साभारः जनमत वर्ष ३९, अङ्क ३०१, कात्तिक २०७९

जति खाए पनि नअघाउने
कहिले हिमालका सिङ्गै याक लुछ्छन्
कहिले घरभित्रै छिरेर
भेडाका पाठापाठी निमोठेर लुसुक्क भाग्छन्
अलि निर्धाको त झन् उठीबास नै पार्छन्
प्रायः यहाँ लुखुरा–लुखुरेहरू
टाठो, बाठो र बलियोकै पछि हिँड्छन्
पहाडमा तिनीहरू छ्यास–छ्यासती पाइन्छन्,
पहिरो ओधारेर गोठमा छिर्छन्,
पहिरो पुरेर घर र आँगनमै पुग्छन्
बाख्रा मात्र कहाँ हो र पाडा–पाडी पनि ढाल्छन्
कहिलेकाहीँँ त हुलमुलमा पारेर मान्छे नै खान्छन्
भोक मेटाउन,
प्रायः यहाँ वल्लो र पल्लो, मिल्दै नमिल्नेहरू पनि मिल्छन्
दिउँसो मुक्कामुक्की गर्छन्
गोधूलि साँझपछि क्याफेमा छिरेर सिनो लुछ्दै भोक पुर्छन्
तराईमा त झन मनपरी गर्छन्
कसैले तिनलाई लठ्ठी देखाउन सक्दैनन्
गाउँका कुकुर पुच्छर लुकाएर पिँढीका कुनामा कुक्रिन्छन्
पोखरी वरपर ढुकेर, पोखरी खनेर, पोखरी पुरेर
हिलाम्मे माटो, हाँस, माछा, बाख्रा सबै खान्छन्
प्रायः यहाँ मिलेर होइन एक्लाएक्लै खान्छन्
वर्षौदेखि जीवजन्तु, वनस्पति, माटो तिनले खाएका–खायै छन्
तर ती कहिल्यै अघाउँदैनन्,
अघाएर एक छिन पनि उघ्राउँदैनन्
हरेक दिन नयाँ तरिका अपनाएर तिनले खाइरहेकै छन्
कहिलेकाहीँ दिउँसो सिनो कोपर्दा–कोपर्दै झगडा पनि गर्छन्
एक अर्कालाई कोपरा–कोपर गरेर रगताम्मे पनि हुन्छन्
प्रायः चिथोरा–चिथोर बिर्सेर नयाँ आहाराका लागि
रातमा एक हुल भएर हिँड्छन्
२०७९ असार १ bishnu.nmdc@gmail.com