुग्छ । जीवनमा पैसा कमाएर महङ्गो गाडी किन्ने मन छ । यहाँ बी.ए. पास गरेपछि काठमाडौँ जाने योजना गरेको छु ।”
तीन–चार पटक रीताले भेटेकी थिइन् । विस्तारै रीताको हृदयमा धर्मध्वज अङ्कुराउन थालेका थिए । त्यसैले उनले धर्मध्वजको गुलेरियाको ठेगाना र आमाबाबुको नाम, थर मागेर सुर्खेतमा आमालाई पठाउन खोजेकी थिइन् । धर्मध्वजलाई त्यो साँझ देखेपछि रीता एकाएक अग्लो भीरबाट लड्दैलड्दै खोलाको गहिरो भुँवरीमा छम्लङ्ग परेजस्तो गरी झसङ्ग झस्केकी थिइन् । उनको शरीर थर्थरी कामेको थियो । धर्मध्वजलाई त्यो बियर पिएर युवतीसँग रल्लिएको देखेपछि उनी साँच्चिकै अग्लो भीरबाट दस बल्ड्याङ खाँदै खोलामा खसेजस्तै भइन् तर त्यस्तो ढोँगी, महाठग एवम् महाधूर्तबाट त्यसरी नै जीवनको लामो यात्रामा भीरदेखि पछारिनबाट जोगिएकोमा आफैलाई धन्य ठानिन् ।
धर्मध्वज आफ्नै संसारमा थिए । उनी रीतालाई पट्याउन सकेकोमा मग्न थिए । सदाको झैँ सोमबार रीता वागेश्वरीमा पूजा गरेर कोठातिर फर्कंदै थिइन् । धर्मध्वज पनि मन्दिरबाट फर्कंदै थिए । उनले रीतालाई देखेपछि भने – “रीता ! आज पनि चिया पिउन जाऊँ न है ।”
“भैहाल्छ नि !” रीताले स्वीकृति जनाइन् ।
पहिलेझैँ उनीहरू रेस्टुराँमा छिरे । त्यो दिन रीताले कुनै अवरोधविना चिया पिउने प्रस्ताव स्वीकार गरेकोमा माछी जालमा फँसी भन्ने विश्वासमा उनी बढी हौसिएका थिए । उनले त्यो दिन दूधवरी र चिया मगाए । दूधवरी खाइसकेपछि धर्मध्वजले एक सुर्की चिया पिउँदै वेटरसँग थप चिनी मागेर चियामा हाले । त्यसपछि बडो आत्मविश्वासका साथ रीतालाई भने – “रीता ! मलाई धेरै दिनदेखि तिमीलाई एउटा कुरा भन्न मन लागेको थियो, स्वीकृति दिन्छ्यौ भने भन्न चाहन्छु ।”
उनले प्रेमको नाटक त गरेकै थिए । अरू के नै होला र ! भन्दै रीताले – “भन न, भन्नै नहुने के हुन्छ र !” भनिन् ।
उनले फेरि अर्को सुर्की चिया पिएर कपाल मिलाए । खल्तीमा भएको रेवनको चस्मा निकालेर टेबलमा राखे । चस्मा लगाए र रीतालाई हेरे । उनको आत्मविश्वास झन् बलियो भएर आयो किनभने रीताको अनुहारमा आक्रोशको कुनै रेखा देखिएको थिएन बरू धर्मध्वजको कन्चटमा हलुका पसिना उत्रेको थियो । उनले चस्मा टेबलमा राख्दै भने – “रीता ! म तिमीलाई साँचो प्रेम गर्छु । यदि म पनि तिम्रो हृदयमा अङ्कुराउन थालेको छु भने बी.ए.दोस्रो वर्ष सकिएपछि म तिमीसँग बिहे गर्न चाहन्छु ।”
रीताले पनि एक सुर्की चिया पिइन् । तातो चियाको गिलास उनको टाउकोमा बजार्दै उनलाई तँ ढोँगी, ठग, फटाहा, चण्डाल भन्न मन गरेकी थिइन् तर उनी एक शिक्षित र परिपक्व युवती भएकीले संयमित हुँदै भनिन् – “तिमीले मलाई प्रेमको प्रस्ताव त राख्यौँ । के तिमीले मलाई भन्न सक्छौ मजस्ता केटीसँग तिमीले गरेको यो कतिऔँ प्रेम प्रस्ताव हो ?”
तब धर्मध्वज रातोपिरो भए । आफ्नो आनीबानी रीताले चाल पाइन् भन्ने उनले अनुमान गरे । कम्तीमा पनि गुलेरियाको घटना थाहा नपाएको भए हुन्थ्यो भन्ने उनले सोचे । आपूmलाई सम्हाल्ने प्रयास गर्दै टेबलमा राखेको चस्मा लगाउँदै अक्मकिँदै एकै सासमा भने – “तिमीले के भन्न खोजेको ? मैले त कुरै बुझिनँ नि ! सत्यसत्य, धरोधर्म, वागेश्वरीले नास गरून्, पशुपतिनाथको कसम, भगवान् कसम, मेरो बाबाको कसम मैले तिमीलाई बाहेक कसैलाई प्रेम गरेको छैन ।”
ढोँगको सीमा हुन्छ वा हुँदैन भन्ने रीतालाई थाहा थिएन तर उनको धुत्र्याइँ देखेपछि रीताको आक्रोश चुलिएर आयो तर उनले आफ्नो अनुहार र आवाजमा एक रत्ति पनि आवेग आउन नदिईकन भनिन् – “धर्मध्वज ! सम्पत्ति र रूपको धाक लगाउँदै सिधासाधा केटीहरूलाई माया, प्रेमको नाटक गर्दै नारीको अस्मिता लुटेर मोज गर्न खोज्ने तँ चण्डाल होस् । तँ धोकेबाज, ठग, ढँटुवा, धुताहा, लुटाहा, पापी र ढोँगी होस् । तँजस्ता चण्डालसँग मैले प्रेम गर्छु भन्ने ठानेको थिइस् । म शिक्षित र संस्कारयुक्त परिवारकी चेली हुँ । तँजस्तो ठग र धूर्त परिवारकी सन्तान म होइन । तैँले मजस्ता कति चेलीलाई यसैगरी लोभ, मोह, प्रेम, धन, भगवान्, धाक र रवाफ देखाएर यौनशोषण गरिस् । ढिलोचाँडो जुन दिन सत्य बाहिर आउनेछ त्यो दिन तँजस्ता ढाँटलाई कालोमोसो र जुताको माला लगाएर नेपालगन्जको बसपार्कमा नघुमाएसम्म तँजस्ताको मति सुध्रँदैन बुझिस् ।”
“सत्यसत्य धरोधर्म । वागेश्वरीले मलाई भस्म गरून् । मैले जीवनमा कहिल्यै कुनै केटीलाई धोका दिएको छैन र प्रेमको प्रस्ताव पनि राखेको छैन । तिमीले विश्वास गर्दिनौ भने म वागेश्वरी भाक्न पनि तयार छु । कृपया मलाई त्यस्तो असत्य, ढोँगी र चण्डालको आरोप नलगाऊ । म तिमीलाई ढोग्न पनि तयार छु” भन्दै आँसु तपक्कै चुहाए ।
रीताले नेपालगन्जको रेस्टुराँमा नगरवधूसँग रक्सी पिउँदै रल्लिएको, कलेजका राम्रा देखिने केटीहरूलाई प्रेमको प्रस्ताव राखेको र गुलेरियामा घटेको घटना पनि भनिन् ।
