जीवन

प्रकाशित: अभिब्यक्ति द्वैमासिक कात्तिक–मंसिर २०७५
निवन्ध

विष्णुप्रसाद शर्मा पराजुली




संसारमा एउटा मात्र त्यस्तो कुरा छ, जुन एक पटक मात्र पाईन्छ । त्यो हो –जीवन । संसारमा अर्को त्यस्तै एउटा मात्र शास्वत सत्य छ –जुन हो मृत्यू । जन्मे पछि मृत्यू हुन्छ भन्ने कुरा आगोले पोल्दा डामिने डाह, पिडा र जलन सत्य भएझै सत्य हो । यो सबैले मानेको, सबैले भोगेको, सबैले देखेको सत्य हो । संसारमा जे जति मानिस छन्, तिनको रुप, ब्यवहार, सोँचाई, चरित्र, दृष्टिकोण फरक–फरक हुन्छ । सामान्य कुरा जुम्ल्याहा वा अन्य केहिमा– ‘ओ हो ! उस्को र मेरो कुरा ठ्याक्क मिल्यो । उस्को र मेरो मन मिल्यो । उ त, म जस्तै छ । तिनीहरुको अनुहार दुरुस्तै मिल्छ । ’ भन्ने भाव, आवेग, परिवेश मिलेको सुन्नमा आउछ । ति सबै कुरा कुनै समय, परिवेश, सन्दर्भले झल्को दिने गरी मिलेका हुन्छन् । अन्यथा, सबैको जीवन चरित्र र दर्शन, मानव अनुहार जस्तै फरक हुन्छ ।
समयको अन्तरालमा, त्यो मिलेको भनेको कुरा, मन, सिद्धान्त फाट्छ, झरी पछि बादल फाटेझै मन पनि फाट्छ, सम्बन्ध दशैँको लठ्ठे पिङ् चुँडिएझै चुँडिन्छ, जीवन यात्रा चङ्गा टुटुझै टुट्छ र सिद्धान्त ढुङ्गा माथि जमेको पातलो आईस माथि टेक्दा झरम्म फुटेझैँ फुट्छ । मिले जस्तो देखिए पनि मिलेको हुदैन । मानिसको बनोटसँगैे नम्र बोल्ने, चर्को बोल्ने, रिसाउने, खुशी हुने, रोग लाग्ने केहि ब्यवहारगत र चरित्रगत विषय वंशगत हिसाबमा सन्तानमा देखिन्छन् ।
प्राचिन कालमा एउटै वंशका मानिस मिलेर जंगलमा शिकार खेल्थे र जंगलमानै बस्थे । त्यसबेला एउटै वंशका सदस्य बीच यौन सम्पर्क गरी सन्तान जन्माउथे । सचेत हुदै गएपछि मात्र मानिसले एउटै वंशमा यौन सम्पर्क गर्दा सन्तान राम्रा नभएको निष्कर्ष निक्ल्यो । विज्ञानले पुष्टि पनि ग¥यो । अनि मानिसले अर्को वंशसँग सम्पर्क विस्तार गर्न थाले । यो प्रसंग उठाउनुको कारण – मानिसको शरिर जसरी फरक हुन्छ, त्यसरीनै उसका चाहना, विचार , मन, दृष्टिकोण फरक हुन्छ, भन्नलाई हो । जीवनको जन्म पछि मृत्यू हुन्छ भन्ने कुरामा सबैको धारणा एउटै हुन्छ । त्यसमा कसैले मृत्यूलाई सहज रुपमा स्वीकार गर्न सक्छन भने कतिले त्यो सत्यसँग डराउछन् । त्यस्तो देखिएको हुन्छ । यथार्थमा, ब्यवहार एकको अर्कासँग मिल्दैन ।
