गुरू मिङ्मा

अभिनवप्रभा साहित्यिक पत्रिका कात्तिक–पुस, २०७९ अंक २ बाट धन्यवाद सहित साभार।
(कथा) १५


उनको पार्थिव शरीरलाई पशुपतिनाथ मन्दिरको पूर्वतर्फ बागमती नदीको किनारमा रहेको ब्रह्मनालमा राखियो । पवित्र मानिएको बागमतीको प्रदूषित पानी मृतकको ओठमा राखियो । आफन्त र साथीभाइले श्रद्धापूर्वक चढाएको पूmल र मालाले बाँसका घारामा सुताएको लास पूmलकै थुम्को जस्तै बन्यो । अनि लासलाई हेलिकप्टरमा राखेर चुमलिङतिरै लगे ।
हिराबहादुर रोकाया क्षेत्रीका मातापिता छ दशक पहिले रुकुमबाट गोर्खाको आरूघाट झरेका थिए । त्यसबेला पिता धनबहादुर तीस र आमा ठूली बीस वर्षका थिए । सन्तानलाई अक्षर चिनाउन बास सारेका थिए । बाबुले दुई हजार पाँच सय रुपियाँ उनलाई दिँदै भनेका थिए, “दिन सक्ने भइछस् भने आउनू, माग्न चाहिँ नआउनू । यसलाई अंश नै ठान्नू ।”
धनबहादुर आरूघाट बजार नजिकै बसे । अंशको मूल धन र कठोर परिश्रम गरेर त्यहाँ उनले खेत, बारी, खरबारी जोडे । हिरापछि दुई छोरी र एक छोरा थपिए । आरूघाट झरेपछि दुई पटक रुकुम पुगे । पहाडमा खेतीपाती गरेर दुईछाक खान र लत्ताकपडाका लागि ऋण लिन नपर्ने परिवारलाई इज्जतदार ठानिन्थ्यो । धनबहादुर त्यस्तै थिए । उनले जेठी छोरीको विवाह धादिङ सल्यानटार र कान्छीको गोर्खा बजारमै गरिदिए ।
शिक्षाको महत्त्व बुझेकाले बाबुले बारम्बार हिरालाई “ए, ठूले तँ पनि गोर्खामा पढ्न जा । हाम्लाई कुरेर नबस । सकुन्जेल काम गर्छौँ । हातखुट्टा चल्न छाडेपछि बाँच्नै पो किन परो र” भन्थे ।
हिराले बाइस वर्षको उमेरमा बल्ल एसएलसी गरे । ‘ हिरा, ढिलो भएर केही हुँदैन । जा पोखरै गएर पढ् । खेत बेच्न परे पनि बेचौँला” भन्दै बाबुआमाले कर गरे तर हिराले आँटै गरेनन् ।
हिराले आरुघाटमा नै अस्थायी शिक्षकका रूपमा पढाउन थाले । गाउँको पौष्टिक आहारले उनको शरीर खाइलाग्दो थियो । उनी अग्लो, गोरो र हँसिला थिए । गाउँका केटीहरू हिरा भनेपछि भुतुक्कै हुन्थे । आखिर मन न हो, कमजोर हुन्छ । मन पग्लन बेर लाग्दैन । त्यस्तैमा आरूघाटकै एक जना गुरूङ कन्या कमलासँग हिरा प्रेमबन्धनमा बाँधिए । पातलो सलक्क परेको जीउ, छिनेको कम्मर, ठूला आँखा, पातला ओठ, हँसिलो, गोरो मुहार भएकी कमला पनि आरूघाटमा राम्री भनेर चिनिएकी थिइन् । कमलाले पाँच कक्षा मात्र पढिन् । गाउँको कुरा दुई दिन पो लुक्न सक्छ । हिरा र कमलाको प्रेमको कुरा पनि एक–कान, दुई–कान आरूघाट मैदान भइहाल्यो ।
एक दिन उनीहरूले बूढीगण्डकीका किनारमा ठूलो ढुङ्गाले छेलिएर धेरै बेर कुरा गरे । हिराले कमलाको हात समाउँदै भने “कमला, तिमी एक पटक तिम्रो आमाबालाई भन । उहाँहरूले स्वीकृति दिनुभयो भने म घरमा बाआमालाई भन्छु । हामीले आमाबाबुलाई मनाएरै विवाह गरौँ । त्यसो गर्दा विस्तारै जातपातको विभेद कम हुन्छ ।”
कमलाले सानो ढुङ्गाले चिसो बालुवामाथि चित्र कोर्दै उनकी आमाले भनेको कुरा सुनाइन्, “ हिरा क्षेत्री हुन् । हामी गुरूङ हाँैं । हाम्रो जात र संस्कार फरक छ । तँलाई भोलि हेलाँ गर्लान् तर पनि यदि हिराको बाबु र तेरो बाबुले ‘हुन्छ’ भने सबै मिल्छ । ती रुकुमका क्षेत्री हुन्, सम्पत्ति भए पनि मात्तेका छैनन् ।”
त्यो सुनेर हिरा निकै खुसी भए । उनको ध्यान आफ्ना बाबुआमालाई सम्झाइबुझाई गर्नेतिर गयो । त्यो साँझ हिराले भैँसी दुहुने, घाँस हाल्ने काम छिट्छिटो ग¥यो । सधैँझैँ खाना खाएपछि भाइबहिनीहरू पिँढीमा गुन्द्री ओच्छ्याएर पल्टेका थिए । मङ्सिर महिनाको जुनेली रात थियो । खेतमा धान पाकेर पहेंलपुर भएको थियो । त्यो साँझ जूनको उज्यालोमा बूढीगण्डकीका छाल सेताम्मे देखिएका थिए भने हलुका हावाको झोंकामा लहराएका धानका बाला बयली खेलेको दृश्य लोभलाग्दो देखिन्थ्यो ।
आमासँग टाँसिएर गाह्रो मान्दै हिराले भन्यो, “ बा, एउटा कुरा भन्नु थियो ।”
“के भो, पोखरा पढ्न जाने भइस् ?” बाबुले भने ।
“हैन”
“अनि के त ?”
