अमेरिका राष्ट्रिय निकुञ्ज यात्रा – ९. साभार “रूपायन” त्रैमासिक पूर्णङक ४९, वैशाख–असार २०८०
विष्णुप्रसाद शर्मा पराजुली
“बुबा छिटो गर्नु, यो होटलमा ब्रेकफास्ट समावेश छ । मज्जाले खानुपर्छ । दिउँसो स्टार बक्समा छिरेर वा त्यस्तै हलुका केही खाने हो । रेस्टुराँमा बसेर फ्रेन्चले झैँ गफ गर्दै खाने समय हुँदैन बिहान ।” सानुको निर्देशन थियो त्यो । फटाफट प्याक ग¥यौँ । कारमा सामान राख्यौँ । बिहानी खाजा खायौँ लेक पावेल हेर्दै । ग्याँस स्टेसनमा गयौँ । सानुले कार्ड छिराइन् । तेल हालिन् । ट्याङ्की भरियो । मेसिन बन्द भयो । कार्डबाट पैसा काटियो । कोही मानिस थिएनन् । त्यस दिन बिहान ८ बजे हामी एन्टिलप क्यान्योन जानका लागि स्टेसनमा पुग्यौँ । यात्रुको भिड थियो । म लाइनमा उभिएँ । त्यो दिन हामीले थाई बौद्ध भिक्षु र पर्यटक भेट्यौँ । त्यसमध्ये एक जना महिला भिक्षु सिद्धार्थ गौतम बुद्ध जन्मेको ठाउँ नेपलको लुम्बिनी पुगेकी रहिछन् भने अन्य तीन जना जान इच्छुक रहेछन्, समय जुरेको रहेनछ । मैले “समय मिलाएर आउनुहोस्, अहिले त अन्तर्राष्ट्रिय विमानस्थल पनि बनेको छ, सुविधासम्पन्न होटल पनि बनेका छन् ।” भनेर निम्तो दिएँ, उनीहरूले हाँस्दै स्वीकार गरे । लाइनमा उभिँदै गर्दा ती कुरा भएको थियो । हामीलाई एन्टिलप क्यान्योन घुमाउने गाइड नाभाओ जातिका झट्ट हेर्दा नेपाली जस्ता देखिने युवा थिए । उनले सबै पर्यटकलाई एक ठाउँमा उभिन आग्रह गर्दै भने “पेज हाम्रो स्वशासित क्षेत्र हो । सबैले मास्क लगाउनुपर्छ । हामी दस मिनेट पैदल यात्रा गरी साँघुरो एन्टिलप क्यानोनभित्र छिर्छौँ । त्यहाँ भित्र मेरो आदेशबेगर तस्बिर खिच्न, ढिलो गर्न, हल्ला गर्न पाइँदैन ।” शब्द र शैली अलि कठोर जस्तो लाग्ने, अग्लो, लामो कपाल पालेको युवाले हामीलाई निर्देशन दिए । हामी उनको पछि लाग्यौँ । हामी अमेरिकाको एरिजोना राज्यको पेज सहरको मरुभूमि क्षेत्रमा नै थियौँ । यो सबै बलौटे भूभाग हो । यहाँका चट्टान पनि अन्यत्रका झैँ कमलो हुन्छन् । हाम्रो हलेसी सम्झँदा हुन्छ । यो फिका रातो छ, हाम्रो सादा बलौटे खैरो छ । भिरालो भागको ढिकमा पुगेपछि गाइडले हामीलाई रोक्दै भने “हामी फलामको ठाडो, साँघुरो र कठिन भ¥याङबाट तल झर्छौँ । जुत्ता चिप्लेर लड्न सकिन्छ । फलामको दुवैतिरको डण्डीलाई दुवै हातले बलियोसँग समात्दै एकपछि अर्को गर्दै भिड नगरी झर्नुहोला अनि सम्झनुभएको छ नि, जहाँतहीँ तस्बिर लिने होइन । मैले भनेपछि मात्र लिने ।” गाइडले पुनः सचेत पारे । ठाडो भ¥याङबाट हामी एक सय फिट जति तल झ¥यौँ एक जना मानिसमात्र हिँड्न मिल्ने चेपे सुरुङ गुफामा; जसलाई क्यानयोन भनियो । जरायोको सिङजस्तो बलौटे सुरुङमा चुच्चाचुच्ची र सिङजस्तै तिखारिएको र तानिएको हुनाले एन्टीलोप भनियो । त्यो रातो बालुवाको भूभाग पानी र हावाले हानेर चिल्लो हुनुका साथै बाङ्गोटिङ्गो, चुच्चाचुच्ची भएको अत्यन्त साँघुरो सुरुङ थियो जुन जमिन भन्दा तल छिरेको थियो । त्यस्तै साँघुरो ठाउँबाट एक–दुई फिट फराकिलो चरबाट निलो आकाश देखिन्थ्यो । त्यसबाट प्रकाश छिरेर उज्यालो हुन्थ्यो । सूर्योदय र सूर्यास्तको बेला त्यहाँ अचम्म लाग्ने चामत्कारिक दृश्य देखिन्थ्यो । केही समय हिँडेपछि चार–पाँच जना उभिन मिल्ने चोक आयो । त्यहाँबाट अनौठा, विभिन्न आकृतिका बलौटे चुच्चाचुच्ची देखिन्थे । गाइडले त्यहाँ उभिन भने । उनले हातले देखाउँदै भने – “उऽऽऽ देख्नु भो त्यो हरिण, बाघ, सिंह, कलाकार । ल तस्बिर पनि लिनुहोस् ।” विभिन्न नामको बालुवाको चित्रात्मक दृश्य देखाए । हामीले शिव, पार्वती, गाईको थुन, मिलरेपा, पद्मसम्भव भनेझैँ । त्यसबारे जानकारी दिँदै तस्बिर खिच्न समय दिन्थे र हाम्रो मोबाइल मागेर सफा गरेर तस्बिर खिचिदिन्थे । उनका अनुसार समर अर्थात् झरीको समयमा त्यहाँ पानी हुन्छ । गाउँले तथा व्यवसायी मिलेर सफा गर्दै पर्यटकलाई घुमाउँछन् र त्यसबाट मनग्गे आम्दानी पनि गरेका छन् । त्यसलाई स्पाइरल रक आर्चेज (Spiral Rock Arches) पनि भन्दा रहेछन् । मलाई भने अलि उकुसमुकुस लाग्यो । करिब एक घण्टा त्यो साँघुरो सुरुङको भ्रमण पछि अर्को प्वालबाट बाहिरियौँ । यस पटकको यात्रामा मैले बुझेँको के भने मानिसलाई नौलो लाग्ने प्रकृतिको जे जति उपहार छ त्यसलाई अमेरिकनले सुरक्षा गर्दै, सजाउँदै त्यसैबाट मनग्गे आम्दानी गर्ने उपाय गर्दा रहेछन् । हुन त हामीले ढुङ्गा, रुख, नदीलाई विभिन्न देवीदेवता मानेर पूजा गर्छौँ । त्यो आदिम मानव सभ्यताकालीन प्रचलन हो । प्रकृति संरक्षण पनि हो । हामीले पूजा गरे पनि प्रकृतिको संरक्षण चाहिँ गर्दैनौँ । त्यो पक्कै हो । अमेरिकाले त्यसलाई आम्दानीको स्रोत बनायो । त्यो आम्दानीबाट ‘तिमीहरू सुखी बन है । ल, हामीले बाटोको सञ्जालमा जोडिदिन्छौँ अरू सबै तिमीहरूले गर’ भन्यो । सोअनुसार स्थानीय वा राज्यले काम गरे । पूजा पनि गरे पैसा पनि मनग्गे कमाए तर नेपालमा भने पूजा गरेर झर्ला र खाउँला भनेर चुपचाप बस्यौँ । उनीहरू पटक्कै बसेनन् । त्यसैले उनीहरूले जीवनलाई जीवनको अर्थ दिए । हामीले पूजामात्र ग¥यौँ । जीवनलाई भोकसँग तुलना ग¥यौँ । अब त भगवान् भरोसे मात्र नभएर भगवान्लाई आफ्नो स्थानमा सम्मान दिँदै त्यस्ता स्थानबाट कमाउन पनि थाल्ने कि ? स्वदेशी पर्यटकबाट पनि कमाइ हुन्छ तर राज्यले बाटोघाटो, पुलपुलेसा त बनाइदिन परो नि ! होइन र ? त्यहाँबाट फर्केर लेक पावेलको एक खण्ड हेर्न गयौँ जहाँको पानी कञ्चन, सफा निलो देखिन्थ्यो । त्यसवरपर पनि आरबीमा यात्रा गर्ने, फेरी (सानो पानी जहाज)बाट यात्रा गर्ने यात्री देखिन्थे । सन् १९६४ मा कोलोराडो नदीमा ७१० फुट अग्लो ग्लिन क्यान्योन ड्याम बनाउँदा बनेको ताल हो यो । ताल बन्न १७ वर्ष लागेको थियो । त्यहाँको बत्ती पश्चिम अमेरिकामा प्रयोग गरिन्छ । बत्ती पनि बल्यो र पर्यटनको विकास पनि भयो अनि सिँचाइ पनि । हाम्रा ड्याम जो अति सुन्दर छन्, तिनमा पनि पर्यटकीय क्रियाकलाप गर्न सकिने थियो । हाम्रोमा बत्ती र सिँचाइलाई जोडेर काम गर्ने त भन्छन् तर कार्यान्वयन हुँदैन । किन होला ? नेपालमा पनि विदेश घुम्ने, विदेशमा पढेर आएका विद्धान त प्रसस्तै छन्, तर व्यवहारमा हाम्रोमा लागु भएन ज्ञान । पेज सहरबाट हामी १७३ किलोमिटर ड्राइभ गरी ग्र्याण्ड क्यान्योनतिर लाग्यौँ । त्यहाँ भ्रमण गरेपछि सोही दिन ४५० किलोमिटर यात्रा गरी दक्षिण पश्चिममा रहेको किङम्यान सहरमा बस्ने योजना गरेका थियौँ । करोडौँ वर्षदेखिको भौगर्भिक हलचलका साथै कोलोराडो नदीले बनाएको लामो, गहिरो, फराकिलो उपत्यका हो, ग्र्याण्ड क्यानयोन । वास्तवमा यो फराकिलो र ठुलो कोलोराडो नदीसहितको मरुमूमीय ठूलो, फराकिलो, लामो र गहिरो खोँच हो । यसमा बालुवा खण्ड अधिक छ भने चट्टान कम छ । यो तह–तह, पोरा–पोरा, खण्ड–खण्ड परेर बनेको छ । जमिनमुनि रहेको खनिज, नदीको बहाव, हिउँ र वर्षाको पानीले भूमिलाई कसरी चिथोर्छ, कसरी भूक्षय हुन्छ भन्ने कुरा त्यहाँबाट आँखाले देखेर अनुभव गर्न सकिन्छ । भौगर्भिक अध्ययन, हाइकिङ, भूबनोटको दृश्यावलोकनको लागि ग्र्याण्ड क्यानयोन संसारमै प्रख्यात छ । खोँचै भए पनि विशाल भूभाग ओगटेको र फराकिलो खोँच भएकैले ‘ग्र्याण्ड’ नाम राखियो । लस भेगसमा जुवा खेल्न, रमाइलो गर्न र किनमेलको लागि जहाजै लिएर युरोप र अरबबाट विलासी पर्यटक त्यहाँ पुग्छन् । लस भेगसबाट ग्र्याण्ड क्यानोन नजिक भएकाले त्यहाँ धेरै पर्यटक पुग्छन् अर्थात् त्यहाँ पुगेपछि “ग्र्याण्ड क्यानयोन पुग्यौ नि ?” भनेर जसले पनि जिज्ञासा राख्छन् । त्यसैले पनि सानुले हामीलाई त्यही बाटो भएर लगेकी थिइन् । हामी त्यसको नजिक लेक पावेल त पुगेकै थियौँ । पेजबाट ग्र्याण्ड क्यानोन जाँदा प्रायः हामी कोलोराडो नदीको सेरोफेरो हुँदै गयौँ । त्यो भूभाग सुख्खा, रातो, खैरो मरुभूमिकै खण्ड थियो । हामीले प्रवेशपत्र लिइसकेको हुनाले सिधै क्यानोनको पूर्वतर्फ रहेको डेजर्ट भ्यु भन्ने स्थानमा गयौँ । यहाँबाट ग्र्याण्ड क्यानोन राष्ट्रिय निकुञ्जको गहिरो र फराकिलो खोँच, लामो उपत्यका, रातो र फुस्रो रङमा भरिएको विभिन्न चट्टानी शृङ्खलाहरू, कोलोराडो नदीको बहावले सृष्टि गरेको नागबेली खोँचहरू, हिउँदमा हिउँ जम्ने र पग्लने क्रममा बनेका चित्रात्मक पहाड र खोल्साहरू देखिँदो रहेछ । कोलोराडो नदीले करोडौँ वर्ष पहिलेदेखि खोलेको र भौगर्भिक उथलपुथलको कारण बनेको त्यो विशाल खोँच र उपत्यका नै ग्र्याण्ड क्यानोन हो । त्यहाँ पुग्दा मैले लियोनार्दो द भिन्चीको यस्तो भनाइ कतै देखेँः “æIn time and with water, everything changes.” यो निकुञ्जको लम्बाइ ४५५ किलोमिटर रहेको छ । यहाँ १५०० वर्षपहिले बसेका मानिसले ढुङ्गा कुँदेर बनाएको कोठा –ःबकयलबचथ, माटोका भाँडा, चुलो पाइएको थियो । कोलोराडो नदीको यस काखमा जनावर, वनस्पति र मानिसको बसोबास भएको प्रमाण फेला परेको छ । अहिले पनि कुनैकुनै खण्डमा रूखहरू छन् भने यहाँ ठुलो सिङ भएको भेडा र चराहरू पाइन्छन् र ग्रीष्ममा अप्राप्य पूmल पनि फुलेको हेर्न पाइन्छ । ग्रीष्ममा ४० डिग्रीसम्म गर्मी हुने भए तापनि त्यो समयमा पर्यटकको ठुलो चाप हुन्छ । यहाँ वार्षिक ५० लाख पर्यटक पुग्ने गर्छन् । प्राचीन कालमा त्यस बेलाका बासिन्दाले यस क्षेत्रमा सिकार खेले, बाटो बनाए, समयको कालखण्डमा जनावर लोप भए, सकिए तर परिवर्तनको गति रोकिएन । यस क्षेत्रमा १२ हजार वर्ष पहिले मानिसको बसोबास भएको र त्यस बेलाका बासिन्दाले ठुला जनावर, हरिण, भेडा मार्न हाडको हतियार बनाएका थिए भन्ने कुरा अन्वेषकले पुष्टि गरेका छन् । क्यानोनको किनारतिर भेटिएको अवशेषबाट यो थाहा भएको छ कि ती प्राचीन समयका आदिवासी जाति पालियो इण्डियन थिए जो सम्भवतः भूमिपुल (land bridge) तर्दै पछिल्लो हिमयुगमा एसियाबाट प्रवेश गरेका थिए । त्यसपछि आर्काइ जाति करिब ९ हजार वर्ष पहिले त्यहाँ पुगे । २ हजार वर्ष पहिले आर्काइ जातिले बनाएका डोकोको अवशेष त यो क्षेत्रमा अन्वेषकले पाए पनि । यस क्षेत्रमा भेटिएका अन्य जातिमा Yavapai, Apache, Hava Supai, Hopi, Hualapai, Kaibab Paiute, Las Vegas Paiute, Navajo, Paiute Indian, San Juan Southern Paiute and Zuni हुन् । ती जाति अहिले पनि यस क्षेत्रमा पातलो आवादीका साथ बसोबास गरिरहेका छन् । ६० लाख वर्ष पहिलेदेखि कोलोराडो र यसका शाखाहरूले यस पठारको कमलो भागलाई चिथोरे जसले गर्दा कोप्रिँदै र गहिरिँदै गयो । नदी किनारको हावा, वर्षाको पानी, हिउँ जम्दा ठेल्ने र हिउँ पग्लेर बगाउने निरन्तर प्रक्रियाले त्यस भूभागमा झन् क्षयीकरण हुँदै गयो जुन आज पनि जारी छ । टाढा देखिने कोलोराडो नदी भने मन्द गतिमा बग्दै गएको देखिएको थियो । त्यहाँ उभिएर हेर्ने मानिसले पिर गर्दै भनेको सुनिन्थ्यो “कोलोराडो नदीमा पानीको मात्रा कम हुँदै गएको छ । अब के–के हुने हो ?” ६५ लाख वर्ष पहिलेदेखि सम्पूर्ण रकी पर्वत (Rocky Mountain) कोलोराडो पठारतिर घचेटिँदै गएको छ; हाम्रो दक्षिणतर्फको भाग तिब्बती पठारभित्र छिरेझैँ । दुई अर्ब वर्ष पहिलेदेखि समुद्रको गहिराइ कम भएको क्षेत्र र नदीमा विभिन्न प्रकारका पदार्थ जम्मा भए । कोलोराडो र अन्य सहायक नदी पठार माथिबाट बगे, काटे; जुन पठार २४१–२५१ मिलियन वर्षपहिले पालियोजोइ समयमा (Paleozoic era) मा बनेका थिए । यो पार्कको उत्तर–दक्षिण खण्डबाट देखिने तहमा मेरिन फोसिल (Marine fossils) रहेको छ जुन पृथ्वी बन्ने बेलाको प्रारम्भिक चरण (Earliest Period) को हो । त्यहाँका ढुङ्गा १ अर्ब वर्षपहिलेका छन्; जुन डेजर्ट भ्युबाट देखिन्छ । यस पार्कको पिँधबाट निकालएको ढुङ्गाको अध्ययनबाट अन्वेषकले के भनेका छन् भने नदीले १.८४ विलियन (एक मिलियन बराबर दस लाख)वर्षपहिले बनेको चट्टान काटेको हो । वर्षाको समयमा यस क्षेत्रमा झरना झरेको पनि देखिन्छ । क्यान्योनको दक्षिण र उत्तर कुनामा रहेको पानीलाई सन् १९६० देखि खानेपानीका लागि प्रयोग गरिएको छ । मरुभूमि दृश्यावलोकन बिन्दुबाट भ¥याङजस्तो देखिने राता, फुस्रा ढिस्का, पहरा; गेरु, हरियो र खैरो रङ पोतिएका जस्ता कलात्मक तिखा चट्टान देखिन्छन् । नेपालको कालीगण्डकी सेतीबेनीबाट फनक्क फन्को मारेर रिणी पुगेझैँ कोलोराडो नदीले पनि बलौटे पहाडलाई कोपर्दै फन्को मारेको देखिन्छ । पार्कको एक खण्डमा हरियाली रहेको छ जहाँ सल्लोका रूख छन् । उजाडता भने मौसममा आएको परिवर्तनसँगै त्यहाँको चट्टान, पखेरा, पर्वतीय थुम्का, वनस्पति, पानीको स्रोत, पशुपंक्षी सबैमा देखिन्छ । सिउँडी, ससाना बुट्यान, ठुलो गाँज र तीन फुटसम्म अग्लो हुने पूmल, उत्तरी हुम्लाको सुख्खा पखेरामा हुने हरियो झार घाँस त्यहाँ पनि देखियो । जनावरमा भेडा, चरामा गिद्ध, जमिनमा छेपारो यहाँका मुख्य जीवजन्तु हुन् । हामीले मरुभूमि दृश्यावलोकन बिन्दुबाट सुरु गरेर नाभाओ, सङ्ग्रहालय, मोरान, ग्रान्ड भ्यु, सूचनाकेन्द्र, म्याथरबाट ग्र्यान्ड क्यानोन निकुञ्जको सरसर्ती अवलोकन गर्दै तस्बिर लियौँ । उकालीओराली गर्दै कोलोराडो नदीको किनारमा भने गएनौँ । यहाँ एक माइलदेखि छ–सात माइलका धेरै हाइकिङ मार्ग रहेका छन् । सरसर्ती अवलोकन गरेर पार्कबाट बाहिरियौँ । त्यहाँबाट फराकिलो उपत्यका, हरियो वन, नगरकोटजस्ता पर्वतीय पखेरा, घाँसेमैदान पार गर्दै विलियम पुग्यौँ । त्यस दिन पनि सूर्यास्तको बेला घामको चर्को किरणले सचेत पारेको थियो । त्यहाँबाट २०२२ अक्टुबर १४ मा म छोरी सुनिता (सानु) र श्रीमति किङम्यान सहरमा पुगेर होलिडे इनमा बस्यौँ । अमेरिकाको राष्ट्रिय निकुञ्जको अवलोकन गर्ने क्रममा हामी त्यहाँ पुगेका थियौँ । त्यो साँझ भित्ताभरि म्याक्सिकन संस्कृति झल्कने भित्तेचित्र र थाङ्काजस्तो लाग्ने चित्रहरूले सजिएको म्याक्सिकन रेस्टुराँमा खाना खायौँ । एक प्रकारले तालिकाजस्तै बनेको थियो कि ब्रेकफास्ट मजैले खाने, लन्चचाहिँ अमेरिकन शैलीमा कागजको थैलीमा लिँदै चपाउँदै दौडने । कफी पनि त्यसरी नै पिउने । विभिन्न स्थलको दृश्यावलोकन, समयको सही सदुपयोग, ड्राइभ, खाना, कफी, होटलको बासको कारण दुई साताको लागि हामी अमेरिकनाइज्ड भएका थियौँ । ९८४१३७७०८३ । bishnu.nmdc@gmail.com
(अमेरिका यात्रासंस्मरणः२) साभारः दायित्व पत्रिका २०७९ चैत–वैशाख २०८० पूर्णाङ्क १४१,
विष्णुप्रसाद शर्मा पराजुली
लस भेगस पुगेको भोलिपल्ट २०२२ अक्टुबर ८ को बिहान कार भाडामा लियौँ । दोहो¥याएर ‘लस भेगसमा यहाँलाई स्वागत छ’ भन्ने स्थान हुँदै सहरबाट बाहिरियौँ । पश्चिम अमेरिकाको यात्रामा छोरी डा.सुनिता (सानु) हाम्रो पथप्रदर्शक, ट्राभल एजेन्ट, सवारीचालक, होटल बुकिङ, वित्तीय प्रमुख तथा व्यवस्थापक मात्र नभएर रेस्टुराँ र खाना छनौट गर्ने एवम् पारिवारिक चिकित्सक थिइन् । उनले “आमाबुबा दुवैलाई एकैचोटी घुमाउन पाउँदा म त खुसीले नाचेकी छु” भनेको क्षण मेरो खुसीको सीमा रहेन् । उसको मुहारमा श्रवणकुमारको हर्ष अनि जिम्मेवारीले केही गम्भीरता देखेको थिएँ । त्यहाँ हाम्रो काम के थियो त ? हेर्ने, मनोरञ्जन लिने, घुम्ने र मन परेको कुरा खाने । हामी बुढाबुढी फुकाफाल थियौँ । हामी दुई, त्यो यात्रामा हिँड्डुल गर्न सक्ने बच्चा भयौँ । केही कुरा मन नपरे रोइदिने, मन परे फुर्किदिने, भोक लागे खान माग्ने बस् । जीवनमा जिम्मेवारीविहीन फुकाफाल भएर यात्राको रसास्वादन मैले छोरीसँगको त्यो यात्राभन्दा पहिले कहिल्यै गरेको थिइनँ । निकुञ्जतिरको यात्रामा निस्केकाले ठूला सहरभन्दा टाढा जाँदै थियौँ । त्यसैले कम्तीमा एक साताको लागि अत्यावश्यक सामान किन्नु थियो । सानुले कारको गुगल म्यापमा ूध्जयभि ँययम ःबचपभतू नाम राखिन्, त्यसैको निर्देशनमा त्यतै मोडियौँ । त्यो मनचिन्ते पसलमा छिरेपछि जे खोज्यो त्यही पाइन्थ्यो । खासगरी दिउँसोलाई चाहिने कुरा, पानीका ग्यालन, बदाम, पेस्ता, चकलेट, चिप्ससहित टन्न सामान किन्यौँ । “बुबा, तपाईंलाई केही ड्रि«ङ्क चाहिन्छ कि ? आमा तपाईंलाई त नेपालबाट ल्याएको तितौराले हुन्छ कि अमेरिकाको नुनिलो–पिरो चिप्स चाहिन्छ ? अहिल्यै भन्नु । हामी जाने बाटोमा पर्ने सहरमा यस्तो पसल हुँदैन, सहर पुग्न समय लाग्छ । फेरि ‘छोरीले भोकभोकै कुदाई’ भन्नु होला ? बेलुका त हामी रेस्टुराँमा खाइहाल्छौँ । कफी र अर्नीको लागि बाटोमा स्टार बक्समा छिरौँला तर बाटोको कुरो हो, के कसो पर्ला आपूmसँग सबै कुरा हुनुपर्छ । ” उनले अथ्र्याइन् । छोरी पेसाले चिकित्सक हुन्, हाल न्यूयोर्कको आर्चेज अस्पतालको निर्देशक छन्, त्यो आफ्नो ठाउँमा छ तर उनको परिपक्कता, व्यावहारिकता, आमाबाबुलाई अमेरिकी यातायात, खानपान, बसउठ प्रणालीमा घुलमिल हुन कठिन हुन्छ भन्ने अवस्थाको मूल्याङ्कन गर्दै सम्पूर्ण तयारी गरेको देख्दा म हर्षले गद्गद् भएँ । हर्षका आँशु भित्रभित्रै खुसी भएर पिएँ । सम्झेँ, हामी छोराछोरी भएछौँ । छोरी पो आमाबाबु भइछिन् । मभित्र भावुकता उम्लिन थाल्यो । हुन त धेरैका सन्तान विदेसिएकाले आजकल आमाबाबुलाई घुमाउने कर्तव्य सामान्य नै भएको छ । एक बुबाको मनको कुरा खररर पढेजसरी भनेकी थिइन् छोरीले । म पनि के कम, टाउको कन्याउँदै बियरको कार्टुन र ज्याक डेनिएल किनेँ । हामीले हाइकिङको लागि चाहिने लुगाहरू नेपालबाटै ल्याएका थियौँ । “आमाको जुत्ता यसले हुँदैन” भनेर उनले हाइकिङ जुत्ता अमेजोनबाट मगाइसकेकी थिइन् । म हिमालतिरको लामो पदयात्रामा ठिकैको तयारी गरेर हिँड्ने मान्छे; त्यसैले मैले सबै कुरा हलुका नै लिएको थिएँ तर सानुको तयारी अमेरिकन तरिकाको थियो । युरोपबाट मेरा साथीहरू नेपाल पदयात्रामा आउँदा जे जसरी तयारी गरेर आउँथे उनले त्यस्तै तयारी गरेकी थिइन् । अर्थात, ‘स्यालको सिकार गर्न जाँदा बाघ मार्ने सरजाम जोर्नुपर्छ’ भन्ने पुर्खाको सन्देशलाई उनले पालना गरेकी थिइन् । खरिद गर्ने सामान केरिएरमा राखेपछि पुनः एक पटक उनले ‘सामान देख्दा छुटेको सामानको याद आउँछ’ भन्दै मार्केटको चक्कर लगाइन् र केही सामान खास गरी हाम्रो रुचिको चिज र चकलेट थपिन् । चकलेट र चिजको दराज छेउमा ससाना डेरी मिल्क चकलेट ‘निःशुल्क, चाख्न सक्नुहुन्छ’ भनेर राखेको थियो । ‘सित्तैमा पाए अलकत्र त छोड्दैन’ भन्छन्, त्यसमाथि डार्क कफी चकलेट । त्यो पनि टिपेर बुकायौँ, हामी दुईले । सामानको टुङ्गो लागेपछि लन्च किन्ने काउन्टरमा गयौँ । त्यहाँ थरिथरिको तयारी तर चिसो खाना थियो । हामीले सालमोन, चिकन, सागपात, आलु, मिश्रित तरकारी मिलाएर त्यहीँ कागजको बट्टामा प्लास्टिकका काटा, चम्चाका साथै तातो कालो कफी कागजकै गिलासमा लियौँ । बाहिर घाममा अग्लो कुर्सीमा बसेर खायौँ । युरोप–अमेरिकामा धेरै जसो मानिसले पसलमा छिर्ने, खानेकुरा फटाफट किन्ने र खाँदै, टोक्दै, कडा कालो कफी पिउँदै कुद्छन्, ड्राइभ गर्छन् । हाम्रोमा खाँदै कुद्ने चलन छैन । असभ्य मानिन्छ । भोकै लागेर केही खान खोज्यो भने निःशुल्क धुलोको मुस्लो पनि खानैपर्छ । सभ्य भएको जाति । सायद त्यो उनीहरूको समयको सदुपयोग हो । बेलुका र बिदाको बेला भने फेरि मस्तसँग खान्छन् । त्यो उनीहरूको जीवनशैली हो जसले देशको अर्थतन्त्रलाई पनि उकालैतिर धकेल्छ । खानेकुरा जति थियो एकएक गर्दै कपाकप खायौँ । खाली बट्टाहरू कागज र प्लास्टिक फाल्ने छुट्टाछुट्टै ढ्वाङमा फुत्त खसाल्यौँ । सामान सबै पछाडिको डिकी र आवश्यक केही सामान अगाडि राख्यौँ । त्यसपछि बल्ल हाम्रो यात्रा युटाह राज्यमा पर्ने जायन राष्ट्रिय निकुञ्जतिर सोझिने भयो । हाम्रो लागि अमेरिका यसै पनि यात्रा थियो तर अमेरिकाको न्यूयोर्क पुगेर पनि हामी पश्चिम–दक्षिण अर्थात् पश्चिमी गोलाद्र्धको छेउतिर लागेका थियौँ पाँच घण्टाको हवाइदुरी पार गरेर । “आमालाई गाडी लाग्छ, अगाडि बस्नुुस् । सिटबेल्ट बाँध्नुस् । बुबा पछाडि बस्नुस्, हजुरले पनि बेल्ट बाँध्दा सुरक्षित हुन्छ । सब तयार हैन त । आमा, अरू केही चाहिन्छ कि ?” सानुले सतर्क पारिन् । “पुग्यो सानु ।” आमाले भनिन् । “त्यसो भए जाऊँ त ? हामी फर्केर आएपछि लस भेगस सहर घुम्ने र आराम गर्ने हो, है ।” कार स्टार्ट भो । गुगल म्यापमा जायन राष्ट्रिय निकुञ्ज प्रवेशद्वारको स्प्रिङडेल सहरको नाम राखियो । गुगलको निर्देशनबिना यताको सवारी असम्भव प्रायः हुन्छ सबैलाई । हाम्रो यात्रा प्रारम्भ भयो नेभेडा राज्यबाट युटाह राज्यतिर । गाडीमा टुईटुई आवाज आयो । “आमा बेल्ट ।” “गाडीले केही भन्छ कि भन्दैन भनेर हो !” “बुढीमाउ !” लस भेगस सहरलाई झट्ट देख्दा ल्हासाजस्तो मानेँ भने बाहिरी दृश्य देख्दा ल्होमान्थाङ र माथिल्लो डोल्पाको साल्दाङ सम्झेँ । नेपालको मुस्ताङ, डोल्पा, हुम्लातिर नगएका नेपालीलाई त्यो भूभाग अचम्म लाग्ने भयो । विशाल फुस्रा उपत्यका, स–साना थुम्के फुस्रा, राता, खैरा, खरानी, फिका गेरु रङ पोतेका जस्ता पहाड क्रमशः पार हुँदै गए । फुस्रो पखेरोमा अनौठो लाग्ने करिब दुई फिट उचाइ र दुई फिट नै मोटाइ भएको पहिले नदेखेको सिउँडी (क्याक्टस्) देखेँ । एक ठाउँमा त गाडी रोकेर तस्बिर पनि लिएँ । सहर पार गरेपछि प्रतिघण्टा ७५ माइल अर्थात् १२० किलोमिटर प्रतिघण्टाको गतिमा त कुद्न पाइने भो तर त्यहाँ धेरै जसो १४५ देखि १५० को गतिमा कुद्ने गर्दा रहेछन् । यद्यपि गति सीमितताका सूचना, उछिन्ने ठाउँका ट्राफिक सङ्केत, सडकका लेन हेरेर ठाउँ–ठाउँमा तलमाथि भइहाल्थ्यो । हामी मस्किट, सेन्ट जर्ज स–साना सहर पार गर्दै जायन निकुञ्जको प्रवेशद्वार स्प्रिङडेल सहरमा पुगेर हिस्टोरिक पाइनियर लजमा बस्यौँ । फटाफट सुट्केस कोठामा राख्यौँ । सूर्यास्त हुँदै थियो । राता चट्टाने पहाड अनौठो, आश्चर्य लाग्ने खालका सुनौला देखिन थालेका थिए । हामी जायनको प्रवेशद्वारतिर लाग्यौँ । प्रवेशद्वारमा कारको लामो लाइन भएकाले फर्केर होटल आयौँ । केही बेर आराम गरेर पुनः त्यतै लाग्यौँ । प्रवेशद्वार खुला थियो । सायद कार्यालय बन्द होला । सूर्यास्तको दृश्यको लागि भर्जिन नदीको पुलसम्म पुग्यौँ । त्यहाँ मानिसको भिड र कारको लस्कर थियो । भर्जिन नदी भनेर जुन प्रचारप्रसार थियो, त्यसको तुलनामा त्यो सानो खोलो थियो । मैले नेपालका विशाल नदी देखेर हुनसक्छ, कम आँकेको । नदी वरपर फिका हरियाली थियो र सानो नदी आफ्नो गतिमा थियो । गेरु रङ्का राता चट्टाने पहाड सूर्यास्तको किरण, किरणको गतिसँगै आगोका लप्काझैँ धपक्क बलेर कतै राताम्मे र कतै पहेँलपुर देखिएका थिए । सडकमा अध्याँरो ओर्ले पनि राता पहाडमा सूर्यास्तको चमक चम्किलो थियो । भर्जिनको किनारबाट फर्केपछि हातमुख धोयौँ । सानुले नेटमा रेस्टुराँ र खानाको परिकारबारे सूचना चहार्दै थिइन् । लजबाट कफी ल्यायौँ । मैले कफी र क्यान सँगसँगै खोलेँ । “बुबाको बानी थाहा भएरै मैले भनेको नि ! ल आराम गर्नु । के चाहिन्छ भन्नु । कुनै कुराको पिर नगर्नु । हामी बस्ने सबै ठाउँमा होटल एक महिना पहिल्यै बुक गरेकी छु । यहाँ समरको लागि त एक वर्ष पहिले नै होटल, हाईक र टुर कार्यक्रम बुक गर्नुपर्छ । हामीलाई कुनै समस्या छैन । तपाईंहरू घुम्न आउनु भएको हो आनन्दसँग रमाउनु है । अनि आमा के छ ? बुढीमाउलाई गाडी लाग्यो कि ?” सानुले सोधपुछ गर्दै भनिन् । यात्राको दोस्रो दिन लस भेगसदेखि स्प्रिङडेलसम्मको २६० किलोमिटरको यात्रा औधि रमणीय भयो । हामी बुढाबुढी यति विघ्न प्रफुल्ल थियौँ, मानौ एउटा बालकले पहिलो पटक मन पर्ने खेलौना पाएको होस् । त्यो खुसी व्यक्त गर्नै सकिन्न । हामीलाई बोझ, दायित्व, भोलि के गर्ने होला, कहाँ जाने होला, कसरी गर्ने होला कुनै टन्टै थिएन । हाम्रो काम खाने, हेर्ने, कारमा थपक्क बस्ने र नौलो ठाउँको दृश्यपान गर्दै तृप्त हुने मात्र थियो । बोझ, जिम्मेवारी, दायित्व, यात्रालाई सफल पार्ने, होटल, खाना, गाडी, तेल, पार्क परमिट आदि इत्यादि सहित केटाकेटीजस्ता आमाबाबुलाई प्रफुल्ल पार्ने दायित्वचाहिँ छोरीले लिएकी थिइन् । त्यसैले हामी मस्तीमा थियौँ । “बुबा न्यूयोर्क सार्वजनिक पुस्तकालयबाट यतातिरको निकुञ्जको विवरण भएको दुई पुस्तक ल्याएको छु, तपाईले ती पुस्तक हेर्नु, कुनै नौलो ठाउँ लागेमा भन्नु, सोअनुसार कार्यक्रम थपौँला ।” छोरीले मलाई दिएको जिम्मेवारी थियो त्यो । त्यो भनेको तय भइसकेका कार्यक्रमबाहेक अन्य हाइक वा ड्राइभ गर्न चाहेमा, मैले पुस्तक अध्ययन गरेर भन्नुपर्ने थियो । स्प्रिङडेल… नाम जस्तै चिटिक्क परेको सानो सहर सुन्दर रहेछ । सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार भनेझैँ स्प्रिङडेल जायनको प्रवेशद्वार हो । राता पहाड र भर्जिन नदीको खोँच तथा सानो उपत्यकामा रहेको पर्यटकीय सहर हो स्प्रिङडेल जुन युटाह राज्यमा पर्छ । सडकको दुवैतर्फ होटल, रेस्टुराँ र पर्यटकीय पसल मात्र छन् । साँझपखको वातावरण सुरम्य देखिन्थ्यो । पर्यटकको हैसियतमा साँझपखको रमझम अनुभव गर्न एक चक्कर लगायौँ र हामी बसेको होटल नजिकैको रहेको मेक्सिकन रेस्टुराँमा छि¥यौँ । नेपालीलाई मेक्सिकन खाना मन पर्छ किनभने त्यसमा पिरो, अमिलो, नुनिलोको मात्रा बढी हुन्छ । पिरोको लागि त्यस्तै चट्नी पनि पाइन्छ । थप कुरो के भने उनीहरू ककटेल ड्रिङ्क बनाउन माहिर मानिन्छन् । खानाको स्वाद लियौँ । भर्जिन नदीको सुस्साहट नसुनिए तापनि राता चट्टानमाथि तारा ओर्लेको दृश्य हेर्दै हिस्टोरिक पाइनियरतिर लम्क्यौँ ।–समाप्त–
