यात्रा, जीवन र दुर्घटना

विष्णुप्रसाद शर्मा पराजुली

परिवेश, परिबन्द, प्राकृतिक प्रकोप, अदुरदर्शिता, भावावेश, निर्णय क्षमताको अभाव, अधैर्यता आदि कारणले यात्रामा अनाहक दुःख, कष्ट, तनाब, जोखिम, दुर्घटना र त्यस्तै अवस्थामा यो अमूल्य जीवन जुन फेरि पाइँदैन असमयमा गुमाउन पुगिन्छ । परिवेश, परिस्थिति र प्राकृतिक प्रकोपको गहन विश्लेषण, लामो झरी, हिउँ, बाढि पहिरो जाने समयमा सुरक्षित स्थानमा रहेकोमा सोही स्थानमा बस्दा, समय, आर्थिक र अन्य केही नोक्सान होला तर जीवन नै जाने गरी नोक्सान हुँदैन । समय, परिस्थिति प्रकोपबारे सामान्य भन्दा सामान्य अवस्थाको पनि आँकलन र सही निर्णय हुन नसक्दा यात्रामा दुर्घटना भई जीवन गुमाउन परेका धेरै उदाहरण हाम्रा सामु छन् ।


मैले उच्च हिमाली क्षेत्रको यात्रा गर्दा परिवेश, मौसम र तत्कालिन परिस्थितिको थोरै भए तापनि ख्याल गरेर चाँजोपाँजो मिलाउँने प्रयास गर्छु । त्यसो गर्दा आजसम्म केही हदसम्म थोरै प्रतिशत सफल पनि भएको छु । परिस्थितिको सामान्य लेखाजोखा वा मुल्याङ्कन गर्न नसक्दा वा भाववेशमा पुगेर निर्णय गर्दा कति ठाउँमा यात्रामा दुर्धटनामा निम्त्याएको पनि छु । प्रकोप, मौसम परिवर्तन वा दुर्घटनालाई रोक्न सकिन्न तर होशियार भएर काम गर्ने हो भने प्रकोपबाट बाँच्न र दुर्घटना न्यून गर्न सकिन्छ । हिमाली क्षेत्रमा मौसम खराब भएको बेला अलिकता समथर, चट्टान भएको र कम हिउँ थुप्रिएको ठाउँमा पाल टाँगेर बस्ने हो भने आलो हिम पहिरोबाट जोगिने अधिक सम्भावना रहन्छ । निरन्तर आरी घोप्टे पानी परेको बेला यात्रा नगर्दा, पहिरो, बाढि, र अन्य दुर्घटनाबाट जोगिन सकिन्छ । हामी धेरैले परिवेश र परिस्थितिको मुल्याङ्कन तथा गम्भिर विश्लेषण गर्न नसक्दा, बिना तयारी उच्च हिमाली क्षेत्रको यात्रा गर्दा, यात्राको लागी आवश्यक पर्ने सामान नहुँदा, सवारी साधानको अवस्था राम्रोसँग जाँच नगर्दा, छोटो समय उचाइमा पुग्दा, अनि भावावेशमा साथीको लहै–लहैमा पुगेर निर्णय गर्दा दुर्घटनाको सामना गर्नु पर्ने हुन्छ ।


