रोलवालिङ हिमनदीबाट हिमाल चियाउँदा

चैत ४, २०७९ शनिबार राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित । धन्यवाद सहित साभार

विष्णुप्रसाद शर्मा पराजुली

काठमाडौँबाट हिँडेको चौथो दिन, २०७३ कात्तिक १ गतेको बिहान गाइड फिन्जो शेर्पासहित हामी चार जनाले रोलवालिङ हिमनदी नजिक रहेको ओमी च्छो (दुधपोखरी)लाई पछ्यायौँ । रोलवालिङ उपत्यकाको बगर (मोराइन) तुसारोले सेताम्मे देखिन्थ्यो । अघिल्लो रात हामी ना गाउँ (४१८० मि.)मा बास बसेका थियौँ । हामी बसेको होटलकी आमासँग पनि पोखरीबारे जानकारी लियौँ । हिउँदमा हिउँले पुरिने विशाल बगर, सेता र खैरा ठूला ढुङ्गा तथा गेग्र्यानमा गोरेटो खुट्ट्याउन नसक्दा बाटो बिरियो । बिनाडोरेटो हिमबगरको ठुल्ठुला ढुङ्गा घुँडा दोब्य्राउँदै चढ्ने र पुठोले टेक्दै ओर्लँदै मात्र के गरेका थियौँ, ४२५० मिटरभन्दा माथिको उचाइमा मुटुको धड्कन सामान्यबाट तुरुन्तै उकालो लागिहाल्यो । सबैलाई चिट्चिटाहट भयो । कसैलाई पिसाब तुरुक्क चुहिने अवस्था भयो भने कसैको दिसा निस्कने । मैले सबैलाई घोप्टो परेर बिस्तारै लामो सास तान्दै र फाल्दै गर्न भनेँ । हिँड्दा बिस्तारै पाइला सार्न अनुरोध गरेँ । धड्कन सामान्यको नजिक भएपछि मात्र बिस्तारै उकालो लाग्यौँ ।
करिब ४३०० मिटरमा पुगेपछि भने डोरेटो भेटियो । बिहानको बाक्लो हुस्सु कुलेलम ठोकेर गौरीशङ्कर नाघ्यो । केही मिटरको उकालो चढेपछि गोरेटोको पश्चिमोत्तर कुनामा सानो सेतो कुण्ड देखियो, त्यही नै दुधपोखरी रहेछ जुन करिब ४४५० मिटरको उचाइमा रहेको छ । पोखरीमा साउने पूर्णिमामा ठुलो मेला लाग्ने जानकारी होटल सञ्चालिका आमाले दिनुभएको थियो । सानो भएकैले पोखरी भनिएको रहेछ तर पानी भने साँच्चिकै दुध भन्न मिल्ने सेतो देखिएको थियो । घाम नपर्ने चट्टानको कोप्चा–काप्चीमा भने बरफ जमेको देखिन्थ्यो ।
जलवायु परिवर्तनको कारण पोखरीको आकार खुम्चिएको वरपरको सुख्खा बगरले देखाउथ्यो । पृथ्वीको तापक्रम बढेकोले हिमालमा पनि प्रत्यक्ष प्रभाव देखिन थालेको तीन दशक नाघेको छ । त्यसैको परिणामस्वरूप हिमनदीमा कतै हिमताल सुक्ने, कतै नयाँ हिमताल बन्ने अनि हिमनदी नै बालुवाको बगरमा परिणत हुने क्रम जारी छ । पश्चिमा देशमा भएको अत्यधिक औद्योगिकीकरणको कारण आज हाम्रा हिमाल र त्यसनजिक हिउँ जमिरहने पर्वत सुख्खा, जर्जर र डढेलो लाग्ने अवस्थामा पुगेका छन् । त्यसको मर्म पश्चिमाले बुझ्लान् र ? हिमालमा रमाउन उकालो चढ्दै गर्दा पृथ्वीमा वृद्धि भइरहेको तापमान र हामीलाई परेको त्यसको असरतिर अनायस मेरो ध्यान तानियो ।