साहित्यकार मोहन दुवाल प्रधान सम्पादक रहेको जनमत साहित्यिक पत्रिकाले ‘जनमतः नियात्रा’ (नियात्रासङ्गह) चैत्र २०७९ प्रकाशित गरेको छ । त्यसमा ३५ पृष्ठको ‘ नियात्रा, नेपाली नियात्रा र जनमत नियात्रा’ शिर्षकको आमुख लेख प्रा.डा. कपिल लामिछानेज्यूले लेख्नु भएको छ । सङ्ग्रहमा ३६ लेखकका नियात्रा समावेश छन् । त्यसमा मेरो मुगु जिल्लाको मुगुम गाउँको यात्राको ‘मुगुमका खस’ शिर्षकको नियात्रा समावेश छ । यस अवसरमा सम्पादक मोहन दुवाल र आमुखका लेखक प्रा.डा. कपिल लामिछाने दुवै जनालाई विशेष धन्यवाद दिन चाहन्छु । साथै अन्य लेखकहरूलाई बधाई ज्ञापन गर्दछु । मेरो नियात्रा त्यसैबाट साभार गरी यहाँ राखिएको हो । जनमतको नियात्रा सङ्ग्रह चैत २०७९ बाट साभार गरिएको । विष्णुप्रसाद शर्मा पराजुली
डोल्पाको एघार सय वर्ष पुरानो से–गुम्बामा बास बसेको रात त्यतैबाट मुगु जिल्लाको सबैभन्दा उत्तरमा रहेको मुगुम (मुगु) गाउँ पुग्ने रहर जागेको थियो । त्यस बेला म मुगुतिरको नभई साल्दाङ, छार्का भोट हँुदै मुस्ताङ झर्ने यात्रामा निस्केको थिएँ । से–गुम्बादेखि भिजेर गाउँ उत्तर–पश्चिममा पर्छ । त्यहाँ स्यामलिङ र पुरानो बोन गुम्बा रहेका छन् । भिजेरबाट पूर्वतिर साल्दाङ र पश्चिममा फो, पुङ खर्क, च्याङ्दी खोला, झोरीपाल भञ्ज्याङ, दोल्फु, किम्री हुँदै आठदेखि दश दिनमा मुगुको गमगढी पुगिन्छ । गमगढीबाट तीन घण्टामा रारा ताल पुगिन्छ । रारा तालबाट सिँजा उपत्यका हुँदै दुई दिनमा जुम्लाको खलङ्गा पुग्न सकिन्छ । गमगढीबाट बाम, रिमी, सर्केघाट, खार्पुनाथ हुँदै छ दिनको पैदलयात्रा गरी हुम्लाको सिमकोट पुग्न सकिन्छ । त्यसैगरी सिमकोटबाट याल्बाङ, मुचु, यारी, हिल्सा हुँदै छ दिनमा चीन (तिब्बत)को ताक्लाकोटसम्म पुग्न सकिन्छ । हिल्साबाट एक दिनमा मानसरोवर र कैलाश पुग्न सकिन्छ । भिजेरबाट गमगढीको यात्रामा दुई अग्ला याला भन्ज्याङ (५,४१४ मिटर) र च्यार्गो भञ्ज्याङ (५,१५० मिटर) पर्ने र बाटोमा गोठ तथा गाउँ नभएकाले पाल, भाँडाकुँडा र खानाको बन्दोबस्त गरेर जानुपर्छ । तराई, शिवालिक, महाभारत र हिमालय क्षेत्रमा प्रकृतिको शृङ्गारको मौसम बेजोडले चलेको थियो । वन, पाखापखेरामा चरीको गीतसँगै शीतल हावा बगेको थियो । कुनै–कुनै पखेरामा रूखका पात झरेर भुईंभरि मलमलको बिछ्यौना ओछ्याएको जस्तो देखिन्थ्यो । त्यो दृश्य देख्दा गाउँका भर्खर बैँसमा प्रवेश गरेका नवयुवतीहरू दशैँको पिङ मच्चेझैँ मच्चेर हिँड्थे । त्यस्तै अर्को पाखोको रूखमा देखिएका कलिला मुनामा स–साना चराहरू भार्रभुर्र गर्दै यौवनको लिला देखाउँथे । अर्कोतिर कलिला हरिया पालुवाले चराचुरुङ्गी, पशु र मानव लोभ्याउन तम्तयार थिए । महाभारत शृङ्खला र हिमाली भेगमा राता, गुलाबी रङका लालीगुराँसका पूmलले वन, पाखा र पखेरा ढपक्कै ढाकेको थियो । हिमाली भेगको आकाश निलो देखिन्थ्यो । त्यस बेला रारा तालवरपरको लालीगुराँसको वनमा फुलेका पूmलले घोडेपानी र मिल्के डाँडाको झझल्को बिर्साइदिन्थे । रारा तालको किनारमा फुलेका लालीगुराँसका पूmल तालको छालसँगै बयली खेलेको क्रिडा छायानाथ हिमालले आँखा नझिम्क्याईकन हेरे जस्तो देखिन्थ्यो । २०७४ वैशाखको वसन्तले मुगाली चेलीलाई चराचुरुङ्गीसँगै भाखा मिलाएर वन र पखेरा घन्काउन प्रेरित गरेको थियो । उनीहरूले राराको सुन्दरतालाई सम्झँदै वन थर्काउँदै प्रेम गर्दै गाउँदै थिएः आइजाउ सुवा हाम्रा मुगु, याँइ प्रिती गाँसौंला, रारा ताल्का छेउमा बसी खुसीले हाँसौँला । वोर्ताको ल्वाहासुर नारायन, थिम दाण्या मष्टो । मै मान्दे ज्यासुकी रहण मेरै भाग्य कस्तो ।। आइजाउ सुवा हाम्रा मुगु ………………… डोल्पो यात्रामा से–गुम्बामा बास बस्दाको रात ग्याल्जेनसँगको भलाकुसारीपश्चात् मुगुम गाउँ पुग्ने मेरो चाहना त्यही वसन्तमा जु¥यो । नेपालगञ्जमा दुई रात लामखुट्टेसँग भेटघाट नगरी ताल्च विमानस्थल खुलेन । अर्थात, जहाज कुरेर त्यहाँ दुई रात विताउनु प¥यो । एक दशकसम्म कच्ची हवाइमैदानेमा उडान र अवतरण गर्नुपर्ने जोखिमपूर्ण हवाइयात्रापछि त्यो विमानस्थल कालोपत्रे भएको थियो । कच्ची विमानस्थल नै किन नहोस्, शासकहरूकै लागि किन नहोस् मुगुमा हवाइजहाज ओहोरदोहोर गर्न थालेपछि नजिकैको छायानाथ हिमाल खुसी भएर हिमवर्षा गरेको मुगालीले बिर्सेका छैनन् । त्यसपछि कर्णाली राजमार्गले कछुवाको गतिकै यात्रा किन नहोस् त्यो यात्रा थालेपछि साँचो अर्थमा चिसो निष्ठुरी हावाले चुमेर फुटेका मुगाली दिदीबहिनीको ओठमा मुस्कान देखापरेको हो । छातीभित्रको पखेरामा बसेका अनगिन्ती पीडाका पोकाहरू यथावत् छन् तापनि सुर्खेतदेखि गमगढी जोड्ने त्यो कर्णाली राजमार्गले उज्यालो भविष्यको सङ्केत गरेकोमा मुगुमेली विश्वस्त छन् म रारा तालमा दुई पटक पुगिसकेको थिएँ । राराबाट चुचीमारा लेक (३,६६४ मिटर), सिँजा (२,५०० मिटर), जलजला (३,३०० मिटर) हुँदै जुम्ला अनि जुम्लादेखि डाँफेलेक (३,७२० मिटर) हुँदै रारा तालको पदयात्रा गरिसकेको थिएँ । विमानस्थलबाट उकालो चढेर उत्कृष्ट घना सल्लाको वनको बाटो भएर दुई घण्टामा रारा पुगिन्छ । त्यस बेला मसँग युवा मित्र कुशल अधिकारी थिए । पहिलो पटक रारा तालमा पुगेका कुशलको अनुहारमा हर्षको चमक देखिन्थ्यो । वनमा लालीगुराँसको पूmलहरू फुलेर राराको अपार सौन्दर्यलाई झन् मोहनीलाग्दो बनाएको थियो । रारा तालको आकार, सौन्दर्य,भूगोल, जीवजन्तुबारे जेठ ६ गतेको गोरखापत्रमा ‘रारा तालको रहर’ शीर्षकमा यात्रा संस्मरण प्रकाशन भएकाले यहाँ उल्लेख गरिनँ । कर्णाली राजमार्ग बनेपछि नेपालको सबैभन्दा ठूलो, अति नै रोमाञ्चक, मानव मन वशिभूत पार्ने, लोभलाग्दो एवम् बिछट्टै सुन्दर रारा ताल हेर्ने रहर धेरै युवाले पूरा गर्न थालेका छन् । हामी त्यहाँ पुग्दा ढकमक्क फुलेका राता र गुलाबी रङका लालीगुराँस र ती गुराँसले रारा ताललाई गर्लम्म अँगालो हालेको दृश्यको सुन्दरता अवर्णनीय थियो । धन्य छन्, हाम्री लोभलाग्दी प्रकृति माता ! त्यस पटकको यात्राको लक्ष्य मुगुको मुगुम गाउँ पुग्ने र त्यहाँबाट फर्केर मुगुको बाम, हुम्लाको देवकोटाबाडा हुँदै सिमीकोट (सिमकोट) समेट्नुथियो । मैले त्यसो गर्नुको मुख्य कारण मुस्ताङदेखि हुम्लाको हिल्सासम्मको उच्च हिमाली क्षेत्र पैदल हिँडेर सक्नुथियो किनभने मैले पूर्व ताप्लेजुङको कञ्चनजङ्घा आधारशिविरदेखि हुम्लाको हिल्सा र त्यसमा थप प्राचीन खस साम्राज्यको महत्वपूर्ण क्षेत्र मानसरोवर र कैलाश परिक्रमा गरेर सक्ने धुनमा थिएँ । त्यसमध्ये यो संस्मरण तयार गर्दासम्म अब मकालु–वरुण क्षेत्रको मकालु आधारशिविर मात्र बाँकी रहेको छ । त्यसो गर्न सकेमा मैले ग्रेट हिमालयन ट्रेलअन्तर्गतको नेपालको अधिकांश हिमाली खण्ड पैदल यात्रा गरेर सक्नेछु । त्यसमा एकदेखि दुई दिनसम्मका कुनै–कुनै खण्ड जस्तै सल्लेरीदेखि लुक्ला, थामेदेखि च्छोरोल्पाबाँकी छन् । (यो प्रकाशित हुँदा बाँकी खण्ड सकिएको छ, ले. ।) पश्चिममा पाकिस्तानको नाङ्गा पर्वतदेखि प्रारम्भ भई पूर्वमा तिब्बत (चीन) को नाम्चे बार्वासम्म फैलिएको ग्रेट हिमालयन ट्रेलको कुल लम्बाई ४५०० किलोमिटर रहेको छ । त्यसमध्ये १७७७ किलोमिटर नेपालखण्डमा पर्छ । रारा–जुम्ला, रारा–सिमकोट, रारा–मुगुम, रारा–डोल्पा, रारा–गमगढी–साल्दाङवरपरको क्षेत्र विकटता, प्राकृतिक सौन्दर्य, उच्च पहाडी एवम् हिमाली जनजीवन, वनस्पति र जीवजन्तुको दृश्यावलोकनका लागि संसारकै उत्कृष्ट साहसिक पदमार्गमा पर्दछ । सहज र सुगम भने पक्कै छैन । मेरा युवा मित्र कुशलको राराको रहर पुगेपछि भोलिपल्ट गमगढीतिर लाग्यौँ । माथि उल्लेख गरिएका क्षेत्रमध्ये रारा वरपरको क्षेत्रलाई मैले प्रकृतिको एक अनुपम स्थल भनेको छु किनभने प्रकृतिको अँजुलीभरि टपक्क मिलेर बसेको रारा तालको सौन्दर्यसँग तुलना गर्न मिल्ने त्यस्तै अन्य प्राकृतिक गहनाले सुसज्जित स्थल विरलै पाइन्छ । यहाँ प्राकृतिक विविधताको स्वाद एकै ठाउँबाट रहर पुग्ने गरी चाख्न सकिन्छ । त्यो सन्तुष्टि दिने क्षमता रारा ताल र त्यसवरपरको प्रकृतिको सुरम्य वातावरणमा छ । त्यसका अतिरिक्त रारा तालको वरपर रहेको घना वन, त्यसभित्र रमाउने विभिन्न थरीका चराचुरुङ्गी, जङ्गली जनावर र रूखबिरुवाको त उल्लेख गरी साध्य नै छैन । हिमचुचुरासँग साइनो जोड्न चाहनेका लागि त्यहाँ चुच्चेमारा लेक र छायानाथ हिमाल मुसुक्क हासेर बसेको छ । जङ्गलभित्र छिरेर वनस्पतिको सुगन्ध सुँघ्न मन पराउनेका लागि त्यहाँ बासनायुक्त थरीथरीका फूलहरू सहित घना जङ्गल छ, जङगलभित्र चराचुरुङ्गीको चिरबिरको तालमा कम्मर मर्काउँदै नाच्न चाहनेलाई डालीडालीमा सारङ्गीको धुन गुन्जेको हुन्छ । इतिहास र संस्कृतिमा चाख राख्नेलाई कम्तीमा पनि विक्रम एक हजार वर्ष पहिलेका खस साम्राज्यकालीन सभ्यताले सोधका लागि आह्वान गरेको हुन्छ । यो प्रकृति र सभ्यताको खानी भएको ठाउँ हो । उकालो नसकिँदै मल्लकालीन ढुङ्गेधारा छ भने धर्मबाट मोक्ष प्राप्त गर्न खोज्नेलाई छाप्रु महादेव र रारा महादेव वनको बीचमा धुनी जगाएर काठको मन्दिरभित्र विराजमान छन् । महादेव पनि खस साम्राज्यकालीन ढुङ्गेधाराझैँ जीर्णावस्थामा छन् । ठाउँठाउँमा चाङ्गुनारायणको शिलालेख जस्ता ढुङ्गाका अग्ला खम्बा ठड्याइएका देखिन्थे । वरपर मस्ट देवताका थान र सल्लाको लिङ्गोमा बाँधिएका राता–सेता–पहेँला धजा झुण्ड्याइएका देखिन्थे । वरपर देखिने दुई–तीनतले घरहरू कतै काठैकाठले बनेका काठैको फलिकाको छानो भएका, कतै माटोले छाएको मुन्ना छानो भएका र कतै भने निलो जस्ताको छानो भएका थिए । घरको बनोट हेर्दा त्यहाँ हजारौँ वर्ष पुरानो प्राचीनकालीनका साथै आधुनिक घरहरू देख्न सकिन्थ्यो । कानमा झुम्का, नाकमा फुली र बुलाकी, घाँटीमा पहँेला, सेता र राता दानाका पोते लगाएर मुगु कर्णालीको लहरलाई उचाल्ने गरी देउडा भाकामा गीत घन्काउँदै दाउरा र घाँसको भारी बोकेर झर्दै गरेका मुगुमेली नारीको ताँती लोभलाग्दो देखिन्थ्यो । कतै–कतै पखेरामा भारी बिसाएर सुल्पाबाट तमाखु तान्दै थिए । कोही हामीलाई देखेर पछ्यौरीले अनुहार ढाकेर खित्का छोडेर मरीमरी हाँस्दै थिए । कतै भने लोकभाका देउडा घन्काउँदै थिए । महिलाले संस्कृतिको पहिचान बोकेका हुन्छन् भन्ने कुरा त्यस ठाउँका महिलाको पहिरनले प्रस्ट पारेको थियो । रारा पुगिसकेपछि राराको परिक्रमा गर्नु उत्तम हुन्छ । प्राकृतिक सौन्दर्यको अनुपम स्वाद चाख्दै राराबाट स्याउलीचौर–कार्कीबाडा हँुदै तीन घण्टामा मुगुको सदरमुकाम गमगढी बजार पुगेको चालै पाइएन । सैनिक ब्यारेकबाट गमगढी झर्दा गमगढी बजार, श्रीनगर, कार्कीबाडा, रुगा, थार्प, चङ्खेली हिमाल र मुगु कर्णाली देखिएका थिए । कर्णाली र सुदुरपश्चिम, मनसुनी वर्षाको बाटोभन्दा धेरै पश्चिमोत्तरमा पर्ने भएकाले वर्षा कम हुन्छ । त्यसैले यो क्षेत्र नेपालको पश्चिम र पूर्वी पहाडको तुलनामा धेरै सुख्खा छ, जर्जर छ । वैशाखको महिना गमगढी अत्यन्त फुस्रो देखिएको थियो भने फाँटको वरपर बसेका गाउँमा गहुँको हरियाली देखिन्थ्यो । रुगा र थार्प भने सुख्खापन, जर्जरता र गरिबीका नमुना नै बनेका छन् शताब्दीऔँदेखि । चैतसम्म हिमतालको पानीझैँ गाढा निलो देखिने मुगु कर्णाली पनि छायानाथको हिमनदी पग्लेर बगेकाले धमिलो देखिएको थियो । मुगु कर्णालीको किनारबाट उठेर साँघुरिएर पूर्वदेखि पश्चिमतिर तन्कँदै झरेको मुगुको सदरमुकाम गमगढी (२,१०० मिटर) बजार पहाडको धारमा थपक्क बसेको छ । जुम्ल्याहा चङ्खेली हिमाल गमगढीका गहना हुन् । साँघुरो, भिरालो, भिडभाड भइरहने बजार, फुस्रो र चिसो खरानी रङको धुलोसँगै बगिरहने हावा, परम्परागत परिहनमा सजिएका मुगुमेली दिदीबहिनी र दाजुभाइ गमगढीका चिनारी हुन् । काठ, ढुङ्गा र माटोबाट बनेका, मुन्ना छानो भएका घरहरू आधुनिक पक्की घरबाट विस्थापित हुँदैछन् । हामी त्यहाँ पुग्दा मानिसको चहलपहल बाक्लो थियो । पहिलो पटक त्यहाँ पुग्ने कुशल जस्ता यात्रीलाई त्यहाँ देखिने घर, पहिरन, बोलचाली सबै कौतुहलपूर्ण हुन्छ । कम्तीमा पनि एक रात गमगढी बजारमा बसेर त्यहाँको सिमीको दाल र मार्सी चामलको भात खाइएन भने गमगढी पुगेको ठहरिँदैन । गमगढीको बारेमा ‘मुगु रुगागाउँका भाइबहिनी’ शीर्षकमा विस्तृत चर्चा गरेको हुनाले यहाँ थप चर्चा गरिएन (पराजुली, २०७३ ः १६९–१७६) । मुगुका ख्यातिप्राप्त लोकगायक, शिक्षक एवम् पत्रकार कवि कार्की मेरा मित्र हुन् । कविकोमा मार्सी चामलको भात, कालो सिमीको दाल, साग र दहीसँग साहै्र मीठो खाना खायौँ । खाना खाँदा मैले अनजानमा गल्ती गरेछु । मुगुमा दहीमा दाल वा तरकारी वा नुन नमिसाई खानुपर्ने रहेछ । दहीमा नुन मिसियो भने ‘गाई, भैँसीले दुध दिँदैनन्’ भन्ने बलियो विश्वास अझसम्म रहेछ । चालिस वर्षपहिले मेरो गाउँ पर्वतको विहादीमा त्यस्तै चलन थियो तर आजकल हरायो । कविकोमा मैले दहीलाई भात र तरकारीमा मिसाएर खाएँ । तर कविले दालभात खाएको थाल पखालेर, हात–मुख धोएर कसौडीबाट छुट्टै भात मागेर दहीसँग मुछेर खाए । मैले पछि मात्र त्यो कुरा चाल पाएँ । ‘मैले गल्ती गरेँ । मलाई माफ गर्नुहोला’ भन्दै मैले माफी मागेँ । वहाँकी पत्नी पञ्चकला कार्कीले त्यसलाई सामान्य रूपमा लिंदै ‘केही भएको छैन । पुरानो चलन हो । धेरैले छोडिसके । हामीले सकेसम्म दहीलाई तरकारीमा नराखी चोखै खान्छौँ’ भन्नुभयो । त्यसैले यात्रामा निस्कँदा त्यस क्षेत्रको रहनसहन, रीतिथिति, परम्पराबारे अवगत हुनु जरुरी छ । स्थानीय संस्कृति र परम्परालाई सम्मान गर्न बिर्सनुहुँदैन । मैले कविलाई एक जना पथप्रर्दक साथी खोजिदिन भनेको थिएँ । हामी त्यहाँ पुग्दासम्म साथीको टुङ्गो भएको रहेनछ । मुगुमको लामा थरको मित्रलाई वहाँले कुरा गर्नुभएको रहेछ । खाना खाएपछि हामी बजारतिर झ¥यौँ । लामालाई भेट्यौँ । लामा व्यापारी रहेछन् । दैनिक तीन हजार रुपियाँ पाएमा हामीसँग जाने उनको धारणा रहेछ । उनले मलाई कुनै विदेशी आयोजनाबाट निरीक्षण गर्न निस्केको हाकिम भन्ने ठानेका रहेछन् । हामी त्यस्ता कर्मचारी थिएनौँ र त्यत्रो पैसा तिर्ने औकात पनि थिएन । त्यसैले हामीले अर्को एक जना साथी खोज्यौँ थार्पका चतुर सिंह वि.क. । उनलाई खाना, खाजा, होटलको व्यवस्था हामीले गर्ने गरी दैनिक एक हजार रुपियाँ दिने गरी टुङ्गो ग¥यौँ । उनी थार्पबाट कामको खोजीमा त्यहाँ आएका थिए । चतुर सिंहलाई हाम्रो स्लिपिङ ब्याग बोक्न दियौँ र सोही दिन बाटो लाग्यौँ । वैशाखको महिना घाम चरक्क चर्केको थियो । हावा चल्दा धुलो मुखभरि आउथ्यो । हामीले दिउँसो एक बजे गमगढीबाट मुगुमको यात्रा सुरु ग¥यौँ । मुगुम (मुगु) तिब्बतको सीमानजिक रहेको मुगुको सबैभन्दा टाढाको गाउँ हो । मुगुको पुरानो नाम मुगुम हो र त्यसलाई मुगु भनियो । जिल्लाको नाम पनि मुगु नै रह्यो । भिरालो खरबारीको पखेरोबाट सिधै चाल्ने खोलाको तीरमा झरेर कर्णालीको किनारमा पुग्यौँ र किनारैकिनार साँघुरो उपत्यका हुँदै पूर्वोत्तर लाग्यौँ । कर्णालीका बासिन्दाले प्रायः सबै ठूला खोला र नदीलाई कर्णाली भन्छन् । कर्णालीकै नाममा रहेका तीन ठूला नदी मुगु कर्णाली, टुक्के कर्णाली र हुम्ला कर्णाली हुन् । देवकोटाबाडा नजिकको टुक्के वा लाटी नदीलाई पनि स्थानीयले कर्णाली भन्छन् । मुगुम खण्डमा मुगु कर्णालीलाई मैले कर्णाली मात्र भनेको छु । कर्णाली नदीको विस्तृत चर्चा ‘तिब्बत यात्रा’मा गरिएको छ । (पराजुली, २०७२ः पृ.१११) । कर्णालीको किनारको बाटो सजिलो थियो । त्यो तिब्बतदेखि जुम्लासम्म नुन, ऊन र खाद्यान्न व्यापारको खस साम्राज्यभन्दा पहिलेदेखि चलनमा रहेको प्राचीन मार्ग हो । त्यो मार्गमा मुस्ताङतिर जस्तो व्यापारिक घर, बजार भने रहेका छैनन् । नदी किनारबाट उठेका पहाड त्यस्तै चार–पाँच हजार मिटर माथि उठेका छन् । रारादेखि चार घण्टाको पैदलदुरीमा नै सुख्खापन निकै बढेको थियो । नदीकिनारभन्दा एक हजार मिटर माथि रहेका रुगा, थार्प, लह, तीर्प, लुम्स गाउँ जर्जर सुख्खा थिए । हरियो भन्ने केही देखिदैनथ्यो । हामी हिँडेको तल्लो किनारको पखेरामा एकाध लालीगुराँस, पिपल, ओखर, धुपी, लोठ, ठिङ्गो (ठिङग्रे), गोब्रे, बबै, औँली, खामा, तिल्खोका रूख देखिएका थिए । नदीको छेउछाउमा किमु, चुत्रो, बेडु, भालुकाँडाका झाँङ पनि देखिन्थे । बाटोमा हिँड्ने बटुवा पनि फाट्टफुट्ट मात्र देखिन्थे । उपत्यका जर्जर, सुख्खा र न्याउलीको विरह गीत जस्तो लाग्थ्यो । गमगढीबाट हिँडेपछि लुसा, दाना, कम्फा (२,०१० मिटर), छाइलचौर (२,००० मिटर) पुग्यौँ । कर्णालीको उत्तर र दक्षिणमा पाँच हजार मिटरभन्दा अग्ला क्रमशः धारी र धाम्के डाँडा रहेका छन् । यात्रा गर्दा उज्यालोमा बास बस्ने र बिहान छिटै हिँड्ने योजना गर्दागर्दै पनि कहिलेकाहीँ असफल हुन्छु । त्यस दिन राराबाट गमगढी आउँदा, खाना खाँदा र साथी खोज्दा सोचेभन्दा एक घण्टा ढिलो भएको थियो । उज्यालोमा बास बस्ने ठाउँ पाइएन । छाइलचौर पुग्दा झमक्कै साँझ प¥यो । गाउँ पुग्ने बेला एक ठाउँमा ठूलो पहिरो झरेर कर्णालीमा मिसिएको रहेछ । अँध्यारोमा पालैपालो गरेर त्यो पहिरो नाघेपछि बास बस्ने ठाउँ भेट्यौँ र त्यहीँ बस्यौँ । कर्णालीको यो साँघुरो, सुख्खा, जर्जर, गहुँ, मकै, कोदो जस्ता बाली अत्यन्त कम उब्जनी हुने भिराला पखेरामा एकै ठाउँमा एक घरमाथि अर्को घर खप्टिएझैँ टाँसेर बनाइएका घरहरू भएका गाउँ छन् । रुघा, थार्प, लहाप, ल्ह, तीर्प, छाइलचौर, पाँपु, सालिम, रोवा, रेङचेकाटी, बालचौर, खोलासाडा, भट्डाणी, लुम्स, कम्फा, चिमात् गमगढीभन्दा उत्तरपूर्वमा रहेका मुख्य गाउँ हुन् । यी गाउँमा क्षेत्री, रोकाय, बरुवाल, एडी, बुढाक्षेत्री, भगरी क्षेत्री, ऐडी, बुढाथोकी, दमै र विश्वकर्मा जातिको बसोबास रहेको छ । माथिल्लो डोल्पा भनेझैँ माथिल्लो मुगुम क्षेत्रका म्ह, माङ्री, दोल्फु र मुगुममा मुगुमेली हिमाली जातिको बसोबास रहेको छ । धेरैले लामा थर राख्दछन् । हामी छाइलचौरमा बुढाक्षेत्रीको घरमा बास बस्यौँ । त्यो सामान्य घर हो । त्यहाँ खाना र अँगेनाछेउको मझेरीमा सुत्न मिल्थ्यो । खाना खाने बेला बुढाक्षेत्रीले क्षेत्रीको प्रसङ्गमा भने– “हामी खसानका क्षेत्री हौँ । हाम्रो बिहेबारी अहिलेसम्म खसानकै जुम्ला, कालीकोट र बैतडीका खससँग हुन्छ ।” एकातिरको सानो छाप्रोमा रक्सी पार्दै गरेको देखेर मैले जिज्ञासा राखेँ – “डोल्पाबाट जुम्ला जाँदा मैले क्षेत्रीको घरमा यसरी नै रक्सी पारेको देखेको थिएँ । यतातिर पनि रक्सी पार्नुहुँदोरहेछन् नि ?” घरमै पारेको रक्सी पिउँदै उनले भने– “हामी व्रतबन्ध गछौँ । जनै व्रतबन्ध गरेको दिन र विवाहको दिन मात्र लगाउँछौँ किनभने जनैको विधि पूरा गर्न सक्दैन । हाम्रो पुरेतले जनै लगाउँछ । उनले रक्सी पिउँदैन । यो खसानको पालादेखि पुर्खाले चलाएको चलन हो । हामीले त्यही गरेको छ । हिउँदमा चिसो हुन्छ । रक्सी भएन भने काम गर्न सक्दैन ।” नजिकै उनकी बुहारी बसेकी थिइन् । मैले उनको उमेर सोधेँ । उनी अठार वर्षकी थिइन् ।– अठार वर्षकी भए तापनि अनुहार र शरीरमा देखने रक्तहिनता, र सुख्खापनले उनी कामको बोझ र पौष्टिक आहारको कमि भएको पाको उमेरकीपैतीस–चालीस वर्षकी महिला जस्ती देखिन्थिन् । उनका स–साना दुईटा छोरी सँगै थिए । उनको काखको एक वर्षकी छोरी उनकै छातीमा हराएकी थिइन् । त्यहाँ बाह्र–तेह्र वर्षको उमेरमा बिहे गर्ने चलन सामान्य नै रहेछ । बिरामी परेमा झारफुक, धामीझाँक्री सामान्य उपचारका विधि हुन् । हाम्रो खाना तयार गर्दै बुढाक्षेत्रीकी पत्नीले भनिन्– “खसान (जुम्ला सिँजा माइत)तिर पनि सानैमा बिहे गरिदिन्छ । आमाले छोरीलाई सकेसम्म छिटै बिहे गरिदिन खोज्छन् । छोरीको जुनीमा जन्मेपछि अर्काको घर जानैपर्ने । त्यसैले छिटै बिहे हुन्छ । छिटै बच्चा हुन्छ । कति बच्चा त तीन वर्ष नपुग्दै मर्छ । हाम्रो जुनि त धेरै दुःख छ । पहिले त खसानको राजा हुँदा सुख थियो रे । अहिले त हामीलाई सारै दुःख छ । हामी क्षेत्री, वि.क. र दमाईलाई धेरै दुःख छ । हाम्रोमा धेरै मान्छे खान नपाएर मर्छ । यस्तो कुरा कस्ले बुझ्छ । के गर्ने हजुर, दुःख भयो, भोकभोकै भयो भनेर उ… तलको करनालीमा पस्न नसकिने रहेछ । उ… त्यो नातिनी (बच्चा देखाउँदै) को माया लाग्छ । हामी स्वास्नीमान्छेको जीवन त भारी बोक्ने गधाको भन्दा पनि दुःखी छ ।” त्यसपछि उनले खाना पस्कँदै यो गीत गुनगुनाईन्ः यति लामा करनालीको काँ पर्यो हो कुनु । हे दैव क्या गरिस् यस्तो, मलाई मात्र रुनु ।। कुशल र म दुवै भावुक भयौँ । हामी काठमाडौँबाट घुम्न निस्केका मानिस थियौँ । त्यतिखेर नै मलाई तिखो झीरले मेरो छातीमा च्वास्स घोचेझैँ चसक्क घोच्यो । वर्तमानका खसानेले, वर्तमानको खसान राज्यको अति महङ्गो घुम्ने मेचमाथि बसेर यस्तै परिवारजनको नाम पारेर दिनदहाडै ब्रह्मलुट मच्चाएको कुरा त्यहा ती बुढाक्षेत्रीका दम्पत्तिलाई भनूँ कि नभनूँ दोधारमा परेँ । वास्तवमा मेरो हृदय छियाछिया भए जस्तो लाग्यो । हाडमा छाला मात्र टाँसिएकी जीवित कङ्कालजस्तै उनकी बुहारीलाई हेरेँ । छातीमा नै हराएर उनको पातलो रक्तहीन स्तनको मुन्टो चुस्दै गरेकी उनकी छोरीलाई हेरेँ । जनताकै मतबाट राजा भएका घुम्ने मेचमा बस्ने वर्तमान खसानका भ्रष्ट राजाहरूको रूप मेरो अगाडि आयो । उनीहरूले खित्का छोड्दै ती आमाछोरीलाई उपहास गरे जस्तो लाग्यो तर म बोलिनँ । “बाजे खाना खाने बेला भयो । ?” ती क्षेत्रीय नारीको आवाजले म झस्केँ । हामीले खाना खायौँ र खाटमा पल्टियौँ । कर्णालीको आवाजसँगै ती तीन आमा, छोरी र नातिनीको अनुहार अँध्यारोको बीचमा नै पनि मेरो अगाडि नाचिरह्यो । त्यो तीन पुस्ताको उमेरमा जम्मा सत्र वर्षको फरक थियो । अघिल्लो दिनको आठ घण्टाको हिँडाइ कुशललाई बढी भएछ । म अगाडि थिएँ । उनी पछाडि पर्दै गएकाले माङ्ग्रीमा चिया पिउँदै पर्खेँ । माङ्ग्रीमा क्षेत्री र खस लामाको बसोबास रहेको छ । यतातिर क्षेत्रीलाई खस भन्नै नपर्ने भएकाले खस नभनिने रहेछ तर माथिल्लो मुगुका गाउँका हिमाली बासिन्दालाई खस लामा भन्दा रहेछन् । त्यहाँ पुगेपछि मस्ट देवताका थान र धजा, बोन र बौद्धमार्गीका स्तूप तथा माने र लुङ्दार सँगसँगै फहराएका थिए । त्यो स्थल हिन्दू, बोन र बौद्ध धर्म, संस्कृति, परम्पराको मिश्रण भएको खस महाजातिभित्र विभिन्न जाति अटाएझैँ अटाएको खस जातिको आँगन थियो । “भाइ हिँड्न सक्ला जस्तो छैन सर । ढुङ्गेधारासम्म जाऊँ । त्यहाँ खाना मिठो हुन्छ । खाना पाक्ने बेलासम्म सल्लाह गरौँ । ऊ त फर्कन्छ होला ।” चतुरसिँह वि.क.