वि.सं. २०७८ असोज १५ गते देखि सङ्खुवासभामा पर्ने किमाथाङ्का गाउँ र मकालु हिमालको आधार शिविरको यात्रा तय गरेँ । त्यो यात्रा गर्दा दसैँको समयमा सहरदेखि घर फर्कँने र दसैँ पछि घरबाट सहर फर्कँने यात्रुको चाप हुन्छ भन्ने कुरा कम ख्याल गरेँ । जसले गर्दा मैले मेरो योजना अनुसार खाँदवारीबाट फर्कँने टिकटको टुङ्गो लगाउन कठिन भयो । त्यसैगरी मनसुन सकिएको पन्ध्र दिनपछि त मौसम सफा होला भन्ने बिगतका वर्षहरूमा भएको मौसमको अनुमान पनि यस पटक असी प्रतिशत मिलेन । कात्तिक महिनाको प्रारम्भ जहाँ विहान सामान्य शित, तुसारो सहितको चिसो र दिउँसो नीलो र सफा आकाश देखिनु पर्ने हो त्यसबेला बेमौसमी वर्षा भईनै रह्यो । हटिया, हुङ्गुङ्, चेपुवा, किमाथाङ्काका किसानले पाकेको कोदो टिप्न पाएनन् । पहाड तराईमा पाकेर पहेँलपुर बनेको धान काट्न पाएनन् । यात्राको अन्तमा त मानवीय साथै ठूलो भौतिक क्षति भयो । करिव सात अर्व मूल्य बरावरको धान क्षति भयो भने १०३ जनाले ज्यान गुमाए । यात्रा प्रारम्भ गर्दा मैले कात्तिक ३ गते तुम्लिङटारदेखि काठमाडौँ फर्कँने गरी टिकट लिएको थिएँ । मेरो यात्रा त्यसभन्दा बढिको हुन सक्ने अनुमानले गर्दा मैले कात्तिक ४ गतेको लागि टिकटको अनुरोध गरेँ । तर टिकट भने कत्तिक ५ गतेको लागिमात्र पाएको थिएँ । यथार्थमा किमाथाङ्का र मकालुको यात्रा सम्पन्न गरी कात्तिक १ गते साँझ खाँदबारी पुगे पछि मलाई तुरुन्तै घर फर्कने हुट्हुटी हुन थाल्यो । स्वभाविक भए तापनि त्यो गलत थियो । यात्रामा साथीभाइ र परिवारजनसँग सम्पर्क गर्न कठीन थियो । ९१ प्रतिशत स्थानमा फोन लाग्दैनथ्यो ।


मैले १८ दिन लामो पदयात्रा सम्पन्न गरेको थिएँ । त्यसमा कैयौँ दिन झरी–बादल, लामा, ठूला, मोटा लेकाली जुकाको चुम्बन, भीर, पहरा, ठाडो उकालो, झरीले लेउलागेको जोखिमपूर्ण चिफ्लो ओरालो बाटो तय गरिएको थियो । त्यस्तो बेला कहिलेकाहीँ हुस्सु र कुहिरो भागेर आकास तिर लोप हुँदा गाढा हरियो बाक्लो बन, एक नासले हरियालीको छातीलाई सेताम्मे पार्दै झरेका झरना, नदी र खोलाहरू, चराचुरुङ्गीको चिरविर, यदाकता चौरी, याक, भेडासँग हिंड्दै गरेका गाउँलेसँगको भेटघाट, अरुण नदीको उपत्यकाको दुवै काखमा रहेका धेरै घरहरू, एकै ठाउँमा गुजमुज्ज रहेका मौरीको चाका जस्तै देखिने ठूला गाउँहरू, धान, कोदो र मकै खेती देख्दा भने जुकाको टोकाई बिर्सने मात्र होइन कि जुका टिप्न पनि बिर्सिन्थ्यो । अठार दिन मध्ये मकालु आधार शिविर पुगेर फर्कँने चार दिन भने मौसम सफा भयो । नीलो अकाश, हरियाली, हिमाल, जीवजन्तु, वरुण उपत्यका र रातमा ताराको टिलपिल पनि देख्न पाईयो ।


