अभिब्यक्तिः मोक्षको साधन

धन्यवाद सहित अभिव्यक्ति पूर्णाङ्क २१८ फागुन–चेत २०७९ बाट साभार
अभिब्यक्तिः मोक्षको साधन

विष्णुप्रसाद शर्मा पराजुली

झरी परेको बेला आँगनमा रोँटो परेको पानीमा, पानीको फोका उठ्दै फुट्दै गर्छ । बलेनी झरेको खोपिल्टोमा उठेको फोको तलाउमा डुङ्गा घुमेझैँ केही बेर घुम्छ । यात्रा तय गरेर बग्छ । सानो खरको तान्द्रोमा ठोकिनासाथ फुट्छ । अर्को नयाँ फोको उठ्छ । कुनै फोको आँगनको डिलसम्म पुग्छ, ठोकिन्छ, फुट्छ । त्यो प्रकृया चलिरहन्छ । नदीमा छाल एकपछि अर्को आउँछ । नदीमा आउने छाल जुन निरन्तर आइरहन्छ त्यो एउटै जस्तो देखिए तापनि त्यो अर्कै समयमा परिवर्तित रूपमा आएको नयाँ छाल हो, एउटै होइन । बौद्ध दर्शनमा निरन्तर हुने परिवर्तनलाई स्वीकार गरिएको छ र बौद्ध दर्शनको मूल मान्यता भनेको क्षणिकता पनि हो । पानीको फोको उठ्ने र पानीमा विलिन हुने क्षणिकता हो । नयाँ आउने फोको उही फोको होइन । त्यो नयाँ हो । अर्कै परिवेश र समयमा पानीको फोको उत्पन्न हुन्छ, नास हुन्छ । तर त्यो आँगन क्षणभरको लागि आँगनकै नाममा त्यही हुन्छ । नाम परिवर्तन पनि हुन सक्छ, फलाम ‘कुटो, कोदालो, आँसी’ नाममा परिवर्तन भए झैँ ।
जीवन त्यस्तै हो, पानीको फोको जस्तै । छानोमा परेको झरी बलेनी बनेर झर्छ । तल झर्दा थुप्रै फोका उत्पन्न हुन्छन्, अकारण होइन । फोकोले क्षणभर क्षमतानुसारको काम गर्छ, अनि लोप हुन्छ । पानीका फोकाहरू उत्पन्न भए पछि त्यस स्थलमा फुटनु पूर्व क्षणभर जुन नृत्य गर्छन्, त्यो नृत्य फोकोको जीवनको महत्वपूर्ण कार्य बन्छ । भव्य नृत्य चाहिँ अनन्तसम्म बाँच्छ । युगौँ युगसम्म बाँच्छ । त्यसलाई पछ््याउँने अनगिन्ति व्यक्ति र संस्था जन्मन्छन् । त्यो नृत्य मानव जीवनको अमिट कृतिकोरूपमा पृथ्वीमा रहन्छ । त्यसबाट पछि आउने मानिसले पनि प्रेरणा लिइरहन्छन् । बाँच्ने भनेको कार्य हो । कार्यमा सत्कार्यको आयु लामो हुन्छ ।
हाम्रो हिमाली उपमहादेश विभिन्न दर्शनबाट प्रभावित भएको भूभाग हो । यहाँ मुनि कपिल, शान्तिका अग्रदूत गौतम बुद्ध, याज्ञवल्क्य, राजा जनक, गार्गी, सीता जस्ता प्राचीन ज्ञानी,गुणी मानव हाम्रो वरपर देखा परे । दुई–तीन हजार वर्ष पहिलेका ती मानवलाई हामीले विभिन्न प्रसङ्गमा सम्झन्छौँ । हजार वर्ष वरपरका अरनिको, भृकुटीलाई सम्झन्छौँ । पछिल्लो समयका आदिकवि भानुभक्त, युवककवि मोतीराम, कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि भुपी शेरचन, हृ्दयचन्द्रसिंह प्रधान, साहित्यकार विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमाल, हरिभक्त कटुवाल र हालै दिवङ्गत भएका राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कमलमणि दीक्षित, राजेन्द्र