विष्णु प्रसाद शर्मा पराजुली खोजी र अन्वेषण गर्ने रुचाउने नियात्राकार हुन् । उनको तिब्बत यात्रा , डोल्पो : विश्वको जीवित सङ्ग्रहालय , श्वेत पर्वत प्रकाशित कृतिहरू हुन् । यात्रा गर्ने रुचाउने यात्रामा निस्कन अगाडी त्यस क्षेत्रको बारेमा खोजी गर्ने समय खर्चिन्छन् । पढ्नमा निकै रुचि राख्ने पराजुलीसंग जनमतले पुस्तक पढ्न सारै रुचाउने पराजुली सँग जनमतको लागि पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ? सम्यक् प्रकाशनले प्रकाशित गरेको राहुल सांकृत्यायनको बुद्धको जीवनी, उपदेश र विभिन्न सुत्त सहितको “बुद्ध चर्या” पुस्तक पढ्दै छु ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा रु नेपाली: नेपालीमा बालकृष्ण पोखरेलद्वारा लिखित मानव जातिको विकास, मानव सभ्यता र पश्चिम एसियादेखि प्रारम्भ भएको “खस जातिको इतिहास” । त्यो एक जातिको मात्र होइन । त्यसमा मानव जातिको विकास र फैलाव कहाँबाट र कसरी भयो भन्ने विस्तृत जानकारी छ । हिन्दी राहुल सांकृत्यायनको “मानव समाज” । अङ्ग्रेजी: नेपालविद् टोनी हेगनले लेखेको Nepal :The Kingdom in the Himalaya
तपाईंको लागि लेखपढको उपयुक्त समय कुन हो ? मेरो लागि लेखपढ कोलागि त्यस्तो विशेष समय छैन । फुर्सदको क्षण जुनसुकै समय पनि अध्ययन गर्छु । बिहानको समयमा ध्यान बढी केन्द्रित हुन्छ । साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ? सत्य, यथार्थ र सामाजिक परिवेशलाई आधार मानेर बाटो देखाउने साहित्यिक विधा मध्य नियात्रा, निबन्ध, कथा र कविता नै शक्तिशाली लाग्छ ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ? मैले एस.एल.सी सम्म पर्वतको रानी पानीमा पढेको हुँ । पुस्तकालय थिएनन् । त्यसैले सानोमा स्कुलमा पाठ्य पुस्तक बाहेक अन्य पुस्तक पढ्ने अवसर पाइएन ।
कस्ता पुस्तकहरू पढ्न बढी मनपथ्र्यो रु तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ? मैले कलेज चाहिँ उत्तर–पूर्व भारतको मिजौराम भन्ने ठाउँमा सिलोङ् विश्वविद्यालय अन्तरगत पढेको हुँ । प्रवासी नेपालीसँग भएका पुस्तक मागेर, खोजेर कविता, कथा र उपन्यास पढेँ । त्यस बेला उपन्यास र कथा पढ्न मन पर्थ्यो । नेपाल फर्केपछि विश्वविद्यालयको अध्ययन पश्चात जागिर र पारिवारिक जिम्मेवारीको कारण अध्ययन गर्न पाइएन । त्यसैले मैले पचपन्न वर्षको उमेरदेखि फेरि पढ्न थाले । त्यसपछि भने अध्ययन गर्दै छु । मलाई मानव विकास क्रम र सभ्यता, इतिहास, संस्कृति, भूगोल, दर्शनसँग सम्बन्धित पुस्तक पढ्न मन लाग्छ । साहित्यिक पुस्तकहरू पनि पढ्ने गर्छु ।
धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ? बालकृष्ण पोखरेलले लेखेको “खस जातिको इतिहास”, लक्ष्मीप्रसाद देवकोटाको “लक्ष्मी निबन्ध सङ्ग्रह”,टोनी हेगनले लेखेको नेपालसम्बन्धि पुस्तकहरूमा Nepal: The Kingdom in the Himalaya and Building Bridges in the Third World , क्रिस्टोफ भोन फुरर हेमनडोर्फको Himalayan Traders
दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ? ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ? क) खस जातिको इतिहासमा समग्र मानव जातिको विकास, प्राचीन अवस्थामा जातिको अवस्था के कस्तो थियो, खस जातिको उद्गम कहाँ, कसरी भयो, खस जाति कसरी नेपाल आइपुगे र अहिले कहाँसम्म फैलिएका छन् । खस जाति भनेको एक जाति होइन भन्ने बारेमा अत्यन्त मिहिनताका साथ अनुसन्धानात्मक तरिकाले लेखिएको छ । यदि यो पुस्तक अङ्ग्रेजीमा छापिएको थियो भने नोबेल पुरस्कार पाउन पनि सक्थ्यो होला । त्यो त्यो स्तरको पुस्तक हो । सबै नेपालीले पढ्नु पर्छ । ख) लक्ष्मीप्रसाद देवकोटाको “लक्ष्मी निबन्ध सङ्ग्रह” ले सधैँ नयाँ ऊर्जा प्रवाह गर्ने क्षमता राख्छ, त्यसैले दोहोराएर पढछु । ग) टोनी हेगनको पहिलो पुस्तक Nepal: The Kingdom in the Himalayas नेपाल हिमालयको उत्पत्ति, नेपालको भौगोलिक अवस्था, नेपालका जातजाति, भाषा, धर्म र संस्कृति जस्ता विषय दिईएको छ । नेपालीले त्यसबारे जानकारी लिन जरुरी छ । लेख्ने क्रममा कैयौँ पटक सन्दर्भ उल्लेख गर्नु पर्ने हुन्छ, त्यसकारण त्यो पढछु । घ) टोनी हेगनकै Building Bridges in the Third World मा हेगनले नेपाल बारे अध्ययन गर्दा विभिन्न ठाउँमा पुगेको अनुभव राखेका छन् र नेपालले आधुनिक युगमा प्रवेश गर्न, आर्थिक विकास गर्न र जीवनस्तर उकास्न विभिन्न सुझाव दिएका छन् । सन् १९५०देखि १९६० सम्मको नेपालको अवस्था कस्तो थियो र पछिल्लो कालमा विकास कसरी भएको छ भन्ने बारे उल्लेख छ । ङ) क्रिस्टोफ भोन फुरर हेमनडोर्फको Himalayan Traders मा नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने हिमाली बासीको जनजीवन, कृषि, पशुपालन, चाडपर्व, व्यापारबारे अनुसन्धान गरी प्रस्तुत गरेको हुनाले ।
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ? विषयवस्तु, यथार्थता, सत्यता, प्रस्तुति, सामाजिक परिवेश र पात्रले निश्चित रूपमा पछ्याउँछ ।
तपाईँको विचार पढ्नु केका लागि हो ? कस्ता पुस्तकले जीवनमा बढी सघाए ? अध्ययन के का लागि भन्ने पनि हुन्छ । अध्ययन नयाँ विषयमा ज्ञान आर्जन गर्नका लागि गरिनुपर्छ । यसले मानिसको सोचाइमा र दृष्टिकोणमा परिवर्तन त्याउनुका साथै सोच क्षेत्र फराकिलो हुँदै जान्छ र परिपक्वता तर्फ अग्रसर बनाउँछ । जीवनमा परिवर्तन ल्याउन यथार्थपरक, अनुसन्धानात्मक र मार्गदर्शन गर्ने पुस्तक पढ्नु पर्छ । मेरो लेखनमा पनि नेपालबारे लेखिएका पुस्तक, अनुसन्धानमा आधारित पुस्तक र मानव विकास वारे लेखिएका पुस्तकले सघाएका छन् ।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ? १. Nepal: The Kingdom in the Himalayas, Tony Hegan २. Building Bridges in the Third World, Tony Hegan ३. हिन्दु संस्कृतिको परिशीलन, मदनमणि दीक्षित ४. खस जातिको इतिहास, बालकृष्ण पोखरेल ५. हाम्रो समाज: एक अध्ययन, जनकलाल शर्मा ६. नेपालको इतिहास, विभिन्न लेखकहरू ७. लक्ष्मी निबन्ध सङ्ग्रह, लक्ष्मीप्रसाद देवकोटा ८. गुरुप्रसाद मैनालीका कथाहरू ९.बुद्ध चर्या, राहुल सांकृत्यायन १०. नेपाल गण युगदेखि राष्ट्र युगसम्म, मोदनाथ प्रश्रित
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक र? मैले पढ्न चाहेर पनि पढ्न नपाएका पुस्तक निम्न छन्: जोसेफ टुचीको क) Preliminary Report on Two Scientific Expedition in Nepal , Nepal:The Discovery of the Mallas, राहुल सांकृत्यानको मध्य एसियाको इतिहास भाग १ र २
मनपरेका ५ जना स्वदेशी र विदेशी लेखकहरुको नाम लिनुपर्दा ? स्व. मदनमणि दीक्षित, रोचक घिमिरे, बालकृष्ण पोखरेल, ह्दयचन्द्र सिंह प्रधान र टोनी हेगन ।
अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ? पदयात्राः मैले नेपालको कञ्चनजङ्घा आधार शिविरदेखि हुम्लाको हिस्सासम्मको उच्च हिमाली क्षेत्रको भाग विभिन्न चरणमा गरी पैदल यात्रा गरी सम्पन्न गरेको छु । कैलाश र मानसरोवर परिक्रमा गरेको छु । पदयात्रा नै मेरो मुख्य रुचि हो । त्यसैको आधारमा मैले नियात्रा लेख्ने प्रयास गरेको छु ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
टोनी हेगनको Nepal: The Kingdom in the Himalayas, Tony Hegan
मदनमणि दीक्षितको हिन्दु संस्कृतिको परिशीलन
बालकृष्ण पोखरेलको खस जातिको इतिहास
डी.एल. स्नेलग्रोभको Buddhist Himalaya
जनकलाल शर्माको हाम्रो समाज: एक अध्ययन तपाईँका हालसम्म प्रकाशित कृतिहरू के के हुन ? १.तिब्बत यात्रा –२०७२ २.डोल्पो: विश्वको जीवित सङ्ग्रहालय–२०७२ ३. श्वेत पर्वत–२०७८ ४. Journey to Tibet –२०७८ ५. कर्णालीमा प्रचलित दर्शन–परम्परा–२०७८ ६.पत्रकार आचार संहिता र व्याख्यात्मक टिप्पणी २०६६ सह लेखन, ७. विपत् पत्रकारिता २०७३ सह लेखन ८. विविध कथा, कविता, र निबन्ध विभिन्न साहित्यिक पत्रपत्रिकामा प्रकाशित हुने गरेका छन् ।
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ? म मुख्यतया: नियात्रा लेखनमा नै केन्द्रित रहेको छु । अब मैले पूर्वी हिमाली क्षेत्र गौरीशंकर देखि पूर्व कञ्चनजङ्घासम्मको भाग समेट्ने गरी नियात्रा लेख्नु पर्ने छ । त्यसपछि मनासलुदेखि पूर्व र गौरीशंकर देखि पश्चिमको भाग समेट्ने छु । तिब्बत यात्रामा हुम्लाको खण्ड परेको छ । त्यसैले डोल्पादेखि पश्चिम मुगु, जुम्ला, हुम्लाको सिम कोट, रारा क्षेत्र समेटेर राराको सेरोफेरोको पनि नियात्रा कृति नै तयार गर्नु पर्ने छ । मेरा धेरै कविता, कथा र निबन्ध विभिन्न रचना, जनमत, अभिव्यक्ति, दायित्व, मधुपर्क आदि साहित्यिक पत्रिकामा प्रकाशित छन् । तीनलाई सङ्कलन गरी क्रमशः पुस्तककै रूपमा प्रकाशित गर्ने योजना रहेको छ ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ ? स्रष्टाले नै सिर्जना गर्ने हो । स्त्री–पुरुषको मिलन पश्चात मानव जीवन प्राप्त हुन्छ । त्यसमा विभिन्न भौतिक तत्वको सम्मिश्रण रहेको हुन्छ । मानव जीवन भनेको सचेत जीवन हो । त्यस सचेत प्राणी मानवले आफूm वरपरको वातावरणको आधारमा आफ्नो अनुभवलाई विभिन्न विधामा सिर्जना गर्न सक्षम हुन्छ । स्रष्टाले समग्र विश्व, जीवजन्तु, वनस्पतिका साथै मानव जातिलाई सही मार्ग देखाउन सिर्जना गर्दछ । सबै मानिससँग सोच्ने, सिर्जना गर्ने आआफ्नै प्रकारको सृजनशील क्षमता हुन्छ तर कतिले त्यसलाई बाहिर ल्याउँछन् भने कतिले आफ्नो मनमनै सिर्जना गरेका हुन्छन् बाहिर पुस्तकाकारका रूपमा ल्याएका हुँदैनन् । स्रष्टाले भोगाई, अनुभव, परिवर्तन, समग्र विश्वको हितार्थ सिर्जना गर्दछ । मानव स्रष्टाबाट मात्र सिर्जना सम्भव छ । अरू कुनै काल्पनिक शक्तिबाट सिर्जना हुन सक्दैन ।
तपाईँसँग के कति पुस्तक रहेका छन् ? सङ्कलित पत्रपत्रिकाहरू, साहित्यिक पत्रिकाहरू ग्रामीण क्षेत्रमा दिने गरेको हुनाले धेरै सङ्कलन छैन । साहित्य र दर्शन गरी करिब पाँच सय, पत्रकारितासँग सम्बन्धित करिब तीन सय र साहित्यिक पत्रपत्रिका करिब दुई सय गरी एक हजार मात्र पुस्तक रहेका छन् ।
तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ? मलाई पदम पानी उपाध्याय पराजुली मेरो हजुरबाले अक्षरारम्भ गराउनु भएको हो । मेरो आमा तुलसी उपाध्याय पराजुली र बुबा धनपति उपाध्याय पराजुलीले पढ्नु भएको थिएन । उहाँहरू कृषक हुनुहुन्थ्यो, दुवै औँठा छाप । उहाँहरू दुवैले व्यवहारबाट खारिएर कण्ठाग्र भएका व्यवहारिक ज्ञान मलाई सिकाउनु हुन्थ्यो । जीवन वारे ज्ञान दिनुहुन्थ्यो, के गर्नु उपयुक्त हुन्छ र के गर्नु नराम्रो हो भन्ने कुरा कुटो, कोदालो, घाँस, दाउरा, खेतीपाती गर्दा भन्नुहुन्थ्यो । सानो सफलतामा हौसिने र असफलतामा खुम्चिने गर्न हुँदैन भन्नु हुन्थ्यो । बाँचुन्जेल इमानदार भएर मेहनत गर्नु पर्छ भन्नु हुन्थ्यो । चेतनशील प्राणी मानव जाति भएर जन्मेपछि समाजलाई दीर्घकालसम्म सही बाटोमा डो¥याउन सक्ने योगदान दिनु पर्छ । कसैलाई दुःख र पिडा पार्ने काम गर्नु हुँदैन यस्तै कुराहरू दस कक्षा पढ्ने बेलासम्म दिमागमा घुसेका रहेछन् । मैले खासै उपलब्धि हुने कार्य गर्न सकेको छैन । तर आज म जे जस्तो छु, जे जति गरेँ, यो जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिने मेरा मातापिता नै हुन् । जसलाई मैले दसकौँ पहिले नै सधैँको लागि बिदा गरेको छु । तर मैले उहाँहरूले म सानो छँदा भनेका कुराहरू, निर्देशनहरू हरेक दिन बिहान सम्झेर मात्र मैले मेरो दैनिकी प्रारम्भ गर्छु ।
प्रकाशित तथा साभारः रचना साहित्यिक पत्रिका अङ्क १७८ भदौ–असोज २०७९ निवन्ध
विष्णुप्रसाद शर्मा पराजुली
असारको दिन थियो । रातभर पानी परे तापनि उत्तरी उपत्यकाको विहान भने उज्यालिएको थियो । चन्द्रगिरितिर कताकति नीलो आकास देखिन्थ्यो । फुलचोकी बादलको अँगालोमा बाँधिएको थियो । तर गुर्जु भन्ज्याङ, विष्णुद्वार, बागद्वार, तारेभीर, मूलखर्कतिरबाट देखिने वर्खाको हरियालीयुक्त पहाड र गगनचुम्वी भवन देख्दा बाहिरी रूपमा भानुभक्तले भनेझैँ प्राचीन नेपाल खाल्डो अलकापुरीनै झल्किन्थ्यो । ठीक त्यसैबेला, शिवपुरीको यात्रामा निस्केका यात्रुले पोखरीमा लम्पसार परेर व्रह्माण्डलाई नियालीरहेका वुढानीलकण्ठलाई नमन गरे अनि उकालो उक्ले । जगतको संरक्षणकर्ता वुढानीलकण्ठ विष्णु शिवपुरी क्षेत्रका पनि संरक्षक हुन् । यो शिव र विष्णु दुवैको सम्मान गरिएको क्षेत्र हो भन्ने कुरा नामबाटनै थाह हुन्छ । वुढानीलकण्ठमा रहेको विष्णुको ढुङ्गाको विशाल र सुन्दर मूर्ती करिव १ हजार ५०० वर्ष पहिले लिच्छविकालमा बनाएर स्थापना गरिएको हो भनिन्छ । चार हातमा शङ्ख, चक्र, गधा र पद्य लिई सानो पोखरीमा नागले घेरिएका उनी विश्राम गरेको अवस्थामा छन् । पुराणकथानुसार उनको वासस्थान क्षीर सागर हो । समुद्रमा नागको विछौँनामा सुत्ने विष्णुको नाइटोबाट कमलको पूmल निस्क्यो । त्यसबाट ब्रह्मा उत्पन्न भए । अनि ब्रह्माले जगतको सृष्टि गरे भन्ने कथा पुराणमा छ । स्व. मदनमणि दीक्षितका अनुसार विष्णु पश्चिम एसियाबाट पूर्व आएका हुन् । शिव चाहिँ हिमालय क्षेत्रका हुन् । साथीलाई लाग्न सक्छ, पशुपतिको उत्तरी क्षेत्रमा बागमती नदीको शिर रहेको पहाडको नाम शिवपुरी कसरी रहन गयो त ? शिवपुरी, बागद्वार र पशुपति के हो त ? भन्ने जिज्ञासा पनि त लाग्ने नै भयो । त्यसबारे एकादेशको कथा यस्तो छः एक दिनको कुरो हो । शिव कैलासमा आफ्नो परिवार र गणसँग सुखसँग बस्थे । हिउँ कम हुने वर्खा ऋतुमा शिव, पार्वती, यक्ष, गन्धर्व, किन्नर, किरात, खस आदि सहित मनोरञ्जनको लागि स–परिवार आफ्नो घर कैलासको परिक्रमा गर्न निस्के । उनीहरू आजको डोल्मा ला (५६३० मिटर) त्यसबेलाको शङ्कर भन्ज्याङ पुगे । त्यसबेला पार्वतीलाई सास फेर्न केही कठीन भयो । वरपर पानी थिएन । शिव भने सुन्दर मौसमको कारण अत्यधिक प्रशन्न भई ब्रह्मा र विष्णुलाई पार्वतीको हेरविचार गर्न लगाई आपूmले शिवबुटी बनाई दुईचार सर्को तानी सोही धुनमा कैलास परिक्रमामा ध्यानमग्न भए । उता पार्वतीलाई व्रह्मा, विष्णु, यक्ष, गन्धर्व, किन्नर सबै मिलेर शिव भन्ज्याङ पार गराई केही तल झारे । पार्वतीको तीर्खाको पिडा अन्तरहृ्रदयबाट थाह पाई शिव भन्ज्याङको केही तल पूर्वी कुनामा व्रह्माले गौरी कुण्ड ( सानो कुण्ड आज पनि देख्न सकिन्छ) को निर्माण गरे । पार्वतीले पानी पिए पछि उनमा स्पूmर्ति आयो । सबै नाचगान गर्दै झरे (मानसरोवरको उत्तरमा रहेको आजको दारचेनतिर) । उता शिवजी शिवबुटीको धुनमा पार्वती वेपत्ता भइन् भन्दै कैलास पर्वत पार गरी, विशाल हिमगिरी नाघेर दक्षिणपूर्व जाँदा अलकापुरीको उत्तरमा रहेको थुम्कोमा पुगे । त्यहाँ पुग्दा शिवबुटीको असर कम भै सकेको थियो । पार्वती र गणका सदस्य कहाँ होलान भनि अन्तरदृष्टिदिँदा पार्वती त उनलाई खोज्दै कैलास नाघेर गौरी पर्वत नजीक पुगेको देखे । चारैतिर पहाडै पहाडले घेरिएको, मानसरोवर जत्रै ताल भएको अतिनै सुन्दर उपत्यकाको टुप्पोमा शिव पुगेका थिए । उनले त्यहीँ केही कन्दमुल खाई ध्यान गरे । शिवलाई खोज्दै त्यहाँ पुगेका यक्ष, गन्धर्व, किरात, खस त्यसै उपत्यका वरपर बस्न थाले । शिव बसेको पहाडको फेंदमा उनका गणले पुर बसाए । त्यसबेलादेखि त्यस पहाडको नाम शिवपुरी रहन गयो । त्यसबेलादेखि आजका दिनसम्म कसैले आफ्नै पार्वती खोज्दै त कोही सांसारिक भोग र मोहबाट मुक्त हुन शिवपुरीमा तपस्या गर्न पुग्ने गर्छन, शिवपुरी बाबा, टोडके बाबा, योगी, भोगी तथा युवायुवती । पार्वतीलाई भेटन शिव पूर्वतिर लागे । पार्वतीले थकाईमार्न विश्राम गरेको पहाडलाई ‘गौरी’ पहाड भनि नामाकरण गरियो । शिवको प्रतिक्षामा बेसेकी पार्वतीसँगै अर्को त्यस्तै हिमाच्छदित पहाड थियो जहाँ शिवले एक रात विताएका थिए । भोलिपल्ट विहान सुर्योदयसँगै शिवले पार्वतीलाई नजिकै जोडिएको हिमालमा देखे । दुवै जनाको भेटभयो । एकअर्का अँगालोमा बाँधिए । त्यस पछि शिवले रातकाटेको हिवैहिउँले भरिएको सेतो पहाडको नाम शङ्र रहन गयो । कालान्तरमा त्यस वरपर बस्ने शिवगण, दैत्य, यक्ष, गन्धर्व, किन्नर र मनुश्यले त्यसलाई गौरीशङ्कर भनि पूजागर्न थाले । जुन आजको नेपालको दोलखामा गौरीशङ्कर हिमालको नाममा प्रख्यात छ । अर्को एउटा कथामा शिवपुरीको उपत्यकालाई खेतीयोग्य बनाउन शिवले आफ्नो शिरबाट बागमती र विष्णुमतिको सृष्टि गरी आपूm पशुपतिमा गई बसे । यो एउटा कथा हो । त्यहाँ भौगोलिक, प्राकृतिक, सांस्कृतिक र जातिगत सत्यता भने प्रसस्त छन् । शिवपुरी चुली हिडेका यात्रुले विष्णुलाई ढोगे । आशिर्वाद लिई यात्रामा पेट पूजा गर्न मन्दिर छेउ फलपूmल, विस्कुट, दालमोठ र पानी किने । झोलामा हाले । आफ्नो फोहोर आफैले बोकेर फिर्ता ल्याउनु पर्ने नीति पारित गरेपछि उकालो लागे पानी मुहान तिर । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार नजिकै पानीमुहान छ, त्यहाँबाट गुर्जुभन्ज्याङ, सुइरेचौर र ककनीतिर जान सकिन्छ । वन घना छ । राजधानीको त्यो बिच्र्याटलाग्ने कोलाहलपूर्ण डाउन–टाउनबाट पाँच किलोमिटरको दुरीमा अति मधुर, शान्त, सुमधुर, पानीको कलकल, जुरेलीको चिरबिर, रुखका पातहरूको फिरफिर, जनावरको स¥याक–सुरुक र लस्याक–लुसुकपूर्ण वातावरणमा पुग्ने ठाउँ हुनु राजधानीबासीको लागि अपुर्व अवसर हो । तर त्यस्तो ठाउँमा आपूmले ल्याएको प्लास्टिकहरू वनको छातिमा फाल्दा मन नदुख्नु अपराधि प्रवृत्ति हो । निकुञ्ज कार्यालय नजीकका रुखमा रुखको वैज्ञानिक र नेपाली नाम लेखिएका सूचना किलासँगै टाँसिएका थिए । रूखलाई दुखेर हो कि रुखको आँशु तलसम्म झरेको देखिन्थ्यो । अरब गएको छोरोको लास काखमा लिएर बसेकी एक्ली आमाको आँशुको त यहाँ अर्थ छैन भने किला ठोक्दा झरेका रुखका आँशुको के कुरा ? अग्ला रुखहरू वर्खाको पानीले स्नान गरेर यति सुन्दर देखिएका थिए तिनले वाश्तवमै चुमनुर्वी उपत्यकाकी तरुनीको सौन्दर्यलाई विर्साउथे । घाम बादलभित्र गुम्फिए पनि हावाले विश्राम गरेकाले हपक्क गर्मी थियो । प्रवेशद्वार नजिक पानी मुहानको पानी ल्याएर बनाईएको कलात्मक ढुङ्गे धारोले लिच्छविकालीन सभ्यताको झल्को दिन्थ्यो । कलिला सहरीया युवायुवतीलाई धाराको पानीले प्रेमिल छेपा–छेपमा रङ्गिदै सेल्फिन भरपुर अवसर दिन्थ्यो । एक सय रुपँैयाँको टिकट सेनाको जाँचकीलाई देखाएर यात्रु निकुञ्ज भित्र पसे । ‘आफुसँग लगेको प्लास्टिकजन्य फोहोर आफै फिर्ता ल्याउनु होला, हजुर । ’ जवानले शिष्ट शैलीमा आग्रह गरे । निकुञ्जको अग्निरेखा (ँष्चभष्लिभ)को बाटो हुँदै उनीहरू धकेलिए । आधा घण्टा नहुँदै पसीनाले निथु्रक्क पार्न थाल्यो, पानी पिउनु पर्ने, विस्कुट टोक्नु पर्ने अवस्था आयो । रुखले आकाश देखिदैन्थ्यो । चराहरू डाली–डाली नाच्दै थिए । झाडी बाक्लियो । पसिनाकै कुराकानीमा अग्ला जय, नेपाली उचाइका प्रतिक र प्रधानबीच बल्ल परिचय भयो । उनीहरूको मुल थलो क्रमशः खोटाङ र रामेछाप थियो । वर्खाकै दिन किन नहोस् हिंड्न पाएकोमा प्रसन्न देखिन्थ्यो सबैको अनुहार । पसीना बगाउन आएका शहरीयाहरू । मानो छरेर मुरी उब्जाउने बर्खाको बेला खेतमा हलो जोतेर, धान रोपेर, घाँस काटेर पसीना बगाएको भए सायद त्यसको परिणाम वहुगुणी हुन्थ्यो । तर त्यहाँ तिनीहरूको पसीना आफ्नो शरीरमा भएको चिनी कारकाना कमजोर पार्न थियो । पसीना नझारेमा सेकुवा, व्हिस्कि र वियर तान्नेहरू छिटै यमराजको प्रिय बनिदिन्छन् । त्यसैले शहरीयाहरू धोक्छन् र त्यसलाई पचाउने निहुँमा कुद्छन् । झ्याउँकिरीको आवाज झ्याउँ–झ्याउँ झन्केको थियो । मित्र प्रधान पसिनाले लुछुप्पै भिजे । स्याँ–स्याँ गर्दै बिना चिनीको विस्कुट टोके, घत्घती पानी पिए । बुढानीलकण्ठ मन्दिरबाट नै उकालिएकाले एक घण्टा हिडेका थिए । अति सामान्य त्यो हिडाई पनि मित्रलाई गाह्रै परे जस्तो भयो । मित्र प्रधानको कन्चेटबाट असारे झरीमा झरेको झरीझैं पसीना झ¥यो । विस्तारै हिडेर उनीहरू शिवपुरी चुली र नागी गुम्बा जाने दोबाटोमा पुगे । यात्राको प्रारम्भ मात्र भएको थियो । शरिरले असहज मान्दै थियो । मनमा एक थोपो पसीना थिएन तर तनमा थियो । बाक्लो वनमा भलाकुसारी गर्दै, जीवनका प्रेमिल कथा एक–अर्कालाई सुनाउँदै चराहरूको चिरबिर, चितुवाको हेराई, मृग र बदेलको लुकाछिपी, झरनाको झरझर र रुखका पातहरूको फिरफिरे धुनसँग पाईला चाल्ने रहर बोकेरनै यात्रा तय गरेका थिए, उनीहरूले । तर यात्रा आपूmले सोचे जस्तो कहाँ हुन्छ र ? त्यसबेला मनको भाव र शरीरको शक्तिको यथार्थता केलाएर निर्णय गर्नु पर्ने हुन्छ । पसीना तरतरी चुहिने नाके उकाली त शुरु हुदै थियो । जङ्गलको बीचमा पुगेर फर्कँदा उकालो उक्लने र ओरालो ओर्लने दुवै थरीलाई नमज्जा हुन्थ्यो । त्यसैले प्रधान निकुञ्जको प्रवेश द्वारतिरै फर्के । अन्य उकालो लागे । नजिकै छाप्रो थियो । त्यहाँ प्लास्टिकका बोतल, प्लास्टिकका झोला, विस्कुटका खोस्टा, वियरका बोतल छरपस्ट छरिएका देखिन्थे । त्यसले वैदिक युगका सभ्य पुर्खाका सन्तान एक्काइसौं शताब्दीमा आईपुग्दा जङ्गली हुन पुगेछन् भन्ने छर्लङ्गिन्थ्यो । डाउनटाउनमा फोहोर देखेर अत्तालिएका प्रतीक निकुञ्ज परिसर पनि सफा नदेख्दा धोबीको कपडाझैँ निचोरिए । हाम्रोमा सभ्यता र संस्कारमा खिया लागेको छ । जिम्मेवारी व्रह्मनालमा लम्पसार छ । इमानमा विर्को लागेको छ । वागद्वारको मुलनै फोहोर भयो भने बागमती सभ्यता भनेर फलाक्दैमा पानी सफा हुन्छ र ? त्यो दिन बासिबिदो परेकोले लफलफे चिसो थिएन । जुकाहरू पनि पार्टी र सरकारी कार्यालयतिर पो गएछन् कि बाटोमा देखिएनन् । वर्खाको पानीले गलेका पातपतिङ्गरको थुप्रो, छाता जस्तै उभिएको च्याउ, स–साना खोल्सिबाट बगेको कलकले पानी वरपर देखिन्थ्यो । त्यस्तैमा जयलाई एउटा जुकोले चुम्बन गरेछ । तल्लो देउराली नपुग्दै जयले केरा खोल्स्याउने कुरो निकाले जबकी उनले टन्न भात खाएको सूचना दिएका थिए । बिना चिनीको विस्कुट टोक्दै प्रतीकले उनलाई साथ दिए । ठाडो उकालो तुरे पछि तल्लो देउराली आयो जुन नागी गुम्बाको पछाडिबाट ठडिएको थियो । देउराली बारे बहस भयो । के हो त देउराली भनेको ? एउटाले –पहाडको ठाडो लमतन्न परेर चुलिएको पखेरो जहाँ पोखरी, मौलो हुन्छ र सन्तान सुख, खेतीपाती र पशुपालन राम्रो होस् भनेर वर्षमा एकपटक पूजा गरिन्छ त्यसलाई देउराली भन्छन् भन्यो । दोस्रोले–पहाडको अग्लो ठाउँ जहाँ बाटोको अन्त हुन्छ, जहाँ यात्रीले पाती, रुखको हाँगो, ढुङ्गा चढाउछन्, त्यो देउराली हो । अर्कोले मोवाइलमा भएको शब्दकोश घिसार्दै भन्यो– डाडो वा भन्ज्याङ परेको ठाउँलाई पनि देउराली भनिदो रहेछ । नेपाली प्रकृतिपूजक हुन् । प्रकृतिमा निरन्तर परिवर्तन भइरहन्छ । जन्म, मृत्यु, वनस्पति, बाढी, पहिरो, ऋतु परिवर्तन, भुकम्प आदि घटनाहरू प्रकृतिमा हुने निरन्तर गतिको कारण भएका हुन् । त्यो गतिलाई पहिचान गरी मानिस जब सभ्यताको सिँढी उक्लँदै गयो तब प्राकृतिक प्रलयबाट बाँच्न मानिसले नदी, हिमाल, पहाड, मैदान, वनस्पति, चट्याङ, सूर्य, चन्द्र, पृथ्वी, वायु, अग्नि आदि तत्त्वहरूको पूजा गर्न थाल्यो । दसौँ हजार वर्ष पहिले प्रारम्भ भएको प्रकृति पूजा आज पनि नेपालको विभिन्न भुभागमा विभिन्न विधिबाट गरिँदै आएको छ । देउरालीमा गरिने पूजा पनि त्यस मध्यको एक हो । मानिसले चढाउँदै गएको ढुङ्गा, काठ आदि वस्तुको थुप्रो हुँदै गयो र पछि त्यसले वनदेवीको रुप धारण ग¥यो । देउरालीमा पुग्दा सबै खुशी भए । देउरालीदेखि बागद्वारसम्मको बाटो सजिलो तेर्पाए थियो । वर्खाको हरियो वनले उनीहरूलाई स्वागत त गरेकै थियो । त्यसमाथि सेतो वादलको बाक्लो भुल्काले घाम छेकेर शितल बनाएको थियो । यहाँ जंगली जनावर त होलान् नि, स्याँ–स्याँ गर्दै प्रतीकले सोधे । पथ प्रदर्शकको जिम्मालिएझैँ गरी अर्कोले भन्यो– बुझ्यौं प्रतीक, पहिले यो शिवपुरी राष्ट्रिय निकुञ्जमात्र थियो । अहिले यसैमा नागार्जुन पनि थपेर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज बनेको छ । यसको कुल क्षेत्रफल १ सय ५९ वर्ग किलोमिटर छ । यहाँ २ हजार १२२ प्रकारका रुख विरुवा छन् । त्यसमध्ये १ हजार २५० त पूmलफुल्ने रुख तथा विरुवा छन्, जसमध्ये ५७ थरीका औषधिजन्य वृक्ष छन् । तिमीले काठमाडौंदेखि नजीक छ भनेर हेपेका हौला । यही जङ्गलले त तिमी डाउनटाउनका वासिन्दाले उत्सर्जन गरेको प्रदुषण निलेर सास फेर्न अक्सिजन दिएको छ । कि कसो हो ? साथीको कुरा सत्य थियो । त्यसैले कोही बोलेनन् । हो, वनस्पति फ्लोरा (ँयिचब) मा त अचम्मै धनि छ नि यो निकुञ्ज । त्यतिमात्र कहाँ हो र ? यो निकुञ्ज त कञ्चन पानीको भण्डार पनि हो जहाँबाट ऐतिहासिक र धार्मिक महत्व भएका बागमती, विष्णुमती, रुद्रमती, नागमती, स्यारमती, साङ्ला, टुसाल लगायत थुप्रै नदी, खोला र नाला छन् । धेरै गाउँ र शहरमा यिनै नदीको ताजा पानीलाई खाने पानीको रुपमा प्रयोग गरिएको छ । यो निकुञ्जले पर्यावरणमा सन्तुलन ल्याउन महत्वपूर्ण योगदान दिएको छ । चारैतिरबाट वनले घेरीएको हुनाले पनि राजधानीले सास फेर्न सकेको छ, जयले थपे । फेरि विस्कुट टोक्ने काम भयो । जीवजन्तु फोना (ँबगलब)को बारेमा प्रतीकको प्रश्न बाँकी थियो । यो निकुञ्जको सीमा काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक र धादिङसँग जोडिएको छ । निकुञ्ज प्रभावित क्षेत्रमा तामाङ्, गुरुङ, नेवार, क्षेत्री, बाहुन आदि जातिको बसोबास छ । चितवन र वर्दियामाझैँ यहाँ पनि यहाँका बासिन्दा जङ्गली जनावरबाट पीडित छन् । निकुञ्जका अनुसार यहाँ २४ थरीका जनावरको बसोबास रहेको छ । सानो फुस्रो चितुवा सहित नौ थरीका जनावर लोपोन्मुख अवस्थामा रहेका छन् । चितुवा, बन विरालो, हिमाली कालो भालु, घोरल, मृग, साम्बर, बदेल, आसामी बाँदर आदि ठूला जनावर यहाँ घुमफिर गर्छन् । त्यसै गरी १ सय ६ थरीका पुतली, ३ सय १८ थरीका चराचुरुङ्गीको घर यही हो । त्यसमध्ये १ सय १७ थरीका चरा वसार्इं सरेर आउने गर्दछन् । त्यसैले यो निकुञ्ज वनस्पति र जंगली जीवजन्तु र चराचुरुङ्गीमा पनि उत्तिकै धनि छ, जयले बिटमारे । वाश्तवमा उनीहरू विस्तारै हिड्दै, यी सबै कुरा पनि गर्दै थिए । त्यसैले थकाईको महसुस गरेका थिएनन् । देउराली पछि सानो खोल्सी तरे । उकालो लागे । कटुसका बडेमाका रुखले सूर्यको किरण जमिनमा पर्न रोकेको थियो । त्यस्तैमा तिनीहरू खुला ठाउँमा पुगे जुन बागद्वार नजिक थियो । मौसम खुलेको बेला त्यो खुला ठाउँबाट गौरीशङ्कर हिमालका जोडी देख्न सकिन्छ । वागद्वार पुगेपछि उनीहरू अचाक्ली रमाए । नयाँ ठाउँमा पुग्दा रमाउनु स्वभाविक हो । वागद्वार नेपालको बागमती नदीको शिर हो, जुन शिवपुरी पहाडको शिरवाट निस्केको छ । बागमती एक नदीमात्र नभएर मानव सभ्यता र संस्कृति को जननी हो । त्यसका अतिरिक्त यस क्षेत्रमा बसोबास गर्ने विभिन्न जातजाति, हिन्दु र बौद्ध धर्मावलम्बिको भरोसाको केन्द्र पनि हो । वागद्वारमा विभिन्न धार्मिक आस्था भएका स्थानीयले आफ्नो परम्परा अनुसार चाडपर्व मनाउने गर्दछन् । हजारौं वर्ष पहिले जव मानिसले प्रकृतिनै जननी हुन्, प्रकृतिको संरक्षण विना जीवजन्तु र वनस्पति रहन सक्दैनन् भन्ने जाने त्यसबेलादेखि प्रकृतिपूजाको शुरु भयो र आजसम्म त्यो चलिरहेछ । पृथ्वीलाई प्राणी र वनस्पतिको घर बनाईराख्न पुर्खाले प्रकृतिको पूजा गरे । त्यसको मर्म मानिसले बिर्सेको हुनाले आज पृथ्वी तातेको छ । युरोप र अमेरिकामा तातो वायुको कारण हजारौं मानिसको मृत्यु भएको छ । प्रलयको घण्टीको आवाज पृथ्वीमा घन्केको छ । स्याउ र विस्कुट सँगसँगै टोक्दै जयले भनेको कुरा गहिरो गरि मनन गरे । प्रतीक भने बाघको टाउकोको आकृति भएको तथा वाघको मुखबाट कलकली बगेको पानीको धारोमा पुगेर धार्मिक स्नान गरे । शिवपुरीको शीर तिरबाट सानो खोल्सीहुँदै आएको पानीलाई त्यसस्थानमा वाघको टाउकोको आकृति बनाएर बाघकै मुखबाट पानी झरेको बनाईएको छ, जस्ले बाघको मुख मूल भएर निस्केर बगेको नदी भयो र त्यसलाई बागमती नदी भनियो । शिवपुरी बाघको वासस्थान हो, वाघको वासस्थानमा मूल भएकाले बागमती भयो । जे होस, बागद्वार वरपर रहेका स–साना गुफामा भक्तालुले चढाएका ध्वजा, लुङ्दार, मूर्ति, तपस्थल, र पोखरी रहेको छ । प्रतीकले भिडियो र तस्वीर बनाए पछि उनीहरू उकालो लागे शिवपुरी चुलीतिर, जहाँ पार्वती खोज्दै कैलासबाट शिवजी त्यहीं बसी ध्यान गरेकाले शिवपुरी भनिएको थियो । बागद्वार नजिकै सन्यास आश्रम र सानो बौद्ध विहार रहेको छ । त्यहाँ कहिलेकाहीँ नेपाल र भारतका योगी, सन्यासीहरू शिवलाई जगाएर शिवधाम पुग्न ध्यानमा बसेका हुन्छन् । योगीहरू भएको समयमा त्यहाँ तीन–चार जनालाई खान र बस्न पनि मिल्दछ । त्यहाँबाट पुर्वतिर चिसापानी, मूलखर्क र उत्तरतिर शिवपुरी चुली जाने बाटो छुट्टिन्छ । कटुस, लालीगुराँसका रुख र निगालो घारीको वन देखियो । सिँढीको बाटो कटुसको रुखको टुप्पोतिर ठडियो । त्यो अन्तिम उकालो थियो । बागद्वारबाट करिव पैतालिस मिनटमा उनीहरू शिवपुरी चुलीमा पुगे । जय र प्रतीकको लागि शरीरले उकालो थेग्छ कि फिर्ता पठाउछ भनेर शरीरको क्षमता जाँच्ने बलमिटर पनि थियो शिवपुरीको यात्रा । उनीहरू त्यहाँपुग्दा शिवपुरी बाबा जालीभित्र गुपचुप बसेका थिए । असारे बादलले वरपरका सबै पहाडलाई गर्लम्म अँगालोमा बाँधेको थियो । हिउँदमा नीलो आकास भएको बेला हुन्थ्यो भने त्यहाँबाट अन्नपूर्ण दोस्रो, हिमालचुली, मनास्लु, लाङ्टाङ, जुगल जस्ता विशाल र सुन्दर हिमाल श्रृङ्खलाको ताँती लामलागेर उभिएको दृश्य देख्न सकिन्थ्यो । त्यसबेला त्यो दृश्य देखेझैँ गरी खुशी भएका थिए वर्खाको बेला पनि शिवपुरीको चुलीमा पुगेको भएर प्रतीक र जय ।
गणेश हिमाल
काठमाडौं उपत्यकाको दोस्रो अग्लो चुली शिवपुरीको उचाइ २७३२ मिटर छ भने सबैभन्दा अग्लो फुलचोकीको उचाइ २७९१ मिटर रहेको छ । चम्पादेवी, चन्दागिरी, नगरकोट, मणिचुड, ककनी, जामाचो अन्य चुलीहरू हुन् जहाँबाट हिमालयको लामो श्रृङ्खलाका साथै उपत्यकाको पानोरामिक दृश्य देख्न सकिन्छ । शिवपुरी चुलीबाट पश्चिम–दक्षिण हुँदे विष्णुद्वार पुग्न सकिन्छ । शिवपुरी वावा जो भारतबाट आई चुलीमा पुगेर ध्यान गरेका थिए उनको शालिकको तस्वीर लिए । शालिकमा दिइएको जानकारी अनुसार उनको जन्म सन् १८२६ मा भएको थियो भने उनले सन् १९६३ मा समाधि लिएका थिए । त्यसलाई पत्याउने हो भने उनी १३७ वर्ष बाँचे । उनी ख्यातीप्राप्त योगी थिए भन्ने कुरा भारतका तत्कालिन राष्ट्रपति तथा दार्शनिक डा. सर्वेपल्लि राधाकृष्णन यहाँ आएर उनलाई भेटेकोबाट पनि थाह हुन्छ । उनलाई पशुपतिनाथ क्षेत्रको ध्रुवस्थलीमा समाधिस्थ गरिएको छ । त्यहाँबाट विदा भएर धर्मशालामा झरे । लामा तथा सेता दाह्री पालेका बाबाजीसँग गफ गर्दै चिया पिए । शिव प्रसाद ग्रहण गरे । आकाशमा ठूलो गर्जन सुनियो । असारको महिना भए तापनि त्यसबेलासम्म पानी परेको थिएन । झर्दै गर्दा पानी प¥यो । त्यो पनि प्रतीकलाई नौलो भयो, छाता ओढेर पनि हाइक ग¥यौँ भनेर सहपाठीहरूलाई गफ हाँक्न उनले सेल्फि हाने । त्यसदिन वुढानीलकण्ठ मन्दिरमा झर्दा उनीहरू करिव २० किलोमिटर हिँडेका थिए । तीनै जनाले फर्केर शिवपुरी चुलीलाई हेरे । शिवपुरीका थुम्का पनि शिव र पार्वती जस्तै देखिए । पानी मुहान क्षेत्रको वन भने त्यसैमा टाँसीईरहुँ जस्तो लाग्ने गरी गाढा हरियो देखियो । ठीक त्यसैबेला गोधूलितर्फ धकेलिँदै गरेको सूर्यको किरण एउटी सुन्दरी यौवनाको छातिमा पहेंलो पछ्यौंरी टाँसिएझैँ टपक्कै टाँसियो । गाढा हरियो वन सुनौलोरङ्मा परिणत भयो । त्यो सुनौलो किरण लम्पसार परेर सुतेका वुढानीलकण्ठको निधारमा प¥यो । उनी मुसुक्क मुस्काएझैँ गरे । त्यही बेला ती तीन यात्री सार्वजनिक बसबाट दक्षिणतिर लागे, मानिसहरूको भीडमा । फोहोरको दुर्घन्धित चुलीमा । मन्दिरै–मन्दिरको शहर कान्तिपुरी नगरीमा । असार ३०, २०७
हर्दिक धन्यवाद समीक्षक, समालोचक, कवि एवम् साहित्यकार श्री ठाकुर शर्मा भण्डारीज्यू तथा रचना साहित्यिक पत्रिका परिवार । रचना अङ्क १७७ बाट साभार
ठाकुर शर्मा भण्डारी
१. विषयप्रवेश ‘चरैवेति चरैवेति’जस्तो जीवन चक्रका अनुयायी बाह्य जगत् (प्रकृति)मा पनि भ्रमणशील छन् – कतिपय व्यक्तित्वहरू । ‘परिवर्तिनि संसारे’ अर्थात् ः परिवर्तनशील संसारको नित्य–नूतनता परिभ्रमण गर्ने मानवीय स्वभावका अनुयायीबाट लेखनको माध्यमबाटतत्तत् स्थानको भ्रमणानन्द गराउनु पनि महान् कार्य हो । नेपाली भाषा–साहित्यको स्वरूप देखिनु अघि यात्राका लेखोटहरू पाइएको सन्दर्भ भाषाशास्त्रीहरूको अनुसन्धानबाट प्राप्त भइसकेका छन् । यस नेपाली भाषा–साहित्यको सन्दर्भमा गगनिराजको यात्रा, जङ्गबहादुरको बेलायत यात्रा आदि प्राचीन कालखण्डका यात्रावृत्तान्त उल्लेख्य उपलब्धि मानिएका छन् । वर्तमान समयमा पुरातात्त्विक विषयको चर्चा होस् वा यात्रासाहित्यको विषयका साथै नेपाली भाषा–साहित्यमा महनीयकार्य गर्ने योगी नरहरिनाथ, पूर्णप्रकाश नेपाल यात्री आदि व्यक्तित्वबाट साहित्यिक उपलब्धि हासिल भएको छ । अहिले नेपाली भाषा–भाषीहरू संसारभरि फैलिएका छन्, भाषा–साहित्यको विकास प्रभावकारी रूपमा भएको पनि देखिन्छ । विविध पेसामा रहेका नेपालीहरूले आफ्नो यात्रासम्बन्धी विवरण लिपिबद्ध नगरे पनि साहित्यिक क्रियाकलापमा लोगेका र आफन्तलाई भेट्न जाने यात्रीहरूले भने यात्राको अनुभूतिलाई लिपिबद्ध गरी धेरै नियात्राका पुस्तकहरू प्रकाशित हुने गरेका छन् । अहिले नियात्रा लेखनको क्रमले व्यापकता पाएको सर्वविदित छ । २. नियात्राकार परिचय कथा, कविता, समीक्षा, निबन्धादिको लेखनबाट पत्र–पत्रिकामा छाएका एवं केही वर्षको अन्तरालमा भ्रमण तथा लेखन गरी नेपाली साहित्यको क्षेत्रमा चर्चित एवं स्थापित नियात्राकार विष्णुप्रसाद शर्मा पराजुली वि.सं. २०१६ साउन १५ गते रानीपानी, पर्वतमा जन्मिएका हुन् । शिक्षामा त्रिभुवन विश्वविद्यालय, नेपालबाट एम.ए.(स्नातकोत्तर) गरेका विष्णुप्रसादको रुचिको विषय पनि पदयात्रा हो । प्रेस काउन्सिल नेपालमा एक्काइस वर्ष काम गरेपछि अहिले राष्ट्रिय सञ्चार विकास केन्द्र संलग्न भएका कारण लेखनको क्षेत्रमा ‘पत्रकार आचार संहिता र व्याख्यानात्मक टिप्पणी’ (सहलेखन) पहिलो कृति थियो । नेपालको यात्रामा निरन्तर लागेका नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीको भुँडीपुराण प्रकाशनबाट २०७२ असारमा प्रकाशित ‘तिब्बत यात्रा’ दोस्रो एक यात्रानुसन्धानात्मक कृति आएको थियो । त्यसपछि ‘डोल्पो विश्वको जीवित सङ्ग्रहालय’ (२०७४) आयो भने पुनः सोही संस्थाबाट यात्रात्मक÷अनुसन्धानात्मक कृति ‘श्वेत पर्वत’(२०७८) अझ परिष्कृत, परिमार्जित र सुन्दर आकृतिमा नेपाली यात्रासाहित्यको फाँटमा पदार्पण गरेको छ । २. ‘श्वेत पर्वत’ कृतिमा विभिन्न विद्वान् स्रष्टाको धारणा यस कृतिमाविभिन्न चित्रहरू रहेको पूर्ण वनेमको आवरण पृष्ठ, अग्रलेख एवं तस्वीहरू बाहेक करिब ३२७ पृष्ठको पुस्तकमा आद्यन्तमा अत्यन्त सुन्दर रङ्गीन हिमाल, ऐतिहासिक, प्राकृतिक, पुरातात्त्विक क्षेत्रसँग सम्बन्धित चित्रहरू र ग्रामीण क्षेत्रका चित्रहरू समाविष्ट गरिएको छ । सन्दर्भसूची प्रस्तुत गरेर लेखकीय इमानदारी पनि झल्काइएको छ । मिश्रित संस्कृतिको चर्चा, मिश्रित घरको सन्दर्भ, बालीनाली, कृषि परम्पराका कुराहरू यथार्थ रूपमा आएका छन् । यसमा विद्वान् समालोचक एवं भाषाविद् माधवप्रसाद पोखरेलज्यूको ‘विष्णु पराजुलीको नियात्रा श्वेत पर्वत’ शीर्षकमा भनिएको छ ः लेखकको भाषा मिठो छ, वर्णन जीवन्त छ अनि यो किताब नपढेको भए म आपैm उल्लिखित ज्ञानमा निकै पुड्को हुने रहेँछु भन्ने आत्म स्वीकृति र मसिनो गरी पढुँ पढुँ लाग्ने कुत्कुती र खुल्दुलीले किताब पढ्दा, राँटा हान्दा र सक्ता मलाई किताबले अत्यन्तै आङ जुरुङ जुरुङ बनाउने शक्ति छ ।(अग्रलेख) विद्वान् रामकृष्ण रेग्मीको ‘श्वेत पर्वत वर्णन पदयात्राको, चर्चा जनजीवन संस्कृतिको’ शीर्षक लेखमा भनिएको छ ः धवलागिरि, मुस्ताङ र मनाङका विविध स्थानको पदयात्रामा डो¥याउने क्रममा श्री विष्णुजी पाठकलाई उच्च पर्वतीय हिँडाइ कस्तो हुन्छ, त्यसमा खास खास के के विषयमा ध्यान दिनुपर्दछ, कस्ता रमाइला सन्दर्भ फेला पर्छन्, कस्ता समस्या आइलाग्छन् र समस्या समाधानका लागि के विकल्प हुन सक्छन् भन्ने सन्देश दिनुहुन्छ । (अग्रलेख) देशका मूर्धन्य स्रष्टा, समालोचक, विद्वान्हरूको सान्दर्भिक अभिव्यक्तिले सूक्ष्मरूपमा पुस्तकको गरिमालाई बढाएको मात्र होइन कि विद्वान्, स्रष्टाको अनुभूतिजन्य कुरालाई दृष्टिगत गर्दा कृतिभित्रको सम्पूर्ण कुराहरूलाई चिरफार गरेको अनुभूति हुन्छ । नियात्राकारद्वारा ‘आफ्नो कुरा’ शीर्षकमा पुस्तक सम्बन्धमा पाठकलाई सजिलो हुने गरी आपूmले यात्रा गर्दाका अनुभूतिजन्य कुराहरू र त्यहाँको परिवेशगत प्राप्त प्रभावलाई यसरी व्यक्तगरिएको छ ः यो यात्राखण्डमा मध्य नेपालको धवलागिरि, अन्नपूर्ण, मुस्ताङ, मनाङ र दामोदर हिमालय क्षेत्र, हिमालय शृङ्खलाभन्दा उत्तरमा रहेका हिमाली उपत्यका, सहायक हिमालय र त्यस अन्तर्गतरहेका गुरुङ, मगर, थकाली र अन्य जाति बसोवास गर्ने गाउँ रहेका छन् । त्यसैगरी यस क्षेत्रका मुख्य ठूला नदी म्याग्दी, कालीगण्डकी र मस्र्याङ्दी हुन् । (अग्रलेख) ३. ‘श्वेत पर्वत’को समीक्षात्मक दृष्टिकोण धवलागिरि परिक्रमा पदमार्गको चित्र दिएर कहाँबाट प्रारम्भ भयो र कहाँ गएर टुङ्गियो ?