“तपाईंको छोरो तन्नेरी भयो रे बिहे गर्नु परो रे बाउ भएर पनि केही वास्ता छैन”, ठूलीले भनिन् ।
“के भन्छे यो ?” अलि झर्केको स्वरमा बाबुले भने ।
“बा, दाइले तलकी कमला दिदीलाई मन पराउँछ । तपाईंले मान्नुभयो भने बिहे गर्ने रे”, हिराकी बहिनीले प्वाक्कै भनिदिई ।
धनबहादुर पिँढीबाट ओर्लेर गोठ गए । छिरलिएको घाँस सोहोरेर फेरि टाट्नामै थुपारिदिए । जूनको उज्यालो पिँढीसम्मै पुगेको थियो । रात छिप्पिदै जाँदा बूढीगण्डकीको सुस्साहट भने बढेको थियो । जूनको वरपर ताराहरू मधुरो रोशनीमा टिलपिलाएका थिए । त्यो रात धनबहादुर केही बोलेनन् ।
पिँढीका खाटमा ढल्केर जून हेर्दै उनले सोचे, “ यो प्रकृतिको चक्र निरन्तर चलिरहन्छ । जून अस्ताउँछ । फेरि उदाउँछ । मानिस एकपटक अस्ताएपछि जूनझैँ फेरि उदाउँदैन । सृष्टि र विनाश भइरन्छ । बा बिते, म छु । म पनि अस्ताउँदै छु । मेरो ठाउँ छोराछोरीले लिए । वंशको बीउ जोगाएर संसार चलाउन बिहे त गर्नैप¥यो । अमर गुरूङको छोरी मन परेछ । जातपात मानिसले नै बनाएका हुन् । जातपातको विभेद हामीले नहटाए कसले हटाउला ? भोलि बिहान कमलाको बाबुलाई भेट्न जान्छु ।”
जून अस्तायो । तारा चहकिला बने । धनबहादुर पनि निद्रादेवीको काखमा लुटपुटिए । गण्डकीको सुस्साहट बढ्दै गयो ।
बाबुको प्रतिक्रिया नपाउँदा खिन्न बने पनि हिरा डराएको थिएन । बाबु उठ्दा ऊ गोबर फाल्ने, घाँस हाल्ने, कुँडो खुवाउने काम सकेर कुवामा पानी लिन गएको थियो ।
धनबहादुरले भैँसी दुहे । चिया पिएर अमरको घरतिर गए । त्यसबेला अमर पनि घरधन्दा सकेर चिया पिउँदै थिए ।
उनलाई देख्नासाथ अमरले “कता हो काजी सा’ब एकाबिहानै ?” भन्दै पिँढीको गुन्द्रीमाथि कम्बल ओछ्याएर “बस्नुहोस्” भने । “दिदीलाई सञ्चै होला नि !” भन्दै अमरकी श्रीमतीले चिया ल्याइन् । धनबहादुर पश्चिमबाट आएका हुन् । खस साम्राज्यका बेला क्षेत्री, गुरुङ र मगर प्रमुख पदमा थिए । उनैका सन्तान भनेर अमरले उनलाई काजी सा’ब भन्थे । अमर भारतीय सेनाको पेन्सनर सुवेदार भएकाले धनबहादुरले ‘स्वीदार सा’ब’ भन्थे । यी दुई असाध्यै मिल्थे । सञ्चो, बिसञ्चो तथा खेतीपातीको कुरा गरेपछि धनबहादुरले अमरलाई हँस्यौली शैलीमा भने –
‘हैन हो, स्वीदार सा’ब, म के सुन्दै छु, हँ ! तपाईंको आँगनमा फुलेको पूmललाई, हाम्रो केटाले मन पराएको छ रे’ ! के हो कुरो ? पूmल दिने हो भने, मैले मेरो घरमा लगेर माया गरेर सजाएर आँगन भरिभराउ गर्छु ।”
“तपाईं काजीसाहेब क्षेत्री, हामी गुरूङ कसरी मिल्ला र खै ?” सुवेदार्नीले चियाको गिलास उठाउँदै भनिन् ।
सुवेदार गोठतिर गए । फर्केर पहिलेकै ठाउँमा बसे । काँचोपातको सुर्ती मोलेर ओठमुनि चेप्दै अमरले भने, “हुन ता नाहुने के छ र ? जातपात, छुवाछुत ठीक होइना । गोराको देशमा जातपातको कुरै छैना, विकास छ । हाम्रोमा शिक्षा छैन । मेरो आँगनको पूmल मन पराएर काजी नै माग्न आएपछि मैले दिन्ना भन्ना मिल्दैना तर हाम्रो चलन बमोजिम दिदीबहिनी, बाबुबाजेसँग सोध्नुपर्छा, छोरीसँग बुझ्नुपर्छा ।”
काजीले अर्थ बुझे । गुरूङ जातिमा मामाचेली र फुपूचेलाबीच विवाह गर्ने चलन भएकाले अमरले त्यसो भनेका थिए । अमरले आफन्तसँग छलफल गरे । मेहनती क्षेत्री परिवार, जागिरे केटा, जग्गाजमिन हुनाका साथै केटाकेटीले एकार्कालाई मन पराएका आधारमा उनीहरूले धनबहादुरका छोरालाई छोरी दिन स्वीकार गरे । ढिलो नगरी सुवेदार र उनकी पत्नी धनबहादुरका घरमा एक ठेकी दही लिएर गए । उनलाई नै उनको चलनअनुसार दिन हेरेर जन्ती लिएर आउन मञ्जुरी दिए ।
मङ्सिर महिना किसानलाई अनाज थन्क्याउन भ्याइनभ्याई थियो । आरूघाट बजारमा चुमनुब्रीबाट झर्ने र गाउँतिर जाने मानिसको चहलपहल बढेको थियो । आरुघाट नेपाल, चीन र भारतको यस भेगको सबैभन्दा पुरानो बाटामा पर्ने ऐतिहासिक बजार हो । बूढीगण्डकीको पानी नीलो हुँदै थियो । बिहान, बेलुका भने मनास्लुतिरबाट आएको हावाको झोंकाले चिसोको सङ्केत दिएको थियो । गणेश हिमालका चुलीहरू चौपट्टै लोभलाग्दा देखिन्थे । प्रकृतिको त्यो रमाइलो वातावरणमा चालिस वर्ष पहिले यसरी हिराबहादुर रोकाया क्षेत्री र कमला गुरूङको मागी विवाह भयो । त्यसबेला अहिले जस्तो अन्तरजातीय विवाहको चलन थिएन ।
त्यसबेला मेलापाता, वन, पँधेरामा यस्तो गाइँगुई सुनिन्थ्यो–
“पश्चिमको मतवाली क्षेत्री होला, त्यै भर गुरुङसँग बिहे गरो नि ।”
“गुरूङकी छोरी बिहे गरेर के भो त, हाम्रै गाउँको दाजुभाइको चेली त हो नि ? यस्तै गर्ने हो भने जातभातको कुरा हट्थ्यो नि दिदी, हैन र ?”
“काजीको छोरा हो । जागिर छ । कस्तो भाग्यमानी रैछे, कमला त ।”
“ठीक गरे । यो जातपातको विभेद हटाउन अघिसरेकामा त धन्यवाद दिनुपर्छ ।”
– – – – – –
बिहेलगत्तै हिराले प्राथमिक विद्यालय स्तरको स्थायी शिक्षकमा नाम निकाले । आरूघाटको स्कुलमा पढाउनुभन्दा उत्तरी गोर्खाको पवित्र चुम उपत्यकामा पुगेर शिक्षाको बीउ रोप्ने हिराको भित्री चाहना थियो । अक्षर चिन्नबाट वञ्चित ती स्याउ जस्तै राता गाला भएका बालबालिकासँग खेल्दै तिनको सिँगान पुछिदिँदै तिनलाई शिक्षित बनाउन उनी चाहन्थे । हिउँदमा आरूघाट हुँदै लुम्बिनीसम्म जाने चुमका हिमाली परिवारसँग बाल्यकालदेखिनै उनको साइनो गाँसिएको थियो । लामो बख्खु, आङ्गी, दोचा, पानदेन, सेता बाला, चाँदीको पेटी, जन्तर, मुगाको हार पहिरेका महिला, लामो केश भएका पुरुष, बालबालिका सबै मिलेर जाडो छल्न झरेका चुमनुब्रीबासीसँग गाउँले जडिबुटी किन्थे । लुम्बिनीबाट फर्कँदा कपडा, सलाई, सियो, धागो ल्याएर गाउँलेलाई बेच्थे । अलिअलि नेपाली बोल्थे । गाउँबाट चामल, कोदोको पिठो, खुर्सानी लिएर चुमतिर चढ्थे । बर्खाको बेला तिब्बतबाट सामान ल्याउने, लेकमा चौँरी चराउने, खेती गर्ने गर्थे । त्यो चुमबासीको जीवनचक्र थियो ।