सुवेदी आदिलाई हामीले सम्झेका छौँ । बुद्धलाई अहिलेसम्म हामीले सम्झेँझैँ यी साहित्यिक महारथिहरुलाई यस धर्तीमा नेपाली जाति र नेपाली भाषा, साहित्यको अस्तित्व रहेसम्म नेपालीले सम्झने छन् भन्ने अपेक्षा गर्नसकिन्छ । उनीहरूको भौतिक शरीर त छैन नि ! हामी उहाँहरूसँगै बसेर हाँसखेल र बातचित त गर्न सक्दैनौँ । तर उहाँहरूले हामीलाई छोडेर गएका असल कृतिसँग हामी बारम्वार बहस, चर्चा, परिचर्चा, छलफल गर्छौ । त्यसबाट हामीले जीवनलाई डो¥याउने असल मार्गको खोजी गर्छौ ।
मानिसलगायत कुनै पनि जीवित प्राणीको भौतिक शरीर स्थायीरुपमा रहदैन किनभने मृत्यु निश्चित छ । तर असल कार्यले मात्र मृत्युलाई जित्छ, जसरी बुद्धले मृत्युलाई जितेर आज विश्वभर उनी व्याप्त छन् । उनका बारेमा वहस भइरहेको छ । पुस्तक प्रकाशित भइरहेका छन् । मूर्ति र गुम्बा निर्माण भई नै रहेका छन् । सशरीर भौतिक उपस्थित नभए तापनि उनका सन्देश मार्फत उनी बाँचिरहेका छन् । मृत्यु अकाट्य सत्य हो । तर मानिसको असल कृति र कर्म युगौँयुगसम्म बाँच्छ ।
नेपालमा केही सिमित व्यक्तिहरू माथि उल्लेखित पूर्वजझैँ निरन्तर–निरन्तर बिना कुनै स्वार्थ, बिनाकुनै लोभ, बिना कुनै आकङ्क्षा साहित्यसाधनालगायतका क्षेत्रमा पूर्ण समर्पित भएका देखिन्छन् । त्यसरी नै विगत आधा शताब्दीभन्दा लामो समयदेखि साहित्यिक पत्रकारिताको क्षेत्रमा निरन्तर समर्पित व्यक्ति हुनुहुन्छ ‘अभिव्यक्ति’ द्वैमासिक पत्रिकाका सम्पादक–प्रकाशक नगेन्द्रराज शर्मा । उहाँका बारेमा एकाध प्रसङ्ग उठाउँने यो मेरो प्रयास मात्र हो ।
हाम्रो यस हिमाली उपमहादेशमा वर्तमान युगलाई पुराणहरूमा उल्लेख भए बमोजिम कलियुग मान्ने हो भने यहाँ निस्वार्थ सत्कर्म गर्नेभन्दा लोभलालच, मोह, सम्पत्ति, सन्तान र शक्तिको भुँमरीमा रुमल्लिएर विदा भएका, रुमल्लिइरहेका, र सधैं रुमल्लिन चाहने मानिसको भीड शिवरात्रीको दिन पशुपतिको जात्रामा उकुसमुकुस भए जस्तै अत्यधिक छ । यस्तो अवस्थामा विना स्वार्थ साहित्यसेवामा, त्यसमा पनि साहित्यिक पत्रिका जुन विक्री हुँदैन, विज्ञापन पाईदैन, हेयको दृष्टिले हेरिन्छ त्यस्तोमा लाग्नु भनेको महान त्याग, तप, ध्यान नै हो । त्यसरी ध्यान गर्ने औँलामा गन्न सकिने मध्ये हुनुहुन्छ नगेन्द्रराज शर्मा ।
बुद्धले ‘बुद्ध हुन्छु’ भनेर दरवार त्याग गरेको नभइ मुक्तिको खोजको निम्ति निस्कनु भयो । खोजको क्रममा प्रारम्भमा दुःख छ , दुःखको कारण छ, दुःख विनास हुन्छ र दुःख निरोध गर्न सकिन्छ भन्ने चार आर्य सत्य र आठ अष्टाङ्गिक मार्गवारे ज्ञान प्राप्त गरी पाँच मित्र भिक्षुलाई उपदेश दिनु भयो । पछि बुद्ध हुनु भयो ।