मौसम सफा हुँदा प्रकृतिका विभिन्न मनमोहक रूप, हिमालदेखि तराईसम्मको लामो पानोरामिक दृश्य, चिमाल, गोब्रेसल्ला र रङ्गीन बुट्यानको घना वन, लामबद्ध हुँदै प्रतिस्पर्धात्मक रूपमा सेताम्मे बनेर झरेका झरनाहरू, खोङ्मा क्षेत्रको धारिलो पहाडका धार र टुप्पामा रहेका सुन्दर ताल–तलैया, अरुण र बरुणको गहिरो, फराकिलो, जीवजन्तु र हरियालीले भरिपूर्ण अत्यन्त लोभलाग्दो उपत्यका र त्यसपछि चाँदिको श्रीपेच पहिरेर सबै प्राणीलाई स्वागतार्थ उभिएका जस्ता देखिने प्रकृतिको सम्राट अनगिन्ति हिम चुचुराहरू देख्न पाईएको थियो । चार दिनको त्यो सुन्दरतम मनमोहक दृश्यले लामो कष्टपूर्ण यात्राको सम्पूर्ण पिडा क्षणभरमै सर्लक्कै निलिदिएर उमङ्ग, हर्ष, खुसीको झरना शीरदेखि पैतालासम्म झारीदिएको थियो । शरीर यस्तो हलुका भएको थियो मानौं कि म हिमाली चिल्लो काग भएर झरना र हिमालका चुचुराहरूलाई चुम्दै, जिस्क्याउँदै, चिमालका डाली–डालीमा नाच्दै कहिले खोङ्माको लामो पोखरी, कहिले किमाथाङ्का, कहिले मकालु हिमालको काखमा उडिरहेको छु । त्यसबेला म हर्षको अन्तिम चुचुरो मकालुको चुलीमा पुुुुुुुुुगेसरी भई हर्षोन्मादबाट साच्चिकै मत्तासुर भएको थिएँ, मानौँ कि म यो पृथ्वीमा रहेको प्राकृतिक सुन्दरताको भोग गर्ने एक मात्र मानव हुँ ।
हो, मौसम सफा भएकाले मैले हुङ्गुङ्देखि किमाथाङ्का जाँदा र किमाथाङ्कादेखि फर्कँदाको उभिएर हेर्न पनि नमिल्ने नाके ठाडो उकालो बिर्सेँ । शरीर नै घोप्टिने प्रकारको ओरालो, झरी, लेउलागेको चिफ्लो तथा ढुङ्गा पल्टेर आफ्नै खुट्टामा लाग्ने भिरालो र ठेस लागेर लडने हो भने अरुणको गर्जनको प्यारो बन्नु पर्ने भीरको बाटो हिंडेको त्रास पनि बिर्सेँ । कथम्कदाचित खुट्टा मर्के मात्र पनि तीन–चार दिन बोकिए पछि मात्र मोटरबाटो भेटिने ठाउँमा मात्र पुग्न सकिन्छ भन्ने डर पनि हरायो । त्यसमाथि चार इन्चलम्बाई र आधा इन्चसम्म मोटाई भएका जुकाको घाँटीमा नै हुने आक्रमण र त्यसपछि रातो झरना जस्तो भएर बग्ने रगतको पनि सम्झना भएन । त्यस्तो कष्टपूर्ण र शरीरलाई नै कम्पाएमान गराउँने कहालीलाग्दो जोखिमपूर्ण यात्राको दुःख चारदिन बिहानीपख मात्र नै किन नहोस सफा भएको मौसमको कारण खुलेको नीलो अकाश, प्रतिस्पर्धात्मक रूपमा अग्लिँदै देखा परेका सेताम्मे हिमचुचुरा र त्यस वरपरको प्रकृति र जीवजन्तुको वार्तालापले भुसुक्कै बिर्साएको थियो । सम्भवतः त्यसै हौसलाले होला सेदुवादेखि दोबाटो जाँदा तीनदिन हिंडेको बाटो फर्कँदा एकै दिनमा तय गरेको थिएँ । मेरो साथमा सेदुवाका युवा पथप्रदर्शक दीर्घ राई थिए ।


