टुर दे’ लाक ब्लाँ

मधुपर्कको २०७९ फागुन, पुर्णाङ्क ६४१ बाट धन्यवाद सहित साभार ।
(फ्रान्स यात्रासंस्मरण)
टुर दे’ लाक ब्लाँ

मानव जाति यात्री हुन् । मानव सभ्यताको विकास पनि यात्राबाटै भएको हो । वर्तमान सिरिया, इजिप्ट र इरानलाई आधुनिक मानव सभ्यताको जननी मानिन्छ । त्यहीबाट एकथरी पश्चिम ग्रिसतिर लागे । अर्काथरी पूर्वतिर । खसहरू त्यतैबाट अफगानिस्तान, हिन्दुकुस, कस्मिर हुँदै हिमालयको दक्षिण र गङ्गामैदानमा पुगेका हुन् । दसौँ हजार वर्षदेखिको यात्रा जारी छ । रेल, हवाइजहाज, पानीजहाज, समुद्रमुनि र समुद्रमाथि गरिने द्रुत गतिका यातायातका साधनले पृथ्वीको यात्रा सहज र छिटो बन्यो । अबको यात्रा अन्तरिक्षतिर केन्द्रित गरिँदैछ । मानिसले मानिसलाई मार्ने काम जङ्गली अवस्थाको प्रारम्भमा थियो, आजको अति विकसित युगमा पनि छ ।
एक्काइसौँ शताब्दीमा आइपुग्दा, यात्राको महत्त्वलाई हृ्दयङ्गम गरेर युरोप र अमेरिका महादेश तथा चीन, जापानजस्ता देशले यातायातमा अत्यधिक विकास गरे, यात्रा गर्न सहज पारिदिए । आज अन्य देशमा भएको यातायात सञ्जालको विकाससँग तुलना गर्ने हो भने नेपाल दस हजार वर्ष पहिलेको घुमन्ते पशुपालन युगमै छ, सहरी क्षेत्रलाई छाड्दा । पहाडी क्षेत्रमा खच्चर यातायातका साधन हुन् । झोलुङ्गे पुल पनि छैन । मोटर, रेल, सुरुङ मार्ग, केवलकार कतै नदेखेको, नसुनेको कारण सपनामा पनि देखिँदैनन् ।
यो प्रसङ्ग विसं २०७६ भदौमा दक्षिणपूर्व फ्रान्स चामोनीमा गरिएको यात्रासँग सम्बन्धित छ । नेपालमा मनसुन मध्य चरणमा थियो । बाक्लो बादल, चरक्क घाम र ह्वार्र पानी दर्कन्थ्यो । गाढा हरियाली, पहिरो, नदीको भेल र डुबान व्याप्त थियो । युरोपमा समर अर्थात् गृष्म ऋतु थियो । निलो आकाश, गाढा हरियाली, हरियालीभित्र लुकेका सफा र सुन्दर घर, अल्पस पर्वतमा टलक्क टल्केको सेतो हिउँले मानव जातिको मन खिंच्न आतुर थियो । धुलो, हिलो, प्लास्टिक र फुटेको सिसाविहीन, शरीरमा नसा फिँजारिएझैँ फिँजारिएका फराकिला सडकमा कार कुदेका देखिन्थे । द्रुत गतिमा कुदेको रेल क्षणभरमै क्षितिजमा बिलाउँथे । त्यसै समयमा ‘समर सिजन’को मज्जा लुट्न आउने–जाने पर्यटकले खचाखच भरिएको थियो, फ्रान्सको पर्वतीय पर्यटकीय सहर चामोनी ।
हामी स्विट्जरलेन्ड र इटाली नजिक रहेको युरोपको पर्वतीय पर्यटकीय सुन्दर सहर चामोनी पुगेका थियौँ । चामोनी युरोपको सबैभन्दा पुरानो स्की स्टेसन भएको सहर हो । विसं १९८१ (सन् १९२४) मा यहाँ हिउँदे ओलम्पिक भएको थियो । यो सहर युरोपको अग्लो माउन्ट ब्लाँ (श्वेत पर्वत) नजिक छ । हाम्रो नाम्चे बजारलाई सगरमाथाको द्वार भनिएझैँ चामोनी माउन्ट ब्लाँको प्रवेशद्वार हो । यहाँको जनसङ्ख्या करिब नौ हजार तथा क्षेत्रफल २४५ वर्ग किलोमिटर छ । यहाँ वार्षिक पचास लाख पर्यटक पुग्छन् ।