नगेन्द्रराज शर्माले ‘पत्रिकाको प्रकाशन शुरु गरेदेखि ५३ वर्षसम्म एउटै आकार र प्रकारमा निरन्तर प्रकाशन गर्छु’ भन्ने सोँचले पत्रिका दर्ता गरेको नभई ‘अरुले पत्रिका प्रकाशित गरेका छन्, आफूले पनि किन पत्रिका प्रकाशित नगर्ने ? किन साहित्यिक पत्रिकाको माध्यमबाट साथीभाइका कविता, कथा, निवन्ध प्रकाशित गर्दै नागरिक चेतना बृद्धि नगर्ने’ भन्ने सोचकासाथ अभिब्यक्ति साहित्यिक पत्रिका प्रकाशन गर्न थाल्नु भएको थियो । त्यसमा थप प्रेरणा प्रदान गर्नेमा ‘रचना’ पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरे, भैरव अर्याल र जगदिश घिमिरे हुनुहुन्थ्यो ।
त्यसबेला देशमा निरङ्कुश पञ्चायती व्यवस्थाको जगजगि थियो । पत्रिका दर्ता गर्न सहज थिएन । नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीमा लागेको छ वा छैन भनेर प्रहरी मार्फत जाँच गरे पछि तत्कालीन प्रतिवन्धित पार्टीमा लागेको प्रमाण नभेटिएमामात्र पत्रिका दर्ता गर्ने नीति थियो । त्यसका साथै कुनै कर्मचारीको चिनजान समेतको सिफारिसको आधारमा मात्र अञ्चलाधीशले स्वीकृति दिन्थे ।
साहित्यिक पत्रिका प्रकाशनको खडेरी नै थियो त्यसबेला । पत्रिका नियमित निकाल्न नसक्ने अवस्था भएमा सामयिक सङ्कलन भए पनि प्रकाशन गर्ने अठोटकासाथ पत्रिका दर्ता गर्ने उहाँले निर्णय गर्नु भयो । वि.संं. २०२७ सालमा बागमती अञ्चलाधीश विष्णुमणि आचार्य हुनुहुन्थ्यो । उहाँका छोरा धनमणि आचार्य उहाँ (नगेन्द्र)का मित्र भएकोले पनि पत्रिका दर्ता गर्न केही सहज भएको हुन सक्छ । त्रिभुवन विश्वविद्यालयमा सेडाको जागिरे अवस्थादेखि लहै लहैमा निकालेको पत्रिका साच्चिकै बजारमा देखिन नै थाल्यो ।
अभिव्यक्ति निस्कन थाले पछि भने नजानिँदो गरी त्यससँग नगेन्दराज शर्मा प्रेममा बाँधिनु भयो । व्यक्तित्व पनि त्यही पत्रिकासँगको पो गाँसियो । पत्रिकाले गर्दा सयौँ साहित्यकार र शुभचिन्तकसँग सम्पर्क भयो । धेरै मित्र भए । साहित्यमा रुची राख्ने जमात प्रशन्न भए । वि.सं. २०४६ पछि देशमा निरङ्कुशता खुकुलिएर बहुदलमा परिवर्तित भयो । वातावरण खुला भयो । भुसको धुँवा गुम्सिएको साँघुरो कोठाभित्र निस्सासिँदै काम गर्नु पर्ने जस्तो वातावरण हटेर खुला वातावरण देखियो । निरङ्कुशता विरोधी आन्दोलनमा आफै पनि सहभागी भएर आएको वहुदलीय प्रणाली थियो त्यो । आशा र भरोसा पनि थियो । परिवर्तनका सङ्केत देखा परे तापनि वर्तमानकालमा नेतृत्वतहमा रहेका व्यक्तिमा शक्ति, सत्ता र सम्पत्तिको मोह अत्यधिक भएकोले केही निरास हुन बाध्य पारेको छ ।