गुलेरिया भनेपछि उनी झस्किए । त्यसपछि उनी साँच्चिकै रीताको खुट्टा समाउन पुगे । “वागेश्वरी देवीकी कसम तिमीले जे भन्छ्यौ त्यो मान्न तयार छु । तिमीलाई आजीवन बहिनी बनाउन म तयार छु । भोलि नै म क्याम्पस छोडेर यहाँबाट हिँड्न तयार छु तर गुलेरियाको कुरा यहाँ नउठाइदेऊ । मेरो जीवन बर्बाद हुन्छ । म नाश हुन्छु । तिमीसँग गरेको कुरा मैले कसैलाई भन्ने छैन । वागेश्वरीको कसम मैले आजैदेखि कुनै युवतीलाई नराम्रो दृष्टि लगाउने छैन । मलाई माफ गरिदेऊ” भन्दै गिडगिडायो ।
गुलेरियाको आफ्नो घरमा पश्चिमकै एक गरीब घर्ती परिवारकी महिला उनको घरमा काम गर्न आउँथिन् । कहिलेकाहीँ नभ्याउँदा ती महिलाले आफ्नी चौध वर्षमात्र टेकेकी छोरीलाई काम गर्न पठाउँथिन् । त्यस्तै मौका पारेर त्यो केटीलाई धर्मध्वजले फँसाइहाले र तिनको मासिक धर्म रोकिएको कुरा उनले आफ्नी आमालाई भनीन् । त्यो कुरा धर्मध्वजको परिवारमा पुग्यो । धर्मध्वजको बाबुले छोराको गल्तीलाई ढाकछोप गर्न धेरै प्रयास गरे । कन्याले पेट बोकिसकेको हुनाले उनले बिहे गर्नुपर्ने कुरा दह्रोसँग राखे । धर्मध्वजका पिता हनुमाननाथको त्यहाँ जे भए पनि आफ्नै प्रकारको इज्जत थियो । त्यसलाई बचाउन उनले त्यो कन्याको आमा, बाबु र मामालाई घरमा बोलाएर पाँच कठ्ठा जग्गा उनीहरूलाई दिने, कन्यालाई पुनः कन्यासरह पवित्र बनाउने सहमति गरेका थिए ।
त्यस वेला त्यो घर्ती कन्याकी आमाले भनेकी थिइन् – “मालिक पुर्खौंदेखि हामीले तिम्रो पुर्खाको डोला बोक्दै आएका हौँ । हामीलाई यहाँ ल्याउने पनि तिम्रै पुर्खा हुन् । तिम्री मालिक्नी हामीलाई जनावरलाई जस्तो व्यवहार गर्छिन् । तिनमा आमाको गुण छैन । तिमीले तिम्रो छोराको लगाम खिचेनौ भने एक दिन तिम्रो छोराले तिम्रो त जीवन बिल्लीबाँठ पार्छपार्छ तिम्रो वंश पनि म नमर्दै नाश हुनेछ, किनभने मैले मेरी छोरीको पहिलो गर्भ तुहाउँदै छु । तिमी बाबु, छोरा र आमा ढोँगी हौ, चण्डाल हौ । भगवान्को नाममा घरभित्र घण्टी बजाउँछौ तर तिम्रो हृदयभित्र पापको कालो ओडार बसेको रहेको छ । तिमी एक दिन त्यही ओडारभित्र पुरिएर नासिनेछौ ।” घर्तिनी आमाले त्यो परिवारको भविष्यको रेखा कोरिदिएकी थिइन्, जुन कुनै ज्योतिषीले भन्न सक्दैनथ्यो ।
पाँच कठ्ठा जग्गा छोरीको नाममा पास गरेर आएको दिन हनुमाननाथ पनि उनीहरूसँगै घर्तीको घरको बाटो भएर गएका थिए । चिया लिनुहोस् बाजे भन्दै उनको हृदयमा धसिएको छुरीको पीडा ओकल्दै घर्तीनी आमाले भनिन् – “मेरी छोरीको गर्भमा रहेको त्यो भ्रूण जसलाई मैले बाध्यतावश मिल्काउनेछु । हो, त्यही भ्रूण तिम्रो वंश नाश गर्ने भ्रूण हुनेछ । मेरो छोरीको जीवन पाँच कठ्ठा जमिन बराबरको होइन । कलिला नानीहरूलाई पेट बोकाउँदै एक–एक कठ्ठा जमिन दिँदै ठालु हुने जमाना गयो बाजे । पुर्खौंको सम्बन्ध अनि तिम्रोमा काम गरेर हामीले परिवार पालेको हुनाले तिमीलाई माफ गरेका हौँ । तिम्रो छोरालाई होइन । अझ तिम्रो पत्नीले त ‘मेरो छोरालाई फँसाएकी’ भनिन् । कहाँसम्मकी अपराधी छन् ती बाहुनी बज्यै । बाहिरफेर बोल्दिनन् तर भित्रभित्रै कुरा काटेर मानिसको नसा चुँडालेर रगत चुस्ने खालकी छन् । बाजे तिम्रो घरको वंशनाश गर्न उद्यत गर्ने ती बजै हुन् । छोरा र स्वास्नीलाई ठाउँमा राख्न नसक्ने तिमी घोर अपराधी, कायर र पापी हौ । तिम्रो नासको दिन शुरु भयो ।”
“अब भइहाल्यो । बाजेले छोरालाई सुधार्छु भनेका छन् ।” घर्ती बुढाले पत्नीको अक्रोशलाई मत्थर पार्न खोज्दै भने ।
घर्तीनी आमाको सामान बाजेकहाँ थियो । भोलिपल्ट सामान लिन उनी त्यहाँ पुगिन् । त्यसैवेला धर्मध्वजकी आमाले भनिन् – “मेरो छोरो असाध्यै सिधा छ । फँस्यो । बित्थामा त्यत्रो जग्गा गयो । गरीबसँग सङ्गत नगरी पनि नहुने गरे पनि यस्तै हुने ।”
“मेरी छोरीको अस्मितामाथि जङ्गली जनावरले झैँ झम्टँदै लुट्दा तिम्रो छोरोचाहिँ सिधा, केही थाहा नभएको भयो हैन बज्यै ? तिमी नै हौ तिम्रो छोरालाई उक्साउने । हेर बज्यै तिमीले धाक, धक्कु, लोभ, लालच र ढोँगी प्रवृत्ति त्यागिनौ भने तिम्रो परिवार मेरै आँखा अगाडि नाश भएर जानेछ । तिम्रो यही छोरो बौलाएर हिँड्नेछ । मेरी छोरीको अस्मिता लुट्ने तिम्रो छोराको यौनाङ्गलाई श्यालले लुछ्नेछ, बुझ्यौँ ! हामी गरीब छाँै तर पसिनाका भगवान्लाई पूजा गरेर युगयुगसम्म बाँच्छौँ । तिमीहरूको नास मेरै आँखा अगाडि हुनेछ ।” भन्दै सामान लिएर फर्किन् ।
गुलेरियाको घटनालाई हनुमाननाथको व्यवहारलाई ध्यानमा राखेर तिनीहरूले माफ गरेका थिए । हनुमाननाथको कमजोरी भनेकै महाभारतका पात्र धृतराष्ट्रले महाघमण्डी पुत्र दुर्योधनलाई अति स्नेह गरेझैँ धर्मध्वजलाई स्नेह गर्नु थियो । पुत्रको इच्छा विपरीत जान नसक्दा महाभारत कथाको युद्धमा कौरवको वंश नाश भएको थियो ।
