गुरुको गालामा कालोमोसो

संस्मरण साभार दायित्व पूर्णाङ्क ११६ माघ–फागुन २०७५ । (यो संस्मरण मेरो जन्मस्थान पर्वत जिल्लाको बिहादीसँग सम्बन्धित छ । पाठकलाई जानकारी होस् भनेर बिहादीबारे संक्षिप्त जानकारी राखेको छु ।)

विष्णुप्रसाद शर्मा पराजुली

पर्वतको बाच्छा–बिहादी भनेर चिनिएको ठूलो भूभागमा वि.संं. २०२७ सालसम्म माध्यामिक विद्यालय थिएन । नजिक भनेको फलेवास, भोक्सिङ वा रुद्रवेणी ÷रिणीमा मात्र थिए । बाच्छा–बिहादी भनेर चिनिने ठूलो क्षेत्रमा बाच्छा, बराचौर र रानीपानी गाउँ पञ्चायत र त्यस भित्र थुप्रै गाउँ थिय । अहिले पनि छन् । तर त्यसबेला जस्तो गाँउ चलाएमान छैनन् । बाच्छा–बिहादी भने पछि गुल्मी, पाल्पा, रुपन्देही, स्याङजा, बाग्लुङ, म्याग्दी, मुस्ताङ देखि दक्षिणमा भारत र उत्तरमा तिब्बतसम्मका मानिसलाई थाह हुन्थ्यो ।
बाच्छा बिहादी भनेर धेरैलाई थाह हुनुको पहिलो कारण विश्व प्रख्यात कालीगण्डकीको उत्तरी खण्डमा रहेका विश्व प्रसिद्ध गलेश्वरधाम, पुलह र पुलस्त्य ऋषिको तपस्यास्थल, कागबेनी (गया र काशीभन्दा पवित्र धार्मिकस्थल) मुक्तिनाथ, दामोदरकुण्ड, विश्व प्रसिद्ध हिन्दुमठ मन्दिर, बोन र बौद्ध गुम्बा, हजारौँ वर्ष पुराना मानव सभ्यताका गुफा र दक्षिण तर्फ सेतीबेनी, रुद्रवेनी, देवघाट, गजेन्द्रमोक्ष, त्रीवेणीधाम सहित हजारौँ मठमन्दिर र घाट हुनु हो । उत्तरमा तिब्बत र दक्षिणमा भारतका तीर्थयात्री, अन्वेषक, ब्यापारी र किसान कालीगण्डकी धारको नजिक बाच्छा र बिहादीको शहरबाटो भएर हजारौँ वर्ष पहिलेदेखि ओहोर–दोहोर गर्दथे । बाच्छा र विहादी दुई घण्टाको पैदल यात्राको दुरीमा रहेका छन् ।
पर्वत जिल्ला सदरमुकामदेखि सुदुर दक्षिणभागमा रहेको बाच्छा र त्यस पछिफोक्सिङको डरलाग्दो भीर नाघेपछि कालीगण्डकीको वहाब क्षेत्रभन्दा तीनसय मिटर माथि महाभारत श्रृङखलाको काखमा तराईको झल्को दिने बिशाल फाँट देखिन्छ, जुन बिहादीको फाँटले चिनिन्छ । विहादीको उत्तर–दक्षीण लम्बाई करिव १७–२० किलोमिटरसम्म फैलिएको छ भने पश्चिम तर्फ कालीगण्डकीको वहाव क्षेत्र ७ सय मिटरदेखि शुरुभई पुर्वोत्तर महाभारत श्रृङखलाको २ हजार ५ सय मिटरसम्मको उचाई हुदै करिव १५–१७ किलोमिटर क्षेत्र ओगटेको छ । विकट पहाडी क्षेत्रमा हुने त्यस्ता फाँटको चर्चा टाढासम्म पुग्छ । तिब्बतदेखि भारतसम्मका तीर्थयात्री, ब्यापारी र किसान बिहादीको शहरबाटो भएरनै तिब्बतदेखि, लुम्बिनि र भारतको बोधगयासम्म पुग्दथे ।
बाच्छा बिहादी भनेर चिनिने दोस्रो कारण बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङको दक्षिण क्षेत्रका गाउँमा बसोबास गर्ने मानिस नुन, तेल र कपडा खरिद गर्न, लाहुरे हुन बिहादीको शहरबाटो हुदै बटौली, नौतुना, र गोरखपुरसम्म ओहोर दोहोर गर्नु हो ।