त्यसबेला दुःख, मेहनत, लगन, त्याग र तपस्या गरेर साहित्यिक पत्रिका प्रकाशित गर्ने, त्यसलाई झोलामा राखेर साथीभाइ र शुभेच्छुकलाई हातहातै पु¥याउने, कथा, कविता, लेख, निवन्ध प्रकाशन गरिदिएर कवि, कथाकार, लेखक, साहित्यकार बनाईदिने, नयाँलाई प्रोत्साहन दिएर तिनका कृति छपाइदिने, व्यक्तिगत रूपमा आफु र आफ्ना सन्तानको गाँस खोसेर साहित्यिक पत्रिका निकाल्ने नगेन्द्रराज शर्मा र रोचक घिमिरे जस्ता एकाध व्यक्ति थिए। पञ्चायतकालमा राजा र राजपरिवारको तस्वीर छापेर फाइदा लिएझैँ बहुदलीय व्यवस्था आएपछि पनि नेताहरूको पछि लागेर उनीहरूको धुलो टकटकाउँदै पत्रिका छाप्ने, कार्यालयका कोठा कोठामा पुगेर स्ट्याम्प लगाएर फर्जी मूल्यराखि फाइदालिने साहित्यिक पत्रकारको बृद्धि क्रमशः भयो । त्यो प्रबृत्ति हो । फोस्रो नाम र मामको लागि गर्ने ङिच््याई हो । त्यस प्रकारको प्रवृत्ति गणतन्त्रमा अर्को प्रकारले मौलाएको छ । नगेन्द्र, रोचक र अन्य एकाध पत्रिकाले नेताको अगाडि पुगेर, जुम्लेहात गरेर चार पैसाको लागि दाँत देखाएनन् । ‘तैले दाँत देखाएको थिइस नि’ भन्न सक्ने कोही पनि छैनन् । त्यो एउटा त्याग हो । त्यो महानता हो । त्यो दर्शन पनि हो । त्यसप्रकारको कार्यले मृत्युलाई सहजै पछारेको हुन्छ ।
प्रायः सबै मुलुकमा मोह र लोभमा नफसी, मृत्युसँग पौठेजोरी खेल्दै मृत्युलाई जित्ने व्यक्ति थोरै हुन्छन् । त्यस्ता व्यक्तिमा, व्यक्तिगत प्रयासमा साहित्यिक पत्रिकाको निरन्तर प्रकाशन गरी सेवा पु¥याउँनेमा पहिलेको पुस्तामा नगेन्द्रराज शर्मा र रोचक घिमिरे हुन् ।
नगेन्द्रराज शर्माले साहित्यिक पत्रिकामा केही नयाँ प्रयोग गर्ने प्रयास गरेको देखिन्छ । त्यसमा शुरुमा व्यङ्ग्य चित्र राख्न थालियो । त्यो, त्यसबेलाको समयमा नयाँ प्रयास थियो । तर त्यो प्रयास ४–५ अङ्कभन्दा धेरै अगाडि बढन सकेन । आखिर कलाकारलाई पनि त केही दिन पथ्र्यो नि । अहिले जस्तो सहज कहाँ थियो त ? त्यसरी नै अन्य पत्रिकाले विदेशी कवि, लेखक, दार्शनिकका भनाई राख्ने ठाउँमा अभिव्यक्तिमा नेपाली पुराना तथा युवा लेखक, र साहित्यकारका भनाई समावेश गरियो । जुन नयाँ र प्रेरणादायी थियो । त्यससँगै अभिब्यक्तिमा सबैको प्रिय भएको जमघटहरूबाट ‘यायावर’ स्तम्भ कै रुपमा राखियो । यायावरले नगेन्द्रराजको व्यक्तित्व झल्काउँछ यस अर्थमा कि त्यस स्तम्भमा त्यस्तो कुरा लेखिन्छ, जुन यथार्थ हो । जमघटको बेला कसैले ठट्टा, होच्याउँने, फुल्क्याउँने वा जे जसरी साथीभाइलाई भनेको हुन्छ, त्यसमा अर्को पक्षबाट जे जस्तो प्रतिक्रिया आउँछ, त्योे विना सम्पादन सम्बन्धित व्यक्तिको नाम सहित छापिन्छ । त्यो जे हो त्यही हो । यथार्थ र सत्य हो । नगेन्द्रराज पनि यथार्थवादी र प्रष्टवक्ता हुनुहुन्छ । त्यसैले मलाई यायावर पढदा, त्यस्तो अनुभूति हुन्छ । त्यसरी नै अन्य पत्रिकाहरूको तुलनामा एकल प्रयासमा अभिव्यक्ति निरन्तर प्रकाशनमा आयो, त्यो स्वभाविक हो । तर उहाँले गर्वकासाथ भन्ने कुरा के भने अभिव्यक्ति केही विशेषाङ्क बाहेक अन्य अङ्क एउटै आकार र साजसज्जामा आयो । त्यो ‘अभिव्यक्ति’को आफ्नो पहिचान बन्यो ।