भन्ने कुरालाई अगाडि नै छर्लङ्ग भएको छ । यसमा चार खण्ड छन् । प्रत्येक खण्डमा उपशीर्षक दिएर क्रमिक रूपमा वर्णन गरिएको छ । तीन सय सत्ताइस पृष्ठको सुन्दर आवरणमा सजिएको पुस्तकमा भ्रमणटोलीले गरेका, भोगेका सन्दर्भहरू नछुटाइकन वर्णन गरिएको छ । (क) पहिलो खण्ड – धवलागिरि परिक्रमा पदमार्ग हिमालयको अप्सरा मानिने धवलागिरिको परिक्रमा गर्ने क्रममा स्याङ्जा नौडाँडाबाट प्रारम्भ गरी कुश्मा, धवलागिरिको आधारशिला पुगेर पोखरा हुँदै पच्चीस दिनमा पूरा भएको सन्दर्भका अनुभूतिजन्य कुराहरूलाई व्यक्त गरिएको छ । ‘जुनकिरीसँगै मुदी गाउँको रात’ शीर्षकमा पर्वतारोही आङछोपाल शेर्पाको पहलमा जर्मन वैज्ञानिक डा. वाल्टर लुडरको सहयोगी बनी २०४३ सालमा धवलागिरि परिक्रमा गर्न भरियासहित तेह्रजनाको टोली स्याङ्जा नौडाँडाबाट कार्कीनेटाको उकालो हुँदै ज्ञादी (१२९४ मि.)मा बास बसेर पाखा–पखेरा नाघ्दै कुश्माबाट – सहस्रधारा, मालुङ्गा, खनियाघाट हुँदै पाँचौँ दिन वेनी पुगेको र म्याग्दी खोलाको मार्गबाट – दरवाङ, धारापानी, ताकम, सिवाङ फल्ले हुँदै मुदीको बास र धवलागिरि पदमार्गको मगर गाउँ, त्यहाँको परम्परा, व्यवसायको वर्णन विस्तृत गरिएको छ । भनिएको छ ः मुदीको पारि पाखा, म्याग्दीखोलाको पूर्वमा खिवाङ, बोबाङ,खाम्लासहित ठूला मगरगाउँहरू पखेरामा टाँसिएका थिए । हामी मुदीको पुच्छारमा बारीको पाटोमा पाल टाँगेर बस्यौँ । त्यहाँ दाउरा, आलु, खुर्सानी, हरियो साग किन्यौँ । गोठनजिक चुलो बनाएर पकाएर खायौँ । त्यस वेला पाको उमेरका मगर बाआमाहरूले खोकी लागेको, छाती दुखेको, हात र खुट्टामा लागेको घाउ देखाउँदै उपचारका लागि औषधी छ कि ! भनेर वाल्टरसँग मागिदिन मलाई सम्पर्क गरेका थिए ।वाल्टरले काटेको घाउमा दल्ने मलम दिँदा उनीहरूले उनलाई दुई हात जोरेर नमस्ते गर्दै धन्यवाद दिएका थिए । (पृष्ठ १३) यहाँ दिएको उदाहरणबाट थाहा हुन्छ कि अत्यन्त सरलतामा आप्mना भावनाहरू व्यक्त गरिएको छ । सिधासादा जनताहरूको नेपाल आज पनि पुरानै स्थितिमा भएको पनि देखिन्छ । ‘धवलागिरि उच्च आधार शिविर’ शीर्षक दिएर यात्राको क्रममा आधार शिविरतिरको हिँडाइमा मुरीदेखि उत्तरतिरको भेगअत्यन्त रमणीय हिमाली सुगन्धको परिवेशमा खोला, झरना पार गर्दै लाप्चे खर्कको पहरो काटेर जङ्गलको बासपछि चार हजार मिटरभन्दा माथिको आधारशिविरमा पुगेको सन्दर्भ छ ।त्यहाँ पर्वतीय क्षेत्रको बस्तीको अवलोकन, जनजातिको अवस्थालाई मनन गर्दै ४,७४८ मिटरमा पुगी त्यहाँ वेलावेलामा भएका सर्भेका सन्दर्भ र अहिले गरिएको सगरमाथाको उचाइ ८८४८.८६ भएको कुरा पनि छर्लङ्ग पारिएको छ । यहाँ नियात्राकारको अनुभूतिजन्यकुराहरू यसरी व्यक्त भएका छन् ः रातको चकमन्नतामा ताराहरू ओर्लेर धवलागिरिका सबै चुचुरामाथि लुकामारी खेलेका थिए । चुचुराभन्दा अलि माथि उँभिएर जूनले उज्यालोका किरण छर्केर तारा, हिमचुचुरा अनि हिमनदीको लुकामारी हेर्दै थियो । फ्रेन्च धुरीबाट आएको बरफिलो चिसो सिरेटोले निद्रादेवीलाई मुदीगाउँतिर हुत्याइदियो सायद । (पृष्ठ १९) ‘फ्रेन्च धुरीबाट देखिने साङ्ग्रिला’ भित्र संसारको सातौँ अग्लो हिमाल धवलागिरि (८१६७ मि.)ले ठूला भूभाग ओगटेको कुरा गर्दै यसमा विभिन्न विदेशी व्यक्तिले हिमाल चढ्न खोजेको सन्दर्भ र हिमालहरूको उचाइसहित वर्णन गरिएको छ । यहाँ महाकवि कालीदासको ‘कुमारसम्भव’ महाकाव्यको सन्दर्भ छ । यक्ष, किन्नर, गन्धर्व, देवताको कुरा छ, यो क्षेत्रलाई कैलाश र मानसरोवरकोआँगन भनिएको छ । वदान्य, अष्टावक्र आदि ऋषि–मुनिको कथालाई समाविष्ट गरेर त्यसको महत्तालाई वर्णन गरिनुका साथै वैदिक कालदेखि आजसम्मका स्रष्टाहरूको सन्दर्भ उठाइएको छ भने ‘धम्पुस चुलीको काखमा मृत्युसँग जम्काभेट’ शीर्षकमा धवलागिरिको ‘हिडन भ्याली’मा रात बिताएपछि दोस्रो अग्लो भन्ज्याङ धम्पुस (५२५० मि.) हिमालको ऐतिहासिकता, हिमाल चढ्ने प्रयासको सन्दर्भमा देशी–विदेशीका कुरा, आपूmले औषधी खान ढिलो हुँदा परेको शारीरिक समस्या, थापाचुली पुगेको र त्यहाँ भएको स्वास्थ्य समस्या आदिको वर्णन रहेको छ । त्यहाँको सुन्दरताका साथै कठिनाइको सन्दर्भ यसरी गरिएको छ ः अहिले पनि धवलागिरि परिक्रमा हिमाली क्षेत्रको कठिनतम पदमार्गमध्येको एक हो । ट्रेकिङ कम्पनीले यो पदमार्गलाई साहसिक र कठिन पदमार्गको स्थानमा राखेका छन् । त्यसैले यो पदमार्गमा यात्रा गर्ने पर्यटकको सङ्ख्या सगरमाथा आधार शिविर, अन्नपूर्ण परिक्रमा र अन्नपूर्ण आधार शिविरमागर्नेभन्दा धेरै गुणा कम हुन्छ । यहाँ यात्रा गर्दा हिमचुली आरोहण गर्दा चाहिने सामान र अनुभवी पथप्रदर्शकको व्यवस्था गरेर मात्र यात्रा तय गर्नुपर्छ । कठिन भए तापनि सुन्दरता र साहसिक पदयात्रामा भने यो अन्य क्षेत्रजस्तै अब्बल छ । (पृष्ठ ३६) ‘धवलागिरिका मगर’ शीर्षकमा भौगोलिक फैलावट र मगर जातिको सान्दर्भिक इतिहास, विभिन्न व्यक्तिहरूको खोज–अनुसन्धान, त्यहाँका घरहरूको बनोट, धर्म–संस्कृति, पहिरन, जन्म तथा विवाह संस्कार र मृत्युसंस्कार, चाडपर्व, पेसा–व्यवसाय आदिको वर्णन गरिएको छ । जसबाट त्यहाँ बसोबास गर्ने मगरजातिको सम्बन्धमा जानकारी हुन्छ भने यहाँ भ्रमणको क्रममा पर्वतीय सौन्दर्यका दृश्यहरू समाविष्ट गरिएको छ । जस्तै ः खयरभारानी ताल, अन्नपूर्ण आधार शिविर, हिमाल, मोदीखोला, मगरजातिका घर आदिका तस्वीर दिएर त्यहाँको भौगोलिक यथार्थलाई स्पष्ट पारिएको छ । (ख) दोस्रो खण्ड – देवचुली वरपरको परिक्रमा पदमार्ग यसमा विभिन्न उपशीर्षकहरू दिएर अन्नपूर्ण हिमालीक्षेत्रको सेरोफेरो, भौगोलिक, सांस्कृतिक, खोज–अनुसन्धानको, जात–जाति, परम्पराको वर्णन गरिएको छ । पहिलो ‘हिउँचुलीले थामेको छोमरोङको मन’मा नेपालको भौगोलिक सौन्दर्य, ऋतु अनुसारको परिवर्तन, सबभन्दा होंचा केचनाकलन (समुद्र सतह ७६ मि.)देखि सगरमाथा (समुद्र सतह ८८४८.८६ मि.)सम्मको भौगालिक अवस्थालाई संसारका मानिसहरूको आकर्षणको केन्द्र रहेको सन्दर्भ उठाएर अन्नपूर्णको वरपर वा काखमा बसोवास गर्ने विभिन्न जाति, अनेक संस्कृति, परम्परामा बाँचेका मानिसहरूको यथार्थ वर्णन छ । काठमाडौँ–पोखरा–घान्द्रुक–छोमरोङ–घोडेपानी–वीरेठाँटी–सिनुवा आदि स्थान हुँदै गन्तव्य आधारशिलातिर लागेको वर्णन गरिएको छ भने ‘देउचुली आधारशिविरमा प्रकृतिको प्रेमलीला’ शीर्षकले सर्वप्रथम त्यहाँको सौन्दर्य वर्णन गर्दछ । विभिन्न हिमटाकुराको विवरणसहित ‘जिम्मी रोवर्ट’को पदयात्राका सन्दर्भसँगै गन्तव्यमा पुगेपछिको वर्णनको सन्दर्भमा –जसले त्यहाँको सौन्दर्यको अनुपम उपहार र हृदयतः परिशीलन गर्दै महत्तालाई प्रदर्शन गर्दछ ःहामी त्यही विश्वचर्चित पदमार्गमध्ये एकको अन्तिम विन्दुमा पुगेका थियौँ । फुर्सद, स्वास्थ्य र साधन हुने हो भने अन्नपूर्ण र माछापुच्छ«े हिमनदीको अवलोकन गर्न सकिन्छ । माछापुच्छ«ेको दक्षिण धारबाट उदाएको सूर्यको किरणले सर्वप्रथम अन्नपूर्णको शिरमा चुम्बनको वर्षा गर्दै देखाएको प्रेमलीलाले त्यहाँ भएका पचासौँ पदयात्री हर्षले उफ्रँदै चिच्याउँदै आप्mना प्रेमी÷प्रमिकालाई चुम्बन बर्साउन थालेका थिए । (पृष्ठ ६४) “मुल्देको आँखीभ्mयालबाट देखिने हिमगङ्गा, देवीको वास खयर भारानी ताल, दृश्यावलोकनको अभिमानमा मोहोरे डाँडा” आदि शीर्षकहरूले अन्नपूर्णाको आधारशिविरमा पुगेर गुरुङ गाउँमा पर्वजस्तै मनाएको, तालमा पुगेर हेर्दाको त्यहाँको आनन्द वा स्वर्गको अनुभूति, मोहोरे डाँडाको दृश्यावली, लेस्पारको बसाइको विस्तृत वर्णन रहेको छ । त्यस सन्दर्भको एउटा उदाहरण दिँदा उपयुक्त होला ः लेस्पारबाट देखिने लोभ लाग्दो सूर्योदयले हाम्रो मनलाई तरङ्गित पार्दै थियो । चिसो मौसममा गरिएको अन्नपूर्ण आधारशिविर र खोप्रा डाँडाको यात्रा अत्यन्त सफलताका साथ सम्पन्न भयो । केही रात असह्य चिसो भएको भए तापनि सफा मौसममा देखिएको हिमालयको लामो शृङ्खलासहित देखिएको उपत्यका, नदी, पहाडका तरेलीदेखि तराईका फाँटसम्मको लोभलाग्दो दृश्यले हामी सबैलाई रोमाञ्चित पारेको थियो । (पृष्ठ ८३) (ग) तेस्रो खण्ड – मुस्ताङ परिक्रमा पदमार्ग यसभित्र ‘मुस्ताङलाई नेपालको ह्लासा भनिन्छ’ भन्दै यहाँको विविधतायुक्त धर्म–संस्कृति–परम्पराका दृश्यका साथै भौगालिक फैलावटको सन्दर्भलाई देखाइएको छ । मूलतः यसमा ‘थाकखोलाको ऐतिहासिक टुकुचे गाउँ’ भित्र यसको ऐतिहासिक पक्ष हेर्दा ब्रह्माका मानसपुत्र पुलह–पुलस्त्यदेखिको कथानक सन्दर्भ, कालीगण्डकीको सेरोफेरोको दृश्य, दामोदर कुण्डदेखि मुक्तिनाथ हुँदै विभिन्न ठाउँको वर्णन गरिएको छ । यस्तै ‘जोमसोमै बजार…’मा स्याउका लागि प्रसिद्ध ठाउँ मार्फको ऐतिहासिकता, विदेशी र स्वदेशीको आकर्षणको केन्द्र, कलात्मक भौगोलिकता, विभिन्न ठाउँबाट आएर बसोवास गरेका थकालीहरूको रीति–स्थितिको वर्णन रहेको छ । ‘धर्म–संस्कृतिको सङ्गम कागबेनी’मा पनि देवताहरूको वासस्थान भनिएको यो स्थलको धर्म–संस्कृतिको महत्त्व बताइएको छ । यहाँको भौगोलिक अवस्था, हिन्दूधर्म र कागबेनी, बौद्ध धर्म र कागबेनी, रेशम मार्ग र कागबेनी अन्तर्गत विविधताका कुराहरूलाई विस्तृतताका साथ वर्णन गरिएको छ । ‘मुक्तिको धाम मुक्तिक्षेत्र’मा त्यस क्षेत्रको महिमा, ऐतिहासिकता र भौगोलिक अवस्था एवं त्यहाँको सम्बन्धमा विभिन्न व्यक्तिहरूले गरेको अनुसन्धानको विषयमा चर्चा गरिएको छ । यस्तै त्यहाँको पूर्णतया विशेषता प्रकट गर्ने – चैलेको सुरुङबाट चियाउने कालीगण्डकी, राङबुङको स्वनिर्मित मूर्ति, चराङको सांस्कृतिक गौरव, रहस्य र यथार्थको धनी मुस्ताङ, मानव सभ्यताको अग्रणी मुस्ताङ, पर्खालभित्रको सहर ल्होमान्थाङ, ल्होमान्थाङ ः मैत्रेय बुद्धको प्रतीक्षा, सिजा जोङ गुफा, याराको लुरी गुम्बा, दामोदर हिमालमा हिमचुचुराको खात, दामोदर कुण्ड ः प्रकृति, धर्म र संस्कृतिको त्रिवेणी, सङ्कटमा धे गाउँ, प्राचीन मानव सभ्यताको धरोहर ः ताङ्ग्या र थाकखोलाका थकालीआदि शीर्षकहरूले त्यहाँको सम्पूर्णतालाई द्योतन गरेका छन् । यी मुस्ताङका महत्त्वपूर्ण स्थल हुन्, जसले यहाँको परिदृश्यको वर्णन गर्दछन्, जो कोही पनि यो ठाउँमा पुगेर स्वर्गको अनुभूति गर्छ, त्यस्तै यात्राको क्रममा नियात्राकारलाई पनि अनुभूत भएको छ । मुस्ताङ क्षेत्रलाई उनले मानव सभ्यताको अग्रणीका रूपमा औंल्याउँदै यहाँको मानव सभ्यता दस हजार वर्षभन्दा कम नभएको कुरा सन्दर्भ सहित उल्लेख गरेका छन् । (घ) चौथो खण्ड – मनाङ परिक्रमा पदमार्ग मनाङ क्षेत्रको भौगालिक स्थितिको वर्णन यस खण्डको सान्दर्भिक पक्ष हो । यस क्षेत्रका जुनसुकै उपत्यका वा भन्ज्याङ र हिमाच्छादित चुलीहरूको अवलोकन गर्दा जोसुकैलाई पनि आनन्दको अनुभूति हुन्छ । पहिला ‘मस्र्याङ्दी सलल..’ शीर्षक राखेर यात्राको प्रारम्भ भएको छ । २०७५ भाद्रमा पथप्रदर्शक देश राईसहित – मिठाराम अधिकारी, ज्ञानेन्द्र बानियाँ र स्वयं नियात्राकारको चारसदस्यीय टोली यात्रामा निस्कियो र प्रेमराजा महतको सुन्दर स्वरमा ‘मस्र्याङ्दी सलल…’ गीतको स्मरण गर्दै बाहुन डाँडा–स्याँगे झरना–जगत्–च्याम्चे झरनाको अनुपम सौन्दर्यको अवलोकनले भावविभोर बनाएको छ भने ‘ग्यासुम्दोको स्वर्ग जाने पौङ्दी डाँडा, मुटुहल्लाउने क्याङ्को भिर, बालुवाको ढिस्कोमाथि उँभिएको पूm गाउँ, भगवान्को घरमा गाँस र वास, नार ः लोभलाग्दो हिमाली उपत्यका, प्राचीन कवि मिलरेपाको ब्रागा, नेस्याङ्को राजधानी मनाङ उपत्यका, अन्नपूर्ण हेर्दै तिलिचोमा शिव र बुद्ध, नमेटिएको रहर ः थोराङ्ला आदिको भ्रमण गर्दै त्यहाँको वस्तुस्थितिको वर्णन विस्तृत रूपमा गरिएको छ । मनाङ सुन्दर हिमाली क्षेत्र हो, जहाँ पुगेपछि जीवन धन्य भएको अनुभूति नियात्राकारलाई भएको छ । यसको सन्दर्भमा भनिएको छ ः यस पटक थोराङ भन्ज्याङ पुग्दा मौसम साह्रै नै सफा भएकाले धीत मर्ने गरी मेरो रहर पुग्यो । हामीले ‘थोराङ ला पास ५४१६ मि. बधाई’ लेखिएको झण्डा र खादाले ढाकिएको भन्ज्याङमा तस्बिर लियौँ । विदेशीसमेत रहेका सेनाका आरोहीहरू भन्ज्याङसँगै दक्षिणतिर जोडिएको थोराङ चुलीमा आरोहण गर्दै थिए । (पृष्ठ ३१४) यसपछि ‘अन्नपूर्णका गुरुङ’ शीर्षक दिएर त्यहाँको भौगालिक फैलावट र इतिहास, घरको बनोट, धर्म–संस्कृति, जात, पहिरन, जन्म तथा विवाह संस्कार, चाडपर्व, पेसा–व्यवसाय आदिको विषयमा छोटकरीमा चर्चा गरिएको छ । यसरी हिमाली क्षेत्रको जीवनकतिपय अवस्था र कुरामा कठिन भए पनि बाहिरबाट भ्रमण जाँदा अमरावतीको अनुभूति अवश्य हुन्छ भन्ने कुराको सन्दर्भ ठाउँ–ठाउँमा आएको छ । ४. ‘श्वेत पर्वत’को विषयमा बुँदागत दृष्टिकोण (क) नियात्राकार विष्णुप्रसाद शर्मा पराजुलीको यो साहसिलो यात्रा आपैmमा महत्त्वपूर्ण रहेको छ । खण्डखण्डमा सम्बन्धित यात्राको क्रमका ठाउँ, गाउँ, हिमालयको नक्सा र तस्वीरसहित यात्राविवरणले पाठकलाई बुझ्न, हिमाली सौन्दर्यको बारेमा जान्न, पुरातात्त्विक यथार्थतामा पुग्न र जीवन्तता ठम्याउन नियात्राले बल अवश्य पु¥याएको छ । त्यसैले यस पुस्तकमा यात्राका ससाना कुरादेखि ऐतिहासिक, पुरातात्त्विक विवरणहरू प्रासङ्गिक रूपमा पनि उल्लेख भएको कारण केवल यात्रावृत्तान्त नभएर अनुसन्धानात्मक बहुउपयोगी कृति बन्न पुगेको छ, भन्न सकिन्छ । (ख) नियात्राकारले यात्राको क्रममा जिल्ला–नगर–गाउँको जनसङ्ख्या, साक्षरता, औसत आयु, प्रतिव्यक्ति आय, वर्ग कि.मि.को नक्सा–विवरण र भ्रमणको मार्ग प्रस्तुत गरेकोले पदयात्री कुन ठाउँमा, कसरी गए र त्यहाँको विषयमा के के कुरा पाठकलाई दिन सक्दा के फाइदा हुन्छ भन्ने कुरालाई दृष्टिगत गरी लेखनलाई अगाडि बढाएको स्पष्ट रूपमा देखिन्छ । जो कोहीले पनि यो पुस्तकलाई अध्ययन गरेपछि आर्थिक, सामाजिक, सांस्कृतिक, परम्परा आदिको जानकारी अवश्य हुन्छ । यति मात्र होइन, त्यो क्षेत्रको भ्रमणमा जाँदा यो पुस्तक साथमा लिएर हिँडेपछि पदयात्रीलाई त्यो क्षेत्रमा कहिँ कतै अल्मलिनुपर्दैन । यो पुस्तक पथप्रदर्शकको रूपमा लिन सकिने किसिमबाट नियात्राकारले पूर्ण विवरणसहित प्रस्तुत गरेको देखिन्छ । (ग) पहिलो खण्डको प्रारम्भमा छब्बिसवटा, दोस्रोमा उनन्तिसवटा, तेस्रोमा एकचालिसवटा र चौथो खण्डमा बीसवटा सम्बन्धित ठाउँका तस्वीर समाविष्ट गरी त्यस क्षेत्रका महत्त्वपूर्ण ठाउँहरूको अवलोकन गर्दा हामीहरूलाई पनि सँगसँगै हिँडाएको अनुभूति हुन्छ र पुस्तक पढ्दै जाँदा ती चित्रहरूले सम्बन्धित ठाउँको भौगालिक अवस्था, दुर्गम ठाउँमा भएका हिमनदी, हिमताल, गाउँ, वनस्पति आदिको प्रशस्त जानकारी हुन्छ । (घ) संसारमा नेपाल एक धार्मिक सहिष्णुताको प्रतीक हो, यो नेपालको विशेषता पनि हो । बहुसंस्कृति, बहुजाति, बहुधर्म भएको कारण परापूर्व कालदेखि समन्वयात्मक दृष्टिकोणबाट यहाँका मानिसहरू चलेका छन् र मुक्तिनाथ होस् वा मनकामना, पशुपति होस् वा बौद्ध स्तूप, सबैमा एकले अर्कोलाई आदर भावले लिने गरेको देखिन्छ । कुनै पनि जातिका व्यक्ति मठ–मन्दिरमा पुजारी भए पनि सबैले आदर–सत्कार गर्ने गरेको सन्दर्भमा नियात्राकारले अत्यन्त सूक्ष्म ढङ्गबाट अवलोकन गरी ठिक भए ठिक र बेठिक भए बेठिक भएको कुरालाई पाठक समक्ष प्रस्तुत गरेको देखिन्छ, जसले गर्दा हाम्रो दृष्टिकोण, रहन–सहनले एक अर्कालाई आकर्षण गरेको कुरालाई पुष्टि दिएको छ र यस पुस्तकले यसमा अझ बल प्रदान गरेको छ । (ङ) यसमा विषयसूचीमा रहेका शीर्षक र पुस्तकभित्र रहेका शीर्षकमा एउटा फरक परेको बाहेक पुस्तकको गातादेखि लिएर सम्पूर्ण कुराहरू अत्यन्त आकर्षक रहेको छ । भाषा परिष्कृत छ, बोधगम्य छ, आलङ्कारिक वाक्यांशले स्थान पाएका छन्, पढ्दा आनन्दको अनुभूति गर्न पाइन्छ । कतै कतै स्थानीय भाषाका शब्दले थिचे पनि नाम जस्ताको तस्तै रहने हुँदा केही फरक परेको छैन र अझ त्यसले चलनचल्तीको भाषा सिक्न सहयोग गरेको छ र यस्तो प्रयोगले पाठकलाई ज्ञान बढाएको छ । यसमा पढ्दा सलल..गण्डकी–मस्र्याङ्दीभैmँ बग्ने भाषिक प्रयोग छ । (च) यसमा थाकखोलाको ऐतिहासिकता र मगर र गुरुङको ऐतिहासिक पक्षमा पुस्तकभित्र धेरै कुरा आएका छन् । कालीगण्डकी क्षेत्र मूलतः ऋषि–मुनिको थलो हो, जहाँ अनेक ऋषिले आप्mनो वासस्थान बनाए । हिमाली क्षेत्र शिवपार्वतीको घर भनेर पौराणिक ग्रन्थहरूमा आएको छ । विज्ञानले प्रत्यक्ष बाहेक अरू कुरा नमान्ने हुनाले कतिपय कुरा यहाँ उल्लेख गर्दा नियात्राकार पनि धेरै परसम्म पुग्न नसकेको देखिन्छ भनौँ वा अनुमानतिर नलागेको पनि देखिन्छ, तथापि यो हज्जारौँ वर्षदेखिको मानवसभ्यताको केन्द्र मानेको कुरा भेटिन्छ । जे होस् यो अनुसन्धानमूलक ग्रन्थ चाहिँ अवश्य हो । धेरै लेखनसमय वा दृष्टिकोण खोज–अनुसन्धानमा लगाइएको छ, त्यसैले पनि महत्ता बोकेको कृति बन्न पुगेको छ । (छ) नेपालका सबै ठाउँ प्राकृतिक सौन्दर्यले परिपूर्ण भएकोले नियात्राकार देशको सौन्दर्य वर्णनमा थाक्दैनन् र ठाउँ–ठाउँको वर्णन गर्ने क्रममा पुनरावृत्तिको भ्रम पर्न सक्छ तर नियात्राकारले अत्यन्त सजग भएर शब्द सन्तुलनमा ध्यान दिएकोले केही फरक परेको छैन, पढ्दा आनन्द नै प्रदान गर्छ । यो एउटै भ्रमण नभएर पटक–पटक गरिएको भ्रमण हो । पहिलो यात्रा २०४३ सालको पच्चिसदिने थियो । दोस्रो र तेस्रो २०७४ सालको र चौथो २०७५ सालको यात्रा थियो । फरक–फरक यात्राका फरक–फरक साथी थिए । यो अत्यन्त उपलब्धिपूर्ण कठिन यात्राबाट नियात्राकार विष्णुप्रसाद पराजुलीले सुन्दर अनुन्धानात्मक कृति नेपाली साहित्यको फाँटमा प्रदान गरेर ठूलो गुन लगाएका छन् । यो पुस्तक सबैका लागि मननयोग्य, ज्ञानवद्र्धक र सङ्ग्रहणीय रहेकोमा कुनै द्विमत छैन । अन्तमा ‘श्वेत पर्वत’नियात्रात्मक कृति अध्ययन गर्दा मनमा तरङ्गित भावलाई कवितात्मक स्वरूप प्रदान गर्दै यो समीक्षामूलक एवं भावनात्मक लेखनबाट विश्राम लिन्छु ः यात्रा सुन्दर ‘श्वेत पर्वत’सँगै श्रीविष्णुको कथ्य छ यात्रासार रसाउने प्रकृतिको आनन्दको रास छ यात्रामात्र हुँदैन दिव्य धन हो अस्तित्वको सारमा लाग्यो यो अमरावती सुरभि हुन् शिवत्वको वासमा ।१।
नेपाली जनभावनासँग हुँदा पाइन्छ है ! शुभ्रता हाँस्छन् दिव्य मुहार पावन कथा प्रत्येकमा शिष्टता यात्रा जीवन–धर्म–कर्म सब हो भन्छन् नि स्रष्टा यहाँ यस्तो लेखन–कर्मले फलित भो आनन्द हृत्केन्द्रमा।२।
छन् रहस्य यहाँ अनेक कृतिका खोजेर नै मिल्दछन् अन्तःस्थापित भावनासँग सबै सत्कर्मले खुल्दछन् खोला छन् हिमताल उच्च गरिमा दिव्यौषधी मिल्दछन् यस्तो सुन्दर देशको विविधता संस्कारमा रम्दछन् ।३।
कस्तो नौलो ! विकास त कति हो कति ! घर जत्रै अग्लो फोहोरको डुङ्गुर चोक–चोक, गल्लि–गल्लिमा थुप्रिएको छ, मानौं त्यो हाम्रो आधुनिकता, विकास अनि उच्च सभ्यताको परिचायक हो । कालो रुप लिएको रूद्रमती खोलो थापाथली नजिक रुद्रेश्वर महादेवको छेउमा त्यस्तै प्राचीन सभ्यता बोकेको वागमती नदीमा हेलिन्छ । दुवै मिले पछि बागमतीले बागमती सभ्यतालाई गर्भमा अठ्याएर बग्छ, दुर्गन्ध विस्तार गर्छ, सहर भर । दुर्गन्ध घनिभूत तब बन्छ जव विष्णुमती कालिएर टेकु दोभानको दक्षिणमा राधाकृष्ण मन्दिर नजिक विशाल बागमती सभ्यतामा समाहित हुन्छ । उच्छृङ्खल र गैरजिम्मेवारीलाई आधुनिक सभ्यताको कसी मानेर त्रिभुवन विश्वविद्यालयको आँगनमा प्रमाणपत्रको लागि जोहो गरेर अनिश्चित लक्ष भेदन गर्न हिंडेका, यौवनले पुष्टिएका युवालाई हावासँगै बागमतीले सन्देश छर्छ । मास्क लगाए पनि, नगलगाए पनि त्यो गन्धले मरे छुदैन ती विद्यार्थीलाई । सत्य हो, उनीहरूको मुहार न त फोहरको गन्धले खुम्चिन्छ, न त नदीको सुगन्धले चौडिन्छ । यो दुर्गन्धलाई चोभारको डाँडामा रहेका आदिनाथ लोकेश्वर पनि चित्तमग्न भएर ग्रहण गर्न बाध्य छन् । लोकेश्वर पनि आजकल प्रेमीप्रेमिकालाई मिलाउने र विवाहितको सम्बन्ध विच्छेद गर्ने कार्यमा पहिलेभन्दा व्यस्त छन् । प्रेम जोड्दा र तोड्दा आदिनाथ लोकेश्वरले प्राचीनकालदेखि लिएको भाँडाकुँडा उपहार बाहेक लुकेर पनि नगद नलिएकाले आदिनाथ गनाएका छैनन् । झकाझक बनेको छ चोभार । युवायुवतीको प्रणयस्थल बनेको छ मन्जुश्री उद्यान । साँच्चिकै हो त, गरे के हुन्न र ? कीर्तिपुर, बुङ्मती, खोकना र चोभार वरपर त्यो क्षमता थियो, छ र त देखाइदिए विशाल मूर्ति बनाएर मञ्जुश्रीको । मञ्जुश्रीले काठमाडौँ उपत्यकाको विशाल ताललाई चोभारको पहाड काटेर पानी बग्ने बनाईदिए । ताल सुक्यो । स्वयम्भूमा चैत्य स्वयम् उत्पन्न भयो । उपत्यकालाई सपिएन्स मानव जातिले कोपरे, आफ्नो बनाए, इतिहास खाए, फोहोर थुपारे यो २–३ हजार वर्षमै क्षतविक्षत पारे । मन्जुश्रीलाई हिन्दु, बौद्ध सबैले बोधिसत्व भन्दै बुद्धि, ज्ञानको रूपमा लिन थाले । हो, तीनै बोधिसत्वको मूर्ति चीनमा अरनिकोले बनाए पछि नेपालमा बन्यो । उनको ३३ फिट अग्लो मूर्ति चोभारमै बन्यो जहाँको गल्छी खोलेर उनले पानी दक्षिणतिर बगाईदिएका थिए । त्यहीँ उद्यान बन्यो, होटल बन्यो, मानिसको भीड हुन थाल्यो । बाफरे ! अहिले चोभार त प्रेमकुण्ड, प्रेमपखेरो, प्रेमगल्छी, प्रेमपुञ्ज बनेको छ । युवा जोडीको त के कुरा ? झरेर बाँकी रहेको कपालमा हाँडीको मोसो जस्तै कालो दलेर उमेर ढाकेका मानिस पनि तन्नेरी तरुनी बनेकाहरूको पनि भीड उत्तिकै । क्या गजब ! आम्मै नि, मोटर र बाइकको लाम त कुरै नगरौँ । म त्यसलाई विकास भनिदिन्छु । तर अचम्म मेरा मित्र अनिरूद्र उल्टै मलाई प्रश्न गर्दै झपार्छन् – ‘छोरीको उमेरसँगै उनको स्तनको आकार बढनु, छोराको ओठमा जुँघाको रेखी बस्नु विकास हो त ?’ जवाफ दिने सामथ्र्य मसँग छैन । मैले शिवपुत्रतिर कुरा मोडिदिएँ । चार मूख्य विनायक चन्द्र, सूर्य, अशोक र जल विनायक मध्ये जल विनायक त्यही चोभार गल्छी नजिक विराजमान छन् । बागमतीको गन्ध, प्रकृतिको विनास, स्खलित नैतिकता र इमान बारे उनी मरे मुख खोल्दैनन्, आफै जल हुन्, जलका ईश्वर हुन् । पिता शिवजीको चरणकमलको जल हो, बागमतीको, जुन उनै शिवको पुर शिवपुरीको गर्भ बागद्वार भन्ने ठाउँबाट झरेको हो । बाबुको गर्भबाट आएको जल भनेर जल विनायक चुपचाप बस्छन् । आफ्नै पिताजीको शुद्धजल सम्झेर आचमान गर्छन् । गन्धबारे चुप बस्छन् । भक्तजनले ल्याएको लड्डु खाएर मख्ख पर्छन् । यसरीनै त चलिरहे छ नेपालमा थिउरिएका नेपालीको दिनचर्या । चोभारले राहत पायो । हिमाल सिमेन्ट कारखाना बन्द भयो । धुलोको मुस्लो आउन छोड्यो । क्यान्सर हुनेलाई भयो । कारखानाको मृत्युपछि चोभार क्षेत्रको धर्तीमा च्याँ गर्दै जन्मेकालाई धुले अक्सिजन तान्न परेन । त्यसैमा सुख्खा वन्दरगाह बन्यो । त्यसलाई पनि साथीहरूले छली विकास भने । मलाई पनि हो कि जस्तो लाग्यो किनभने त्यो सुख्खा वन्दरगाह साच्चिकै सुख्खा छ । त्यसको परिसरमा बडेमाका डोजरहरू ‘खाली शिशी, पुराना कागज, फलामका टुक्रा’ भन्ने आवाजको प्रतिक्षामा छ । नजिकै बागमती बगेको छ र पनि त्यसलाई सुख्खा वन्दरगाह भनियो, त्यसमा मलाई चिन्ता लागेन । पानीजहाज आउन सकेको भए वन्दरगाह भनिन्थ्यो होला ! वन्दरगाहमा काम गर्ने सुकिला नीला कोटहरूका लागि बनाईएको प्रशासनिक भवन भूतबङ्गलामा रूपान्तरण भएछ । तर कस्लाई के मतलब ? आफ्नो बाबुको सम्पत्ति त बाँझो पल्टेको बेला सुख्खा वन्दरगाह भूतबङ्गला वा बादरबङ्गलानै भए पनि किन टाउको दुखाउने ? म कहिले अचम्मिन्छु, यस अर्थमा कि त्यो हिमाल सिमेन्ट उद्योगको जग्गामा कसरी ड्राईपोर्ट बन्यो होला ? नाम चलेका पार्टीका नाम चलेकै नेता, क्षमतावान कर्मचारी र भूमाफियाको मिलेमोतोमा उनका छोरा, मित छोरा, साली, सालीको छोरीको नाममा बालुवाटार जसरी, गोहीले हरिणको पाठो सर्लक्क निले झैँ किन ननिलेका होलान् ? केशर महल खान तिनीहरूको आँखामा किन फुलो परेको होला ? धन्य हो, आजसम्म कीर्तिपुरको विश्वविद्यालयको आँगनमा मत्ता हात्ती छिरेन । मित्र अनिरुद्रले बन्दरगाहको पनि मनग्गे पीर गरे । गाली गरे । उनको गालीले मान्छे मर्ने भए साच्चिकै जलविनायकले पनि बचाउन नसक्ने गरी ‘ड्राईपोर्टमा’ मर्ने थिए । ‘ड्राईपोर्ट’ काम नलागे पनि उनको विरोधमा कुनै तुक देखिन । मलाई लाग्यो कमसेकम हिजो सिमेन्टको धुलो खाएर आज दमरोगी भएकाको सन्तानले ड्राई र पोर्टको नाम त सुने । तिनीहरूको फोक्सोले धुलो धोक्न त परेन । त्यो उपलब्धि हैन र ! मैले कुरो नबुझेकै रहेछु । देशको राजधानी काठमाडौंमा मानिसको तँछाड–मछाड भीड, गज्याङ्–गुजुङ्, फोहोरको डुङ्गुरमा बसेका झिङ्गाको भीडभन्दा अटेसमटेस भीड । आम्मैनि ! कति हुन् ती सेता, राता, काला, चाँदी रङ्का कार ! वर्खे कमिलाकोभन्दा लामो जन्ती जस्तो । हिजोका तरकारी र चामलका पसल त आज कारका सो रूम भएका । अनि त्यस्तै भब्य क्याफे, सेकुवा कर्नर भन्ने भट्टी पनि कति हुन् ! डोल्पाको मेरो मित्र दोर्जी रोकाय यहाँ आउदा अर्कै देशमा पुगेको झस्को पसेजस्तो । चारकिलो चामल लिन चार दिन हिँडेर मानिसको लाममा बसेको देखेको उस्ले कारको लाम देख्दा नतर्सेर के गर्नु त ! अनि, त्यो विकास हैन र भन्या ? अनिरुद्र त्यो पत्याउन पटक्कै तयार छैन । म विलखवन्दमा पर्छु । उनी दिगो विकासको कुरा गर्छन् । नजिकैको वङ्गलादेशको उदाहरण दोहो¥याउछन् । प्रेसर बढाउदै उनी कराउँछन्–कम्तिमा कृषिमा आश्रित देश भएकाले आफ्ना सन्तानको लागि धान, गहुँ, कोदो, मकै विदेशबाट ल्याउन नपरोस्, ससाना भए पनि कलकारखाना स्वदेशमै बनुन्, रोजगारी मिलोस्, खाडीको गर्मीमा नेपालको कलिलो हिमाल पग्लिन नपरोस् । बागमतीको पानी कालो नहोस् । सहर दुर्गन्धित नहोस् । हरियाली नास नहोस् । घाटमा लम्पसार पर्नुभन्दा पहिले सफा हावामा अन्तिम सास फेर्न पाईयोस् । नेता र कर्मचारी जिम्मेवार होउन् । योजना गरेका काम अलपत्र नपरुन । अति भ्रष्टाचार नहोस् । सामान्य अर्थमा मित्रको आसय त्यही हो । उनी धेरै बोल्दैनन् । घत परे मज्जैले हाँस्छन् माथि डाँडामा बसेकी चम्पादेवी आमाले सुन्नेगरी । मिचेर, थिचेर, चिमोटेर, तानेर, लुछालुछ गर्दा बाँचेर क्रिटिकल केयर युनिट (सिसियु)मा भर्ना भएको टौदहले अक्सिजन पाएछ, ब्यूँतियो । अनिरुद्रले वरपर नियाले । टौदह पश्चिमको चम्पादेवी बस्ने अग्लो हरियो पहाड हेरे । इतिहासको कुरा कोट्याउँदै भने– टौदह भने बाँचेछ । अनिरुद्रको अनुहार शरदको जुनझैँ उज्यालिनुमा टौदह वरपरको परिवेश थियो । त्यो त काठमाडौँ हो र ? प्राचीनकालमा काठमाडौको त्यो ताल कतै टौदहसम्मनै फैलिएको त थिएन ? चोभारको गल्छीबाट उपत्यकाको जल दक्षिणतिर लाग्यो । अनि त्यो माथिल्लो खण्डमा रहेको ताल बाँकी रह्यो । ठूलो तालका नागहरू आफूलाई बचाउन त्यो अग्लो ठाउँमा सुरक्षित हुन्छ भनेर त्यही बसे । अनि स्थानीयले टौ (नाग) दह नागको पोखरी भने । टौदहको चारैतिर क्याफेहरू उभिएका थिए । डुङ्गा तैरिएका थिए । मुलतः भरखर मात्र यौवनावस्थामा पुगेका तन्देरीतरुनी स्वच्छन्द भएर आफ्नो यौवन छताछुल्ल हुने गरी टौदहमा पोख्न आतुर देखिन्थे । खासगरी मूल काठमाडौँको त्यो अनौठो निस्सासिने गन्धले अत्तालिएका ती युवतीहरू आफ्नो कुतकुतिएको वैँस पूर्ण नग्न भएर टौदहलाई समर्पण गर्न मग्न थिए । त्यो जीवनमा एक पटक आउने यौवनको नशा हो । त्यो यौवन शरीरको नसा–नसामा व्याकुल भई दौडेको हुन्छ, जस्लाई हाम्रा ऋषिले नियन्त्रण गर्न नसक्दा धेरै पुराणहरूको जन्म भएको थियो । युवतीहरूको मुहार हसिलो थियो मानांै त्यो मुस्कानमा हिउँदको निलो आकाश समावेश भएको होस् । युवतीहरूको शरीर यस्तो कञ्चन र कोमल थियो, मानौ माघे झरीमा हिमालमा परेको आलो हिउँ हो त्यो । उनीहरूले त्यस्तै सम्वेदनशील अङ्गको सम्वेदनशील भाग ढाक्ने झिनो प्रयास मात्र गरेर अन्य भाग युवाको दृष्टिको लागि खुला गरिदिएका थिए । त्यो देखेर मेरा मित्र झस्के । कतै शिव नृत्य नाच्ने हुन् कि, म डराउदै थिएँ । उनी डेनमार्कमा सन बाथ गर्ने गरेका मान्छे । उनी टोलाए । शायद, डेनमार्कनै पुगे होलान् भन्ने लाग्यो मलाई । वैंश फक्रेपछि वैंश देखाउन सबै विकास डेनमार्कको जस्तै हुनपर्छ भन्ने छ र ? ‘यो त विकास हो नि, मित्र ।’ मैले जिज्ञासा राख्दा यसपटक उनी हाडीमा मकैका फुला पडकेझैँ पड्केनन् । चुईक्क बोलेनन् । अलमलमा परे । लहै–लहैमा पहिचानविहीन भएर सर्वाङ्ग नाङ्गो जस्तो लाग्ने ती युवतीको पहिरन देखेर उनी अलमलिए । शुरुमा हाँस्न थालेका उनी एकाएक असारे दिनमा क्षणभरमै कतैबाट वादल आएर वातावरण अँधेरिएझैँ अधेँरिए । त्यो विकास देखेर चिन्तित भए । त्यसपछि भने – डेनमार्कसँग हाम्रो तुलनै हुन सक्दैन । त्यहाँको प्रतिव्यक्ति वार्षिक आय रु ७४ लाख ६४ हजार छ जवकी हाम्रो मात्र १ लाख ३२ हजार छ । उनीहरूले आफ्नो संस्कार, संस्कृति बचाएर, भोग गर्ने आधार बनाएर मोज गरेका छन् । उनीहरूलाई सुहाउछ । हामीले नक्कल गर्न मिल्छ ? यी नफुल्दै चाउरी पर्न तम्सिएका यौवन हुन् । अनिरुद्रको अनुहार रातो भयो मानौं नेपालको संस्कृति बचाउने ठेक्का उनले लिएका हुन् । प्रतिवाद गरिनँ । वर्खाको बेला जब काठमाडौं मुस्काउँछ त्यसबेला पहाड गाढा हरिया र गम्भीर प्रकृतिका देखिन्छन् । सेता बादलका फुर्का र कताकति खुलेको उपत्यकाको सौन्दर्य आकर्षक हुन्छ । तर जल विनायक र चम्पादेवीको निर्जल भाकल गरे पनि हिमालको दर्शन पाउन भने दशैँ नजीकिनै पर्छ । त्यस्तै सोचमा थिएँ । बेला बर्खै हो । पानी हर्र–ह्वार्र प¥यो । छाताले थेगेन । बोसनको उकालोमा चम्पादेवीले साथ दिइन उक्लन । चम्पादेवीको फेदमा बसेकी पाउदेवीले उकालोमा चढन प्रोत्साहन गरिन् । घना ओसेपिलो वन । चिस्याने झाडी । ढुङ्गे खुडकिलो । जुकाको आक्रमण अपत्यारिलो । जुका कम आक्रामक थिएनन्, मानौं कि ती नेपालका मन्त्री र उच्च पदस्थ कर्मचारी हुन्, जो पदमा रहँदा जुका बन्ने होड गर्छन् । तीनले खाने भनेको किसान, मजदुरको रगत हो र जुकाले खाने भनेको पनि गोठालो र किसानलाई त हो, जो गाई, भैँसी, याक, चौरी भेडाबाख्रा लिएर वनतिर उक्लन्छन् अनि बेलुकी पख गोधूलि साँझमा घाँसको डोको बोकेर गोठ झर्छन् । उकालो हिँडदै गर्दा किन हो कुन्नि ती जुकाहरूमा मैले सबै मानिसका अनुहार झलझली देखेँ । त्यहाँ मेरो आफन्तको अनुहासर पनि थियो जो मन्त्री बनेका थिए । ती जुकाको अनुहारमा कति नातेदार विधायक थिए । कति साथी थिए, जो ठूला नेता बनेका थिए । मेरो मथिङ्गल ती सपियन्स जुकाले खाईरहेका थिए, ठीक त्यसैबेला चम्पादेवीको पाउदेखि उकालिँदा वनका जुकाले जुत्ता भित्र छिरेर कति छिटै रगत चुसिसकेछन् । आपूmलाई सचेत भन्ने म, मेरो रगत उनीहरूले चुसेको थाहै पाइनँ । सोचें, थाह नपाउनेलाई त झन कति चुस्दाहुन् हगि ! तपाईलाई थाह छ कि छैन कुन्नि ! रगत चुस्दा चुस्दा ढाडिएर जुका आफै मर्छ नि ! उसको मृत्यु हुन्छ । रगत बाटोमा पोखिन्छ । हाम्रो देशका नेताहरू पनि भ्रष्टाचार गरेर गरिब नागरिकको रगत चुस्दाचुस्दै डर्लङ्गै ढल्छन्, मर्छन् । उनको लासलाई घिसार्ने मलामी हुँदैनन् । तर पनि रगत चुस्न छोड्दैनन् । लोभलाई पछ्याएर मृत्यु बिर्सँदा त्यस्तो हुन्छ । वर्खामा पनि चम्पादेवीको पहाड उक्लने युवायुवती बग्रेल्ती नै छन् । पिठ्यूको झोला स्पिकर सहित छ । मोबाइलबाट ढङ्–ढङ् आवाजका साथ जीवजन्तु र वनस्पतिलाई झस्काउने गरी गीत बजाएका छन् । चराचुरुङ्गी तर्सेर भार्रभुर्र गर्दै सल्लाको वल्लो र पल्लो डाली चहार्दै ती सभ्य सपिएन्स मानवका सन्तानलाई नियाल्दै छन् । आधुनिक सभ्यता सिकेका ती बृद्ध जुकाका असभ्य सन्तान हुन्, मेरो साथी अनिरुद्रे भन्छ । सभ्यता र संस्कार कुच्चिएकोमा अनिरुद्र क्रोधित र दुःखि छ, वश् । काठमाडौँको विकासबाट अत्तालिएर म चम्पादेवीको पाउ हुँदै चम्पादेवीको काखमा लुटपुटिन पुगेको हुँ । त्यहाँ त विकास झन् सप्रेछ । वल्लोपल्लो भिराले पखेरो, बाटोको दुवैतिर यत्रतत्र, रुखका हाँगामा समेत विकास पुगेको थियो, खासगरी नेपालका सभ्य कर्णधार युवायुवतीबाट । चम्पादेवीको काखमा प्रकृतिको सौन्दर्य यस्तो देखिन्थ्यो कि मानौँ कुनै उदण्ड युवाले सुकुमारी युवतीको अनुहारमा तेजाव छर्केको होस् । वरपर छरपस्ट छरिएका वियरका फुटेका र सग्ला बोतल, विस्कुट, चाउचाउका प्लास्टिक, कोक, स्प्राइटका बोतल, प्लास्टिकका थाल र कचौराले त्यो अनुभुत गराए । त्यसो गर्ने सबै यो देशका विश्वविद्यालयमा पढने र पढाउने बोधिसत्व थिए । मलाई नौलो लागेन । किनकि मेरो देशमा सभ्यता, संस्कृति र संस्कारको अनुहारमा तेजाब खन्याईएको छ । हामीले वैदिक, औपनिषदिक, बौद्ध, काब्यकालको सभ्यता भएको माटो भनेर मात्र हुन्छ र ? त्यो उहिलेको कुरो हो । त्यसबेला त्यस्तै थियो, पिपलको पूजा हुन्थ्यो । आज आधुनिकता छ, त्यसैले पिपल काटिन्छ, तातो हावा पिइन्छ, अनि तातो हावाले युरोप जलेझैँ जलिन्छ । हिजोको सभ्यताको कुरा गर्नेका सन्तान आज आधुनिक सभ्यताको मातमा चम्पादेवीको काखमा पुगेर विएर पिएर, त्यसलाई त्यहीँ फुटाएर चप्पादेवीको छातिमा रोप्छन् । त्यसबेला ती नातिनातिनीको सभ्यता देखेर बज्यै चम्पादेवी मूर्छित हुन्छिन् । देवी मूर्छित भएको देख्ने मानिसको आँखामा मोतिया विन्दु यति पुरानो भएको छ कि त्यसलाई डा. सन्दुक रुइतले पनि उपचार गर्न सक्दैनन् । ‘बाबु बोतल त्यसरी वनमा नफालन’– मृदु शैलीमा अनिरुद्रले बोतल फाल्ने युवालाई भने । ‘राजनीति गर्ने भ्रष्टाचारी आएर सफा गरुन्’ – युवाको जवाफ आयो । बाबु राजनीति त सपिएन्सका सन्तानले गरेका हुन्, यो वनको के दोष ? ती डाली–डालीमा नाच्ने जुरेली, कोकले, ढुकुर र लामपुच्छे«को के दोष ? ती सल्लोको फुर्को र लालीगुराँसको के दोष ? वन त हाम्रो प्राण हो । अनिरुद्रले सिकाउन खोजे । उसले अनिरुद्रलाई वियरको बोतल चम्पादेवीको छातीमा हानेर फुटाउदै देखायो । अनिरुद्र बोतलसँगभन्दा पनि आधुनिक शिक्षित युवाको संस्कार र सभ्यतासँग डराए । अनिरुद्र हारे शिक्षित युवासँग । त्यस्तैमा चम्पादेवी देखिइन । पढेगुनेका सभ्य नातिनातिनीको सभ्यता देखेर होला चम्पादेवीका आँखाबाट बलिन्द्रधारा आँशु असारे झरीझैँ झरीनै रहे । त्यसबेला झरी भने बन्द भै सकेको थियो । टौदह पनि गम्भीर देखियो । उपत्यका सास फेर्न नसकेर निस्सासिएको त्यहाँबाट देखिन्थ्यो । चम्पादेवीले निरन्तर किराँतभन्दा पहिलेदेखिको सभ्यता देखेकी छन् । र आजका नातिहरूको पनि सभ्यता उनले नियालेकी छन् । शायद नसम्हालिएका, मातेका नातिनातिनी र तिनका जुका प्रवृत्तिका पिताको गतिबिधि देखेर होला चम्पादेवी रोइन् । प्रकृतिका यी सन्तानले नै किन यसरी प्रकृतिको नास गरेका छन्, सपिएन्स मानवले आपूm बाँच्न प्रकृतिलाई माया गर्नु पर्छ, ललाई–फकाई गर्नु पर्छ भन्ने किन बुझेनन् । चम्पादेवी विवस भएर घरै–घर, फोहोरै–फोहोरको डुङ्गुर एक टकले हेरिरहिन् । कालो लेदो सहितको बागमती नदी चोभारदेखि तल–तल दक्षिण लाग्यो, चम्पादेवीको आँशु बोकेर ।*-* साउन ५, २०७९
बेलायत र नेपालको हिमाली क्षेत्रको कथा जनमत साहित्यिक मासिक असार २०७७ अंक २७३ मा प्रकाशित ।
विष्णुप्रसाद शर्मा पराजुली