जीवन र मृत्यूको बारेमा पनि सबैका आ–आफ्नै धारणा र सोँचाई हुन्छन् । संसारमा धेरै मानिस, पूर्वजन्म, पूर्वजन्मको फल र कर्म स्वरुप वर्तमान जीवन, र यो जीवन पछि मृत्यू अनि पूनर्जन्म हुन्छ भन्ने विश्वास गर्छन् । विश्वमा अहिले जे जति धर्म, मान्यता, विश्वास छन्, त्यसमा धेरैले पूर्वजन्म, पूनर्जन्ममा विश्वास गर्छन् । जे विश्वास जसको दिमागमा रोपिएको छ, त्यो विश्वास जति गरे पनि मेटिदैन । पूर्वजन्म र पूनर्जन्ममा विश्वास गर्नेहरुका लागि मृत्यू जसरी शाश्वत सत्य छ, त्यसरीनै पूर्वजन्म र पूनर्जन्मको विश्वास त्यत्तिकै सत्य भएर रहेको हुन्छ । मलाई पूर्वजन्म र पूनर्जन्ममा विश्वास छैन । धेरै मानिस मेरो धारणा र विश्वासमा असहमत छन् । त्यो सत्य हो । जीवनमा मानिस आफ्नो धारणा बनाउन स्वतन्त्र हुन्छ ।

जीवन एक पटकमात्र प्राप्त हुने कुरा हो । बारम्बार प्राप्त हुदैन । पूर्वजन्म, पूनर्जन्म, वा एक पटकमात्र हुने जन्मका बारेमा मानव सभ्यताको विकाससँगसँगै हजारौँ वर्षदेखि बहस शुरु भएको हो । त्यो बहस निरन्तर चलिरहेको छ । जीवन दर्शन, जीवनलाई हेर्ने दृष्टिकोण फरक फरक छन् । विज्ञानले अनुसन्धानको आधारमा हिजो भनिएका असम्भव कुरा सम्भव बनाएर देखाएको छ । त्यसलाई आँखा चिम्लनु एउटा कुरा हो तर यथार्थ सत्य त त्यहिनै हो । वि.सं. २०७५ साउन २७ गते अमेरीकाले एउटा यान सूर्यको नजिक त्यहाँको वातावरण र तापबारे अध्ययन गर्न पठाएको छ । त्यो यानले ६१ लाख किलोमिटर यात्रा गर्ने छ । असम्भव भनिएका कुरालाई विज्ञानले सम्भव बनाएको छ, त्यसलाई अस्विकार गर्नेले विकल्प दिन सकेका छैनन् । धर्मलाई संस्कृतिको रुपमा मान्नु एउटा कुरा हो, तर सबै कुरा अदृश्य शक्तिलेनै गरेको हो भन्ने विश्वास गर्नु अर्को पक्ष वा भ्रम हो । यो मेरो सोचाई हो, अरुलाई मैले सोचेको कुरा भ्रम लाग्नु अस्वाभाविक होईन ।

मानवको सबैभन्दा प्रीय बस्तु जीवन हो । पूनर्जन्म भै हाल्छ भनेर कसैले जीवनलाई हेला गरेको देखिदैन । आफ्नो जीवनभन्दा प्यारो वस्तु संसारमा कसैलाई अरु केहि हुदैन । जीवनको अर्थ नबुझ्दै प्रेमीप्रेमिकाका जोडी झोलुङ्गे पुलबाट हाम फालेर जीवन त्याग्नु मात्र उदारण हो । एउटा मात्र सत्य हो । त्यो के भने, चाहे जनावर होस वा मानव प्राणी, संसारमा आमामात्र एउटा त्यस्तो प्राणी हो जस्ले सन्तानको जीवन रक्षा गर्न आफ्नो प्राणको आहुती हाँसेर दिन्छिन । प्राकृतिक प्रकोप वा मानव निर्मित प्रकोप सबैमा आमाले सन्तान बचाएर आपूm मरेको हामीले देखेकै