उहाँको भनाईमा वि.सं. २०२६–२७ सालमा धेरै साहित्यिक पत्रिका निस्के । निस्केका पत्रिका मध्ये केही संस्थागत निस्केर पछि निजी भए । कुनै पत्रिका व्यक्तिले निकालेर संस्थाका भए । कुनै पत्रिका साथिभाइ भेला भएर सामुहिक आँटमा प्रकाशन गर्न थालियो । तर अभिव्यक्ति भने प्रारम्भदेखि एक्लो प्रयासबाट निरन्तर प्रकाशनमा ल्याइयो । प्रारम्भिक दिनमा त झन् लेख्ने, सम्पादन गर्ने, प्रेसमा कम्पोज गर्ने, छाप्ने, वितरण गर्न हिँडने सबै काम नगेन्द्रले एक्लै गर्नु भयो । ‘अभिव्यक्ति’ नगेन्द्र अनि नगेन्द्र ‘अभिव्यक्ति’ भयो । उता ‘रचना’ साहित्यिक पत्रिका र रोचक, रोचक ‘रचना’ भने जस्तै । मलाई लाग्यो साहित्यिक पत्रकारिताका साथै साहियित्क यात्रामा लाग्दा पारिवारिक साथ नगेन्द्रराज शर्माले पाउनु भयो । उहाँकी पत्नी विख्यात साहित्यकार सूर्यविक्रम ज्ञवालीकी छोरी भएको र साहित्यमा लाग्नेको जीवनचर्या बुझेको हुनाले साहित्यिक यात्रामा अन्य धेरै साहित्यकारलेझैँ घरपरिवारबाट टोकसो खप्नु परेन । ‘अभिव्यक्ति’लाई निस्फिक्री नेपाली साहित्यिक पत्रकारिताको फाँटमा अविच्छिन्न अभिव्यक्त गर्न सफल हुनुभयो ।

पत्रिका प्रकाशन गर्ने बेलाको आर्थिक दुःख नहुने कुरै भएन । सस्तो छपाई होला कि भनेर आफ्नो साथीको प्रेसमा छाप्न जाँदा अन्यमाभन्दा महङ्गो परेको र ‘आफै गर्छु नि’ भनेर प्रेस राखेर छपाईगर्दा साथीकोमाभन्दा झन महङ्गो परेको अनुभव जीवनकै रमाइलो अनुभव उहाँलाई भयो ।
चार विस र पाँच वर्ष उमेर पार गर्नै लाग्दा जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धी के रहे छ त उहाँको निम्ति ?
“ जीवनमा मैले कहिल्यै कुनै नराम्रो काम गर्दै गरिनँ । त्यही नै मेरो जीवनको पहिलो ठूलो उपलव्धी हो । ”
हाम्रो सामाजिक परिवेश त यही न हो । जतिसुकै यथार्थवादी भए तापनि सत्य र यथार्थतालाई मन नपराउनेको पनि कमी कहाँ हुन्छ र यो संसारमा ? यहाँसम्म आइपुग्दाका आरोह र अवरोहमा सम्झन योग्य, शिक्षाप्रद कुरा नहुने त भएन नि !
“उपलब्धिकै कुरा गर्नु हुन्छ भने मैले यो चार बीसे पाँच वर्षमा कमाएको अर्को अकुत सम्पत्ति भनेको मेरा साथी हुन् । म जान्ने भएको उमेरदेखि मैले जे जति साथी बनाएँ तिनीहरू कसैसँग पनि रातो मुख भएन । झगडा, मारपिट, गालीगलौज, बोलचाल बन्द कहिल्यैँ भएन । बरु असाध्यै मिल्ने अन्य साथीहरूबीच एक अर्कोसँग बोलचाल बन्द हुन्थ्यो । तिनलाई मैले मिलाई दिन्थेँ । आजसम्म त्यो काम गरेकै छु । मेरो कसैसँग कहिल्यै कुनै रातोभुख भएन । मेरो जीवनको यो दोस्रो ठूलो उपलब्धी हो ।”
अहिलेसम्मको अनुभवको आधारमा जीवन के रहेछ त ?