हिराले “पर्वत, बाग्लुङका शिक्षकले डोल्पा गएर शिक्षा दिएझैँ, त्यो विकट गाउँमा गएर, त्यहाँका बालबालिकालाई अक्षर चिनाउन पाए म बाँचेको सार्थक हुन्थ्यो” भन्ने कुरा कमलालाई भनेका थिए । स्थायी भएपछि उनले हमालतिरै जाने निधो गरे । चुम उपत्यकामा शिक्षाको ज्योति बाल्ने हिराको चाहनालाई परिवारले साथ दिए ।
त्यही वर्ष हिराको छोरा जन्मेको थियो । गोर्खा पुगेर नियुक्तिपत्र लिए । परिवार, छिमेकी र स्कुलसँग बिदा भए । हिरा चुमतिर जाने टुङ्गो भएकाले गाउँलेले चुमलिङबाट भरिया पठाइदिएका थिए । उनीहरूलाई चामल, पिठो, ओढने–ओछ्याउने लुगा, कापी, कलम, चक, डस्टर, पुस्तक डोकामा बोकाएर बूढीगण्डकीको तीरैतीर उकालो लागे । कुहिरेपानी, सोतीखोला, जगत, फिलिम, लोक्पा हुँदै चौथो दिन चुमलिङ पुगे । गण्डकीको तीर, गणेश हिमाल, हिमालचुली, मनास्लु, शृङ्गीका हिमाच्छादित चुचुरा, सेताम्मे झरना र भीमकाय काला चट्टाने पहाड ठिङ्ग उभिएको देख्दा हर्षले आल्हादित हुन्थे । जगतपछि माने पर्खाल, बुद्ध, सेनरब, पदमसम्भवका ढुङ्गामा कुँदिएका मूर्ति र मन्त्र, भित्ते चित्र देख्दा उनी प्रफुल्ल देखिन्थे ।
गण्डकी सुसाएको आवाज अग्ला काला पहरामा ठोकिँदा पखेरामा सङ्गीत गुञ्जेको भान हुन्थ्यो । चराचुरुङ्गीको चिरबिर आवाज र सल्लाको सुसाइले त्यहाँ प्रकृतिबीच नृत्य प्रतिस्पर्धा भए जस्तो लाग्थ्यो । लोक्पा नपुग्दै एउटा गोरेटो मनास्लुतिर लागेको थियो भने अर्को चुमतिर । त्यहींँ नजिकको दोभानमा मनास्लु हिमालबाट आएको बूढीगण्डकीमा गणेश हिमालतिरबाट आएको सियार खोला मिसिएको थियो ।
भरियाले उनलाई “चुम र मनास्लु क्षेत्रलाई चुमनुब्री भन्दछन् । अति प्राचीनकालमा चुममा ‘स्वर्गका देवता बस्ने गर्थे रे । त्यसैले यहाँ बलि दिइँदैन” भनेर जानकारी गराए ।
चुमलिङ पुगेको साँझ गाउँलेले खादाद्वारा स्वागत गरे । लामाले स्वागत मन्त्र पाठ गरे । त्यस्तै सत्तरी नाघेका, केश बाँधेर फेटा बनाएका, पातलो लामो दारी भएका थुप्तेन चुमले स्वागत गर्दै भने –
‘ शृङ्गी हिमालको काखबाट सारलाई स्वागत छा । चुमलिङ गाउँ छेकम्पार, लामागाउँ, निले, गणेश हिमालको द्वार हो । यहाँ गणेश हिमाल र उत्तरमा तिब्बतसम्म धेरै हिमाल, नदी, झरना, खर्क, गाउँ र गुम्बा छा । यहाँ लुम्बिनी जस्तो ठूलो–ठूलो मैदान छा । आलु, गहुँ, उवा राम्रो फल्छा । किसानले चाँैरी, याक र भेडा पाल्छ । बर्खामा पशु लिएर तिब्बतसम्म पुग्छा । उताबाट सामान जडिबुटी ल्याउँछा र बेच्छा । हामी घरमा धेरै बस्दैना । हाम्रो पुर्खा यहाँ दुई–तीन हजार वर्ष पहिले पश्चिमबाट आएर बसेको भन्छा । सार आयो हामी धेरै खुसी छा । हाम्रो बच्चाले अक्षर चिन्छा । तिमी हाम्रो गुरू रिम्पोचे भयो ।’
भोलिपल्ट बिहान भेट्ने गरी सबै बिदा भए ।
सबै गाउँमा पुराना गुम्बा भए तापनि त्यहाँ स्कुल खुलेको थिएन । हिउँ परेपछिको सफा बिहानीमा मनास्लु हिमाल मुसुक्क मुस्काएझैँ स्थायी शिक्षक गाउँमा पुगेकाले चुमबासी मुस्काएका थिए ।
बिहान ८ बजे गाउँले भेला भए । पूर्वबाट सेतो हिमालको चुचुराले चियाउँदै थियो ।
हिराले सबैलाई नमस्ते गरे । गाउँ, परिवार सहित हालै आफ्नो छोरो जन्मेसम्मको परिचय दिँदै हिराले भने, “तपाईंहरू जाडामा तलमाथि गर्दा ससाना भाइबहिनीलाई देखेँ । यहाँका बालबालिकाले पढ्ने अवसर नपाएको थाहा पाएँ । स्थायी शिक्षक भएपछि म चुम गएर पढाउँछु भन्ने अठोट गरेको थिएँ । स्थायी हुनासाथ, म चुमलिङमा आएको छु । ’
हिराले बोली नसक्दै सबैले एकैचोटि “हामी धेरै खुसी छु । हाम्रो नानीले अक्षर चिन्छा । हाम्रो नानीले आँखा देख्छा । गाउँलेले के गर्न पर्छा, हामी तयार छा” भने ।
उनीहरूलाई स्वागत गर्दै हिराले भने, “म स्थायी शिक्षक भएकाले स्कुल खोल्न र भवन बनाउन सरकारले पैसा दिन्छ । हामी सदरमुकाम जाऔँला । चार वर्षमा स्कुल बन्छ । तत्काललाई चुमलिङका बच्चाहरू पढ्ने घर, खुला ठाउँ, केही बेन्च, कुर्ची बन्दोबस्त गर्नुप¥यो ।”
फेरि सबै गाउँले एक स्वरमा बोल्न थाले । कसैले “रुख काट्ने सिफारिस ल्याएर बेन्च, टेवल, कुर्सी बनाउँछौँ ” भने । कसैले “मेरो पुरानो घर खाली छ, स्कुललाई त्यो दिन्छा” भने । कसैले “जग्गा दिन्छु” भने ।
हिरा बसेको घरका घरधनीले त्यहाँ उपस्थित पाहुनालाई सुचे (जडिबुटी, दुध, नौनी र नुन मिसाएर मथेर बनाइने चिया) थपी–थपी खुवाएका थिए । अन्तमा गाउँमा सबैले आदर गर्ने पेम्बा चुमले भने, “स्कुलको लागि सार्वजनिक जग्गा पछि खोज्ने । अहिलेलाई दावाको पुरानो घर सफा गरेर त्यहीँ बच्चा पढाउने । कुर्ची, टेबल, बेन्चको लागि वनबाट काठ ल्याएर बनाउने ।”
सबैले “ हुन्छा” भनेर खुसी प्रकट गरे । त्यही बीचमा हिराले अनुरोध गर्दै भने, “तपार्इँहरूले भनेको सबै ठीक छ तर कुर्ची, टेबल बनाउन रुख काट्न हुँदैन ।”
त्यसबेला त्यहाँ रुख काटेर काठका घर नै बनाउने चलन थियो ।
“सार के भन्छा ? काठ नकाटेर टेबुल कसरी बन्छ त ?”बीचबाट कसैले भन्यो ।
“काटाँैंला, तर सरसल्लाह गरेर । यदि हाम्रो वनमा पुरानो, ढल्न थालेको, धमिरो लागेकोे रुख रहेछ भने त्यो ल्याऔँला नि, हुन्न र ?” हिराले भने ।
फेरि केहीले “हुन्छा, हामी खोज्छा” भने ।
कसैले “म सरलाई मेरो कुर्सी ल्याउँछ” भने ।
अर्कोले “मैले बच्चा बस्ने तीनवटा बेन्च ल्याउँछ” भने ।
“मेरोमा टेबल छ”, अर्काले थप्यो । गाउँलेले त्यसो भन्दाभन्दै टेबल, बेन्च, कुर्चीको व्यवस्था भइनै हाल्यो ।
त्यस दिन साँझसम्म गाउँलेले पुरानो घर सफा गरे । टेबल र कुर्ची मिलाए । कक्षाकोठाको भित्तामा एउटा पुरानो काठको फ्ल्याक ठोकेर कालो पोती कामचलाउ बोर्ड तयार गरिदिए । त्यस साँझको भेलाले ‘चुमलिङ प्राथमिक विद्यालय’ भनी स्कुलको नामसमेत राख्न भ्याए । स्कुलको नाम जुराएको र केटाकेटीले पढ्ने कोठा पनि तयार भएको खुसियालीमा त्यो साँझ सबै मिलेर छ्याङ पिए ।
त्यसैबेला एक जना गाउँलेले हिरालाई सोधे, “सर रुख किना नकाट्ने ?”
