कर्णालीमा प्रचलित बोन, शैव र बौद्ध धर्म दर्शनको परम्परा

वि.सं. २०७६ वैशाख २७ र २८ गते सुर्खेतमा आयोजित कर्णाली प्रदेसस्तरीय वाङ्मय सङ्गोष्ठीमा प्रस्तुत विचार–पत्र । प्राप्त सुझावलाई समावेश गरी परिमार्जन सहित नेपाल प्रज्ञा–प्रतिष्ठानको दर्शनावली ६ मा प्रकाशित कर्णालीमा प्रचलित बोन, शैव र बौद्ध धर्मदर्शनको परम्परा । धन्यवाद सहित साभार ।

 विष्णुप्रसाद शर्मा पराजुली

१. पृष्ठभूमि
‘हाम्रा निम्ति हावामा रससिक्त मधु व्याप्त छ, नदीहरू मधुरस छरिरहेछन् । हाम्रा निम्ति वनस्पति–औषधहरू मधुरसयुक्त होऊन् । हाम्रा रात र उषा मधुरसयुक्त प्रीतिकर रहून् अनि पृथ्वी तथा त्यसका रजकण मधुरसयुक्त रहुन् । हाम्रा आकाश र अन्तरिक्ष मधुरस वर्षा गरुन् । वनस्पतिहरू मधुरसयुक्त होऊन् र सूर्य पनि हाम्रा निम्ति मधुमान रहून् । हाम्रा गाईवस्तु मधुरस दूध दिने रहिरहून् ’ ऋ.वेद गौतम ऋषि (दीक्षित, २०७२ः १) ।
कर्णाली मानव सभ्यता, इतिहास, धर्म–दर्शन र हिमाली संस्कृतिको पावन भूमि हो । सिन्धु सभ्यताको विकास हुनुभन्दा पहिले नै हिमाली क्षेत्रमा मानवको बसोबास भएको थियो । त्यसैबेलादेखि कर्णालीका बासिन्दाले प्रकृतिबाट जीवनोपयोगी फल लिन, प्रकृतिको संरक्षण गर्न र प्राकृतिक प्रकोपबाट बच्न प्रकृतिको पूजा गर्दथे । करिब १० हजार वर्ष पहिलेदेखिको त्यो चलन आज बोन, शाक्त, शैव, सनातनी हिन्दू, बौद्ध आदि धर्म दर्शनको रूपमा मौलिक संस्कृति बनेर रहेको छ । दशौँ हजार वर्ष पुरानो सभ्यता, धर्म र संस्कृतिको आधारमा नै यसै भूमिबाट दशौँदेखि चौधौँ शताब्दी करिब ४०० वर्ष खस साम्राज्यको विस्तार भई जुम्लाको सिँजामा यसको राजधानी रहेको थियो । खस साम्राज्य पूर्वमा त्रिशुली, पश्चिममा लद्दाख, उत्तरमा गुगे हुँदै कैलाशदेखि पूर्वसम्म र दक्षिणमा तराईसम्म फैलिएको
थियो । गुसेफ टुचीले खस साम्राज्यलाई इटालीभन्दा ठूलो रहेको भनेका छन् ।
खस साम्राज्यको पतनसँगै राज्यको तहबाट कर्णाली क्षेत्र ओझेलमा प¥यो । मनसुन पश्चिम पुग्दा कम वर्षा हुने अर्थात् पश्चिमी वायुको वर्षा कम हुने, मौसममा आएको परिवर्तनले अत्यधिक र न्यून हिउँ पर्ने, राज्यबाट दीर्घकालीन र अल्पकालीन योजना नपर्ने आदि कारणले मानव सभ्यता, हिमाली संस्कृति, बोन, शाक्त, शैव धर्मदर्शन र आयुर्वेदको खानी सिङ्गो कर्णाली कमजोर बन्यो । आज द्रूत सञ्चार र आधुनिक प्रविधि विकासको युगमा आईपुग्दा यो क्षेत्र चार माना चामल लिन चार दिन हिँड्नुपर्ने स्थितिमा छ । यहाँ रहेका हजारौँ वर्ष पुराना पुरातात्विक वस्तुहरू भीर, खोँच, सभ्यताका स्रोत कर्णाली, हिमा, तीला, भेरी, सेती किनारमा अलपत्र छन् । डोल्पोलाई मात्र किन प्रकृति, संस्कृति, मानव विकास एवम् आधुनिक राज्य र भाषाको उद्गमस्थल रहेको सिङ्गो कर्णालीलाई राज्यले आफ्नो ठानेन
(पराजुली, २०७४ः१२) ।
यो प्रस्तुती कर्णालीमा भएको मानव सभ्यता, प्राचीन धर्म, परम्परा एवम् संस्कृतिबारे छलफल, खोज, अनुसन्धान र संरक्षणका लागि जिज्ञासाको ढोका खोल्ने प्रयास मात्र हो । पदयात्रा गर्दा गरिएको स्थलगत अवलोकन, स्थानीय बासिन्दासँगको कुराकानी, मेरा दुई पुस्तक, नेपाली तथा विदेशी लेखकका पुस्तक एवम् विज्ञसँगको छलफलका आधारमा यसलाई तयार पारिएको हो । धर्म र संस्कृतिको विषय भएकोले कर्णालीको कृषि, लेक र बेसी, नुन र पिठो लिन तिब्बत पुग्नुपर्ने जस्ता दैनिक जीवनचक्रबारे चर्चा गरिएको छैन । त्यसरी नै त्यहाँका खस जाति, जनै लगाउने र नलगाउनेबारे चर्चा गरिएको छैन ।

१.१ विषय प्रवेश
हिमालय, हिमाली सभ्यता, हिमाली सुन्दरता सृष्टिदेखि नै आकर्षक रहे । प्रकृतिका यी सुन्दर रचना नेपालको हिमालय मात्र नभई हिमालय, हिन्दूकुश, काराकोरम, पामिर, तियान सान र कुन लुन पर्वतमालाका चुचुरा हाम्रा हिमालजस्तै एकअर्कासँग घनिष्ठ सम्बन्ध कायम राखेर रहे । तेथिस सागरको अन्त्य भएको र उच्च हिमालय शृङखला उठेको पछिल्लो समय करिब १५ लाख वर्ष भएको छ । हाम्रा हिमालभन्दा उत्तरमा रहेको तिब्बतको पठार हिमालयभन्दा जेठो छ । ६ करोड वर्ष पहिलेदेखि त्यस क्षेत्रबाट बगेर आएका नदी अहिले हिन्द महासागरमा मिसिएझैँ तेथिस सागरमा मिसिन्थे (क्यामरोन, सन् १९२४ः ११) । विख्यात भूगर्भविद टोनी हेगनका अनुसार हिमालयको उत्पत्ति ६ लाख वर्ष अघि मात्र भएको हो । यो प्राकृतिक प्रक्रियालाई प्रारम्भिक मानवले देखेको हुनपर्छ किनभने त्यसबेला पेकिङ मानव अस्तित्वमा आइसकेको थियो (हेगन, वि.सं. २०५८ः पृ.३८) ।
आठ हजार मिटरभन्दा माथिका अन्नपूर्ण र धवलागिरि हिमालको बीचमा कालीगण्डकीको संसारकै सबैभन्दा गहिरो गल्छी बन्नु यो प्रक्रियाको निरन्तरता हो । पृथ्वीको हलचलको यो क्रम जारी छ । २०७२ सालको भूकम्पमा परेको लाङटाङका लागि त्यो प्रत्यक्ष एउटा प्रलय थियो । यो विकासक्रमसँगै जीवजन्तु, बोटबिरुवा र मानवको उत्पत्ति भएको कुरा वैज्ञानिकले पुष्टि गरेका छन् । समयसँगै हिमालय, पामिर, र काराकोरमको दक्षिण भाग मनसुनी र पश्चिमी अरब वायुको कारण मानव, जीवजन्तु, रूखबिरुवाको लागि अति नै उपयुक्त क्षेत्र बन्यो भने उत्तरी खण्ड र मध्य एसियाको ठूलो भूभाग–एक समयका सुन्दर बगैँचा मरुभूमिमा परिणत भए ।
हिमालयको दक्षिणमा जीवन र उत्तरमा मृत्युजस्तै भयो । हालैका वर्षमा भएको मौसमी परिवर्तनले बनेका हिमताल, कर्णालीमा भएको सुख्खापन प्रत्यक्ष भोगेका कुरा हुन् । विकासक्रमसँगै पश्चिममा आधुनिक युगको सुरुआत भइसक्दासम्म पनि नेपाल रहस्यमय देश, तिब्बत प्रतिबन्धित क्षेत्र, पामिर तेस्रो ध्रुवको रूपमा अन्धकारमा रहे । जबकी, यो क्षेत्र नै मानव सभ्यता, धर्म र संस्कृतिको जननी
थियो ।
वानरदेखि मानवमा सङ्क्रमणको प्रत्यक्ष प्रमाण दिने आदि मानव रामापिथेकसको एक करोड दस लाख वर्ष पुरानो अवशेष सन् १९८० मा बुटवलमाथि तिनाउ नदीको दाहिने किनारमा भेटियो । बर्दिया जिल्लाको दानव तालछेउमा भेटिएको एकधारे ढुङ्गाको छुरी चीनको प्राचीन ‘गेहे’ मानव र फ्रान्सको ‘चेलियन’ मानवको ढुङ्गे हतियारसँग मिल्दोजुल्दो छ । त्यसको समय ५–६ लाख वर्षपूर्व अनुमान गरिएको छ । सुर्खेत उपत्यकामा भेटिएका ढुङ्गाका कोदाला र बञ्चरा ई.पू. १५ हजार वर्ष पुराना मानिएका छन् । मुस्ताङ, टुकुचे, चोखोपानीका चिहानमा १० हजार वर्ष पुराना भाँडाकुँडा पाइएका छन् (प्रश्रित, २०७४ः १७–१८) । वैज्ञानिकका अनुसार पहिलो मानव हामोइरेक्टस १५ लाख वर्षपहिले अफ्रिकामा पाइएको हो (क्यामरोन, सन् १९२४ः १६) ।
नदी किनारमा भएको मानव सभ्यताभन्दा अघिल्लो चरण, ५ लाख वर्ष पहिलेका हाम्रा पुर्खा पानीको मुहान, अग्ला पहाड र हिमालय क्षेत्रमा बस्न थाले । हिमालयको उत्तरी खण्डमा ५० हजार वर्ष पहिलेसम्म रूखबिरुवा पाइन्थ्यो । नेपालको भूबनोटमा हिमाल, पहाड र तराई भएकाले प्रकृतिको सुन्दर बगैँचा बन्न गयो, फलस्वरूप यो क्षेत्र मानव बसोबासका लागि उत्तम ठहरियो । नेपालको प्राक् इतिहासमा रुद्र, यक्ष, गन्धर्व, किन्नर, नाग, वृषभ, किराँत आदि गणजाति यस भूमिमा क्रियाशील भएका अनेक प्रसङ्ग वेद–पुराणहरूमा उल्लिखित छन् । रुद्र जातिका एघार गणको मूल भूमि हिमाली र उच्च पर्वतीय क्षेत्र थियो (प्रश्रित, २०७४ः १९) । महामाताहरूको नेतृत्व माथिल्लो कर्णालीमा अझै पनि छ ।
यो महादेशको हिमाली प्रदेशमा रहेका यक्ष, राक्षस, गन्धर्व आदि समाज विकासको प्रथम चरणमा मानव समाजको रूपमा थिए तर तिनीहरूलाई पछि ‘देव योनी’ भनियो (दीक्षित, २०६५ः ऋग्वेदः केही प्रमुख सूक्त, भूमिका पृ.ब) । हिमाल, पहाड र तराईले रैथाने जातजाति, संस्कृति र रहनसहनमा फरकपन ल्याउन भूमिका खेलेको हुन्छ । त्यसैले समथर भूभाग हुने युरोपका धेरै देशमा एकै प्रकारको संस्कृति र जाति पाइन्छ भने हिमाली क्षेत्र हाम्रो नेपालमा मात्र १२४ भन्दा बढी जनजातिको बसोबास रहेको छ र सोहीअनुसारको सहअस्तित्वमा आधारित संस्कृति पनि । कर्णालीकै डोल्पा, हुम्ला, सुर्खेत, दैलेखमा एक गाउँदेखि अर्को गाउँमा हुने संस्कृति, भेषभूषा र रहनसहनमा धेरै फरक अनुभव गर्न सकिन्छ । विविध संस्कृति भए तापनि तिनीहरू एकअर्कामा नङ र मासुजस्तै भएर रहेको व्यवहारिक जीवनमा देखिन्छ ।
पश्चिममा पामिरदेखि पूर्वमा तिब्बतको नाम्चा वारवाको करिब २५०० किलोमिटर क्षेत्र पामिर, हिन्दूकुश, काराकोरम एवं हिमालयको उत्तर र दक्षिणमा मानिसको बसोबास दसौँ हजार वर्ष पहिलेदेखि भएको हो । मानव सभ्यताको विकाससँगै कृषि र पशुपालन गर्न सुरु गरेदेखि नै मानव प्रकृति पूजक बन्न थाले । नेपालका जनजातिले हिमाललाई आफ्ना पितृ बस्ने थलो (प्रभात, ज्ञानविन्दु–११ः१०५) मानेझँै कुनलुन क्षेत्रका बासिन्दाले पनि हावा, आगो, पानी, चट्याङ, रूख, ढुङगा, हिउँ, नदीको आराधना गर्दथे । नेपालका सबै जातजातिमा त्यो चलन अहिले पनि छ । प्रकृति पूजाका त्यस्ता उदाहरण कर्णालीका गाउँका कानी चोर्तेन र लुङदार, दोबाटो, पुल, मन्दिर आदिमा काठ कुँदेर बनाइएका लिङ्गका चित्र, देवीका मूर्ति, मष्टोका थान, देउलीमा राखिएका ध्वजामा पाइन्छ ।
विशाल हिमालयको ठूलो भूभाग नेपालमा छ । त्यससँग सम्बन्धित प्राकृतिक स्रोत र जीवजन्तु नेपालमा छन् । त्यसबाहेक बोन, शाक्त र शैव दर्शनसहित वैदिक युगमा रचिएका ऋग्वेदका सयौँ ऋचा, समग्र यर्जुवेद, उपनिषदहरू, रामायण, पाणिनिको व्याकरण, कपिलको साङ्ख्य दर्शन र बौद्ध दर्शनको जन्मदाता पनि नेपाल नै भएको भन्ने प्रमाण क्रमशः आउँदैछन् । भारतीय प्रकाशन गृह र त्यहाँका लेखकले पुराण र हिन्दू संस्कृति अङ्कमा पहिलेदेखि समावेश गरिएका नेपालका तीर्थ, ऐतिहासिक विवरण र महŒव आजकल हटाउँदै लगेको हुनाले पनि नेपालले अनुसन्धान गर्नैपर्ने बेला आएको छ ।
कालिदासले कुमारसम्भवम् महाकाव्यमा ‘उत्तर दिशामा देवताको आत्मा हिमालय गरेको पर्वतराज छ’ भनेको भन्दा बढी क्षेत्र ओगटेको उत्तरको हामीले देखेको विशाल हिमालय शृङ्खला मात्र नभई प्राचीन कालमा अहिले यस हिमाली उपमहादिपमा भएको शैव, मष्टो, बोन, बौद्ध धर्म–संस्कृति पामिर, काराकोरम र हिन्दूकुशसहित काजकास्तान र मंगोलियासम्म फैलिएको थियो । अझ सङ्क्षिप्तमा भन्दा कर्णाली क्षेत्रमा भएको यो धर्म सिन्धु सभ्यताभन्दा पहिलेदेखिको हो किनकि यहाँ बस्ने आदिवासी त्यो भन्दा पहिलेदेखिका हुन् जुन मुस्ताङका गुफा र कर्णाली उपत्यकाले पुष्टि गरेका छन् ।
केहि विदेशी लेखक एकाध महिनाको छात्रवृत्ति लिएर नेपाल छिरी गरेको अनुसन्धानमा माथिल्लो कर्णाली क्षेत्रको संस्कार, संस्कृति, धर्मदर्शनलाई हुबहु तिब्बतबाट आयातित भनी लेखेका छन् त्यो नभई तत्तत् क्षेत्रमा विकसित भएका हुन् जुन हाम्रा वैदिक ग्रन्थले पनि पुष्टि गरेका छन् भनी मैले मेरो पुस्तक डोल्पोमा पनि उल्लेख गरेको छु । पछिल्लो कालखण्डको इतिहासको पाटोबाट हेर्दा हिमाली क्षेत्रमा करिब ४०० वर्ष खस भाषाको विकास र साम्राज्यको प्रभाव रहन गयो । त्यसको भाषिक र सांस्कृतिक प्रभाव कर्णाली र सुदूरपश्चिममा अहिले पनि ज्यूँदो छ । ‘नेपालको खस साम्राज्यको उत्तरी क्षेत्रमा बौद्ध धर्मको विस्तार भएको कुरा तत्कालीन खस साम्राज्यका प्रभावकारी राजा मलय वर्माले वि.सं. १४३५–१४४६ खोजरनाथ (हाल पुराङ, तिब्बत, चीन) मा १८ गुम्बासहितको एक बौद्ध विहार बनाउन लगाएको तथ्यबाट पुष्टि हुन्छ (अधिकारी, वि.सं. २०६१ः १६६) ।

A woman with hand prayer wheel in Paluryan Thekchhok Hosalling Monastery, Simikot, Humla

दुल्लु र सिँजाबाहेक डोल्पाको शे उपत्यका, हुम्लाको रलिङ, मुगुको मुगुममा रहेका हजारौँ वर्ष पुराना गुम्बा लोप भएका छन् र धेरै लोप हुने अवस्थामा छन् । अहिलेसम्म देख्न सकिने डोल्पाको शे गुम्बा १ हजार ५ सय वर्ष पुरानो हो । तीभन्दा पुराना बोन गुम्बा लोपोन्मुख अवस्थामा छन् । पुरानो बोन धर्म क्रियाशील र जीवन्त रहेको विश्वको मूल थलो डोल्पा नै हो । बोन धर्म छार्का भोट (डोल्पा)बाट फैलिएको सङ्केत गर्दै त्यहाँ त्यो जीवन्त रहेको कुरा जापानी भिक्षु कावागुचीले उल्लेख गरेको पाइन्छ (प्रभात, ज्ञानबिन्दु ११ः१०१) । यी कर्णालीका सम्पत्ति हुन र आयातित होइनन् भन्नेमा मेरो जोड रहेको छ ।

२. कर्णालीको भौगोलिक चिनारी
नयाँ संरचनाबमोजिम कर्णाली प्रदेशमा हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालीकोट, जाजरकोट, रुकुम–पश्चिम, दैलेख, सल्यान र सुर्खेत रहेका छन् । हुम्ला, मुगु र डोल्पाको उत्तरी सीमामा चीनको तिब्बत रहेको छ । पश्चिममा सुदुरपश्चिम प्रदेश, पूर्वमा गण्डकी, दक्षिण पूर्व र दक्षिणमा प्रदेश पाँचसँग सीमा जोडिएको छ । सात प्रदेशमध्ये २४,४५३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो सबैभन्दा ठूलो प्रदेश हो । सेती र भेरीसहित नेपालको सबैभन्दा लामो नदी कर्णाली, सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शेफोक्सुण्डो, सबैभन्दा गहिरो ताल शेफोक्सुण्डो, सबैभन्दा ठूलो ताल रारा, कान्जिरोवा हिमाल यहीँ प्रदेशमा पर्दछन् । यहाँको जनसङ्ख्या १५,७०,४१८ छ भने साक्षरता प्रतिशत ६२ रहेको छ । आधुनिक विकासको लागि प्रचुर सम्भावना यहाँ छ ।

२.१ कर्णालीमा मानव सभ्यता
६ लाख वर्षपहिलेसम्म हिमालयको निर्माण तीव्र थियो । २ लाख वर्षपहिले काठमाडौँको तलाउ सुकेको हो । दक्षिण एसियामा विभिन्न मूलका मानिस बस्छन् । ऋग्वेदमा दस्यू भनेर उल्लेख गरिएका मानिस प्रागऐतिहासिक कालका थिए । २००० देखि १५०० ई.पू.मा पश्चिम–उत्तरबाट आक्रमण गरेर यहाँका मूल बासिन्दालाई विलीन गराए वा धपाए । त्यसैले यहाँ ककेसियन, वेडाइडस, मेलानिडेस
(आदिवासी) र मङ्गोल तीन प्रमुख समूह पाइन्छ र यसको राम्रो उदाहरण नेपाल हो । नेपाललाई एसियाको जातीय सङ्गमस्थल भन्न सुहाउँछ (हेगन, २०५८ः४४) ।
कर्णाली क्षेत्रमा भएको मानव सभ्यताको इतिहास सिन्धु सभ्यताभन्दा पुरानो हो । पूर्वीय दर्शन, चिन्तन, धार्मिक र सांस्कृतिक परम्परा विश्वमा सबैभन्दा धनी छ । यसका चिन्तक र प्रवद्र्धक ऋषि नेपालका हुन् । त्यसमध्ये धेरै कर्णालीका हुन् । मानव बसोबासका लागि उत्तम क्षेत्र भएकाले यहाँ कम्तिमा १० हजार वर्षपहिले देखि मानिस बसोबास गरेको तथ्य पाइन्छ । त्यसबाहेक मध्यएसिया, मध्यपूर्वका मानिस यस क्षेत्रमा प्रवेश गरेपछि उपयुक्त बसोबासको क्षेत्र भएकाले यहाँको धर्म, संस्कृति अवलम्बन गरी यतै बसे ।
प्रकृतिपूजक बोन र मातृपूजक शैव र तीसँग सम्बन्धित मष्टो, लिङ्गपूजक कर्णाली र कैलाशवरपरको क्षेत्रमा विकसित भएका हुन् । कर्णालीमा त्यसबेलाको धर्मदर्शन र संस्कृतिको पहिचान बोकेका मातृसत्ताको परम्परा, धामी, झाक्री, तन्त्र, मन्त्र, आयुर्वेदिक औषधिको प्रयोग, लिङ्गको चित्र बनाएर दोबाटोमा राख्ने आदि कुरा अहिले पनि देख्न पाइन्छ । वर्तमान अवस्थालाई हेर्दा जसरी ४० को दशकमा चाँगुनारायण, पशुपति र ५० को दशकमा सुर्खेतको कार्केविहारमा हजारौँ वर्ष पुराना बोन, शाक्त, मष्टो, सनातनी हिन्दू, बौद्ध संस्कृति समेटिएका मूर्तिहरू यत्रतत्र छरिएका देखिन्थे, त्यसैगरी आज चाहे जुम्लाको सीताको पाइलो होस्, सिँजा उपत्यकाका भग्नावशेष हुन् वा छार्का, साल्दाङ, लिमी, मुगुमका चोर्तेनका भित्तेचित्र वा गुम्बा किन नहुन् कर्णालीका गाउँमा ४–५ हजार वर्ष पुराना पुरातात्विक महŒवका वस्तु यत्रतत्र छिरलिएर रहेका छन् । चोरी भएका छन्, लापत्ता पारिएका छन् ।
हिमालयको दक्षिणी क्षेत्र सुगम हावापानी भएकाले मध्यपहाडी भागमा पूर्वबाट भोटबर्मेली, पश्चिमबाट भारोपेली आए । त्यसैले यो पूर्व र पश्चिमबाट बसाईसराईको भेल ठोकिने ठाउँ बन्यो । कर्णाली क्षेत्रमा बसोबास गर्ने बासिन्दा पश्चिमबाट आएका र यसै क्षेत्रमा दसौँ हजार वर्ष पहिलेदेखि बसोबास गर्ने आदिवासी हुन् । यसको पुष्टि गर्न टाढा पुग्न पर्दैन दार्चुला, हुम्ला, मुगु, डोल्पा र माथिल्लो मुस्ताङ क्षेत्रमा अहिले भएको खेतिपाती, घुमन्ते भई पशुपालन गर्ने चलन, बोन, मष्टो, बौद्ध मिश्रित धार्मिक सांस्कृतिक र ऐतिहासिक गुफासँग तुलना गर्दा थाहा हुन्छ ।
कर्णालीको आधुनिक सभ्यतामा हामीले बिर्सन नहुने विषय के भने नेपालको सबैभन्दा लामो मानसरोवर कैलाश क्षेत्रबाट आएको कर्णाली (मुगु र हुम्ला कर्णाली) हो । यस क्षेत्रका बासिन्दाले कर्णालीलाई राकस तालबाट आएको भनी पवित्र मान्दैनन्, त्यो गलत हो । कैलाश पर्वतको दक्षिण काख कर्णालीको उद्गम स्थल हो । अन्य नदीमा भेरी, सेती, तीला, जवा, झुला र तिनले बनाएका विशाल उपत्यका (सिँजा, जुम्ला) र त्यस क्षेत्रमा विकसित मानव सभ्यता हिमाली प्रदेशको सबैभन्दा पुरानो सभ्यता हो । खस भाषाको उदगमस्थल कर्णालीको सिँजा हो जसले नेपालको एकीकरण सम्भव बनायो । गुफाकालीन हिमाली सभ्यता, रीमिको पाषाणकालीन प्रस्तरमूर्ति, गुसेफ टुचीका भनाईमा आठ हजार वर्ष पुरानो सिँजा सभ्यता, दत्तात्रय चन्दननाथ, र गुफाकालीन दसौँ हजार वर्षभन्दा पुराना सयौँ बोन गुम्बाहरू नै कर्णाली सभ्यताका धड्कन हुन् । पशुपतिनाथको स्थापना हुनुभन्दा पहिले यस क्षेत्रमा वनदेवी, पितृ, लिङ्ग आदिको पूजा गरिन्थ्यो । कर्णाली सभ्यताको उत्कर्ष खस साम्राज्यको पतनपछि खस्कँदै गयो । एकीकरणपछि शाहवंशीय राजाहरूले त यसलाई शत्रुवत व्यवहार गरे फलस्वरूप कर्णाली सभ्यता भीर, पाखा, नदी किनारमा खुम्चिएर बस्न बाध्य भयो । युगीन परिवर्तनका किरण देखापरेका छन्, अब कर्णाली प्रदेशले नै सभ्यताको खोजी गर्दै विश्वलाई परिचित गराउनुपर्छ ।

२.२ कर्णालीमा प्रचलित धर्म–दर्शनको परम्परा
नेपालको हिमाली क्षेत्रमा कम्तिमा पनि १० हजार वर्ष पहिलेदेखि यहाँका रैथाने जाति पानी नजिकको मुहान, अग्ला थुम्का र गुफामा बसेर कृषि र पशुपालन सुरु गरेका हुन् । आजभन्दा १०० वर्ष पहिलेसम्म मुस्ताङको धे गाउँका बासिन्दा नजिकको गुफामा बस्दथे । काली नदीकिनार रहेको सानो समथर भूभागमा खेती गर्थे । वर्षाको समयमा भेडाच्याङग्रा र चौरी याक चराउन दामोदर कुण्डतर्फको पाटनमा जान्थे, हिउँदमा मुक्तिनाथ क्षेत्रका उपत्यकामा झर्थे । धे गाउँका ५० वर्ष पहिलेका घर माटाका ठूला डल्ला खप्ट्याएर बनाइएका छन् भने आजकल माटोको इँटा बनाई घर बनाउन थालेका छन् । माटोका डल्ला सुकाएर बनाएको घरमा बस्नेबाहेक उनीहरूको पेसा पहिलेजस्तै छ । यसबाट हिमाली क्षेत्रमा मानव बस्न थालेको धेरैपहिले देखि हो र त्यसबेला देखिको धर्मसंस्कृति अहिलेसम्म छ जुन बोनसँग धेरै मिल्दछ ।
कर्णालीमा भएको बोन, शाक्त, शैव, सनातन हिन्दु र बौद्ध धर्मसँग सम्बन्धित धार्मिक स्थल, सांस्कृतिक परम्परा, चाडपर्व, जन्म, विवाह र मृत्यु संस्कार तथा परम्परा मौलिक छ । कर्णालीका उपत्यका, लाग्ना र गाउँमा भएको पौराणिक धर्म–दर्शनको प्रतिनिधित्व गर्ने जीर्ण अवस्थामा रहेका गुम्बा, मष्टोका थान, लिङ्गका मूर्ति र चित्र, देवल, मन्दिर, कानी चोर्तेनका भित्तेचित्रले पुरानो इतिहासको सम्झना गराएका छन् । बोन, सनातन हिन्दू र बौद्धमार्गीको मात्र नभई विश्वका मानव जातिले सभ्यता र संस्कृतिको अध्ययन नगरी नहुने क्षेत्र हो कर्णाली ।
बसाईसराईबाट मानव सभ्यताको विकास र विनाश दुवै भएको छ । सिन्धु सभ्यताको विनाश एउटा उदाहरण हो । कर्णालीको भौगोलिक फैलावटका आधारमा धर्म र संस्कृतिको पालना र विकास सोहीबमोजिम भएको छ । समथर भूभाग, उपत्यका, पहाडी क्षेत्र, मध्यपहाडी क्षेत्र, हिमालयको ठीक दक्षिण र हिमालयभन्दा उत्तरको उपत्यकामा फरक हावापानी, भौगोलिक फैलावट, वनस्पति र जीवजन्तु फरक–फरक आकारप्रकारमा भएझैँ धर्म, संस्कृति, चाडपर्व, रीतिथितिमा पनि मौलिकता भेटिन्छ । ती एकअर्कामा नङ र मासु मिलेझैँ मिलेका हुन्छन् । मानव बसोबास, सभ्यता, धर्म र संस्कृतिको विकास कर्णाली क्षेत्रमा हजारौँ वर्षपहिले भएको कुरा मातृपूजाको अवशेष, लिङ्गको चित्र कोरेर दोबाटो र पुलमा राख्ने चलन (तन्त्र), हजारौँ वर्ष पुराना बोन गुम्बा, माने, चोर्तेन, महाभारतकालीन देवल, पाथर नाउली, वीर र कृति स्तम्भ आदि कर्णाली क्षेत्रमा हुनुले पुष्टि गर्दछ । प्रकृतिपूजक बोन, मातृपूजक शैव, ब्रह्मपूजक सनातनी हिन्दूका अनेकानेक धार्मिक र सांस्कृतिक परम्पराको जननी भनेको कर्णाली नै हो, वैज्ञानिक खोज गरी पुष्टि गर्न भने बाँकी छ ।
कुन धर्म कहिलेदेखि आयो ? यो भन्न सायद त्यति सजिलो छैन । नेपाल, तिब्बत, भुटान, अफगानिस्तान, काजकास्तान, मंगोलियामा बौद्ध धर्मको विस्तार हुनुपूर्व बोन धर्म शक्तिशाली भएको धेरै प्रमाण पाइन्छन् । हिमाली क्षेत्रको मानवीय सभ्यता पुरानो र रैथाने भएकाले यी प्रकृतिपूजक सबैभन्दा पुराना धर्मावलम्बी हुन् भन्न सकिन्छ । बोनवाद अर्थात् झाँक्रीवादको रूपमा हेर्दा विश्व मानवसभ्यता र संस्कृतिमा यसैलाई शमानिजम नामबाट जानिन्छ र यो नै संसारको पहिलो ‘धर्म ’ बन्न पुग्यो (प्रभात, ज्ञानबिन्दु ११ः १०७) ।
मलाई लागेको सबैभन्दा महŒवपूर्ण पक्ष के हो भने आधुनिक नेपाली समाज विशेष गरी ठूला सहरमा धर्म, संस्कृति, संस्कार, नीति, आचार सबै क्रमशः लोपोन्मुख अवस्थामा छन् । आधुनिकता छिरी नसकेको कर्णाली क्षेत्रमा १०औँ हजार वर्ष पुरानो धर्म–संस्कृति, संस्कार र रीतिथिति जीवित छन् । आधुनिक विकासको प्रवेशसँगै यिनको संरक्षणको अभियानमा जुट्न सक्ने हो भने इतिहासमा कर्णाली अब्बल भइरहनेछ । युरोपले आफ्नो धर्म, संस्कृति, संस्कार सबै गुमाएकाले पछुतो गर्दैछन् । उनीहरूले अहिले पछुताएझैँ, २–३ सय वर्षपछि नेपाली पछुताउन नपरोस् भनी अहिलेदेखि नै सचेत हुँदा के घाटा पर्छ र ?
कर्णाली क्षेत्रमा भेटिने धर्म–दर्शनमा माथि उल्लेख गरिएझैँ भूगोलको फैलावटअनुसार बोन, शाक्त, शैव, सनातनी हिन्दू र बौद्ध धर्मावलम्बी रहेका छन् । आजकल भने युरोपको धार्मिक संस्थाको प्रलोभनमा परी अन्य धर्मावलम्बी लुकिछिपी प्रवेश गर्दैछन् । तत्कालिक जिल्ला विकास समितिका वार्षिक प्रतिवेदनमा हिन्दू र बौद्ध धर्मावलम्बीको मात्र विवरण दिए तापनि यो क्षेत्रमा बोन मार्गीको बाक्लो र उल्लेख्य उपस्थिति रहेको छ । संसारमा लोपोन्मुख अवस्थामा रहेका बोन दर्शन नेपालमा भने क्रियाशील छ ।
गहन पक्ष के हो भने मध्य–एसिया, पश्चिम–एसियामा तत्कालीन समयमा नै हजारौँ मानिसको हत्या हुँदा, दास बनाइँदा यो क्षेत्रमा यहाँका विभिन्न जातजाति एक पटक पनि झगडा नगरी बसे । माटो, रूखबिरुवा, ताल, नदी, पहाड, हिमाल, देउराली र भन्ज्याङलाई पूजे, माटाका मातृका बनाएर पूजे, योनि मात्रले हँुदैन भन्दै लिङ्गको पूजा गर्न थाले । पृथ्वीलाई पूज्ने हुनाले यहाँ विखण्डन कहिल्यै भएन; यो नेपालको ठूलो सम्पत्ति हो । केहि सय वर्षपहिले राजनैतिक पहिरनमा मन्दिर, गुम्बा, माने र चोर्तेनलाई खल्बल्याउन प्रयत्न गरियो, तर हिमाल नै खास अर्थमा स्वर्ग भएकोले त्यो विफल भयो । विशाल हिमालय क्षेत्रदेखि पश्चिममा किन शान्ति स्थापना हुन सकेन ? किनभने त्यहाँ कहिल्यै धार्मिक र सांस्कृतिक सहिष्णुता त्यहाँको हावापानी र पखेरामा हुर्कन पाएन ।
कर्णालीको मानव सभ्यता, धर्म र संस्कृति हजारौँ वर्ष पुरानो हो । आजका दिनसम्म बोन, शाक्त, शैव, सनातनी हिन्दू र बौद्ध धर्म–दर्शन विभिन्न रूपमा कर्णालीको जनजीवनमा सांस्कृतिक धरोहर बनेर बसेको छ । कर्णालीको भौगोलिक फैलावटका आधारमा धर्म–दर्शन, जातजाति, संस्कृति, चाडपर्व, जन्म र मृत्यु संस्कार जोडिएर रहेका छन् । त्यसको प्रमाण गुम्बा, ख्यातिप्राप्त देवी मन्दिर, भैरव र शिवका मन्दिर, मष्टोका थान, धामी झाक्री, झारपूmक र पतुर्ने चलनबाट देख्न सकिन्छ ।

