धन्यवाद सहित साभार रचना साहित्यिक पत्रिकाको अंक १८० पुस–माघ, २०७९ मा प्रकाशित ः
कविता
विष्णुप्रसाद शर्मा पराजुली
दाइले लद्दाखबाट
एक मुठी माटो ल्याउनु भो
मैले पनि गुगे, सतलज, मानसरोवर र कैलाशबाट
एक एक मुठी माटो ल्याएँ
अर्को वर्ष टिस्टा र ब्रह्मपुत्र किनारबाट
माटो ल्याएर त्यसैमा थपेँ
त्यस माटामा मैले
मेरो देशको चित्र कोरेँ
त्यहाँ पश्चिम र उत्तरमा खस साम्राज्य प्रष्ट देखियो,
त्यहाँ खसहरूको स्वर्णिम युग देखाप¥यो,
मध्य, पूर्व र दक्षिणमा गोपाल, किरात, लिच्छवि प्रष्ट देखियो
अनि त्यसैमा,
मैले पूर्व र दक्षिणको चित्र कोरेँ
त्यहाँ टिस्टा सलल बगेको थियो
त्यहाँ गङ्गाले रेखा कोरेको थियो
नत्र कामाख्या र गुह्येश्वरीको मित्रता कसरी हुन्थ्यो त ?
त्यो मेरै बोई–बुबाले पानी पिएको मेरो साँध थियो
त्यो मेरै पुर्खाले प्रतिस्थापित गरेको मन्दिर थियो
अनि मैले,
मेरो प्राचीन देशको सिङ्गो चित्र कोरेँ
पश्चिममा लद्दाख, सतलजदेखि पूर्वमा टिस्टासम्म
उत्तरमा गुगे, मानसरोबर, कैलाशसम्म
दक्षिणमा गङ्गाको उत्तरी मैदानसम्मको नक्शा तयार भयो
हो, त्यो एउटा विशाल देश थियो
हो, त्यो मेरै विशाल देश थियो
आज मलाई मेची र महाकालीमा खुम्च्याइएको छ
महाकालीको शिर पनि राष्ट्रघातीले
अङ्ग्रेजका दासहरूलाई सुम्पेका छन्,
खुम्चिएका मेरा अङ्गहरूलाई
यत्रतत्र सर्वत्र चोइटाइरहेका छन्
असंलग्न मेरो देशमा जबर्जस्ती संलग्न भएर
युद्धको दुन्दुभी बजाउन खोज्दैछन्
त्यसैले इतिहास र वर्तमान सम्झँदै
हे देशवासी, मेरो देश बचाऊ
त्यसैले इतिहास सम्झँदै
हे युवाहरू, मैले नक्शा कोरेको मेरो माटो बचाऊ ।
०७९ वैशाख ८