ले भने । एक जना साथीको साथ लगाएर कुशललाई गमगढीतिर फिर्ता पठाएर म चतुरसँग अगाडि बढेँ । ढुङ्गेधारापछि उपत्यका क्रमशः साँघुरो भयो । कताकति देखिने सल्ला र लालीगुराँसका बोट झन् पातलिए । उत्तरी पखेरामा ओखर र भोजपत्रका होचा बोट देखिन्थे । नदीको पश्चिममा चारमुखे पहाडको काखमा रनबुन, ताङ्बाल्चे, कोर्ताङ र सेरोग ससाना गाउँ रहेका छन् । पूर्वको खार डाँडा र गारालाप्छा डाँडाको फेँदतिर कुर्द, रिउस र पुअ गाउँ देखिएका थिए । बाटोमा भेटिएका पुरुषले आफैँले बुनेको दौरा, सुरुवाल र टोपी लगाएका थिए । हामी करिब दुई किलोमिटर ढुङ्गे पहिरोको बाटो हिँड्यौँ । यो क्षेत्र अन्नपूर्ण आधारशिविर नजिकको बगर जस्तै पहिरोको जोखिम भएको क्षेत्र रहेछ । त्यो क्षेत्रमा ढुङ्गैढुङ्गाको पर्वतबाहेक केही देखिँदैनथ्यो । हिँड्दै गर्दा कल्पना गर्न समय मिल्दोरहेछ । त्यसै बेला मैले कल्पेँ – “यो क्षेत्रमा विशाल ढुङ्गा खानी वा सिमेन्ट उद्योग नै सञ्चालन गर्न सकिन्छ । कम से कम पचास वर्ष खानी सञ्चालन गर्दा ती पहाड नदी किनारदेखि एक हजार मिटर माथिसम्म समथर बन्ने छन् । हाल ती पहाडमा गिद्धको गुँड र नाउर एवम् हिमचितुवा वारपार गर्नेबाहेक नोक्सान पर्ने अन्य केही जीवजन्तु र वनस्पति त्यहाँ छैनन् । हुनसक्छ, पहाडको गर्भभित्र तामा, फलाम, सुन वा अन्य त्यस्तै खनिज पदार्थ पनि होस् । कर्णालीबाट विद्युत उत्पादन गरेर बिनावातावरणीय जोखिम गिटी, ढुङ्गा वा सिमेन्ट रोपवेमार्फत् गमगढीसम्म लैजाने र त्यहाँबाट नेपालका अन्य सहर वा विदेशमा निर्यात गर्न सकिने थियो ।” त्यस्तै कल्पना गर्दै थिए साँच्चिकै ढुङ्गा पल्टेको आवाज आयो । त्यो आवाज हामीभन्दा पछाडिबाट आएको थियो । नदीको किनारैकिनार हामी छायानाथ ठाकुरजी हिमालतिरबाट आएको डोल्फुखोला र मुगुतिरबाट आएको कर्णालीमा मिसिएको करान क्षेत्रको तिहार गुम्बा भएको दोभानमा पुग्यौँ । कर्णालीको पूर्वतिर तिहार गुम्बा हुँदै छायानाथ ठाकुरजी हिमालतिर जाने बाटो थियो भने मुगुम जानेबाटो कर्णालीको तीरैतीर उत्तर लागेको थियो । छायानाथतिरबाट आएको डोल्पूmखोला कर्णालीभन्दा ठूलो थियो र धमिलिएर आएको थियो भने कर्णालीको पानी सङ्लो थियो । छायानाथ ठाकुरजी हिमालको फेदमा जनैपूर्णिमामा ठूलो मेला लाग्छ । त्यहाँ ठूला फराकिला पाटन, ससाना पोखरी, झरना रहेका छन् । छायानाथ वरपरका पहाड छ हजार मिटरको उचाइका रहेका छन् । तिहार गुम्बा करान क्षेत्रको सबैभन्दा ठूलो बौद्ध गुम्बा हो । यस क्षेत्रमा कार्तिक, किर्मी, दाउरा, ताखा, खारी, सेरोक र रिउस नामका ससाना गाउँहरू रहेका छन् । ढुङ्गेधाराबाट आउँदा बाटोमा ढुङ्गाको कानी चोर्तेन पार गरेका थियौँ । त्यसको दलिनमा भित्तेचित्र पनि थिए जो मलिन भएका थिए । त्यो कानी चोर्तेन तिहार गुम्बा, छायानाथ र मुगुम जाने यात्रुलाई स्वागतार्थ उभिएको जो कोही यात्रुले पनि अनुमान गर्न सक्थे । पुरानो काठेसाँघु र झोलुङ्गे पुल दुवै राम्रो अवस्थामा थिए । पुल तरेर गुम्बामा गयौँ । ढुङ्गा चिनेर बनाएको दुई तले गुम्बाको बीच भागमा काठको निरल राखिएको छ भने अघिल्लो भागमा दुई साना झ्यालहरू रहेका छन् । ठूलो र अग्लो पहरोको फेद दुई नदीको किनारमा गाउँभन्दा टाढा बनाएको भए तापनि गुम्बा भने निकै ठूलो र सुन्दर रहेको छ । हामी दिउँसो त्यहाँ पुग्दा बन्द रहेकाले गुम्बाभित्रको अवस्था थाहा पाउन सकेनौँ । रेउस बगरकी डोल्माका अनुसार त्यहाँ बुद्धको मूर्तिसहित थाङ्का र भित्तेचित्र रहेका छन् । गुम्बाको वरपर माने ढुङ्गा देखिन्थे भने त्यहाँका चोर्तेनहरूमा डोल्पाली शैली झल्कन्थ्यो । त्यो दिन पनि हामी त्यस्तै नौ घण्टाको यात्रा गरी कर्णालीको बगर चिताइकुना भन्ने ठाउँमा एउटा प्लास्टिकले छाएको छाप्रोमा रात बितायौँ । त्यो पूर्णिमापछिको तृतीयाको रात हुनुपर्छ जूनको उज्यालोमा सानो बगर दुध पोखेझैँ सेताम्मे देखिएको थियो । पूर्णिमा पछिको चतुर्थीको बिहान थियो । जुनको विहानी पखको उज्यालोले पहाड, नदी किनारको बगर चाँदीझैँ टल्केको थियो । वैशाख भएकाले बिहान पनि चिसो थिएन । म बसेको छाप्रो नजिकैबाट चकमन्न जूनको त्यो दुधेली बिहान कर्णाली बढी गर्जेको थियो । चराचुरुङ्गी नब्यूँझँदै कर्णालीको तीरमा झरेँ, हातमुख धोएँ । फर्कँदा छाप्रोधनी आमाले अँगेनोमा दाउरा बालेर चिया बसालेकी थिइन् । त्यो बिहान तातो पानी र चिया पिएर हिँड्ने योजना चतुर वि.क. र मैले गरेका थियौँ । वैशाखे बिहान दुध पोखिएको जस्तोे जूनको उज्यालोमा कर्णालीको तीर पछ्याउँदै दुई मानवाकृति मुगुमतिर अगाडि बढे । चरा पनि ब्यूँझन थाले । पूर्वतिरको आकाश उज्यालो भयो उत्तरतिरको गोरख र खाङ्ला हिमालमा सूर्यका किरणले चुम्बन गरेर सुवर्णमय पारिदियो । त्यस बिहान सहजै धेरै बाटो हिँड्यौँ । तेस्रो दिन रेउस बगरमा आलु र सागको तरकारी, सिमीको दाल, मसिनो चामलको भात, खुर्सानी र गाँजरको अचारसँग स्वादिष्ट खाना खायौँ । यो संस्मरणको प्रारम्भमा उल्लेख गरिएको माथिल्लो डोल्पाको भिजेर गाउँबाट आएको बाटो जोडिने ठाउँ रेउसा बगर (३,००० मिटर)मा हामी पुगेका थियौँ । डोल्पाबाट यहाँसम्म आउने मार्ग ग्रेट हिमालयन ट्रेलमा पर्छ भने यहाँबाट मुगुम जाने बाटो त्यसमा पर्दैन । त्यहाँबाट उत्तरतिरका गोरख र कान्ति हिमालका चुचुरा धेरै टाढा देखिएका थिए । हामी शेफोक्सुण्डो राष्ट्रिय निकुञ्जको पश्चिमोत्तर सीमामा पुगेका थियौँ भने कान्जिरोवा हिमाल हामीभन्दा दक्षिणतिर थियो । रेउस बगर मुगुमको ऐतिहासिक स्थल हो । हामीलाई खाना पकाएर खुवाउने आमा शेराब डोल्माको खुट्टामा ठूलो र गहिरो पुरानो पाकेको घाउ थियो । मसँग बेटाडिनको झोल थियो । कपासले घाउ सफा गरेर औषधी राखेर पट्टी लगाइदिएँ । मेरो मुख्य यात्रा बाँकी रहेकाले मैले उनलाई एउटा सानो सिसीमा थोरै बेटाडिन राखिदिएँ । यो रेउस बगर मुगालीको बेसीको गाउँ हो । उनका अनुसार हिउँदको तीन महिना उनीहरू याक, चौरी, भेडा लिएर सपरिवार यतै झर्छन् । सोह्र सय वर्षपहिले उनका पुर्खा पुरानो मुगुमा बसेका थिए । त्यहाँ धेरै चिसो हुने हिउँ नपग्लने भएकाले उनीहरू रेउस बगरमा झरे । तर उनीहरूलाई त्यो स्थान बढी गर्मी भएकाले फेरि अहिलेको मुगुममा बस्न थाले । रेउस बगर पुग्नु पहिल्यैदेखि हरियाली बढेको थियो । हरियाली नभएको अधिकांश खण्ड पहिरो र काला बगुवा चट्टानले भरिएको थियो । पातला एक –दुई घरहरू कुनै ढुङ्गाको चेपतिर र कुनै नदी किनारमा देखिन्थे । बाटोमा नाङ्गै, धुलैमुलै भएर खेल्दै गरेका केटाकेटीले मसँग चकलेट मागेको बाहेक मानिस ओहोरदोहोर गरेको भने भेटिएन । मुगु, खिला र रोलाजेन डाँडाहरू अग्लिँदै गए । नदीवारिपारि नै ससाना ढुङ्गे चोर्तेन, ठूला ढुङ्गा र काठे साँघुमा लुङ्दार फहराएको देखिन थालेबाट मुगुमनजिक पुगेको अनुमान गरेको थिएँ । घना हरियाली नभए तापनि ती चोर्तेन देख्दा मैले डोल्पाको रिङ्मो गाउँ सम्झेँ जहाँ संसारकै सबैभन्दा सुन्दर शे–फोक्सुण्डो ताल अवस्थित छ । एक ठाउँमा कर्णाली कालीगण्डकीको गल्छीजस्तै गहिरिएर बगेको देखियो । मुगुम (मुगु) हेर्ने उत्कट अभिलाषाले हुनसक्छ ढुङ्ग्याने बाटो छिचोल्दै मेरा पाइला फराकिलो उपत्यकामा पुगेर मात्र रोकिए । नदीको बहाव मन्द भयो । नदीकिनारमा गोला गुलाबी रङका कलात्मक ढुङ्गा देखिए । उत्तरको मुगु डाँडा, कान्ति हिमालका हिमचुचुरा, मोराइन, कानी चोर्तेन, मुगु डाँडाको काखमा अवस्थित मुगुम गाउँ (३,४३५ मिटर) र झरनाले मलाई मुगुम उपत्यकामा स्वागत गरे । म धन्य भएँ । चिसो स्याँठ चल्न थालेको थियो । ढुङ्गाबाट निर्मित काठका फलिकाले छाएको तीनतले मुगुमको कानी चोर्तेन (स्वागतद्वार) भित्र छि¥यौँ । चोर्तेनको काठको दलिन र भित्तामा मण्डला, बुद्धको जन्मस्थल, बुद्धले ध्यान गरेको, प्रवचन दिएको र निर्वाण प्राप्त गरेको भित्तेचित्र रहेको थियो । त्यस्ता भित्तेचित्रको कला, प्राचीनता, त्यहाँ प्रयोग गरिएको रङबारे विदेशका विश्वविद्यालयमा सोध र अध्ययन हुने कुरा मैले तिब्बतको थोलिङ गुम्बाको यात्रा गर्दा थाहा पाएको थिएँ । नेपालमा कम्तीमा एक हजार पाँच सय वर्षदेखि दुई हजार वर्षसम्म पुराना त्यस्ता भित्तेचित्र पूर्व ताप्लेजुङको ओलाङचुङगोलादेखि हुम्लाको हिल्साका साथै बझाङ, बाजुरा र दार्चुलाको हिमाली क्षेत्रमा पाइन्छन् । तिनको महत्व, अवस्था र जिर्णोद्धारबारे मैले दुवै पुस्तक ‘तिब्बत यात्रा’ र ‘डोल्पोः विश्वको जीवित सङ्ग्रहालय’मा उठाएको छु । मुगुम समुद्र सतहदेखि तीन हजार चार सय पैतिस मिटरको उचाइमा रहेको, हिमाली जाति खस लामाको बसोबास भएको गाउँ हो । यो गाउँ कर्णालीको पूर्वी किनारमा मुगु पहाडको भिरालो पखेरामा टमक्क टाँसिएर बसेको छ । त्यहाँ रहेका करिब तीन सय घर भिरमौरीको चाकाजस्तै गुजमुज्ज अवस्थामा पहाडमा टाँसिएका छन् । चार–पाँचवटा जस्ताको छानो भएका घरबाहेक अन्य सबै दुई–तीन तलासम्म भएका घर सिँजामा झैँ माटोले छाएको मुन्ना छानो भएका छन् । सबै घर माटो नराखि साना,ठूला, टुक्रा ढुङ्गा खप्ट्याएर बनाइएका छन् । भुईं तलादेखि माथिल्लो तलासम्मका बार्दली र छानोको चारैतिर सयौँ वर्षपहिलेदेखि जम्मा गरेका दाउरा खात लगाएर राखिएका छन् । हिमाली क्षेत्रमा दाउरालाई गहना, सम्पत्ति, इज्जत, वंश र कुलसँग तुलना गरिन्छ । कैयौँ घरका गारो दाउराको खातले लचक्क लच्केका देखिन्थे । सबै घरको अगाडि सल्लाको लिङ्गोमा फहराएको लुङदारले बोन एवम् बौद्ध धर्मप्रति आस्था झल्काएको थियो । कर्णाली नदी, त्यसैको किनारमा रहेको सेगोङ सुङ्ज्योन गुम्बा र गाउँभन्दा माथि दक्षिणमा अग्लो पहाडबाट झरेको छ्यार्कु लुङ्वा (झरना)ले गाउँलाई शोभायमान बनाएका थिए । मुगुमलाई एक्कासि देख्दा मैले कुनै सङ्ग्रहालयभित्र छिरेको अनुभूत गरेँ । यथार्थमा प्राचीन खस राज्य र त्यसभन्दा पहिलेका खस जातिको इतिहास बोकेको सङ्ग्रहालयभन्दा महत्वपूर्ण मुगुम (मुगु)गाउँ थियो मुगु जिल्लाको । हामीले रेउस बगरकी सेराब डोल्माको सुझावबमोजिम काठे साँघु तरेर सेगोङ सुङ्ज्योन गुम्बाभन्दा माथि रहेको दोर्जे लामाको घर खोज्यौँ । दोर्जेको ढुङ्गे घर तीनतले थियो । उनको घर पनि दाउराको खातले लचक्क लच्केको थियो । दोर्जेका अनुसार उनको घरमा भएका दाउरा पाँच पुस्तापहिले देखिका रहेका छन् । वृक्षविहीन, अत्यन्त विकट, छ महिना हिउँ जम्ने, गुइँठाबाहेक इन्धनको अन्य कुनै विकल्प नभएकाले त्यहाँका गाउँलेले टाढाटाढाबाट दाउरा खोजेर ल्याउन बाध्य भएका हुन् । कठ्याङ्ग्रिदो चिसोबाट बच्न दाउरा नै मुख्य इन्धन हो । हामी साँघुरो ठाडो लिस्नोबाट माथिल्लो तलामा चढ्यौँ । दोस्रो तला नै भान्सा, खाद्यान्न, लत्ताकपडा राख्नुका साथै सुत्नका लागि प्रयोग गरिन्थ्यो । एक–एक कप चिया पिएर हामी गुम्बा, मुगुम गाउँ, छ्यार्कु लुङ्वा र बुद्धमूर्ति हेर्न निस्क्यौँ । दोर्जी नै हाम्रा पथप्रदर्शक बने । दोर्जेले हामीलाई गाउँको सिरान, मुगु डाडाको फेद जहाँ एकाध बुढा रूखहरू थिए, त्यहाँ लगे । त्यहाँबाट पूरै गाउँ, कर्णाली नदी, कर्णालीले बनाएको सानो समथर द्विप जस्तो चौरमा सोनाम लामाले राखेको पूर्ण कदको बुद्धको मूर्ति, पश्चिमका पखेरा, गोरख हिमशृङ्खला र छ्यार्कु लुङ्वा देखिन्थ्यो । उनले हामीलाई एउटा बुढो रूखको फेद जहाँ ढुङ्गाले घेरेर त्यसलाई एउटा जस्ताले ढाकेको थियो त्यहाँ पुगेपछि भने “यो मुगाली बासिन्दाको पवित्र धाम हो । बाजेबाट थाहा पाए अनुसार हाम्रो पुर्खा मध्यएसियाबाट आएको हो । पश्चिम तिब्बतको खारी (हाल ङारी) मानसरोवरमा खस राजा हुनुभन्दा पहिले हाम्रो पुर्खा त्यहाँ बस्यो । त्यसपछि याक र भेडा चराउँदै हामी यो ठाउँमा आएको हो । आजभन्दा सोह्र सय वर्ष पहिले हामी पुरानो मुगुममा बस्यो । तिमीहरूलाई त्यहाँ पुग्न दुई दिन लाग्छ । त्यो ठाउँ धेरै चिसो छ । हिउँ पग्लँदैन । त्यसैले हाम्रो पुर्खा तल रेउस बगरमा बसाइँ झरेर गयो । त्यहाँ फेरि पुर्खालाई धेरै गर्मी भयो । याक पनि म¥यो । पुर्खाले मानेन । त्यस पछि आठ सय वर्ष पहिले यो ठाउँमा आयो ।” उनले थप्दै भने “यो पखेरोमा पहिले ठूलो वन थियो रे । हामी उभिएको ठाउँमा ठूलो अझङ्गको रूख थियो ‘रे । त्यसका तीन ठूला हाँगा तीनतिर फिँजारिएर ठूलो काँप बनेको थियो रे । हाम्रो आफ्नै जात थर हुन्छ तर खसान र विदेशीले हामीलाई फिरन्ते, दोक्पा, नोम्याड भन्छ । हाम्रो चलनअनुसार हामीले सबैभन्दा पहिले हाम्रो पुर्खा अथवा भगवान् अथवा मन्दिर वा गुम्बा जे भने पनि त्यसलाई नराखीकन अरू काम गर्नुहुँदैना । पुर्खाहरूले यहाँ बस्ने टुङ्गो गरे । त्यही ठूलो रूखको काँपमा गुम्बा राख्न मत मिलो । आजभन्दा आठ सय वर्ष पहिले त्यही रूखको काँपमा गुम्बा बनाएर मूर्ति राखे । एक पटक राति सबै सुतेको बेला गाउँमा आगलागी भएछ । त्यो गुम्बाको मूर्तिबाट आवाज निस्केर गाउँलेलाई आगलागीको खबर गरेछ । त्यस दिनदेखि यो सेगोङ सुङ्ज्योन गुम्बालाई वचन बोल्ने गुम्बा अथवा बोल्ने गुम्बा भन्न थालियो । तिब्बतबाट छ्योइची लामालाई बोलाएर सेगोङ सुङ्ज्योन गुम्बा बनायो । अहिले उ… त्यो तल (गुम्बा देखाउँदै) भएको गुम्बा त्यही पुरानो गुम्बा त्यहा सारेको हो । यो गाउँलेको गुम्बा हो । खसानले यसलाई लाब्दाङ् (महांकाल) गुम्बा भन्छ । मुगुममा निजी दस गुम्बा पनि छन् ।” नयाँ गुम्बा बनाए तापनि पुरानो गुम्बा भएको सानो ओडार जस्तो कोप्चोमा अहिले पनि बत्ती बाल्ने, लुङदार र खादा चढाउने गरिँदोरहेछ । गाउँमा बच्चा जन्मँदा, विवाह हुँदा, ल्होसार, खाओके र शर्वा जस्ता यहाँका स्थानीय चाड मनाउँदा यहाँ बत्ती बाल्ने गरिँदोरहेछ । “यो नै मुगुमको पुर्खाले रोजेको पवित्र स्थल हो ।” उनले भने । प्राचीन महत्वपूर्ण कुराको जानकारी दिएकोमा मैले दोर्जीलाई धन्यवाद दिएँ । त्यसपछि उनले हामीलाई छ्यार्कु लुङ्वातिर लगे । त्यो झरना हिउँदमा कहिलेकाहीँ तीन महिनासम्म जमेर बरफ झरनामा परिणत हुँदोरहेछ । झीको मालाले मुगुमेली नारीलाई सिँगारेझैँ प्रकृतिको उपहार त्यो छ्यार्कु लुङ्वाले गहना बनेर मुगुमलाई सिँगारेको थियो । त्यसै बेला त्यही छ्यार्कु लुङ्वामा पाँचओटा नाउर (जङ्गली भेडा दगिभ कजभभउ)ले पानी पिउँदै गरेको अपूर्व दृश्य हेर्ने अवसर प्राप्त भयो । पानी पिएर ती नाउर उकालो लागे भने हामी गुम्बातिर झ¥यौँ । गुम्बामा हामीले त्रिसठ्ठी वर्षीय ठिले टेवालाई भेट्यौँ । दोर्जीले उनीसँग हाम्रो परिचय गराए । उनीसँगै हामी सेगोङ सुङ्ज्योन (वचन बोल्ने) गुम्बाभित्र छि¥यौँ । गुम्बाको ठूलो हल थाङ्का र बौद्धमन्त्र लेखिएका झण्डाहरूले सजिएको थियो । बुद्धको जीवनी र मारका कथाका भित्तेचित्रले भित्तो रङ्गिएको थियो । गुम्बाको मुख्य खण्डमा बुद्ध, पद्मसम्भव र मन्जुश्रीको मूर्तिहरू थिए । मूर्तिको दुवैतिर खण्डे दराजमा पुराना पुस्तकहरू सजिएका देखिन्थे । त्यहाँ हरेक दिन पूजा गर्ने र बत्ती बाल्ने गरिन्छ । त्यसपछि हामी नदीपारि बुद्धको पूर्ण कदको मूर्ति भएको चौरतिर गयौँ । बाटोमा मैले ठिले टेवालाई मुगुममा भएका बासिन्दाको थर र बिहेको चलनबारे सोधेँ । मेरो जिज्ञासाको उत्तर दिनुभन्दा पहिले उनले मेरो परिचय, म मुगुम पुग्नुको कारणबारे सोध्दै उनले भने– “खसानको खसान मुगुमा आउँदैना । खसान गमगढीको सुब्बा यहाँ आउँदैना । तलै बस्छा र यहाँ पुग्यो भनेर लेख्छा । तिमी केन आयो ? परिचय र कारण बताएपछि उनले दोर्जीले गुम्बाको बारेमा पहिले भनेको पुर्खाको कुरासहित थर (गोत्र), वंश, खस जाति, विवाहबारे जानकारी दिए । जुम्ला, मुगु, बैतडी, बाजुरामा झैँ यस कर्णाली उपत्यकाका बासिन्दाले खस र खसान भनेकोमा मलाई निकै चाख जागेको थियो । उनीहरूले त्यसो भन्दा मैले खस साम्राज्य र त्योभन्दा पनि अझ प्राचीन युगतिर पुगेर बालकृष्ण पोखरेलको पुस्तक ‘खस जातिको इतिहास’ को पानातिर पुग्दथेँ । उनले थरहरूबारे जानकारी दिनुभन्दा पहिले दोर्जीले भनेभन्दा चाखलाग्दो ऐतिहासिक कुराको जानकारी दिए । उनले भने – “मानसरोवरबाट याक चराउँदै, पालको घरमा बस्दै पुर्खा पूर्व लागे । त्यस बेलाको पाल, लुगा, जुता र चाहिने कुरा याक र भेडाको छाला र रौँबाट आफैँ बनाउँथे । हाम्रो पुर्खा धेरै वर्ष नाम्जा ला (५,३२५ मिटर) पार गरेर वर्तमान नेपाल र तिब्बत (चीन) ओहोरदोहोर गरे । खसान गएर व्यापार गरे । खसानको खसान पनि व्यापार गर्न अन्न लिएर नुन र ऊन लिन यता आयो । अनि दोर्जीले भनेझैँ हाम्रो पुर्खा सोह्र सय वर्षपहिले पुरानो मुगुममा बस्यो ।” मतिर चोरी औलो ठड्याउँदै उनले भने– “तिमीले पढे पनि तिम्रो पुर्खाको कुरा जान्दैना । तिमी खस र तिमी बस्ने मात्र खसान होइना । हामी भोटे होइना । हामी पनि खसान हो । हाम्रो पुर्खा खारी (वर्तमान ङारी, तिब्बत) मा हुँदा हाम्रो राजा खस थियो । कति वर्ष भयो तिमी हेर् । हामी तल्लो मुगुममा बसेदेखि हामीले मान्छेको पैसा (कर) तिब्बतको राजालाई दियो अनि याक र भेडा चर्ने लेकको पैसा (कर वा तीरो) खसानको सिँजा राजालाई तिरो । हाम्रो पुर्खाले भेडा दिएर भेडा चराएको लेकको पैसा खसानलाई तिरेको छा । हामीले तल वेंसीमा वस्ने जातिलाई मग्र्युल भन्छ । त्यो भनेको खसान भनेको हो ।” उनले मुखमा राखेको सुर्ती फाले । नयाँ सुर्ती मुखमा राख्दै भने– “तिम्ले सोधेको कति थर भन्छा होईना ?” मैले “हो भनेँ ।” त्यसपछि उनले भने– “हाम्रो मुगुमा पहिले चार सयसम्म घरधुरी भयो । तिमीले देख्यो नि सबै पुरानो काठे घर ढल्यो । यहाँको मान्छे खसान गयो । अहिले दुई सयजति होला । त्यसमा यहाँ तेह्र फरक थर वा गोत्र वा वंश भएको मानिस वस्छ । थुवा, सोक्पा, आल्जेन, टिक्डी, छग्मा, खामोन, छुइटा, सेल्ज्वा, टेवा, साक्या, चो, डावा र टिक्टे गरी तेह्र थरी बस्छा । टेवाले अर्को पुर्खा अथवा खसले गोत्र भन्छ, हो त्यसको छोरी बिहे गरेर ल्याउछ । एउटै वंशलाई विहे गर्दैन । ” कर्णालीको पश्चिम किनारमा रहेको द्विपजस्तो चौरमा रहेको पूर्ण कदको बुद्धको मूर्ति राखिएको थियो, हामी त्यहाँ पुग्यौँ र फक्र्यौँ । चिसो हावा जोडले चल्न थालेकाले हामी बास बस्ने घर दोजी, टेवासँगै फक्र्यौँ । म धेरै ठाउँमा यात्रा गरेको मान्छे हुँ । उनीहरूले आपूmलाई खसान भनेको, खस राजालाई भूमि कर र मान्छेको कर तिब्बतको राजालाई तिरेको भन्ने कुराले मलाई निकै गम्भीर बनायो, मान्छेको कर तिरेको यहाँ मात्र थाहा पाएँ । छ महिनासम्म बरफ जम्ने त्यस विकट ठाउँमा बसेका गाउँलेले आफ्नो सोह्र सय वर्ष पुरानो इतिहास पुस्तान्तरण गर्दै (वेदका ऋचा कण्ठ गर्दै बचाएझैँँ) बचाएकोमा अत्यन्त हर्ष लाग्यो । प्राचीन खस जातिको उद्गम मध्यएसिया हो । नेपाली खस अनेकौँ जाति मिसिएर बनेको हो । त्यस खस जातिभित्र सयौँ जातिहरू रहेका छन् । पछिल्लो समय दक्षिण एसिया त्यसमा पनि खासगरी वर्तमान नेपाल मानव बसोबासका दृष्टिले उपयुक्त भएकाले विभिन्न जातिहरूको सङ्गमस्थल बन्यो । नेपाली खस जातिको विशेष चिनारी भनेको बाह्लिकता हो । बाह्लिक बल्कानको खस हो । धेरै जातिहरू मिलेर वर्कहरू (खस)ले बल्खभूमि बनाए । त्यही बल्खभूमि इतिहासमा बाह्लिक को रूपमा चिनियो । बाह्लिक जाति सिन्धदेखि आसाम र हिमालदेखि कन्याकुमारीसम्म पैmलिएको छ । टेवाले “हामी खस हौँ ।” भनेको सुन्दा मैले बालकृष्ण पोखरेलले भनेको निम्न बुँदा सम्झेँ ः “काबुल प्राचीन कपिलको अपभ्रंश हो । आरम्भमा यो कपीश मात्र थियो । पुलहसित सम्बन्ध राखी पिशाच जाति जन्माउने कपिशा एक काबुली सुन्दरी थिइन् । ती कपि नारी थिइन् । कपि जाति कपिलास (कैलाश)सम्म व्याप्त थियो । डोल्पाका काइके (कपिक), हरियाणाको कैथल (कपिस्थल) र कर्नाली अञ्चलको काइगाउँ (कपिग्राम)ले उत्तराखण्डमा कपि जातिको व्याप्तिको छनक दिन्छन्” । (पोखरेल, २०७५ ः ४४६) । तिनै कपिस, बाह्लिक अथवा खस जो मानसरोवरवरपर थिए; तिनै खसहरू मुगुमका मुगुमेली हुन नसक्ने कुनै कारण छैन । अर्को कुरा, उनीहरूले हरेक पटक, हरेक प्रसङ्गमा खस र खसान भनेको कारणले पनि यी कपिलास (कैलाश)का खस नै हुन् भन्न हामीलाई बल मिल्छ । मैले यहाँ दशौँदेखि चौधौँ शताब्दीको मध्यसम्म जुम्ला केन्द्र भएको खस साम्राज्यको कुरा र खस कुराको उद्गमस्थल जुम्ला सिँजाको कुरा उठाउन खोजेको होइन । त्यो इतिहास त प्रमाणित भइसकेको छ । मैले मुगुमका बासिन्दालाई विक्रमपूर्व दुई हजारतिरका खसका सन्तान हुन भन्न खोजेको हुँ । मैले ‘डोल्पो ः विश्वको जीवित सङ्ग्रहालय’ पुस्तकमा पनि विदेशी लेखकले डोल्पालीलाई तिब्बती भनेकोमा बिमति जनाएको छु । मेरो यो यात्रा वर्णनमा त्यो विशाल विषय उठान गर्न खोजेको होइन । खस, खसान, खसानमा खस राजालाई भूमिकर र तिब्बतको राजालाई मान्छेको कर तिर्ने गरेको प्रसङ्गमा यो कुरा उठाउन बाध्य भएको हुँ । जुन मेरो कर्तव्य पनि हो । मुगुमका बासिन्दाको मुख्य व्यवसाय पशुपालन, जडीबुटी सङ्कलन, आलुखेती र व्यापार हो । यहाँका बासिन्दाको पशु र जडीबुटीको व्यापार डोल्पा, मुस्ताङ, मुगु, सुर्खेत, जुम्ला, दैलेखसम्म फैलिएको हुन्छ । यहाँ खेतियोग्य भूमि कम छ र आलु मात्र रोपिन्छ । आलु रोप्दा मानिसले नै हलो जोत्ने चलन छ । अन्यत्रझैँ यहाँ चौरी र गोरुको संसर्ग गराई जोप्के उत्पादन गरिदैन । फरक गोत्रीयासँग मागी र भागी दुवै विवाह गर्ने गरिन्छ । विवाह गर्दा कुरा छिनेपछि छोरी माइत वा केटासँग छुट्टै बस्न सक्छन् । सन्तान जन्मे पछिमात्र छोरीको घरव्यवहार राम्रोसँग चल्छ भन्ने सुनिश्चित भएपछि चौरी, याक, झी र अन्य गहना दिएर छोरीको बिहे गरिदिने चलन अन्य हिमाली क्षेत्रमा झैँ यहाँ पनि छ । बाली लगाउँदा र थन्क्याउँदा, जन्म, विवाह, चाडपर्व र मृत्युसंस्कारमा लामा नभई हुँदैन । यहाँका बासिन्दा पूर्णतः प्रकृतिपूजक बोन धर्मावलम्बी भए तापनि आजकल सबैले बौद्ध धर्ममा विश्वास गर्छन् । खसानतिर धामी, झाँक्रीको जस्तो मन्त्रोच्चारण गर्दै घण्टी बजाउँदै काम्दैनन् तापनि बिमार हुँदा झारपूmक गर्ने र बुटी बाँध्ने नै मुख्य औषधि हो । राती अबेरसम्म दोर्जीसँग यस्तै कुराकानी ग¥यौँ । म नजिकैको खाटमा मेरो स्लिपिङ ब्यागभित्र छिरेँ । त्यो रात, म पाँच मिनेट पनि निदाउन सकिनँ किनभने मेरो स्लिपिङ ब्यागभित्र कतैबाट ससाना असङ्ख्य भुसुना छिरे । ती भुसुना मेरो शरीर र टाउकोभरि सल्बलाउन थाले । दोर्जी, उनकी पत्नी कामा, छोरा सोनास टाँसी, सानी छोरी छ्योटोल अँगेनावरपर, चतुर सिँह मेरो खाटनजिकै भुईंमा सुतेका थिए । भुसुना त तिनीहरूको ओछ्यानमा झन् धेरै थिए होलान् तर ती सबै घुर्दै निदाएका थिए तर म भने आँखा झिमिक्क गर्नै सकिनँ । भुसुना सल्बलाएर सुत्न नसकेको त्यो मेरो पहिलो अनुभव थियो । मुगुमको मेरो यात्रा पहिलो तथा अन्तिम थियो । । त्यसैले मुगुमको धित मर्ने गरी रहर पु¥याउन भोलिपल्ट बिहानै फेरि एक पटक वचन बोल्ने पुरानोगुम्बा भएको ठाउँ, छ्यार्कु लुङवा र नयाँ गुम्बाको एक चक्कर लगाएर फर्केँ । त्यस बेला दोर्जीले चम्पा र हिमाली चिया (नुन, दुध, नौनी र जडीबुटी मथेर बनाएको) तयार गरेर राखेका रहेछन् । उनी वर्षको एक पटक भेडा तथा जडीबुटीको व्यापारका लागि मुस्ताङ, सुर्खेत र नेपालगञ्ज पुग्दा रहेछन् । त्यसैले उनको खस भाषा पढेलेखेका खसानको भन्दा मिठो र प्रस्ट थियो । चिया, चम्पाको खाजा खाएर हामी ओरालो लाग्यौँ । मुगुमबाट सिरानचौर, पिप्लेडी, चितैकुना, लादेगाड, तिहारपौडा, पुलु, रिउस, ढुङ्गेधारा, छाइलचौर, थार्प, रुगा हुँदै बामतिर लाग्यौँ । त्यो यात्रामा मैले गमगढी पश्चिम बाम, नाफा, चङ्खेली, हुम्लाको देवकोटाबाडा, भट्टेबाडा, डिलखेत, भिट्टखेत, बोक्चे गौडा, सल्लीदोभान, खार्पुनाथ हुँदै सिमकोट पुगेर विश्राम गरेको थिएँ । मुगुमपछिको अनुभव मैले अर्को संस्मरण ‘बाम गाउँको काठे मुखुन्डो’मा उल्लेख गरेको छु । bishnu.nmdc@gmail.com
सन्दर्भ सामग्री सूची १. पोखरेल, बालकृष्ण, (२०७५), खस जातिको इतिहास, काठमाण्डौँ, फिनिक्स प्रकाशन ।
धन्यवाद सहित अभिव्यक्ति पूर्णाङ्क २१८ फागुन–चेत २०७९ बाट साभार अभिब्यक्तिः मोक्षको साधन
विष्णुप्रसाद शर्मा पराजुली
विष्णुप्रसाद शर्मा पराजुली