स्विट्जरलेन्डको जेनेभा र फ्रान्सको आनमास नजिक रहेको यो सहर स्कि, अल्पस पर्वत पर्वतारोहण, पदयात्रा, पर्वतीय दौड आदिमा विख्यात छ । म पहिलो पटक विसं २०६२ मा मित्र फ्रान्सिस र डा. जेरार्डसँग त्यहाँ पुग्दा विसं २००९मा बनेको केवलकारबाट अग्गुइ दि मिदी (३,८४२ मिटर)का चुचुरामा पुगेर कफी पिएको थिएँ । पहाडे रेल र बरफ सङ्ग्रहालय पुगेर बरफको मज्जा चाखेको थिएँ । म उच्च हिमाली क्षेत्रको पदयात्री पनि भएकाले यस पटक अल्पस पर्वतका केही क्षेत्रमा पदयात्रा गर्ने योजना गरेको थिएँ । त्यसका लागि म र श्रीमती सुशीला काठमाडौँ र छोरी डा सुनिता न्युयोर्कबाट आएका थियौँ । छोटो पेरिस बसाइपछि आनमास पुग्यौँ । त्यहाँबाट नजिकै पर्ने जेनेभा सहर, जेनेभ ताल, स्विस चिज र चकलेट उद्योगका साथै लियो, इभिया र थोनोन सहर घुमेका थियौँ । पदयात्रामा भने अफ्ठेरो श्रेणीमा पर्ने टुर दे’ फिज पर्वत परिक्रमा (प्रकाशित गोरखापत्र, २०७७ पुस २५), लेक ब्लाँ, देंन दे’ओच र दे’रोचोइ अल्पस पर्वत क्षेत्रको पदयात्रामा गयौँ । युरोपको सबैभन्दा अग्लो पर्वत माउन्ट ब्लाँ (४,८१० मिटर) भने हेलिकप्टरबाट परिक्रमा गरेका थियौँ । बिरलै गरिने त्यो अनुभव, फ्रान्सेली मित्रहरूले सम्भव बनाइदिएका थिए । ‘माउन्ट ब्लाँ’ भनेको हामीले श्वेत पर्वत भने जस्तै हो । यसलाई युरोपको मुकुट भनिन्छ ।


हाम्रा हिमालय पर्वतमाला जस्ता अग्ला पर्वत संसारमा अन्यत्र छैनन् । हाम्रोमा जस्तो धेरै दिनको पदयात्रा अनुसन्धानकर्ता र केही इच्छुक व्यक्तिले बाहेक अरूले गर्दैनन् । यहाँ हिमाल आरोहण (ःMountain Climbing Expedition पदयात्रा (Trekking) प्रख्यात छ । युरोपमा स्की, साईक्लिङ, रनिङ र पदयात्रा (ज्ष्पष्लन) अधिक प्रचलनमा छ । ट्रेकिङ् र हाइकिङ्को अर्थ एउटै हो तापनि नेपालमा धेरै दिन गरिने पदयात्रालाई टे«किङ र एक वा दुई दिन गरिनेलाई हाईकिङ भनि अथ्र्याउने गरिन्छ ।
आनासबाट चामोनि–इटालीे मुख्य राजमार्ग भएर एक घन्टामा चामोनी पुग्यौँ । चामोनीबाट माउन्ट ब्लाँ पर्वतको ११.६ किलोमिटर लामो सुरुङ मार्ग पार गरेपछि इटालीको कोरमेयर सहर पुगिन्छ । दक्षिणपूर्व फ्रान्सका नागरिक हिम पर्वत भनेपछि हुरुक्कै हुन्छन् । यहाँका सानो सहरका पुराना घर नेपालको हिमाली क्षेत्रका जस्तै काठले बनेका हुन्छन् । नेपाल आउने धेरै फ्रान्सेली त्यतैका हुन् । हाम्रो यात्रामा कुनै न कुनै मोडबाट माउन्ट ब्लाँ र त्यस वरपरका हिमाच्छादित पर्वत देखिन्थे । हिउँभन्दा तल्लो भाग हिउँले खाएर कालो देखिन्थ्यो भने त्यसभन्दा मुनिको भूभागमा सल्लाको घना हरियो वन थियो । हरियो वन, हिम पर्वत र नीलो आकाशले गर्दा सबैको अनुहार मौसम जस्तै चहकिलो, जिज्ञासु देखिन्थ्यो । हिम पर्वत देखिँदा मित्र मारयुसले मोटरको गति घटाएर अर्को लेनमा लैजाँदै ती पर्वतको नाम बताउँथे र भन्थे, “हिमालय पर्वत जस्तै अग्ला र ठूला अल्पस पर्वत छैनन् तर अल्पस पर्वत हिमालय पर्वतभन्दा सात करोड बीस लाख वर्ष पुराना हुन् ।” हिमालय पर्वत सबैभन्दा अग्लो तर सबैभन्दा कान्छो पर्वतमाला हो ।