“जीवन महाभारत होइन, जटिल छैन । तँपाइले जटिल बनाउँनु भयो भने जटिल हुन्छ । जीवनलाई सामान्य अर्थमा लिन सक्नु पर्छ । यथार्थमा जीवन भनेको जन्मदेखि मृत्युसम्म जानो बाटो हो । नदी बगेझैँ यसलाई आनन्दसँग बग्न दिनु पर्छ । त्यो बाटोकोबीचमा अवश्य पनि अथाह, अनपेक्षित, सहज र असहज कुइँनेटा आउछन् । त्यो स्वभाविक हो । कुइँनेटा नआउन भनेर योजना नै गरे तापनि कति योजना बीचमै ध्वस्त हुन्छन् । जीवनले मान्छेलाई डो¥याएर लैजान्छ, लैजानु पर्छ । माया मोह जीवनमा हुन्छ । मायामोह पनि परिवर्तनशिल छ । तँपाईले एउटा कुखुराको माउले चल्ला कोरलेको त देख्नु भएकै छ । चल्ला कोरलेको बेलामा हात्ती नजिक आयो भने माउले चल्ला बचाउँन हात्तीलाई पनि ठुँग्न पुग्छ । चल्लो ठूलो भए पछि माउलाई नै ठुँग्छ । माया एक पक्ष हो । पति र पत्नीबीचको माया पनि माया हो । तर मेरो खुट्टामा काँडा रोपिँदाको पीडा त मैले नै महसुस गर्ने हो नि । जीवनको दुःख आफैले भोग्ने हो । अरुले त त्यसलाई ‘दुख्यो होला’ भनेर सहानुभूति मात्र व्यक्त गर्ने हो । ”
हिमाली उपमहादेश र पश्चिमा दर्शनमा जीवनलाई हेर्ने दृष्टिकोण के छ त ? पहिले त पश्चिमा पनि रुढीवादी नै थिए । मानव सभ्यताको विकास, जीवन दर्शन, संस्कार, कला, संस्कृति, दर्शन, धर्मआदिमा पूर्विया अग्रस्थानमा थिए । आधुनिक विकासको गति थपिँदै जानु पर्ने हो । हिमाली उपमहादेश अन्तरगतका देशमा त्यस्तो देखिदैन ।
“ हाम्रो दर्शन सुखवादी दर्शन हो । आदर्शवादी दर्शन हो । हामी चरम आदर्शवादको पर्खाल वरपर घेरियौँ । हामी कुवाका दार्शनिक हौँ । जीवनलाई कसरी सुख दिने, पुनर्जन्ममा कसरी सुख काट्ने भन्ने भाग्यवाद, आदर्शवादको दर्शनमा आधारित छ । हामी अयं निजः परो वेति गणना लघुतेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।। भन्छौँ ।
विश्वमा भएका मानिस एउटै परिवार हुन्, एउटै मान्नु पर्छ भन्ने कुरा त ठिक हो सिद्धान्तमा । सबै मानिस एउटै परिवार हो भन्छौँ । तर मौका पर्दा भोको सिँहले हरिणलाई घाँटीमा अठ््ययाएझैँ ठूलोले सानोलाई अठ्याएको छ, दबाएको छ । दर्शन त दर्शनमा मात्र छ । व्यवहारमा खै त ? हामी नेपाली पनि त्यस्तैमा रुमलियौँ । भावुकता, रुढिवाद र अन्धविश्वासले हामीलाई कमजोर पा¥यो । यस्ता कुरा एक्कासी परिवर्तन हुँदैन । कानूनले पनि केही हुँदैन । समाजले बुझ्दै, पचाउँदै ग्रहण गर्दै जानु पर्छ, जाँदै पनि छ । ”
अनि पश्चिमा नि !