झरी परेको बेला आँगनमा रोँटो परेको पानीमा, पानीको फोका उठ्दै फुट्दै गर्छ । बलेनी झरेको खोपिल्टोमा उठेको फोको तलाउमा डुङ्गा घुमेझैँ केही बेर घुम्छ । यात्रा तय गरेर बग्छ । सानो खरको तान्द्रोमा ठोकिनासाथ फुट्छ । अर्को नयाँ फोको उठ्छ । कुनै फोको आँगनको डिलसम्म पुग्छ, ठोकिन्छ, फुट्छ । त्यो प्रकृया चलिरहन्छ । नदीमा छाल एकपछि अर्को आउँछ । नदीमा आउने छाल जुन निरन्तर आइरहन्छ त्यो एउटै जस्तो देखिए तापनि त्यो अर्कै समयमा परिवर्तित रूपमा आएको नयाँ छाल हो, एउटै होइन । बौद्ध दर्शनमा निरन्तर हुने परिवर्तनलाई स्वीकार गरिएको छ र बौद्ध दर्शनको मूल मान्यता भनेको क्षणिकता पनि हो । पानीको फोको उठ्ने र पानीमा विलिन हुने क्षणिकता हो । नयाँ आउने फोको उही फोको होइन । त्यो नयाँ हो । अर्कै परिवेश र समयमा पानीको फोको उत्पन्न हुन्छ, नास हुन्छ । तर त्यो आँगन क्षणभरको लागि आँगनकै नाममा त्यही हुन्छ । नाम परिवर्तन पनि हुन सक्छ, फलाम ‘कुटो, कोदालो, आँसी’ नाममा परिवर्तन भए झैँ । जीवन त्यस्तै हो, पानीको फोको जस्तै । छानोमा परेको झरी बलेनी बनेर झर्छ । तल झर्दा थुप्रै फोका उत्पन्न हुन्छन्, अकारण होइन । फोकोले क्षणभर क्षमतानुसारको काम गर्छ, अनि लोप हुन्छ । पानीका फोकाहरू उत्पन्न भए पछि त्यस स्थलमा फुटनु पूर्व क्षणभर जुन नृत्य गर्छन्, त्यो नृत्य फोकोको जीवनको महत्वपूर्ण कार्य बन्छ । भव्य नृत्य चाहिँ अनन्तसम्म बाँच्छ । युगौँ युगसम्म बाँच्छ । त्यसलाई पछ््याउँने अनगिन्ति व्यक्ति र संस्था जन्मन्छन् । त्यो नृत्य मानव जीवनको अमिट कृतिकोरूपमा पृथ्वीमा रहन्छ । त्यसबाट पछि आउने मानिसले पनि प्रेरणा लिइरहन्छन् । बाँच्ने भनेको कार्य हो । कार्यमा सत्कार्यको आयु लामो हुन्छ । हाम्रो हिमाली उपमहादेश विभिन्न दर्शनबाट प्रभावित भएको भूभाग हो । यहाँ मुनि कपिल, शान्तिका अग्रदूत गौतम बुद्ध, याज्ञवल्क्य, राजा जनक, गार्गी, सीता जस्ता प्राचीन ज्ञानी,गुणी मानव हाम्रो वरपर देखा परे । दुई–तीन हजार वर्ष पहिलेका ती मानवलाई हामीले विभिन्न प्रसङ्गमा सम्झन्छौँ । हजार वर्ष वरपरका अरनिको, भृकुटीलाई सम्झन्छौँ । पछिल्लो समयका आदिकवि भानुभक्त, युवककवि मोतीराम, कवि शिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, कवि भुपी शेरचन, हृ्दयचन्द्रसिंह प्रधान, साहित्यकार विश्वेश्वरप्रसाद कोइराला, गोपालप्रसाद रिमाल, हरिभक्त कटुवाल र हालै दिवङ्गत भएका राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, कमलमणि दीक्षित, राजेन्द्र सुवेदी आदिलाई हामीले सम्झेका छौँ । बुद्धलाई अहिलेसम्म हामीले सम्झेँझैँ यी साहित्यिक महारथिहरुलाई यस धर्तीमा नेपाली जाति र नेपाली भाषा, साहित्यको अस्तित्व रहेसम्म नेपालीले सम्झने छन् भन्ने अपेक्षा गर्नसकिन्छ । उनीहरूको भौतिक शरीर त छैन नि ! हामी उहाँहरूसँगै बसेर हाँसखेल र बातचित त गर्न सक्दैनौँ । तर उहाँहरूले हामीलाई छोडेर गएका असल कृतिसँग हामी बारम्वार बहस, चर्चा, परिचर्चा, छलफल गर्छौ । त्यसबाट हामीले जीवनलाई डो¥याउने असल मार्गको खोजी गर्छौ । मानिसलगायत कुनै पनि जीवित प्राणीको भौतिक शरीर स्थायीरुपमा रहदैन किनभने मृत्यु निश्चित छ । तर असल कार्यले मात्र मृत्युलाई जित्छ, जसरी बुद्धले मृत्युलाई जितेर आज विश्वभर उनी व्याप्त छन् । उनका बारेमा वहस भइरहेको छ । पुस्तक प्रकाशित भइरहेका छन् । मूर्ति र गुम्बा निर्माण भई नै रहेका छन् । सशरीर भौतिक उपस्थित नभए तापनि उनका सन्देश मार्फत उनी बाँचिरहेका छन् । मृत्यु अकाट्य सत्य हो । तर मानिसको असल कृति र कर्म युगौँयुगसम्म बाँच्छ । नेपालमा केही सिमित व्यक्तिहरू माथि उल्लेखित पूर्वजझैँ निरन्तर–निरन्तर बिना कुनै स्वार्थ, बिनाकुनै लोभ, बिना कुनै आकङ्क्षा साहित्यसाधनालगायतका क्षेत्रमा पूर्ण समर्पित भएका देखिन्छन् । त्यसरी नै विगत आधा शताब्दीभन्दा लामो समयदेखि साहित्यिक पत्रकारिताको क्षेत्रमा निरन्तर समर्पित व्यक्ति हुनुहुन्छ ‘अभिव्यक्ति’ द्वैमासिक पत्रिकाका सम्पादक–प्रकाशक नगेन्द्रराज शर्मा । उहाँका बारेमा एकाध प्रसङ्ग उठाउँने यो मेरो प्रयास मात्र हो । हाम्रो यस हिमाली उपमहादेशमा वर्तमान युगलाई पुराणहरूमा उल्लेख भए बमोजिम कलियुग मान्ने हो भने यहाँ निस्वार्थ सत्कर्म गर्नेभन्दा लोभलालच, मोह, सम्पत्ति, सन्तान र शक्तिको भुँमरीमा रुमल्लिएर विदा भएका, रुमल्लिइरहेका, र सधैं रुमल्लिन चाहने मानिसको भीड शिवरात्रीको दिन पशुपतिको जात्रामा उकुसमुकुस भए जस्तै अत्यधिक छ । यस्तो अवस्थामा विना स्वार्थ साहित्यसेवामा, त्यसमा पनि साहित्यिक पत्रिका जुन विक्री हुँदैन, विज्ञापन पाईदैन, हेयको दृष्टिले हेरिन्छ त्यस्तोमा लाग्नु भनेको महान त्याग, तप, ध्यान नै हो । त्यसरी ध्यान गर्ने औँलामा गन्न सकिने मध्ये हुनुहुन्छ नगेन्द्रराज शर्मा । बुद्धले ‘बुद्ध हुन्छु’ भनेर दरवार त्याग गरेको नभइ मुक्तिको खोजको निम्ति निस्कनु भयो । खोजको क्रममा प्रारम्भमा दुःख छ , दुःखको कारण छ, दुःख विनास हुन्छ र दुःख निरोध गर्न सकिन्छ भन्ने चार आर्य सत्य र आठ अष्टाङ्गिक मार्गवारे ज्ञान प्राप्त गरी पाँच मित्र भिक्षुलाई उपदेश दिनु भयो । पछि बुद्ध हुनु भयो । नगेन्द्रराज शर्माले ‘पत्रिकाको प्रकाशन शुरु गरेदेखि ५३ वर्षसम्म एउटै आकार र प्रकारमा निरन्तर प्रकाशन गर्छु’ भन्ने सोँचले पत्रिका दर्ता गरेको नभई ‘अरुले पत्रिका प्रकाशित गरेका छन्, आफूले पनि किन पत्रिका प्रकाशित नगर्ने ? किन साहित्यिक पत्रिकाको माध्यमबाट साथीभाइका कविता, कथा, निवन्ध प्रकाशित गर्दै नागरिक चेतना बृद्धि नगर्ने’ भन्ने सोचकासाथ अभिब्यक्ति साहित्यिक पत्रिका प्रकाशन गर्न थाल्नु भएको थियो । त्यसमा थप प्रेरणा प्रदान गर्नेमा ‘रचना’ पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरे, भैरव अर्याल र जगदिश घिमिरे हुनुहुन्थ्यो । त्यसबेला देशमा निरङ्कुश पञ्चायती व्यवस्थाको जगजगि थियो । पत्रिका दर्ता गर्न सहज थिएन । नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीमा लागेको छ वा छैन भनेर प्रहरी मार्फत जाँच गरे पछि तत्कालीन प्रतिवन्धित पार्टीमा लागेको प्रमाण नभेटिएमामात्र पत्रिका दर्ता गर्ने नीति थियो । त्यसका साथै कुनै कर्मचारीको चिनजान समेतको सिफारिसको आधारमा मात्र अञ्चलाधीशले स्वीकृति दिन्थे । साहित्यिक पत्रिका प्रकाशनको खडेरी नै थियो त्यसबेला । पत्रिका नियमित निकाल्न नसक्ने अवस्था भएमा सामयिक सङ्कलन भए पनि प्रकाशन गर्ने अठोटकासाथ पत्रिका दर्ता गर्ने उहाँले निर्णय गर्नु भयो । वि.संं. २०२७ सालमा बागमती अञ्चलाधीश विष्णुमणि आचार्य हुनुहुन्थ्यो । उहाँका छोरा धनमणि आचार्य उहाँ (नगेन्द्र)का मित्र भएकोले पनि पत्रिका दर्ता गर्न केही सहज भएको हुन सक्छ । त्रिभुवन विश्वविद्यालयमा सेडाको जागिरे अवस्थादेखि लहै लहैमा निकालेको पत्रिका साच्चिकै बजारमा देखिन नै थाल्यो । अभिव्यक्ति निस्कन थाले पछि भने नजानिँदो गरी त्यससँग नगेन्दराज शर्मा प्रेममा बाँधिनु भयो । व्यक्तित्व पनि त्यही पत्रिकासँगको पो गाँसियो । पत्रिकाले गर्दा सयौँ साहित्यकार र शुभचिन्तकसँग सम्पर्क भयो । धेरै मित्र भए । साहित्यमा रुची राख्ने जमात प्रशन्न भए । वि.सं. २०४६ पछि देशमा निरङ्कुशता खुकुलिएर बहुदलमा परिवर्तित भयो । वातावरण खुला भयो । भुसको धुँवा गुम्सिएको साँघुरो कोठाभित्र निस्सासिँदै काम गर्नु पर्ने जस्तो वातावरण हटेर खुला वातावरण देखियो । निरङ्कुशता विरोधी आन्दोलनमा आफै पनि सहभागी भएर आएको वहुदलीय प्रणाली थियो त्यो । आशा र भरोसा पनि थियो । परिवर्तनका सङ्केत देखा परे तापनि वर्तमानकालमा नेतृत्वतहमा रहेका व्यक्तिमा शक्ति, सत्ता र सम्पत्तिको मोह अत्यधिक भएकोले केही निरास हुन बाध्य पारेको छ । त्यसबेला दुःख, मेहनत, लगन, त्याग र तपस्या गरेर साहित्यिक पत्रिका प्रकाशित गर्ने, त्यसलाई झोलामा राखेर साथीभाइ र शुभेच्छुकलाई हातहातै पु¥याउने, कथा, कविता, लेख, निवन्ध प्रकाशन गरिदिएर कवि, कथाकार, लेखक, साहित्यकार बनाईदिने, नयाँलाई प्रोत्साहन दिएर तिनका कृति छपाइदिने, व्यक्तिगत रूपमा आफु र आफ्ना सन्तानको गाँस खोसेर साहित्यिक पत्रिका निकाल्ने नगेन्द्रराज शर्मा र रोचक घिमिरे जस्ता एकाध व्यक्ति थिए। पञ्चायतकालमा राजा र राजपरिवारको तस्वीर छापेर फाइदा लिएझैँ बहुदलीय व्यवस्था आएपछि पनि नेताहरूको पछि लागेर उनीहरूको धुलो टकटकाउँदै पत्रिका छाप्ने, कार्यालयका कोठा कोठामा पुगेर स्ट्याम्प लगाएर फर्जी मूल्यराखि फाइदालिने साहित्यिक पत्रकारको बृद्धि क्रमशः भयो । त्यो प्रबृत्ति हो । फोस्रो नाम र मामको लागि गर्ने ङिच््याई हो । त्यस प्रकारको प्रवृत्ति गणतन्त्रमा अर्को प्रकारले मौलाएको छ । नगेन्द्र, रोचक र अन्य एकाध पत्रिकाले नेताको अगाडि पुगेर, जुम्लेहात गरेर चार पैसाको लागि दाँत देखाएनन् । ‘तैले दाँत देखाएको थिइस नि’ भन्न सक्ने कोही पनि छैनन् । त्यो एउटा त्याग हो । त्यो महानता हो । त्यो दर्शन पनि हो । त्यसप्रकारको कार्यले मृत्युलाई सहजै पछारेको हुन्छ । प्रायः सबै मुलुकमा मोह र लोभमा नफसी, मृत्युसँग पौठेजोरी खेल्दै मृत्युलाई जित्ने व्यक्ति थोरै हुन्छन् । त्यस्ता व्यक्तिमा, व्यक्तिगत प्रयासमा साहित्यिक पत्रिकाको निरन्तर प्रकाशन गरी सेवा पु¥याउँनेमा पहिलेको पुस्तामा नगेन्द्रराज शर्मा र रोचक घिमिरे हुन् । नगेन्द्रराज शर्माले साहित्यिक पत्रिकामा केही नयाँ प्रयोग गर्ने प्रयास गरेको देखिन्छ । त्यसमा शुरुमा व्यङ्ग्य चित्र राख्न थालियो । त्यो, त्यसबेलाको समयमा नयाँ प्रयास थियो । तर त्यो प्रयास ४–५ अङ्कभन्दा धेरै अगाडि बढन सकेन । आखिर कलाकारलाई पनि त केही दिन पथ्र्यो नि । अहिले जस्तो सहज कहाँ थियो त ? त्यसरी नै अन्य पत्रिकाले विदेशी कवि, लेखक, दार्शनिकका भनाई राख्ने ठाउँमा अभिव्यक्तिमा नेपाली पुराना तथा युवा लेखक, र साहित्यकारका भनाई समावेश गरियो । जुन नयाँ र प्रेरणादायी थियो । त्यससँगै अभिब्यक्तिमा सबैको प्रिय भएको जमघटहरूबाट ‘यायावर’ स्तम्भ कै रुपमा राखियो । यायावरले नगेन्द्रराजको व्यक्तित्व झल्काउँछ यस अर्थमा कि त्यस स्तम्भमा त्यस्तो कुरा लेखिन्छ, जुन यथार्थ हो । जमघटको बेला कसैले ठट्टा, होच्याउँने, फुल्क्याउँने वा जे जसरी साथीभाइलाई भनेको हुन्छ, त्यसमा अर्को पक्षबाट जे जस्तो प्रतिक्रिया आउँछ, त्योे विना सम्पादन सम्बन्धित व्यक्तिको नाम सहित छापिन्छ । त्यो जे हो त्यही हो । यथार्थ र सत्य हो । नगेन्द्रराज पनि यथार्थवादी र प्रष्टवक्ता हुनुहुन्छ । त्यसैले मलाई यायावर पढदा, त्यस्तो अनुभूति हुन्छ । त्यसरी नै अन्य पत्रिकाहरूको तुलनामा एकल प्रयासमा अभिव्यक्ति निरन्तर प्रकाशनमा आयो, त्यो स्वभाविक हो । तर उहाँले गर्वकासाथ भन्ने कुरा के भने अभिव्यक्ति केही विशेषाङ्क बाहेक अन्य अङ्क एउटै आकार र साजसज्जामा आयो । त्यो ‘अभिव्यक्ति’को आफ्नो पहिचान बन्यो ।
उहाँको भनाईमा वि.सं. २०२६–२७ सालमा धेरै साहित्यिक पत्रिका निस्के । निस्केका पत्रिका मध्ये केही संस्थागत निस्केर पछि निजी भए । कुनै पत्रिका व्यक्तिले निकालेर संस्थाका भए । कुनै पत्रिका साथिभाइ भेला भएर सामुहिक आँटमा प्रकाशन गर्न थालियो । तर अभिव्यक्ति भने प्रारम्भदेखि एक्लो प्रयासबाट निरन्तर प्रकाशनमा ल्याइयो । प्रारम्भिक दिनमा त झन् लेख्ने, सम्पादन गर्ने, प्रेसमा कम्पोज गर्ने, छाप्ने, वितरण गर्न हिँडने सबै काम नगेन्द्रले एक्लै गर्नु भयो । ‘अभिव्यक्ति’ नगेन्द्र अनि नगेन्द्र ‘अभिव्यक्ति’ भयो । उता ‘रचना’ साहित्यिक पत्रिका र रोचक, रोचक ‘रचना’ भने जस्तै । मलाई लाग्यो साहित्यिक पत्रकारिताका साथै साहियित्क यात्रामा लाग्दा पारिवारिक साथ नगेन्द्रराज शर्माले पाउनु भयो । उहाँकी पत्नी विख्यात साहित्यकार सूर्यविक्रम ज्ञवालीकी छोरी भएको र साहित्यमा लाग्नेको जीवनचर्या बुझेको हुनाले साहित्यिक यात्रामा अन्य धेरै साहित्यकारलेझैँ घरपरिवारबाट टोकसो खप्नु परेन । ‘अभिव्यक्ति’लाई निस्फिक्री नेपाली साहित्यिक पत्रकारिताको फाँटमा अविच्छिन्न अभिव्यक्त गर्न सफल हुनुभयो ।
पत्रिका प्रकाशन गर्ने बेलाको आर्थिक दुःख नहुने कुरै भएन । सस्तो छपाई होला कि भनेर आफ्नो साथीको प्रेसमा छाप्न जाँदा अन्यमाभन्दा महङ्गो परेको र ‘आफै गर्छु नि’ भनेर प्रेस राखेर छपाईगर्दा साथीकोमाभन्दा झन महङ्गो परेको अनुभव जीवनकै रमाइलो अनुभव उहाँलाई भयो । चार विस र पाँच वर्ष उमेर पार गर्नै लाग्दा जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धी के रहे छ त उहाँको निम्ति ? “ जीवनमा मैले कहिल्यै कुनै नराम्रो काम गर्दै गरिनँ । त्यही नै मेरो जीवनको पहिलो ठूलो उपलव्धी हो । ” हाम्रो सामाजिक परिवेश त यही न हो । जतिसुकै यथार्थवादी भए तापनि सत्य र यथार्थतालाई मन नपराउनेको पनि कमी कहाँ हुन्छ र यो संसारमा ? यहाँसम्म आइपुग्दाका आरोह र अवरोहमा सम्झन योग्य, शिक्षाप्रद कुरा नहुने त भएन नि ! “उपलब्धिकै कुरा गर्नु हुन्छ भने मैले यो चार बीसे पाँच वर्षमा कमाएको अर्को अकुत सम्पत्ति भनेको मेरा साथी हुन् । म जान्ने भएको उमेरदेखि मैले जे जति साथी बनाएँ तिनीहरू कसैसँग पनि रातो मुख भएन । झगडा, मारपिट, गालीगलौज, बोलचाल बन्द कहिल्यैँ भएन । बरु असाध्यै मिल्ने अन्य साथीहरूबीच एक अर्कोसँग बोलचाल बन्द हुन्थ्यो । तिनलाई मैले मिलाई दिन्थेँ । आजसम्म त्यो काम गरेकै छु । मेरो कसैसँग कहिल्यै कुनै रातोभुख भएन । मेरो जीवनको यो दोस्रो ठूलो उपलब्धी हो ।” अहिलेसम्मको अनुभवको आधारमा जीवन के रहेछ त ? “जीवन महाभारत होइन, जटिल छैन । तँपाइले जटिल बनाउँनु भयो भने जटिल हुन्छ । जीवनलाई सामान्य अर्थमा लिन सक्नु पर्छ । यथार्थमा जीवन भनेको जन्मदेखि मृत्युसम्म जानो बाटो हो । नदी बगेझैँ यसलाई आनन्दसँग बग्न दिनु पर्छ । त्यो बाटोकोबीचमा अवश्य पनि अथाह, अनपेक्षित, सहज र असहज कुइँनेटा आउछन् । त्यो स्वभाविक हो । कुइँनेटा नआउन भनेर योजना नै गरे तापनि कति योजना बीचमै ध्वस्त हुन्छन् । जीवनले मान्छेलाई डो¥याएर लैजान्छ, लैजानु पर्छ । माया मोह जीवनमा हुन्छ । मायामोह पनि परिवर्तनशिल छ । तँपाईले एउटा कुखुराको माउले चल्ला कोरलेको त देख्नु भएकै छ । चल्ला कोरलेको बेलामा हात्ती नजिक आयो भने माउले चल्ला बचाउँन हात्तीलाई पनि ठुँग्न पुग्छ । चल्लो ठूलो भए पछि माउलाई नै ठुँग्छ । माया एक पक्ष हो । पति र पत्नीबीचको माया पनि माया हो । तर मेरो खुट्टामा काँडा रोपिँदाको पीडा त मैले नै महसुस गर्ने हो नि । जीवनको दुःख आफैले भोग्ने हो । अरुले त त्यसलाई ‘दुख्यो होला’ भनेर सहानुभूति मात्र व्यक्त गर्ने हो । ” हिमाली उपमहादेश र पश्चिमा दर्शनमा जीवनलाई हेर्ने दृष्टिकोण के छ त ? पहिले त पश्चिमा पनि रुढीवादी नै थिए । मानव सभ्यताको विकास, जीवन दर्शन, संस्कार, कला, संस्कृति, दर्शन, धर्मआदिमा पूर्विया अग्रस्थानमा थिए । आधुनिक विकासको गति थपिँदै जानु पर्ने हो । हिमाली उपमहादेश अन्तरगतका देशमा त्यस्तो देखिदैन । “ हाम्रो दर्शन सुखवादी दर्शन हो । आदर्शवादी दर्शन हो । हामी चरम आदर्शवादको पर्खाल वरपर घेरियौँ । हामी कुवाका दार्शनिक हौँ । जीवनलाई कसरी सुख दिने, पुनर्जन्ममा कसरी सुख काट्ने भन्ने भाग्यवाद, आदर्शवादको दर्शनमा आधारित छ । हामी अयं निजः परो वेति गणना लघुतेतसाम् । उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।। भन्छौँ । विश्वमा भएका मानिस एउटै परिवार हुन्, एउटै मान्नु पर्छ भन्ने कुरा त ठिक हो सिद्धान्तमा । सबै मानिस एउटै परिवार हो भन्छौँ । तर मौका पर्दा भोको सिँहले हरिणलाई घाँटीमा अठ््ययाएझैँ ठूलोले सानोलाई अठ्याएको छ, दबाएको छ । दर्शन त दर्शनमा मात्र छ । व्यवहारमा खै त ? हामी नेपाली पनि त्यस्तैमा रुमलियौँ । भावुकता, रुढिवाद र अन्धविश्वासले हामीलाई कमजोर पा¥यो । यस्ता कुरा एक्कासी परिवर्तन हुँदैन । कानूनले पनि केही हुँदैन । समाजले बुझ्दै, पचाउँदै ग्रहण गर्दै जानु पर्छ, जाँदै पनि छ । ” अनि पश्चिमा नि ! “पश्चिमा पनि रुढीवादी छन्, नभएका होइनन् । तर त्यहाँ व्यापारीले जिते । उनीहरूले व्यापार गरे । उनीहरूले खोज पनि गरे । हामीले कुवेरले विमान चढे भन्यौँ, गफ ग¥यौँ । फुर्ति देखायौँ । मख्ख प¥यौँ । उनीहरूले जहाज बनाए । चढेर संसार चहारे । उनीहरू चन्द्रमा र मङगलमा अवतरण गरे, हामीले वेद, पुराण, ग्रन्थमा ‘यस्तो छ, उस्तो छ’ भन्दै हात बाँधेर बस्यौँ । काम गरेनौँ, गफ चाँहि खुब ग¥यौं । काम नगरि कसरी प्रगति हुन्छ ? हो हामीले व्यापार नगरेको कारण विकासमा पछि छौँ । अहिले नेपालमा कति राम्रा र ठूला होटल, अस्पताल बने ती सरकारले बनाएका होइनन् । ती व्यापारीले बनाएका हुन् । त्यो गर्नु पर्ने हो । संसार विशाल छ । तर पनि कामको नतिजा तुरुन्तै देख्न सकिन्छ । मैले काम नगरेको भए, अभिव्यक्ति कहाँ तपाईले पढन पाउनु हुन्थ्यो त ।” हिमाली दर्शन, पूर्विय दर्शन र पश्चिमा दर्शनमा मुक्तिको कुरा छ । ईश्वर भक्ति गरे पछि मुक्ति, पुनर्जन्ममा स्वर्ग प्राप्ति हुन्छ भन्ने छ । पूर्वजन्म, पुनर्जन्म, स्वर्ग र नर्कको कुरा पनि छ । त्यो के हो त ? जीवनको अनुभवले यसलाई कसरी व्याख्या गर्छ ? “संसार विचित्रको छ । विशाल छ । तपाई जति सुकै तप गर्नुस, संसारलाई स्वर्ग पार्छु भनेर शिव वा कृष्ण बन्नुस् यो विचित्रको संसारमा विकृति (वेश्यावृत्ति, शोषण, जुवा, दुव्र्यसन, हिंसा)को अन्त हुनै सक्दैन । ईश्वर वा भगवान जे भन्नुस् मेरो ज्ञान भन्दा बाहिरको कुरा हो । ईश्वरले नै सबै कुरा गर्ने हो भने विभेद किन त ? मेरो प्रश्न छ । तँपाईलाई मैले मेरो सानो अनुभव सुनाउँछु । त्यो पुनर्जन्मसँग सम्बन्धित छ । मेरो काका पर्ने हुनुहुन्थ्यो । एक दिन यस्तै पूर्वजन्म र पुर्नजन्मको बारेको कुरा गर्दै थियौँ । काकाले पुनर्जन्म हुन्छ, त्यसको विकल्प छैन भन्नु भो । त्यसपछि मैले भने ‘ काका ठिक छ ल मैले पनि माने । त्यसो भा मलाई चारलाख सापटी दिनुस् न त त्यो सापटी मैले अर्को जन्ममा तिरुँला नि । काकाले ‘त सँग कुरा गरेर सकिँदैन’ भन्दै उठनु भयो । स्वर्ग र नर्क भन्ने भ्रम हो । जे छ यहीँ छ । सबै कुरा हामीले भोग्ने यही जीवनमा हो । यो जीवन पछि अर्को जीवन छैन । मृत्यु अन्तिम सत्य हो । अर्को जन्म र स्वर्गको भ्रममा नपर्नु, यो मेरो धारणा हो । यसबारे म स्पष्ट छु । अझ स्पष्ट हुन चार्वाकको एउटा श्लोक म भन्छु, मेरो धारणा पनि त्यही धारणा हो । त्यसबाट तपाईले थाह पाइहाल्नु हुन्छ ः
अभिव्यक्तिबाट उपलब्धि र अन्य कृतिहरू ? “ मैले जीवनमा साहित्यिक क्षेत्रमा लागेर जे गरेँ, त्यसमा म पूर्ण सन्तुष्ट छु । साहित्यिक क्षेत्रमा रहेर यो अभिव्यक्तिको माध्यमबाट जे जति गरँे, समाजलाई जे जति दिएँ, मैले गरेको सेवाभन्दा बढि प्रतिफल मैले पाएँ । मेरा कृतिहरूमध्ये महापुरुष र दिवास्वप्न उपन्यास र पिपलको बोटमुनि तथा एकान्तका आफन्तहरू कथा सङ्ग्रह हुन्, ती अभिव्यक्तिको उचाइमा तल परे । मलाई अभिव्यक्तिले मैले सोचेभन्दा, चाहेभन्दा मान, सम्मान दियो । अब मलाई पुग्यो । म सुखी र खुसी छु । तपाईंले दर्शनको कुरा उठाउनु भयो, त्यस दार्शनिक अर्थमा भन्ने हो भने तृप्त छु । ” मानिसको लोभ अन्तिम अवस्थासम्म पनि कम भएको देखिदैन । नेपालमा ठूला, सम्मानित र माननीय भनिने, विश्वविद्यालय, निजामति, प्रतिष्ठान, आयोग र अदालत आदिमा सेवा गरेका स्वनामधन्य व्यक्तिहरुले दोहोरो, तेहरो सरकारी भत्ता लिँदा पनि नपुगेर आजीवन सदस्य कतै मिल्छ कि भन्दै नेताको पछि चाकडी गर्नेको कमी छैन । जीवनको उत्तरार्धमा पुगेका, गाला चाउरिएका, दाँत झरेकाहरू पुनः त्यस प्रकारको तेहरो सुविधाको लागि ङिच्च दाँत देखाएका उदाहरण प्रसस्त छन् । उहाँ त्यस्तालाई ‘लोभका पोका’ भन्नुहुन्छ । अब तपाईको चाहना के छ त ? “तँपाईले सम्पत्तिको कुरा गर्न खोज्नु भएको होला, मैले मोज गरेँ । चाहनालाई कहिल्यै बाँधिन । मैरै खाएँ । मैले अघि नै भने नि मेरो उपलब्धि भनेको मैले नराम्रो गरिनँ । म सन्तुष्ट छु । सम्पत्ति, सन्तान, शक्ति, मान, सम्मान, नाम सम्पूर्ण कुराले म भरिपूर्ण छु । पारिवारिक रूपमा म उत्तिकै धनी छु । मलाई केही चाहिदैन । म पूर्ण छु । अब मात्र के भने म हिँडदै गरेको बाटोमा, आफ्नै गतिमा हिँडदै गर्दा, अभिव्यक्ति हिँडेझैँ सरासर हिँडन कुनै बन्देज नहोस् । ” साराशंमा उहाँको भनाईले के दर्शाउँछ भने उहाँ धन, मान, परिवार, सम्पत्ति आदिबाट परिपूर्ण हुनुहुन्छ । अन्य कुनै विषयमा विषयभोगको मोह बाँकी छैन । दार्शनिक तवरबाट हेर्ने हो भने ब्रह्मवादले विषयभोग त्याग गर्न सक्नु ‘मोक्ष प्राप्त गर्नु हो’ भनेको छ । ‘जहाँ तृष्णा क्षीण भएको छ आस्रव अर्थात कामभोगहरू जहाँ रहदैनन्, त्यस अवस्थालाई बुद्धले निर्वाण’ भनेका छन् । त्यही नै त हो मुक्ति । जब लोभ र मोहबाट मुक्त हुन सक्दैनन् मानिस, तब दुःखको जालोमा बेरिन्छन् । नगेन्द्रराज शर्माले अभिव्यक्ति पत्रिकालाई साधन बनाएर, साहित्यिक सेवा गर्दागर्दै बुद्धत्व अथवा ब्रह्मत्व वा निर्वाण वा मुक्ति जे भनौँ त्यो प्राप्त गर्न सफल हुनु भएको छ । बुद्धले पनि मोह त्याग पछिमात्र ज्ञान प्राप्त गर्नु भयो । याज्ञवल्क्यले जीवनभरको कमाई त्यागे पछि मात्र मुक्तिको खोजीमा लागे । सामान्यतयाः मानवमा हुने लोभ, मोह, तृष्णा र अहङ्कारले त्यहाँसम्म पुग्न दिँदैन । उहाँ अब लोभ र मोहबाट मुक्त हुनु भएको छ । त्यसैले त्यसलाई जीवनकालमा नै बुद्धत्व प्राप्त गरेको हो भन्न सकिन्छ । नगेन्द्रराज शर्मा तथा उहाँकी धर्मपत्नी कमला शर्माज्यूलाई बधाई तथा सुस्वास्थ्यको शुभकामना ! नगेन्दराज शर्माज्यूलाई चैत २२ गते पर्ने उहाँको ८६औँ जन्मदिनको मङ्गलमय शुभकामना ! bishnu.nmdc@gmail.com ९८४१३७७०८३ कपन, काठमाडौँ
अभिनवप्रभा साहित्यिक पत्रिका कात्तिक–पुस, २०७९ अंक २ बाट धन्यवाद सहित साभार। (कथा) १५
विष्णुप्रसाद शर्मा पराजुली