कारमा मित्र पास्कल, डा सुनिता, मारयुस र म थियौँ । त्यस दिनको हाम्रो यात्रा श्वेत ताल (लाक ब्लाँ) निर्धारित थियो । हामीले दूधकुण्ड भनेझैँ फ्रान्सेली भाषामा त्यसलाई लाक ब्लाँ भनिन्छ । ‘लाक’ भनेको ताल हो भने ‘ब्लाँ’ भनेको सेतो हो ।
मित्र पास्कल नेपालका हिमाल भनेपछि हुरुक्कै हुन्छन् । पचहत्तर वर्षका उनी हाम्रा नाउर जस्तै फुर्तिला छन् । “मृत्युपछि अर्को जन्म हुने भए, म हिमाली काग हुने थिए” उनी मसँग बारम्बार भन्ने गर्छन् । उनले लाङ्टाङको आलु आफ्नो करेसा बारीमा फलाएका छन् । मारयुसले नेपालका मुख्य पदमार्गको पदयात्रासहित सगरमाथा क्षेत्रको मेरा पिक (६४७६ मिटर) चढेका छन् ।
चामोनीको अर्जेन्तिरमा कार पार्क ग¥यौँ । कारबाट खाजा र स्कि स्टिक झिकेर रुकस्याकमा राख्यौँ । चस्मा र हाइकिङ जुत्ता लगायौँ । साथीहरूले सन क्रिम दले । अनि उकालो लाग्यौँ लेक ब्लाँ (दूधकुण्ड) तिर ।
धुपीको वनको बाटो उकालो चढ्यौँ । हामी नौ सय मिटरबाट उकालो लागेका थियौँ । सन् १९७४ देखि यो ‘इगुली रोज’ भूभाग प्रकृति संरक्षण क्षेत्रभित्र पर्छ । यो क्षेत्र धुपीको वन, जडिबुटी र जङ्गली जनावरका लागि प्रख्यात छ । यहाँ झारल, मारमोत आदि जनावरका साथै चराहरू पाइन्छ । हाइकिङ मार्गमा आलुचिप्स र सुर्तीका प्लास्टिक, मिनरल वाटर, फुटेका बियर र कोकका बोतल, क्यान, प्लास्टिक, प्लास्टिकका गिलास, प्लेट एउटै देखिएन । ठाउँठाउँमा ‘जथाभावी नहिंँड्नु होला, भूक्षय हुनबाट बचाउनुहोस्’ भन्ने सूचना टाँसिएको थियो । गोरेटोबाहेक अन्यत्र हिँड्दा बिरुवा भाँचिने, घाँस माडिएर भूक्षय हुन्छ भनेर नेपालमा जस्तो जताततै हिंँड्न नपाइने रहेछ । आँखाले हिम पर्वत र चामोनी सहर देखे तापनि मेरो मनको आँखाले भने नेपालको पदमार्गमा हुने फोहोर देख्यो । मैले काठमाडौँको वरपर हाइकिङ गर्ने युवालाई “फोहोर नफालौँ है” भन्दा उल्टै खप्की खाएको सम्झेँ ।


एक हजारदेखि पन्ध्र सय मिटरमा पुगेपछि दुई फिट अग्ला लालीगुराँस, धुपी र धुपका बोट भेटिए । त्यसपछि खैरो रङको अग्लो चट्टान देखियो, जहाँ हामी जाँदै थियौँ । त्यस्तो बुट्यान नेपालमा करिब चार हजार मिटरको उचाइमा पाइन्छ । चट्टानका खण्डमा कतै सानो चेप, कतै तीखा ढुङ्गामाथि टेक्दै हिँड्नुपथ्र्यो । अग्लो र अति भिरालो चट्टान चढ्ने ठाउँमा पहरामा किला ठोकेर फलामको सुरक्षित भ¥याङ राखिएको थियो । ठाडो, अग्लो र पाइला राख्न नमिल्ने पहरामा दुवैतिर समात्नका लागि फलामको लठ्ठा र टेक्नका लागि फलामको पाता जमाएर त्यसमाथि काठको फलिका ठोकेर सिँढी बनाइएको थियो । पहरो भए तापनि समाउने र टेक्ने ठाउँ भएकाले सुरक्षित थियो । ‘संरक्षित क्षेत्र, होसियार हुनू’ भन्ने र विभिन्न पदमार्गमा जानकालागि सूचना पाटी राखिएको थियो । हाम्रामा झैँ देउराली, भन्ज्याङ र दोबाटामा ढुङ्गा राख्ने चलन रहेछ । त्यो ढुङ्गाको थुप्रालाई कायर्न भनिन्छ । प्राचीनकालमा सही बाटाको सङ्केतका रूपमा त्यसरी ढुङ्गा राख्ने गरिन्थ्यो । हाइकिङमा भेटिने पर्यटकले हामीले ‘नमस्ते’ भनेझैँ ‘बोँजु’ भनेको सुनिन्थ्यो ।