जवाफ दिँदै हिराले भने, “रुखले हामीले सास फेर्ने अक्सिजन दिन्छ । रुख हुर्कन सय वर्ष लाग्छ । रुखले ऋतुलाई सन्तुलनमा राख्छ । हिमाल, पहाड, मधेस, नदी, मानिस, जनावर सबैलाई रुखले नै बचाउँछ । हाम्रो वनमा ढलेका, सुकेका, खोलाले बगाएर ल्याएका मुढा छन् । त्यस्तालाई प्रयोग गर्नुपर्छ । वन, जङ्गल नासियो भने हिम चितुवा, पाण्डा, भालु, हरिण, पुतली, चरा, जीवजन्तु, मानिस नासिने मात्र होइन पहिरो गएर सारा पहाड नै सोहोरिएर झर्छ, हाहाकार हुन्छ, अनि पृथ्वी पनि तात्छ ।”
हिराको कुरा सुनेर गाउँलेले रुखको महत्त्व बुझेझैँ गरी एकार्कासँग चुम भाषामा छलफल गरे ।
हिराले बालबालिकाको विवरण लिए । उनले ल्याएका कापी, कलम, चक, डस्टरले एक महिना पुग्थ्यो । थप पाठ्य सामग्री लिन भरियालाई आरूघाट पठाए । हिरा चुमलिङ पुगेको आठौँ दिन बालबालिकाको लागि कक्षा नै सुरु भयो । बच्चाले खेल्दै रमाइलो गर्दै पढून् भनेर उनले ससाना बालबालिकालाई आमाबाबुले जस्तै ज्याकेटको टाँक लगाइदिने, कपाल कोरिदिने, सिँगान पुछिदिने गरे । चौरमा केटाकेटीसँग खेल्दै पढाए ।
उनले सुरु गरेको तेस्रो वर्ष एक स्थायी र एक अस्थायी दरबन्दीसहित स्कुल स्वीकृत भयो । भवनका लागि बजेट प¥यो । हिरा त्यहाँ गएको पाँचौँ वर्षमा भवन बन्यो, कक्षा आठसम्म पठनपाठन गर्न पाउने गरी स्वीकृति प्राप्त भयो । त्यहाँ ८ कक्षा पढेका विद्यार्थी आरूघाट, धादिङ, गोर्खा, पोखरा गएर अध्ययन गर्न थाले । पछिल्लो समय कोही काठमाडौंँ त कोही युरोप नै पुगे । हिराले बालेको शिक्षाको ज्योति चुमलिङमा मात्र होइन चुमनुब्री र मनाङसम्मै फैलियो ।
हिराका दुई छोरा र दुई छोरी जन्मे । हिराकी आमा पाठेघर झर्ने समस्याबाट ग्रसित थिइन् । बाबु भने टाठै थिए तर एक दिन खेतमा पानी लगाउन जाँदा लेउ लागेको ढुङ्गाबाट चिप्लिएर उनको कम्मर भाँचियो । पाँच महिना जति ओछ्यान परेर उनी साठी वर्षकै उमेरमा बिते । सोही वर्ष आमा पनि पाठेघर झर्ने रोगकै कारण पचास वर्षको उमेरमा बितिन् । आमाबाबु दुवैले एकै चोटि छाडेर गएकाले हिराको परिवारमा ठूलो वज्रपात प¥यो । जन्मेपछि माटामा मिल्नै पर्ने प्रकृतिको नियमलाई कसले पो रोक्न सक्छ र ? घाउ नभएको कसलाई छ र ?
पत्नी कमला पनि कमजोर भइसकेकी थिइन् । नौ वर्षका बीचमा उनले चार सन्तानलाई जन्म दिइन् । कमलाले बालबच्चा, वस्तुभाउ, खेतीपाती, सासूससुरा, चेलीबेटी, घरव्यवहार, चाडपर्व सबै हेर्नुपथ्र्यो । उनलाई एक मिनट पनि फुर्सद हुँदैनथ्यो । कमलाले हिरालाई गाउँ फर्कन आग्रह गर्दा उनले “अर्को वर्ष, दशैँपछि, अब पेन्सन हुन थाल्यो” भन्दै टारे । आमाबाबुको देहान्तपछि भने हिरा फाट्टफुट्ट आरूघाट झर्थे । उनी पनि खोक्न थालेका थिए ।
हिरा पनि दुई छोरी र ठूलो छोराको बिहे गरिदिएर व्यवहार हलुका पार्दै थिए । हिराका दुवै छोराले एसएलसीभन्दा बढी पढेनन् । लहैलहैमा लागेर दुवै छोराहरू मलेसियाका लाहुरे भए ।
पछिल्लो समयमा चुममा हिरा ‘गुरू मिङ्मा’ भनेर चिनिन्थे । उनको जन्म दिनका आधारमा लामाले मिङ्मा नाम राखेका थिए । शिक्षा विस्तार, प्रकृति र पुरातात्त्विक सम्पदाका संरक्षणमा तल्लीन भएकाले उनको नाम चुमनुब्रीदेखि मनाङसम्म फैलियो । उनले चुममा शिक्षाको जग मात्र बसालेनन्, बाटो, पुलपुलेसा, गुम्बा, माने पर्खाल, निर्माण र संरक्षण गर्न गाउँलेलाई सचेत पारे । तलब खर्चेर माने पर्खाल बचाए । रुख कटानी रोके । उनले स्थानीय भाषाका साथसाथै नेपाली भाषालाई घरघर पु¥याए । मनाङ पुगेर स्याउका बेर्ना ल्याई चुममा स्याउखेती गर्न सिकाए । त्यसैले चुप उपत्यकामा उनको नाम गाउँलेको हृृदयमा टाँसियो । त्यहाँका लामाले उनलाई एक्काइसौँ शताब्दीको गुरु रिम्पोचे पनि भन्थे ।
गुरू मिङ्मा त्यसबेला मात्र जीवनमा नराम्रोसँग झस्किए जव उनकी प्रिय पत्नी कमला पचास वर्षकै उमेरमा पाठेघरको क्यान्सरले बितिन् । उनको उपचारका लागि चितवन र काठमाडौंँसम्म पु¥याए । घरको काम गर्दागदै उनी यति व्यस्त भइन् कि पीडा महसुस गर्ने समय पनि पाइनन् । लुकाएको त्यो रोग क्यान्सरमा परिणत भई तेस्रो चरणमा पुगेको रहेछ । त्यसैले उनले कमलालाई अल्पायुमै गुमाए ।
त्यसपछि गुरू मिङ्मा कमजोर भए । कमला बितेको केही वर्षपछि उनले अठ्तिस वर्षे चुमलिङको बसाइबाट विश्राम लिन खोज्दै थिए ।
बर्खाको बेला थियो । एक दिन मु गुम्बा पुगेर फर्कँदा अचानक चक्कर लागेर उनी लडे । भिरमा लडेको भए उनको लास भेट्न पनि सकिन्नथ्यो । उनका साथमा एक विद्यार्थी थिए । गुरू छातीका बिरामी थिए । आरूघाट झर्दा औषधि किनेर खान्थे । चुमलिङ पुगेपछि पीडा दबाएर खोक्दै पढाउँथे । चुमलिङमा प्रायः सबै बिरामी धामी, झाँक्री, झारफुक गरेर मन बुझाउँथे तर मिङ्मा भने झारफुकमा विश्वास गर्दैनथे ।