रीताले सुर्खेतमा नै कृषि विकास बैँकमा नोकरी गर्न थालेकी थिइन् । उनका पति सुर्खेतका ख्यातिप्राप्त पत्रकार थिए । उनी एक छोरा र एक छोरीकी आमा बनिसकेकी थिइन् । नम्रता, मेहनत, आडम्बरविहीन स्वभाव, अनुशासन र सफल दाम्पत्य जीवनमा रीताको परिवार सुर्खेतमा नमुना बनेको थियो । तालिमको सिलसिलामा उनी काठमाडौँ बाहेक पाकिस्तान, स्वीट्जरल्याण्डसम्म पनि पुगेकी थिइन् ।
रीतासँगको भेटपछि धर्मध्वज कलेजमा मात्र होइन नेपालगन्ज र बर्दियामा नै देखिएनन् । त्यो वर्ष उनको परीक्षा छुट्यो । नेपालगन्जमा भएको घटना आमालाई भने पनि बाबुलाई भनेनन् । नेपालगन्जमा पढाइ राम्रो नभएकाले काठमाडौँ गएर परीक्षा दिने भन्दै हिँडे । हनुमाननाथले छोराले भनेको मात्र विश्वास गर्थे । बाबुको पैतृक सम्पत्तिमा उनले दुई बिगाहा जमिन थपेर दस बिगाहा बनाएका थिए । छोरा र आमाले के गर्दैछन् भन्ने उनले हेक्का राख्दैनथे । परीक्षा दिने वेलामा धर्मध्वज नेपालगन्ज छोडेर गुलेरिया फर्केको बारे गाउँलेले उठाएको प्रश्नलाई उनले बेवास्ता गरे । कसैले सोधे भने भनिदिन्थे – “खै ! पढेलेखेको उसैलाई त थाहा होला । मलाई के थाहा ?”
त्यो वर्ष उनले परीक्षा दिएनन् । काठमाडौँ रत्नराज्यलक्ष्मी क्याम्पसबाट तेस्रो वर्षमा दोस्रो श्रेणीमा वि.ए.पास गरे । एक वर्षसम्म त रीता र घर्तीनी आमाले भनेका कुरा सम्झेका थिए तर नानीदेखि लागेको बानी, दोस्रो वर्षदेखि उनले डिङ हाँक्न थाले, फाइँफुट्टी लगाउन थाले र धाक जमाउन थाले । धन्य हो, उनले बी.ए. पास गरी कीर्तिपुरमा राजनीतिशास्त्रमा एम.ए.मा भर्ना भए ।
कीर्तिपुरमा अध्ययन गर्दै गर्दा उनले धेरै युवतीसँग नजिकिने प्रयास नगरेको होइन तर त्यहाँ उनलाई ढोँगी र छली भनेर धेरैले छिट्टै चिने । कुनै युवतीले सौहाद्र्रपूर्ण कुरा ग¥यो भने उनले आपूmलाई माया गरेको ठान्दथे । कीर्तिपुरमा बस्दा एक पटक त्यस्तै भयो । सिक्किमबाट आएकी एकजना आङ फुटी भन्ने समाजशास्त्र दोस्रो वर्षमा अध्ययनरत छात्रा थिइन् । धर्मध्वजसँग उनले कुराकानी गर्थिन् विशुद्ध मित्रको रूपमा । एक दिन केन्द्रीय पुस्तकालय नजिकको प्राङ्गणमा उनीहरू बसिरहेका थिए । त्यस्तैमा धर्मध्वजले आफ्ना दुवै हातले फुटीको दाहिने हात समातेर आफ्नो काखमा राख्न खोजे । फुटी झस्कँदै उठिन् र सोही हातले उनको गालामा एक चड्कन दिएर कोठातिर लागिन् । गुलेरियामा ती कन्यासँग समागम गर्दा चाखेको यौनवासनालाई उनले बिर्सेका थिएनन् । डेरा कीर्तिपुरमा भए तापनि कहिलेकाहीँ उनलाई सुन्धारा, नयाँ बसपार्क र झोछेँतिर अल्लारिएर हिँडेको देख्ने पनि कम थिएनन् ।
उनले मनमनै एम.ए. गरेर जागिर खाएकी बाहुन परिवारकी युवतीसँग घरजम गर्ने सोच बनाएका थिए । ठूला गफ गरे तापनि मेहनत गरेर जागिर खान सक्ने आत्मविश्वास उनमा थिएन ।
हनुमाननाथले जेठी छोरीको विवाह गुलेरियामा नै आफ्नो जातथर मिल्नेसँग गरिदिएका थिए । धर्मध्वजकी आमाले एक दिन छोरीलाई सासूससुरासँग अंश मागेर छुट्टिएर बस्ने सल्लाह दिइन् । परिवारसँग हाँसीखुसी जीवन बिताइरहेकी छोरीलाई घर बिगार्ने सल्लाह दिएकीले छोरी कड्कँदै – “सन्तानले सुख काटेको हेर्ने भाग्य तिम्रो जीवनमा छैन । तिमी आमाको नामकी कलङ्किनी हौ । अबदेखि माइती भनेर यो घरमा कहिल्यै आउने छैन । मेरा सन्तानलाई पनि तिम्रो त्यो कलुषित अनुहार हेर्न पठाउने छैन ।” भनिन् । त्यसपछि जेठी छोरी कहिल्यै माइतीमा फर्किनन् ।
कान्छी छोरीको बानी व्यहोरा आमा र दाइसँग मिल्थ्यो । सासूससुरासँग अनाहकमा निहुँ खोजेर झगडिन्थिन् । उनी तीन वर्ष माइतीमानै बसिन् । तीन वर्षपछि कान्छी छोरीलाई लोग्नेले छोडिदिए । त्यसपछि उनको अत्तोपत्तो केही छैन । त्यति हुँदा पनि ती आमाछोराको होस नखुलेकोमा गुलेरियाका बासिन्दा बरु चिन्तित देखिन्थे ।
समझदारी, समन्वय, अनुशासन, आज्ञापालन, आदर, सम्मान, दायित्व र कर्तव्यबोधमा परिवार सञ्चालन हुने हो । अन्यथा परिवार विखण्डनतर्फ जान्छ । हनुमाननाथको परिवार विखण्डनतर्फ मोडियो । पत्नी र पुत्रविपरीत धारमा बग्दै थिए तर उनले ठाउँमा ल्याउन प्रयास गरेनन् । पुरानो संस्कारमा हुर्केका र उनका पिता नै कर्मकाण्डी भएकाले हनुमाननाथ पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्थे । कुलघरकी कन्यासँग छोराको बिहे गर्न पाए उनको मृत्युपछि पनि छोराबुहारीको तर्पणबाट परलोकको मार्ग प्रशस्त हुन्थ्यो भन्ने उनको चरम विश्वास थियो । त्यसैले धर्मध्वजले एम.ए. पास गरेपछि हनुमाननाथले सबै इष्टमित्र र कुटुम्बसँग बिहेको कुरा चलाएका थिए । वरपरका धेरै जसोले उनकी पत्नीको व्यवहारबारे शङ्का गर्थे । चिनेजानेकाहरूले त्यो घरमा छोरी दिन मान्दैनथे ।