तेस्रो, पश्चिम तिब्बत र नेपालका डोल्पा, रुकुम, बाग्लुङ, पर्वत, म्याग्दी, मुस्ताङका बासिन्दा हिउँदमा हिउँ परेर कठ्याग्रीने जाडो छल्न र सोही अवसरमा जीम्बु, बोदो, पाँचऔले, चिराइतो, सिलाजित, यार्सागुम्बा जस्ता बहुमुल्य जडिबुटिको ब्यापार गर्न कालीको धारलाई समातेर त्यसवरपर रहेका गाउँहरुको बाटोभएर लुम्बिनि हुदै भारत पुग्थे र चैततिर फर्कन्थे ।
अहिलेसम्म मैले थाह पाए अनुसार नवौ शताब्दीमा भारत विहारका बौद्ध धर्मका विख्यात ज्ञाता अतिसा कालीको यो धार समातेर बिहादी, बाच्छा, फलेवास, बेनी, कागबेनी हुदै मुस्ताङ पुगेका थिए । त्यसबेला नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने बासिन्दाले हिन्दु धर्मसँग जोडिएको मष्टो, तन्त्रमा आधारित बोनधर्म मान्दथे । अतिशाले मुस्ताङमा बौद्धधर्मको प्रचार गरे । अहिले मुस्ताङका धेरै गुम्बा र गुफामा उनका मूर्ति र चित्र रहेको देख्न सकिन्छ । मुस्ताङबाट उनी पश्चिम तिब्बतको जान्दा पुगी त्यहाँ उनले ठूलो थोलिङ बौद्ध गुम्बा निर्माण गरी बौद्धधर्मको प्रचार गरे उनको नाम नेपाल, भारत र तिब्बतमा गुरुरिम्पोचेको जस्तै प्रख्यात छ ।
चौथो, बिशाल फाँट हुनु, खेतियोग्य भूमि हुनु, समशितोष्ण हवापानी हुनु, पशुपालनकोलागि बन, खरवारी प्रशस्त हुनु, महाभारत लेकको खोँचबाट निस्केका ससाना खोला र मुलबाट सिँचाई र खानेपानीको ब्यवस्था हुनु, ८ सय मिटरदेखि फैलिदै २ हजार ५ सय मिटरसम्मको भौगोलिक फैलाव भएका कारण सालको बनदेखि लिएर विभिन्न प्रकारका वनस्पति, जीवजन्तु, चराचुरुङ्गी हुनु, भौगोलिक फैलाव अनुसार बाहुन, क्षेत्री, गुरुङ, मगर, ठकुरी, पेशागत समुदाय, नेवार, माझी आदी जातिको बसोबास हुनु र सो अनुसारको धर्म संस्कृति, चाडपर्व, रीतिथिति हुनु यो क्षेत्रका विशेषतानै हुन् । पाचौँ, शिक्षामा सचेत हुनुका साथै मुद्दामामिलामा पर्वतका अन्य क्षेत्रको तुलनामा बढि हुनु ।
समयको पदचापलाई पहिचान गर्ने नेतृत्वको कमीले गर्दा पछिल्लो समय, खाशगरी बहुदलीय ब्यवस्थाको स्थापना पछि भने यो क्षेत्रलाई पर्वतको कालीकोट भन्न थालियो । भयो पनि त्यस्तै । अन्य क्षेत्रमा राजमार्ग खुलेर मोटर गुडदासम्म हाम्रोमा कुनै सङ्केत भएन । बत्ति, खानेपानी, स्वास्थ्य जस्ता कुरामा हामी रानीपानीको कुवाको भ्यागुता जस्तै भयौँ । त्यसो हुनुमा यो क्षेत्र सदरमुकाम कुश्मादेखि सुदुर दक्षिण कुनामा पर्नु, स्याङ्जा र गुल्मीको सदरमुकामबाट पनि टाढा हुनु, स्थानीय तहमा जिल्ला स्तरीय नेता र समाजसेवीको अभाव हुनु, उच्च शिक्षा हासिल गरेका ब्यक्ति गाउँ नफर्कनु आदी रहेका छन् । यसक्षेत्रका बासिन्दाले तीरो तिर्न, नागरिकता बनाउन सदरमुकाम जाँदा १२–१५ घण्टा पैदल हिंडनु पर्ने बाध्यता आजभन्दा पाँच वर्ष पहिलेसम्म नै रह्यो ।