उनको पार्थिव शरीरलाई पशुपतिनाथ मन्दिरको पूर्वतर्फ बागमती नदीको किनारमा रहेको ब्रह्मनालमा राखियो । पवित्र मानिएको बागमतीको प्रदूषित पानी मृतकको ओठमा राखियो । आफन्त र साथीभाइले श्रद्धापूर्वक चढाएको पूmल र मालाले बाँसका घारामा सुताएको लास पूmलकै थुम्को जस्तै बन्यो । अनि लासलाई हेलिकप्टरमा राखेर चुमलिङतिरै लगे । हिराबहादुर रोकाया क्षेत्रीका मातापिता छ दशक पहिले रुकुमबाट गोर्खाको आरूघाट झरेका थिए । त्यसबेला पिता धनबहादुर तीस र आमा ठूली बीस वर्षका थिए । सन्तानलाई अक्षर चिनाउन बास सारेका थिए । बाबुले दुई हजार पाँच सय रुपियाँ उनलाई दिँदै भनेका थिए, “दिन सक्ने भइछस् भने आउनू, माग्न चाहिँ नआउनू । यसलाई अंश नै ठान्नू ।” धनबहादुर आरूघाट बजार नजिकै बसे । अंशको मूल धन र कठोर परिश्रम गरेर त्यहाँ उनले खेत, बारी, खरबारी जोडे । हिरापछि दुई छोरी र एक छोरा थपिए । आरूघाट झरेपछि दुई पटक रुकुम पुगे । पहाडमा खेतीपाती गरेर दुईछाक खान र लत्ताकपडाका लागि ऋण लिन नपर्ने परिवारलाई इज्जतदार ठानिन्थ्यो । धनबहादुर त्यस्तै थिए । उनले जेठी छोरीको विवाह धादिङ सल्यानटार र कान्छीको गोर्खा बजारमै गरिदिए । शिक्षाको महत्त्व बुझेकाले बाबुले बारम्बार हिरालाई “ए, ठूले तँ पनि गोर्खामा पढ्न जा । हाम्लाई कुरेर नबस । सकुन्जेल काम गर्छौँ । हातखुट्टा चल्न छाडेपछि बाँच्नै पो किन परो र” भन्थे । हिराले बाइस वर्षको उमेरमा बल्ल एसएलसी गरे । ‘ हिरा, ढिलो भएर केही हुँदैन । जा पोखरै गएर पढ् । खेत बेच्न परे पनि बेचौँला” भन्दै बाबुआमाले कर गरे तर हिराले आँटै गरेनन् । हिराले आरुघाटमा नै अस्थायी शिक्षकका रूपमा पढाउन थाले । गाउँको पौष्टिक आहारले उनको शरीर खाइलाग्दो थियो । उनी अग्लो, गोरो र हँसिला थिए । गाउँका केटीहरू हिरा भनेपछि भुतुक्कै हुन्थे । आखिर मन न हो, कमजोर हुन्छ । मन पग्लन बेर लाग्दैन । त्यस्तैमा आरूघाटकै एक जना गुरूङ कन्या कमलासँग हिरा प्रेमबन्धनमा बाँधिए । पातलो सलक्क परेको जीउ, छिनेको कम्मर, ठूला आँखा, पातला ओठ, हँसिलो, गोरो मुहार भएकी कमला पनि आरूघाटमा राम्री भनेर चिनिएकी थिइन् । कमलाले पाँच कक्षा मात्र पढिन् । गाउँको कुरा दुई दिन पो लुक्न सक्छ । हिरा र कमलाको प्रेमको कुरा पनि एक–कान, दुई–कान आरूघाट मैदान भइहाल्यो । एक दिन उनीहरूले बूढीगण्डकीका किनारमा ठूलो ढुङ्गाले छेलिएर धेरै बेर कुरा गरे । हिराले कमलाको हात समाउँदै भने “कमला, तिमी एक पटक तिम्रो आमाबालाई भन । उहाँहरूले स्वीकृति दिनुभयो भने म घरमा बाआमालाई भन्छु । हामीले आमाबाबुलाई मनाएरै विवाह गरौँ । त्यसो गर्दा विस्तारै जातपातको विभेद कम हुन्छ ।” कमलाले सानो ढुङ्गाले चिसो बालुवामाथि चित्र कोर्दै उनकी आमाले भनेको कुरा सुनाइन्, “ हिरा क्षेत्री हुन् । हामी गुरूङ हाँैं । हाम्रो जात र संस्कार फरक छ । तँलाई भोलि हेलाँ गर्लान् तर पनि यदि हिराको बाबु र तेरो बाबुले ‘हुन्छ’ भने सबै मिल्छ । ती रुकुमका क्षेत्री हुन्, सम्पत्ति भए पनि मात्तेका छैनन् ।” त्यो सुनेर हिरा निकै खुसी भए । उनको ध्यान आफ्ना बाबुआमालाई सम्झाइबुझाई गर्नेतिर गयो । त्यो साँझ हिराले भैँसी दुहुने, घाँस हाल्ने काम छिट्छिटो ग¥यो । सधैँझैँ खाना खाएपछि भाइबहिनीहरू पिँढीमा गुन्द्री ओच्छ्याएर पल्टेका थिए । मङ्सिर महिनाको जुनेली रात थियो । खेतमा धान पाकेर पहेंलपुर भएको थियो । त्यो साँझ जूनको उज्यालोमा बूढीगण्डकीका छाल सेताम्मे देखिएका थिए भने हलुका हावाको झोंकामा लहराएका धानका बाला बयली खेलेको दृश्य लोभलाग्दो देखिन्थ्यो । आमासँग टाँसिएर गाह्रो मान्दै हिराले भन्यो, “ बा, एउटा कुरा भन्नु थियो ।” “के भो, पोखरा पढ्न जाने भइस् ?” बाबुले भने । “हैन” “अनि के त ?” “तपाईंको छोरो तन्नेरी भयो रे बिहे गर्नु परो रे बाउ भएर पनि केही वास्ता छैन”, ठूलीले भनिन् । “के भन्छे यो ?” अलि झर्केको स्वरमा बाबुले भने । “बा, दाइले तलकी कमला दिदीलाई मन पराउँछ । तपाईंले मान्नुभयो भने बिहे गर्ने रे”, हिराकी बहिनीले प्वाक्कै भनिदिई । धनबहादुर पिँढीबाट ओर्लेर गोठ गए । छिरलिएको घाँस सोहोरेर फेरि टाट्नामै थुपारिदिए । जूनको उज्यालो पिँढीसम्मै पुगेको थियो । रात छिप्पिदै जाँदा बूढीगण्डकीको सुस्साहट भने बढेको थियो । जूनको वरपर ताराहरू मधुरो रोशनीमा टिलपिलाएका थिए । त्यो रात धनबहादुर केही बोलेनन् । पिँढीका खाटमा ढल्केर जून हेर्दै उनले सोचे, “ यो प्रकृतिको चक्र निरन्तर चलिरहन्छ । जून अस्ताउँछ । फेरि उदाउँछ । मानिस एकपटक अस्ताएपछि जूनझैँ फेरि उदाउँदैन । सृष्टि र विनाश भइरन्छ । बा बिते, म छु । म पनि अस्ताउँदै छु । मेरो ठाउँ छोराछोरीले लिए । वंशको बीउ जोगाएर संसार चलाउन बिहे त गर्नैप¥यो । अमर गुरूङको छोरी मन परेछ । जातपात मानिसले नै बनाएका हुन् । जातपातको विभेद हामीले नहटाए कसले हटाउला ? भोलि बिहान कमलाको बाबुलाई भेट्न जान्छु ।” जून अस्तायो । तारा चहकिला बने । धनबहादुर पनि निद्रादेवीको काखमा लुटपुटिए । गण्डकीको सुस्साहट बढ्दै गयो । बाबुको प्रतिक्रिया नपाउँदा खिन्न बने पनि हिरा डराएको थिएन । बाबु उठ्दा ऊ गोबर फाल्ने, घाँस हाल्ने, कुँडो खुवाउने काम सकेर कुवामा पानी लिन गएको थियो । धनबहादुरले भैँसी दुहे । चिया पिएर अमरको घरतिर गए । त्यसबेला अमर पनि घरधन्दा सकेर चिया पिउँदै थिए । उनलाई देख्नासाथ अमरले “कता हो काजी सा’ब एकाबिहानै ?” भन्दै पिँढीको गुन्द्रीमाथि कम्बल ओछ्याएर “बस्नुहोस्” भने । “दिदीलाई सञ्चै होला नि !” भन्दै अमरकी श्रीमतीले चिया ल्याइन् । धनबहादुर पश्चिमबाट आएका हुन् । खस साम्राज्यका बेला क्षेत्री, गुरुङ र मगर प्रमुख पदमा थिए । उनैका सन्तान भनेर अमरले उनलाई काजी सा’ब भन्थे । अमर भारतीय सेनाको पेन्सनर सुवेदार भएकाले धनबहादुरले ‘स्वीदार सा’ब’ भन्थे । यी दुई असाध्यै मिल्थे । सञ्चो, बिसञ्चो तथा खेतीपातीको कुरा गरेपछि धनबहादुरले अमरलाई हँस्यौली शैलीमा भने – ‘हैन हो, स्वीदार सा’ब, म के सुन्दै छु, हँ ! तपाईंको आँगनमा फुलेको पूmललाई, हाम्रो केटाले मन पराएको छ रे’ ! के हो कुरो ? पूmल दिने हो भने, मैले मेरो घरमा लगेर माया गरेर सजाएर आँगन भरिभराउ गर्छु ।” “तपाईं काजीसाहेब क्षेत्री, हामी गुरूङ कसरी मिल्ला र खै ?” सुवेदार्नीले चियाको गिलास उठाउँदै भनिन् । सुवेदार गोठतिर गए । फर्केर पहिलेकै ठाउँमा बसे । काँचोपातको सुर्ती मोलेर ओठमुनि चेप्दै अमरले भने, “हुन ता नाहुने के छ र ? जातपात, छुवाछुत ठीक होइना । गोराको देशमा जातपातको कुरै छैना, विकास छ । हाम्रोमा शिक्षा छैन । मेरो आँगनको पूmल मन पराएर काजी नै माग्न आएपछि मैले दिन्ना भन्ना मिल्दैना तर हाम्रो चलन बमोजिम दिदीबहिनी, बाबुबाजेसँग सोध्नुपर्छा, छोरीसँग बुझ्नुपर्छा ।” काजीले अर्थ बुझे । गुरूङ जातिमा मामाचेली र फुपूचेलाबीच विवाह गर्ने चलन भएकाले अमरले त्यसो भनेका थिए । अमरले आफन्तसँग छलफल गरे । मेहनती क्षेत्री परिवार, जागिरे केटा, जग्गाजमिन हुनाका साथै केटाकेटीले एकार्कालाई मन पराएका आधारमा उनीहरूले धनबहादुरका छोरालाई छोरी दिन स्वीकार गरे । ढिलो नगरी सुवेदार र उनकी पत्नी धनबहादुरका घरमा एक ठेकी दही लिएर गए । उनलाई नै उनको चलनअनुसार दिन हेरेर जन्ती लिएर आउन मञ्जुरी दिए । मङ्सिर महिना किसानलाई अनाज थन्क्याउन भ्याइनभ्याई थियो । आरूघाट बजारमा चुमनुब्रीबाट झर्ने र गाउँतिर जाने मानिसको चहलपहल बढेको थियो । आरुघाट नेपाल, चीन र भारतको यस भेगको सबैभन्दा पुरानो बाटामा पर्ने ऐतिहासिक बजार हो । बूढीगण्डकीको पानी नीलो हुँदै थियो । बिहान, बेलुका भने मनास्लुतिरबाट आएको हावाको झोंकाले चिसोको सङ्केत दिएको थियो । गणेश हिमालका चुलीहरू चौपट्टै लोभलाग्दा देखिन्थे । प्रकृतिको त्यो रमाइलो वातावरणमा चालिस वर्ष पहिले यसरी हिराबहादुर रोकाया क्षेत्री र कमला गुरूङको मागी विवाह भयो । त्यसबेला अहिले जस्तो अन्तरजातीय विवाहको चलन थिएन । त्यसबेला मेलापाता, वन, पँधेरामा यस्तो गाइँगुई सुनिन्थ्यो– “पश्चिमको मतवाली क्षेत्री होला, त्यै भर गुरुङसँग बिहे गरो नि ।” “गुरूङकी छोरी बिहे गरेर के भो त, हाम्रै गाउँको दाजुभाइको चेली त हो नि ? यस्तै गर्ने हो भने जातभातको कुरा हट्थ्यो नि दिदी, हैन र ?” “काजीको छोरा हो । जागिर छ । कस्तो भाग्यमानी रैछे, कमला त ।” “ठीक गरे । यो जातपातको विभेद हटाउन अघिसरेकामा त धन्यवाद दिनुपर्छ ।” – – – – – – बिहेलगत्तै हिराले प्राथमिक विद्यालय स्तरको स्थायी शिक्षकमा नाम निकाले । आरूघाटको स्कुलमा पढाउनुभन्दा उत्तरी गोर्खाको पवित्र चुम उपत्यकामा पुगेर शिक्षाको बीउ रोप्ने हिराको भित्री चाहना थियो । अक्षर चिन्नबाट वञ्चित ती स्याउ जस्तै राता गाला भएका बालबालिकासँग खेल्दै तिनको सिँगान पुछिदिँदै तिनलाई शिक्षित बनाउन उनी चाहन्थे । हिउँदमा आरूघाट हुँदै लुम्बिनीसम्म जाने चुमका हिमाली परिवारसँग बाल्यकालदेखिनै उनको साइनो गाँसिएको थियो । लामो बख्खु, आङ्गी, दोचा, पानदेन, सेता बाला, चाँदीको पेटी, जन्तर, मुगाको हार पहिरेका महिला, लामो केश भएका पुरुष, बालबालिका सबै मिलेर जाडो छल्न झरेका चुमनुब्रीबासीसँग गाउँले जडिबुटी किन्थे । लुम्बिनीबाट फर्कँदा कपडा, सलाई, सियो, धागो ल्याएर गाउँलेलाई बेच्थे । अलिअलि नेपाली बोल्थे । गाउँबाट चामल, कोदोको पिठो, खुर्सानी लिएर चुमतिर चढ्थे । बर्खाको बेला तिब्बतबाट सामान ल्याउने, लेकमा चौँरी चराउने, खेती गर्ने गर्थे । त्यो चुमबासीको जीवनचक्र थियो । हिराले “पर्वत, बाग्लुङका शिक्षकले डोल्पा गएर शिक्षा दिएझैँ, त्यो विकट गाउँमा गएर, त्यहाँका बालबालिकालाई अक्षर चिनाउन पाए म बाँचेको सार्थक हुन्थ्यो” भन्ने कुरा कमलालाई भनेका थिए । स्थायी भएपछि उनले हमालतिरै जाने निधो गरे । चुम उपत्यकामा शिक्षाको ज्योति बाल्ने हिराको चाहनालाई परिवारले साथ दिए । त्यही वर्ष हिराको छोरा जन्मेको थियो । गोर्खा पुगेर नियुक्तिपत्र लिए । परिवार, छिमेकी र स्कुलसँग बिदा भए । हिरा चुमतिर जाने टुङ्गो भएकाले गाउँलेले चुमलिङबाट भरिया पठाइदिएका थिए । उनीहरूलाई चामल, पिठो, ओढने–ओछ्याउने लुगा, कापी, कलम, चक, डस्टर, पुस्तक डोकामा बोकाएर बूढीगण्डकीको तीरैतीर उकालो लागे । कुहिरेपानी, सोतीखोला, जगत, फिलिम, लोक्पा हुँदै चौथो दिन चुमलिङ पुगे । गण्डकीको तीर, गणेश हिमाल, हिमालचुली, मनास्लु, शृङ्गीका हिमाच्छादित चुचुरा, सेताम्मे झरना र भीमकाय काला चट्टाने पहाड ठिङ्ग उभिएको देख्दा हर्षले आल्हादित हुन्थे । जगतपछि माने पर्खाल, बुद्ध, सेनरब, पदमसम्भवका ढुङ्गामा कुँदिएका मूर्ति र मन्त्र, भित्ते चित्र देख्दा उनी प्रफुल्ल देखिन्थे । गण्डकी सुसाएको आवाज अग्ला काला पहरामा ठोकिँदा पखेरामा सङ्गीत गुञ्जेको भान हुन्थ्यो । चराचुरुङ्गीको चिरबिर आवाज र सल्लाको सुसाइले त्यहाँ प्रकृतिबीच नृत्य प्रतिस्पर्धा भए जस्तो लाग्थ्यो । लोक्पा नपुग्दै एउटा गोरेटो मनास्लुतिर लागेको थियो भने अर्को चुमतिर । त्यहींँ नजिकको दोभानमा मनास्लु हिमालबाट आएको बूढीगण्डकीमा गणेश हिमालतिरबाट आएको सियार खोला मिसिएको थियो । भरियाले उनलाई “चुम र मनास्लु क्षेत्रलाई चुमनुब्री भन्दछन् । अति प्राचीनकालमा चुममा ‘स्वर्गका देवता बस्ने गर्थे रे । त्यसैले यहाँ बलि दिइँदैन” भनेर जानकारी गराए । चुमलिङ पुगेको साँझ गाउँलेले खादाद्वारा स्वागत गरे । लामाले स्वागत मन्त्र पाठ गरे । त्यस्तै सत्तरी नाघेका, केश बाँधेर फेटा बनाएका, पातलो लामो दारी भएका थुप्तेन चुमले स्वागत गर्दै भने – ‘ शृङ्गी हिमालको काखबाट सारलाई स्वागत छा । चुमलिङ गाउँ छेकम्पार, लामागाउँ, निले, गणेश हिमालको द्वार हो । यहाँ गणेश हिमाल र उत्तरमा तिब्बतसम्म धेरै हिमाल, नदी, झरना, खर्क, गाउँ र गुम्बा छा । यहाँ लुम्बिनी जस्तो ठूलो–ठूलो मैदान छा । आलु, गहुँ, उवा राम्रो फल्छा । किसानले चाँैरी, याक र भेडा पाल्छ । बर्खामा पशु लिएर तिब्बतसम्म पुग्छा । उताबाट सामान जडिबुटी ल्याउँछा र बेच्छा । हामी घरमा धेरै बस्दैना । हाम्रो पुर्खा यहाँ दुई–तीन हजार वर्ष पहिले पश्चिमबाट आएर बसेको भन्छा । सार आयो हामी धेरै खुसी छा । हाम्रो बच्चाले अक्षर चिन्छा । तिमी हाम्रो गुरू रिम्पोचे भयो ।’ भोलिपल्ट बिहान भेट्ने गरी सबै बिदा भए । सबै गाउँमा पुराना गुम्बा भए तापनि त्यहाँ स्कुल खुलेको थिएन । हिउँ परेपछिको सफा बिहानीमा मनास्लु हिमाल मुसुक्क मुस्काएझैँ स्थायी शिक्षक गाउँमा पुगेकाले चुमबासी मुस्काएका थिए । बिहान ८ बजे गाउँले भेला भए । पूर्वबाट सेतो हिमालको चुचुराले चियाउँदै थियो । हिराले सबैलाई नमस्ते गरे । गाउँ, परिवार सहित हालै आफ्नो छोरो जन्मेसम्मको परिचय दिँदै हिराले भने, “तपाईंहरू जाडामा तलमाथि गर्दा ससाना भाइबहिनीलाई देखेँ । यहाँका बालबालिकाले पढ्ने अवसर नपाएको थाहा पाएँ । स्थायी शिक्षक भएपछि म चुम गएर पढाउँछु भन्ने अठोट गरेको थिएँ । स्थायी हुनासाथ, म चुमलिङमा आएको छु । ’ हिराले बोली नसक्दै सबैले एकैचोटि “हामी धेरै खुसी छु । हाम्रो नानीले अक्षर चिन्छा । हाम्रो नानीले आँखा देख्छा । गाउँलेले के गर्न पर्छा, हामी तयार छा” भने । उनीहरूलाई स्वागत गर्दै हिराले भने, “म स्थायी शिक्षक भएकाले स्कुल खोल्न र भवन बनाउन सरकारले पैसा दिन्छ । हामी सदरमुकाम जाऔँला । चार वर्षमा स्कुल बन्छ । तत्काललाई चुमलिङका बच्चाहरू पढ्ने घर, खुला ठाउँ, केही बेन्च, कुर्ची बन्दोबस्त गर्नुप¥यो ।” फेरि सबै गाउँले एक स्वरमा बोल्न थाले । कसैले “रुख काट्ने सिफारिस ल्याएर बेन्च, टेवल, कुर्सी बनाउँछौँ ” भने । कसैले “मेरो पुरानो घर खाली छ, स्कुललाई त्यो दिन्छा” भने । कसैले “जग्गा दिन्छु” भने । हिरा बसेको घरका घरधनीले त्यहाँ उपस्थित पाहुनालाई सुचे (जडिबुटी, दुध, नौनी र नुन मिसाएर मथेर बनाइने चिया) थपी–थपी खुवाएका थिए । अन्तमा गाउँमा सबैले आदर गर्ने पेम्बा चुमले भने, “स्कुलको लागि सार्वजनिक जग्गा पछि खोज्ने । अहिलेलाई दावाको पुरानो घर सफा गरेर त्यहीँ बच्चा पढाउने । कुर्ची, टेबल, बेन्चको लागि वनबाट काठ ल्याएर बनाउने ।” सबैले “ हुन्छा” भनेर खुसी प्रकट गरे । त्यही बीचमा हिराले अनुरोध गर्दै भने, “तपार्इँहरूले भनेको सबै ठीक छ तर कुर्ची, टेबल बनाउन रुख काट्न हुँदैन ।” त्यसबेला त्यहाँ रुख काटेर काठका घर नै बनाउने चलन थियो । “सार के भन्छा ? काठ नकाटेर टेबुल कसरी बन्छ त ?”बीचबाट कसैले भन्यो । “काटाँैंला, तर सरसल्लाह गरेर । यदि हाम्रो वनमा पुरानो, ढल्न थालेको, धमिरो लागेकोे रुख रहेछ भने त्यो ल्याऔँला नि, हुन्न र ?” हिराले भने । फेरि केहीले “हुन्छा, हामी खोज्छा” भने । कसैले “म सरलाई मेरो कुर्सी ल्याउँछ” भने । अर्कोले “मैले बच्चा बस्ने तीनवटा बेन्च ल्याउँछ” भने । “मेरोमा टेबल छ”, अर्काले थप्यो । गाउँलेले त्यसो भन्दाभन्दै टेबल, बेन्च, कुर्चीको व्यवस्था भइनै हाल्यो । त्यस दिन साँझसम्म गाउँलेले पुरानो घर सफा गरे । टेबल र कुर्ची मिलाए । कक्षाकोठाको भित्तामा एउटा पुरानो काठको फ्ल्याक ठोकेर कालो पोती कामचलाउ बोर्ड तयार गरिदिए । त्यस साँझको भेलाले ‘चुमलिङ प्राथमिक विद्यालय’ भनी स्कुलको नामसमेत राख्न भ्याए । स्कुलको नाम जुराएको र केटाकेटीले पढ्ने कोठा पनि तयार भएको खुसियालीमा त्यो साँझ सबै मिलेर छ्याङ पिए । त्यसैबेला एक जना गाउँलेले हिरालाई सोधे, “सर रुख किना नकाट्ने ?” जवाफ दिँदै हिराले भने, “रुखले हामीले सास फेर्ने अक्सिजन दिन्छ । रुख हुर्कन सय वर्ष लाग्छ । रुखले ऋतुलाई सन्तुलनमा राख्छ । हिमाल, पहाड, मधेस, नदी, मानिस, जनावर सबैलाई रुखले नै बचाउँछ । हाम्रो वनमा ढलेका, सुकेका, खोलाले बगाएर ल्याएका मुढा छन् । त्यस्तालाई प्रयोग गर्नुपर्छ । वन, जङ्गल नासियो भने हिम चितुवा, पाण्डा, भालु, हरिण, पुतली, चरा, जीवजन्तु, मानिस नासिने मात्र होइन पहिरो गएर सारा पहाड नै सोहोरिएर झर्छ, हाहाकार हुन्छ, अनि पृथ्वी पनि तात्छ ।” हिराको कुरा सुनेर गाउँलेले रुखको महत्त्व बुझेझैँ गरी एकार्कासँग चुम भाषामा छलफल गरे । हिराले बालबालिकाको विवरण लिए । उनले ल्याएका कापी, कलम, चक, डस्टरले एक महिना पुग्थ्यो । थप पाठ्य सामग्री लिन भरियालाई आरूघाट पठाए । हिरा चुमलिङ पुगेको आठौँ दिन बालबालिकाको लागि कक्षा नै सुरु भयो । बच्चाले खेल्दै रमाइलो गर्दै पढून् भनेर उनले ससाना बालबालिकालाई आमाबाबुले जस्तै ज्याकेटको टाँक लगाइदिने, कपाल कोरिदिने, सिँगान पुछिदिने गरे । चौरमा केटाकेटीसँग खेल्दै पढाए । उनले सुरु गरेको तेस्रो वर्ष एक स्थायी र एक अस्थायी दरबन्दीसहित स्कुल स्वीकृत भयो । भवनका लागि बजेट प¥यो । हिरा त्यहाँ गएको पाँचौँ वर्षमा भवन बन्यो, कक्षा आठसम्म पठनपाठन गर्न पाउने गरी स्वीकृति प्राप्त भयो । त्यहाँ ८ कक्षा पढेका विद्यार्थी आरूघाट, धादिङ, गोर्खा, पोखरा गएर अध्ययन गर्न थाले । पछिल्लो समय कोही काठमाडौंँ त कोही युरोप नै पुगे । हिराले बालेको शिक्षाको ज्योति चुमलिङमा मात्र होइन चुमनुब्री र मनाङसम्मै फैलियो । हिराका दुई छोरा र दुई छोरी जन्मे । हिराकी आमा पाठेघर झर्ने समस्याबाट ग्रसित थिइन् । बाबु भने टाठै थिए तर एक दिन खेतमा पानी लगाउन जाँदा लेउ लागेको ढुङ्गाबाट चिप्लिएर उनको कम्मर भाँचियो । पाँच महिना जति ओछ्यान परेर उनी साठी वर्षकै उमेरमा बिते । सोही वर्ष आमा पनि पाठेघर झर्ने रोगकै कारण पचास वर्षको उमेरमा बितिन् । आमाबाबु दुवैले एकै चोटि छाडेर गएकाले हिराको परिवारमा ठूलो वज्रपात प¥यो । जन्मेपछि माटामा मिल्नै पर्ने प्रकृतिको नियमलाई कसले पो रोक्न सक्छ र ? घाउ नभएको कसलाई छ र ? पत्नी कमला पनि कमजोर भइसकेकी थिइन् । नौ वर्षका बीचमा उनले चार सन्तानलाई जन्म दिइन् । कमलाले बालबच्चा, वस्तुभाउ, खेतीपाती, सासूससुरा, चेलीबेटी, घरव्यवहार, चाडपर्व सबै हेर्नुपथ्र्यो । उनलाई एक मिनट पनि फुर्सद हुँदैनथ्यो । कमलाले हिरालाई गाउँ फर्कन आग्रह गर्दा उनले “अर्को वर्ष, दशैँपछि, अब पेन्सन हुन थाल्यो” भन्दै टारे । आमाबाबुको देहान्तपछि भने हिरा फाट्टफुट्ट आरूघाट झर्थे । उनी पनि खोक्न थालेका थिए । हिरा पनि दुई छोरी र ठूलो छोराको बिहे गरिदिएर व्यवहार हलुका पार्दै थिए । हिराका दुवै छोराले एसएलसीभन्दा बढी पढेनन् । लहैलहैमा लागेर दुवै छोराहरू मलेसियाका लाहुरे भए । पछिल्लो समयमा चुममा हिरा ‘गुरू मिङ्मा’ भनेर चिनिन्थे । उनको जन्म दिनका आधारमा लामाले मिङ्मा नाम राखेका थिए । शिक्षा विस्तार, प्रकृति र पुरातात्त्विक सम्पदाका संरक्षणमा तल्लीन भएकाले उनको नाम चुमनुब्रीदेखि मनाङसम्म फैलियो । उनले चुममा शिक्षाको जग मात्र बसालेनन्, बाटो, पुलपुलेसा, गुम्बा, माने पर्खाल, निर्माण र संरक्षण गर्न गाउँलेलाई सचेत पारे । तलब खर्चेर माने पर्खाल बचाए । रुख कटानी रोके । उनले स्थानीय भाषाका साथसाथै नेपाली भाषालाई घरघर पु¥याए । मनाङ पुगेर स्याउका बेर्ना ल्याई चुममा स्याउखेती गर्न सिकाए । त्यसैले चुप उपत्यकामा उनको नाम गाउँलेको हृृदयमा टाँसियो । त्यहाँका लामाले उनलाई एक्काइसौँ शताब्दीको गुरु रिम्पोचे पनि भन्थे । गुरू मिङ्मा त्यसबेला मात्र जीवनमा नराम्रोसँग झस्किए जव उनकी प्रिय पत्नी कमला पचास वर्षकै उमेरमा पाठेघरको क्यान्सरले बितिन् । उनको उपचारका लागि चितवन र काठमाडौंँसम्म पु¥याए । घरको काम गर्दागदै उनी यति व्यस्त भइन् कि पीडा महसुस गर्ने समय पनि पाइनन् । लुकाएको त्यो रोग क्यान्सरमा परिणत भई तेस्रो चरणमा पुगेको रहेछ । त्यसैले उनले कमलालाई अल्पायुमै गुमाए । त्यसपछि गुरू मिङ्मा कमजोर भए । कमला बितेको केही वर्षपछि उनले अठ्तिस वर्षे चुमलिङको बसाइबाट विश्राम लिन खोज्दै थिए । बर्खाको बेला थियो । एक दिन मु गुम्बा पुगेर फर्कँदा अचानक चक्कर लागेर उनी लडे । भिरमा लडेको भए उनको लास भेट्न पनि सकिन्नथ्यो । उनका साथमा एक विद्यार्थी थिए । गुरू छातीका बिरामी थिए । आरूघाट झर्दा औषधि किनेर खान्थे । चुमलिङ पुगेपछि पीडा दबाएर खोक्दै पढाउँथे । चुमलिङमा प्रायः सबै बिरामी धामी, झाँक्री, झारफुक गरेर मन बुझाउँथे तर मिङ्मा भने झारफुकमा विश्वास गर्दैनथे । गुरुलाई चक्कर लागेको कुरा चुम उपत्यकामा एकै दिनमा वनमा डढेलो लागेझैँ गरी फैलियो । गुरुले “केही भएको छैन” भन्दाभन्दै भोलिपल्ट नै चुमबासीले हेलीकप्टर झिकाएर पोखरा लगे । मणिपाल शिक्षण अस्पतालले “फोक्सोमा दाग रहेको छ” भनी क्यान्सर अस्पतालमा जान सुझाव दियो । भक्तपुर क्यान्सर अस्पतालमा सत्र दिन उपचार गरे तर सुधार भएन । मिङ्माकै चाहना अनुसार उनलाई शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरे । त्यहाँ पनि उनको रोगको पहिचान हुन सकेन । निमोनियाका साथै घाँटीमा घाउ देखियो । पालैपालो गरी चुमलिङदेखि मु गुम्बा तथा विदेशमा भएका उनका विद्यार्थी पनि नेपाल फर्केर अस्पताल पुगे । उनलाई भेट्न आउने गाउँलेलाई देखेर अस्पतालका कर्मचारी छक्क पर्थे । यस्तो लाग्थ्यो कि मानौँ उनी देशका एक मात्र सच्चा र इमान्दार गुरू हुन् । मलेसियामा लाहुरे हुन पुगेका दुवै छोरा आइपुगेका थिए । केही वर्ष पहिले आमालाई गुमाउन परेको घाउ आलै थियो । त्यसपछि बाबु बिरामी हुँदा उनीहरू नराम्रोसँग झस्केका थिए । छोराछोरी एवं चुमबासीले धेरै कर गर्दा पनि गुरू मिङ्मा उपचारका लागि दिल्ली जान भने मानेनन् । गहभरी आँसु टिलपिलाउँदै उनले पेम्बालाई भने, “दिल्ली नेताहरू नै जाऊन् । म नेपालको ठूलो अस्पतालमा नै उपचार गर्छु । मलाई सञ्चो हुन्छ । कात्तिकमा पेन्सन निस्कने हो । मेरो बिदाइमा चुमलिङ्मा भव्य कार्यक्रम गर्नुपर्छ है ।” पेम्बाले गुरूको हात मुसार्दै भने, “पिर नगर्नू गुरू, भब्य पार्टी गरौँला ।” मिङ्मा अठ्तिस वर्षसम्म दावा चुमका घरमा परिवारको सदस्य भएर बसे । शिक्षण अस्पतालमा राखेपछि दावाले गुरू मिङ्मालाई क्षणभर पनि छाडेनन् । अन्तिम दिनको कुरा हो । गुरूले दावाको हात समातिरहे । उनले मधुरो स्वरमा दावालाई भने , “मृत्युलाई रोक्न सकिँदैन । चुममा मैले जे गरेँ, त्यसमा म सन्तुष्ट छु । कथमकदाचित म यहाँ मरे भने पनि मेरो लास आर्यघाटमा लगेर ब्रह्मनालमा राख्नू तर त्यहाँ नजलाउनू । मेरो लास मैले अठ्तिस वर्ष बिताएको चुमलिङ गाउँ नै लैजानू । मृत्यु सत्य हो । अर्को जन्म हुँदैन । मरेपछि, म स्वर्गमा जानका लागि मेरो लासलाई ब्रह्मनालमा सुताउनु भनेको होइन ।” “मिङ्मा, तपाईंलाई केही हुँदैन । मर्ने कुरा नगर्नू”, दावाले भने । “हो, मलाई केही हुँदैन, मनमा आएको कुरा भनेको नि” भन्दै फेरि पहिलेकै कुरामा थप्दै भने, “चलेको संस्कार नगर्दा मेरो मृत्युको पीडामा छट्पटाएका मेरा सन्तान, चुमका मेरा विद्यार्थी र अभिभावक दुःखी नहून् भन्नाका लागि त्यसो भन्दैछु । त्यसपछि लामा र पुरेत राखेर सबैको चलन बमोजिम रेन्जेमको दोभानमा मैले खोजेर राखेका दाउरा लगेर जलाउनू । रुख काट्यो भने पहिरो जान्छ । अनि, पृथ्वी तात्छ ।” उनले त्यसो भन्दा दावा अलि डराए । आँखाले सङ्केत गर्दै गुरूका जेठो छोरालाई पनि नजिकै बस्न भने । आँखाका नानी चारैतिर घुमाउँदै गुरूले भने, “दाहसंस्कार गर्दा आरूघाट र चुमको चलन अनुसार गर्नू । किनभने, हामी मानव हौँ । हाम्रो दर्शन, धर्म, संस्कार र परम्परा भूगोलले गर्दा फरक भएको हो । हामी सबै नेपाल आमाका सन्तान हौँ । सांस्कृतिक सद्भाव हजारौं वर्ष पहिले जति बलियो थियो, त्यस्तै बलियो बनाउन पर्छ । अनि बल्ल हाम्रो गाउँ, गोर्खा, गणेश र मनास्लु हिमाल हाँस्छ । अनि हाँस्छ, हाम्रो देश नेपाल ।” मिङ्मा शिथिल भएका थिए । नर्स आएर जाँच गर्दै “बुबा धेरै नबोल्नू, तपाईंको घाँटीमा इन्फेक्सन भएको छ” भनिन् । मिङ्माले नर्सलाई वास्ता नगरी भने, “पश्चिमाले भौतिक सुखका लागि अधिक औद्योगिकीकरण गरे, परिणामस्वरूप तापक्रम बढ्यो । उनीहरूले प्रकृतिको दोहन गरेर सुखसुविधा लिँदा हामीले अनाहकमा दुःख पायौँ । हाम्रै हिमालमा हिउँ कम भयो । म चुमलिङ जाँदा वरपरका पहाडमा वैशाखसम्म हिउँ हुन्थ्यो, अहिले छैन । यसैले पृथ्वीको तापक्रम घटाउन वन बचाउनुपर्छ ।” त्यसदिन दावासँग गुरू मिङ्माले एक घण्टा कुरा गरे । उनमा बाँच्ने चाहना प्रबल थियो । गुरू मिङ्मालाई अक्सिजनका साथै स्लाइनको पाइपबाट औषधि चढाइएको थियो । गुरूको शरीर क्रमशः सुक्दै गयो । पातलो भएर हाड र छाला मात्र देखिन्थ्यो । अनुहारमा चमक थियो तापनि आवाज भासिएको थियो । घाँटीको घाउ सुनिएकाले पानी निल्न हुँदैन्थ्यो । औषधि र अक्सिजनका भरमा अस्पतालमा उनी पाँच हप्ता बसे । चुम उपत्यका, आरूघाटका सबै शुभेच्छुकले उनलाई भेटे । आरूघाटका छिमेकीलाई “अब कात्तिकमा पेन्सन निस्केपछि तपाईंँहरूसँगै बस्छु” भन्थे । उता चुमबासीलाई “म पेन्सन निस्के पनि मेरो कोठा छाड्दिन है” भन्थे। स्वास्थ्यमा सुधार भएन । चिकित्सकले उनको रोग पत्ता लगाउनै सकेनन् । अन्तिमतिर गुरूलाई घाँटीको पीडाले नै चीर निद्रामा सुतायो । सबैसँग चुमको शिक्षा र वातावरणबारे कुरा गर्दागर्दै उनी सबैलाई स्तब्ध पारेर निर्वाण प्राप्त गरे । उनकै इच्छा अनुसार उनको पार्थिव शरीर चुमलिङ लगिएको थियो । साउनको बिहान थियो । पूर्वतिर चकितै पार्ने छ्याङ्ग उज्यालो देखियो । तीन तारे भरखरै उदाएको थियो । साउनमा चुम उपत्यकामा त्यति बिघ्न सफा आकाश पचास–साठी वर्षका अन्तरालमा मात्र देखिने गरेको चर्चा गाउँलेले गर्दै थिए । त्यो मौसम देख्दा चुमलिङ्बासीको अनुहार त्यही मौसम जत्तिकै उज्यालो भएको थियो । त्यसको कारण थियो – लामाले गुरू मिङ्माको दाहसंस्कार गर्न दिएको सोही दिन बिहान ६ बजेको समय । साउन अन्तिमतिर झमझम झरी दर्कने बेला, सबैलाई अचम्म पार्ने गरी मौसम सफा भयो । त्यो बिहानको मौसमबारे प्रकृतिपूजक ती चुमबासीले विभिन्न तर्क गर्दै भने– “मौसम राम्रो हुनु भनेको गुरू मिङ्मा स्वर्ग जाने बाटो खुलेको हो ।” “मिङ्मा सर त साँच्चि धर्मात्मा रहेछन्, उनी मैत्रेय बुद्ध भएर फेरि चुमनुब्रीमा जन्मने छन् ।” “मिङ्मा नराम्रो भा’ हिउँ परेको बेला घर नझरी यहाँ बसेर केटाकेटी पढाउँथ्यो ? सर त प्रकृतिपूजक बोन गुरू सेनरेब नै हो ।” “ऊ नआएको भा’ हाम्रो वन हामीले पहिल्यै काटेर सक्थ्यो । रुखले सास फेर्न अक्सिजन दिन्छा, पैरो जान रोक्छा, रुख नकाट् भनेर सरले हाम्रो छोराछोरीलाई सिकायो, रुख बचायो, स्याउ फलायो, बच्चा पढायो ।” “हो त नि ! हाम्रो गाउँ वरपर हेर न फुर्वा पहिरो गएको छैना नि, हामीले वन बचाएर त हो नि ?” “धर्मात्मा भएर त हो नि मौसम पनि मिङ्मा सरको मन जस्तै सफा भयो ।” यस्तै कुरा गाउँलेले एकार्कासँग गरेको सुनिन्थ्यो । आरुघाटका शुभचिन्तक अघिल्लै साँझ चुमलिङ पुगे । यस क्षेत्रका मुख्य गुम्बामध्ये मु, राचेन, लुङ्दाङ र स्थानीय धाम्पा गुम्बाका लामा र आरुघाटबाट पुरेत पनि आइसकेका थिए । बोन, हिन्दू र बौद्ध परम्परा अनुसार लासको पूजा गरियो । छोराछोरी, बुहारी, ज्वाइँँ, इष्टमित्र, गाउँले सबै मिलेर लास सियार र गणेश हिमालतिरबाट आएको लाङ्दाङ खोलाको रेन्जेम दोभानमा लगे । दाहसंस्कारको दिन चुम उपत्यकाका सबै गाउँका मानिस खर्लप्पै ओइरिएका थिए । त्यसपछि बोन, हिन्दू र बौद्ध विधिबाट मन्त्रोचारण गरी चितामा राखेर दाहसंस्कार गरे । त्यसबेला काग, गिद्ध, चराचुरुङ्गी उपत्यकाभर कावा खाइरहेका थिए । बाँदर, हरिण, हिम चितुवा लेकका पखेरा, ठूला चट्टान र रुखका हाँगाबिगामा देखिन्थे । यस्तो लाग्थ्यो कि त्यो चुम उपत्यका नै शोकमग्न छ । दस बजेर पन्ध्र मिनट जाँदा दाहसंस्कार कर्म सकियो । दोभानबाट उठेको धुवाँको मुस्लो माथिमाथि निलो आकाशतिर पुगेर विलिन भयो । गाउँलेले आँसु पुछे । गुरू मिङ्मालाई हृृदयभरिको अन्तिम श्रद्धाञ्जलि अर्पण गरे । त्यो दिन १२ बजेपछि अकाश गज्र्यो । चट्याङ् प¥यो । त्यसपछि घनघोर मुसलधारे पानी प¥यो । सबैले बिहानको सफा मौसम र त्यसपछि गर्जन सहितको मुसलधारे पानीलाई पनि गुरू मिङ्माको मृत्युसँग तुलना गरे । कसैले“गुरू मिङ्मा तीनतारे तारा भयो” भने । कसैले “गुरू मिङ्मा मैत्रेय बुद्ध भएर आउने छ” भने । कसैले “गणेश हिमाल भएर हाम्रो अगाडि बस्योे” भने । प्रकृतिपूजक ती गाउँलेले गुरू मिङ्माको तस्बिर सेनरेब, बुद्ध, गुरु रिम्पोचेको तस्बिरसँगै राखेर सम्मान गर्दै आफ्नो कर्ममा लागे । –समाप्त–