त्यस्तै कुरा चल्दाचल्दै एउटी कन्याको कुरा आयो, उनको नाम सुलोचना थियो । उनले प्रथम श्रेणीमा अर्थशास्त्रमा एम.ए. पास गरेर पृथ्वीनारायण क्याम्पसमा अध्यापन गर्दै थिइन् । नेपाली समाज पूर्वीय परम्परा भएको समाज हो । ‘छोरीलाई धेरै पढाएको ठीक हुँदैन, बिस–बाइस वर्षभित्र छोरीको बिहे गरिदिनुपर्छ, लोग्नेको कमाइमा श्रीमती बाँच्नुपर्छ, छोरीबुहारीको काम बच्चा पाउने र घर हेर्ने हो, लोग्नेभन्दा श्रीमतीले कम पढेकी हुनुपर्छ’ भन्ने कुरा शिक्षित परिवारमा पनि व्याप्त छ । सुलोचनाको मूल घर पर्वत पाँग हो । उनका मातापिता दश वर्षदेखि पोखराको मालेपाटनमा बस्न थालेका थिए । पाँगको बारी अरूलाई कमाउन दिए तापनि खेत आफै कमाउँदै आएका थिए ।
बिहेको सन्दर्भमा धर्मध्वज काठमाडौँबाट पोखरा गए । हनुमाननाथ र उनकी पत्नी बर्दियाबाट पोखरा पुगे । एक दिन केटाकेटी र दुवै परिवारका आमाबाबु पोखराको होटल वाराहीमा भेट्ने तय भयो । विवाहको कुरो चलाउने हनुमाननाथका आफन्त पनि त्यहाँ आएका थिए । सुलोचना अठ्ठाइस वर्ष पुगेकी थिइन् । उता धर्मध्वज अठ्तीस पुगेका थिए । सुलोचनाको मनमा चौतीस वर्षसम्म भइदिएको भए हुने थियो भन्ने थियो तर पनि उमेर त्यहाँ बाधा बनेको थिएन । होटलमा नै ज्योतिषीलाई बोलाएर दुवैको चिना हेरियो ।
ज्योतिषीले भने – “केटीको ग्रहले कर्ममात्र गर्छे भन्छ । केटाको ग्रहले खानेमात्र भन्छ । पत्नीले कमाउने पतिले खाने ग्रह छ । अझै बाह्र वर्ष केटा अस्थिर हुन्छ । त्यसपछि परिवार हरिलोभरिलो हुन्छ । केटीले सासूससुरालाई सम्मान गर्नेछन् । बीचमा खटपट भइरहन्छ । केटाले पचास वर्ष काटेपछि राम्रैराम्रो छ तर त्यस वेलासम्म सङ्कट नै सङ्कट छ । ’
ज्योतिषको कुराले हनुमाननाथ खुसी भएका थिए भने धर्मध्वज र उनकी आमा भने पत्नी र बुहारीलाई खेलाएर, नचाएर, धाकधक्कु लगाएर, पेटीकोट धुन लगाएर, दबाएर राख्न पाइँदैन कि भनेर सुरुमा नै अँध्यारिएका थिए ।
केटाकेटीबीच कुराकानी पनि भयो । धर्मध्वजले पहिलेझैँ आकाश–पाताल जोड्दै पूर्णतः अन्टसन्ट गफ गर्दै भने – “मलाई पोखरा असाध्यै मनपर्छ । म पनि यतै आएर काम खोज्छु । मेरो पनि राजनीतिशास्त्रमा प्रथम श्रेणी छ । तिमीभन्दा कम कहाँ छु र ? हाम्रो सम्पत्ति, जग्गा जमिन प्रशस्तै छ । मैले पोखरामा एक वर्षभित्रै घर किन्न सक्छु ।”
केटाको कुरा सुन्दा सुलोचनाको मनमा खिन्नताले बास ग¥यो । उनले मनमनै सोचिन् – “केटो धोद्रो लागेको रूखजस्तो रहेछ । त्यस्तोसँग बिहे गर्नुभन्दा त नगर्नु नै बेस होला ।”
उनले त्यो कुरा आमा र बालाई पनि भनिन् । उनकी आमाले भनिन् – “सुलोचना, केटा हेर्दा छि ः भन्न पर्दैन । एम.ए. दोस्रो श्रेणीमा पास गरेको रहेछ । गुलेरियामा मनग्गे जग्गाजमिन रहेछ । एक बिगाहा जग्गा बेचे भने पोखरा वा बाग्लुङ बजारमा घर किन्न सक्छन् । यिनीहरूका पुर्खा बलेवा कैयाबाट बसाइँसरी गएकाले बुढाको चाहना बाग्लुङ बजारमा एउटा घर किन्नेछ । यत्रो समय यो केटा बिहे नगरी किन बस्यो ? यसबारेमा कसरी बुझ्ने ? केटाको बाबु प्यार–प्यार बोल्ने भए तापनि ठीकै छन् । बुढीको बारे भने यसै भन्न सकिएन । सबै कुरा कुँदेर ठिक्क पारेको गहनाजस्तो हँुदैन । जीवनमा उतारचढाव भइरहन्छ । विचार गर ।”
सुलोचनाका मातापिता केटाको चारित्रिक कुरामा बाहेक अन्य विषयमा प्रफुल्ल नभए तापनि छोरीको उमेरलाई ध्यान दिँदा त्यत्तिको केटा हुँदा हुन्छ भन्नेमा पुगे ।
उता धर्मध्वजको सोचाइ फरक थियो । उनको भित्री चाहना सुलोचनालाई बिहे गर्ने थियो । त्यसो गर्दा उनका पिता खुसी हुन्थे । जागिर भएकी केटी भएकीले धर्मध्वजलाई पनि पैसाको खाँचो हुने थिएन । उनी कुनै न कुनै बहाना बनाएर काठमाडौँमा नै बस्न चाहन्थे जहाँ उनकी एक प्रेमिका थिइन्, जसलाई उनले बसपार्कमा एउटा कोठा खोजेर राखेका थिए, तर ती कन्या बाहुन परिवारकी थिइनन् । त्यो कुरा उनले आफ्नी आमालाई भनेका थिए । उनकी आमा ‘लोग्ने मान्छेका दुई–तीनवटी श्रीमती हुन्छन् के भो त !’ भन्ने खालकी थिइन् जुन वर्तमान नेपाली समाजमा सहजै पत्याउन सकिने कुरा होइन ।
“केटा घमण्डी छ, सुकुलगुण्डा प्रवृत्तिको छ, ढोँगी छ र उसमा स्थिरता छैन । घरको पारिवारिक परिवेश बेठीक छ किनकि कान्छी छोरी लापत्ता छे र आमाको कारणले जेठी छोरी माइत पनि आउँदिन” भन्ने कुरा सुलोचना र उनका आमाबाबुले थाहा पाए ।
“बाहुनको छोरा हो, सामान्य परिवार हो, केटाले पढेको छ, बिहे गर्नुपर्नेछ, छोरीको उमेर भएको छ, दुःखै परे तापनि खेतीपाती गर्ने ठाउँ, बर्दियामा आफन्तसँग बुझ्दा केटाको चरित्रबारे नराम्रो सुनिएन ।” सुलोचनासमेत परिवारको निष्कर्ष त्यही थियो ।
हनुमाननाथले अनुनय–विनय गरे । बुहारीलाई कुनै कुराबाट दुःख नदिने कुरामा सुलोचनाका पितालाई विश्वास दिलाए । वास्तवमा गुलेरियाको घटनापछि धर्मध्वज सप्रेको छ भन्नेमा उनी विश्वस्त थिए । उनकी पत्नीले छोराको चर्तिकला सबै लुकाएकी थिइन् ।
सुलोचनाको पिताले मुख खोलेरै सोधे – “हजुरहरूले छोराको बिहे आजसम्म किन गर्नुभएन त ?”