अहिले त्यो अवस्थामा परिवर्तन देखिएको छ । देवघाटदेखि जोमसोम हुदै कोरला नाका छिचोलेर तिब्बत पुग्ने कालीगण्डकी राजमार्ग त्यही ऐतिहासिक तीर्थयात्रीको बाटोनै भएर खुली सकेको छ । विहादी, बाच्छा, कुर्घा, फलेवास हुदै कुश्मा जोडीने कालीगण्डकी करीडर पनि जोडिएको छ । स्याङ्जा वालीङदेखि हुवास, वहाकीहुदै अर्कोबाटो करीडरसँग जोडिएको छ । त्यसैले अब बिहादी कतैको कालीकोट हुन परेन । अहिले त कालीकोटमा पनि कर्णाली राजमार्ग हुदै मोटरबाटो पुगिसकेको छ । यति हुदाहुदै पनि काठमाडौबाट पोखरा, स्याङजाको वालिङहुदै विहादी पुग्न ११ घण्टा लाग्छ । बुटवलबाट विहादी पुग्न ७ घण्टा लाग्छ । बिहादी प्राकृतिक रुपमा रमणीय, साँस्कृतिक रुपमा धनि भए पनि ठूला शहरदेखि नजिक त अझै पनि छैन । त्यसैले दुरीका हिसाबले काठमाण्डौबाट सोलुखुम्बुको सल्लेरी, म्याग्दीको बेनी पुग्दा बिहादी पुग्न भने हम्मे हम्मेनै हुन्छ ।
बिहादीको ऐतिहासिक महत्व, जनघनत्व, समथर फाँटहुदै उचालिदै गएको भुबनोट, उच्चमाबि, स्थानीय सरकारी निकायको संरचना निर्माणगर्न मिल्ने ठाउँ आदिको कारणले शायद संघियताको प्रवेशसँगै स्थानीय निकायको नामाकरण गर्दा बाच्छा, बराचौर, रानीपानी, उराम, वहाकी, सेतीवेणीका गाविसका क्षेत्रलाई समेटी बिहादी गाउँपालिका बनाइएको छ ।
२०५० को दशकको तुलनामा शिक्षा, स्वास्थ्य, सडक, विजुली, खानेपानी जस्ता आधारभूत क्षेत्रमा भएको सुधारलाई पहिलेको आँखाले हेर्दा परिवर्तनको बाटोमा बामे सर्दै गरेको भन्न मिल्छ । स्वास्थ्यमा बाहेक अन्यमा परिवर्तनको अनुभव गर्न सकिन्छ । राम्रो सुविधा दिएर एउटा मात्र चिकित्सक गाउँपालिकामा राख्न सके स्वास्थ्यमा पनि परिवर्तनको अनुभव हुनेछ । नेपालमा भएको राजनैतिक आन्दोलन र परिवर्तन, राजनैतिक पार्टीका ब्यक्तिले बोलेको प्रतिद्धता र प्रशासनिक संस्थाबाट दिइएका सेवाको तुलना गर्दा वर्तमान युवावर्गको अपेक्षा र जनचाहना अनुरुप परिवर्तनको अनुभूति नागरिकले सकेका छैनन् ।
‘ देवीथानका परेवा माकुर माकुर घुर, यस पाली त मेरो नी बिहे गर्ने सुर’ भन्ने गीत घन्काउदै, धुलो उडाउदै पुराना बसले सेवा दिए पनि बिहादी छोडेर बँसाई सर्ने बासिन्दाको संख्या विक्रमको ४०–५०को दशकको भन्दा घटेको छैन । चकौँदे जस्तै धेरै गाउँ खण्डहर, खेत, बारी र खरबारी बाँदर, चितुवाका क्रिडास्थल बन्दैछन् । बिहादी नेपालका अन्य गाउँको तुलनामा किन पृथक हुन सक्थ्यो र ? मेरा पिताजीले धानका बाला, कोदाका बाला, मकैका घोँघा फलाएको जमिन अहिले बाँझो छ । मैले अरुलाई केहि भन्न मिल्दैन, यद्यपी म २०३३ सालको असारदेखि उच्च शिक्षाको भोकमा बाहिर निस्केको हुँ ।