चैत ४, २०७९ शनिबार राष्ट्रिय दैनिक गोरखापत्रमा प्रकाशित । धन्यवाद सहित साभार
विष्णुप्रसाद शर्मा पराजुली
विष्णुप्रसाद शर्मा पराजुली
काठमाडौँबाट हिँडेको चौथो दिन, २०७३ कात्तिक १ गतेको बिहान गाइड फिन्जो शेर्पासहित हामी चार जनाले रोलवालिङ हिमनदी नजिक रहेको ओमी च्छो (दुधपोखरी)लाई पछ्यायौँ । रोलवालिङ उपत्यकाको बगर (मोराइन) तुसारोले सेताम्मे देखिन्थ्यो । अघिल्लो रात हामी ना गाउँ (४१८० मि.)मा बास बसेका थियौँ । हामी बसेको होटलकी आमासँग पनि पोखरीबारे जानकारी लियौँ । हिउँदमा हिउँले पुरिने विशाल बगर, सेता र खैरा ठूला ढुङ्गा तथा गेग्र्यानमा गोरेटो खुट्ट्याउन नसक्दा बाटो बिरियो । बिनाडोरेटो हिमबगरको ठुल्ठुला ढुङ्गा घुँडा दोब्य्राउँदै चढ्ने र पुठोले टेक्दै ओर्लँदै मात्र के गरेका थियौँ, ४२५० मिटरभन्दा माथिको उचाइमा मुटुको धड्कन सामान्यबाट तुरुन्तै उकालो लागिहाल्यो । सबैलाई चिट्चिटाहट भयो । कसैलाई पिसाब तुरुक्क चुहिने अवस्था भयो भने कसैको दिसा निस्कने । मैले सबैलाई घोप्टो परेर बिस्तारै लामो सास तान्दै र फाल्दै गर्न भनेँ । हिँड्दा बिस्तारै पाइला सार्न अनुरोध गरेँ । धड्कन सामान्यको नजिक भएपछि मात्र बिस्तारै उकालो लाग्यौँ । करिब ४३०० मिटरमा पुगेपछि भने डोरेटो भेटियो । बिहानको बाक्लो हुस्सु कुलेलम ठोकेर गौरीशङ्कर नाघ्यो । केही मिटरको उकालो चढेपछि गोरेटोको पश्चिमोत्तर कुनामा सानो सेतो कुण्ड देखियो, त्यही नै दुधपोखरी रहेछ जुन करिब ४४५० मिटरको उचाइमा रहेको छ । पोखरीमा साउने पूर्णिमामा ठुलो मेला लाग्ने जानकारी होटल सञ्चालिका आमाले दिनुभएको थियो । सानो भएकैले पोखरी भनिएको रहेछ तर पानी भने साँच्चिकै दुध भन्न मिल्ने सेतो देखिएको थियो । घाम नपर्ने चट्टानको कोप्चा–काप्चीमा भने बरफ जमेको देखिन्थ्यो । जलवायु परिवर्तनको कारण पोखरीको आकार खुम्चिएको वरपरको सुख्खा बगरले देखाउथ्यो । पृथ्वीको तापक्रम बढेकोले हिमालमा पनि प्रत्यक्ष प्रभाव देखिन थालेको तीन दशक नाघेको छ । त्यसैको परिणामस्वरूप हिमनदीमा कतै हिमताल सुक्ने, कतै नयाँ हिमताल बन्ने अनि हिमनदी नै बालुवाको बगरमा परिणत हुने क्रम जारी छ । पश्चिमा देशमा भएको अत्यधिक औद्योगिकीकरणको कारण आज हाम्रा हिमाल र त्यसनजिक हिउँ जमिरहने पर्वत सुख्खा, जर्जर र डढेलो लाग्ने अवस्थामा पुगेका छन् । त्यसको मर्म पश्चिमाले बुझ्लान् र ? हिमालमा रमाउन उकालो चढ्दै गर्दा पृथ्वीमा वृद्धि भइरहेको तापमान र हामीलाई परेको त्यसको असरतिर अनायस मेरो ध्यान तानियो । त्यहाँबाट करिब एक घण्टाको उकालो पार गरेपछि रोलवालिङ हिमनदीको शिरतिर हलुका खैरो बलौटे भाग र हिमालका चुचुरा नजिकै देखिए । केही मिनेटपहिले हामी सबैको टाउकोवरपर बास बसेको चिट्चिटाहट अनायस हुस्सुको साथ लागेर कता हो कता कुलेलम ठोक्यो । कर्कलोका डाँठजस्ता भएका खुट्टा आपूmसँगै हिमालका लामबद्ध चुलीहरू टाँसिएको देख्दा सालको खाँबोजस्तै भए । हामी रोलवालिङ हिमनदीको धारैधार माथि चढ्यौँ । धार कोप्रिएको ठाउँ गेगर धस्सिएर पहिरो झर्न सक्ने भएकाले होसियार हुनुपथ्र्यो । केही माथि फुस्रो पखेरोमा पुरानो लुङदार फहराइरहेको देखियो । रोलवालिङ हिमनदीको पश्चिमी कान्लो कतै फुकेको थियो भने कतै साँघुरिएको । हिमनदीको पश्चिम खण्डमा बर्खाको धाँस सुकेर गाढा खैरो र घुरमैलो कालो देखिन्थ्यो । त्यसलाई पछ््याउँदै धारैधार उकालो चढदै गयौँ । क्रमशः नजिकका रोलवालिङ शृङ्खलाका चुचुराहरूको सिङ्गो रूप, रोलवालिङ हिमनदीको विशाल बगरको सुख्खा रूप (ःयचबष्लभ), पूर्वदक्षिणमा रोलवालिङ हिमनदीको बीचमा दुधकै रङमा रहेको च्छोरोल्पा तालको दक्षिण भाग देखियो । त्यस बेलासम्म भने हामी दुधपोखरीभन्दा माथि दृश्यावलोकनको घोडाको पिठ्यूजस्तो देखिने धारमा पुगेका थियौँ । म, त्योभन्दा केही मिटर माथि चढेँ । सुरक्षित धारमा उभिएँ । त्यसपछि दायाँतिरबाट सारा उपत्यकाको क्रमशः अवलोकन गर्दै फनक्क घुमेर सुरुको बिन्दुमा पुगेर टक्क अडिएँ । चारैतिरको माथिल्लो भागबाट हिमालका चुचुरैचुचुराले मलाई नै हेरिरहेका थिए भने म उभिए वरपर विशाल रोलवालिङ हिमनदी, च्छोरोल्पा ताल र ना गाउँ र त्यसभन्दा टाढा दक्षिणतिर फैलिएको विशाल रोलवालिङ उपत्यका र रोलवालिङ नदी देखिएका थिए । सर्वप्रथम मैले त्यस बेलाको त्यो अनुपम, अपरम्पार, अलौकिक दृश्यलाई आँखाका परेला झिम्क्याएर नानीभित्र सुरक्षित गरेँ । त्यसपछि सबैलाई एकत्रित गर्दै मुटुभित्रको थैलीमा नबिर्सने गरी सुर्केँ । यस्तो दृश्यको अँगालोमा बाँधिदा म थप भावुक बन्छु । सफा मौसमले छिट्टै मोहनी लगाउँछ । वशिभूत पार्छ । मौसम सफा भएर वरपरको दृश्य देखिँदा मात्र पनि मन फुरुङ्ग हुन्छ भने हिमालतिर उक्लँदा सफा मौसममा टलक्क चाँदीझैँ टल्कने हिवैहिउँले पुरिएका हिमालका लामबद्ध हिमाच्छदित सेता चुचुराहरू, निलमणिजस्तो सफा निलो आकाश, दुधौले जस्तो देखिने दुधपोखरी, जति हे¥यो उति टाढासम्म फैलिएको रोलवालिङ उपत्यका र हिमनदी, त्यसको माथि समूह बनाएर उडिरहेका हिमाली ढुकुर र काग, भित्तामै टाँसिएर पूmलेका साना पहेँला हिमाली पूmल देख्दा कुन मनुष्य पो उमङ्गमा हिमाली कागझैँ कावा नखाला र ! डाँफे र मुनाझैँ को ननाच्ला र ? वास्तवमा, मैले नढाँटी भनेको हुँ, त्यस्तो सुन्दर एकान्त वातावरणमा म एक्लै उड्छु चुचुराहरू पछ्याउँदै, म एक्लै नाच्छु चुचुराहरूसँग ताल मिलाउँदै, र म एक्लै बहन्छु हिमालमा ठोकिएको हावाको झङ्कारसँग ताल मिलाउँदै । च्छोरोल्पा हिमनदी सुख्खा गर्गरे बगरमा परिणत भएकोमा मन कुँडिए तापनि हिमाली तल्ला पखेराहरूमा हिउँ नदेखिए तापनि रमणीय प्रकृतिको स्वाद आफ्नै तौरतरिकाबाट लिएँ । साथीहरूले पनि फरकफरक धारमा आ–आफ्नै धुन र सुरमा प्रकृतिको काखमा त्यहाँबाट देखिएको दृश्य हेर्दै चरम आनन्द लिनुभएको थियो । हुस्सु टाढिएकोले कसैले पनि मन खुम्च्याएर भित्रभित्रै आँसु झार्न परेन । हिमालनजिक जाँदा मौसम सफा हुनु अपूर्व अवसर प्राप्त गर्नु हो किनभने मौसम अनुमान गर्ने जतिसुकै आधुनिक उपकरण भए तापनि ३५०० मिटरभन्दा माथिको मौसममा अचानक नै परिवर्तन आउन सक्छ । काठमाडौँदेखि ठिक पूर्वमा दोलखाको गौरीशङ्कर गाउँपालिकामा पर्ने रोलवालिङ हिमालय शृङ्खला, समग्र हिमालयको अर्को प्रख्यात हिमशृङ्खला हो । रोलवालिङ हिमालयको पूर्व नाङ्पा लादेखि सगरमाथा क्षेत्रको महालङ्गुर हिमालय शृङ्खला पर्दछ । रोलवालिङ हिमालय खण्डमा चीनको तिब्बतमा पर्ने मेलुङ्त्से प्रथम (७१८१ मिटर) सबैभन्दा अग्लो हिमाल हो भने गौरीशङ्करका दुई चुली गौरीशङ्कर (७१३४ मि.) र गौरी (६९८३ मि.) मध्ये गौरीशङ्कर यस शृङ्खलाको दोस्रो अग्लो हिमाल हो । रोलवालिङको नेपालको अग्लो हिमाल चाहिँ गौरीशङ्कर हो । गौरीशङ्कर हिमालय क्षेत्रको उत्तर–दक्षिण फैलाव बीस किलोमिटर र पश्चिम भोटेकोशीदेखि पूर्व तासीलाप्चासम्मको लम्बाइ पचास किलोमिटर रहेको छ । समग्र रोलवालिङको नेपाल खण्डमा ६ हजार मिटरभन्दा उचाइमा रहेका करिब पचास हिमालका चुचुराहरू रहेका छन् । धेरैको नामकरण हुन बाँकी छ र त्यो हिमालयको खण्ड खुम्बुको थामेनजिकको नाङ्पा लासम्म तानिएको छ । नाङ्पा ला ( ५७१६ मिटर ) थामे भएर तिब्बत जाने नाका हो । रोलवालिङ खण्ड तामाकोशी नदीको पूर्वतर्फ तेर्सिएको छ तर खासमा रोलवालिङ क्षेत्रलाई नदीको विभाजनअनुसार पश्चिममा तातोपानी खासा क्षेत्र (तिब्बतको नेलमतिरबाट आएको भोटेकोसी) र पूर्वमा नाङ्पा लादेखि आएको भोटेकोशी (पछि दुधकोशी भनिने)सम्मको पचास किलोमिटर लामो भागलाई बृहत रोलवालिङ हिमालय शृङ्खला क्षेत्र भन्न सकिन्छ । रोलवालिङ उपत्यका भनेर चाहिँ च्छोरोल्पा नजिकको हिमनदी, त्यसबाट बनेको च्छोरोल्पा हिमताल र त्यसबाट बग्दै पश्चिमतिर लागेको खोलोलाई पनि रोलवालिङ भनिन्छ । च्छोरोल्पा खोलोचाहिँ लामाबगरदेखि दक्षिणमा रहेको तागापोल दोभानमा तामाकोशीमा मिसिन्छ । लामाबगरदेखि उत्तरमा यसै तामाकोशी नदीले हिमालयको खण्डलाई काटेर रोलवालिङ र जुगल एवम् लाङ्टाङ हिमालय शृङ्खलालाई छुट्ट्याइदिएको छ । हामी त्यसै रोलवालिङ मुख्य हिमशृङ्खलाको अन्य चुचुराहरूको बीच, उत्तरदक्षिण भएर च्छोरोल्पा तालतिर मोडिएको रोलवालिङ हिमनदी, च्छोरोल्पा ताल, तालबाट निस्केर बगेको रोलवालिङ नदी र रोलवालिङ उपत्यकाले घेरिएको रोलवालिङ हिमनदीको उत्तरी पखेरोमा थियौँ । त्यहाँबाट ठिक अगाडि उत्तर पश्चिममा काङ नाचु गो (६७३७ मि.), ओमी च्शो गो (६३३२ मि.), उत्तरतर्फ ठाडो माछापुच्छ«ेको पखेरोजस्तो ठाडो भिरालो देखिने दिङइङ री, हिमनदीको पूर्वी शिरमा द्राङनाङ (६८०१ मि.), पूर्वोत्तरमा रोलवालिङ काङ (६६६४ मि.), खाङ खार्पो (६६४६ मि.), दक्षिण पूर्वमा चोबुजे खाङ ताग री ( ६६८६ मि.) र दक्षिणमा च्छोरोल्पा ताल, त्यसको निकास, त्यसैबाट बनेको खोलो र उपत्यका देखिएको थियो । यहाँका धेरै चुचुराहरू आरोहणको लागि प्रख्यात छन् । त्यसको लागि नेपाल पर्वतारोहण सँघको अनुमति लिनु पर्छ ।
Gaurishankar 7134m
आँखाले देखिएको आधारमा (भित्र छिरेको हिम नदीको भाग देखिएको थिएन) करिब १५०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ भएको त्यो रोलवालिङ हिमनदी हिउँ नभएको कारण सुख्खा, फुस्रो खरानी रङको बलौटे नदीमा परिणत भएको थियो । भिरालो परेको ठाउँमा बालुवा, गिटी, चट्टानसहितको बगरको थुप्रोमुनि कतै–कतै बरफका भीमकाय चट्टान देखिन्थे जुन भित्रभित्रै पग्लेर भित्रैबाट च्छोरोल्पा तालमा पुग्दछ । पृथ्वीको तापक्रम बढ्दै गएको कारण मौसममा आएको परिवर्तनले हिमनदी बालुवा र गिटीको नदीमा परिणत भएको हाम्रै आँखाले विगत केही वर्षदेखि देखिरहेका छौँ । विज्ञले त्यसलाई स्वीकार गरेका छन् । नेपालको धवलागिरि, अन्नपूर्ण, खुम्बु, मकालु र कञ्चनजङ्घाका हिमनदी पनि त्यस्तै सुख्खा भएका छन् र ती हिमनदीमा अकल्पनीय रूपमा साना र ठुला हिमताल बनेका छन् । बन्ने क्रममा छन् । अनुसन्धानमा संलग्न विज्ञको भनाइअनुसार ती ताल फुट्ने खतरा पनि त्यत्तिकै रहेको छ ।
Kang Na Chu 6737m & Omi Tso Go 6332m and Rolwaling glacier
हामीले सुख्खा हिमनदी देख्यौँ । त्यसबारे बहस गर्ने औकात हामीसँग रहेन । मनमा पिर त पर्ने नै भयो । त्यो पिरलाई सफा मौसमले भुलाइदियो । मौसम सफा भएर सबै हिमालका चुली, हिमनदी र वरपर छर्लङ्ग खुलेको हुनाले सम्पूर्ण पीडा, दुःख, थकाइ, उचाइमा लाग्ने बिमार बिर्सेर त्यो मनमोहक दृश्य हेर्नमै मग्न रह्यौँ । त्यो दृश्यको अवलोकन गर्दै रोलवालिङ हिमनदीको किनारभन्दा माथिल्लो सुख्खा थुम्कोमा बसेर खाजा खायौँ । उच्च हिमाली क्षेत्रमा कहिलेकाहीँ अचानक मौसम परिवर्तन हुन्छ । त्यो सारा उपत्यका क्षणभरमा नै हुस्सु र कुहिरोभित्र पुरिन्छ । अति नै चिसो र शक्तिशाली हावा हुँइकिने, कालो बादल मडारिने, हिउँ पर्ने, बाटो बन्द हुने र हिमपहिरोमा पुरिने खतरा हुन्छ । हिमालमा जाँदा त्यसबारे होशियार हुन पर्छ । त्यस बेला मौसमले साथ दियो । त्यो दिन, दिनभर नै मौसम सफा रह्यो । साँच्चिकै खुसीको दिन थियो त्यो । मनभरि खुसीलाई साँचेर हामी रोलवालिङ हिमनदीबाट झरेर ना गुम्बाको अवलोकन ग¥यौँ । त्यसपछि होटलमा फर्केर हिमाली चिया सुचे पिउँदै थकाई मा¥यौँ ।
मधुपर्कको २०७९ फागुन, पुर्णाङ्क ६४१ बाट धन्यवाद सहित साभार । (फ्रान्स यात्रासंस्मरण) टुर दे’ लाक ब्लाँ
विष्णुप्रसाद शर्मा पराजुली
मानव जाति यात्री हुन् । मानव सभ्यताको विकास पनि यात्राबाटै भएको हो । वर्तमान सिरिया, इजिप्ट र इरानलाई आधुनिक मानव सभ्यताको जननी मानिन्छ । त्यहीबाट एकथरी पश्चिम ग्रिसतिर लागे । अर्काथरी पूर्वतिर । खसहरू त्यतैबाट अफगानिस्तान, हिन्दुकुस, कस्मिर हुँदै हिमालयको दक्षिण र गङ्गामैदानमा पुगेका हुन् । दसौँ हजार वर्षदेखिको यात्रा जारी छ । रेल, हवाइजहाज, पानीजहाज, समुद्रमुनि र समुद्रमाथि गरिने द्रुत गतिका यातायातका साधनले पृथ्वीको यात्रा सहज र छिटो बन्यो । अबको यात्रा अन्तरिक्षतिर केन्द्रित गरिँदैछ । मानिसले मानिसलाई मार्ने काम जङ्गली अवस्थाको प्रारम्भमा थियो, आजको अति विकसित युगमा पनि छ । एक्काइसौँ शताब्दीमा आइपुग्दा, यात्राको महत्त्वलाई हृ्दयङ्गम गरेर युरोप र अमेरिका महादेश तथा चीन, जापानजस्ता देशले यातायातमा अत्यधिक विकास गरे, यात्रा गर्न सहज पारिदिए । आज अन्य देशमा भएको यातायात सञ्जालको विकाससँग तुलना गर्ने हो भने नेपाल दस हजार वर्ष पहिलेको घुमन्ते पशुपालन युगमै छ, सहरी क्षेत्रलाई छाड्दा । पहाडी क्षेत्रमा खच्चर यातायातका साधन हुन् । झोलुङ्गे पुल पनि छैन । मोटर, रेल, सुरुङ मार्ग, केवलकार कतै नदेखेको, नसुनेको कारण सपनामा पनि देखिँदैनन् । यो प्रसङ्ग विसं २०७६ भदौमा दक्षिणपूर्व फ्रान्स चामोनीमा गरिएको यात्रासँग सम्बन्धित छ । नेपालमा मनसुन मध्य चरणमा थियो । बाक्लो बादल, चरक्क घाम र ह्वार्र पानी दर्कन्थ्यो । गाढा हरियाली, पहिरो, नदीको भेल र डुबान व्याप्त थियो । युरोपमा समर अर्थात् गृष्म ऋतु थियो । निलो आकाश, गाढा हरियाली, हरियालीभित्र लुकेका सफा र सुन्दर घर, अल्पस पर्वतमा टलक्क टल्केको सेतो हिउँले मानव जातिको मन खिंच्न आतुर थियो । धुलो, हिलो, प्लास्टिक र फुटेको सिसाविहीन, शरीरमा नसा फिँजारिएझैँ फिँजारिएका फराकिला सडकमा कार कुदेका देखिन्थे । द्रुत गतिमा कुदेको रेल क्षणभरमै क्षितिजमा बिलाउँथे । त्यसै समयमा ‘समर सिजन’को मज्जा लुट्न आउने–जाने पर्यटकले खचाखच भरिएको थियो, फ्रान्सको पर्वतीय पर्यटकीय सहर चामोनी । हामी स्विट्जरलेन्ड र इटाली नजिक रहेको युरोपको पर्वतीय पर्यटकीय सुन्दर सहर चामोनी पुगेका थियौँ । चामोनी युरोपको सबैभन्दा पुरानो स्की स्टेसन भएको सहर हो । विसं १९८१ (सन् १९२४) मा यहाँ हिउँदे ओलम्पिक भएको थियो । यो सहर युरोपको अग्लो माउन्ट ब्लाँ (श्वेत पर्वत) नजिक छ । हाम्रो नाम्चे बजारलाई सगरमाथाको द्वार भनिएझैँ चामोनी माउन्ट ब्लाँको प्रवेशद्वार हो । यहाँको जनसङ्ख्या करिब नौ हजार तथा क्षेत्रफल २४५ वर्ग किलोमिटर छ । यहाँ वार्षिक पचास लाख पर्यटक पुग्छन् । स्विट्जरलेन्डको जेनेभा र फ्रान्सको आनमास नजिक रहेको यो सहर स्कि, अल्पस पर्वत पर्वतारोहण, पदयात्रा, पर्वतीय दौड आदिमा विख्यात छ । म पहिलो पटक विसं २०६२ मा मित्र फ्रान्सिस र डा. जेरार्डसँग त्यहाँ पुग्दा विसं २००९मा बनेको केवलकारबाट अग्गुइ दि मिदी (३,८४२ मिटर)का चुचुरामा पुगेर कफी पिएको थिएँ । पहाडे रेल र बरफ सङ्ग्रहालय पुगेर बरफको मज्जा चाखेको थिएँ । म उच्च हिमाली क्षेत्रको पदयात्री पनि भएकाले यस पटक अल्पस पर्वतका केही क्षेत्रमा पदयात्रा गर्ने योजना गरेको थिएँ । त्यसका लागि म र श्रीमती सुशीला काठमाडौँ र छोरी डा सुनिता न्युयोर्कबाट आएका थियौँ । छोटो पेरिस बसाइपछि आनमास पुग्यौँ । त्यहाँबाट नजिकै पर्ने जेनेभा सहर, जेनेभ ताल, स्विस चिज र चकलेट उद्योगका साथै लियो, इभिया र थोनोन सहर घुमेका थियौँ । पदयात्रामा भने अफ्ठेरो श्रेणीमा पर्ने टुर दे’ फिज पर्वत परिक्रमा (प्रकाशित गोरखापत्र, २०७७ पुस २५), लेक ब्लाँ, देंन दे’ओच र दे’रोचोइ अल्पस पर्वत क्षेत्रको पदयात्रामा गयौँ । युरोपको सबैभन्दा अग्लो पर्वत माउन्ट ब्लाँ (४,८१० मिटर) भने हेलिकप्टरबाट परिक्रमा गरेका थियौँ । बिरलै गरिने त्यो अनुभव, फ्रान्सेली मित्रहरूले सम्भव बनाइदिएका थिए । ‘माउन्ट ब्लाँ’ भनेको हामीले श्वेत पर्वत भने जस्तै हो । यसलाई युरोपको मुकुट भनिन्छ ।
Mt. Blanc (4810 Meters)
हाम्रा हिमालय पर्वतमाला जस्ता अग्ला पर्वत संसारमा अन्यत्र छैनन् । हाम्रोमा जस्तो धेरै दिनको पदयात्रा अनुसन्धानकर्ता र केही इच्छुक व्यक्तिले बाहेक अरूले गर्दैनन् । यहाँ हिमाल आरोहण (ःMountain Climbing Expedition पदयात्रा (Trekking) प्रख्यात छ । युरोपमा स्की, साईक्लिङ, रनिङ र पदयात्रा (ज्ष्पष्लन) अधिक प्रचलनमा छ । ट्रेकिङ् र हाइकिङ्को अर्थ एउटै हो तापनि नेपालमा धेरै दिन गरिने पदयात्रालाई टे«किङ र एक वा दुई दिन गरिनेलाई हाईकिङ भनि अथ्र्याउने गरिन्छ । आनासबाट चामोनि–इटालीे मुख्य राजमार्ग भएर एक घन्टामा चामोनी पुग्यौँ । चामोनीबाट माउन्ट ब्लाँ पर्वतको ११.६ किलोमिटर लामो सुरुङ मार्ग पार गरेपछि इटालीको कोरमेयर सहर पुगिन्छ । दक्षिणपूर्व फ्रान्सका नागरिक हिम पर्वत भनेपछि हुरुक्कै हुन्छन् । यहाँका सानो सहरका पुराना घर नेपालको हिमाली क्षेत्रका जस्तै काठले बनेका हुन्छन् । नेपाल आउने धेरै फ्रान्सेली त्यतैका हुन् । हाम्रो यात्रामा कुनै न कुनै मोडबाट माउन्ट ब्लाँ र त्यस वरपरका हिमाच्छादित पर्वत देखिन्थे । हिउँभन्दा तल्लो भाग हिउँले खाएर कालो देखिन्थ्यो भने त्यसभन्दा मुनिको भूभागमा सल्लाको घना हरियो वन थियो । हरियो वन, हिम पर्वत र नीलो आकाशले गर्दा सबैको अनुहार मौसम जस्तै चहकिलो, जिज्ञासु देखिन्थ्यो । हिम पर्वत देखिँदा मित्र मारयुसले मोटरको गति घटाएर अर्को लेनमा लैजाँदै ती पर्वतको नाम बताउँथे र भन्थे, “हिमालय पर्वत जस्तै अग्ला र ठूला अल्पस पर्वत छैनन् तर अल्पस पर्वत हिमालय पर्वतभन्दा सात करोड बीस लाख वर्ष पुराना हुन् ।” हिमालय पर्वत सबैभन्दा अग्लो तर सबैभन्दा कान्छो पर्वतमाला हो । कारमा मित्र पास्कल, डा सुनिता, मारयुस र म थियौँ । त्यस दिनको हाम्रो यात्रा श्वेत ताल (लाक ब्लाँ) निर्धारित थियो । हामीले दूधकुण्ड भनेझैँ फ्रान्सेली भाषामा त्यसलाई लाक ब्लाँ भनिन्छ । ‘लाक’ भनेको ताल हो भने ‘ब्लाँ’ भनेको सेतो हो । मित्र पास्कल नेपालका हिमाल भनेपछि हुरुक्कै हुन्छन् । पचहत्तर वर्षका उनी हाम्रा नाउर जस्तै फुर्तिला छन् । “मृत्युपछि अर्को जन्म हुने भए, म हिमाली काग हुने थिए” उनी मसँग बारम्बार भन्ने गर्छन् । उनले लाङ्टाङको आलु आफ्नो करेसा बारीमा फलाएका छन् । मारयुसले नेपालका मुख्य पदमार्गको पदयात्रासहित सगरमाथा क्षेत्रको मेरा पिक (६४७६ मिटर) चढेका छन् । चामोनीको अर्जेन्तिरमा कार पार्क ग¥यौँ । कारबाट खाजा र स्कि स्टिक झिकेर रुकस्याकमा राख्यौँ । चस्मा र हाइकिङ जुत्ता लगायौँ । साथीहरूले सन क्रिम दले । अनि उकालो लाग्यौँ लेक ब्लाँ (दूधकुण्ड) तिर । धुपीको वनको बाटो उकालो चढ्यौँ । हामी नौ सय मिटरबाट उकालो लागेका थियौँ । सन् १९७४ देखि यो ‘इगुली रोज’ भूभाग प्रकृति संरक्षण क्षेत्रभित्र पर्छ । यो क्षेत्र धुपीको वन, जडिबुटी र जङ्गली जनावरका लागि प्रख्यात छ । यहाँ झारल, मारमोत आदि जनावरका साथै चराहरू पाइन्छ । हाइकिङ मार्गमा आलुचिप्स र सुर्तीका प्लास्टिक, मिनरल वाटर, फुटेका बियर र कोकका बोतल, क्यान, प्लास्टिक, प्लास्टिकका गिलास, प्लेट एउटै देखिएन । ठाउँठाउँमा ‘जथाभावी नहिंँड्नु होला, भूक्षय हुनबाट बचाउनुहोस्’ भन्ने सूचना टाँसिएको थियो । गोरेटोबाहेक अन्यत्र हिँड्दा बिरुवा भाँचिने, घाँस माडिएर भूक्षय हुन्छ भनेर नेपालमा जस्तो जताततै हिंँड्न नपाइने रहेछ । आँखाले हिम पर्वत र चामोनी सहर देखे तापनि मेरो मनको आँखाले भने नेपालको पदमार्गमा हुने फोहोर देख्यो । मैले काठमाडौँको वरपर हाइकिङ गर्ने युवालाई “फोहोर नफालौँ है” भन्दा उल्टै खप्की खाएको सम्झेँ ।
Lac Blanc, France
एक हजारदेखि पन्ध्र सय मिटरमा पुगेपछि दुई फिट अग्ला लालीगुराँस, धुपी र धुपका बोट भेटिए । त्यसपछि खैरो रङको अग्लो चट्टान देखियो, जहाँ हामी जाँदै थियौँ । त्यस्तो बुट्यान नेपालमा करिब चार हजार मिटरको उचाइमा पाइन्छ । चट्टानका खण्डमा कतै सानो चेप, कतै तीखा ढुङ्गामाथि टेक्दै हिँड्नुपथ्र्यो । अग्लो र अति भिरालो चट्टान चढ्ने ठाउँमा पहरामा किला ठोकेर फलामको सुरक्षित भ¥याङ राखिएको थियो । ठाडो, अग्लो र पाइला राख्न नमिल्ने पहरामा दुवैतिर समात्नका लागि फलामको लठ्ठा र टेक्नका लागि फलामको पाता जमाएर त्यसमाथि काठको फलिका ठोकेर सिँढी बनाइएको थियो । पहरो भए तापनि समाउने र टेक्ने ठाउँ भएकाले सुरक्षित थियो । ‘संरक्षित क्षेत्र, होसियार हुनू’ भन्ने र विभिन्न पदमार्गमा जानकालागि सूचना पाटी राखिएको थियो । हाम्रामा झैँ देउराली, भन्ज्याङ र दोबाटामा ढुङ्गा राख्ने चलन रहेछ । त्यो ढुङ्गाको थुप्रालाई कायर्न भनिन्छ । प्राचीनकालमा सही बाटाको सङ्केतका रूपमा त्यसरी ढुङ्गा राख्ने गरिन्थ्यो । हाइकिङमा भेटिने पर्यटकले हामीले ‘नमस्ते’ भनेझैँ ‘बोँजु’ भनेको सुनिन्थ्यो । हाम्रामा ३,६०० मिटरदेखि ४,००० मिटरमा पाइने घाँस, पूmल, र धुपको झाडी त्यहाँ १५–१६ सय मिटरमा देखिन्थे । हिंँड्दै गर्दा ससाना हरिया उपत्यका, कम्पाउन्डमा चरेका ठूला गाई, साना सहर, माउन्ट ब्लाँ पर्वतको शृङ्खलाका चुचुरा, र हिमनदी देखिएका थिए । त्यसबेला पनि हिमनदीमा बाक्लो हिउँ थिएन । यस वर्ष भने त्यहाँ मौसम परिवर्तनको कारण खडेरी प¥यो, हिउँ पग्ल्यो, सहरी क्षेत्रमा तापक्रम बढ्यो, धेरै ठाउँमा आगाको लप्काले डढायो पनि । मौसम परिवर्तनको प्रभाव हिमालय पर्वत र बस्तीमा समेत परेको छ । अति भौतिक विकास र मौसममा पर्ने त्यसको प्रभाव अहिले सम्पन्न मुलुकमा आँखा सामुन्ने मडारियो । ब्लाँ पर्वत वरपर बाक्लो हिउँ थियो । धेरै तिखो भएकाले कतिपय चुचुरामा हिउँ थिएन । अल्पस पर्वत, हिमालय पर्वतभन्दा करोडौँ वर्ष जेठो भएकाले भूक्षयको कारण तिखारिएका हुन् कि भन्ने मलाई लागेको छ । ठाडो चट्टान र त्यस्तै पखेरो चढेपछि पहाडको सजिलो धारमा पुग्यौँ । त्यहाँबाट ससाना अल्पस कुण्ड देखिए । सुरुमा सानो पोखरी र त्यसभन्दा दुई सय मिटरमाथि दुइटा सफा कुण्ड देखिए । त्यसबेला हामी पहराहरूका खण्डमा रहेका ससाना ढुङ्गे उपत्यकामा पुगेका थियौँ । तालको वरपर चिस्यानमा हरियो घाँस, पूmल देखिन्थ्यो । त्यहाँ पुग्दा मैले सिन्धुपाल्चोकको पाँचपोखरी सम्झेँ । हामी अर्को पहरो चढ्ने कुइनेटोमा पुग्यौँ । ठाडो चट्टानमा ओर्लन र उक्लनका लागि एक जोडी फलामको भ¥याङ ठड्याइएको थियो । हामी त्यहाँ पुग्दा भ¥याङ चढ्न पदयात्री पालो कुरेर उभिएका थिए । कोही ढुङ्गामाथि टुक्रुक्क बसेर पानी पिउँदै थिए, कोही माउन्ट ब्लाँतिर क्यामरा तेस्र्याएर तस्बिर लिँदै थिए । कोही यात्रुलाई उक्लन मद्दत गर्दै थिए । हामी सरासर चढ्यौँ । त्यो खण्ड चढेपछि काठको सिँढी भएको पखेरो देखियो । त्यो खण्ड उक्लेपछि भने हामी लाक ब्लाँमा पुग्यौँ । नेपालमा त्यसरी भ¥याङ, डोरी र गोरेटो बनाइदिने हो भने लाक ब्लाँ जस्ता बीस हजार हिमतालमा स्वदेशी र विदेशी पर्यटकलाई पु¥याउन सकिने थियो । लाक ब्लाँ अल्पस पर्वतीय क्षेत्र हो । त्यहाँ एकपछि अर्को ससाना उपत्यका र ती उपत्यकामा ताल रहेका छन् । त्यसमध्ये ठूलो चाहिँ हाम्रो म्याग्दीको खयर भारानी ताल जत्रै छ (हेर्नु. श्वेत पर्वत, पृ.७२) । लाक ब्लाँको सबैभन्दा महत्वपूर्ण पक्ष के भने सफा मौसमको बेला, तालको सङ्लो पानीमा माउन्ट ब्लाँसहित २२ किलोमिटर लामो अल्पस पर्वत शृङखलाको छाया त्यस तालमा आएर थपक्क बसेको मनमोहक दृश्य देख्न सकिन्छ फेवातालमा माछापुच्छ«्ेको छाया परेझैँ । हामी त्यहाँ पुग्दा थुप्रै हाइकर्स तँछाडमछाड गर्दै तस्बिर लिन तल्लीन देखिन्थे । युवकयुवती एक कुनामा बसेर चुम्बन गर्नमा व्यस्त देखिन्थे । त्यो तालभन्दा पचास मिटरमाथि अन्य दुई ताल छन् । हामी त्यहाँ पुग्दा दुवै तालको पानी गाढा हरियो रङमा देखिएको थियो । तालमा पुग्नुभन्दा पहिले रिफ्युज दु लाक ब्लाँ नामक एक काठे लज छ । लाक ब्लाँ २३५२ मिटरको उचाइमा रहेको अल्पस पर्वतको हिमताल हो । यस पखेरामा साना ठूला गरी सात ताल छन् । हिउँदमा यी ताल बरफमा परिणत भएर माउन्ट ब्लाँको हिउँजस्तै सेतो च्यादर ओढेर आराम गरेका हुन्छन् । लामो समय हिउँले सेताम्मे हुने भएकाले होला यसको नाम श्वेत ताल (लाक ब्लाँ) राखिएको । पास्कल र मारयुसले हामीलाई इगुई दी मिदीका चुचुरा, माउन्ट ब्लाँ नजिकका चुली र स्विट्जरलेन्ड र इटालीमा पर्ने अल्पस पर्वतबारे जानकारी गराए । मौसम उत्तिकै सफा थियो । ताल, माउन्ट ब्लाँ तालमा परेको पर्वतहरूको छायाको हामीले पनि तस्बिर लियौँ । त्यस्तो दृश्य जति हेरे पनि मन अघाउँदैन । त्यो रमणीय सौन्दर्यको मन र आँखाभरी हुने गरी हेर्दै खाजा खायौँ र अर्को मार्ग भएर ओरालो झ¥यौंँ । चामोनी झरेपछि एउटा रेस्ट्रामा छिरेर एक–एक बोतल (दुई सय मिलिलिटर) कागती स्वादको बियर पियौँ । गर्मी र थकानबीचको त्यो एक गिलास बिएरको स्वाद जिब्रामा अहिले पनि टाँसिइरहेको छ । अर्को दिन साथीहरूलेनै खर्च गरेर हामी तीन जनालाई माउन्ट ब्लाँ पर्वतको हेलिकप्टरबाट परिक्रमा गराइदिए । हेलिकप्टरले फ्रान्स, स्विट्जरलेन्ड र इटालीमा पर्ने मुख्य अल्पस पर्वत, माउन्ट ब्लाँ र त्यस वरपरका चुलीहरूको परिक्रमा गरेको थियो । पाइलटले त्यहाँका मुख्य पर्वत, हिमनदी र सहरको जानकारी गराएका थिए । युरोपको अग्लो पर्वतभन्दा अग्लो भएर त्यो पर्वतलाई अँगालो हाल्न पाउँदा हामी सबै हर्षले प्रफुल्ल भयौँ । त्यस बेला फ्रान्सका पर्वत र तालहरूको पदयात्राका साथै केही सहरको अवलोकन गरेर नेपाल फक्यौँ । हामी फर्कँदा मौसम सफा भइसकेको थियो । अन्नपूर्णदेखि सगरमाथासम्मका अग्ला, ठूला हिमालका हजारौंँ चुलीले हामीलाई स्वागत गरे । एयरपोर्टबाट बाहिर निस्क्यौँ । ट्याक्सीका दुई चालकले मेरा दुवै हात समातेर झाङगलझुङल पार्दै एउटा थोत्रे ट्याक्सीमा कोचे । दर पनि आफैँ तय गरे । चक्रपथमा पुग्दा नपुग्दै चामोनीतिरका अल्पस पर्वत जत्रा अग्ला फोहोरका डङ्गुरले माला पहिराइदिए । युरोपमा हाँसेर प्रफुल्ल भएर आएको मन आर्यघाटमा आमाको लास जलाउँदै गरेका छोराछोरीको विरक्तिएको मन जस्तै मेरो मन पनि कुँडियो । घर पुग्दा, माउन्ट ब्लाँ र लाक ब्लाँका सम्झना, सम्झनामै थुनिए । ––– bishnu.nmdc@gmail.com