त्यस वेला हनुमाननाथले भने – “कुरा नचलेको होइन । प्रस्ताव नआएको पनि होइन तर त्यसले मानेन ।”
एक महिनाको छलफलपछि सुलोचना र धर्मध्वजको बिहे हुने पक्का भयो । २०५० साल असारको ५ गते बागलुङ कालिका मन्दिरबाट बिहे भयो । माइतीतिरबाट बागलुङको होटल पिस प्यालेसमा बस्ने बन्दोवस्त मिलाएका थिए । विवाहको दिन धर्मध्वज बेचैन थिए । उनको मुहारमा खुसियालीको ठाउँमा तनाव थियो । मण्डपमा बसेर पूजा गर्दा एकातिर पूmलपाती राख्नुपर्नेमा अर्कोतिर राखेको हुन्थ्यो ।
असार ६ गते बिहान नयाँ दुलहादुलही बाग्लुङ कालिकाको दर्शन गर्न गए । बाटोमा अकस्मात रीतासँग भेट भयो । रीता एउटा तालिमको प्रशिक्षक भएर बागलुङ आएकी थिइन् । उनले धर्मध्वजलाई हेरिन्, धर्मध्वजको अनुहार आठ वर्षपहिले जस्तै थियो । उनले सुलोचनालाई कीर्तिपुरमा परीक्षा दिन जाँदा भेटेकी थिइन् । रीताले एम.ए. प्राइभेट दिएकी थिइन् ।
उनीहरूले कालिकाको दर्शन गरे । धर्मध्वजले वागेश्वरी मन्दिरमा जस्तै त्यहाँ पनि एक मिनेटसम्म आँखा चिम्म गरेर प्रार्थना गरे । उनका ठूलाठूला आँखाले वरपर हे¥यो । वास्तवमा रीतासँग त्यहाँ त्यसरी भेट होला भनेर उनले कल्पनासम्म पनि गरेका थिएनन्, भयो पनि त्यस्तै । हिँड्दाहिँड्दै एकाएक खुट्टा चिप्लिएर एउटा अग्लो छाँगोबाट खसेझैँ भएको थियो । रीताले उनी कृषि विकास बैँकको क्वाटरमा बसेको जनाएकी थिइन् ।
धर्मध्वजको परिवार दुई दिन बागलुङ बसेर त्यसपछि पोखरा जाने योजनामा थिए । असार ६ गतेका दिन दिउँसो सुलोचना सुटुक्क रीतालाई भेट्न बैँक पुगिन् ।
सुलोचना रीताकी साथी थिइनन् । उनीहरूको परिचय परीक्षा दिने वेलामा मात्र भएको थियो । एउटी विवेकशील शिक्षित महिलाको नाताले अर्की महिलालाई वैवाहिक जीवनपश्चात् कुनै अन्य विकराल समस्या नआओस् र सचेत हुन सकून् भन्ने चाहना हुनु अस्वाभाविक होइन । बेवास्ता गरे पनि जीवन त चल्छ तर सचेत पार्दा कसैको जीवन सङ्कटबाट मुक्त हुन सक्छ भने सचेत पार्नु मानवीय कर्तव्य पनि हो । त्यसैले रीताले धर्मध्वजको बारे जे जति थाहा थियो सबै भनिन् । सुलोचना एक प्राध्यापक थिइन् । मुटु भुकम्पले धाँजा फाटेको पहाडजस्तै फाटे पनि आपूmलाई सम्हाल्न सक्थिन् । समयले पारेको घटना नकार्न सकिने थिएन । असार ४ गते रीतासँग भेट हुन पाएको भए त उनी दुर्घटनामा पर्ने थिइनन् । उनी दुर्घटनाको भुमरीमा परिसकेकी थिइन् । मात्र अब उनले संयमित भएर धर्मध्वजलाई सही बाटोमा ल्याउनु थियो ।
उनले रीतालाई धन्यवाद दिइन् र बिदा भइन् ।
सुलोचनालाई हँसाइराख्ने धवलागिरि हिमालले त्यो दिन भने उनलाई चरप्पै अठ्याँयो । घटना त्यत्तिमा रोकिएन । साँझ सात बजे सुलोचनाको मोबाइलमा काठमाडौँबाट फोन आयो । फोनमा एकजना महिलाले भनिन् – “धर्मध्वजले पाँच वर्षपहिले मलाई बिहे गरेर कोठामा राखेको छ । उसकी आमालाई पनि त्यो कुरा थाहा छ । तिमी पढेकी र जागिरे भएको हुनाले त्यसले तिमीलाई फँसायो । मैले भर्खर थाहा पाएँ । मैले भनेको पत्याउँदिनौ होला । ल यी विवाहका फोटाहरू हेर !” भन्दै उनले भाइबरबाट पन्ध्रओटा विवाहका फोटाहरू पठाइदिइन् ।
रीतासँग भेट भएपछि सुलोचनाले आपूmलाई बलियो बनाएकी थिइन् । फेरि उनी एक प्राध्यापक पनि थिइन् । उनले त विद्यार्थीलाई शिक्षा पनि दिनुपर्ने थियो । त्यसैले उनले असार ६ गते नै बेलुका ससुरा, सासू र धर्मध्वजलाई सँगै राखेर गुलेरिया, नेपालगन्जमा रीतासँग भएको घटना र काठमाडौँबाट आएको फोनबारे खुलस्त कुरा राखिन् ।
धर्मध्वजले बाबु र सुलोचनासँग रुँदै चिच्याउँदै माफी माग्दै भने – “शत्रु लागेका हुन् । मैले त्यस्तो केही नराम्रो काम गरेको छैन । ती तस्वीर साथीभाइसँग वनभोज खाँदा, घुम्न जाँदा खिचेका हुन् । त्यो रीता र प्रपन्ना भन्ने को हुन् ? मैले चिनेको छैन ।”
“गुलेरियामा आफ्नै घरमा काम गर्न राखेकी घर्तीकी छोरीलाई तैँले बलात्कार गरेको कुरा मैले बिर्सेको छैन । छोराको माया र परलोक सुधार्न मैले गुलेरियामा घर्तीको पाउमा लम्पसार परेर तँ पाखण्डीलाई बचाएको थिएँ । तँ सुध्रन्नस् । तेरी आमाले तेरो लास नहेरी सुखसँग बस्दिन । तिमी आमाछोरालाई के गर्न मन छ त्यही गर । म हिडेँ । मलाई कहिल्यै बिर्सेर पनि नखोज्नू ।” छोरा र पत्नीको बारेमा हनुमाननाथले बोलेको त्यो पहिलो र अन्तिम थियो ।