मलाई हिमाल मन पर्छ, अग्ला र होचा पहाडले आकाशलाई अँगालो हालेर चुम्बन गरेको हेर्न मन पर्छ । लिसे गैराको लेकबाट झरेको कञ्चन सफा पानीमुनि देखिएका चिल्ला ढुङ्गासँग मित लगाएर त्यही पानीमा ऐना हेर्न मन पर्छ । बिहादीको विशाल फाँटलाई सिँञ्चन गर्दै झरना बनेर कालीगण्डकीमा झरेको झरना मन पर्छ । मेरो घरभन्दा टाढा कालीपारको पाखामा देखिने कलात्मक पहाडले नीलो आकाशलाई आलिङ्गन गरेको देखेर बाल्यकालमा म लोभिएको हुँ । त्यो लोभले लोभ्याउदा म पनि आकाश छुन त्यहाँ पुगेको हुँ । त्यहाँबाट त आकाश छुन नसकिने रहेछ, पहाड झन टाढा पो पुग्दो रहेछ । त्यहाँ पुगे पछि थाह पाएँ । आकाश छुन त अर्को पहाडमा जान पर्दो रहेछ । आकाश छुन भनेर फेरि अर्को पहाडमा पुगेँ । छुन सकिनँ । अझै आकाश छुने धोकोमा म हिँडिरहेको छु । आकाश छुने मन अझै थाकेको छैन । कालीपारका ती आकाश छुने पहाडले मलाई अझै लोभ्याउन छोडेका छनन् । मेरा पिडौला धोल्लिएको प्रेमको आलिङ्गनमा बाँधिएका ति पहाड र नीलो आकाशलाई के थाह ?
संस्मरण लेख्न बस्दा मेरो जन्मस्थल, मेरो बाल्यकाल र मैले प्रारम्भिक शिक्षा लिएको क्षेत्रको सामान्य जानकाारी दिनु मेरो धर्म हो । यसो गर्दा अन्य क्षेत्रका पाठकलाई बिहादी कहाँ पर्दो रहेछ र कस्तो रहेछ भन्ने सामान्य ज्ञान हुने भयो । वि.सं. २०२८ सालमा रानीपानी र बराचौर दुवैलाई केन्द्र पर्ने गरी नेपालतारा माध्यमिक विद्यालयको स्थापना भयो । २००७ सालमा रानीपानीको तिलीङ्गे डाडामा मुक्तिप्रसाद गौचनको सक्रियतामा श्रीओम पाठशालाको स्थापना भएको थियो, जुन पहिलो आधुनिक स्कुल हो ।
२००७ साल सम्म सामान्य परिवारका सन्तानले पढन पाउने कुरा भएन । प्रजातन्त्रको उदय भए पछि बल्ल चहलपहल शुरु भएको हो । राणाकाल र त्यसपछि पनि धनी र शिक्षाको महत्व बुझेका परिवारले वनारस, पर्वतको पाँग, गुल्मीको रुद्रवेनीमा संस्कृत शिक्षा लिन पठाउथे । त्यसबाहेक थोरैले मात्र पाल्पा, पोखरा र काठमाडौं पुगेर पढदथे । बिहादीभन्दा धेरै पहिले फलेवास र भोक्सिङमा माध्यामिक विद्यालय खुलेका थिए । म भन्दा ५–६ वर्ष जेठा दाईहरु त्यतै गएर पढेका थिए भने संस्कृत पढन रीणि वा पाँग जान्थे । कौमुदी, चण्डी र वेदभने बनारसमा अध्ययन गरेका गुरुहरुले गाउँमा स्वअध्ययनको रुपमा सिकाउथे ।
बिहादी क्षेत्रकै लागि २०२७ सम्म सबैभन्दा बढि कक्षा ८ सम्म पढाई (कक्षा ६ सम्म स्वीकृती प्राप्त) हुने ठाउँ भनेको रानीपानीको स्कूल थियो । तत्कालिन पैयूराज्यमा माध्यामिक विद्यालय नभएकाले पैयूदेखि बाच्छसम्मका शिक्षा प्रेमीले बृहत छलफल गरे । अन्तमा रानीपानी र बराचौर क्षेत्रका शिक्षाप्रेमीको सक्रियताकासाथै वहाकी, पुर्तिघाट, उराम, बाच्छा आदीका बासिन्दाको समर्थनमा वि.सं. २०२८ सालमा नेपालतारा माध्यामिक विद्यालय बिहादीको माझी गाउँको (पहिले त्यस ठाउँमा माझी (बोटे)को बसोबास थियो ) गौचरन रहेको ठूलो चौरमा स्थापना भयो ।