त्यहाँबाट करिब एक घण्टाको उकालो पार गरेपछि रोलवालिङ हिमनदीको शिरतिर हलुका खैरो बलौटे भाग र हिमालका चुचुरा नजिकै देखिए । केही मिनेटपहिले हामी सबैको टाउकोवरपर बास बसेको चिट्चिटाहट अनायस हुस्सुको साथ लागेर कता हो कता कुलेलम ठोक्यो । कर्कलोका डाँठजस्ता भएका खुट्टा आपूmसँगै हिमालका लामबद्ध चुलीहरू टाँसिएको देख्दा सालको खाँबोजस्तै भए । हामी रोलवालिङ हिमनदीको धारैधार माथि चढ्यौँ । धार कोप्रिएको ठाउँ गेगर धस्सिएर पहिरो झर्न सक्ने भएकाले होसियार हुनुपथ्र्यो । केही माथि फुस्रो पखेरोमा पुरानो लुङदार फहराइरहेको देखियो । रोलवालिङ हिमनदीको पश्चिमी कान्लो कतै फुकेको थियो भने कतै साँघुरिएको । हिमनदीको पश्चिम खण्डमा बर्खाको धाँस सुकेर गाढा खैरो र घुरमैलो कालो देखिन्थ्यो । त्यसलाई पछ््याउँदै धारैधार उकालो चढदै गयौँ । क्रमशः नजिकका रोलवालिङ शृङ्खलाका चुचुराहरूको सिङ्गो रूप, रोलवालिङ हिमनदीको विशाल बगरको सुख्खा रूप (ःयचबष्लभ), पूर्वदक्षिणमा रोलवालिङ हिमनदीको बीचमा दुधकै रङमा रहेको च्छोरोल्पा तालको दक्षिण भाग देखियो । त्यस बेलासम्म भने हामी दुधपोखरीभन्दा माथि दृश्यावलोकनको घोडाको पिठ्यूजस्तो देखिने धारमा पुगेका थियौँ ।
म, त्योभन्दा केही मिटर माथि चढेँ । सुरक्षित धारमा उभिएँ । त्यसपछि दायाँतिरबाट सारा उपत्यकाको क्रमशः अवलोकन गर्दै फनक्क घुमेर सुरुको बिन्दुमा पुगेर टक्क अडिएँ । चारैतिरको माथिल्लो भागबाट हिमालका चुचुरैचुचुराले मलाई नै हेरिरहेका थिए भने म उभिए वरपर विशाल रोलवालिङ हिमनदी, च्छोरोल्पा ताल र ना गाउँ र त्यसभन्दा टाढा दक्षिणतिर फैलिएको विशाल रोलवालिङ उपत्यका र रोलवालिङ नदी देखिएका थिए । सर्वप्रथम मैले त्यस बेलाको त्यो अनुपम, अपरम्पार, अलौकिक दृश्यलाई आँखाका परेला झिम्क्याएर नानीभित्र सुरक्षित गरेँ । त्यसपछि सबैलाई एकत्रित गर्दै मुटुभित्रको थैलीमा नबिर्सने गरी सुर्केँ ।
यस्तो दृश्यको अँगालोमा बाँधिदा म थप भावुक बन्छु । सफा मौसमले छिट्टै मोहनी लगाउँछ । वशिभूत पार्छ । मौसम सफा भएर वरपरको दृश्य देखिँदा मात्र पनि मन फुरुङ्ग हुन्छ भने हिमालतिर उक्लँदा सफा मौसममा टलक्क चाँदीझैँ टल्कने हिवैहिउँले पुरिएका हिमालका लामबद्ध हिमाच्छदित सेता चुचुराहरू, निलमणिजस्तो सफा निलो आकाश, दुधौले जस्तो देखिने दुधपोखरी, जति हे¥यो उति टाढासम्म फैलिएको रोलवालिङ उपत्यका र हिमनदी, त्यसको माथि समूह बनाएर उडिरहेका हिमाली ढुकुर र काग, भित्तामै टाँसिएर पूmलेका साना पहेँला हिमाली पूmल देख्दा कुन मनुष्य पो उमङ्गमा हिमाली कागझैँ कावा नखाला र ! डाँफे र मुनाझैँ को ननाच्ला र ? वास्तवमा, मैले नढाँटी भनेको हुँ, त्यस्तो सुन्दर एकान्त वातावरणमा म एक्लै उड्छु चुचुराहरू पछ्याउँदै, म एक्लै नाच्छु चुचुराहरूसँग ताल मिलाउँदै, र म एक्लै बहन्छु हिमालमा ठोकिएको हावाको झङ्कारसँग ताल मिलाउँदै ।