मकालुबाट फर्कँने क्रममा असोज ३० गते हामी दोबाटेभन्ने ठाउँमा पुगेका थियौँ । त्यो दिन बादलसँग लुकामारी खेल्दै चार बजेसम्म घाम देखिएको थियो । तर एक्कासी त्यसैदिन साँझ ६ बजे चट्याङ् सहित पानी प¥यो । हामीसँग याङ्लेदेखि भेटभइरहेका तीन जना नेपाली साथीहरू पनि दोबाटे आईपुगेका थिए । आधार शिविरमा तीन डेनिस सहित सात नेपाली जो बरुन्त्से हुँदै सगरमाथाको छुकुङ् निस्कँदै थिए उनीहरूसँग विदा भएर हामी फर्केका थियौँ । त्यसैगरी सात जना इलाम श्रीअन्तुका पर्यटन व्यवसायी, तीन जना फ्रेन्च विद्यार्थी र उनका एक जना नेपाली साथी सहितको टोलीहरूसँग याङ्लेमा भेटेका थियौँ । श्रीअन्तु र फ्रेन्चहरूसँग दोहोरी गाएर रमाईलो गरेका थियौँ जो शिवधारा चढेर मकालु आधार शिविर जाँदै थिए । हामी दोबाटे पुगेको साँझ परेको चट्याङ्, बाक्लो कालो बादल र वर्षाले मेरो हृ्दयमा एक प्रकारको अति नै नमिठो त्रास पैदा ग¥यो । त्यो त्रास मुख्यतयाः मकालुबाट छुकुङ निस्कने डेनिस टोलीसँग सम्बन्धित थियो । किनभने उनीहरू ६२०० मिटरभन्दा कठीन र हिउँयुक्त अग्ला भन्ज्याङ पार गर्ने यात्रामा थिए ।


त्यो रात परेको पानी र अचानक परिवर्तित मौसमले हिउँ पर्ने, मौसममा सुधार नभएमा हिउँ थपिने, चिसो हुने र कठ्याङ्ग्रीने, भन्ज्याङ्मा हिउँ थुप्रिएर पार गर्न नसकिने, पहिरो जान सक्ने खतरा बढाएको थियो । त्यति मात्र होइन हिउँ बढि परेको खण्डमा न सगरमाथातिर जान सकिने न मकालु आधार शिविर फर्कन सक्ने स्थिति पनि थियो । त्यो वर्षा पछि मैले ती सबै साथीहरूलाई गहिरोसँग हृ्दयमा राखेरै सम्झेँ । उनीहरूको बारे चर्चा ग¥यौँ । भोली पल्ट विहान दोबाटे वरपरका चट्टाने पहाडमा नयाँ हिउँ देखिएको थियो । हामी हाम्रो योजना अनुसार विहान ६ बजे नै खोङ्मा लाको यात्रा शुरू ग¥यौँ र सोही दिन सेदुवा झ¥यौँ । त्यसदिन पहाडहरू खुले पनि अकाश धुम्मिएको थियो–साउनमा झैँ । सिमसिमे पानी भने रोकिएको थियो ।


कात्तिक १ गते खाँदबारीमा पुगेको दिन त्यही उमङ् र हौसलाले लामो पदयात्राको दुःखाई कम भए तापनि मौसम भने बादलिएको थियो । मेरो मनमा ती दस जनाको टोली, मकालुतर्फ जाँदै गरेका चार जना विदेशी र इलाम श्रीअन्तुका सात युवा टोलीको सम्झना आइ नै रह्यो । मौसम खराब भएर हिमाल नदेख्नु एउटा पक्ष हो भने हिउँ पर्ने, नयाँ हिउँको पहिरो जाने र पुरिने, चिसोले कठ्याङ्ग्रीने, उचाईमा लाग्ने विमार लाग्ने र ज्यानसम्म जाने अर्को विकराल पक्ष हो । मनसुन सकिए पछि पनि लगातार पानी परि नै रहेको थियो । दसैँ सकिएर पनि भदौरे जस्तै झरी होइन कि साउनको आरी घोप्टे झरी एकनासले परि नै रहको थियो । खाँदबारी पुगेको साँझ बेलुका ८ बजेदेखि झमझम झरी परि नै रह्यो । दुई गते विहानदेखि त आरी घोप्टे पानी परि नै रह्यो । तुम्लिङ्टार जहाज आउने सम्भावना त्यो दिन रहेन ।