म स्कूल शिक्षामा प्रतिस्पर्धी थिएँ । त्यसले गर्दा नेपालतारा नखुलेको भए पनि शायद भोक्सिङ गएर १० कक्षासम्म पक्कै पढने थिए होला । मेरो घर वरपरका दाईहरु भोक्सिङ गइसकेका थिए । स्कुल खुलेकाले बिहादीमा बसेर घाँसदाउरा, कुटोकोदालो र मेलापात गरेर पनि १० कक्षासम्म पढन पाउनु हाम्रालागि अपूर्व अवसर थियो । नेपालतारा खुल्नु भनेको त्यसभेगका आम युवाकोलागि बिश्वविद्यालय खुले जत्तिकै खुशिको कुरा थियो । त्यसबेलाका जाकरुक शिक्षाप्रेमी, समाजसेवी र शिक्षकलाई नमन गर्दछु ।
मैले चोर्दीको आरुपाटा, बराचौरको आम्बारी गरी कक्षा पाँच सकेर छ पढन रानीपानी गएको हुँ । छ मा पढदापढदै नेपालतारा खुल्यो र हामी सबैको पढाई नयाँ स्कूलमा हुने भयो जहाँ कक्षा कोठा, टेवल, बेञ्च, कुर्ची, कालो पाटी केहि थिएनन् । स्कूलको नाममा थियो त विहानदेखि बेलुकासम्म सुइसुइ हवा चलिरहने नाङ्गो थुम्कोमा रहेको काँसका गाँज भएको बालुवा मिश्रित माझी गाउँको गौचरन, वर र पिपलका विशालतम वृक्ष थिए जस्ले हामीलाई गर्मीमा शितल, जाडोमा न्यानो र वर्षामा छानो भएर सहयोग गर्दथे ।
नेपाल ताराको कक्षा कोठा त्यही चौरमा बनाउने निर्णय भयो । गाउँबाट बाँसका घारा आउन थाले । मानिसको चलहपहल शुरु भयो । आफ्नो सिप अनुसार कसैले बाता, चोया काट्ने, कसैले बाँसका खाँवा राखेर कोठा बनाउने काममा लागे । छोटो समयमा बाँसका खाँवा गाँडेर, बाँसकै निरल तेस्र्याए पछि कोठाको रुप हुदै स्कूलको आकार देखा प¥यो । हामी दंग भएर साथीभाईलाई धुलोले हिर्काउदै खेल्न थाल्यौँ । स्कूलकका सबै कोठा उन्युको झाङले बार्ने निर्णय भयो ।
शुक्रबारको दिन विद्यार्थीलाई रातामाटाको सालधारी र झब्री खोलाको बनबाट उन्यु लिन पठाइन्थ्यो । अग्ला र बलिया साथीहरुले बाक्लो घारीबाट उन्यु काटेर थुपारी दिन्थे । उनीहरुका हात, खुट्टा र अनुहारमा उन्युका छेस्काले कोतरेर रगताम्मे भएका हुन्थे । हामीले घरबाट ल्याएको डोरीले बाँधेर अँगालोमा बोकेर ल्याउदा पनि शरिर भर घोचेर रगत निस्केको हुन्थ्यो । स्कूलका कोठा बन्ने, हवा र धुलोबाट छेकिन उन्यु बोक्न कस्सिएका हामीलाई पाखुरामा देखिएको रगतको चिन्ता हुदैन्थ्यो । उन्युका झाँङबाट स्कूलको सम्पूर्ण भवनको गाह्रो र कोठा बार्ने काम भयो । छानो भने खरलेनै छाइयो । प्रति रोपनी प्रति पाथीका दरले स्थानीयले दिएको चन्दाले बस्ने बेन्च र गुरुकालागि कुर्ची पनि बने । हाम्रो नेपालतारा मावि तयार भयो । त्यस्तैमा बाच्छा, पुर्तिघाट, वहाकी र उरामसम्मका विद्यार्थीको लर्को लाउन थाल्यो । पर्वत जिल्लाभरनै उन्युले बारेको स्कूल भनेर चर्चित रह्यो ।