च्छोरोल्पा हिमनदी सुख्खा गर्गरे बगरमा परिणत भएकोमा मन कुँडिए तापनि हिमाली तल्ला पखेराहरूमा हिउँ नदेखिए तापनि रमणीय प्रकृतिको स्वाद आफ्नै तौरतरिकाबाट लिएँ । साथीहरूले पनि फरकफरक धारमा आ–आफ्नै धुन र सुरमा प्रकृतिको काखमा त्यहाँबाट देखिएको दृश्य हेर्दै चरम आनन्द लिनुभएको थियो । हुस्सु टाढिएकोले कसैले पनि मन खुम्च्याएर भित्रभित्रै आँसु झार्न परेन । हिमालनजिक जाँदा मौसम सफा हुनु अपूर्व अवसर प्राप्त गर्नु हो किनभने मौसम अनुमान गर्ने जतिसुकै आधुनिक उपकरण भए तापनि ३५०० मिटरभन्दा माथिको मौसममा अचानक नै परिवर्तन आउन सक्छ ।
काठमाडौँदेखि ठिक पूर्वमा दोलखाको गौरीशङ्कर गाउँपालिकामा पर्ने रोलवालिङ हिमालय शृङ्खला, समग्र हिमालयको अर्को प्रख्यात हिमशृङ्खला हो । रोलवालिङ हिमालयको पूर्व नाङ्पा लादेखि सगरमाथा क्षेत्रको महालङ्गुर हिमालय शृङ्खला पर्दछ । रोलवालिङ हिमालय खण्डमा चीनको तिब्बतमा पर्ने मेलुङ्त्से प्रथम (७१८१ मिटर) सबैभन्दा अग्लो हिमाल हो भने गौरीशङ्करका दुई चुली गौरीशङ्कर (७१३४ मि.) र गौरी (६९८३ मि.) मध्ये गौरीशङ्कर यस शृङ्खलाको दोस्रो अग्लो हिमाल हो । रोलवालिङको नेपालको अग्लो हिमाल चाहिँ गौरीशङ्कर हो ।
गौरीशङ्कर हिमालय क्षेत्रको उत्तर–दक्षिण फैलाव बीस किलोमिटर र पश्चिम भोटेकोशीदेखि पूर्व तासीलाप्चासम्मको लम्बाइ पचास किलोमिटर रहेको छ । समग्र रोलवालिङको नेपाल खण्डमा ६ हजार मिटरभन्दा उचाइमा रहेका करिब पचास हिमालका चुचुराहरू रहेका छन् । धेरैको नामकरण हुन बाँकी छ र त्यो हिमालयको खण्ड खुम्बुको थामेनजिकको नाङ्पा लासम्म तानिएको छ । नाङ्पा ला ( ५७१६ मिटर ) थामे भएर तिब्बत जाने नाका हो ।
रोलवालिङ खण्ड तामाकोशी नदीको पूर्वतर्फ तेर्सिएको छ तर खासमा रोलवालिङ क्षेत्रलाई नदीको विभाजनअनुसार पश्चिममा तातोपानी खासा क्षेत्र (तिब्बतको नेलमतिरबाट आएको भोटेकोसी) र पूर्वमा नाङ्पा लादेखि आएको भोटेकोशी (पछि दुधकोशी भनिने)सम्मको पचास किलोमिटर लामो भागलाई बृहत रोलवालिङ हिमालय शृङ्खला क्षेत्र भन्न सकिन्छ । रोलवालिङ उपत्यका भनेर चाहिँ च्छोरोल्पा नजिकको हिमनदी, त्यसबाट बनेको च्छोरोल्पा हिमताल र त्यसबाट बग्दै पश्चिमतिर लागेको खोलोलाई पनि रोलवालिङ भनिन्छ । च्छोरोल्पा खोलोचाहिँ लामाबगरदेखि दक्षिणमा रहेको तागापोल दोभानमा तामाकोशीमा मिसिन्छ । लामाबगरदेखि उत्तरमा यसै तामाकोशी नदीले हिमालयको खण्डलाई काटेर रोलवालिङ र जुगल एवम् लाङ्टाङ हिमालय शृङ्खलालाई छुट्ट्याइदिएको छ ।