जति खाए पनि नअघाउने कहिले हिमालका सिङ्गै याक लुछ्छन् कहिले घरभित्रै छिरेर भेडाका पाठापाठी निमोठेर लुसुक्क भाग्छन् अलि निर्धाको त झन् उठीबास नै पार्छन् प्रायः यहाँ लुखुरा–लुखुरेहरू टाठो, बाठो र बलियोकै पछि हिँड्छन्
पहाडमा तिनीहरू छ्यास–छ्यासती पाइन्छन्, पहिरो ओधारेर गोठमा छिर्छन्, पहिरो पुरेर घर र आँगनमै पुग्छन् बाख्रा मात्र कहाँ हो र पाडा–पाडी पनि ढाल्छन् कहिलेकाहीँँ त हुलमुलमा पारेर मान्छे नै खान्छन् भोक मेटाउन, प्रायः यहाँ वल्लो र पल्लो, मिल्दै नमिल्नेहरू पनि मिल्छन् दिउँसो मुक्कामुक्की गर्छन् गोधूलि साँझपछि क्याफेमा छिरेर सिनो लुछ्दै भोक पुर्छन्
तराईमा त झन मनपरी गर्छन् कसैले तिनलाई लठ्ठी देखाउन सक्दैनन् गाउँका कुकुर पुच्छर लुकाएर पिँढीका कुनामा कुक्रिन्छन् पोखरी वरपर ढुकेर, पोखरी खनेर, पोखरी पुरेर हिलाम्मे माटो, हाँस, माछा, बाख्रा सबै खान्छन् प्रायः यहाँ मिलेर होइन एक्लाएक्लै खान्छन्
वर्षौदेखि जीवजन्तु, वनस्पति, माटो तिनले खाएका–खायै छन् तर ती कहिल्यै अघाउँदैनन्, अघाएर एक छिन पनि उघ्राउँदैनन् हरेक दिन नयाँ तरिका अपनाएर तिनले खाइरहेकै छन् कहिलेकाहीँ दिउँसो सिनो कोपर्दा–कोपर्दै झगडा पनि गर्छन् एक अर्कालाई कोपरा–कोपर गरेर रगताम्मे पनि हुन्छन् प्रायः चिथोरा–चिथोर बिर्सेर नयाँ आहाराका लागि रातमा एक हुल भएर हिँड्छन् २०७९ असार १ bishnu.nmdc@gmail.com
धन्यवाद सहित साभार रचना साहित्यिक पत्रिकाको अंक १८० पुस–माघ, २०७९ मा प्रकाशित ः कविता
विष्णुप्रसाद शर्मा पराजुली दाइले लद्दाखबाट एक मुठी माटो ल्याउनु भो मैले पनि गुगे, सतलज, मानसरोवर र कैलाशबाट एक एक मुठी माटो ल्याएँ अर्को वर्ष टिस्टा र ब्रह्मपुत्र किनारबाट माटो ल्याएर त्यसैमा थपेँ त्यस माटामा मैले मेरो देशको चित्र कोरेँ त्यहाँ पश्चिम र उत्तरमा खस साम्राज्य प्रष्ट देखियो, त्यहाँ खसहरूको स्वर्णिम युग देखाप¥यो, मध्य, पूर्व र दक्षिणमा गोपाल, किरात, लिच्छवि प्रष्ट देखियो अनि त्यसैमा, मैले पूर्व र दक्षिणको चित्र कोरेँ त्यहाँ टिस्टा सलल बगेको थियो त्यहाँ गङ्गाले रेखा कोरेको थियो नत्र कामाख्या र गुह्येश्वरीको मित्रता कसरी हुन्थ्यो त ? त्यो मेरै बोई–बुबाले पानी पिएको मेरो साँध थियो त्यो मेरै पुर्खाले प्रतिस्थापित गरेको मन्दिर थियो अनि मैले, मेरो प्राचीन देशको सिङ्गो चित्र कोरेँ पश्चिममा लद्दाख, सतलजदेखि पूर्वमा टिस्टासम्म उत्तरमा गुगे, मानसरोबर, कैलाशसम्म दक्षिणमा गङ्गाको उत्तरी मैदानसम्मको नक्शा तयार भयो हो, त्यो एउटा विशाल देश थियो हो, त्यो मेरै विशाल देश थियो आज मलाई मेची र महाकालीमा खुम्च्याइएको छ महाकालीको शिर पनि राष्ट्रघातीले अङ्ग्रेजका दासहरूलाई सुम्पेका छन्, खुम्चिएका मेरा अङ्गहरूलाई यत्रतत्र सर्वत्र चोइटाइरहेका छन् असंलग्न मेरो देशमा जबर्जस्ती संलग्न भएर युद्धको दुन्दुभी बजाउन खोज्दैछन् त्यसैले इतिहास र वर्तमान सम्झँदै हे देशवासी, मेरो देश बचाऊ त्यसैले इतिहास सम्झँदै हे युवाहरू, मैले नक्शा कोरेको मेरो माटो बचाऊ । ०७९ वैशाख ८
धर्मध्वजको मृत्यु भएको तीन वर्षपछि मात्र उनको परिचय खुलेको थियो । उनको पैतृक थलो बाग्लुङको बलेवा रहेछ । धेरै पहिले उनका पुर्खा बसाइँ सरेर बर्दियाको गुलेरियामा बसोबास गरेका रहेछन् । उनका पिता हनुमाननाथ गुलेरियामा जन्मेका थिए । हनुमाननाथले बाग्लुङदेखि सुर्खेत र त्यसपछि गुलेरियामा नै बसोबास गरेको बाहुन परिवारमा जन्मेकी कन्यासँग बिहे गरेका थिए । उनी असाध्यै हलुका, सहयोगी, फुर्तिलो, बोलक्कड तर अनपढ किसान थिए । उनकी श्रीमतीको स्वभाव धेरै नबोल्ने तर भित्रभित्रै वmुरा काटेर आफ्नै र आफन्तको परिवार ध्वंस पार्ने खालको थियो । उनले देवर र नन्दको घरसमेत भताभुङ्ग पारेकी थिइन् । हनुमाननाथका दुई छोरा र दुई छोरी थिए । जेठा छोरा धर्मध्वज थिए । कान्छा छोरा घरमा सुतेका वेला सर्पले टोकेर पन्ध्र वर्षको उमेरमा मरेका थिए । त्यस घरमा पढेलेखेको, जान्ने बुझ्ने जेठो छोरो धर्मध्वज थिए । उनी चलाख, मीठो बोल्ने, बाबुजस्तै गफ गर्न जान्ने, आकाशपातालका कुरा गरेर साथीभाइलाई मख्ख पार्ने खुबीका थिए । पहिलोपटक झ्वाट्ट देख्दा गाउँघरका युवतीले छ्या भन्ने खालका थिएनन् । अग्लो, गहुँगोरोभन्दा सामान्य बढी गोरो, आँखा केही ठूला भए तापनि देब्रे आँखा नपत्याउँदो गरी सानो थियो । नाक भने दाम्लो बाँध्न मिल्ने अग्लो र लामो थियो । सानोमा स्कुलमा ‘ऊ… डेरे आयो, ऊ… डेरे आयो, अब गफ सुन्नुपर्छ’ भन्थे उनका दौँतरीहरूले गुलेरियामा । त्यसैगरी दाहिने खुट्टा थाहा नपाइने गरी खोच्याउँथे तर सरासर सामान्य रूपमा हेर्दा त्यस्तो खोट केही थिएन, आकर्षक देखिन्थे । सानैदेखि भगवान्प्रति उनले ठूलो आस्था भएको स्वाङ पार्थे । केटीप्रति आसक्त थिए । “बुझिस् रोशन, म ठूलो भएपछि पशुपतिनाथ र बाग्लुङ कालिका जान्छु अनि भगवान् शिव र बाग्लुङ कालिकालाई ढोग्छु र बोराका बोरा पैसा कमाउँछु । म जसरी पनि धनी मान्छे हुन्छु, जागिरे केटी बिहे गर्छु, बुझिस्” भन्दै साथीहरूसँग गफ हाँक्थे । बाटोमा कुनै ढुङ्गामा रातो टीका देख्यो भने पनि उनले ढोग्थे तर व्यवहारमा फेरि कहिल्यै साँचो बोल्दैनथे । उनले गुलेरियाबाट नै एस.एल.सी गरे । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसबाट उनले नेपाली विषय लिएर बी.ए. अध्ययन गर्दागर्दै प्रेमकाण्डले बीचमै पढाइ छोड्न बाध्य भए । रीताले उनकी आमाले नेपालगन्ज बी.ए. पहिलो वर्ष पढ्न जाने वेला सबै परिवारसँगै भएको वेला भनेको कुरा सम्झिरहन्थिन् “हेर छोरी, अझै पनि हाम्रो मध्यपश्चिममा पोखरा, बागलुङतिर जस्तो छोरीलाई पढाउने चलन छैन । हाम्रोमा घरमा तेरो बाबाले पनि पढेको, मैले पनि दश कक्षा पास गरेको हुनाले तँलाई बी.ए.सम्म पढाउने योजना गरेका हौँ । तँलाई माग्न धेरैतिरबाट राम्रो कुल र खानदान मिल्दो, शिक्षित, शिष्ट र चिनेजानेको परिवारबाट आएका छन् । हामीले बी.ए.सम्म पास गरोस् अनि गराँैला भनेका छौँ । होसियार हुनू । नेपालगन्ज ठूलो बजार हो । धनी–गरीब, राम्रा–नराम्रा, इमानदार–ठगजस्तो केटा पनि भेटिन्छन् । कुनै केटा मन प¥यो भने पनि आफ्नो बिटुलो नहुनु, वचन नदिनू, मलाई भन्नू । हामी सबै कुरा बुझेर तैँले नै मन पराएको केटासँग बिहे गरिदिउँला । आफै कुनै निर्णय नलिनू । लिइस् भने त्यो तेरो निर्णय हुनेछ । तेरो गल्तीमा हामी सहभागी हुने छैनौँ । तँलाई उच्च शिक्षा दिनु हामीले सही संस्कार नदिएको भन्न नपरोस् । पढ्न दिन्छौँ तर अराजक हुन र हाम्रो सांस्कृतिक र पारिवारिक मर्यादा विपरीत हुन दिने छैनौँ । नारी अब आफ्नो खुट्टामा उभिनुपर्छ, लोग्नेको मात्र भर पर्ने होइन तर मर्यादामा रहेर ।” सोमबार नेपालगन्जको वागेश्वरी मन्दिरमा बढी भीड थियो । रीता पूजाको थाली लिएर दर्शन गर्न उभिएकी थिइन् । पुरुष उभिएतिर धर्मध्वज पनि उभिएका रहेछन्, उनले पछिमात्र थाहा पाइन् । पूजा गरिसकेपछि धर्मध्वजले “रीता ! तिमीलाई हतार छैन भने थोरथोरै रावडी र एक–एक कप चिया पिऔँ न” भनेर प्रस्ताव राखे । रीताले पनि कलेजको साथी भएकाले नाइँनास्ती गरिनन् । दुवैले पहिले रावडी खाए । त्यसैवेला धर्मध्वजले भने “हेर न रीता, म त हरेक दिन बिहान स्नान गरेर केही बेर घरै गीता पाठ गर्छु । त्यसपछि वागेश्वरीको दर्शन गरेर मात्र चिया पिउँछु । सबै कुरा भगवान्को देन हो । भगवान्को पाठ र पूजा नगरी म केही गर्दिनँ । मैले आजसम्म चुरोट, खैनी, रक्सीको त कुरै नगरौँ पानसमेत खाएको छैन । किन–किन तिमीलाई देखेपछि केही भन्न र बोल्न मन लाग्छ । त्यसैले आज चिया खाऊँ भनेको हुँ । साह्रै खुसी लाग्यो ।” “मलाई पनि तिमीलाई मन्दिरमा भेट्दा खुसी लाग्यो ।” रीताले सामान्य रूपमा जवाफ दिइन् र उनीहरू त्यहाँबाट बिदा भए । एक दिन रिमरिम साँझ पर्न थालेको थियो । रीता र उनको साथी भएर कोठातिर जाँदै थिए । नेपालगन्ज छाप्रो रेष्टुरेन्ट एन्ड बार बाटोमा पर्दथ्यो । बाहिर चौरमा बसेर तास, बियर, रक्सी खानेहरूको जहिलेसुकै भीड हुन्थ्यो । बाटो छेउको गोलो टेबलमा दुईजना केटा र दुईटी केटी बियरसहित खाजा खाँदै थिए । एउटा चर्को स्वरमा बोल्ने केटाको आवाज आपूmले कतै सुनेको परिचितजस्तो लागेकाले रीता होसियार हुँदै पाइला चालिन् । उनको अन्दाज ठीक रहेछ । त्यसमध्येको एकजना केटा धर्मध्वज थिए, जो बियरले मात्तिएर लठ्ठ परेका थिए । रीता आश्चर्यमा परिन् । उनको अनुहारमा आक्रोशसहित मलिनताले घर ग¥यो । उनले आमाले भनेको सम्झिन् । धर्मध्वजले उनलाई धेरै पटक प्रेमको प्रस्ताव राखेका थिए । भित्रभित्रै उनले पनि मन पराउन थालेकी थिइन् । वागेश्वरी मन्दिरमा भेटेको दिनदेखि त उनी अलि नजिक भएकी थिइन् । एक दिन धर्मध्वजले उनलाई भनेका थिए – “रीता ! म भगवान् र धर्ममा आस्था राख्ने मान्छे हुँ । म साँचो र सत्य बोल्छु । मैले आजसम्म नराम्रो गरेको छैन । वागेश्वरी दुर्गामाताको आशीर्वाद भए मलाई पुग्छ । गुलेरियामा दश बिगाहा जमिन छ । खान पुग्छ । जीवनमा पैसा कमाएर महङ्गो गाडी किन्ने मन छ । यहाँ बी.ए. पास गरेपछि काठमाडौँ जाने योजना गरेको छु ।” तीन–चार पटक रीताले भेटेकी थिइन् । विस्तारै रीताको हृदयमा धर्मध्वज अङ्कुराउन थालेका थिए । त्यसैले उनले धर्मध्वजको गुलेरियाको ठेगाना र आमाबाबुको नाम, थर मागेर सुर्खेतमा आमालाई पठाउन खोजेकी थिइन् । धर्मध्वजलाई त्यो साँझ देखेपछि रीता एकाएक अग्लो भीरबाट लड्दैलड्दै खोलाको गहिरो भुँवरीमा छम्लङ्ग परेजस्तो गरी झसङ्ग झस्केकी थिइन् । उनको शरीर थर्थरी कामेको थियो । धर्मध्वजलाई त्यो बियर पिएर युवतीसँग रल्लिएको देखेपछि उनी साँच्चिकै अग्लो भीरबाट दस बल्ड्याङ खाँदै खोलामा खसेजस्तै भइन् तर त्यस्तो ढोँगी, महाठग एवम् महाधूर्तबाट त्यसरी नै जीवनको लामो यात्रामा भीरदेखि पछारिनबाट जोगिएकोमा आफैलाई धन्य ठानिन् । धर्मध्वज आफ्नै संसारमा थिए । उनी रीतालाई पट्याउन सकेकोमा मग्न थिए । सदाको झैँ सोमबार रीता वागेश्वरीमा पूजा गरेर कोठातिर फर्कंदै थिइन् । धर्मध्वज पनि मन्दिरबाट फर्कंदै थिए । उनले रीतालाई देखेपछि भने – “रीता ! आज पनि चिया पिउन जाऊँ न है ।” “भैहाल्छ नि !” रीताले स्वीकृति जनाइन् । पहिलेझैँ उनीहरू रेस्टुराँमा छिरे । त्यो दिन रीताले कुनै अवरोधविना चिया पिउने प्रस्ताव स्वीकार गरेकोमा माछी जालमा फँसी भन्ने विश्वासमा उनी बढी हौसिएका थिए । उनले त्यो दिन दूधवरी र चिया मगाए । दूधवरी खाइसकेपछि धर्मध्वजले एक सुर्की चिया पिउँदै वेटरसँग थप चिनी मागेर चियामा हाले । त्यसपछि बडो आत्मविश्वासका साथ रीतालाई भने – “रीता ! मलाई धेरै दिनदेखि तिमीलाई एउटा कुरा भन्न मन लागेको थियो, स्वीकृति दिन्छ्यौ भने भन्न चाहन्छु ।” उनले प्रेमको नाटक त गरेकै थिए । अरू के नै होला र ! भन्दै रीताले – “भन न, भन्नै नहुने के हुन्छ र !” भनिन् । उनले फेरि अर्को सुर्की चिया पिएर कपाल मिलाए । खल्तीमा भएको रेवनको चस्मा निकालेर टेबलमा राखे । चस्मा लगाए र रीतालाई हेरे । उनको आत्मविश्वास झन् बलियो भएर आयो किनभने रीताको अनुहारमा आक्रोशको कुनै रेखा देखिएको थिएन बरू धर्मध्वजको कन्चटमा हलुका पसिना उत्रेको थियो । उनले चस्मा टेबलमा राख्दै भने – “रीता ! म तिमीलाई साँचो प्रेम गर्छु । यदि म पनि तिम्रो हृदयमा अङ्कुराउन थालेको छु भने बी.ए.दोस्रो वर्ष सकिएपछि म तिमीसँग बिहे गर्न चाहन्छु ।” रीताले पनि एक सुर्की चिया पिइन् । तातो चियाको गिलास उनको टाउकोमा बजार्दै उनलाई तँ ढोँगी, ठग, फटाहा, चण्डाल भन्न मन गरेकी थिइन् तर उनी एक शिक्षित र परिपक्व युवती भएकीले संयमित हुँदै भनिन् – “तिमीले मलाई प्रेमको प्रस्ताव त राख्यौँ । के तिमीले मलाई भन्न सक्छौ मजस्ता केटीसँग तिमीले गरेको यो कतिऔँ प्रेम प्रस्ताव हो ?” तब धर्मध्वज रातोपिरो भए । आफ्नो आनीबानी रीताले चाल पाइन् भन्ने उनले अनुमान गरे । कम्तीमा पनि गुलेरियाको घटना थाहा नपाएको भए हुन्थ्यो भन्ने उनले सोचे । आपूmलाई सम्हाल्ने प्रयास गर्दै टेबलमा राखेको चस्मा लगाउँदै अक्मकिँदै एकै सासमा भने – “तिमीले के भन्न खोजेको ? मैले त कुरै बुझिनँ नि ! सत्यसत्य, धरोधर्म, वागेश्वरीले नास गरून्, पशुपतिनाथको कसम, भगवान् कसम, मेरो बाबाको कसम मैले तिमीलाई बाहेक कसैलाई प्रेम गरेको छैन ।” ढोँगको सीमा हुन्छ वा हुँदैन भन्ने रीतालाई थाहा थिएन तर उनको धुत्र्याइँ देखेपछि रीताको आक्रोश चुलिएर आयो तर उनले आफ्नो अनुहार र आवाजमा एक रत्ति पनि आवेग आउन नदिईकन भनिन् – “धर्मध्वज ! सम्पत्ति र रूपको धाक लगाउँदै सिधासाधा केटीहरूलाई माया, प्रेमको नाटक गर्दै नारीको अस्मिता लुटेर मोज गर्न खोज्ने तँ चण्डाल होस् । तँ धोकेबाज, ठग, ढँटुवा, धुताहा, लुटाहा, पापी र ढोँगी होस् । तँजस्ता चण्डालसँग मैले प्रेम गर्छु भन्ने ठानेको थिइस् । म शिक्षित र संस्कारयुक्त परिवारकी चेली हुँ । तँजस्तो ठग र धूर्त परिवारकी सन्तान म होइन । तैँले मजस्ता कति चेलीलाई यसैगरी लोभ, मोह, प्रेम, धन, भगवान्, धाक र रवाफ देखाएर यौनशोषण गरिस् । ढिलोचाँडो जुन दिन सत्य बाहिर आउनेछ त्यो दिन तँजस्ता ढाँटलाई कालोमोसो र जुताको माला लगाएर नेपालगन्जको बसपार्कमा नघुमाएसम्म तँजस्ताको मति सुध्रँदैन बुझिस् ।” “सत्यसत्य धरोधर्म । वागेश्वरीले मलाई भस्म गरून् । मैले जीवनमा कहिल्यै कुनै केटीलाई धोका दिएको छैन र प्रेमको प्रस्ताव पनि राखेको छैन । तिमीले विश्वास गर्दिनौ भने म वागेश्वरी भाक्न पनि तयार छु । कृपया मलाई त्यस्तो असत्य, ढोँगी र चण्डालको आरोप नलगाऊ । म तिमीलाई ढोग्न पनि तयार छु” भन्दै आँसु तपक्कै चुहाए । रीताले नेपालगन्जको रेस्टुराँमा नगरवधूसँग रक्सी पिउँदै रल्लिएको, कलेजका राम्रा देखिने केटीहरूलाई प्रेमको प्रस्ताव राखेको र गुलेरियामा घटेको घटना पनि भनिन् । गुलेरिया भनेपछि उनी झस्किए । त्यसपछि उनी साँच्चिकै रीताको खुट्टा समाउन पुगे । “वागेश्वरी देवीकी कसम तिमीले जे भन्छ्यौ त्यो मान्न तयार छु । तिमीलाई आजीवन बहिनी बनाउन म तयार छु । भोलि नै म क्याम्पस छोडेर यहाँबाट हिँड्न तयार छु तर गुलेरियाको कुरा यहाँ नउठाइदेऊ । मेरो जीवन बर्बाद हुन्छ । म नाश हुन्छु । तिमीसँग गरेको कुरा मैले कसैलाई भन्ने छैन । वागेश्वरीको कसम मैले आजैदेखि कुनै युवतीलाई नराम्रो दृष्टि लगाउने छैन । मलाई माफ गरिदेऊ” भन्दै गिडगिडायो । गुलेरियाको आफ्नो घरमा पश्चिमकै एक गरीब घर्ती परिवारकी महिला उनको घरमा काम गर्न आउँथिन् । कहिलेकाहीँ नभ्याउँदा ती महिलाले आफ्नी चौध वर्षमात्र टेकेकी छोरीलाई काम गर्न पठाउँथिन् । त्यस्तै मौका पारेर त्यो केटीलाई धर्मध्वजले फँसाइहाले र तिनको मासिक धर्म रोकिएको कुरा उनले आफ्नी आमालाई भनीन् । त्यो कुरा धर्मध्वजको परिवारमा पुग्यो । धर्मध्वजको बाबुले छोराको गल्तीलाई ढाकछोप गर्न धेरै प्रयास गरे । कन्याले पेट बोकिसकेको हुनाले उनले बिहे गर्नुपर्ने कुरा दह्रोसँग राखे । धर्मध्वजका पिता हनुमाननाथको त्यहाँ जे भए पनि आफ्नै प्रकारको इज्जत थियो । त्यसलाई बचाउन उनले त्यो कन्याको आमा, बाबु र मामालाई घरमा बोलाएर पाँच कठ्ठा जग्गा उनीहरूलाई दिने, कन्यालाई पुनः कन्यासरह पवित्र बनाउने सहमति गरेका थिए । त्यस वेला त्यो घर्ती कन्याकी आमाले भनेकी थिइन् – “मालिक पुर्खौंदेखि हामीले तिम्रो पुर्खाको डोला बोक्दै आएका हौँ । हामीलाई यहाँ ल्याउने पनि तिम्रै पुर्खा हुन् । तिम्री मालिक्नी हामीलाई जनावरलाई जस्तो व्यवहार गर्छिन् । तिनमा आमाको गुण छैन । तिमीले तिम्रो छोराको लगाम खिचेनौ भने एक दिन तिम्रो छोराले तिम्रो त जीवन बिल्लीबाँठ पार्छपार्छ तिम्रो वंश पनि म नमर्दै नाश हुनेछ, किनभने मैले मेरी छोरीको पहिलो गर्भ तुहाउँदै छु । तिमी बाबु, छोरा र आमा ढोँगी हौ, चण्डाल हौ । भगवान्को नाममा घरभित्र घण्टी बजाउँछौ तर तिम्रो हृदयभित्र पापको कालो ओडार बसेको रहेको छ । तिमी एक दिन त्यही ओडारभित्र पुरिएर नासिनेछौ ।” घर्तिनी आमाले त्यो परिवारको भविष्यको रेखा कोरिदिएकी थिइन्, जुन कुनै ज्योतिषीले भन्न सक्दैनथ्यो । पाँच कठ्ठा जग्गा छोरीको नाममा पास गरेर आएको दिन हनुमाननाथ पनि उनीहरूसँगै घर्तीको घरको बाटो भएर गएका थिए । चिया लिनुहोस् बाजे भन्दै उनको हृदयमा धसिएको छुरीको पीडा ओकल्दै घर्तीनी आमाले भनिन् – “मेरी छोरीको गर्भमा रहेको त्यो भ्रूण जसलाई मैले बाध्यतावश मिल्काउनेछु । हो, त्यही भ्रूण तिम्रो वंश नाश गर्ने भ्रूण हुनेछ । मेरो छोरीको जीवन पाँच कठ्ठा जमिन बराबरको होइन । कलिला नानीहरूलाई पेट बोकाउँदै एक–एक कठ्ठा जमिन दिँदै ठालु हुने जमाना गयो बाजे । पुर्खौंको सम्बन्ध अनि तिम्रोमा काम गरेर हामीले परिवार पालेको हुनाले तिमीलाई माफ गरेका हौँ । तिम्रो छोरालाई होइन । अझ तिम्रो पत्नीले त ‘मेरो छोरालाई फँसाएकी’ भनिन् । कहाँसम्मकी अपराधी छन् ती बाहुनी बज्यै । बाहिरफेर बोल्दिनन् तर भित्रभित्रै कुरा काटेर मानिसको नसा चुँडालेर रगत चुस्ने खालकी छन् । बाजे तिम्रो घरको वंशनाश गर्न उद्यत गर्ने ती बजै हुन् । छोरा र स्वास्नीलाई ठाउँमा राख्न नसक्ने तिमी घोर अपराधी, कायर र पापी हौ । तिम्रो नासको दिन शुरु भयो ।” “अब भइहाल्यो । बाजेले छोरालाई सुधार्छु भनेका छन् ।” घर्ती बुढाले पत्नीको अक्रोशलाई मत्थर पार्न खोज्दै भने । घर्तीनी आमाको सामान बाजेकहाँ थियो । भोलिपल्ट सामान लिन उनी त्यहाँ पुगिन् । त्यसैवेला धर्मध्वजकी आमाले भनिन् – “मेरो छोरो असाध्यै सिधा छ । फँस्यो । बित्थामा त्यत्रो जग्गा गयो । गरीबसँग सङ्गत नगरी पनि नहुने गरे पनि यस्तै हुने ।” “मेरी छोरीको अस्मितामाथि जङ्गली जनावरले झैँ झम्टँदै लुट्दा तिम्रो छोरोचाहिँ सिधा, केही थाहा नभएको भयो हैन बज्यै ? तिमी नै हौ तिम्रो छोरालाई उक्साउने । हेर बज्यै तिमीले धाक, धक्कु, लोभ, लालच र ढोँगी प्रवृत्ति त्यागिनौ भने तिम्रो परिवार मेरै आँखा अगाडि नाश भएर जानेछ । तिम्रो यही छोरो बौलाएर हिँड्नेछ । मेरी छोरीको अस्मिता लुट्ने तिम्रो छोराको यौनाङ्गलाई श्यालले लुछ्नेछ, बुझ्यौँ ! हामी गरीब छाँै तर पसिनाका भगवान्लाई पूजा गरेर युगयुगसम्म बाँच्छौँ । तिमीहरूको नास मेरै आँखा अगाडि हुनेछ ।” भन्दै सामान लिएर फर्किन् । गुलेरियाको घटनालाई हनुमाननाथको व्यवहारलाई ध्यानमा राखेर तिनीहरूले माफ गरेका थिए । हनुमाननाथको कमजोरी भनेकै महाभारतका पात्र धृतराष्ट्रले महाघमण्डी पुत्र दुर्योधनलाई अति स्नेह गरेझैँ धर्मध्वजलाई स्नेह गर्नु थियो । पुत्रको इच्छा विपरीत जान नसक्दा महाभारत कथाको युद्धमा कौरवको वंश नाश भएको थियो । रीताले सुर्खेतमा नै कृषि विकास बैँकमा नोकरी गर्न थालेकी थिइन् । उनका पति सुर्खेतका ख्यातिप्राप्त पत्रकार थिए । उनी एक छोरा र एक छोरीकी आमा बनिसकेकी थिइन् । नम्रता, मेहनत, आडम्बरविहीन स्वभाव, अनुशासन र सफल दाम्पत्य जीवनमा रीताको परिवार सुर्खेतमा नमुना बनेको थियो । तालिमको सिलसिलामा उनी काठमाडौँ बाहेक पाकिस्तान, स्वीट्जरल्याण्डसम्म पनि पुगेकी थिइन् । रीतासँगको भेटपछि धर्मध्वज कलेजमा मात्र होइन नेपालगन्ज र बर्दियामा नै देखिएनन् । त्यो वर्ष उनको परीक्षा छुट्यो । नेपालगन्जमा भएको घटना आमालाई भने पनि बाबुलाई भनेनन् । नेपालगन्जमा पढाइ राम्रो नभएकाले काठमाडौँ गएर परीक्षा दिने भन्दै हिँडे । हनुमाननाथले छोराले भनेको मात्र विश्वास गर्थे । बाबुको पैतृक सम्पत्तिमा उनले दुई बिगाहा जमिन थपेर दस बिगाहा बनाएका थिए । छोरा र आमाले के गर्दैछन् भन्ने उनले हेक्का राख्दैनथे । परीक्षा दिने वेलामा धर्मध्वज नेपालगन्ज छोडेर गुलेरिया फर्केको बारे गाउँलेले उठाएको प्रश्नलाई उनले बेवास्ता गरे । कसैले सोधे भने भनिदिन्थे – “खै ! पढेलेखेको उसैलाई त थाहा होला । मलाई के थाहा ?” त्यो वर्ष उनले परीक्षा दिएनन् । काठमाडौँ रत्नराज्यलक्ष्मी क्याम्पसबाट तेस्रो वर्षमा दोस्रो श्रेणीमा वि.ए.पास गरे । एक वर्षसम्म त रीता र घर्तीनी आमाले भनेका कुरा सम्झेका थिए तर नानीदेखि लागेको बानी, दोस्रो वर्षदेखि उनले डिङ हाँक्न थाले, फाइँफुट्टी लगाउन थाले र धाक जमाउन थाले । धन्य हो, उनले बी.ए. पास गरी कीर्तिपुरमा राजनीतिशास्त्रमा एम.ए.मा भर्ना भए । कीर्तिपुरमा अध्ययन गर्दै गर्दा उनले धेरै युवतीसँग नजिकिने प्रयास नगरेको होइन तर त्यहाँ उनलाई ढोँगी र छली भनेर धेरैले छिट्टै चिने । कुनै युवतीले सौहाद्र्रपूर्ण कुरा ग¥यो भने उनले आपूmलाई माया गरेको ठान्दथे । कीर्तिपुरमा बस्दा एक पटक त्यस्तै भयो । सिक्किमबाट आएकी एकजना आङ फुटी भन्ने समाजशास्त्र दोस्रो वर्षमा अध्ययनरत छात्रा थिइन् । धर्मध्वजसँग उनले कुराकानी गर्थिन् विशुद्ध मित्रको रूपमा । एक दिन केन्द्रीय पुस्तकालय नजिकको प्राङ्गणमा उनीहरू बसिरहेका थिए । त्यस्तैमा धर्मध्वजले आफ्ना दुवै हातले फुटीको दाहिने हात समातेर आफ्नो काखमा राख्न खोजे । फुटी झस्कँदै उठिन् र सोही हातले उनको गालामा एक चड्कन दिएर कोठातिर लागिन् । गुलेरियामा ती कन्यासँग समागम गर्दा चाखेको यौनवासनालाई उनले बिर्सेका थिएनन् । डेरा कीर्तिपुरमा भए तापनि कहिलेकाहीँ उनलाई सुन्धारा, नयाँ बसपार्क र झोछेँतिर अल्लारिएर हिँडेको देख्ने पनि कम थिएनन् । उनले मनमनै एम.