त्यत्रो घटनामा धर्मध्वजकी आमा एक शब्द बोलिनन् । हनुमाननाथले सोही रात बुहारीलाई रात्रिबसमा राखेर गुलेरिया गए । भोलिपल्ट उनको नाममा भएको पाँच बिगाहा जग्गा सुलोचनाको नाममा बकस पास गरिदिए । सुलोचनाले मानेकी थिइनन् तर हनुमाननाथले सुलोचनाको बाबुसँग ‘बुहारीलाई दुःख दिने छैन’ भनी कबुल गरेको वाचालाई पूरा गर्न उनले सुलोचनालाई सम्झाइबुझाई गरी राजी गराएका थिए । त्यसपछि ससुराबुहारी भएर पोखरा पुगे । हनुमाननाथ आफ्ना सम्धीलाई भेटेर मुक्तिनाथको लागि जोमसोमको मिनिबसमा चढे ।
काठमाडौँमा बिहे गरेर कोठामा राखेकी युवतीलाई धर्मध्वजले बसपार्कमा भेटेका थिए । बसपार्कको एउटा लजमा धर्मध्वज र प्रपन्ना नामकी ती नगरवधुलाई एक दिन दिउँसो प्रहरीले यौनक्रियामा संलग्न रहेको अवस्थामा पक्रेका थिए । उनीहरूले ‘हामी विवाहित हौँ ।’ भनेपछि मात्र उनीहरूलाई लज मालिकसँग उनीहरूको वैवाहिक प्रमाणपत्र एक साताभित्र उपलब्ध गराउने शर्तमा कागज गरी छोडेका थिए । लज मालिकको योजना र तयारीमा उनीहरूको विवाह भद्रकालीमा गराइएको थियो । धर्मध्वज त्यतिभाँती जालमा फस्दा पनि होसमा नआएर सुलोचनालाई बिहे गरेका थिए ।
धर्मध्वजले प्रपन्नालाई पनि धोका दिएका थिए । उनी बागलुङ कालिकाको दर्शन गर्न भनी विवाह गर्न गएका थिए । त्यसैले प्रपन्नाले पनि आफ्नो सुरक्षा गर्न तम्सेकी थिइन् । प्रपन्नाले पनि भित्रभित्रै योजना गरिन् र आपूm सुरक्षित हुने सोच बनाइन् । धर्मध्वजको अब प्रपन्नाबाहेक कोही थिएन । समाजले प्रपन्नालाई पानी नचल्ने जातकी भने तापनि कानुनले त धर्मध्वजको कामलाई स्यावासी दिन्थ्यो । त्यसैले प्रपन्नाले धर्मध्वजलाई पहिले भन्दा धेरै माया गरेको स्वाँङ गरिन् जुन उनले धर्मध्वजबाट सिकेकी थिइन् । सोही वर्षको असार बाह्र गते दुवै मिलेर गुलेरिया गए । उनले सासूलाई पहिलेनै काठमाडौँमा देखेकी थिइन् । एउटै कोठामा बसेकी थिइन् तर गुलेरियामा उनले बुहारी प्रपन्नालाई भित्र पस्न दिइनन् । त्यो दिन उनले छोरा र प्रपन्नालाई बाहिरै खान दिइन् ।
तेह्र गते बिहान तीनैजना बाहिर खाटमा बसेको वेला प्रपन्नाले भनिन् – “धर्मध्वज तिमीले भने बमोजिम म चुपचाप तिम्रो श्रीमती भएर बस्ने हो तिम्रो र तिम्री आमाको नाममा भएको जग्गाजमिन मेरो नाममा गरिदेऊ, होइन भने म मेरा आमाबाबुसहित हाम्रो पेसागत जाति उत्थान मञ्चलाई बोलाउँछु । तिमीलाई बहुविवाहको मुद्दा हालेर कारवाही अगाडि बढाउँछु ।”
बेइज्जतको जुताको माला पहिरनुभन्दा प्रपन्नाले भनेको स्वीकार्दा बाँचिने कुरा आमाछोराले सल्लाह गरे । प्रपन्ना धर्मध्वजसँगै बस्ने भएकाले सम्पत्ति कहाँ जान्छ र ! भन्ने उनले सोचिन् । धर्मध्वजकी आमाको नाममा रहेको घर भएको एक कठ्ठा जमिन मात्र उनको नाममा राखेर उनीहरू आमाछोराको नाममा भएको बाँकी सबै करिब चार बिगाहा जग्गा असार १५ गते दहीचिउरा खाने दिन प्रपन्नाको नाममा गरिदिए । त्यसपछि उनीहरूसँगै काठमाडौँ फर्के । प्रपन्नाले पेसागत जाति उत्थान मञ्चको रोहवरमा छुटानामको कागजात बनाई जिल्ला प्रशासन कार्यालयबाट टुङ्गो लगाउने गरी छुटानाम गरे । त्यसपटकको नाटकमा धर्मध्वज मज्जैले पछारिएका थिए । तीसबै घटना सिनेमाको पर्दामा देखिने दृश्यझैँ फटाफट घट्दा उनी विघ्न आश्चर्यमा परेका थिए । उनीसँग प्रतिरोध गर्ने क्षमता नै थिएन ।
धर्मध्वज त्यो बेलुका झस्किए जब उनलाई प्रपन्नाले छोडेर गइन् । प्रपन्नाले उनलाई छोडेर मात्र गएकी थिइनन् उनी त उनको सम्पत्ति पनि लिएर बाटो नापेकी थिइन् । धर्मध्वज खुसी केमा थिए भने उनको बाबु हनुमाननाथको नाममा भएको जग्गा त छ नि ।
बिहे गरेको तेस्रो महिना सुलोचनाले सम्बन्ध विच्छेदको लागि हालेको मुद्दामा सहीछाप गर्न जाँदा पहिलो र सम्बन्ध विच्छेदको फैसलाको दिन दोस्रो पटक उनले सुलोचनालाई देखेका थिए । त्यस वेला सुलोचनालाई सुटुक्क हेरेका थिए । त्यसैवेला उनले मनमनै सोचे – “महिला भएर पनि कति स्वाभिमानी हँ सुलोचना ! उनको नाम सुहाउँदो बानी, व्यवहार र स्वभाव । कति सुलिल छन् तिनी । धवलागिरि हिमालको बोझले अठ्याउँदा पनि तिनी डगिनन् । कालीगण्डकीको साउने भेलले लछारपछार पार्दा पनि तिनी लत्रिनन् । वास्तवमा तिनी पो बाग्लुङ कालिका रहिछन् । मलाई उनले माफ त गर्ने छैनन् तर तिनको पाउ समातेर तिनको पाउमा शिर राख्न पाए सायद मैले गरेका कुकार्यबाट मुक्ति पाउँथे ।” वकिलले यहाँ ल्याप्चे लाउनुस् भनेपछि बल्ल उनी होसमा आए ।