हामी त्यसै रोलवालिङ मुख्य हिमशृङ्खलाको अन्य चुचुराहरूको बीच, उत्तरदक्षिण भएर च्छोरोल्पा तालतिर मोडिएको रोलवालिङ हिमनदी, च्छोरोल्पा ताल, तालबाट निस्केर बगेको रोलवालिङ नदी र रोलवालिङ उपत्यकाले घेरिएको रोलवालिङ हिमनदीको उत्तरी पखेरोमा थियौँ । त्यहाँबाट ठिक अगाडि उत्तर पश्चिममा काङ नाचु गो (६७३७ मि.), ओमी च्शो गो (६३३२ मि.), उत्तरतर्फ ठाडो माछापुच्छ«ेको पखेरोजस्तो ठाडो भिरालो देखिने दिङइङ री, हिमनदीको पूर्वी शिरमा द्राङनाङ (६८०१ मि.), पूर्वोत्तरमा रोलवालिङ काङ (६६६४ मि.), खाङ खार्पो (६६४६ मि.), दक्षिण पूर्वमा चोबुजे खाङ ताग री ( ६६८६ मि.) र दक्षिणमा च्छोरोल्पा ताल, त्यसको निकास, त्यसैबाट बनेको खोलो र उपत्यका देखिएको थियो । यहाँका धेरै चुचुराहरू आरोहणको लागि प्रख्यात छन् । त्यसको लागि नेपाल पर्वतारोहण सँघको अनुमति लिनु पर्छ ।


आँखाले देखिएको आधारमा (भित्र छिरेको हिम नदीको भाग देखिएको थिएन) करिब १५०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ भएको त्यो रोलवालिङ हिमनदी हिउँ नभएको कारण सुख्खा, फुस्रो खरानी रङको बलौटे नदीमा परिणत भएको थियो । भिरालो परेको ठाउँमा बालुवा, गिटी, चट्टानसहितको बगरको थुप्रोमुनि कतै–कतै बरफका भीमकाय चट्टान देखिन्थे जुन भित्रभित्रै पग्लेर भित्रैबाट च्छोरोल्पा तालमा पुग्दछ । पृथ्वीको तापक्रम बढ्दै गएको कारण मौसममा आएको परिवर्तनले हिमनदी बालुवा र गिटीको नदीमा परिणत भएको हाम्रै आँखाले विगत केही वर्षदेखि देखिरहेका छौँ । विज्ञले त्यसलाई स्वीकार गरेका छन् । नेपालको धवलागिरि, अन्नपूर्ण, खुम्बु, मकालु र कञ्चनजङ्घाका हिमनदी पनि त्यस्तै सुख्खा भएका छन् र ती हिमनदीमा अकल्पनीय रूपमा साना र ठुला हिमताल बनेका छन् । बन्ने क्रममा छन् । अनुसन्धानमा संलग्न विज्ञको भनाइअनुसार ती ताल फुट्ने खतरा पनि त्यत्तिकै रहेको छ ।


हामीले सुख्खा हिमनदी देख्यौँ । त्यसबारे बहस गर्ने औकात हामीसँग रहेन । मनमा पिर त पर्ने नै भयो । त्यो पिरलाई सफा मौसमले भुलाइदियो । मौसम सफा भएर सबै हिमालका चुली, हिमनदी र वरपर छर्लङ्ग खुलेको हुनाले सम्पूर्ण पीडा, दुःख, थकाइ, उचाइमा लाग्ने बिमार बिर्सेर त्यो मनमोहक दृश्य हेर्नमै मग्न रह्यौँ । त्यो दृश्यको अवलोकन गर्दै रोलवालिङ हिमनदीको किनारभन्दा माथिल्लो सुख्खा थुम्कोमा बसेर खाजा खायौँ ।
उच्च हिमाली क्षेत्रमा कहिलेकाहीँ अचानक मौसम परिवर्तन हुन्छ । त्यो सारा उपत्यका क्षणभरमा नै हुस्सु र कुहिरोभित्र पुरिन्छ । अति नै चिसो र शक्तिशाली हावा हुँइकिने, कालो बादल मडारिने, हिउँ पर्ने, बाटो बन्द हुने र हिमपहिरोमा पुरिने खतरा हुन्छ । हिमालमा जाँदा त्यसबारे होशियार हुन पर्छ । त्यस बेला मौसमले साथ दियो । त्यो दिन, दिनभर नै मौसम सफा रह्यो । साँच्चिकै खुसीको दिन थियो त्यो । मनभरि खुसीलाई साँचेर हामी रोलवालिङ हिमनदीबाट झरेर ना गुम्बाको अवलोकन ग¥यौँ । त्यसपछि होटलमा फर्केर हिमाली चिया सुचे पिउँदै थकाई मा¥यौँ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s