२.३ कर्णालीमा बोन धर्म–दर्शनको परम्परा
जन्म, मृत्यु, पानी, आकाश, आगो, पृथ्वी, हावा जे जति तŒव यो ब्रह्माण्डमा छन्, त्यो सत्य
हो । माटो, पानी, हावा, ताप नभई सृष्टि र सृजना हुँदैन । यो प्रकृति नै सबै कुरा हो, प्राकृतिक जीवित तŒव नै सृष्टिको आधार हो भन्ने विश्वास गरी प्रकृतिको पूजा गर्ने, पितृपूजा गर्ने, प्रकृतिको शरणमा जाने जुन चलन, परम्परा र संस्कृति छ त्यसलाई बोन परम्परा÷बोन धर्म÷बोन दर्शन भनिन्छ । मन, वचन, विवेक र बुद्धिको प्रयोग गरी प्रकृतिलाई खुसी पार्न सके वर्षा हुन्छ, खेति हुन्छ, सृष्टि हुन्छ र सन्तान वृद्धि भई सुख हुन्छ भन्ने विश्वास बोन धर्मावलम्बीको छ । प्रकृतिलाई खुसी पार्न विभिन्न किसिमका तरिका अपनाउने परम्परा, चलन र व्यवहारलाई बोनवाद पनि भनिन्छ । समस्याको समाधानका लागि झारफुक गर्ने, झाँक्री राख्ने बोन सम्प्रदायको परम्परा रहिआएको छ । बोनको सबैभन्दा ठूलो तीर्थस्थल मानसरोवर, कैलाश तथा नेपालको पश्चिम हिमाली क्षेत्र मुस्ताङ, मुगु, डोल्पा र हुम्ला हो । नेपालबाहेक तिब्बत, भुटान र भारतको उत्तरी क्षेत्रमा पनि केहि बोन गुम्बा रहेका छन् ।
बोन पुरानो धर्म हो । यो मातृतन्त्रको काल वा त्यो भन्दा पहिलेदेखि अभ्यासमा आएको हो ? अध्ययनको विषय हो । सबैले स्वीकार गरेको के हो भने यो धर्म हिमाली महादेशमा जन्मेर हुर्केको सबैभन्दा पुरानो धर्म–दर्शन हो । यो धर्म पनि अन्य धर्मझैँ समय–समयमा कहिले सनातनी हिन्दू त कहिले बुद्ध धर्मको चेपुवामा परे तापनि नेपालको हिमाली क्षेत्र मुस्ताङ, डोल्पा र हुम्लामा आजका दिनसम्म उच्च प्रतिष्ठासहित रहेको छ । डोल्पाको रिङ्मो, पुङ्मा, काइगाउँ, खालीबोन, चेल्लुङ, दुनै, सिम्चे, द्योतराप, छार्का, स्यामलिङ र भिजेरमा पुराना बोन गुम्बा रहेका छन्, त्यहाँका लामा परिवारसँग बस्छन् ।
मानिसले खेतिपाती, पशुपालन र स्थायी किसिमको बसोबास, परिवार, सन्तान वृद्धि आदिको सुरुआत भएदेखि खेतबाट अन्न उब्जेको देखेपछि, जनावर र माताले बच्चा जन्माएको चाल पाएपछि सभ्य संस्कार, मान्यताको विकास र त्यसबारेमा चिन्तन–मनन गर्नसक्ने भएदेखि प्रकृतिको पूजा गर्न थालिएको हो ।
प्राकृतिक शक्तिको प्रतीक अथवा मानस बिम्बको रूपमा वनदेवी अथवा झाँक्री (वनैया) नामक काल्पनिक पात्र ठड्याएर सम्पूर्ण जगतको सृष्टि, पालन र संहारको नियम, विधि र ऊर्जा उनैसँग रहेको विश्वास गर्ने दृष्टिकोण झाँक्रीवाद हो यसैलाई बोन दर्शनको रूपमा समेत हेरिन्छ । ……. बोनवाद या झाँक्रीवाद समानार्थी भएर हाम्रो संस्कृति दर्शनमा प्रयोग भएको छ (प्रभात, ज्ञानबिन्दु ११ः९३–९४) । पछिल्लो समयमा अथर्ववेदमा बोन धर्मका तान्त्रिक विधि समावेश गरी झारफुक गर्दा ती मन्त्र प्रयोग गर्न थालियो । यसरी बोन धर्म हिमालदेखि उत्तर र दक्षिणसम्म फैलियो ।
बोनलाई बोन, पोन र सो धर्म मान्नेलाई बोन्पो भन्ने गरिन्छ । बोन धर्मावलम्बीका मुख्य धर्मगुरु बोनपा सेराव हुन् । बोन धर्मावलम्बीले जप्ने मन्त्र ‘ओम् मात्री मुये साले दु’ हो । बोन र अन्य धर्मावलम्बीले गर्ने सामान्य विधिबारे एउटा सानो विशेषता यसप्रकार छ ः बोन धर्मावलम्बीले कैलाश पर्वतको परिक्रमा गर्दा, माने घुमाउँदा, चोर्तेनको परिक्रमा गर्दा दाहिनेदेखि देब्रे अर्थात् घडीको सुईको उल्टो पारेर गर्दछन् भने हिन्दू, बौद्ध, जैन र अन्य सम्प्रदायले मुल गुम्बा वा मन्दिरलाई दाहिने पारेर वा घडीको सुईअनुसार घुम्दछन् ।
अहिले सहरमा बस्ने चलन बढेकाले कर्णालीका प्रायः सबै जिल्लामा सबै धर्म सम्प्रदायका मानिसको बसोबास रहेको छ । त्यसमध्ये डोल्पाको रिङमोलगायत अन्य थुप्रै गाउँका मानिस बोन धर्मावलम्बी हुन् बोन धर्म बौद्ध धर्मभन्दा पनि पुरानो हो । सातौँ शताब्दीअघि तिब्बतमा बोन धर्म
थियो । अहिले तिब्बतमा पनि बोन धर्म लोपोन्मुख अवस्थामा छ । बोन धर्म जीवित रूपमा रहेको ठाउँ नेपालको डोल्पो हो (पराजुली, २०७४ः७९) । विदेशी लेखकहरूले भनेजस्तो यहाँ पाइने धर्म र संस्कृति तिब्बती नभएर विशुद्ध डोल्पाली हो र यहाँका बासिन्दा विशुद्ध खस हुन् । बरु कर्णालीको प्रभाव तिब्बतसम्म पुगेको कुरा मानसरोवर, कैलाश, पार्वती कुण्ड, तीर्थपुरी, बज्रपानी पर्वत, मञ्जुश्री पर्वतजस्ता शब्दबाट नामकरण गरिनुबाट थाहा हुन्छ ।
प्रकृति नै यस क्षेत्रका मातापिता, अन्नदाता र भगवान् हुन् । त्यसैले कर्णालीबासी चाहे ती शैव, मष्टो, बोन, बौद्ध जे हुन् चाडबाड मनाउँदा बडो धुमधामका साथ हृदय खोलेर मनाउँछन् । उनीहरूको संस्कृतिमा प्रकृतिप्रतिको माया शेफोक्सुण्डो र राराको पानीजस्तै कञ्चन हुन्छ । प्रकृतिसँग नाता टुट्दो हो त किन आज पनि जुम्लामा रोपाइँ गर्दा दशैँ वा ल्होसार पर्व मनाउँदाभन्दा बढी महŒव दिई नाचगान गरिन्थ्यो ?
कर्णालीकोे सबैभन्दा बलियो पक्ष के भने शिलालेख लेख्दा होस् वा नयाँ कार्य गर्दा होस् बोन, हिन्दू र बौद्धमन्त्र राख्ने गर्नुले त्यसबेलाका मानिसले एकअर्कालाई कति सम्मान गर्थे भन्ने प्रष्ट हुन्छ । संघीयताको निर्माणको समयमा जाति र धर्मबारे विवाद ल्याई नेपाललाई टुक्रा पार्ने प्रयास समन्वय र सहअस्तित्वको भाव बोक्ने त्यहीँ पौराणिक संस्कृतिले बिफल तुल्याएको थियो । कर्णालीको संस्कृति र धर्म–दर्शनको बिर्सन नहुने अर्को बलियो पक्ष के हो भने यहाँको संस्कृति मानिसको रगत र मनमा मिसिएकै छ । दोर्जी रोकाया, छिरिङ मगर, कमल बैजीजस्ता नामबाट पनि त्यसको भाव र मर्म बुझ्न सकिन्छ । नागरिकबीचको सद्भाव आमसमाजमा प्रस्फुटन हुनेगरी गुम्बा, मन्दिर निर्माण गर्दा पनि झल्केको हुन्छ । यो सद्भाव सिकाउने अरु कोहि नभई कर्णाली हो र कर्णालीको पौराणिक धर्म–दर्शन हो । उदाहरणको लागि जुम्लाको चोप्रामा रहेको पेगोडा शैलीको चोर्तेन हो जुन पेगोडा शैलीमा निर्माण गरिएको छ र त्यसलाई मैले चोर्तेन्दिर भनी नामकरण गरेको छु ।
काराकोरम, काजकास्तान, मंगोलिया, तिब्बतदेखि हिमाली उपमहादेशमा फैलिएको बोन दर्शन नेपालको डोल्पाबाट सुरु भएको हो । अहिले पनि कर्णालीमा जीवित रहेको यो दर्शन र यससँग जोडिएका वैज्ञानिक र जीवनोपयोगी प्रचलनलाई जोगाउन आवश्यक छ ।

२.४ कर्णालीमा शाक्त धर्म–दर्शनको परम्परा
बोन धर्म प्रकृति पूजासँग सम्बन्धित छ । बोनमा पनि पृथ्वीलाई माता मानेर पूजा गरिन्छ । मानव सभ्यताको विकासक्रमको एक चरण आदिम गणतन्त्रमा मातृका प्रमुख हुने समय थियो । महामातृका त्यसबेला गण प्रमुख हुन्थिन् । गण ठूलो भएपछि छुट्टिन्थे । पुत्रलाभपछि उनको भीमकाय मूर्ति
बनाइन्थ्यो । तन्त्र विधि अपनाइन्थ्यो । अन्न उमार्न, अन्नलाई पूर्ण गर्न पूजा गरिन्थ्यो । त्यो कुरा ५ हजार वर्षपहिले कैलाश पर्वतको पूर्व, पश्चिम र दक्षिणमा गरिन्थ्यो । एलममा मातृका प्रधान हुँदा देवजनमा देव प्रमुख भएको कुरा मदनमणि दीक्षितको भूमिसूक्तमा वर्णन गरिएको छ ।
त्यसबेलाको समयमा मातृकाले पति चुन्ने र उनबाट पुत्रलाभ भएपछि पतिको रक्तबलि दिने चलन थियो । त्यसबेलाको त्यो शक्ति आराधनालाई क्रमशः देवी, महाशक्तिको रूपमा स्थापित गरियो । पछि पुराणका कथामा तिनलाई ‘अष्टमातृका’ ‘नवदुर्गा’ भनियो । हिमाली क्षेत्र उद्गमस्थल भएका जनजातिहरूमा अहिले पनि नारीको मर्यादा उच्च रहेको छ । नारी शक्तिलाई प्रमुख शक्ति मान्ने समुदायलाई शाक्त सम्प्रदाय भनिन थालियो र यो धेरै पुरानो परम्परा हो । ‘इरान, इराक, भूमध्यसागरीय क्षेत्र, पश्चिम–एसिया र मोहनजोदाडो एवम् हडप्पा सभ्यताबाट प्राप्त नारीचित्र, मूर्ति र अवशेषबाट पनि शक्तिको उपसना परम्परा ज्यादै प्राचीन रहेको देखिन्छ (लामिछाने, २०७३ः८८ ) ।
नेपालमा मातृशक्तिको फैलावट ई.पू. ३००० पहिले सबै क्षेत्रमा थियो । त्यसको अवशेष विभिन्न देवी, दुर्गा, कालीको नाममा अहिलेसम्म पूजामा कायम छ । त्यसबेला अहिले चण्डी आदिमा उल्लेख गरिएझैँ महामाता नै सर्वशक्तिमान थिए । त्यस्तो चलन हजारौँ वर्षसम्म चल्यो । नेपालका आदिवासीमा त्यसको अवशेष अझै छ जुन कर्णालीका हिमाली जिल्लामा पाइन्छ । घरको खटनपटन अहिले पनि माताबाट हुन्छ । पितृसमाजको विकासपछि माताको अधिकार खोसिँदै मात्र गएन यौन दासीसमेत बनाइयो । अहिले देवी पूज्ने हाम्रो समाजमा महिलालाई दासकै रूपमा हेरिने ठाउँ पनि कर्णालीमा नै नभएको होइन, जुन जनकपुर क्षेत्रबाट प्रारम्भ भएको थियो ।
वैदिक ग्रन्थमा देवीलाई ज्ञान, धन, शक्ति आर्जन गर्ने, शत्रुबाट बचाउने, समाजलाई बाटो देखाउने र दुःखबाट बचाउने शक्तिको रूपमा वर्णन गरिएको पाइन्छ । महाभारत कालमा आइपुग्दा भने नारी शक्तिलाई आह्वान वा उपासना गरी नारी शक्ति आफूमा ग्रहण गर्न उपासना गर्न थालेको पाइन्छ । तर ठाउँअनुसार विकास र विधि फरक पर्दछ । जे होस् शक्तिको आराधना गर्ने दुर्गा, काली, चण्डी, महाकाली, कपिला, भद्रकाली देवीका रूपमा पूजा गर्ने चलन महाभारत कालदेखि बढी मात्रामा देखिन थालेको हो । नेपालमा देवीहरूको उल्लेख वैदिक ग्रन्थ, पुराण, उपनिषद्, स्वस्थानी व्रतकथाजस्तै अन्य धेरैमा उल्लेख गरेको पाइन्छ । नेपालको पश्चिम तराईमा पर्ने बन्जाराहीको पुरातात्विक उत्खनन्मा हातले बनाइएको माटाको नारी मुखौटो मानेका छन् । सो मुखौटो ई.पू. तेह्रौँ शताब्दीको हुनसक्ने अनुमान गरिएको छ (लामीछाने, २०७३ः८८) । अंशुवर्माको पालादेखि भने राजाहरूले देवीहरूको स्थापना गरी पूज्न थालिएको पाइन्छ । मल्लकालमा शाक्त परम्पराले राष्ट्रिय रूप लिई सबै कोटमा दुर्गा भवानीको मूर्ति राखी सरकारी निकायबाट नै पूजाअर्चना गर्न थालियो ।
देवीपूजाको सम्बन्धमा कर्णालीतर्फ ध्यान दिँदा कर्णालीको माथिल्लो क्षेत्रमा ईश्वरवाद होइन कि उपासनाका विधिसहित व्यवहारिक रूपमा मातृपूजा गरिन्थ्यो । हिजोका दिनमा झैँ मातृशक्तिलाई आज पनि पूजा गरिन्छ । मनुस्मृतिमा वंश नाश हुने अवस्थामा बुहारी वा भाउजूसँग सम्बन्ध स्थापना गरी वंश नाश हुन नदिने संहिता छ भने हिमालयको काखमा मातृशक्ति स्वरूप आज पनि घरव्यवहार, परिवार, खेतिपाती, आर्थिक हिसाब र परिवारका सदस्य कसले के काम गर्ने भन्ने खटन सबैभन्दा जेठो महिला सदस्यबाट हुन्छ । अवस्था हेरी, व्यवहारिक रूपमा जग्गालाई चीरा पार्न नदिन वंश परम्परालाई जीवित राख्न बहुपति प्रथा पनि कुनै–कुनै क्षेत्रमा प्रचलनमा छ । व्यवस्थित कृषि–पशुपालनको युग, कम्तिमा १० हजार वर्ष पहिलेको मातृशक्तिको परम्परा कर्णालीमा जीवित छ ।
कर्णालीको तल्लो भेगमा देवी पूजा उत्तिकै सशक्त छ । नौ देवीहरू डोल्पाको त्रिपुरासुन्दरीबाट उत्पन्न भएको भन्ने विश्वास छ । स्थानीयको विश्वासअनुसार हाल त्रिपुरासुन्दरी भएको ठाउँमा ओखल थियो । ओखलमा धान कुट्दा कहिले धेरै कहिले थोरै चामल हुने भएकाले खनेर हेर्दा तामाका भाँडाहरू भेटिए । खन्दा आएको आवाजले कुडेसोमाथि देखिएका नौ वटा पुतली देवीका रूपमा उडेर माथि आए । ती नौ बहिनी पुतलीहरू बाला, त्रिपुरा, सुन्दरी, मालिका, काली, बागीश्वरी, कनकसुन्दरी, बडीमालिका र त्रिपुरासुन्दरी हुन् । बाला, त्रिपुरा, सुन्दरी र मालिका डोल्पामा, काली सल्यानको खैरावान, बागीश्वरी नेपालगन्ज, कनकसुन्दरी जुम्ला, त्रिपुरासुन्दरी बैतडी र बडीमालिका बाजुरामा बसे भन्ने विश्वास अहिलेसम्म रहेको छ (पराजुली, २०७४ः११३) । त्यसरी नै जुम्ला सिँजाकी कनकासुन्दरी, कालीकोटकी बडिमालिका, पुगमालिका, चुलीमालिका अन्य देवी मन्दिर हुन् ।
खस साम्राज्यको बेला बोन, बुद्ध वा सनातनी हिन्दू धर्म जसले जुनसुकै सम्प्रदायमा आस्था राखे तापनि आस्थाअनुसार गुम्बा, देवीमन्दिर स्थापना गरिदिए । त्यसैले सबै भेगमा देवीपूजा वा मातृपूजा, बोन, शैव, बुद्धसँग सम्बन्धित धर्म परम्परा उत्तिकै प्रभावकारी रहेको पाइन्छ । यस क्षेत्रको पदयात्रा गर्दा मातृशक्तिको श्र्रद्धाभावले पूजा गर्ने गरे तापनि कर्णालीमा नारीको अवस्था भने अत्यन्त कष्टकर छ । धेरै देवीले अहिले १४ घण्टा काम गर्छिन्, सन्तान जन्माउँछिन्, भोकोपेटलाई पटुकीले कस्छिन् र अल्पायुमा कर्णालीको तीरमा विश्राम लिन्छिन् ।
हामीले बिर्सन नहुने कर्णालीको अर्को महŒवपूर्ण पक्ष के हो भने नाममा चाहे बोन, झाँक्री, शाक्त, शैव, बौद्ध, तन्त्र, मन्त्र जे हुन निष्कर्षमा प्रकृति एवं मातृपूजक हुन् र एकअर्कामा मिसिएर रहेका छन् । यस प्रकारको प्रचलन सुदुरपश्चिममा पनि रहेको छ । यहाँ बस्ने खस जाति यी माथिका सबै धर्म परम्परामा सरिक हुन्छन् –भौगोलिक फैलावटअनुसार । काठमाडौँ उपत्यकामा शक्तिपूजा र तान्त्रिक जात्राको प्रचलन अन्यत्रभन्दा सशक्त रहेको छ ।

२.५ कर्णालीमा शैव धर्म–दर्शनको परम्परा

शैव संस्कृति हिमाली भूभागमा विकास भएको हो भन्ने विश्वास गरिएको छ । शैव दर्शनभित्र रहेका तन्त्र, योग, नाट्य, संगीतको उद्गमस्थल नेपाल हो भनेर बल्ल कुरा उठ्न थालेको छ । शिवपार्वतीले विकास गरेका संस्कृति तन्त्र, योग, नाटक, जडीबुटीका औषधि, वर्ण व्यवस्थाविहीन समाजका अवशेष कर्णाली क्षेत्रका उच्च क्षेत्रमा अहिले पनि छ । गोठ सार्दै चौरी र भेडाच्याङ्ग्रा पाल्ने, लेक र बेसी गर्ने चलन यथावत छ । शैव संस्कृतिले पृथ्वीलाई प्रमुख स्थान दिएको छ र मृत्युपछि कुनै काल्पनिक लोकमा पुग्ने हैन, कैलाशवासी शिवशक्तिमा समाहित हुने कामना गर्दछ । यो संस्कृति हिमालदेखि फैलिएर दक्षिण भारतसम्म पुगेको छ । वैदिक कालभन्दा पहिले नै यहाँ विकसित शैव संस्कृति ई.पू. ३००० वर्षतिर नै विशाल क्षेत्रमा फैलिएको थियो (प्रश्रित, २०७४ः २०) ।
कर्णाली क्षेत्रमा शैव धर्म–दर्शन र शैव संस्कृतिको प्रभाव माथिल्लो कर्णाली र तल्लो कर्णाली दुवै क्षेत्रमा रहेको छ । समुद्रसतहदेखि ३००० मिटरको उचाइमा बसोबास गर्ने बासिन्दा बोन वा बुद्ध धर्मावलम्बी भए तापनि तिनीहरूको दैनिक व्यवहारमा शैव संस्कृतिका तन्त्र, मन्त्र, मातृपूजा प्रचलनमा छन् । त्यसैगरी तल्लो क्षेत्रमा शिवका अंश मानिने मष्टोलाई कुल देवताको रूपमा प्रत्येक घरमा थान बनाई पूज्ने गरिन्छ । विभिन्न नामका मष्टो हुने र पूजाका विधि फरक भए तापनि खस जातिको कुल देवता मष्टो हुन् ।
पछिल्लो समय मिथिला क्षेत्रमा याज्ञवल्क्य, अष्टावक्र, गार्गी आदिले ऋग्वेददेखि उपनिषदको सिर्जना गरे । नारायणीको त्रिवेणीधामको वाल्मीकि आश्रममा वाल्मीकिले रामायणको रचना गरे । यसबाट के कुरा प्रष्ट हुन्छ भने मिथिलामा वैदिक संस्कृतिको विकास हुनुभन्दा पहिले कर्णालीदेखि पश्चिममा केदारसम्म, पूर्वमा बाग्मती र गौरी–शङ्कर हिमालसम्म शैव संस्कृतिको विकास भइसकेको थियो । शैव दर्शनको विकास हुनुभन्दा पहिले बोन दर्शनको विकास भइसकेकाले यो क्षेत्रमा दसौँ हजार वर्ष पहिलेदेखि मानिसको बसोबास थियो भन्न सकिन्छ ।
शैव धर्म शिव र शक्तिसँग सम्बन्धित छ । सिन्धु सभ्यताको विकास हुनुभन्दा पहिलेदेखि पामिर, हिन्दूकुश, काराकोरमदेखि मुख्य हिमालयको पूर्वीभाग र मध्य–एसियामा प्रकृतिपूजक, मातृपूजक रैथाने सम्प्रदायको बसोबास थियो । पश्चिमबाट आर्यहरूको आगमनभन्दा हजारौँ वर्षपहिले अग्ला पर्वतमाला र हिमालयको सेरोफेरो जसलाई विख्यात लेखक मदनमणि दीक्षितले हिमाली उपमहादिप भन्नुभएको छ, त्यस क्षेत्रमा मानव सभ्यताको विकास भएको हो । कृषि, पशुपालन, घर निर्माण, भाँडाकुडा र औजारको विकास गरेका थिए । आजका स्थापनाअनुसार द्रविणजन सिन्धुनदीको पश्चिमको बुचिस्तानका नवपाषाणयुगीन आदिवासीहरूले नै इक्षु र वंक्षु नदी सरदरिया, अक्ससका मैदान र पर्वतबाट बसाईसराईद्वारा सिन्धु सभ्यताको विकास निम्ति जग हाले । ……४८ सय वर्ष पहिले हडप्पा सभ्यता अनि त्यसको केहि शताब्दीपछि मोहे–जो–डेरो, कालीबङ्गा, लोथार चन्हुदडो आदिका विकास भए (दीक्षित, २०५९ः१५५–१५६) । त्यसैबेलादेखि नै कैलाश पूज्ने, महामातृका पूज्ने, योनि र लिङ्ग पूज्ने गर्दथे । महामातृकाको विशाल मूर्ति बनाएर रक्तबलि दिन्थे । जे देखिन्छ र भोगिन्छ त्यो यथार्थ हो । यो प्रकृतिले जे दिएको छ त्यो सत्य हो भन्नेमा विश्वास राख्दथे । पशुपति आर्यघाटमा रहेको विरूपाक्षको मूर्ति र गौरीघाटभन्दा माथि रहेको किराँतेश्वर शिवलिङ्ग रहेको आधारमा ई.पू प्रथम शताब्दीतिर नै नेपालमा शैव धर्म लोकप्रिय भइसकेको देखिन्छ (लामिछाने, २०७३ः६७) । अहिले नेपालको सम्पूर्ण भूभागमा पशुपतिलाई विभिन्न नाममा पूजा गर्ने गरिन्छ । हिमाली क्षेत्रमा पनि शिव पूजिन्छन् ।
तन्त्रको आविष्कारक शिव मानिन्छन् । शिव र शक्ति एक ठाउँमा रहन्छन् । शिवको मूल विशेषता तन्त्र हो । त्यसैबाट शैव दर्शनको विकास भयो । यिनी बढी समन्वयकारी, उदारभाव, सहयोगीका रूपमा मानिन्छन् । ऋग्वैदिक कालमा शिवलाई निन्दा गरी लिङ्गपूजक, लिङ्गोपासक भनियो । यजुर्वेदमा शिवको प्रभावकारिता, मिलनसारिता, सहयोगी भावले गर्दा उनलाई रुद्रको रूपमा रुद्राध्याय थपियो, रुद्राविषेक गरियो र ब्रह्मवादी दर्शन र शिवलाई मिलाएर याज्ञवल्क्य (जनकपुर) ले यजुर्वेद लेखे । यजुर्वेदले रुद्रलाई शिव भनी उल्लेख गरेको छ । शैव धर्मावलम्बीले शिवलाई सम्पूर्ण जगत्को सृष्टि र संहारकर्ताको रूपमा हेर्दछन् । त्रिदेव ब्रह्मा, विष्णु, महेश्वरको धारणा त्यसैबेलादेखि भएको हो । यजुर्वेदकालमा तन्त्रबाट मन्त्र हँुदै यसैबाट किराँतेश्वर भए भने त्यसैमा शैव र विष्णुको संस्कृतिलाई विकास गर्दै विस्तार गरे ।
याज्ञवल्क्यदेखि शङ्कराचार्यसम्म आइपुग्दा सबै आत्मवादी हुन पुगे, ‘ब्रह्म् सत्यम् जगत मिथ्या’ भने । दार्शनिक विष्णु प्रभातका अनुसार– ‘आठौँ शताब्दीमा राजा सुधन्वाले सेनाको टुकडी नै सहयोग गरी शङ्कराचार्यको नेतृत्वमा ईश्वर नमान्नेलाई मार्न लगाए, ८४ हजार बौद्ध ग्रन्थ जलाए ।’ सनातनी हिन्दूका इन्द्रिय दमन, सहयोग (दान र दया) त्यसबेला साँचो अर्थमा र व्यवहारमा थियो, त्यो नष्ट
भयो । त्यसै बेलादेखि दास बनाउने र छुवाछुत हुनेसम्म गरियो । त्यसैले बुद्धले समानता र छुवाछुतरहित समाजको वकालत गरे । आत्मवाद एवम् ईश्वरवादको विरोध त भयो तर हिन्दू सनातनी कर्मकाण्डीबाट मुक्त हुन सकेन । प्राकृतिक शक्ति, परिवर्तनशीलता र यथार्थताको जानकारी दिए तापनि ईश्वरवादको प्रभाव व्यापक भयो र जुनसुकै धर्म मान्ने भए तापनि प्रकृति आफैँ केहि होइन यो अलौकिक शक्तिबाट प्राप्त भएको हो, हाम्रो जीवन उनैको हो, हिजोको हाम्रो दानले आज यत्तिका भएका छौँ, आज दान गरे भोलिको जीवन स्वर्गमा हुन्छ भन्ने कुराले समग्रमा जित्यो । त्यो मानवको गर्भाधारणसँगै संस्कारगत हिसाबले जन्मेर आयो । वैज्ञानिक धारणा पाठ्यक्रममा नराखिएकाले पूर्वजन्म र पुनर्जन्ममा अहिले पनि ९९ प्रतिशत मानिसले विश्वास गर्छन् ।
समन्वयात्मक भाव धार हिमाली संस्कृति हो जहाँ विभिन्न धर्म र परम्परा एकअर्कामा मिलेर बसेका हुन्छन् । यथार्थलाई विश्वास गर्ने बोन र शैव धर्म, यससँग सम्बन्धित संस्कृति र परम्परा हिमाली उपमहादिपको कर्णालीमा जन्मेको हो । कर्णालीको हुम्लाको नालाकांकार भन्ज्याङको ठीक उत्तरमा कैलाश पर्वत विराजमान छ जसको आसपास शिव, कुवेरको दरबार रहेको कुरा महाभारतमा उल्लेख छ । अष्टावक्र यहीँ बाटो भएर कैलाश गएका थिए भन्दा अत्युक्ति नहोला ।
नेपालमा मल्लकालमा सबै क्षेत्रमा विकास हुँदा उमामहेश्वर, भैरवपूजा गर्न थालिएको देखिन्छ । उमामहेश्वरको मूर्तिमा यौनिकपन झल्केको देखिन्छ जुन तन्त्रसँग सम्बन्धित छ । नेपालमा शक्तिका साथै शिवका सौम्य र उग्र रूपको उपासना भैरवस्वरूपलाई मानेर गरिन्छ । हिमाली शेर्पाका कुलदेवता, द्रबिड, पासवान र झाँगडका इष्ट देवता, खसका मष्टो नेवारका भैरव विभिन्न रूपमा कुल देवता नै हुन् । सिन्धु सभ्यताका इतिहासविद् जोन मार्शलले शैव धर्मलाई ‘हाम्रो लागि मोहनजोदाडो र हडप्पाले सँगालेका धेरै ढुकुटी मध्ये सबभन्दा महत्वपूर्ण कुरा हो शिव धर्मको इतिहास । यो ताम्र युगदेखि चलेको हो । विश्वमा जीवित सबै धर्ममध्ये यो सबभन्दा पुरानो हो ।’ भनेका छन् (प्रश्रित, २०७४ः ९५) । बोनजस्तै हिमाली क्षेत्र शैव संस्कृति र दर्शन विकासको मूल थलो हो र यो हिमालबाट हिन्द महासागरसम्म पुगेको हो ।
दैलेखको ज्वालानाभिस्थानमा रहेको भैरव मन्दिर, जाजरकोटको खलङ्गामा रहेको शिवालय, जुम्लाको भैरवनाथ, ढोका भैरव, चन्दननाथ र अन्य शिवालय यहाँ प्रख्यात छन् । कर्णालीमा जन्म, मृत्यु, पूर्वजन्म र पुनर्जन्मका विषयमा विश्वास रहे तापनि कैयौँ प्रचलनमा समन्वय यथावत् छ त्यो– बोन र शैवको प्रभाव हो । अहिले पनि कर्णालीमा बोन, शैव, शाक्त, बौद्ध धर्म–दर्शन र संस्कृति मिश्रित छ, जस्को चर्चा यहाँ गरिएको छ । नेपालको सन्दर्भमा विष्णुको क्षेत्र भनेर कालीगण्डकीको क्षेत्र दामोदर कुण्डदेखि मुक्तिनाथ, कागबेनी, गलेश्वर, रीणि, देवघाट हुँदै त्रिवेणी र त्यसआसपासको क्षेत्रमा व्यापक छ भने शैव धर्म अर्थात् उमामहेश्वरको प्रभाव शिव, भैरव, किराँतेश्वर, पशुपति, विभिन्न नाममा देवी र मातृकाको नाममा तराई, पहाड र हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म विस्तार भई नै रहेको छ । वर्तमान अवस्थामा भने नेपालमा फेरि एकपटक धार्मिक हमला भित्रभित्रै राजनैतिक स्वार्थका लागि भएको छ, त्यसमा सचेत हुनुपर्छ ।