गुरुलाई चक्कर लागेको कुरा चुम उपत्यकामा एकै दिनमा वनमा डढेलो लागेझैँ गरी फैलियो । गुरुले “केही भएको छैन” भन्दाभन्दै भोलिपल्ट नै चुमबासीले हेलीकप्टर झिकाएर पोखरा लगे । मणिपाल शिक्षण अस्पतालले “फोक्सोमा दाग रहेको छ” भनी क्यान्सर अस्पतालमा जान सुझाव दियो । भक्तपुर क्यान्सर अस्पतालमा सत्र दिन उपचार गरे तर सुधार भएन । मिङ्माकै चाहना अनुसार उनलाई शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरे । त्यहाँ पनि उनको रोगको पहिचान हुन सकेन । निमोनियाका साथै घाँटीमा घाउ देखियो ।
पालैपालो गरी चुमलिङदेखि मु गुम्बा तथा विदेशमा भएका उनका विद्यार्थी पनि नेपाल फर्केर अस्पताल पुगे । उनलाई भेट्न आउने गाउँलेलाई देखेर अस्पतालका कर्मचारी छक्क पर्थे । यस्तो लाग्थ्यो कि मानौँ उनी देशका एक मात्र सच्चा र इमान्दार गुरू हुन् । मलेसियामा लाहुरे हुन पुगेका दुवै छोरा आइपुगेका थिए । केही वर्ष पहिले आमालाई गुमाउन परेको घाउ आलै थियो । त्यसपछि बाबु बिरामी हुँदा उनीहरू नराम्रोसँग झस्केका थिए । छोराछोरी एवं चुमबासीले धेरै कर गर्दा पनि गुरू मिङ्मा उपचारका लागि दिल्ली जान भने मानेनन् ।
गहभरी आँसु टिलपिलाउँदै उनले पेम्बालाई भने, “दिल्ली नेताहरू नै जाऊन् । म नेपालको ठूलो अस्पतालमा नै उपचार गर्छु । मलाई सञ्चो हुन्छ । कात्तिकमा पेन्सन निस्कने हो । मेरो बिदाइमा चुमलिङ्मा भव्य कार्यक्रम गर्नुपर्छ है ।”
पेम्बाले गुरूको हात मुसार्दै भने, “पिर नगर्नू गुरू, भब्य पार्टी गरौँला ।”
मिङ्मा अठ्तिस वर्षसम्म दावा चुमका घरमा परिवारको सदस्य भएर बसे । शिक्षण अस्पतालमा राखेपछि दावाले गुरू मिङ्मालाई क्षणभर पनि छाडेनन् । अन्तिम दिनको कुरा हो । गुरूले दावाको हात समातिरहे । उनले मधुरो स्वरमा दावालाई भने , “मृत्युलाई रोक्न सकिँदैन । चुममा मैले जे गरेँ, त्यसमा म सन्तुष्ट छु । कथमकदाचित म यहाँ मरे भने पनि मेरो लास आर्यघाटमा लगेर ब्रह्मनालमा राख्नू तर त्यहाँ नजलाउनू । मेरो लास मैले अठ्तिस वर्ष बिताएको चुमलिङ गाउँ नै लैजानू । मृत्यु सत्य हो । अर्को जन्म हुँदैन । मरेपछि, म स्वर्गमा जानका लागि मेरो लासलाई ब्रह्मनालमा सुताउनु भनेको होइन ।”
“मिङ्मा, तपाईंलाई केही हुँदैन । मर्ने कुरा नगर्नू”, दावाले भने ।
“हो, मलाई केही हुँदैन, मनमा आएको कुरा भनेको नि” भन्दै फेरि पहिलेकै कुरामा थप्दै भने, “चलेको संस्कार नगर्दा मेरो मृत्युको पीडामा छट्पटाएका मेरा सन्तान, चुमका मेरा विद्यार्थी र अभिभावक दुःखी नहून् भन्नाका लागि त्यसो भन्दैछु । त्यसपछि लामा र पुरेत राखेर सबैको चलन बमोजिम रेन्जेमको दोभानमा मैले खोजेर राखेका दाउरा लगेर जलाउनू । रुख काट्यो भने पहिरो जान्छ । अनि, पृथ्वी तात्छ ।”
उनले त्यसो भन्दा दावा अलि डराए । आँखाले सङ्केत गर्दै गुरूका जेठो छोरालाई पनि नजिकै बस्न भने ।
आँखाका नानी चारैतिर घुमाउँदै गुरूले भने, “दाहसंस्कार गर्दा आरूघाट र चुमको चलन अनुसार गर्नू । किनभने, हामी मानव हौँ । हाम्रो दर्शन, धर्म, संस्कार र परम्परा भूगोलले गर्दा फरक भएको हो । हामी सबै नेपाल आमाका सन्तान हौँ । सांस्कृतिक सद्भाव हजारौं वर्ष पहिले जति बलियो थियो, त्यस्तै बलियो बनाउन पर्छ । अनि बल्ल हाम्रो गाउँ, गोर्खा, गणेश र मनास्लु हिमाल हाँस्छ । अनि हाँस्छ, हाम्रो देश नेपाल ।”
मिङ्मा शिथिल भएका थिए । नर्स आएर जाँच गर्दै “बुबा धेरै नबोल्नू, तपाईंको घाँटीमा इन्फेक्सन भएको छ” भनिन् ।
मिङ्माले नर्सलाई वास्ता नगरी भने, “पश्चिमाले भौतिक सुखका लागि अधिक औद्योगिकीकरण गरे, परिणामस्वरूप तापक्रम बढ्यो । उनीहरूले प्रकृतिको दोहन गरेर सुखसुविधा लिँदा हामीले अनाहकमा दुःख पायौँ । हाम्रै हिमालमा हिउँ कम भयो । म चुमलिङ जाँदा वरपरका पहाडमा वैशाखसम्म हिउँ हुन्थ्यो, अहिले छैन । यसैले पृथ्वीको तापक्रम घटाउन वन बचाउनुपर्छ ।”
त्यसदिन दावासँग गुरू मिङ्माले एक घण्टा कुरा गरे । उनमा बाँच्ने चाहना प्रबल थियो ।
गुरू मिङ्मालाई अक्सिजनका साथै स्लाइनको पाइपबाट औषधि चढाइएको थियो । गुरूको शरीर क्रमशः सुक्दै गयो । पातलो भएर हाड र छाला मात्र देखिन्थ्यो । अनुहारमा चमक थियो तापनि आवाज भासिएको थियो । घाँटीको घाउ सुनिएकाले पानी निल्न हुँदैन्थ्यो । औषधि र अक्सिजनका भरमा अस्पतालमा उनी पाँच हप्ता बसे । चुम उपत्यका, आरूघाटका सबै शुभेच्छुकले उनलाई भेटे । आरूघाटका छिमेकीलाई “अब कात्तिकमा पेन्सन निस्केपछि तपाईंँहरूसँगै बस्छु” भन्थे । उता चुमबासीलाई “म पेन्सन निस्के पनि मेरो कोठा छाड्दिन है” भन्थे।
स्वास्थ्यमा सुधार भएन । चिकित्सकले उनको रोग पत्ता लगाउनै सकेनन् । अन्तिमतिर गुरूलाई घाँटीको पीडाले नै चीर निद्रामा सुतायो । सबैसँग चुमको शिक्षा र वातावरणबारे कुरा गर्दागर्दै उनी सबैलाई स्तब्ध पारेर निर्वाण प्राप्त गरे । उनकै इच्छा अनुसार उनको पार्थिव शरीर चुमलिङ लगिएको थियो ।