छौँ । आमा साच्चिकै पृथ्वी हुन् । माया गर्ने मुटु र पीडा सहजे छाती आमासँग मात्र हुन्छ, अरु कसैसँग हुदैन । जंगली जनावरले पनि सन्तानको निम्ति आपूmलाई जोखिममा राखेको हामीले टेलिभिजनमा देख्न सक्छौँ । त्यसैले आमाले बाहेक अरु सबैले आफ्नो जीवनलाईनै सबैभन्दा बढि माया गर्छन् । यदी कसैले होइन भन्छ भने त्यो भूmटो हो, त्यो ढोँङ हो । अपवाद फरक हो ।

मैले जीवन दर्शनको बारेमा लेख्न खोजेको होइन । म सक्दिनँ । जीवनका बारेमा लेखिएका सिद्धान्त मैले अध्ययन गरेको छैन । जीवन जत्तिकै सत्य मैले बुझेको कुरा के भने जीवनको ब्याख्या हिन्दु दर्शनमा बृहत रुपमा गरिएको छ । दर्शनका कैयौँ विषयमा असहमत हुनु छुट्टै हो । हिन्दुधर्मको जीवन दर्शनमा परमेश्वर वा भगवानलाई साक्षी राखेर धेरै कुरा भनिएका छन् । भगवानको नाम लिएर कर्म गरेमा जीवन सुख हुन्छ, मुक्ति पाईन्छ, पूनर्जन्ममा कैलास वा वैकुण्ठबास हुन्छ भनिएको छ । मानिसलाई क्रियाशिल, कर्मशिल बनाउन कथाका रुपमा ति प्रसँग आएका हुन् । कर्म गर नत्र नर्कमा पर्छौ । अर्को जन्ममा पातालको बास हुन्छ भनेर तर्साए तापनि त्यसको खाश मर्म भनेको काम गर अन्यथा दुख पाउछौ, दुख पाउनु भनेको वर्तमान जीवनमानै नर्कमा होमिनु हो, भनेको हो । योजनाबद्ध काम गरेनौ भने भोक भोकैनै मर्न पर्छ भनेको हो । त्यसलाई पण्डितले ब्याख्या गर्दा फरक आसयले भजन, किर्तन र दान गरे पछि इन्द्रको स्वर्ग पाईन्छ भने । त्यो होईन । ऋषिले ज्ञान प्राप्त गर्न कठोर तप गरेझैँ, हामी साधारण मानिसले सुखी जीवन प्राप्त गर्न एक चित्त भएर काम नै गर्न पर्छ ।
हिन्दुको बृहत त्यो जीवन दर्शनले मानव जातिलाई सत्कर्म गर्न, फेरि पनि कर्म गर्न, लोभ, लालच, द्वैस, घृणा, रीसराग त्याग्न, नैतिकवान हुन, जिम्मेवार बन्न, कर्तब्यबोध गर्न र सो अनुहार आचरण र ब्यवहार गर्न प्रेरित गर्छ । त्यसलाई अनावश्यक कथा बनाउनु गलत हो । मानिसले सत्कर्म गरे पछि त्यसको फल पाउछ । हाम्रो दर्शनमा मैले पूनर्जन्ममा विश्वास नगरे पनि सत्कर्म गर्ने कुरा र सत्कर्मबाट प्राप्त हुने फलमा विश्वास गर्छु । त्यो सत्कर्मबाट प्राप्त फल आफूले आफ्नो जीवनकालमा प्राप्त गरेर यही जीवनमा भोग्ने केहि कुरा हुन्छन् भने केहि कुरा यस्ता हुन्छन् जुन आफ्नो जीवनकाल पछि भोगिने हुन्छन् । पूनर्जन्म नहुने भए जीवनकाल पछि कसरी भोग्ने भन्ने प्रश्न आउछ । जीवन आफ्नो मात्र हो र ?