२.६ कर्णालीमा बौद्ध धर्मको परम्परा
नेपाल प्राचीन मातृपूजक एवम् प्रकृतिपूजकको भूमि हो । सभ्यताको विकाससँगै धर्म र संस्कृतिमा सुधार हँुदै गयो । प्रकृतिपूजक बोन सम्प्रदाय हिमाली क्षेत्रमा विकसित मध्य–एसियासम्म पुग्यो भने शैव दर्शनका उमामहेश्वर विभिन्न नाममा हिमालयदेखि दक्षिण सागरसम्म पुगे । यी दुवै दर्शन नेपालको हिमाली क्षेत्रमा भएको हो । परिवर्तनशील जगतको चरणबद्ध विकाससँगै जीवनका सबै पीडाबाट मानवजीवनलाई मोक्ष दिने धार समातेर विश्वलाई नयाँ दर्शन दिए सिद्धार्थ गौतम बुद्धले । गौतम बुद्ध
(५६३–४८३ ई.पू.) नेपालकै लुम्बिनीमा जन्मेका हुन् । आज नेपाल विश्वभर धार्मिक र जातीय सहिष्णुता, सांस्कृतिक विविधतासँगै एकता, प्राकृतिक सुन्दरता र सगरमाथा भएको मुलुक भनेर चिनिएझैँ शान्ति र सद्भावको सन्देश फुक्ने गौतम बुद्धको जन्मस्थल भनेर पनि चिनिएको छ । सबैलाई राम्रो गर, नराम्रो कसैलाई नगर भन्ने बुद्धले बुद्धत्व प्राप्त गरी मानव कल्याणका दार्शनिक बने । आज विश्वका धेरै देशमा बुद्धका सिद्धान्तलाई आफ्नै परिवेशमा ढालेर बुद्ध धर्मको विस्तार गरिएको छ । बुद्ध आफैँले आफूलाई ईश्वर नमान्नु भने पनि उनलाई भगवान् नै मान्दछन् । बुद्ध लुम्बिनीमा जन्मेका हुन् भन्ने सम्राट अशोकले उनलाई महाज्ञानी भनेका छन् (प्रभात, २०७२ः१०३) । अशोकका पालादेखि बौद्ध धर्म यस हिमाली उपमहाद्विपदेखि बाहिर फैलिन थालेको हो । कर्णाली क्षेत्रमा बुद्धधर्मको विस्तार आठौँ शताब्दीदेखि हुन थालेको हो ।
तिब्बतमा सातौँ शताब्दीसम्म बोन धर्म नै त्यहाँको राजधर्म थियो । स्रङचङ गम्पोले सातौँ शताब्दीमा नेपालकी चेली भृकुटीसँग विवाह गरेपछि नेपालबाट बुद्धका मूर्ति मात्र लिएर गएनन् । नेपालबाट कालिगढ झिकाई तिब्बती जनतालाई मूर्ति बनाउन तालिमसमेत दिए । त्यसैगरी स्रङचङ गम्पोले तिब्बतबाट आफ्ना नागरिकलाई मूर्तिकला, भित्तेचित्र लेखन र बुद्ध धर्मबारे ज्ञान हासिल गर्न नेपाल पठाएका थिए । पोताला दरबार, नोर्बुलिङ्खा र जोखाङ मान्दिरमा भएका काँसढलौटका मूर्तिहरू नेपालबाट त्यसबेला ल्याइएका थिए (पराजुली, २०७२ः१६३) । त्यसरी तिब्बत, चीनमा बुद्ध धर्मको सुरुआत नेपालबाट भएको हो । सन् ९७० को आसपास पश्चिम तिब्बतका राजा यशि–ओ ले अतिसाको सहयोग लिई बुद्ध धर्मको विस्तार गरेका हुन् । पद्मसम्भव र अतिसा नेपालको कालीगण्डकीको बाटो भएर तिब्बत गएका हुन्, नेपालको हिमाली क्षेत्र र तिब्बतमा बुद्ध धर्मको विस्तार गर्न उनीहरूको भूमिका रहेको छ ।
बुद्धको मुल दर्शन सत्य र यथार्थमा आधारित छ । जीवन र जगतलाई हेर्ने दृष्टिकोण बुद्धभन्दा पहिलेका कपिलमुनि र भृगु महर्षिले गरेका थिए । बुद्ध उनीहरूबाट प्रभावित थिए । मानवलाई सदाको लागि शान्ति र सुख दिएर निर्वाण प्राप्त गर्ने बाटोमा हिँडन प्रेरित गर्ने उनले दरबार र परिवार त्यागे । जातीय भेदभाव, छुवाछुत, कर्मकाण्डको हैकम र बहुपत्नी राख्ने चलनको विरोध गरी समतामुखी मानवीय चिन्तनको रूपमा बुद्धले नयाँ धारणा ल्याए र त्यो धारणा आज विश्वभर फैलिएको छ ।
सृष्टि र विनाश नियमित प्रक्रिया हो र संसार परिवर्तनशील छ । जन्म र मृत्युजस्तै प्रकृतिमा हुने परिवर्तन नियमित प्रक्रिया हो । मानवजीवन सबैभन्दा ठूलो हो । उनले ‘मानवभन्दा माथि कुनै प्राणी छैन, भगवान् या ईश्वर जे भने पनि ती मानवकै सर्वकल्याणकारी रूप हुन्’ भनेर अनिश्वरवादलाई स्थापित मात्र गरेनन् बरु मानववादलाई अघि सारे (प्रभात, २०७२ः११०) । बुद्धका अनुसार मनले नै मानिसलाई देवता र पशु गराउने गर्दछ । असल मानिस नै देवता हो समग्र सृष्टिको यात्रा मानिससँगै जोडिएर आएको छ । ईश्वर कल्पनाको भ्रमजाल हो (प्रभात, २०७२ः११२) ।
बुद्धभन्दा पहिले आदिकालदेखि नै हिमालयको दक्षिणी भूभाग मानव सभ्यताको विकासको अग्रणी थियो । एकअर्कासँग परस्परमा मिलेर बस्ने, भूमि र पितृ पूज्ने, विभिन्न वर्ग, समुदाय, जातजतिबीचको सद्भाव र समन्वय बुद्ध जन्मनुभन्दा पहिलेदेखि नै थियो । तर जब अलौकिक शक्तिले यो संसार थामेको छ, यो ब्रह्माण्डको सृष्टि अदृश्य शक्तिले गरेको हो भन्ने दर्शनको व्यापकता हुन थाल्यो त्यसपछि जगतलाई यथार्थ र साँचो अर्थमा बुझ्नुपर्छ भनेर बुद्धले वैज्ञानिक बाटो अङ्गीकार गरे । अलौकिक शक्तिको पूजा गर्नेले पछिल्लो समयमा मानिसले उनलाई नै ईश्वरको रूपमा मान्ने बनाए । तापनि उनको मूल सन्देश विश्वभर शान्तिको धार बनेर फैलिइरहेको छ । बुद्ध नेपालमा जन्मेको हुनाले पनि यसको महŒव झन् बढेर जानु स्वभाविक हो ।
कर्णालीको सिँजा खस साम्राज्यको राजधानी भएको बेलामा सबै प्रकारका धर्म र सम्प्रदायलाई सम्मान गरिन्थ्यो । त्यसबेलाका राजाले कर्णाली क्षेत्रका कालीकोट, डोल्पा, मुगु, हुम्ला, जुम्ला, जाजरकोट, रुकुम, सुर्खेत, पुराङ (हाल तिब्बत, चीनको)मा राज्यकोशबाट सहयोग गरी बौद्ध गुम्बा निर्माण गर्न लगाएका थिए । कर्णालीका सबै जिल्लामा नयाँ–पुराना सबै किसिमका गुम्बा रहेका छन् । त्यसबेला बौद्ध धर्म–दर्शनको प्रचार व्यापक भएकाले बोन धर्मावलम्बीले अवलम्बन गरेका तन्त्रमन्त्रलाई अङ्गीकार गरी बौद्ध धर्ममा समावेश गरे । राजकीय धर्मको रूपमा बौद्ध धर्मलाई मानेका खस राजाहरूको शासनकालमा कर्णाली प्रदेशमा बौद्ध धर्मको उत्थान चरमोत्कर्षमा पुगेको थियो (अधिकारी, असोज–कात्तिक २०७४ः१०४) । आज पनि सनातनी हिन्दूका शिवालय, देवी मन्दिर, मष्टोका थानभन्दा धेरै गुणा गुम्बाहरू कर्णालीका हिमाली जिल्लामा देख्न पाइन्छ जुन दुई हजार वर्षभन्दा पुराना छन् । तर गुम्बामा रहेका अधिकांश पुराना मूर्तिहरू केहि चोरी भए भने केहि विदेशीले लगे । भित्तेचित्र, थाङकाचित्र र चोर्तेनको भित्री भागमा रहेका भित्तेचित्र खुइलिएर लोप हुँदैछन् । ती चित्रहरू हजारौँ वर्ष पुराना हुन् र स्थानीय माटो र जडीबुटीबाट रङ बनाई बनाएका हुन् ।
हिमाली काखमा मात्र नभई त्यसबेलाका राजाले बुद्ध विहार र मन्दिर दक्षिणका मुख्य स्थानमा निर्माण गरेका थिए । सुर्खेतमा बाह्रौँ शताब्दीमा बनाइएको काक्रेविहार त्यसको उदाहरण हो । रिपु मल्लको समय वि.सं. १३७० मा अभिसमयालङ्कार नामक बौद्ध ग्रन्थको प्रतिलिपि सारिएको ठाउँ सुर्खेत उल्लेख भएकाले अशोक चल्लको राज्यकालतिर उक्त विहार बनाइएको हुनसक्ने अनुमान इतिहासकारहरूको छ (प्रभात, प्रज्ञा संस्कृत कोष, २०७४ः९८) । पचासको दशकमा म सुर्खेत पुग्दा त्यहाँ रहेका बुद्ध, लोकेश्वर, ध्यानिबुद्ध, मृग, हात्ती आदिका मूर्ति र तोरण वनभरि छरिएको र त्यसैमाथि बसेर मानिसले दिसा गरेको देखेको थिएँ । संरक्षणका लागि समाचार सम्प्रेषण गरियो । आज, खुसीको कुरा के भने पुरातत्व विभागले त्यसको मर्म पहिचान गरी शिखर शैलीमा काक्रे विहारको पुननिर्माण गर्दैछ ।
कर्णालीका मध्यपहाडी र हिमाली क्षेत्रमा बुद्ध धर्मको विशेष प्रभाव छ । मैले सोलुखुम्बुदेखि लम्जुङको बेसी शहर हुँदै मनाङको फू र नार गाउँ, मुक्तिनाथ, दामोदर कुण्ड, माथिल्लो मुस्ताङ, रुकुम, माथिल्लो डोल्पा, मुगुको अन्तिम गाउँ मुगुम, जुम्ला, सिँजा, कालीकोट हँुदै हुम्लाको सिमिकोटदेखि हिल्सा, पुराङ, मानसरोवर र कैलाश परिक्रमा गर्दै ल्हासासम्म पुग्दा बोन, शाक्त, शैवदेखि बुद्ध धर्म एकअर्कामा घोलिएर जीवनमा समाहित भई एउटै रूपमा उभिएको भएको भेटेको छु । कर्णालीका देवल, मन्दिरमा बोन, बौद्ध र वेदका मन्त्र शिलालेखको शिरमा देख्न सकिन्छ । धेरै विदेशी र नेपाली दर्शनशास्त्री तथा समाजशास्त्रीले नेपालको हिमाली क्षेत्रमा रहेका धर्म संस्कृति र त्यहाँको परम्परालाई तिब्बती भनेका छन् । त्यो गलत हो भन्ने मेरो बलियो धारणा रहेको छ । त्यसमा पनि खास गरी कर्णाली क्षेत्र पूर्वमा त्रिशुली, दक्षिणमा तराई र पश्चिममा लद्दाक, पामिर, काजकास्तान र उत्तरमा कैलाशसम्म हिमाली धर्म (बोन, शाक्त, शैव) र संस्कृति फैलाउने केन्द्र कर्णाली नै हो भन्ने मेरो धारणा छ । बोन धर्मको सुरु नै डोल्पामा भएको हो भन्नेमा धेरैको मत रहेको छ ।
जर्ज बि. सेल्लरको पुस्तकको आधारमा पिटर माथिसनले आफनो पुस्तक द स्नो लियोपार्डमा शे गुम्बाभित्र भएका विषयवस्तुलाई यसरी दिएको भनी उल्लेख गरेका छन् ः ‘गुम्बाभित्र कलात्मक बुद्धका थुप्रै मूर्तिहरू, झुण्डिएका ढोलक, ड्रम, तरवार, ठूला छपाइका ब्लक रहेका छन् । त्यसबाहेक त्यहाँ एउटा कपडा–थाङ्का झुन्डिएको थियो जसमा एउटा ब्वाँसो, तिब्बती जङ्गली गधा, लाटोकोसेरो र पोथी यतीको चित्र थियो (ःबततजष्भककभल, ज्ञढठढस् द्दघद्ध) ।
सन् २०१४ मा म त्यहाँ पुग्दा पुराना कुरा केहि देखिनँ । चोर्तेनको चार कुनामा हात्ती, घोडा, मयुर र गरुड हुनु, चारकुने भाग पृथ्वी, त्यसमाथिको सेतो गुम्बज अण्डाकार भाग पानी, त्यसमाथिको शिखर आगो, अर्ध गोलाकार भाग हावा र अन्तिम शिखर आकाश अन्तरिक्ष । सनातनी हिन्दूका वैदिक धर्मग्रन्थ र व्यवहारिक चलनमा पृथ्वी, जल, अग्नि, हावा र आकाशलाई मुल पञ्चतŒव मान्नुमा समानताको अर्को उदाहरण एवम् कर्णालीमा भएको धर्म संस्कृतिको सम्मिश्रणको यो प्रमाण हो । (पराजुली, २०७४ः१५८) ।
कर्णाली नेपालको मात्र नभई भारत, चीन, भुटान, म्यानमार, श्रीलङ्का, जापानको तीर्थस्थल हो भने हामीले खोज गर्न सक्यौँ भने काजकास्तान र मंगोलियाले पनि यो क्षेत्रलाई तीर्थ मान्नुपर्ने हुन्छ । यस क्षेत्रमा हजारौँ वर्ष पहिलेदेखि कृषि र पशुपालन भएको, पशुपालक घुमन्ते भएकाले पश्चिम र मध्य–एसियाको संस्कृति, जन्म, मृत्यु, विवाह संस्कार हाम्रोसँग मिल्छन् ।
कर्णाली प्रदेश शैव (मष्टो, लिङ्ग पूजा, देवी पूजा) बोन र बुद्ध धर्म–दर्शन र त्यससँग नजिकका संस्कृतिको जननी हुन सक्नुको प्रमाण हाम्रो भूगोल हो । हाम्रोमा भएको प्रकृति, हावापानी र भौगोलिक फैलावट, खेतियोग्य भूमि, ठूला पाटन र चरनका लेक र खर्क अन्यत्रका भन्दा सहज र बस्न योग्य भएकाले यो सम्भव भयो । सबै धर्म र सम्प्रदायका विभिन्न जात, जनजाति धर्मको नाममा विभाजन होइन कि एउटै माला बनेर बसेको पाइन्छ ।
कर्णाली क्षेत्रमा महाभारतकालीन भग्नावशेषको चर्चा सिँजा उपत्यका, दैलेख, सल्यान र रामकालीन चर्चा जुम्लामा कथाको रूपमा भएको छ तर प्रमाणित आधार प्राप्त भएका छैनन् । तर मानव बसोबास प्रकृतिपूजा, योनि र लिङ्गपूजा, मष्टो एवं बोन धर्मको परम्परा सिन्धु सभ्यताभन्दा हजारौँ वर्ष पहिलेदेखि थियो । कर्णालीमा बौद्ध धर्मको विस्तार र विकास भने खस साम्राज्यको बेला भएको हो । अहिलेको अवस्थामा धेरै बोन गुम्बाहरू लोपोन्मुख अवस्थामा छन् । बौद्धगुम्बाहरूबाट चोरी भएका पुरातात्विक महŒवका वस्तु खोज गरी फिर्ता ल्याउनुपर्नेछ भने भित्तेचित्रको संरक्षण गर्न पुनर्लेखन गर्न आवश्यक छ । चीनको तिब्बतमा साँस्कृतिक क्रान्तिको समय फालिएका मूर्ति र पोतिएका भित्तेचित्रको पुनर्निर्माण र पुनर्लेखन गरी संरक्षण गरेझँै बचाउन सके कर्णालीको सुन्दरतामा झन आकर्षण थपिनेछ । अब स्थानीय सरकारले त्यो जिम्मा लिनुपर्छ ।

३. विदेशीको आँखामा कर्णाली
मैले मेरो पुस्तक ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’ मा विदेशी लेखकले भनेका केहि प्रसङ्ग उठाएको थिएँ । तिनीहरूको भनाईले कर्णालीलाई प्रतिनिधित्व गर्न सक्छ भन्ने लागेको हुनाले यहाँ प्रस्तुत गरेको छु ।
(क) अमेरिकी पदयात्री फिलिप स्टरजनले डोल्पोलाई संसारका उच्च हिमाच्छादित पहाडले घेरिएको, पैदलयात्रा गरी संसारकै सबैभन्दा अग्ला भन्ज्याङलाई पार गरेर मात्र त्यहाँ पुग्न सकिने भएकाले भित्री डोल्पोलाई साङ्ग्रिला भनेर दावी गर्न सकिन्छ (स्टरजन, १९९८ः२१६) । त्यसरी नै शेफोक्सुण्डो ताललाई उनले– ‘यो तालको पानी मैले अमेरिका, क्यानाडा, युरोप र साइबेरियामा रहेको संसारको गहिरो वैकाल तालमा देखेको पानीभन्दा पनि नीलो थियो’ (ऐ. पृ.२२१) ।
(ख) डोल्पोको भाषा, धर्म र संस्कृति तिब्बतीभन्दा फरक छैन् (बाउर, २००४ःपृ.६१) । त्यसलाई मैले सरासर सेतो झुट हो भनी प्रमाणसहित डोल्पो पुस्तकमा खण्डन गरेको छु ।
(ग) पिटर माथिसनले शेफोक्सुण्डो तालबाट बगेर आएको खोलालाई ‘माथिल्लो सुलीगाडजस्तो सुन्दर नदी पृथ्वीमा सायदै होला । ’ भनस् चर्चा गरेका छन् ।
त्यसरीने शेफोक्सुण्डो ताललाई उनले ‘तालको गाढा नीलोपन बौद्धमन्त्र ओम मणि पद्मे हुँ भित्रको मणि हो जसको अनन्त अर्थ आरम्भदेखिको शुद्ध जगत्को अविनाशी तŒव भनेझैँ यो ताल प्रकृतिको अद्भूत देन हो । यसमा जीवनको निर्वाण प्राप्तिका गुणहरू अनन्तसम्म सन्तोषपूर्वक स्वार्थहीन र शुद्ध रहेका छन् ।’
(घ) नेपालको डोल्पोको बोन–पो धर्मबारे अध्ययन गरी यसबारे पहिलो पटक विश्वलाई जानकारी दिने विदेशी लेखक डेभिड स्नेल्ग्रोभले शेफोक्सुण्डो तालमा पुगेपछि यसरी वर्णन गरेका छन् ः ‘पानीको किनारा चाँदीजस्तो टल्कने भोजपत्रको बनेको छ अनि पानीको अलौकिक नीलो रङको पृष्ठभूमिमा हाँगामा चमचम गर्दै चम्किने सेतोपना मैले जानेमध्ये सबैभन्दा स्वर्गीय आनन्द दिने वस्तु हो ।’

४. वर्तमान अवस्था
प्राकृतिक सौन्दर्यता, मानव सभ्यता, बोन, शाक्त र शैव दर्शन, ती दर्शनसँग जोडिएका प्रकृतिपूजा, देवीपूजा, मष्टोपूजा, मूर्तिपूजा र संस्कृतिमा कर्णाली बिछट्टै धनी छ । धर्म र संस्कृतिसँग जोडिएका सम्पदाको संरक्षणको दृष्टिकोणमा कर्णाली कमजोर छ । हजारौँ वर्ष पुराना देवीका मन्दिर, मष्टोका थान, बोन र बौद्ध गुम्बाहरू निमोनिया भएको वृद्ध रोगीको अवस्थामा छन् । बौद्ध धर्मावलम्बीका गुम्बाहरू काठमाडौँका थुम्काहरूमा केन्द्रित छन् । नेपालमा रहेको पौराणिक संस्कृति र सभ्यतासँग जोडिएका बोन, शाक्त, शैव, मष्टो, बौद्ध धर्म र यीसँग अन्तरनिहित संस्कृति सातौँ, तेह्रौ शताब्दीमा आक्रमणमा परेझैँ अहिले नेपालकै चेलाहरू अगाडि देखिएर भित्री रूपमा पश्चिमा धर्मको चेपमा परिसकेका छन्, जुन छद्म भेषमा हाम्रो संस्कृतिमा प्वाल पार्न छिरेका हुन् । अहिले धेरै हिमाली भूभागका घरभित्र रहेका बुद्धका मूर्तिहरूको ठाउँ आयातित मूर्तिले ओगटेका छन् । यो दुःखको कुरा हो ।
दुई हजार वर्ष पुराना बौद्ध गुम्बा र तीन हजार वर्ष पुराना बोन गुम्बा, ती भन्दा पुराना मष्टोका थान, देउली, लिङ्ग पूजाका थानहरू, पञ्चदेवल, ढुङ्गेधारा, पाटीपौवा र तीसँग जोडिएका कलाकृति त कर्णालीका भीर, पखेरा, खरवारी, खर्क, देउराली र अग्ला धुरीभरि छिरलिएका छन् । तिनलाई एकत्रित गरेर अनुसन्धान गरेपछि मात्र कर्णालीमा भएको बोन, शाक्त, शैव, मष्टो, बौद्ध धर्म परम्पराबारे इतिहासदेखि अहिलेसम्मको खाका कोर्न सकिन्छ÷सोच्न सकिन्छ । मेरो यो प्रस्तुति सम्भावनाको एउटा ढोका हो ।
आम नागरिकको दैनिक अवस्था जति दर्दनाक छ, इतिहासका साक्षी ती पुरातात्विक वस्तुको अवस्था झन् नाजुक छ । मानिस भोक, रोग र शोकले कमसेकम कराउन सक्छन् तर इतिहासका ती साक्षी चिच्याउन सक्दैनन् । हालसम्म बाँचेका ती मूर्ति बरु लुकाइएर लेक पार गरिन सक्छन् । भन्न लाज लाग्ने, भन्नैपर्ने, लुकाउन नहुने कुरा के भने हाम्रोमा अझै भोकमरी छ । जबसम्म भोकभोकै भइन्छ त्यसबेलासम्म कसैले केहि गर्न सक्दैन । तर तितो यथार्थ के पनि हो भने, इतिहास, धर्म संस्कृति र सांस्कृतिक क्षेत्रको समग्र संरक्षण, पहिचान र माया जबसम्म हुँदैन तबसम्म न त देश विकास हुन्छ, न त कर्णाली नै । संघीयताले कर्णालीको भोक, रोग, अशिक्षा हटाउने क्रमसँगसँगै पुरातात्विक वस्तु–धर्म, संस्कृति, मठ, मन्दिर, चोर्तेन, देउली, कानी चोर्तेनका भित्तेचित्रको संरक्षण पनि सँगसँगै गरिनुपर्छ । त्यसपछि त राजधानीले इतिहास कर्णालीसँग जोडन बाध्य हुनैपर्छ । त्यसको साँचो कर्णालीवासीसँग छ ।

५. आधुनिक विकास–संरक्षण सम्भावना र चुनौति
आजको प्रविधिको युगमा शान्तिप्रेमी र सद्भावपूर्ण संस्कार र संस्कृति बोकेको देशमा गरिबी हुनुहुँदैन । एकै दिन र एकै वर्षमा परिवर्तन सम्भव छैन । समय लाग्छ । संरक्षणका लागि अर्थ, प्रविधि र जनशक्तिका चुनौति हुनेछन् । तर अब कठिनाइलाई पार गर्दै, इतिहासलाई बचाउँदै आधुनिक युगमा प्रवेश गर्नुको विकल्प छैन । त्यसका लागि कर्णालीवासी नै कस्सिनुपर्छ । मौलिकता, प्राकृतिक छटा र हजारौँ वर्ष पुरानो संस्कृति बोकेर त्यसलाई एक वंशदेखि अर्को वंशमा सार्दै गरेका ऐतिहासिक र पुरातात्विक वस्तु लोप भए भने हामी आधुनिक टाई झुण्ड्याएका नाङगो प्राणी मात्र हुनेछौँ ।
सम्पदा, संस्कृति, नैतिक आचरण र संस्कार लोप हुँदा आज युरोप रोएको छ । आधुनिकताको नाममा हामी रुन नपरोस् । सडक सञ्जाल, उद्योग, स्वास्थ्य, शिक्षा, सञ्चारमा अब पछि पर्नुहँुदैन । चुनौति अवश्य छ । नयाँ सिद्धान्त, नयाँ खोज गर्न नसके पनि अरुको ढाँचाअन्तर्गत रहेर भौतिक विकाससँगसँगै ऐतिहासिक महŒवका पुरातात्विक वस्तु र संस्कृति बचाउन सकिन्छ । त्यो महŒव बुझेर चीनले पुराना सबै सम्पदाको संरक्षण गरेको छ । धर्म र संस्कृतिको लोप भइसकेपछि त्यसलाई न त ईश्वरवादी न त बोनवादी वा भौतिकवादी कसैले पनि ब्यूँताउन सक्दैनन् । इतिहास बचाइएन भने आधुनिक विकास खोक्रो हुन्छ । त्यसैले अहिले अरबका धेरै देश र एसियाकै मलेसियाले नयाँ इतिहास कोर्न परेको हो । कर्णालीको मौलिकता बचाएर, पुराना सम्पदाको खोज, उत्खनन, संरक्षण, जिर्णोद्धार गरेर एक सय वर्षे कर्णालीको दृष्टिकोण बनाऔँ, त्यसपछि हाम्रो कर्णाली विश्वको मानव सभ्यता र संस्कृतिको विश्वविद्यालय बन्ने छ ।