“पश्चिमा पनि रुढीवादी छन्, नभएका होइनन् । तर त्यहाँ व्यापारीले जिते । उनीहरूले व्यापार गरे । उनीहरूले खोज पनि गरे । हामीले कुवेरले विमान चढे भन्यौँ, गफ ग¥यौँ । फुर्ति देखायौँ । मख्ख प¥यौँ । उनीहरूले जहाज बनाए । चढेर संसार चहारे । उनीहरू चन्द्रमा र मङगलमा अवतरण गरे, हामीले वेद, पुराण, ग्रन्थमा ‘यस्तो छ, उस्तो छ’ भन्दै हात बाँधेर बस्यौँ । काम गरेनौँ, गफ चाँहि खुब ग¥यौं । काम नगरि कसरी प्रगति हुन्छ ? हो हामीले व्यापार नगरेको कारण विकासमा पछि छौँ । अहिले नेपालमा कति राम्रा र ठूला होटल, अस्पताल बने ती सरकारले बनाएका होइनन् । ती व्यापारीले बनाएका हुन् । त्यो गर्नु पर्ने हो । संसार विशाल छ । तर पनि कामको नतिजा तुरुन्तै देख्न सकिन्छ । मैले काम नगरेको भए, अभिव्यक्ति कहाँ तपाईले पढन पाउनु हुन्थ्यो त ।”
हिमाली दर्शन, पूर्विय दर्शन र पश्चिमा दर्शनमा मुक्तिको कुरा छ । ईश्वर भक्ति गरे पछि मुक्ति, पुनर्जन्ममा स्वर्ग प्राप्ति हुन्छ भन्ने छ । पूर्वजन्म, पुनर्जन्म, स्वर्ग र नर्कको कुरा पनि छ । त्यो के हो त ? जीवनको अनुभवले यसलाई कसरी व्याख्या गर्छ ?
“संसार विचित्रको छ । विशाल छ । तपाई जति सुकै तप गर्नुस, संसारलाई स्वर्ग पार्छु भनेर शिव वा कृष्ण बन्नुस् यो विचित्रको संसारमा विकृति (वेश्यावृत्ति, शोषण, जुवा, दुव्र्यसन, हिंसा)को अन्त हुनै सक्दैन । ईश्वर वा भगवान जे भन्नुस् मेरो ज्ञान भन्दा बाहिरको कुरा हो । ईश्वरले नै सबै कुरा गर्ने हो भने विभेद किन त ? मेरो प्रश्न छ । तँपाईलाई मैले मेरो सानो अनुभव सुनाउँछु । त्यो पुनर्जन्मसँग सम्बन्धित छ । मेरो काका पर्ने हुनुहुन्थ्यो । एक दिन यस्तै पूर्वजन्म र पुर्नजन्मको बारेको कुरा गर्दै थियौँ । काकाले पुनर्जन्म हुन्छ, त्यसको विकल्प छैन भन्नु भो । त्यसपछि मैले भने ‘ काका ठिक छ ल मैले पनि माने । त्यसो भा मलाई चारलाख सापटी दिनुस् न त त्यो सापटी मैले अर्को जन्ममा तिरुँला नि । काकाले ‘त सँग कुरा गरेर सकिँदैन’ भन्दै उठनु भयो । स्वर्ग र नर्क भन्ने भ्रम हो । जे छ यहीँ छ । सबै कुरा हामीले भोग्ने यही जीवनमा हो । यो जीवन पछि अर्को जीवन छैन । मृत्यु अन्तिम सत्य हो । अर्को जन्म र स्वर्गको भ्रममा नपर्नु, यो मेरो धारणा हो । यसबारे म स्पष्ट छु । अझ स्पष्ट हुन चार्वाकको एउटा श्लोक म भन्छु, मेरो धारणा पनि त्यही धारणा हो । त्यसबाट तपाईले थाह पाइहाल्नु हुन्छ ः

यावत् जीवेत, सुखम् जीवेत् ऋणम् कृत्वा, धृतम पिबेत् ।
भष्मी भूतस्य देहस्य पुनरागमनम् कुतः ।।

अभिव्यक्तिबाट उपलब्धि र अन्य कृतिहरू ?