साउनको बिहान थियो । पूर्वतिर चकितै पार्ने छ्याङ्ग उज्यालो देखियो । तीन तारे भरखरै उदाएको थियो । साउनमा चुम उपत्यकामा त्यति बिघ्न सफा आकाश पचास–साठी वर्षका अन्तरालमा मात्र देखिने गरेको चर्चा गाउँलेले गर्दै थिए । त्यो मौसम देख्दा चुमलिङ्बासीको अनुहार त्यही मौसम जत्तिकै उज्यालो भएको थियो ।
त्यसको कारण थियो – लामाले गुरू मिङ्माको दाहसंस्कार गर्न दिएको सोही दिन बिहान ६ बजेको समय । साउन अन्तिमतिर झमझम झरी दर्कने बेला, सबैलाई अचम्म पार्ने गरी मौसम सफा भयो । त्यो बिहानको मौसमबारे प्रकृतिपूजक ती चुमबासीले विभिन्न तर्क गर्दै भने–
“मौसम राम्रो हुनु भनेको गुरू मिङ्मा स्वर्ग जाने बाटो खुलेको हो ।”
“मिङ्मा सर त साँच्चि धर्मात्मा रहेछन्, उनी मैत्रेय बुद्ध भएर फेरि चुमनुब्रीमा जन्मने छन् ।”
“मिङ्मा नराम्रो भा’ हिउँ परेको बेला घर नझरी यहाँ बसेर केटाकेटी पढाउँथ्यो ? सर त प्रकृतिपूजक बोन गुरू सेनरेब नै हो ।”
“ऊ नआएको भा’ हाम्रो वन हामीले पहिल्यै काटेर सक्थ्यो । रुखले सास फेर्न अक्सिजन दिन्छा, पैरो जान रोक्छा, रुख नकाट् भनेर सरले हाम्रो छोराछोरीलाई सिकायो, रुख बचायो, स्याउ फलायो, बच्चा पढायो ।”
“हो त नि ! हाम्रो गाउँ वरपर हेर न फुर्वा पहिरो गएको छैना नि, हामीले वन बचाएर त हो नि ?”
“धर्मात्मा भएर त हो नि मौसम पनि मिङ्मा सरको मन जस्तै सफा भयो ।” यस्तै कुरा गाउँलेले एकार्कासँग गरेको सुनिन्थ्यो ।
आरुघाटका शुभचिन्तक अघिल्लै साँझ चुमलिङ पुगे । यस क्षेत्रका मुख्य गुम्बामध्ये मु, राचेन, लुङ्दाङ र स्थानीय धाम्पा गुम्बाका लामा र आरुघाटबाट पुरेत पनि आइसकेका थिए ।
बोन, हिन्दू र बौद्ध परम्परा अनुसार लासको पूजा गरियो । छोराछोरी, बुहारी, ज्वाइँँ, इष्टमित्र, गाउँले सबै मिलेर लास सियार र गणेश हिमालतिरबाट आएको लाङ्दाङ खोलाको रेन्जेम दोभानमा लगे ।
दाहसंस्कारको दिन चुम उपत्यकाका सबै गाउँका मानिस खर्लप्पै ओइरिएका थिए । त्यसपछि बोन, हिन्दू र बौद्ध विधिबाट मन्त्रोचारण गरी चितामा राखेर दाहसंस्कार गरे । त्यसबेला काग, गिद्ध, चराचुरुङ्गी उपत्यकाभर कावा खाइरहेका थिए । बाँदर, हरिण, हिम चितुवा लेकका पखेरा, ठूला चट्टान र रुखका हाँगाबिगामा देखिन्थे । यस्तो लाग्थ्यो कि त्यो चुम उपत्यका नै शोकमग्न छ । दस बजेर पन्ध्र मिनट जाँदा दाहसंस्कार कर्म सकियो । दोभानबाट उठेको धुवाँको मुस्लो माथिमाथि निलो आकाशतिर पुगेर विलिन भयो । गाउँलेले आँसु पुछे । गुरू मिङ्मालाई हृृदयभरिको अन्तिम श्रद्धाञ्जलि अर्पण गरे ।
त्यो दिन १२ बजेपछि अकाश गज्र्यो । चट्याङ् प¥यो । त्यसपछि घनघोर मुसलधारे पानी प¥यो । सबैले बिहानको सफा मौसम र त्यसपछि गर्जन सहितको मुसलधारे पानीलाई पनि गुरू मिङ्माको मृत्युसँग तुलना गरे ।
कसैले“गुरू मिङ्मा तीनतारे तारा भयो” भने ।
कसैले “गुरू मिङ्मा मैत्रेय बुद्ध भएर आउने छ” भने ।
कसैले “गणेश हिमाल भएर हाम्रो अगाडि बस्योे” भने ।
प्रकृतिपूजक ती गाउँलेले गुरू मिङ्माको तस्बिर सेनरेब, बुद्ध, गुरु रिम्पोचेको तस्बिरसँगै राखेर सम्मान गर्दै आफ्नो कर्ममा लागे ।
–समाप्त–

रोलवालिङ हिमनदीबाट हिमाल चियाउँदा

चैत ४, २०७९ शनिबार राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित । धन्यवाद सहित साभार

विष्णुप्रसाद शर्मा पराजुली

काठमाडौँबाट हिँडेको चौथो दिन, २०७३ कात्तिक १ गतेको बिहान गाइड फिन्जो शेर्पासहित हामी चार जनाले रोलवालिङ हिमनदी नजिक रहेको ओमी च्छो (दुधपोखरी)लाई पछ्यायौँ । रोलवालिङ उपत्यकाको बगर (मोराइन) तुसारोले सेताम्मे देखिन्थ्यो । अघिल्लो रात हामी ना गाउँ (४१८० मि.)मा बास बसेका थियौँ । हामी बसेको होटलकी आमासँग पनि पोखरीबारे जानकारी लियौँ । हिउँदमा हिउँले पुरिने विशाल बगर, सेता र खैरा ठूला ढुङ्गा तथा गेग्र्यानमा गोरेटो खुट्ट्याउन नसक्दा बाटो बिरियो । बिनाडोरेटो हिमबगरको ठुल्ठुला ढुङ्गा घुँडा दोब्य्राउँदै चढ्ने र पुठोले टेक्दै ओर्लँदै मात्र के गरेका थियौँ, ४२५० मिटरभन्दा माथिको उचाइमा मुटुको धड्कन सामान्यबाट तुरुन्तै उकालो लागिहाल्यो । सबैलाई चिट्चिटाहट भयो । कसैलाई पिसाब तुरुक्क चुहिने अवस्था भयो भने कसैको दिसा निस्कने । मैले सबैलाई घोप्टो परेर बिस्तारै लामो सास तान्दै र फाल्दै गर्न भनेँ । हिँड्दा बिस्तारै पाइला सार्न अनुरोध गरेँ । धड्कन सामान्यको नजिक भएपछि मात्र बिस्तारै उकालो लाग्यौँ ।