६. निष्कर्ष
पृथ्वीसरह नारी सृष्टिकर्ता भइन् । नारीले पुरुषका नारीमाया पाउन थाले– ‘विश्वकी पीडा हरण गर्ने देवी, तिम्रा सामु हामी नतमस्तक छौँ । त्रिलोकनिवासीहरूकी पूजनीया कल्याणकतृ देवी हाम्रा निम्ति वर देऊ’ (दीक्षित, भूमिसूक्त, २०५८ः५४) । मानव सभ्यताको विकास गराउने कर्णालीको माटो र त्यहाँकी जननी हुन् । सिन्धु सभ्यताभन्दा पहिले यो हिमाली उपमहादेशमा मानवको बसोबास थियो । महामातृका सर्वश्रेष्ठ थिए । घुमन्ते जीवन थियो । गण ठूलो नभएसम्म एउटी आमाका सन्तानसँगै
बस्थे । परिवार ठूलो भएपछि अर्को ठाउँमा सर्थे । नयाँ गणको नेता अर्की महिला हुन्थिन् । कर्णालीको नदी सभ्यता, प्रकृतिपूजा, मातृपूजा, बोन, शाक्त, शैव, बुद्ध धर्म र संस्कृतिले त्यसलाई पुष्टि गरेका
छन् । माथिल्लो कर्णालीका क्षेत्रमा भेडाच्याङग्रा, याक र चौरी लिएर अस्थायी गोठमा बस्ने घुमन्ते जीवन अहिले पनि छ । नारीको निर्णय अन्तिम हुन्छ । त्यसैले त्यहाँको जीवन पद्धति दसौँ हजार वर्ष पुरानो हो । मैले मुस्ताङका गाउँहरू, डोल्पाका छार्का, साल्दाङ, द्योतराप, मुगुको मुगुम, हुम्लाको याल्वाङका गाउँमा त्यो जीवनशैली देखेको छु । बासिन्दाका दुःख हटाएर त्यहाँको संस्कृति बचाउनुपर्छ भन्दै आएको छु ।
त्यसबाहेक आधुनिक युगमा आइपुग्दा कर्णाली त हाम्रो भाषाको उद्गम स्थल हो । खस भाषाले गर्दा नै नेपालको एकीकरण सम्भव बन्यो । भाषाको उद्गमस्थल, आधुनिक राज्यविस्तार, धर्म संस्कृतिको समन्वय, संरक्षण र विस्तारको पछिल्लो इतिहास कर्णालीकै सिँजा उपत्यका र खस साम्राज्य हो ।
पुल, दोबाटो, पधँेरोमा देखेका लिङ्गाकारका चित्र, भित्तेचित्र, काष्ठकला, मष्टोका थान, बोन गुम्बा, देवदेवीका मूर्ति, बौद्ध गुम्बा, बास बस्दा कर्णालीका दाजुभाइसँग गरेका कुराकानी, विदेशीले ५० देखि ७० वर्ष पहिलेदेखि आजसम्म आइपुग्दा लेखेका केहि पुस्तकलाई आधार मान्दा यो क्षेत्रको संस्कृति १० हजार वर्षभन्दा पुरानो छ । महाभारतकालीन हजारौँ वर्ष पुराना दैलेखका देवल, दुई हजार वर्ष पुराना मन्दिर र गुम्बा त कर्णालीमा धेरै छन् । यहाँको अर्को सबैभन्दा महŒवपूर्ण पक्ष के हो भने जसरी यहाँको प्रकृतिमा माटो, ढुङ्गा टमक्क मिलेर धरतीको रूप बनेको छ त्यसैगरी यहाँ बोन, शाक्त, शैव, बुद्ध धर्मसँग मिलेर, गाँसिएर यहाँको मौलिक जीवित संस्कृति बनेको छ, जुन अन्यत्र पाइँदैन – त्यो कर्णाली दर्शन र संस्कृति हो । यहाँ जन्मदेखि मृत्युसम्म, चाडपर्व र मानिसको नामकरण र गरगहना पहिरनसम्ममा ती कुरा देख्न, भोग्न पाइन्छ ।
मुस्ताङमा भेटिएका गुफाले हाम्रो क्षेत्रमा मानिसले कृषि र पशुपालन १० हजार वर्ष पहिलेदेखि गरेका थिए भन्ने आधार पाइएका छन् । कर्णालीलाई मैले चरम विकसित परिष्कृत हिमाली सभ्यताको जननी भन्ने गरेको छु । रामायण र महाभारतकालको चर्चा बढी भएकाले त्यसको प्रचार व्यापक भयो । १२ वर्षे वनवास कालमा यो क्षेत्रमा आएर लुकेको दैलेख, अछाम, कालीकोट, जुम्ला आदि जिल्लाका अनेक ठाउँका देवल, मन्दिर भएबाट पुष्टि हुन्छ । त्यो धेरै विकसित भइसकेको युग थियो । तर मानवको बसोबास त्योभन्दा पहिलेदेखि थियो । त्यसैले पाण्डवहरू बास बस्दै त्यो ठाउँमा पुगेका हुन् । त्योभन्दा पहिलेको इतिहास, संस्कार र संस्कृतिको प्रमाणित गर्न खोज गर्न बाँकी नै छ ।
वि.सं. १४५० पछि खस साम्राज्यको पतनसँगै राज्यले कर्णालीलाई कुनै क्षेत्रमा पनि प्राथमिकतामा राखेन । यहाँको धर्म परम्परालाई चौधौँ शताब्दीदेखि ताछ्दै लगियो र त्यस्तो धनी स्वर्गलाई चार माना चामल किन्न चार दिन हिँडेर चार घण्टा लाइनमा उभिन बाध्य पारियो । अब भने संविधानले नै त्यस्तो हुन अवश्य दिनेछैन । अब कर्णालीले प्राकृतिक साधन र स्रोतको धर्म र संस्कृतिलाई बचाउने गरी उपभोग गर्नुपर्छ । भोको पेटको अन्त्यसँगै कर्णालीले इतिहास खोज्न कम्मर कसेर लाग्नुपर्छ– बोन, शाक्त, शैव, सनातनी हिन्दू र बौद्ध धर्म–दर्शन, संस्कृति र तीसँग जोडिएका परम्परा र सभ्यता अध्ययन गर्ने यो विश्वको खुला विश्वविद्यालय हुने सम्भावनालाई कसैले रोक्न सक्दैन ।
दसौँ हजार वर्षको इतिहास पाउनु भनेको शिव, सेनरेव, बुद्धलाई साक्षात पाएबराबर हो । त्यस्तो अवसर सबैले पाउँदैनन् । इँटा लुकाएर लैजाँदैमा बुद्ध लुम्बिनीबाहेक अन्यत्र जन्मेको भनेर पुष्टि हँुदैन । माथि चर्चा गरिएका धर्म–दर्शन एवम् संस्कृतिका धरोहर अहिले मृतावस्थामा छन् । ब्यूँताएर भरणपोषण गर्न सके नेपालको मात्र होइन विश्वको सम्पदा बन्नेमा दुई मत छैन । विश्वको नागरिकको त्यो इतिहास देख्न पाउने अधिकार रहन्छ । कसको बाटो हेरेर कहिलेसम्म हामीले पर्खने ? यो प्रश्न निकै जटिल छ, तापनि नयाँ राजनैतिक संरचना र अधिकारले कर्णालीले नै भूमि माता, संस्कार र संस्कृतिको जन्म दिने माता र वर्तमान अवस्थामा विभिन्न नाममा रहेका ती माताका सन्तान बोन, शाक्त, शैव, वैष्णव, बौद्ध धर्म, परम्परा र संस्कृतिको भरणपोषण गरेर स्वस्थ बनाउन सक्छ । यसमा म विश्वस्त छु । शुभकामना !

सन्दर्भ ग्रन्थसूची
अधिकारी, नवराज (२०७४), नेपाल सम्पदा विशेषाङ्क, अङ्क २, असोज–कात्तिक, सूचना विभाग ।
अधिकारी, सूर्यमणि (२०६१), खस साम्राज्यको इतिहास, काठमाडौँ ः भुँडीपुराण प्रकाशन ।
दीक्षित, मदनमणि, (२०७२), मेरी नीलिमा, काठमाडौँ ः बुक हिल पब्लिकेशन ।
दीक्षित, मदनमणि, (२०६५), ऋग्वेदःकेही प्रमुख सूक्त, काठमाडौँ ः शिखर मुद्रण अपसेट ।
दीक्षित, मदनमणि, (२०५९), हिन्दू संस्कृतिको परिशिलन, लुस प्रेस ।
पराजुली, विष्णुप्रसाद शर्मा, (२०७४), डोल्पो ः विश्वको जीवित सङ्ग्रहालय, काठमाडौँ ः भुँडीपुराण प्रकाशन ।
पराजुली, विष्णुप्रसाद शर्मा, (२०७४), तिब्बत यात्रा, काठमाडौँ ः भुँडीपुराण प्रकाशन ।
प्रभात, विष्णु, ज्ञानबिन्दु ११, प्रकृतिपूजक बोन दर्शन ः संक्षिप्त परिचय ।
प्रभात, विष्णु, (२०७४), प्रज्ञा संसकृत कोष, काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
प्रश्रित, मोदनाथ, (२०७४), नेपाल गणयुगदेखि राष्ट्र युगसम्म, काठमाडौँ ः जनता प्रकाशन तथा
प्रसारण लि. ।
लामिछाने, माधवप्रसाद, (२०७३), नेपाली समाजमा तन्त्र परम्परा, काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान ।
हेगन, टोनी, (२०५८), नेपालको चिनारी, ललितपुर ः हिमाल किताब ।
Cameron, Iam, (1924), Mountains of the Gods, Great Britain.
Kenneth M. Bauer, (2004), High Forneiters, New York : Columbia Uni. Press.
Peter, Matthiessen, (1979), The Snow Leopard, London : Chatto & Windus.
Philip, sturgeon M.D, (1998), Himalayan Echoes, India : Books Faith.

गुरु दक्षीणा

विष्णुप्रसाद शर्मा पराजुली

रचना साहित्यिक पत्रिकाको पूर्णाङ्क १६२ भदौ–असोज २०७६ मा प्रकाशित संस्मरण धन्यवाद सहित साभार गरि ब्लगमा राखिएको छ ।

मैले वि.सं. २०३२ सालमा तेस्रो ब्याचको रुपमा पर्वत बिहादीको नेपाल तारा माध्यामिक विद्यालयबाट एसएलसी दिएको हुँ (बिहादी जनजीवन र भौगोलिक अवस्थितिबारे ‘गुरुका गालामा कालोमोसो’ भन्ने संस्मरणमा उल्लेख गरेको छु) । त्यसबेला जिल्ला भरको परीक्षा केन्द्र सदरमुकाम कुश्मामानै थियो । हामी दुई महिना पहिले चामल, गेडागुडी, सिरक, डसनाको बन्दोबस्त गरेर जान पर्दथ्यो । म र मेरो साथी टंक पराजुली त्यसरीनै गएका थियौँ । हामी दुवैका बुबाले बाँसको डोको भरी सामान बोकेर कुश्मा पु¥याएको सम्झदा आँखाका ढिल अहिले पनि भरिन्छन् । त्यसरी परीक्षा दिन गएर बस्ने कति साथीहरुले राम्रोसँग पढदैनथे– आमाबाको मर्म बुझ्दैनथे । कति साथभाईका आमाबाबुले त्यो खर्च जुटाउन नसकेर उनीहरुको पढाई बीचमै छुट्थ्यो ।
कति परिवारले रीण गरेर, अर्काको खेतबारीमा काम गरिदिएर खर्च जुटाई स्कुल पठाएका हुन्थे–छोराले पढेपछि ठूलो मानिस बन्छ भन्ने ठूलो भरोषा थियो । आमाबाबुको नाम र ईज्जत राख्छ , सन्तोषको सास फेर्न पाईन्छ, यहलोक र परलोक दुवै लोकमा सुखसँग बस्न पाईन्छ भन्थे । हातमा उठेका फोरा, फाटेका कुर्कुच्चा मुसार्दै छोरा पढाउने रहर पुरा गर्थे (त्यसबेला छोरीलाई पढाउने साह्रै कम हुन्थे )। मन, भावना, चाहना बिहादीको फाँटभन्दा माथि लेकमा रहेको लीसे गैराको मुलको पानीजस्तै कञ्चन थियो । त्यसबेला अहिले जस्तो अकुत सम्पत्ति कमाउछ भन्ने भन्दा इज्जत र नामलाई बढि ओजपुर्ण मानिन्थ्यो । अहिलेको समाज त्यसबेलाको तुलनामा बाहिरी आवरणमा सुखी जस्तो देखिएला तर इज्जत र संस्कारमा पहिलेको राम्रो थियो ।
२०२८ सालमा स्थापना भएको नेपाल तारा माध्यामिक विद्यालयका कोठा विद्यार्थीले नजिकको सालको बनबाट बोकेर ल्याएको उन्युले बारेर बनाईएको थियो । छानो खरले छाएको थियो । मैले एसएलसी दिए पछिका केहि वर्ष पछि सम्म पनि रातामाटाको बनमा उन्यु घारी उम्रदै, छिप्पिदै रह्यो र स्कुलका कोठा उन्युले बारिदै गए । प्रत्येक शुक्रवार हामीले उन्यु ल्याउदै थुपार्दै गर्दथ्यौँ । नयाँ कोठा थपिदै गए, पुराना मर्मत हुदै गए । नेपाल ताराबाट पहिलो पटक २०३० सालमा ६ जनाले एसएलसी परीक्षा दिए जसमा तीन जनाले पास गरे । त्यो नतिजा शिक्षक, विद्यार्थी र अभिभावक सबैकालागि गौरवको विषय बन्यो ।
२०३० सालमा मैले कक्षा ८ मा पढदै थिएँ । भास्तुङका नरवहादुर कुँवर, भाटीचौरका कुलबहादुर कुँवर (हामी बीच हुनुहुन्न) र म कक्षामा पहिलो, दोस्रो र तेस्रो हुन्थ्यौँ । म जेठमा हुने अर्ध–वार्षिक परीक्षामा बाहेक कक्षा १० को टेष्ट परीक्षासम्म प्रथमनै भएँ । कुलबहादुर र नरबहादुरबीच दोस्रो र तेस्रोकालागि प्रतिस्पर्धा हुन्थ्यो । कक्षामा सबैभन्दा कम उमेर र उचाईमा सबैभन्दा होचो म नै थिएँ, तर तुब्लो थिइनँ ।
सहपाठी बीच कक्षा कोठामा चकचक गर्ने, उन्युका सुकेका छेस्काले एकअर्कालाई घोच्ने, कलम, कपी र किताब लुकाइदिने जस्ता कुरानै मनोरञ्जनका मुख्य साधन थिए । माथिल्लो कक्षामा पढने अग्ला विद्यार्थी भलिवल खेल्थे । भलिवल चकौदेतिरको खरीखोलाको खोल्सो र भास्तुङतिरको खोल्सामा पुग्थ्यो–ससानालाई बल लिन पठाउथे । बल ल्याए पछि एक पटक लात्तले हान्न पाइन्थ्यो । म पछिल्लोमा पर्थेँ ।
काठमाडौँमा हिउँदमा हुने स्कूल बिदा त्यहाँ असार–साउनमा हुन्थ्यो । खेतिपाति लगाउने यामलाई ध्यानदिई त्यो विदा दिइएको थियो । त्यसबेला बेसाहा खानेलाई खान नपुग्ने गरीव भनेर भित्रभित्रै चर्चा गरिन्थ्यो । विहादीमा ९५ प्रतिशतलाई आफ्नो उब्जनीबाट खान पुग्थ्यो–त्यसबेला । ठूलो परिवार भएका, कम जग्गा हुनेले छिमेकीको खेतबारीमा खनजोत गरी त्यसबाट अनाज लिन्थे र वर्ष गुजार्थे । धेरैले वर्ष भरको नुनतेलको लागि अनाज बेचेर जोहो गर्थे, कम हुनेले सरसापटी, रीण वा बटौलीबाट अरुको नुन तेल बोकी ल्याईदिएर आफूलाई पनि जोहो गर्थे । नुन, मट्टीतेल र कपडाबाहेक वर्ष भर चाहिने कुरा गाउँमानै हुन्थ्यो ।
खेत, बारी, खरवारी, बनबारी हुने परिवारका बुहारी घाँस, दाउरा गर्न बन जादैनथे । गाई बाख्रा धेरै पाल्नेहरु तिनलाई चराउन बनतिर लैजान्थे र फर्कँदा घाँस–दाउरा लिएर आउथे । बर्षामा कसैलाई फुर्सद हुदैन्थ्यो । ‘खहरे खोला उर्लेर आयो, बर्षा लाग्यो बोलचालै हरायो ।’ भन्ने गीत बारीका कान्लामा धाँस काट्दै तन्देरी–तरुनी गुनगुनाउथे । परिवारका सबै सदस्य वर्ष दिन भर खानकालागि उब्जनी गर्न खेतबारीमा हुन्थे । असोजदेखि मंसिरसम्म मकै, कोदो, धान, गेढागुढी थन्क्याउन चटारो हुन्थ्यो । त्यसबेला सबैका भकारी धान र कोदोले पुटुक्क भरिएका हुन्थे । मकैको खातले आँटी लतक्क हुन्थ्यो । गेढागुढीले तामाका गाग्री, निगालोका थुन्से, डाला, सोली भरिएका हुन्थे ।
मानिसको ओहोर–दोहोर हुन्थ्यो । परालको टौवा हेरेर छोरी दिने कुरा चल्थ्यो । बिहेवारी, कुलपूजा, वर्षाको लागि कडकुरामा दाउरा चिन्ने, नाम्लो–डोरी बाट्ने, हलोजुवा ताछने, नारा बटार्ने, चोया, बाता र भाटा काट्ने, खरले घर छाउने, चोरखर लाउने काम हिउँदमा गर्थे । महिलाहरुले गुन्द्री बुन्ने, मस्यौरा पार्ने, ढिकी कुट्ने, जाँतो पिस्ने, गेडागुढी सुकाउने थन्क्याउने गर्थे । वर्षाको जोहो हिउँदमा हुन्थ्यो । सबै वmुरा तयारी गर्दै नयाँ घरजमको ब्यवस्था गरी हिउँद वित्दथ्यो । धवलागिरी, नीलगिरी हिमालमा हिउँदमा जमेको हिउँ पग्लेर कालीगण्डकी धमिलो हुन थाले पछि किसानले मौसममा आएको परिवर्ततको हेक्का राख्थे ।
‘विउ कुह्यो, काफल पाक्यो, कुहुकुहु’ जस्तो आवाज निकाली चरा कराउन थालेपछि किसानको काममा फेरि परिवर्तन देखिन थाल्थ्यो । किसानी जीवन बढो उल्लासमय ढंगले पूर्तीघाटबाट कालीगण्डकी सेतीवेनी, रिणी, देवघाट, गजेन्द्रमोक्ष त्रीवेणीधामतिर बगेझैँ निरन्तर बगेको थियो । त्यहाँ भित्र हरेक घरमा आफनै कथा, ब्यथा, हर्ष–विस्मात, जन्म, मृत्युका कथा विहादीको ऋतुसँगै परिवर्तन भइनै रहन्थ्यो । त्यसभेगमा बसोबास गर्ने बाहुन, क्षेत्री, गुरुङ, मगर, ठकुरी, नेवार, थकाली, माझी, पेशागत जाती सबै एउटै परिवार जस्तै भएर बस्दथे । साउने संक्राती, हिले जात्रा, कृष्णाष्टमी, तीज, दशैँ, तिहार, ठूली एकादशी आदिमा सबै भेला भएर इमिचौर, घुमाउने र सेतीबेनीमा मेला गर्थे । त्यो नै त्यहाँका बासिन्दाको वर्षभरको मनोरञ्जनको माध्यम थियो ।
अब म आफैलाई पत्यार नलाग्ने एउटा घटनामा केन्द्रित हुन खोज्दैछु । मानिसको स्वभाव, प्रकृति, चरित्र, प्रबृत्तिमा आउने क्षणिक परिवर्तनले कुनै बेला जीवनभर प्रभाव पार्ने घटना घट्न सक्छ । मानिसले स्वर स्वरैमा, लहलहैमा आफ्नो बानी ब्यहोराभन्दा फरक घटना घटाई जीवनभर छाप रहने क्रियाकलापमा सहभागी हुन पुग्छ । कति घटनाले त दुर्घटना पनि ल्याउछन्, कतिले जीवनका मोडमा बाटो परिवर्तन गरिदिन्छन्, कतिले नातासम्बन्धमा चीरा पार्छन, कतिले लगनशिल हुन, गल्ति नदोहो¥याउन प्रेरित गर्छन् । म त्यस्तै अपत्यारिलो घटनामा परेको छु । म त्यसबेला स्कुलको अनुशासित, लगनशिल, इमानदार र पढाइमा दत्तचित्त हुने विद्यार्थीको कोटीमा पर्थे, पुरस्कार थाप्थेँ । आमाबाले जसरी मबाट अपेक्षा गर्दथे, त्यसैगरी गुरुहरुको पनि भरोषाको पात्र थिएँ । तर, एक दिन मैले जीवनभर सम्झना भईरहने, पश्याताप गर्नु पर्ने उच्छृङखल काम गरेको छु । मुल रुपमा यो संस्मरण त्यसैबाट सिर्जीएको हो ।
पुसमा हिउँ परेकाले माघ महिनाको शुरुमा बिहादीमा पनि असाध्यै चीसो थियो । गोल्र्याङ, लुरीङकोट, कालीपार गुल्मीका अग्ला डाडामा हिउँ देखिएकै थियो । हिउँपरे पछिको आकाश भने गाढा नीलो थियो । चीलले धेरै माथि आकाशमा कावा खाएको देखिन्थ्यो । कालीपारका पहाडले नीलो आकाशलाई गर्लम्म अँगालोमा बाँधेका थिए –मानौ कि, तिनीहरु ढुकुर जोडी थिए र प्रेमिल क्रिडामा मग्न थिए । सिरसिर बतास चलीरहने हाम्रो उन्युले बारेको स्कुल भएको माझीगाउँको चौरमा माघको सफा दिनमा लागेको घाम अन्यत्रभन्दा प्यारो हुने नै भयो । माछापुच्छ«े र हिउँचुलीको चीसो हवा स्कुलको चौरमा कालीको तीर हुदै सहजै आउथ्यो । संस्कृत पढेका र पढाउनेलाई गुरु र अन्य विषय पढेका र पढाउनेलाई सर भन्ने गरिन्थ्यो । पचास पुर्णाङकको संस्कृत परमानन्द पराजुली गुरुले पढाउनु हुन्थ्यो ।
माघ महिनाको घमाईलो त्यो दिन परमानन्द गुरुले संस्कृत पढाउन कक्षामा प्रवेश गर्नु भयो । वहाँले राम्रोसँग पढाउनु हन्थ्यो, पढाए पछि ‘पाठ कण्ठ गर’ भन्दै कुर्चीमा बस्नु हुन्थ्यो । कुर्चीमा बस्ना साथ उँघ्ने गुरुको बानी थियो । त्यती कुरा पाए पछि विद्यार्थीले उचक्याई गर्ने नै भए । त्यो कक्षा संस्कृत भएकाले कठीन थियो । गुरुको नरम स्वभावको फाइदा उठाउन खोज्दा विद्यार्थी संस्कृतमानै फेल हुन्थे । गुरुको झकाउने बानीलाई मनोरञ्जनको माध्यम बनाइन्थ्यो–मात्र गुरुचेलाको सम्बन्धको आधारमा । गुरुले पाठ नबुझाउनेलाई हत्तपत्त पिटनु हुन्नथ्यो छडी हातमा भए तापनि ।
त्यो दिन पाठ पढाई सके पछि कुलबहादुरलाई कक्षाको कुर्ची कोठाभन्दा १० फिट टाढा चौरको छेउमा राख्न भन्नु भयो । हामीलाई पाठ कण्ठ गर्न भनेर तीन बित्ताको छडी हातमै लिएर कुर्चीमा बस्नु भयो । बानी अनुसार माघको त्यो स्वादिलो न्यानो प्यारो पाहारमा कुर्चीमा बस्ना साथ कुर्चीको माथिल्लो डिलमा टाउको अड्यार निदाउनु भयो, र घुर्न थाल्नु भयो । हातबाट छडी खसेको पनि थाह पाउनु भएन । उटक्या विद्यार्थीको लागि गुरुलाई जिस्क्याउन र गिज्याउन त्यो भन्दा राम्रो अवसर अर्को थिएन । त्यस्तैमा कुलबहादुरले कक्षा कोठाको उन्युको भित्तोबाट चार–पाँच अँगुल लामो सुकेको उन्युको तीखो छेस्को मेरो हातमा दिदै ‘जा गएर गुरुको नाकमा घोच र दौडिदै आएर बेन्चमा बस् । गुरु निदाउनु भएको छ, थाह पाउनु हुन्न ।’ भने । उनको प्रस्ताब सुन्ना साथ म तर्सदै भने –‘धत ! त्यस्तो पनि गर्न हुन्छ ? गुरुले मलाई स्कुलबाट निस्कासन गर्नु हुन्छ । म घोच्दिनँ ।’
‘तँ अगाडिको बेञ्चमा छस्, घोचेर आएर बस् । तँलाई गुरुले शंकै गर्नुहुन्न ।’ पछाडीको बेञ्चबाट लालबहादुर ले उकासे । नरवहादुर, टिकाराम सबैले ‘फष्ट ब्वाईले घोचेको भनेर गुरुले विश्वास गर्नु हुन्न । हामीले भन्दैनौं ।’ भन्दै गुरुको नाक घोच्ने अभद्रकाम गर्न मलाई नै उकासे । एक दुई गर्दागर्दै म पनि हौसिएँ । आँट गर्ने भएँ । गुरुले माघेघामको स्वाद मज्जाले लिइरहनु भएको थियो ।
काँचो दोब्रिन्छ भने, सुकेको उन्यूको छेस्को फलामको सुइरो जस्तै तीखो र छाला छेडने गरी घातक हुन्छ । त्यसले झुक्किएर छ्वास्स घोच्दा पनि मानिसको बाहिरी छाला सजिलै छेड्छ । बनबाट उन्यु बोकेर ल्याउदा हाम्रा पाखुरा र फिला रगताम्मे हुन्थे । साथीहरुको हौस्याइले मैले आँट गरेँ । आनन्दसँग घाम तापेका गुरुको नाक घोच्न उन्यूको सुकेको छेस्को लिएर हिंडेँ । अनुशासित विद्यार्थी भनेर पुरस्कार थापेको, कक्षामा प्रथम हुने, लगनशील र मेहनती भनेर सबैले प्रशंसा गरेको कुरालाई चटक्कै बिर्सेर म त्यस्तो उच्छृङ्खल काम गर्न हिंडे, त्यसबाट हुने परिणामलाई ख्याल गरिनँ ।
माघे घामको प्रचुर स्वादलिदै शरिरलाई कुर्चीको माथिल्लो भागमा अड्याएर गुरु नीद्रादेवीसँग वार्तालापमा हुनुहुन्थ्यो । मेरो बदमासी आँट अनुसार उन्युको छेस्कोले गुरुको नाक भित्र घोचेर हाम फाल्दै कोठामा छिरेँ । साथीहरुले भने जस्तो भएन । म बेञ्चमा बस्नुभन्दा पहिलेनै गुरुले मलाई देख्नु भयो । गुरुको नाकबाट रगत बग्यो । रुमालले नाक पुछ्दै, ‘ तँ पनि मात्न थालिस् हैन ? अब पढ्लास् यो स्कुलमा । ’ भन्दै तीन बित्ते छडीले कस्सेर कुट्नु भयो । त्यसपछि मेरो देव्रे कानको लोतीलाई बटार्दै शास्त्री गुरुकोमा लैजानुभयो । अरु कक्षाका साथीहरुले पनि मलाई देखे । सबै कक्षामा खासखुस भै हाल्यो ।
रुमालले रगत पुछ्दै मैले गरेको बदमासी बताउनु भयो । ‘फष्ट ब्वाईको काम यहीँ हो ? बदमास् ! तँलाई स्कुलबाट हटाउन प¥यो, हैन ?’ भन्दै शास्त्री गुरुले पनि स्वाँठ हान्नु भयो । शास्त्री गुरुको ‘तँलाई स्कुलबाट हटाउन प¥यो, हैन ?’ भन्ने वाक्य र परमानन्द गुरुले ‘अब पढ्लास !’ भनेर गाली गर्नु भएको सात शब्दले मलाई जति दुख्यो त्यसको एक छेउ पनि छडीको स्वाँठले दुखेको थिएन । मैले अब ‘पढन नपाउने भए, स्कुलबाट निकालिने भएँ’ भन्ने तिरनै मेरो सोँचाई पुग्यो । त्यसले म मर्माहत भएँ, आँशु रोक्न सकिनँ ।
घण्टी लाग्यो । अरु कक्षाबाट सरहरु आउनु भयो । विद्यार्थीहरुले गुरुको कोठामा चियाएर हेर्न थाले । मेरो उच्छृङ्खल चर्तीकलाले वातावरण स्तब्ध भयो । मैले गरेको बदमासी बारे बहस भयो । शास्त्री गुरुले सबै विद्यर्थीलाई हकार्दै आआफ्नो कोठामा जान भन्नु भयो । परमानन्द गुरुसँगै अन्य केहि सर हुनुहुन्थ्यो । ‘यसलाई कडा सजाय दिन पर्छ । यसले अनुशासन तोडेको छ’ हेड सरको भनाई थियो ।
‘यसले आफ्नो बुद्धिले गरेको होईन । यो उक्साहटमा लाग्यो । सामान्य सजाय दिएर सचेत पारौँ र छोडौँ ’ परमानन्द गुरुले वातावरणलाई शान्तपार्दै भन्नु भयो । केहि समय बहस भयो । गुरुहरुले म प्रति गरेको अपेक्षाको पनि चर्चा भयो । ‘एक पटकलाई शारिरिक सजाय दिई माफ गर्ने, तर दोस्रो पटक त्यस्तो बदमासी गरेमा स्कुलबाट निस्कासन गर्ने’ शास्त्री गुरुले निर्णय सुनाउनु भयो । त्यस पछि ‘कान समातेर ५० पटक उठबस गर ।’ भन्नु भयो । आँशु झार्दै पचास पटक कष्टसाथ उठबस गरेँ । कोठामा गएँ । कक्षामा भएका सबै साथीहरुको अनुहार मलिन देखिएको थियो । लालबहादुर र अन्य साथीहरुले ‘हामीले गर्दा सजाय पाईस । हामीसँग नरिसा है । अबदेखि हामी कसैले पनि त्यस्तो नगर्ने’ भनेर कसम खाए । मेरा आँखाबाट आँशु नरोकिए तापनि निस्कासनमा नपरेकोमा भित्रै देखि म खुशि भएँ ।
समय र परिवेशमा त्यस्ता गल्ति हुन्छन् । जीवनमा गल्ति भइनै रहन्छन् । त्यस्तैबाट पाठ सिक्दै गल्ति नदोहो¥याउनु आफुलाई सुधार्नु हो । त्यसपछि मैले त्यस्तो उपद्रो कहिल्यै गरिनँ । त्यो दिन पछि धेरै महिना मैले गुरुलाई ठाडो शिर गरेर हेर्न सकिनँ । गुरुको म प्रतिको ब्यवहारमा भने कुनै परिवर्तन आएको थिएन, मलाई पहिले सरहनै माया गर्नुहुन्थ्यो । ‘पढाईमा ध्यान देउ, स्कुलको इज्जत तिम्रो हातमा छ । तिमिले पहिलो पटकमानै एसएलसी दोस्रो श्रेणीमा पास गर्नु पर्छ । ’ भन्दै उत्साह थप्नु हुन्थ्यो । मैले गुरुको आर्शिवचनलाई पुर्ण रुपमा पालन गरेँ । पहिलो पटकमानै पास गरेँ । एसएलसी पास गरे पछि परमानन्द गुरुको घरमा गएर ढोँग गरेँ र फेरि माफि मागेँ ।
‘मैले त्यो घटना बिर्सेँ । हामीलाई कति विद्यार्थीले कहिले के गरे भन्ने सम्झना कहाँ हुन्छ र ? विद्यार्थी त हाम्रा सन्तती हुन् भने देशका सम्पत्ति । तिमी अध्ययनशिल छौ । पढन सक्छौ । बुबाले पढाउन पनि सक्नु हुन्छ । तिमी पोखरा वा पाल्पा गएर वि.ए.सम्म पढ । त्यसपछि मैले तिमीलाई पुरै माफी दिनेछु ।’ मैले गुरुसँग पुरानो कुरा उक्काएर माफमाग्दा त्यसो भन्नु भयो । मनभरी पाल्पा र पोखराका सपना बोकेर घर गएँ । नौ कक्षामा पढदा एक पटक पाल्पा पुगेर पहिलो पटक मोटर देखेको हुँ मैले ।
आर्थिक कारणले पोखरा र पाल्पा जाने सपना विपना हुन सकेन । सामान्य किसान परिवारको लागि त्यो कठीन थियो । भाईले पढन बाँकी थियो । त्यसैले, म भारतको उत्तरपूर्व वर्मा सिमा नजिक रहेको मिजौराम जहाँ मेरो काका हुनुहुन्थ्यो त्यहाँ पुगेँ । सेनामा भर्तीहुने प्रस्ताब स्वीकार गरीनँ । मैले कनीकुथी गरी नर्थ इष्टर्न हिल्स युनिभर्सिटि अन्तरगतको पाछुङ्गा कलेजमा भर्ना भएँ । त्यहाँबाट वि.ए. पास गरेर नेपाल फर्केँ ।
त्यसबेला गुरु बाच्छामा पढाउनु हुदो रहेछ । त्यहाँ पुगेँ । वि.ए. पास गरेको प्रमाणपत्र गुरुको हातमा राख्दै ‘ गुरु मैले वि.ए पास गरेँ । मेरो तर्फबाट हजुरकोलागि गुरु दक्षीणा यहीं प्रमाणपत्र हो । गुरु मलाई माफ गरिदिनु होस।’ भनेँ । त्यसबेला गुरु भावुक हुनुभयो । मेरा आँखाबाट पनि आँशु खसे । तत्कालै गुरुले मलाई अँगालो हाल्नु भयो । अनि, दुवै हात मेरा दुवै कुममा राखेर भन्नु भयो – ‘ मैले त्यहीँ दिन स्कूलमानै माफ गरेको हुँ । वि.ए. पास ग¥यौँ । म हर्षित भएँ । अब पनि तिमी गाउँमा नभुल । काठमाडौँ जाउ र एम.ए. गर ।’
गुरुले मलाई फेरि अर्को जिम्मेवारी सहितको आशिर्वादको थैली मेरो अँजुली भरी राखिदिनु भयो । त्यहीँ थैलीलाई मनमन्दिरमा राखेर म काठमाडौँ छिरेँ, २०३९ फागुनमा । मैले विश्वविद्यालयबाट उच्च शिक्षा लिएको कुरा पनि गुरुलाई जानकारी दिएँ । त्यसपछि धेरै पटक हाम्रो भेट भयो । गुरु म देखि प्रसन्न हुनुहुन्छ । वहाँको आशिर्वादले मैले जीवनको गोरेटोमा पाईला चाल्ने साहस बटुलेँ । गुरुप्रति म ऋणीनै छु । जिम्मेवार र इमान्दार हुन सकेमात्र गुरुको ऋण तीर्न सकिन्छ, त्यसको मुल्याङ्कन इतिहासले गर्ने हो । यसै संस्मरणमार्फत नवलपरासीको गैंडाकोटमा रहनुभएका मेरा आदरणीय गुरुको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै यो संस्मरणबाट बिदा हुन्छु ।