आफू पछि चाहे ति आफ्ना सन्तान हुन् वा अरुका सन्तान । एकजनाले गरेको कामको फल अर्कोले खान पाउछ । वैज्ञानिकले जहाज बनाए, टेलिफोनको आविश्कार गरे । उनीहरु त मरेर गए । तिनीहरुले गरेको सत्कर्मको फल हामीले खायौँ, होइन र ? आज सबैको हातमा विश्व अटाएको छ । हिजोका बैज्ञानिकले गरेको कठोर मेहनतको फल अहिले हामीले खान पाएका छौं । मंगल ग्रहमा जीवनको सम्भावना, सूर्यको वातावरणको अध्ययनबाट भविश्यमा प्राप्त हुने फल कस्ले पाउछ ? भविश्यका सन्तानले ।
जीवनलाई कसरी ब्याख्या गर्ने , कसरी हेर्ने आफ्नो धारणा, विश्वास, दृष्टिकोण, बुझाइ, ज्ञान, र दर्शनमा भर पर्छ । त्यसमा सबै स्वतन्त्र हुन्छन् । मलाई लाग्छ, सबैले भनेकै छन्, त्यसैलाई दोह¥याएको भन्दा पनि फरक परेन । मेरो विचारमा पनि जीवन भनेको दुखैदुखको सागर हो । जीवन भनेको संधर्ष हो । जीवन भनेको सगरमाथाको उचाइ हो, जहाँ पुग्न र सकुसल झर्न दुख र मेहनत गर्नै पर्छ ।
के जीवनमा सुख हुदैन त ? दुःखको सागर हो भने जीवनको के अर्थ ? के जीवनमा सुख, हरियाली, उज्यालो भन्ने हुदैन ? के जीवन झरी पछि खुलेको नीलो आकास र हिउँदको बेला देखिने हिमाल जस्तै मनमोहक हुदैन ? के जीवन आकाशको इन्द्रेणीलाई पृथ्वीमा झारेर नृत्य गर्ने झरना जस्तो हुदैन ? के जीवन तराईमा धानका बाला झुलेझै झुल्न सक्दैन ? यो प्रश्न उठछ । उठनु स्वभाविक पनि हो ।
हो । म पनि जीवनमा हुने सुख र आनन्दलाई स्वीकार गर्छु । जीवनमा हुने आकासको नीलो पनलाई महसुस गर्छु । साच्चिैकै धानका बाला झुलेझै जीवन सुखमा झुलेको पनि देखेको छु । म आफै पनि हिमालको काखमा पुगेर सेता हिम चुचुरासँग तिनीहरुको मुकुट सापटी मागेर त्यो मुकुट पहिरेर डाँफे र मुनालसँग छमछम नाचेको पनि छु । झरझर झरेको झरनासँगै आपूmलाई समाहित गरेर पहाडको टुप्पाबाट झरनासँगै झरेर त्यसको स्वाद लिएको छु । मेरो जीवन त्यसबेला कति खुशि र सुखि भए होला तपालईले अन्दाज गर्न सक्नु हुन्न । स्वर्ग र सुख भनिएको कुरा मैले त्याहँ भेटेको थिए ।
हिन्दु धर्म शास्त्रमा स्वर्ग भनेर चर्चा गरिएका, देवता बस्ने ठाउँ भनेर पुराण र महाभारतमा उल्लेख गरिएका ठाउँमा म पुगेको छु । ति ठाउँमा पुगेर पसिना पुछ्दै नाचेको छु । पुराण र विदेशी लेखकले स्वर्ग भनि उल्लेख गरेका नेपालका ति स्वर्गमा बसेर आनन्दसँग रमाएको छु । शिवको दरवार कैलास परिक्रमा गरेर र शिवले स्नान गर्ने मानसरोवरमा मैले पनि डुबुल्की मारेको छु । विष्णु विराजमान भएको दामोदर कुण्डमा डुबुल्कि मारेको छु । पुराण भनिएझंै र विदेशी लेखकले लेखेझैं, भावुक भएर म पनि ति सुन्दरतामा लुटपुटिएको छु । ति साच्चिै स्वर्ग हुन् र ति नेपालमा छन् , भनेको छु । यति हुदाहुदै पनि जीवन दुखको सागर हो भन्छु । किनभने, जीवन जतिसुकै लामो वा छोटो किन नहोस हाम्रो जीवनमा छाँयाजस्तै सँगै रहने मूख्य र भरपर्दो मित भनेको दुःखनै हो । सुख क्षणभर झुलुक्क आउछ । क्षणभर हँसाएर, नचाएर, फुरुक्क पारेर जान्छ । क्षणभरको त्यो सुखलाई आधार बनाएर दुःखको सागर हामीले तर्नु पर्छ । जीवन त्यही हो ।