बिहादी, अन्य छिमेकी गाउँ बाच्छा, उराम, वहाकी, सेतीवेनीको तुलनामा राजनैतिक रुपमा सचेत थियो । अन्याय अत्याचारका विरुद्ध तुरुन्तै कडा प्रतिरोघ हुन्थ्यो । कहि कतै कसैले अन्याय गरेको थाह पाईएमा विरोध हुन्थ्यो । ‘छोराछोरीको बिहे गराई दिन्छु ’ भनेर विपन्न परिवारका सदस्यबाट खुसुक्क पैसा खाने, पैसा तीर्न नसक्दा खेतबारी खाईदिने नेपालका अन्य गाउँमा जस्तो त्यहाँ पनि हुन्थ्यो । तर त्यस्ता कुरा थाह भए पछि कचहरी बसेर फैसला हुन्थे, मुद्धामामिला धेरै हुन्थे र मिल्थे, स्कुल खोल्ने कुरा पनि सँगसँगै हुन्थे । जीवन्त समाजभित्र हुने गुण विहादीमा थिए–शिक्षा, पारिवारिक स्तर, सभ्यता, सुसंस्कृत रीतिरिवाजका साथै लडाइ, झगडा र मुद्दामा स्याङ्जा र बाग्लुङको बलेवासँग तुलना हुन्थ्यो ।
प्राकृतिक सुन्दरता, सभ्य समाज, प्रसस्त खेतियोग्य भूमी भएको क्षेत्र भएकै काराणले सदरमुकामबाट विहादीमा पढाउन जानकोलागि उच्च शिक्षा हासिल गरेका युवा शिक्षक तछाडमछाड गर्दथे । त्यसबेलाको कठोर निरंकुश पञ्चायती ब्यवस्थाको बेला पनि शिक्षक छनौटमा ‘प्रजातन्त्रबादी वा प्रगतिशिल’ कुन पक्षको हो त्यसलाई पठाउन जिल्लामा रस्साकस्सी हुन्थ्यो । त्यहाँको राजनीतिले जिल्लामा प्रभाव पार्दथ्यो । उच्च शिक्षा लिएर आएका भरभराउदा शिक्षकले कहिलेकाहि अनाहकमा बेइज्जती भोग्नु पर्दथ्यो । स्कूल खुले पछि छोटो अवधि भित्रनै थानेश्वर शर्मा, श्याम पन्त, गंगा प्रसाद शर्मा, नारायण प्रसाद शर्मा जस्ता ख्यातीप्राप्त शिक्षक विहादीले पायो ।
शिक्षकलाई नियुक्ती दिन जस्तै बिहादीमा छोरी दिन अन्यत्रका परिवार लालयित हुन्थे । त्यसबेला शहर नजिक भन्दा पनि खेतिपाति हुने गाउँमा परालको टौवाको आकार हेरेर छोरी दिने गर्थे । शिक्षित ब्यक्ति हुनु, खेत, बारी, बन, खानेपानी, खरवारी आदी राम्रो भएकाले दैनिक भात नै खान नपुगे पनि बिहादीमा बिहेगरी दिदा ‘दिनभर काम गरेर कम्मरमा पटुका कसेर भोकभोकै सुत्न पर्दैन’ भन्ने अन्य गाउँका बासिन्दलाई परेको थियो ।
४५ वर्ष पछि किन नहोस माछापुच्छ«ेको छेउबाट आएको ताजा हवाजस्तै मेरो मनमा एउटा सम्झना ताजै भएर बसेको छ । मैले एउटा कालो घटना झलझली सम्झन्छु, आफैलाई प्रश्न गर्छु, त्यसको जवाफ पाएको छैन । त्यो के भने –‘के गुरुको गालामा कालोमोसो दलेर हाम्रो भविश्य सफल होला ? के गुरुको गालामा कालो मोसो दल्नु नै विरोधको माध्यम हो त ? हामीले हजारौं वर्ष पहिलेदेखि वैदिक संस्कृतिबाट सिकेको संस्कार गुरुलाई कालो मोसो दल्नुनै हो त ? बिद्याको मन्दिरमा पनि कस्तो घिनलाग्दो राजनीति हँ ? ’ यि र यस्तै प्रश्न मनमा सलबलाई रहन्छन् । त्यो समयमा भन्दा अहिले अमर्यादादित क्रियाकलाप माछापुच्छ«ेको टुप्पो नाघ्ने गरी भएका छन् । त्यसबेला साथीहरुले आफूलाई ज्ञानको सागर ओईराई दिने गुरुको गालामा कालो मोसो दलिदिए । त्यसैको संस्मरण हो, यो ।