कालापानी सामाजिक सञ्जालमा सिमित नहोस

कालापानी सामाजिक सञ्जालमा सिमित नहोस
नेपाल कमजोर, लोभी, नामर्द, भ्रष्ट सत्ताधारीको कारणले गर्दा भारतको पेलाई र मिचाईमा परेको हो । आफ्नो गल्ति स्वीकार नगरी अरुलाई गाली गर्नु पनि नार्मदीनै हो । स्वाभिमानी नेपाली माथि नेपाली सत्ताधारीकै कारणले छिमेकीले बारम्बार कोलमा पेलेझै पेल्दै आएको हो । साना छिमेकीलाई सिक्किमीकरण गर्नु भारतको नीतिनै हो । तुरुन्त त्यसो हुन नसकेमा सिमा मिच्ने, बाँध बनाएर डुबाउने, सिमाक्षेत्रका जनतालाई फसाउने वा पेल्ने वा फकाउने यो दक्षिणको नीति हो ।

नेपालको नीति के त ? सिमा अतिक्रमण, डुबान, असमान सन्धि, गण्डक, कोशी, महाकाली, र सम्पूर्ण सिमा क्षेत्रमा अतिक्रमण हुदा पनि भारत रिसाउछ र प्रधानमन्त्री बन्न पाईदैन भनेर नबोल्ने नीति लिएको होइनत ? अहिले सम्म त्यस्तै देखिएको छ । भारतले त आफनो काम गरिनै रहेको छ । वि.सं. २००७ साल पछि बनेका प्रधानमन्त्री वा सरकारले असमान सन्धी, भारतको पेलाई, मिचाई बारे कसैले प्रष्टसँग भारत समक्ष नेपाल र नेपाली जनताले भारतको कारण भोग्नु परेको पिडा बारे कुरा राखे त ? कसैले पनि राखेनन् । कसैले सामान्य कुरा उठाएका थिए भने तिनीहरु भारतबाट फर्के पछि सत्तामा रहेनन् । नेपालका सडकमा सत्तामा नपुञ्जेल विरोध गरे पनि सत्तामा पुगे पछि कसैले त्यसबारे ओठ खोलेनन् । त्यसैले पेलिने , मिचिने, थिचिने काम भईनै रह्यो, भईनै रहेछ र भविश्यमा पनि हुनेछ जवसम्म इमान्दारी बाँच्दैन ।
भारतको निर्भरतामा नेपाल परिनै रह्यो । आज पनि त्यस्तै छ । नाकावन्दी हुदामात्र राष्ट्रियता सुनामीजस्तो भएर उर्लन्छ । भारतले के के ललिपप दिन्छ सत्ताधारीहरु खान्छन् र नागरिकको राष्ट्रियता प्रतिको भावनामा बुटले कुल्चन्छन् । अनि देशलाई अरुले टोकेको टुलुटुलु हेर्छन् । आफ्नो सन्तानलाई डाक्टर र इन्जिनियरको कोटा पाए वापत हाम्रा नेता र ठूला कर्मचारी देशको सिमानै दिन पनि चुक्दैनन् । अनि भारतले नेपाललाई नपेलेर अरुलाई पेल्छ त ?
परिवेश फरक छ । अहिले पहिले सिक्किमलाई नीले जस्तो निल्न गाह्रो छ । ठूलो हुदैमा गोही हुन कोही पाईदैन ।
अहिले राष्ट्रियता, स्वतन्त्रता, र स्वाधिनताको ठूला र चर्का नारा दिने सत्तामा छन् । देश बेचेको आरोप लागेकाहरु पनि राष्ट्रियताको पक्षमा वकालत गर्दैछन् ।
सुघौली सन्धी नेपालको पक्षमा छैन । हाम्रो पक्षमा नहुदा नहुदै पनि नेपालको कमजोर सरकारले त्यसबारेमा केहि बोल्न सकेन । त्यो आफ्नो ठाउँमा छ ।
सुघौली सन्धीकै समयमा पनि हामीले ठूलो भुभाग गुमाएका छौ । त्यो गुम्यो । तर कमसेकम सुघौली सन्धीमा उल्लेखित सिमालाईत बचाउन पर्यो नि । होईन र ? कि सुटुक्क दिई सकेका छौ सत्तामा बस्ने मध्ये कसैले, कुनै बेला ? कोशी, गण्डकी र महाकाली कसरी गरेका थियौँ ?
त्यो हो भने पनि भन साँचो कुरा नेपालीलाई ।

नारा, सामाजिक सञ्जाल, जुलुस एउटा आम नागरिकको धारणा हो । त्यसले बल दिन्छ लिन चाहेमा । आत्म विश्वास दिन्छ ग्रहण गर्न खोजेमा । त्यसले धारणा बनाउने मात्र हो । अन्यथा त्यसले ग्यास र पेट्रोल लुकाउनेलाई फाईदा पुग्ने मात्र हो । काम गर्नु पर्ने सरकारले हो । अब कमसेकम अहिले भूमी बचाउने विषयमा राष्ट्रिय एकता भएको बेला ठोस कदम छिटै चालिनु पर्यो । नेपालले तुरुन्त गर्नु पर्ने केहि काम मलाई लागेको यस प्रकार छन्ः
१. राजनैतिक र कुटनीतिक पहलः राजनैतिक र कुटनीतिक पहल तुरुन्त गरी तुरुन्तै कालापानी, सुस्ता, गण्डक, कोशी, महाकाली, मेची, सम्पूर्ण तराई , पूर्व र पश्चिम जहाँ जहाँ हाम्रो भूमी मिचीएको छ फिर्ता लिने, जहाँ भारतीय बस्ती बसाईएको छ त्यो हटाउने, जहा नेपाली भूमीमा भारतीय सेना राखिएको छ त्यो हटाउने । यो काम तुरुन्त शुरु गर्ने अन्यथा भ्रष्टाचारीलाई कारबाही गरे जस्तो हुने छ, त्यस्तो नहोस । नाकाबन्दीका बेला खुलेका उद्योग जस्तो नहोस । भारतले आफ्नो योजना अनुसार काम गरि सकेको छ । गरी रहेको छ ।

२.सिमा सुरक्षा दलः रात रह्यो अग्राख पलायो भन्ने कुरा विर्सन हुदैन । दीर्घकालिन नीति बनाएर अन्य देशले झैँ नेपालले पनि किन सिमा सुरक्षा बल नबनाउने । नेपालको चारैतिरको सिमामा सुरक्षा निकाय सिमा नजिक कहि पनि छैनन् जबकी भारत चीन लगायत सबै देशले सुरक्षा दल सिमा नजिक तैनाथ गरेका हुन्छन् । देशलाई राज्यले सुरक्षा दिएको छ भनि नागरिकलाई विश्वासमा लिन, भूमीको सुरक्षा गर्न पनि हरेक रणनैतिक सिमा क्षेत्रमा भारत र चीनलेझै सुरक्षा पोष्ट निर्माण गर्ने र त्यहाँ सुरक्षा निकाय राख्ने काम तुरुन्त गर्न पर्छ । विकट क्षेत्रमा बस्नु पर्ने भएकाले त्यस्तो टोलीलाई विशेष सुविधा उपलब्ध गराउने ।

३. तारबार र नयाँ स्तम्भ निर्माणः नेपालले छिमेकी भारत र चीनसँग कुटनैतिक र राजनैतिक पहल गरि चारैतिर तार बार वा नजिक नजिक हुने गरि पिलरको ब्यवस्था गर्ने । भ्रष्टाचार नियन्त्रण गरी त्यसबाट आर्जित रकम तारबारमा खर्च गर्ने । यसको लागि सरकारले रकम जुटाउन नसके नेपाली नागरिक बाट विशेष कर लिई तारवार र स्तम्भ बनाई सीमा सुरक्षा तत्काल गर्ने ,
४ स्वाभिमानको लागि उत्पादन. जवसम्म देशमा केहि क्षेत्रमा आफ्नो पहिचान सहितको विशिष्ट उत्पादन हुदैन तवसम्म नत पहिचान नै हुन्छ न आर्थिक विकास । हामी विहान उने देखि राती सुत्ने बेलासम्म दाँतमाझने ब्रसदेखि तेल मसलासम्म विदेशबाटनै ल्याउछौ । सबै कुरामा भारत, चीन र अन्य मुलुकाबाट उत्पादित बस्तु प्रयोग गर्छौ । विदेशबाट ल्याईएका सवारीसाधनबाट प्रदुशित नेपाली अक्सिजन सायद नेपालको लिन्छौँ। त्यसबाहेक अरु केहि छैन । आफ्नो उत्पादन नभए पछि निरिह भईन्छ, अरुले हेप्छन र लछार्छन र पछार्छन जसरी सम्बिधान निर्माणमा पछारे , जसरी कालापानी, महाकाली, सुस्ता, कोशीमा पछारे । त्यसरीनै पछार्दैछन । त्यसकारण हाम्रो उत्पादन के त ? पहिचान हुने गरि उत्पादन तर्फ लाग्ने नीति लिने र त्यसकालागि सरकारले संरक्षण गरोस । खै अदुवा, अलैची, सुपारी, स्याउ र चियामा सुरक्षा दिएको ? भारतले भारतमा प्याज कम हुदा नेपालमा प्याज पैठारी रोक्छ भने हाम्रोमा कुनै उत्पादन छ भने त्यसको विस्तार गर्न नेपालले सुरक्षा दिन पर्छ कि पर्दैन । नेपालको स्याउ बजारमा आउदा अन्य देशको स्याउ निर्यात गर्दा बे विग्रन्छ र ? सरकारले उत्पादनमा विशेष पहल गर्ने । उत्पादितबस्तुको पूर्ण सुरक्षा दिने ।
५. आफ्नो थैली आफैले राम्रोसँग सुरक्षित राख्ने ः सिमा सुरक्षा र नियन्त्रण गरे पछि सरकारले एक वा दुई देशसँग मात्रको पर निर्भरता हटाउन आफनो उत्पादन पनि बढाउने र विभिन्न देशसँग ब्यापारिक, राजनैतिक सम्बन्ध विस्तार गर्ने ताकि एउटासँग मात्र भर पर्न नपरोस । आफनो थैली पनि बलियो होस ताकि कसैले सहजै हेप्न नसकोस ।
नेपालमा बलियो सरकार छ । त्यसको जनताले अनुभूत गरुन । सरकारले राष्ट्रहित, र राष्ट्रियताको संरक्षण गर्छ र आम नागरिकको भावनाको उच्च सम्मान गर्छ भन्ने विश्वास आम नागरिकले गर्न सकुन् । देशमा सरकार छ भन्ने नागरिकले अनुभूत गरुन् । अहिले देखिएको सिमा अतिक्रमणलाई सच्याईएको थाह पाउन् । यस्तो अतिक्रमण भविश्यमा हुने छैन भन्ने आधारको निर्माण भएको देख्न र अनुभव गर्न सकुन । शक्तिशाली सरकारले त्यति काम गर्नै पर्छ ।
मैले नेपालको विभिन्न क्षेत्रको भ्रमण गर्दा हाम्रो सिमा क्षेत्र लथालिङग भएको देखेको छु । राज्यको उपस्थिति नभएको देखेको छु । भोगेको छु । त्यो देख्दा कैयौँ स्थानमा घोप्टो परेर रोएको छु । त्यसबारेमा मैले यहाँ केहि लेखेको छैन ।

पेमा

विष्णुप्रसाद शर्मा पराजुली

Story -Pema

जनमत मासिक २०७६ भदौ अंक २६३ मा प्रकाशित  कथा । धन्यवाद सहित साभार

एकाबिहानै त्यस्तै चार बजेको हुँदो हो पेमाको घरमा फोनको घण्टी लगातार बज्न थाल्यो । त्यति सबेरै कहिल्यै फोनको घण्टी बजेको थिएन । पेमा हत्त न पत्त उठिन् । फोन उठाइन् ।
‘पेमा गुरुङ रोकाया हो ? ’ कल्याङमल्याङ आवाजको बीचबाट कसैले सोध्यो ।
उनले ‘हो’ भनिन् ।
‘दोर्जी रोकायाको मृत शरीर महाराजगन्ज शिक्षण अस्पतालको मुर्दादान घरमा छ । तपाईं छिटै आउनु ।’ भन्दै फोन राखिदियो ।
अस्पताललाई आँखा र शरीर दान गर्ने सम्झौतापत्रमा दोर्जी रोकायाले घर–परिवारको सबै विवरण दिएका थिए । त्यसैको आधारमा आफ्नो पतिको मृत्यु भएको खबर पाइन् पेमाले । दश वर्षपहिले नै सुकिसकेका आँशु एक पटक फेरि उनको दुवै आँखामा टिलपिल भएर देखा परे ।