करिब ४३०० मिटरमा पुगेपछि भने डोरेटो भेटियो । बिहानको बाक्लो हुस्सु कुलेलम ठोकेर गौरीशङ्कर नाघ्यो । केही मिटरको उकालो चढेपछि गोरेटोको पश्चिमोत्तर कुनामा सानो सेतो कुण्ड देखियो, त्यही नै दुधपोखरी रहेछ जुन करिब ४४५० मिटरको उचाइमा रहेको छ । पोखरीमा साउने पूर्णिमामा ठुलो मेला लाग्ने जानकारी होटल सञ्चालिका आमाले दिनुभएको थियो । सानो भएकैले पोखरी भनिएको रहेछ तर पानी भने साँच्चिकै दुध भन्न मिल्ने सेतो देखिएको थियो । घाम नपर्ने चट्टानको कोप्चा–काप्चीमा भने बरफ जमेको देखिन्थ्यो ।
जलवायु परिवर्तनको कारण पोखरीको आकार खुम्चिएको वरपरको सुख्खा बगरले देखाउथ्यो । पृथ्वीको तापक्रम बढेकोले हिमालमा पनि प्रत्यक्ष प्रभाव देखिन थालेको तीन दशक नाघेको छ । त्यसैको परिणामस्वरूप हिमनदीमा कतै हिमताल सुक्ने, कतै नयाँ हिमताल बन्ने अनि हिमनदी नै बालुवाको बगरमा परिणत हुने क्रम जारी छ । पश्चिमा देशमा भएको अत्यधिक औद्योगिकीकरणको कारण आज हाम्रा हिमाल र त्यसनजिक हिउँ जमिरहने पर्वत सुख्खा, जर्जर र डढेलो लाग्ने अवस्थामा पुगेका छन् । त्यसको मर्म पश्चिमाले बुझ्लान् र ? हिमालमा रमाउन उकालो चढ्दै गर्दा पृथ्वीमा वृद्धि भइरहेको तापमान र हामीलाई परेको त्यसको असरतिर अनायस मेरो ध्यान तानियो ।
त्यहाँबाट करिब एक घण्टाको उकालो पार गरेपछि रोलवालिङ हिमनदीको शिरतिर हलुका खैरो बलौटे भाग र हिमालका चुचुरा नजिकै देखिए । केही मिनेटपहिले हामी सबैको टाउकोवरपर बास बसेको चिट्चिटाहट अनायस हुस्सुको साथ लागेर कता हो कता कुलेलम ठोक्यो । कर्कलोका डाँठजस्ता भएका खुट्टा आपूmसँगै हिमालका लामबद्ध चुलीहरू टाँसिएको देख्दा सालको खाँबोजस्तै भए । हामी रोलवालिङ हिमनदीको धारैधार माथि चढ्यौँ । धार कोप्रिएको ठाउँ गेगर धस्सिएर पहिरो झर्न सक्ने भएकाले होसियार हुनुपथ्र्यो । केही माथि फुस्रो पखेरोमा पुरानो लुङदार फहराइरहेको देखियो । रोलवालिङ हिमनदीको पश्चिमी कान्लो कतै फुकेको थियो भने कतै साँघुरिएको । हिमनदीको पश्चिम खण्डमा बर्खाको धाँस सुकेर गाढा खैरो र घुरमैलो कालो देखिन्थ्यो । त्यसलाई पछ््याउँदै धारैधार उकालो चढदै गयौँ । क्रमशः नजिकका रोलवालिङ शृङ्खलाका चुचुराहरूको सिङ्गो रूप, रोलवालिङ हिमनदीको विशाल बगरको सुख्खा रूप (ःयचबष्लभ), पूर्वदक्षिणमा रोलवालिङ हिमनदीको बीचमा दुधकै रङमा रहेको च्छोरोल्पा तालको दक्षिण भाग देखियो । त्यस बेलासम्म भने हामी दुधपोखरीभन्दा माथि दृश्यावलोकनको घोडाको पिठ्यूजस्तो देखिने धारमा पुगेका थियौँ ।
म, त्योभन्दा केही मिटर माथि चढेँ । सुरक्षित धारमा उभिएँ । त्यसपछि दायाँतिरबाट सारा उपत्यकाको क्रमशः अवलोकन गर्दै फनक्क घुमेर सुरुको बिन्दुमा पुगेर टक्क अडिएँ । चारैतिरको माथिल्लो भागबाट हिमालका चुचुरैचुचुराले मलाई नै हेरिरहेका थिए भने म उभिए वरपर विशाल रोलवालिङ हिमनदी, च्छोरोल्पा ताल र ना गाउँ र त्यसभन्दा टाढा दक्षिणतिर फैलिएको विशाल रोलवालिङ उपत्यका र रोलवालिङ नदी देखिएका थिए । सर्वप्रथम मैले त्यस बेलाको त्यो अनुपम, अपरम्पार, अलौकिक दृश्यलाई आँखाका परेला झिम्क्याएर नानीभित्र सुरक्षित गरेँ । त्यसपछि सबैलाई एकत्रित गर्दै मुटुभित्रको थैलीमा नबिर्सने गरी सुर्केँ ।
यस्तो दृश्यको अँगालोमा बाँधिदा म थप भावुक बन्छु । सफा मौसमले छिट्टै मोहनी लगाउँछ । वशिभूत पार्छ । मौसम सफा भएर वरपरको दृश्य देखिँदा मात्र पनि मन फुरुङ्ग हुन्छ भने हिमालतिर उक्लँदा सफा मौसममा टलक्क चाँदीझैँ टल्कने हिवैहिउँले पुरिएका हिमालका लामबद्ध हिमाच्छदित सेता चुचुराहरू, निलमणिजस्तो सफा निलो आकाश, दुधौले जस्तो देखिने दुधपोखरी, जति हे¥यो उति टाढासम्म फैलिएको रोलवालिङ उपत्यका र हिमनदी, त्यसको माथि समूह बनाएर उडिरहेका हिमाली ढुकुर र काग, भित्तामै टाँसिएर पूmलेका साना पहेँला हिमाली पूmल देख्दा कुन मनुष्य पो उमङ्गमा हिमाली कागझैँ कावा नखाला र ! डाँफे र मुनाझैँ को ननाच्ला र ? वास्तवमा, मैले नढाँटी भनेको हुँ, त्यस्तो सुन्दर एकान्त वातावरणमा म एक्लै उड्छु चुचुराहरू पछ्याउँदै, म एक्लै नाच्छु चुचुराहरूसँग ताल मिलाउँदै, र म एक्लै बहन्छु हिमालमा ठोकिएको हावाको झङ्कारसँग ताल मिलाउँदै ।
च्छोरोल्पा हिमनदी सुख्खा गर्गरे बगरमा परिणत भएकोमा मन कुँडिए तापनि हिमाली तल्ला पखेराहरूमा हिउँ नदेखिए तापनि रमणीय प्रकृतिको स्वाद आफ्नै तौरतरिकाबाट लिएँ । साथीहरूले पनि फरकफरक धारमा आ–आफ्नै धुन र सुरमा प्रकृतिको काखमा त्यहाँबाट देखिएको दृश्य हेर्दै चरम आनन्द लिनुभएको थियो । हुस्सु टाढिएकोले कसैले पनि मन खुम्च्याएर भित्रभित्रै आँसु झार्न परेन । हिमालनजिक जाँदा मौसम सफा हुनु अपूर्व अवसर प्राप्त गर्नु हो किनभने मौसम अनुमान गर्ने जतिसुकै आधुनिक उपकरण भए तापनि ३५०० मिटरभन्दा माथिको मौसममा अचानक नै परिवर्तन आउन सक्छ ।