हाम्रामा ३,६०० मिटरदेखि ४,००० मिटरमा पाइने घाँस, पूmल, र धुपको झाडी त्यहाँ १५–१६ सय मिटरमा देखिन्थे । हिंँड्दै गर्दा ससाना हरिया उपत्यका, कम्पाउन्डमा चरेका ठूला गाई, साना सहर, माउन्ट ब्लाँ पर्वतको शृङ्खलाका चुचुरा, र हिमनदी देखिएका थिए । त्यसबेला पनि हिमनदीमा बाक्लो हिउँ थिएन । यस वर्ष भने त्यहाँ मौसम परिवर्तनको कारण खडेरी प¥यो, हिउँ पग्ल्यो, सहरी क्षेत्रमा तापक्रम बढ्यो, धेरै ठाउँमा आगाको लप्काले डढायो पनि । मौसम परिवर्तनको प्रभाव हिमालय पर्वत र बस्तीमा समेत परेको छ । अति भौतिक विकास र मौसममा पर्ने त्यसको प्रभाव अहिले सम्पन्न मुलुकमा आँखा सामुन्ने मडारियो ।
ब्लाँ पर्वत वरपर बाक्लो हिउँ थियो । धेरै तिखो भएकाले कतिपय चुचुरामा हिउँ थिएन । अल्पस पर्वत, हिमालय पर्वतभन्दा करोडौँ वर्ष जेठो भएकाले भूक्षयको कारण तिखारिएका हुन् कि भन्ने मलाई लागेको छ । ठाडो चट्टान र त्यस्तै पखेरो चढेपछि पहाडको सजिलो धारमा पुग्यौँ । त्यहाँबाट ससाना अल्पस कुण्ड देखिए । सुरुमा सानो पोखरी र त्यसभन्दा दुई सय मिटरमाथि दुइटा सफा कुण्ड देखिए । त्यसबेला हामी पहराहरूका खण्डमा रहेका ससाना ढुङ्गे उपत्यकामा पुगेका थियौँ । तालको वरपर चिस्यानमा हरियो घाँस, पूmल देखिन्थ्यो । त्यहाँ पुग्दा मैले सिन्धुपाल्चोकको पाँचपोखरी सम्झेँ ।
हामी अर्को पहरो चढ्ने कुइनेटोमा पुग्यौँ । ठाडो चट्टानमा ओर्लन र उक्लनका लागि एक जोडी फलामको भ¥याङ ठड्याइएको थियो । हामी त्यहाँ पुग्दा भ¥याङ चढ्न पदयात्री पालो कुरेर उभिएका थिए । कोही ढुङ्गामाथि टुक्रुक्क बसेर पानी पिउँदै थिए, कोही माउन्ट ब्लाँतिर क्यामरा तेस्र्याएर तस्बिर लिँदै थिए । कोही यात्रुलाई उक्लन मद्दत गर्दै थिए । हामी सरासर चढ्यौँ । त्यो खण्ड चढेपछि काठको सिँढी भएको पखेरो देखियो । त्यो खण्ड उक्लेपछि भने हामी लाक ब्लाँमा पुग्यौँ । नेपालमा त्यसरी भ¥याङ, डोरी र गोरेटो बनाइदिने हो भने लाक ब्लाँ जस्ता बीस हजार हिमतालमा स्वदेशी र विदेशी पर्यटकलाई पु¥याउन सकिने थियो ।