मेरा बुबा र आमाको मृत्यूलाई मैले नजिकबाट हेरेँ । अन्तिम सास फेर्ने बेलामा बुबालाई कष्ट भएको मैले प्रत्यक्ष देखेँ र अनुभव गरेँ । हामी छोराबुहारी वरपर थियौँ । बुबा कुरा गर्दै हुनुहुन्थ्यो । अन्तिम क्षण रहेछ । हात अनि खुट्टा तन्काउन थाल्नु भयो । आँखाका ढिलमा झरेका आँशु टप्लक्क ऐनाझैं टल्के । हात, खुट्टा र शरिर ओछ्यानमा यताउता तन्काउनु भयो । घरी हात, त घरी खुट्टा तान्नु भयो । हेर्दा हेर्दै, बोल्दाबोल्दै आँखाका ढिलमा बसेका आँशु झर्न भ्याएनन् । आफ्नो लम्पसार परेको शरिर वरपर बुबाले हामीलाई छोडेर जानुभयो । मृत्यू हुने क्षण प्राण त्याग्न पनि जीवनले संघर्ष गरेको मैले त्यहाँ अनुभव गरेँ । मृत्यू स्वीकार गर्दागर्दै मृत्यू वरण गर्न पनि कठोर यात्रा गर्न पर्दो रहेछ । मैले यहाँ यो प्रसंग ल्याउनुको अर्थ जीवनको अन्तिम सत्य मृत्यू हो , त्यो मृत्यू शैयामा सुत्दा पनि मृत्यूवरण गर्न समेत कठोर संधर्ष गर्न पर्दो रहेछ । मात्तिएर हिड्यौँ भने, हाम्रो जीवन जिउदै नर्क बन्छ । मैले त्यो बुझेँ ।
जीवनमा दुःख गर्न पर्छ, दुःख जीवन हो । दिन र रातलाई एक दिन मान्यौँ भने त्यसमा ८६ हजार ४ सय सेकेण्ड हुन्छन् । त्यसमध्ये दिनमा दुई सेकेण्डमात्र पनि जीवनले सुख अनुभव गर्छ भने जीवनले स्वर्गको अनुभव गरेको हुन्छ । वेदमा मानिसको आयु सय वर्ष मानिएको छ । दिनको दुई सेकेण्ड सुख प्राप्त गर्दा सय वर्ष बाँच्ने मानिसले २० घण्टाको सुखको अनुभव गरेको हुदो रहेछ । मानिस चरित्रवान भई सत्कर्म गरेर दिनमा दुई सेकेण्ड मात्र ह्रदय खोलेर सुखको अनुभव गर्न सक्यो भने त्यो दुई सेकेण्डनै मानवको जीवन डो¥याउने आधार हुन जान्छ ।
परीक्षामा पास भएको खवर सुनेको क्षण, कालापत्थरको चुचुरोमा चढेको क्षण, राराताल देखेको क्षण, विहे गर्दा माला पहिराएको क्षण, समुद्र किनार पुगेको क्षण, सन्तान जन्मेको क्षण र अन्य त्यस्तै क्षण जीवनका सुखद क्षणका उदारणका रुपमा ब्याख्या गर्न सकिन्छ । ति सुखका क्षणनै स्वर्गमा पुगेको अनुभव हुने क्षण हुन् । ति क्षणिक हुन्छन् । बाँकी सबै क्षण, जीवनका प्रत्येक पाईलामा भेटिने तीखा विषालु काँडा सहितका गोरेटा हुन्, तीनलाई होशियारीपूर्वक पन्छाउदै पार गर्नु पर्छ । डराउन, आवेगमा आउन, भाग्न, निरास हुन पटक्कै हुदैन । काँडाबाट निस्केर स्वर्गको क्षणिक सुख भोग्न लगातार संघर्ष गरिरहन पर्छ । स्वर्गमा पुग्छु र सुख प्राप्त गर्छु भन्ने लक्ष लिएर अथक संधर्ष गरि रहनु पर्छ । त्यो नै जीवन हो । त्यो जीवन, जीवनमा एक पटक मात्र आउछ । ॐ
२०७५ साउन २९ , ९८४१ ३७७०८३

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s