काठमाडौँदेखि ठिक पूर्वमा दोलखाको गौरीशङ्कर गाउँपालिकामा पर्ने रोलवालिङ हिमालय शृङ्खला, समग्र हिमालयको अर्को प्रख्यात हिमशृङ्खला हो । रोलवालिङ हिमालयको पूर्व नाङ्पा लादेखि सगरमाथा क्षेत्रको महालङ्गुर हिमालय शृङ्खला पर्दछ । रोलवालिङ हिमालय खण्डमा चीनको तिब्बतमा पर्ने मेलुङ्त्से प्रथम (७१८१ मिटर) सबैभन्दा अग्लो हिमाल हो भने गौरीशङ्करका दुई चुली गौरीशङ्कर (७१३४ मि.) र गौरी (६९८३ मि.) मध्ये गौरीशङ्कर यस शृङ्खलाको दोस्रो अग्लो हिमाल हो । रोलवालिङको नेपालको अग्लो हिमाल चाहिँ गौरीशङ्कर हो ।
गौरीशङ्कर हिमालय क्षेत्रको उत्तर–दक्षिण फैलाव बीस किलोमिटर र पश्चिम भोटेकोशीदेखि पूर्व तासीलाप्चासम्मको लम्बाइ पचास किलोमिटर रहेको छ । समग्र रोलवालिङको नेपाल खण्डमा ६ हजार मिटरभन्दा उचाइमा रहेका करिब पचास हिमालका चुचुराहरू रहेका छन् । धेरैको नामकरण हुन बाँकी छ र त्यो हिमालयको खण्ड खुम्बुको थामेनजिकको नाङ्पा लासम्म तानिएको छ । नाङ्पा ला ( ५७१६ मिटर ) थामे भएर तिब्बत जाने नाका हो ।
रोलवालिङ खण्ड तामाकोशी नदीको पूर्वतर्फ तेर्सिएको छ तर खासमा रोलवालिङ क्षेत्रलाई नदीको विभाजनअनुसार पश्चिममा तातोपानी खासा क्षेत्र (तिब्बतको नेलमतिरबाट आएको भोटेकोसी) र पूर्वमा नाङ्पा लादेखि आएको भोटेकोशी (पछि दुधकोशी भनिने)सम्मको पचास किलोमिटर लामो भागलाई बृहत रोलवालिङ हिमालय शृङ्खला क्षेत्र भन्न सकिन्छ । रोलवालिङ उपत्यका भनेर चाहिँ च्छोरोल्पा नजिकको हिमनदी, त्यसबाट बनेको च्छोरोल्पा हिमताल र त्यसबाट बग्दै पश्चिमतिर लागेको खोलोलाई पनि रोलवालिङ भनिन्छ । च्छोरोल्पा खोलोचाहिँ लामाबगरदेखि दक्षिणमा रहेको तागापोल दोभानमा तामाकोशीमा मिसिन्छ । लामाबगरदेखि उत्तरमा यसै तामाकोशी नदीले हिमालयको खण्डलाई काटेर रोलवालिङ र जुगल एवम् लाङ्टाङ हिमालय शृङ्खलालाई छुट्ट्याइदिएको छ ।
हामी त्यसै रोलवालिङ मुख्य हिमशृङ्खलाको अन्य चुचुराहरूको बीच, उत्तरदक्षिण भएर च्छोरोल्पा तालतिर मोडिएको रोलवालिङ हिमनदी, च्छोरोल्पा ताल, तालबाट निस्केर बगेको रोलवालिङ नदी र रोलवालिङ उपत्यकाले घेरिएको रोलवालिङ हिमनदीको उत्तरी पखेरोमा थियौँ । त्यहाँबाट ठिक अगाडि उत्तर पश्चिममा काङ नाचु गो (६७३७ मि.), ओमी च्शो गो (६३३२ मि.), उत्तरतर्फ ठाडो माछापुच्छ«ेको पखेरोजस्तो ठाडो भिरालो देखिने दिङइङ री, हिमनदीको पूर्वी शिरमा द्राङनाङ (६८०१ मि.), पूर्वोत्तरमा रोलवालिङ काङ (६६६४ मि.), खाङ खार्पो (६६४६ मि.), दक्षिण पूर्वमा चोबुजे खाङ ताग री ( ६६८६ मि.) र दक्षिणमा च्छोरोल्पा ताल, त्यसको निकास, त्यसैबाट बनेको खोलो र उपत्यका देखिएको थियो । यहाँका धेरै चुचुराहरू आरोहणको लागि प्रख्यात छन् । त्यसको लागि नेपाल पर्वतारोहण सँघको अनुमति लिनु पर्छ ।


आँखाले देखिएको आधारमा (भित्र छिरेको हिम नदीको भाग देखिएको थिएन) करिब १५०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ भएको त्यो रोलवालिङ हिमनदी हिउँ नभएको कारण सुख्खा, फुस्रो खरानी रङको बलौटे नदीमा परिणत भएको थियो । भिरालो परेको ठाउँमा बालुवा, गिटी, चट्टानसहितको बगरको थुप्रोमुनि कतै–कतै बरफका भीमकाय चट्टान देखिन्थे जुन भित्रभित्रै पग्लेर भित्रैबाट च्छोरोल्पा तालमा पुग्दछ । पृथ्वीको तापक्रम बढ्दै गएको कारण मौसममा आएको परिवर्तनले हिमनदी बालुवा र गिटीको नदीमा परिणत भएको हाम्रै आँखाले विगत केही वर्षदेखि देखिरहेका छौँ । विज्ञले त्यसलाई स्वीकार गरेका छन् । नेपालको धवलागिरि, अन्नपूर्ण, खुम्बु, मकालु र कञ्चनजङ्घाका हिमनदी पनि त्यस्तै सुख्खा भएका छन् र ती हिमनदीमा अकल्पनीय रूपमा साना र ठुला हिमताल बनेका छन् । बन्ने क्रममा छन् । अनुसन्धानमा संलग्न विज्ञको भनाइअनुसार ती ताल फुट्ने खतरा पनि त्यत्तिकै रहेको छ ।


हामीले सुख्खा हिमनदी देख्यौँ । त्यसबारे बहस गर्ने औकात हामीसँग रहेन । मनमा पिर त पर्ने नै भयो । त्यो पिरलाई सफा मौसमले भुलाइदियो । मौसम सफा भएर सबै हिमालका चुली, हिमनदी र वरपर छर्लङ्ग खुलेको हुनाले सम्पूर्ण पीडा, दुःख, थकाइ, उचाइमा लाग्ने बिमार बिर्सेर त्यो मनमोहक दृश्य हेर्नमै मग्न रह्यौँ । त्यो दृश्यको अवलोकन गर्दै रोलवालिङ हिमनदीको किनारभन्दा माथिल्लो सुख्खा थुम्कोमा बसेर खाजा खायौँ ।
उच्च हिमाली क्षेत्रमा कहिलेकाहीँ अचानक मौसम परिवर्तन हुन्छ । त्यो सारा उपत्यका क्षणभरमा नै हुस्सु र कुहिरोभित्र पुरिन्छ । अति नै चिसो र शक्तिशाली हावा हुँइकिने, कालो बादल मडारिने, हिउँ पर्ने, बाटो बन्द हुने र हिमपहिरोमा पुरिने खतरा हुन्छ । हिमालमा जाँदा त्यसबारे होशियार हुन पर्छ । त्यस बेला मौसमले साथ दियो । त्यो दिन, दिनभर नै मौसम सफा रह्यो । साँच्चिकै खुसीको दिन थियो त्यो । मनभरि खुसीलाई साँचेर हामी रोलवालिङ हिमनदीबाट झरेर ना गुम्बाको अवलोकन ग¥यौँ । त्यसपछि होटलमा फर्केर हिमाली चिया सुचे पिउँदै थकाई मा¥यौँ ।