विहान चिया पिउदै गर्दा स्थानीय मित्र तेजनाथले ‘तुम्लिङ्टारको फ्लाईट हुने सम्भावना नभएको, खाँदबारीबाट टेक्सी (बोलेरो, सुमो)बाट पाँच घण्टामा इटहरी पुग्न सकिने भएको हुनाले यहाँ बस्नु भन्दा विराटनगरबाट बेलुका काठमाडौँ उडनु वेश हुन्छ ’ भन्ने सुझाव दिए ।


मेरो टिकट अनुसार तीन दिन कुर्नु पर्ने थियो । मैले त्यसबेला धैर्य भएर लगातार परिरहेको झरी, त्यो परिवेश र परिस्थिति, त्यसले पार्न सक्ने प्रभावको मुल्याङ्कन गम्भिर भएर गरिनँ जबकी म विकटताबाट सुगम र सुरक्षित क्षेत्रमा आईसकेको थिएँ । मित्रको सुझाव अनुसार झरीकै बीच टेम्पोमा तुम्लिङ्टार झरेँ । बसपार्कमा तिहारको बेला असन बजारमा हुने जस्तै मानिसको खचाखच भिड थियो । सुमोमा तीन केटाकेटी सहित तेह्रजना कोच्चिएर सभा खोलाको किनारैकिनार भएर इटहरि तिर लाग्यौँ । बाहिरको मौसमझैँ मनमा पनि झरी नै परेको र हृ्दयमा बाक्लो बादल मडारिएको थियो ‘म नहिँडेको भए पनि त हुन्थ्यो नि । ’ भन्ने कुरा मनमा बारम्बार आइनैरह्यो र एकप्रकारको त्रासले जन्म लियो ।


करिव पन्ध्र किलोमिटर गुडे पछि बाटोमा सानो पहिरो झर्दै गरेको देखियो । गाडिमा सवार महिलाहरूले चिच्च्याउँदै भने ‘ए ! अन्यत्र पनि पहिरो जान्छ । फर्केर चैनपुरको बाटो जाउँ ’ । ड्राइभरले पनि काईकुई केही नबोली गाडी घुमाए र चैनपुर तिर लाग्यौँ । आरी घोप्टे पानी घोप्टिइ नै रहेको थियो । त्यसपछि भने बल्ल मैले आधार शिविरका मित्रहरूलाई बिर्सेर आफैलाई सम्झेँ र मनमनै भनेँ ‘ म कस्तो पागल हुँला । पानी परिरहेको बेला म एक दिन खाँदवारीमा थकाई नमारेर किन मरीहत्ते गरेको हुँला । अब कुन पहिरोमा कता परिने हो कि ? बीच बाटोमा रोकिनु पर्ने हो कि ? पहिरोसँगै कुनै खहरे खोलामा बगेर वा पहिरोमा पुरिएर समाचार बनिने हो पो कि ? कुनै घटनामा न परे त भई हाल्यो नि । ’ त्यस्तै कुरा मनमा आए ।