कथा ६. ज्याक्सन पाल्देनको चौरीगोठ कोभिड–१९ को महामारीबाट संसारभर दिनहुँ मानिस मरिरहेका थिए । सर्वप्रथम चीनमा देखिएको भाइरस चीनलाई थर्कमान पारेर हाम्रा प्राचीन मुनि नारद चिम्टा बजाउँदै विश्व भ्रमणमा निस्केझैँ भ्रमणमा निस्क्यो । महाविकसित देशहरूले विज्ञानको चमत्कार र धनको फुइँ देखाउँदै मत्त भएर प्रकृतिको चरम दोहन गरेकाले भूमण्डल त्रसित थियो । एकातिर बल, विज्ञान र धनको मातले प्रकृतिको चरम दोहन भएको थियो भने अर्कोतिर तिनै प्रकृति आमाका सन्तान मरुभूमिको तातो हावामा जुरेली चरी भुकुभुकु मरेझैँ पृथ्वीमा भोकभोकै र बन्दुकको गोलीबाट मरिरहेका थिए । शक्तिशाली देशले जसरी होस् संसार कब्जा गर्ने उत्कट आकाङ्क्षा राखेर जल, भूमि र अन्तरिक्षमा पुराणका कथाहरूमा रहेका स्वर्गका राजा इन्द्रले अप्सराहरूसँगै झुमेर राज गरेझैँ राज गर्न प्रतिस्पर्धा गर्दै थिए । प्रकृतिमाथिको दोहनले माताको छाती तात्नुका साथै शिर भीमकाय पहाडले थिचेझैँ थिचिएको थियो । त्यो विकराल अवस्थाले गर्दा प्रकृति माताले मानवलाई तर्साएर पृथ्वीलाई बचाउन कोरोना कालभैरवीको रूप नलिएर अरू के गर्ने त ? हुन पनि त्यस्तै भयो । अनि धरती माताले एक्काइसौँ शताब्दीको कोरोना कालभैरवीको रूप धारण गरेर विश्वभ्रमण गर्न थालिन् । एसियाबाट फुत्त निस्केर सिधै युरोप र अमेरिका पुगिन्, तीनका धोती घुँडामुनि धारीदिइन् – जसले संसारलाई पाँचसय वर्षदेखि एक छत्र राज गरिरहेका थिए । बेलायतको सेन्ट थोमस अस्पतालको क्याविन कक्षभन्दा बाहिर ज्याक्सन पाल्देन घले चौध दिनदेखि आफ्नो बाजे पाल्देन घले गुरुङलाई कुरेर बसेको थियो । बाइस वर्ष बेलाइतको गोर्खा ब्रिगेडअन्तर्गत शाही गोर्खा राइफल्समा सेवा गरेर क्याप्टेन पाल्देन घले गुरुङ पेन्सनमा निस्केका हुुन् । उनको बाल्यकाल मनाङको थोन्जेमा बितेको थियो । उनका पिता छिरिङ पाल्देन घले पनि बेलायती गोर्खा सेनामा नै थिए । नेपाल आउने–जाने गरे तापनि ९४ वर्षको उमेरमा छिरिङ बेलाइतमा नै बितेका थिए । छिरिङको पुख्र्यौली घर मनाङको पूm गाउँ हो । बेलायती सेनामा भर्ती भएपछि उनले आफ्नो परिवारलाई तल्लो मनाङको ग्यासुम्दो भनिने थोन्जेमा सारेका थिए । बेसीसहरमा खेत र बारी पनि जोडेका थिए । धेरै गोर्खा लाहुरेहरूको बसोबास बेलाइतको उलवीच, ग्रीनवीच, प्लमस्टेट, चार्लटन, आसफोर्ड, केन्टरवरी, फल्कस्टोनमा रहेको छ । उनीहरू आसफोर्डमा बसोबास गर्दथे । ज्याक्सन पाल्देन घले गुरुङ छिरिङ पाल्देनका पलाती हुन् । छिरिङसहित उनको चौथो पुस्ता अहिले बेलाइतमा बसोबास गर्दै आएको छ । थर लेख्दा उनीहरूले घले गुरुङ लेख्ने गरेका छन् । पश्चिमतिर हानिएकी कोरोना कालभैरवीले विगत ७४ वर्षदेखि बेलाइतमा बस्दै आएका ज्याक्सनका बाजे पाल्देन घले गुरुङलाई छोडिनन् । ज्याक्सन पाल्देनले हजुरबालाई बाजे भनेर सम्बोधन गर्छ । बाजे बिरामी परेदेखि उसले छोडेकै थिएन । कोरोना सरुवा रोग हो भन्ने थाहा पाए तापनि ऊ अस्पतालको प्रतीक्षालय जान छोडेन । चौधौँ दिन बाजेको स्वास्थ्य प्रतिवेदन आउँदै थियो । “पाल्देन घलेको नातेदार को हुनुहुन्छ ? यहाँ आउनुहोस् ।” एक जना अग्ली, मोटी त्यस्तै करिब बत्तिस वर्षकी अति सुन्दर गोरी रेविका नाम गरेकी नर्सले खबर गरिन् । उनले घाँटीसम्म गाउन लगाएकी थिइन् । अनुहारको मुखौटो पछिल्तिर झुण्डिएको थियो । “म पाल्देनको नाति, ज्याक्सन पाल्देन हुँ । बाजेलाई कस्तो छ ? ज्वरो घटेको छ कि छैन ? बाजेलाई निको हुन्छ नि ! मैले बाजेलाई कहिले भेट्न पाउँछु ? कृपया एक पटक भेटाइदिनु न !” ज्याक्सनले नर्सलाई बोल्नै नदिई एकै पटकमा मनमा आएको सबै कुरा सोध्योे । “बाजेलाई हिजोभन्दा कठिन भएको छ । आइ.सि.यु.मा भेन्टिलेटर खाली भयो भने भोलि बेलुकादेखि उनलाई भेन्टिलेटरमा राख्नुपर्छ । सास फेर्न कठिनाइ हुँदै गएको छ । अहिले बोल्न सक्नुहुन्छ । भोलि के हुन्छ भन्न सकिँदैन । त्यसैले आज दुई घण्टा एक–एक जना भएर पूरै गाउन लगाएर भेट्न मिल्छ । तर, कम्तिमा तीन मिटर टाढा बस्नुपर्छ । क्याविनभित्र जाँदा र बाहिर आउँदा पूरै औषधि छर्कनुपर्छ । यहाँ जो जसले क्याविनमा भेटने हो उनीहरू चौध दिन एकान्तवास बस्नुपर्छ । त्यस्तो गर्न सक्छौँ भने यो फाराम भरेर तयार गर । म तीस मिनेटपछि आउँछु ।” रेविका नर्सले पनि ज्याक्सनले खोजेभन्दा बढी जानकारी दिइन् र क्याविनतिर छिरिन् । ज्याक्सनले आमा, बाबु र आफ्नी प्रेमिका जेनिस भट्टराई तीनै जनालाई फोन ग¥यो । बाबा र आमा दुवैको सरकारी नोकरी भएकाले चौध दिन बिदा लिन मिलेन । दुवै जनाले फेस टाइपबाट आफ्नो पिता र ससुरालाई भेट्ने गर्थे । ज्याक्सनकी प्रेमिका जेनिस भने जागिर र स्वास्थ्यको पर्वाह नगरेर भेट्न आउने भइन् । ज्याक्सनले दुई जनाको नाम फारममा भ¥यो । ज्याक्सन सेन्ट थोमस अस्पतालमा पुगेको छ घण्टाको बीचमा तेह्र जना कोरोना सङ्क्रमित बिरामीको मृत्यु भइसकेको थियो । ज्याक्सन निकै अस्थिर देखिन्थ्यो । उसको निधारमा पसिना आइरहेको थियो । ऊ अधिर बनेर यताउता गरिरहेको थियो । ठीक तीस मिनेटमा उसलाई फारम दिने नर्स रेविका देखापरिन् । ऊ नजिक गयो । “फारम तयार भयो ?” नर्सले सोधिन् । “भयो । हामी दुई जनाले मात्र भेट्न चाहन्छौँ । सोहीअनुसार फाराम पनि भरेको छु” भन्दै ज्याक्सनले फारम दियो । नर्सले साँझ छ बजेदेखि दुई घण्टाको लागि समय दिइन् । सो कुरा ज्याक्सनले आफ्नी प्रेमिकालाई फोन गरेर भन्यो । दुवै जना भेट भएर छ बजे स्वास्थ्यकर्मीले लगाउने गाउन लगाएर क्याविनभित्र गए । क्याविन बाहिर दुईटा मेच थिए । उनीहरू त्यहीँ बसे । नर्स आएपछि पालैपालो गरी जान भनिन् र उनले समय तालिका मेसिनमा समय लेखेर बाहिर निस्किन् । पहिले ज्याक्सन भित्र छि¥यो । तीन मिटर टाढा बाजे सुतिरहेका थिए । उनको अनुहार उज्यालो थियो । नर्सले भनेझैँ त्यो दिन बिहानदेखि सास फेर्न कठिन भएको थियो र कठिनाइको मात्रा हिमालमा उकालोमा हिँड्दा सास फेर्न कठिन हुँदै गएझैँ क्रमशः कठिन हुँदै गएको थियो । ज्याक्सनले बाजेलाई तीन मिटर वरैबाट शिर झुकाएर नमस्ते गर्दै सोध्यो “बाजे अहिले कस्तो छ ?” बेलाइतको थेम्स नदीमा जहाज वारपार गर्दा पानी छचल्केझैँ बाजेका आँखामा आँसु छचल्केको ज्याकले देख्यो । बाजेले क्याविनको सेतो बिछ्यौनाबाट हातैले आशीर्वाद दिँदै भने “सास फेर्न कठिन हुँदै गएको छ । ज्वरो घटकै छैन ।” “ज्याक” उनले थपे, “आजदेखि मैले आपूmलाई कमजोर पाउन थालेको छु । बाल्यकालमा नेपालमा खेलेको झलझली देख्न थालेको छु । म धेरै बाँच्दिनँ । मलाई जतिजति सास फेर्न कठिन भएको छ त्यतित्यति मेरो आँखाअगाडि झलझली नेपाल ठिङ्ग उभिएको देख्छु । म नेपाल गएर नै मर्न चाहन्छु ।” एकछिन रोकिएर फेरि भने, “तेरो जिजुबाजेले ‘सन्तानको भविष्य राम्रो होस् । मनाङको पूm गाउँमा भेडागोठालो हुन सजिलो छैन ।’ भनेको हुनाले मैले यहाँ बस्ने परिचय पत्र (इनडिफिनिट लिव टु रिमेन आइ.एल.आर) लिएको हुँ । समयले त्यस्तै गरायो । आमासँग बेलाइत आएपछि पन्ध्र वर्षको उमेरमा उनान्साठी वर्षपहिले नेपाल गएको थिएँ । मनाङ जाँदा बाहुनडाँडा नजिकै बाटोमा ठूलो पहिरो गएको रहेछ । तीन दिन कुरेँ । पहिरो छिचोल्न सकिएन । मेरो स्कुलको छुट्टी धेरै थिएन । गाउँ नपुगी बिच बाटोबाट नै फर्केँ । त्यसपछि स्कुल, कलेज, जागिर, व्यावहारिक जीवनको चाँजोपाँजो मिलाउँदा–मिलाउँदै जानै पाइनँ । तेरो जिजुले ‘बेलाइत बसे पनि नेपाल नबिर्सनू’ भनेको कुरा मैले चाहेर पनि पूरा गरिनँ । मलाई रोगको पीडाभन्दा नेपाल जाने चाहनाको पीडा हजार गुणा बढी छ । म नेपाल जान्छु ।” बोल्दाबोल्दै क्याप्टेन पाल्देन फेरि रोकिए । लामो सास ताने । आँसु पुछे । नाति ज्याक्सनलाई हृदयबाट निस्केका आँसुले भिजेका पातला परेलाले मायाको अँगालो फैलाउँदै भने –“ज्याक म नेपालमा मर्न चाहन्छु । जब मलाई सास फेर्न कठिन हुन्छ त्यसबेला मैले अन्नपूर्ण हिमालयको चौथो चुली हेर्दै मनाङतिर उकालो चढेको विपनामा नै सपना देख्छु । सास फेर्न सजिलो हुँदा देउरालीमा पुगेर मनास्लुतिरबाट आएको शीतल हावालाई तानेर फोक्सोसम्म पु¥याएको हुन्छु । मलाई किन–किन मनास्लु र अन्नपूर्णले एकोहोरो हेरिरहेका हुन्छन् अनि मस्र्याङदीले आज सुसाउन बिर्सेर गन्धर्वले सारङ्गी रेटेर पाखाबारीको गीत गाएझैँ सारङ्गीको धुनमा मलाई नेपाल बोलाइरहेको छ । ज्याक्सन, म मेरा पुर्खाको जन्मभूमिमा प्राण त्याग्न चाहन्छु । ज्याक, मेरा आँखाबाट झरेका यी बलिन्धारा आँसु होइनन् यी त मस्र्याङ्दी नदीका छाल हुन् । जहाज चार्टर गरे भए तापनि मलाई नेपाल पु¥याइदेऊ ।” उनले भने । ज्याक्सनले देख्यो ती बलिन्धारा साँच्चिकै थेम्स नदीका सहायक नदीजस्तै निरन्तर बगिरहेका थिए । उसले पनि आँसु रोक्न सकेन । कोरोना भाइरसको कारणले सारा संसार पूर्णतः ठप्प भएको थियो । कोरोनाको कारणले युरोप र अमेरिकामा मात्र दिनहुँ दश हजारभन्दा बढी मानिसको मृत्यु भएकोे कुरा बाजेलाई भन्ने कि नभन्ने ऊ दोधारमा प¥यो । कोरोना सङ्क्रमितको मृत्युदर सुन्दा बाजे पक्कै पनि धेरै दिन जीवित रहनुहुन्न भन्ने उसले पनि अनुमान गरेको थियो । त्यसकारण बाजेले भनेको सबै कुरा ध्यानपूर्वक सुन्यो । ऊ बाजेसँग “दुई मिनेटमा आउँछु” भनेर बाहिर निस्क्यो । बाजेले पनि उसले आँसु पुछेको देखे । ज्याक्सनले भित्र बाजेले उसलाई जसरी पनि नेपाल जाने इच्छा व्यक्त गरेको कुरा प्रेमिकालाई भन्यो । “तिम्रो सुझाव के छ ?” ज्याकले आफ्नी प्रेमिका जेनिससँग सल्लाह माग्यो । “बाजेलाई वर्तमान अवस्थाको साँचो कुरा भनौँ । कम्तिमा छ महिना नेपाल जान सकिँदैन । त्यसपछि जाउँला भनौँ ।” उनले सुझाव दिइन् । ज्याक्सन फेरि भित्र गयो । ज्याक्सनले मोबाइलबाट आफ्नो आमाबाबु र परिवारका अरू सदस्यलाई बाजेको अवस्था देखाइदियो । बेलाइतभरि सबैले त्यसै गरेका थिए । त्यति मात्र कहाँ हो र ! रोग सर्छ भनेर धेरै बेलायती छोराछोरीले आमाबाबुसँग स्काइप, फेसटाइमजस्ता सामाजिक सञ्जालबाट आँसु साटासाट गर्दै हात हल्लाउँदै बिदा हुँदै थिए । संसारभर त्यस्तै भइरहेको थियो । प्रकृतिलाई चरम दोहन र आक्रमण गरेकाले त्यस्तो स्थिति आएको कोरोना कालभैरवीले ठहर गरेकी थिइन् । “बाजे” ज्याक्सनले भन्यो, “कोरोना भाइरस संसारभर फैलिएको छ । युरोपमा मात्र दिनहुँ चार–पाँच हजार मानिसको मृत्यु भइरहेको छ । अहिले संसार पूरै बन्द छ, बाजे । एक देशदेखि अर्को देशको त कल्पना नै नगरौँ एक गाउँदेखि अर्को गाउँ पनि बन्द भएका छन् । ‘घरभित्रै बस्ने, सुरक्षित हुने’ भन्ने निर्देशन छ । हामीले केहि गर्न सक्दैनौँ । अब आत्मबल बढाएर कोरोनालाई पराजित गर्नुपर्छ । तपाईंलाई सञ्चो भएपछि नेपाल जाउँला ।” ज्याक्सनको भनाइ सुनेर बाजे झन् पीडित बने । उनले नातिलाई भने, “ज्याक, तँ अब सानो छैनस् । संसार बन्द भएको छ भने मैले नेपाललाई माया गर्दैमा अहिले खुल्ने त कुरा भएन । तैँले मेरो लागि एक काम गर है त । तैँले सक्छस् । तेरो बाले गर्न सक्दैन ।” ज्याक्सनले दुवै हात जोडेर भुईंमा दुवै घुँडा धसेर भन्यो, “बाजे भन्नु न । तपार्इंको जे इच्छा छ, त्यो इच्छा म जसरी पनि पूरा गर्नेछु ।” त्यसपछि बाजेले भने, “साँचो बोल्नुपर्छ । म अन्तिम अवस्थामा छु । मलाई मर्ने बेलामा किन–किन नेपाल देख्ने रहर तीव्र भएर आयो । म नेपालमा जन्मेँ । बाल्यकाल त्यहाँ बिते पनि बेलाइत नै आइयो । नेपाल बस्ने रहरै पुगेन । विगत तीन–चार वर्षदेखि मलाई नेपाल जान मन लागेको थियो । उमेरले समय मिलाउन सकिनँ । तेरो पढाइ, बाबाको नोकरी, तिमीहरूको छुट्टी सबै हेर्दाहेर्दै समय बित्यो । यो वर्ष दशैँमा नेपाल जान टिकट पनि बुकिङ गरिसकेको थिएँ । यहीबेला कालभैरवी भएर कोरोना आयो । मलाई सास फेर्नै नहुने गरी घाँटीमा च्याप्पै समात्यो । अब म बाँच्दिनँ । म जे भन्दैछु, त्यो मेरो मात्र चाहना होइन तेरो जिजुको पनि इच्छा हो ।” पाल्देनको वाक्य घाँटीमा अड्क्यो । उनी क्षणभर बोल्न सकेनन् । आँखाबाट झरेका आँसुले मस्र्याङ्दीकै रूप लिएका थिए । ज्याकले अँगालो हाँलेर बाजेलाई आश्वासन दिन चाहन्थ्यो । आँसु पुछिदिन चाहन्थ्यो । तर, के गर्ने अस्पतालले बनाएको नीतिलाई उसले उल्लङ्घन गर्न मिल्दैन्थ्यो । “बाजे, तपाईंको इच्छा के छ भन्नुहोस् । त्यति मात्र होइन मेरो जिजुले तपाईंसँग र मेरो बाबासँग के भन्नुभएको थियो ? त्यो सबै भन्नुहोस्, मैले पूरा गर्नेछु ।” ज्याक्सनले आश्वस्त पार्दै सोही प्रण दोहो¥यायो । त्यसपछि बाजेका आँसु रोकिए । कालो बादलले छोपेर अँध्यारो देखिएको अनुहारमा एकाएक बिहानी पखको घाम मनाङको पिसाङ चुलीमा पर्दा सुनौलो रङमा झलझलाकार देखिएझँै झलझल उज्यालो देखियो । लेकाली पूmलको कोपिला फक्रेझैँ बाजेको ओठमा मुस्कान प्रस्फुटित भयो । मृत्यु नजिक पुगेको मानिसको मृत्युइच्छा र त्यो मृत्युइच्छा पूरा गरिदिने बाजे र नातिबीच एकान्त वार्ता भएको थियो लण्डनको त्यो सेन्ट थोमस अस्पतालको क्याविन कक्षमा । यस्तो लाग्थ्यो कि त्यहाँ हिन्दू धर्मशास्त्रको कथामा आफ्नो इच्छा पूरा गर्न महादेवसँग वर माग्न तपस्या गर्ने भक्त र महादेवबीच संवाद भएको होस् । त्यहाँ भक्त बाजे थिए भने महादेवको रूपमा बाजेको इच्छा पूरा गरिदिने नाति ज्याक्सन पाल्देन घले थियो । त्यसैबिच बाजेले ज्याक्सनलाई नजिकैको दराजभित्र रहेको सानो छालाको ब्याग सुरक्षित राख्न भने । त्यसभित्र बैँकका कार्डहरू थिए । त्यसमा “मेरो नाममा भएको सबै प्रकारको सम्पत्ति मेरो मृत्युपछि नाति ज्याक्सन पाल्देन गुरुङको बैँक खातामा रकमान्तर गर्न मेरो मञ्जुर छ ।” भनी सहीछाप गरी स्थानीय सरकारले प्रमाणित गरेको पत्र ती कार्डहरूसँगै रहेको उसले देख्यो । ज्याक्सन भावुक देखियो । उसका आँखा राता भएका थिए । अँगालोमा बाँधिएर हृदयको स्पन्दन एकअर्कालाई सुनाउन नपाउँदा दुवैको मन व्याकुल भएको थियो । आँसुसँग आँसु साट्दा पनि प्रेमको रहर नमेटिँदो रहेछ ? मायाको अर्थ र गहिराइ आत्मसात् गर्न स्पर्श नै गर्नुपर्दो रहेछ कि ? अँगालोमा बाँधिएर दुःख र सुखमा साट्दा जति सन्तोष पाइन्छ त्यति सन्तोष आँसु मात्र साटेर पाइँदोरहेनछ । आँसु मात्र खसालेर पुग्थ्यो भने बाजे किन नेपाल जानुपथ्र्यो र ? त्यसैले माया गर्न हृदय–हृदय नै टाँसिनुपर्ने रहेछ । बाजे त्यहाँ नातिको हृदयभन्दा साढे दुई मिटर टाढा थिए । उनीहरूको हृदयको ढुकढुकीले एकअर्काको भाषा पढे तापनि ती दुई हृदयबिच तातो स्पर्शको खाँचो खड्केको थियो । बाजेको हृदयमा नेपाल टाँसिएको थियो । तर, मृत्युपूर्व नेपालमा उभिएर आफ्नै तीन औँलाले देशको माटो झिकेर निधारमा टीको लगाउन नपाउँदा उनको मन अत्यधिक व्यग्र थियो । त्यसैले होला बाजेको नेपालप्रतिको अकुत माया आँसुबाट मस्र्याङ्दी बनेर झरिरहेको थियो । बाजेलाई बोल्न कठिन भएको थियो । “नाति ज्याक्सन, मेरो मृत्युपछि अस्तु लिएर नेपाल जानू । नेपालको मनाङ जिल्लाको उत्तरमा तिब्बतदेखि नजिक पूm भन्ने गाउँ छ । त्यो गाउँ जिजु बाजे छिरिङ पाल्देन घलेको जन्मथलो हो । गाउँदेखि नजिक एउटा ढिस्कोमा तासी गुम्बा छ । त्यो गुम्बामा जिजुको रगत मिसिएको छ । त्यही पखेराको एक छेउमा एउटा सानो चोर्तेन (मठ) बनाएर मेरो अस्तु त्यहीँ राख्नू । म त्यहीँ बस्नेछु । त्यसपछि तिमी तिम्रो जिजुमामाको घर नार जानू । जिजुको नयाँ घर थोन्जेमा एक रात बिताउनू । मृत्युपछि जीवन समाप्त हुन्छ । जीवन फर्केर आउँदैन । पुनर्जन्म मात्र अश्वासन हो । आफ्नो इच्छा यहीँ जीवनमा पूरा गर्नू । तिमी दुवैको जीवन सफल होस् ।” पाल्देनले मृत्युशैयाबाट मनको कुरा नाति ज्याक्सन पाल्देनलाई भने । १ सनातनी हिन्दू धर्म शास्त्रमा प्रलयको कथा उल्लेख भएझैँ त्यो वर्षभर नै संसारभर एक प्रकारको प्रलय नै भयो । लाखौँलाख मानिसको कोरोना कालभैरवीबाट मृत्यु भयो । कति परिवारको वंश वृक्षको जरा नै उखेलियो । कोरोना कालभैरवी शान्त हुने लक्षण देखिएन । उनी संसारभर डुलिन् । ठुलाठुला कलकारखाना बन्द भए । एक मिनेटमा सयौँ हवाइजहाजहरू उड्ने, हजारौँ मोटरकार गुड्ने विमानस्थल र चिल्ला सडकहरू मसानघाटमा परिणत भएका थिए । संसारको मानिसका अति प्रिय बनेका ठूला सहरहरू दिउँसै चकमन्न भएर एकाएक मृत्युशैयामा सुतेका जस्ता देखिएका थिए । यस्तो लाग्थ्यो कि मानौँ ठूला सहरमा कोरोना कालभैरवीले यमराजको रूप धारण गरी मृत्यु–नृत्य नाचिरहेकी छन् । धनी देशले प्रकृति मातालाई निर्मम दोहन गरेकाले त्यस्तो अवस्था आएको थियो । मानवबाहेकका अन्य जीवजन्तु र वनस्पति भने प्रफुल्लित थिए । नेपालले प्रकृतिको दोहन गरेकै थिएन । त्यसैले कालभैरवी कालभैरवसँग मिलेर नेपालमा प्रवेश गरे तापनि भयङ्कर मृत्यु–नृत्य नाचेकी थिइनन् । कोरोनाले प्रलयकै रूप लियो । अति धनी देशहरू पनि दशौँ वर्ष उठ्न नसक्ने गरी थला परे । गरिब देशका मानिस रोग र भोकले मर्न थाले । लाखौँ मानिस स्वाहा भए । आफन्तलाई अन्तिम पटक भेटेर अँगालो हालेर आँसु साट्न पनि पाएनन् । लास गाड्ने ठाउँ नभएर सयौँ लास एउटै चिहानमा पुरिए । मानव जातिको लागि अहिलेसम्मकै त्रासदी बन्यो । बिना कम्पन, बिना आँधीबेहरी, बिना सुनामी मृत्यु लहर आएको थियो । प्रकृति माताको दोहनबाट निस्केको प्रलय थियो त्यो । “बाजे म नेपाल गएर जिजुबाजेको गाउँ पुगेर तपाईंले भनेको कुरा अवश्य गर्नेछु । प्यारो पूm गाउँलाई भरिलो पार्नेछु । तपाईंको हृदयले बोलेको कुरा मैले पूmका आफन्तलाई भन्नेछु । जिजुले बनाएको गुम्बालाई मात्र होइन गाउँले सबैलाई खुसी पार्नेछु । तपाईंले कुनै पीर नमान्नु ।” कोरोनाबाट सिकिस्त भएका बाजेलाई आश्वस्त पार्दै ज्याक्सनले भन्यो । बाजेलाई आश्वस्त पार्न मात्र नभई हृदयदेखि नै नेपाल जाने सङ्कल्प ग¥यो । तर, ज्याक्सनले थाहा पाउन नसकेको कुरा के भने मृत्युशैयामा लम्पसार परेको बेला बाजेलाई नेपालको त्यति विघ्न सम्झना किन आयो ? मर्नेबेलामा जन्मघर मानिसले खोज्छ रे ! भन्ने उसले बज्यैबाट सुनेको थियो । के बाजेले पनि मर्नेबेला भएकाले नेपाल सम्झेका हुन् त ? उमेर छँदै बाजे नेपाल किन गएनन् ? त्यो प्रश्नले भने उसलाई घोच्यो । जे होस् बाजेलाई वचन दिएपछि उनको उज्यालो अनुहार हेरेर बाहिर निस्क्यो । त्यसबेला आधा घण्टा मात्र भेट्ने समय बाँकी थियो । उसले आफ्नी प्रेमिका जेनिसलाई बाजेलाई भेट्न पठायो । जेनिस भित्र पसिन् । त्यसबेला बाजेले जेनिसलाई भने– “नानी, हुन त कर्मले हामी बेलायती भयौँ । आपूm जन्मेको थलो प्यारो लाग्छ । तिमी पनि तिम्रा बाजेको जन्मथलो नेपाल उमेर छँदै धेरै पटक पुग्नू । मेरो रहर पुगेन । अहिले मृत्युको बेला मलाई नेपाल आमाले बोलाइरहन्छिन् । तिमीलाई विश्वास नलाग्ला । मैले मर्नेबेलामा पूmलजस्ती प्यारी तिमीलाई किन भूmटो बोल्थेँ र ? तिमी नेपाल गयौ भने तिमीपछि तिम्रा सन्तान नेपाल जान्छन् । पितृभूमि नेपाल कस्तो रहेछ भन्ने थाहा पाउँछन् अनि नेपाल आमा पनि खुसी हुन्छिन् । नेपाल त स्वर्ग हो । त्यहाँ देवताको बास हुन्छ । त्यहाँ प्रकृतिको राज अझै छ । जीवन कष्टकर छ तर निरस छैन । तिमी थाक्यौ भने देउरालीको शीतल हावाले तिम्रो थकाई मेटिदिन्छ । तिमीलाई प्यास लाग्यो भने आफ्नै धुनमा गितार बजाउँदै नाच्ने झरनाले तिर्खा मेटाइदिन्छन् । तिमी निरास भएको बेला बादलका पछ्यौरी पन्छाएर सेता हिमालचुलीले तिमीलाई साहसिक मुस्कान दिन्छन् । बेलाइतमा सुखी देखिने तिमीहरू नेपालको मायाले खुसी पनि हुनेछौ ।” “हुन्छ, बाजे ज्याक्सनसँग म पनि नेपाल जान्छु । हामी बेलाइत बसोबास गरे तापनि छुट्टीमा नेपाल जानेछौँ । नेपाल जाने मात्र होइन जिजुबाजेको सुन्दर जन्मथलोलाई हामीले अझ सम्पन्न बनाउनेछौँ । बाजे तपाईं ढुक्क हुनुहोस् ।” उनले भनिन् । “तिमी रूपवती र ज्ञानी छौ । तिमी र ज्याक्सनमा नेपाली रगत बढी देख्छु म । त्यसैले विश्वस्त छु कि मैले गर्न नसकेको माया तिमीहरूले नेपाललाई गर्नेछौ” उनले विस्तारै भने । प्रत्येक घण्टा उनलाई सास फेर्न कठिन हुँदै थियो । त्यसैबेला ढोकामा रातो बत्ती बल्यो । भेट्ने समय सकिएको थियो । जेनिस बाहिर ननिस्कँदै ज्याक्सन पनि भित्र छि¥यो । बाजेले ती दुवैलाई हातको इसाराले आशीर्वाद दिए । आँसु झार्दै माया गरे । त्यसैबेला नर्स रेविका भित्र पसिन् । उनीहरूले हात जोर्दै बाजेलाई हेर्दै पछाडि सर्दै ढोकाबाट बाहिर निस्के । अस्पतालको बगैँचानजिक पुगेर दुवै जना एकअर्कालाई हेर्दै धित मरुञ्जेल रोए । ज्याक्सनलाई बाजेले नै हुर्काएका थिए । पाल्देनलाई सास फेर्न कठिन हुँदै गयो । भेन्टिलेटरमा राखेको चौथो दिन नर्सले ज्याक्सन र उसको आमाबाबुलाई बाजेको अनुहार हेर्न दिइन् । पाल्देनले छोरा बुहारीलाई आँखाका परेला झिम्क्याएर माया दर्शाए । उनी बोल्न नसक्ने भइसकेका थिए । त्यसपछि बाजेका दुवै आँखाबाट बलिन्धारा वर्षन थाले । भेन्टिलेटरमा राखेको पाँचौ दिन दिउँसो ११ बजे ज्याक्सनलाई तिनै गोरी नर्सले बोलाइन् । बाजेको अन्तिम अवस्था भएको थियो । उसलाई भित्र जान दिइन् । बाजेले पुलुक्क ज्याक्सनलाई हेरे । बाजेले उसलाई हेरी नै रहे । बाजेका आँखाबाट आँसु झरेनन् । साँच्चिकै त्यसबेला ज्याक्सनले बाजेको आँखामा नेपालको नक्सा देख्यो । आँखा झिमिक्क नै भएनन् । लासलाई छुन दिइएको थिएन । लास गाडेको ठाउँको माटो ज्याक्सनले सुरक्षित राख्यो । नर्स रेविकाले ज्याक्सनलाई विशेष सहयोग गरेकीले त्यो अस्तु पाइएको थियो । मृत्यु–संस्कारका अन्य सबै कुरा बेलाइतको घरमा नै सम्पन्न गरे । २ प्रकृतिको अत्यधिक दोहन गर्ने ठूला देशमा प्रवेश गरेकी कोरोना कालभैरवीले तिनीहरूलाई थर्कमान पारिन् । तर, ती देशले लाखौँलाख निरपराध मानिस कोरानाको मुखभित्र छिर्दा पनि प्रकृतिमाथि गरेको अपराध स्वीकार गरेनन् । बरु उल्टै एकले अर्कालाई दोषारोपण गरे । कोरोना महामारीबाट सामान्य जीवनमा फर्कन नेपाललाई दुई वर्ष, युरोपलाई चार वर्ष र अमेरिकालाई पाँच वर्ष लाग्ने बहस चलेको थियो । कर्णालीका युवा भारतमा अस्थायी खेती गर्न जानै छोडे । मलेसिया, अरब मुलुकमा भएका धेरै नेपाली युवा बेरोजगार भएर नेपाल फर्के । नेपाल फर्केका युवाहरू उद्योग, साना व्यवसाय र खेतीपातीमै होमिएका थिए । अमेरिका, अष्ट्रेलिया, युरोपमा भएका युवा पनि विस्तारै घर फर्कन थालेका थिए । जस्तोसुकै प्रकोप आए तापनि आकाशलाई छानो बनाएर कुनै पनि नेपालीले रात काट्न परेको थिएन । नेपाल सरकारले नागरिकबाट पैसा उठाएर कोशी, गण्डकी, कर्णाली र महाकाली तथा तिनका सहायक नदी गरी पन्ध्र नयाँ ठूला जलविद्युत् गृह र सिँचाइ आयोजना सुरु ग¥यो । चिया, कफी, फलपूmल, कृषि र पशुपालनमा नयाँ नीति ल्याएर किसानलाई शून्य प्रतिशत व्याजमा दश वर्षे ऋण प्रवाह ग¥यो । हिमाली क्षेत्रमा चौरी, भेडापालन, जडीबुटी सङ्कलन र प्रशोधनलाई पन्ध्र वर्षे निव्र्याजी ऋण दिने नीति लियो । सातै प्रदेशमा स्वास्थ्य, पर्यटन, प्राविधिक, कृषि र जलस्रोतका महाविद्यालय खुले । कोरोना कालभैरवीले नेपाललाई भने एउटा पाठ सिकाएर छोडिन् । दुःखमा पनि फिस्स हाँस्ने नेपाली साँच्चिकै घोडेपानीको पखेरामा लालीगुँरास फुल्दा धवलागिरि हिमाल मुस्काएझैँ मुस्काउन थाले । वसन्तपुरमा कालभैरवसँगै कोरोना कालभैरवीको नयाँ मन्दिर पनि स्थापना गरियो । ज्याक्सन र जेनिसको परिवारबीच पाल्देन घले गुरुङको अस्तु लिएर नेपाल जानेबारे छलफल भयो । उनीहरू दुवैले नेपाल जाने स्वीकृति पाए । बाजेको एक वर्षको मृत्यु–संस्कार पूरा गरेपछि उनीहरूले बिहे गर्ने टुङ्गो गरे । सत्ताइस वर्षीय ज्याक्सन कृषि विज्ञ हुन् र उनले बेलाइतमा परामर्शदाताको रूपमा काम थालेका छन् । ज्याक्सनकी आमा बेलायती बाबु र नेपाली आमाकी छोरी हुन् । उसका आमाबाबु दुवै इन्जिनियर हुन् । दुवैले सरकारी कार्यालयमा नोकरी गर्दछन् । चौबीस वर्षीय जेनिस भट्टराईले भूगर्भशास्त्रमा पि.एचडी गरेकी छन् । उनका बाजे हरिबल्लभ भट्टराई नेपालको पर्वत जिल्लाको विहादी भन्ने ठाउँबाट बेलाइत छिरेका थिए । परराष्ट्र मन्त्रालयका सरकारी जागिरे बाजे एउटा तालिममा बेलाइत गएका बेला उतै लुकेर बसे । बाजेले एक जना बेलायती मार्गारेट भन्ने महिलासँग प्रेम–विवाह गरेपछि मात्र त्यहाँ बस्ने अनुमति पाएका थिए । जेनिसका बाबु परिश्रम भट्टराईले पनि बेलायती पिता र नेपाली मुलकी आमाबाट जन्मेकी सोफी भन्ने युवतीसँग प्रेम–विवाह गरे । जेनिस तेस्रो पुस्ताकी हुन् भने ज्याक्सन चौथो पुस्ताको प्रतिनिधि हो । उनीहरू दुवैका वंशमा आमा वा बाबु कुनै न कुनै रूपमा नेपाली रहेका छन् । त्यसैले उनीहरू जतिसुकै सम्पन्नतामा बसे तापनि नेपाललाई बिर्सेका थिएनन् । अर्को अचम्मको कुरा के भने उनीहरूले नेपाली बोल्न र लेख्न सिकेका थिए । त्यसबाहेक अचम्मको कुरा के भने ज्याक्सनको बज्यैको माइतीघर र जेनिसको बाजेको घर पर्वतको विहादी नै थियो । के थाहा पैतृक थलोले उनीहरूको प्रेम अङ्कुरण हुन मद्दत पो गरेको थियो कि ? जेनिस सौन्दर्य, गुण, शिल, चरित्र र ज्ञानमा रोजा छन् । अग्ली, गोरी जेनिसको अनुहारमा मानिसलाई लोभ्याउन सक्ने आभा देखिन्छ । उनका मधुर काला आँखामा देखिने खैरोपनले सौन्दर्यमा निखार ल्याएको देखिन्छ मानौँ सुनको हारमा सुगन्ध थपिएको होस् । उनी मुस्काउँदा पूर्णिमाको चन्द्रमाजस्तै शीतलता र कोमलताको आभास मिल्छ । उनको शरीर सलक्क परेको छ । गुलाबी रङको फक्रँदै गरेको कमलको पत्रजस्ता देखिने उनका कलिला ओठमा प्रकृतिले हलुका रातो लाली लगाइदिएको जस्तो देखिन्छ भने रातो मिश्रित सेता गाला मायालु हातले मुसार्दा पनि फुट्लान कि जस्ता नरम देखिन्छन् । फक्रँदै गरेको लालीगुँरासका पूmलजस्तै पोटिला देखिने उनका वक्षस्थल हिमालय पर्वतमालामा गौरीशङ्करका चुली शोभायमान भएझैँ तिनले उनको पातलो शरीरको शोभा बढाएका थिए । वैशाखको बुद्ध पूर्णिमामा पूm गाउँ पुगेर बाजेको नाममा तासी गुम्बामा बत्ती बाल्ने गरी नेपाल जाने उनीहरूले योजना गरे । नेपालबारे लेखिएका पुस्तक पढे । नेपालको अन्नपूर्ण हिमालय शृङ्खलाको धार नाघेर त्यसभन्दा उत्तरको संसारकै अति विकट भनेर चिनिएको नार र पूm उपत्यका जानुपर्ने भएकाले उनीहरू फ्रान्स र स्वीट्जरल्याण्डमा पुगेर पदयात्रा गरे । फ्रान्सको चामोनिक्समा रहेको युरोपको सबैभन्दा अग्लो पर्वत माउन्ट ब्लाङ्क वरपर पदयात्रा र डोरीको सहयोग लिई ठाडो चट्टान चढेर अनुभव लिए । त्यसबाहेक निरन्तर रूपमा दिनको तीन घण्टा शारीरिक व्यायाम गरे । ज्याक्सनले बारम्बार जेनिसलाई हौसला दिँदै भन्थ्यो “हाम्रो लागि नेपालको यात्रा पहिलो हो । यो हाम्रो लागि ठूलो अवसर पनि हो किनभने पहिलो यात्रामा नै हामी संसारकै अति सुन्दर र लामो पर्वतमाला अन्नपूर्ण हिमालयको काखमा र संसारकै विकट गाउँ भनेर चिनिएको पूm र नार जाँदैछौँ । सक्यौँ भने संसारकै उच्च स्थानमा रहेको सबैभन्दा ठूलो ताल तिलिचो पनि पुगौँला । हाम्रो लागि यो यात्रा साहसिक, स्वर्गको अनुभूति गर्ने तथा पितृथलोमा जाने भएकाले पितृ तीर्थयात्रा हो ।” “हो नि ! अन्नपूर्ण हिमालयको लम्बाइ मात्रै साठी किलोमिटर फैलिएको रहेछ । हामी त त्यसको उत्तर पुग्दैछौँ । यो हिमाललाई अन्नकी देवी पनि भनिँदोरहेछ नि ! यो यात्राले हाम्रो जीवनको नयाँ ढोका खोल्नेछ ।” जेनिसले ज्याक्सनको भनाइलाई समर्थन गर्दै आफ्नो भावना र पढेर जानेको कुरा सुनाइन् । ३ फागुनदेखि वैशाखसम्म नेपालको मौसम बिहान सफा हुने, निलो आकाश छर्लङ्ग देखिने, हिमालहरू दुधले स्नान गरेझैँ सेताम्मे देखिने र अपराह्न हावाहुरी चल्ने, चट्याङ पर्ने, आकाशमा काला बादल मडारिने हुन्छ । उनीहरू बिहान नौ बजे नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभन्दा पहिले उत्तरतर्फ पश्चिमदेखि पूर्वसम्मको लामो धारमा तिनीहरूले हिमालयको ताँतीले निलो आकाशलाई उछिनेर माथि पुगेको दृश्य प्रत्यक्ष देख्न पाए । त्यसबेला ती दुवै किशोरकिशोरी खुसीले यति धेरै आनन्दित भए कि दुवैका आँखा हर्षले उद्दीप्त भएका थिए । विश्वका धनी र विकसित देशको यात्रा गरिसकेको हुनाले विमानस्थलबाट बाहिर निस्कुञ्जेल उनीहरूलाई कुनै कठिनाइ भएन । नेपालका सवारी चालक पनि धेरै सुसंस्कृत भएका रहेछन् । त्यसैले पुस्तकमा पढेजस्तो गरी कसैले पनि उनीहरूका झोलाहरू तानेनन् । सडकपारि जेनिस भट्टराई र ज्याक्सन पाल्देन घले गुरुङ भन्ने नाम लेखेको कागज देखाउँदै उभिएका आफन्तलाई उनीहरूले देखे । वारिबाट हात हल्लाए । सामान ट्याक्सीमा राखेपछि स्वागत गर्दै आफन्तले ती दुवैलाई सयपत्री पूmलका माला पहिराई नेपालमा स्वागत गरे । बाग्मती नदी किनारमा अवस्थित पशुपतिनाथ मन्दिर, ज्ञानेश्वर हुँदै दरबारमार्गमा रहेको होटल अन्नपूर्णमा छिरे । ज्याक्सन र जेनिसलाई लिन पूmबाट ग्याल्बो घले, नारबाट फुर्वा घले गुरुङ र पर्वत विहादी लौकेबाट प्रभात गुरुङ र विहादीबाट सुशान्त भट्टराई काठमाडौँ आएका थिए । पूmबाट आएका ग्याल्बो ज्याक्सन दाजु पर्दथे भने नारबाट आएका फुर्वा जिजुआमातिरका दाजु नै पर्दथे । त्यसरी नै पर्वत लौके गुरुङ गाउँबाट आएका प्रभात गुरुङ ज्याक्सनको मामाको छोरा पर्दथे । सुशान्त जेनिसको काकाको छोरा पर्दथे । दुवैतिरका आफन्त भएकाले उनीहरू ढुक्क भएका थिए । आराम गर्दै दुई दिन उनीहरूले पशुपतिनाथ, बौद्धनाथ, ललितपुर, स्वयम्भूनाथ, भक्तपुर र चाङ्गुनारायणको अवलोकन गरे । होटलले व्यवस्था गरेको विज्ञले उनीहरूलाई नेपालको प्राचीन इतिहास, धर्म, संस्कृति, भाषा, जाति, जनजाति चाडपर्वबारे जानकारी दिए । भोलिपल्ट उनीहरू मोटरबाटोबाट मुग्लिङ हुँदै मस्र्याङ्दी नदीको किनारैकिनार बेसीसहर पुगेर बसे । “भाइ ज्याक्सन म यहाँबाट पोखरा हुँदै घर फर्कन्छु । तिमीहरू मनाङबाट फर्केर पोखरा आउँदा म पोखरामा तिमीहरूलाई भेटनेछु । त्यसपछि हामी त्यतैबाट जेनिसको बाजे र तिम्रो मावली गाउँ जाउँला ।” प्रभात गुरुङले भने । “हाम्रो स्वास्थ्यको अवस्था के हुन्छ । म हजुरलाई फोन गर्छु । त्यसपछि योजना गरौँला ।” ज्याक्सनले उत्तर दियो । त्यसपछि ज्याक्सन, जेनिस, पूmर्वा र ग्याल्बो मोटरबाट मनाङतिर र प्रभात र सुशान्त पोखरातिर लागे । “फुर्वा दाइ, यो कुन नदी हो ? यी गरामा लगाएको बाली के के हुन् ? यहाँ कति बाली हुन्छ ? ती महिलाहरूले डोकोमा के बोकेर ल्याएका हुन् ? ऊ त्यो माथि डाँडामा एकै ठाउँमा गुजमुज्ज देखिने घरहरूमा अहिले मानिस बस्छन् कि बस्दैनन् ?” जेनिसले सोधिन् । त्यो वर्ष फागुनदेखि पानी परेकाले वैशाखमा पनि असारमा जस्तै हरियाली थियो । फुर्वाले वरपरको दृश्य देखाउँदै जानकारी गरायो “त्यो ठूलो नदी मस्र्याङ्दी हो । खेत र बारीका मकै हुन् र खेतमा हरियो देखिएको चैते धान हो । यहाँ दुई–तीन खेतीसम्म नै हुन्छ । महिलाले डोकोमा घाँस ल्याएका हुन् । नदीकिनार वरपर बाहुन, क्षेत्री, गुरुङ, नेवार, दमै, कामी, सार्कीको बसोबास रहेको छ भने धेरै माथि डाँडामा गुजुप्प देखिएका घले गुरुङ गाउँ हुन् । उ…, त्यो देखिएको लमजुङ हिमाल हो ।” कालो टोपी, छोटो कछाड, गादो भीरेका पुरुष र कानमा माडवारी, निधारमा रातो टीका, रातो चुरा, मखमलको चोलो, चोलोमाथि घलेक र लुङ्गी पहिरेर ओहोरदोहोर गरेका महिलालाई देख्दा दुवै निकै हर्षित देखिन्थे । त्यस्तै पहिरन चाडपर्वको बेला बेलाइतमा गुरुङहरूले पहिरेको उनीहरूले झलक्क सम्झे । “नदीदेखि उठेर अकासिएका भिराला पखेरामा गरागरा परेका खेत, बारी, घना जङ्गल, खोला, झरना, चराचुरुङ्गी, मानिसको ओहोरदोहोर र त्यो मस्र्याङ्दीको साँघुरो उपत्यका देख्दा मलाई त नेशनल ज्योग्राफी हेरेझैँ लागिरहेको छ ।” जेनिसले भनिन् । त्यो रात उनीहरू थोन्जेमा नारको मानिसले सञ्चालन गरेको होटलमा बसे । ज्याक्सनलाई भन्दा पनि वरपरका मानिसले जेनिसलाई हेर्दै उनको रूपबारे खासखुस कुरा गरेका देखिन्थे । मानिसको जात त्यस्तै त हो नि राम्रो–नराम्रो जस्तो रूप देखे पनि वर्णन त गर्छन् नै । “ज्याक्सन, थोन्जेलाई ग्यासुम्दो पनि भनिन्छ । यसको अर्थ चौबाटो हो । प्राचीन कालमा तिब्बतसँग नुनको सटही व्यापार गर्दा नुन ल्याएर यहाँ राखिन्थ्यो । बेसीसहरबाट मानिसले बोकेर ल्याएको खाद्यान्न पनि यहीँ थुपारिन्थ्यो । यहाँदेखि तल मस्र्याङ्दीको पहरो काटेर बनाइएको भीरको बाटो मानिस हिँड्न पनि कष्टकर थियो । घोडा खच्चड पहरामा ठोक्किएर लडेर मर्थे । त्यसैले तल र माथि दुवैतिरको यहीँ थुपार्थे । खच्चड जान नसक्ने भएकाले मानिसले नुन बोकेर पूर्वमा गोर्खा, दक्षिणमा लमजुङ पु¥याउँथे । त्यसैगरी लमजुङबाट ल्याएको कोदो, मकै, चामल, खुर्सानी मनाङतिर खच्चडले लैजान्थे” ग्याल्बोले विस्तृत रूपमा जानकारी दियो । हाम्रो घर भएको यहीँ ठाउँमा हो कि अन्तै हो नि ज्याक्सनले सोध्यो । “तिम्रो जिजु बेलाइतको सेनामा भर्ती भएपछि जग्गा किनेर घर बनाएको यहीँ हो । खाजा खाएपछि त्यो ठाउँ हेर्न जाउँला ।” फुर्वाले भन्यो । “पूmबाट यहाँ आएर किन बसेका होलान् ?” जेनिसले जिज्ञासा राखिन् । त्यसबेला ग्यासुम्दो उत्तरको नार र पूm, पश्चिमको मनाङ, दक्षिणको लमजुङ र पूर्वमा गोर्खाको नुन, ऊन र खाद्यान्न व्यापारको केन्द्र थियो अनि अहिले यहाँ नार र पूmका धेरै मानिसको बसोबास पनि छ । त्यसैले जिजुले यहाँ जग्गा किनेर घर बनाएर बसोबास गरेका हुन् । यो नार र फूको तिब्बत नेपाल व्यापारको केन्द्र पनि हो । त्यसैले यहाँ केहि फिरन्ते तिब्बती दोक्पाहरू, खम्पाहरू र शरणार्थी पनि थपिएका छन् । “अँ, हो यो त महŒवपूर्ण ऐतिहासिक ठाउँ रहेछ । जिजुले कति राम्रो ठाउँ रोज्नुभएको रहेछ ।” ज्याक्सनले खुसी प्रकट गर्दै भन्यो । “तिब्बतसँगको व्यापार बन्द भयो । अहिले त मनाङसम्म जाने मोटरबाटो पनि बन्यो । अहिले यो ठाउँको महŒव कस्तो छ त ?” जेनिसले निकै चाख मान्दै सोधिन् । “तिमीले ठीक भन्यौँ र सोध्यौँ पनि । नुनको व्यापारको ठाउँ विस्तारै पर्यटन व्यवसायले लियो । पर्यटकीय हिसाबले पनि यो त्यत्तिकै महŒवपूर्ण छ । यहाँबाट मनास्लु हुँदै गोर्खा, बेसीसहर, मनाङ, नार र पूm जान सकिन्छ ।” खाजा खाएपछि उनीहरू थोन्जेको गुम्बा र मन्दिर हेर्न गए । गुम्बानजिकै करिब एक रोपनी क्षेत्रफल भएको खाली जग्गा थियो । त्यो जग्गामा घरको भग्नावशेष थियो । ग्याल्बो त्यहाँ पुगेर रोकियो र भन्यो, “भाइ ज्याक्सन यहीँ हो तिम्रो जिजु छिरिङ पाल्देन घलेले बनाएको घर र जग्गा ।” त्यो दिन दिउँसोको बादल फाटेर ठाउँ–ठाउँमा निलो आकाश देखिएको थियो । घाम अन्नपूर्ण चौथोको अँगालोमा पुगेर विश्राम लिएको थियो । पहेँला किरण छिरलिएर पूर्वतिर लम्कँदै मनास्लुको टुप्पोलाई सुनौलो चुम्बनको वर्षा गर्न आतुर देखिन्थे । अर्को त्यस्तै किरण अन्नपूर्ण तेस्रोको वक्षस्थलमा टाँसिँदै मनाङ उपत्यका छिचोलेर तिलिचोतिर तेर्सिएको थियो । बेलुकाको सुनौलो किरणले हिमालय पर्वत त चम्किलो सुनौलो पहाडमा परिणत भएका नै थिए, वरपरका पखेरा र चट्टान पनि सुनकै धागोले बुनेको मलमलको सुवर्णमय पछ्यौरी ओढेर ती दुई युवा जोडीलाई प्रेमालिङ्गनमा बाँधिन प्रेरित गरेजस्ता देखिन्थे । सूर्यास्तको बेला समुद्रमा देखिने दृश्यभन्दा त्यो दृश्य हजारौँ गुणा बढी सुन्दर भएको कुरा सँगै उभिएकी जेनिसलाई ज्याक्सनले सुनायो । त्यो दृश्य देख्दा उनीहरू यतिसम्म एकोहोरिएका थिए कि ग्याल्बो बोलेको थाहै पाएनन् । त्यसबेलाको फोटो र भिडियो बनाए । पश्चिम मनाङ उपत्यकाबाट आएको चिसो सिरेटोको झोँकाले हिमालयको सौन्दर्यमा लीन ती युगल जोडीको एकाग्रतालाई खल्बलाइदियो । “दाइ अब हामी कता जाने ?” ज्याक्सनले सोध्यो । ग्याल्बोले जग्गा र भत्केको घर देखाउँदै पहिले भनेको कुरा दोहो¥यायो “ज्याक्सन यहीँ हो तिम्रो जिजु छिरिङ पाल्देन घलेले बनाएको घर ।” ज्याक्सन झस्क्यो । ऊ त आफ्नै जिजुले बनाएको घरको भग्नावशेषमाथि उभिएर त्यो दृश्य हेरिरहेको रहेछ । जेनिस पनि उत्तिकै खुसी देखिन्थिन् । पहेँलो किरण उनको गोरो अनुहारमा परेको बेला उनी पनि ती हिमालझैँ गम्भीर र सुन्दर देखिएकी थिइन् । चिसो सिरेटो बढ्दै थियो । ज्याक्सनले जग्गा र भग्नावशेषको तस्वीर लियो । त्यसपछि सबै होटलमा फर्के । त्यो रात ज्याक्सन निदाउन सकेन । उसले बाजे पाल्देनलाई सम्झ्यो दुःख मानेन । जिजुले ७५ वर्षपहिले किनेको जग्गा र त्यसमा बनेको घरको त्यो भग्नावशेषमाथि उभिएको सम्झँदा आपूmलाई गौरवशाली ठान्यो । अनजानमै आफ्नै आँगनमा उभिएर उसले त्यो साँझ देखेको सूर्यास्तको दृश्य उसको हृदयमा अजम्बरी पूmल भएर बस्यो । बेलाइतमा उसलाई नपुग्दो केहि छैन । त्यहाँका मध्यम वर्गीय परिवारका सदस्यले उपभोग गर्ने सुविधामा ऊ हुर्केको हो । त्यो सुविधा उपभोग गर्न सक्छ । मृत्युशैयामा भएका बाजे किन रोएका रहेछन् ? कोरोना कालभैरवीका तिखा विषालु नङ्ग्राले बाजेको घाँटी छेडिसक्दा पनि बाजेले नेपाल सम्झेर दुई नयनबाट मस्र्याङ्दीका झरना किन झारेका रहेछन् ? उसले रातभर सम्झ्यो । पितृभूमि नेपाल पुग्ने अवसर दिएकोमा जिजु र बाजे दुवैलाई एकैचोटि आभार प्रकट ग¥यो । उनीहरूको पनाति, नाति भएकोमा गर्व ग¥यो । जिजुको घरलाई पुरानै ढाँचामा बनाउने सङ्कल्प ग¥यो । त्यसबेला जेनिस निदाइसकेकी थिइन् । उनको सुन्दर निधार र दुई आँखामा विस्तारै ओठले चुम्यो र ओछ्यानमा पल्ट्यो । मस्र्याङ्दी आफ्नै सुरमा हामफाल्दै थियो कसलाई भेट्न हो कुन्नि ! “मोटर जाने भए तापनि हिँडेर मेतासम्म पुगौँ ।” ग्याल्बोले भन्यो । करिब चार घण्टाको बाटो हिँड्न उनीहरूलाई छ घण्टा लागेको थियो । “दिनभर बादल लागेकाले हिँड्न त सजिलो भयो तर हिजोका ती सुन्दर हिमाल भने दिनभर नै बादलको पछ्यौरी ओढेर बसे । बाटो काट्न नै कठिन भयो ।” जेनिसले भनिन् । ग्याल्बो र दोर्जीले पूmसम्मको बाटोको बारेमा जानकारी लिए । उनीहरूसँग दुईटा ससाना पाल, ग्याँस, डोरी, आइस एक्सका साथै सङ्कटको बेला चार दिनको लागि खान पुग्ने सामान थियो । त्यो साँझ सबै सामानहरू निरीक्षण गरे । ग्याल्बो र दोर्जीले बोक्न सक्ने भए तापनि बाटोमा केहि दुर्घटना पर्ला भनेर दुई जना नयाँ भरिया कोतोबाट व्यवस्था गरे । क्यामेरा, मोबाइल र हलुका ज्याकेट, टिसर्ट र अन्य सामान आ–आफैँले बोके । ४ भोलिपल्ट बिहान छ बजे खाजा खाएर पूmको लागि हिँडे बेलाइतमा जन्मेर हुर्केका बेलाइती नेपालीका सन्तान । “बाटो असाध्यै साँघुरो, भीर, तिखा ढुङ्गा भएको, उकालो, ओरालो र चिप्लो छ । एक पाइला मात्र बिग्रियो भने मस्र्याङ्दी जत्रै नार खोलामा छम्लङ्गै परिन्छ । बाटोमा हिमाल, खोला, पुल, पूmल, नाउर, चरा, पुतली देखिन्छन् । त्यस्तोबेला सुरक्षित ठाउँमा उभिनु अनि मात्र फोटो खिच्नु । छेउतिरबाट नहिँड्नु ।” नौ–दश वर्षका बालबालिकालाई आमाबाबुले सम्झाएझैँ ग्याल्बो र दोर्जीले उनीहरूलाई पालैपालो सम्झाए । मस्र्याङ्दी नदी तरेर नार खोलाको किनारैकिनार कोतो पहरोतिर चढे । “हाम्रो लागि यो पितृयात्रा हो । यसले पितृभूमि नेपालको माटो चुम्ने अवसर मिलेको छ । हामी होसियारीका साथ हिँड्नेछौँ । तपाईंहरू ढुक्क हुनुहोस् ।” नार खोलाको किनारदेखि अग्लिँदै गएको फुस्रो पहाडको तस्वीर खिच्दै जेनिसले भनिन् । उनको लागि अर्को फाइदा के भने उनले नेपालको भौगर्भिक अवलोकनको अवसर पनि पाएकी थिइन् । “हामी अन्नपूर्ण हिमालको मुख्य शृङ्खलाभन्दा उत्तरतिर लागेका हौ कि क्या हो ? ग्याल्बो दाइ ।” ज्याक्सनले सोध्यो । “हो, हामी नार उपत्यकातिर लाग्दैछौँ । यो उपत्यका मनाङ हिमालभन्दा उत्तर र दामोदर हिमालभन्दा दक्षिणमा पर्दछ । उत्तरमा चीनको तिब्बत रहेको छ ।” ग्याल्बोले जवाफ दिनुभन्दा पहिला उछिन्दै पूmर्वाले जवाफ दियो । ग्यासुम्दोदेखि उत्तर लागेपछि मनाङभर घले, लामा र गुरुङ थर भएका गुरुङ गाउँ छन् । यी गुरुङहरू यो क्षेत्रमा आठ–दश हजार वर्ष पहिले घुम्दै हिँड्दा यतै पशुपालन गर्दै त्यहीबेला देखि बसोबास गरेका हुन् रे” बुढापाकाले त्यस्तै कथा भन्छन् भन्दै ग्याल्बोले पुर्खाबारे जानकारी दियो । मुख्य काला चट्टानको भीरको साँघुरो बाटो सकिएको थियो । फुस्रा पहाड, खस्रु, लालीगुँरास र सल्लाको पातलो वन, अग्ला पहाड, घाम र बादलको लुकामारीमा छलिएर घरिघरि फुत्त देखिने सेता हिमालका टुप्पा, चराहरूको चिरबिर र थरीथरीका पूmलहरू देख्दा ती दुई युवायुवती निकै रमाएका थिए । हिमाली क्षेत्रमा ओहोरदोहोर गर्ने स्थानीय बासिन्दाले पनि कोतोदेखि पूmसम्मको बाटोलाई सुनसान, डरलाग्दो, विकट भनेर भन्दछन् भने बेलाइतमा हुर्केका ती युवालाई पहिलोपल्ट नै त्यस्तो बाटो हिँड्दा कठिनाइ त पक्कै भएको होला । तर, त्यो कठिनाइलाई पाइलैपिच्छे देखिने आकर्षक प्राकृतिक दृश्यले बिर्साइदिएको थियो । प्रकृतिलाई त्यसरी प्रकृतिकै नियन्त्रणमा छोडेको भए सायद कोरोनाले त्यस्तो भयावह स्थिति ल्याउने थिएन कि ? दुई अग्ला पहाडको चेपबाट बग्दै गरेको नार खोलालाई हेर्दै ज्याक्सनले मनमनै सोच्यो । जेनिस अगाडि आफ्नै धुनमा हिँड्दै थिइन् । त्यो दिन कोतोदेखि मेता पुग्न उनीहरूलाई एघार घण्टा लाग्यो । जेनिसको अनुहार थकान, गर्मी र उचाइले मार्फाको स्याउजस्तै