ए. गरेर जागिर खाएकी बाहुन परिवारकी युवतीसँग घरजम गर्ने सोच बनाएका थिए । ठूला गफ गरे तापनि मेहनत गरेर जागिर खान सक्ने आत्मविश्वास उनमा थिएन । हनुमाननाथले जेठी छोरीको विवाह गुलेरियामा नै आफ्नो जातथर मिल्नेसँग गरिदिएका थिए । धर्मध्वजकी आमाले एक दिन छोरीलाई सासूससुरासँग अंश मागेर छुट्टिएर बस्ने सल्लाह दिइन् । परिवारसँग हाँसीखुसी जीवन बिताइरहेकी छोरीलाई घर बिगार्ने सल्लाह दिएकीले छोरी कड्कँदै – “सन्तानले सुख काटेको हेर्ने भाग्य तिम्रो जीवनमा छैन । तिमी आमाको नामकी कलङ्किनी हौ । अबदेखि माइती भनेर यो घरमा कहिल्यै आउने छैन । मेरा सन्तानलाई पनि तिम्रो त्यो कलुषित अनुहार हेर्न पठाउने छैन ।” भनिन् । त्यसपछि जेठी छोरी कहिल्यै माइतीमा फर्किनन् । कान्छी छोरीको बानी व्यहोरा आमा र दाइसँग मिल्थ्यो । सासूससुरासँग अनाहकमा निहुँ खोजेर झगडिन्थिन् । उनी तीन वर्ष माइतीमानै बसिन् । तीन वर्षपछि कान्छी छोरीलाई लोग्नेले छोडिदिए । त्यसपछि उनको अत्तोपत्तो केही छैन । त्यति हुँदा पनि ती आमाछोराको होस नखुलेकोमा गुलेरियाका बासिन्दा बरु चिन्तित देखिन्थे । समझदारी, समन्वय, अनुशासन, आज्ञापालन, आदर, सम्मान, दायित्व र कर्तव्यबोधमा परिवार सञ्चालन हुने हो । अन्यथा परिवार विखण्डनतर्फ जान्छ । हनुमाननाथको परिवार विखण्डनतर्फ मोडियो । पत्नी र पुत्रविपरीत धारमा बग्दै थिए तर उनले ठाउँमा ल्याउन प्रयास गरेनन् । पुरानो संस्कारमा हुर्केका र उनका पिता नै कर्मकाण्डी भएकाले हनुमाननाथ पूर्वजन्म र पुनर्जन्ममा विश्वास गर्थे । कुलघरकी कन्यासँग छोराको बिहे गर्न पाए उनको मृत्युपछि पनि छोराबुहारीको तर्पणबाट परलोकको मार्ग प्रशस्त हुन्थ्यो भन्ने उनको चरम विश्वास थियो । त्यसैले धर्मध्वजले एम.ए. पास गरेपछि हनुमाननाथले सबै इष्टमित्र र कुटुम्बसँग बिहेको कुरा चलाएका थिए । वरपरका धेरै जसोले उनकी पत्नीको व्यवहारबारे शङ्का गर्थे । चिनेजानेकाहरूले त्यो घरमा छोरी दिन मान्दैनथे । त्यस्तै कुरा चल्दाचल्दै एउटी कन्याको कुरा आयो, उनको नाम सुलोचना थियो । उनले प्रथम श्रेणीमा अर्थशास्त्रमा एम.ए. पास गरेर पृथ्वीनारायण क्याम्पसमा अध्यापन गर्दै थिइन् । नेपाली समाज पूर्वीय परम्परा भएको समाज हो । ‘छोरीलाई धेरै पढाएको ठीक हुँदैन, बिस–बाइस वर्षभित्र छोरीको बिहे गरिदिनुपर्छ, लोग्नेको कमाइमा श्रीमती बाँच्नुपर्छ, छोरीबुहारीको काम बच्चा पाउने र घर हेर्ने हो, लोग्नेभन्दा श्रीमतीले कम पढेकी हुनुपर्छ’ भन्ने कुरा शिक्षित परिवारमा पनि व्याप्त छ । सुलोचनाको मूल घर पर्वत पाँग हो । उनका मातापिता दश वर्षदेखि पोखराको मालेपाटनमा बस्न थालेका थिए । पाँगको बारी अरूलाई कमाउन दिए तापनि खेत आफै कमाउँदै आएका थिए । बिहेको सन्दर्भमा धर्मध्वज काठमाडौँबाट पोखरा गए । हनुमाननाथ र उनकी पत्नी बर्दियाबाट पोखरा पुगे । एक दिन केटाकेटी र दुवै परिवारका आमाबाबु पोखराको होटल वाराहीमा भेट्ने तय भयो । विवाहको कुरो चलाउने हनुमाननाथका आफन्त पनि त्यहाँ आएका थिए । सुलोचना अठ्ठाइस वर्ष पुगेकी थिइन् । उता धर्मध्वज अठ्तीस पुगेका थिए । सुलोचनाको मनमा चौतीस वर्षसम्म भइदिएको भए हुने थियो भन्ने थियो तर पनि उमेर त्यहाँ बाधा बनेको थिएन । होटलमा नै ज्योतिषीलाई बोलाएर दुवैको चिना हेरियो । ज्योतिषीले भने – “केटीको ग्रहले कर्ममात्र गर्छे भन्छ । केटाको ग्रहले खानेमात्र भन्छ । पत्नीले कमाउने पतिले खाने ग्रह छ । अझै बाह्र वर्ष केटा अस्थिर हुन्छ । त्यसपछि परिवार हरिलोभरिलो हुन्छ । केटीले सासूससुरालाई सम्मान गर्नेछन् । बीचमा खटपट भइरहन्छ । केटाले पचास वर्ष काटेपछि राम्रैराम्रो छ तर त्यस वेलासम्म सङ्कट नै सङ्कट छ । ’ ज्योतिषको कुराले हनुमाननाथ खुसी भएका थिए भने धर्मध्वज र उनकी आमा भने पत्नी र बुहारीलाई खेलाएर, नचाएर, धाकधक्कु लगाएर, पेटीकोट धुन लगाएर, दबाएर राख्न पाइँदैन कि भनेर सुरुमा नै अँध्यारिएका थिए । केटाकेटीबीच कुराकानी पनि भयो । धर्मध्वजले पहिलेझैँ आकाश–पाताल जोड्दै पूर्णतः अन्टसन्ट गफ गर्दै भने – “मलाई पोखरा असाध्यै मनपर्छ । म पनि यतै आएर काम खोज्छु । मेरो पनि राजनीतिशास्त्रमा प्रथम श्रेणी छ । तिमीभन्दा कम कहाँ छु र ? हाम्रो सम्पत्ति, जग्गा जमिन प्रशस्तै छ । मैले पोखरामा एक वर्षभित्रै घर किन्न सक्छु ।” केटाको कुरा सुन्दा सुलोचनाको मनमा खिन्नताले बास ग¥यो । उनले मनमनै सोचिन् – “केटो धोद्रो लागेको रूखजस्तो रहेछ । त्यस्तोसँग बिहे गर्नुभन्दा त नगर्नु नै बेस होला ।” उनले त्यो कुरा आमा र बालाई पनि भनिन् । उनकी आमाले भनिन् – “सुलोचना, केटा हेर्दा छि ः भन्न पर्दैन । एम.ए. दोस्रो श्रेणीमा पास गरेको रहेछ । गुलेरियामा मनग्गे जग्गाजमिन रहेछ । एक बिगाहा जग्गा बेचे भने पोखरा वा बाग्लुङ बजारमा घर किन्न सक्छन् । यिनीहरूका पुर्खा बलेवा कैयाबाट बसाइँसरी गएकाले बुढाको चाहना बाग्लुङ बजारमा एउटा घर किन्नेछ । यत्रो समय यो केटा बिहे नगरी किन बस्यो ? यसबारेमा कसरी बुझ्ने ? केटाको बाबु प्यार–प्यार बोल्ने भए तापनि ठीकै छन् । बुढीको बारे भने यसै भन्न सकिएन । सबै कुरा कुँदेर ठिक्क पारेको गहनाजस्तो हँुदैन । जीवनमा उतारचढाव भइरहन्छ । विचार गर ।” सुलोचनाका मातापिता केटाको चारित्रिक कुरामा बाहेक अन्य विषयमा प्रफुल्ल नभए तापनि छोरीको उमेरलाई ध्यान दिँदा त्यत्तिको केटा हुँदा हुन्छ भन्नेमा पुगे । उता धर्मध्वजको सोचाइ फरक थियो । उनको भित्री चाहना सुलोचनालाई बिहे गर्ने थियो । त्यसो गर्दा उनका पिता खुसी हुन्थे । जागिर भएकी केटी भएकीले धर्मध्वजलाई पनि पैसाको खाँचो हुने थिएन । उनी कुनै न कुनै बहाना बनाएर काठमाडौँमा नै बस्न चाहन्थे जहाँ उनकी एक प्रेमिका थिइन्, जसलाई उनले बसपार्कमा एउटा कोठा खोजेर राखेका थिए, तर ती कन्या बाहुन परिवारकी थिइनन् । त्यो कुरा उनले आफ्नी आमालाई भनेका थिए । उनकी आमा ‘लोग्ने मान्छेका दुई–तीनवटी श्रीमती हुन्छन् के भो त !’ भन्ने खालकी थिइन् जुन वर्तमान नेपाली समाजमा सहजै पत्याउन सकिने कुरा होइन । “केटा घमण्डी छ, सुकुलगुण्डा प्रवृत्तिको छ, ढोँगी छ र उसमा स्थिरता छैन । घरको पारिवारिक परिवेश बेठीक छ किनकि कान्छी छोरी लापत्ता छे र आमाको कारणले जेठी छोरी माइत पनि आउँदिन” भन्ने कुरा सुलोचना र उनका आमाबाबुले थाहा पाए । “बाहुनको छोरा हो, सामान्य परिवार हो, केटाले पढेको छ, बिहे गर्नुपर्नेछ, छोरीको उमेर भएको छ, दुःखै परे तापनि खेतीपाती गर्ने ठाउँ, बर्दियामा आफन्तसँग बुझ्दा केटाको चरित्रबारे नराम्रो सुनिएन ।” सुलोचनासमेत परिवारको निष्कर्ष त्यही थियो । हनुमाननाथले अनुनय–विनय गरे । बुहारीलाई कुनै कुराबाट दुःख नदिने कुरामा सुलोचनाका पितालाई विश्वास दिलाए । वास्तवमा गुलेरियाको घटनापछि धर्मध्वज सप्रेको छ भन्नेमा उनी विश्वस्त थिए । उनकी पत्नीले छोराको चर्तिकला सबै लुकाएकी थिइन् । सुलोचनाको पिताले मुख खोलेरै सोधे – “हजुरहरूले छोराको बिहे आजसम्म किन गर्नुभएन त ?” त्यस वेला हनुमाननाथले भने – “कुरा नचलेको होइन । प्रस्ताव नआएको पनि होइन तर त्यसले मानेन ।” एक महिनाको छलफलपछि सुलोचना र धर्मध्वजको बिहे हुने पक्का भयो । २०५० साल असारको ५ गते बागलुङ कालिका मन्दिरबाट बिहे भयो । माइतीतिरबाट बागलुङको होटल पिस प्यालेसमा बस्ने बन्दोवस्त मिलाएका थिए । विवाहको दिन धर्मध्वज बेचैन थिए । उनको मुहारमा खुसियालीको ठाउँमा तनाव थियो । मण्डपमा बसेर पूजा गर्दा एकातिर पूmलपाती राख्नुपर्नेमा अर्कोतिर राखेको हुन्थ्यो । असार ६ गते बिहान नयाँ दुलहादुलही बाग्लुङ कालिकाको दर्शन गर्न गए । बाटोमा अकस्मात रीतासँग भेट भयो । रीता एउटा तालिमको प्रशिक्षक भएर बागलुङ आएकी थिइन् । उनले धर्मध्वजलाई हेरिन्, धर्मध्वजको अनुहार आठ वर्षपहिले जस्तै थियो । उनले सुलोचनालाई कीर्तिपुरमा परीक्षा दिन जाँदा भेटेकी थिइन् । रीताले एम.ए. प्राइभेट दिएकी थिइन् । उनीहरूले कालिकाको दर्शन गरे । धर्मध्वजले वागेश्वरी मन्दिरमा जस्तै त्यहाँ पनि एक मिनेटसम्म आँखा चिम्म गरेर प्रार्थना गरे । उनका ठूलाठूला आँखाले वरपर हे¥यो । वास्तवमा रीतासँग त्यहाँ त्यसरी भेट होला भनेर उनले कल्पनासम्म पनि गरेका थिएनन्, भयो पनि त्यस्तै । हिँड्दाहिँड्दै एकाएक खुट्टा चिप्लिएर एउटा अग्लो छाँगोबाट खसेझैँ भएको थियो । रीताले उनी कृषि विकास बैँकको क्वाटरमा बसेको जनाएकी थिइन् । धर्मध्वजको परिवार दुई दिन बागलुङ बसेर त्यसपछि पोखरा जाने योजनामा थिए । असार ६ गतेका दिन दिउँसो सुलोचना सुटुक्क रीतालाई भेट्न बैँक पुगिन् । सुलोचना रीताकी साथी थिइनन् । उनीहरूको परिचय परीक्षा दिने वेलामा मात्र भएको थियो । एउटी विवेकशील शिक्षित महिलाको नाताले अर्की महिलालाई वैवाहिक जीवनपश्चात् कुनै अन्य विकराल समस्या नआओस् र सचेत हुन सकून् भन्ने चाहना हुनु अस्वाभाविक होइन । बेवास्ता गरे पनि जीवन त चल्छ तर सचेत पार्दा कसैको जीवन सङ्कटबाट मुक्त हुन सक्छ भने सचेत पार्नु मानवीय कर्तव्य पनि हो । त्यसैले रीताले धर्मध्वजको बारे जे जति थाहा थियो सबै भनिन् । सुलोचना एक प्राध्यापक थिइन् । मुटु भुकम्पले धाँजा फाटेको पहाडजस्तै फाटे पनि आपूmलाई सम्हाल्न सक्थिन् । समयले पारेको घटना नकार्न सकिने थिएन । असार ४ गते रीतासँग भेट हुन पाएको भए त उनी दुर्घटनामा पर्ने थिइनन् । उनी दुर्घटनाको भुमरीमा परिसकेकी थिइन् । मात्र अब उनले संयमित भएर धर्मध्वजलाई सही बाटोमा ल्याउनु थियो । उनले रीतालाई धन्यवाद दिइन् र बिदा भइन् । सुलोचनालाई हँसाइराख्ने धवलागिरि हिमालले त्यो दिन भने उनलाई चरप्पै अठ्याँयो । घटना त्यत्तिमा रोकिएन । साँझ सात बजे सुलोचनाको मोबाइलमा काठमाडौँबाट फोन आयो । फोनमा एकजना महिलाले भनिन् – “धर्मध्वजले पाँच वर्षपहिले मलाई बिहे गरेर कोठामा राखेको छ । उसकी आमालाई पनि त्यो कुरा थाहा छ । तिमी पढेकी र जागिरे भएको हुनाले त्यसले तिमीलाई फँसायो । मैले भर्खर थाहा पाएँ । मैले भनेको पत्याउँदिनौ होला । ल यी विवाहका फोटाहरू हेर !” भन्दै उनले भाइबरबाट पन्ध्रओटा विवाहका फोटाहरू पठाइदिइन् । रीतासँग भेट भएपछि सुलोचनाले आपूmलाई बलियो बनाएकी थिइन् । फेरि उनी एक प्राध्यापक पनि थिइन् । उनले त विद्यार्थीलाई शिक्षा पनि दिनुपर्ने थियो । त्यसैले उनले असार ६ गते नै बेलुका ससुरा, सासू र धर्मध्वजलाई सँगै राखेर गुलेरिया, नेपालगन्जमा रीतासँग भएको घटना र काठमाडौँबाट आएको फोनबारे खुलस्त कुरा राखिन् । धर्मध्वजले बाबु र सुलोचनासँग रुँदै चिच्याउँदै माफी माग्दै भने – “शत्रु लागेका हुन् । मैले त्यस्तो केही नराम्रो काम गरेको छैन । ती तस्वीर साथीभाइसँग वनभोज खाँदा, घुम्न जाँदा खिचेका हुन् । त्यो रीता र प्रपन्ना भन्ने को हुन् ? मैले चिनेको छैन ।” “गुलेरियामा आफ्नै घरमा काम गर्न राखेकी घर्तीकी छोरीलाई तैँले बलात्कार गरेको कुरा मैले बिर्सेको छैन । छोराको माया र परलोक सुधार्न मैले गुलेरियामा घर्तीको पाउमा लम्पसार परेर तँ पाखण्डीलाई बचाएको थिएँ । तँ सुध्रन्नस् । तेरी आमाले तेरो लास नहेरी सुखसँग बस्दिन । तिमी आमाछोरालाई के गर्न मन छ त्यही गर । म हिडेँ । मलाई कहिल्यै बिर्सेर पनि नखोज्नू ।” छोरा र पत्नीको बारेमा हनुमाननाथले बोलेको त्यो पहिलो र अन्तिम थियो । त्यत्रो घटनामा धर्मध्वजकी आमा एक शब्द बोलिनन् । हनुमाननाथले सोही रात बुहारीलाई रात्रिबसमा राखेर गुलेरिया गए । भोलिपल्ट उनको नाममा भएको पाँच बिगाहा जग्गा सुलोचनाको नाममा बकस पास गरिदिए । सुलोचनाले मानेकी थिइनन् तर हनुमाननाथले सुलोचनाको बाबुसँग ‘बुहारीलाई दुःख दिने छैन’ भनी कबुल गरेको वाचालाई पूरा गर्न उनले सुलोचनालाई सम्झाइबुझाई गरी राजी गराएका थिए । त्यसपछि ससुराबुहारी भएर पोखरा पुगे । हनुमाननाथ आफ्ना सम्धीलाई भेटेर मुक्तिनाथको लागि जोमसोमको मिनिबसमा चढे । काठमाडौँमा बिहे गरेर कोठामा राखेकी युवतीलाई धर्मध्वजले बसपार्कमा भेटेका थिए । बसपार्कको एउटा लजमा धर्मध्वज र प्रपन्ना नामकी ती नगरवधुलाई एक दिन दिउँसो प्रहरीले यौनक्रियामा संलग्न रहेको अवस्थामा पक्रेका थिए । उनीहरूले ‘हामी विवाहित हौँ ।’ भनेपछि मात्र उनीहरूलाई लज मालिकसँग उनीहरूको वैवाहिक प्रमाणपत्र एक साताभित्र उपलब्ध गराउने शर्तमा कागज गरी छोडेका थिए । लज मालिकको योजना र तयारीमा उनीहरूको विवाह भद्रकालीमा गराइएको थियो । धर्मध्वज त्यतिभाँती जालमा फस्दा पनि होसमा नआएर सुलोचनालाई बिहे गरेका थिए । धर्मध्वजले प्रपन्नालाई पनि धोका दिएका थिए । उनी बागलुङ कालिकाको दर्शन गर्न भनी विवाह गर्न गएका थिए । त्यसैले प्रपन्नाले पनि आफ्नो सुरक्षा गर्न तम्सेकी थिइन् । प्रपन्नाले पनि भित्रभित्रै योजना गरिन् र आपूm सुरक्षित हुने सोच बनाइन् । धर्मध्वजको अब प्रपन्नाबाहेक कोही थिएन । समाजले प्रपन्नालाई पानी नचल्ने जातकी भने तापनि कानुनले त धर्मध्वजको कामलाई स्यावासी दिन्थ्यो । त्यसैले प्रपन्नाले धर्मध्वजलाई पहिले भन्दा धेरै माया गरेको स्वाँङ गरिन् जुन उनले धर्मध्वजबाट सिकेकी थिइन् । सोही वर्षको असार बाह्र गते दुवै मिलेर गुलेरिया गए । उनले सासूलाई पहिलेनै काठमाडौँमा देखेकी थिइन् । एउटै कोठामा बसेकी थिइन् तर गुलेरियामा उनले बुहारी प्रपन्नालाई भित्र पस्न दिइनन् । त्यो दिन उनले छोरा र प्रपन्नालाई बाहिरै खान दिइन् । तेह्र गते बिहान तीनैजना बाहिर खाटमा बसेको वेला प्रपन्नाले भनिन् – “धर्मध्वज तिमीले भने बमोजिम म चुपचाप तिम्रो श्रीमती भएर बस्ने हो तिम्रो र तिम्री आमाको नाममा भएको जग्गाजमिन मेरो नाममा गरिदेऊ, होइन भने म मेरा आमाबाबुसहित हाम्रो पेसागत जाति उत्थान मञ्चलाई बोलाउँछु । तिमीलाई बहुविवाहको मुद्दा हालेर कारवाही अगाडि बढाउँछु ।” बेइज्जतको जुताको माला पहिरनुभन्दा प्रपन्नाले भनेको स्वीकार्दा बाँचिने कुरा आमाछोराले सल्लाह गरे । प्रपन्ना धर्मध्वजसँगै बस्ने भएकाले सम्पत्ति कहाँ जान्छ र ! भन्ने उनले सोचिन् । धर्मध्वजकी आमाको नाममा रहेको घर भएको एक कठ्ठा जमिन मात्र उनको नाममा राखेर उनीहरू आमाछोराको नाममा भएको बाँकी सबै करिब चार बिगाहा जग्गा असार १५ गते दहीचिउरा खाने दिन प्रपन्नाको नाममा गरिदिए । त्यसपछि उनीहरूसँगै काठमाडौँ फर्के । प्रपन्नाले पेसागत जाति उत्थान मञ्चको रोहवरमा छुटानामको कागजात बनाई जिल्ला प्रशासन कार्यालयबाट टुङ्गो लगाउने गरी छुटानाम गरे । त्यसपटकको नाटकमा धर्मध्वज मज्जैले पछारिएका थिए । तीसबै घटना सिनेमाको पर्दामा देखिने दृश्यझैँ फटाफट घट्दा उनी विघ्न आश्चर्यमा परेका थिए । उनीसँग प्रतिरोध गर्ने क्षमता नै थिएन । धर्मध्वज त्यो बेलुका झस्किए जब उनलाई प्रपन्नाले छोडेर गइन् । प्रपन्नाले उनलाई छोडेर मात्र गएकी थिइनन् उनी त उनको सम्पत्ति पनि लिएर बाटो नापेकी थिइन् । धर्मध्वज खुसी केमा थिए भने उनको बाबु हनुमाननाथको नाममा भएको जग्गा त छ नि । बिहे गरेको तेस्रो महिना सुलोचनाले सम्बन्ध विच्छेदको लागि हालेको मुद्दामा सहीछाप गर्न जाँदा पहिलो र सम्बन्ध विच्छेदको फैसलाको दिन दोस्रो पटक उनले सुलोचनालाई देखेका थिए । त्यस वेला सुलोचनालाई सुटुक्क हेरेका थिए । त्यसैवेला उनले मनमनै सोचे – “महिला भएर पनि कति स्वाभिमानी हँ सुलोचना ! उनको नाम सुहाउँदो बानी, व्यवहार र स्वभाव । कति सुलिल छन् तिनी । धवलागिरि हिमालको बोझले अठ्याउँदा पनि तिनी डगिनन् । कालीगण्डकीको साउने भेलले लछारपछार पार्दा पनि तिनी लत्रिनन् । वास्तवमा तिनी पो बाग्लुङ कालिका रहिछन् । मलाई उनले माफ त गर्ने छैनन् तर तिनको पाउ समातेर तिनको पाउमा शिर राख्न पाए सायद मैले गरेका कुकार्यबाट मुक्ति पाउँथे ।” वकिलले यहाँ ल्याप्चे लाउनुस् भनेपछि बल्ल उनी होसमा आए । बाग्लुङ कालिकाको दर्शन गरेर उनी गुलेरिया गए । आमाबाट थाहा पाए कि बाबुको नाममा भएको जग्गा पनि पिताजीले सुलोचनाको नाममा बकस गरेर दिनुभएको रहेछ । त्यहाँ पुगेपछि थाहा भयो कि अब उनीहरूसँग घर भएको एक कठ्ठा मात्र जमिन रहेछ । धर्मध्वजकी आमाको होस खुल्दा अँध्यारो भइसकेको थियो । वि.सं. २०५० सालको असारमा सुलोचनासँग विवाह भएको दिन नै धर्मध्वजको जीवनको ओरालो लाग्ने दिन प्रारम्भ भएको साबित भयो । त्यस दिन पनि उनले झुटो नबोलेको भए उनले माफ गरेकी थिइन् । धर्मध्वजले मनमनै भने – ‘‘ढोँग, ठगी, घमण्ड, छलकपट, आडम्बर जीवनको गतिलाई डो¥याउने माला होइन कि ती त घाँटीमा पासो लाग्ने डोरी रहेछन् । सत्यता, इमानदारी र मेहनत वास्तवमा जीवनको मार्गदर्शन गर्ने माला रहेछन् ।’’ त्यस वेला उनीसँग नाङ्गो हात र डडेलो लागेको पखेरोजस्तो जीवनबाहेक केही थिएन । २०५० कै असारमा प्रपन्नाले पनि उनलाई छोडिन् । सोही वर्ष असारदेखिनै पुत्र र पत्नीका काला कर्तुत थाहा पाएपछि हनुमाननाथले घर छोडेर हिँडे । सोही कात्र्तिकमा कानुनी रूपमा सुलोचना उनीदेखि मुक्त भएकी थिइन् । “मैले गल्ती गरेको हुँ । मैले सजाय पाएँ । म दुःखी छैन । मेरी आमाले मेरो कुकर्ममा मेरो गालामा चड्कन नहानेको हुनाले म कुबाटोमा अग्रसर बनेँ । हे आमाबाबु ! सन्तानको मायामा कहिल्यै अन्धो नबन अन्यथा तिम्रा सन्तान धर्मध्वज हुनेछन् ।” उनले भन्ने गर्थे । उनले प्रपन्ना राखेको बसपार्कको होटलमा दश वर्ष काम गरे । खान र बस्न उनलाई समस्या थिएन । उनी दश वर्षदेखि आमालाई भेट्न गुलेरिया पनि गएका थिएनन् । २०५९ सालमा उनकी आमालाई बहुला कुकुरले टोकेछ । धेरै उपचार गरे तापनि उनलाई सञ्चो भएन । कुकुरजस्तै आवाज निकालेर भुक्दै हिँड्न थालेपछि स्वास्थ्यचौकीका कर्मचारीले कडा औषधि दिन थालेका थिए । गाउँलेले पालैपालो टाढैबाट खानेकुरा फालिदिन्थे । करिब तीन महिना आफ्नो दिसापिसाबमा नै रोमलिएर २०६० सालको साउन महिनामा उनको मृत्यु भयो । धर्मध्वज तेस्रो दिनमा गुलेरिया पुगे । दाहसंस्कार गरे । घाटबाट नै एक महिना गायब भएर त्यसपछि घर फर्के । उनले त्यो घरसहितको जग्गा पनि बेचेर काठमाडौँ गए । अर्को आठ वर्ष उनले सोही बसपार्कको होटलमा बिताए । उनी विक्षिप्त भइसकेका थिए । उनले सुलोचना र गुलेरियाको घटनालाई सम्झिरहन्थे । ‘‘मैले सुलोचनालाई साँचो कुरा बोल्नुपथ्र्यो । मेरो छली र ढोँगीबानीले म बर्बाद भएँ । स्वाभिमानी, सुशील, सुन्दर, सक्षम, सोझी, देवीको जस्तो चोखो र पवित्र मन भएकी स्वप्निल सुलोचनाको क्षमतालाई मैले सम्मान गरेको भए यो दिन देख्न पर्दैन्थ्यो । आखिर घर्तीनी आमाले भनेको जस्तै हुने भयो ।’’ होटल मालिकसँग रुँदै धर्मध्वजले भन्थे । वि.सं. २०७० सालमा उनी ५८ वर्ष पुगेका थिए । गुलेरियाको घरघडेरी बिक्री गरेको रकममध्ये केही बैङ्कमा राखेका थिए । होटल मालिकसँग बिदा भएर रात्रिबसमा उनी बागलुङ गए । मन्दिरभन्दा पाँच मिनेटजति माथि एउटा सानो कोठा लिए । उनी दिनको तीन पटक बागलुङ मन्दिरमा पुग्थे । मन्दिरदेखि सिधै तल मालढुङ्गा झर्थे । आकाश खुलेको वेला धवलागिरि र टुकुचे चुली कालीको कञ्चन निलो पानीमा स्नान गरेको हेरिरहन्थे । आफू दुरुस्तै धवलागिरि र सुलोचनालाई कालीगण्डकीसँग तुलना गर्दै दाँज्दै घण्टौँसम्म बस्थे । कहिले आपूmले सुलोचनालाई हिमालले चुम्बन गरेझैँ चुम्बन गरेको सम्झन्थे भने केही बेर हाँस्थे तर त्योभन्दा धेरै बेर रुन्थे । बागलुङ पुगेपछि थाहाभयो कि उनका पिता हनुमाननाथले वि.सं. २०६२ सालमा असी वर्षको उमेरमा कागवेनीमा मृत्युवरण गरेछन् । कागवेनीको पितृतर्पण दिने वेनीभन्दा दशमिटर तल रहेको उनको लास गिद्धले दिनदिनै लुछ्दालुछ्दै सकेका थिए । कागवेनीको किनारमा रहेको खुपार्नीको हाँगोमा झुन्डिएको उनको झोलामा रहेको परिचयपत्रले उनी हनुमाननाथ भएको खुलेका थिए । धर्मध्वजले दुई वर्ष बाग्लुङ कालिकावरपर बिताए । बाग्लुङ कालिकालाई उनले टाढैबाट नमन गर्थे । जसरी उनी सुलोचनासँग डराउँथे । त्यसैगरी उनी कालिकासँग डराउँथे र कहिलेकाहीँ उनी नै मेरी सुलोचना हुन् भन्दै लम्पसार परेर ढोग गर्दथे । वि.सं. २०७२ सालको वैशाखदेखि साठी वर्षमा प्रवेश गरेका धर्मध्वजले एक वर्षदेखि उनले दारी मिलाएका थिएनन् । त्यसै वर्षदेखि आफ्नो शरीरलाई बेवास्ता गरेका थिए । वैशाखदेखि उनी कहिलेकाहीँ रातिमात्र कोठामा जान्थे । एक वर्षको भाडा अग्रिम दिइसकेका थिए । त्यसपछि बाग्लुङकालिका मन्दिर वरपर बाहेक अन्यत्र कतै गएनन् । सुलोचनालाई एक पटक देख्न पाइन्छ कि भनेर मात्र उनी बाग्लुङ गएका थिए । उनलाई वरपर घुम्ने गरेको धेरै मानिसले देखेका थिए । कसैले चिन्दैनथे । सुलोचनालाई सम्झेर एकलै फतफताउदै – “म मातेको हुँ । मलाई क्षमा गर ।” भन्दै बलिदिने मौलो नजिक गएर लम्पसार परेर ढोग गर्दथे । एक दिन भक्तालुले उनलाई ‘‘सुलोचना यो तिमीले कुल्चेको प्रसाद हो म खान्छु अनि मलाई माफ गर न है ।’’ भन्दै मन्दिरनजिकै कुहेको प्रसाद खोस्रँदै केही खाँदै गरेको देखेका रहेछन् । असार पाँच गते उनको सुलोचनासँग विवाह भएको २२ वर्ष पुगेको दिन थियो । त्यो दिन उनी मृत्यु सन्मुख पुगेका देखिन्थे । निकै गलेका थिए । उनको लखतरान शरीरलाई त्यहाँका सालका बोटले बाहेक अरूले वेवास्ता गरेका थिए । असार पाँच गते दिउँसो करिब चार बजेतिर त्यहाँ प्रसाद बिक्री गर्ने महिलाले उनले त्यस्तै छ–सातपटक ‘सुलोचना माफ गर है, घर्तीनी आमा माफ गर है’ भनेको आवाज सुनेका थिए । अघिल्ला दिन पनि कालिकाको अगाडि उनले त्यसरी नै लम्पसार परेको धेरैले देखेका थिए । त्यो दिन भने उनी उठेनन् । केटाकेटीहरूले – ‘ऊमाथि पुड्के बाजेको घरमा डेरा गरी बस्ने बाजे हुन्’ भनेर प्रहरीलाई जानकारी दिएका थिए । वरपर मानिस झुम्मिएका थिए । प्रहरीले मानिसलाई नजिक जान दिएका थिएनन् । मन्दिरनजिकै त्यहीँ फोहोर फाल्ने ठाउँ नजिकै उनले देहत्याग गरे । पुड्केको घरमा कोठामा एउटा चेकबुकबाहेक केही भेटिएन । ‘बैङ्कमा भएको रकमले मेरो लासको तारबार लगाउनू’ भन्ने पत्र चेकको अर्धकट्टिमा लेखेर सबै चेकमा सही गरेको बाहेक केही भेटिएन । तेह्र दिनसम्म प्रहरीको रेखदेखमा लास राखिएको थियो । स्थानीय एफ.एम. रेडियो, पत्रपत्रिका, अनलाइन, प्रदेश र केन्द्रका सबै सञ्चारमाध्यममा लासको हुलिया दिएर खबर प्रसारण भयो तर कोही पनि त्यहाँ आएनन् । तेह्र दिनपछि मृतावस्थामा रहेको एउटा तस्वीर बाहिर आयो । उनको शरीरको कम्मरमुनिको भाग कुकुर, श्याल वा जङ्गली जनावरले लुछेजस्तो देखिन्थ्यो । कम्मरभन्दा माथि भने एउटा मलमलको रातो पछ्यौरा थियो । प्रहरी प्रतिवेदन अनुसार त्यो पछ्यौरा जनैसँग बाँधिएको थियो र त्यसको टुप्पोमा एउटा गाँठो थियो । गाँठोभित्र एउटा कागजमा लेखिएको थियो, ‘सुलोचना, मेरो धूर्त स्वभाव र घमण्डले गर्दा तिमीलाई धोका दिएँ । मलाई तिम्रो र घर्तीनी आमाको श्राप लाग्यो । तिमीसँग झुटो नबोलेको भए मेरो जीवनका हजार कुकर्म कालीगण्डकीको जलझैँ पवित्र हुने थिएँ । नारीजातिलाई खेलौना सम्झँदा, सम्पत्तिको फोस्रो धाक दिँदा बिस वर्षभित्र नै मेरो सम्पत्तिको त के कुरा वंश नै नाश भयो । मैले युवावस्थामा गरेको कुकर्मको सजाय भोग्न अर्को जन्म पर्खन परेन । तिमी साँच्चिकै सुलोचना हौ । तिम्रो हुन नसकेको धोकेबाज, धर्मध्वज ।’ त्यो कागज, चेकको अर्धकट्टी र जनै सुरक्षित राखेर राज्यको कानुनबमोजिम धर्मध्वजको दाहसंस्कार गरियो । बाग्लुङ कालिकाको दर्शन गर्न जाने दर्शनार्थीले खासखुस कुरा गर्दै भनेका थिए– “दाहसंस्कारको भार त राज्यलाई बोकाएनन् नि धर्मध्वजले । चेक नै काटेर छोडेका रहेछन् ।” “विचरा को होला ? छोरा, छोरी, श्रीमती, दाजुभाइ त पक्कै होलान् नि ।” “के पाप गरेर हिँडेको होला । लोग्नेमान्छेको जात उमेरमा आँखा देख्दैनन् अनि त्यस्तै हुन्छ । धर्मध्वज नाम र व्यवहार दुरुस्तै मिलेको ।” “पृथ्वीनारायण क्याम्पस पोखराकी क्याम्पस प्रमुख प्रा.डा. सुलोचनालाई केही थाहा थियो कि ?” ‘‘ घर्तीनी आमाको श्राप लाग्यो नि पापीलाई, नारीलाई खेलौना ठान्ने ? ’’