लास ढाकिएको सेतो कपडा पन्छाएर हेरिन् । अनुहार उज्यालो थियो । लख काटिन् ‘मृत्युको बेला कठोर पीडा भएनछ ।’ लामो सास फेरिन् । चालिस वर्षसम्म दुई शरीरलाई एउटै जस्तो बनाएर दोर्जी र पेमाले पारिवारिक जीवनका थुप्रै उकाली–ओराली नापे, हिमाली भञ्ज्याङको हिउँ र चिसो सिरेटोलाई अँगालो हालेर निस्तेज पारे, छार्कामा आलु र उवा उमारे, याक खेद्दै तिब्बत पुगेर नुन र खाद्यान्नको जोहो गरे, भेडाच्याङ्ग्रा लिएर मुस्ताङ हँुदै पोखरासम्म पुगे, काठमाडौँमा घरजम गरे, छोराछोरीलाई उच्च शिक्षा लिन अमेरिकासम्म पठाए । प्रकृतिले दिने नीलो सफा आकाश, छार्का खोलाको नीलो कञ्चन पानी, फुस्रा बलौटे पहाडमाथि टलक्क टल्कने लोभलाग्दा हिमाल, मौसम परिवर्तन हुनासाथ देखिने कालो बादल, हिमपात, ढुङ्गा र गेगरसहितको हिले भेलजस्तै उनीहरूको जीवनमा पनि सुख र दुःख शरीरसँग छायाँ भएझैँ सँगै भए । उनीहरूले जीवनमा खेपेको कष्ट, गरेको मेहनत र देखिएको प्रगतिले ठूलो प्रेरणा दिएको थियो दोर्जीको जन्मथलो डोल्पाको छार्का र पेमाको माइती देश मुस्ताङको साङता गाउँलाई ।
हिमाली क्षेत्रमा अपत्यारिलो किमिमले मौसममा परिवर्तन आउँछ । टहटह घाम लागेर नीलो आकाश देखिएको केही पलभित्र नै कालो बादल उठेर चिसो सिरेटो हुइँकिनुका साथै फाटफुट पानीसँगै हिउँ पर्न थाल्छ । रातभर हिउँ प¥यो भने भञ्ज्याङ छिचोल्न सकिन्न । अचानक डोल्पाको मौसममा परिवर्तन आएझैँ बिहे गरेको चालिस वर्षपछि पेमा र दोर्जीको जीवनमा पनि पत्याउनै नसकिने भयानक हिमपात भयो । दुई दम्पत्तिबीच विग्रह उत्पन्न भयो । कानुनी तवरले छुटानाम नगरी उनीहरू १५ वर्षदेखि छुट्टाछुट्टै बसेका थिए ।
डोल्पा छार्काकै आफन्त डोल्मालाई लिएर उनी शिक्षण अस्पताल पुगिन् । लाश दान गरेको कुरा त्यहाँ पुगेर मात्र थाहा पाइन । तीन छोराछोरी अमेरिकाबाट नफर्कुञ्जेल लाशलाई प्रयोगशालामा नलैजान आग्रह गरिन् । स्वयम्भू घर फर्किन् । अमेरिकामा उच्च शिक्षा हासिल गरी काम गर्न थालेका एक छोरी र दुई छोरालाई फेसटाइममार्फत बाबुको मृत्यु भई लाश महाराजगञ्ज शिक्षण अस्पतालको मुर्दादान घरमा रहेको जानकारी दिइन् ।
समयको पदचापलाई राम्रोसँग केलाउन नसक्दा धेरै मानिसको मनभित्रको घर मुर्दाघर जस्तै भएको छ आजकल । आमाबाबु र छोराछोरीबीचको सोचाई र व्यवहार पुस्तौँपुस्ताबीच देखिने अन्तरजस्तै भएको छ । व्यवहारमा हातमुख जोर्न कठिन छ तापनि सामाजिक सञ्जालले गर्दा अन्तरिक्ष यात्रामा तल्लीन छन् सन्तान । अनि आमाबाबु र छोराछोरी बीच गहिरो खाडल बनेन त ? सम्पन्न भएर पनि बोल्ने साथीसम्म नहुँदा एकलकाँटे भएका छन् सत्तरी नाघेका मातापिताहरू कतै सहर त कतै गाउँमा । त्यस्तै भयो पेमाको घरमा पनि । पुरातन घमण्डले पेमाको परिवार पनि खण्डित भएको थियो । बाबु–आमा आ–आफ्नो संस्कार, संस्कृति र पौराणिक परम्परा बचाउने सोच र घमण्डमा थिए । छोराछोरीलाई अमेरिकामा स्वतन्त्र भएर बग्ने हावापानीले चुर्लुम्ब डुबाएको थियो ।
मृत्युले कठोर प्रहार गरेको थाहा पाएपछि नेपालको रातको दुई बजेको आसपासमा जेठो छोरा, छोरी र कान्छो छोरालाई क्रमशः एक–एक मिनेटको फरकमा दोर्जीले करिब सत्र वर्षपछि फोन गरेका थिए । तीनै जनाको फोन कार्यालयको सचिवालयमा भएकाले उठाउन नसकेको कुरा आमालाई छोराछोरीले पछि सुनाएका थिए ।
यता पेमाले पनि राति एक पचपन्न बजे बाबाको फोन आएको तर आफूले थाहा नपाएको कुरा छोराछोरी, ज्वाइँ, बुहारी, नाति र नातिनीहरूलाई भनिन् । अमेरिकामा नै भए पनि तीनतिर भएका छोराछोरी सबैलाई पालैपालो फोन गरिन्, बाबुको मृत्यु भएको खबर सुनाइन् र सबैसँग आँशु साटासाट गरिन् । सबै भावविह्वल भए । बाबुसँग कुराकानी नभए तापनि जिउँदो हुँदा बाबा आपूmसँगै भएको र बाबुको तातो मायाको आभासले आफू निर्देशित भएको छोराछोरीले आमासँग आँशु झार्दै भने । बाबुको मृत्युको खबरले भने क्षणभर उनीहरूका लागि अमेरिका नै अँध्यारो भयो, हातखुट्टा लुला भए पेमाका मायाका टुक्राहरूको ।
नेपालमै भएर पनि के गर्नु र ? पेमाले दोर्जीको स्वर नसुनेको पन्ध्र वर्ष भएको थियो । बोलेर मात्र माया साटिँदो रहेनछ । नबोले पनि मुटुको एक भागमा कसैले नदेख्ने गरी दोर्जीले पेमालाई सजाएर राखेका थिए । खोक्रो आधुनिकता, व्यक्तिगतपन र पुरातन संस्कारको लडार्इंको बीच उनीहरूको बुढ्यौलीे प्रेम निरीह बनेर एक्लिएको थियो ।
‘परिवेशले मलाई अन्धो बनायो । मैले पनि माया नगरेकी त होइन तर मैले आक्रोशलाई नियन्त्रण गर्न सकिनँ । मेरै दिनहुँको कचकचले गर्दा नै ऊ सत्तरी वर्षको उमेरमा एक्लै बस्न बाध्य भएको हो । उसले त मृत्युले आक्रमण गर्न थालेको थाहा पाएपछि फोन गरे छ नि ! मेरो आक्रोशको परिणामले मर्ने बेलाको अन्तिम स्वर पनि सुन्न पाइनँ । म बाँचुञ्जेल पछुतो त्यही नै हुने भयो । ’ पेमाले आफैँलाई धिक्कार्दै भनिन् ।
पानीको मुल चैतमा सुकेर साउनमा फेरि फुटेझैँ करिब दश वर्ष रुँदा सकिएका पेमाका आँशु दोर्जीको मृत्युको खबरले फेरि बग्न थाले । चालिस वर्ष सँगै र पन्ध्र वर्ष एक्ला–एक्लै बिताएका सम्झनाका क्षणहरू छालझैँ उर्लेर उनको अगाडि नाच्न थाले । उनीहरूको प्रेम बसेको मुस्ताङ साङ्ता गाउँका फुस्रा बलौटे पाखा, पखेरा, मुस्ताङ, निलगिरि, तिलिचो हिमाल, कालीगण्डकीको विशालतम सेतो बगर, कागबेनी र मुस्ताङ वरपर नाच्न थाले । कति माया गथ्र्यो दोर्जीले पेमालाई । सिनेमा हेरेझैँ विगतका दृश्य एकपछि अर्को गर्दै झलझली आउन थाले पेमाको आँखावरपर । जति उसले पन्छाउन खोज्थी उति नै छिटो तिनै दृश्यसँग दोर्जी टुप्लुक्क आइहाल्थ्यो । ‘बुढेसकालमा पनि कसरी सम्झना आएको होला हँ हिजो जस्तै !’ पेमाले आफैँलाई प्रश्न गर्थी ।
छोराछोरी कलेज पढ्न थालेपछि पनि उसले पेमालाई काखमा राखेर म्वाइँ खान्थ्यो । पेमाको लामो कपालभित्र औँला छिराएर कोरिदिन्थ्यो । छार्का खोलाको सङ्लो पानीमा खेल्दै याक–चौरी र भेडा–च्याङ्ग्रा खेद्दै याकखर्क पुगेको कुरा सम्झाउथ्यो । साङ्ताका लेकमा पेमा लुक्दै उसलाई भेटन आएको कुरा त दिनमा दुई पटक दोहो¥याउथ्यो । शेफोक्सुण्डो तालजस्तै सफा र गहिरो तिनीहरूको प्रेम सन्तान विदेसिएपछि सेगुम्बानजिकका बालुवाका पहाडजस्तै जर्जर हुँदै निष्ठुर बगर भएर थुप्रिएको थियो ।
तीनै जना छोराछोरीले उनीहरू दुवै जनालाई केही सुइँको नै नदिई अमेरिकामा बिहे गरेको थाहा पाएपछि ती दम्पत्तिबीच झगडा, आरोप प्रत्यारोप सुरु भएको थियो । पेमाको माया एकाएक आक्रोशमा परिणत भएको थियो ।
‘हामी छार्काबाट आएर पनि छोराछोरीलाई कलेजसम्मको शिक्षा दियौँ । विदेश नपठाऔँ, पठाउने नै हो भने पनि हाम्रो चलनअनुसार बिहे गरेर मात्र पठाइदिउँ, नत्र हामीलाई बुढेसकालमा रुन पर्छ । सुख र सुुविधाको हावाले केटाकेटीलाई छिटै छुन्छ । थाहै नपाई केटाकेटी आजको उदार, खल्लो र सस्तो माया जालमा फस्न सक्छन् । त्यसपछि चरा भुर्र उढेर गएझैँ उनीहरू हामी बाट टाढा हुन्छन् ।’ पेमाले बारम्बार भन्थिन् ।
‘बिहे गरेपछि पढाइ राम्रो हुँदैन । पढ्न खोजेका छन् । पढ्न दिऊँ । जान्छन् भने जान दिऊँ । ’ दोर्जीले सम्झाउँदै भन्थे । हुन पनि त्यस्तै भयो । बिहे गर्ने उमेर पुगेका छोराछोरी लुरुलुरु अमेरिका छिरे । आमाबाबुलाई खबरसमेत नगरी उतै घरजम गरेर बसे ।
‘पढेका छन् । राम्रो कम्पनीमा काम गर्छन् । इज्जत धानेका छन् । बिहे गरे त के भो । जीवन उनीहरूको हो यतैबाट आशीर्वाद देऊ । छोराछोरीले तिमीलाई दुःख दिएनन् । भै गयो त । किन पीर गर्छौँ । जमाना कहाँ पुगिसक्यो । यस्तोमा पीर गर्न हँुदैन ।’ नजिकका साथिभाइले सम्झाउँथे । तर त्यो काम लागेन । जेठो छोराले बिहे गरेको थाहा पाएको दिनदेखि दोर्जीको घरमा कालरात्रिले प्रवेश गरेको थियो ।
जीवनको उत्तराद्र्धमा भने पेमाको कुरा सही भएको दोर्जीले स्वीकारेका थिए । तर, त्यसबेला ढिलो भइसकेको थियो । ‘तैँले गर्दा धर्म, संस्कार र संस्कृति, नातागोता सबै सखाप भयो ।’ पेमाले बारम्बार भन्थिन् । उनको बोलीमा तीखो सुईरो भएको र त्यसले दिनहुँ घोच्ने गरेको दोर्जीले भित्रभित्रै निचोरिँदै अनुभव गथ्र्याे । पेमाको कचकच यति विघ्न बढ्यो कि उनका हरेक शब्दमा अर्जुनका तीखा वाण भएर दोर्जीको छातीमा पुगेर उनिन्थे । अप्रिय घटना दुवैबाट नहोस् भनी सचेततापूर्वक उनीहरू छुट्टाछुट्टै बसेका थिए । त्यसको पन्ध्र वर्षमा पेमाका पतिको मृत्यु भयो । एउटा सरल र सहज मृत्यु ।
पेमा र दोर्जीका सबै सन्तान तेस्रो दिन नै काठमाडौँ आइपुगे । पन्ध्र वर्षदेखि रित्तो भएको घर दोर्जीको मृत्युपछि भरिभराउ भयो । पेमाको घरको छानोबाट देखिने स्वयम्भूका दुई आँखाले तिनलाई हेरिरहेका थिए । एक पटक ती आँखामा तिनले दोर्जीलाई देखिन् । दोर्जीले उनलाई साङ्तामा पचपन्न वर्ष पहिले माया गरेजस्तै गरी अँगालोमा बाँधेको अनुभव गरिन् । त्यसैबेला डिलमा टक्क अढिएका दुई थोपा आँशु पछ्यौरीले पुछिन् ।
सबै जना भएर अस्पताल पुगे । अस्पताल प्रशासनसँग अनुरोध गरी दान गरिएको लाशलाई तीन घण्टासम्म एउटा छुट्टै कोठामा राख्ने अनुमति लिए । त्यसैबेला पेमाले आफ्नो लामालाई पनि बोलाएकी थिइन् । तीन घण्टासम्म जेठो छोरा दावा, बुहारी मेरिना र दुई नाति–नातिनी, छोरी याङ्जी र ज्वाइँ लिउ सान र दुई नाति, कान्छो छोरा बुद्ध, बुहारी पार्वती र एक नातिनी सबैले धित पुग्ने गरी दोर्जीलाई म्वाइँ खाए, दोर्जीको चिसो छातीमा अँगालो हाले । त्यसबेला सबैभन्दा बढी जेठो छोरा दावाले विलौना गरेको थियो ।
उसले बाबुको मृत शरीरको चौडा छातीमाथि टाउको राखेर ‘बाबा मलाई माफ गर्नुहोस् । मैले तपाईंको विशाल छातीभित्र छोराछोरीप्रति रहेको मायालाई बुझ्न सकिनँ । अमेरिका पुगेपछि मैले आमाबाबुलाई बिर्सेको मात्र होइन त्यसको मर्ममा प्रहार गरेँ । जन्म र शिक्षा दिने मेरा आमाबाबुलाई खबरै नगरी मैले अमेरिकामा घरजम गरेँ । आज मैले मेरा छोराछोरीलाई देखेपछि मात्र बाबाको जीवनमा परेको मर्मलाई महसुस गर्दै छु । आमाबाबुको अर्थ बल्ल बुझेको छु । तपाईंहरूलाई खबर नगर्नु मेरो कायरतापूर्ण अपराध हो । ’ रुँदै भन्यो । त्यस्तैमा तीन घण्टा सकियो ।
सबैले सम्झौतापत्र पढे । त्यसको फोटो मोबाइलमा खिचे । सम्झौतापत्रमा भनिए अनुसार बट्टामा राखिएको मुटुको टुक्राको एक अंश पशुपति आर्यघाट, एक अंश स्वयम्भू र एक अंश छार्काको लागि छुट्याए ।
दोर्जीले पूर्वजन्म, पूनर्जन्ममा विश्वास गर्दैनथे । तर संस्कृति बचाउनुपर्छ भन्नेमा भने दृढ थिए । सम्झौतापत्रसहितको एउटा कागजमा उनले लेखेका थिए – ‘मैले मुटु अस्पताललाई दान गरेको छैन । मेरो प्यारो मुटु मेरी पेमा, मेरा छोराछोरी, बुहारी, ज्वाइँ र नातिनातिनीको लागि हो । त्यसपछि मेरो मुटु सांस्कृतिक सहिष्णुताको धरोहर पशुपति, स्वयम्भू र म जन्मेको मेरो गाउँ छार्काका लागि हो । मेरो मुटु मेरो माटोलाई हो । बाँचुञ्जेल मैले राम्रो गर्न सकिनँ । मृत्युपछि कमसेकम मेरो लास डाक्टर बन्न चाहने नेपालका मेरा स–साना छोराछोरीलाई काम लागोस् ।’ सामान्य मात्र शिक्षा लिएका दोर्जीको सोचाइ कुनै दार्शनिकको भन्दा कम थिएन । देशमा चलेको चलनलाई उनले संस्कृति मानेर सम्मान गर्थे ।
यति एयरलाइन्सको जहाजबाट नेपालगञ्ज र त्यहाँबाट तारा एयरलाइन्सको चार्टर फ्लाइटबाट डोल्पाको जुफाल विमानस्थलमा ओर्ले दोर्जीको परिवार । पेमाबाहेक अरू सबैको त्यो पहिलो यात्रा थियो । बुहारी, ज्वाइँ र नातिनातिनीका लागि त त्यो अर्कै भूगोल थियो । जुफालबाट हिँडेको आठौँ दिनमा उनीहरू छार्का पुगे । छार्कामा लामा राखेर स्थानीय परम्पराअनुसार दोर्जीको मुटुको अन्त्येष्टि ग¥यो ।
छार्काको पुरानो घर मर्मत गरे । परिवार मिलेर दोर्जीको नाममा मुस्ताङ जाने बाटोमा छार्का खोलामाथि वर्ष दिनभित्र फलामको झोलुङ्गे पुल हाल्ने गरी लामामार्फत वडाका प्रतिनिधिलाई रकम दिए । छार्काको पश्चिम पाखोमा छार्का उपत्यकालाई हजारौँ वर्षदेखि हेर्दै बसेको कानीचोर्तेन (प्रवेशद्वार) र त्यसभित्र मेटिन थालेको भित्तेचित्र पुनर्निर्माण र पुनर्लेखन पनि वार्षिक तिथिभित्र सक्ने गरी कामको सुरुवात नै गरे । छार्का बोन गुम्बाको पूर्वमा रहेको थुम्कोमा दोर्जीको सम्झनामा छार्काको सबैभन्दा ठूलो चोर्तेन निर्माण गर्न जिम्मा दिए । त्यसभित्र सेनरेव, बुद्ध र दोर्जीको मूर्ति राखे ।
पेमा एकचालिस वर्षपछि छार्काको घर पुगेकी थिइन् । भेडा, याक र चौरीको सङ्ख्या घटेको थियो । त्यहाँको माटो झन् झर्झर, फुस्रो र सुख्खा भएको थियो । जेठो छोरा दावाका दौतरीहरूको जीवन पहिले भन्दा कष्टकर थियो । पचास वर्ष पहिले र पचास वर्षपछि त्यहाँ तात्विक फरक केहि थिएन । पेमा र दोर्जीबीच मनोमालिन्य भएर एक्लाएक्लै बसेर जीवन बिताए पनि एकचालिस वर्ष पहिले उनले सन्तानका लागि छार्का छोड्न गरेको निर्णय सहि भएको ठानिन् ।
पेमाले जेठो छोरा दावा र बुहारी मेरिनालाई भनिन् ‘जीवनमा दुःख त हुन्छ नै । दुःखका हाँगा फरक हुन्छन् । एक दिनमा अठार घण्टा काम गर्दा पनि दुई छाक पेटभर खान नपाउनु दुःख हो । प्रेम गर्दैमा छोराछोरीले आमाबाबुको छातीमा टेक्नु दुःख हो । दावा, तँलाई तेरो बाबुले धेरै माया गथ्र्यो । तँ ठूलो मान्छे भएको सुन्न आतुर थियो । तर तैँले बाबुको अर्थ र मर्ममाथि लात हानेको हुनाले तेरो बाबु जिउँदै मर्न बाध्य भयो । ऊ धेरै वर्ष मरेर पनि हिँड्यो । लोग्नेमान्छे भएर पनि क्षतविक्षत भयो । आखिरमा मेरो आक्रोशलाई सहन नसकेर पन्ध्र वर्षसम्म एक्लै जहरसिँह पौवामा बसेर प्राण त्याग्यो । तेरो बाबु इमान्दार मान्छे हो, दावा । तँलाई कहिल्यै तेरो बाबुको जस्तो दिन भोग्न नपरोस् । म पनि अब कति बाँच्छु र ? हामी एक्लाएक्लै बसे पनि बाँचुञ्जेल मलाई उसको र उसलाई मेरो भर थियो ।’
हजुरआमाले भनेको कुरा दावाले आफ्ना छोराछोरीलाई भनिदियो । ती दुवै रोए र हजुरआमालाई आश्वस्त पार्दै ठूलो नातिले भन्यो –‘हामी अमेरिकामा बसे पनि मम र ड्याडको हृदयमा चोट पार्ने काम गर्ने छैनौँ । हजुरबा र तपाईंलाई जस्तो पीडा दिने काम हामीले गर्ने छैनौँ । हजुरआमा अब तपाईं रुन हँुदैन । तपाईंलाई हामी रुन दिदैनौँ । तपाईं रुनुभयो भने हाम्रो छाती चिरिन्छ तपाईं नरुनु । ’
पेमाले नाति र नातिनीलाई अँगालो हालिन् र तिनीहरूका प्याउली पूmलजस्ता कोमल गालाबाट झरेका आँशु पुछिदिइन् ।
करिब पच्चीस वर्ष छोराछोरीको लागि आँशु झार्ने पेमा आपूm पचहत्तर लागेपछि दोर्जीलाई सम्झेर दिनको एक पटक रुन थालिन् । एक दिन उनले छोरीलाई भनिन्–
‘तिमीहरूले बिहे गरेको खबर पराइले भनेर थाहा पाएपछि हामी मर्माहत भयौँ । कोसँग बिहे ग¥यौँ भन्दा पनि आफूलाई जन्म दिने आमा र बाबुलाई तिमीहरूले हेला गरेकाले हामी जिउँदै मरेको अनुभव ग¥यौँ । हामीले सहज रूपमा स्वीकार गरेको भए पनि हुन्थ्यो, त्यसबेला हामी दुवैको धारणा एउटै भयो । स्वीकार गर्न सकिएन । ‘यो सबै तैँले गर्दा भएको’ हो भनेर मैले तेरो बालाई बारम्बार टोकेँ । यति टोके कि त्यसको चोट सहन सक्ने क्षमता नै मैले चुँडालिदिएँ । ऊ आफैँ पीडामा थियो । आफ्नो इज्जत, मान र प्रतिष्ठामा बाँचेको मान्छे । मरणासन्न अवस्थालाई जेनतेन बचाएर हिँडेको मान्छेलाई मैले सुईरोले घोच्थेँ । पछिल्लो समय त ऊ बोल्न छोडेको थियो । उसले सामान्य कुरा गर्दा पनि मैले डाकोले टिप्थे । तिमीहरूसँग विछोडिनुपर्दा मेरो स्वभाव नै बज्रजस्तो कठोर भएको थियो । दिनहुँको मेरो टोकसोले ऊ झन् मर्माहत भयो । क्षतविक्षत भयो र एक दिन घर चटक्क छोडेर हिँड्यो । त्यसबेला मलाई पटक्कै दुःख लागेन । म छार्काको बलौटे जर्जरे पखेरो जस्तै निष्ठूर र हृदयहिन भइसकेकी थिएँ । ’
छार्काबाट फर्कने बेला लामा राखेर फेरि पूजा गरिन् पेमाले । उनका दाजुका छोराहरूले स्याहार गरेको उनको बारी, पखेरा, छार्का खोला, गुम्बा, कानी चोर्तेन जताततै धुप बालिन् । लुङदार फहराइन । छार्काको एक चिम्टी माटो निधारमा दलिन् । अर्को एक मुठी माटो सानो बट्टामा सुरक्षित राखिन् । दाहसंस्कार, पूजा र बाबुको नाममा निर्माण गर्न लागिएको पुल र ठूलो चोर्तेन निर्माण, कानी चोर्तेन र त्यसभित्रको भित्तेचित्रको पुनर्निर्माण र पुनर्लेखन वर्ष दिनभित्र सक्नेगरी जिम्मा दिएर सबै काठमाडौँ फर्के ।
साँखु बजारदेखि चार किलोमिटर उत्तरमा रहेको जहरसिँह पौवा बूढाको निधनपछि सुनसान भएको थियो । एक दिन सबै जना त्यहाँ गए । दोर्जीले रोपेका धूपी, बेलौती, कागतीका बोट बडेमाका भएका थिए । ती सबै रुखबिरुवा र घरले दोर्जीको परिवारलाई नै पर्खेका जस्ता देखिन्थे ।
परिवारका सबै सदस्य काठको सानो घरभित्र छिरे । सोफानजिकको चिया टेबलमाथि कान्छो छोराले ग्रयाजुएसन गर्दा पठाएको कागजपत्र राख्न मिल्ने छालाको सानो झोला थियो । बैठक कोठामा पाँच वर्गफुटको फ्रेमभित्र सजाएर राखेको एउटा तस्वीर थियो । परिवारको पुरानो तस्वीरमा दोर्जी, पेमा, दावा, याङ्जी र बुद्ध थिए ।
जेठो छोरा दावाले बाबुले बोक्ने गरेको मोबाइल फोन चार्ज ग¥यो । उनको मृत्यु हुनुभन्दा एक घण्टा पहिले बाबाले आमा, अमेरिकामा रहेका उनीहरूलाई फोन गरेको थाहा पायो । अन्तिम कल उनले तिलगंगा र शिक्षण अस्पतालमा गरेका रहेछन् ।
कोठा, भान्साघर नियालेर हेरेपछि पेमाले टेबलमा रहेको झोला खोलिन् । भित्र भएका काजगपत्र निकालिन् । त्यसमा लालपूर्जा, चेकबुक, एटिएम कार्ड, बत्तीको कार्ड, कर बुझाएका रसिद, नागरिकताको प्रमाणपत्र, आँखा र लास दान गर्दाको सम्झौतापत्र र केही रकम थियो ।
आमाको खुट्टामा लम्पसार परेर जेठो छोरो दावाले आँशुका बलिन्धारा झार्दै भन्यो– ‘आमा हामीलाई माफ गर । मैले गर्दा यस्तो भयो । मैले आमा र बालाई सम्झाउन सक्नुपथ्र्यो । त्यसबेला मैले कठोर सत्यको सामना गर्न सकिनँ । प्रेमले गर्दा म कायर भएको थिएँ । मेरी श्रीमती मेरिनाले बारम्बार ‘आमा र बालाई भनेर स्वीकृति लिएर मात्र बिहे गरौँ । पछि हुने सङ्कटलाई पहिले नै समाधान गरौँ । त्यसो गर्दा पछि सुख हुन्छ’ भन्थिन् । मेरो कायरपनले त्यो आँट गर्न सकेन । पछि बहिनी र भाइले पनि मेरो कुबाटोलाई पछ्याए । गल्तिमाथि गल्ति थुप्रिँदै गए । बा र आमाले सन्तानलाई माफ गरिहाल्छन् र हामीलाई आशीर्वाद दिनेछन् भन्ने कल्पनामा मात्र म बसेँ । मैले आमा र बाबाट भित्रभित्रै आशीर्वाद मागेँ । दशैँ, नयाँ वर्ष, ल्होसार, सबै पर्वमा हामी एक्ला भयौँ र रोएर दिन गुजा¥यौँ । आखिर हाम्रो कारणले बा र आमाको चालिस वर्ष लामो दाम्पत्य जीवन विछोडको उपहार लिएर दुईतिर बाँडियो । झन् मिलेर बस्नुपर्ने उमेरमा एक्लाएक्लै बिताउनुप¥यो । त्यो मैले गर्दा भएको हो ।’ आमाको काखमा टाउको घुसार्दै दावा धेरै बेर रोइरह्यो ।
‘अब रोएर के काम भो र ? न रो । तेरो बाबुलाई झैँ सन्तानले गर्दा तँलाई रुन नपरोस् ।’ दावालाई उठाउँदै आमाले सम्झाइन् ।
जन्म र मृत्यु नित्य प्रक्रिया हो; भइरहन्छ । कहिले कस्को परिवारमा त कहिले कस्को ? त्यो नै संसार हो । त्यो नदीजस्तै निरन्तर बगिरहन्छ । मात्र फरक के भने त्यसबेला त्यो पेमाको घरमा परेको थियो । पेमाको दुई जनाको सानो परिवार दोर्जीबाहेक पनि बाह्र जनाको ठूलो भइसकेको थियो ।
छोराछोरीले पेमालाई सँगै अमेरिका लैजान निकै प्रयास गरे । उनी पचहत्तर टेकेकी थिइन् । सबैका आमाबाबु प्रत्येक वर्ष अमेरिका गएको उनले देखेकी हुन् । उनी गएकी छैनन् । नगएकोमा दुःखी पनि छैनन् । जान चाहे उनी उड्न सक्छिन् ।
‘बाबु बितेको एक वर्ष म कतै जान्नँ । प्रत्येक महिना स्वयम्भू, बौद्ध र किराँतेश्वरमा बत्ती बाल्छु दोर्जीको नाममा । अब म डोल्पा जान्नँ । एक दिन साङ्ता मेरो माइतीमा जान मन छ । तिमीहरूले मेरो पीर नमान्नु । तिमीहरूको जीवन सफल पार । केटाकेटीको राम्रो ख्याल गर्नु । नेपाली लेख्न र बोल्न सिकाउनु । कम्तीमा मिलाएर वर्षको एक पटक नेपाल आउनु । आफ्नो देश, तिमीहरूको जन्मथलो छार्का र मामाघर साङ्ता अनि मेरो र दोर्जीको पसिना परेको माटोलाई कहिल्यै नबिर्सनु ।’ पेमाले आफ्नो निर्णय सुनाउँदै अर्तीउपदेश दिइन् ।
अमेरिका उड्नुभन्दा पाँच दिनअघि आमाको काखमा ढल्केर कान्छो छोरा बुद्धले भन्यो –‘आमा म अमेरिका जान्नँ । तपाईं र बाबाले सृष्टि गरेको सुन्दर बगैँचामा गोडमेल गर्छु । तपाईंले टेकेका पाइलामा मलजल गरेर मेरो भविष्य सपार्छु । तपाईंलाई पनि नियास्रो हुँदैन । ’
यो कुरा त मैले तेरो बाबुलाई बिस वर्ष पहिले भनेकी थिएँ । तेरो बाबुले –‘छोराछोरीलाई बोझ पारेर उनको भविष्य बिगारेर मेरो बुढ्यौली सुधार्नु छैन । म जसरी बाँच्छु ठीकै छ । तर, मेरा लागि छोराछोरीलाई दाउमा लाउँदिनँ ।’ भन्थे । ‘पचहत्तर वर्षकी भए पनि तेरो र तेरा सन्तानको भविष्यसँग खेल्ने स्वार्थ ममा छैन । तेरा बाबु मरेर गए । छोराछोरीलाई सक्षम बनाउने उनको फराकिलो सोचलाई म मार्दिनँ । तँ जा । देशलाई सम्झिरहनु । मान्छे रोएर केहि हँुदैन । माटोलाई कहिल्यै रुन नपरोस् । ’
केटाकेटीको फर्कने बेला भयो । सम्झँदा मात्र पनि पेमाको मन कटक्क खान्थ्यो । तर पछिल्ला दिनमा छोराछोरी, बुहारी, ज्वाइँ र नातिनातिनीले देख्ने गरी उनले आँशु झारिनन् ।
सबैजना विमानस्थल पुगे । छार्काबाट ल्याएको माटोको टिका बिदाइको दिन सबैको निधारमा लगाइदिइन् । सबैलाई अँगालो हालेर मुटुको धड्कन सुनिन् । आँशुका बलिन्धारा झार्दै एघार जनाको लस्कर विमानस्थलभित्र छि¥यो । पेमाले निकै बेर हात हल्लाइरहिन् । कतार एयरलाइन्सको विमानले काठमाडौँ उपत्यका नाघेपछि मात्र उनी फर्किन् । त्यस दिन उनलाई स्वयम्भू जान मन लागेन । त्यताबाट बौद्ध हुँदै दोर्जीको घर जहरसिँह पौवातिर लागिन् ।
जुनेली रात । जुन टहटह लागेको थियो । पूर्वमा गौरीशङ्करदेखि उत्तरतिरका जुगल, दोर्जी ल्हाक्पा र लाङटाङ हिमाल जुनको उज्यालोमा प्रष्ट देखिन्थे । साङ्ताका पखेरामा नीलगिरि हिमाललाई साक्षी राखेर रातभर उनी दोर्जीसँग पिरती गाँसिन् । चराचुरुङ्गीको चिरबिर सुरु भयो । नगरकोटतिरको आकाशमा देखिएको सुनौलोपनले बिहानीको उद्घोष गर्दै थियो । बिहान ब्युँझदा दोर्जी र साङ्ता बाहेक सबै कुरा विपनामा झैँ उनको वरपर छचल्किएका थिए । धेरै वर्षपछि सपनामा दोर्जीलाई देख्दा मात्र पनि उनको अनुहार उज्यालो देखिन्थ्यो ।

फोनः ९८४१३७७०८३ , bishnu.nmdc@gmail

दोर्जी

धन्यवाद ! वैजयन्ती विधाकेन्द्रित साहित्यिक पत्रिका ६२, कथा अङ्क–५, २०७६ असार–साउन