रातो देखिएको थियो । मेताको त्यो रात चकमन्न थियो । नारखोला धेरै तल सुसाएको सुनिन्थ्यो । बेलाइतका तारा पनि मेताको आकाशमा जेनिस र ज्याक्सनसँगै पितृदेश आएछन् कि ? क्षणभर बाहिर निस्केर आकाश हेर्दै ज्याक्सनले सोच्यो । त्यो रात ती दुवैलाई निद्रा लागेन । शरीर तातेर भत्भत पोलेको थियो भने टाउको पनि दुवैको दुखेको थियो । “दाइ, हिजो हामी धेरै हिँड्यौँ । थाकेका छौँ । आज पाटन, खेतीपाती, याक, चौरी, भेडा र घोडा चरेको हेरौँ । यसले हामीलाई आराम पनि हुन्छ र केहि बुझ्न पनि सकिन्छ ।” ज्याक्सनले फुर्वालाई भन्यो । मेतामा आराम गरेको दिन बिहान ११ बजेसम्म मौसम खुलेको थियो । त्यो दिन आराम गरेको हुनाले ती दुईमा नयाँ ऊर्जा देखाप¥यो । ग्याल्बो र फुर्वा पनि उनीहरूको स्वास्थ्य देखेपछि ढुक्क भए । “आज, हिजो जति लामो हिँड्न सक्दिनँ कि जस्तो छ । पूmर्वा दाइ बिचमा बास बसेर अर्को दिन पूm पुगौँ । हुँदैन र ?” जेनिसले जिज्ञासा राखिन् । “बिचमा लज त छैनन् तर पानी भएको ठाउँ हेरेर क्याङ फेदतिर बसौँला । त्यहाँ बाट पूm पुग्न सजिलो पनि हुन्छ ।” पुर्वाले भन्यो । क्याङ जाने बिहान आकाशमा एक फुर्को बादल थिएन । आकाश चम्किलो निलो देखिएको थियो भने अघिल्लो साँझको हलुका वर्षा र हुरीले वरपरका पहाड झन् नुहाएर सिलिक्क परेका जस्ता देखिएका थिए । अन्नपूर्ण तेस्रो, चौथो, लमजुङ हिमाल दक्षिणतिर देखिएका थिए भने पिसाङ र चुलुका चुलीहरू आँगनमै ओर्लेका थिए । माथिल्लो हरियो पाटनमा घोडा, चौरी, याक चरिरहेका थिए । भेडाका पाठापाठी माउको दुध चुस्तै ‘म्याँ म्याँ’ गर्दै बुर्कुसी मार्दै थिए । त्यसबेला साँच्चिकै प्रकृतिको छटा जीवन्त देखिएको थियो । त्यो मनोरम दृश्य र प्रकृतिको खेल देख्दा हृदयदेखि नै उम्लेर आएको हर्ष ती दुई युवा जोडीका अनुहारमा प्रत्यक्ष देखिन्थ्यो । उज्यालो भएदेखि सूर्योदय हुँदासम्मको परिवर्तित दृश्यले तिनीहरूलाई मोहनी लगाएको थियो । ती दुवैले रमाइलो मान्दै हिमालसँग लुकामारी खेले । त्यो देखेर फुर्वा र ग्याल्बो पनि खुसीले गद्गद् भएका थिए । “सफा मौसम देख्दा मन पनि सफा भएर झरनाझैँ फुरुङ्ग हुँदोरहेछ । थकाइ पनि मेटिएर शरीर हावामा हिमाली ढुकुरसँगै उड्न खोज्दोरहेछ । त्यस्तो कसरी भएको होला हँ ?” जेनिसको मनको कुरा फुत्त निस्क्यो । “घाम लाग्दा, हिमाल हाँस्दा, पाटनका बुकीपूmल फुलेर हावामा लहराउँदा, पहाडका देवता पनि खुसी हुन्छन् । अप्सरा हिमालयका चुचुरामा नृत्य गर्न थाल्छन् । चौरी, याक, भेडा, नाउर पनि सफा मौसम भएको बेला खुसी देखिन्छन् । गाउँमा तन्नेरी–तरुनी पनि जिस्केर नयाँ–नयाँ भाकामा गीत गाउँन थाल्दछन् । प्रेमको सागरमा चर्लम्मै डुब्छन् । यो प्रकृतिको वरदान हो । सफा मौसम मानिसलाई स्वर्गको अनुभूति गराउने औषधि नै हो ।” ग्याल्बोले दर्शन छाट्यो । ग्याल्बो र पूmर्वा कलेज पढ्दा–पढ्दै पशुपालनमा लागेका युवा हुन् । “तर, हामी किसान त हिउँ पर्दा हिउँसँगै कुस्ती खेल्दै रमाउनुपर्छ । हामीले आपूmलाई ऋतुसँग परिवर्तन गर्दै जान्छौँ । ‘हे आकाश, हे भूमि, हे बादल, हे हिमाल, हे हावा, हे खोला हामीलाई रक्षा गर’ भन्दै प्रकृतिलाई पूजा गर्छौ । हाम्रो जीवन त घुमन्ते नै हो । परिवारसँगै हुने भनेको त पर्व, मानिसको मृत्यु हुँदा, विवाह हुँदा, खेती लगाउँदा र खेती थन्क्याउँदा त हो नि । अरू समय त लेकमा नै बित्छ ।” फुर्वाले थप्यो । त्यो दिनको बाटो अघिल्लो दिनको भन्दा सजिलो थियो । हिमनदीको बगर, पाटन हुँदै अगाडि बढे । एक बजेपछि कालो बादल देखिन थाल्यो । क्षणभरमा नै कुहिरोसँगै चिसो हावा र हिउँका स–साना गेडा झर्न थाले । आधा घण्टाजति हिउँ प¥यो । चिसो बढ्यो । त्यसपछि पानी पनि प¥यो । पानी पर्न छोडे पनि चिसो सिरेटो भने चलिरहेको थियो । त्यस्तैमा दिउँसो तीन बजे उनीहरू क्याङको फेदीमा पाल टाँगेर बसे । क्याङको भीरमा पहिरो गएकाले त्यो बाटो रोकिएको थियो । संयोगवश पहिरो फाल्दै गरेका दाजुभाइ पनि त्यहीँ रहेछन् । उनीहरूसँग दाउरा किनेर त्यो रात आगो तापेर सबैले जिउ तताए । “पहिरो गएकाले पहाड चढेर पुरानो बाटो जानुपर्ने भयो । कठिन छ । भञ्ज्याङसम्म विस्तारै जाऊँ । भञ्ज्याङदेखि मूल बाटोमा जाने बाटो साँघुरो धर्सो मात्रै छ । माथिबाट नाउरले ढुङ्गा झार्न सक्छन् । बाटोभन्दा माथि चट्टान आकाशतिर सोझिएको छ । त्यही पहरो सिधै पूmखोलाको किनारमा झरेको थियो । तल हेर्दा जो कोही पनि झस्किने र रिङ्गटा लाग्न सक्छ । गाउँलेले पनि घरबाट निस्कँदा त्यो भीर पार गर्न पाऊँ भनेर पहरो सम्झेर धूप बालेर निस्कन्छन् । भाइबहिनीले तल नहेर्नू । भञ्ज्याङ पुगेर सल्लाह गरेर मात्र जाने ।” ग्याल्बोले सबैलाई सचेत पारेपछि सबै उकालो लागे । “भीरदेखि तल एकैचोटि नदी देखिएकाले मेरा त आँखा नै तिरमिराए । नदी र यो पखेरो घुइँघुइँ घुमेजस्तो लाग्यो । खुट्टा पनि लुला भए । मुटुको धड्कन बढ्यो । मलाई डर लाग्यो ।” जेनिसले भनिन् । “नडराऊ, एक्कैछिन् बिसौनीमा बिसाऊँ । कसरी झर्ने सल्लाह गरौँ । अनि आस्तै–आस्तै झरौँला ।” ग्याल्बोले आश्वस्त पार्दै भन्यो । “मलाई पनि डर लाग्यो । लडियो भने त बल्ड्याङ् खाँदै नदी किनारमा छम्लङ्ग परिने रहेछ । बाजेको अस्तु लिएर नेपाल आएको फेरि हाम्रो अस्तु बाआमालाई बेलाइत पठाउनुपर्ला । हामीले डोरी यस्तै अप्ठेरो पर्छ भनेर किनेको त हो नि, होइन र फुर्वा दाइ ?” ज्याक्सनले डर र यथार्थमिश्रित जिज्ञासा राख्यो । सबैजना मिलेर भञ्ज्याङदेखि भीरको उत्तरतिरको धारसम्म डोरी टाँगे । डोरी छोटो भएकाले दुई पटक टाँग्नुप¥यो । डोरीको सहारामा उनीहरू सजिलो धारमा पुगे । त्यसपछि मूल बाटो देखियो । सबै खुसी भए । जेनिसको धड्कन शान्त भयो र ओठमा मधुर मुस्कान देखाप¥यो । सबैले लामो सास फेरे र धड्कन शान्त हुन्जेल आराम गरे । “जेनिस, उ… माथि पखेरामा हेर त नाउरको बथान हामीलाई हेर्दै चरिरहेका रहेछन् ।” फुर्वाले नाउर देखाउँदै भन्यो । “नाउर भनेको के हो ?” उनले सोधिन् । “जङ्गली भेडा हो । यसलाई ब्लु सिप भनिन्छ र यो समुद्र सतहदेखि तीन हजारभन्दा माथि भेटिन्छ । यो भेटिने लेकमा हिमचितुवा (स्नो लियोपर्ड) पनि भेटिन्छ ।” फुर्वाले जवाफ दियो । फुखोलाको फेदमा झरेर उकालो चढ्नेबेला एउटा बलौटे कलात्मक पहाड एक्लै ठिङ्ग उभिएको देखियो । त्यसको साँघुरो चेपबाट पूmखोला बगेको थियो । जेनिसले तस्वीर लिइन् । कानीचोर्तेन पार गरेपछि सबैजना पूmखोलाको झोलुङ्गे पुलमा पुगे । त्यहाँबाट भित्तामा गौँथलीको गुँडजस्तै ससाना घरहरु देखिए । “दाइ, उ… त्यो भिरालो पहाडमा देखिएका प्राचीन किल्लाका भग्नावशेषहरू हुन् कि क्या हो ? पहरोमा एकै ठाउँमा गुचुमुच्च देखिन्छन् नि ।” ज्याक्सनले तस्वीर लिँदै सोध्यो । “भाइ, फुस्रो भिरालो पखेरामा एकै ठाउँमा टाँसिएका, गौँथलीको गुँडजस्तै देखिएका, सबैका घरमा झण्डा फहराएका ती सबै घरहरू हुन् । त्यो नै हाम्रो पूm गाउँ हो । हामी पूm गाउँ आइपुग्यौँ । अब पाँच मिनेटमा गाउँको कानी चोर्तेनमा पुग्छौँ ।” ग्याल्बोले भन्यो । पूm गाउँ ! जेनिस र ज्याक्सन दुवै आश्चर्यचकित हुँदै एकैसाथ दोहो¥याउँदै प्रश्न गरे “के साँच्चिकै त्यो पूm गाउँ हो त ?” “हो नि भाइ, हामीले के ठट्टा गर्नु र तिमीहरूसँग । अरूलाई भए त सायद झुक्याउँथ्यौँ पनि होला” ग्याल्बोले हाँस्दै भन्यो । “ठट्टा त गर्नुपर्छ नि नत्र त कसरी बाटो काट्नु !” सुर्ती ओठको चेपमा राखेर भुईंमा थुक्दै भरियाले भन्यो । पूm गाँउ देखेपछि उनीहरू दुवै असाध्यै खुसी भए । उनीहरू खुसी साट्दै एकअर्काको अँगालोमा बाँधिएर म्वाइँ खाए । दुवैका आँखामा खुसीका आँसु टप्केका थिए । “हामीले बाजेसँग गरेको वाचा पूरा गर्ने भयौँ । त्यो भन्दा ठूलो र हर्षको कुरा हाम्रो लागि अरू के हुन सक्छ र ?” जेनिसले भनिन् । “हो जेनिस । म भित्रभित्रै डराएको थिए । बाटोमा बिमार भइन्छ कि, हिंडन सकिँदैन कि भनेर । अब त आइपुग्यौँ । बाजेले सोचेको पुग्ने भयो” ज्याक्सनले थप्यो । ग्याल्बो, भरिया र फुर्वा उनीहरू खुसी भएर हर्षाश्रु बगाएको भावुक भएर हेरिरहेका थिए । त्यस्तैमा ग्याल्बोले भन्यो– “बेलाइतमा जन्मेर उतै हुर्केका केटाकेटी नाउर लड्ने भीरको बाटो यस्तो विकट गाउँमा जिजुबाजेको जन्मथलोमा पुगेको बेला हर्षले आह्लादित भएर खुसीका आँसु झारेका हुन् । उनीहरू बेलाइतबाट आए । हाम्रा यहाँका आफन्त भने काठमाडौँबाट आउन कठिन भयो भन्छन् ।” फुर्वाले गाउँको व्यथा बक्यो । त्यसबेला दुई बजेको थियो । आकाश बादलले ढाके पनि फुस्रा पहाडमा कुहिरो थिएन । “रूख त एउटै पनि रहेनछ । काँडे झार अलिअलि रहेछ । सबै पखेरा फुस्रा, उजाड, गिटी र पातलो माटो मिश्रित रहेछन् । कुनै–कुनै पखेराबाट त पहिरो झरिरहेछ । यस्तो ठाउँमा मानवको बसोबास कहिलेदेखि भएको होला हगि ज्याक्सन ।” जेनिसले सोधिन् । हिउँदमा यहाँ पाँच–छ फिटसम्म हिउँ जम्छ । वैशाख–जेठमा पग्लेर बग्दा पहाडको गेगर बोकेर झर्छ । हावा उत्तिकै जोडले चल्छ । हिमालले छेकेको हुनाले पानी कम पर्छ । त्यसैले त्यति विघ्न सुख्खा भएको होला, होइन त दाइ ? ज्याक्सनले जेनिसको जिज्ञासा मेटाउँदै फुर्वासँग सोध्यो । त्यहाँ बीस मिनेटजति बस्दा नाउरको अर्को बथान पश्चिमतिरको पाखोमा देखिए । पूm गाउँको प्रवेशद्वारमा लामासहित सबै गाउँले उनीहरूको स्वागतार्थ हातहातमा लामा खादा लिएर उभिएका थिए । कसैले धुप बालेका थिए त कसैले छ्याङ र रोटी बोकेका थिए । त्यो साँझ पूmको लागि लेकबाट चौरी झारेको दिनजस्तै पर्व बनेको थियो । उनीहरूलाई भेट्न नार र मनाङबाट पनि आफन्त आएका थिए । लामाले मन्त्रोच्चारण गरी खादा लगाई स्वागत गरेपछि अन्यले पालैसँग स्वागत गरे । “पुख्र्यौली गाउँ पूmमा स्वागत छ है” भन्दै बाजे, बज्यै, काका, काकी, दिदीबहिनी, दाजुभाइ र गाउँले इष्टमित्रले खादा लगाइदिए । खादाले दुवैको घाँटी टम्म भरिएको थियो । “छिरिङको पलाती होइना त ? छिरिङको छोरा तीनबीस वर्षपहिले आउँदै थियो तर त्यसैबेला ठूलो पहिरो गएयो । छुट्टी थोरै रहेछा । बिचबाटै फर्केर गयो । देख्नै पाएना । अहिले पलाती आएछा । हर्ष लाग्यो । मलाई थाहा छ छिरिङ १७ वर्षको उमेरमा भर्ती भएको हो । ऊ अहिले बाँचेको भए चारबीस र चौध वर्षको हुने थियो । अब पलाती कति वर्षपछि जिजुको गाउँ सम्झेर आएछ त ? लौ भन त !” हातको माने घुमाउँदै गरेका एकजना वृद्ध बाजेले उनीहरूलाई देखेपछि भने । “आम्मै नि ! त्यो केटी को रहेछा नि ? आहा ! कति राम्री हँ ! नाउरको पाठीजस्तै सुन्दर र मायालाग्दी” छोरीलाई दुध चुसाउँदै गरेकी अर्की आमाले जेसिकाको सौन्दर्यको चर्चा गर्दै भनिन् । “बेलाइतको लाहुरे हो नि केटाको जिजु र बाजे त । धेरै नै राम्रो मान्छे हो, यिनीहारु । माथि गुम्बाको एउटा घर ऊ लाहुरे हुँदै बनाको ।” डोकोमा गुइँठा बोक्दै घर फर्केकी अर्की महिलाले भनिन् । “आम्मै नि ! बेलाइत बसेको मान्छे, त्यो भीरको बाटो कसरी आयो होला नि । त्यो त नाउर लड्ने भीर ।” भेला भएका युवतीहरू कुरा गर्दै थिए । ५ पूmमा उनीहरू आफ्नै जिजु र बाजे जन्मेको घरमा बसे । त्यसमा अहिले उनकै सन्तान ग्याल्बो बसेका छन् । फुस्रा पातला ढुङ्गा र बलौटे माटोको जोडाइबाट बनेको घरमा एक वर्गफिटको झ्याल थियो । भुईं तलामा घाँस, दाउरा र दुहुनो चौरी बाँधिएको थियो । पहिलो तलामा भान्सा, परिवार र पाहुना आउँदा सुत्ने ठाउँ थियो । दोस्रो तलामा गोदाम गरिएको थियो । चेप्टो छानोमा बिस्कुन सुकाउने र दाउरा राख्ने गरिन्थ्यो । उनीहरू आउँछन् भनेपछि एउटा शौचालय बाहिर बनाइएको थियो । तीन दिन तासी ल्हाखाङ गुम्बामा सात जना लामा राखेर पूजा सम्पन्न गरियो । त्यसको सबै बन्दोबस्त ग्याल्बोको परिवारले नै गरेका थिए । त्यसलाई लाग्ने खर्च भने ज्याक्सनले नेपाल आउनुभन्दा पहिले नै पठाइदिएको थियो । बुद्ध पूर्णिमाको दिन बिहानैदेखि मौसम सफा भएको थियो । लामाले जोखाना हेरेर ज्याक्सनका बाजे पाल्देन घले गुरुङको अस्तु राख्ने ठाउँ तोकिदिए । त्यो गुम्बा भएको पखेराको पश्चिम फर्केको एक छेउमा अस्तु राखेर तीन खण्ड भएको ढुङ्गाको स्मृति चोर्तेन बनाउन स्वीकृति दिए । पूर्णिमाकै दिन सबै गाउँले दाजुभाइको सहयोगमा चोर्तेन पनि बनाए । जिजु र बाजेको नाम लेखिएको पितलको ताम्रपत्र त्यही चोर्तेनमा राखिदिए । साँझपख गुम्बा र चोर्तेनवरपर बत्ती बालेर सबैजना फर्के । “जेनिस, अब बाजेले भनेको एउटा काम सम्पन्न भयो । अर्को एउटा हामीले यो गाउँलाई भविष्यमा केही सहयोग गर्न सकिन्छ कि जसले गर्दा गाउँलेलाई आर्थिक लाभ पनि होस् र हामीलाई पनि सन्तोष मिलोस् ।” ज्याक्सनले जेनिसलार्य भन्यो । “ठीक हो, मैले पनि बाजेलाई पीर नगर्नु हामी गाउँलाई नै सन्तोष हुने गरी केही ठोस काम अवश्य गर्नेछौ भनेकी थिएँ । त्यसैले ग्याल्बोलाई भनेर सबैसँग परिचय पनि गरौँ र त्यसबारेमा छलफल गरौँ न त ।” जेनिसले थपिन् । ग्याल्बो र फुर्वाले गाउँका सबैलाई गाउँको गुम्बामा बोलाए । लेक गएका बाहेक सबै घरपरिवारका सदस्य भेला भएका थिए । पूmमा साँच्चै ल्होसार आएको थियो । गुम्बामा सबै उपस्थित भएपछि ज्याक्सन र जेनिसले आफ्नो पढाइ, जेनिसको पुर्खा नेपालकै भएको र उनीहरूले बाजेको वर्ष दिनको काम सकेपछि बिहे गर्ने योजना गरेको कुरा आफन्तजनलाई जानकारी दिए । बाजे पाल्देनले अस्पतालमा हुँदा उनले हवाइजहाज चार्टर गरेर नेपाल आउन खोजेको, आँखाभरि आँसु टल्पलाउँदै गाउँलेलाई धेरैधेरै सम्झेको, सबै दाजुभाइसँग उनीहरूलाई भेट्न नसकेकोमा क्षमा मागेको अन्तिम अवस्थामा नेपालको मात्रै कुरा गरेको बारेमा ज्याक्सनले गाउँले दाजुभाइलाई बतायो । ज्याक्सनको भनाइले सबै भावुक भएका थिए भने कतिले त आँसु रोक्न सकेका थिएनन् । पाल्देनकै उमेरका उनकै दाइ पर्ने तासी घलेले भने “बाबु तिमीले तिम्रो बाजेले भनेको कुरा सम्झेर, बाजेलाई सम्मान गर्दै उनको अस्तु लिएर यहाँ सकुशल आइपुग्यौँ, तिमीलाई गाउँको तर्फबाट आभार व्यक्त गर्दछौँ । हाम्रो ठूलो पर्व बुद्ध पूर्णिमाको दिनमा पूजा गर्ने गरी आउन सक्यौ, हाम्रो लागि यो भन्दा हर्षको कुरा के हुन सक्छ र ? पाल्देन एक पटक आफ्नो पितृथलो नआई त कसरी मर्ला र भन्ने मलाई लागेको थियो । मलाई पनि असाध्यै देख्न मन थियो । कालले उसलाई आउन दिएन । तिमी आयौँ हाम्रो वंश धन्य भयो । मन टाढा नहुने हो र अठोट हुने हो भने बेलाइत पनि टाढा नहुँदो रहेछ नि । तिमी दुईले प्रमाणित ग¥यौँ । पूm हजारौँ वर्षको इतिहास बोकेको हाम्रा पुर्खाले याक र चौरी चराउँदै, नाउर र हिमचितुवासँग खेल्दै बनाएको गाउँ हो । यसको सबै मिलेर रक्षा गर्नुपर्छ ।” बोल्दाबोल्दै तासीको भक्कानो बस्यो उनी बोल्न सकेनन् अनि रोक्न खोज्दाखोज्दै आँसु पनि रोक्न सकेनन् । गुम्बा चकमन्न बन्यो । सबैका आँखाबाट पाल्देनको सम्झनामा दुई थोपा आँसु झरे । ज्याक्सनले तासी नजिक गएर उनका आँसु पुछि दियो । “राजधानीको त के कुरा गर्ने, मनाङमा नै भएका आफन्त त भीरको बाटो हिँड्नुपर्छ भनेर आउँदैनन् । तिमी दुई कष्टको कुनै पर्वाह नगरी आफ्नो पुख्र्यौली घर सम्झेर बेलाइतदेखि आयौँ । हाम्रो पूm गाउँ पवित्र भयो । यी पाखा, खोला, हिमाली देवता र पुर्खाले संरक्षण गर्दै तिमीहरूलाई यहाँ ल्याई पु¥याएका हुन् । तिमी दुईलाई हाम्रो गाउँको आशीर्वाद लागोस् । तिमीहरूले सोचेको पुगोस् ।” त्यस्तै सत्तरी वर्ष पार गरेकी एक आमाले हातको माने घुमाउँदै उनीहरूलाई आशीर्वाद दिँदै भन्नुभयो । त्यसपछि जेनिसले उठेर सबैलाई नमस्ते गर्दै भनिन् –“ मृत्युशैयामा सुतेको बेला मैले बाजेसँग आधा घण्टा कुरा गरेकी थिएँ । वहाँको हवाइजहाज चार्टर गरेर भए पनि नेपाल आउने इच्छा थियो । ‘म नेपालमा गएर मर्न चाहन्छु’ भन्नुहुन्थ्यो । कोरोना भाइरसले गर्दा सारा संसार बन्द थियो । संसार बन्द भएको कुरा थाहा पाएपछि उहाँ साह्रै दुःखी हुनुभयो । हामीले तपाईंको इच्छा के छ ? हामी पूरा गर्छौ भनेपछि बल्ल यहाँ तपाईंहरूलाई भेट्न जानू भन्नुभयो । त्यसपछि हँसिलो अनुसार पारेर आँखा हेर्दाहेर्र्दै हामीबाट बिदा हुनुभयो । त्यसैले हामी अहिले तपाईंका काखमा आइपुग्यौँ । ज्याक्सन र मेरो परिवारले नेपालको हाम्रो पुर्खाको जन्मथलोमा सबै गाउँलेसँग मिलेर गाउँलेलाई नै प्रेरित गर्ने सानो काम गर्ने सोच बनाएका छौँ । सबैभन्दा पहिले फू, अनि नार र पर्वतमा हामी तपाईंहरूका दुःखसुखमा सहभागी हुन चाहन्छौँ । के गर्दा राम्रो हुन्छ ? तपाईहरूले हामीलाई सल्लाह दिनुहोस् ।” त्यसैमा ज्याक्सनले दुवै हात जोड्दै थप्यो, “मैले कृषि पढेको हँु । पशुपालन र कृषिमा भएको मेरो ज्ञान काम लाग्छ कि ?” “बेलाइतमा जन्मेर, उतै हुर्केर उतै पढेलेखेका केटाकेटी कति भद्र, कति सुशील, कति राम्रो नेपाली बोल्न जानेका । के अचम्म हो !” छेउमा बसेका पाका गाउँलेले एकअर्कामा गफ गर्दै भन्दै थिए । त्यसैबेला गाउँका तासी घलेकै उमेरका समाजसेवी पशुपालक थोसाङ लामाले भने, “हामी आझै दाश हजार वर्ष पहिलेको घुमन्ते पशुपालनको जमानामा छौँ, बाबु ! माथिल्लो र तल्लो लेक गर्दा हाम्रो वर्षा बित्छा । यहाँ खेती हुने ठाउँ कम छा । हिउँदमा हिउँ बाक्लो पार्छा । त्यसपाछी कोरोना भाए जास्तो घारभित्रै बास्ने हो । पशुपालन र जडीबुटी काम गरे भने हामी किसानलाई फाइदा होला ।” त्यस्तैमा एक जना करिब ५५ वर्षकी फुटी लामाले भनिन्, “चौरी र भेडापालनका साथसाथै जडीबुटी सङ्कलन र प्रशोधनको काम गर्न सकिन्छ कि ?” “मेरो पनि पशुपालन र जडीबुटीमा केहि काम गर्न सकिन्छ कि भन्ने सोच छ । हामीले नोकरी भर्खरै मात्र थालेका छौँ । तर पनि जिजु बाजे र बाजेको सम्झनामा हामी तपाईंहरूसँग सहकार्य गर्न चाहन्छौँ तपाईंको तर्फबाट प्रस्ताव चाहन्छौँ ।” ज्याक्सनले प्रष्ट पार्दै भन्यो । “हामी एक घण्टा गाउँ घुमेर आउछौँ । भोलि फर्कने हो । त्यसैले हजुरहरूले सल्लाह गर्नुहोस् । बुबाआमा, बाजे र सबैले भनेको सुझावलाई हामीले स्वीकार गर्नेछौँ” जेनिसले भनिन् । उनीहरूसँगै गाउँका दुई भाइ र एक बहिनी पनि निस्के । उनीहरू गाउँतिर उक्लँदा मौसम सफा थियो । बाजेको अस्तु राखेको पखेरोमा नाउर चर्दै थिए । गाउँभन्दा केहि माथिको ढिस्कोबाट उनीहरूले पूर्वतिर एउटा हिमाल देखे । भाइलाई सोधेपछि थाहा पाए त्यो काङ्गर हिमाल रहेछ । गाउँ घुमेपछि गुम्बामा नै फर्के । त्यहाँ बसेका बहिनीले उनीहरूलाई सुचे हिमाली नुनचिया दिए । त्यसले उनीहरूलाई निकै हित गरेको थियो । गाउँले मिलेर गरेको सल्लाहबारे तासी घलेले जानकारी दिँदै भने, “बाबु, हामीले छलफल ग¥यौँ । गाउँमा भेडाच्याङ्ग्रा र चौरीपालन चलि नै रहेको छ । हातमुख जोर्न यसले हामीलाई तीन–चार महिनालाई थेगेकै छ । बेलाइत र पूmको नाता गाँसिरहनका लागि तिम्रो तर्फबाट पाँच सय भेडा र पचास चौरी थप्ने सोच बनायौँ । यी दुवैको लागि करिब पच्चीस लाख रूपैयाँ आवश्यक पर्नेछ । यसबाट आठ जनालाई रोजगारी पनि मिल्नेछ । तेस्रो वर्षदेखि हेरालुको खर्च, हिमपहिरोमा परेर मर्ने र हिमचितुवाले खाइदिने जस्ता प्राकृतिक प्रकोपबाट हुने नोक्सानीलाई कटाएर पनि पाँच–छ लाखसम्म आम्दानी हुनेछ । त्यसबाट भेडा, चौरी थप्दै जाँदा राम्रो होला ?” ज्याक्सन र जेनिस दुवै जना गाउँलेबाट आएको प्रस्तावदेखि साह्रै खुसी भए । “यो प्रस्ताव त मलाई साह्रै व्यावहारिक लाग्यो” भन्दै ज्याक्सनले थप जिज्ञासा राख्दै सोध्यो, “तासी बाजे, यसको जिम्मा कसले लिन्छ ? अनि, तपाईंहरूले फाइदा कसरी गर्नुहुन्छ त ?” तासीले भने “यसको सबै जिल्मा ग्याल्जेनले लिनेछ । तिमीहरूलाई ग्याल्जेनले नै जानकारी पनि दिनेछ । तेस्रो वर्षदेखि हामीले भेडा र भेडाको ऊन काठमाडौँमा बिक्री गर्न थाल्छौँ र चौरीको नौनी घिउ तिब्बतमा बिक्री गर्न सकिन्छ ।” जेनिससँग सल्लाह गरेर ज्याक्सनले भन्यो, “यो प्रस्ताव हामीलाई धेरै राम्रो लाग्यो । तपाईंहरूले भन्नुभएको आर्थिक सहयोग हामी दुई वर्ष गरेर उपलब्ध गराउछौँ । तेस्रो वर्षदेखि हुने आम्दानीलाई बाजेले भन्नुभएझैँ चौरी र भेडा थपौँ । त्यसपछि यहाँ गाउँमा नै एक पस्मिना, एक चिज र अर्को जडीबुटी प्रशोधन उद्योग स्थापना गरौँला ।” ज्याक्सनले भनी नसक्दै सबै गाउँले हृदयदेखिनै खुसी व्यक्त गर्दै एक मिनेटसम्म लगातार ताली बजाएर समर्थन जनाए । त्यो रात गाउँलेले ठूलो भोज गरे । सबैले छ्याङ, रक्सी खाएर राति एघार बजेसम्म नाचगान गरे । ज्याक्सन र जेनिसले भने स्वास्थ्यको ख्याल गर्दै चिया, भात र उसिनेको सादा तरकारी मात्र खाए । भोलिपल्ट बिदाइ गर्न झोलुङ्गे पुलसम्म गाउँले लामबद्ध थिए । सबैले “बाटो कठिन छ, ओरालोमा जुता लर्केर खुट्टा मर्केला विस्तारै राम्रोसँग जानु, फोन गर्नु, पूm गाउँलाई माया नमार्नु । फेरि भेटौँला ।” भन्दै खादा लगाइदिए । ज्याक्सनका आँखाले तासी बाजेलाई खोज्दै थिए । तासीबाजे बिमार हुनुभएछ कि भन्ने सोच्दै थियो । होइन रहेछ, तासी बाजे र अन्य चार–पाँचजना बाजेबज्यै त अगाडि नै कानी चोर्तेन पुगेर बसेका रहेछन् । “ल नाति, तिमी आयौँ म धन्य भएँ । मैले मेरो दौँतरी पाल्देनलाई भेटेजत्तिकै खुसी भएँ । म डाँडामाथि बसेकोे घाम अब फेरि भेट होला नहोला थाहा छैन । म पनि तिम्रै बाजे हुँ । नेपाल आमालाई नबिर्सनु ।” भन्दै तासीले बर्बर्ती आँसु झारे । आफ्नै बाजेलाई भेटेजस्तै मानेको ज्याक्सन र जेनिसले पनि आँसु रोक्न सकेनन् । बाजे र अन्य बज्यैहरूले उनीहरूलाई त्यही खादा लगाइदिए । पहाडजत्तिकै गह्रौँ मन लिएर ती दुई आँसु पुछ्दै बिदा भए । तिनीहरूको बिदाइलाई पखेरामा चर्दै गरेका नाउरका बथानले पनि टुलुटुुलु उनीहरूतिरै फर्केर हेरिरहेका थिए । उनीहरूलाई भीर कटाउन आएका युवा भाइहरू क्याङको भीर पार गराएपछि फर्के । त्यो दिनभर ती दुई गम्भीर देखिएका थिए । गाउँको आत्मीयताले उनीहरूलाई घरिघरि झस्काएको थियो । “नेपालीहरूको मन कति चोखो र पवित्र हुँदोरहेछ ।” ज्याक्सनले अनायास कुरा निकाल्दै पूm खोलातिर हेर्दै भन्यो । ज्याक्सनको छातीमा टाउको अड्याउँदै जेनिसले विस्तारै भनिन्, “साँचो अर्थमा नेपालीको मन हिमालजस्तै सफा, झरनाजस्तै निश्छल र आकाशजस्तै विशाल हुँदोरहेछ । पूm गाउँमा मैले त्यस्तै देखेँ ।” पूm खोला नारखोलामा मिसिएपछि त्यसको यात्रा सकिएझैँ उनीहरूको त्यस पटकको फूको यात्रा टुङ्गिएको थियो । उनीहरू नारमा एक रात, मनाङ एक रात बसेर बेसीसहर हुँदै पोखरा गए । त्यहाँ दुई दिन फिसटेल लजमा आराम गरे । “हेर न जेनिस मनाङबाट दक्षिणतिर देखिएका हिमाल पोखराबाट उत्तरतिर देखिए । हामीहरू हिमाल नाघेर धेरै माथि पो पुगेर आयौँ त ।” ज्याक्सनले पोखराबाट लामबद्ध देखिएका सुन्दर हिमालको ताँती देखाउँदै भन्यो । माछापुच्छ«े र अन्नपूर्णको फेवातालमा परेको छायाँको तस्वीर लिइसकेपछि “हो नि, पहिलो पटकमा नै हामीले ऐतिहासिक यात्रा ग¥यौँ” जेनिसले भनिन् । त्यसपछि जेनिसको पितृथलो र ज्याक्सनको मावली गाउँ पर्वतको विहादी एक रात बसे । पोखराबाट उनीहरू हवाइजहाजमा काठमाडौँ फर्के । काठमाडौँ पुग्दा उनीहरूसँग फुर्वा घले, ग्याल्बो घले र विहादीबाट सुशान्तसाथमा उनीहरूलाई बिदाइ गर्न पुगेका थिए । काठमाडौँ एक रात बसेर उनीहरू सकुशल बेलाइत फर्के । ६ चौरी र भेडा किन्न र गोठको नामकरण गर्न गाउँले मिलेर गुम्बामा पूजाको आयोजना गरे । लामा सोनामले त्यसबेला खोला, लेक, हिमाल, चट्याङ, आकाश, हावा, सूर्य, माटो, पितृ सबैको पूजा गरे । गोठको नाम ‘ज्याक्सन पाल्देन घलेको चौरीगोठ’ राखियो । त्यो दिन सबैले राम्रा लुगा लगाएर आ–आफ्नो घरमा बनाएको खाना, छ्याङ, रक्सी र चिया लिएर आएका थिए । त्यसबेला सबैले खाँदैपिउँदै नाचगान गरेर रमाइलो गरे । एउटा छोटो भिडियो बनाएर ज्याक्सनलाई पठाइदिए । पहिलो वर्ष ज्याक्सनले पठाएको पैसाबाट दुई सय पचास भेडाका पाठापाठी र पच्चीस चौरी, याक किने । दोस्रो वर्षको रकमबाट उनीहरूले त्यत्ति नै थपे । साँच्चिकै तेस्रो वर्षदेखि आम्दानी हुन थाल्यो । ग्याल्बोले ज्याक्सनलाई लेखेको सन्देशमा भनेको थियो– “पाचौँ वर्षसम्म एउटा चौरी हिमपहिरोमा परेर म¥यो, एउटा याकलाई हिमचितुवाले हान्यो । झण्डै पचासवटा भेडा केही बिमारी परेर मरे भने केहीलाई हिमचितुवाले खाइदियो । त्यो सामान्य हो । आम्दानी योजनाअनुसार छ । ग्याल्बो” पाँचौ वर्षमा सानो चिज उद्योग खोल्नको लागि चाहिने सरकारी स्वीकृतिदेखि सामानहरू त्यही आम्दानीबाट लिन ज्याक्सनले स्काइपबाट सल्लाह दियो । गाउँकै ऊनबाट पस्मिना बुन्न चौथो वर्षदेखि सुरु भएको थियो । पस्मिना बुन्न थालेपछि हिउँदमा तीर्थ गर्न औल झर्ने गाउँलेको सङ्ख्या पनि घटेको थियो । जाडोको लागि गुइँठा र दाउरा भएका गाउँले घरमा नै बसेर पस्मिना बुनेर मनग्गे आम्दानी गर्न थालेको थिए । पासाङ र उनको परिवारले फुर्सदको समयमा पस्मिना बुनेर असी हजार आम्दानी गरेको थियो । गाउँका सबै परिवारका सदस्य कुनै न कुनै काममा व्यस्त देखिन्थे । पहिले जस्तो झैझगडा पनि हुन छोडेको थियो । गाउँपालिकाले शौचालय बनाउने घर परिवारलाई सोलार वितरण गरेको थियो । पाँचौ वर्षमा गोठ धेरै ठूलो भइसकेको थियो । ज्याक्सनले स्वीस साथीहरूसँग चीज उद्योग स्थापना गर्नेबारे सल्लाह लियो । उसलाई सहयोग गर्न तीन जना साथीहरू नेपाल जान तयार भए । त्यसबेला गाउँपालिकाले पनि भेडा र चौरीपालनलाई विस्तार गरिसकेको थियो । नेपाल सरकारले हिमाली क्षेत्रका किसानलाई बिना ब्याजमा पन्ध्र वर्षे ऋण दिने नीति ल्याएको थियो । कोरोना भाइरसको आक्रमणपछि धेरै युवा नेपाल फर्केर खेतबारी बाँझो रहन दिएका थिएनन् । जताततै साँच्चिकै एउटा उमङ्ग छाएको थियो । ज्याक्सनले सुरु गरेको देखेर मनाङको मनाङ, खाङसार, टंकीतिर पनि चौरी र भेडा पाल्ने किसानको सङ्ख्या ह्वात्तै बढेको थियो । त्यसले ज्याक्सन र जेनिसका परिवार धेरै खुसी भएका थिए । उनीहरूको प्रयासले बाजेको चाहना पूरा भएको थियो । पाँचौँ वर्ष स्वीस साथीहरूसँगै ज्याक्सन र जेनिस फेरि पूm गाउँ पुगे । सामान्य ग्रामीण प्रविधिको उपयोग गरेर उनीहरूले त्यहाँ एक सानो चीज उद्योग खोले । त्यति मात्र होइन स्वीस प्राविधिज्ञले दिएको आधारका गुणस्तर कायम राखेमा स्वीस साथीहरूले नै सो चीज खरिद गर्ने अश्वासन पनि उनीहरूलाई दिए । करिब सत्तरी परिवारको जीवनमा साँचो परिवर्तन देखिन थालेको थियो । त्यहाँ लोभ, षड्यन्त्र केहि थिएन । गाउँलेले ज्याक्सनलाई ‘गाउँको मुहार फेर्ने हाम्रो नयाँ सेनरेव’ भन्दै ऊ र जेनिसको फोटोलाई पूजा गर्न थालेका थिए । अचम्मै भयो ग्याल्बोले भन्यो “साँच्चिकै सूर्योदय भयो । पशुपालन, व्यापार र पर्यटन व्यवसाय साँच्चै विस्तार भयो । ज्याक्सन पाल्देनको चौरीगोठ भनेर सामाजिक सञ्जालमा त्यत्तिकै प्रचार भयो । दार्चुलादेखि कञ्चनजङ्घासम्मको नेपालको हिमाली उपत्यकामा बसोबास गर्ने किसान दाजुभाइले पूm गाउँले गरेको कामबाट प्रेरित भएर फेरि पशुपालनतर्फ रुचि राख्न थालेछन् । त्यसबाहेक पहाड र तराईतिर पनि विदेशबाट फर्केर काम गर्न थालेछन् । विदेशबाट सहयोग गर्न सक्नेले ज्याक्सन पाल्देनले सहयोग गरेझैँ सहयोग गरेछन् । ज्याक्सन पाल्देनको चौरीगोठको अनुभव सिक्दै धेरै गाउँ स्वरोजगारतर्फ लम्केछन् । तरकारी, चिया, दूध, घिउ, मासु, कोदो र धान त नेपाललाई पुग्ने गरी उब्जन थालेछ नि त ।” ‘ए, हो र ? त्यो त साह्रै राम्रो भो नि ! अँ, साँच्ची कर्णालीका युवा पनि कालापहाड जानै छोडेछन् ।’ फुर्वाले थप्यो । यस्तो लाग्थ्यो कि गाउँबाट, स–साना किसानबाट विकासको लहर सहरतिर पस्दै थियो । मानिसमा नयाँ उमङ्ग र उत्साह देखिन्थ्यो । मानिस आपूmले आफँैलाई विश्वास गरेका थिएनन् । “अचम्म भो ग्याल्बो, कोरोना कालभैरवीले अमेरिका र युरोपलाई थला नै पारिन् । तर, नेपाललाई भने ज्याक्सन पाल्देनको चौरीगोठ स्थापना गरेर भलो नै गरिन् । पहिले विकटताको पर्याय बनेको पूm गाउँ अहिले विदेश र स्वदेशका धेरै नेपालीको लागि प्रेरणाको स्रोत बनेको छ । विदेशमा बसेका दुई सय कृषि, पर्यटन, जलविद्युत क्षेत्रका विज्ञ युवाहरु नेपालका आ–आफ्ना गाउँमा फर्केर ज्याक्सनले पूmका हामी गाउँलेलाई सहयोग गरेझैँ सहयोग गरि उद्यमी बनाएका छन् ‘रे त । तँलाई बढी थाहा छ नि, कि कसो हो ?” छ्याङ र सुचे सँगसँगै पिउँदै ज्याक्सनका काका तासी घलेले जिज्ञासा राखे । बाहिर हुइँहुइँ गर्दै चिसो सिरेटो चलिरहेको थियो । “हो काका” गिलासको बाँकी छ्याङ सक्दै ग्याल्बोले भन्यो “ज्याक्सन पाल्देनको चौरी गोठले हामीलाई त राम्रो ग¥यो नै । यसले नेपालभर नै पशुपालन र खेतीपातीको लहर ल्यायो । त्यसैले गर्दा पूm गाउँको नाम नेपालमा मात्र होइन विश्वभर फैलिएको छ ।” ७ प्रकाशित जनमत साहित्यिक मासिक असार २०७७ अंक २७३
कथा ४. ‘पेमा’ जनमत मासिक २०७६ भदौ अंक २६३ मा प्रकाशित । एकाबिहानै त्यस्तै चार बजेको हुँदो हो पेमाको घरमा फोनको घण्टी लगातार बज्न थाल्यो । त्यति सबेरै कहिल्यै फोनको घण्टी बजेको थिएन । पेमा हत्त न पत्त उठिन् । फोन उठाइन् । ‘पेमा गुरुङ रोकाया हो ? ’ कल्याङमल्याङ आवाजको बीचबाट कसैले सोध्यो । उनले ‘हो’ भनिन् । ‘दोर्जी रोकायाको मृत शरीर महाराजगन्ज शिक्षण अस्पतालको मुर्दादान घरमा छ । तपाईं छिटै आउनु ।’ भन्दै फोन राखिदियो । अस्पताललाई आँखा र शरीर दान गर्ने सम्झौतापत्रमा दोर्जी रोकायाले घर–परिवारको सबै विवरण दिएका थिए । त्यसैको आधारमा आफ्नो पतिको मृत्यु भएको खबर पाइन् पेमाले । दश वर्षपहिले नै सुकिसकेका आँशु एक पटक फेरि उनको दुवै आँखामा टिलपिल भएर देखा परे । लास ढाकिएको सेतो कपडा पन्छाएर हेरिन् । अनुहार उज्यालो थियो । लख काटिन् ‘मृत्युको बेला कठोर पीडा भएनछ ।’ लामो सास फेरिन् । चालिस वर्षसम्म दुई शरीरलाई एउटै जस्तो बनाएर दोर्जी र पेमाले पारिवारिक जीवनका थुप्रै उकाली–ओराली नापे, हिमाली भञ्ज्याङको हिउँ र चिसो सिरेटोलाई अँगालो हालेर निस्तेज पारे, छार्कामा आलु र उवा उमारे, याक खेद्दै तिब्बत पुगेर नुन र खाद्यान्नको जोहो गरे, भेडाच्याङ्ग्रा लिएर मुस्ताङ हँुदै पोखरासम्म पुगे, काठमाडौँमा घरजम गरे, छोराछोरीलाई उच्च शिक्षा लिन अमेरिकासम्म पठाए । प्रकृतिले दिने नीलो सफा आकाश, छार्का खोलाको नीलो कञ्चन पानी, फुस्रा बलौटे पहाडमाथि टलक्क टल्कने लोभलाग्दा हिमाल, मौसम परिवर्तन हुनासाथ देखिने कालो बादल, हिमपात, ढुङ्गा र गेगरसहितको हिले भेलजस्तै उनीहरूको जीवनमा पनि सुख र दुःख शरीरसँग छायाँ भएझैँ सँगै भए । उनीहरूले जीवनमा खेपेको कष्ट, गरेको मेहनत र देखिएको प्रगतिले ठूलो प्रेरणा दिएको थियो दोर्जीको जन्मथलो डोल्पाको छार्का र पेमाको माइती देश मुस्ताङको साङता गाउँलाई । हिमाली क्षेत्रमा अपत्यारिलो किमिमले मौसममा परिवर्तन आउँछ । टहटह घाम लागेर नीलो आकाश देखिएको केही पलभित्र नै कालो बादल उठेर चिसो सिरेटो हुइँकिनुका साथै फाटफुट पानीसँगै हिउँ पर्न थाल्छ । रातभर हिउँ प¥यो भने भञ्ज्याङ छिचोल्न सकिन्न । अचानक डोल्पाको मौसममा परिवर्तन आएझैँ बिहे गरेको चालिस वर्षपछि पेमा र दोर्जीको जीवनमा पनि पत्याउनै नसकिने भयानक हिमपात भयो । दुई दम्पत्तिबीच विग्रह उत्पन्न भयो । कानुनी तवरले छुटानाम नगरी उनीहरू १५ वर्षदेखि छुट्टाछुट्टै बसेका थिए । डोल्पा छार्काकै आफन्त डोल्मालाई लिएर उनी शिक्षण अस्पताल पुगिन् । लाश दान गरेको कुरा त्यहाँ पुगेर मात्र थाहा पाइन । तीन छोराछोरी अमेरिकाबाट नफर्कुञ्जेल लाशलाई प्रयोगशालामा नलैजान आग्रह गरिन् । स्वयम्भू घर फर्किन् । अमेरिकामा उच्च शिक्षा हासिल गरी काम गर्न थालेका एक छोरी र दुई छोरालाई फेसटाइममार्फत बाबुको मृत्यु भई लाश महाराजगञ्ज शिक्षण अस्पतालको मुर्दादान घरमा रहेको जानकारी दिइन् । समयको पदचापलाई राम्रोसँग केलाउन नसक्दा धेरै मानिसको मनभित्रको घर मुर्दाघर जस्तै भएको छ आजकल । आमाबाबु र छोराछोरीबीचको सोचाई र व्यवहार पुस्तौँपुस्ताबीच देखिने अन्तरजस्तै भएको छ । व्यवहारमा हातमुख जोर्न कठिन छ तापनि सामाजिक सञ्जालले गर्दा अन्तरिक्ष यात्रामा तल्लीन छन् सन्तान । अनि आमाबाबु र छोराछोरी बीच गहिरो खाडल बनेन त ? सम्पन्न भएर पनि बोल्ने साथीसम्म नहुँदा एकलकाँटे भएका छन् सत्तरी नाघेका मातापिताहरू कतै सहर त कतै गाउँमा । त्यस्तै भयो पेमाको घरमा पनि । पुरातन घमण्डले पेमाको परिवार पनि खण्डित भएको थियो । बाबु–आमा आ–आफ्नो संस्कार, संस्कृति र पौराणिक परम्परा बचाउने सोच र घमण्डमा थिए । छोराछोरीलाई अमेरिकामा स्वतन्त्र भएर बग्ने हावापानीले चुर्लुम्ब डुबाएको थियो । मृत्युले कठोर प्रहार गरेको थाहा पाएपछि नेपालको रातको दुई बजेको आसपासमा जेठो छोरा, छोरी र कान्छो छोरालाई क्रमशः एक–एक मिनेटको फरकमा दोर्जीले करिब सत्र वर्षपछि फोन गरेका थिए । तीनै जनाको फोन कार्यालयको सचिवालयमा भएकाले उठाउन नसकेको कुरा आमालाई छोराछोरीले पछि सुनाएका थिए । यता पेमाले पनि राति एक पचपन्न बजे बाबाको फोन आएको तर आफूले थाहा नपाएको कुरा छोराछोरी, ज्वाइँ, बुहारी, नाति र नातिनीहरूलाई भनिन् । अमेरिकामा नै भए पनि तीनतिर भएका छोराछोरी सबैलाई पालैपालो फोन गरिन्, बाबुको मृत्यु भएको खबर सुनाइन् र सबैसँग आँशु साटासाट गरिन् । सबै भावविह्वल भए । बाबुसँग कुराकानी नभए तापनि जिउँदो हुँदा बाबा आपूmसँगै भएको र बाबुको तातो मायाको आभासले आफू निर्देशित भएको छोराछोरीले आमासँग आँशु झार्दै भने । बाबुको मृत्युको खबरले भने क्षणभर उनीहरूका लागि अमेरिका नै अँध्यारो भयो, हातखुट्टा लुला भए पेमाका मायाका टुक्राहरूको । नेपालमै भएर पनि के गर्नु र ? पेमाले दोर्जीको स्वर नसुनेको पन्ध्र वर्ष भएको थियो । बोलेर मात्र माया साटिँदो रहेनछ । नबोले पनि मुटुको एक भागमा कसैले नदेख्ने गरी दोर्जीले पेमालाई सजाएर राखेका थिए । खोक्रो आधुनिकता, व्यक्तिगतपन र पुरातन संस्कारको लडार्इंको बीच उनीहरूको बुढ्यौलीे प्रेम निरीह बनेर एक्लिएको थियो । ‘परिवेशले मलाई अन्धो बनायो । मैले पनि माया नगरेकी त होइन तर मैले आक्रोशलाई नियन्त्रण गर्न सकिनँ । मेरै दिनहुँको कचकचले गर्दा नै ऊ सत्तरी वर्षको उमेरमा एक्लै बस्न बाध्य भएको हो । उसले त मृत्युले आक्रमण गर्न थालेको थाहा पाएपछि फोन गरे छ नि ! मेरो आक्रोशको परिणामले मर्ने बेलाको अन्तिम स्वर पनि सुन्न पाइनँ । म बाँचुञ्जेल पछुतो त्यही नै हुने भयो । ’ पेमाले आफैँलाई धिक्कार्दै भनिन् । पानीको मुल चैतमा सुकेर साउनमा फेरि फुटेझैँ करिब दश वर्ष रुँदा सकिएका पेमाका आँशु दोर्जीको मृत्युको खबरले फेरि बग्न थाले । चालिस वर्ष सँगै र पन्ध्र वर्ष एक्ला–एक्लै बिताएका सम्झनाका क्षणहरू छालझैँ उर्लेर उनको अगाडि नाच्न थाले । उनीहरूको प्रेम बसेको मुस्ताङ साङ्ता गाउँका फुस्रा बलौटे पाखा, पखेरा, मुस्ताङ, निलगिरि, तिलिचो हिमाल, कालीगण्डकीको विशालतम सेतो बगर, कागबेनी र मुस्ताङ वरपर नाच्न थाले । कति माया गथ्र्यो दोर्जीले पेमालाई । सिनेमा हेरेझैँ विगतका दृश्य एकपछि अर्को गर्दै झलझली आउन थाले पेमाको आँखावरपर । जति उसले पन्छाउन खोज्थी उति नै छिटो तिनै दृश्यसँग दोर्जी टुप्लुक्क आइहाल्थ्यो । ‘बुढेसकालमा पनि कसरी सम्झना आएको होला हँ हिजो जस्तै !’ पेमाले आफैँलाई प्रश्न गर्थी । छोराछोरी कलेज पढ्न थालेपछि पनि उसले पेमालाई काखमा राखेर म्वाइँ खान्थ्यो । पेमाको लामो कपालभित्र औँला छिराएर कोरिदिन्थ्यो । छार्का खोलाको सङ्लो पानीमा खेल्दै याक–चौरी र भेडा–च्याङ्ग्रा खेद्दै याकखर्क पुगेको कुरा सम्झाउथ्यो । साङ्ताका लेकमा पेमा लुक्दै उसलाई भेटन आएको कुरा त दिनमा दुई पटक दोहो¥याउथ्यो । शेफोक्सुण्डो तालजस्तै सफा र गहिरो तिनीहरूको प्रेम सन्तान विदेसिएपछि सेगुम्बानजिकका बालुवाका पहाडजस्तै जर्जर हुँदै निष्ठुर बगर भएर थुप्रिएको थियो । तीनै जना छोराछोरीले उनीहरू दुवै जनालाई केही सुइँको नै नदिई अमेरिकामा बिहे गरेको थाहा पाएपछि ती दम्पत्तिबीच झगडा, आरोप प्रत्यारोप सुरु भएको थियो । पेमाको माया एकाएक आक्रोशमा परिणत भएको थियो । ‘हामी छार्काबाट आएर पनि छोराछोरीलाई कलेजसम्मको शिक्षा दियौँ । विदेश नपठाऔँ, पठाउने नै हो भने पनि हाम्रो चलनअनुसार बिहे गरेर मात्र पठाइदिउँ, नत्र हामीलाई बुढेसकालमा रुन पर्छ । सुख र सुुविधाको हावाले केटाकेटीलाई छिटै छुन्छ । थाहै नपाई केटाकेटी आजको उदार, खल्लो र सस्तो माया जालमा फस्न सक्छन् । त्यसपछि चरा भुर्र उढेर गएझैँ उनीहरू हामी बाट टाढा हुन्छन् ।’ पेमाले बारम्बार भन्थिन् । ‘बिहे गरेपछि पढाइ राम्रो हुँदैन । पढ्न खोजेका छन् । पढ्न दिऊँ । जान्छन् भने जान दिऊँ । ’ दोर्जीले सम्झाउँदै भन्थे । हुन पनि त्यस्तै भयो । बिहे गर्ने उमेर पुगेका छोराछोरी लुरुलुरु अमेरिका छिरे । आमाबाबुलाई खबरसमेत नगरी उतै घरजम गरेर बसे । ‘पढेका छन् । राम्रो कम्पनीमा काम गर्छन् । इज्जत धानेका छन् । बिहे गरे त के भो । जीवन उनीहरूको हो यतैबाट आशीर्वाद देऊ । छोराछोरीले तिमीलाई दुःख दिएनन् । भै गयो त । किन पीर गर्छौँ । जमाना कहाँ पुगिसक्यो । यस्तोमा पीर गर्न हँुदैन ।’ नजिकका साथिभाइले सम्झाउँथे । तर त्यो काम लागेन । जेठो छोराले बिहे गरेको थाहा पाएको दिनदेखि दोर्जीको घरमा कालरात्रिले प्रवेश गरेको थियो । जीवनको उत्तराद्र्धमा भने पेमाको कुरा सही भएको दोर्जीले स्वीकारेका थिए । तर, त्यसबेला ढिलो भइसकेको थियो । ‘तैँले गर्दा धर्म, संस्कार र संस्कृति, नातागोता सबै सखाप भयो ।’ पेमाले बारम्बार भन्थिन् । उनको बोलीमा तीखो सुईरो भएको र त्यसले दिनहुँ घोच्ने गरेको दोर्जीले भित्रभित्रै निचोरिँदै अनुभव गथ्र्याे । पेमाको कचकच यति विघ्न बढ्यो कि उनका हरेक शब्दमा अर्जुनका तीखा वाण भएर दोर्जीको छातीमा पुगेर उनिन्थे । अप्रिय घटना दुवैबाट नहोस् भनी सचेततापूर्वक उनीहरू छुट्टाछुट्टै बसेका थिए । त्यसको पन्ध्र वर्षमा पेमाका पतिको मृत्यु भयो । एउटा सरल र सहज मृत्यु । पेमा र दोर्जीका सबै सन्तान तेस्रो दिन नै काठमाडौँ आइपुगे । पन्ध्र वर्षदेखि रित्तो भएको घर दोर्जीको मृत्युपछि भरिभराउ भयो । पेमाको घरको छानोबाट देखिने स्वयम्भूका दुई आँखाले तिनलाई हेरिरहेका थिए । एक पटक ती आँखामा तिनले दोर्जीलाई देखिन् । दोर्जीले उनलाई साङ्तामा पचपन्न वर्ष पहिले माया गरेजस्तै गरी अँगालोमा बाँधेको अनुभव गरिन् । त्यसैबेला डिलमा टक्क अढिएका दुई थोपा आँशु पछ्यौरीले पुछिन् । सबै जना भएर अस्पताल पुगे । अस्पताल प्रशासनसँग अनुरोध गरी दान गरिएको लाशलाई तीन घण्टासम्म एउटा छुट्टै कोठामा राख्ने अनुमति लिए । त्यसैबेला पेमाले आफ्नो लामालाई पनि बोलाएकी थिइन् । तीन घण्टासम्म जेठो छोरा दावा, बुहारी मेरिना र दुई नाति–नातिनी, छोरी याङ्जी र ज्वाइँ लिउ सान र दुई नाति, कान्छो छोरा बुद्ध, बुहारी पार्वती र एक नातिनी सबैले धित पुग्ने गरी दोर्जीलाई म्वाइँ खाए, दोर्जीको चिसो छातीमा अँगालो हाले । त्यसबेला सबैभन्दा बढी जेठो छोरा दावाले विलौना गरेको थियो । उसले बाबुको मृत शरीरको चौडा छातीमाथि टाउको राखेर ‘बाबा मलाई माफ गर्नुहोस् । मैले तपाईंको विशाल छातीभित्र छोराछोरीप्रति रहेको मायालाई बुझ्न सकिनँ । अमेरिका पुगेपछि मैले आमाबाबुलाई बिर्सेको मात्र होइन त्यसको मर्ममा प्रहार गरेँ । जन्म र शिक्षा दिने मेरा आमाबाबुलाई खबरै नगरी मैले अमेरिकामा घरजम गरेँ । आज मैले मेरा छोराछोरीलाई देखेपछि मात्र बाबाको जीवनमा परेको मर्मलाई महसुस गर्दै छु । आमाबाबुको अर्थ बल्ल बुझेको छु । तपाईंहरूलाई खबर नगर्नु मेरो कायरतापूर्ण अपराध हो । ’ रुँदै भन्यो । त्यस्तैमा तीन घण्टा सकियो । सबैले सम्झौतापत्र पढे । त्यसको फोटो मोबाइलमा खिचे । सम्झौतापत्रमा भनिए अनुसार बट्टामा राखिएको मुटुको टुक्राको एक अंश पशुपति आर्यघाट, एक अंश स्वयम्भू र एक अंश छार्काको लागि छुट्याए । दोर्जीले पूर्वजन्म, पूनर्जन्ममा विश्वास गर्दैनथे । तर संस्कृति बचाउनुपर्छ भन्नेमा भने दृढ थिए । सम्झौतापत्रसहितको एउटा कागजमा उनले लेखेका थिए – ‘मैले मुटु अस्पताललाई दान गरेको छैन । मेरो प्यारो मुटु मेरी पेमा, मेरा छोराछोरी, बुहारी, ज्वाइँ र नातिनातिनीको लागि हो । त्यसपछि मेरो मुटु सांस्कृतिक सहिष्णुताको धरोहर पशुपति, स्वयम्भू र म जन्मेको मेरो गाउँ छार्काका लागि हो । मेरो मुटु मेरो माटोलाई हो । बाँचुञ्जेल मैले राम्रो गर्न सकिनँ । मृत्युपछि कमसेकम मेरो लास डाक्टर बन्न चाहने नेपालका मेरा स–साना छोराछोरीलाई काम लागोस् ।’ सामान्य मात्र शिक्षा लिएका दोर्जीको सोचाइ कुनै दार्शनिकको भन्दा कम थिएन । देशमा चलेको चलनलाई उनले संस्कृति मानेर सम्मान गर्थे । यति एयरलाइन्सको जहाजबाट नेपालगञ्ज र त्यहाँबाट तारा एयरलाइन्सको चार्टर फ्लाइटबाट डोल्पाको जुफाल विमानस्थलमा ओर्ले दोर्जीको परिवार । पेमाबाहेक अरू सबैको त्यो पहिलो यात्रा थियो । बुहारी, ज्वाइँ र नातिनातिनीका लागि त त्यो अर्कै भूगोल थियो । जुफालबाट हिँडेको आठौँ दिनमा उनीहरू छार्का पुगे । छार्कामा लामा राखेर स्थानीय परम्पराअनुसार दोर्जीको मुटुको अन्त्येष्टि ग¥यो । छार्काको पुरानो घर मर्मत गरे । परिवार मिलेर दोर्जीको नाममा मुस्ताङ जाने बाटोमा छार्का खोलामाथि वर्ष दिनभित्र फलामको झोलुङ्गे पुल हाल्ने गरी लामामार्फत वडाका प्रतिनिधिलाई रकम दिए । छार्काको पश्चिम पाखोमा छार्का उपत्यकालाई हजारौँ वर्षदेखि हेर्दै बसेको कानीचोर्तेन (प्रवेशद्वार) र त्यसभित्र मेटिन थालेको भित्तेचित्र पुनर्निर्माण र पुनर्लेखन पनि वार्षिक तिथिभित्र सक्ने गरी कामको सुरुवात नै गरे । छार्का बोन गुम्बाको पूर्वमा रहेको थुम्कोमा दोर्जीको सम्झनामा छार्काको सबैभन्दा ठूलो चोर्तेन निर्माण गर्न जिम्मा दिए । त्यसभित्र सेनरेव, बुद्ध र दोर्जीको मूर्ति राखे । पेमा एकचालिस वर्षपछि छार्काको घर पुगेकी थिइन् । भेडा, याक र चौरीको सङ्ख्या घटेको थियो । त्यहाँको माटो झन् झर्झर, फुस्रो र सुख्खा भएको थियो । जेठो छोरा दावाका दौतरीहरूको जीवन पहिले भन्दा कष्टकर थियो । पचास वर्ष पहिले र पचास वर्षपछि त्यहाँ तात्विक फरक केहि थिएन । पेमा र दोर्जीबीच मनोमालिन्य भएर एक्लाएक्लै बसेर जीवन बिताए पनि एकचालिस वर्ष पहिले उनले सन्तानका लागि छार्का छोड्न गरेको निर्णय सहि भएको ठानिन् । पेमाले जेठो छोरा दावा र बुहारी मेरिनालाई भनिन् ‘जीवनमा दुःख त हुन्छ नै । दुःखका हाँगा फरक हुन्छन् । एक दिनमा अठार घण्टा काम गर्दा पनि दुई छाक पेटभर खान नपाउनु दुःख हो । प्रेम गर्दैमा छोराछोरीले आमाबाबुको छातीमा टेक्नु दुःख हो । दावा, तँलाई तेरो बाबुले धेरै माया गथ्र्यो । तँ ठूलो मान्छे भएको सुन्न आतुर थियो । तर तैँले बाबुको अर्थ र मर्ममाथि लात हानेको हुनाले तेरो बाबु जिउँदै मर्न बाध्य भयो । ऊ धेरै वर्ष मरेर पनि हिँड्यो । लोग्नेमान्छे भएर पनि क्षतविक्षत भयो । आखिरमा मेरो आक्रोशलाई सहन नसकेर पन्ध्र वर्षसम्म एक्लै जहरसिँह पौवामा बसेर प्राण त्याग्यो । तेरो बाबु इमान्दार मान्छे हो, दावा । तँलाई कहिल्यै तेरो बाबुको जस्तो दिन भोग्न नपरोस् । म पनि अब कति बाँच्छु र ? हामी एक्लाएक्लै बसे पनि बाँचुञ्जेल मलाई उसको र उसलाई मेरो भर थियो ।’ हजुरआमाले भनेको कुरा दावाले आफ्ना छोराछोरीलाई भनिदियो । ती दुवै रोए र हजुरआमालाई आश्वस्त पार्दै ठूलो नातिले भन्यो –‘हामी अमेरिकामा बसे पनि मम र ड्याडको हृदयमा चोट पार्ने काम गर्ने छैनौँ । हजुरबा र तपाईंलाई जस्तो पीडा दिने काम हामीले गर्ने छैनौँ । हजुरआमा अब तपाईं रुन हँुदैन । तपाईंलाई हामी रुन दिदैनौँ । तपाईं रुनुभयो भने हाम्रो छाती चिरिन्छ तपाईं नरुनु । ’ पेमाले नाति र नातिनीलाई अँगालो हालिन् र तिनीहरूका प्याउली पूmलजस्ता कोमल गालाबाट झरेका आँशु पुछिदिइन् । करिब पच्चीस वर्ष छोराछोरीको लागि आँशु झार्ने पेमा आपूm पचहत्तर लागेपछि दोर्जीलाई सम्झेर दिनको एक पटक रुन थालिन् । एक दिन उनले छोरीलाई भनिन्– ‘तिमीहरूले बिहे गरेको खबर पराइले भनेर थाहा पाएपछि हामी मर्माहत भयौँ । कोसँग बिहे ग¥यौँ भन्दा पनि आफूलाई जन्म दिने आमा र बाबुलाई तिमीहरूले हेला गरेकाले हामी जिउँदै मरेको अनुभव ग¥यौँ । हामीले सहज रूपमा स्वीकार गरेको भए पनि हुन्थ्यो, त्यसबेला हामी दुवैको धारणा एउटै भयो । स्वीकार गर्न सकिएन । ‘यो सबै तैँले गर्दा भएको’ हो भनेर मैले तेरो बालाई बारम्बार टोकेँ । यति टोके कि त्यसको चोट सहन सक्ने क्षमता नै मैले चुँडालिदिएँ । ऊ आफैँ पीडामा थियो । आफ्नो इज्जत, मान र प्रतिष्ठामा बाँचेको मान्छे । मरणासन्न अवस्थालाई जेनतेन बचाएर हिँडेको मान्छेलाई मैले सुईरोले घोच्थेँ । पछिल्लो समय त ऊ बोल्न छोडेको थियो । उसले सामान्य कुरा गर्दा पनि मैले डाकोले टिप्थे । तिमीहरूसँग विछोडिनुपर्दा मेरो स्वभाव नै बज्रजस्तो कठोर भएको थियो । दिनहुँको मेरो टोकसोले ऊ झन् मर्माहत भयो । क्षतविक्षत भयो र एक दिन घर चटक्क छोडेर हिँड्यो । त्यसबेला मलाई पटक्कै दुःख लागेन । म छार्काको बलौटे जर्जरे पखेरो जस्तै निष्ठूर र हृदयहिन भइसकेकी थिएँ । ’ छार्काबाट फर्कने बेला लामा राखेर फेरि पूजा गरिन् पेमाले । उनका दाजुका छोराहरूले स्याहार गरेको उनको बारी, पखेरा, छार्का खोला, गुम्बा, कानी चोर्तेन जताततै धुप बालिन् । लुङदार फहराइन । छार्काको एक चिम्टी माटो निधारमा दलिन् । अर्को एक मुठी माटो सानो बट्टामा सुरक्षित राखिन् । दाहसंस्कार, पूजा र बाबुको नाममा निर्माण गर्न लागिएको पुल र ठूलो चोर्तेन निर्माण, कानी चोर्तेन र त्यसभित्रको भित्तेचित्रको पुनर्निर्माण र पुनर्लेखन वर्ष दिनभित्र सक्नेगरी जिम्मा दिएर सबै काठमाडौँ फर्के । साँखु बजारदेखि चार किलोमिटर उत्तरमा रहेको जहरसिँह पौवा बूढाको निधनपछि सुनसान भएको थियो । एक दिन सबै जना त्यहाँ गए । दोर्जीले रोपेका धूपी, बेलौती, कागतीका बोट बडेमाका भएका थिए । ती सबै रुखबिरुवा र घरले दोर्जीको परिवारलाई नै पर्खेका जस्ता देखिन्थे । परिवारका सबै सदस्य काठको सानो घरभित्र छिरे । सोफानजिकको चिया टेबलमाथि कान्छो छोराले ग्रयाजुएसन गर्दा पठाएको कागजपत्र राख्न मिल्ने छालाको सानो झोला थियो । बैठक कोठामा पाँच वर्गफुटको फ्रेमभित्र सजाएर राखेको एउटा तस्वीर थियो । परिवारको पुरानो तस्वीरमा दोर्जी, पेमा, दावा, याङ्जी र बुद्ध थिए । जेठो छोरा दावाले बाबुले बोक्ने गरेको मोबाइल फोन चार्ज ग¥यो । उनको मृत्यु हुनुभन्दा एक घण्टा पहिले बाबाले आमा, अमेरिकामा रहेका उनीहरूलाई फोन गरेको थाहा पायो । अन्तिम कल उनले तिलगंगा र शिक्षण अस्पतालमा गरेका रहेछन् । कोठा, भान्साघर नियालेर हेरेपछि पेमाले टेबलमा रहेको झोला खोलिन् । भित्र भएका काजगपत्र निकालिन् । त्यसमा लालपूर्जा, चेकबुक, एटिएम कार्ड, बत्तीको कार्ड, कर बुझाएका रसिद, नागरिकताको प्रमाणपत्र, आँखा र लास दान गर्दाको सम्झौतापत्र र केही रकम थियो । आमाको खुट्टामा लम्पसार परेर जेठो छोरो दावाले आँशुका बलिन्धारा झार्दै भन्यो– ‘आमा हामीलाई माफ गर । मैले गर्दा यस्तो भयो । मैले आमा र बालाई सम्झाउन सक्नुपथ्र्यो । त्यसबेला मैले कठोर सत्यको सामना गर्न सकिनँ । प्रेमले गर्दा म कायर भएको थिएँ । मेरी श्रीमती मेरिनाले बारम्बार ‘आमा र बालाई भनेर स्वीकृति लिएर मात्र बिहे गरौँ । पछि हुने सङ्कटलाई पहिले नै समाधान गरौँ । त्यसो गर्दा पछि सुख हुन्छ’ भन्थिन् । मेरो कायरपनले त्यो आँट गर्न सकेन । पछि बहिनी र भाइले पनि मेरो कुबाटोलाई पछ्याए । गल्तिमाथि गल्ति थुप्रिँदै गए । बा र आमाले सन्तानलाई माफ गरिहाल्छन् र हामीलाई आशीर्वाद दिनेछन् भन्ने कल्पनामा मात्र म बसेँ । मैले आमा र बाबाट भित्रभित्रै आशीर्वाद मागेँ । दशैँ, नयाँ वर्ष, ल्होसार, सबै पर्वमा हामी एक्ला भयौँ र रोएर दिन गुजा¥यौँ । आखिर हाम्रो कारणले बा र आमाको चालिस वर्ष लामो दाम्पत्य जीवन विछोडको उपहार लिएर दुईतिर बाँडियो । झन् मिलेर बस्नुपर्ने उमेरमा एक्लाएक्लै बिताउनुप¥यो । त्यो मैले गर्दा भएको हो ।’ आमाको काखमा टाउको घुसार्दै दावा धेरै बेर रोइरह्यो । ‘अब रोएर के काम भो र ? न रो । तेरो बाबुलाई झैँ सन्तानले गर्दा तँलाई रुन नपरोस् ।’ दावालाई उठाउँदै आमाले सम्झाइन् । जन्म र मृत्यु नित्य प्रक्रिया हो; भइरहन्छ । कहिले कस्को परिवारमा त कहिले कस्को ? त्यो नै संसार हो । त्यो नदीजस्तै निरन्तर बगिरहन्छ । मात्र फरक के भने त्यसबेला त्यो पेमाको घरमा परेको थियो । पेमाको दुई जनाको सानो परिवार दोर्जीबाहेक पनि बाह्र जनाको ठूलो भइसकेको थियो । छोराछोरीले पेमालाई सँगै अमेरिका लैजान निकै प्रयास गरे । उनी पचहत्तर टेकेकी थिइन् । सबैका आमाबाबु प्रत्येक वर्ष अमेरिका गएको उनले देखेकी हुन् । उनी गएकी छैनन् । नगएकोमा दुःखी पनि छैनन् । जान चाहे उनी उड्न सक्छिन् । ‘बाबु बितेको एक वर्ष म कतै जान्नँ । प्रत्येक महिना स्वयम्भू, बौद्ध र किराँतेश्वरमा बत्ती बाल्छु दोर्जीको नाममा । अब म डोल्पा जान्नँ । एक दिन साङ्ता मेरो माइतीमा जान मन छ । तिमीहरूले मेरो पीर नमान्नु । तिमीहरूको जीवन सफल पार । केटाकेटीको राम्रो ख्याल गर्नु । नेपाली लेख्न र बोल्न सिकाउनु । कम्तीमा मिलाएर वर्षको एक पटक नेपाल आउनु । आफ्नो देश, तिमीहरूको जन्मथलो छार्का र मामाघर साङ्ता अनि मेरो र दोर्जीको पसिना परेको माटोलाई कहिल्यै नबिर्सनु ।’ पेमाले आफ्नो निर्णय सुनाउँदै अर्तीउपदेश दिइन् । अमेरिका उड्नुभन्दा पाँच दिनअघि आमाको काखमा ढल्केर कान्छो छोरा बुद्धले भन्यो –‘आमा म अमेरिका जान्नँ । तपाईं र बाबाले सृष्टि गरेको सुन्दर बगैँचामा गोडमेल गर्छु । तपाईंले टेकेका पाइलामा मलजल गरेर मेरो भविष्य सपार्छु । तपाईंलाई पनि नियास्रो हुँदैन । ’ यो कुरा त मैले तेरो बाबुलाई बिस वर्ष पहिले भनेकी थिएँ । तेरो बाबुले –‘छोराछोरीलाई बोझ पारेर उनको भविष्य बिगारेर मेरो बुढ्यौली सुधार्नु छैन । म जसरी बाँच्छु ठीकै छ । तर, मेरा लागि छोराछोरीलाई दाउमा लाउँदिनँ ।’ भन्थे । ‘पचहत्तर वर्षकी भए पनि तेरो र तेरा सन्तानको भविष्यसँग खेल्ने स्वार्थ ममा छैन । तेरा बाबु मरेर गए । छोराछोरीलाई सक्षम बनाउने उनको फराकिलो सोचलाई म मार्दिनँ । तँ जा । देशलाई सम्झिरहनु । मान्छे रोएर केहि हँुदैन । माटोलाई कहिल्यै रुन नपरोस् । ’ केटाकेटीको फर्कने बेला भयो । सम्झँदा मात्र पनि पेमाको मन कटक्क खान्थ्यो । तर पछिल्ला दिनमा छोराछोरी, बुहारी, ज्वाइँ र नातिनातिनीले देख्ने गरी उनले आँशु झारिनन् । सबैजना विमानस्थल पुगे । छार्काबाट ल्याएको माटोको टिका बिदाइको दिन सबैको निधारमा लगाइदिइन् । सबैलाई अँगालो हालेर मुटुको धड्कन सुनिन् । आँशुका बलिन्धारा झार्दै एघार जनाको लस्कर विमानस्थलभित्र छि¥यो । पेमाले निकै बेर हात हल्लाइरहिन् । कतार एयरलाइन्सको विमानले काठमाडौँ उपत्यका नाघेपछि मात्र उनी फर्किन् । त्यस दिन उनलाई स्वयम्भू जान मन लागेन । त्यताबाट बौद्ध हुँदै दोर्जीको घर जहरसिँह पौवातिर लागिन् । जुनेली रात । जुन टहटह लागेको थियो । पूर्वमा गौरीशङ्करदेखि उत्तरतिरका जुगल, दोर्जी ल्हाक्पा र लाङटाङ हिमाल जुनको उज्यालोमा प्रष्ट देखिन्थे । साङ्ताका पखेरामा नीलगिरि हिमाललाई साक्षी राखेर रातभर उनी दोर्जीसँग पिरती गाँसिन् । चराचुरुङ्गीको चिरबिर सुरु भयो । नगरकोटतिरको आकाशमा देखिएको सुनौलोपनले बिहानीको उद्घोष गर्दै थियो । बिहान ब्युँझदा दोर्जी र साङ्ता बाहेक सबै कुरा विपनामा झैँ उनको वरपर छचल्किएका थिए । धेरै वर्षपछि सपनामा दोर्जीलाई देख्दा मात्र पनि उनको अनुहार उज्यालो देखिन्थ्यो । जनमत मासिक २०७६ भदौ अंक २६३ मा प्रकाशित ।
३. “दोर्जी ” केही वर्ष पहिलेदेखि विभिन्न साहित्यिक पत्रपत्रिकामा प्रकाशित ‘कथा’लाई कथा सँगालोको रूपमा प्रकाशित गर्ने योजना छ । तेस्रो कथा ‘दोर्जी’ वैजयन्ती विधाकेन्द्रित साहित्यिक पत्रिकाको पूर्णाङ्क ६२, २०७६ असार–साउनमा प्रकाशित कथा मध्ये उत्कृष्ट रचनाको रुपमा सम्मानित भएको छ ।
विष्णुप्रसाद शर्मा पराजुली
३. दोर्जी हुईहुई साइरन बजाउँदै महाराजगन्ज शिक्षण र तिलगंगा आँखा अस्पतालका दुईटा एम्बुलेन्स एकैचोटी जहरसिंहपौवा माथिको डाडोमा पुगे–दोर्जी रोकायाको आँगनमा । आँगनमा दुईटा एम्बुलेन्स आएको देखेपछि गाँउले छिमेकी घरबाट आँगनको डिलमा उभिएर खासखुस गर्न थाले ।
‘बूढाले छोडेछन कि क्या हो, साइँला ! पासाङले आफ्नो घरसँगै जोडिएको अर्काे छिमेकीलाई सोधे । ‘काका, म पुगेर आउछा, है ता ।’ बोली सक्दा नसक्दै बारीका तीन काल्ला झर्दै साइँला भन्ज्याङतिर झरे । भन्ज्याङ झरेर फेरि उकालो चढेपछि दोर्जीको घरमा पुगिन्छ । उनको घर सबैभन्दा अग्लो थाप्लोमा रहेको छ, त्यहाँबाट पश्चिममा अन्नपूर्ण, उत्तरमा दोर्जी ल्हाक्पा, लाङटाङ र पूर्वतिर गौरीशंकर हिमालको लामो लहरो, तरेली परेका पहाड र पाँचखाल, मेलम्ची, अनि काठमाडौँ उपत्यका छर्लङ्ग देखिन्छन् । प्रकृतिको धरहरा हो, त्यो डाँडो । साँखु, जोरपाटी र बौद्ध शहरमा जस्तो त्यहाँ गुजमुज्ज घर छैनन् । फोहोर र लथालिङ्ग पनि छैन । धेरै भनेको दुई घर एक ठाँउमा टाँसिएका छन् । नत्र भने दुई–चार कान्ला तल–माथि छिरलिएका छन् । फोन नहुँदा बारीको डिलमा उभिएर घोक हालेझँै मेलापात, बजार, मलाम, अस्पताल जान चिच्याएर बोलाउने गर्थे छिमेकीले । दोर्जी रोकायालाई ‘रोका बा’ भनेर बोलाउँछन् गाउँलेले । डोल्पाको छार्काबाट जुनबेनला, साङ्ता हुँदै कागबेनीतिर तीस वर्षसम्म भेडा लिएर ओहोर–दोहोर गरेका दोर्जीले छार्काको माटोको टिका नलगाएको २५ वर्ष भएको थियो । नेपाल छिर्दा ऊ मात्र ४४ वर्षको ठिटो थियो । दशैँको बेला छार्काबाट अग्ला–अग्ला लेक नाघेर झरेपछि माथिल्लो मुस्ताङको साङ्तामा चार–पाँच दिन भेडालाई लेकतिर छोड्थे । साङ्ता दुईसय वर्ष पहिले मात्र भेटिएको मुस्ताङको गाउँ हो । कागबेनीदेखि त्यहाँ पुग्न दुई दिन लाग्छ । साङ्ताको लेकमा बुकी फूल टिप्दै भेडाबाख्राले मात्र एकअर्कामा प्रेम गरेनन् । फापरको ढिडो, आलुको रोटी, छ्याङ्, रक्सी, नुन चिया खाँदाखाँदै आफूभन्दा दश वर्ष कान्छी साङ्ताकी पेमा गुरुङसँग दोर्जीको मायाप्रेम बस्यो । पेमालाई उनले जीवनसाथी बनाए । दोर्जी डोल्पादेखि भेडा खेद्दै पोखरासम्म पुग्थे । कुनै–कुनै वर्ष घर फर्कँदा नेपालगञ्जसम्म बसमा जान्थे । डोल्पा जुफाल उड्ने जहाज कुर्दाकुर्दै दश÷बाह्र दिन बित्दथ्यो । होटलको खाना र बास बसेको खर्च तीर्दा भेडा बेचेको पैसा त्यतै सकिन्थ्यो । कहिलेकाहीँ भने परिवारलाई एकदुई जोर न्यानो लुगाफाटो किन्न भ्याउँथे । घर पुग्दा हिउँ पर्नेबेला भइसक्थ्यो । हिमाल र सुदूरपश्चिमका पहाडी क्षेत्रमा बस्ने हाम्रा दाजुभाइ वर्षदिनमा परिवारसँग एक महिना पनि सँगै बस्न भ्याउँदैनन् । उनीहरूरूको जीवन दुई सय वर्ष पहिलेका मङ्गोलियाका फिरन्तेको जस्तै छ । दुवै बुढाबुढीले बेनी, बाग्लुङ, कुश्मा र पोखरा बजार देखिसकेका थिए । पेमाले दुई छोरा र दुई छोरी पाइन् । पछिल्लो पटक सुत्केरी हुँदा आफू बाँचिन् तर कान्छी बाँचिन । जति धेरै सन्तान भए पनि माया उत्तिनै लाग्दो रहेछ । धृतराष्ट्रले सय भाइ छोराहरूरूलाई माया गर्दागर्दै धर्म र सामाजिक न्यायमा अन्धा भएका थिए ‘रे । कान्छी छोरी आमाको दूधको मुन्टो नचुसी बितेकाले उनी पीरले ग्रस्त भइन् । उनका आँखाका डिलमा हिउँचुलीको टुप्पोमा हिउँ बसेझैँ बाहै्रकाल आँसु अडिएर बसे । उनलाई कर्मथलो छार्का र माइती देश साङ्ताभन्दा पनि पर सय डाँडापारि गएर बस्न मन लाग्न थाल्यो, दुई छोरा र एक छोरीलाई शिक्षा दिन । त्यसपटक दोर्जी पैदल नै साङ्ताबाट छार्का छिरे । ‘किन हिँडेर दुःख गरेको ? जहाजमा नआएर ? हिउँ परेको भए जुनवेन ला ले छेक्थ्यो नि ! थकित दोर्जीलाई छ्याङ तताएर दिँदै पेमाले सोधिन् । एक मग स्वाट्टै पिएपछि दोर्जीले भने ‘जहाज कुर्दा पैसा पनि सकिने, ढिलो पनि हुने त्यसैले साथीहरूरूसँग पैदलै आएँ । छिटो पनि भयो, पैसा पनि बाच्यो ।’ घर फर्केपछि दोर्जीले भेडाका पाठापाठीको स्याहार गर्दै भेडा र याक हुल्ने आँगनको पर्खाल मर्मत गर्न थाले । सुकेका गुइँठा घरभित्र राखे । दाउराका झिँजा घरको समथर छानाको छेउमा खप्ट्यार चारैतिर थुपारे । लेकमा भएका भेडा झार्ने बेला हुन थालेको थियो । घोडा द्योतराप जाने बाटोतिर थिए भने चौरी र याक माथिल्लो लेकमा चर्दै थिए । घरको धन्दा सकेर दोर्जी घर भित्र छिरे । “सबै बेचिदे भो । यस पटक औल झरेपछि नर्फकने भो याङ्जीको बाउ । सिधै काठमाडौँ जाऔँ । स्वयम्भुतिर बसौँला । छोरा–छोरीलाई स्कुलमा हालौँ । व्यापार गराँैला । कति जुनी भेडा खेद्ने ? भेडा, याक, चौरी, बारी सबै दाइलाई दे । दाइले जति दिन्छा, लिएर जाँउ ।’ फलामको चुलो छेउ तातोमा बसेका दोर्जीलाई नुन चिया र छ्याङ् थपिदिँदै पेमाले भनिन् । कुखुराको चल्ला माउको पखेटाभित्र छिरेर बसेझँै केटाकेटी आमाको काखमा टाँसिएर बसेका थिए । पेमाले बाहिर आवाज ननिस्कनेगरी एकै पटकमा सबै कुरा छिनालेर भनी । दोर्जीले गिलासको छ्याङ् रित्याए । बाहिर निस्के । त्यो रात छार्काको आकाशभरि तारा टिलपिल गरेका थिए । वरपरका अग्ला चुचुराको सेतो हिउँ रातको अँध्यारोमा पनि प्रष्ट चिनिन्थ्यो । कति हजार वर्ष पहिलेदेखि डोल्पाको साल्दाङ्, छार्का, द्यो–तरापमा पुर्खा बसेका होलान् ? गुरु सेनरेव आउनुभन्दा पहिलेदेखि हाम्रा पुर्खा यहाँ बसेका थिए । त्यसैबेलादेखिको प्रकृति पूज्ने चलन अहिलेसम्म जीवित छ । जन्मेदेखि नाचेको पाखा–पखेरा, खोला, पाटन, लेक, याक, चौरी, नाउर, हिमचितुवा, वर्षे फूल, छार्का खोलाको चीसो र आकाशभन्दा नीलो पानी सबैलाई त्यो साँझ एकै पटक तारा हेर्दै सम्झ्यो । जन्मथलो छोडेर, के गरेर ठूलो परिवारको ताराबारा लगाउने दोर्जी अन्योलको भुँवरीभित्र छि¥यो । उसको कन्चेट बल्केको आफैँले थाहा पायो । पेमाले भनेको कुरा पुर्खासँग भन्दा पनि सिधै सन्तानको भविष्यसँग जोडिएको थियो । त्यो रात दोर्जी निदाउन सकेन । पेमाले भनेको कुरा र आफू जन्मेर, त्यहीँ हुर्केर बलौटे माटोसँग ददारिँदै खेलेको पखेरा र हिउँका चुचुरा, याक, चौरी र भेडाच्याङ्ग्राले घेरेर उसलाई फुत्कनै दिएनन् । मुस्ताङको पूर्वी आकाशमा गेरुपन देखियो । ससाना हिमाली भँगेरा चिरबिर गर्न थाले, हिमाली काग छार्का खोलावारि र पारि गर्न थाले । घामका किरण छार्का उपत्यकामा झर्दा नझर्दै प्रकृति र जीवजन्तु चलबलाउन थाले । सूर्यको किरणसँगै प्रकृतिको रङमा हुने परिवर्तन र जीवजन्तुमा आउने उमङ्गलाई दोर्जीले राम्रोसँग पढेको छ–अक्षर नचिने पनि । तीन मुखे फलामको चुलोमा गुइँठा बाल्यो र बिर्को लगाइदियो । पाइपबाट गुइँठाको धुँवा माटोको समथर छानो नाघेर हिमचितुवा लुक्ने पाखातिर उक्ल्यो । पानीका तीन कित्ली चुलोमा लहरै राख्यो र बाहिर निस्क्यो । किन–किन त्यो बिहान पूरै छार्कालाई अँगालो हाल्न मन लाग्यो दोर्जीलाई । उ आफू ४४ वर्षसम्म हिँडेको पखेरा, खर्क, पाटन, भन्ज्याङ तीर्थ र व्यापार गर्न तिब्बत गएको सबै ठाउँ दौडेर पुग्न चाह्यो । कित्लीको पानी नउम्लिँदै दौडेर पुग्ने कामना ग¥यो । पुरानो बोन गुम्बा र कानी चोर्तेन भएको थुम्कोमा चढ्यो । चारैतिर आँखा दौडायो । लम्पसार परेर सेनरेव र बुद्धलाई ढोग ग¥यो । तीनवटै कित्लीको पानी भकभक उम्लेको थियो । एउटा कित्लीमा पेमाले चौरीको घिउ, नुन र जडीबुटीको चिया राखेर सुचे बनाइसकेकी थिइन् । केटाकेटीले सुचेमा चम्पा घोलेर खाए । उनीहरूरूले नुन चिया थपिथपि पिए । ‘म ठूलो दाइलाई भेट्न जान्छु’ भन्दै दोर्जी बाहिर निस्क्यो । दोर्जीका जेठा दाइ पेम्बा रोकायाले छ्याङ तताएर पिउँदै थिए । दोर्जीलाई पनि एक गिलास छ्याङ दिदै भने ‘के भो ? आँखा रातो छा । अनुहार मलिन छा । रक्सि धेरै खायो कि ? कि झगडा गरिस् पेमासँग ? केहि नभन है पेमालाई । माइती टाढा छा । एक्लै रुन्छा ।’ थोरै छ्याङ सुरुप्प पियो । दुवै अँजुलीले अनुहार सोहो¥यो र अघिल्लो साँझ पेमाले भनेको सबै कुरा पेम्बालाई बेलीबिस्तार लगायो । भाइको कुरा सुनेपछि पेम्बाले पनि आफ्नो दुवै हातले अनुहार र आँखा बेस्सरी मिचे । बाहिर निस्के । भित्र पसे । छ्याङ् थपे, भाइलाई थपिदिँदै भने–‘भेडा खेद्ने मान्छे । शहरमा बोल्ना जान्दैना । मान्छेले हेप्छा । भोटे भन्छा । टिक्ना सक्छ कि सक्दैन तैँले ? झन घर बिगार्छ कि ? छोराछोरी पढाउन सक्यो भने त घर मात्र होइन, गाँउ–ठाँउ उज्यालो हुन्छा । आँट गर्छा भने जा । म के सक्छा ? सहयोग गर्छा ।’ पेमाले भनेझैँ– व्यवहार मिल्ने भयो । दाइभाउजुले सहयोग गर्ने भए । दोर्जीको दाइले भेडा, याक र चौरीको हिसाब गरेर पैसा दिए । उवाबारी पनि दाइले नै कमाउने भए । एक दिन लामाले जोखना हेरे । राम्रो दिन पारेर घरमा नै लामा राखेर पूजा पाठ गरियो । त्यो दिन वल्लो र पल्लो छार्काका सबै छिमेकीले खादा, बियर, छ्याङ, रक्सी, अण्डा लिएर आङ्गी, बख्खु पहिरेर भेट्न आए । आफन्तको बसाईसराईमा बिदाइका लागि पुगेका छिमेकी सबैको अनुहार कालो बादल लागेको दिन जस्तै मलिन देखिन्थ्यो । दोर्जीको परिवारले आफ्नो पुर्खाले गर्ने गरेको चलनअनुसार सबै पूजा गरे । याक, चौरी, भेडाच्याङग्रा चराउने लेक, खेत, बारी, उपत्यका, गुम्बा, चोर्तेन जताततै लुङदार फहराए, धुप बाले । प्रकृति, जीवजन्तु, माटो, पशुपंक्षी, हिमचितुवा र नाउर हिँड्ने पखेरा र तिनीहरूरू लुक्ने पहराका काँप सबैलाई नमन गरे । सबैका गहभरि टिलपिल आँशु पारेर आफ्ना आँशु पुछदै दोर्जीको परिवार छार्काबाट याक खर्क हुँदै त्यहाँको सबैभन्दा अग्लो धुरी जुनबेन ला नाघेर साङ्ता पुगे । पेमाको माइतीमा एक साता बिताएर जोमसोम, तातोपानी, घोडेपानी, बिरेठाँटी पैदल यात्रा गरी पोखरा पुगे । त्यहाँ भेडाच्याङग्रा बिक्री गर्न आउँदा बनाइएका साथीसँग एक महिना बिताए र काठमाडौँको स्वयम्भूनजिक दुई कोठा भाडामा लिएर बस्न थाले ।
पढ्न–लेख्न नजाने पनि दोर्जीभन्दा पेमा व्यवहारिक सीप भएकी, प्रष्ट बोल्ने, जुझारु र देश दर्शन गरेकी हुनाले पढाइको महŒव राम्ररी बुझेकी थिइन् । साङ्ताबाट ऊनका टोपी, पञ्जा, मोजा, दामोदर कुण्डको कुश र शालीग्राम लिएर आफ्ना बाबु, दाइसँग भारतको आसामसम्म पुगेकी थिइन्–जाडो छल्दै व्यापारका लागि । कालीगण्डकी र ब्रह्मपुत्रको पानीले उनलाई संस्कार र संस्कृति सिकाएको थियो । उनको एउटै धोको थियो–सन्तानलाई अक्षर चिनाउने । कठोर आर्थिक अवस्थाका बेला पेमाले भोकभोकै रात बिताएको दोर्जी र तीन सन्तानले चालै पाएनन् । उनको एक मात्र लक्ष्य थियो दुई छोरा र छोरीलाई भेदभाव नगरी शिक्षा दिने । तिनीहरूले शिर ठाडो गरेर हिँडेको र पेटभर खाएको मन लाएर हेर्ने । स्वयम्भूमा कोठा लिएर १४ वर्षको छोरा दावालाई कक्षा चार, १२ वर्षकी याङ्जीलाई कक्षा तीन र नौ वर्षको कान्छो छोरा बुद्धलाई कक्षा दुईमा वनस्थलीमा भर्ना गरे । शहरका बालबालिकाले १४–१५ वर्षको उमेरमा दस कक्षाको परीक्षा दिन्छन् । डोल्पाको हिमाली क्षेत्रमा हुर्केका पेमाका सन्तान खाइलाग्दा, अग्ला र तिनीहरूरूका गाला मार्फाका स्याउजस्तै राता थिए । त्यसैले कक्षामा अरुभन्दा तिनीहरूरू उमेर बढि र शारीरिक बनोटमा पनि अग्ला मोटा देखिन्थे । केटाकेटीको स्तर राम्रो बनाउन पेमाले घरमा अङ्ग्रेजी, हिसाब, नेपाली र विज्ञान विषयको छुट्टै ट्युसन राखिदिइन् । पेमाले घरको काम र बच्चाहरू हेर्ने गरिन् । उनले फुर्सदको क्षण ऊनी धागो डल्लो पार्ने गर्थिन् जसबाट प्रतिकिलो रुपैयाँ एक कमाउँथिन् । दोर्जीले भने जडीबुटीको व्यापार गर्न थाले जुन उनले पहिले डोल्पामा हिउँ पर्न थालेपछि औल झरेर गर्ने गर्थे । डोल्पाबाट काठमाडौँ छिरेपछिको एक दशक दोर्जी दम्पत्तिको लागि डोल्पाको जीवनभन्दा कष्टकर भयो । तीन जनाको पढाइ खर्च धान्न महाप्रलय नै भयो । धेरै पटक डोल्पा नै फर्कने कुरा भयो । दोर्जीले पेमालाई ‘तैँले गर्दा डोल्पा पनि छोडनुप¥यो । न घर न घाट को हुने भइयो ।’ भनिरहन्थे । तर पेमा भने दुःखसँग हारेकी थिइनन् । पेमाको पीडा, कष्ट, भोक, रोग, अभाव सहन सक्ने क्षमतासँग बरु दोर्जी नै धेरै पटक हारेका थिए । छार्का खोलाझैँ समय बगिरह्यो । आफूले कल्पना गरेको कुरा यथार्थमा परिणत भएकाले पेमा खुसी थिइन् । सुरुका दिनमा जस्तो पैसाको दुःख उनलाई भएन । तीनै जना छोराछोरीले एसएलसी पास गरे । त्यसपछि पेमाले बौद्ध र स्वयम्भू गएर बत्ती बालिन् । आमाबाबुले के कति दुःख गरेर उनीहरूलाई शिक्षा दिए भन्ने कुरा केटाकेटीले त्यति चाल पाएनन् । केटाकेटीको स्कुलको अध्ययन सकियो । सधैझैँ त्यस वर्ष पनि माघ महिनामा नेपालभर अरब सागरबाट आएको चिसो हावासँगै पानी प¥यो । पामीर, हिन्दूकुश, काराकोरम हुँदै आएको चिसो हावाले हुम्ला, दार्चुला, मुगु, डोल्पा हुँदै कञ्चनजङ्घासम्म हिउँ प¥यो । पश्चिममा भन्दा पूर्वमा कम हिउँ प¥यो वर्षामा मनसुन पूर्वमा भन्दा पश्चिममा कम भएझैँ । प्रकृतिको त्यो तालिका । त्यस वर्ष डोल्पामा धेरै भेडा, याक र चौरी मरे । गुइँठा र दाउरा सकिएपछि वृद्ध आमा, बा र ससाना बालबालिकाले हिउँ थेग्न सकेनन् । पेमा र दोर्जीले डोल्पामा पुसमाघमा परेको हिउँको खबर धेरै ढिलो गरी पाएका थिए । आज जस्तो त्यसबेला फोन थिएन । मौसममा सुधार भयो । ताजा हिउँले उपल्लो क्षेत्रका पहाड र हिमचुचुरा दुलहीझैँ सिँगारिए । कलिलो घाममा चराचुरुङ्गी, घरपालुवा र जङ्गली जनावर पाखापखेरामा नयाँ उमङ्ग लिएर रमाउन थाले । यता दोर्जीको जीवनमा पनि बादल फाटेर नीलो आकाश देखिएझैँ हुन थाल्यो । दोर्जीको व्यापार बढ्यो । केटाकेटीले कलेज पढ्न थाले । झण्डै पाँच वर्ष उनले यार्सागुम्बा, चिराइतो, पाँचऔले र अन्य जडीबुटीको व्यापार गरे । त्यसले पेमाको सपना साकार पार्न मद्दत ग¥यो । उनीहरूलाई काठमाडौँ बस्न र छोराछोरीलाई विदेशमा उच्च शिक्षाका लागि पठाउन बल दियो । त्यसैबेला उनले सानो भ¥याङ स्वयम्भूनजिक एक रोपनी जग्गा लिए । त्यहीँ घर बनाए । त्यसपछि उनले साँखुभन्दा माथि रहेको जहरसिँहपौवामा दश रोपनी पाखो बारी किने । मानिसको जीवन कष्ट, पीडा, झन्झटबिना गुजँ्रदैन । पेमा र दोर्जीमा छोराछोरीको कलेजको पढाइपछि परिवारको व्यवस्थापन गर्ने धारणामा परिवर्तन आउन थाले । डोल्पामा हुँदा छोराछोरीलाई पढाउनुपर्छ भन्ने सोच नै नभएका दोर्जीलाई पेमाले सम्झाएर काठमाडौँ ल्याएकी थिइन् । काठमाडौँमा पढेपछि नेपालमा नै आफ्नो पारिवारिक चलनबमोजिम घरजम गरेर सानोतिनो काम गरेर आफ्नो वरपर नै केटाकेटी बसून् भन्ने पेमा चाहन्थिन् । तर, दोर्जी भने त्यत्तिमा सन्तुष्ट भएनन् । उनले काठमाडौँका अरू मानिसका छोराछोरी अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया गएको देखे । नेपालमा राजनैतिक अस्थिरताले गर्दा जागिरको कुनै सम्भावना नभएकाले बी.ए., बी.कम गरेका तीनै जना छोराछोरीलाई विदेश पढ्न पठाउने निधो गरे । त्यसबेला उनले साल्दाङ उपत्यकाभन्दा ठूलो छाती बनाए । पेमाले धेरै पटक ‘बाहिर पठाउने नै हो भने बिहे गरेर पठाऊँ । उमेर पुगेका छोराछोरीलाई त्यत्तिकै पठाउन हँुदैन । हामी बिमारी हुँदा औषधी खान दिने एक सन्तान साथी साथमा नै राखौँ ।’ भनेको कुरा दोर्जीले मरी गए सुनेनन् । ‘हामी बुढो हुँदा हेर्छन भनेर छोराछोरी विदेश पढ्न जान नदिने ? त्यस्तो स्थार्थी हुन हँुदैन । जे होला त्यही टर्ला । तिनीहरूको इच्छा छ भने जान दे । पीर नगर’ दोर्जीले भन्थे । नभन्दै तीनै जना अमेरिका नै छिरे । छरछिमेकीले खुसी व्यक्त गर्दै कोसेली लिएर पेमालाई भेट्न आए तापनि छोराछोरी विदेश गएकोमा उनी खुसी थिइनन् । ‘अब एक्लो हुने भइयो । यी फर्कँदैनन् । हामीले भनेको पनि मान्दैनन् । बिहे गरेर पठाइदिएको भए कमसेकम नाता टुट्दैनथ्यो’ भन्ने कुराले उनी धेरै पिरलिएकी थिइन् । दोर्जीले पेमाको त्यो मनलाई पढ्न सकेनन् । छोराछोरीलाई जति सक्छ पढाउनुपर्छ भन्ने कुराको भूत उनको दिमागमा चढेको थियो । उनले आफ्नो बुढ्यौलीलाई पटक्कै सोचेनन् । उल्टै पेमालाई‘तँलाई के थाहा ?’ भन्न थाले । कहिल्यै चर्को आवाज ननिकाल्ने ती दुई दम्पत्तिमा ठाकठुक पर्न थाल्यो । त्यसबेला अमेरिका पढ्न पठाउने कुराले सामाजिक मान्यता पाएको थियो । त्यसमा पनि डोल्पाबाट काठमाडौँ झरेको गाउँलेका तीनै जना छोराछोरी उच्च शिक्षा लिन अमेरिका जाने कुरा चानचुने थिएन । मानव जातिमा रिस, आरिस गर्ने चलन भए पनि पेमाको भने कसैले आरिस गरेनन् । किनभने स्वयम्भूनजिक उनका आफन्त कोही थिएनन् । दोर्जीले ‘तैँले पीर नगर, हाम्रा छोराछोरी अरूका जस्ता छैनन् । हामी डोल्पाको त्यस्तो विकट ठाउँबाट आएको हो । हामीले डोल्पाको माटो र संस्कृतिलाई भुल्न हुँदैन भन्ने कुरा उनीहरूले बिर्सँदैनन् ।’ भन्थे । पेमाले संसारलाई आमा भएर बुझेकी थिइन् । दोर्जीले व्यवहारिक रूपमा भोलि एक्लै हुँदा के होला भन्ने पटक्कै सोच्दैनथे । बिहान बेलुका देशको माटो निधारमा दल्ने दोर्जी देशमा भएको अशान्ति र अराजकताले वाक्क भएका थिए । राजनैतिक परिवर्तन पछि नेपालले पनि चीनले झैँ आर्थिक फड्को मार्छ । दश वर्षमा त डोल्पातिर पनि कसो प्रजातन्त्र न पुग्ला र ? भन्ने दोर्जी देशको लामो र विकराल अराजक सङ्क्रमणले वाक्कदिक्क बनेका थिए । ‘छोराछोरीले उच्च शिक्षा लिएर राम्रो जीवन बिताए भने सबै ठीक भैहाल्छ । बुढेसकालका लागि भनेर कस्का छोराछोरी आमाबासँग बसेका छन् र ? आफूसँगै भएका सन्तानले पनि बृद्धाबस्थामा आमा–बालाई पशुपतिको बृद्धाश्रममा छोडेको देखिनस् र ? हामीले डोल्पा छोडेर यहाँ आएको होइन र ?’ दोर्जीले पेमालाई सम्झाउँदै प्रतिप्रश्न गर्थे । कस्को कुरा सही हो ? त्यो त समयले नै बताउँछ । सोचेजस्तो कहाँ हुन्छ र जीवन ? सायद जीवनमा पनि वेदका जस्तै अध्याय हुन्छन् क्यार ? जुन दिन तीनै सन्तान पढ्न बिदेसिए त्यसको केही समयसम्म दोर्जी खुसी देखिन्थे । डोल्पाको छार्कामा जन्मेर हुर्केका सन्तानलाई चौरीको पुच्छर समात्न छुटाएर नेपाल पु¥याए । त्यसमा मात्र सन्तोष मानेनन् । त्यहाँबाट अमेरिका पु¥याए । त्यहाँ लुकेर गएका होइनन् कलेजले छात्रवृत्ति दिएर गएका हुन् । के त्यो दोर्जीको लागि ठूलो कुरो थिएन र ? अवश्य थियो । त्यसमा उनी सफल भएका थिए । छार्का गुम्बाका लामाले समेत उनको घरमा नै गएर विशेष पाठ गरिदिएका थिए । त्यो दिनको त्यो क्षण दोर्जीले आफू पूर्ण सफल भएको ठान्थे । साथीसँगीसँग कुरा पनि गर्थे । तर, अहँ पेमाको हृदय भने हाँसेको थिएन । उनको पहिलो पुस्ता छार्काबाट काठमाडौँमा बसोस् भन्ने उनी चाहन्थिन् । पहिले पेमाको कुरालाई सर्लक्कै मान्ने दोर्जीले पछिल्लो चरणमा उनका कुरा सुनेनन् । ‘मैले छोराछोरीको कलेज पढ्नासाथ बिहे गरिदे भनेको मानेनस् । लोग्नेमान्छे छिटो भत्कन्छ । तँ भत्कन्छस् । तँलाई रुन पर्ला । म आमा हो बुझिस् । आमा भनेको साङ्ताको जर्जरे भूमि हो जहाँ उवा फल्छ । त्यो सम्झी । म त के भो र ? चोट, दर्द र आँशु त मेरा प्यारा साथी हुन् । तिनलाई लिएर म छार्काको हिउँमा खेल्न सक्छु । तर तँ फुट्नेछस् । त्यसबेला मलाई केही नभनेस् । ’ पेमाले बारम्बार भन्थिन् । नेपाल नै बसून् नभए पनि बिहे गरेर मात्र विदेश पठाउने उनको जोडलाई दोर्जीले वास्तै गरेन । त्यसपछि पेमाको मन नराम्ररी भाँचियो । ‘बिहे गरेपछि सङ्कट आउँछ । पारिवारिक झमेलाले गर्दा केटाकेटीले राम्रो पढ्न सक्दैना । तैँले यो कुरा बुझ्दैना । पढ्न दे । पढि सकेपछि बिहे गरिदिउला नि ! हाम्रो छोराछोरी धेरै ज्ञानी छन् । तेरो र मेरो भावना, दुःख, मर्म, धर्म र संस्कार बुझेका छन् । चिसो हिउँमा खेलेका नानी हुन् औलका होइनन् । विपरित हुँदैन । मेरो जिम्मा भो । तँ दुःख नमान् । फराकिलो सोँच राख्नुपर्छ । जसरी चौरी र याक लेखमा चर्दैचर्दै माथिमाथि पुग्छन् त्यसैगरी तिनलाई पनि पढेर माथि पुग्न दे । ’ दोर्जीले सम्झाउँदै भन्थे । पछिल्ला दिनमा दुई दम्पत्तिको धारणामा फरक देखिन थाल्यो । ऋतुमा परिवर्तन भयो । फेरि हिउँद लाग्न थाल्यो । नीलो छार्का खोला सानी भेरी भएर बग्न हतारिएर हुत्तिदै झर्दै थियो । दाउरा, गुइँठा, घाँस, अन्नपात हिउँदलाई पुग्नेगरी सबैले राखे । कुन–कुन याक, चौरी र भेडा कहिलेदेखि बेँसी झार्ने हो छलफल हुन थाल्यो । यस पटक लुम्बिनि र तीलौराकोट जाने कि नजाने टुङ्गो भएन । छार्काका गाउँले हिउँदको व्यवस्थापन गर्दै थिए । हिउँदमा हिउँ परे पछि कतै जान पनि सकिँदैन । चिसोले गाउँमा बस्न पनि सकिँदैन त्यसैले पालो गरी गाउँ हेर्ने मानिस राखेर सबै तल झर्छन् । त्यसैबेला हिमालबाट बोकेर लगेको जिम्मु, बोदो, यार्सागुम्बा, शिलाजीतको व्यापार गर्छन्, बोन र बौद्ध गुम्बा, पशुपति, स्वयम्भू, कागबेनी, मुक्तिनाथको दर्शन गर्छन् र फर्कँदा घरलाई चाहिने सामान लिएर उकालो लाग्छन् । हरेक वर्ष त्यस्तै हुन्छ । त्यो वर्ष पनि हिउँ अचाक्ली नै प¥यो । उवा, आलु र जौ फल्ने भो भनेर किसान खुसी देखिन्थे। यता पेमाको अनुहार बादलिएको भने धेरै भएको थियो । तीनै जना सन्तान उच्च शिक्षा हासिल गरेर आ–आफ्नो जिम्मेवारी लिएर काम गर्न थालेका थिए –अमेरिकामा । पहिलो पुस्ताको नेपालीको रूपमा नै किन नहोस्, उनीहरूको राम्रो आर्जन भएकाले स्तरीय थियो– अमेरीका बसाइँ । तीनै जना छोराछोरीले पढाइ सकेर काम गर्न सुरु गरेपछि दोर्जीले जडीबुटीको व्यापार छोडिदिए । व्यापारबाट बचेको केही रकम उनले पेमा र आफ्नो बैँक खातामा जम्मा गरेका थिए, त्यसको ब्याजले दुई जनालाई मनग्य पुग्थ्यो । छोराछोरी अमेरिका छिरेपछि पेमाको हृदय कट्कट् खान थाल्यो । चन्द्रमामा घेरा भएझैँ आफ्नो जीवनमा त्यस्तै कालो घेरा देख्न थालिन् । मानिस निकै स्वार्थी हुन्छ । ऊ सन्तोष मानेर बस्दैन । अनि दुःख पाउँछ । दोर्जीले दुःख पाउने भयो भन्ने कुरा पेमाले झलझली देखिन् । त्यस्तोमा उनले उनी खेलेको साङ्ता र कालीगण्डकीको विशाल बगरलार्इं सम्झन थालिन् । एउटा सुखी र सानो परिवारमा नयाँ चाहनापछि असन्तोष देखापर्न थाल्यो । छब्बीस वर्षको दावा अमेरिका उड्दा दोर्जी जति खुसी थिए त्यत्तिकै दुःखी थिइन् पेमा । दोर्जीले भविष्यमा हुने कुरा केही देखेका थिएनन्, तर पेमाले देखेकी थिइन् । छिमेकीका छोराछोरी पाताल पुगेपछि भासिएका कथा उनले स्वयम्भू र सानो भ¥याङमा धेरै सुनेकी थिइन् । उनले दावा पढ्न भनेर गएको भए तापनि फर्कँदैन–भन्नेमा ढुक्क थिइन् । त्यसैले उनले मुटु निचोरेकी थिइन् । आमाको सोचाइ सही साबित भयो । अरू दिन जस्तै लेन्डलाइनमा फोन आयो । पेमाले उठाइन । दोर्जी घरमा थिएनन् । ठूलो छोरा दावाको नेपालमा भएको साथीको फोन थियो । ‘अन्टी, दावाले त उता एक अमेरिकन केटीसँग बिहे गरे छ नि ! फेसबुकमा फोटो राखेको छ । तपार्इंलाई थाह छ कि छैन ?’ ‘एक अमेरिकन केटीसँग बिहे गरे छ नि !’ भन्नेसम्म उनले सुनिन् । त्यसपछि पेमा बेहोस भइन् । त्यो क्रम रोकिएन । बेहोस हुने क्रम बढ्यो । छोरीले एक जना अमेरिकन चाईनिज र कान्छोले एक जना अमेरिकन नेपालीसँग बिहे गरेको खबर पेमा र दोर्जीले पालैसँग थाहा पाए । बाबु र आमाको मन कति पटक भाँचियो, कति पटक आरनमा पोलियो, कति पटक कालीको भेलमा हेलियो थाहै भएन । पाँच वर्षसम्म पेमा आँशुको आहालमा डुबिन् । दोर्जीले सबै काम छोडे । उनी पनि बाहिर निस्केनन् । उनी बाबु भएको घमण्ड चुरचुर भयो । पेमा दोर्जीसँग झगडा गर्दै बरबर्ती आँशु झार्दै ‘मैले बिहे गरेर पठाउ भनेको मानिनस् अब एक्लै रुदै मर्’ भन्थिन् । साँचो हो । दोर्जी एक्लै रुन्थे । झस्कन्थे । कहिलेकाँही आफैलाई चिथोर्थे । ‘हाम्रो मात्र हो र ? सबैको त्यस्तै छ । अरुको कथा पढेर बाँच्न जान्नपर्छ । छोराछोरी भोकै मर्दैनन्, शिक्षित छन् । बेरोजगार छैनन्, कुलतमा फसेका छैनन् । त्यो भन्दा खुसीको कुरा आमा–बाबुलाई अरु केही हुन्छ र ? उनीहरूको जीवनसाथी उनीहरूले नै छाने के भो त ? मैले पेमालाई छानेको होईन र ? फरक के भने मैले आमा–बाबु, दाइ–भाउजुको स्वीकृति लिएँ । छोराछोरीले लिएनन् ।’ भन्दै आफँैलाई सम्हाल्थे । पेमाले दस पर्व पहिल्यै देखेको दृश्य आज सत्य भयो जुन दोर्जीले सोचेकै थिएनन् । त्यसैले बढी टुक्रिए उनी । पेमाले भनेको मानेको भए आज उनीहरू जिउँदै मर्ने थिएनन् । हुन त नेपाली समाजमा परिवर्तन हँुदै थियो । दोर्जी र पेमाको घरमा घटेका घटना त सामान्य थिए । तर अचम्म के भने तीनै सन्तानले बिहे गर्दा आफ्ना आमाबाबुलाई एक पटक पनि सम्झेनन् । किन होला ? आफ्ना छोराछोरीले आमाबाबुलाई खबरै नगरीकन कसरी बिहे गर्न सके होलान् ? के बिहे गर्दा उनीहरूको आँखाअगाडि आमाबाबु देखिएनन् होला ? कसरी आमाबाबुलाई खबर नै नगरी बिहे गर्ने आँट गरे होलान् ? त्यो प्रश्न अनुत्तरित रहि नै रह्यो । उनीहरूको मन भाँचियो र टुक्राटुक्रा भयो । त्यस पछि स्वर्गजस्तो त्यो घर, घर नै रहेन । जब घर बिग्रन थाल्छ, सबै कुरा पानीझैँ ओरालो लाग्छ । त्यहाँ पनि त्यस्तै भयो । दोर्जी र पेमाको घरमा झगडा नभएको दिन नै हुँदैनथ्यो । दुई–तीन दिनसम्म खाना पाक्दैनथ्यो । चिया र तातो पानी खाएर दिन बित्थे । तर झगडा साम्य भएन । पेमाले ‘मैले भनेको मानेर कलेज सकेपछि बिहे गरिदिएको भए तँलाई रुन पथ्र्यो ? के पाइस् तैँले छोराछोरीलाई विदेशमा पढाएर ? तँ बाबु होस् भन्ने कुनै हेक्का राखे तेरा सन्तानले ? अब रोएर बस् । मैले त भनेकै थिए नि तैँले मानिनस् ।’ पेमाका शब्दवाणले दोर्जी झन् प्रताडित बन्थ्यो । कहिलेकाहीँ जुरुक्क उठेर तीन–चार दिनसम्म हराउँथ्यो र रुझेको बिरालोजस्तो भएर फर्कन्थ्यो । झगडा रोकिएन । सन्तानसँगको सम्पर्क विच्छेद भयो । अमेरिकाबाट तीनै छोराछोरीले हरेक दिन बिहान–बेलुका फोन गर्थे तर न दोर्जीले फोन उठाए न त पेमाले नै । सन्तानप्रतिको मायाले पेमा भक्कानिँदै रुन्थिन् तर हृदयमा घाउ लागेकाले फोन भने कहिल्यै उठाइनन् । यतिसम्म भयो कि आमा खुवाउने औँशीमा छोराछोरीले पठाएको उपहार पनि दोर्जीले बुझ्न मानेनन् । सबै कुरा नकारात्मक धारतिर बग्न थाल्यो । माया र प्रेम एक्लाएक्लै आँशुका धारामा परिणत भए । पेमाको आँखाका आँशु नै सुके । सन्तानले आमाबाबुलाई सम्झाउन नसक्नु र आमाबाबुले सन्तानले गरेको गल्तीलाई माफ गर्न नसक्नु, समयलाई बुझ्न नसक्दा वृद्धावस्थामा ती दुई दम्पत्तिको जीवन दुःखको पोखरीमा चुर्लुम्म डुब्यो । पेमा र दोर्जीबिच यतिसम्म झगडा हुन थाल्यो कि ती दुई सँगै बस्ने अवस्था नै रहेन । ‘तैँले गर्दा हाम्रा सन्तान टाढा भए’ पेमाले दिनहुँ रुदै आक्रोश पोख्थिन् । ‘पढ्न पठाउनु मेरो गल्ती हो र ?’ दोर्जीले जवाफ दिन्थे र त्यसैमा झगडाले उग्र रूप लिन्थ्यो । पेमाको माया रक्तकालीको जस्तै उग्रतामा रूपान्तरण भएको थियो । चुपचाप बस्न पनि दोर्जीलाई कठिन भयो । अप्रिय घटना नघटोस् भनेर एक दिन सत्तरी वर्षका दोर्जी र साठी वर्षकी पेमा दुवै जनाले चिया पिउँदै सल्लाह गरेर चालिस वर्षको प्रेमको लामो यात्रालाई भाँच्ने निर्णय गरे । स्वयम्भूमा रहेको घरमा पेमालाई छोडेर दोर्जी जहरसिँहपौवातिर लागे । उनीहरू बिचको साङतामा झाङ्गिएको गहिरो प्रेममा पूर्णविराम लाग्यो । पेमाको छातीमा लागेको घाउ दोर्जीको प्रेमले निको पार्न सकेन । दुवैले एकअर्काको पीडालाई बुझे पनि पीडा प्रेममा रूपान्तरित भएर शेफोक्सुण्डो तालजस्तै शान्त हुनुपर्नेमा साउनमा हुने कालीगण्डकीको जस्तै आक्रोशको भेल भएर उल्र्यो । दोर्जीले जहरसिँहपौवामा काठको सानो घर बनाए । वरपरको जग्गामा फलपूmल र खेतिपातीले ढकमक्क पारे । दिनको तीन–चार पटक उनी भक्कानो छोडेर बारीको कुनामा एक्लै रुन्थे । त्यसपछि उनको छाती हलुका भएको महसुस गर्थे र बगैँचामा काम गर्थे । त्यहीँ बस्दा सबैसँग उनको राम्रो सम्बन्ध भएको थियो । सबैले उनलाई ‘रोका बा’ भन्दै साह्रै माया गर्थे । उता पेमा पति, छोरा, बुहारी, नाति, नातिनीको बिच रमाएर बस्ने बेला एकान्तबासमा थिइन । बुढेसकालमा साथीसँगीको आवश्यकता पर्ने बेला ती दुई भने एक्लाएक्लै बसे । समयसँग सम्झौता गर्न नमान्दा सुन्दर परिवार कुरूप बन्यो । दिनहँु हुने झगडाले आक्रान्त हुनुभन्दा छुट्टै बस्दा ती दुई सुखीजस्ता देखिन्थे । हृदयभित्र जलेको पीडा त जसको हृदय जलेको छ उसले बाहेक अरुले कहाँ देख्न सक्छ र ? ‘जे भए पनि पेमाले एक्लै छोड्न नहुने ’ उनीहरूको कथा थाहा पाएका नजिकका छिमेकीले स्वयम्भूको परिक्रमा गर्दा कुरा गर्थे । ‘पेमालाई दुःख नदिनु है’ भन्ने दाजुको वचन दोर्जीले पालना गरेन ‘मर्नेबेला मुखमा पानी हाल्ने कोहि भएन । म भए त थपक्क छोराछोरीकोमा गएर बस्थेँ । घमण्डको फल खाएपछि थाह पाउँछन् ती दुवैले’ छार्कातिरबाट तीर्थ गर्न आएका छिमेकीबिच कुरा हुन्थ्यो । जीवनले कहाँ पुगेर कुन मोड लिन्छ थाहा नहुँदो रहेछ र त्यहीँ नै साँचो जीवन रहेछ । एक वर्ष बुद्ध पुर्णिमाको दिन बौद्धनाथ स्तूपाको परिक्रमा गरेर पेमाले १३ वटा बत्ती बालेको दोर्जीले देख्यो । उनले बत्ती बालिसकेपछि फर्कँदा दोर्जीलाई देखिन् । समय घर्कन कति बेर र ! ती दम्पत्तिबीच भेट नभएको बार वर्ष भएछ । दुवैले एकअर्कालाई गहिरोसँग हेराहेर गरे । आँशुका बलिन्धारा झार्दै उनी आफ्नो बाटो लागिन् । दोर्जीको छाती भारी भयो । साङतामा गाँसेको प्रेमको गाँठो नेपाल छिरेर यसरी टुट्ला भन्ने कसलाई थाहा थियो र ? समयसँग हिँड्न खोज्दा अनि समयलाई चिनेर समयसँगै सम्झौता गरेर छार्का खोलाझँै बग्नुपर्नेमा त्यसो गर्न नसक्दा त्यो सानो सुखी परिवार क्षतविक्षत भएको थियो । दोर्जीको मन साँच्चिकै डामिएको थियो । उनले संसारलाई राम्रैसँग बुझेको ठान्थे । उमेर घर्कँदै गए पनि उनले आफ्नो अडान छोडेनन् । सन्तानप्रतिको उत्कट माया भए तापनि सन्तानले आमा र बाबुको मर्ममा प्रहार गरेकाले स्नेहलाई मनबाट आँशुमा पोखिदिए । छियाछिया भएको ह्दयलाई सिउने प्रयासनै गरेनन् । चौरासी वर्ष पुगेको दिन बौद्ध र पशुपतिनाथ मन्दिर परिसरको किरातेश्वर महादेवको मन्दिरमा गएर बत्ती बाले । त्यही दिन त्यतैबाट उनी तिलगँगा आँखा अस्पतालमा पुगेर डा. सन्तुक रुईतलाई भेटेर आँखा जाँच गरे । उनकै सामु मृत्युपछि आँखा दान गर्ने सम्झौता गरे । त्यसपछि उनी सरासर महाराजगञ्जको शिक्षण अस्पताल पुगे । निर्देशकलाई भेटे, आफ्नो र परिवारको विवरण दिए र मृत्युपछिको शरीर दान गर्ने कागजमा सहीछाप गरे र जहरसिँहपौवामा फर्के । त्यस दिन उनी निकै खुसी देखिन्थे । शरीर हलुका र जीवन पूर्ण भएको उनले महसुस गरेका थिए । जहरसिँहपौवाको जमिनको लालपुर्जा र बैँकका चेकबुक दराजमा एकै ठाउँमा राखे । बुद्ध पूर्णिमाको दिन पेमाले बालेका तेह्र बत्ती क–कसका होलान् ? उनले गन्न थाले । आफू दुई र छोरा–छोरी, बुहारी र ज्वाइँ गर्दा आठ पु¥याए । पाँच थप सन्तान उनको वंशमा थपिनुकासाथै पेमा छोराछोरीसँग सम्पर्कमा रहेको अनुमान गरे । ‘आमा न हो, छोरा–छोरीसँग फोनमा पनि कुरा नगरे कसरी बाँचोस् त ! आफैलाई आश्वस्त पारे । सोफाबाट जुरुक्क उठे । दराजको ऐनामा आफूलाई हेरे । मुसुुक्क एक पटक हाँसे । अनि बलिन्धारा झारे र थचक्क सोफामा बसे । त्यस दिन रातको दुई बजे उनको मुटु नराम्रोसँग दुख्यो । उनले पेमालाई फोन गरे । अमेरिका भएका तीनै छोराछोरीलाई एक–एक पटक फोन गरे । संयोगको कुरा त्यस दिन कसैको फोन उठेन । त्यसपछि आँखा अस्पताल र महाराजगन्ज शिक्षण अस्पतालमा फोन गरेर उनको मुटु विछट्टै दुखेकाले एम्बुलेन्स पठाइदिन आग्रह गरे । त्यसपछि दोर्जी त्यही सोफामा नै अन्तिम मुस्कान छोडेर सधैँको लागि आराम गरे । त्यो बिहान हुईहुई साइरन बजेको सुने पछि गाउँका छिमेकी भेला भइसकेका थिए । सबैका आँखाबाट आँशु झरेका थिए । तिलगँगाको समूहले आँखा झिकेर लगे । महाराजगञ्जको टोलीले छातीको देब्रेभागबाट मुटुको एक अंश झिकेर आईसको बट्टामा राखे । दोर्जीले उनको परिवारले लाश माग्न आएमा दाहसंस्कारको लागि त्यो मुटु दिनु भनेर सम्झौता गरेका थिए । दोर्जीले संसार छोडेर गएको तेस्रो दिन उनको परिवारका बारजना सदस्य महाराजगञ्ज पुगे । दान गरिएको लाशमाथि सबैले आँशुका पुष्पगुच्छा चढाए । आइसको बट्टामा राखेको मुटुको एक टुक्रा लिएर आर्यघाट हुदै स्वयम्भू अनि डोल्पाको छार्कातिर गए । प्रकाशित वैजयन्ती विधाकेन्द्रित साहित्यिक पत्रिका ६२, कथा अङ्क–५, २०७६ असार–साउन
यो कथा ‘ नातिनी हिउँचुली’ जनमत साहित्यिक मासिक वर्ष ३५, अंक २, (२४५) फागुन २०७४ मा प्रकाशित भएको हो । त्यसैबाट साभार :
विष्णुप्रसाद शर्मा पराजुली
जेठ २८ गतेदेखि परेको पानी असार १ गते बेलुकासम्म परेको थियो । जेठभर खडेरी परेकाले झरी पर्दा किसान औधी खुशी भएका थिए । किसानले काठमाडौँ खाल्टोको पुर्वोत्तर गाउँ साँखुमा बाहेक अन्यत्र कतै रोपाइँ गरेका थिएनन् । हुनत अब उपत्यकामा रोपाइँ गर्ने ठाउँनै कहाँ बाँकी र¥यो र ? देवरत्न साँखुमा बस्न थालेको पनि ३६ वर्ष भएछ । उनी साँखु एक प्रकारले बसाइँ सर्दा ३४ वर्षका जल्दाबल्दा युवा थिए । साउनदेखि उनी ७० पुगेर ७१ वर्षमा उक्लदैछन् । पर्वतको लुरीङकोटका देवरत्न जन्म घरमा जाने आउने गरे पनि घरबाट हिंडेको भने ५३ वर्ष भईसकेको छ । एक–दुई वर्षको अन्तरालमा उनी जन्मघर गइनै रहन्छन् । मुसलधारे पानी क्षणभर रोकिएर वातावरण शान्त भयो । भल बग्न छोड्यो । चराचुरुङ्गी बाँसका झाँङ, खस्रु, अमलाका हाँगामा बासबस्न कल्याङ–मल्याङ गर्दै थिए । देवरत्न पनि थचक्क सोफामा बसेर तातो पानी पिउन थाले ।
बेलुका आठबजे टेवलमा रहेको मोवाइलमा घण्टी बज्यो । फेसटाईममा देखे, न्यूयोर्कबाट नातिनी हिउँचुलीको फोन आएको रहेछ । ‘ हजुर बा ! आज बिहानै किन फोन नगरेको ? हजुरबाले फोन गर्नु हुन्छ भनेर मैले दश मिनटसम्म पर्खेँ । मलाई माया नगर्ने ? आज पनि मलाई हजुरले फोन गर्न किन बिर्सेको हँ ?’ नातिनीका प्रश्नको ओइरो मुसलधारे पानीझैं ओइरिइनै रह्यो । गहभरी आँशु पारेर बोल्न छोडे पछि मात्र देवरत्नले नातिनीलाई फकाउँदै भनेँ– ‘मेरी प्यारी हिउँचुली, मेरो मुटु, मेरी प्राण ! तिमी उठेकी छैनौँ भनेर मैले फोन नगरेको नि ! बल्ल त तिम्रोमा बिहानको छ बज्यो होइन ? ल माफ गर है त । म ढिलो भएँ । ल तिम्रो दशौँ जन्मदिनको हार्दिक शुभकामना !’ हजुरबाले फोनबाटनै ‘ह्यापी वर्थ डे टु यू हिउँचुली, ह्यापी वर्थ डे टु मेरी प्यारी सानु नानु’ भनेर साँखुको घरमा ल्याएको बडेमाको केक देखाईदिए पछि मात्र हिउँचुलीले सेता, बाक्ला, पकुल्ला माया गरेर मुसार्दा पनि रगत झर्ला कि जस्ता गालामा टक्क अडिएका दुई थोपा आँशु पुछी । त्यसपछि हजुर आमाले पनि जन्मदिनको शुभकामना दिइन । देवरत्नले केक काटे । दुबैले एउटा सानो टुक्रा नातिनीलाई मोबाइलबाटनै ख्वाई दिए । नातिनीले न्यूयोर्कको घरमा भएको केकको एक टुक्रा खाए पछि नेपालमा हजुरआमा र बालाई केक खान हिउँचुलीले कर गरी । अनि दुवै जनाले केक मुखमा हाले । ‘हजुरबा यस पटक तपाइँले मलाई हिमाल देखाउनै पर्छ । तपाई जसरी पनि हिडेर जानै पर्छ । मैले कम्प्यूटरबाट साच्चि नेपाल हेर्ने नै हो । तपाईले म हिमाल देखाउछु भनेको तीन वर्ष भयो, होइन त ? मलाई जन्म दिनको उपहार अरु केही चाहिँदैन । मलाई हिमाल देखाइदिनु नत्र म स्कुल जान्न । नेपाली पनि बोल्दिन के !’ फेरि गहभरि मोतीका दाना जस्ता आँशु मोबाइलमानै खसाल्ने गरी दुबै आँखाका ढिलमा ल्याउदै रुन थाली । त्यो सबै माया फेसटाईमबाटनै जन्मेर हुर्केको हो । किनभने, नातिनी र हजुरबाको भेट त्यसबाट बाहेक भएकै छैन । देवरत्नलाई फसाद प¥यो । यसपटक पनि टिमल्न नखोजेका होइनन् । तर नातिनीले स्कुल जान्न भनेपछि झूटो बोल्न चाहेनन् । हिउँचुली सात वर्षमा टेकेदेखि हजुरबा मार्फत नेपाल र हिमाल हेर्ने भने कि हो । तीन वर्ष त उनले टारे । यसपटक भने झूटो बोल्न आफैले आँट गरेनन् । नातिनीलाई सम्झाउदै भने– ‘ल यस पटक दशैँ पछि म अन्नपूर्ण तिर पैदल यात्रा गरेर तिमीलाई हिउँचुली, अन्नपूर्ण र धवलागिरि हिमालको लामो हिमश्रृङखला अनि पहाड र तराईनै देखाईदिन्छु । अब ज्ञानी हुन पर्छ है । राम्रो पढनु पर्छ है । नत्र म जान्न नि ।’ ‘म झन राम्रो गर्छु । अझ बढि मेहनत गर्छु । ’ आँशु पुछ्दै हजुरबालाई आश्वस्त पारी । हुन पनि नेपाली, अंग्रेजी दुवै भाषामा लेख्न र बोल्न अब्बल छ हिउँचुली । देवरत्न सन्तानको मायाले गर्दा ७१ वर्षको उमेरमा कठ्याङग्रीने चिसोमा दाम्रीन हिमाल तिर जानु पर्ने भयो । रुखो स्वभावका देवरत्नको स्वभावमा आएको परिवर्तन नपत्याउदो थियो–घर र छिमेकलाई । नातिनी जन्मे पछि देवरत्न र उनकी पत्नीको उमेर घटेको छ । यी दशवर्ष बिताउन उनलाई पटक्कै कठिन भएन । हिउँचुलीका आमा र बा दुवै नेपालमा एमविविएस गरेर उच्च शिक्षाको लागि अमेरिका गएका हुन् । तीन चरणका अन्तरराष्ट्रिय स्तरका यु.एस.एम.एल.ई.को परिक्षाको प्रतिस्पर्धामा सफल भएपछि मात्र अमेरिकामा रेसिडेन्सी वा एम.डी. गर्न ढोका खुल्छ । त्यसपछिको उच्च शिक्षा डक्टरेट अथवा फेलोसिप अध्ययन गर्न पनि सजिलो हुन्छ । त्यो निकै कठिनतम यात्रा हो । ठूलो त्याग, तपस्या र मेहनत पछि मात्र अध्ययन गर्ने ढोका खुल्छ । उच्च शिक्षा हासिल गरे पछि त्यो ठाउँमा जागिर गर्ने चाहना गर्नु पनि अस्वाभाविक भएन । देवरत्नले ‘आफ्नो बुढेसकालको साथी हुन्छ ’ भनेर तुरुन्त नेपाल फर्कन आफ्नी छोरीलाई कर गरेनन् । त्यसैले दुवै जनाले पातालमानै जागिर खान थाले । दुबै जना जागिरे भएकाले उनीहरुले हिउँचुलीलाई समय दिन पाउदैनन्–साताको छुट्टिमा बाहेक । र, नेपाल पनि आएका छैनन् –एक दशकदेखि ।
देवरत्नको चाहना अनुसारनै नातिनीको नामाकरण गरिएको हो । अमेरिकामा जन्मेर उतै पढ्न थालेका बालबालिकाले घरमा आमाबाबुसँग पनि अङ्ग्रेजी भाषा बोल्ने भएकाले धेरैले नेपालीमा कुरा गर्न सक्दैनन् । घरमा नेपालीमानै कुरा गर्ने बानी पनि उनलेनै बसालेका हुन् । त्यसैले देवरत्नकी नातिनीले नेपालमा पाईला नटेके पनि उ राम्रो नेपाली बोल्ने, लेख्ने र पढने पनि गर्छे । त्यसमा देवरत्नका बूढाबूढिनै गर्व गर्छन् । संसारमा सबैभन्दा छिटो बित्ने समय हो । मानिसले त्यसलाई त्यति ख्याल गर्दैनन् । ख्याल गरेर साध्य पनि हुदैन । गत वर्षभन्दा यस वर्ष साँखुमा धान राम्रो फल्यो । देवरत्नले पनि एक रोपनी खेत किनेका छन् । त्यसमा आफूलाई मन पर्ने मिठो धान रोप्छन् । कम फले पनि उनीहरु त्यसमा खुब रमाउछन् । उनीहरुले बिहान एक छाक भात खाने भएकाले मिठो खान्छन् र त्योसँग हिसाब मिलाउन बेलुका गहुँको सुख्खा रोटी वा कोदो, मकै र गहुँ मिसाएर पिसेको पिठोको ढिँडो खान्छन् । स्वास्थ्य राम्रो भएकाले उनीहरु ससाना काम आफै गर्छन् । काठमाडौँ शहरमा मानिसको ठूलो चाप भयो । शहर पुगेर साँखु फर्कदा धुलो, धुँवा, भिड, र घन्चमन्चले बिमारनै निस्केला जस्तो हुने भएकाले उनीहरु महिनामा एक पटक मुश्किलले नयाँ सडक, असन र इन्द्रचोक भित्र छिरेर निस्सासिएको अनुभब दोह¥याउछन् । बरु, फुर्सद भयो भने कहिले बज्रयोगिनी मन्दिर, कहिले मणिचुड पहाड, कहिले जहरसिंह पौवा त कहिले नगरकोटनै पुग्छन् । पहाडमा हुर्के बढेका देवरत्नका बूढाबूढी पहाडका पखेरा र रुखका हाँगाबिगासँगनै बढि रमाउछन् । साँखुका स्थानीय नेवार समुदाय पनि तिनीहरुलाई देखेर छक्क पर्छन् । शहरमा देखाउनकालागि चाडबाड मान्ने चलन बढेकाले देवरत्न चिन्तित छन् । देवरत्नका आमाबाबु हुँदासम्म सकेसम्म दशैँमा पर्वतको लुरिङकोट पुग्थे उनी । लुरिङकोटबाट देखिने सेता हिमाल, बिहादीको समथर फाँट, कालिगण्डकी उपत्यका, गुल्मीका भिराला पाखामा देखिने सुन्दर गाउँ, र आकाशसँग टाँसिएर बसेका पहाड देख्दा उनी साच्चिकै रमाउथे । आजकल त्यो छैन । मानिसले मोबाईल र कम्प्यूटरमा आफन्तसँग स्काइप, भाईबर, म्यासेन्जर, फेसटाइम, फोनमा कुरा गरेर, त्यसैबाट दशैँ, तिहार, ल्होसार, छठ, औँसीको टिका, प्रसाद र आर्शिवाद साटेर मनाउने गर्छन् । बाहिर सबै निकै हँसिला र फुर्तिला देखिए पनि भित्रभित्रै घुक्क घुक्क भक्कानो फुटाल्दै रोएका हुन्छन् –नेपाल र विदेशीएका नेपाली । रुन्छन । पीडा छाति भित्र राख्छन । बाहिर देखाउदैनन् । देवरत्नले यो पचाईसकेका छन् । यसपटक पनि दशैँमा उनले नातिनी सहित छोरी र ज्वाईलाई टिका, जमरा लगाईदिए र आशिर्वाद दिए–फेसटाईमको सहयोगमा ।
‘हजुरबा यस पटक त हिमाल देखाउनु हुन्छ नि !’ कम्प्यूटरबाट हजुरबाको हातबाट टिका लगाई सकेर आमाबाबुको टिका थाप्दै गर्दा हिउँचुलीले सोधी । म पक्का जान्छु । यसपटक गइन भने त म साँच्चै बुढो हुन्छु । ’ देवरत्नले जवाफ दिए । दशैँ रमाइलो गरी बित्यो । हिउँचुली आमाबासँग बाहिर घुम्न निस्के पछि देवरत्नकी श्रीमती बरबर आँशु झार्दै रोइन । छाति भित्र अटेसमटेस गरि बसेका आँशु झरीमा बलेनी झरेझै झरे । उनी पनि गम्भिर भए । ‘अहिले धेरै नेपालीका घरमा मोबाइलबाटनै सबै चाडबाड आउने र जाने गर्छन् । कतिले त त्यो पनि पाएका छैनन् । धन्य हो हामीले मन उज्यालो पार्ने नातिनी त पाएका छौँ । किन रुन्छेस ?’ रुमाल झिकेर आफ्ना आँशु पुछ्दै देवरत्नले श्रीमतीलाई सम्झाए । देवरत्नले नातिनीले पठाई दिएको सानो म्याक कम्प्यूटर, क्यामरा, मोबाईल, सोलार प्यानल, ब्याटरी, चार्जरसबैको नाम बनाएर तयार गरे । रुकस्याक, न्याना ज्याकेट, हवा छेक्ने ज्याकेट, पातला न्याना भित्री गन्जी र सुरवाल, ऊनको टोपी, क्याप, बाक्ला मोजा, जुता, पानीको बोतल, चकलेट सबै तयार गरेर फिजारे । मंसिरको दोस्रो सातादेखि बिहान बेलुका चिसो बढेको थियो । सबै सामान ठीक पारेर हिउँचुलीलाई फेसटाईमबाट देखाईदिए पछि मात्र ती सामान रुकस्याक भित्र हाले । अघिल्लो वर्षझै यस वर्ष पनि पुसको पहिलो साता मौसम असाध्यै सफा थियो । कम्प्यूटर र क्यामराको झोला आफूले बोकेर अर्को झोला यात्राको साथी अमरलाई बोकाएर उनी बेनीको माइक्रो बसबाट पोखरातिर लागे । उनले नातिनीलाई नेपालका गाउँ, पहाड, बन, चराचुरुङ्गी, खोला, झरना र हिमाल देखाउने बचन दिएका थिए । हिंड्ने बेलामा हिउँचुलीले भनेको सम्झे–‘हजुरबा तपाई हिडेको बेला यहाँ रात भए पनि म सुत्दिन नि ! मलाई सबै कुरा देखाइदिनु होला । खर्चको पीर नमान्नु नि !’ अमेरिकामा राती भए तापनि हिउँचुलीको स्कुलको बिदा भएकाले नसुत्ने योजना गरेकी थिई । मनमनै सोच्दै थिए –‘ आजकलका बालबालिका कति बाठा हँ ! राजनीति र प्रशासनमा इमानदारी हुँदो हो त यीनले देशको मुहार फेर्थे होला ? ’ ‘नेपाल आए पो मुहार फेर्नु त ।’ उनले आफैलाई जवाफ दिदै कुश्मामा दुईबजे झरे । ‘यो तेरो हजुरबाको जिल्लाको सदरमुकाम कुश्मा हो । अन्नपूर्ण दक्षिण, गंगापूर्ण र माछापुछे« हिमनदीबाट आएको मोदी नदी (खोला) र दामोदर कुण्ड र मुक्तिनाथको शिरबाट आएको कालिगण्डकी नदीको बिचमा रहेको पर्वतको सदरमुकामको कुश्मा बजार यही हो । बडगाउँबाट ज्ञादी जोडने, बडगाउँको बनबाट बाग्लुङको कैया जोडने संसारकै लामा र अग्ला झोलुङ्गे पुल यिनै हुन् । ’ भन्दै देवरत्नले नातिनीलाई माछापुछ«े हिमाल सहित झोलुङ्गे पुल, नदीहरु देखाईदिए । हिउँचुलीले कालीगण्डकी र मोदीखोलाको दोभान देखाईदिन भनी । उनी फर्केर कैया जाने झोलुङ्गे पुलको पारीसम्म पुगेर त्यो पनि देखाईदिए ।
नातिनीसँग त्यो दिन उनका साथी डेभिड, जोन र अमृता पनि थिए । नेपालका नदी, हिमाल, वन, पुल देख्दा सबै खुशीले उन्मत्त भएर हिउँचुलीलाई धन्यवाद दिए । त्यो साँझ देवरत्नले आफ्नो पुरानो कुरा सम्झेर झल्यास्स भए । उनलाई उनका हजुरबाले आँगनको धुलोमा ‘अ, आ’ अनि कालो पातलो ढुङ्गाको पाटीमा ‘क, ख, ग’ लेख्न सिकाएको सम्झे । एकदिन भैंसी किन्न कालीपार जादा देवरत्नले उनका हजुरबालाई पछ्याएको सम्झे । ‘पिपल गेडी ल्याईदिन्छु पढेर बस’ भनेर हजुरबा गए पछि देवरत्नले आँगनको धुलौटोमा क, ख, ग, लेखेर बसेको छर्लङ्ग देखे । देवरत्नका बाले वनबाट गाई, बाख्रा चराएर आउदा स्याउलाको ठूलो भारी बोकेर खुईय गर्दै आएको । आमाले ठूलो तामाको गाग्रीमा पानी ल्याएर दाउरा बाल्दै बेलुका हाँडीमा मकै भुटेको सम्झ्यो । बटौलीबाट १३ दिनका दिन बोकेर ल्याएको मट्टितेलले पानसको बत्ति बालेर मझेरीमा घोप्टिएर पढदा देवरत्नका कपालको रौं जलेको हजुरबाले देखेर निभाएको झलझली देख्यो र टाउकोमा हात राख्दै भन्यो– ‘वाफरे बिकास भएन भने पनि बिकास त कहाँ बाट कहाँ पो पुगे छ त हँ !’ क्षणभर देवरत्नले आफूले आफैलाई विश्वास गर्नै सकेनन् । धुलौटोमा अक्षर चिनेको देवरत्न आज आफ्नी अमेरिकामा बसेकी १० वर्षे नातिनीलाई नेपाल देखाउन झोला भरी ल्यापटप, क्यामरा, नेटकार्ड बोकेर हिडेको थियो । टेवलको कफि सक्यो । ऐना हे¥यो । आफूलाई ७० वर्षको होइन कि कहिले १० वर्षे नातिनी त कहिले धुलौटोमा लेख्दै गरेको ६ वर्षको देवरत्न देख्यो । देवरत्नका बाबुले बटौलीबाट नुन र मट्टितेल बोकेर ल्याउदा त्यो गाउँ देवलोक जत्तिकै रमाईलो थियो । खेतमा लहलह धान फल्थ्यो, बारीमा एक हात लामा मकैका घोँगा हुन्थे । गोठभरी भैँसी र खोरभरी बाख्रा हुन्थे । कुणेभरी दूध, ठेकाभरी दही, र चौठीभरी घिउ हुन्थ्यो । पानसको बत्ती भए पनि अहिलेको बिजुली बत्ती भन्दा उज्यालो हुन्थ्यो । जुनेली रातको के कुरा अँधेरी रातमा ताराहरु आँगनमा झरेर धानका बिटासँग लुकामारी खेल्थे । बिकासले गर्दा त्यो रमाईलो अहिले शून्यतामा रुपान्तरण भएको छ मानौं त्यो जिउँदाको मशानघाट हो । खेतबारी बाँझो छन् । स्कुल, स्वास्थ्य चौकी, मोटरबाटो, बिजुली बत्ती, खानेपानी छन् तापनि युवा जति सबै लाहुरे हुन गएका छन् । पहिले लाहुर त एक देशमात्र थियो । अहो ! अहिले त लाहुर पनि कति देश ? बाफरे १२६ रे ! ‘सर खाना तयार भयो’ वेटरले खबर गर्दा देवरत्न झस्क्यो । बिकासको नियमनै यस्तै हो कि, उस्को देश मात्र बाँझो भएको हो , भेउ पाएन । गाउँ सम्झदा उसले हजुरबालाई सम्झ्यो र आज आफू हजुरबा भएको समयसँग तुलना ग¥यो । र, मनमनै सोच्दै खाना खान झ¥योे–‘अहो ! त्यसबेला र अहिलेको समय त कुश्मा–ज्ञादीको मोदीखोलाको झोलुङ्गे पुलको गहिराईभन्दा पनि गहिरो पो भएछ । आर्थिक बिकास पनि पुलको उचाई जस्तै बढेको भए देश बाँझो हुने थिएन । मन रुखो हुने थिएन । ’
देवरत्न र अमर लेस्पार पुग्नुभन्दा एकघण्टा वरै ओर्ले । मोबाईलमा डाटा अन गरे, एक पटक चारैतिरको दृश्य तल, माथि सबैतिर देखिने गरि नातिनीलाई देखाउदै उकालो लागे । हिंडदै गर्दा उनले भने ‘बाक्लो बन भएको अग्लो पहाडको फेँद समथर ठाउँमा रहेको ठूलो गाउँको नाम लेस्पार हो । यहाँ पुन मगरको बसोबास रहेको छ । यिनीहरु यहाँ हजारौं वर्षदेखि बसोबास गर्दै आएका हुन् र यिनको मुख्य पेशा कृषिनै नै हो । यहाँका धेरै पुरुषहरु बेलायत र भारतमा सेनामा भर्ती हुने गर्छन् । यहाँका सबै घर पातलो कालो ढुङ्गाले छाएका छन् । बाटाका सिँढी पनि ढुङ्गाका ठूला छपनी राखेर बनाएका छन् । यिनीहरुले दशैँ तिहार सहित ससर धारामा बाराही देवीको पूजा गरी चाडपर्व मनाउँछन्’ । ‘हजुर बा आज बेलुका त्यहाँको एउटा नाच पनि देखाईदिनु न है । मलाई हेर्न मन छ ।’ हिउँचुलीले नयाँ कुरा थपी । त्यसपछि अमरले त्यहाँका आमा समुहलाई भनेर स्थानीय सालैजो भाकाको – ‘ हे.. गुँरासै फुल्यो ढक र मक लेस्पार बन लेकैमा सा..लै जो न्याउली रुने पाखैमा, गोठाला जान्थ्यो, घाँसदाउरा गथ्र्यो जलजला भेकैमा सा..लै जो झल्को आउने आँखैमा । ’ भन्ने सालै जो भाका गीत सुनाई दिए । त्यस्तै आधुनिक भाकाको एउटा– ‘जलजलाको डाँडामाथि डाँफेमुनाल नाच्यो, लेस्पारीको मनै सङ्लो आनीबानी साँचो’ गीतमा नृत्य पनि देखाईदिए । त्यो देखेर हिउँचुली र उस्का साथीहरु खुशीले गदगद भए । पन्चासेको चुचुराबाट उदाएको सूर्योदयको दृश्यले देवरत्न भावुक भए । उनले जीवनमा धेरै उच्च स्थानबाट सूर्योदय र सूर्यास्तको दृश्यको तश्वीर लिएको सम्झे । अघिल्लो दिनको सूर्यास्त र त्यो बिहानको सूर्योदयको दृश्य, माटो र ढुङ्गाले बनेको घर र ढुङ्गालेनै छाएको भिरालो छानो देखेर हिउँचुलीमात्र होईन उनका साथी डेभिड र उसकी आमा, फिलिप, जोन र उसको बाबु, म्यारी र उनकी आमा, अमृता, रुपा, मनोहर र एभरेष्ट पनि औधि खुशी भएका थिए । ती सबै बालबालिकाको उमेर दश वर्ष नै थियो । कति अमेरिकन थिए भने कसैका आमा नेपाली त कसैका भने बाबु नेपाली थिए । आमा र बाबु भएका केटाकेटीले नेपालजान आग्रह गरेको उनीहरुको कल्याङ–मल्याङ आबाजबाट सुनिन्थ्यो । सानी भनेर के गर्ने त्यो सबै दृश्य देख्दा हिउँचुली भने गम्भिर देखिएकी थिई । त्यो बिहान देवरत्न प्रफुल्ल देखिन्थे । लेस्पार गाउँको शिरमा रहेको चौपारीबाट एकै ठाउँमा परेवा बसेजस्तो देखिने लेस्पारलाई हेर्दै भने – ‘बुझ्यौँ अमर । मेरी नातिनी मात्र होईन, त्यस्का साथी पनि नेपाल आउँछन् । त्यतिमात्र कहाँ हो र ? नेपालबाट अमेरिका छिरेर, विदेशीसँग बिबाह गरेर नेपालका आमाबाबुलाई बिर्सेका आमाबाबु पनि छोराछोरीका जिद्धीले नेपाल आउँछन । अनि, तिनका आँखाबाट रगत झर्छ । बुझ्यौँ ।’ उनीहरु लालीगुँरास, खस्रु, जुनिफरको बाक्लो जंगलको बाटो भएर पसिनाका धारा झार्दै उकालो चढ्दै थिए । आकासमा अचानक कालो बादलका फुर्का देखिए । ‘आँखाबाट रगत झर्छ’ भनेको कुरा मैले अलि बुझिन नि’ पसिना पुछ्दै अमरले सोधे । देवरत्नले अमरले बुझ्ने तरिकाले बुझाईदिदै भने– ‘नेपालमा आमाबाबु मरे कि बाँचेका छन् भन्ने वाश्ता नगर्ने नेपाली अमेरिकामा धेरै छन् । आफ्नो लोग्ने, आफ्नी स्वास्नी, आफ्ना छोराछोरीमात्र संसार हो भन्ने कम छैनन् । हो , त्यस्ताका प्यारा छोराछोरी मेरी नातिनीका साथी छन् । अब तिनीहरुले हिउँचुलीको घरबाट फर्के पछि आ–आफ्ना आमाबाबुसँग तिनका हजुरबा र हजुर आमाको बारेमा सोध्ने छन् । छोराछोरीको मोहले बल्ल तिनले आफ्ना बाबुआमालाई झल्यास्स हुदै सम्झने छन् । हो, त्यसबेला झर्ने आँशु, आँशु नभएर रगत हुने छ ।’
अमर पनि भावुक भए । त्यस्ता कुरा उनले पनि नसुनेका र नदेखेका होईनन् । नेपालमानै पनि आमाबाबुलाई हेला गर्ने, झुक्याएर बृद्धाश्रममा छोड्ने धेरै छन् । ‘यो संसार विचित्रको छ । यो संसार भित्र मायाभन्दा घृणा गर्नेहरु धेरै छन् । उमेरमा मातेर उमेर ढल्के पछि पछुताउको पोखरीमा डुबुल्की मार्नेहरु पनि त देखेकै हो ।’ अमरले लालीगुँरासको एउटा पात टोक्दै मनमनै भने । केहिबेर अघि देखिएको कालो बादलले आकाश ढपक्कै ढाक्यो । चराहरुको चिरबिर एक्कासी बढ्यो । जलजला चौरमा नपुग्दै पानीका थोपा फाट्टफुट्ट झर्न थाले । जलजला पानी जमिरहने चारैतिरबाट बाक्लो जंगल, भीर, खरबारीले घेरिएको सानो उपत्यका हो । त्यहाँ वरपर बासबस्ने ठाउँ छैन । जलजला खोला तरे पछि एउटा ठाडो खरबारीको उकालो चढनु पर्छ । त्यसपछि करिव दुई घण्टा हिंडे पछि मात्र पुनहिल नपुग्दैको मोहोरे डाँडामा बास बस्न पाईन्छ । जलजलको बीचमा एउटा सानो मन्दिर र मन्दिरसँगै एउटा धर्मशाला रहेको छ । धर्मशाला नपुग्दै हुस्सुले छोपी हाल्यो । त्यसपछि पानी र हिउँ पर्न थाल्यो । वर्षादी ठूलो झोलामा थियो । कम्प्यूटर र क्यामरालाई बचाउन देवरत्नले आफ्नो हवाछेक्ने ज्याकेटले रुकस्याक ढाके । अमर दौडदै धर्मशाला पुगेर ओत लागे । लेक तिरको मौसम पहाड र तराईमाभन्दा छिटछिटो परिवर्तन हुन्छ । एक्कासी मौसम बिग्रेकाले देवरत्नको अनुहारमा पनि बादल देखियो । त्यसबेलाको चिसो क्यानाडामा माइनस ५० र न्यूयोर्क र वासिङटन डि.सि.तिर माइनस ४० डिग्री सेल्सियस पुगेको थियो । शरिरको कुनै भाग दश मिनटसम्म बाहिरको हवामा परेमा रगतजम्ने भएकाले अमेरिकी सरकारले बाहिर हिड्दा होशियार हुन नागरिकलाई सूचना जारी गरेको थियो । नेपालमा हिउँ परेको थिएन तर चिसो भने अचाक्ली बढेर तराई र हिमालमा बिरामी हुने र मृत्यू हुनेको सख्या बढेको थियो । हिउँदमा हिउँ प¥यो भने सामान्यतया दुई वा तीन दिन पर्छ । त्यसपछि अचाक्ली चिसो भए तापनि मौसम भने मुटुका नसा हँसाउने गरी सफा हुन्छ । दिउँसो तीन बजेको थियो । उनीहरुसँग वर्षादी, टर्च लाइट त थियो तर पाल, ग्यास,र चुलो भने थिएन । जलजलामा फोन लाग्दैन्थो । हेर्दाहेर्दै फुसफुस हिउँ पर्न थाल्यो । बाक्लो हुस्सु लागेर चार–पाँच फिटभन्दा टाढा देख्न नसकिने भयो । वनको गोरेटो बाटो हिउँले पुरियो । ‘बस्यो भने अँध्यारो हुन्छ । धर्मशालाको चिसोमा भोकै रात गुजार्न सकिदैन । त्यसकारण हिउँ पर्दापर्दै भए पनि हिंडने हो कि ?’ देवरत्नले अत्तालिदै अमरलाई भने । ‘सर, हिउँ बाक्लो परेको छ । छ इन्च जति बाक्लो हिउँ भईसक्यो । चिसो हवा चलेको छैन । हिउँ अझै पर्छ । हिउँले गर्दा बाटो पुरिन्छ । पाखा र डाँडा हेरेर बाटो पहिल्याउन पनि बाक्लो हुस्सुले चार–पाँच फिट भन्दा देखिदैन । हिउँले पुरेको बाटोमा हिंडदा खाल्डोमा पर्ने, भीरबाट बल्ड््याङ खाने, बाटो बिराएर खोंचमा पर्ने खतरा बढी हुन्छ । हिउँ परेको बेला होशियार हुन पर्छ । हिमालमा भएको भए चिसोले मर्ने पनि डर थियो । हामी तीन हजार मिटरभन्दा तल छौ । तर हिउँले बाटो पुरिएको रात पर्ने बेला हिंड्न त हुदैन । पखौँ । त्यस्तै प¥यो भने यो धर्मशालामा बसौंला । हाम्रो भाग्यले जलजलमा मन्दिरको काखमा छानो भएको धर्मशाला फेला परेको छ । एक दिन खाना नखाएर मरिदैन । हामीसँग चिउरा, भुजिया, बिस्कुट त छदै छ नि ! पानी पनि छ । पीर नगर्नु ।’ अमरले देवरत्नको बोलीलाई बन्द गर्ने गरी जवाफ दिए । कुरा त ठीक हो । हिउँ पर्न छोडेर हुस्सु नहटेसम्म त्यहाँबाट नहिडने निस्कर्षमा दुई जना पुगे । जलजलाको वन झनभन्दा झन अँध्यारो हुदै गयो । लगातार एक घण्टा हिउँ प¥यो । हिउँ पातलो हुदै गयो र हुस्सु पनि अमरले भने झै लालिगुँरासको बोटसम्म उठ्यो । जलजलको उत्तरी भीर प्रष्टै देखियो । देवरत्नको मनमा उठेको डर हुस्सुसँगै अलिपर पुग्यो तर भागेन । उच्च हिमाल नभए पनि हिउँ परेपछि जंगलबीचको जाडो पनि बढन थाल्यो । त्यसबेला एक–दुई चराहरु उढेर अर्को रुखतिर गए । शायद तिनीहरु त्यही मौकामा आफ्नो गुँढमा गएका हुन् । अमरले चिउरा र भुजिया झिके । दुबैजनाले बर्षादी भुईमा ओच्छ््याय, त्यसै माथि बसे र खान थाले । त्यसबेला अन्नपूर्ण प्रथमको चुचुरो तिरबाट आएको चिसो सिरेटोले देवरत्नको चाउरीएको गालामा एक्कासी मुसा¥यो । उनी नातिनीको हात हो कि भनेर क्षणभर झुक्किए । त्यो हात थिएन, त्यो त चिसो हिमाली स्याँठ थियो र त्यसले होशियार हुन सन्देशमात्र दिएको थियो । पुसको महिना त्यसमाथि हिमाली लेक । दुई बजे घाम ढल्केपछि नै सूर्यका किरण पहेलपुर हुन्छन् । चिउरा खादै गर्दा त साढे चार हुन पाँचै मिनट बाँकी थियो । धेरै पदयात्रा गरे तापनि बास बस्ने ठाउँमा नपुग्दै अध्यारो हुँदा, मौसम खराब हुँदा र बीचबाटोमा हिउँ परेपछि देवरत्न साह्रै अत्तालिन्छन । हँसिलो हिमाल जस्तै उनको उज्यालो अनुहार कालो बादलमा परिणत हुन्छ । उनी अलि बढीनै निरास हुन्छन् । जुन गलत हो । बाटोमा हिँड्दा जे पनि त पर्न सक्छ । त्यसलाई त नडराईकन होशियार भएर पो सामना गर्नु पर्छ । खाजा खाईसके पछि देवरत्नले हिउँपरेर सेताम्मे देखिएको जलजलाको सानो भिडियो बनाए । तश्वीर खिचे । दुवै मिलेर एकले अर्काको तश्वीर पनि खिचे –राम्रो नभए तापनि । ‘अब के गर्ने त ?’ उनले अमरलाई सोधे । हिउँ पर्न छोडे पनि वातावरण खुलेको थिएन । पहाडको धार भएर हिडनु पर्ने र हिउँ परेकाले चिप्लिने डर पनि त्यत्तिकै थियो । अमरले चारैतिर हेरे पछि नाडीको घडि हेरेर जवाफ दिए – ‘सर, आज यतै बास बसौँ । बाटो सजिलो छैन । दुबैतिर भीर भएको पहाडको धारबाट हिँड्न पर्छ । अँध्यारो हँुदैछ । बास बस्ने ठाउँमा नपुगेर बीचमा हिउँमा पुरिन सकिन्छ । हिम पहिरो झर्न सक्छ । हराउन पनि सकिन्छ । हिउँ भनेको अरु जस्तो कुरा होईन । यो सुन्दर पनि हुन्छ र जति सुन्दर देखिन्छ त्यत्तिकै निर्दयी पनि हुन्छ । हिउँमा ज्यान सजिलै जान्छ । हामी त साह्रै भाग्यवान रहेछौ । धर्मशालामा बास पायौँ नत्र ओढार वा ठूलो रुख खोजेर त्यसमा बास बस्नु पथ्र्यो । यहाँ कुनै खतरा छैन । बर्षादी, स्लीपिङ ब्याग र ज्याकेट छन् । यतै बसौँ ।’ हिउँ र हिमाल सुन्दर भए तापनि ती खतरनाक हुन्छन् भन्ने कुरा देवरत्नले राम्रो बुझका छन् । अमरको कुरा साँचो थियो । त्यहाँ जवरजस्ती गर्नु भनेको बुढो देवरत्नको जीवनलाईनै खतर थियो । त्यसैले उनले – ‘हुन्छ । यहीँ बसौँ । यो धर्मशाला हाम्रो लागिनै बनेको रहेछ । हे प्रकति देवता हाम्रो रक्षा गर । ’ भन्दै धर्मशालमा असरल्ल रहेको बालुवा, ढुङ्गा सम्याउन थाले । दुबै जना मिलेर कोठामा भएका स्याउला र निगालोका सुथरीलाई मिलाएर ओच्छ्याए अनि त्यसपछि वर्षादी राखे । होटलमा बस्ने भएकाले उनीहरुले म्याट्रेस बोकेका थिएनन् । त्यो कमजोरी भएको थियो । जे होस अँध्यारो नहुँदै उनीहरुले आफ्ना बाक्ला लुगा, टोपी, पन्जा सबै झिके र लगाए । अमरले बाटोमा हिंड्दा धाराको पानी पिउने भएकाले उनको बोतलमा तातो पनि भरी नै थियो भने देवरत्नकोमा एक गिलास बाँकी थियो । उनीहरुले एक–एक कप कालो कफि बनाए र त्यसैसँग फेरि चिउरा, विस्कुट, र भुजिया खाए अनि सुते । धर्मशालामा झ्याल र ढोका नभएको हुनाले चिसो हवाले सेक्थ्यो । तर पनि राम्रा स्लिपिङ ब्याग भएकाले डराउन पर्ने भने थिएन । देवरत्न पहिलो प्रहरमा दुई घण्टा जति निदाए त्यसपछि भने उनी निदाउन सकेनन् । उनका आँखाका ढिल र अनुहार चिसोले फुलेको चाल पाए । रातको चकमन्नतामा जलजलाको बीच जंगलमा ती दुई प्राणी थिए । बिहानी पख भने जंगलमा स¥याङ सुरुङ आवाज सुनिन थाल्यो । शायद त्यस वनमा भएका झारल, मृग, कस्तुरी, भालु, चितुवाले उज्यालो हुन थालेको आभास पाएका थिए । बिहान तीन बजे देवरत्न बाहिर निस्के र आकाश हेरे । तारा देखे पछि उनी अँध्यारोमानै मुसुक्क हाँसे । भोली पल्टको मौसम सफा हुन्छ भन्ने कुरामा उनी ढुक्क भए । त्यसको केही छिन पछि चराचुरुङ्गीको चाँचाँ, चीँचीँ आवाज आउन थाल्यो । साच्चिकै मौसम सफा भयो । अमरले कफी बनाए । दुबैजनाले कफी पिएर जलजलाको खोला तरेर उकालो लागे । जमीनको तातोले रातभरमा केही हिउँ पग्लेकाले बाटोको गोरेटो प्रस्ट देखिन्थ्यो । गेगर भएको ठाउँभन्दा माटो भएको ठाउँ लर्कने थियो । अघिल्लो दिन हिउँ परेकाले मौसम भने चौपट्टै सफा थियो । आकाशमा एक फुर्को सेतो बादल पनि थिएन । आकाश से–फोक्सुण्डो तालको पानी जस्तै गाढा नीलो देखिएको थियो । बिहानीको घाममा चराचुरुङ्गी रमाउदै भुर्रभुर्र यता र उता नाचीरहेका थिए । रुखका पातहरु चिल्ला भएर टलक्क टल्केका थिए । अन्नपूर्ण क्षेत्रका हिमालका चुचुरामाथि घामको किरणले धुवाँ उढेजस्तो झल्याक–झुलुक देखिन थालेको थियो । देवरत्नले रुकस्याकबाट क्यामरा, फोन झिके । डाटा अन गरे । फोन रुकस्याकको फितामा बाँधे । नातिनीसँग कुरा गर्दै हिँड्न मिलोस भनेर उनले त्यसो गरेका थिए । करिव डेढ घण्टामा उनीहरु जलजलाको उकालो र पहरो नाघेर एउटा डाँडामा पुगे । त्यसपछि पहाडको धारैधार हिँडे पछि मोहोरे डाँडामा पुुगिन्थ्यो । त्यो डाँडाबाट चारैतिरको दृश्य असाध्यै राम्रोसँग देखिन्थ्यो । हिउँ परेपछि त्यो बिहानीको प्राकृतिक रुप यस्तो लाग्थ्यो कि मानौ एक नव युवती सुन्दरी गङ्गा स्नान गरेर व्रत बस्न ठीक्क परेकी हुन् । नभन्दै पहाडको एउटा पाखो चढेर अर्को पहाडको धारमा पुग्दा अमेरिकाबाट हिउँचुलीको फोन आयो । अघिल्लो दिन हिउँ परेको समाचारले सबै तर्सेका रहेछन् । नेपालको पश्चिम हिमाली भागमा अचानक हिउँ परेको रहेछ । डोल्पाका स्थानीय गाउँले र अन्नपूर्ण परिक्रममा गएका पर्यटक हराएका छन् भन्ने खवर अनलाईनले दिएका रहेछन् । ‘ हजुरबा हिजो किन फोन नगरेको ? हिजो के भयो ? हिउँमा पर्नु भयो कि भएन ? चोट लाग्यो कि ? तँपाईको अनुहार फुलेको छ । तँपाईलाई धेरै गाह्रो भयो होइन त ? मैले गर्दा हो नि ! मलाई माफ गर्नु हजुरबा । मलाई माफ गर्नु है ।’ हजुरबालाई देखे पछि हिउँचुली डाको छोडेर रुन थाली । त्यो साँझ त्यहाँ अरु सबै साथीका साथ हिउँचुलीका आमाबाबु पनि सँगै थिए । हिउँ परेको समाचारले सबै जना साँच्चिकै अत्तालिएका रहेछन् । त्यहाँ बसेका सबैको आँखाभरी आँशु छचल्किएको थियो । देवरत्न भावुक छन् । त्यो देख्दा देवरत्न मात्र होईन अमर पनि भावुक भए । क्षणभरको भावुक वातावरणलाई चिर्दै देवरत्नले भने –‘ हिउँचुली ल अब आँशु पुछ । अनि, म तिमीलाई तिम्रो नाम भएको हिमाल देखाउछु । हिमालका थुप्रै दाजुभाई, दिदीबहिनी छन् तिनलाई पनि देखाईदिन्छु । अनि हिउँ परेको कथा पनि बताउछु ।’ हिउँचुलीले आँशु पुछि । तर तिनका आँशु रोकिएनन् । हजुरबालाई हेर्दै झन् दरदर्ती आँशु झारी । त्यो देखेर जोनकी आमा (जो अमेरिकी नागरिकसँग विबाह गरेकी नेपाली हुन्) ले हिउँचुलीको हात मुसार्दै सम्झाईन –‘ तिम्रो हजुरबालाई केही भएको छैन । हेर ! कतै केही चोट लागेको छैन । ल, तिमी हाँसीदेउ । अनि, हजुरबाले तिम्रो हिउँचुली देखाउनु हुन्छ ।’ हिउँचुली अलि शान्त भई । सबैभन्दा पहिले देवरत्नले अघिल्लो दिन बाक्लो हिउँ परेको, आफूहरु त्यो रात धर्मशालामा एक–एक कप कफी पिएर रात बिताएको, सबिस्तार बताई दिए । त्यसपछि सबैले आँशु पुछे । धुपीसल्लाले ढाकेको, घाँस सुकेर फुस्रो देखिएको मोहोरेको डाँडो देखिइसकेको थियो । उनीहरु हिंडेको पाखोमा अग्ला रुख नभएकाले त्यहाँबाट चारैतिर छर्लङ्ग देखिन्थ्यो । बिहानको नौ बजे तापनि हिमालमा पुषका घामको किरण अत्यन्त नरम थियो । घाम चर्कदा पूर्वतिर देखिने हिमालमा सूर्यका किरणले प्रष्ट देखिदैन । तर त्यसबेला पोखरातिरबाट लामो उपत्यका हुँदै घोडेपानीतिर आएको सूर्यको किरणको तुवालो पातलो थियो । त्यसैले पूर्वका हिमाल पनि प्रस्ट देखिएका थिए । त्यहाँ नेटले पनि राम्रो काम गरेकाले अमर र देवरत्नले त्यहाँको हिमाल, तुसारोले खाएका नाङ्गा काला अग्ला पहाड, उपत्यका, वन र अन्य दृश्य मोहोरे नजिकको धार परेको नाङ्गो डाँडोबाट देखिईदिने सल्लाह गरे । मोबाईल र ल्यापटप दुबै तयार थिए । त्यसबेला प्रकृतिले सृष्टि गरेको स्वर्गको त्यो सानो टुक्राबाट काठमाडौं, अमेरिका र त्यो मोहोरेको थुम्कोमा सम्पर्क भएको थियो । देवरत्नले सर्वप्रथम सबैभन्दा नजिक उत्तर तर्फ रहेको हिउँचुली हिमालको अतिसुन्दर पुर्ण रुप देखाई दिए । अधिल्लो साँझ हिउँ परेपछि खुलेको गाढा नीलो आकाशको अँगालोमा बाँधिएको सेतो ताजा हिउँको ताज पहिरेको हिउँचुलीको चुचुरो साँच्चिकै सुन्दर, आकर्षक र लोभलाग्दो देखिएको थियो । पहिलो सूर्योदयका किरणले त्यो सिङ्गो पहाड सुनको थुप्रोमा परिणत भएको थियो । त्यो यस्तो मनमोहक देखिएको थियो कि मुटुको धढ्कन पनि क्षणभर चल्न बन्द भएर त्यो सुन्दरता हेर्न बाध्य हुन्थ्यो । त्यो देखेर ठूलो टेलिभिजन अगाडि बसेकी हिउँचुलीलाई सबैले चुम्बन गर्दै भने–‘तिमी जस्तै सुन्दर रहेछ, हिउँचुली हिमाल त !’ खुशी हुँदै उसले थपी–‘मभन्दा राम्रो हिमाल, अनि हिमालभन्दा राम्रो मेरो हजुरबा !’ । त्यसपछि देवरत्नले हिउँचुलीको साख्खै ठूलो दाजु अन्नपूर्ण दक्षिणलाई देखाईदिए जुन साच्चिकै अभिभावक भएर बसेको थियो । अनि नजिकै ‘म जस्तो सुन्दर को छ र !’ भन्दै आफ्नो रुपमा घमण्ड गर्दै उभिएको माछापुछे« हिमाल देखाई दिए । ‘माछापुछे« हिमाल’ भन्नासाथ सबैले ‘पोखरा’ भनेर चिच्च्याए । माछापुछे« हिमालको ठीक उत्तरमा अन्नपूर्ण तेस्रो शानका साथ उभिएको थियो । त्यसको उत्तर कुनामा गङ्गापूर्ण र गन्धर्वचुलीलाई उनले सामान्य जुम गरेर देखाईदिए । त्यसपछि पूर्वमा पोखरा हँुदै अन्नपूर्ण दोस्रो, मनासलु देखि अझै पूर्वमा काठमाडौँबाट नजिक देखिने गणेश हिमालसम्म देखिएको भन्दै देवरत्नले कम्प्यूटरबाट देखाईदिए । त्यसबेला पोखरा उपत्यकामा भने हुस्सु लागेको थियो । पूर्वको भाग सकिए पछि अन्नपूर्ण दक्षिणको ठीक उत्तरमा ‘को भन्दा को अग्लो’ भने जस्तो गरि उभिएका दशौँ चुलीहरु देखिए ती मध्येको सबैभन्दा अग्लो ८ हजार ९१ मिटर उचाईमा रहेको विश्वको दशौँ अग्लो चुली अन्नपूर्ण प्रथम भएको कुरा देवरत्नले सुनाई दिए । त्यसपछि उत्तर पश्चिमतर्फ निलगिरिका तीन चुचुरा चलङ्र्ग देखिएका थिए । तिनलाई देखाउदै निलगिरिको ठीक उत्तर फेदमा जोमसोम, मार्फा र कालिगण्डकी उपत्यका, मुक्तिनाथ, ल्होमानथाङ, एवं दामोदर कुण्ड रहेको ल्यापटपबाट देखाउँदै भने । त्यसबेला न्यूयोर्कको कोठामा बसेर नेपाल हेर्ने सबै केटाकेटी र तिनका आमाबाबुले आँखा नझिम्क्याईकन त्यो दृश्य हेरिरहेका थिए भने सास फेर्दापनि आवाज आउछ कि भने जस्तो गरी हिउँचुलीको हजुरबाले बोलेको कुरा ध्यानमग्न भएर सुनिरहेका थिए । निलगिरिको दक्षिण अर्थात मोहोरे पाखाको पश्चिम–दक्षिणतिर धवलागिरि प्रथमसँगै ढलक्क उत्तरतिर ढल्केर उभिएको अतिसुन्दर हिमाल टुकुचे चुचुरो देखाईदिए । त्यसपछि उनले गजक्क परेर बसेको, विशाल शरीर भएको त्यस क्षेत्रकै अतिसुन्दर, अति विशाल रुप धारण गरेर ध्यानमग्न अबस्थामा थचक्क बसेको ऋषि जस्तो देखिने ८ हजार १६७ मिटरको उचाईमा रहेको विश्वको सातौँ अग्लो हिमाल धवलागिरि प्रथम देखाईदिए । त्यो हिमाल देखाउदा सबैले एक क्षण नचलाउन आग्रह गर्दै धवलागिरि भन्दा तल्लो उपत्यका पनि देखाईदिन भने । देवरत्नले कालिगण्डकी उपत्यका, हिउँले खाएको नाङ्गो कालो पाखो हुँदै धवलागिरिको शिरसम्म देखाईदिए । त्यसपछि क्रमश धवलागिरि दोस्रोदेखि छैटौँसम्मका चुचुरा, गुर्जा हिमाल र चुरे हिमाल क्षेत्र भएको कुरा विस्तारपूर्वक देखाउदै तिनको नाम पनि भनिदिए । त्यसदेखि दक्षिण तिर म्याग्दी, पर्वत, बाग्लुङ, रुकुमका पहाडहरु लमतन्न परेर सुतेका जस्ता देखिएका थिए । त्यहाँबाट हिमाल, पहाड र तराईको भाग पनि देखिएको थियो । त्यसपछि देवरत्नले आफू नजिक भएको लालीगुराँसको घना वन, गाउँहरु, आफ्नो मित्र अमर र आफूलाई देखाईदिए । त्यसपछि सबैले त्यहा एक मिनटसम्म ताली बजाएको आवाज सुनियो । सबैले ७१ वर्ष उमेरका हिउँचुलीका हजुरबा देवरत्न र अमरलाई धन्यवाद दिए । देवरत्न पनि हिउँचुलीसँग बिदा भए । नातिनीलाई हिमालजस्तै मुस्काएको देख्दा देवरत्नको खुशीको सिमा नै रहेन । त्यो दिन तिनीहरु घोडेपानीमा गएर बास बसे । अर्को दिन नयाँपुल झरेर काठमाडौँ लागे । काठमाण्डौं पुगे पछि हिउँचुलीको फोन आयो । उसले खुशी हुँदै भनी– ‘ हजुरबा जोन, डेभिड, एभरेष्ट अर्को वर्ष उनका आमाबाबु सहित नेपाल आउने भए नी !’ देवरत्नले आफ्नो परिवार र नातिनीलाई मात्र खुशी पारेका थिएनन् । उनले त अरुको टुटेको परिवारलाई जोडिदिएका थिए । त्यतिमात्र कहाँ हो र ? उनी आमाबाबु र नेपाल नै बिर्सेका नेपालीको मनमा परिवार, प्रेम र देशभक्तिको दियो बाल्न सफल भएका थिए । त्यसमा उनी अति सन्तुष्ट थिए । नातिनीलाई ‘राम्रोसँग पढनु । ज्ञानी हुनु । नेपाललाई सम्झनु । हिउँचुलीलाई नबिर्सनु ।’ भन्दै ल्यापटप बन्द गरे । उनले जलजलाको धर्मशालाको रात झलझली सम्झे । सुतेको बेलामा नातिनी हिउँचुलीलाई नेपालका सुन्दर हिमालका चुचुरा, तराईसम्म अँगालो हाल्दै फैलिएको पहाडको लश्कर अनि उपत्यका हुँदै सिङ्गो नेपाल देखाई दिएको सपना देखे । प्रकाशितः जनमत मासिक अंक २, फागुन २०७४