२०३० मा नेपालतारा माविको उन्युले बारेको स्कुलमा टहटह घाम लागेको थियो । कक्षा कोठाको बाहिर खरको छानाबाट झरेको बलेनी बग्ने कुलेसो थियो । थानेश्वर सरले त्यो दिन कक्षा ८ का विद्यार्थीलाई पढाएर, भोलीपल्टको लागि अभ्यास दिएर बाहिर निस्कन एउटा खुट्टा कक्षा कोठा र अर्को बलेनी झर्ने कुलेसोमा टेकेको बेला हाम्रा दुईजना साथीहरुले सरलाई दुईतिरबाट घेरेर – ‘सर, हजुरसँग केही काम छ । पख्नुहोस !’ भने । ठानेश्वर सरले सामान्य रुपमा ‘के होला ? भन्नुहोस न । ’ भन्नु भयो । त्यसैबेला कलम राख्ने खोल्टीबाट कागजमा राखेको कालो मोसो झिकेर दुवैजनाले गुरुको गालामा दलिदिए । के कारणले कालो मोसो दलिएको थियो भनिएन ।
गुरुले गाला थाप्नु भयो र हाँसेर स्वाभिमानकासाथ कालो मोसो दल्ने विद्यार्थी नेताहरुलाई सोध्नु भयो ‘ अरु केहि गर्न बाँकी छ कि ? बाबु । भन, मैले अरु के गर्नु प¥यो ?’ कालो मोसो दल्ने विद्यार्थीले अरु के नै गर्नु थियो र ? त्यसबेला थानेश्वर सरको अनुहारमा नैराश्यको कुनै छनक थिएन । वहाँ विद्यार्थीलाई पढाएर कक्षा बाहिर निस्कँदा जुन परिवेशमा हुनुहुन्थ्यो, त्यस्तै हुनुहुन्थ्यो । हामीले साथीहरुले कालोमोसो दलेको दृश्य कक्षाकोठाको बलेनीमा उभिएर हेरेका थियौँ ।
नेपाल ताराका विद्यार्थीलाई उच्चस्तरको ज्ञान दिई स्वर्णिम युग ल्याउने उत्कट चाहनानुरुप वि.ए. पास गर्नासाथ थानेश्वर सर बिहादी पुग्नु भएको थियो । मैले अहिले पनि ताजा रुपमा सम्झन्छु, अंग्रेजीमा वहाँको विशेष दखल थियो । पञ्चायत विषयका आन्द्रा केलाएर घुमाउरो तरिकाले ‘निर्दलीय निरंकुश शासनले देशको भलो नहुने हुनाले प्रजातन्त्र ल्याउन युवा सचेत हुन पर्छ ’ भन्दै विद्यार्थीलाई सचेत पार्नु हुन्थ्यो ।
वहाँको पहिरन सम्झदा म अहिले पनि आश्चर्यमा पर्छु । त्यसबेला पनि कोट, पाईन्ट, ढाकाको टोपी र टलक्क टल्कने कालो जुता लगाएर आउनु हुन्थ्यो । वहाँको त्यसबेलाको ब्यक्तित्व अहिलेका राजदूत औपचारिक रुपमा राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेशगर्न जादा जस्तै थियो । स्कुलनै उज्यालो हुने गरी चिटिक्क परेर आउनु हुन्थ्यो । गोलाकारको अनुहार चिल्लो र रातो थियो । घाँटीमा सामान्य बल परेको भान हुने गरी मधुर आवाजमा बोल्नु हुन्थ्यो ।