बाग्लुङ कालिकाको दर्शन गरेर उनी गुलेरिया गए । आमाबाट थाहा पाए कि बाबुको नाममा भएको जग्गा पनि पिताजीले सुलोचनाको नाममा बकस गरेर दिनुभएको रहेछ । त्यहाँ पुगेपछि थाहा भयो कि अब उनीहरूसँग घर भएको एक कठ्ठा मात्र जमिन रहेछ । धर्मध्वजकी आमाको होस खुल्दा अँध्यारो भइसकेको थियो ।
वि.सं. २०५० सालको असारमा सुलोचनासँग विवाह भएको दिन नै धर्मध्वजको जीवनको ओरालो लाग्ने दिन प्रारम्भ भएको साबित भयो । त्यस दिन पनि उनले झुटो नबोलेको भए उनले माफ गरेकी थिइन् । धर्मध्वजले मनमनै भने – ‘‘ढोँग, ठगी, घमण्ड, छलकपट, आडम्बर जीवनको गतिलाई डो¥याउने माला होइन कि ती त घाँटीमा पासो लाग्ने डोरी रहेछन् । सत्यता, इमानदारी र मेहनत वास्तवमा जीवनको मार्गदर्शन गर्ने माला रहेछन् ।’’ त्यस वेला उनीसँग नाङ्गो हात र डडेलो लागेको पखेरोजस्तो जीवनबाहेक केही थिएन । २०५० कै असारमा प्रपन्नाले पनि उनलाई छोडिन् । सोही वर्ष असारदेखिनै पुत्र र पत्नीका काला कर्तुत थाहा पाएपछि हनुमाननाथले घर छोडेर हिँडे । सोही कात्र्तिकमा कानुनी रूपमा सुलोचना उनीदेखि मुक्त भएकी थिइन् ।
“मैले गल्ती गरेको हुँ । मैले सजाय पाएँ । म दुःखी छैन । मेरी आमाले मेरो कुकर्ममा मेरो गालामा चड्कन नहानेको हुनाले म कुबाटोमा अग्रसर बनेँ । हे आमाबाबु ! सन्तानको मायामा कहिल्यै अन्धो नबन अन्यथा तिम्रा सन्तान धर्मध्वज हुनेछन् ।” उनले भन्ने गर्थे ।
उनले प्रपन्ना राखेको बसपार्कको होटलमा दश वर्ष काम गरे । खान र बस्न उनलाई समस्या थिएन । उनी दश वर्षदेखि आमालाई भेट्न गुलेरिया पनि गएका थिएनन् । २०५९ सालमा उनकी आमालाई बहुला कुकुरले टोकेछ । धेरै उपचार गरे तापनि उनलाई सञ्चो भएन । कुकुरजस्तै आवाज निकालेर भुक्दै हिँड्न थालेपछि स्वास्थ्यचौकीका कर्मचारीले कडा औषधि दिन थालेका थिए । गाउँलेले पालैपालो टाढैबाट खानेकुरा फालिदिन्थे । करिब तीन महिना आफ्नो दिसापिसाबमा नै रोमलिएर २०६० सालको साउन महिनामा उनको मृत्यु भयो । धर्मध्वज तेस्रो दिनमा गुलेरिया पुगे । दाहसंस्कार गरे । घाटबाट नै एक महिना गायब भएर त्यसपछि घर फर्के । उनले त्यो घरसहितको जग्गा पनि बेचेर काठमाडौँ गए । अर्को आठ वर्ष उनले सोही बसपार्कको होटलमा बिताए । उनी विक्षिप्त भइसकेका थिए ।
उनले सुलोचना र गुलेरियाको घटनालाई सम्झिरहन्थे । ‘‘मैले सुलोचनालाई साँचो कुरा बोल्नुपथ्र्यो । मेरो छली र ढोँगीबानीले म बर्बाद भएँ । स्वाभिमानी, सुशील, सुन्दर, सक्षम, सोझी, देवीको जस्तो चोखो र पवित्र मन भएकी स्वप्निल सुलोचनाको क्षमतालाई मैले सम्मान गरेको भए यो दिन देख्न पर्दैन्थ्यो । आखिर घर्तीनी आमाले भनेको जस्तै हुने भयो ।’’ होटल मालिकसँग रुँदै धर्मध्वजले भन्थे ।
वि.सं. २०७० सालमा उनी ५८ वर्ष पुगेका थिए । गुलेरियाको घरघडेरी बिक्री गरेको रकममध्ये केही बैङ्कमा राखेका थिए । होटल मालिकसँग बिदा भएर रात्रिबसमा उनी बागलुङ गए । मन्दिरभन्दा पाँच मिनेटजति माथि एउटा सानो कोठा लिए । उनी दिनको तीन पटक बागलुङ मन्दिरमा पुग्थे । मन्दिरदेखि सिधै तल मालढुङ्गा झर्थे । आकाश खुलेको वेला धवलागिरि र टुकुचे चुली कालीको कञ्चन निलो पानीमा स्नान गरेको हेरिरहन्थे । आफू दुरुस्तै धवलागिरि र सुलोचनालाई कालीगण्डकीसँग तुलना गर्दै दाँज्दै घण्टौँसम्म बस्थे । कहिले आपूmले सुलोचनालाई हिमालले चुम्बन गरेझैँ चुम्बन गरेको सम्झन्थे भने केही बेर हाँस्थे तर त्योभन्दा धेरै बेर रुन्थे ।
बागलुङ पुगेपछि थाहाभयो कि उनका पिता हनुमाननाथले वि.सं. २०६२ सालमा असी वर्षको उमेरमा कागवेनीमा मृत्युवरण गरेछन् । कागवेनीको पितृतर्पण दिने वेनीभन्दा दशमिटर तल रहेको उनको लास गिद्धले दिनदिनै लुछ्दालुछ्दै सकेका थिए । कागवेनीको किनारमा रहेको खुपार्नीको हाँगोमा झुन्डिएको उनको झोलामा रहेको परिचयपत्रले उनी हनुमाननाथ भएको खुलेका थिए ।