कथा जनमत मासिक, अङ्क २३३, फागुन २०७३ बाट साभार (अमेरिकामा हुर्केकोले नेपाल सम्झेको ‘रे)
विष्णुप्रसाद शर्मा पराजुली
१. हजुरबाको देश विष्णुप्रसाद शर्मा पराजुली म पातालमा हुर्केँ । पाताल भनेको अमेरिका हो । अमेरिकाको अर्कान्सास राज्यको लिटल रक भन्ने शहरमा मेरो बाल्यकाल बित्यो । लिटल रक अर्कान्सासको राजधानी हो । यो अमेरिकाको सानो राज्यको सुन्दर, लोभलाग्दो र शान्त शहर हो । सानो शहरमा जन्मेर त्यहीं हुर्के पनि म मेरो ड्याडसँग अमेरिकाकाको न्यूयोर्क, वासिङटन डि.सी., न्यू जर्सी, क्यालिफोर्निया, लस एन्जलस जस्ता ठूला शहर घुमेँ । मेरो ड्याड नेपालबाट अमेरिका छिरेको पनि २८ वर्ष भएछ । अमेरिका आफू छिरेको पहिलो पुस्ता भएकाले ब्यवस्थापन गर्दागर्दै दुःख भएको र अबको दोस्रो पुस्ता अर्थात म जस्तोलाई सुख हुने कुरा ड्याडले घरी–घरी उक्काउनु हुन्छ । त्यो होला पनि । मलाई दुःख भनेको के हो थाह छैन । सबैकुरा मेशिनबाट भै हाल्छ त्यस बाहेक मलाई केही थाह छैन पनि । मैले यात्रा गर्दा होस, ब्याङ्क जादा होस, खाना पकाउँदा वा लुगा धुदा होस मेशिनको बाहेक अरुको खास काम देखेको छैन । सबैकुरा मेशिन । मैले टेवलमा राखेर काँटा चम्चाले खाना खाने बाहेक अरु काम मेशिनले नै गरेको छु । मलाई दुःख भयो भने अब होला – एक्लै बस्दा । अन्यथा, मेशिनले बटन थिच्दा पैसा र खाने कुरा फुत्त झरे झै मेरो ड्याड र मम्ले सबै कुरा पु¥याई दिनु भो । “मानिसलाई दुःख हुने, दिनभर पसिना झारेर काम गर्दा पनि विहान बेलुका पेटभर खान नपाईने, बालबालिकाले स्कूल पढन जान नपाउने, शरिर ढाक्ने एकसरो लुगा लगाउन पनि नसक्ने, विमार हुदा औषधि पनि गर्न नसक्ने, औषधि नपाएर मर्नु पर्ने, सुत्केरी हुँदा उपचार नपाएर मर्नु पर्ने” जस्ता नेपालको कुरा मैले सुनेको छु पाकाहरुले कुरा गर्दा । र, देखेको छु – मात्र टेलिभिजनको समाचारमा र इन्टरनेटमा । ड्याड नेपाल नगएको नै १८ वर्ष भएछ । अर्थात, मेरो जन्म भए पछि ड्याड नेपाल जानु भएन । मलाई मेरो हजुरबाको देश हेर्ने रहर लागेको पनि ६ वर्ष भै सकेछ । मैले धेरै प्रयास गर्दा पनि ड्याडले मलाई मेरो हजुरबाको देश लैजानु भएन । मलाई निकै नमज्जा लाग्यो । त्यसैले, म एक्लै भए पनि हजुरबाको देश जाने अठोट गरेँ । म एक्लै बस्न थालेको पनि २ वर्ष भै सकेको छ । हजुरबाको देशका बारेमा मैले ड्याडबाट धेरै कुरा थाह पाएको थिएँ–सानोमा । मैले धेरै कुरा सजिलै बुझ्दिनथेँ । दोह¥याएर सोध्दा ड्याड झर्किनु हुन्थ्यो । तर मैले त्यो कुरा फेरि अर्को दिन सोधेर थाह पाईराख्थेँ । मैले सुनेको मेरो हजुरबाको देश साह्रै राम्रो छ । आँखाले नदेखेसम्म र पैतलाले नकुल्चेसम्म मैले आफैले गुनगान गाउन चाहेर पनि सकेको छैन । प्राकृतिक सुन्दरता र विविधतामा त संसारको अरु कुनै पनि देशले मेरो हजुरबाको देशलाई भेट्दैन रे । मैले थाह पाएको के भने संसारको सबैभन्दा अग्लो हिमाल सगरमाथा त्यहीं छ । संसारका सबैभन्दा अग्ला अरु धेरै हिमालहरु पनि त्यहींनै छन् । संसारका सुन्दर ताल र नदीहरु त्यहीं छन् । अन्नपुर्ण र धवलागिरि हिमालको बीचमा काली गण्डकीको संसारको सबैभन्दा गहिरो खोँच त्यहीँ छ । संसारमा शान्ति र अहिंशाको सन्देश फैलाउने माहात्मा गौतम बुद्ध हजुरबाकै देश नेपालको लुम्बिनिमा जन्मेका हुन् । हजारौ वर्ष पुरानो ईतिहास बोकेको पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूनाथ मन्दिर त झन हजुरबाको देशको राजधानीमा नै छन् । वेदव्यासले वेद लेखेको ठाँउ दमौली यहीं छ । वाल्मिकी आश्रम, महाभारत कालिन भग्नावशेष यहीं छन । प्राकृतिक सुन्दरता र सास्कृतिक विविधतामा त झन नेपाललाई जित्ने कोहि छैनन् । हजारौं सुन्दर खोला–नदीहरु, पाखा–पखेरा, ताल–तलैया, चरा– चुरुङ्गी, हिमाल–पहाड–तराई र त्यसवीच छोटो दुरीमा हुने विविधता संसारका अरु कुनै देशमा पाईदैन । मात्र १ लाख ४७ हजार १८१ वर्ग कि.मि. क्षेत्रफल भएको देशमा एक सय चौविस थरी जातजातिको बसोबास छ । त्यतिमात्र कहाँ हो र ति सबै जातिको आआफ्नै अप्राप्य, आदिकालदेखि चल्दै आएको अत्यन्त मौलिक भेषभूषा र संस्कृति छ । तिनीहरु थरिथरिका फूलका थुङ्गाहरु गाँसिएर एउटा सुन्दर माला बने झै एकताको मालामा गाँसिएर बसेका छन् । चाडपर्व, सँस्कृति, रीतिथीति, परम्परा, सभ्यता, चालचलन र ब्यवहार पनि प्रकृतिमा धनि भएजस्तै धनि–मेरो हजुरबाको देश । अहा, कति सुन्दर ! त्यहाँ गएर हजुरबासंगै वहाँको देश नेपालमा गएर हजुरबाको काखमा लुटुपुटु गर्न मन लागेको छ । हजुरबाँंग एक महिनासम्म बसेर सबै कुरा सिकेर हजुरबालाई अमेरिका ल्याएर मेरो कोठामा सुताउनु छ । वहाँलाई शहर घुमाउन र उपचार गर्न मेरो मन आतुर छ । अमेरिकामा बसेका म जस्ता नेपालीका ड्याड र मम्ले भनेको सुनेको न हो । अरुले नेपालको कुरा गर्दा मेरा आँखा अगाडि हजुरबाको देश टुप्लुक्क आईहाल्छ । त्यसैबेला अनुहारमा मायाको भकारी पोखेर हजुरबाले हातको इसाराले बोलाए जस्तो लाग्छ । अनि, म चरा जस्तै भूर्र उढेर कल्पनामा हजुरबाको देश पुग्छु । सूचनाको विकासले सजिलो बनायो म जस्तालाई । अहिले आएर नेपालको सँस्कृति र चाडपर्व, बसोवास र रहनसहन एवं सुन्दर ठाँउहरुको बारेमा जानकारी लिन त अमेरिकामा बसेर पनि सकिन्छ । साउने संव्रmान्तिदेखि एकादसी, पूर्णिमा, औंसी, जनै पूर्णिमा, गाईजात्रा, तीज, दशैं, तिहार, छठ, ल्होसार सबै चाडपर्व अमेरिकामा मनाउन थालेका छन । त्यती मात्र होईन यहाँ त कुनै परिवारमा कुनै नयाँ सदस्यको आगमन हुने भयो भन्ने समाचार थाह भए देखि जन्मदासम्म धेरै पटक जमघट भै हाल्छ । अमेरिकी नेपालीको एउटा राम्रो पक्ष के भने नेपालबाट कसैका ड्याड वा मम वा कोही किन नहोस एउटा परिवारमा आएको छ भने कहिले कस्को घरमा त कहिले कस्को घरमा एउटा सानो भेला भै हाल्छ । त्यस्ता भेलामा कहि न कहि मेरो हजुरबाको देश टुप्लुक्क भित्र पस्छ पाहुनसँगै । त्यसरी आउदा कहिले राजनीतिको रुपमा, कहिले गरिवको रुपमा, कहिले प्राकृतिक महाविपत्तीको रुपमा, कहिले झडापखालाको माहामारीको रुपमा, त कहिले त्यहाँको रमझम संस्कृति र सुन्दर हिमालको रुपमा आएर चर्चित बन्छ–सबै नेपालीका सन्तान एउटा परिवार बीच । जे होस जस्को घरमा जे जसरी जो आए पनि जमघटको बेलामा नेपाली परिकार र पहिरन हुन्छ नै । त्यसबेला मैले हजुरबाको देशको अनुभव अमेरिकामा बसेर गर्थेँ । मलाई खासै मन नपरेपनि गुन्द्रुकको अचार नखाई धित मर्दैन । म मेरो हजुरबाको देशको मायाको जालमा त्यसै–त्यसै परिसकेको थिएँ । हाम्रो अमेरिकामा त ईतिहासको कुरा गर्दा ४–५ सय वर्षभन्दा टाढा जान सकिदैन । तर हजुरबाको देशमा त ३–४ हजार वर्ष पुराना देवल, मठ, मन्दिर त गल्लि गल्लिमा देख्न पाईने ! एकजना हजुरबाको उमेरका मेरा साथीको हजुरवाले भनेको सुनेको थिएँ ‘नेपाल त स्वर्गको एउटा टुव्रmा हो, तर राजनीतिक कारणले नर्क भयो’ । स्वर्ग कसरी फेरि नर्क कसरी भयो ? मेरो मनमा उब्जेका असख्य प्रश्नहरुलाई सन्तुष्ट पार्ने मेरा त्यहाँ कोहि थिएनन् । यस्ता प्रसङगले म नीकै पिरोलिन्छु । अनि फेरि अनायसै मैले हजुरबालाई सम्झन्छु । त्यो अपार भौतिक सुख भित्र म अपुरो, अपुर्ण र दुःखी हुदै गएको दिनानुदिन अनुभव मैले बाहेक कसैले गरेका पनि छैनन् । पारिवारिक जमघटको एउटा कुनाबाट अनायसै म हजुर बा र हजुरबाको देश देख्न लालयित हुन्छु । त्यो देशको कल्पनामा म विचरण गर्न थाल्छु । हुन त मैले धेरै फोटाहरु हेरेँ । यु ट्यूवबाट नेपालका प्रमुख ठाँउ र जनजीवन झल्किने भिडियो हेरेँ । त्यसले म भित्र जागेको भोकलाई मार्ने भन्दा झन जगाउथ्यो । म त्यसै–त्यसै अत्तालिन्थेँ । खलखल पसिना आउथ्यो र म भिज्थेँ । म मेरो हजुरबाको देश हेर्न असाध्यै तिर्खाएको थिएँ । मेरो हजुरको छाँया म ममा पार्न म आतुर थिएँ । हजुरबालाई “ हजुरबा” भनेर बोलाउन उहाँको मायाको तातो स्पर्स लिन आतुर थिएँ । नेपालबाट आएर अमेरिकामा बसोबास गरेका धेरै म जस्ता साथीहरु छन् । तिनका परिवारका सदस्यहरु प्रायः धेरै चाडपर्वमा अमेरिका आएको देखेको छु । कति परिवारका पार्टीमा त म पनि सानैदेखि मिसीएको छु । मेरा साथीहरु म जस्तो सानो हुँदा उनीहरुका हजुबाको बुई चढेको देखेको छु । कति साथीहरु त आफ्ना महङ्गा खेलौनालाई एकातिर फालेर हजुरबाको पिठ्यूमा चढेर हजुरबालाई घोडा बनाएको देखेको छु । त्यसबेला नाति र हजुरबा रमाएको देख्दा म भने धेरै पटक आफै भित्र चिरिएर रोएको छु । “यी हजुरबा किन यति प्यारा भएका होलान ? हजुरबाले किन त्यती विधी माया गरेका हँ ?” “के ड्याडले भन्दा हजुरबाले बढि र गाढा माया गर्छन र ?” “के हजुरबाले गर्ने माया प्याउली फूल भन्दा कमलो र मायालु हुन्छ ? ” मैले कल्पना गर्थेँ र सोध्थेँ आफैलाई । मैले एक दिन रचना आन्टीको पार्टीमा सुनेको थिएँ – “ हजुरबा र हजुरआमाले छोराछोरीलाई भन्दा नातिनातिनीलाई बढि माया गर्छन् । सावाँको भन्दा ब्याजको माया भन्दै खेलाउछन् ।” तर मेरो हजुरबा भने कहिल्यै अमेरिका आउनु भएन । मानिस अमेरिका भने पछि भुतुक्कै मरीमेट्छन , तर उहाँलाई त्यसको कुनै मतलवनै भएन । अचम्म ! मेरो हजुरबा प्रतिको माया, तिर्खा र तृष्णा झाङ्गिदै गयो । अरु साथीभन्दा म राम्रो नै हुँ –नेपाली लेख्न र बोल्नमा । त्यती हुदाहुदै पनि त्यहाँ उठेका धेरै कुरा त राम्रोसंग बुझ्दिनथे । मैले गहिरो अर्थलाग्ने, अर्थलगाएर बुझ्नु पर्ने शब्द बुझ्दिन । सिधा अर्थमा सामान्य रुपमा मात्र बुझ्छु । स्कूलमा मैले नेपाली पढन पाईन त्यसैले नेपालीमा लेख्न धेरै गाह्रो लाग्छ । सामान्य रुपमा मात्र लेख्न सक्छु । त्यसैले, त्यस्ता भेलामा बोलिने धेरै कुरा राम्रो गरी बुझ्न त दोह¥याएर सोध्न पर्छ । नबुझेको कुरा अरुसँग सोधे पछि राम्रोसँग अर्थ लगाएर बुझ्थँे र अर्थ लगाउथेँ–“म त हजुरबाको ब्याज हुन सकिन ।” नत मैले हजुरबालाई घोडा बनाएर उहाँको पिठ्यूमा चढेर ‘हठ, हठ’ भन्दै रमाउननै पाएँ । त्यसरी रमाउने कुरा त परै जावस मैले त हजुरबासँग फोन, भाईवर, फेसटाईम, स्काईपमा पनि कुरा गर्न पाईन र पाएको छैन, अहिलेसम्म । त्यसैले म, मेरो मन, मेरो हृदय त्यसैत्यसै पिसीएको जस्तो लाग्छ । अनायस म रुन्थेँ । चरम भौतिक सुखभित्र म कति दुःखी रहेछु त । बाहिर देखिने सुकिलो मेरो शरिरको छाति भित्र रहेको मेरो मुटु कति दुःखी रहेछ भन्ने कुरा म जवान हुदै जादा अनुभूत गर्न थालेको थिएँ । त्यो मलाई बाहेक कसैलाई थाह थिएन । मेरो ड्याडले मलाई अतिनै सुख र माया दिए पनि मलाई मेरो हजुरबाको नै माया चाहिएको थियो । जति मेरो उमेर बढदै गएको थियो त्यतीनै मैले हजुरबालाई खोजी रहेको थिएँ । चाहे म अमेरिकाका सुन्दर बँगैचामा हुँ, चाहे म न्यूयोर्कको ब्रुकलिन पुलको छेउमा विश्वका पर्यटकहरुसँगै लामबद्ध भएको हुँ वा त्यहींको हिमालयन याक रेष्टुरेन्टमा नेपालका चित्र हेर्दै नेपाली खाना खादै गरेको बेला किन नहोस मेरो अगाडि मेरो हजुरबा टुप्लुक्क आईहाल्नु हुन्थ्यो । हजुरबालाई अमेरिका बोलाउन र हजुरबाको दाहिने हातको चोरी औँला समातेर यहाँका ठूला र फराकिला सडक, सुन्दर र आर्कषक बँगैचा, ठूला ठूला पसल, अग्ला भवनका भरेङ्, रेष्टुरेन्ट र समुद्री किनारमा हिड्न चाहन्थँे । मेरो ठूलो कारको अगाडिको सिटमा हजुरबालाई राखेर अमेरिकाका रमणीय ठाँउमा घुमाउन लैजाने कल्पना बुन्थेँ । अनि त्यसैबेला मौका छोपेर उहाँकै आवाजमा उहाँकै देशका रमाईला कथा सुन्न र सिक्न चाहन्थेँ । तर, त्यो अवसर मैले पाईन । व्यवहारमा उतार्न मिल्ने मेरो ‘सपना’ साच्चिकै सपनामानै रहने हो कि भनेर म झस्किन्थेँ र तर्सिन्थेँ पनि । किन मेरो हजुरबा अरु साथीका हजुरबा जस्तै परिवारलाई भेटन अमेरिका आउनु भएन त ? किन हजुरबा मेरो मम्, ड्याडसँग मात्र होईन मसँग पनि कुरा गर्नु हन्न त ? किन हाम्रो परिवार पूर्ण हुन सकेन त ? के कारणले गर्दा अपुरो भएको त हाम्रो सानो परिवार ? खै त मेरो ड्याड र हजुरबा बीच कुरा भएको ? मैले त सुनेकै छैन । के उनीहरुले एक अर्कालाई माया गर्दैनन् ? बाबु छोरा बीच मायामोह हुदैन र ? त्यसो भा मेरो ड्याडले मलाई फेरि किन औधि माया गरेको त ? मेरो हजुरबाको ह्रदय छैन ? मेरो हजुरबा अरु मानिस जस्तै मानिस होईन र ? त्यसो होईन भने कसरी मरेको त माया ? मेरो ड्याडको अनुहारमा अपुर्णता र मायाको भोकको छनक समुहमा हुँदा नदेखिए तापनि त्यो एकान्तमा प्रष्ट देखिन्थ्यो । दोषी को त ? ड्याड कि हजुरबा ? सामान्य कुरा बुझ्न सक्ने भए देखि मेरो मनमा यी प्रश्न उब्जेका हुन । ती प्रश्नका जरा मेरो उमेरसँगै बढ्दै, अग्लिदै र मोटाउदै गएका छन् । जति म ठूलो हुदै गएको छु त्यतिनै ती प्रश्न मेरो हृदयमा भाला जस्तै तीखा भएर रोपिन थालेका छन । समयको गति र लामो प्रयास पछि मेरो परिवार भित्रको सानो तर महत्वपूर्ण जालो थाह पाएँ जस्ले मेरो परिवार भित्र मायाको गाँठो कसिन पाएको थिएन । बाहिर देखिएको त्यो जालो यस्तो थियो । मेरो हजुरबा सुदुर पश्चिम बैतडी जिल्लाको कटौजपानी गाँउबाट राजधानीमा आएर बस्नु भएको रहेछ । हजुरबाका बुबा पक्का किसान हुनुहुन्थ्यो । नुन तेल लिन जुलाघाटबाट महाकाली नदी तरेर भारतको झुलाघाट जानुहुन्थ्यो । झुलाघाटले गर्दा धेरै सजिलो भएको थियो त्यसक्षेत्रका नेपाली गाउँलेको लागि । पहाडको जीवन आफ्नै प्रकारको हुन्छ । कुन परिवार कुन नाता कुटुम्बसँग सम्बन्ध राखेको छ त्यसले परिवारको स्तर मापन गरिन्छ । सृष्टि–सृजना, जन्म –मृत्यू, रहन –सहन, बिहे–वंश, मान–मनितो, इज्जत–बेईज्जत जस्ता कुराहरुको आफ्नै एउटा प्रणाली थियो र त्यो प्रणाली १५औं पुस्तादेखि चल्दै आएको थियो । गाउँका चलन र ब्यवहारका कुरामा परिवर्तन ल्याउनुपर्छ भन्ने स्वर चिया पसलमा उठे पनि आफ्ना घरका बलेनी भन्दा भित्र पस्न पाउदैनथे र सक्दैनथे पनि । हिङ् नभए पनि हिङ् बाधेको टालो घरमा हुन पथ्र्यो । गणेशदत्त भट्ट मेरा हजुरबाका बुबा धनि नभए पनि वर्षभरलाई खान पुग्ने, झुलाघाट पुगेर नुन, तेल र वर्षभरकोलागि दुईजोर कपडा फेर्न कसैसँग सरसापट गर्न नपर्ने तहका थिए । त्यतिमात्र होईन छोराहरुलाई स्कूल पढाउन पनि खेतिपातीले धान्ने । सामान्य भए पनि वजनदार परिवार । सिधा, ईमानदार र मेहनती बैतडीका भट्ट परिवर । अहिले पनि डोटी, डडेलधुरा, अछाम, बैतडीका धेरै किसान परिवारका पुरुष सदस्य दुई छाकको जोहो गर्न भारतमानै जाने गरेको कुरा मैले पढेको छु । वर्षभर हाड घोटेर कमाई गरेर ल्याएको पैसा आफ्नै नेपालको सिमामा आर्ईपुग्दा लुटिई विखर्ची भएको सत्य कथाको समाचार पढेको छु । समाचर पढदै गर्दा म महाकाली नदी माथी जुलाघाटमा बनेको झोलुङ्गे पुल तरेर झुलाघाट पुग्छु । त्यसैबेला महाकालीको पानीमा एक पटक चोवलिएर मैले हजुरबाको देशलाई ह्रदयमा टपक्क टाँसेको हुन्छु । समाचार पढिसक्दा गहभरी आँशु छचल्एिको पाउछुँ । सुदुर पश्चिमका सबै मानिसले भारततिरनै अध्ययन गर्ने भएकाले हजुरबाले पनि भारतको नैनीतालमा कलेजसम्मको अध्ययन गरे पछि उच्च शिक्षा स्वदेशमानै गर्ने भनेर पछि राजधानी छिर्नु भएको रहेछ । हजुरबा राजधानी छिरेपछि जिजुबाले आफ्ना नातिनातिनीले पनि सानैदेखि भारतमाभन्दा नेपालमानै पढुन भनेर हजुरबासंगै पठाईदिनु भएछ । त्यसबेला हजुरबाको देशमा प्रजातन्त्र थिएन । मेरो हजुरबा प्रजातन्त्रको लागि मरिमेट्ने । “निरङकुशतन्त्रको अन्त्य नभएसम्म प्रजातन्त्र आउदैन र प्रजातन्त्र विना बिकास पनि हुदैन” भनेर अध्ययन, नोकरीसँगै राजनीतिमा पनि सहभागि हुनुभएको रहेछ–गोप्य रुपमा । दिनरात मेहनत गरेर मेरो ड्याडलाई राम्रो र उच्च शिक्षा दिनुभएछ । मेरो ड्याडले भन्नुहुन्थ्यो–“धेरै रात आमाले बेलुकाको खाना नखाई सुत्नु हुन्थ्यो । तर मेरो पढाईकोलागि भने कमी भएको मैले कहिल्यै अनुभव गरिनँ । पढाईको लागि बुवाको छाती धेरै फराकिलो थियो । कुनै स्वार्थ थिएन । बुआको फराकिलोपनलाई मैले पढ्ननै सकिन ।” ‘मानिसले काम गरेर पेटभर खान पनि नपाउन’े भन्ने कुरा सुन्दा मलाई भने अचम्म लाग्थ्यो । पत्याउननै सक्दिनथेँ । मेरो ड्याडलाई उच्च शिक्षा दिएर असल र मेहनेती नागरिक बनाउन हजुरबाले कुनै कस बाँकी राख्नु भएन । त्यसकै निरन्तरताको व्रmममा ड्याड पाताल पुग्नु भएको रहेछ । मेरो ड्याड अमेरिका पुगे पछि वहाँले हजुरबाको भावना, मर्म, परम्परा, सस्कृति र चलनलाई नराम्रोसँग कुल्चनु भएछ । आमाबाबुको छोराछोरी प्रतिको माया र तिनीहरुबाट खोजिने अपेक्षा के हुन्छ मलाई थाह छैन । तर मेरो ड्याडले भने हजुरबाको मर्ममा कुल्चनु भएछ । भावना बुझ्न सक्नु भएनछ । मेरो ड्याडलाई प्रेमले अन्धो बनाएछ । “सबै कुरा मिलीहाल्छ । एक दुई दिन त हो नी आमाबाबु रिसाउने । सबै ठीक भैहाल्छ” भनेर आफ्नी प्रेमीका मेरी मम्लाई प्राप्तगर्न ड्याडले हजुरबाको गुहारलाई सुन्नु भएनछ । हजुरबा धेरै पटक रुनु भयो । एकान्तमा रोएर पिडाको भल बगाईदिनु भयो । समयको भिख माग्दै पर्खन गिडगिडाउनु भयो । मेरो ड्याडको अगाडि लम्पसार परेर जिउदो लाश नबनाउन आग्रह गर्नु भयो । तर मेरो ड्याड र हजुरबाको बाटोनै फरक भएकाले दुबै गोरेटाहरु फरक दिशातिर लम्केछन आफ्नै बेगमा । एउटा बाटो पुर्व र अर्को पश्चिम । ति दुई गोरेटा आँशुले भिज्दै, पीडाले छटपटाउदै आफ्नै गतिमा लम्किरहेछन् । पुर्व र पश्चिम मिल्ने ठाँउ कतै हुन्छ ? मलाई थाह छैन । त्यो सम्झदा मेरा दुवै आँखाबाट महाकाली झरेको पाउछु । मेरो ड्याड र ममको बीच यस्तो गहिरो प्रेम रहेछ कि वहाँहरुलाई आकाश खसेर प्रेम बिथोलिने हो कि, प्रलय भएर सारा पृथ्वी पातालमुनी भासिएर उहाँहरुको मायाको आलिङ्गनको डोरी सदाकोलागि चुढ्ने हो कि भन्ने भयले सताएछ । “प्रेम भनेको जीवन हो । प्रेम भनेको स्वर्ग हो । प्रेमलाई सफल हुन नदिनेहरु सबै अपराधी हुन । प्रेम कुनै पर्खाल भित्र रहन सक्दैन र कुनै फलामको मोटो साङलोले पनि बाध्न सक्दैन । प्रेम स्वतन्त्र र स्वच्छन्द भएर आकाशमा उढने चराजस्तै उढन पाउनु पर्छ ” भन्ने सिद्धान्तलाई ड्याडले शिरोधार्य गर्नु भएछ र एक पटक हजुरबा र आमासम्मलाई पनि खवर नगरीकन दुबोका माला पहिरेर, नेपाली साथीहरुलाई बटुलेर अमेरिकामा नै धुमधामसँग बिहे गर्नु भएछ । आफ्ना दाम्पत्य जीवनका फोटाहरु फेसबुकको स्टाटसमा अपलोड गरेर बधाई थाप्न थाल्दा हजुरबा र हजुरआमाको हृदयमा कति भयानक पहिरो गए होला भनेर अलिकता पनि सोच्नु भएनछ । एक दिन भट्टथरका मेरो ड्याडका फेसबुक मित्रले मेरो हजुरआमालाई फोन गरेर – “अन्टी एकदत्तले त बिहे गरेछ नि ! तँपाईहरु जानु भएन र ?” फोनको त्यो सन्देशले हजुरबा र हजुरआमा १५ दिन बेहोस हुनु भएछ । पहिलेनै मेरो ड्याडको प्रेमको कुरा र जिद्दिपन थाह पाएको हुनाले उहाँहरु दुर्घटनामा भने पर्नु भएनछ । धन्य हो पिडाले उहाँलाई नदी किनारमा फ्याकिएको मुढो बनाए पनि विकराल दुर्घटनाको खवर मैले सुन्न परेन । ड्याडलाई मैले माया गर्छु । तर मैले ड्याडलाई प्रेममा लिन भएर एउटा सुन्दर फूलको सुन्दर मालालाई टुव्रmा–टुव्रmा पारेझैँ आफ्नै परिवारको छातिमा बन्चरो हानेकोमा भने मैले ड्याडलाई माफि दिन सक्दिन । त्यहीँनेर पुग्दा मैले ड्याडलाई घृणा गर्छु –सिधै विरोध गर्न नसके पनि । त्यहाँ युगको फुर्ति वा प्रेमको पागलपन होईन माया, भावना, मुटु, वंशपरम्परा, पारिवारिक अनुशासन र परिवारको चाहना र पारिवारिक मर्म र शालिनताको अर्थ लगाउन सक्नु पथ्र्यो । प्रेम र विवाह त जस्ले पनि गर्छ नि त्यो त कुनै व्रmान्ति होईन । पारिवारिक डोरीलाई नचुडाईकन निरन्तरता दिनु पो कुलको रक्षा गर्नु हो । ईतिहासको सम्मान गर्नु हो । ईतिहासलाई कुल्चेर आधुनिक भईन्छ भन्ने कुरासँग म पटक्कै सहमत छैन । मेरो अन्तरमनले त्यही भन्छ । अमेरिकामा धेरैले मेरो हजुरबालाई मेरो ड्याडलाई विहे गर्न स्वीकार नगरीदिएकाले एक्काईसौं सताब्दीको प्रेमको शत्रु पनि भने । अरुले त्यसो भनेको कानमा ठोक्किदा मेरो मुटुमा तिखो धारिलो छुरीले घोचेजस्तो गरी घोच्थ्यो । मेरो मन रोयो । अरुले त्यसो भन्दा मैले हजुरबालाई झन् माया गर्न मन लाग्थ्यो । मैले थाह पाएको के भने मेरो ड्याडले कोसंग कसरी विहे गर्नु भयो भन्दा पनि आफ्नै आमा र बुवालाई पनि थाहै नदिई बिहे गरेकोले हजुरबा मर्माहत हुनु भएको रहेछ । वहाँभित्र रहेको ‘बाबु’ नराम्रोसँग घाईते भएको रहेछ । जब ‘बुआ’ माथिनै प्रहार हुन्छ अनि के बाँकि रहन्छ र ? यस्ता घटना नभएका होईनन् । मैले धेरै सुने छु । समयको अन्तरालमा परिवार मिलेको पनि देखेको छु । आमाबाबुले छोराछोरीसँग सम्झौता गरेको पनि देखेको छु । तर म कति अभागि मेरो हजुरबाले कहिल्यै सम्झौता गर्नु भएन । वहाँ भित्रको ‘बाबु’ साच्चिकै खरानी भएछ । म भित्र निरन्तर जलिरहेको प्रश्नहरुको ज्वालालाई शान्त पार्न मैले एक दिन मेरो ड्याडलाई प्रश्न गरेँ–“हजुरबाको घाईते हृदयलाई उपचार गर्न सकिदैन र ? अब त उहाँको उमेर पनि त ७५ भैसक्यो ।” गम्भिर भएर ड्याडले भन्नु भयो, “एउटा साह्रै सुन्दर, लोभलाग्दो बँगैचा थियो । त्यहाँ सुन्दर फूल फुलेका थिए । बाटो हिडने बटुवा र गाँउलेले एक पटक पाईला टक्क रोकेर त्यो बँगैचा नहेरी पाईला सार्दैनथे । त्यो बँगैचाको सुन्दरता र महकको सिको गथेँ । राजधानीमा भए पनि त्यहाँ सिङगो बैतडीको इज्जत जुर्मुराएर बसेको थियो । एकाएक ठूलो हिमपात भएर त्यो बँगैचाको सुन्दरता क्षणभरमानै सखाम भयो । बँगैचा कुरुप भयो । फूल र फूलकाबोटहरु यत्रतत्र भएर लथालिङ्ग भए । हो, त्यो सुन्दर बँगैचालाई कुरुप बनाउने म हुँ । तेरो हजुरबाको पिडा भनेको मैले खवरसम्म पनि नगरी तेरी आमालाई ल्याउनु हो । त्यस पछि बाबुको अर्थ नै कहाँ र के रह्यो र भन्नु हो । तेरो हजुबाको मन टुटेको छ । तेरो हजुरबाको हदयमा भएको मायाको गंगाको मुल सुकेको छ । अब त्यसलाई उपचार गर्ने आँट ममा छैन ।” मेरो ड्याडको आँखामा मैले त्यो भन्दा पहिले आँशु कहिल्यै देखेको थिईन । ड्याडले फेरि थप्नु भो “ मैले बुआलाई पढनै सकिन । मेरो बुआको कठोरपन भित्र लुकेको नौनी घिउजस्तो कोमल र हिमालमा टाँसिएको सफा हिउँ जस्तो चोखो मायालाई मैले अँगाल्ननै सकिन । मैले बुआको पिडाबाट छचल्किएर बगेको आँशुमा भएको मर्म र बाबुको अर्थलाई आत्मसात गर्न सकिन । प्रेममा अन्धो हुँदा आमा र बाले निर्माण गरेको मेरो सुन्दर बँगैचारुपी परिवारमा आगो झोसिदिएँ । उहाँमा भएको आत्मसम्मानमा आगो लगाईदिएँ ।” बाबुको अहम, बाबुको मर्म, बाबुको शान, बाबुको मान, बाबुको इज्जत, बाबुको बाबुत्वमा प्रहार भए पछि कुन बाबुको मायाको घैटो नफुट्लार ! कुन बाबुको छाति न नचिरिएला र ? त्यसबेला, कुन बाबुको हृदयबाट बग्ने मायाको नदीमा बाँध नठडिएला र ! मानिस केही होईन तर ‘बाबु’ माथि प्रहार हुनु हुदैन । ‘बाबु’ भन्ने जुन तत्व छ त्यो तत्वमा कुल्चनु हुदैन । यो ‘बाबु’ मात्र होईन चाहे अरु कोहीनै किन नहोस त्यसको स्वत्वको महत्व नबुझ्दा दुर्घटना हुन्छ । मेरो हजुरबाजस्तो फराकिलो मन, हदय र मायाको भकारी भएको को होला र ! तर मायाको त्यो भकारीमा मेरो ड्याडको ब्यवहारले लात हान्यो । हजुरबाको मायाको नदी मेरो ड्याडको प्रेमको पागलपनले गर्दा थुनिन बाध्य भयो । मेरो हजुरबाको हदय शिशाझै फुट्यो चकनाचुर भयो । त्यो हदयले ‘बाबु’ खोज्यो र ‘बाबु’ भित्र ‘बाबु’ नरहदा आर्यघाटमा घिउ हाले पछि दनदन जलेको लाशझँै मेरो हजुरबाको मायाको पोको भएको हृदय पनि लजेर खरानी भयो । “ तपाईले मेरो हजुरबाको साथ लिएर हिडनु पर्ने । दुई वर्ष मात्र पर्खिदेभन्दा तपाईले किन मान्नु भएनत ? त्यो सुन्दर बँगैचालाई किन बचाउनु भएन त ? ” एकदिन मेरो ड्याडको चह¥याईरहेको घाउमा मैले खुर्सानीको धुलो छरिदिएँ । दुबै हातका हत्केलाले आफ्नो अनुहारलाई निधारदेखि घाँटीसम्म सोहर्नु भयो । हत्केलाका ४ औलाले आफ्नो तीग्राका रौँ झरप्प उखेल्नु भो । आँखाका डिलमा भिजेका परेलालाई दुबै चोरी औलाले पुछदै “मैले मेरो बुआको विश्वास माथि लात हानेँ” भन्नु भो र आफ्नो कोठामा छिर्नु भयो । मेरो छातीमा जलेको पीडाको ज्वाला शान्त होलाभन्दा झन असह्य भएर दन्केको थियो । मेरो ड्याडले भने जस्तो त्यो फुलबारी फेरि ढकमक्क होला वा नहोला तर म हजुरबालाई नभेटिकन शान्त रहन सकिन । म मा पनि त वैंश पलाई सकेको छ । म १८ वर्षको खाईलाग्दो अमेरिकामा हुर्केको ठिटो हुँ । मैले पनि त मेरो ड्याडले जस्तै गर्लफ्रेन्ड बनाई सकेको छु । मेरो गर्लफ्रेन्ड त झन अमेरिकी आमा र नेपालीबाबुको प्यारी ‘डटर’ हो, जो नेपाली बुझ्दिन । मैले त झन फडको मारी सकेको छु । म मेरो ड्याडभन्दा त झन् प्रगतिशिल भएर देखाउनु न छ । के मेरो ड्याडले मेरो रोजाईलाई रोक्न सक्नु हुन्छ त ? मेरो गर्लफ्रन्ड हुदाहुदै पनि कहिले काहि भने म झल्यास्स हुन्छु र बैतडी सम्झन्छु । मैले बाटो विराउदै जाने हो भने म नेपाली हुँ भन्ने मेरो चिनारी रहन्छ र ? म ड्याडभन्दा प्रगतिशिल भए भने मेरो छोरा र छोरी हामी दुवैभन्दा प्रगतिशिल नहोलन र ? अनि त्यसपछि खै त मेरो चिनारी ? मेरा सन्तान कस्का सन्तान हुन्छन अनि । मेरो सन्तानको देश कुन हुन्छ ? मेरा सन्तानको जाति के हुन्छ ? उनीहरु नेपाली त हुदैनन् । बाफरे ! यस्ता कुराले मलाई पिरोल्न थालेको छ । मैले मेरो जीवन साथी रोज्नुभन्दा पहिले एक पटक मात्र हजुरबालाई देख्न मन लाग्यो । हजुरबाको देशको माटोलाई चुम्बन गरेर मेरो निधारमा टिका लगाउन मन लाग्यो । हजुरबाको देशलाई ‘मेरो देश हो’ भनेर गर्लम्म अँगालोमा हालेर माया गर्न मन लाग्यो । त्यहाँका मन लोभ्याउने सेता हिमाल, सेता झरना, गाढा नीला नदिसँग बाँधिएर तिनको चालमा नाच्न मन लाग्यो । एकै पटक मात्र किन नहोस मलाई मेरो हजुरबाको देशको माटो र हजुरबाको खुट्टामा निहुरेर आदरका साथ ढोग गर्न मन लाग्यो । म हरेक रात सपनामा हजुरबाको देश पुग्न थालेँ । हजुरबालाई सपनामा नदेखेको प्रहरनै हुदैन्थ्यो । ड्याडसँग सबै ठेगाना लिएर म मेरो हजुरबाको देश जाने निर्णय गरेँ । नभेम्बर महिनाको १५ तारिखमा म हजुरबाको देशको राजधानी काठमाण्डौं पुगेँ । मौसम सफा थियो । देव्रेतिर हरिया पहाडभन्दा माथि देखिएका हिमालका चुचुराहरु विश्वसुन्दरीले पहिरेको सेतो हिराको ताज जस्तै देखिएका थिए । दहिनेतिर देखिएका समथर फाँट र घना जङ्गल र नागबेली भएर बगेका नदीहरुले मलाई जहाजमानै लट्ठ पारेका थिए । जहाजबाट झरेँ । झर्नासाथ मैले हजुरबाको देशको माटोलाई ढोग गरेँ । अरुको पछि लागेँ र विमानस्थलबाट बाहिर निस्कनुभन्दा पहिले बस चढनु पर्ने रहेछ, बस चढेँ । माटोलाई ढोग्दा धेरै यात्रुले अचम्म मानेर मलाई हेरेका थिए । विमानस्थलबाट एउटा कार लिएर म दहचोक तिर लागेँ । घरैघरले थिचिएको राजधानी अरुले भनेजस्तो नराम्रो र फोहोर लागेन । ब्यवस्थित भने थिएन । विमानस्थलदेखि गुर्जुधारासम्मको ८ लेनको सडक, अग्ला भवन, विदेशी कारको लश्कर देख्दा मलाई लसएन्जलसको अर्को खण्ड हो कि जस्तो लाग्यो । म खुशिले आल्हादित भएको थिएँ । के म साच्चि हजुरबाको देश पुगेको हुँ त ? मैले धेरै पटक आफूलाई चिमोटीरहन्थे । यो मेरो लागि ठूलो कुरा थियो । दहचोक पुगेँ । त्यहाँका साना पसलमा ‘गणेशदत्त भट्टको घर कुन होला’ भनेर सोधेँ । पसलेको सङ्केत अनुसार म मेरो हजुरबा बस्ने घरमा पुगेँ । घर पुग्दा ढोका बन्द थियो । म अग्लो भीरबाट एक्कासी खसे जस्तो भएँ । पसिनाले निथ्रुक्क भएँ । सम्हालिए पछि आँगनको एक मुठी माटो मुठीभरी लिएर निधारमा टिको लगाएँ । वरपरका छिमेकी मलाई देखेर झुम्मिएका थिए । मैले हजुरबाको बारेमा सोधेँ । हजुरबा “एकसातादेखि गंगालाल हृदयरोग केन्द्रमा उपचार गर्दै हुनुहुन्छ” भन्ने खबर पाए पछि मैले त्यही कार लिएर अस्पतालतिर लागेँ । मेरा आँखाले हजुरबाको देश देखे पनि मेरो मन भने हजुरबालाई देख्न आतुर थियो । गंगालाल अस्पतालको नयाँ भवनको आईसियु कक्ष बाहिर हजुरबाको नाम र कोठा लेखिएको थियो । त्यसैको आधारमा भित्र छिरेँ । मैले फोटोमा देखेको हुनाले हजुरबालाई ठम्याउन कठीन भएन । अस्पतालको बेडमा उहाँका दुबै पैतालालाई जोडेर ढोग गरेँ । हजुरबाका दुबै आँखाबाट आँशुको भल बग्यो । शायद, ती आँशुले मलाई चिनेर माया गरेका थिए । शायद, ती आँशुले अन्तिम प्रहरमा मेरो ड्याडलाई खोजिरहेका थिए । शायद, तिी आँशुले २५ वर्षदेखि सँगालेका मनका अरु धेरैकुरा गरिरहेका थिए । म त्यो रात, रातभर हजुरबाको हात समातेर बसेँ । हजुरबा मसंग बोल्न खोज्नु हुन्थ्यो तर उहाँको भित्रदेखि आएको पीडाको ‘हिक्क’ ‘हिक्क’ ले बोल्न सक्नु भएन । त्यस्तो बेला उहाँको दुबै आँखाबाट बलिन्धारा आँशु बग्थे । मैले आँशुमा एउटा पुस्तक पढने फगत प्रयास गरेँ । उहाँ बोल्नै सक्नु भएन । उहाँको आँखामा मायाको सागर उर्लेको थियो । भोलीपल्ट बिहान हजुरबाको देशको १० बजे मेरो अधिल्लो दिनदेखि समातेको हातलाई क्षणभर पनि नछोडी हजुरबाले प्राण त्याग गर्नु भयो । लाशलाई पशुपतिनाथको आर्यघाटमा लगियो । त्यहाँ सामान्य विधि सकेपछि हजुरबाको ईच्छा अनुसार दुबै आँखा तिलगंगा अस्पताललाई दान दिइयो र मृत शरिर शिक्षण अस्पताल महाराजगन्जलाई जिम्मा लगाईयो । अस्पतालको एम्बुलेन्समा चीर नीद्राका लम्पसार परेको हजुरबाको शरिर र अनुहारलाई अन्तिम पटक हेरेँ । हजुरबासँग सोध्ने मेरा सबै प्रश्नहरुलाई सेता हिमालले दिएको रुमालमा सुरक्षित राखेर उहाँको आँशुमा रुमलिएको माया लिएर म अमेरिका फर्केँ । हजुरबालाई देखे पछि मलाई नेपालको माया झन् बढ्यो । मैले मेरो गर्लफ्रेन्डलाई सबै बेलिविस्तार लगाएँ । मेरो भावना उनले राम्रोसँग बुझिन । एक वर्ष वितेपछि म भासुको भीर हुदै बैतडी पुगेँ । महाकालीको एक अँजुली पानी पिएँ । जुलाघाटको जिर्ण झोलुङ्गे पुलसँगै महाकालीको फोटो खिचेँ । महाकालीको पानी पिएर उकाली ओराली गरेकी कन्यासँग त्रिपुरा सुन्दरी मन्दिरको आँगनमा विवाह गरेँ । मलाई थाह छैन मेरो हजुरबाको आत्मलाई मेरे निर्णयले कति सुख देला । तर, आज म भने असाध्यै खुशी छु किनभने हजुरबाको माया र प्रभावले मेरा छोराछोरी नेपाली भएका छन् । तिनले नेपाल र महाकालीलाई बिर्सने छैनन् । अहिले पनि मेरो कारको अगाडिको सिटमा मैले कसैलाई बस्न दिएको छैन । लसएन्जलसमा भएको मेरो घरको एउटा कोठाको विछौनामा मैले कसैलाई पनि सुत्न दिएको छैन । त्यो कोठा मेरो हजुरबाको हो । कारको सिटमा मैले हजुरबाको यादलाई राख्ने गरेको छु । मसँगै वहाँ घुम्नु हुन्छ र मैले उहाँलाई शहर चिनाउछु । शहर घुमेर आएपछि त्यही विछौनामा उहाँ आराम गरिरहनुहुन्छ । अनि म, हजुरबाको देशबाट ल्याएको हजुरबाले आँगनमा कुल्चेको एक मुठी माटोलाई सिरानीमा राखेर मेरो हजुरबाको हात समातेर आराम गर्ने गरेको छु । हरेक रात सपनामा आउने हजुरबा र सेता हिमालसँग रमाउदै हजुरबाको देश पनि घुम्ने गरेको छु –निरन्तर ! प्रकाशितः जनमत मासिक, अङ्क २३३, फागुन २०७३बाट साभार
प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित समकालिन साहित्य, त्रैमासिक पत्रिकाको २०७६ भदौ–कात्तिक, अंक ८९ मा प्रकाशित । ५.पानी घट्ट
विष्णुप्रसाद शर्मा पराजुली