विष्णुप्रसाद शर्मा पराजुली

हुईहुई साइरन बजाउँदै महाराजगन्ज शिक्षण र तिलगंगा आँखा अस्पतालका दुईटा एम्बुलेन्स एकैचोटी जहरसिंहपौवा माथिको डाडोमा पुगे–दोर्जी रोकायाको आँगनमा । आँगनमा दुईटा एम्बुलेन्स आएको देखेपछि गाँउले छिमेकी घरबाट आँगनको डिलमा उभिएर खासखुस गर्न थाले ।
‘बुढाले छोडेछन कि क्या हो, साइँला ! पासाङले आफ्नो घरसँगै जोडिएको अर्काे छिमेकीलाई सोधे ।’
‘काका, म पुगेर आउछा, है ता ।’ बोली सक्दा नसक्दै बारीका तीन काल्ला झर्दै साइँला भन्ज्याङतिर झरे । भन्ज्याङ झरेर फेरि उकालो चढेपछि दोर्जीको घरमा पुगिन्छ । उनको घर सबैभन्दा अग्लो थाप्लोमा रहेको छ, त्यहाँबाट पश्चिममा अन्नपूर्ण, उत्तरमा दोर्जी ल्हाक्पा, लाङटाङ र पूर्वतिर गौरीशंकर हिमालको लामो लहरो, तरेली परेका पहाड र पाँचखाल, मेलम्ची, अनि काठमाडौँ उपत्यका छर्लङ्ग देखिन्छन् । प्रकृतिको धरहरा हो, त्यो डाँडो ।
साँखु, जोरपाटी र बौद्ध शहरमा जस्तो त्यहाँ गुजमुज्ज घर छैनन् । फोहोर र लथालिङ्ग पनि छैन । धेरै भनेको दुई घर एक ठाँउमा टाँसिएका छन् । नत्र भने दुई–चार कान्ला तल–माथि छिरलिएका छन् । फोन नहुँदा बारीको डिलमा उभिएर घोक हालेझँै मेलापात, बजार, मलाम, अस्पताल जान चिच्याएर बोलाउने गर्थे छिमेकीले । दोर्जी रोकायालाई ‘रोका बा’ भनेर बोलाउँछन् गाउँलेले । डोल्पाको छार्काबाट जुनबेनला, साङ्ता हुँदै कागबेनीतिर तीस वर्षसम्म भेडा लिएर ओहोर–दोहोर गरेका दोर्जीले छार्काको माटोको टिका नलगाएको २५ वर्ष भएको थियो । नेपाल छिर्दा ऊ मात्र ४४ वर्षको ठिटो थियो ।
दशैँको बेला छार्काबाट अग्ला–अग्ला लेक नाघेर झरेपछि माथिल्लो मुस्ताङको साङ्तामा चार–पाँच दिन भेडालाई लेकतिर छोड्थे । साङ्ता दुईसय वर्ष पहिले मात्र भेटिएको मुस्ताङको गाउँ हो । कागबेनीदेखि त्यहाँ पुग्न दुई दिन लाग्छ । साङ्ताको लेकमा बुकी फूल टिप्दै भेडाबाख्राले मात्र एकअर्कामा प्रेम गरेनन् । फापरको ढिडो, आलुको रोटी, छ्याङ्, रक्सी, नुन चिया खाँदाखाँदै आफूभन्दा दश वर्ष कान्छी साङ्ताकी पेमा गुरुङसँग दोर्जीको मायाप्रेम बस्यो । पेमालाई उनले जीवनसाथी बनाए ।
दोर्जी डोल्पादेखि भेडा खेद्दै पोखरासम्म पुग्थे । कुनै–कुनै वर्ष घर फर्कँदा नेपालगञ्जसम्म बसमा जान्थे । डोल्पा जुफाल उड्ने जहाज कुर्दाकुर्दै दश÷बाह्र दिन बित्दथ्यो । होटलको खाना र बास बसेको खर्च तीर्दा भेडा बेचेको पैसा त्यतै सकिन्थ्यो । कहिलेकाहीँ भने परिवारलाई एकदुई जोर न्यानो लुगाफाटो किन्न भ्याउँथे । घर पुग्दा हिउँ पर्नेबेला भइसक्थ्यो । हिमाल र सुदूरपश्चिमका पहाडी क्षेत्रमा बस्ने हाम्रा दाजुभाइ वर्षदिनमा परिवारसँग एक महिना पनि सँगै बस्न भ्याउँदैनन् । उनीहरूरूको जीवन दुई सय वर्ष पहिलेका मङ्गोलियाका फिरन्तेको जस्तै छ ।
दुवै बुढाबुढीले बेनी, बाग्लुङ, कुश्मा र पोखरा बजार देखिसकेका थिए । पेमाले दुई छोरा र दुई छोरी पाइन् । पछिल्लो पटक सुत्केरी हुँदा आफू बाँचिन् तर कान्छी बाँचिन । जति धेरै सन्तान भए पनि माया उत्तिनै लाग्दो रहेछ । धृतराष्ट्रले सय भाइ छोराहरूरूलाई माया गर्दागर्दै धर्म र सामाजिक न्यायमा अन्धा भएका थिए ‘रे । कान्छी छोरी आमाको दूधको मुन्टो नचुसी बितेकाले उनी पीरले ग्रस्त भइन् । उनका आँखाका डिलमा हिउँचुलीको टुप्पोमा हिउँ बसेझैँ बाहै्रकाल आँसु अडिएर बसे । उनलाई कर्मथलो छार्का र माइती देश साङ्ताभन्दा पनि पर सय डाँडापारि गएर बस्न मन लाग्न थाल्यो, दुई छोरा र एक छोरीलाई शिक्षा दिन ।
त्यसपटक दोर्जी पैदल नै साङ्ताबाट छार्का छिरे । ‘किन हिँडेर दुःख गरेको ? जहाजमा नआएर ? हिउँ परेको भए जुनवेन ला ले छेक्थ्यो नि ! थकित दोर्जीलाई छ्याङ तताएर दिँदै पेमाले सोधिन् । एक मग स्वाट्टै पिएपछि दोर्जीले भने ‘जहाज कुर्दा पैसा पनि सकिने, ढिलो पनि हुने त्यसैले साथीहरूरूसँग पैदलै आएँ । छिटो पनि भयो, पैसा पनि बाच्यो ।’
घर फर्केपछि दोर्जीले भेडाका पाठापाठीको स्याहार गर्दै भेडा र याक हुल्ने आँगनको पर्खाल मर्मत गर्न थाले । सुकेका गुइँठा घरभित्र राखे । दाउराका झिँजा घरको समथर छानाको छेउमा खप्ट्यार चारैतिर थुपारे । लेकमा भएका भेडा झार्ने बेला हुन थालेको थियो । घोडा द्योतराप जाने बाटोतिर थिए भने चौरी र याक माथिल्लो लेकमा चर्दै थिए । घरको धन्दा सकेर दोर्जी घर भित्र छिरे ।
“सबै बेचिदे भो । यस पटक औल झरेपछि नर्फकने भो याङ्जीको बाउ । सिधै काठमाडौँ जाऔँ । स्वयम्भुतिर बसौँला । छोरा–छोरीलाई स्कुलमा हालौँ । व्यापार गराँैला । कति जुनी भेडा खेद्ने ? भेडा, याक, चौरी, बारी सबै दाइलाई दे । दाइले जति दिन्छा, लिएर जाँउ ।’ फलामको चुलो छेउ तातोमा बसेका दोर्जीलाई नुन चिया र छ्याङ् थपिदिँदै पेमाले भनिन् । कुखुराको चल्ला माउको पखेटाभित्र छिरेर बसेझँै केटाकेटी आमाको काखमा टाँसिएर बसेका थिए ।
पेमाले बाहिर आवाज ननिस्कनेगरी एकै पटकमा सबै कुरा छिनालेर भनी । दोर्जीले गिलासको छ्याङ् रित्याए । बाहिर निस्के । त्यो रात छार्काको आकाशभरि तारा टिलपिल गरेका थिए । वरपरका अग्ला चुचुराको सेतो हिउँ रातको अँध्यारोमा पनि प्रष्ट चिनिन्थ्यो । कति हजार वर्ष पहिलेदेखि डोल्पाको साल्दाङ्, छार्का, द्यो–तरापमा पुर्खा बसेका होलान् ? गुरु सेनरेव आउनुभन्दा पहिलेदेखि हाम्रा पुर्खा यहाँ बसेका थिए । त्यसैबेलादेखिको प्रकृति पूज्ने चलन अहिलेसम्म जीवित छ । जन्मेदेखि नाचेको पाखा–पखेरा, खोला, पाटन, लेक, याक, चौरी, नाउर, हिमचितुवा, वर्षे फूल, छार्का खोलाको चीसो र आकाशभन्दा नीलो पानी सबैलाई त्यो साँझ एकै पटक तारा हेर्दै सम्झ्यो । जन्मथलो छोडेर, के गरेर ठूलो परिवारको ताराबारा लगाउने दोर्जी अन्योलको भुँवरीभित्र छि¥यो । उसको कन्चेट बल्केको आफैँले थाहा पायो ।
पेमाले भनेको कुरा पुर्खासँग भन्दा पनि सिधै सन्तानको भविष्यसँग जोडिएको थियो ।
त्यो रात दोर्जी निदाउन सकेन । पेमाले भनेको कुरा र आफू जन्मेर, त्यहीँ हुर्केर बलौटे माटोसँग ददारिँदै खेलेको पखेरा र हिउँका चुचुरा, याक, चौरी र भेडाच्याङ्ग्राले घेरेर उसलाई फुत्कनै दिएनन् । मुस्ताङको पूर्वी आकाशमा गेरुपन देखियो । ससाना हिमाली भँगेरा चिरबिर गर्न थाले, हिमाली काग छार्का खोलावारि र पारि गर्न थाले । घामका किरण छार्का उपत्यकामा झर्दा नझर्दै प्रकृति र जीवजन्तु चलबलाउन थाले । सूर्यको किरणसँगै प्रकृतिको रङमा हुने परिवर्तन र जीवजन्तुमा आउने उमङ्गलाई दोर्जीले राम्रोसँग पढेको छ–अक्षर नचिने पनि ।
तीन मुखे फलामको चुलोमा गुइँठा बाल्यो र बिर्को लगाइदियो । पाइपबाट गुइँठाको धुँवा माटोको समथर छानो नाघेर हिमचितुवा लुक्ने पाखातिर उक्ल्यो । पानीका तीन कित्ली चुलोमा लहरै राख्यो र बाहिर निस्क्यो । किन–किन त्यो बिहान पूरै छार्कालाई अँगालो हाल्न मन लाग्यो दोर्जीलाई । उ आफू ४४ वर्षसम्म हिँडेको पखेरा, खर्क, पाटन, भन्ज्याङ तीर्थ र व्यापार गर्न तिब्बत गएको सबै ठाउँ दौडेर पुग्न चाह्यो । कित्लीको पानी नउम्लिँदै दौडेर पुग्ने कामना ग¥यो । पुरानो बोन गुम्बा र कानी चोर्तेन भएको थुम्कोमा चढ्यो । चारैतिर आँखा दौडायो । लम्पसार परेर सेनरेव र बुद्धलाई ढोग ग¥यो ।
तीनवटै कित्लीको पानी भकभक उम्लेको थियो । एउटा कित्लीमा पेमाले चौरीको घिउ, नुन र जडीबुटीको चिया राखेर सुचे बनाइसकेकी थिइन् । केटाकेटीले सुचेमा चम्पा घोलेर खाए । उनीहरूरूले नुन चिया थपिथपि पिए । ‘म ठूलो दाइलाई भेट्न जान्छु’ भन्दै दोर्जी बाहिर निस्क्यो ।
दोर्जीका जेठा दाइ पेम्बा रोकायाले छ्याङ तताएर पिउँदै थिए । दोर्जीलाई पनि एक गिलास छ्याङ दिदै भने ‘के भो ? आँखा रातो छा । अनुहार मलिन छा । रक्सि धेरै खायो कि ? कि झगडा गरिस् पेमासँग ? केहि नभन है पेमालाई । माइती टाढा छा । एक्लै रुन्छा ।’
थोरै छ्याङ सुरुप्प पियो । दुवै अँजुलीले अनुहार सोहो¥यो र अघिल्लो साँझ पेमाले भनेको सबै कुरा पेम्बालाई बेलीबिस्तार लगायो । भाइको कुरा सुनेपछि पेम्बाले पनि आफ्नो दुवै हातले अनुहार र आँखा बेस्सरी मिचे । बाहिर निस्के । भित्र पसे । छ्याङ् थपे, भाइलाई थपिदिँदै भने–‘भेडा खेद्ने मान्छे । शहरमा बोल्ना जान्दैना । मान्छेले हेप्छा । भोटे भन्छा । टिक्ना सक्छ कि सक्दैन तैँले ? झन घर बिगार्छ कि ? छोराछोरी पढाउन सक्यो भने त घर मात्र होइन, गाँउ–ठाँउ उज्यालो हुन्छा । आँट गर्छा भने जा । म के सक्छा ? सहयोग गर्छा ।’
पेमाले भनेझैँ– व्यवहार मिल्ने भयो । दाइभाउजुले सहयोग गर्ने भए । दोर्जीको दाइले भेडा, याक र चौरीको हिसाब गरेर पैसा दिए । उवाबारी पनि दाइले नै कमाउने भए । एक दिन लामाले जोखना हेरे । राम्रो दिन पारेर घरमा नै लामा राखेर पूजा पाठ गरियो । त्यो दिन वल्लो र पल्लो छार्काका सबै छिमेकीले खादा, बियर, छ्याङ, रक्सी, अण्डा लिएर आङ्गी, बख्खु पहिरेर भेट्न आए । आफन्तको बसाईसराईमा बिदाइका लागि पुगेका छिमेकी सबैको अनुहार कालो बादल लागेको दिन जस्तै मलिन देखिन्थ्यो ।
दोर्जीको परिवारले आफ्नो पुर्खाले गर्ने गरेको चलनअनुसार सबै पूजा गरे । याक, चौरी, भेडाच्याङग्रा चराउने लेक, खेत, बारी, उपत्यका, गुम्बा, चोर्तेन जताततै लुङदार फहराए, धुप बाले । प्रकृति, जीवजन्तु, माटो, पशुपंक्षी, हिमचितुवा र नाउर हिँड्ने पखेरा र तिनीहरूरू लुक्ने पहराका काँप सबैलाई नमन गरे । सबैका गहभरि टिलपिल आँशु पारेर आफ्ना आँशु पुछदै दोर्जीको परिवार छार्काबाट याक खर्क हुँदै त्यहाँको सबैभन्दा अग्लो धुरी जुनबेन ला नाघेर साङ्ता पुगे । पेमाको माइतीमा एक साता बिताएर जोमसोम, तातोपानी, घोडेपानी, बिरेठाँटी पैदल यात्रा गरी पोखरा पुगे । त्यहाँ भेडाच्याङग्रा बिक्री गर्न आउँदा बनाइएका साथीसँग एक महिना बिताए र काठमाडौँको स्वयम्भूनजिक दुई कोठा भाडामा लिएर बस्न थाले ।
पढ्न–लेख्न नजाने पनि दोर्जीभन्दा पेमा व्यवहारिक सीप भएकी, प्रष्ट बोल्ने, जुझारु र देश दर्शन गरेकी हुनाले पढाइको महŒव राम्ररी बुझेकी थिइन् । साङ्ताबाट ऊनका टोपी, पञ्जा, मोजा, दामोदर कुण्डको कुश र शालीग्राम लिएर आफ्ना बाबु, दाइसँग भारतको आसामसम्म पुगेकी थिइन्–जाडो छल्दै व्यापारका लागि । कालीगण्डकी र ब्रह्मपुत्रको पानीले उनलाई संस्कार र संस्कृति सिकाएको थियो । उनको एउटै धोको थियो–सन्तानलाई अक्षर चिनाउने ।
कठोर आर्थिक अवस्थाका बेला पेमाले भोकभोकै रात बिताएको दोर्जी र तीन सन्तानले चालै पाएनन् । उनको एक मात्र लक्ष्य थियो दुई छोरा र छोरीलाई भेदभाव नगरी शिक्षा दिने । तिनीहरूले शिर ठाडो गरेर हिँडेको र पेटभर खाएको मन लाएर हेर्ने । स्वयम्भूमा कोठा लिएर १४ वर्षको छोरा दावालाई कक्षा चार, १२ वर्षकी याङ्जीलाई कक्षा तीन र नौ वर्षको कान्छो छोरा बुद्धलाई कक्षा दुईमा वनस्थलीमा भर्ना गरे । शहरका बालबालिकाले १४–१५ वर्षको उमेरमा दस कक्षाको परीक्षा दिन्छन् । डोल्पाको हिमाली क्षेत्रमा हुर्केका पेमाका सन्तान खाइलाग्दा, अग्ला र तिनीहरूरूका गाला मार्फाका स्याउजस्तै राता थिए ।
त्यसैले कक्षामा अरुभन्दा तिनीहरूरू उमेर बढि र शारीरिक बनोटमा पनि अग्ला मोटा देखिन्थे । केटाकेटीको स्तर राम्रो बनाउन पेमाले घरमा अङ्ग्रेजी, हिसाब, नेपाली र विज्ञान विषयको छुट्टै ट्युसन राखिदिइन् । पेमाले घरको काम र बच्चाहरू हेर्ने गरिन् । उनले फुर्सदको क्षण ऊनी धागो डल्लो पार्ने गर्थिन् जसबाट प्रतिकिलो रुपैयाँ एक कमाउँथिन् । दोर्जीले भने जडीबुटीको व्यापार गर्न थाले जुन उनले पहिले डोल्पामा हिउँ पर्न थालेपछि औल झरेर गर्ने गर्थे ।
डोल्पाबाट काठमाडौँ छिरेपछिको एक दशक दोर्जी दम्पत्तिको लागि डोल्पाको जीवनभन्दा कष्टकर भयो । तीन जनाको पढाइ खर्च धान्न महाप्रलय नै भयो । धेरै पटक डोल्पा नै फर्कने कुरा भयो । दोर्जीले पेमालाई ‘तैँले गर्दा डोल्पा पनि छोडनुप¥यो । न घर न घाट को हुने भइयो ।’ भनिरहन्थे । तर पेमा भने दुःखसँग हारेकी थिइनन् । पेमाको पीडा, कष्ट, भोक, रोग, अभाव सहन सक्ने क्षमतासँग बरु दोर्जी नै धेरै पटक हारेका थिए ।
छार्का खोलाझैँ समय बगिरह्यो । आफूले कल्पना गरेको कुरा यथार्थमा परिणत भएकाले पेमा खुसी थिइन् । सुरुका दिनमा जस्तो पैसाको दुःख उनलाई भएन । तीनै जना छोराछोरीले एसएलसी पास गरे । त्यसपछि पेमाले बौद्ध र स्वयम्भू गएर बत्ती बालिन् । आमाबाबुले के कति दुःख गरेर उनीहरूलाई शिक्षा दिए भन्ने कुरा केटाकेटीले त्यति चाल पाएनन् ।
केटाकेटीको स्कुलको अध्ययन सकियो । सधैझैँ त्यस वर्ष पनि माघ महिनामा नेपालभर अरब सागरबाट आएको चिसो हावासँगै पानी प¥यो । पामीर, हिन्दूकुश, काराकोरम हुँदै आएको चिसो हावाले हुम्ला, दार्चुला, मुगु, डोल्पा हुँदै कञ्चनजङ्घासम्म हिउँ प¥यो । पश्चिममा भन्दा पूर्वमा कम हिउँ प¥यो वर्षामा मनसुन पूर्वमा भन्दा पश्चिममा कम भएझैँ । प्रकृतिको त्यो तालिका । त्यस वर्ष डोल्पामा धेरै भेडा, याक र चौरी मरे । गुइँठा र दाउरा सकिएपछि वृद्ध आमा, बा र ससाना बालबालिकाले हिउँ थेग्न सकेनन् । पेमा र दोर्जीले डोल्पामा पुसमाघमा परेको हिउँको खबर धेरै ढिलो गरी पाएका थिए । आज जस्तो त्यसबेला फोन थिएन ।
मौसममा सुधार भयो । ताजा हिउँले उपल्लो क्षेत्रका पहाड र हिमचुचुरा दुलहीझैँ सिँगारिए । कलिलो घाममा चराचुरुङ्गी, घरपालुवा र जङ्गली जनावर पाखापखेरामा नयाँ उमङ्ग लिएर रमाउन थाले । यता दोर्जीको जीवनमा पनि बादल फाटेर नीलो आकाश देखिएझैँ हुन थाल्यो । दोर्जीको व्यापार बढ्यो । केटाकेटीले कलेज पढ्न थाले । झण्डै पाँच वर्ष उनले यार्सागुम्बा, चिराइतो, पाँचऔले र अन्य जडीबुटीको व्यापार गरे । त्यसले पेमाको सपना साकार पार्न मद्दत ग¥यो । उनीहरूलाई काठमाडौँ बस्न र छोराछोरीलाई विदेशमा उच्च शिक्षाका लागि पठाउन बल दियो । त्यसैबेला उनले सानो भ¥याङ स्वयम्भूनजिक एक रोपनी जग्गा लिए । त्यहीँ घर बनाए । त्यसपछि उनले साँखुभन्दा माथि रहेको जहरसिँहपौवामा दश रोपनी पाखो बारी किने ।
मानिसको जीवन कष्ट, पीडा, झन्झटबिना गुजँ्रदैन । पेमा र दोर्जीमा छोराछोरीको कलेजको पढाइपछि परिवारको व्यवस्थापन गर्ने धारणामा परिवर्तन आउन थाले । डोल्पामा हुँदा छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोच नै नभएका दोर्जीलाई पेमाले सम्झाएर काठमाडौँ ल्याएकी थिइन् । काठमाडौँमा पढेपछि नेपालमा नै आफ्नो पारिवारिक चलनबमोजिम घरजम गरेर सानोतिनो काम गरेर आफ्नो वरपर नै केटाकेटी बसून् भन्ने पेमा चाहन्थिन् । तर, दोर्जी भने त्यत्तिमा सन्तुष्ट भएनन् । उनले काठमाडौँका अरू मानिसका छोराछोरी अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया गएको देखे । नेपालमा राजनैतिक अस्थिरताले गर्दा जागिरको कुनै सम्भावना नभएकाले बी.ए., बी.कम गरेका तीनै जना छोराछोरीलाई विदेश पढ्न पठाउने निधो गरे । त्यसबेला उनले साल्दाङ उपत्यकाभन्दा ठूलो छाती बनाए ।
पेमाले धेरै पटक ‘बाहिर पठाउने नै हो भने बिहे गरेर पठाऊँ । उमेर पुगेका छोराछोरीलाई त्यत्तिकै पठाउन हँुदैन । हामी बिमारी हुँदा औषधी खान दिने एक सन्तान साथी साथमा नै राखौँ ।’ भनेको कुरा दोर्जीले मरी गए सुनेनन् ।
‘हामी बुढो हुँदा हेर्छन भनेर छोराछोरी विदेश पढ्न जान नदिने ? त्यस्तो स्थार्थी हुन हँुदैन । जे होला त्यही टर्ला । तिनीहरूको इच्छा छ भने जान दे । पीर नगर’ दोर्जीले भन्थे । नभन्दै तीनै जना अमेरिका नै छिरे ।
छरछिमेकीले खुसी व्यक्त गर्दै कोसेली लिएर पेमालाई भेट्न आए तापनि छोराछोरी विदेश गएकोमा उनी खुसी थिइनन् । ‘अब एक्लो हुने भइयो । यी फर्कँदैनन् । हामीले भनेको पनि मान्दैनन् । बिहे गरेर पठाइदिएको भए कमसेकम नाता टुट्दैनथ्यो’ भन्ने कुराले उनी धेरै पिरलिएकी थिइन् । दोर्जीले पेमाको त्यो मनलाई पढ्न सकेनन् । छोराछोरीलाई जति सक्छ पढाउनुपर्छ भन्ने कुराको भूत उनको दिमागमा चढेको थियो । उनले आफ्नो बुढ्यौलीलाई पटक्कै सोचेनन् । उल्टै पेमालाई‘तँलाई के थाहा ?’ भन्न थाले ।
कहिल्यै चर्को आवाज ननिकाल्ने ती दुई दम्पत्तिमा ठाकठुक पर्न थाल्यो । त्यसबेला अमेरिका पढ्न पठाउने कुराले सामाजिक मान्यता पाएको थियो । त्यसमा पनि डोल्पाबाट काठमाडौँ झरेको गाउँलेका तीनै जना छोराछोरी उच्च शिक्षा लिन अमेरिका जाने कुरा चानचुने थिएन । मानव जातिमा रिस, आरिस गर्ने चलन भए पनि पेमाको भने कसैले आरिस गरेनन् । किनभने स्वयम्भूनजिक उनका आफन्त कोही थिएनन् ।
दोर्जीले ‘तैँले पीर नगर, हाम्रा छोराछोरी अरूका जस्ता छैनन् । हामी डोल्पाको त्यस्तो विकट ठाउँबाट आएको हो । हामीले डोल्पाको माटो र संस्कृतिलाई भुल्न हुँदैन भन्ने कुरा उनीहरूले बिर्सँदैनन् ।’ भन्थे ।
पेमाले संसारलाई आमा भएर बुझेकी थिइन् । दोर्जीले व्यवहारिक रूपमा भोलि एक्लै हुँदा के होला भन्ने पटक्कै सोच्दैनथे । बिहान बेलुका देशको माटो निधारमा दल्ने दोर्जी देशमा भएको अशान्ति र अराजकताले वाक्क भएका थिए । राजनैतिक परिवर्तन पछि नेपालले पनि चीनले झैँ आर्थिक फड्को मार्छ । दश वर्षमा त डोल्पातिर पनि कसो प्रजातन्त्र न पुग्ला र ? भन्ने दोर्जी देशको लामो र विकराल अराजक सङ्क्रमणले वाक्कदिक्क बनेका थिए । ‘छोराछोरीले उच्च शिक्षा लिएर राम्रो जीवन बिताए भने सबै ठीक भैहाल्छ । बुढेसकालका लागि भनेर कस्का छोराछोरी आमाबासँग बसेका छन् र ? आफूसँगै भएका सन्तानले पनि बृद्धाबस्थामा आमा–बालाई पशुपतिको बृद्धाश्रममा छोडेको देखिनस् र ? हामीले डोल्पा छोडेर यहाँ आएको होइन र ?’ दोर्जीले पेमालाई सम्झाउँदै प्रतिप्रश्न गर्थे ।
कस्को कुरा सही हो ? त्यो त समयले नै बताउँछ । सोचेजस्तो कहाँ हुन्छ र जीवन ? सायद जीवनमा पनि वेदका जस्तै अध्याय हुन्छन् क्यार ? जुन दिन तीनै सन्तान पढ्न बिदेसिए त्यसको केही समयसम्म दोर्जी खुसी देखिन्थे । डोल्पाको छार्कामा जन्मेर हुर्केका सन्तानलाई चौरीको पुच्छर समात्न छुटाएर नेपाल पु¥याए । त्यसमा मात्र सन्तोष मानेनन् । त्यहाँबाट अमेरिका पु¥याए । त्यहाँ लुकेर गएका होइनन् कलेजले छात्रवृत्ति दिएर गएका हुन् । के त्यो दोर्जीको लागि ठूलो कुरो थिएन र ? अवश्य थियो । त्यसमा उनी सफल भएका थिए । छार्का गुम्बाका लामाले समेत उनको घरमा नै गएर विशेष पाठ गरिदिएका थिए । त्यो दिनको त्यो क्षण दोर्जीले आफू पूर्ण सफल भएको ठान्थे । साथीसँगीसँग कुरा पनि गर्थे ।
तर, अहँ पेमाको हृदय भने हाँसेको थिएन । उनको पहिलो पुस्ता छार्काबाट काठमाडौँमा बसोस् भन्ने उनी चाहन्थिन् । पहिले पेमाको कुरालाई सर्लक्कै मान्ने दोर्जीले पछिल्लो चरणमा उनका कुरा सुनेनन् । ‘मैले छोराछोरीको कलेज पढ्नासाथ बिहे गरिदे भनेको मानेनस् । लोग्नेमान्छे छिटो भत्कन्छ । तँ भत्कन्छस् । तँलाई रुन पर्ला । म आमा हो बुझिस् । आमा भनेको साङ्ताको जर्जरे भूमि हो जहाँ उवा फल्छ । त्यो सम्झी । म त के भो र ? चोट, दर्द र आँशु त मेरा प्यारा साथी हुन् । तिनलाई लिएर म छार्काको हिउँमा खेल्न सक्छु । तर तँ फुट्नेछस् । त्यसबेला मलाई केही नभनेस् । ’ पेमाले बारम्बार भन्थिन् । नेपाल नै बसून् नभए पनि बिहे गरेर मात्र विदेश पठाउने उनको जोडलाई दोर्जीले वास्तै गरेन । त्यसपछि पेमाको मन नराम्ररी भाँचियो ।
‘बिहे गरेपछि सङ्कट आउँछ । पारिवारिक झमेलाले गर्दा केटाकेटीले राम्रो पढ्न सक्दैना । तैँले यो कुरा बुझ्दैना । पढन दे । पढि सकेपछि बिहे गरिदिउला नि ! हाम्रो छोराछोरी धेरै ज्ञानी छन् । तेरो र मेरो भावना, दुःख, मर्म, धर्म र संस्कार बुझेका छन् । चिसो हिउँमा खेलेका नानी हुन् औलका होइनन् । विपरित हुँदैन । मेरो जिम्मा भो । तँ दुःख नमान् । फराकिलो सोँच राख्नुपर्छ । जसरी चौरी र याक लेखमा चर्दैचर्दै माथिमाथि पुग्छन् त्यसैगरी तिनलाई पनि पढेर माथि पुग्न दे । ’ दोर्जीले सम्झाउँदै भन्थे।
पछिल्ला दिनमा दुई दम्पत्तिको धारणामा फरक देखिन थाल्यो । ऋतुमा परिवर्तन भयो । फेरि हिउँद लाग्न थाल्यो । नीलो छार्का खोला सानी भेरी भएर बग्न हतारिएर हुत्तिदै झर्दै थियो । दाउरा, गुइँठा, घाँस, अन्नपात हिउँदलाई पुग्नेगरी सबैले राखे । कुन–कुन याक, चौरी र भेडा कहिलेदेखि बेँसी झार्ने हो छलफल हुन थाल्यो । यस पटक लुम्बिनि र तीलौराकोट जाने कि नजाने टुङगो भएन । छार्काका गाउँले हिउँदको व्यवस्थापन गर्दै थिए । हिउँदमा हिउँ परे पछि कतै जान पनि सकिँदैन । चिसोले गाउँमा बस्न पनि सकिँदैन त्यसैले पालो गरी गाउँ हेर्ने मानिस राखेर सबै तल झर्छन् । त्यसैबेला हिमालबाट बोकेर लगेको जिम्मु, बोदो, यार्सागुम्बा, शिलाजीतको व्यापार गर्छन्, बोन र बौद्ध गुम्बा, पशुपति, स्वयम्भू, कागबेनी, मुक्तिनाथको दर्शन गर्छन् र फर्कँदा घरलाई चाहिने सामान लिएर उकालो लाग्छन् । हरेक वर्ष त्यस्तै हुन्छ । त्यो वर्ष पनि हिउँ अचाक्ली नै प¥यो । उवा, आलु र जौ फल्ने भो भनेर किसान खुसी देखिन्थे।
यता पेमाको अनुहार बादलिएको भने धेरै भएको थियो ।
तीनै जना सन्तान उच्च शिक्षा हासिल गरेर आ–आफ्नो जिम्मेवारी लिएर काम गर्न थालेका थिए –अमेरिकामा । पहिलो पुस्ताको नेपालीको रूपमा नै किन नहोस्, उनीहरूको राम्रो आर्जन भएकाले स्तरीय थियो– अमेरीका बसाइँ ।
तीनै जना छोराछोरीले पढाइ सकेर काम गर्न सुरु गरेपछि दोर्जीले जडीबुटीको व्यापार छोडिदिए । व्यापारबाट बचेको केहि रकम उनले पेमा र आफ्नो बैँक खातामा जम्मा गरेका थिए, त्यसको ब्याजले दुई जनालाई मनग्य पुग्थ्यो ।
छोराछोरी अमेरिका छिरेपछि पेमाको हृदय कट्कट् खान थाल्यो । चन्द्रमामा घेरा भएझैँ आफ्नो जीवनमा त्यस्तै कालो घेरा देख्न थालिन् । मानिस निकै स्वार्थी हुन्छ । ऊ सन्तोष मानेर बस्दैन । अनि दुःख पाउँछ । दोर्जीले दुःख पाउने भयो भन्ने कुरा पेमाले झलझली देखिन् । त्यस्तोमा उनले उनी खेलेको साङ्ता र कालीगण्डकीको विशाल बगरलार्इं सम्झन थालिन् ।
एउटा सुखी र सानो परिवारमा नयाँ चाहनापछि असन्तोष देखापर्न थाल्यो । छब्बीस वर्षको दावा अमेरिका उड्दा दोर्जी जति खुसी थिए त्यत्तिकै दुःखी थिइन् पेमा । दोर्जीले भविष्यमा हुने कुरा केहि देखेका थिएनन्, तर पेमाले देखेकी थिइन् । छिमेकीका छोराछोरी पाताल पुगेपछि भासिएका कथा उनले स्वयम्भू र सानो भ¥याङमा धेरै सुनेकी थिइन् । उनले दावा पढ्न भनेर गएको भए तापनि फर्कँदैन–भन्नेमा ढुक्क थिइन् । त्यसैले उनले मुटु निचोरेकी थिइन् ।
आमाको सोचाइ सही साबित भयो । अरू दिन जस्तै लेन्डलाइनमा फोन आयो । पेमाले उठाइन । दोर्जी घरमा थिएनन् । ठूलो छोरा दावाको नेपालमा भएको साथीको फोन थियो । ‘अन्टी, दावाले त उता एक अमेरिकन केटीसँग बिहे गरे छ नि ! फेसबुकमा फोटो राखेको छ । तपार्इंलाई थाह छ कि छैन ?’
‘एक अमेरिकन केटीसँग बिहे गरे छ नि !’ भन्नेसम्म उनले सुनिन् । त्यसपछि पेमा बेहोस भइन् ।
त्यो क्रम रोकिएन । बेहोस हुने क्रम बढ्यो । छोरीले एक जना अमेरिकन चाईनिज र कान्छोले एक जना अमेरिकन नेपालीसँग बिहे गरेको खबर पेमा र दोर्जीले पालैसँग थाहा पाए । बाबु र आमाको मन कति पटक भाँचियो, कति पटक आरनमा पोलियो, कति पटक कालीको भेलमा हेलियो थाहै भएन । पाँच वर्षसम्म पेमा आँशुको आहालमा डुबिन् ।
दोर्जीले सबै काम छोडे । उनी पनि बाहिर निस्केनन् । उनी बाबु भएको घमण्ड चुरचुर भयो । पेमा दोर्जीसँग झगडा गर्दै बरबर्ती आँशु झार्दै ‘मैले बिहे गरेर पठाउ भनेको मानिनस् अब एक्लै रुदै मर्’ भन्थिन् ।
साँचो हो । दोर्जी एक्लै रुन्थे । झस्कन्थे । कहिलेकाँही आफैलाई चिथोर्थे । ‘हाम्रो मात्र हो र ? सबैको त्यस्तै छ । अरुको कथा पढेर बाँच्न जान्नपर्छ । छोराछोरी भोकै मर्दैनन्, शिक्षित छन् । बेरोजगार छैनन्, कुलतमा फसेका छैनन् । त्यो भन्दा खुसीको कुरा आमा–बाबुलाई अरु केहि हुन्छ र श्र? उनीहरूको जीवनसाथी उनीहरूले नै छाने के भो त ? मैले पेमालाई छानेको होईन र ? फरक के भने मैले आमा–बाबु, दाइ–भाउजुको स्वीकृति लिएँ । छोराछोरीले लिएनन् ।’ भन्दै आफँैलाई सम्हाल्थे ।
पेमाले दस पर्व पहिल्यै देखेको दृश्य आज सत्य भयो जुन दोर्जीले सोचेकै थिएनन् । त्यसैले बढी टुक्रिए उनी । पेमाले भनेको मानेको भए आज उनीहरू जिउँदै मर्ने थिएनन् । हुन त नेपाली समाजमा परिवर्तन हँुदै थियो । दोर्जी र पेमाको घरमा घटेका घटना त सामान्य थिए । तर अचम्म के भने तीनै सन्तानले बिहे गर्दा आफ्ना आमाबाबुलाई एक पटक पनि सम्झेनन् । किन होला ? आफ्ना छोराछोरीले आमाबाबुलाई खबरै नगरीकन कसरी बिहे गर्न सके होलान् ? के बिहे गर्दा उनीहरूको आँखाअगाडि आमाबाबु देखिएनन् होला ? कसरी आमाबाबुलाई खबर नै नगरी बिहे गर्ने आँट गरे होलान् ? त्यो प्रश्न अनुत्तरित रहि नै रह्यो ।
उनीहरूको मन भाँचियो र टुक्राटुक्रा भयो । त्यस पछि स्वर्गजस्तो त्यो घर, घर नै रहेन । जब घर बिग्रन थाल्छ, सबै कुरा पानीझैँ ओरालो लाग्छ । त्यहाँ पनि त्यस्तै भयो । दोर्जी र पेमाको घरमा झगडा नभएको दिन नै हुँदैनथ्यो । दुई–तीन दिनसम्म खाना पाक्दैनथ्यो । चिया र तातो पानी खाएर दिन बित्थे । तर झगडा साम्य भएन । पेमाले ‘मैले भनेको मानेर कलेज सकेपछि बिहे गरिदिएको भए तँलाई रुन पथ्र्यो ? के पाइस् तैँले छोराछोरीलाई विदेशमा पढाएर ? तँ बाबु होस् भन्ने कुनै हेक्का राखे तेरा सन्तानले ? अब रोएर बस् । मैले त भनेकै थिए नि तैँले मानिनस् ।’ पेमाका शब्दवाणले दोर्जी झन् प्रताडित बन्थ्यो । कहिलेकाहीँ जुरुक्क उठेर तीन–चार दिनसम्म हराउँथ्यो र रुझेको बिरालोजस्तो भएर फर्कन्थ्यो ।
झगडा रोकिएन । सन्तानसँगको सम्पर्क विच्छेद भयो । अमेरिकाबाट तीनै छोराछोरीले हरेक दिन बिहान–बेलुका फोन गर्थे तर न दोर्जीले फोन उठाए न त पेमाले नै । सन्तानप्रतिको मायाले पेमा भक्कानिँदै रुन्थिन् तर हृदयमा घाउ लागेकाले फोन भने कहिल्यै उठाइनन् । यतिसम्म भयो कि आमा खुवाउने औँशीमा छोराछोरीले पठाएको उपहार पनि दोर्जीले बुझ्न मानेनन् । सबै कुरा नकारात्मक धारतिर बग्न थाल्यो । माया र प्रेम एक्लाएक्लै आँशुका धारामा परिणत भए । पेमाको आँखाका आँशु नै सुके । सन्तानले आमाबाबुलाई सम्झाउन नसक्नु र आमाबाबुले सन्तानले गरेको गल्तीलाई माफ गर्न नसक्नु, समयलाई बझ्न नसक्दा वृद्धावस्थामा ती दुई दम्पत्तिको जीवन दुःखको पोखरीमा चुर्लुम्म डुब्यो ।
पेमा र दोर्जीबिच यतिसम्म झगडा हुन थाल्यो कि ती दुई सँगै बस्ने अवस्था नै रहेन । ‘तैँले गर्दा हाम्रा सन्तान टाढा भए’ पेमाले दिनहुँ रुदै आक्रोश पोख्थिन् । ‘पढ्न पठाउनु मेरो गल्ती हो र ?’ दोर्जीले जवाफ दिन्थे र त्यसैमा झगडाले उग्र रूप लिन्थ्यो । पेमाको माया रक्तकालीको जस्तै उग्रतामा रूपान्तरण भएको थियो । चुपचाप बस्न पनि दोर्जीलाई कठिन भयो ।
अप्रिय घटना नघटोस् भनेर एक दिन सत्तरी वर्षका दोर्जी र साठी वर्षकी पेमा दुवै जनाले चिया पिउँदै सल्लाह गरेर चालिस वर्षको प्रेमको लामो यात्रालाई भाँच्ने निर्णय गरे । स्वयम्भूमा रहेको घरमा पेमालाई छोडेर दोर्जी जहरसिँहपौवातिर लागे । उनीहरू बिचको साङतामा झाङ्गिएको गहिरो प्रेममा पूर्णविराम लाग्यो । पेमाको छातीमा लागेको घाउ दोर्जीको प्रेमले निको पार्न सकेन । दुवैले एकअर्काको पीडालाई बुझे पनि पीडा प्रेममा रूपान्तरित भएर शेफोक्सुण्डो तालजस्तै शान्त हुनुपर्नेमा साउनमा हुने कालीगण्डकीको जस्तै आक्रोशको भेल भएर उल्र्यो ।
दोर्जीले जहरसिँहपौवामा काठको सानो घर बनाए । वरपरको जग्गामा फलपूmल र खेतिपातीले ढकमक्क पारे । दिनको तीन–चार पटक उनी भक्कानो छोडेर बारीको कुनामा एक्लै रुन्थे । त्यसपछि उनको छाती हलुका भएको महसुस गर्थे र बगैँचामा काम गर्थे । त्यहीँ बस्दा सबैसँग उनको राम्रो सम्बन्ध भएको थियो । सबैले उनलाई ‘रोका बा’ भन्दै साह्रै माया गर्थे ।
उता पेमा पति, छोरा, बुहारी, नाति, नातिनीको बिच रमाएर बस्ने बेला एकान्तबासमा थिइन । बुढेसकालमा साथीसँगीको आवश्यकता पर्ने बेला ती दुई भने एक्लाएक्लै बसे । समयसँग सम्झौता गर्न नमान्दा सुन्दर परिवार कुरूप बन्यो । दिनहँु हुने झगडाले आक्रान्त हुनुभन्दा छुट्टै बस्दा ती दुई सुखीजस्ता देखिन्थे । हृदयभित्र जलेको पीडा त जसको हृदय जलेको छ उसले बाहेक अरुले कहाँ देख्न सक्छ र ?
‘जे भए पनि पेमाले एक्लै छोड्न नहुने ’ उनीहरूको कथा थाहा पाएका नजिकका छिमेकीले स्वयम्भूको परिक्रमा गर्दा कुरा गर्थे । ‘पेमालाई दुःख नदिनु है’ भन्ने दाजुको वचन दोर्जीले पालना गरेन ‘मर्नेबेला मुखमा पानी हाल्ने कोहि भएन । म भए त थपक्क छोराछोरीकोमा गएर बस्थेँ । घमण्डको फल खाएपछि थाह पाउँछन् ती दुवैले’ छार्कातिरबाट तीर्थ गर्न आएका छिमेकीबिच कुरा हुन्थ्यो ।
जीवनले कहाँ पुगेर कुन मोड लिन्छ थाहा नहुँदो रहेछ र त्यहीँ नै साँचो जीवन रहेछ । एक वर्ष बुद्ध पुर्णिमाको दिन बौद्धनाथ स्तूपाको परिक्रमा गरेर पेमाले १३ वटा बत्ती बालेको दोर्जीले देख्यो । उनले बत्ती बालिसकेपछि फर्कँदा दोर्जीलाई देखिन् । समय घर्कन कति बेर र ! ती दम्पत्तिबीच भेट नभएको बार वर्ष भएछ । दुवैले एकअर्कालाई गहिरोसँग हेराहेर गरे । आँशुका बलिन्धारा झार्दै उनी आफ्नो बाटो लागिन् । दोर्जीको छाती भारी भयो । साङतामा गाँसेको प्रेमको गाँठो नेपाल छिरेर यसरी टुट्ला भन्ने कसलाई थाहा थियो र ? समयसँग हिँड्न खोज्दा अनि समयलाई चिनेर समयसँगै सम्झौता गरेर छार्का खोलाझँै बग्नुपर्नेमा त्यसो गर्न नसक्दा त्यो सानो सुखी परिवार क्षतविक्षत भएको थियो ।
दोर्जीको मन साँच्चिकै डामिएको थियो । उनले संसारलाई राम्रैसँग बुझेको ठान्थे । उमेर घर्कँदै गए पनि उनले आफ्नो अडान छोडेनन् । सन्तानप्रतिको उत्कट माया भए तापनि सन्तानले आमा र बाबुको मर्ममा प्रहार गरेकाले स्नेहलाई मनबाट आँशुमा पोखिदिए । छियाछिया भएको ह्दयलाई सिउने प्रयासनै गरेनन् ।
चौरासी वर्ष पुगेको दिन बौद्ध र पशुपतिनाथ मन्दिर परिसरको किरातेश्वर महादेवको मन्दिरमा गएर बत्ती बाले । त्यही दिन त्यतैबाट उनी तिलगँगा आँखा अस्पतालमा पुगेर डा. सन्तुक रुईतलाई भेटेर आँखा जाँच गरे । उनकै सामु मृत्युपछि आँखा दान गर्ने सम्झौता गरे । त्यसपछि उनी सरासर महाराजगञ्जको शिक्षण अस्पताल पुगे । निर्देशकलाई भेटे, आफ्नो र परिवारको विवरण दिए र मृत्युपछिको शरीर दान गर्ने कागजमा सहीछाप गरे र जहरसिँहपौवामा फर्के ।
त्यस दिन उनी निकै खुसी देखिन्थे । शरीर हलुका र जीवन पूर्ण भएको उनले महसुस गरेका थिए । जहरसिँहपौवाको जमिनको लालपुर्जा र बैँकका चेकबुक दराजमा एकै ठाउँमा राखे । बुद्ध पूर्णिमाको दिन पेमाले बालेका तेह्र बत्ती क–कसका होलान् ? उनले गन्न थाले । आफू दुई र छोरा–छोरी, बुहारी र ज्वाइँ गर्दा आठ पु¥याए । पाँच थप सन्तान उनको वंशमा थपिनुकासाथै पेमा छोराछोरीसँग सम्पर्कमा रहेको अनुमान गरे । ‘आमा न हो, छोरा–छोरीसँग फोनमा पनि कुरा नगरे कसरी बाँचोस् त! आफैलाई आश्वस्त पारे । सोफाबाट जुरुक्क उठे । दराजको ऐनामा आफूलाई हेरे । मुसुुक्क एक पटक हाँसे । अनि बलिन्धारा झारे र थचक्क सोफामा बसे ।
त्यस दिन रातको दुई बजे उनको मुटु नराम्रोसँग दुख्यो । उनले पेमालाई फोन गरे । अमेरिका भएका तीनै छोराछोरीलाई एक–एक पटक फोन गरे । संयोगको कुरा त्यस दिन कसैको फोन उठेन । त्यसपछि आँखा अस्पताल र महाराजगन्ज शिक्षण अस्पतालमा फोन गरेर उनको मुटु विछट्टै दुखेकाले एम्बुलेन्स पठाइदिन आग्रह गरे । त्यसपछि दोर्जी त्यही सोफामा नै अन्तिम मुस्कान छोडेर सधैँको लागि आराम गरे ।
त्यो बिहान हुईहुई साइरन बजेको सुने पछि गाउँका छिमेकी भेला भइसकेका थिए । सबैका आँखाबाट आँशु झरेका थिए । तिलगँगाको समूहले आँखा झिकेर लगे । महाराजगञ्जको टोलीले छातीको देब्रेभागबाट मुटुको एक अंश झिकेर आईसको बट्टामा राखे । दोर्जीले उनको परिवारले लाश माग्न आएमा दाहसंस्कारको लागि त्यो मुटु दिनु भनेर सम्झौता गरेका थिए । दोर्जीले संसार छोडेको गरेको तेस्रो दिन उनको परिवारका बारजना सदस्य महाराजगञ्ज पुगे । दान गरिएको लाशमाथि सबैले आँशुका पुष्पगुच्छा चढाए । आइसको बट्टामा राखेको मुटुको एक टुक्रा लिएर आर्यघाट हुदै स्वयम्भू अनि डोल्पाको छार्कातिर गए । कपन, काठमाडौँ