लाक ब्लाँ अल्पस पर्वतीय क्षेत्र हो । त्यहाँ एकपछि अर्को ससाना उपत्यका र ती उपत्यकामा ताल रहेका छन् । त्यसमध्ये ठूलो चाहिँ हाम्रो म्याग्दीको खयर भारानी ताल जत्रै छ (हेर्नु. श्वेत पर्वत, पृ.७२) । लाक ब्लाँको सबैभन्दा महत्वपूर्ण पक्ष के भने सफा मौसमको बेला, तालको सङ्लो पानीमा माउन्ट ब्लाँसहित २२ किलोमिटर लामो अल्पस पर्वत शृङखलाको छाया त्यस तालमा आएर थपक्क बसेको मनमोहक दृश्य देख्न सकिन्छ फेवातालमा माछापुच्छ«्ेको छाया परेझैँ । हामी त्यहाँ पुग्दा थुप्रै हाइकर्स तँछाडमछाड गर्दै तस्बिर लिन तल्लीन देखिन्थे । युवकयुवती एक कुनामा बसेर चुम्बन गर्नमा व्यस्त देखिन्थे । त्यो तालभन्दा पचास मिटरमाथि अन्य दुई ताल छन् । हामी त्यहाँ पुग्दा दुवै तालको पानी गाढा हरियो रङमा देखिएको थियो । तालमा पुग्नुभन्दा पहिले रिफ्युज दु लाक ब्लाँ नामक एक काठे लज छ ।
लाक ब्लाँ २३५२ मिटरको उचाइमा रहेको अल्पस पर्वतको हिमताल हो । यस पखेरामा साना ठूला गरी सात ताल छन् । हिउँदमा यी ताल बरफमा परिणत भएर माउन्ट ब्लाँको हिउँजस्तै सेतो च्यादर ओढेर आराम गरेका हुन्छन् । लामो समय हिउँले सेताम्मे हुने भएकाले होला यसको नाम श्वेत ताल (लाक ब्लाँ) राखिएको । पास्कल र मारयुसले हामीलाई इगुई दी मिदीका चुचुरा, माउन्ट ब्लाँ नजिकका चुली र स्विट्जरलेन्ड र इटालीमा पर्ने अल्पस पर्वतबारे जानकारी गराए । मौसम उत्तिकै सफा थियो । ताल, माउन्ट ब्लाँ तालमा परेको पर्वतहरूको छायाको हामीले पनि तस्बिर लियौँ । त्यस्तो दृश्य जति हेरे पनि मन अघाउँदैन । त्यो रमणीय सौन्दर्यको मन र आँखाभरी हुने गरी हेर्दै खाजा खायौँ र अर्को मार्ग भएर ओरालो झ¥यौंँ ।
चामोनी झरेपछि एउटा रेस्ट्रामा छिरेर एक–एक बोतल (दुई सय मिलिलिटर) कागती स्वादको बियर पियौँ । गर्मी र थकानबीचको त्यो एक गिलास बिएरको स्वाद जिब्रामा अहिले पनि टाँसिइरहेको छ ।
अर्को दिन साथीहरूलेनै खर्च गरेर हामी तीन जनालाई माउन्ट ब्लाँ पर्वतको हेलिकप्टरबाट परिक्रमा गराइदिए । हेलिकप्टरले फ्रान्स, स्विट्जरलेन्ड र इटालीमा पर्ने मुख्य अल्पस पर्वत, माउन्ट ब्लाँ र त्यस वरपरका चुलीहरूको परिक्रमा गरेको थियो । पाइलटले त्यहाँका मुख्य पर्वत, हिमनदी र सहरको जानकारी गराएका थिए । युरोपको अग्लो पर्वतभन्दा अग्लो भएर त्यो पर्वतलाई अँगालो हाल्न पाउँदा हामी सबै हर्षले प्रफुल्ल भयौँ ।
त्यस बेला फ्रान्सका पर्वत र तालहरूको पदयात्राका साथै केही सहरको अवलोकन गरेर नेपाल फक्यौँ । हामी फर्कँदा मौसम सफा भइसकेको थियो । अन्नपूर्णदेखि सगरमाथासम्मका अग्ला, ठूला हिमालका हजारौंँ चुलीले हामीलाई स्वागत गरे । एयरपोर्टबाट बाहिर निस्क्यौँ । ट्याक्सीका दुई चालकले मेरा दुवै हात समातेर झाङगलझुङल पार्दै एउटा थोत्रे ट्याक्सीमा कोचे । दर पनि आफैँ तय गरे । चक्रपथमा पुग्दा नपुग्दै चामोनीतिरका अल्पस पर्वत जत्रा अग्ला फोहोरका डङ्गुरले माला पहिराइदिए । युरोपमा हाँसेर प्रफुल्ल भएर आएको मन आर्यघाटमा आमाको लास जलाउँदै गरेका छोराछोरीको विरक्तिएको मन जस्तै मेरो मन पनि कुँडियो । घर पुग्दा, माउन्ट ब्लाँ र लाक ब्लाँका सम्झना, सम्झनामै थुनिए । ––– bishnu.nmdc@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s