पर्वतको बिहादीदेखि लुरिङकोट जाने बाटोमा पूर्णगाम भन्ने सानो गाउँ छ । चारैतिरको दृश्य छर्लङ्ग देखिने भएकाले प्राकृतिक सुन्दरता भने भकारीभरि टम्म रहेको छ–पूर्णगाममा । समुद्र सतहदेखि एक हजार सात सय मिटरको उचाईमा रहेको यो गाउँबाट दक्षिणमा पाल्पादेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनी र उत्तरमा धवलागिरिदेखि अन्नपूर्ण हिमालयसम्मको लामो पर्वतमाला देखिन्छ । जडिबुटी, घाँसपात, कोदो, मकै, फापर र आलुमा उत्तिकै धनी छ । तर, खानेपानीको सहज रूपमा उपलब्ध नहुनु त्यहाँका महिलाको कष्ट बनेको छ । आजभन्दा चालीस वर्ष अघिसम्म बिहादीमा परिवार नियोजन भन्ने कुरा थाहै थिएन । सहरबजारतिर बसेको कसैले परिवार नियोजन गरी गाउँमा आएको थाहा पाए भने उसले छोएको पानी पिउँदैनथे, गाउँलेले । भगवानको कृपा भन्दै महिलाले गर्भधारण गर्न सक्ने उमेरसम्म छोराछोरी जन्माउँथे । कती बच्चालाई आमाले घाँसको भारीसँगै जन्माउँथे भने कति आमाहरू घाँस काट्दाकाट्दै बच्चा जन्माउन नसकेर मर्थे । केही सन्तान भगवान्को प्यारो भएर जान्थे भने केही आमाबाबुको काखमा हुर्केर बुढेसकालको लौरो बन्थे । झब्रीखोलाको पानी घट्टझैँ गाउँले जीवन कष्टसाथ घुमिरहन्थ्यो–निरन्तर । पानी सुक्दा घट्ट रोकिएझैँ मृत्युनै चम्परानको दिन हुन्थ्यो । भगवान्ले त्यस्तै न्याय गरेका थिए, बुढाबुढीले त्यही भन्थे । धेरै छोरा पाउने आमाबाबुलाई भाग्यमानी भन्थे । गाउँमा कहलिएका केहि धनी मानिसले दुई–तीनवटासम्म श्रीमती बिहे गरेर भित्र्याउँथे । पराइघर गएर ढिँकी–जाँतो, दैलो–पोतो, घाँस–दाउरा, र लाला–बाला जन्माउँदै जीवन बिताउने हुँदा छोरीलाई स्कुल किन पठाउने भन्ने मान्यताले जितेको थियो । त्यसो भन्ने बढी फेरि आमा नै हुन्थे । ‘आमा भएर आमाले पाएको दुःख छोरीले खेप्न नपरोस्’ भन्ने चेत आमाको मनमा उब्जेको थिएन । आज पनि छैन धेरै आमामा । थियो त मात्र ढिँकी–जाँतो, वनपात र सन्तान जन्माउने खुबी । सन्तान धेरै भएकै कारणले बिहादी छर्छरेका रत्नाकर पराजुली आफ्नो अंश दाजुलाई बेचेर पूर्णगाम लेकमा बसाइँ सरे । लेकबाट बेँसी झर्नुपर्नेमा उनी बेँसीबाट लेकतिर चढेका थिए, चाकल माडेर दुध, दही, महि र घिउ मज्जाले खाने लोभले । अल्छी नगरी काम गर्ने, गोरस मज्जाले खाने भन्ने सिद्धान्तका थिए रत्नाकर । लेकमा बारी र घाँसको दुःख नहुने भएकैले उनी लेकतिर लागेका थिए । पूर्णगाम लुरिङकोटको मगर गाउँभन्दा केहि तल पर्छ । रत्नाकरका बाबुले एउटी ब्राह्मणकन्यालाई बिहे नगरी ल्याएकाले उनी ल्याइते भइन् । ल्याइतेबाट जन्मेका सन्तान एक खुड्किलो तर झर्ने चलन थियो । तिनै ल्याइतेबाट जन्मेका रत्नाकर जैसी भए । रत्नाकरका बाबुले बिहे गरेर ल्याएकी आमातिरका दाजुभाइ भने उपाध्याय नै भए । आमा प्रमुख भएर खेतिपाती, पशुपालन, गाउँ र परिवार सुरक्षाको खटनपटन गर्ने हजारौँ वर्ष पुरानो व्यवस्थामा सबै समान हुन्थे । पुरुषको हैकम, जातपात र भेदभाव बढ्यो, महिलालाई दासी र यौनतृष्णा मेटाउने साधनको रूपमा हेरिन थाल्यो । त्यसपछि स्वर्गजस्तो त्यो समाज नर्कमा परिणत भयो । पुरुषकै बोलवाला भएको समयमा पुराण, उपनिषद्, श्रुति, स्मृतिहरूको विकास भयो र तिनमा दबाउने संहिताबाहेक महिलाको भूमिकाबारे उच्चारण गर्न नै खोजिएन । पत्नीले पतिलाई देवताको रूपमा पूज्नुपर्ने संहिता बनाइयो । नेपालको पहाड तथा तराईमा रहेका क्षेत्री र बाहुन जातिमा नारीलाई दमन गर्ने परिपाटी अन्य जातिमा भन्दा आजका दिनसम्म पनि अचाक्ली नै बढी छ । तीस–बत्तीस सालतिरको कुरा हो रत्नाकर लेकतिर लाग्दा चकौदे, ठौवा, वाहाकीतिरका एक–दुई परिवार ‘मधेस गए ‘रे’ भन्ने सुनिन्थ्यो । कोही गएको एक सातामा नै ‘सर्पले डसेर म¥यो ‘रे’ भन्ने खबर पनि आइहाल्थ्यो । त्यसैले त्यसबेला मधेस झर्नेलाई ‘काल खोज्न गएको भन्थे’ गाउँलेले । त्यसबेला मधेस झरेर उतै बसोबास गर्ने परिवारका सन्तान अहिले अर्बपति बनेका छन् । रत्नाकरमा त्यस्तो कुनै चाहना थिएन । रत्नाकरले पुर्खाले आर्जेको क्षेत्रमा ‘सन्तानले कमसेकम आटो–पिठो र दुध–दही–मही–घ्यू छ्यालब्याल हुने गरी खान पाऊन्’ भन्ने सोचाइ राखेर समथर फाँट, भरिभराउ गाउँ, दाजुभाइ, इष्टमित्र सबैलाई छोडेर पूर्णगाम वनको नजिक धेरै बारी र खरबारी किनेर साँच्चिकै किसान भएर बस्न थाले । उनको गोठमा चारवटा लैना भैँसी र ठूल्ठूला जुरा भएका हल गोरु र एक खोर बाख्रा उनी बाँचुञ्जेल कहिल्यै टुटेनन् । खोरमा नै घुसेर चितुवाले पाठापाठी खाइदिँदा पनि उनले बाख्रा पाल्न छोडेनन् । उनका चार भाइ छोरा र दुई छोरी भए । माहिलो राधाकृष्णले बाहेक अरूले एस.एल.सी. पास गरेनन् । जेठो छोरा मद्रासमा धेरै वर्ष चौकीदारीको काम गरेर गैँडाकोटमा एक कठ्ठा जमिन लिएर त्यसमै छाप्रो बनाएर बसे । पूर्णगामको अंश माहिलो भाइलाई नै राजिनामा गरिदिए । कुल पूजामा बाहेक अरू समय गाउँ फर्केनन् । पढेलेखेको राधाकृष्णले प्राथमिक विद्यालयमा स्थायी जागिर पाए । त्यही जागिरले गर्दा बाबुले आर्जेको पूर्णगामको बारी र खरबारीको रेखदेख गर्नुपर्ने अवस्था सिर्जना भयो । समयले कहाँदेखि कस्तो फड्को मार्छ भन्ने कुरा लेकमा बसेर बादलको भुल्को हेरेर रमाउँदै घाँस काट्ने र पानी घट्टझैँ अठार–बीस घण्टा वनपाखामा फहरिने किसानलाई के थाहा ? पहाड कुरेका शिक्षित शिक्षक उनी नै अरू अनपढ दाइ र भाइभन्दा कमजोर भए आर्थिक अवस्थामा । पूर्णगामको उनको पचास रोपनी बारी बिक्री गर्दा गैँडाकोटमा उनले एक कठ्ठा जमिन किन्न नसक्ने भए । सुजाताको बिहे पन्ध्र वर्षको उमेरमा राधाकृष्णसँग भयो । उनको माइतीनजिकै स्कुल भएर पनि छोरी भएकै कारण उनले पढ्न पाइनन् । सुजाताको भाइ भने स्कुल जान्थ्यो । उसले पढेको सुनेर क, ख चिनेकी थिइन् । बाख्रा हेर्न वन जाँदा, घाँसपात गर्दा, पानी लिन पधेँरा जाँदा एकदेखि सयसम्म गन्न जान्ने भएकी थिइन् । उनी दुलही भएर पूर्णगाममा रत्नाकरको माहिली बुहारी भएर घर भित्र छिर्दा त्यो घर साँच्चिकै रमाइलो थियो । गोठभरि मोटाघाटा भैँसी, एक हल गोरु र एक खोर बाख्रा थिए । ठूलो परिवार, घर रमाइलो थियो । परिवारका सानाठूला सबै सदस्यले केहि–न–केहि काम गरेकै हुन्थे । हात बाँधेर बस्ने फुर्सद कसैलाई थिएन । सुजाता घर भित्रिएको एक महिनामा नै त्यो घरको उठबस सिकिन् । माईतमा आमाले सिकाएका कुरालाई सम्झँदै व्यवहारमा उतार्न थालिन् । सुजाता भित्रिएको बेला रत्नाकरको जेठो छोरा र ठूली छोरीको बिहे भइसकेको थियो भने दुई छोरा र कान्छी छोरीको बिहे भएको थिएन । रत्नाकर बलिया थिए । सुजाताकी सासूले भातभान्सा गरे पनि खोकिरहन्थिन् । खोकी लागे पनि ससुराले नदेख्ने गरी कटुसको पातमा सुकेको काँचोपात बेरेर बिँडी तान्थिन् । त्यो बानी थाहा पाए पनि रत्नाकरले केहि भन्दैनथे । समयले भ्याएसम्म र शरीरले थेगेसम्म काम गर्न थालिन् सुजाताले । बिहान चार बजे ससुरा उठ्थे । त्योभन्दा पहिले लोटामा पानी लिएर सुजाता दिसा गर्न असुराको झाङतिर जान्थिन् । फर्केर हातमुख धोएपछि ससुराको लागि दिसा गर्न जाँदा लिएर जाने गोलो आकारको सानो बौना (लोटा)मा र फर्केपछि हातमुख धुन अम्खोरामा पानी राखिदिन्थिन् । मुख धोए पछि रत्नाकर भकारो सोहर्न गोठतिर जान्थे । सुजाताले अँगेनोमा आगो फुकेर अँगेनो अनि दैलो लिप्थिन् । आँगनवरपर कुचो लगाएपछि डोकोमा गाउरी (गाग्रो) हालेर पानी लिन जान्थिन् जुन एक घण्टा टाढा थियो । रत्नाकरले घरका सबै जना गाग्रो लिएर नुहाउन पधेँरा जान र फर्कँदा पानी लिएर आउने व्यबस्था मिलाएका थिए । भैँसी र गोरुको लागि पोखरीमा जम्मा भएको पानी खान दिइन्थ्यो । बर्खाको बेला भने बलेनीको पानी सँगेल्थे । ‘भैँसी दुहुने बेला भएन ?’ अँगेनामा धुँवामा रुमल्लिँदै बुढीले सोध्थिन् । रत्नाकर भने गोबर सोहोरेपछि भैँसीलाई कुँडो पकाउन, घाँस हालिदिन, दुहुने हरियोपरियो डाले घाँस खोज्न र भैँसी दुहुन व्यस्त हुन्थे । भैँसी दुहेपछि मात्र नुहाउँथे । उता सासूले आगो फुकेर दुध तताउँथिन । कहिले बिहानको धन्दा सकेपछि चिनी र चियापत्ती भएको बेला दुध चिया नभए एक–एक मुठी तातो दुध सबैले खान्थे । ‘दुलही पानी लिएर आएकी हौ ? लौ, अलिकता मकै र एक मुठी तातो दुध खाएर घाँस काट्न जाऊ । आज ठूलो पाटोमा कोदो रोप्ने हो । त्यतैको घाँस काटेर ल्याउनु, कोदो रोप्न सजिलो हुन्छ । बेलुका फर्कँदा सबैले त्यतैबाट घाँस ल्याउनु । पहाडको जीवन ! के गछ्र्यौ ? हामी आईमाईको जीवन त तल झब्री खोलाको पानी घट्टजस्तै हो बाबै । सास रहेसम्म घोटिईरहनु पर्छ’ सासूले भन्थिन् । अँगेनावरपर बसेर सबैले एक–एक मुठी तातो दुध खाएर आ–आफ्ना काममा हिँड्थे । बिहान ढिलो भएको दिन सुजाताले अघिल्लो दिन बेलुकीको हाँडीमा भुटेका मकै पटुकाभित्र राखेर घाँस काट्न जान्थिन् । घाँस काट्दै, चरीसँगै गीत गुन्गुनाउँदै, मकै टोक्दै गर्दा डोको भरिएको चालै पाइँदैन्थ्यो । घाँस काट्न भने टाढा जान पर्दैनथ्यो । घाँस काटेर फर्केपछि खाना खानेबेला हुन्थ्यो । मौसमअनुसार मकैको आटो, कोदो वा फापरको ढिँडो, दाल, तरकारी, दही, मोही र दुध मुख्य खाना हुन्थ्यो । खाना खाएर भाँडा माझेपछि वर्षाको समयमा कोदो रोप्ने मुख्य काम हुन्थ्यो । मेलाबाट फर्केपछि एक खेप पानी लिएर फर्कँदा बेलुका झमक्क साँझ परेको हुन्थ्यो । त्यसपछि कुटन–पिसनको काम हुन्थ्यो । बेलुकामा कि त कोदोको गिलो रोटी कि भुटेको मकै पाक्थ्यो । तरकारी त्यति पाक्दैनथ्यो बेलुकामा । रोटी पकाउँदा खुर्सानी, नुन र घिउ हालेर भुटेको छोप हुन्थ्यो भने मोही दुध हुन्थ्यो नै । ससुरा, सासू, लोग्ने, देवर र नन्दले खाएपछि बल्ल सुजाताको खाने पालो आउँथ्यो । खाएर भाँडा माझ्दा जहिलेसुकै रातको दस–एघार बज्थ्यो । सासूको खुट्टा मिचिदिएपछि ‘दुलही जा सुत् थाकिस् होला । बिहान चाँडै उठ्नुपर्छ ।’ भनेपछि मात्र सुत्ने कोठीतिर जान्थिन् सुजाता । बिहे गरेर लोग्नेको घर गएपछि दैनिक सत्र–अठार घण्टा खट्थिन सुजाता । गाउँमा त्यति काम सबै बुहारीले गर्नैपथ्र्यो । त्यति गर्दा पनि सासूले जस नदिने, लोग्नेले कुट्ने–कोपर्ने र भोकभोकै सुत्नुपर्ने पनि हुन्थ्यो कति बुहारीलाई । सत्र–अठार घण्टा घाँस–दाउरा, मेलापात, जुठो–चौको गरेर फहरिन परे तापनि सुजाताले भने त्यस्तो भोग्नुपरेको थिएन । लोग्ने सुतेको कोठीमा पुगेपछि बल्ल सुजाताले विश्रामको लामो सास तान्थिन् । बिहान चार बजेदेखि भिरेका बुलुस र फरिया कति पटक पसिना र पानीले भिज्दै सुक्दै गरेका हुन्थे । ती कपडा फुकाल्थिन् । ओभानो पेटीकोट र ब्लाउज फेरेर लोग्नेका खुट्टा मिच्न थाल्थिन् । शरीर थकाइले लोत परेको हुन्थ्यो । कहिलेकाहीँ त लोग्नेको खुट्टा मिच्दामिच्दै उनी भुइँमा निदाउँथिन् । कहिलेकाहीँ भने राधाकृष्णको चाहनाअनुरूप उनको यौनतृष्णा पूरा गर्न साथ दिन्थिन् । थकित सुजातामा पनि यौनचाहना नहुने त कुरा भएन । तापनि लोग्नेको यौनचाहनामा सुजाता बाँधिन्थिन् । यौनेच्छामा राधाकृष्ण बढी नै थिए । सुजातालाई थकाइ लागेको होला, उनका पनि केहि चाहना हँुदा हुन्, उनको मनमा के–के कुरा तरङ्गित भएका होलान् भन्ने ख्याल राधाकृष्णले गर्दैनथे । उनको राम्रो पक्ष के भने स्कुल गएर फर्केपछि घरको धन्दामा सहयोग गर्थे । बस् ! भोलिपल्ट कुखुराको भालेको डाकोसँगै काम सुरु हुन्थ्यो । हिउँदको पुस र माघमा बाहेक अन्य समय कामको चटारो नै हुन्थ्यो । हिउँदमा खर काट्ने, दाउरा काट्ने र गुन्द्री बुन्ने काम हुन्थ्यो । रत्नाकरको घरमा खस्रोमिठो जे छ खान दुःख थिएन । लेकमा भए पनि पाहुना परिरहन्थे । खानको लागि लोभ गर्दैनथे । अरूका घरमा बुहारीले दुध–दही खान चाडबाड कुर्नुपथ्र्यो तर सुजाताको घरमा त्यस्तो थिएन । घरमा जे पाकेको छ त्यो सबैले खान पाउँथे । बुढा रत्नाकरले कहिलेकाहीँ हकार्दै भन्थे –‘काम गर्ने बुहारीलाई खान नमार है । जीउसित भएको बेला झन् दुध–घिउ नटुटाइदे ।’ त्यस्तै रीतले समय गुज्रँदै गयो । रत्नाकरले बाँकी दुई छोरा र एक छोरीको पनि बिहे गरिदिए । परिवार ठूलो हँुदै गएको थियो । रत्नाकर टाठै हुँदै साइँलो र कान्छो छुट्टिएर गुलरिया ससुरालीको नजिक गए । घर राम्रैसँग चलिरहेको थियो । सासूको दम बढेर दिनमा दुई–तीन पटक मूर्छा पर्थिन् । त्यसपछि भने सुजाताले भित्र पकाउने काम पनि गर्नुप¥यो । सुजाताले अठार–अठार महिनाको फरकमा तीन छोरा र दुई छोरी जन्माइन् । एउटा छोरो आठ महिना पालेपछि निमोनिया भएर बित्यो । छ महिनाको गर्भवती भएको बेला एकदिन सुजाता खाङ्ग्रे डोकाको घाँसको भारीसँगै चिप्लेर चार बल्ड््याङ खाइन् । कम्मर नराम्रोसँग बजारियो । त्यसबेला पन्ध्र दिनसम्म गर्भाशयबाट रगत बग्न रोकिएन । गर्भ खेर गयो तर रगत थामिएन । डोकोमा बोकाएर पाल्पाको मिसन अस्पताल लगेर उपचार गरेपछि उनी बाँचेकी हुन् । छैटौँ बच्चा पेटमा हँुदा लडेर रक्तस्राव भएपछि सुजाता कमजोर बन्न थालिन् । त्यो दिनदेखि थाहै नपाई उनलाई रोगले समातेछ । माघको महिना । लेकको गाउँ बिहान, बेलुका र राति निकै चिसो बढेको थियो । कालीपारका डाँडा, गोल्र्याङको जुरा तिर तीन दिनपहिले हिउँ परेपछि जाडो निकै बढेको थियो । रत्नाकरकी श्रीमतीको खोकी पनि बढ्दै गएर दममा परिणत भयो उनले भात पकाउन छोडेको दुई वर्ष भइसकेको थियो । त्यहाँ वरपर औषधीमुलो गर्ने कुनै ठाउँ थिएन । रत्नाकरले रानीपानीमा पुगेर औषधी ल्याएर खुवाउँथे । अलि राम्रो उपचार गर्न पाल्पा नै पुग्नुपथ्र्यो । भात पकाउँदा दिनमा कम्तिमा चार घण्टा धुवाँमा बस्दा गाउँका प्रायः सबै महिलालाई दम थियो । त्यसलाई सामान्य रूपमा नै लिइन्थ्यो । त्यसैले उनले पाल्पा लैजान त्यति जोड दिएनन् । चिसोको बेला दम झन् बढ्यो । सासू बिस्तारामा परेको दुई महिनाजति भएको थियो । सुजातालाई कामको भ्याइनभ्याई थियो । छोराछोरीको स्कुल, लोग्नेको स्कुल, घाँस, मेलापात जता हे¥यो उतै काम अलपत्र थियो । सुजाता आफू पनि हिजोजस्ती थिइनन् । पहिले जस्तो काम फाँड्न सक्दिनथिन् । हुन त छोराछोरीले हात नदिएका होइनन् । पहाडको जीवन नै त्यस्तै हो । के हिउँद, के बर्खा दिनभर नघोटिएसम्म जीवन चल्दैनथ्यो । लेकमा परेको हिउँ पग्लेको थिएन । हिउँ परेपछि चिसोले हातखुट्टा कक्क्रक्क हुन्थे । चिसोमा साठी वर्ष नाघेकालाई हिउँद काटिन्छ वा काटिँदैन भन्ने त्रास हुन्थ्यो । बिहादीतिरभन्दा पूर्णगाम लेकमा पर्ने भएकाले साह्रै चिसो थियो । तल घर छर्छरेमा दाइको घरमा न्यानो हुने भएकाले केहि दिन त्यतै लगेर राख्ने योजना रत्नाकरले गरेका थिए । छर्छरे लैजाने भनेको अघिल्लो रात उनलाई लहरे खोकी लाग्यो र कोखा दुख्न थाले, सास फेर्दा करङ सपक्क तलमाथि गरेको देखिन थाल्यो । आगोको रापमा हत्केला तताउँदै सुजाताले सासूको छाती सेक्दै थिइन् । त्यसै बेला उनले सुजातालाई बोलाइन् र भनिन्– ‘दुलही सास फेर्न गाह्रो भएको छ । म बाँच्दिन क्यार ? घाँसको भारीसँग लडेपछि तँलाई पनि रोगले भेटेको छ । छोराछोरीको छिटो बिहे गरिदिएस् । राधाकृष्ण नराम्रो त छैन तर तँलाई तल–बितल प¥यो भने त्यसले अर्को बिहे नगरी बस्न सक्दैन । मेरा नातिनातिनीले दुःख पाउलान्, ख्याल गरेस् । तँ जस्तो बुहारी पाउनु मेरो कमाइ हो । हिमाल हाँसेझै तँ हाँसेको हेर्न मन थियो । तँलाई हाँस्न लेखेको रहेनछ । दुःखी कर्म रहेछ, तेरो । म त, तेरो काखमा मर्न पाए मलाई अरू केहि चाहिँदैन । ’ सुजाता त्यो रात धेरै बेर रोइन् । आफू कमजोर भएकी थिइन् । सासूको त्यो अवस्था । केटाकेटी सान्सानै छन् । लोग्नेले फाँडेर कामको ताराबारा लाउन सक्दैनन् । ससुरा पनि बुढा हँुदैछन् । यस्तै कुरा सम्झँदा उनलाई पूर्णगामको पहाडले गर्लम्मै थिचेजस्तो लाग्यो । झब्री खोलाको पानी सुकेर एकाएक घट्ट ठप्प रोकिएझैँ लाग्यो । तर, आफैँलाई सम्हाल्दै काममा लागिन् । डोको–नाम्लो, खेतबारी गर्दा नै उनले आपूmलाई हलुङ्गो भएको ठान्थिन् र जीवनको घट्ट घुमाउथिन्–एक तमासले । सुजाता र रत्नाकर बिरामीसँगै बसेका थिए । राति दुई बजेतिर बीस मिनट बुढी निदाइन् । त्यसपछि फेरि लहरेखोकी लाग्यो । त्यो खोकीले आखिर उनलाई लगेर नै छोड्यो । सुजाता डाँको छोडेर रुन थालिन् । त्यही बेला राधाकृष्ण र केटाकेटी पनि उठे । सुजाताको जेठो छोरालाई छर्छरे पठाएर हजुरबालाई खबर गर्न पठाए । रुँदै सुजाताले तुलसीको मठवरपर लिपपोत गरेर चोखो पारिन् । बाबु–छोराले बुढीको लासलाई तुलसीको मठ नजिक लगेर राखे । एक दुई गर्दै छिमेकीहरू आए । गाउँबाट दाजुभाइ आएपछि मात्र लासलाई कालीगण्डकीको तीर पूर्तिघाट नजिकै तेलचाप्रे घाटमा लगेर दाहसंस्कार गरे । गाउँमा बुढो भइसक्दा पनि अर्को बिहे गर्ने बाटो राख्न लोग्ने मानिस श्रीमतीको मलाम जाँदैनन्, कपाल खौरँदैनन् र क्रिया पनि गर्दैनन् । अनौठो भयो । रत्नाकर घाट गए । उनले पनि कपाल खौरे । केहि मानिसले ‘किन त्यसो गरेको ?’ भन्दा उनले डटेर जवाफ दिए– ‘मृत्युपछि छोराले क्रिया बस्नु आमाबाबुको सम्मान र आदरको खातिर हो । पितृलाई स्वर्गको बास गराउने भन्ने कुरा परम्परा हो । तर, मृत्युपछि को कहाँ पुगे भन्ने कस्ले देख्छ र ? जीवन यहीँ नै हो । यहीँ जीवनमा राम्रो कुरा जे सकिन्छ त्यो गर्ने हो । पैतालीस वर्ष पहिले पाँच वर्षकी हुँदा त्यो हाम्रो घर भित्रिएकी हो । मेरो सारा संसारको सृष्टि र सृजना गर्ने त्यहीँ हो । त्यो मर्दा म मलाम नजानु, कपाल नखौरनु र कमसेकम छोराछोरी क्रिया बस्दा ठाडै क्रिया नगर्नु भनेको मैले मेरी श्रीमतीलाई अन्याय गर्नु हो ? घरको मुली मान्छे भनेको घरकी लक्ष्मी मेरी श्रीमती नै हुन्, त्यसैले मैले उनलाई हेला गर्नुहुँदैन । धर्मशास्त्रमा के लेखेको छ कुन्नि म त लेकाली किसान, मलाई थाहा छैन । मेरो मन पूर्णगामबाट देखिने सेतो हिमालजस्तै सफा छ । मेरो मनले जे देख्यो म त त्यहीँ गर्छु ।’ श्रीमती मर्दा घाट गएको, कपाल खौरेको र ठाडो क्रिया गरेको कुरा आगो सल्केझैँ चारैतिर फैलियो । उनले नारी सम्मान देखाएकामा गाउँका युवा तथा वृद्ध खुसी थिएनन् । तर, गाउँका महिलाबीच भने खुबै चर्चा भयो । ‘रत्नाकर बाजेले बज्यैलाई पहिलेदेखि नै माया गर्ने हुन् नि दिदी ।’ ‘दम देखिएपछि उनलाई मेलापात पर्म गर्न पनि पठाएनन् । घरको काममा मात्र लगाए ।’ ‘बुहारी सुजाता आएपछि त झन् उनलाई सुख थियो । सारै लक्षिनकी रहिछ बुहारी त !’ ‘कालको सामु कस्को के लाग्दो रहेछ र ?’ तेर दिनसम्म यस्ता कुरा मेलापात, पधेँर, खरबारी जताततै सुनियो । जेठो छोरा र बुहारी सातौँ दिनमा, साइँलो र कान्छोका परिवार तेस्रो दिनमा काजक्रियामा सामेल भए । माहिलो राधाकृष्ण घरै बस्ने भएकाले एकवर्षसम्म सेतो लुगा लगाएर क्रिया गर्ने भयो । अरू भाइले कपडा फुकाए तर बिटुलो नखाने निर्णय गरे । काम सकिएपछि सबै आआफ्नो ठाउँतिर लागे । त्यसपछि फेरि दिनहुँ आफूले गर्ने काम गर्नैप¥यो । बारीमा मल बोक्ने बेला भयो । बर्खालाई दाउरा काट्ने, खर काटेर थन्क्याउने, गेडागुडी केलाउने, मस्यौरा पार्ने, गुन्द्री बुन्ने । यस्तैमा हिउँद सकियो । बुढीको मुत्युपछि रत्नाकरले एउटा भैँसी बेचेर तीनवटा मात्र राखे । दुईटा मात्र राख्न खोजेका थिए सुजाताले ‘बारीमा मल के हाल्ने ? मल नहाले मकैको घोँगा लाग्दैन । अनि के खाने ? केटाकेटी छन् । त्यति पाल्न सकिन्छ’ भनिन् । बुढी पचास वर्षकी हुँदा बितिन् । बुढी बितेपछि रत्नाकरको हियो खसेछ । लोग्नेलाई कुनबेला के चाहिन्छ ? लोग्नेले मनमा के सोचेको होला ? कुनबेला के खाने कुरा बनाउनुपर्छ भन्ने सबै अड्कल गरेर उनले खानपान र मेलापातको कुरा मिलाउँथिन् । हुन त बुहारी सुजाताले सासूको काम गराइबाट धेरै सिकेकी थिइन् । तर, सुजाता त बुहारी नै हुन् नि ! साठी पुगेका रत्नाकरमा जे जति जाँगर, उत्साह, उमङ्ग, बल थियो नजानिँदो तवरले घट्दै गयो । रत्नाकरकी श्रीमती बितेको वर्ष दुईटा लैना र एक बकेर्नो भैँसी, एक हल गोरु र बाख्रामात्र थिए । बाख्रा चराउने काम पहिलेदेखि नै रत्नाकरले गर्थे । आलु र फापरसँग धान साटेर ल्याउँदा नै उनीहरूलाई चामल पुग्थ्यो । गाउँघरका दाजुभाइ र इष्टमित्रले नै धान बोकेर आउँथे र आलु, फापर लिएर जान्थे । लेकको आलु भनेपछि खोसाखोस नै हुन्थ्यो । त्यसबाहेक बचेको घिउ बेचेर आएको आम्दानी र राधाकृष्णको तलबले छोराछोरीको पढाइ, लत्ताकपडा, नुन र मट्टितेललाई पुग्थ्यो । रत्नाकर पहिले–पहिले नुन र तेल लिन बटौलीसम्म धाएका हुन् । घरको राखन–धरन सबै सुजाताले गर्न थालिन् । दुई छोरीले पाँच कक्षा पढेपछि स्कुल जान नै मानेनन् । दुवै छोराले मुस्किलले दससम्म पास गरे । घरधन्दा, टाढाको स्कुल, जागिर पाउन कठिन, वृद्ध भएका ससुरा, लोग्नेको स्कुल, बिग्रँदै गएको आफ्नो स्वास्थ्यको कारणले सुजाताले चाहेर पनि छोराहरूलाई त्योभन्दा बढि पढाउन सकिनन् । ठूलो छोरा जेठाजुसँग भारततिर लाग्यो । दुवै छोरीको बिहे गरिदिइन् । ऋतुझैँ परिवर्तन हुन्छ पहाडको जीवन । ससुराको पालामा जस्तै भयो सुजातालाई । पहिले देवर, जेठाजु, नन्दहरू हुँदा घर भरिभराउ थियो । जति काम गरे पनि थकाइ लाग्दैनथ्यो । नन्दहरू आफ्ना घर गए । जेठाजु र देवर पनि आफ्नै गर्न थाले । त्यसबेला सुनसान भएको घरमा राधाकृष्ण र सुजाताका सन्तानले आँगन भरिएको थियो । सुजाताका केटाकेटी हुर्के । नन्दहरूझैँ छोरीहरूलाई अन्माएर पठाइन् सुजाताले । जेठो छोरो मुग्लान पसेपछि सुजाताको पूर्णगामको घर फेरि चकमन्न भयो । साउने झरी झमझम परेको थियो । लेकमा जुका त्यत्तिकै लाग्थे । बादलले कतै केहि देखिदैनथ्यो । सेता बादलका भुल्का एकपछि अर्को गर्दै माथि आकाशमा पुगेर बाक्लो बादलमा विलय हुन्थे । बादल नलागेको बेला वरपर जताजतै गाढा हरियाली देखिन्थ्यो । वारिपारिका पखेराबाट झरेका सेता झरना हरिया पाखामा चाँदीको मालाजस्तै चम्कन्थे र झब्री खोलामा मिसिन्थे । ‘भैँसी नफुकाए पनि हुन्छ तर बाख्रालाई एक घण्टामात्र पनि नचराउने हो भने खोरमा कराएर बस्नै दिँदैनन् । म दुई–तीन घण्टामा फर्कन्छु । पानी रहेपछि नजिकैको खरबारीमा गएर एक भारी घाँस काटेस् । कान्छालाई पनि लैजानू । घाँस बोकेर ल्याइदिन्छ । तिमीले नबोक्नु । न’भा स्कुलबाट आएपछि राधकृष्णले ल्याउला ।’ भन्दै सधैँझैँ रत्नाकरले बाख्रा लिएर वनतिर गए । सिमसिमे पानी परिरहेकै थियो । यस्सो उघ्रेको बेला एक भारी घाँस काटे । भारी बाँधे । बाख्रालाई फर्काउन वनभित्र छिरे । बाख्रा जम्मा गरे र घरतिर फर्काए । चर्दैचर्दै बाख्रा गोठतिर लागे । उनले पनि घाँसको भारी बोकेर बाख्राको पछि–पछि लागे । सधैँ हिँडिरहेको बाटो कुनै दिन अप्रत्यासित रूपमा काल बन्छ भन्ने के थाहा हुन्छ र ? एक ठाउँमा चारवटा खुड्किला भएको सानो गौडो थियो । रत्नाकर हातको लौरोको आड लिएर झर्दै थिए । त्यहीँबेला पाइला राखेको एउटा खुड्किलो नै भत्क्यो । रत्नाकर खोल्सोमा गएर गन्ड््याम्म खँदारिए । घाँसको भारी एकातिर आफू अर्कोतिर भए । निकै बेर चल्न चल्बलाउन पनि सकेनन् । बिस्तारै दुई हातको सहाराले घुँडा टेके । कान्लो समातेर उभिन कोसिस गरे । दाहिने खुट्टाले टेक्न खोज्दा कम्मर असह्य भएर दुख्यो । लौरोको सहाराले भित्तोमा घस्रिँदै आँगनमा पुगेर बुहारीलाई बोलाए –‘सुजाता । बाख्रा खोरमा हुल त । मैले सकिनँ ।’ ससुराको पीडा मिसिएको स्वर सुनेर सुजाता अत्तालिँदै बाहिर निस्किन् । कान्छो नाति र राधाकृष्ण पनि बाहिर आए । रत्नाकर आँगनको डिलमुनि गड्यौलाझँै गुटमुटिएका थिए । तीनै जनाले उनलाई उचालेर पिँढीमा ल्याए । सुजाताले अत्तालिँदै सोधिन्–‘कहाँ के भो हजुरलाई ? कहाँ छेउ लड्नुभयो ? सबै ठाउँमा लेउ लागेको छ । झरीले गलेको छ । भारी गह्रौँ थियो होला । हे, भगवान् ! अब के हुने हो ? ’ ‘टेकेको टेकोनै भत्केर भारीसँगै लडेँ । टेक्दा दाहिने कम्मर असाध्यै दुख्छ । भाँचियो कि क्या हो ? अब दुःख पाइस् बुहारी । ए ! माइला जा बाबु त्यो घाँसको भारी लिएर आ । अब घाँस काट्न सक्छु सक्दिनँ ? ’ बुहारीलाई जवाफ दिँदै उनले राधाकृष्णलाई आफूले बोकेर ल्याउन खोजेको भारी लिएर आउन भने । कान्छो नातिले बाख्रा खोरमा हुल्यो र आग्लो लगाइदियो । भकारो सफा ग¥यो । गोठको माथ्लो बलेनीनजिक ओभानोमा भएको घाँस भैँसी र गोरुलाई हालिदियो । राधाकृणले भँैसी दुहेर ल्याए । एक गिलास तातो दुध ससुरालाई दिइन् । अनदीको एकमाना धान जाँतोमा पिसिन् । सुपोले छिन्केर मसिनो भुससँगैको पिठो तयार पारिन् । पाँच मुठी घिउ तताइन् । त्यसैमा त्यो पिठो खुँडेर पुवा बनाइन् र ससुरालाई खान दिइन् । गाउँघरको औषधी त्यस्तै हो । ‘समान्य भाँचिएको पनि घिउमा पकाएको अनदिको पुवाले ठीक हुन्छ’ भन्ने विश्वास रहेको छ । घिउले तुरुन्तै ताकत दिने गर्छ । छोरा–बुहारी–नाति भएर रत्नाकरलाई त्यो रात त्यति अनदीको पुवा खुवाए । पानी झमझम परेकै थियो । उत्तरतिरको सिरेटो झन चिसो भयो । त्यो रात सुजाताबाहेक राधाकष्ृण र कान्छो नाति दुवैजना बुढाको छेउमा नै सुते । राधाकृष्ण र सुजाताले उपचारका लागि पाल्पा मिसन अस्पतालमा डोकोमा बोकाएर लैजाने निर्णय गरे । तर, रत्नाकरले एक साता घरेलु उपचार गर्ने सोच बनाए । लुरिङमा एकजना रोसनबहादुर मगर जडिबुटीको ओखती गर्न जान्ने थिए । रत्नाकरले उनले बनाएको औषधी खान थाले । अनदीको पुवा पहिलो दिन खाएझैँ बनाएर खाए । त्यसपछि भने सिधा उभिएर आँगन वरपर घुम्न र र दिसा–पिसाब गर्न जानसक्ने भए । बिस्तारै छोराबुहारीले काटेर थुपारेको घाँस हालिदिन सक्ने भए । पाल्पा जाने कुरा त्यत्तिकै भयो । त्यसैबेला रत्नाकरले अर्को भैँसी पनि बेचिदिए । रोसन भाइ ‘चार–पाँचवटा गोठमा बाँध्छु । त्यसबाहेक अरू बाख्रा पनि बेचिदेऊ । बाख्रा हेर्न अब म वन जान सक्दिनँ । बुहारीलाई चौरास हुने भयो । ऊ पनि बिरामी छे । छोरा स्कुल जानैप¥यो । यो नातिलाई मजस्तो गोठालो बनाउन त भएन नि । यसलाई पनि दाइसँगै पठाइदिनुपर्ला । ’ छर्छरे ठूल्दाइको ठूलो नातिसँग कान्छो नाति साउदी अरेबिया जाने भयो । उसैले कागजपत्र ल्याएको हुनाले हवाइजहाजको टिकट र कुस्मा गएर पासपोर्ट बनाउँदा लाग्ने खर्चबाहेक धेरै खर्च लागेन । सासूको देहावसानपछि सुजाता पनि कमजोर हुँदै गएकी थिइन् । ससुरा लडेपछि त उनमा साहस आउन छोडेको थियो । मनमा विरहले घरजम गर्न थालेको थियो । लोग्नेलेभन्दा ससुराले बरु उनको दुःख बुझेका थिए । सासूले सबै कुरा ससुरा र छोरालाई सँगै राखेर मर्नुभन्दा पहिले भनेकी थिइन– ‘बुहारीलाई ख्याल गर्नू । यो हाम्रो घरको घट्ट भई । यसलाई केहि भयो भने हाम्रो घरको जहाज चुर्लुम्म डुब्छ । भैँसी थोरै पाल्नू । खान पुग्ने मात्र खेती गरे हुन्छ । नातिहरू यहाँ पक्कै बस्दैनन् । राधाकृष्ण स्कुलले बाँधियो । ठीकै छ । पेन्सन हुन्छ । यी दुईले सकुञ्जेल गरेर खान्छन् । पछि छोराले अलिअलि हेरे पनि यिनलाई बुढेसकालमा दुःख हँुदैन । अब गोठालोको जमाना गयो । बिहादीबाट बसाइँ सर्नेहरू दिनदिनै बढ्दैछन् । हामी त झन् लेकाली । नातिलाई यहाँ राख्नुहुँदैन ।’ रत्नाकरले त्यसै गरे । भकारो सानो बनाए । नजिकैको बारीमा मात्र कोदो मकै रोप्थे । आलु पनि चाहिने जति लगाउन थाले । बुढेसकालको जीवन हो । घाँसको भारीसँग लडेपछि उठ्न त उठे । तर, खन–जोत गर्न, भारी बोक्न सकेनन् । घाँससम्म काटिदिन्थे । सुजाता र राधाकृष्णले ल्याएर भकारामा फाल्थे । लडेको एक वर्षपछि फेरि दुख्न थाल्यो । घरेलु उपचारमा नै उनी भर परे । अब ताकत दिने घिउ पचाउन पनि नसक्ने भएका थिए । वैँशमा जस्तो बुढेसकालमा घिउ कहाँ पच्छ र ? उनी कमजोर हुँदै गए । बल सकिए पछि ढाडको दुखाई पनि बल्झिँदै गयो । एक महिना जति आँगनभन्दा टाढा जान नसक्ने भएर थलिए । नयाँ वर्षको दिन थियो । उनी सत्तरी वर्ष पुगेको दिन; त्यो दिन बिहान कसैलाई बाहिर नजान भने । छिमेकी रोसन मगरलाई बोलाउन नातिलाई पठाए । उनको अनुहार अघिल्लो दिनभन्दा उज्यालो थियो । बिहान एक गिलास मनतातो दुध पिए । रोसनले नाडी छामे । नाडीको चाल असामान्य भएको रोसनको अनुहारबाट थाहा भएको थियो । सुजातालाई हेर्दै भने – ‘भैँसी एउटामात्र राखेस् । अब गोरु पनि बेच्नू । गाउँबाट ल्याएर जोत्नू । एक पटक पाल्पा गएस् । हामीलाई तैँले हेरिस् । तँलाई कस्ले हेर्ला खै ?’ छोरातिर फर्कँदै भने– ‘माइला सुजातालाई हेरेस् बाबु ! यो सिधा छ । दुःखमात्र गरी । हाम्रो घर यसले भरिलो पारी । बारीका पाटा बेचेर भए पनि यसको राम्रो उपचार गरेस् । यसलाई दुःख दिइस् भने दुःख पाउनेछस् । मर्नुभन्दा पहिले आमाले पनि भनेकी हो यसलाई कडा बिमार लागेको छ ।’ छिमेकीको हात समातेर भने –‘रोसन भाइ यसो आउँदै माइलालाई सम्झाए है’ । उनलाई सास फेर्न गाह्रो भइसकेको थियो । त्यस्तैमा बुहारीसँग पानी मागे । सुजाताले तीन थुर्मी पानी खुवाइन् । रत्नाकरले दुवै खुट्टा तनक्क तक्काए । हात पसारे । बुहारीलाई हेरेको हे¥यै प्राण त्याग गरे । सुजाताले उनकी सासूलेझैँ घर सम्हालेकी हुन् । त्यो कुरा सासू, ससुरा र गाउँले सबैले राम्रोसँग बुझेका थिए । गाउँको स्कुलको मास्टर भए पनि किन–किन माहिलोप्रति त्यति भर पर्दैनथे । जागिरे भएकाले बाबुले पनि कहिल्यै चर्को बोलेनन् छोरालाई । ससुराको देहान्तपछि आकाशले थिचे जत्तिकै कठिन भयो – सुजातालाई । राधाकृष्णले उनको बिमारबारे त्यति चासो दिँदैनथे जति उनका आमाबाबुले बुहारीलाई गर्दथे । मर्ने बेलामा ससुराले भनेझैँ घरसल्लाह गरेर एक भैँसी, एक गोरु र घरमा बाँध्ने गरी पाँच बाख्रा मात्र गोठमा राखिन् । समयको परिवर्तनसँगै गाउँमा पनि केहि नयाँ कुरा देख्न थालिएको थियो । पूर्तिघाट बजारमा एउटा फोनलाइन जोडिएको थियो । कहिले पन्ध्र दिनमा त कहिले एक महिनामा सुजाता पूर्तिघाट झर्थिन् र दुवै छोरा, जेठाजु, देवर, आफ्नी बहिनीलाई फोन गरेर मन खुसी पार्थिन् । उनलाई पूर्तिघाटबाट पूर्णगाम पुग्न पूरै उकालो चढ्नुपथ्र्यो त्यसैले फर्कँदा भने निकै कठिन हुन्थ्यो । छर्छरेमा पसेर आफन्तसँग भेटघाट गरेर फर्कँदा कहिलेकाहीँ खुरखुरेको डाँडोमा पुग्दा साँझ पथ्र्यो । साँझ परेपछि चितुवाको डर हुन्थ्यो त्यो ठाउँमा । पछि भने राधाकृष्ण नै जान थाले फोन गर्न । दुवै छोराले नुन–तेल खर्च पठाउन थालेका थिए । सुजाताको उपचारको लागि छुट्टै रकम पनि पठाइदिन्थे । ससुरा बितेको दोस्रो वर्षमा उनलाई फेरि रक्तस्राव भयो । त्यसबेला एक सातासम्म उनी उठ्न नै सकिनन् । प्राणपखेरु उड्ने हो कि जस्तो लाग्न थाल्यो उनलाई । उनका गाला छेडिए । पेट सेउजस्तै सेपटो भयो । आँखा भित्र पसेका थिए । वल्तिर–पर्तिरका छिमेकीले गाली गरेपछि मात्र राधाकृष्णले सुजातालाई डोकोमा बोकाएर पाल्पा लगे । पाल्पाबाट फर्केपछि तीन महिनासम्म अलि राम्रो भयो । घरधन्दा गर्न थालिन् । तर त्यसपछि एक दिन पानी लिएर फर्कँदा रगत बगेर बाटोमा नै ढलिन् । पाल्पा ठीक भएन भन्ने लागेर राधाकृष्णले उनलाई पोखरा गण्डकी अस्पतालमा भर्ना गरे । पोखरा पुगेपछि थाहा भयो सुजातालाई पाठेघरमा क्यान्सर भएको रहेछ । अस्पतालले रगत रोकिने मात्र औषधि दिएर सकेसम्म छिटो चितवन क्यान्सर अस्पताल लैजान सुझाव दियो । आमालाई लिएर कान्छी छोरी पूर्णगाम पुगिन् । घरमा सल्लाह भयो । छोरी र ज्वाइँको करबलले सुजातालाई चितवन लैजाने टुङ्गो लाग्यो । राधाकृष्ण गम्भीर देखिन्थे तर सुजाताको उपचारमा त्यति ध्यान दिँदैनथे । आमाबाबुले सुजातालाई त्यो घरको सारा जिम्मेवारी लिएकोमा गर्व गर्थे भने राधाकृष्ण सुजाताको यौवनसँग खेल्ने कुरामा बढी केन्द्रित देखिन्थे । जब उनी गम्भीर बिमार हुन थालिन् त्यसबेलादेखि राधाकृष्णले उनलाई कोदो रोप्दा उखेलेर फालेको ओइलाएको बोकेझारलाई जस्तै व्यवहार गर्दथे । त्यो उनले बुझेर मनको थैलीमा राखेकी थिइन् । सुजाता त्यति चिन्तित थिइनन् । जेठो छोराले उसको ठूलो बाबुको नजिक गँैडाकोटमा एक कठ्ठा जमिन किनेको थियो । बुहारी, नातिनातिनी भाडाको कोठा लिएर त्यतै बसेका थिए । कान्छो साउदी अरेबियामा भए पनि महिनामा तीस हजार रुपैयाँ कमाउँथ्यो । अस्पतालमा आफूसँगै बसेकी छोरीलाई भन्थिन्– ‘तेरो भाइको बिहे गर्नेबाहेक मेरो अरू कुनै धोको छैन । भाइलाई फोन गरेर छ महिना बस्ने गरेर आइज भन् । मेरो ठेगान छैन । तेरो बाबुको कुनै भर छैन । मैले यो घरभित्र छिरेको उनान्चालीस वर्ष भएछ । जेठो छोरो नै सैतीस वर्षको भयो । तेरी हजुरआमाझैँ म पनि तेरो बाबुको काखमा मर्न पाए हुन्थ्यो ।’ सुजाताले छोरीलाई भनिन् । ‘आमा पीर नगर्नु भाइलाई बोलाउँछु । हामी सबै छौँ । चितवन गएर उपचार गरेपछि ठीक भइहाल्छ नि । न आत्तिनु । मन बलियो बनाउनु ।’ छोरीले आमालाई सम्झाउँदै भनिन् । फोन गरेको एक सातामा नै कान्छो छोरो साउदीबाट आइपुग्यो । भोलिपल्ट आमालाई लिएर चितवन क्यान्सर अस्पताल पुग्यो । तीन महिनासम्म चितवनमा बसेर उपचार भएपछि केहि सुधार भयो । कान्छाले आमालाई घर लिएर आयो र आमासँगै बस्यो । चितवनबाट फर्केको एक महिनापछि उनी फेरि बिमार भइन् । बिमारले आत्तिएकी सुजाताले छोरालाई भनिन्–‘कान्छा तँसँग पैसा कति छ ? मलाई एक पटक काठमाडौँमा जान मन छ । भक्तपुर क्यान्सर अस्पतालमा राम्रो उपचार हुन्छ ‘रे । मलाई त्यहाँ पु¥याइदे न !’ त्यसपटक कान्छो छोरा, जेठी छोरी र जेठा ज्वाइँ भएर सुजातालाई भक्तपुर पु¥याए । छोरा र छोरीले उपचारमा कुनै कमी हुन दिएनन् । भक्तपुर अस्पतालमा भर्ना गरे पनि रगत, दिसा–पिसाब जाँच गरेको रिपोर्ट लिएर उनीहरू निजी अस्पतालका नाम चलेको डाक्टरकोमा पुगेर सल्लाह लिए । त्यसबेला जे उपचार गरिएको थियो त्यो नै सही भएको सुझाव डाक्टरले दिएपछि उनीहरूको मन ढुक्क भएको थियो । ‘कान्छा मलाई घर लगिदे । म घरमा नै जान्छु । पूर्णगामको चिसो हावापानीमा ठीक हुन्छ । मलाई सास फेर्न गाह्रो भयो । यहाँको धुलो र धुवाँको गन्धले म झन् बिरामी भएँ ।’ सुजातालाई क्यान्सरले गाल्दै लगेकोले उनलाई पीडाले गर्दा छटपटी हुन थालेको थियो । एक महिना जति भक्तपुरमा राखेर सुजातालाई पूर्णगामको घर लगियो । छोरा–छोरी–ज्वाइँले उनलाई छोडेनन् । भक्तपुरबाट फर्कँदा जेठी बुहारी पनि सँगै घर गईन् । सुजाता शिथिल भइसकेकी थिइन् । दुई वर्षपहिले सुजातालाई देख्ने मानिसले उनलाई चिन्न मुस्किल भइसकेको थियो । दस वर्षपहिले घाँसको भारीसँग लडेर बल्झेको रोग पाठघरको क्यान्सरमा परिणत भएको थियो र त्यो अन्तिम अवस्थामा पुगेको रिपोर्टले जनाएको थियो । एक सातादेखि राधाकृष्ण पनि स्कुल गएका थिएनन् । घरको पिँढीमा टाँसिएकी उनकी सँगिनीको टिठलाग्दो हेराइले उसको छाती चरर चिरेजस्तै अनुभव गर्थे राधाकृष्ण कहिलेकाहीँ । एक साँझ कान्छो मात्रै आमासँग बसेको थियो । त्यसबेला उनले छोरालाई भनिन्– ‘कान्छा, तेरा बाको भर छैन । तेरा हजुरबाले गाउँलेले विरोध गर्दागर्दै पनि हजुरआमाको आदर र सम्मानको लागि मलाम जानुभयो, कपाल खौरेर क्रिया बस्नुभयो । तर तेरा बा क्रिया बस्ने त के कुरा म मरेपछि मलाम पनि जाने छैनन् । उनले तेर दिन नहँुदै अर्को बिहेको कुरा झिक्नेछन् । त्यसैले तैँले पनि आफ्नो दाइ, ठूलाबा, साइँला र कान्छाबासँग राम्रो व्यवहार गर्नू । उनीहरूले भनेको मान्नू । राम्रो परिवार हेरेर बिहे गरेस् । ’ सुजाता आँगनको वरपर घुमफिर गर्थिन् । जेठको महिना थियो । तराईतिर गर्मीले मानिस बेहोस भएका थिए । पूर्णगाममा भने अमृतजस्तै चिसो हावा सर्सर्ती बग्दथ्यो । बेलुका त पातलो सिरक ओढ्न नै पथ्र्यो । परिवारले उनलाई छोडेका थिएनन् । छर्छरेबाट पनि उनलाई भेट्न सासू, ससुरा, जेठाजु, जेठानी, देवर, देउरानी, भतिजाहरू सबै आउँथे । सुजाताले ‘सासू, ससुराको हेरविचार गरेको, त्यो ठूलो घर सम्हालेको, लेकमा बसेर हाड घोटेर त्यसबाट अमृत निकालेर पराजुली बुढाको घर सम्हालेको’ कुरा सबैले गर्थे । त्यसैले पनि त्यति टाढादेखि उनलाई भेट्न आफन्त आएका थिए । एक बिहान अचानक तीन महिनापहिले जस्तै उनको पेट फुल्यो । ‘पेट फुलेमा खान दिनु’ भनेर भक्तपुर अस्पतालले सिफारीस गरेको औषधी छोरी कान्छीले खान दिइन् । भारतबाट जेठो छोरा र जेठाजु पनि आइसकेका थिए । औषधीले काम गरेन । जेठो छोराले अस्पताल लैजान कर ग¥यो तर, सुजाताले मानिनन् । भक्तपुरका डाक्टरले उनलाई भनेका थिए –‘पेट फुलेमा, बढी दुखेमा यो औषधी खानू । औषधि त्यही हो । एक महिनालाई पुग्ने गरी लैजानू । आवश्यक परे थप्नू । अस्पताल आउनुपर्दैन ।’ पन्ध्र दिन नहुँदै बल्झेकाले उनलाई थाहा भइसकेको थियो कि उनी अब बाँच्दिनन् । राधाकृष्ण मलिन अनुहार लिएर एकछेउमा सुजातालाई हेर्दै बसेका थिए । छोरा–छोरी–ज्वाइँ–बुहारी वरपर बसेका थिए । सुजाताले गहभरि आँशु पारेर जेठाजु र ठूलो ज्वाइँलाई भनिन् –‘ कान्छोलाई टुहुरो नबनाउनु होला है ।’ त्यसैबेला उनले राधाकृष्णलाई भनिन्– ‘तपार्इंलाई सुख दिन झरी बादल भनिनँ । मैले पूर्णगामलाई पूर्ण बनाउन खोजेँ तर काल छिटै आयो । झब्रीखोलाको पानी घट्ट चलिरहेछ तर मेरो घट्ट रोकिने भयो माफ गर्नुहोला ।’ मृत्युको आक्रमण मानिसले थाह पाउँदो रहेछ । सुजाता मात्र चवन्न वर्ष भएकी थिइन् । सबैसँग बोल्दाबोल्दै उनको बोली बन्द भयो । सबै रुन थाले । अपराह्न चार बजेतिर सुजाताले लामो विश्राम लिइन् । छर्छरेतिर खबर पठाए । भोलिपल्ट बिहान उनलाई पनि सासू र ससुरालाईझैँ तेलचाप्रे घाट लगेर दाहसंस्कार गरे । बाटोछेउ उभिएका गाउँलेले मलामीलाई सोध्दै थिए – ‘खै सुजाताका लोग्ने राधाकृष्ण मलाम आएनन् ?’ राधाकृष्णले कपाल पनि खौरेनन् । मलाम पनि गएनन् । तेर दिनपछि सबै आ–आफ्नो काममा फर्के । कान्छो छोरो बाबुसँग एक महिना जति बस्यो । एकदिन कान्छो छोरा छर्छरे ठूलो हजुरबाको घरतिर जाँदै थियो । त्यतै उसले सुन्यो – ‘पैतालिस दिनको पिण्ड दिएपछि राधाकृष्णले बिहे गर्दैछन् रे ।’ कान्छो छोराले साउदी नजाने निर्णय सुनाउँदा राधाकृष्णले सम्झाउँदै भने– ‘दाइलेझैँ कमसेकम एउटा बाससम्म बनाउन मिल्ने जमिन किन । तेरो हजुरबाको समयमा पूर्णगामको जगजगी थियो कान्छा । अब त यो मानिसविहीन जङ्गल हुँदैछ । तँ यहाँ बसेर गोठालो हुन सक्दैनस् । उतै जा । केही गर् । मेरो पनि पेन्सन हुन अब एक वर्ष बाँकी छ । त्यसपछि म पनि त्यतै आउँछु ।’ कान्छो फेरि कतार गयो । राधाकृष्णले सुजाता मरेको छयालिसौँ दिन एक अधबैँसे महिलालाई घर भित्र््याए । पूर्णगामदेखि पूर्तिघाटसम्म एकअर्काबीच यस्तो चर्चा भने निकै सुनियो –‘बिहे गर्ने मन भए पनि चालीस वर्षसम्म सँगै बसेकी आफ्नी पत्नी त्यति दुःख पाएर बित्दा कमसेकम मलाम त जानु पर्ने ? कति निष्ठुरी रहेछन् राधाकृष्ण त ? पाप लाग्छ तिन्लाई त !’ ‘एक वर्ष पनि कुर्न सकेन । कस्तो अधर्मी रहेछ । देवीजस्ती त्यस्ती श्रीमती मर्दा मलाम नगएको त पापीले अर्को बिहे गर्न पो रहेछ ।’ ‘लोग्नेमान्छेको जात हुनसम्म स्वार्थी हुन्छ । राधाकृष्ण मरेर सुजाताले बिहे गरेको भए यो समाजले उनलाई यहाँ जिउँदै सुइरोले घोचेर मार्ने थियो । लोग्नेमान्छेले जे गरे पनि हुन्छ । नारी अधिकारको भाषण गर्ने राधाकृष्णहरू नै आज पनि नारीलाई जिउँदै दागबत्ती दिन तम्सन्छन् ।’ साउन २०७६ ९८४१३७७०८३ bishnu.nmdc@gmail.com