धनकुटा पुग्ने बेलासम्म दुईटा पहिरो नाध्यौँ । इटहरी पुग्ने सम्भावना झिनो भएको थियो । अब त्यही दिन इटहरी पुगेर त्यहाँबाट विराटनगरको जहाजबाट काठमाडौँ पुग्ने कुराको आशा त मेटिइ सकेको थियो । त्यसबेला जीवन सुरक्षित भइदिए हुन्थ्यो हुन्थ्यो भन्ने मात्र कुरा मनमा खेल्यो । गाडीमा धरान, धनकुटा, भेँडेटार शब्द रहेका सुन्दर पुर्वेली गीतहरू एकनासले गुन्जीरहेकै थिए । जसोतसो तमोरको किनार मूलघाट झ¥यौँ । त्यहाँ पुगे पछि थाह भयो कि ‘तमोर पारी फेँदीमा ठाडो खोलाले बाटो नै बगाएको छ । पार गर्न सकिँदैन ।’ जे डर मनमा विहान सुमोमा चढेदेखि थियो त्यो यथार्थमा परिणत भयो । मुसलधारे पानी रोकिएकै थिएन । ठाउँ–ठाउँमा लेदो बगिरहेकै थियो । मधुरो साँझमा तमोरको किनारमा एउटा घर पल्टेको देखियो । धमिलो तमोर समतल भएर पुलसम्म नै आए जस्तो लाग्यो । मेरो मनमा ‘ किमाथाङ्का र मकालुको त्यत्रो कठीन पैदल यात्रा गरेर फर्केको मान्छे भेलमा परेर मर्ने हो कि क्या हो ?’ भन्ने त्रास मेरै अघिल्तिर ठिङ्ग उभियो । यात्रामा सम्यमता र परिवेशको मूल्याङ्न नगर्दा म आफैले मेरो काललाई निम्ता गरेको महसुस त्यसबेला मैले गरेँ । म खाँदवारीमै बसेको भए हुन्नथ्यो र ? किन हतारिएको ?


सुमो भित्रका महिलाहरू चिच्याउँदै घरमा फोन गर्दै भने ‘हामी त तमोर पुलमा बीच परेका छौँ । बाँचिन्छ जस्तो छैन । बाटो पहिरोले लगेको छ । पैसा पनि छैन । खाने र बस्ने ठाउँ पनि छैन ।’ उनीहरूले परिवारका सदस्यलाई झन बढि त्राहीमाम बनाए । उनीहरूले तमोरको किनार तिरका घरमा नै बास खोज्ने र बस्ने, पाईएन भने रातभर गाडीमा नै बस्ने कुरा पनि निकाले । मलाई भने त्यो प्रस्ताब सुरक्षित र भरपर्दो लागेको थिएन र त्यहाँ सुत्ने ठाउँ पनि थिएन । त्यसैले मैले ‘ यस्तोबेला अत्तालिन हुँदैन । हामी धनकुटा फर्कौँ र आजको रात बाढि र पहिरोबाट सुरक्षित बसौँ । हजारौँ यात्रु छन् । धनकुटाको प्रशासनले पनि त ध्यान देला । भोली पानी कम होला अनि त बाटो अवश्य खुल्छ नि, नदीको किनारमा बस्न हुँदैन ’ भने । मैले त्यसो भने पछि सवारी चालकले गाडी घुमाए । मुलघाटबाट फर्केर साँझ सात बजे धनकुटा पुग्यौँ । होटल खोजेर सबैजना सुरक्षितसाथ बस्यौँ । भोलीपल्ट विहान सात बजे झ¥यौँ, तमोर तिर पानी रोकिएको थियो । हामी फेँदीको पहिरोमा पुग्दा सयौँ गाडी लामबद्ध भइसकेका थिए । खहरे खोलाले करिव २० मिटर पक्की सडक बगाएको थियो । दुई साना डोजर, सेना र प्रहरी सबैको जोडबलले दुई बजे दिउँसो बाटो खुल्यो । मुस्किलले पाँच बजे इटहरी पुगियो ।