“ मैले जीवनमा साहित्यिक क्षेत्रमा लागेर जे गरेँ, त्यसमा म पूर्ण सन्तुष्ट छु । साहित्यिक क्षेत्रमा रहेर यो अभिव्यक्तिको माध्यमबाट जे जति गरँे, समाजलाई जे जति दिएँ, मैले गरेको सेवाभन्दा बढि प्रतिफल मैले पाएँ । मेरा कृतिहरूमध्ये महापुरुष र दिवास्वप्न उपन्यास र पिपलको बोटमुनि तथा एकान्तका आफन्तहरू कथा सङ्ग्रह हुन्, ती अभिव्यक्तिको उचाइमा तल परे । मलाई अभिव्यक्तिले मैले सोचेभन्दा, चाहेभन्दा मान, सम्मान दियो । अब मलाई पुग्यो । म सुखी र खुसी छु । तपाईंले दर्शनको कुरा उठाउनु भयो, त्यस दार्शनिक अर्थमा भन्ने हो भने तृप्त छु । ”
मानिसको लोभ अन्तिम अवस्थासम्म पनि कम भएको देखिदैन । नेपालमा ठूला, सम्मानित र माननीय भनिने, विश्वविद्यालय, निजामति, प्रतिष्ठान, आयोग र अदालत आदिमा सेवा गरेका स्वनामधन्य व्यक्तिहरुले दोहोरो, तेहरो सरकारी भत्ता लिँदा पनि नपुगेर आजीवन सदस्य कतै मिल्छ कि भन्दै नेताको पछि चाकडी गर्नेको कमी छैन । जीवनको उत्तरार्धमा पुगेका, गाला चाउरिएका, दाँत झरेकाहरू पुनः त्यस प्रकारको तेहरो सुविधाको लागि ङिच्च दाँत देखाएका उदाहरण प्रसस्त छन् । उहाँ त्यस्तालाई ‘लोभका पोका’ भन्नुहुन्छ ।
अब तपाईको चाहना के छ त ?
“तँपाईले सम्पत्तिको कुरा गर्न खोज्नु भएको होला, मैले मोज गरेँ । चाहनालाई कहिल्यै बाँधिन । मैरै खाएँ । मैले अघि नै भने नि मेरो उपलब्धि भनेको मैले नराम्रो गरिनँ । म सन्तुष्ट छु । सम्पत्ति, सन्तान, शक्ति, मान, सम्मान, नाम सम्पूर्ण कुराले म भरिपूर्ण छु । पारिवारिक रूपमा म उत्तिकै धनी छु । मलाई केही चाहिदैन । म पूर्ण छु । अब मात्र के भने म हिँडदै गरेको बाटोमा, आफ्नै गतिमा हिँडदै गर्दा, अभिव्यक्ति हिँडेझैँ सरासर हिँडन कुनै बन्देज नहोस् । ”
साराशंमा उहाँको भनाईले के दर्शाउँछ भने उहाँ धन, मान, परिवार, सम्पत्ति आदिबाट परिपूर्ण हुनुहुन्छ । अन्य कुनै विषयमा विषयभोगको मोह बाँकी छैन । दार्शनिक तवरबाट हेर्ने हो भने ब्रह्मवादले विषयभोग त्याग गर्न सक्नु ‘मोक्ष प्राप्त गर्नु हो’ भनेको छ । ‘जहाँ तृष्णा क्षीण भएको छ आस्रव अर्थात कामभोगहरू जहाँ रहदैनन्, त्यस अवस्थालाई बुद्धले निर्वाण’ भनेका छन् । त्यही नै त हो मुक्ति । जब लोभ र मोहबाट मुक्त हुन सक्दैनन् मानिस, तब दुःखको जालोमा बेरिन्छन् । नगेन्द्रराज शर्माले अभिव्यक्ति पत्रिकालाई साधन बनाएर, साहित्यिक सेवा गर्दागर्दै बुद्धत्व अथवा ब्रह्मत्व वा निर्वाण वा मुक्ति जे भनौँ त्यो प्राप्त गर्न सफल हुनु भएको छ । बुद्धले पनि मोह त्याग पछिमात्र ज्ञान प्राप्त गर्नु भयो । याज्ञवल्क्यले जीवनभरको कमाई त्यागे पछि मात्र मुक्तिको खोजीमा लागे । सामान्यतयाः मानवमा हुने लोभ, मोह, तृष्णा र अहङ्कारले त्यहाँसम्म पुग्न दिँदैन । उहाँ अब लोभ र मोहबाट मुक्त हुनु भएको छ । त्यसैले त्यसलाई जीवनकालमा नै बुद्धत्व प्राप्त गरेको हो भन्न सकिन्छ । नगेन्द्रराज शर्मा तथा उहाँकी धर्मपत्नी कमला शर्माज्यूलाई बधाई तथा सुस्वास्थ्यको शुभकामना !
नगेन्दराज शर्माज्यूलाई चैत २२ गते पर्ने उहाँको ८६औँ जन्मदिनको मङ्गलमय शुभकामना !
bishnu.nmdc@gmail.com ९८४१३७७०८३ कपन, काठमाडौँ