देवीको वास खयर भारानी ताल

धन्यवाद सहित साभारः जनमत साहित्कि मासिक २०७६ जेठ, अंक २६०

Bishnu P Sharma Parajuliविष्णुप्रसाद शर्मा पराजुली
हिमाल, हिमताल, ताल, हिमनदी, नदी खोलाहरुले सजाईएको सुन्दर देश हो नेपाल । हाम्रो देशमा रहेका सबै नदी, हिमाल, तालतलैया प्राकृतिक रुपमा सुन्दर र लोभलाग्दा त छन् नै त्यसमाथि सबैले भौगोलिक, ऐतिहासिक, धार्मिक एवँ सांस्कृतिक महत्व बोकेका हुन्छन् । समुद्र सतहदेखि तीन हजार मिटरभन्दा माथि रहेका तालतलैयाको मात्र कुरा गर्ने हो भने पनि त्यस्ता तालहरु नेपालमा हजारौँ छन् । केहि तालको बाहेक प्राकृतिक सुन्दरता, ऐतिहासिक धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वबारे चर्चा नगरिएको मात्र होइन कि तिनको विवरणसम्म पनि संकलन गरिएको छैन । विश्वका बीसभन्दा बढि देशका पर्यटकको आकर्षणको केन्द्र, रक्षावन्धनका दिन विशेष मेला लाग्ने, देवीको वास भएको, चाडपर्व र संस्कृति बोकेको त्यस्तै ताल हो खयर भारानी ।
नयाँ संबैधानिक प्रावधान अनुसार स्थानीय सरकारले कसैको भर नपरी, आ–आफ्नो क्षेत्रमा भएका त्यस्ता महत्वपूर्ण ताल र स्थानको खोज गरेर सूचीकरण गर्न प्रतिस्पर्धा गर्नु पर्छ । त्यसोगर्दा त्यस्ता सम्पदाको राष्ट्रिय तहमा सूचीकृत भई मुलप्रवाहमा जोडन सकिन्छ । नेपालमा ३ हजार मिटरभन्दा माथि थुप्रै विश्व चर्चित, आर्कषक, जीवजन्तु र वनस्पतिवारे अध्ययन गर्न मिल्ने सयौँ तालहरु छन् । सोलुखुम्बुमा रहेका इम्जात्से, गोक्यो र दूध कुण्ड, दोलखाको च्छोरोल्पा, सिन्धुपाल्चोकको भैरव कुण्ड र पाँच पोखरी, रसुवाको गोसाइकुण्ढ, लमजुङको दूधकुण्ड, मनाङको तिलिचो र गंगापुर्ण, मुस्ताङको दामोदर कुण्ड, म्याग्दीको खयर भारानी ताल, डोल्पाको से–फोक्सुण्डो, मुगुको राराताल लगायत हजारौँ सानाठूला हिमताल छन् । त्यसबाहेक तीन हजार मिटरभन्दा तल पोखराको फेवा ताल र त्यस्तै महत्वराख्ने, त्यत्तिकै सुन्दर हजारौं ताल, कुण्ड र पोखरी छन् । तिनीहरुको विवरण छैन । प्रचार भए तापनि ती चाडपर्वमा सिमित छन् ।
यसै सन्दर्भमा मैले यहाँ प्राकृतिक, धार्मिक तथा सांस्कृतिक रुपमा उत्तिकै महत्वपूर्ण स्थान ओगटेको म्याग्दी जिल्लाको उत्तरमा खोप्रा भन्ने स्थानमा रहेको खयर भारानी तालको बारेमा केहि जानकारी दिने प्रयासमा छु । सुन्दर खयर भारानी हिमताल अन्नपूर्ण दक्षिणको पश्चिम काखमा अवस्थित छ । तालको पूर्वी किनारमा खयरभारानी देवीको सानो मन्दिर छ । समुद्र सतहदेखि ४ हजार ६ सय मिटरको उचाईमा रहेको यो तालमा हिउँदको समयमा चार–पाँच इन्चसम्म आइस जमेको हुन्छ । प्रायः हिउँदको समय ताल आइसमा परिणत हुन्छ । २०७४ पुस ७ गते कपनका साथीहरुसँग त्यहाँ पुग्दा तालको पूर्वतर्फको ७० प्रतिशत भागमा करिव एक इन्च बाक्लो आईस जमेको थियो भने पश्चिम खण्डमा अत्यन्त गाढा नीलो निर्मल पानी सूर्योदयको किरणसँगै झलझल भएर चम्केको थियो ।
ताल, चारैतिरबाट अग्ला हिमाल, काला चट्टान, हिमनदीले बगाएर थुपारेका गेगर र ढुङ्गा (मोराइन)ले घेरिएको छ । तालको पूर्वमा अन्नपूर्ण दक्षिणको पश्चिमभाग, पश्चिममा फाङ र नीलगिरि हिमाल, उत्तरमा अन्नपूर्ण प्रथमको दक्षिणभाग र दक्षिणमा कलीगण्डकीको गल्छी र धवलागिरि हिमालको हिमशृङखला रहेको छ । खयर डाँडाको शृङखला चारैतिर ढुङ्गा र पहाडले घेरिएको हुनाले सो मनमोहक ताल हिउँदमा आइसमा परिणत हुँदा ठूलो गोलाकार बटुकोमा सेतो घिउँ टमक्क जमे जस्तै देखिन्छ । तालबाट पूर्वतर्फ रहेको अन्नपूर्ण दक्षिणको ठाडो पश्चिमी पाखो, उत्तरतर्फ अन्नपूर्ण प्रथमको दक्षिणी चुचुरो र फाङ हिमालका चुच्चो परेका तीखा धार मात्र देखिन्छन् । दक्षिणमा भगवान विष्णुरुपमा समेत लिइने गरेकोे कलात्मक विशाल कालो शीलाले ताललाई आडदिएको छ ।
खोप्राबाट करिव पाँच घण्टा हिमाली पहाड चढे पछि पापीहरु चढन नसक्ने भनी लेखिएको बिसौनीमा पुगिन्छ । स्थानीय तीर्थयात्रीले त्यसलाई धर्म र पाप छुट्याउने उकालो भनी नामाकरण गरेका छन् । त्यहाँसम्म पुग्दा मानिस विछट्टै थाकेका हुन्छन् । कतिलाई हिमाली उचाईले बिरामी नै बनाउछ । त्यहाँबाट पनि कति मानिस फर्कन बाध्य हुन्छन् । त्यस पछि भने पन्द्र मिनटमा एउटा सानो पहाड चढे पछि तालमा पुगिन्छ । त्यो उकालो चढेर तालमा पुग्नेलाई धर्मात्मा भन्ने गर्छन् । यो तीर्थयात्रीको विश्वास हो ।
मुटुको ढुकढुकी ढकढक पार्दै मेहनतसाथ उकालो चढेर तालको किनारमा पुग्दा यसको सौन्दर्यबाट मोहित भएर मानिस हर्षले उन्मत्त हुन पुग्छन् । यात्रु क्षणभर आफ्ना सम्पूर्ण पीडा भुलेर रोमाञ्चित हुदै तालको सुन्दरतामा वशीभूत हुन बाध्य हुन्छन् । धार्मिक विश्वास अनुसार त्यहाँ पुगे पछि मोक्ष प्राप्त हुन्छ । पुराणमा लेखिएको देवताबस्ने ठाउँमध्येको एक हो भन्ने विश्वास हुन्छ । वरपर ऋषि र देवगण दामोदर कुण्ड र मुक्तिक्षेत्रमा बसेझैँ बसेका हुन्छन् ।
सुन्दरता भनेको त्यस्तो वस्तु हो जस्ले मानिसलाई मात्र होईन प्रकृतिलाई पनि त्यत्तिकै लोभ्याउछ । अन्नपूर्ण प्रथम जस्तो चर्चित र अन्नपूर्ण दक्षिणजस्ता मनमोहक हिमाल पनि त्यो तालको सुन्दरताबाट मन्त्रमुग्ध भएर हेरिरहेका हुन्छन भने हामी मानव त के हौ र ? तालको काखमा पुग्नासाथ हाम्रा दुःख, कष्ट, भोक, प्यास, थकाई सबै एकाएक कुलेलम ठोके । मेरो पनि मन, ह्दय र पैताला हवामा उढन थाले । म रोमाञ्ति हुदै त्यसको पूर्ण स्वाद लिन ताल वरपर नाच्न थालेँ । मेरा मित्र मिठाराम अधिकारी र ज्ञानेन्द्र बानिया खुशीले मनमत्त भएर तालको तल र माथि गरेका थिए । “होशियार” भन्दै हिमाली क्षेत्रमा खुशीले आल्हादित हुँदा दूर्घटना भएका कुरा सम्झाएँ । प्रकृतिले नेपाल र नेपालीलाई दिएको त्यो स्वर्गको टुक्राले हामीलाई मात्र होईन हरेक वर्ष प्रकृति प्रेमी हजारौं विदेशी पर्यटक र भारानी देवीका भक्तलाई रोमाञ्चित पारेको छ ।
स्वर्ग सजिलै प्राप्त हुदैन । कोरिया, जापान र चीनले आफ्नो देशलाई धेरै कष्ट एवँ मेहनत गरेर, इमान्दार र जिम्मेदार भएर स्वर्ग बनाएका हुन् । नेपाललाई प्रकृतिले हजारौँ स्वर्गका टुक्रा दिएकी छन् । दुर्भाग्यवश हामीले तिनलाई चिन्न सकेका छैनौँ । त्यसैले हामी स्वर्गका टुहुरा सन्तान भयौँ । स्वर्गमा पुग्न र आनन्द लिन कठोर मेहनतनै गर्नु पर्छ । हामीले त्यस्तै गरेका थियौँ । त्यसैले त स्वर्गका टुक्रा मध्येको एक टुक्रा खयर भारानी तालको किनारमा हामी उभिएका थियौं । जहाँ वर्षाको बेला खोप्रादेखि तालसम्म थरीथरीका फूल फुलेर पखेरा ढकमक्क भएका हुन्छन् ।
ताल र मन्दिरको नाम खयर डाँडाको नामबाट राखिएको हो । मन्दिरको माथिल्लो धारबाट गोलाकारमा रहेको तालको पूर्णरुप देखिन्छ । वर्षाको समयमा पानीले ओगटने क्षेत्रलाई हेर्दा ताल करिव दश हजार वर्गफिट क्षेत्रमा फैलिएको छ । तालको पानीको गाढा नीलोपन देख्दा मैले नेपालको सबैभन्दा गहिरो से–फोक्सुण्डो ताललाई झल्यास्स सम्झेँ । खयर भारानी ताल गोसाईकुण्डभन्दा गहिरो र उचाइमा छ भने चौडाइमा सोभन्दा सानो छ । ऐतिहासिक, धार्मिक, एवं सांस्कृतिक दृष्टिकोणबाट हेर्दा यी दुवै ताल उत्तिकै महत्वपूर्ण छन् । ताल र खयर भारानी देवी कालीगण्डकी उपत्यका, मुक्तिनाथ, दामोदर कुण्ड, नीलगिरि र धवलागिरि हिम शिखरको छिमेकी हुनुका साथै अन्नपूर्ण हिमशृङखलाको काखमा लुटुपुटु भइ बसेकाले यो क्षेत्रलाई मूल रुपमा भगवान विष्णुको क्षेत्र मानिन्छ भने गोसाइँकुण्डलाई भगवान शिवसँग जोडिएको छ ।
खयर भारानी ताल र खयर भारानी मन्दिरमा प्रत्येक वर्ष जनै पूर्णिमाको दिन विशेष पूजा हुने गर्छ । पूजाको लागि काठमाण्डौँ, नवलपरासी, रुपन्देही, स्याङ्जा, तनहुँ, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङका तीर्थयात्री वर्षाको समयमा जोखिमपूर्ण यात्रा गरी मनको इच्छा पुरा गर्न त्यहाँ पुग्छन् । वराह भगवान विष्णुको एक रुप हो भने वाराही सप्तमातृका मध्येकी एक हुुन् । खयरकी देवी भारानी, वाराही देवीको अंश भए तापनि ती देवी अविवाहित भएकाले उनलाई भारानी भन्ने गरेको स्थानीयको विश्वास छ । नेपालमा जनै पूर्णिमाको दिन मेला लाग्ने धेरै तीर्थस्थलमा बली दिइँदैन । तर यहाँ जनै पूर्णिमाको दिन भारानी देवीसँग गरेको भाकल पुरा भएको अवसर पारेर बोकाको बली दिने चलन छ । त्यस्तै चलन ढोरपाटनको उत्तरगंगामा पनि छ । यस्ता चाडपर्वले हजारौँ वर्ष पुरानो मानव सभ्यताको विकास क्रमको संस्कृतीलाई जीवन्त राख्दै आएका छन् ।
अन्य तीर्थस्थलमाझैँ यहाँ पनि भक्तजनले यो तालमा स्नान गरे पछि पापबाट मुक्ति पाईने, सन्तान हुने, मागेको कुरा पुरा हुने र अर्को जन्मको बाटो सुगम हुने कुरामा विश्वास गर्छन् । तलाउमा स्नान गरेपछि तीर्थयात्रीले त्यहाँका पुजारीसँग भारानी देवीबाट आफूले माग्न चाहेको कुरा माग्दछन् । त्यसपछि पुजारीले ‘भक्तजनले मागेको कुरा पुरा गरिदिनु’ भन्दै तालबाट हातमा आएको वालुवा र ससाना ढुङ्गा प्रसादको रुपमा भक्तालुलाई दिन्छन् । देवीसँग भाकल गर्दा मन्दिरमानै पुग्न पर्छ भन्ने छैन, तर आफ्नो भाकल भारानी देवीले पुरा गरिदिए पछि भने त्यहाँ बोको लिएर बली दिन जानै पर्छ, स्थानीयले त्यसलाई पुर्ण पालना गरेका छन् ।
आधुनिक जीवनमा ताल र देवीको दर्शन गर्दा तीन कुराको प्रत्यक्ष फाइदा हुन्छ । पहिलो, शहर बजारको अस्तब्यस्त जीवनबाट एक सातानै किन नहोस प्रकृतीसँग साइनो गाँस्न पाईन्छ । तालमा पुग्नुभन्दा पहिलेनै घान्दु्रक, टाढापानी, दोबाटो एवं पदयात्रामार्गबाट उत्तर र उत्तरपूर्वतर्फ माछापुच्छे«, गंगापूर्ण, हिउँचुली, अन्नपूर्ण दक्षिण सहित अन्नपूर्ण हिमशृंखलाको लामो ताँती पहाडमा जन्तीको लश्कर हिँडेझैँ नजिकै देख्न सकिन्छ । त्यसैगरि पश्चिम र पश्चिम दक्षिणमा नीलगिरि र धवलागिरि प्रथम सहित लामवद्ध लामो हिमशृंखलालाई नजिकबाट आँखा झिम्क्याएर जिस्क्याउन सकिन्छ । दक्षिणमा पर्वत, वाग्लुङदेखि रुकुमसम्मका पहाडहरु बयली खेल्दै तराईका फाँटसम्म पुगेको देखिन्छ ।
दोस्रो फाइदा भनेको लालीगुराँसको बाक्लो र हरियो बन, निगालो घारी, चराचुरुङ्गी, कस्तुरी, झारल, चौरी र याक, खेतिपाती, गुरुङ र मगरका सुन्दर गाउँ, संस्कृति, रहनसहन र स्थानीयसँग नजिक भएर तीनीसँग लुकामारी खेल्दै ह्दयमा सजाउन पाउनु हो ।
तोस्रो फाईदा भनेको अन्नपूर्ण दक्षिणको पश्चिमी काखमा पुगेर पवित्र खयर भारानी तालमा स्नान गरी कुमारी खयर भारानी देवीबाट आर्शिवाद र अगाध माया लिनु हो ।
खयर भारानी ताल पुग्न धेरै दिन र ठूलो तयारी चाहिदैन । काठमाडौँबाट हिडेको तीन–चार दिनमा पोखरा, घान्दु्रक, टाडापानी, दोवाटो हुदै खोप्रा डाँडा (३६६० मि.) पुग्न सकिन्छ । खोप्रा डाँडाबाट खयर भारानी ताल (४६०० मिटर)मा पुगेर स्नान र मन्दिरको दर्शन गरेर फर्कन १० देखि १२ घण्टा लाग्छ र सो दिन फर्केर खोप्रामानै बास बस्नु पर्छ । तालमा जाने दिन बाटोमा होटल नभएकाले दिउँसोको खाना, पानी र बाक्लो लुगा बिर्सन हुदैन । बाटोमा हिउँदमा आइस र जनै पूर्णिमाको बेला वर्षामा हिलो हुने हुँदा होशियार हुन पर्छ । भीर र असजिलो ठाउँमा ढुङ्गाको सिँढी र फलामको बार हुनुकासाथै यात्रामा धवलागिरि र टुकुचे हिमालको लामो शृङखला, कालीगण्डकी उपत्यका देखि चुरे, सिवालिक र तराईसम्म देखिने भएकाले थकाई लागेको पत्तै हुदैन । फर्कने बेलामा खोप्राबाट घोडेपानी हुदै पोखरा पुग्न दुई–तीन दिन लाग्छ । त्यसबाहेक फुर्सद अनुसार सो यात्रालाई तातोपानी, मुक्तिक्षेत्र वा अन्नपूर्ण आधार शिविर तिर मोडन सकिन्छ । यो यात्रा मार्गमा लज, इन्टरनेट र टेलिफोन सेवा उपलब्ध छ ।
ताल समुद्र सतहदेखि ४ हजार ६ सय मिटरको उचाइमा रहेको हुनाले त्यहाँ जान पदयात्राको अनुभव जरुरी छ । सामान्यतयाः त्यस्तो उचाइमा पुग्दा भोक र नीद नलाग्ने, टाउको दुख्ने, सासफेर्न गाह्रो हुने, रिङ्गटा, थकाइ र वाकवाकी लाग्ने हुन सक्छ । त्यसो हुनु भनेको लेक लाग्नु हो । त्यसबेला प्रसस्त पानी पिउने, झोलिलो खाना खाने, लामो–लामो सास तान्दै–फाल्दै बिस्तारै हिडनु पर्छ । त्यसोगर्दा पनि सुधार नभएमा उकालो नचढि कम उचाइमा झर्नु उत्तम उपचार हो ।
‘मेरो भाकल पुरा भयो । पैसा कमाउन विदेश गएको छोराको धेरै वर्षसम्म अत्तोपत्तो केहि भएन । एक वर्षा एक्लै खयर भारानी ताल पुगेँ । त्यहाँ डुबुल्की मारेर भारानी देवीसँग ‘छोरा फर्केर आवस म फेरि बली दिन आउने छु ।’ भनेर भाकल गरेँ । त्यसको दुई वर्ष पछि छोरा फर्केर आयो । म साह्रै खुशी भएँ । दोस्रो पटक त्यहाँ पुगेर आफ्नो इच्छा पुरा गरिदिएकोमा भारानी देवीको नाममा बोकाको बली दिए ।’ खयर भारानीबाट फर्कंदा दोस्रो दिन हामी चौपारीमा बसेर चील्ला काला ढुङ्गाले छाएको सुन्दर गाउँ लेस्पारलाई हेर्दै थियौँ । त्यसैबेला घाँसको भारी बोकेर आएका एक जना मानिस पनि भारी विसाएर हामीसँगै बसे । भलाकुसारीको क्रममा– ‘हामी खयर भारानी ताल पुगेर आउदै छौँ’ भनेर मैले जानकारी दिएँ । भेडाबाख्राको लागि हरियो डाले घाँस बोकेर घर फर्कंदै गरेका पर्वत लेस्पारका ९२ वर्षीय डिल बहादुर पुनले खुशी हुदै खयर भारानी देवी प्रति अगाध आस्था प्रकट गर्दै हामीलाई सो कुरा भनेका थिए । हाम्रो देश सुन्दर छ । त्यो सुन्दरता भित्र ससाना धेरै स्वर्गका टुक्रा छन् । त्यहाँ देवताको बास हुन्छ, धर्मग्रन्थमा उल्लेख छ । सुन्दरता भित्रको स्वर्गमा पुगेर देवात्मासँग प्रत्यक्ष मितेरी गास्न देश दर्शन भने गर्नै पर्छ । ॐ
इमेलः bishnu.nmdc@gmail.com

जडौरी

विष्णुप्रसाद शर्मा पराजुली

 

कसैका, अनि आफ्नै छोराछोरीका
च्यातिएका, वर्ष नाघेका र डिजाइन पुरानिएर फालिएका
मेरा, उनका, सहपाठीका, दौँतरीका लागि
अचम्म लाग्दा, अति सुन्दर लुगाका जडौरी भिरेर
निर्धक्क हाँसो हाँसेर, बाग्मतीको अमिलो पानीमा
दुई अञ्जुली यहीँ पानी भरेर, मुख खोकलेर
म भन्दा जीर्ण– कठै ! त्यो पशुपतिको वृद्ध वृद्धाश्रमको पिँढिमा बसिरहेछु,
बाटो चियाइरहेछु, बग्रेल्तै तृष्णाको लोभले कुरिरहेछु ।

म त्यहाँ कसरी पुगेँ, त्यो नसोध
तिमीले मलाई ढाट्यो भन्न सक्छौ, सत्य होला, मैले ढाँटेको छैन,
विश्वास गर मैले मृत्यु कुरेको होइन
त्यो त के भो र ? आयो नै भने पनि
ब््राह्मनालसम्म त म मृत्युसँग अँगालो हालेर पुग्न सक्छु
ब्रह्मनालमा उत्तानो परेर मेरी माताले पवित्र मानेको
त्यो अमिलो पानी म आफैँ पिउन सक्छु
तर, मेरी आमाले ब्रह्मनालमा लम्पसार पर्दा
निल्न नसकेको त्यो पानी मैले ननिल्ने कसम खाएको छु ।
म, म जस्तै थुप्रैको प्रतिनिधि पात्र म
मैले त उसलाई हेरेको हुँ ,
त्यो महान व्यक्ति ! उस्को जन्मदिन मैले बिर्सेँ
तर उस्ले आफनो जन्मदिनमा
मलाई र पशुपतिको वृद्धाश्रममा जडौरी कुरेका हामीलाई
प्लास्टिकका डबका भरी खीर, जेरी, पुरी, आलुको पिरो अचार पठाइदिँदैछ रे
उसका जडौरी आशमा जडौरी भिरेर बसेको म
उस्को जन्मदिनमा खीरले तृप्त हुन
वृद्धाश्रमको ढोकाबाट पशुपतिको प्राङ्गणतिर चियाइरहेछु ।

आज म न कान सुन्छु न पढ्न नै सक्छु
न त अलकापुरी हेर्दै भूगोल पार्क नै पुग्न सक्छु
मेरो सन्तान, उसलाई मलाई हेर्ने फुर्सद कहाँ छ र ?
हेलिकप्टरबाट फन्को मारेर हे¥यो
उस्को जन्मदिनको उपहार डबका भरीको खीर खाएँ,
तर अचम्म ! तपाईंले थाह पाउनुभो ?
खीर दिने उस्ले मुख खोकल्न एक अम्खोरा पानी पनि दिएन
र पनि भोका वृद्ध हामीले धन्यवाद दियौँ – वृद्धाश्रमबाट ।

जडौरी भिरेका सबै हामी
अरुको जन्मदिन, विवाह, वार्षिकोत्सव र खुसियालीमा
जडौरी खीर, जडौरी पुरी, जडौरी तरकारी थापेर
वृद्ध आन्द्रो भर्न लामबद्ध हुन्छौँ
सन्तानको खुसीमा समाहित हुँदै
वृद्ध हाम्रा हत्केलाले डमरु बजाउँदै शिव नृत्य नाच्छौँ ।

आङ् देखिँदा लाज ढाक्ने जडौरी
छानो चुहिँदा छानो टाल्ने जडौरी
मन तितो हुँदा गुलियो पार्ने खीर जडौरी पाएकै छौँ
मलाई थाहा छैन, हामी मानिस हौँ
वा सन्तानको जन्मदिनमा खीर पर्खने जडौरी ?

मेरो अनि मजस्ता अरु सबैको एउटै इच्छा के भने–
शिव र पार्वतीले शिवलोकको ढोका खोलीरहेको बेला
करौडौ पर्यटकले संस्कृति र संस्कारको तस्बीर लिइरहेको बेला
अरबमा तातेका सन्तानले दुई थोपा माया झारिरहेको बेला
म ब्रह्मनालमाथि उत्तानो परिरहेको बेला
मेरो मुखमा बाग्मतीको त्यो अमिलो पानी नतुक्र्याइदेउ,
एक थुर्मी नै किन नहोस् दन्त्यकथा जस्तो त्यो मेलम्चीकै पानी
मेरो मुखमा हालिदेउ ।

भो ! निल्दिन बाग्मतीको त्यो अमिलो पानी
किनभने ब्रह्मनालमा उत्तानो पर्दा पनि
मेरो जिब्रोको स्वाद मरेको छैन
तिम्रो खुसीमा जडौरी पिएर, जडौरी भिरेर शिवनृत्य नाचेकै छु
त्यसैले एक थुर्मी नै किन नहोस् ब््राह्मनालमा लम्पसार म
मेलम्चीकै पानी मेरो मुखमा हालिदेऊ
राख्छौ भने अरु कसैको होइन नेपालकै झण्डा
मेरो चितामाथि राखिदेऊ
मक्किएको पशुपति वृद्धाश्रमको कसम
जडौरी नै सही एक थुर्मी मेलम्चीकै पानी
मेरो मुखमा तुक्र्याइदेऊ ।
जेठ १३, २०७६ काठमाडौँ

published in Purwanchal daily Jeth 18, 2076