सुरक्षित भएको महसुस सबैलाई भयो यद्यपी अघिल्लो रातको मुसलधारे पानीले इटहरी बजार, वरपर पाकेको धान डुवानमा परेको थियो । विराटनगर विमानस्थल डुवानमा परेको छ भन्ने खबर पाई सकेको थिएँ । त्यसैले म इटहरीबाट पूर्वाञ्चल दैनिकका सम्पादक एकराज गिरिलाई सम्पर्क गरेँ । भद्रपुर विमानस्थल बन्द भएको रहेनछ । त्यो सूचना लिएर त्यहाँबाट सिधै झापातिर हानिएँ । भोलीपल्ट कात्तिक ४ गते विहानको जहाजबाट काठमाडौँ फर्केँ । त्यसबेला बादलभन्दा माथि कन्चनजङ्घादेखि लाङ्टाङसम्मका हिम चुचुरा देखिएका थिए । त्यो दृश्य हेर्दै गर्दा मैले फेरि मकालुबाट सगरमाथातिर जाँदै गरेको नेपाली सहितको डेनिस टोली र मकालु आधार शिविर जाँदै गरेका नेपाली पर्यटकलाई सम्झेँ ।


कात्तिक ५ गते बेलुका सेदुवाबाट मेरो पथप्रदर्शक भाई दीर्घ राईको फोन आयो । उनको फोनले म सिताम्मे भएँ । झस्केँ । एक साता पहिले दोबाटे देखि तर्सेको मेरो हृ्दय उनको सन्देशले भुकम्पमा पृथ्वी काँपेझैँ काँप्यो । उनले भने– ‘अङ्कल ! सगरमाथातिर जाँदै गरेको विदेशी र नेपाली टोलीको सदस्यमध्ये एक जना डेनिस पर्यटकको हिम पहिरोमा परेर मृत्यु भएछ । लास निकाल्न पनि सकेनछन् । अनि याङ्लेमा नाचगान गर्ने श्रीअन्तुको सात जनाको टोली मध्ये एक जनाको आधार शिविरबाट फर्केको दोस्रो दिन तेमाथाङ भन्ने ठाउँमा मृत्यु भएछ ।’


उनको त्यो सन्देशले म मर्माहत भए जुन खतराको डर मैले मौसम खराब भएको कारणले दोबाटेमा गरेको थिएँ । श्रीअन्तुका मित्रहरूलाई उनीहरूले उचाईमा एकैदिनमा लामो–लामो यात्रा गरेको हुनाले ‘उचाइ चढ्दै गर्दा समुद्र सतहदेखि ३००० मिटरको उचाईभन्दा माथि पुगे पछि हावामा अक्सिजन कम हुँदै जाने भएको हुनाले विस्तारै जाने, झोलिलो पदार्थ र पानी धेरै पिउने, चिसोबाट जोगिने, मादक पदार्थ र चुरोट नपिउने गर्नु होला’ भनेको थिए । त्यसलाई उनीहरूले स्वीकारेका पनि थिए । तर पनि कहाँ नेर के कमजोरी भयो र एक जना नेपाली तथा एक जना विदेशीले ज्यान गुमाएको खबरले मर्माहत बनायो । अनायस खोङ्मा डाँडामा रहेको लामो पोखरीमा टिलपिल टिलपिल पानी छचल्किएझैँ मेरा आँखा आँशुले छचल्किए । प्राकृतिक प्रकोपलाई रोक्न त सकिँदैन तर केही हदसम्म त्यसबाट सुरक्षित हुन भने सकिन्छ, त्यसको गम्भिर विश्लेषण गर्ने हो भने । अर्को कुरा हामीले के बिर्सन हुँदैन भने हिमाल जति सुन्दर, आकर्षक र लोभलाग्दा हुन्छन् तिनीहरू त्यत्तिकै त्रृmुर्र पनि हुन्छन् । जे जस्तो प्रकोप भए तापनि तत्कालिन परिवेशको गम्भिर लेखाजोखा गर्ने हो भने यात्रामा जीवनलाई दुर्घटनाको जोखिमबाट केही सिमासम्म सुरक्षित गर्न सकिन्छ । त्यो सत्य हो । ईमेलः bishnu.nmdc@bishnunmdc धन्यवाद सहित साभारः सामुदायिक विकास संघ, स्मारिका–७, फागुन २०७८

*
  •  

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s