थानेश्वर सर नेपाल तारामा प्रधान अध्यापक भएर आउनुभन्दा पहिले पर्वत मुडकुवाका रामप्रसाद धिमिरे हुनुहुन्थ्यो । घिमिरेले पञ्चायती निरंकुशताको खुलेर विरोध गर्नुहुन्थ्यो । वहाँको कुरा सुन्दा कति विद्यार्थी डराउथे भने कतिको रगत बुर्लुक्क उम्लेर आउथ्यो । वहाँ प्रगतिशिल पक्षधर भनेर चिनिनु भएको थियो । मैले माथि उल्लेख गरिसकेको छु कि बिहादीको राजनीतिले कुश्मालाई पनि जित्दथ्यो –कहिलेकाहिं । घिमिरे प्रगतिशिल भएकाले वहाँलाई नेपालताराबाट पन्छाउन प्रजतन्त्र पक्षधरका मनिस लागेका रहेछन् । प्रगतिशिल र प्रजातन्त्रका पक्षधरले दुवैको एउटै शत्रुलाई पहिचान गर्न नसक्दा राजनैतिक स्वतन्त्रताको लागि मात्र पनि २९ वर्ष पछि प¥यौँ – हामी नेपाली ।
छोटो समयमानै घिमिरेको ठाउँमा ठानेश्वरलाई पठाईएको रहेछ । आन्तरिक रुपमा राजनीतिक खिचडीले भित्रभित्रै गाँजेको रहेछ । नेपाल तारामा त्यो रोग २०४६ सम्म रहिनै रह्यो । राम्रा शिक्षक आउन छोेडेनन्–शैक्षिक सत्र पुरा गर्न नपाए तापनि । ०४६ पछि भने पुरानो छातामुनि राजनीति गर्नेहरु ओझेल परे । परिवर्तन देखा प¥यो । नागरिकको आवाज खुला रुपमा स्कुलको चौरमा अवतरण ग¥यो । पुराना नेताको ठाउँ युवा नेताले लिए । प्रजातन्त्रको अर्थ पनि त्यो हुन पर्छ । प्रजातन्त्र भनेको शायद सालको विरुवा हुर्काउनु पनि हो कि ?
नेपाल तारामा शिक्षामा हुने राजनीतिक रोग अन्यत्रको तुलनामा बढि थियो । आश्चर्य लाग्ने कुरा के भने त्यस्तो हुदाहुदै पनि क्षमतावान शिक्षक त्यहाँ जान प्रतिस्पर्धानै गर्थे । घिमिरेलाई छोटो समयमा बिनाकारण, बिनासूचना निस्कासन गर्नु र सो ठाउँमा थानेश्वरलाई ल्याउनुनै कालोमोसो दल्ने परिस्थितिको जग बसेको थियो । बिहादीका युवाहरुले भित्रभित्रै परिवर्तनका पक्षधरलाई समर्थन गर्थे । तर पनि कालोमोसो दल्न हुदैन्थ्यो, बिरोधको त्यो तरिका गलत थियो र हो ।
त्यसबेला फेसबुक, मोबाईल, फोन, एफएम, पत्रपत्रिका केहि थिएनन् तापनि कालोमोसो दलेको घटना जिल्ला सदरमुकामलाई नाघेर गुल्मी, बाग्लुङ, म्याग्दी र स्याङजासम्म पुग्यो । जस्तोसुकै राजनीति गरे पनि गुरुको गालामा कालोमोसो दल्न नहुने भन्ने कुरा त्यसबेलाका विद्यार्थीले महसुस गरे । त्यसमध्येका एक जना जो हामी बीच हुनुहुन्न –वहाँले त्यो घटना गलत भएको कुरा बारम्बार महसुस गर्नु हुन्थ्यो । वाश्तवमा त्यो घटना पछि वहाँ पश्यातापको पोखरीबाट उम्कन सक्नु भएन । बिहादीमा त्यस्तो घटना दुईपटक घटेको छ । जुन गलत हो । नेपाली समाज त्यस्ता प्रबृत्तिबाट माथि उठन सकेको छैन । गलत कुरालाई त्याग्ने र राम्रा कुरालाई आत्मसात गरेर जीवनलाई सफल पार्ने काम तिर लाग्नु पर्छ । चाहे हिजो होस वा आज एउटै सत्य के हो भने ज्ञान दिने गुरुलाई अपमान गर्नेहरु जहिलेसुकै शिक्षाको त्योतिबाट टाडिएर अन्धकारमा बस्न बाध्य हुन्छन् । नरक खोज्न मृत्यु पखर्न पर्दैन । त्यस्ता कामले मृत्यु अघिनै जीवनलाई नरकमा पु¥याउछ । ॐ

१५ पुस २०७५
मो . ९८४१३७७०८३

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s