धर्मध्वजले दुई वर्ष बाग्लुङ कालिकावरपर बिताए । बाग्लुङ कालिकालाई उनले टाढैबाट नमन गर्थे । जसरी उनी सुलोचनासँग डराउँथे । त्यसैगरी उनी कालिकासँग डराउँथे र कहिलेकाहीँ उनी नै मेरी सुलोचना हुन् भन्दै लम्पसार परेर ढोग गर्दथे ।
वि.सं. २०७२ सालको वैशाखदेखि साठी वर्षमा प्रवेश गरेका धर्मध्वजले एक वर्षदेखि उनले दारी मिलाएका थिएनन् । त्यसै वर्षदेखि आफ्नो शरीरलाई बेवास्ता गरेका थिए ।
वैशाखदेखि उनी कहिलेकाहीँ रातिमात्र कोठामा जान्थे । एक वर्षको भाडा अग्रिम दिइसकेका थिए । त्यसपछि बाग्लुङकालिका मन्दिर वरपर बाहेक अन्यत्र कतै गएनन् । सुलोचनालाई एक पटक देख्न पाइन्छ कि भनेर मात्र उनी बाग्लुङ गएका थिए । उनलाई वरपर घुम्ने गरेको धेरै मानिसले देखेका थिए । कसैले चिन्दैनथे । सुलोचनालाई सम्झेर एकलै फतफताउदै – “म मातेको हुँ । मलाई क्षमा गर ।” भन्दै बलिदिने मौलो नजिक गएर लम्पसार परेर ढोग गर्दथे ।
एक दिन भक्तालुले उनलाई ‘‘सुलोचना यो तिमीले कुल्चेको प्रसाद हो म खान्छु अनि मलाई माफ गर न है ।’’ भन्दै मन्दिरनजिकै कुहेको प्रसाद खोस्रँदै केही खाँदै गरेको देखेका रहेछन् ।
असार पाँच गते उनको सुलोचनासँग विवाह भएको २२ वर्ष पुगेको दिन थियो । त्यो दिन उनी मृत्यु सन्मुख पुगेका देखिन्थे । निकै गलेका थिए । उनको लखतरान शरीरलाई त्यहाँका सालका बोटले बाहेक अरूले वेवास्ता गरेका थिए । असार पाँच गते दिउँसो करिब चार बजेतिर त्यहाँ प्रसाद बिक्री गर्ने महिलाले उनले त्यस्तै छ–सातपटक ‘सुलोचना माफ गर है, घर्तीनी आमा माफ गर है’ भनेको आवाज सुनेका थिए । अघिल्ला दिन पनि कालिकाको अगाडि उनले त्यसरी नै लम्पसार परेको धेरैले देखेका थिए । त्यो दिन भने उनी उठेनन् ।
केटाकेटीहरूले – ‘ऊमाथि पुड्के बाजेको घरमा डेरा गरी बस्ने बाजे हुन्’ भनेर प्रहरीलाई जानकारी दिएका थिए । वरपर मानिस झुम्मिएका थिए । प्रहरीले मानिसलाई नजिक जान दिएका थिएनन् । मन्दिरनजिकै त्यहीँ फोहोर फाल्ने ठाउँ नजिकै उनले देहत्याग गरे । पुड्केको घरमा कोठामा एउटा चेकबुकबाहेक केही भेटिएन । ‘बैङ्कमा भएको रकमले मेरो लासको तारबार लगाउनू’ भन्ने पत्र चेकको अर्धकट्टिमा लेखेर सबै चेकमा सही गरेको बाहेक केही भेटिएन । तेह्र दिनसम्म प्रहरीको रेखदेखमा लास राखिएको थियो । स्थानीय एफ.एम. रेडियो, पत्रपत्रिका, अनलाइन, प्रदेश र केन्द्रका सबै सञ्चारमाध्यममा लासको हुलिया दिएर खबर प्रसारण भयो तर कोही पनि त्यहाँ आएनन् ।
तेह्र दिनपछि मृतावस्थामा रहेको एउटा तस्वीर बाहिर आयो । उनको शरीरको कम्मरमुनिको भाग कुकुर, श्याल वा जङ्गली जनावरले लुछेजस्तो देखिन्थ्यो । कम्मरभन्दा माथि भने एउटा मलमलको रातो पछ्यौरा थियो । प्रहरी प्रतिवेदन अनुसार त्यो पछ्यौरा जनैसँग बाँधिएको थियो र त्यसको टुप्पोमा एउटा गाँठो थियो । गाँठोभित्र एउटा कागजमा लेखिएको थियो, ‘सुलोचना, मेरो धूर्त स्वभाव र घमण्डले गर्दा तिमीलाई धोका दिएँ । मलाई तिम्रो र घर्तीनी आमाको श्राप लाग्यो । तिमीसँग झुटो नबोलेको भए मेरो जीवनका हजार कुकर्म कालीगण्डकीको जलझैँ पवित्र हुने थिएँ । नारीजातिलाई खेलौना सम्झँदा, सम्पत्तिको फोस्रो धाक दिँदा बिस वर्षभित्र नै मेरो सम्पत्तिको त के कुरा वंश नै नाश भयो । मैले युवावस्थामा गरेको कुकर्मको सजाय भोग्न अर्को जन्म पर्खन परेन । तिमी साँच्चिकै सुलोचना हौ । तिम्रो हुन नसकेको धोकेबाज, धर्मध्वज ।’
त्यो कागज, चेकको अर्धकट्टी र जनै सुरक्षित राखेर राज्यको कानुनबमोजिम धर्मध्वजको दाहसंस्कार गरियो । बाग्लुङ कालिकाको दर्शन गर्न जाने दर्शनार्थीले खासखुस कुरा गर्दै भनेका थिए–
“दाहसंस्कारको भार त राज्यलाई बोकाएनन् नि धर्मध्वजले । चेक नै काटेर छोडेका रहेछन् ।”
“विचरा को होला ? छोरा, छोरी, श्रीमती, दाजुभाइ त पक्कै होलान् नि ।”
“के पाप गरेर हिँडेको होला । लोग्नेमान्छेको जात उमेरमा आँखा देख्दैनन् अनि त्यस्तै हुन्छ । धर्मध्वज नाम र व्यवहार दुरुस्तै मिलेको ।”
“पृथ्वीनारायण क्याम्पस पोखराकी क्याम्पस प्रमुख प्रा.डा. सुलोचनालाई केही थाहा थियो कि ?”
‘‘ घर्तीनी आमाको श्राप लाग्यो नि पापीलाई, नारीलाई खेलौना ठान्ने ? ’’
रचना साउन, २०७५